`

काष्ठमण्डप खुला गर्नेबारे अझै अन्योल

काठमाडौँ । पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न गरी काष्ठमण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।

महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) का अनुसार पुनःनिर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ । प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय यकिन हुन्छ ।

विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समितिको गठन भएको थियो । उक्त सम्पदा पुनः निर्माणका लागि २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने निर्णय गर्‍यो । यसको चार दिनपछि अर्थात् ज्येष्ठ २९ गते महानगरपालिका र समितिबिच पुनःनिर्माणका लागि सम्झौता भयो ।

सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई रु ५० लाख प्रदान गरिएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते रु पाँच करोड, २०७६ माघ ९ गते रु ५ करोड र २०७८ असार १६ गते रु एक करोड उपलब्ध गरायो ।

क्षति भएको उक्त सम्पदा पुनःनिर्माणका लागि महानगरले उपलब्ध गराइएको रु ११ करोड ५० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन र संरक्षण गर्न, काष्ठमण्डपलाई भौतिकरुपमा जिम्मेवारी स्वीकार गर्न पुनःनिर्माण समितिको संयोजक राजेश शाक्यले महानगरलाई आग्रह गरेका छन् ।

पुनःनिर्माणका क्रममा भएको सम्पूर्ण विवरणसहित निर्माणको समयमा विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन समेत महानगरलाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरुपमा निर्माण गरी २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन् ।

आजदेखि तीन दिनसम्मका लागि बाँकेको राप्ती नदीमा पूर्णमासी मेला सुरु

खजुरा । बाँकेको राप्ती नदी सिधनियाघाटमा तीन दिने मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आजदेखि तीन दिनसम्मका लागि मेला सुरु भएको हो ।

कार्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको भीड लाग्ने गर्दछ । भोलि (सोमबार) नदीमा स्नान गर्न बाँकेलगायत विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान पण्डितलाई दिने गरिएको अवधि साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताए । उनले भने, “यो स्नानको ठूलो महत्त्व छ, यो स्नान गर्नाले माघे सङ्क्रान्तिका दिन स्नान गरिएको जति फल मिल्छ, यो सूर्य भगवान्को विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्मरोगसम्बन्धी समस्यासमेत निराकरण हुन्छ ।”देव सैनी पूर्णमासीको स्नानले मानिसको शरीरलाई चम्किलो तथा फुर्तिलोसमेत बनाउने गरेको पण्डित पाठकले बताए । कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन हुन्छ । चर्तुमास समापन पश्चात शुभ कार्यको थालनी गर्ने चलन रही आएको छ । पूर्णिमाका दिनदेखि विवाह तथा व्रतबन्धका साइत सुरु हुने पण्डित पाठकले बताए । चतुर्मासका कारणले रोकिएका विवाह तथा व्रतबन्ध र ठूला पूजाआजा सबै सुरु हुन्छन् ।पूर्णिमाको अवसरमा राप्ती नदीको सिधनिया घाटमा आजदेखि मेला सुरु भएको छ । मेलामा रामलीला मञ्चन, मनोरञ्जनात्मक नाच गानलगायतका सांस्कृतिक कार्यक्रम हुने स्थानीय मेला आयोजक समितिका भोलाप्रसाद गुप्ताले बताए । उनका अनुसार भारतबाट करिब २० कलाकारको समूहले नाटक मञ्चन, नौटङ्की नृत्यलगायतका सांस्कृतिक कार्यक्रम गरिरहेको छ । मेलामा साधु सन्तको उपस्थिति रहेको छ । मेलाको अन्तिम दिन भण्डारा गरी समापन गरिने समितिले जनाएको छ ।बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेला पनि सुरु हुँदैछ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । यस वर्ष यही मङ्सिर ११ देखि १३ गतेसम्म तीन दिन मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।kपुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताए ।बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा पनि प्रत्येक वर्ष तीनदिने डिग्रे मेला लाग्दै आएको छ । यस वर्ष राप्तीसोनारी–२ टिकुलीपुरमा आजदेखि डिग्रे मेला सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमारो केसीले जानकारी दिए ।

सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा, रुटमा ३६ बस सञ्चालन हुने

काठमाडौँ – सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीनरतीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले राससलाई जानकारी दिए ।

“रत्नपार्क–सूर्यविनायक रुटमा ३६ बस सञ्चालन हुनेछन्”, उनले भने, “आज बिहान साँढे ८ बजेदेखि बस नियमित सञ्चालन गरिएको छ ।” यसअघि उक्त रुटको दुवैतर्फ गरी २५ बस सञ्चालन गरिएको थियो ।

आजदेखि पुनः सुरु भएको उक्त सेवा तीनरतीन मिनेटको फरकमा सूर्यविनायकबाट रत्नपार्क बस प्रस्थान गरेका छन् । बस सेवा बिहान १०ः३० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि ५ः३० बजेसम्म सञ्चालनका लागि तालिका बनाइएको महानिर्देशक रिजालले जानकारी दिए । उनका अनुसार द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बस थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको छ ।

यात्रुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि उक्त बस सेवा सुरु गरेको थियो । सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो ।

अन्य सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा लाग्ने गरेकामा द्रुत बसलाई ४५ मिनेट लाग्ने रिजालले दाबी गरे । माइतीघर, कोटेश्वर, जडीबुटीलगायत ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने उनको भनाइ छ ।

रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसले जति भाडा लिन्छन् द्रुत बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभाग मीनभवनले जनाएको छ ।

शिक्षक बिदेसिएपछि व्यवस्थापन समितिका अध्यक्ष आफैँ पढाउँदै

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई अध्यापन गराउन थालेका छन् ।

विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वैच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँ अध्यापन गर्न थालेको अध्यक्ष गोविन्द भण्डारीले बताए । अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानध्यापकसमेत थिए ।शिक्षक भूपराज अधिकारीसँगै उनकी श्रीमती भारती अधिकारी पनि बेलबारी ३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक थिइन् । उनी पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमान्सँगै वैदेशिक रोजगारीमा गइन् ।लामो समय सोही विद्यालयमा अध्यापन गराएका भण्डारी सेवा निवृत्त भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएका हुन् । व्यवस्थापन समितिको अध्यक्ष भएपछि पनि उनले विद्यार्थीको पठनपाठनमा कुनै बाधा नपुगोस् भनेर अध्यापन गराएको बताए ।शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमका अनुसार स्थानीय पालिका तथा उक्त विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र नआएको, शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको बताए ।

जुम्ला विमानस्थल विस्तार गर्न एक सय ८३ रोपनी जग्गा अधिग्रहण

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए ।

जग्गा अधिग्रहणका लागि जुम्ला विमानस्थल कार्यालय प्रमुख अधिकारीलाई ‘अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ तोकिएको जुम्ला विमानस्थल कार्यालयले जनाएको छ । ‘जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ करिब एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गरिएको हो ।

प्राधिकरणलाई स्कीकृति प्रदान गर्ने भनी नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८० जेठ २ गते निर्णय भएको ब्यहोरा उल्लेख गरिएको छ । निर्णय कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विसं २०८० जेठ १० गतेको पत्रमार्फत लेखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले विसं २०८० जेठ २३ गतेको पत्रअनुसार जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ (२) बमोजिम जुम्ला नागरिक उड्डयन कार्यालयका प्रमुखलाई प्रारम्भिक अधिकारी तोकी प्रारम्भिक कारबाही चलाउने र प्रारम्भिक अधिकारीले सम्बन्धित सरोकारवाला व्यक्तिको जानकारीका लागि सूचना दिनुपर्ने व्यवस्था अनुसार पत्र सार्वजनिक गरिएको उनले जानकारी दिए । रासस

आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताएका छन् ।

आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउन्डेसनद्वारा आज आयोजित ‘अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी, २०२३ उद्घाटन’ समारोहमा मन्त्री बस्नेतले नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्णभूमि भए पनि यसको व्यवस्थापन र विकासमा राज्य चुकेको बताए । उनले आयुर्वेद क्षेत्रको प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै भारत र चीनको सहयोग लिएर साझेदारी अघि बढाउँदा उपलब्धि हासिल हुने दाबीसमेत गरे ।

“नेपाल आयुर्वेदिक उपचार पद्धति विकासका लागि स्वर्णभूमि हो । अथाह सम्भावना हुँदाहुँदै पनि राज्य आयुर्वेद पद्धतिको विकास र व्यवस्थापन गर्नमा पछि परेको छ”, मन्त्री बस्नेतले भने, “भारत र चीनले आयुर्वेद क्षेत्रमा गरेको प्रयास प्रशंसनीय छ । हामीले पनि यी देशसँग सहयोग लिएर साझेदारीको भावना अघि सार्दै काम गर्न सक्ने हो भने ठूलो उपलब्धि हासिल गर्न सक्छौँ ।”

आर्थिक स्रोतका हिसाबले पनि आयुर्वेद ठूलो क्षेत्र हुन सक्ने बताउँदै मन्त्री बस्नेतले भने, “हाम्रो जडीबुटीको यति ठूलो भण्डार छ कि यसलाई राज्यले जति हदसम्म प्रयोग, उत्खनन र व्यवस्थित गर्न सक्नुपर्दथ्यो त्यो भएन ।” जडीबुटी खेतीको सम्भावना धेरै रहेको उल्लेख गर्दै उनले जडीबुटीको उत्पादन र निर्यात बलियो आर्थिक स्रोत बन्न सक्ने बताए ।

आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन र अध्यापन गर्नुको सङ्ख्या बढाउनुपर्नेमा समेत जोड दिँदै मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि आवश्यक छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्याय डा वासुदेव उपाध्यायले आयुर्वेदको अभ्यासलाई प्रमाणमा आधारित बनाउनुपर्नेमा जोड दिए । “हामी प्रमाणका आधार भएर अभ्यास नगरेसम्म यसको प्रभावकारिता देखाउन सक्दैनौँ । अबको समयमा हामीले आयुर्वेदको विधालाई विश्वस्तरमा नै मान्यता प्राप्त बनाउन सक्नुपर्छ”, उनले भने, “नेपालको भौगोलिक विविधतामा पाइने जडीबुटीमा अनुसन्धान गर्न हामी तयार छौँ । भारत र चीनसँगै अन्य देशसँग जनशक्ति र ज्ञान आदानप्रदान गर्न तत्पर छौँ ।”

यही मङ्सिर ९ देखि ११ गतेसम्म हुने उक्त सम्मेलनमा भारत, पोर्चुगल, बङ्गलादेश, श्रीलङ्कालगायत देशको उपस्थितिमा आयुर्वेदका ज्ञान, सीप एकअर्कामा आदानप्रदान गर्न सहयोग पुर्‍याउने फाउन्डेसनका अध्यक्ष विजेन्द्र शाहले बताए ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको तथ्याङ्क सङ्कलन

कञ्चनपुर । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ ।वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको रोजगार शाखामार्फत तथ्याङ्क सङ्कलन हुन थालेको हो । स्वदेशमै उद्यमशीलता विकास गर्न सक्ने गरी तालिम प्रदान गर्नका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णराज भट्टले बताउनुभयो ।

“तथ्याङक सङ्कलनका लागि नगरपालिकाका १२ वटै वडामा परिपत्र गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले वडामा उपलब्ध गराइएको फारममा नाम, वैदेशिक रोजगारीमा गएको मुलुक, सिकेको सीप, ठेगाना र सम्पर्क नम्बर, चाहिने सीपबारे विवरण भर्नुपर्ने छ ।”

उहाँका अनुसार विवरण सङ्कलन कार्य गरिसकिएपछि त्यसकै आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले सेवाप्रदायकमार्फत सीपमूलक तालिमका लागि छनोट गरिने छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिकसँगै व्यवस्थापकीय सीपमूलक तालिम प्रदान, परम्परागतरूपमा सञ्चालित पेसाको आधुनिकीकरण तथा बजारको माग, व्यक्तिको क्षमताअनुरुप रोजगारीको व्यवस्था गर्न सहजीकरण गरिने उहाँको भनाइ छ ।

यससँगै रोजगारीका क्रममा आर्जन गरेको पुँजी, ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा वृद्धि गर्न प्राविधिक र व्यवस्थापकीयरूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यममूलक कार्यक्रम सञ्चालनको व्यवस्था गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो ।

गत आवमा नगरपालिकामा विदेशबाट फर्केका ९० जनाको विवरण सङ्कलन गरिएको थियो । जसमा भारत, मलेसिया, साउदी अरब, ओमान, बहराइन, कतार, दुबई, युएई, रोमानियालगायतका देशबाट फर्केका व्यक्ति रहेका थिए । विवरणमा समेटिएका व्यक्तिले गार्मेन्ट, कृषि, सवारी चालक, सरसफाइ, डिजिटल मार्केटिङ, रेष्टुरेन्ट अपरेटर, डकर्मी, सिलाइकटाइ, फर्निचर मेकर, स्काफ फोल्डिङ, पेन्टिङ, प्लम्बिङ, मार्बल, फुड प्याकेजिङ, पिओपी, सेफ, पशुपालनसम्बन्धी तालिमको माग गरेका थिए ।

तथ्याङ्क सङ्कलन गरिएकामध्ये २० जनालाई सीपमूलक सिलाइकटाइ तालिम दिई व्यवसाय उन्मुख गराइएको प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ । चालु आवमा पनि मागका आधारमा सीपमूलक तालिम सञ्चालन गरिने उहाँको भनाइ छ ।

नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक बजेट अभावमा अलपत्र

चितवन, १० मङ्सिर । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको हो । भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई रमेश पौडेलका अनुसार हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ । सडकको धेरै काम कालोपत्र (अस्फाल्ट)को छ । पूरै सडक कालोपत्र अन्तिम रुप दिन बाँकी छ । सडक सम्पन्न गर्न थप ४५ करोड हाराहारी खर्च हुने भन्दै सडक विभागमा बजेट माग गरिएको उनले जानकारी दिए ।

उनको भनाइमा फुटपाथ, बिबिएम, सर्भिस लेनजस्ता कामका लागि १५ करोड हाराहारी खर्च हुनेछ भने बाँकी कालोपत्रको काम हुनेछ । यस आर्थिक वर्षमा पाँच करोड बजेट निकासा भएकामा दसैँअघि त्यस बराबरको बिल भुक्तानी भइसकेको छ । बजेट अभावमा काम रोकिएको उनले जानकारी दिए ।

निरन्तररुपमा बजेट निकासाका लागि पत्र पठाएसँगै विभागमा आग्रह गरिएको उनले बताए । यस सडक निर्माणका लागि पहल गर्दै आएको भरतपुर महानगरपालिकाले पनि बजेट निकासा गरेर तयारीमा जुटेको भ्रमण वर्ष २०२४ सफल पार्न सहयोग पु¥याउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले सडक विभागका महानिर्देशक, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयका सचिवलाई पटकपटक आग्रह गरिएको बताइन् ।

उनका अनुसार सडक विभागबाट थप बजेट माग भई मन्त्रालय पठाउने तयारी भइरहेको छ । दाहालले भनिन्, “मलाई विश्वास छ, बजेट निकासा भएर काम छिटै सम्पन्न हुन्छ ।”

सडक निर्माण सम्पन्न गर्नुपर्ने समय थप गरिएको मिति यसै महिना सकिँदै छ । निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका प्रमुख सहदेव खड्काले सरकारले बजेट दिए तीन महिनाभित्र सबै कामसक्ने दाबी गरे।

उनले सरकारले बजेट पर्याप्त नदिएकै कारणले द्रुतगतिमा काम गर्न नसकिएकाले ठेक्काको म्याद थपका लागि प्रक्रियासमेत अगाडि बढाएको बताए । कालोपत्रको काम धेरै भएकाले बजेट निकासा भएमा काम गर्न धेरै समय नलाग्ने उनको भनाइ छ । एक अर्ब २३ करोडको कूल लागतमा विस्तार गर्न लागिएको सडकको हालसम्म निर्माण कम्पनीले झण्डै ८० करोड रकम भुक्तानी लिइसकेको छ ।

समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रमा व्यवसायी मर्कामा परेका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले सडक विस्तारले व्यवसाय प्रभावित भएको भन्दै डिभिजन सडक कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा दबाब दिँदै आएका छन् । सडकको काम रोकिँदा यात्रु र स्थानीयले पनि सास्ती भोगेका छन् । स्थानीय र सडक हुँदै यात्रा गर्नेले धुलोको समस्या व्यहोर्नु परेको छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रमण्डल अष्ट्रेलिया जाँदै

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाँदै छन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदमा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने छ ।उक्त टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

काठमाडौंँ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ ।

उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा.महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए । “लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ”, अर्थमन्त्री डा.महतले भने ।

लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा.महतले निर्देशन दिए ।

ताप्लेजुङमा नेकपा एमालेका नेता भट्टराई सवार गाडी तोडफोड

काठमाडौँ । नेकपा एमालेका नेता योगेशकुमार भट्टराई चढेको गाडी तोडफोड भएको छ । आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै प्रतिनिधिसभाका सांसद समेत रहेका गाडीमाथि ढुंगामुढा भएको हो । गाडीमाथि ढुंगामुढा हुँदा प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडी कुच्चिएको छ ।

सांसद भट्टराईलाई कडा सुरक्षासहित स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको जनाइएको छ । ढुंगामुढा प्रहार गर्नेहरू पहिचानवादी भएकाले पक्राउ पर्ने जनाइएको छ ।

मलेसियामा बेपत्ता भएका गोपाल आठ वर्षपछि घर आइपुगे

झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् ।

अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार घर पुगेको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेको सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए ।

“गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो”, सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भने, “यो नै सबैभन्दा ठूलो खुसी हो ।”

गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु एक लाख चार हजार एक सय ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले जानकारी दिए ।

विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए । घर फर्किँदा उनी ३७ वर्षको भइसके । मलेसिया पुगेको एक सातापछि उनमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो । यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो ।

विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरेकी छिन् । उनले छोरा खोजिदिन पहल गरिदिनुहुने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरिन् ।

गोपालले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताए । “गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो”, उनले आमासँग आफ्नै घरमा भेट भएपछि भने, “यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ । आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु ।”

घरमा गोपालको एक छोरा पनि छन् । उनकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्याएर गुजारा चलाउँदै आएकी छिन्। घरको आर्थिक स्रोतले खान लाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको उनले बताइन् ।

प्रतिस्थापन बजेट लोककल्याणकारी छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताएका छन् । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उनले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पारे ।

जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको जनाउँदै मुख्यमन्त्री कार्कीले भने, “प्रदेशमा १० वर्षमुनिका बालबालिकाको उपचार बजेट पारित भएकै दिनदेखि निःशुल्क उपचार हुन्छ ।”

उनले सांस्कृतिक एकता र सद्भावलाई ध्यानमा राखी ल्याएको यो बजेटले सुनसरी र इनरुवा सडकको स्तरोन्नति गर्ने, केशल्या करिडोरलाई व्यवस्थित गर्ने जनाउँदै बजेट भौतिक र मानव विकासमा केन्द्रित रहेको बताए।

उनले शैलेजा हृदय केन्द्र अस्पताल निर्माण र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने बजेटको विशेषता रहेको उल्लेख गर्दै प्रदेशको राजधानी आउनसम्मका सबै बाटोलाई व्यवस्थित गर्ने दाबी गरे ।

मुख्यमन्त्री कार्कीले विराटनगरको रानीबाट सुनसरीको दुहबीसम्म ‘बाइपास’ बाटो निर्माण गर्ने जनाउँदै राजस्व बढाउन लोक कल्याणकारीका योजना सञ्चालन हुने बताए । उनले बजेट अध्यादेशबाट आए पनि सबैको मन छुने गरी ल्याएको र यसले आम नागरिकको आवश्यकता र चाहनालाई पूरा गर्ने दाबी गरे। उनले भेन “बजेट पूर्णरूपमा कार्यान्वयन हुन्छ ।”रासस

कोप- २८: के-के छन् नेपालका प्राथमिकता?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप- २८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने बताइएको छ।

यसैगरी, सम्मेलनमा लैंगिक, स्थानीय समुदाय, आदिवासी, युवाको चासो र सरोकार, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाउने वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बताए। मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि उक्त विषयलाई समेटेर ‘राष्ट्रिय स्थिति पत्र’ तयार गरेको छ।

कोप- २८ सम्मेलन यही मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ। यस सम्मेलनलाई नेपालले निकै महत्वका साथ सोहीअनुसारको तयारी पनि गरेको छ।

सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर र वन तथा वातावरणमन्त्री महतोलगायत विज्ञसहतिको उच्चस्तरीय सहभागिता जनाउने छ।

प्रधानमन्त्री दाहाल सम्मेलनमा सहभागिताका लागि यही मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने र मङ्सिर १७ गते स्वदेश फर्किने उनका विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा. पुपलर जेन्टलले जानकारी दिए।

प्रधानमन्त्री दाहालले सम्मेलनका क्रममा मङ्सिर १६ गते आयोजना हुने ‘उच्चस्तरीय सत्र’लाई सम्बोधन गर्नेछन्। यही मङ्सिर १५ र १६ गते (डिसेम्बर १ र २ तारिख) हुने ‘उच्चस्तरीय सत्र’मा विश्वभरबाट सम्मेलनमा सहभागी राज्य/सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यतालिका छ।

यसैगरी, भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्तासमेत गर्ने विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा. जेन्टलले बताए।

यसपटकको सम्मेलनमा नेपालले कार्यक्रम गर्नका लागि सम्मेलन परिसरमा पहिलोपटक आफ्नै ‘पेभिलियन’ (बृहत् मण्डला) स्थापना गरेको छ। मन्त्रालयको तालिकाअनुसार ‘पेभिलियन’मा डिसेम्बर ३ देखि ११ तारिखसम्म विभिन्न विषयका ३६ कार्यक्रम हुनेछन्।

प्रधानमन्त्री दाहालले पेभिलियनको उद्घाट्नमा समेत सम्बोधन गर्नेछन्। पेभिलियनमा हुने कार्यक्रमले नेपालका मुद्दामा विभिन्न कार्यक्रम गर्न सकिने र आफ्ना मुद्दा प्रदर्शन गर्न ठूलो सहयोग पुग्ने यस क्षेत्रका जानकारको भनाइ छ।

यो सम्मेलनमा उच्चस्तरीय सहभागिताका साथै अन्य दृष्टिकोणले पनि नेपालका लागि थप महत्त्वपूर्ण हुनेछ। सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत कात्तिक १२ गतेदेखि नेपालको चारदिने औपचारिक भ्रमण गरेका थिए।

उनले सगरमाथा र अन्नपूर्ण आधारक्षेत्रको स्थलगत भ्रमण गरी जलवायु परिवर्तनको विषयलाई दिएको प्राथमिकताले पनि यस सम्मेलनमा नेपाललाई आफ्ना विषय उजागर गर्न सहज हुने बताइएको छ।

जलवायु परिवर्तनबाट नेपालमा के-के असर परेको छ?

विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ। जलवायु परिवर्तनको असर विशेषगरी हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी र तराई मधेसमा बाढी पहिरोहरू देखिन थालेको छ। हिमाल, पहाड र तराई मधेसमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन्।

जलवायु परिवर्तनले अर्थतन्त्रमा विशेष योगदान गर्ने विषयगत क्षेत्र जस्तै कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा, साथै खाद्यसुरक्षा, स्वास्थ्य, जलआपूर्ति, जीविकोपार्जन र सुरक्षामा व्यापक असर पारेको छ।

आर्थिक एवं सामाजिक क्षेत्रमा हुने गिरावट र बढ्दो स्वास्थ्य र खाद्यसुरक्षाको समस्याका कारण भविष्यमा जलवायु संकटासन्नता र जोखिम अझ बढ्ने अनुमान गरिएको छ।

एक वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा शून्य दशमलव तीन डिग्री सेल्सियसदेखि शून्य दशमलव सात डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरेता पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ। उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुईतिहाइ हिमभण्डार पग्लने अनुमान अध्ययनले गरेका छन्।

जलवायु सम्बन्धमा नेपालले गरेका प्रतिबद्धता र कार्य

नेपाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)को पक्षराष्ट्र हो। महासन्धिको प्रावधानअनुरूप नेपालले जलवायु उत्थानशीलता अभिवृद्धि गर्न उपयुक्त नीतिगत, कानुनी तथा संस्थागत संरचना एवं वित्तीय व्यवस्था र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गरेको वन मन्त्रालयका सचिव डा दीपककुमार खरालले जानकारी दिए।

नेपालले राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६, वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७, स्थानीय अनुकूलन कार्ययोजनाको राष्ट्रिय खाका, २०७६, जलवायु उत्थानशील योजना तथा बजेट तर्जुमा निर्देशिका, २०७७ र जलवायु परिवर्तनसम्बन्धी लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना, २०७७-२०८७ तर्जुमा गरी लागू गरेकोे वन सचिव डा. खरालले बताए।

साथै पेरिस सम्झौताबमोजिम दोस्रो राष्ट्रियरूपमा निर्धारित योगदान (एनडिसी) र राष्ट्रिय अनुकूलन योजना (एनएपी) पेस गरेको छ। यसैगरी नेपालले २०७८ मा तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदन, राष्ट्रिय जलवायु संकटासन्नता तथा जोखिम मूल्यांकन प्रतिवेदन, दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति र २०८० मा राष्ट्रियरूपमा निर्धारित योगदानको कार्यान्वयन योजना स्वीकृत गरी लागू गरिरहेको छ।

यसैगरी, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कोप–२६ मा सन् २०३० सम्ममा ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने, जलवायु जोखिमबाट देश र जनतालाई सुरक्षित राख्ने र सन् २०४५ मा कार्बन उत्सर्जनलाई शून्यमा झार्नेजस्ता महत्वाकाङ्क्षी योजना प्रस्तुत गर्नुभएको थियो।

कोप- २६ र कोप- २७ यता नेपालले अन्तर्राष्ट्रिय समुदायसामु हरित विकासतर्फ आफ्ना महत्त्वाकांक्षी लक्ष्य हासिल गर्न जलवायु वित्तमा सहज एवं पर्याप्त पहुँच तथा सबै राष्ट्रको साथ र सहयोगको अपेक्षा गरेकोे छ।

साथै संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा नेपाल र अतिकम बिकसित मुलुकहरूका तर्फबाट सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले नेपालले राष्ट्रियरूपमा निर्धारित योगदानमा उल्लेखित योजनाको कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए।

कोप- २८ सम्मेलनमा छलफल हुने विषय

यस सम्मेलनले कार्बन उत्सर्जन घटाउने दायित्वबारे छलफल, जलवायु अनुकूलन र राष्ट्रिय अनुकूलन योजनाबारे छलफल, पेरिस सम्झौताको कार्यान्वयन अवस्थाबारे समीक्षा, जलवायुजन्य हानी र नोक्सानी साथै कोष कार्यान्वयन, जलवायु वित्तसम्बन्धी छलफल, प्रविधि विकास, विस्तार र कार्यान्वयनलगायत विषयमा छलफल अगाडि बढाउने योजना प्रस्तुत गरेको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. बुद्धिसागर पौडेलले जानकारी दिए।

यसैगरी, महासन्धिअन्तर्गत रहेको क्षमता विकास, अल्पविकसित राष्ट्रहरूसँग सम्बन्धित विषय, जलवायु परिवर्तन र लैंगिक सम्बन्धमा, पेरिस सम्झौताको दफा ६ र कार्बन व्यापार, कार्यान्वयनका प्रावधानको प्रभाव, प्रशासनिक, वित्तीय र संस्थागत विषय, जलवायु परिवर्तन र पर्वतीय सवाललगायत विषयमा छलफल अगाडि बढाइने युएनएफसिसिसीको सचिवालयले जनाएको छ।

माडीमा नेपालको अग्लो चक्रशिला स्थापना

भरतपुर – चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ। पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ।

बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताए।

उक्त शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताए।

उनले पर्वतबाट रथयात्रामार्फत चक्रशिला माडी ल्याइएको बताए।शालिग्राम शिला पाइने नेपालकै दुईमध्येका एक स्थानका रूपमा परिचित माडीको धार्मिक विकास तथा पर्यटनमा थप टेवा पुग्ने स्थानीय पुजारी केदारनाथ सापकोटाले बताए।

उनका अनुसार कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ। उनले चक्रशिला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको बताए।

स्थानीय कृष्णबहादुर रानाभाटले देश–विदेशमा रहेका माडीवासीको सहयोगमा चक्रशिला स्थापना गरिएको बताए।उनले यस क्षेत्रलाई चक्रतीर्थ धामका रूपमा विकास गर्न लागिएको भन्दै क्रमशः अन्य संरचना निर्माण हुने जानकारी दिए।

उनले माडीका धार्मिक क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्ने बताए।माडीमा एक दर्जन बढी धार्मिक क्षेत्र रहेका छन् । पछिल्लो समय माडीमा राम मन्दिरसमेत स्थापना भएपछि धार्मिक पर्यटक बढेका छन्।

ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ ।राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटर सडकमध्ये बागलुङ सदरमुकाम खण्डमा मात्रै सडक कालोपत्र गर्न बाँकी रहेको छ । बागलुङबाट बिहुँसम्मको २५ किलोमिटर सडक दुई भागमा बाँडेर ठेक्का लगाइएको थियो ।

बागलुङ बजारबाट अछेते हुँदै बिहुँ टापुसम्मको १३ किलोमिटर र बिहुबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडक कालोपत्रका लागि आठ वर्षअघि ठेक्का लगाइएको भए पनि अहिलेसम्म कालोपत्र सम्पन्न हुनसकेको छैन । बिहुँबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडकको जिम्मा पाएको सूर्य कन्ट्रक्सन काममा नफर्केपछि ठेक्का रद्द गरिएको र बागलुङ बजारबाट बिहुँसम्मको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको भारत सिद्धिसाई ठेक्का रद्दको चेतावनीपछि काममा फर्किएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका सूचना अधिकारी इन्जिनयिर पवन सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुवै निर्माण व्यवसायीलाई ठेक्का रद्दका लागि सूचना प्रकाशित गरेपछि तल्लो खण्डको निर्माण व्यवसायी लामो समयपछि काममा फर्केको छ । “बिहुँबाट घोडाबाँधेसम्मको ठेक्का सम्झौता रद्द भइसक्यो, बागलुङ बजारबाट बिहुँसम्मको १३ किमी सडकको निर्माणसमेत अलपत्र भएपछि ठेक्का रद्दका लागि सूचना प्रकाशित गरेका थियौँ”, सूचना अधिकारी सुवेदीले भने, “तल्लो खण्डमा अन्तिम चेतवानीपछि निर्माण व्यवसायी काममा फर्केको एक महिना भयो, अहिले अछेते बजारबाट बिहुँतर्फको सडकमा कालोपत्रका लागि ग्राभेल गर्ने र बाँकी रहेको स्थानमा पर्खाल लगाउने काम भइरहेको छ ।”काममा फर्केपछि एकपटक अवसर दिन लागिएको जनाउँदै उनले यसपटक अछेते बजारबाट साढे चार किमीमाथि बिहुँसम्म कालोपत्र गर्ने गरी काम भइरहेको बताए । उक्त निर्माण व्यवसायीले सदरमुकाबाट अछेते बजारसम्म पहिल्यै कालोपत्र गरिसकेको छ । निर्माण कम्पनी काममा फर्केपछि अहिले उक्त खण्डमा कालोपत्र सम्पन्न हुनेमा स्थानीय आशावादी छन् ।विकास निर्माणमा लापरवाही देखिएको मध्यपहाडी राजमार्गको उक्त खण्डमा असारअघि नै कालोपत्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिइएको आयोजना कार्यालयले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये २५ किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न हुन सकिरहेको छैन भने अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रक्रियामा छ ।उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेभीसँग २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म पाँचपटक म्याद थप गर्दासमेत सम्पन्न हुनसकेको छैन । यस्तै बिहुँबाट घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्ने गरी सूर्य कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएकामा पाँचपटक म्याद थप्दासमेत सम्पन्न नभएपछि ठेक्का रद्द गरेर नयाँ ठेक्का प्रक्रियामा गएको छ ।

कर्णाली सरकारले बबई र कपुरकोट खटायो तथ्याङ्क सङ्कलक

कर्णाली । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशसँग जोडिएका बबई र कपुरकोटमा तथ्याङ्क सङ्कलक खटाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट कर्णालीमा आयात र निर्यात हुने कृषि उपजको तथ्याङ्क अभिलेखीकरण गर्न तथ्याङ्क सङ्कलक खटाएको हो ।

मन्त्रालयका सचिव डा नरहरि घिमिरेले प्रदेशभित्रका कृषि र पशुपक्षीजन्य वस्तुको उत्पादन र बजारीकरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस प्रदेशमा आयात निर्यात हुने कृषि उपजको तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गरिएको बताए ।

“हामीले जिल्लाका सुरक्षा निकाय र सरोकारवालासँगको समन्वय र सहकार्यमा तथ्याङ्क सङ्कलनको काम थालेका छौँ”, उनले भने, “यसका लागि यही मङ्सिर ७ गते नै दुवै नाकामा दुई–दुई जना तथ्याङ्क सङ्कलक खटाइसकेका छौँ ।” यसबाट कर्णाली प्रदेशमा उत्पादित भएर जाने र बाह्य क्षेत्रबाट आउने कृषि उपजको यथार्थ तथ्याङ्क प्राप्त हुने आशा गरिएको उनले बताए ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले यथार्थ तथ्याङ्क उपलब्ध नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा परेको कठिनाइ अब हुने तथ्याङ्क सङ्कलनबाट सकिएर जाने बताए । उनले भने, “उक्त नाकाबाट दैनिक उपलब्ध हुने कृषि उपजका आयात तथा निर्यातको तथ्याङ्कलाई मन्त्रालय र मातहतका निकायले विश्लेषण गर्नेछन् । यसले बजार व्यवस्थापन र गुणस्तर प्रवर्द्धन गर्नेछ ।”

उपलब्ध तथ्याङ्कमार्फत यस मन्त्रालयलाई भावी नीति, कार्यक्रम तथा योजना बनाउन महत्तवपूर्ण सहयोग पुग्ने आशा गरिएको प्रवक्ता कठायतले बताए । उनका अनुसार मन्त्रालयबाट खटाइएका तथ्याङ्क सङ्कलकले पालो मिलाई चौबीसै घण्टा दुवै नाकाबाट प्रदेशभित्र आवातजावत गर्ने सवारीसाधनलाई सुरक्षा निकायसँगको समन्वयमा कृषि उपजको विवरणको सोधखोज गरी लिनेछन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। आइतबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

यस्तै आज अमेरिकी डलरको १ को १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ। यस्तै युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ २३ पैसा तथा बिक्री दर ९७ रूपैयाँ ६७ पैसा रहेको छ।

युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २४ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ४० पैसा, अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ४२ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ८१ पैसा, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९० पैसा तथा बिक्री दर ८ रूपैयाँ ९४ पैसा, चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा , साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६५ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको छ।

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख, ५६ रोपनीमा गरे सुन्तला खेती

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन् । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उनी पूर्णरूपमा यस खेतीमा लागिरहेका छन् ।

छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गरेका हुन्। चार सय बोट सुन्तलाबाट बर्सेनि रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिए ।

सुन्तला खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका थापा कृषिविज्ञ पनि हुन् । उनले भने, “३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्तपश्चात पुख्र्यौली पेसा सुन्तला खेतीमा आफूलाई समाहित गरी निरन्तर अगाडि बढेको छु । सुन्तला खेतीबाट मनग्य आम्दानी भइरहेको छ, यसमा सन्तुष्ट छु ।”

यस वर्षको सुन्तलाको ठेक्का रु २५ लाखमा काठमाडौँका व्यापारीलाई दिएको उनले बताए । उनले भने, “उमाचोकका किसानले व्यापारीलाई सिधै ठेक्कामा सुन्तला बिक्री गर्ने गरेका छन् । यसले गर्दा सहज भएको छ ।” थापाले सुन्तला खेतीबाटै कमाएको रकमले छोराछोरी विदेश पठाएका छन्। उमेर अवस्थाका कारण पेसालाई निरन्तरता दिन कठिन रहेको बताउँदै उनले भने, “छोराछोरी स्वदेश फर्किएर यही पेसा निरन्तरता गरिदिएहुन्थ्यो भन्ने लाग्छ ।”

तीन फिटको खाल्डो खनेर, पाँच मिटरको दूरीमा बिरुवालाई मलजल गरी सार्न सके छिटो उत्पादन हुनसक्ने उनको सुझाव छ । उनले भने, “कृषिमै काम गरेकाले यसबारेमा मलाई अलि बढी जानकारी छ । किसानलाई पनि सुन्तला खेतीको तरिकाबारे सिकाउने गरेको छु ।” जिल्लाका अन्य ठाउँमा गितसिला नामको कीरा तथा ग्रिनिङबाट बोट नष्ट भए पनि आफूले आजसम्म बोट रोगमुक्त बनाउन सकेको उनको भनाइ छ ।

जिल्लामा गत वर्ष रु २९ करोडको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । त्यस वर्ष नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

ज्ञान केन्द्रले चालु आर्थिक वर्ष २०८०र८१ मा सुन्तला खेतीमा सहयोग गर्न रु एक करोड बजेट विनियोजन गरेको छ । कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ ।

राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

धनगढी – अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा रौतहट महिला फुटबल एकेडमीलाई १–० ले हराउँदै धनगढी च्याम्पियन बन्यो।

नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र)मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन्। उनले पहिलो हाफमा गरेको गोल नै धनगढीलाई जिताउन पर्याप्त भयो । बिर्सना नै प्लेयर अफ दि म्याच बनिन् । उनले रु पाँच हजार प्राप्त गरिन्।

च्याम्पियन बनेको धनगढीले ट्रफीसहित रु दुई लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित रौतहटले रु एक लाखमा चित्त बुझाएको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्लेयर अफ दि टुर्नामेन्ट बनिन् । उनले ट्रफीसहित रु २० हजार प्राप्त गरिन्।

धनगढीकी उषा नाथ प्रतियोगिताभरको उत्कृष्ट गोलकिपर, रौतहटकी समीक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, रौतहटकै इशा रानामगर उत्कृष्ट मिडफिल्डर र धनगढीकी ममता पुनमगर उत्कृष्ट फर्वाड घोषित भए। यस्तै धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही रु १०–१० हजार प्राप्त गरे।

नारायणगढ लेडी जेसिजको आयोजना तथा चितवन जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आठ टोली सहभागी थिए।

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बस्ने

काठमाडौँ । आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए । उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व रहेको छ ।

नागरिकको वितृष्णा व्यवस्थाप्रति होइन, नेताकै गल्तीको कारण प्रश्न उठेको हो: सांसद सिंह

काठमाडाैं- स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताएका छन् । शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उनको भनाइ थियो ।

‘संसदीय व्यवस्था भनेको उत्कृष्ट व्यवस्था हो । तर यसको गलत प्रयोग भयो । नेताकै गल्तीको कारण अहिले व्यवस्थामाथि प्रश्न उठेको हो,’ सांसद सिंहले भने, ‘जनतामा देखिएको वितृष्णालाई व्यवस्थाप्रतिको वितृष्णा भन्न मिल्दैन, यो नेताप्रतिको वितृष्णा हो ।’संसद्लाई ठूला दलले आफूअनुकूल प्रयोग गर्ने गरेको र सत्तापक्ष तथा प्रतिपक्ष दुवैतर्फबाट व्यक्तिगत एवं पार्टीगत अनुकूलतामात्रै खोज्ने गरेको उनको बुझाइ छ । ‘सार्वभौम जनताको प्रतिनिधि रहने संसद् पनि सार्वभौम हुनुपर्ने हो । तर संसद् सञ्चालनमा ठूला दल र तीनका मुख्य नेताको मात्रै भूमिका देखियो,’ उनी भन्छन्, ‘सदनमार्फत गर्नुपर्ने निर्णय दलका नेताले गर्छन् । कुनै दलमा जति जना सांसद भए पनि त्यहाँ निर्णय चल्ने भनेको मुख्य नेताको हो । यो आफैँमा गलत परम्परा हो ।’विधेयकलगायत संसद्मा उठेका विषयमाथि संसदीय दलमा पर्याप्त छलफल नहुने र दलका शीर्षनेताको अनुमतिबिना सांसदहरूले स्वतन्त्ररूपले आफ्ना कुरा संसद्मा राख्नसमेत नपाउने उनको दाबी छ । ‘कुनै सांसद दलको नेतासँग नजिक छ भने उसलाई बोल्न दिइन्छ । नजिक छैन भने बोल्न पनि दिइँदैन । विगतमा मैले पनि यस्तो भोगेको छु र अहिले पनि यस्तै अवस्था छ,’ उनी भन्छन्, ‘यो संसदीय व्यवस्थाभन्दा बढी दलीय व्यवस्था भयो । लोकतन्त्रभन्दा बढी दलतन्त्र भयो । यसले लोकतन्त्रको अर्थलाई समाप्त गर्दै गएको छ ।’व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्ने मामिलामा सत्तापक्ष र प्रतिपक्ष दुवै मिल्ने गरेको जिकिर पनि सांसद सिंहले गरे । ‘संसदीय व्यवस्थामा सत्तासिन दल र प्रतिपक्ष दल हुन्छन् । तर हामीकहाँ भागबण्डा खोज्ने प्रवृत्तिले सत्तापक्ष र प्रतिपक्ष भन्ने नै देखिएन । संसदीय समितिदेखि नियुक्तिमा भागबण्डा छ । यसले संसदीय व्यवस्थालाई नै अवरुद्ध गरेको छ,’ सांसद सिंह भन्छन्, ‘जबसम्म सत्तापक्ष र प्रतिपक्षका बीचमा स्पष्ट रेखा (क्लियर लाइन) र सीमाङ्कन (डिमार्केसन) हुँदैन, तबसम्म संसदीय व्यवस्था बलियो हुन सक्दैन । तर हामीकहाँ को सत्तापक्ष र को प्रतिपक्ष भन्ने नै भएन ।’गत निर्वाचनपछिका दुई अधिवेशनमा निकै कममात्र विधेयक पारित भएपछि पछिल्लो समय सांसदहरूको विधायिकी भूमिकामाथि पनि प्रश्न उठ्दै आएको छ । निकै कम विधेयक आउनुमा सरकारको पनि कमजोरी रहेको उनको बुझाइ छ ।सांसद सिंहका अनुसार अहिले राज्यका कुनै पनि अङ्गले सही ढङ्गले काम गर्न सकेका छैनन् । यही कारण अहिले नागरिकस्तरमा व्यवस्थाप्रति निराशा देखिएको हो ।राजनीतिमा जवाफदेहिताबिनाको उत्तरदायित्व (रेस्पोन्सबिलिटी विथाउट अकाउन्टबिलिटी) हाबी हुनु पनि अर्को समस्या रहेको सांसद सिंहले बताए ।

क्रसकन्ट्री दौडमा नेपाली टोली च्याम्पियन

कास्की । पोखरामा शनिवार सम्पन्न नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा नेपाली टोली च्याम्पियन बनेको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली टोलीका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बूको टोली च्याम्पियन बन्दै नगद रु तीन लाख ६० हजार पुरस्कार पायो ।

यसैगरी नेपालकै श्रेवी महर्जन, मुहेश थारू र वसन्त थारूको टोली द्वितीय भयो । उपविजेता टोलीले रु दुई लाख ८८ हजार पुरस्कार पायो । श्रीकास राई, तिलक सुनुवार र केशरी थापामगर (नेपाली सेना) को टोली तृतीय हुँदै रु दुई लाख १६ हजार पुरस्कार प्राप्त गर्न सफल भएको प्रतियोगिताका खेलाडी दर्ता एवं पुरस्कार संयोजक गोकर्ण कार्कीले जानकारी दिए ।

चिनियाँ टोली भने चौथो स्थानमा रहन सफल भयो । लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङ टोली चौथो स्थानमा रहँदै रु एक लाख ४४ हजार पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी ३८ किलोमिटरतर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस च्याम्पियन बने । उनले रु एक लाख ४४ हजार पुरस्कार पाए । बेदबहादुर सुनुवार द्वितीय हुँदै रु एक लाख आठ हजार पुरस्कार पाए । तीर्थ तामाङ तृतीय र करन रावल चौथो भए । उनीहरूले क्रमशः रु ५४ हजार रु १८ हजार पुरस्कार पाए ।

क्रसकन्ट्री दौडको टिम इभेन्टमा नेपालका १० टोली, चीनका तीन टोलीले प्रतिस्पर्धा गरेका थिए । एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडकै छात्र–छात्रा दौड विधामा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार प्रथम र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम हुँदै जनही नगद रु २५ हजार पुरस्कार पाए ।

छात्रतर्फ कास्की मोडनाइज्डका तेन्जोन रोकामगर द्वितीय र बादल कार्की तृतीय हुँदै जनही रु २० हजार पुरस्कार पाए । छात्रातर्फको प्रतिस्पर्धामा मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी द्वितीय र तालबाराही माविकी गीता श्रेष्ठ तृतीय हुँदै रु १५ हजार पुरस्कार पाए ।

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन सङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिए ।

रातो नम्बर प्लेट भएका इ-रिक्सालाई नेपालगञ्ज उपमहानगरमा प्रतिबन्ध लगाउने

बाँके- नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ । उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा शनिबार बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ ।

नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो ।उक्त अवधि मङ्सिर १५ गते समाप्त हुने भए पनि थप सात दिन समय दिएर मङ्सिर २३ गतेदेखि रातो नम्बर प्लेट भएका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए । “समय त मङ्सिर १५ सम्ममात्रै दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौँ, मङ्सिर २३ देखि भने चल्न दिँदैनौँ”, नगरप्रमुख विष्टले भने ।अटेर गरी रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोके त्यस्ता इ–रिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी व्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा ‘होल्डिङ’ गरी राखिनेछ । कालो प्लेट नबनाउँदासम्म ती इ-रिक्सा होल्डिङ सेन्टरमै रहने नेपालगञ्ज उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादर थापाले जानकारी दिए ।नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकबाट त्रिवेणी मोडसम्म चारपाङ्ग्रे सवारीसाधन जान नदिने निर्णय गरिएको छ । यसैगरी गणेशमान चोकबाट चारबाहिनी चोकतर्फको सडकलाई पनि वान–वे बनाउने निर्णय गरिएको छ ।बैठकमा नगरप्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, यातायात व्यवस्था कार्यालय प्रमुख माधव ज्ञवाली, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदी, वडा प्रहरी प्रमुख हरिबहादुर बिसी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीलगायत सरोकारवालाको उपस्थिति थियो । 

लोक सेवा आयोगले गर्‍यो ४५ जनालाई कारबाही

काठमाडौं । लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही गरेको छ । आर्थिक वर्ष २०७९÷२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर्नेलगायत अनियमितता गर्नेलाई लोकसेवा आयोगले ३ वर्षसम्म लोक सेवाले लिने परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ ।

यसरी कारबाहीमा पर्नेमा निजामती सेवातर्फ १३ जना र सुरक्षा निकाय तथा संगठित संस्थातर्फ परीक्षा दिने ३२ जना रहेको लोकसेवा आयोगले जनाएको छ । परीक्षा दिएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नभएका ३ जना, उत्तर पुस्तिका नबुझाई साथमा लिई गएका ३, अरूको उत्तर पुस्तिका लिई नक्कल गरेका १, अरूलाई उत्तर पुस्तिका सार्न दिएका १, उत्तर पुस्तिका च्यातेका २ र मूल उत्तर पुस्तिकामा नभई थप उत्तर पुस्तिकामा मात्र उत्तर लेखेका १ जनालाई आयोगले कारबाही गरेको छ । त्यसै गरी दरखास्त फाराम नै नभरी लिखित परीक्षा दिएका १ जना पनि कारबाहीमा परेको छ ।त्यसै गरी आयोगले शौचालयबाट फर्कदा खल्तीमा चिट भेटिएका, मोबाइलबाट चिट चोरेका, उत्तर पुस्तिका घरमा लगेर फेरि लोक सेवा आयोगमा फिर्ता ल्याएको जस्ता कार्य गरेकालाई कारबाही गरेको जनाएको छ । यसमा लोक सेवा आयोगले सबैभन्दा बढी अर्कोको उत्तर पुस्तिका सार्नेलाई तीन वर्षसम्म लोक सेवाले लिने कुनै पनि परीक्षामा भाग लिन नदिने कारबाही गरेको छ । अन्यको हकमा भने सामान्य १ वर्ष परीक्षामा सामेल हुन नदिने कारवाही गरेको छ । यसरी परीक्षामा अनियमितता गर्ने परीक्षा केन्द्रमा भने तराईका जिल्ला अग्र स्थानमा देखिएका छन् ।त्यसै गरी आर्थिक वर्ष २०७८÷७९ मा नेपाल प्रहरीको परीक्षामा २७ पुरुष र ३ महिला गरी जम्मा ३० जनाले अनियमितता गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसमा सबैभन्दा बढी १९ जना नक्कली परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । यसै गरी चिट चोरेका र इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेका ५÷५ जना कारबाहीमा परेका छन् । यस्तै, एक जनाले उत्तर पुस्तिका नबुझाई आफैंसँग लिएर गएका थिए । यसमध्ये ३ जनालाई ५ वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कोप–२८ मा नेपालले के उठाउँदैछ एजेन्डा ?

काठमाडौं । विश्व जलवायु सम्मेलनमा पुरानै मुद्दा उठाउने तयारी सरकारको छ। दुबईमा हुने यस वर्षको कोपमा नेपाल सरकारले विगतको झैं जलवायु वित्त, हानिनोक्सानी, अनुकूलन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, न्यूनीकरण, कार्बन व्यापार, ग्लोबल स्टक टेक, पारदर्शिता, बालबालिका, युवा र लैंगिक मुद्दा अघि सारेको छ। तर, फरक के छ भने यसपल्ट आफ्ना मुद्दालाई स्थापित गर्ने र सशक्त रूपमा प्रस्तुत हुने दाबी सरकारले गरिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यसपल्ट पहिलाका जस्तै मुद्दाहरू उठाउने बताएका छन्। राष्ट्रिय जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफ्ना मुद्दालाई १ सय ६० भन्दा बढी देशका राष्ट्र÷सरकार प्रमुखका अगाडि सशक्त ढंगले राख्ने तयारी भएको बताएका छन्।इजिप्टमा गतवर्ष भएको कोप–२७ मा पनि नेपालले हानिनोक्सानी, अनुकूलन, जलवायु वित्त, पर्वतीय मुद्दा, न्यूनीकरण लगायतका विषय प्रमुख मुद्दा बनाएको थियो। गरिब देशहरूले जलवायुका कारण भोग्ने समस्याको क्षतिपूर्ति पाउनुपर्ने अडान नेपालको थियो। यो माग सम्बोधन गर्न नयाँ कोषको स्थापना पनि भएको थियो। उक्त कोषमार्फत प्रत्येक वर्ष ५ सय अर्ब डलर वित्त प्रवाह गर्ने प्रतिबद्धता धनी देशहरूको छ।जलवायु परिवर्तनबाट सबैभन्दा बढी पर्वतीय क्षेत्र प्रभावित भएकाले नेपालको सुझावलाई प्राथमिकताका साथ हेरिएको थियो। यस वर्षमा पनि माहोल उस्तै रहेको प्रधानमन्त्री प्रचण्डले बताइसकेका छन्।संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको भ्रमणका क्रममा पर्वतीय क्षेत्रमा पारेको प्रभाव संसारले देखिसकेको प्रचण्डको भनाइ छ। महासचिव गुटेरेसले विश्वव्यापी जलवायु संकटले नेपाललाई कडा प्रहार गरेको भिडियो सन्देश खुम्बु र अन्नपूर्ण क्षेत्रबाट प्रवाह गरेका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

काठमाडौं । पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो ।

आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिए । उनले भने– ‘विवरण आएपछि आरक्षणको लागि प्रतिशत छुट्टयाएर विज्ञापन खोल्नेछौं । आयोगले ढिलोमा पुस मसान्तसम्ममा विज्ञापन खोल्ने तयारी गरेको हो ।’शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले केन्द्रको नियमित प्रक्रियाअन्तर्गत देशैभरका जिल्ला शिक्षा समन्वय इकाईले उपलब्ध गराएको विवरणअनुसार केन्द्रले रिक्त शिक्षकको तथ्याङ्क सार्वजनिक गरेको बताए ।उनले रिक्त रहेको शिक्षक विवरण सच्याउन एक साताको म्याद दिएको जानकारी दिँदै भने– ‘एक सातापछि अन्तिम विवरण आयोगमा बुझाउनेछौं । आयोगले सोही विवरणको आधारमा रिक्त दरबन्दीको लागि विज्ञापन खुला गर्नेछ ।’केन्द्रले तयार गरेको विवरणमा काठमाडौं, सप्तरी, महोत्तरी, कपिलवस्तु र हुम्लाको विवरण यकिन भएको छैन । केन्द्रले विवरण नदिएका यस्ता जिल्लाका हकमा एक साताको म्याद दिएर तथ्याङ्क पठाउन निर्देशन दिएको छ ।केन्द्रले सार्वजनिक गरेको रिक्त शिक्षक विवरणअनुसार प्राथमिक तहमा सबैभन्दा बढी ३ हजार १ सय ७९, निम्न माध्यामिक तहमा ७ सय ४४ र माध्यमिक तहमा ४ सय २ पद रिक्त छ । प्रदेशगत रूपमा सबैभन्दा बढी वागमती प्रदेशमा १ हजार २ सय ४२ दरबन्दी खाली हुने छ । जिल्ला शिक्षा समन्वय इकाइ काठमाडौैंले प्राविको दरबन्दी शून्य देखाएको छ भने निमावि ५, मावि २ मात्रै दरबन्दी रिक्त भएको विवरण केन्द्रमा पढाएको छ । सुदूरपश्चिममा सबैभन्दा कम ३ सय ३१ शिक्षक पद रिक्त हुने देखिएको छ ।कोशीमा ९ सय ९३, मधेसमा ३ सय ४९, गण्डकीमा ७ सय ७०, लुम्बिनीमा ५ सय ६४ र कर्णालीमा १ सय ७६ दरबन्दी रिक्त हुने भएको छ । केन्द्रका अनुसार माध्यमिक तहमा नेपालीमा ६३, अंग्रेजी ७०, गणित ८७, विज्ञानमा १ सय ९ र सामाजिकमा ४७ जनाको दरबन्दी खाली हुने निश्चित भएको छ ।त्यस्तै, निमावितर्फ नेपालीमा १ सय १३, अंग्रेजी १ सय ६४, गणितको १७, विज्ञान १ सय ६९ र सामाजिक १ सय १९ दरबन्दी खाली हुनेभएको छ । केन्द्रले रिक्त र रिक्त हुने जिल्लाको विवरण तत्काल उपलब्ध गराउन सबै इकाईलाई परिपत्र गरेको छ ।परिपत्रअनुसार दरबन्दी आएपछि केन्द्रले अन्तिम विवरण आयोगलाई पठाउने छ । सबै इकार्ईले चैतसम्ममा अवकास हुने शिक्षकको विवरण तयार गरी आयोगमा पठाएपछि आयोगले सोही आधारमा खुला पदको लागि विज्ञापन खोल्नेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कालीगण्डकी करिडोर : बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो

म्याग्दी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएको छ ।कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले डिबिएसडी प्रविधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम कोड (बिटुमिन) बिछ्याउन थालिएको जानकारी दिए । “प्राइमकोर्ड बिछ्याएको २४ घण्टापछि चिप्ससहित पहिलो चरणको कोड बिछ्याइन्छ”, उनले भने, “दोस्रो चरणमा सेकेण्ड कोड बिछ्याएपछि डिबिएसडी पिच पूरा हुन्छ ।”दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट÷पिएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीसहित उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए ।सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र थालिएको हो । “गत असार महिनामै बेस राख्न र कालोपत्र गर्नेबाहेकका सबै काम सकिएको थियो”, उनले भने, “सात दशमलव पाँच मिटर चौडाइका दरले कालोपत्र गर्ने काम अबको एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।”यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज हुने छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।“बेनी–गलेश्वर सडक आयोजनामा छोटो समयमा हासिल भएको प्रगतिले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ”, उनले भने, “निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।”करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको बेनी–जोमसोम–कोरला सडक योजनाको कार्यालयले जनाएको छ । दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ ।

बदनामहरुको गन्तव्य एमाले

काठामडौं । सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई उपयोग मात्र गरेका छैनन, बदनामसमेत गराएका छन् ।

बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ ।डेढ वर्षअघि विशेष अदालतले दोषी ठहऱ्याएर तीन करोडभन्दा बढी रूपैयाँ जरिवाना तोकेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार केही दिनअघि एमालेमा प्रवेश गरे । यही मंसिर ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि यसअघि ओलीको आशीर्वादमा एमालेमा प्रवेश गरेका थिए । अहिले तिनै प्रसाईं एमाले छाडेर नेताहरूमाथि गालीगलौजमा उत्रेका छन् । २०७८ कात्तिक ७ गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रसाईंलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए। त्यसअघि प्रसाईं माओवादी केन्द्रनिकट मानिन्थे । एमाले सत्तामा पुगेपछि उनी हजुरबा साइनो लगाएर ओलीसँग नजिकिएका थिए। औपचारिक रूपमा एमालेमा प्रवेश नगर्दै प्रसाईं केन्द्रीय सदस्यको रूपमा २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा पनि सहभागी भएका थिए । एमाले प्रवेश कार्यक्रममा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका थिए। अहिले उनी राजसंस्था फर्काउनुपर्ने नारा लगाउँदै सडक आन्दोलनमा छन्।अर्का विवादित लक्ष्मी महतो पनि जनता समाजवादी पार्टी छाडेर २०७९ असोज २३ गते एमाले प्रवेश गरे । सोही साल मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेले महतोलाई महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनायो । उनले चुनाव पनि जिते । फरार भनिएका उनलाई प्रहरीले पक्राउ गरेको छैन । उनी अहिले भारतमा छन् ।त्यस्तै कुनै बेलाका चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार मानिएका उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले २०७४ मंसिर ४ गते फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका थिए । गिरीको गुन्डागर्दीको विरोधमा एमालेले बेलाबखत संसद्समेत तताउने गरेको थियो । एमाले नेताहरूले गिरीलाई कारबाही गर्नपटक–पटक माग गरेका थिए । तर पछि तिनै गिरीलाई ओलीले पार्टीमा भिœयाए । भारतीय गुन्डा पप्पु भूमिहारको समूह परिचालन गरी अग्रवाललाई अपहरण गरी फिरौती लिएको, एमालेका नेता–कार्यकर्तामाथि आक्रमण गरेको आरोपसमेत उनीमाथि थियो। उनको प्रवेशलाई लिएर एमाले नेतृत्वको आलोचना भएको थियो। अहिले गिरी गुमनाम छन्।हिन्दु युवा संघको केन्द्रीय अध्यक्ष रहेका ४५ वर्षीय काशी तिवारीको २०६७ जेठ २९ गते वीरगन्जमा गोली हानेर हत्या गरियो। तत्कालीन माओवादी नेता प्रभु शाह, जलिम मियाँलगायतको योजनामा तिवारीको हत्या भएको अभिव्यक्ति त्यसबेलाका प्रहरी अधिकारीहरूले सार्वजनिक रूपमै दिएका थिए।पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्षसमेत रहेका मियाँमाथि कान्छा छोराकी सालीको हत्यामा संलग्न रहेको आरोपसमेत थियो। तिवारी हत्या प्रकरणमा मुछिएका साह र मियाँ पछि एमाले प्रवेश गरे। पर्सा र रौतहट एमाले वृत्तमा त्यसको विरोध भयो। अन्ततः पार्टीको निर्णय भन्दै कार्यकर्ताले ती विवादित पात्रलाई स्वीकार गरे।त्यसैगरी तिवारी हत्यामा मुछिएका साहलाई जोगाउन ८ लाख रूपैयाँ घुस दिने पूर्वसहसचिव नागेन्द्र झा एमाले प्रवेश गरे। झालाई एमाले अध्यक्ष ओलीले २०७९ वैशाख ३ गते सर्लाही पुगेर पार्टीमा भित्र्याएका हुन्। झाले २०६८ असोज २६ गते तिवारीकी पत्नी बबितालाई ८ लाख रूपैयाँ दिई साहको नाम नलिन प्रलोभन दिएका थिए। त्यसको अडियोसमेत सार्वजनिक भएको थियो।बदनाम पात्रलाई पार्टीमा ल्याउँदा पदाधिकारी असन्तुष्ट छन् । तर उनीहरू खुलेर बोल्न सकेका छैनन् । यो समाचार नागरिक दैनिकमा छ ।

बैतडी-दार्चुला जोड्ने पुल भासिँदा आवागमनमा रोक

बैतडी- बैतडी-दार्चुला जोड्ने कर्कले पुल भासिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका-३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका-रुद्रेश्वर जोड्ने चमेलिया नदीमा रहेको बेलीब्रिज भासिएको हो ।

केही दिनअघि सो पुलको दार्चुलातर्फको मुख्य पिलर भएको ठाउँमा पूरै जमिन भासिएको थियो । पहिरोले पुलको मुख्य पिलर तलतिरको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनाको जोखिम बढेसँगै पुलमा ठूला गाडी आवागमनमा रोक लगाइएको ट्रक चालक शेरसिंह कार्कीले बताए ।सो पुल भएर बैतडीको रुद्रेश्वर, सिमार, गणन्नालगायतका क्षेत्रमा पुगिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत् आयोजना, बिटुले, मार्मा, अपिहिमालको मकिरागाडसम्म आवतजावत गर्ने सवारीसाधन यसै पुल भएर गुड्ने गरेका थिए । पुलको समयमै मर्मतसम्भार नहुञ्जेलसम्म ठूला गाडी चलाउन रोकिएको छ ।आवागमनमा रोक लगाएसँगै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन ठप्प छन् ।

भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता

जाजरकोट- जाजरकोट भूकम्पका पीडितका लागि अस्थायी आवास निर्माणमा राजनीतिक दल सक्रिय भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ता नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकामा अस्थायी आवास निर्माणमा जुटेका हुन् ।

तिहार सकिएसँगै राजनीतिक दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउन सुरु गरिसकेका छन् । भूकम्प प्रभावित क्षेत्रमा सफाइ अभियान, अस्थायी टहरा निर्माणलगायत समग्र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई त्यहाँ खटाउन थालेका हुन् ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवास निर्माण गरेको छ । टोलीले नलगाड नगरपालिका-५ स्थित रघुनाथ टोलमा मङ्गलबारदेखि अस्थायी टहरा निर्माण सुरु गरेको थियो । टोलीले शुक्रबारसम्म श्रमदान गरेर एक सय वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशील भट्टले जानकारी दिए ।

टोलीमा पौडेलसहित गण्डकी प्रदेशसभा सदस्य दिल्लीराम सुवेदी, इन्जिनियर दीपकबाबु कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता-कार्यकर्ता रहेका थिए ।

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो । कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्णय गरेको थियो ।

नेता पौडेलका अनुसार टोलीले एक सय वटा अस्थायी घर निर्माणमा श्रमदान गरे पनि आवासका लागि आवश्यक जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाइएको छ । आवास निर्माणको सरकारी मापदण्ड बने पनि सो अनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।

नेकपा (एमाले) ले जाजरकोट र रुकुम पश्चिममा करिब एक हजार एक सय जनालाई खटाउने रणनीति बनाएर परिचालित भएको बताएको छ । शुक्रबार एमालेको भातृ सङ्गठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब एक सय जनाको सीपयुक्त जनशक्ति प्रभावित क्षेत्रमा खटिएको छ । उक्त टोलीले शुक्रबार भूकम्पले क्षतिग्रस्त भेरी नगरपालिका-३ थाप्लेका भग्नावशेष घरमा सफाइ अभियान चलाएको छ । एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजङ्ग शाहका अनुसार थप एक हजार जनालाई प्रभावित क्षेत्रमा खटाइने तयारी छ ।

‘शुक्रबार नै एक सय जना फिल्डमै खटिसक्नुभएको छ, बाँकी सबै गरेर ११ सय खटाउने लक्ष्य छ,’ उनले भने, ‘खटिएकाहरूले पनि जहाँ बढी प्रभावित भएको छ, त्यही पालिकामा पहिलो प्राथमिकतामा राखेर जनतासँग रहेर काम गर्नेछन् । अहिलेका लागि सफाइ गर्ने, अस्थायी टहरा बनाउनेलगायतका काम गर्नेछन् ।’ प्रदेश र केन्द्रबाट नेता, कार्यकर्ता त्यहाँ खट्ने र त्यहाँको व्यवस्थापन जिल्लाको पार्टीले गर्ने शाहले बताए ।

नेकपा (माओवादी केन्द्र) ले तीन हजार स्वयंसेवक परिचालन गरेर अस्थायी संरचना निर्माणमा जुटेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कालीबहादुर मल्लले बताए । जाजरकोटबाट मात्र पाँच सय स्वयंसेवक खटिएको उनले जानकारी दिए । सबैभन्दा बढी प्रभावित ठाउँमा खटिएर काम गरिएको माओवादी केन्द्रका नेता राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिए । शर्माले आफू कुशे गाउँपालिकाको विभिन्न ठाउँमा खटिएको समेत बताए ।

भग्नावशेष पन्छाउनेदेखि टहरा निर्माण गर्दै

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका दुई सय नेता, कार्यकर्ता यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा विद्यार्थी नेता, कार्यकर्ता प्रभावित क्षेत्रमा खटिएका हुन् । उनीहरूले भूकम्पबाट ध्वस्त भएका घरहरू पन्छाउने, पीडितका लागि अस्थायी टहरा निर्माण गर्नेदेखि भत्किएका सार्वजनिक संरचना पनि पन्छाउने काम गरिरहेका छन् ।

अध्यक्ष सिंहले यति बेला कर्णालीबाट विद्यार्थी टोली खटिसकेको र भोलिसम्म लुम्बिनीबाट पनि विद्यार्थी टोली प्रभावित क्षेत्रमा खटिने बताए । अबको एक महिना ‘जनताको सङ्कटको सारथी’ भएर अखिल क्रान्तिकारी पुनर्निर्माणमा सक्रिय हुने उनको भनाइ छ । सङ्गठनका केन्द्रीय पदाधिकारी पनि प्रभावित क्षेत्रमा खटिएका छन् ।

‘हामीले अहिले जनताको घरघरमा पुग्ने, सबैभन्दा बढी सहयोग के आवश्यक हो, उहाँहरूकै चाहनाअनुसार काम गरिरहेका छौँ,’ अध्यक्ष सिंहले भने, ‘उहाँहरूको माग भनेको अहिले भत्किएका प्रयोग गर्न नमिल्ने घर पन्छाएर क्लियर गरिदिनुपर्ने छ । हामीले त्यो काम गरिरहेका छौँ । सबै जनता पालमुनि छन्, बिरामी, बालबालिकालाई निकै समस्या छ । पालले चिसो छेक्ने अवस्था नै छैन ।’

अखिलले तीनवटा कामलाई वर्गीकरण गरी काम गरिरहेको उनले बताए । जाजरकोट पुगेको टोलीले सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्ने भेरी नगरपालिका-१ को रिम्ना क्षेत्रमा काम गरिरहेको छ । अखिल क्रान्तिकारीका नेता-कार्यकर्ता आफ्ना लागि टेन्टदेखि खाद्य आफैँ बोकेर त्यहाँ खटिएका छन् । पानीबाहेक सबै आफैँले गर्ने गरी व्यवस्थापन गरेर प्रभावित क्षेत्रमा खटिइएको सिंहको भनाइ छ ।

केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्ने भनेर रु ५० हजार रकम दिने भने पनि अहिलेसम्म नागरिकसमक्ष उक्त रकम पुग्न नसकेको पीडितको गुनासो छ । अध्यक्ष सिंहका अनुसार केन्द्रको कार्यविधिले स्थानीय सरकार निकै अलमलमा परिरहेका छन् । सकेसम्म प्रक्रियालाई छोट्याई जनताको हातमा सहज तरिकाले रकम पुग्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ । ‘रु ५० हजार आउँछ भन्ने कुरा जनतालाई थाहा छ तर, हातमा परिरहेको छैन,’ उनले भने, ‘कुनै आयस्रोत नभएका नागरिकलाई निकै गाह्रो स्थिति छ ।’

यता नेकपा (एकीकृत समाजवादी) ले मङ्सिर ८ गतेसम्म पार्टीका तर्फबाट टिम प्रभावित क्षेत्रमा खटाएको छ । समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका अनुसार एक सय ५० जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । ‘ती भनेका संरचना निर्माणमा दक्ष भएका व्यक्ति हुन्,’ थापाले भने, ‘युवा सङ्घको नेतृत्वमा नै त्यहाँ टोली परिचालन गरिने छ । साथै पार्टी अध्यक्ष पनि केही दिनमा प्रभावित क्षेत्रमा पुग्नुहुनेछ ।’ टोलीले आफ्नै खर्चमा काम गरिरहेको छ ।

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट पुनः सुरु हुँदै

काठमाडौँ । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएका छन् । तर यी कामका लागि के कति रकम खर्च भए भन्नेबारे न सडक विभागले भन्छ न त यातायात व्यवस्था विभागले नै ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले द्रुत बस सेवा सञ्चालनका लागि यसअघि करिब तीन करोड रुपियाँ खर्च भएको सुनिए पनि अहिले पुनः सञ्चालनका लागि भएको खर्चबारे आफूलाई थाहा नभएको बताए । उनले द्रुत बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागको रहेको बताए ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले द्रुत बस सेवा सञ्चालन तथा पुनः सञ्चालनका लागि भएका खर्चबारे आफूलाई थाहा नभएको बताउँदै सो सेवा सञ्चालनका लागि यस विभागबाट अहिलेसम्म एक सुक्का पनि खर्च नभएको जानकारी दिए । द्रुत बस सेवा सञ्चालनमा यस विभागको भूमिका मात्र समन्वयात्मक रहेको उनको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटासहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनले भने, “आइतबारदेखि ३६ वटा द्रुत बस सञ्चालनमा आउने छन् । ती बस तीनरतीन मिनेटको फरकमा छुट्ने छन् ।’’ बिहान र बेलुकी आवागमनको उच्च समय (पिक आवर) मा द्रुत बस कम भएको गुनासो आएकाले बसको सङ्ख्या थपेर चलाइएको उनले स्पष्ट पारे ।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन, यात्रुहरूको जाम कम गर्ने तथा निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्यसहित संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसैँपछि स्थगित भएको थियो ।

मन्त्री प्रकाश ज्वालाले दसैँ र तिहारको बिदामा यात्रुको चाप न्यून भएको तथा द्रुत सेवाका रूपमा सञ्चालनमा ल्याइएका बस बिदामा काठमाडौँ उपत्यकाबाहिर जानुपरेकाले केही समय स्थगित गरिएको सेवा पुनः सञ्चालनमा आएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

अराजकता अन्त्यका लागि समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य जरुरी – अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य हुनुपर्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रम अध्यक्ष नेपालले मुलुकमा अहिले अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेबाट देखिएका भ्रम न्यूनीकरण गर्न मोर्चा र गठबन्धनकाबीच समन्वय गरी जनतालाई

यथार्थ विषय बताउन सभा, सम्मेलन गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने विचार फैलाएर जनताको भावनामाथि खेलिरहेका समूहबाट सचेत रहन आग्रह गरे । गणतन्त्रविरुद्ध प्रतिगामी शक्ति अहिले परिचालित रहेको बताउँदै उनले भने, “म जनतालाई अनुरोध गर्न चाहन्छु, हामीले सत्य कुरा भुलेर भीडको पछि लाग्नु हुँदैन ।”

पीडितको मुद्दा उठाउने बहानामा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने समूहलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताउँदै उनले भने, “बैंकबाट ऋण लिएका मान्छेलाई ऋण तिर्नु पर्दैन भन्दै उनीहरूको भावनामाथि खेलिरहेका छन् । खास पीडित को हुन् ? कसरी उनीहरू पीडित भएका हुन्, त्यसको खोजी गर्नुपर्छ ।”

कार्यक्रममा अध्यक्ष नेपालले सहिदहरूको बलिदानी, जनताको कठोर सङ्घर्षबाट स्थापित गणतान्त्रिक व्यवस्थामाथि खतरा पैदा हुन थालेपछि त्यसको प्रतिकार गर्न हामी तयार हुनुपर्ने विचार व्यक्त गरे ।

उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन

काठमाडौँ । वसन्तपुर दरबार क्षेत्रमा शनिवार काठमाडौँ उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन गरिएको छ । कुल ३६ कलाकारले क्यान्भासमा उतारेका सृजनाले वसन्तपुर आएका पर्यटक तथा अन्य सहभागी लोभिए ।

उनीहरुले रुचिपूर्वक चित्र अवलोकन गरे । मुख्यगरी काठमाडौँको दरबार क्षेत्र र आसपासका मन्दिर, स्वयम्भू, पशुपतिनाथलगायतका पुरातात्विक एबं मौलिक पहिचान बोकेका सृजना प्रदर्शनी गरिएको थियो । काठमाडौँको रहनसहनलाई पनि कलाकारले चित्रमा उतारेका थिए ।

कला कार्यशाला तथा प्रदर्शनीका संयोजक कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवद्र्धनका लागि प्रदर्शनी गरिएको बताइन् । नेपाल सम्वतका अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सामन्य प्रदर्शनी भएका कला सृजनामध्ये अधिकांश बिक्री पनि भएको उनले बताइन् ।

यहाँ राखिएका सृजना कम्तीमा रु १० हजारदेखि रु ५० हजारसम्ममा बिक्री भएको उनको भनाइ छ । प्रदर्शनीको केही घण्टामै सृजना बिक्री हुँदा आफूहरु निक्कै खुसी भएको कलाकार दीपेन्द्रमान बनेपालीले बताए ।

प्रदर्शनीमा अग्रज कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले अर्धअमूर्त चित्र बनाएका थिए । केही कलाकारले अमूर्त र केही कलाकारले दृष्यचित्रसमेत उतारेका थिए ।

अधिकांश सृजनामा उपत्यका र आसपासका दृष्य कैद भएको थियो । जलरङ, एक्रेलिकलगायत विभिन्न माध्यमको प्रयोग गरी सृजना गरिएका चित्रले नेपालको मौलिक पहिचान प्रस्तुत गरेको कलाकार डिबी राइले बताए ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, पूर्वकुलपति कान्छाकुमार कर्माचार्य कलाकार एनवी गुरुङ, भीम श्रेष्ठ, डिबी राई, दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, राकेश श्रेष्ठ, उत्तम डङ्गोल, विजय थापा, सुष्माराज भण्डारी, धनु याख्खा, विपना महर्जनलगायत ३६ कलाकारका सृजना प्रदर्शन गरिएको थियो ।

हेर्नुहोस् मंसिर १० गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ ।

बृष राशि- जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ ।स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि- प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

सिंह राशि – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि – खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि- भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि- प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि- निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि- सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

विकृति र विसङ्गतिविरुद्ध अभियान सञ्चालन आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्दै यस प्रकारका विकृति र विसङ्गतिविरुद्ध व्यापक सचेतना अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताएकी छन् ।

हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै यसप्रकारका दिवस एवं अभियानबाट समाजमा सचेतना अभिवृद्धि र महिलाविरुद्ध हुने हिंसा निर्मूलनमा महत्वपूर्ण सहयोग पुग्न विश्वास व्यक्त गरिन् ।

हरेक वर्ष नोभेम्बर २५ मा महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिने ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ पनि आजबाट सुरु भएको छ ।

“हाम्रो देशमा लैङ्गिक समानता र महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन, सामाजिक जागरण एवं सचेतना अभियानको परिणाम स्वरुप संवैधानिक, कानुनी र संरचनागत व्यवस्था गरिएपछि राजनीति, प्रशासन र अन्य सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य वृद्धि हुनाको साथै महिलाको सामाजिक–आर्थिक अवस्था क्रमशः सुधारोन्मुख रहेको छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

तथापि, समाजमा विद्यमान अन्धविश्वास, पछौटेपन र सचेतनाको अभावका कारण बालविवाह, बहुविवाह, दाइजो, तिलक तथा छाउपडी प्रथा, बोक्सीको आरोप जस्ता विभेदजन्य कुप्रथाहरू पूर्णरूपमा निर्मूल गर्न हामीले अझै नसकेका पस्ट पार्नुभएको छ ।

त्यसैगरी घरेलु हिंसा, यौन दुर्व्यवहार, एसिड आक्रमण, महिला बेचबिखन, बलात्कार र हत्या जस्ता महिलाविरुद्ध हुने हिंसाजन्य घटनासमेत दैनिकजसो घटिरहेको र प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ स्वरूपसमेत प्रकट भइरहेका उनको भनाइ छ ।

“यस दिवसबाट लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशील सबैलाई थप उत्साहका साथ काम गर्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दै ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ को सफलताको कामना गर्दछु”, उनले भनिन् ।

गणतन्त्र उत्तम व्यवस्था : महामन्त्री थापा

रेसुङ्गा (गुल्मी) । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको बताएका छन् ।

कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताए । उनले कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको स्मरण गरे ।

“अहिले देशमा विभिन्न बहनामा गणतन्त्रमाथि प्रश्न उठिरहेको छ,” उनले भने, “गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो, यदि राजतन्त्र भएको भए यसप्रकारको विरोध सुन्न पाइने थिएन ।”नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठिक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उनको भनाइ छ ।

गुल्मीको सदरमुकाम तम्घासस्थित चिदिचौरमा भएको कार्यक्रममा नेता थापाले जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम व्यवस्था रहेको बताए । देशमा थुप्रै कमीकमजोरी रहेकामा त्यसलाई सच्याउनुपर्ने भन्दै उनले अन्य विकल्प खोज्न नपर्ने बताए ।

एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार हुने

चितवन, मङ्सिर ९-गोखरास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ । सो अवसरमा यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले केबलकारको स्तरोन्नति र रिसोर्ट निर्माणका लागि रु एक अर्ब लगानी थप गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्तरोन्नतिका लागि रु ४५ करोड र रिसोर्ट निर्माणका लागि रु ५५ करोड लगानी हुनेछ । उहाँका अनुसार हाल केबलकार एनालग प्रविधिमा सञ्चालन भइरहेकोमा त्यसलाई हटाई डिजिटल प्रणाली अपनाउन लागिएको हो । “एनालग प्रविधिको मर्मतसम्भार गर्नुका साथै स्पेयर पार्टस्समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् प्रविधि डिजिटल प्रणालीमा स्तरोन्नति गर्दैछौँ”, उहाँले भन्नुभयो, “अष्ट्रियाको डोप्पलमेयर कम्पनीको डि–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति हुनेछ ।”उहाँका अनुसार स्तरोन्नतिको पहिलो चरणको काम सन् २०२१ पूरा भइसकेको र बाँकी काम सन् २०२४ को मध्यसम्म सम्पन्न भइसक्नेछ । यसका लागि सामान मगाइसकिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चरणमा ‘कन्ट्रोल सिस्टम’, ‘कम्युनिकेशन केवल’का साथै केवलकारको लठ्ठा फेरिने छ ।सञ्चालक श्रेष्ठले सन् २०२५ को सुरुआतसम्म सञ्चालन हुने गरी हाल मनकामना केबलकार हाताभित्रै सुविधासम्पन्न रिसोर्टको निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ४० कोठाको सुविधासम्पन्न रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा तथा सेमिनारका लागि हल र रेष्टुराँको समेत सुविधा हुनेछ । “रिसोर्टका लागि रु ५५ करोड लगानी हुने अनुमान छ । रिसोर्ट सञ्चालनका लागि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य रहनेछ”, उहाँले भन्नुभयो ।मनकामना दर्शन गर्न आउने भक्तजनहरुलाई राम्रो सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको उहाँको भनाइ । “मनकामना मन्दिर दर्शनका लागि केबलकार प्रयोग गर्ने यात्रुमध्ये तीन प्रतिशत मात्रै भए रिसोर्ट राम्रोसँग चल्ने रहेछ, यात्रुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको हो ”, उहाँले भन्नुभयो ।सम्पूर्ण प्रणालीलाई डिजिटाइज गर्न लागेको कम्पनीले पछिल्लो समय टिकटलाई पनि अनलाइन प्रविधिमा उपलब्ध गराएको छ । “यात्रुलाई सहज पनि हुने र कागजको खपत कम हुँदा वातावरणीय दृष्टिले पनि राम्रो हुन्छ”, सञ्चालक श्रेष्ठले भन्नुभयो, “अनलाइनमार्फत टिकट काट्ने बढ्दै गएका छन् । हाल ३० प्रतिशत टिकट अनलाइनबाट बिक्री भइरहेको छ ।” केबलकार सञ्चालनमा आएपछि मनकामना मन्दिरमा भारतीय पर्यटकको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । “पछिल्लो दुईदेखि तीन वर्षमा सार्क राष्ट्रका विशेष गरी भारतीय पर्यटकको सङ्ख्या बढिरहेको छ, अहिले २५ देखि २८ प्रतिशत हिस्सा भारतीय पर्यटकको छ ।”

बहुमूल्य जडीबुटी एवं सबै प्रकारका हावापानी उपलब्ध नेपालमा आयुर्वेदको सम्भावना प्रचुर : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनुकूल धरातलका बीचमा आयुर्वेद क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेकोप्रति गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएकी छन् । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनद्वारा आज आयोजित ‘अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी, २०२३ उद्घाटन’ समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले बहुमूल्य जडीबुटी एवं सबै प्रकारका हावापानी उपलब्ध नेपालमा आयुर्वेदको सम्भावना प्रचुर रहेको बताइन् ।

उनले आयुर्वेद क्षेत्रमा अपेक्षाअनुरुप उपलब्धि हासिल गर्न नसकिएकाले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताइन् । “प्राकृतिकरूपमा हिमाल, पहाड र तराईमा पाइने सबै प्रकारको हावापानी पाएका छौँ । जटीबुटीका हिसाबले धनी छौँ । हाम्रो सभ्यता र संस्कृतिका हिसाबले पनि नेपालमा मानव सभ्यताको विकास भएपछिको अधिकांश समय हाम्रा पुर्खाले यही जटीबुटीकै भरमा रोगब्याधीसँग लडेर स्वस्थ जीवन बाँच्न सके । यस्तो अनुकूल धरातलका बीचमा रहेर पनि हामीले आयुर्वेद स्वास्थ्यका क्षेत्रमा चाहेअनुरुपको उपलब्धि हासिल गर्न सकेनौँ । यसमा हामी गम्भीर समीक्षा गर्न जरुरी छ”, मन्त्री शर्माले भनिन् ।

आयुर्वेदको विकासका लागि व्यापक अनुसन्धानमा जोड दिने र यसलाई नेपाली समाजको जीवनशैली बनाउनतिर ध्यान दिनुपर्ने मन्त्री शर्माको जोड छ । नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रुपमा स्थापित गरेको र राष्ट्रिय नीतिमा आयुर्वेदलाई महत्त्व दिइएको उल्लेख गर्दै उनले नीति र कानुनको अभाव नभए पनि यसको कार्यान्वयन पक्ष भने कमजोरी नै रहेको सबैले स्वीकार गर्नुपर्ने बताइन् । आयुर्वेद क्षेत्रका समस्या समाधानमा यस क्षेत्रका विज्ञलाई समाधानका उपाय, विकास सम्बन्धमा सूत्रबद्ध हुन आग्रहसमेत गरेकी थिइन् ।

पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्त्व र इतिहास छ, यसको तुलनामा आज हामीले यसलाई कति विकास गर्न सक्यौँ भन्ने मूल प्रश्नमा बहस हुन आवश्यक रहेको उनको भनाइ छ । पूर्वीय सभ्यताको अङ्ग र पुस्ताको नासोका रुपमा रहेको आयुर्वेदको यो गौरवपूर्ण विरासतलाई अब आधुनिक प्रविधिसँग जोडेर लैजानुपर्नेमा सञ्चारमन्त्री शर्माले जोड दिइन् । “हामीले केही प्रयास त पक्कै गरेका छौँ तर पर्याप्त छैन । आयुर्वेदको संस्थागत सेवा र औषधि उत्पादनमा नेपालको जुन गौरवशाली इतिहास छ, यसलाई अब विविधिसँग जोडेर विश्वव्यापीरूपमा यसको पहुँच विस्तार गर्नुपर्छ”, मन्त्री शर्माले भनिन् ।

सरकारले चालु आर्थिक वर्षमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति अघि सारेको जानकारी दिँदै मन्त्री शर्माले नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा सन्तुलित आहारमा जोड दिई स्वच्छ जीवनशैली अपनाउन अभिप्रेरित गर्ने र खुला योग तथा व्यायामशाला निर्माण, जडीबुटी उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्ने पनि सरकारको नीति रहेको उनले स्पष्ट पारिन् ।

मन्त्री शर्माले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालमा आयुर्वेदको विकासका लागि हुने लगानीको सरकारले सधैं स्वागत गर्ने बताइन् । “आयुर्वेद तथा जडीबुटी उत्पादन र प्रशोधनको क्षेत्रमा हुने लगानीको स्वागत गर्दै नेपाल सरकार त्यस्ता निकायसँग साझेदारी गर्न तयार छ । आजको यो अन्तर्राष्ट्रिय सम्मेलनबाट पनि नेपाललाई आयुर्वेद क्षेत्रको ‘हब’ बनाउन उल्लेख्य सहयोग पुग्ने अपेक्षा राखेको छु”, उनले भनिन् ।

सोही समारोहमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्यायले नेपालमा आयुर्वेदको इतिहास पुरानो भए पनि भनेजतिको अन्तर्राष्ट्रियस्तरमा उपस्थिति हुन नसकेको बताए । आयुर्वेद क्षेत्रलाई सरकारले जति प्राथमिकता दिनुपर्ने हो त्यो नहुँदा यस क्षेत्र पछाडि परेको उनको गुनासो छ ।

फाउण्डेसनका अध्यक्ष विजेन्द्र शाहले भारत, पोर्चुगल, बङ्गलादेश, श्रीलङ्कालगायत देशको उपस्थितिमा मङ्सिर ९ देखि ११ गतेसम्म हुने तीन दिवसीय सम्मेलनमा विभिन्न मुलुकमा भएका आयुर्वेदका ज्ञान, सीप एकअर्कामा आदानप्रदान गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । त्यस्तै कीर्तिपुर आयुर्वेद क्याम्पसका प्रमुख डा शिवमङ्गलप्रसाद नेपालले आयुर्वेद र योगको जननी भूमि रहेको बताउँदै आयुर्वेद क्षेत्रमा अध्ययन, अनुसन्धान गरी थप समृद्धि गर्न जरुरी रहेको बताए ।

आयुर्वेद चिकित्सा परिषद् नेपालका अध्यक्ष सन्तोषकुमार ठकुरले नेपाल आयुर्वेदको उद्गमस्थल रहेकाले यस क्षेत्रको विकास र अनुसन्धानमा ध्यान दिइ यस क्षेत्रको समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा.शिवलाल भुसालले प्राचीन चिकित्सालाई विश्वविद्यालयले आयुर्वेद अध्ययनलाई प्राथमिकता दिने बताए ।

सम्मेलनको मूल नारा ‘कृत्रिम बुद्धिमताको युगमा आयुर्वेद जीवनशैली प्राप्त गर्नु’ रहेको छ । सो कार्यक्रमबाट व्यक्तिमा शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी ज्ञान हासिल हुने आयोजकले दाबी गरेको छ ।

जसपाका प्रदेश र राष्ट्रिय समिति पुनःगठन हुने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनःगठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको कार्यअन्तर्गत बाँकी रहेका प्रदेश र राष्ट्रिय समिति पुनःगठन हुन लागेको हो ।

यसैगरी पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनःगठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं गण्डकी प्रदेश समिति इञ्चार्ज शिवलाल थापामगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बुवान राष्ट्रिय समिति पुनःगठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ प्रमुख अतिथि रहनुहुने केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताए ।