`

कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १५ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको महासभामा पनि यस अघि मैले नेपालमा जलवायुको असर भयानक छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने दीर्घकालिन सोचका साथ मैले त्यो विषय बोलेको हुँ ।” सो अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको अन्तरक्रिया गर्दा पनि आफूले उक्त विषय उठाएको उहाँले जानकारी दिनुभयो ।

त्यसपछि आफ्नो निमन्त्रणामा महासचिव गुटेरेस नेपाल भ्रमणमा आउनुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले महासचिवले नेपाल भ्रमणका क्रममा हिमालमा जलवायु परिवर्तनको असर प्रत्यक्ष देखेर उक्त विषयलाई विश्वव्यापी बनाउन सहयोग गर्नुभएको बताउनुभयो ।

नेपालमा जलवायुको असरको विषय विश्वव्यापी रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपाललाई अधिकार दिनुपर्छ भन्ने माहोल बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले कोप–२८ उद्घाटनका अवसरमा महासचिव गुटेरेसले आज शुक्रबार आफने मन्तव्यमा नेपालको नाम लिनु नेपालका लागि खुसीको कुरा हो भन्नुभयो ।

युवा पुस्ताका विचार र भावनालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो विषय दायित्व सबैको भएको बताउनुभयो । उहाँले कोप–२८ मा नेपालका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन नेपालका प्रतिनिधिमण्डल सबैलाई निर्देशन दिनुभयो । सम्मेलनमा सरकारले सशक्त रुपमा तयारी गरेको उहाँको भनाइ थियो ।

पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

पर्वत, १५ मङ्सिर : सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहाकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ परेका हुन् । दुवै सहकारीका अन्य सञ्चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सहकारी ऐन २०७४ अन्तर्गत सहकारी ठगी गरेको कसूरमा पक्राउ गरिएको हो । अहिले जिल्ला अदालतवाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख भुसालले जानकारी दिनुभयो । सहकारी रजिष्ट्रारको कार्यालय पोखरावाट विज्ञ बोलाएर पनि अनुसन्धान भइरहेको छ ।

यसअघि दुवै सहकारीका बचतकर्ताले जम्मा गरेको रकम भुक्तानी नपाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले केही दिन पहिले सूचना जारी गर्दै दुवै सहकारीका बचतकर्तालाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट मुद्दति प्रमाणपत्र लगायतका सक्कल कागजातसहित प्रहरी कार्यालयमा आउन समेत सुचित गरेको थियो ।

यूएईका लगानीकर्तालाई लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ, १५ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा लगानी बढाउन संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र दुुबई चेम्बरद्वारा संयुक्त रुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गर्नुभएको हो ।

सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो । सो अवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताउनुभयो । उहाँले नेपाल र युएईबीच सुमधुर सम्बन्ध रहेकाले व्यावसायिक सम्बन्ध पनि बलियो बनाउँदै लैजान तयार रहेको विश्वास दिलाउनुभयो ।

सोही फोरममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि यूएईका लगानीकर्तालाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्तालाई नयाँ अवसर सिर्जना भएको बताउनुभयो । नेपालको ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिलगायत क्षेत्रमा लगानीको आकर्षण रहेको जानकारी लगानीकर्तालाई गराइएको थियो ।

आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा गरिने लगानीले उच्च प्रतिफल दिने जानकारी गराइएको थियो । त्यस्तै, नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, होटल तथा रिसोर्टलगायत पर्यटनसँगसम्बन्धी पूर्वाधारमा पनि लगानीको सम्भावना रहेको विषय फोरमलमा बताइएको थियो ।

युएईका लगानीकर्तालाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसनलगायत पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरिएको छ ।

‘रङ्गशाला निर्माणमा सबैको अपनत्व आवश्यक’ – रेनु दाहाल

चितवन, १५ मङ्सिरः आजदेखि बागमती प्रदेश महिला (प्रधानमन्त्री कप) क्रिकेट छनोट प्रतियोगिता एवं प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता यहाँस्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा सुरु भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभयो । त्यस अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सबैले अपनत्व लिनुपर्नेमामा प्रमुख दाहालले जोड दिनुभयो । विवाद निकालेर रङ्गशाला निर्माणमा अबरोध गर्ने क्रम जारी रहेको भन्दै यसलाई अन्त्य गरी सबै मिलेर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कहिले बन्दैन कि भन्ने कहिले जग्गाको विवाद निकाल्ने जस्ता कामले निर्माणमा समस्या हुन्छ, सबै मिलेर निर्माणमा जुट्नुपर्छ ।”

रङ्गशाला राष्ट्रको गौरव भएको भन्दै बताउँदै सरकारले रङ्गशाला निर्माणका लागि बजेट समेत बिनियोजन गरेको जानकारी दिनुभयो ।

सो प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर र चितवन गरी चार वटा टोली सहभागि भएको प्रतियोगिताका संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु सहभागी गराई प्रदेश स्तरीय टोली बनाइनेछ । छनोट हुने खेलाडीले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।

अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत

काठमाडौँ, १५ मङ्सिर : मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । सरकार र निजी क्षेत्रबीच सहकार्य हुँदा मात्र देशको अर्थतन्त्र सुधार्न सकिने विश्वास लिइएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सबै निकायबीच समन्वय र सहकार्यको आवश्यकता औँल्याइएको हो ।

कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रका समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको बताउनुभयो । अहिलेको व्यवस्थाप्रति स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको भए पनि त्यसविरुद्ध सरकार जिम्मेवारीसाथ प्रस्तुत हुने उहाँको भनाइ छ ।

अर्थतन्त्र सुधारमा स्वयं प्रधानमन्त्रीले गम्भीर पहल लिएको भन्दै उहाँले चाँडै अर्थतन्त्र लयमा फर्किने दाबीसमेत गर्नुभयो । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको, पुँजीबजारले गति लिएको र घरजग्गा व्यवसाय लयमा फर्किएको उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका समस्याको कारण अर्को निकायलाई देखाएर कसैले पनि आफू पन्छिन नहुने बताउनुभयो । मौद्रिक नीतिमार्फत मात्रै अर्थतन्त्र सुधार गर्न नसकिने पनि गभर्नर अधिकारीको भनाइ छ ।

“बैंक वित्तीय संस्थाको खराब कर्जा केही बढेको छ । अन्यथा उनीहरुको नियमन र अनुगमनमा राष्ट्र बैंक जिम्मेवारीका साथ लागेको छ”, गभर्नर अधिकारीले भन्नुभयो, “अहिले जसले काम नगरे पनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाइने गरेको छ । काम कोही पनि नगर्ने तर दोष मौद्रिक नीतिलाई दिएर मात्र उम्कने प्रवृत्ति छ ।”

कुनै बैंक तथा वित्तीय संस्थाले ऋणीसँग बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउन पनि गभर्नर अधिकारीले अनुरोध गर्नुभयो । बैंकले बढी ब्याज लिएको पाए राष्ट्र बैंकले फिर्ता गराउने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

गभर्नर अधिकारीले गत आर्थिक वर्षमा बैंक वित्तीय संस्थाले बढी लिएको रू चार अर्ब ७६ करोड बराबर ब्याज फिर्ता गराएकोसमेत स्मरण गराउनुभयो । बजेटमा भएका कुरालाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहयोग गर्ने पनि गभर्नर अधिकारीले स्पष्ट पार्नुभयो ।

बैकर्स सङ्घका अध्यक्ष सुनिल केसीले अहिले कर्जाको ब्याजदर एक प्रतिशतले घटेको बताउनुभयो । त्यस्तै, बैंकको आधारदर (बेसरेट) एकल अङ्कमा रहेको जानकारी गराउनुहुँदै उहाँले ब्याजदर अझै घट्दै जाने समेत बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले सरकार र राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा छ भनेर स्वीकार गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्र समस्यामा छ भनेर स्वीकार्न सके मात्र समाधानका उपाय खोज्न सकिने उहाँको भनाइ छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिलोको प्रक्रियाका कारण लगानी भित्रन नसकेको उल्लेख गर्नुहुँदै साना र मझौला उद्योग प्रवद्र्धनमा जोड दिइनुपर्ने बताउनुभयो ।–

राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौँ, १५ मङ्सिर : निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार यही मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मङ्सिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ ।

दल दर्तापश्चात आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आगामी माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

स्वीकृत कार्यतालिका अनुसार २०८० पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । सरकारले यही मङ्सिर १३ गते निर्वाचनको मिति घोषणा गरेको थियो ।

बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी (बाँके), १५ मङ्सिरः बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टलाई ठक्कर दिँदा निजको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको छ – महरा

सुदूरपश्चिम, १५ मङ्सिर : राष्ट्रियसभा सदस्य महेशकुमार महरा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको ठान्नुहुन्छ । अपाङ्गता भएका व्यक्तिको कोटाबाट माथिल्लो सदनमा छ वर्षअघि निर्वाचित उहाँले प्रतिनिधिसभाको छायाका रुपमा नभई अभिभावकको भूमिकामा राष्ट्रियसभा रहेको अनुभव सुनाउनुभयो ।

‘सांसदसँग रासस संवाद’मा नेकपा (माओवादी केन्द्र)का नेता महराले भन्नुभयो, “सङ्घीयता र समावेशिताको प्रतिनिधित्व, अभ्यास र अनुभव राष्ट्रियसभाले गरिरहेको छ ।” प्रतिनिधिसभाबाट आएका विधेयकमा चित्त नबुझेमा फिर्ता पठाइदिने अधिकार राष्ट्रियसभासँग भएको बताउँदै उहाँले सञ्चारमाध्यमले प्रबुद्ध समूहका कामकारबाहीलाई महत्व नदिँदा सभाका गतिविधि छायामा परेको प्रतिक्रिया दिनुभयो ।

सांसद महराले विकृति र विसङ्गतिको अन्त्य गरी सुशासन कायम गर्न राजनीतिक दलका शीर्ष नेतृत्वका साथै कर्मचारीतन्त्र इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । डडेलधुराको आलितालमा स्थायी बसोबास रहेका महरा विद्यालय शिक्षा पूरा गरी विसं २०५४ मा काठमाडौँको रत्नराज्य कलेजमा उच्च शिक्षाका लागि भर्ना भएलगत्तै नेकपा (माओवादी)को भ्रातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नुभएको हो ।

अखिल क्रान्तिकारी डडेलधुरा जिल्ला सचिव, माओवादी जिल्ला कमिटी सचिवालय सदस्य उहाँ द्वन्द्वकालमा धरमपानीमा घाइते हुनुभएको थियो । माओवादी केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य भई काम गरेको उहाँ राजदरबार हत्याकाण्डपछि भूमिगत हुनुभएको थियो ।

द्वन्द्वकालमा डडेलधुराको नेतृत्व गर्दै गण्डकी क्षेत्रमा खटिनुभएका महरा २०६२ सालको शान्तिप्रक्रिया प्रारम्भ हुनुअघि धरमपानीमा भएको भिडन्तमा घाइते हुनुभएको हो । उहाँले भन्नुभयो, “आफ्नो टाउकोमा अहिले पनि ‘एट्टी वान’बन्दुकको गोलीको छर्रा छ, प्यारालाइसिस भएर बायाँ हात र बायाँ खुट्टाले अहिले पनि राम्रोसँग काम गर्न सक्दैन ।”

राजनीतिक परिवर्तनका लागि भएको युद्धका क्रममा नेता महराले केही वर्ष भूमिगत जीवन बिताउनुभयो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्यको जिम्मेवारी समेत सम्हाल्नुभयो । हाल नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहनु भएका उहाँलाई राष्ट्रिय सभासदस्यमा निर्वाचित भएर जनप्रतिनिधिका रुपमा जनताका पक्षमा काम गर्न सकिनेमा गर्व लागे पनि आफ्नो कार्यकाल सकिनै लाग्दा सोचेअनुसारको काम हुन नसकेको उहाँ बताउनुहुन्छ ।

“यो अवधिमा कार्यपालिकाबाट जनअपेक्षा अनुसारको काम नहुँदा दुःखी छौँ,” नेता महरा भन्नुभयो । देशमा पछिल्लो समयमा विकृति र अराजकता देखिनुमा संसदीय व्यवस्था जनताप्रति उत्तरदायी हुननसक्नु प्रमुख कारण उहाँ मान्नुहुन्छ । समाजमा थिचिएका र हेपिएकाहरुको पक्षमा आवाज उठाउन पाउनु लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष मानिएपनि बोल्न पाउने अधिकार छ भन्दैमा अराजकता हुन नहुने उहाँको भनाइ छ । उहाँलाई लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको प्रतिफल दिएर परिवर्तनको अनुभूति दिनका लागि संविधान संशोधन गरी साशकीय स्वरुपमा परिवर्तन, निर्वाचन प्रणालीको परिवर्तन गरी पूर्ण समानुपातिक बनाउन जरुरी रहेको लागेको छ ।

प्रत्यक्ष चुनाव जितेर सांसद बन्ने कुनै पनि नेताले बढीमा तीन कार्यकाल, समानुपातिक प्रणालीबाट निर्वाचित हुनेले दुई कार्यकाल र प्रधानमन्त्री र मन्त्रीको कार्यकाल पनि दुईपटकका लागिमात्र हुने व्यवस्था भएमा सुधार हुन सक्ने उहाँको बुझाइ छ ।
सत्तापक्षले जतिसुकै राम्रो काम गरे पनि प्रतिपक्षमा बस्नेले विरोध गर्नैपर्छ भन्ने मान्यता नहटेको धारणा व्यक्त गर्दै सांसद महराले उहाँले भन्नुभयो, “यस्तो परम्परावादी सोच त्याग्न जरुरी छ ।” राज्यका प्रमुख तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछि चौथो महत्वपूर्ण अङ्ग आमसञ्चार क्षेत्रले आफ्नो भूमिका इमान्दारिपूर्वक निर्वाह गर्न नसकेको उहाँले बताउनुभयो ।

आफनो छवर्षे कार्यकालमा राष्ट्रियसभाका सदस्यबाट सरकारलाई पूरा सहयोग मिलेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “गठबन्धनकै सरकार भएर हुनसक्छ, पर्याप्त बिजनेस दिन सकेन ।” नेता महरालाई सरकारबाट संविधानको प्रस्तावना विपरीत बजेट ल्याउने काम हुने गरेको लागेको छ ।

राष्ट्रियसभामा विभिन्न विधेयक छलफलका क्रममा उत्पन्न मतभेदलाई सबै दलका नेता,प्रमुख सचेतक, सचेतकले आपसमा छलफल गरेर समाधान खोजिएको तथा यस्ता विषयमा अध्यक्षले पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

आगामी दिनमा सबैले केही गरौँ भन्ने उद्देश्यका साथ सकारात्मक सोच राखेर गतल प्रवृत्तिका विरुद्ध लडाइँ गर्दै अगाडि बढ्न सक्नुपर्ने खाँचो उहाँ औँल्याउनुहुन्छ । नेपालको संविधानले प्रदेशहरुको न्यायोचित प्रतिनिधित्व, व्यवस्थापकीय शक्ति सन्तुलन, कार्यकौशलता र प्रभावकारितालाई सम्बोधन गर्न सङ्घीय संसद्मा स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रुपमा राष्ट्रियसभाको व्यवस्था गरेको छ ।

मलेसियामा धूमपान विरोधी विधेयक पारित

मलेसिया – मलेसियाको संसद्ले धूमपान विरोधी विधेयक पारित गरेको छ। संसद्को तल्लो सदनले बिहीबार नाबालिगहरूलाई भ्यापिङ यन्त्रलगायत निकोटिन युक्त उत्पादनहरूबाट बचाउने उद्देश्यले धूमपान विरोधी विधेयक पारित गरेको हो।
स्वास्थ्यमन्त्री जालिहा मुस्तफाले पेस गरेको विधेयकमा सुर्तीजन्य पदार्थ, धूमपान वा सुर्तीजन्य पदार्थको बिक्री वितरण र नाबालकलाई धूमपान सम्बन्धी कुनै पनि सेवा उपलब्ध गराउन निषेध गर्ने व्यवस्था गरिएको छ ।

मन्त्री जालिहाद्वारा प्रस्तावित ऐनले सुर्तीजन्य उत्पादनका तीन वर्गलाई नियमन गर्नेछ । पहिलो वर्गमा प्रशोधन गरिएको सुर्ती वा मानव उपभोगको लागि निर्माण गरिएको कुनै सुर्तीजन्य पदार्थ, दोस्रोमा निकोटिन, प्रोपाइलिन ग्लाइकोल, ग्लिसरोल र ट्राइथाइलिन ग्लाइकोललगायत धूमपानका लागि प्रयोग हुने कुनै पनि पदार्थको संयोजन गरी बनाइएको विद्युतीय (ई-चुरोट) र तेस्रोमा धूमपानका लागि तयार सुर्तीजन्य उत्पादनहरू प्रतिस्थापन गर्ने लगायतका छन् ।

चुरोट तमाखु उत्पादनका विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा प्रतिबन्ध लगाउने प्रावधानहरू जुन पहिले नै विद्यमान कानूनहरू अन्तर्गत लागू हुने र अब ई-चुरोट, सुर्तीजन्य उत्पादनहरू, धूमपान पदार्थहरू र प्रतिस्थापन सुर्तीजन्य उत्पादनहरू लगायत सबै उत्पादनहरूमा विस्तार गरिएको मन्त्रीले जानकारी दिनु भएको छ ।

साथै विधेयकमा सबै आयातकर्ता र सूर्तिजन्य उत्पादनका उत्पादकहरूले मलेसियाली बजारका लागि उत्पादित प्रत्येक उत्पादन दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। विधेयकमा भनिएको छ- प्रत्येक उत्पादनको विशिष्टता र सामग्रीको रेकर्डिङको लागि अनुमति दिइने र दर्ता नगरिएका उत्पादनहरू लाई कारबाही गरिने छ।

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ, १५ मङ्सिर : संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गर्नुभएको छ ।

युएईको दुबइमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको हो ।

अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको र नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेकाले नेपालमा लगानी गरेर लाभ लिन उनीहरुलाई आग्रह गर्नुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताउनुभयो । आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

उहाँले थप पर्यटकलाई स्वागत गर्न नेपालमा नयाँ अन्तरराष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले ‘लक्जरी’ होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबुलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागिसमेत आग्रह गर्नुभयो ।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडीबुटीको विश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेकोतर्फ पनि युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो ।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

व्यापार र लगानीमा बैंकिङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले नेपालको बैंकिङ क्षेत्रमा युएईको लगानी प्रवद्र्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत नेपलमा लगानी गर्न सकिने जानकारी दिनुभयो ।

दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको नेपाल युएई बिजनेस फोरममा नेपाल र युएईका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा नेपाल र युएईमा लगानीका सम्भावना र अवसरहरुका बारेमा दुई देशका लगानीकर्ताहरुले छलफल पनि गरेका थिए ।

बहु-ध्रुवीकरणमा इयु स्वतन्त्र शक्तिः चीन

चीनले युरोपेली सङ्घ (इयु) लाई बहुध्रुवीकरणमा स्वतन्त्र शक्तिको रूपमा लिएको छ । युरोपको विकास र वृद्धि सहित युरोपेली सङ्घको रणनीतिक स्वतन्त्रतालाई समर्थन गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार बताउँनु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरोका सदस्य समेत रहनु भएका वाङले चीन र युरोपेली सङ्घ एक अर्काका प्रतिद्वन्द्वी नभई साझेदार रहेको र मानव सभ्यताको प्रगतिलाई संयुक्त रूपमा अगाडि बढाउन एकअर्कालाई सम्मान र प्रशंसा गर्नुपर्छ भन्ने चीनले सधैं विश्वास रहेको उल्लेख गर्नु भएको छ । उहाँले स्लोभेनियाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री तान्जा फाजोनसँगको भेटघाटका अवसरमा सो धारणा राख्नु भएको हो ।

स्लोभेनियाले युरोपेली सङ्घ भित्र रचनात्मक भूमिका खेल्ने, इयुलाई चीनप्रति थप स्वतन्त्र, वस्तुनिष्ठ र मैत्रीपूर्ण विचार बनाउन मद्दत गर्ने र चीन र युरोपेली संघबीचको खुला सहयोगमा सक्रिय समर्थन र सहभागी हुने चीनले आशा गरेको पनि वाङले बताउनु भएको छ ।

खेल सङ्घ वर्गीकरण गर्ने तयारीमा राखेप

काठमाडौँ – खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ ।राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्य–सचिवबाट खेलको वर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेस गर्ने व्यवस्था भएअनुरुप राखेपका पूर्वसदस्य–सचिव युवराज लामाको संयोजकत्वमा सात सदस्यीय खेलको वर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको हो ।

सदस्यमा राखेपका पूर्वउपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पीताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्टस् फेडरेसन, नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई हुनुहुन्छ । त्यस्तै प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा सङ्घसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई हुनुहुन्छ ।

खेल सङ्घलाई क्रियाशील बनाई खेलकुद गतिविधिको कार्यान्वयनमा प्रभावकारिता ल्याउन सदस्य–सचिव टङ्कलाल घिसिङबाट कार्यदल गठन गर्ने निर्णय गरिएको हो । कार्यदलले विस्तृत अध्ययन गरी २१ दिनभित्र राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ ।

सदस्य–सचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल सङ्घलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन क्रियाशील हुनुहुन्छ । उहाँको कार्यकालमा २४ सङ्घले निर्वाचन सम्पन्न गरिसकेका छन् भने कराँते, शारीरिक सुगठन, मुवाँथाइ र पेन्टाथलन सङ्घको एकीकरणसमेत भइसकेको छ । खेल सङ्घको सङ्ख्यालाई दुई अङ्कमा झार्ने अभियानमा सदस्य सचिव घिसिङ गम्भीर भएर कार्यान्वयनको प्रक्रियामा लागि पर्नुभएको छ ।

 

कोप–२८ : जलवायु सङ्कट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य

काठमाडौँ, १५ मङ्सिर : जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बिहीबारदेखि युएईको दुबइ सहरमा प्रारम्भ भएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हँुदैछ ।

सयौँ नीतिनिर्माताको यो विश्वव्यापी भेलामा जलवायु परिवर्तनको प्रभाव कम गर्न राष्ट्रसङ्घका सदस्यले जारी राखेका प्रयास, बितेको एक वर्षमा आयोजित कार्यक्रम तथा लक्ष्यको सघन समीक्षा, धनी राष्ट्रले गरिबलाई सहयोग गर्ने प्रतिबद्धतामाथिको जवाफदेहिता र पेरिस सम्झौतालगायत विगतका सम्झौता कार्यान्वयनको स्थिति, साथै हरितगृह ग्यास उत्सर्जन कम गर्ने र विश्ववापी तापक्रम वृद्धिलाई लक्ष्यअनुरुप नै कायम राख्न गरिनुपर्ने प्रतिबद्धतामा गम्भीर संवाद र वार्ता हुने कार्यसूची छ ।

दुई सातासम्म जारी रहने यस सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र तथा सरकारका प्रमुख, जनप्रतिनिधि, नीति निर्माता, कर्पोरेट संस्थाका मालिक, उद्योग–व्यवसायी, अन्तर्राष्ट्रिय जलवायु वैज्ञानिक, अनुसन्धाता गरी ७० हजारभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ ।

जलवायु परिवर्तन विश्वव्यापी साझा समस्या भए पनि स्रोतसाधन, प्रविधि, वित्त, भूगोलका कारण असमान हिसाबले समस्या भोगिरहेका राष्ट्रले फरकफरक विषयलाई महत्व दिएका छन् ।

असमानुपातिक हिसाबले जलवायु परिवर्तनको कहरमा परेका विशेषगरी अतिकम विकसित राष्ट्र (एलडिसी) को चासो जलवायु वित्तमा छभने विकसित राष्ट्रले विकासशील तथा उदाउँदा अर्थतन्त्र पनि थप जिम्मेवार हुनुपर्नेमा जिकिर गर्दै आएका छन् ।

त्यसैगरी विकासशील तथा एलडिसीको साझा तर्क विकसित तथा धनी राष्ट्र हरितगृह ग्यास उत्सर्जन गर्नमा ऐतिहासिकरुपमा बढी जिम्मेवार रहेकाले उनीहरु नै थप जिम्मेवार र संवेदनशील हुनुपर्छ भन्ने छ ।

जलवायु वित्तको सन्दर्भमा कोप–२७ मा गरिएको सहमतिअनुरुप स्थापना भएको हानि तथा नोक्सानी कोषमा विभिन्न राष्ट्रको बजेट योगदान तथा कोषको प्रभावकारी सञ्चालनसहित बढी क्षति बेहोर्ने नेपालजस्ता राष्ट्रका लागि आर्थिक सहायता परिचालनको विषयले यसपटक विशेष महत्व राख्छ । यो विषयमा हुने छलफल र वार्तालाई विश्वभर विशेष चासोका साथ हेरिएको छ ।

जलवायु परिवर्तनमा मुख्य जिम्मेवार विकसित र धनी देशले विकासशील तथा गरिब देशको जलवायु परितर्वन प्रभाव न्यूनीकरण तथा अनुकूलन प्रयासका लागि आर्थिक सहायता प्रदान गर्ने सामूहिक प्रतिबद्धता पूरा नगरेको विषय हरेक वर्ष पेचिलो गरी उठ्ने गरेको छ । स्मरणीय यो छ कि, सन् २००९ मा भएको कोप–१५ मा विकसित राष्ट्रले विकासशील राष्ट्रका लागि सन् २०२० सम्ममा हरेक वर्ष एक सय बिलियन अमेरिकी डलर परिचालन गर्ने घोषणा गरेका थिए ।

द्रुत गतिमा भइरहेको तापक्रम वृद्धि नियन्त्रण गर्न भएको पेरिस सम्झौता पनि सम्मेलनका निम्ति त्यत्तिकै महत्वपूर्ण मुद्दा हो । सन् २०१५ मा भएको पेरिस सम्झौताअनुरुप पूर्वऔद्यौगिक समयको दाँजोमा तापक्रम १.५ डिग्री सेन्टिग्रेडको वृद्धि मात्रै कायम गर्ने अर्थात् विश्वको सरदर तापक्रम वृद्धि दुई डिग्री सेन्टिग्रेडभन्दा तल राखिरहने वैश्विक प्रयासलाई निरन्तरता दिने तर यसका लागि जीवास्म इन्धनको प्रयोगमा कटौती गर्नुपर्ने वैज्ञानिकको सल्लाहविपरीत कार्य भइरहनु गम्भीर चिन्ताको विषय हो ।

नेपालजस्ता अतिकम विकसित राष्ट्र जलवायु परिवर्तनको गहिरिँदो सङ्कटमा पर्ने विश्वव्यापी चिन्ता प्रकट भइरहेको छ । राष्ट्रसङ्घीय निकायका प्रतिवेदनले पनि विश्वाव्यापी तापक्रम वृद्धि कम गर्न विशेषगरी धनी राष्ट्रका प्रयास अपुग भएको बारम्बार औँल्याएका छन् ।

यसैबीच, सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहाल आज र भोलि ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुनुहुनेछभने उहाँले भोलि उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले भोलि जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवद्र्धन गर्न ‘पर्वतको आह्वानः जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै हुनुहुन्छ ।

कोप–२८ धनी तथा विकसित मुलुकले नेपालजस्ता अतिकम विकसित राष्ट्रको विश्वास आर्जन गर्न कस्ता वाचा गर्नेछन् र त्यसका लागि कति प्रभावकारी जलवायु कूटनीति प्रदर्शन हुने हो त्यो अबका केही दिनमा देखिनेछ ।

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा

किमाथाङ्का (सङ्खुवासभा) – सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा रु दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ ।

आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताउनुभयो ।

आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरमध्ये दुई सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताउनुभयो । आयोजनाबाट सात सय ८८ का तीन सय १९ घर प्रभावित छन् । आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयवासीले मुआब्जा पाउने छन् ।

उत्तर–दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ भने राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी रु १० लाख निर्धारण गरिएको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत रु दुई खर्ब २६ करोड छ । सन् २०२४ को मध्यदेखि आयोजनाको निर्माण सुरु हुनेछ । काम सुरु भएको छ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

पहुँचमार्ग निर्माण सुरु
आयोजनाको पहुँचमार्ग निर्माण थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले २.०३ किलोमिटर सुरुङ मार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम अघि बढाएको छ ।

पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने छ । पहुँचमार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमाफेदीसम्मको पहुँचमार्ग निर्माण गर्नेछ ।

चितवनमा ११ महिनामा ७८ जनामा एचआइभी सङ्क्रमण

चितवन – सन् २०२३ को ११ महिनामा जिल्लामा ७८ जना एचआइभीबाट सङ्क्रमित भएका पुष्टि भएको छ ।

छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, तीन जना तेस्रो लिङ्गी र दुई जना बालबालिका छन् । सङ्क्रमण पुष्टि भएकामा चितवनका ३६ जना र बाहिरी जिल्लाका ४२ जना छन् ।

जिल्लामा अहिलेसम्म दुई हजार तीन सय १९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार एक हजार दुई सय १० जना पुरुष, नौ सय २३ जना महिला, २४ जना तेस्रो लिङेगी र एक सय ६२ जना बालबालिका छन् ।

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

कर्णाली – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताउनुभएको छ ।

सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो ।

प्रहरी नायब महानिरीक्षक ढकालले भन्नुभयो, “कर्तव्य पालनाको समयमा आम नागरिकलाई प्रभावकारी सुरक्षाको अनुभूति दिलाउन र जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी काम होस् भन्ने उद्देश्यले यो नियम ल्याइएको हो ।”

उहाँका अनुसार टोली कमाण्डरको हकमा यो नियम लागू हुने छैन । जिम्मेवारी क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या वा काम भएमा कमाण्डरको फोनमार्फत सहजीकरण गर्न यो व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो ।

कर्तव्यपालनाको सिलसिलामा मोबाइल नचालाउँदा आपराधिक गतिविधिको उच्च निगरानी गर्न सकिने, अपराध भएमा तत्काल अनुसन्धान हुने तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने जनाइएको छ ।

प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च वचत हुनुका साथै यसले नागरिकमा प्रहरीप्रतिको विश्वास बढ्ने आशा गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले जिम्मेवारी पूरा गर्ने समयमा मोबाइल नचलाउन÷नबोक्नका लागि सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो । उहाँका अनुसार यसका लागि प्रभावकारी ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको छ ।

साङ्घाई अटो पार्ट्स मेलामा ५,६०० भन्दा बढी कम्पनीहरू सहभागी

अटोमोटिभ पार्टपुर्जा (सवारी साधन), उपकरण र सेवा आपूर्तिकर्ताहरूका लागि लक्ष्यित साङ्घाई अन्तरराष्ट्रिय व्यापार मेलामा भाग लिन स्वदेश तथा विदेशका ५ हजार ६०० भन्दा बढी कम्पनीहरू साङ्घाईमा भेला भएका छन्।

कार्यक्रमको प्रदर्शनी क्षेत्र ३ लाख वर्ग मिटरमा फैलिएको बताइएको छ। संयुक्त राज्य अमेरिका, पोल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, इटाली र बेलायत लगायत ४१ देश र त्यस क्षेत्रका व्यावसायिक प्रदर्शकहरू मेलामा सहभागी छन्।

नयाँ ऊर्जा वाहन आपूर्ति शृङ्खलाको वृद्धिलाई ध्यानमा राख्दै, परम्परागत क्षेत्रहरूमा रूपान्तरण र स्तरवृद्धिको अतिरिक्त अन्य थुप्रै अन्तरराष्ट्रिय अटोमोटिभ बजारका बढ्दो अवसरहरू अन्वेषण गर्न हाल विश्व बजार चीनतिर लम्किरहेको मेस्से फ्रान्कफर्ट (एचके) लिमिटेडका महाप्रबन्धक फियोना चिउले उल्लेख गरेका छन् ।

चाइना अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनले जारी गरेको तथ्याङ्कअनुसार चीनको अटोमोबाइल उत्पादन र बिक्री दुवै गत वर्षको सोही अवधिको तुलनामा क्रमशः ८ प्रतिशत र ९.१ प्रतिशतले बढेर करिब २४ करोड युनिट पुगेको छ।सो कार्यक्रम १८ औं संस्करणका रूपमा बुधवार शुरु भई डिसेम्बर २ सम्म चल्ने छ ।

३६औँ विश्व एड्स दिवस आज, देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको छ ।

‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’:मन्त्री धनराज गुरुङ

काठमाडौँ, १५ मङ्सिरः नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहो¥याएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

जातीय भेदभाव अन्त्यका निम्ति २०७२ सालमा जारी संविधानमा नीतिगत, कानुनी र संस्थागत व्यवस्था गरिएको जानकारी दिँदै मानवअधिकार र मौलिक स्वतन्त्रताको संरक्षण एवं प्रवद्र्ध्न गर्ने संवैधानिक व्यवस्था गरिएको बताउनुभयो ।नेपालले समानता र न्यायका लक्ष्य हासिल गर्न बाह्य सहायताको आवश्यकता परेका देशहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको ब्रासिलियास्थित नेपाली राजदूतावासले जनाएको छ ।नेपाल पक्ष भएको अन्तरराष्ट्रिय मानवअधिकार संयन्त्रप्रतिको प्रतिबद्धता दोहो¥याउँदै राष्ट्रिय दण्डसंहिता र जातीय भेदभाव तथा छुवाछूत ऐनले जातीय भेदभाव र अन्य भेदभावलाई आपराधिक गतिविधिमा समावेश गरिएको जानकारी मन्त्री गुरुङले दिनुभयो । उहाँले भेदभावविरुद्ध उनले नेपालको ‘शून्य सहनशीलता’ नीतिले सकारात्मक परिणाम देखाएकोे बताउनुभयो ।बैठकमा मन्त्री गुरुङले ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेसहित तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । 

चीनमा फैलिँदै श्वासप्रश्वास सम्बन्धी रोग, जोखिममा नेपाल पनि

काठमाडौं । दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन।

बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ।

चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ।

चीनमा आकस्मिक रूपमा निमोनिया जस्तै श्वासप्रश्वाससम्बन्धी रोग फैलिएपछि भारत सरकारले पनि सूचना जारी गर्दै आफ्ना स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन र नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ। नेपाल सरकारले भने यसबारे अहिलेसम्म आधिकारिक सूचना जारी गरेको छैन।

यसअघि चीनमा फैलिएको कोभिड १९ बाट नेपाल पनि नराम्ररी प्रभावित भएको थियो। अहिले चीनमा फैलिएको पहिचान नभएको रोगको जोखिममा नेपाल पनि रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका प्रमुख डा। शेरबहादुर पुनले बताए। ‘कोभिडको असर नेपालमा पर्‍यो, अहिले चीनमा फैलिएको रोगको असर पनि नपर्ला भन्न सकिँदैन,’ उनले भने। उनका अनुसार हाल बेइजिङसहित आसपास क्षेत्रमा फैलिएको उक्त रोग थप फैलिने क्रममा छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विपद् व्यवस्थापन एकाइका डा। समीरकुमार अधिकारीले चीन छिमेकी राष्ट्र हुनु र दुई देशबीच आवतजावत भइरहने भएकाले नेपाल पनि उक्त रोगको जोखिममा रहेको बताए। ‘विश्व आवतजावतको हिसाबले सानो भइसक्यो। एक ठाउँमा देखिएको सरुवा रोग विश्वभरि सजिलै फैलिन्छ,’ उनले भने। छिमेकी मुलुकमा फैलिने रोगबाट नेपाल अछुतो रहन सक्दैन भन्ने कोभिडबाट पुष्टि भइसकेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए। चीनमा अहिले फैलिएको रोगको प्रकृति, असर, कारणबारे विस्तृत विवरण नआएसम्म त्यसको असर कहाँसम्म पर्छ भन्नेबारे भन्न नसकिने अधिकारीले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपचारात्मक महााशाखा प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. अनुपराज बास्तोलाले चीनमा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको विस्तृत विवरण नआएसम्म जोखिमबारेमा यकिन रूपमा भन्न नसकिने बताए। उनले भने, ‘रोगको खास कारण के हो भन्नेबारे विस्तृत विवरण आउनुपर्छ, त्यसपछि मात्र नेपालमा कति जोखिम छ भन्न सकिन्छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। रुद्र मरासिनीले सरकारले अहिले चीनमा देखापरेको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिमका विषयमा यकिन नगरिसकेको बताए। ‘कति जोखिम छ भनेर भनिहाल्ने अवस्था छैन,’ उनले भने। उनका अनुसार महाशाखाले अहिलेसम्म कुनै पूर्वसचेतनाका लागि सूचना पनि जारी नगरेको जनाए। यो समाचार नागरिक दैनिकमा छ ।

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

काठमाडौँ-: विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो । मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन् । ठडिएको छैन ।

नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रस्थित हिटी पोखरी परिसरमा रहेको धीरनारायण मन्दिरलाई केही भएन । मन्दिरअघि पाँच फिट उचाइमा स्थापना गरिएको गरुडनारायण भने ढलेको साढे आठ वर्ष पूरा भयो । तर अझै यसलाई उठाउने कोही फेला परेको छैन । मन्दिर क्षेत्रमा रहेको गरुडनारायण मूर्ति पाँच फिटमाथिबाट खसेर भुइँमा ढलेकोे नौ वर्ष पूरा हुन लाग्दा पनि यसलाई उठाउने निकाय फेला परेको छैन ।हिटी पोखरी संरक्षण समाजका अध्यक्ष तेजश्वी शम्शेर राणा तीनै तहका सरकारलाई अनुरोध गर्दा पनि सम्पदा जोगाउने सानो काम हुन नसकेको बताउनुहुन्छ । स्थानीय सरकारलाई पनि यो मूर्ति उठाउन पटकपटक अनुरोध गरेको वीरशम्शेरको सातौँ पुस्ताका सन्तति उहाँ बताउनुहुन्छ । गरुडनारायण मूर्तिसँगै रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको पाटी पनि भत्किएको थियो । पाटी पुनःनिर्माणको पनि अझै अत्तोपत्तो छैन ।विसं १७९६ मा धीरशम्शेरले यहाँ नारायण मन्दिर स्थापना गरेको परिसरमा राखिएको शिलालेखमा उल्लेख छ । मन्दिर परिसरमै ठूलो घण्ट भने विसं १९३१ राखिएको थियो । कमलको फूल शैलीको यो मन्दिरमा विसं २०७७ देखि अर्जुन क्षत्रीले पूजा गर्दै आउनुभएको छ । उहाँ विसं २०७२ देखि मन्दिरको सेवामा लाग्नुभएको थियो । तत्कालीन पुजारी भोलाप्रसाद पन्तले गुठी संस्थानलाई पत्र लेखी क्षत्रीलाई पुजारी नियुक्त गर्न अनुरोध गर्नुभएको थियो ।विसं २०७७ अघि मन्दिर क्षेत्रमा विकृति, विसङ्गतिका घटना बढ्न थालेपछि स्थानीयवासीले हिटी पोखरी संरक्षण समाजको गठन गरी यसको रेखदेख गर्दै आएका छन् । पुजारी क्षेत्री यो समाजको उपाध्यक्षका रुपमा पनि सक्रिय हुनुहुन्छ ।समाजले खसेको गरुडनारायणको मूर्ति माथि राख्न सरोकार भएका गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकालाई अनुरोध गर्दै आएपनि कसैले काम गरेका छैनन् । काठमाडौँ महानगरपालिका वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ भने सम्पदा संरक्षणका लागि वडाले सक्दो सहयोग गर्दै आएको दावी गर्नुहुन्छ ।करिब चार रोपनी क्षेत्रफलमा फैलिएको हिटी पोखरीमा अहिले पनि दुई वटा धाराबाट पानी आउने गरेको छ । पिउन योग्य पानी भएकाले यहाँ पानी लिन आउनेको पनि भीड लाग्ने गर्छ । सडकपेटीबाट पैदल हिँड्ने कति मानिस यहाँ पानी पिउन जाने गरेका छन् । नारायणहिटी दरबारको नामकरणमा यो हिटीको पनि नाम जोडिएको छ ।धूमपान गर्नेको अखडा बन्दै सांस्कृतिक स्थलदरबारमार्गको व्यस्त स्थलमा रहेको खुला ठाउँ भएकाले यहाँ वरपरका कार्यालयमा काम गर्नेहरु धूमपान गर्न आउने गरेका छन् । कानूनी व्यवस्था अनुसार सार्वजनिक स्थलमा बसेर धूमपान गर्न पाइँदैन । तर धीरनारायण मन्दिरसमेत रहेको हिटी पोखरी क्षेत्र भने धूमपान गर्नेको अखडा बन्दै गएको पुजारीसमेत रहनुभएका समाजका उपाध्यक्ष क्षत्रीले सुनाउनुभयो ।धूमपान नगर्न अनुरोध गर्दा पनि नमान्ने गरेको उहाँले बताउनुभयो । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि महानगर क्षेत्रका सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने गरी सार्वजनिक सूचना जारी गरेको छ । यहाँ भने दिनभर नै धेरै समूह धूमपानकै लागि आउने गरेका छन् ।विकृतिको अखडा बन्दै गएपछि मन्दिर क्षेत्रमा राखिएका सामान पनि हराउन थालेका छन् । स्थानीय योगेश मिश्र तीनै तहका सरकारले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको हिटी पोखरी क्षेत्रलाई वेवास्ता गर्दा समस्या बढेको बताउनुहुन्छ । नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमै पर्ने भएपनि नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यस क्षेत्रको रेखदेखमा ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।समितिका सूचना अधिकारी पुरुषोत्तम थापा राजा महेन्द्रको पालामा सडक बनेर हिटी पोखरी पारि परेपनि नारायणहिटी दरबार क्षेत्रकै भागका रुपमा रहेको स्वीकार गर्नुहुन्छ । दरबार सङ्ग्रहालयको सुरक्षाका लागि नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म राखिएको छ । यसको ध्यान हिटी पोखरी क्षेत्रमा नपरेको गुनासो स्थानीयवासीले गरेका छन् ।गुल्मका प्रहरी निरीक्षक सविनकुमार सङ्ग्रौला नारायणहिटीको नारायणस्थान मन्दिरमा प्रहरीले सुरक्षाका लागि पहरा दिने गरेपनि हिटी पोखरी क्षेत्रमा भने प्रहरी कार्यालय दरबारमार्गले हेर्ने गरेको बताउनुहुन्छ । सिसी क्यामेरा जडान गरेर नारायण मन्दिर क्षेत्रबाटै हेर्न सकिने गरी व्यवस्थापन गर्न सुझाव दिएको उहाँले सुनाउनुभयो ।हिटी पोखरीको किम्बदन्तीराजा विक्रमादित्यका पालामा पानीको समस्या भएपछि यहाँ ढुङ्गेधारा बनाइयो । धारा बनाइसकेपछि पनि पानी झरेन । पानी नआउनुको कारणका बारेमा बुझ्न दरबारमा सभा बोलाइयो । तान्त्रिकले ३२ लक्षणले युक्त मानिसलाई बलि दिएपछिमात्र पानी झर्ने सुनाए ।त्यसबेला ३२ लक्षणले युक्त राजा र राजकुमारमात्र भएको जानकारी तान्त्रिकले विक्रमादित्यलाई गराए । राजाले छोरालाई राति १२ बजे सेतो कपडा ओढेर सुतेको मानिसलाई छिनाल्न आदेश दिए । राजकुमारले राजाको आदेश पालना गर्दै राति १२ बजे हिटीमा गएर सेतो कपडा ओढेर सुतेका राजालाई छिनाले । धारामा पानी झर्न थाल्यो । टाउको उछिट्टिएर बज्रयोगिनीमा पुग्यो । जीउ हिटीको सानो कुण्डमा लडेको किम्बदन्ती यहाँका स्थानीयवासीले सुनाउने गरेका छन् । राजकुमार भने बाबुकै टाउको उनकै आदेशमा छिनाएको घटनाले दुःखी भए ।—

पाँच वर्षमा ५६ अर्ब ७२ करोड राजस्व छली, ६११ विरुद्ध मुद्दा

काठमाडौँ। मुलुकमा राज्यकोषमा दाखिला गर्नुपर्ने रकम दाखिला नगरी राजस्व छली गर्ने क्रम व्यापक छ । सरकारका नियामक निकायको आँखा छली वार्षिक अर्बौं रुपियाँ राजस्व छली हुने क्रम रोकिएको छैन ।

नियामक निकायका रूपमा रहेको राजस्व अनुसन्धान विभागले गरेको छानबिनले मात्रै विगत पाँच वर्षमा ५६ अर्ब ७२ करोड बढी राजस्व छली भएको देखाएको छ । यो राजस्व अनुसन्धान विभागको तथ्यांक मात्रै हो । यसबाहेक हुने गरेका अर्बौं राजस्व छलीका घटनाहरू भने बाहिर आउन सकेका छैनन् ।

विभिन्न व्यापारिक प्रतिष्ठानले राजस्व छलीका विविध उपाय अपनाएर राजस्व छली गर्ने क्रमलाई निरन्तरता दिँदै आएका हुन् । यो राज्यकोष माथिको बद्मासी हो । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको पाँच वर्षको अवधिमा मात्रै ५६ अर्ब ७२ करोड राजस्व छली भएको ठहर गर्दै छलीमा संलग्न रहेका ६ सय ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी राजस्व छलीका घटना भएको थियो । सो अवधिमा १९ अर्ब ८१ करोड राजस्व छली भएको ठहरसहित विभागले ३ सय १७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यसै गरी विभागले आर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब ५९ करोड राजस्व छली भएको पाइएपछि छलीमा संलग्न ९६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ४१ करोड राजस्व छलीमा ७१ जनाविरुद्ध मुद्दा दायर भयो । यसै गरी आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८३ करोड राजस्व छलीमा ९३ जनाविरुद्ध तथा आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ४५ करोड राजस्व छलीमा ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

सरकारका नियामक निकायबीच उचित समन्वय हुन नसक्दा राजस्व छली हुने क्रम बढेको पाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार विशेष गरी भन्सार बिन्दुबाट भन्सार महसुलमा बढी राजस्व चुहावट हुने गरेको छ ।

यसै गरी मूल्यअभिवृद्धि कर, अन्तशुल्क, आयकरमा समेत छली हुने क्रम अत्यधिक रहेको छ । राजस्व छली गर्नेहरूले न्यून बिजकीकरण, झुटा अनुमति–पत्रबाट निकासी पैठारी, वस्तुको गलत घोषणालगायतका तरिकासमेत अपनाउने गरेका छन् ।

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट हुने क्रम बढेपछि त्यसलाई रोक्न विशेष अभियान सञ्चालन गरिएको जनाएको छ । विभागका अनुसार पहिलो चरणमा खुला सीमा नाका र भन्सार नाकामा हुने तस्करी रोक्न विभिन्न अभियानहरू सञ्चालन गरिएको हो । यो समाचार समाचारपत्र दैनिकमा छ ।

नेपालमा लगानी गर्न अरब इमिरेट्सका लगानीकर्ताहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १५ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुग्नुभएका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्र्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नुभएको हो ।

दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिनुभएको थियो ।

युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताउनुभयो ।

दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताउनुभएको उक्त दूतावासले जनाएको छ ।महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री दाहालले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गर्नुभएको थियो । बिहीबारदेखि कोप–२८ दुबइमा प्रारम्भ भएको छ ।

नेपालका वायुसेवा ईयूको कालोसूचीमै

काठमाडौं । युरोपियन युनियन (ईयू) ले नेपालका वायुसेवा कम्पनीमा लगाएको प्रतिबन्ध तथा कालोसूची फुकुवा गर्न अस्वीकार गरेको छ। ईयूले सन् २०१३ बाट नेपाल वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेको थियो।

ईयूको पछिल्लो प्रतिवेदनले विमान कम्पनीहरूले उडान सुरक्षामा थप काम गर्नुपर्ने भन्दै कालोसूची नहटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। ईयूको एयर सेफ्टी कमिटीले बुधबार प्राधिकरणलाई हवाई सुरक्षा प्रतिवेदन बुझाएको थियो।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सन् २०२३ मा नेपाल ईयूको कालोसूचीबाट हट्ने दाबी गर्दै आएका थिए। ईयूले सन् २०१३ बाट नेपाललाई कालोसूचीमा राख्दै उसको सदस्य राष्ट्रभित्रका मुलुकहरूमा नेपाली वायुसेवा कम्पनीलाई उडानको अनुमति र त्यहाँका नागरिकहरूलाई यहाँको विमान चढ्न प्रतिबन्ध लगाएको हो।

प्राधिकरणबाट अन्नपूर्ण पोस्ट्लाई प्राप्त आंशिक प्रतिवेदनअनुसार नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको हवाई सुरक्षामा सन्तोष नभएका कारण नेपाललाई अझै ईयूको कालोसूचीमा नै राखिएको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘निगमको वर्तमान सांगठानिक संरचना, कार्यपद्धति, आर्थिक एवं प्राविधिक क्षमता, जनशक्ति एवं सेवा प्रवाहकको गुणस्तर सोको अभिलेखीकरणलगायत संस्थागत संरचनामा नै आमूल परिवर्तन गर्नुपर्छ।’

यस्तै, श्री एयरलाइन्सको वर्तमान कार्यपद्धति सन्तोषजनक रहे पनि थप सुधारको आवश्यकता प्रतिवेदनले औंल्याएको छ। आन्तरिक संस्थागत सुरक्षा, हवाईयोग्यता लगायतका पक्षमा विमान कम्पनीहरूले आवधिक रिपोर्टिङ गर्नुपर्ने ईयूले भनेको छ। त्यस्ता रिपोर्टिङ हरेक ३–३ महिना गर्न समयसीमा तोकेको छ।

प्रतिवेदनले नियमकीय निकाय प्राधिकरणको कार्यक्षमतामा ईयू सन्तोषजनक रहेको र उडान सुरक्षामा प्राधिकरण मात्र नभई राज्य संयन्त्रले नै हातेमालो गर्नुपर्ने उल्लेख भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जनाए।

ईयूको सेफ्टी एजेन्सी९इयासा० ले भदौ २५ देखि २९ गतेसम्म प्राधिकरण, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको स्थलगत अवलोकन तथा मूल्यांकन गरेको थियो। सोही आधारमा नै ब्रसेल्समा भएको एयर सेफ्टी कमिटीको छलफलबाट नेपालमा लगाएको कालोसूचीलाई निरन्तरता दिने निर्णय गरेको हो। हरेक ६–६ महिनामा ईयूले कालोसूची अद्यावधिक गर्ने गर्छ।

प्राधिकरणलाई बुझाइएको प्रतिवेदनमा प्राधिकरणको कार्यप्रति सन्तुष्टि जनाइनु र हवाई सुरक्षाको कारण देखाउँदै लगाइएको प्रतिबन्ध फुकुवा नहुनु विरोधाभाष भएको जानकार बताउँछन्।

प्राधिकरणलाई नियामक र सेवाप्रदायकका रूपमा नटुक्र्याएसम्म ईयूले कालोसूचीबाट नहटाउने बताइन्छ। २०७६ सालमा नै प्राधिकरण टुक्राउने विधेयक संसद् पठाइए पनि पारित हुन सकेन। टुक्राउनेभन्दा पनि प्राधिकरणले कर्मचारी सेवा शर्त नियमावली संशोधन गर्दै नियामक र सेवा प्रदायकको काम छुट्ट्याएको बताउँदै आएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज दिउँसो कोही प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

घट्यो डिजेल, पेट्रोलको मूल्य

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल÷मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमश ः एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ । यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको छ ।

आइओसीले बिहिबार नयाँ बिक्री मूल्य पठाउँदै साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ १२ पैसा र डिजेलको मूल्य प्रतिलिटर चार रुपैयाँ नौ पैसा घटेको जानकारी दिएको निगमले जनाएको छ ।

हेर्नुहोस् मंसिर १५ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।

बृष राशि- मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ ।

मीथुन राशि – सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

कर्कट राशि – आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

सिंह राशि – नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – गरीरहेको कार्य क्षेत्रबाटँ आक्समिक धनलाभ हुने योग रहेको छ । यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनिहुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ ।

तुला राशि- तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन । पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ ।

बृश्चिक राशि- यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुने योग रहेको छ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ ।

धनु राशि – आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्छन । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

मकर राशि- प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

कुम्भ राशि- सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।

मिन राशि – बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । स्वास्थमा गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

दूध उत्पादक कृषकका समस्या समाधान गरिने

मोरङ, १४ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दूध उत्पादक कृषकका समस्या समाधान गर्ने बताउनुभएको छ ।

नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एशोसिएसनको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्पसम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले दूध उत्पादक किसानका समस्या समाधानमा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

बीमामा किसानको सहज पहुँच र क्षतिपूूर्ति उपलब्ध हुनुपर्नेमा एसोसियसनले जोड दिएको छ । कार्यक्रममा एशोसिएसनका प्रदेश संयोजक योगेन्द्रलाल यादव र रामप्रसाद मेहताले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा १६ हजार किसानलाई तालिम दिएको बताउनुभयो । एसोसियसनले १२ लाख पशुमा सेवा पु¥याएको जनाएको छ । अन्तरक्रियामा प्रदेशका पशुपालक, दूध उत्पादक र सङ्कलक किसानको सहभागिता थियो ।

दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार

काठमाडौँ, १४ मङ्सिर : सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा क्षेत्रको विकासका लागि स्विटजरल्याण्ड सरकारले प्रदान गर्ने रु ६५ करोड अनुदान सहायता स्वीकार गर्ने बताउनुभयो ।

सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई खटाउने भएको छ । अस्थायी आवास निर्माणका लागि जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिबाट निर्णय गराई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई काममा खटाउने अख्तियारी दिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको निर्णयबाट माग भएबमोजिम नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।

मन्त्रिपरिषद्ले राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेय तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्जाल तथा व्यवस्थापन) गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा साविक भ्रमरपुरा–५ महोत्तरी निवासी सुवोधकुमार शर्मालाई मनोनयन गर्ने र स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा साविक चोक चिसापानी गाविस–५ तनहुँ निवासी डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको छ । सांस्कृतिक संस्थानको सञ्चालक समितिको अध्यक्षमा हतुवागढी गापा–२, भोजपुरका चन्द्रकुमार राईलाई तोक्ने निर्णय भएको छ भने विद्युतीय सुशासन आयोगको सदस्यमा साविक कञ्चनपुर जिल्ला निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ ।

सैनिक श्रीमतीसङ्घद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग

काठमाडौँ, १४ मङ्सिर : सैनिक श्रीमतीसङ्घद्वारा कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिमवासीलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

सङ्घकी अध्यक्ष श्रीमती सुनिता शर्माले दुवै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न तथा लत्ताकपडा र ब्लाङ्केटसहितका राहत सामग्री उपलब्ध गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सङ्घका अध्यक्ष शर्मासहितका पदाधिकारी आज दुवै जिल्ला पुगेर राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

खागको तस्करी आरोपमा पक्राउ परेका आठ सार्वजनिक

चितवन, १४ मङ्सिर : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।

विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्जको संलग्नतामा एकीकृत अपरेसन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरिएको हो ।

विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती रहेका छन् । उनलाई मङ्सिर ९ गते चितवनको राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार रहेको महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।

चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान रहेका छन् । उनलाई सोही दिन राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडा मार्ने शिकारी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गैँडाको खाग बिक्री वितरणमा सहयोग गर्ने मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ पक्राउ परेका छन् । उनीसमेत राप्ती नगरपालिका–६ बाट पक्राउ परेका हुन् ।

गैँडा मारी खागको बिक्री गर्ने मुख्य योजनाकारका रुपमा मनहरी गाउँपालिका– ६ का ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम थिङलाई पनि सोही दिन सोही क्षेत्रबाट पक्राउ परेको ढु¬्ङ्गानाले जानकारी दिनुभयो । खाग बिक्री वितरणमा सहयोग गरेको अभियोगमा रोल्पाको सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अर्जुन रोका पक्राउ परेका छन् । उनलाई पनि राप्ती–६ बाट नै मङ्सिर ९ गते नै पक्राउ गरिएको हो ।

सोही अभियोगमा गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरुङलाई अन्यसँगै राप्तीबाटै पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै राप्ती नगरपालिका–५ बाट मङ्सिर ११ गते गैँडा मार्ने शिकारीको अभियोगमा चितवनको राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतानलाई पक्राउ गरिएको छ । सोही ठाउँबाट सोही दिन मकवानपुरको मनहरी नगरपालिका–७ ज्यामिरे घर भई हाल चितवनको माडी नगरपालिका–९ बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङलाई पक्राउ गरेर सार्वजनिक गरिएको हो ।

पक्राउ परेकाको साथबाट दुई थान गैँडाको खाग, भरुवा बन्दुक एक थान, बिँड नभएको बञ्चरो एक थान, कालो झोला, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाइट, डिक्ची, पटका बारुद, दुई थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको छ ।

गएको कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रस्थित कोर ईलाकामा दुई वटा पोथी गैँडालाई खाडल खनी मारेर खाग लगेको अवस्थामा भेटिएका थिए । उक्त घटनाको अध्ययन गरी सुझाव पेश गर्न वन तथा वातावरण मन्त्रालयबाट मङ्सिर १ गते विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रतिनिधि, कानुन अधिकृतसहितको पाँच सदस्यीय छानबिन टोली गठन भई स्थलगत अध्ययन अनुसन्धान पश्चात् तयार भएको छानबिन प्रतिवेदन विभागमा बुझाइएको छ ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो । संरक्षित वन्यजन्तुको चोरी शिकारलाई विभागले गम्भीर रुपमा लिएको भन्दै देखिएका कमिकमजोरीलाई सुधारी सुरक्षा प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक समन्वय गरिसकेको उहाँले बताउनुभयो ।

जलवायु परिवर्तनका असर घटाउन नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराइने

काठमाडौँ, १४ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ ।

कोप–२८ मा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली राजदूतावास पुग्नुभएका प्रधानमन्त्रीले त्यहाँ एकत्रित भएका नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराउने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले सम्मेलनमा याचकका रुपमा नभई अधिकार प्राप्तिका निम्ति नेपालका मुद्दा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र त्यसको क्षतिपूर्ति माग गरिने तथा वित्तीय र प्राविधिक सहयोगको अधिकारबारे कुरा उठाउने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था भएको जानकारी दिनुभयो ।

विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताउनुभयो ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य अभिवृद्धिका निम्ति आफू क्रियाशील रहेको बताउदै नेपालको आर्थिक विकासमा युएईको सहयोग जुटाउन दूतावासले गरेका कामकारबाहीबारे जानकारी दिनुभएको थियो ।

सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना

काठमाडौँ, १४ मङ्सिर : सरकारले आन्तरिक तथा बाह्य श्रम बजारको माग र आवश्यकताअनुसार सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति रहने गरी मन्त्रालयले विकास समिति स्थापना गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग र आवश्यकताअनुरुप दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेशसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

सूचना प्रकाशित भएसँगै श्रम मन्त्रालयअन्तर्गत भैँसेपाटी, इटहरी र बुटलवमा रहेका व्यावसायिक तथा सीप विकास प्रतिष्ठान विकास समितिमा परिणत भएका छन् । समितिमा अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा वैदेशिक रोजगार बोर्ड, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र संयुक्त टे«ड युनियन समन्वय केन्द्रका प्रतिनिधिको सहभागिता रहनेछ ।

श्रममन्त्री शरत्सिंह भण्डारी विकास समितिले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी श्रम बजारको आवश्यकता परिपूर्ति गर्ने बताउनुहुन्छ । “राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा सीपयुक्त जनशक्तिको ठूलो माग छ । सीपयुक्त जनशक्ति उत्पादन नहुँदा नेपाली श्रमिकले उचित ज्याला र सुरक्षा पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरको तालिम दिने गरी प्रतिष्ठानले काम गर्नेछ ।”

प्रतिष्ठानले स्वदेश वा विदेशमा रोजगारीका लागि उपयोगी विभिन्न विषयका अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रमअनुसार छ महिने प्रशिक्षण सञ्चालन गर्नेछ । उक्त प्रशिक्षण कम्तीमा सात सय ३० कार्य घण्टाको हुने श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठानले दक्ष प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्न आवश्यक पर्ने प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नीति तर्जुमा, श्रम बजारको मागअनुरुप दशजनशक्ति उत्पादन गर्न आवश्यक प्रशिक्षणको विषय पहिचान तथा छनोट गर्नेछ ।

चीनको कारखाना गतिविधि लगातार दोस्रो महिना सङ्कुचित

चीनमा नोभेम्बर महिनामा कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ ।

राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार कारखाना उत्पादनको प्रमुख मापक उत्पादन खरिद प्रबन्धकहरूको सूचकाङ्क घटेर ४९ दशमलव चारमा आएको छ । यो आँकडा अक्टोबरदेखि कम हुँदै गएको थियो र ब्लुमबर्गको सर्वेक्षणमा ४९ दशमलव आठको पूर्वानुमानभन्दा पनि कमजोर थियो ।

चीनले करिब तीन वर्षपछि सन् २०२२ डिसेम्बरमा उसको कठोर शून्य–कोभिड प्रतिबन्धलाई हटाउन सुरु गरेपछि अर्थतन्त्रले फेरि सुधारतिर आउने अवसर पाएको छ ।

कमजोर उपभोक्ता तथा व्यावसायिक विश्वास, लगातारको आवास सङ्कट, कीर्तिमानी युवा बेरोजगारी र विश्वव्यापी मन्दीका कारण उक्त सुधारमा अवरोध भएको छ । यसले चिनियाँ वस्तुहरूको मागलाई असर गरिरहेको छ ।

विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनका लागि एउटा कठिन वर्षपछि हालका साताहरूमा केही परिवर्तन आएको छ । तेस्रो त्रैमासिकमा आर्थिक वृद्धि दर अपेक्षित चार दशमलव नौ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ ।

यद्यपि अहिले पनि करिब पाँच प्रतिशतको आफ्नो घोषित वार्षिक लक्ष्य हासिल गर्नका लागि बेइजिङले कठिन सङ्घर्षको सामना गरिरहेको छ ।

हमाससँगको युद्धविराम थप एक दिन लम्बिएको इजरायलद्वारा पुष्टि

हमास र इजरायलले गाजा पट्टीमा मानवीय युद्धविराम लम्ब्याउन सहमत भएको प्यालेस्टाइनी र इजरायली अधिकारीहरूले बिहीबार विभिन्न वक्तव्यमा बताएका छन् ।हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बिहीबार बिहान सकिँदै गरेको युद्धविरामको समयावधि थप एक दिन लम्ब्याइने भएको छ ।

“हाम्रा मध्यस्थकर्तामार्फत हामी युद्धविरामलाई थप एक दिनका लागि लम्ब्याउन सहमत भएका छौं,” हमासद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।इजरायली रक्षा बल (आईडीएफ) ले गाजा पट्टीमा हमाससँगको युद्धविराम लम्बिने बिहीबार बिहान पुष्टि गरेको छ ।

“बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्ने मध्यस्थहरूको प्रयासपछि सम्झौतामा उल्लेखित सर्तहरूको अधीनमा रहने गरी थप एक दिनका लागि युद्धविरामको समय बिस्तार भएको छ,” हालको युद्धविराम सम्झौताको म्याद समाप्त हुनुभन्दा केही मिनेट अघि आईडीएफले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

हमासले बुधबार रिहा गरेका दुई इजरायली–रूसी महिलालाई बिहीबारका लागि बन्धकको सूचीमा समावेश गरिने भएकाले बिहीबार हमासले आठ जना मात्र बन्धकलाई रिहा गर्ने इजरायली सञ्चारमाध्यमले जनाएका छन् । त्यसको बदलामा ३० जना प्यालेस्टिनीलाई इजरायली जेलबाट रिहा गरिनेछ ।

इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभयो, “बन्धकलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थहरूको प्रयास र सम्झौताका सर्तहरू अनुसार थप एक दिनका लागि मानवीय युद्धविराम अवधि जारी रहनेछ । हमासले सम्झौताअनुसार रिहा गरिने बन्धकहरूको नामको नयाँ सूची ‘पछि हस्तान्तरण गर्ने बताएको’ छ ।” दुवै पक्षले युद्धविराम सम्झौताको एक भागको रूपमा छैटौं चरणको रिहाइ पूरा गरेका छन् ।

खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद

दोधारा चाँदनी (कञ्चनपुर), १४ मङ्सिर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन् । यस वर्ष कञ्चनपुरमा पन्ध्र हजार क्वीन्टल धान गरिद गर्ने लक्ष्य भए पनि लक्ष्य भेट्टाउन गाह्रो रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद भएको जानकारी दिनुभयो । “पुस मसान्तसम्म किसानका धान खरिद गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “किसानहरु धान बिक्रीका लागि आउनेक्रम जारी छ ।” गतवर्ष १४ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि तीन हजार क्वीन्टल धान मात्रै खरिद भएको थियो । यो वर्ष १५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य लिए पनि लक्ष्य पूरा हुने सम्भावना न्यून रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमा समेत धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यसवर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने गरेको छ ।

खाद्यसँग धान बिक्रीका लागि प्रक्रियागत अल्झनले गाउँमै व्यापरीसँग न्यून मूल्यमा धान बिक्री गर्नुपरेको किसानको गुनासो छ । “खाद्यले वडाको सिफारिस ल्याउ भन्छ वडामा रिफारिस गरेको पनि शुल्क तिर्नुपर्छ”, किसान खुसी रानाले भन्नुभयो, “सरकारले किसानको हितमा निर्णय गरिदिए सजिलो हुन्थ्यो ।” खाद्यले कञ्चनपुरमा कात्तिक १५ गतेदेखि धान खरिद सुरु गरेको हो ।

कृषि ज्ञान केन्द्रका अधिकृत हरिदत्त जोशीले कञ्चनपुरमा धानको उत्पादकत्व चार मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिनुभयो । “गतवर्ष तीन दशमलव ९२ मेट्रिक टन थियो । यो वर्ष वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “धान र गहुँमा कञ्चनपुर आत्मनिर्भर छ ।” उहाँले कञ्चनपुरको जनसङ्ख्यालाई पर्याप्त भइ ८४ हजार टन खाद्यान्न बाहिर जाने गरेकोे बताउनुभयो ।

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ, १४ मङ्सिर : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले यी दुवै विषय प्रयोगात्मक नभएर साहित्यिक भएकाले स्नातकोत्तर पढदा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने बताउनुभयो ।

“साहित्यिक विषय अरु विषय पढेकाले पनि पढ्न सक्ने भएका छन् । अरु विषय प्रयोगात्मक भएकाले आधारभूत आधार आवश्यक हुन्छ । तर नेपाली र अङ्ग्रेजी साहित्य विषय भएकाले सक्नेछन्”, उहाँले भन्नुभयो, “विषयगत समिति र सङ्कायको सिफारिस पछि प्राज्ञिक परिषद्ले निर्णय गरेको हो ।”

त्रिवि नेपाली विभागका प्रमुख प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले त्रिवि वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न पाउनेछन् । त्रिवि अङ्ग्रेजी विभागका प्रमुख प्रा डा जीवलाल सापकोटाका अनुसार कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको विद्यार्थीले अङ्ग्रेजीमा स्नात्तकोत्तर तहमा पढ्न पाउने भएको बताउनुभयो ।

मापदण्ड अनुसार त्रिविबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम एक सय पूर्णाङ्क वा सोसरह अङ्ग्रेजीसहित हुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने छ । यस्तै अङ्ग्रेजी मातृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।

सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य सर्लाहीका किसान

सर्लाही, १४ मङ्सिर : सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् ।

जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका–११ स्थित रहेको इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी गरेको छैन । यसबाट समस्यामा परेको जिल्लाका उखु उत्पादक किसानले उत्पादन गरेको उखु सस्तोमा सक्खर उद्योगलाई बेच्न थालेका हुन् ।

जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु सस्तैमा भए पनि समयमै बेच्दा खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन पाइने भएकाले पनि हतारमा देखिएका छन् ।

उखु मिलमध्ये हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग यही मङ्सिर २२ गतेबाट सञ्चालन गर्ने तयारी भए पनि अन्नपूर्ण र महालक्ष्मी सुगर मिल कहिले सञ्चालन हुन्छन् भन्ने पत्तो छैन । जिल्लाका उखु उत्पादक किसानले समयमै आफ्नो खेत खाली हुँदा अन्य बाली लगाउन पाउने भएकाले पनि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले चालु सिजनको उखुको मूल्य निर्धारण गरेको छैन ।

उहाँले चिनी मिल समयमै सञ्चालन नहुने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान उखु समयमै बेच्न नपाउने र बेचेको उखुको पनि समयमै भुक्तानी नपाउने चिन्तामा रहेकोे बताउनुभयो ।

नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले सुगर मिल कहिले सञ्चालनमा आउँछन् र गत वर्ष बेचेको उखुको भुक्तानी कहिले हुन्छ भन्ने दोधारमा रहेका जिल्लाका उखु उत्पादक किसान सस्तैमा भए पनि सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताउनुभयो ।

बरहथवा नगरपालिका–११ का रत्नबहादुर घिमिरेले सस्तोमै सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताउनुभयो । नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उद्योगलाई सस्तैमा भए पनि उखु बेच्न थालेको बसबरिया गाउँपालिका–२ का उखु उत्पादक किसान रामविलाश महतोले बताउनुभयो ।

जिल्लाका सक्खर उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि कम दिने र माग बढेमा सोहीअनुसार मूल्य बढाएर दिने गरिएको बरहथवा–११ का सक्खर उद्योग सञ्चालक शत्रुधन रायले बताउनुभयो । उहाँका अनुसार अहिले उखु उत्पादक किसानलाई किसामको मूल्य निर्धारण गरिएको छैन ।

एघार क्विन्टल उखु पेल्दा एक क्विन्टल सक्खर उत्पादन हुने बरहथवा–११ का सक्खर उत्पादक व्यवसायी रायले बताउनुभयो । उहाँका अनुसार उत्पादित सक्खरमध्ये कालो सक्खरको रु पाँच हजार र सेतो सक्खरको रु पाँच हजार पाँच सयदेखि छ हजार दुई सय प्रतिक्विन्टल बजार मूल्य छ । आफ्नो उद्योगमा प्रत्यक्षरूपमा छ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएका रायले बताउनुभयो ।

“भारतबाट अवैधरूपले आउने सक्खरका कारण व्यवसाय नै धरासायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवै समस्यामा छन्”, बरहथवा–११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले बताउनुभयो । उहाँले भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार बेच्नुपरेकाले लगानीअनुसारको मूल्य नपाएको गुनासो गर्नुभयो ।

गैँडाको खागसहित आठ जना पक्राउ

चितवन, १४ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ ।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।

गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ । पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन् ।

गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ । निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ ।

निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो । घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।

उहाँका अनुसार आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिँदै छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्यूरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहनेछ ।

सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् । नेपालमा सात सय ५२ गैँडा छन् ।

अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

काठमाडौँ, १४ मङ्सिर :सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ ।

हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई केही संशोधन गर्दै सरल बनाएपछि आजसम्ममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत रु दुई करोड ५३ लाख ५० हजार रकम निकासा भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लाभग्राही निश्चित भएका एक हजार १४ लाभग्राहीका लागि उक्त रकम निकासा गरिएको हो ।

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले उक्त रकम लाभग्राहीको हातमै पुगिसकेको जानकारी दिनुभयो । कार्यविधि संशोधन गर्दै सरकारले बैंक खातामा दिनुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी हातमै दिन सकिने गरी कार्यविधि बनाएको थियो ।

सोही आधारमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका पहिचान भएका ६४ घरपरिवार (लाभग्राही)का लागि रु १६ लाख, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका पाँच सय लाभग्राहीका लागि रु एक करोड २५ लाख र रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाका चार सय ५० लाभग्राहीका लाग रु एक करोड १२ लाख ५० हजार रकम निकासा भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

बाजुरा जिल्लाको पाँच स्थानीय तहबाट एक हजार तीन सय ६१ लाभग्राही कायम गरी जिल्लाबाट रकम निकासाको माग भइआएका र उनीहरूका लागि पनि छिट्टै रकम निकासा हुने उहाँले बताउनुभयो ।

सरकारले चिसोको समयमा छिटो लाभग्राहीको अस्थायी घर निर्माण गर्नुपर्ने भएकाले सोहीअनुसार रकम निकासा तीव्र पारिएको जनाएको छ । लाभग्राही निश्चित भएर रकम माग हुनेबित्तिकै अन्य क्षेत्रका लाभग्राहीका लागि पनि अस्थायी आवास निर्माणबापतको पहिलो किस्ताको रकम निकासा हुने पनि उहाँले बताउनुभयो । पहिलो किस्ताबापत प्रतिलाभग्राहीले रु २५ हजार पाउनेछन् ।