`

बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

काठमाडौँ, ११ मङ्सिरः कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो । यसअघि गत मङ्सिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो ।

कोभ्याक्सले कूल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ । ती आएका खोपलाई प्रदेशमा पठाइनेछ ।

सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप ल्याइसकेको छ । यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ लाख ५७ हजार पाँच सय २२ सङ्क्रमित र १२ हजार ३१ जनाको निधन भइसकेको छ ।

काठमाडौँ महानगरले तिरायो एक लाख जारिवाना

काठमाडौँ, ११ मङ्सिर : काठमाडौँको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौँ महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको छ ।

उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त कम्पनीले उत्पादन गरेको पानीको बोतलमा लामखुट्टे भेटिएपछि प्रहरी कहाँ उजुरी परेको थियो, आज छानबिन गरेर महानगरपालिकाले जरिवाना तिराएको हो ।”महानगरले उक्त कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेलाबेला मेसिन पनि परीक्षण गराउन निर्देशन दिएको प्रवक्ता मानन्धरले बताउनुभयो ।

उपरथी सिलवालसहित चार जनालाई दज्र्यानी चिह्न

काठमाडौँ, ११ मङ्सिर : प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जामा विशेष पदोन्नति हुनुभएका सिलवाललाई दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसअघि सिलवालले द्रुतमार्ग निर्माण अनुगमन समिति अध्यक्ष र सैनिक प्रवक्ताका रुपमा समेत काम गरेको अनुभव सम्हाल्नुभएको छ ।

प्रधानसेनापतिले सो अवसरमा महासेनानी दर्जामा पदोन्नति हुनुभएका तीनजना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दज्यानी चिह्न प्रदान गर्नुभयो ।–

कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पूर्णता, को-को भए मनोनीत ?

काठमाडौँ, ११ मङ्सिर : सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिको सदस्यमा चारजनालाई मनोनीत गरेको छ ।कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा रहेको समितिको सदस्यमा आज चारजनालाई मनोनीत गर्नुभएको हो ।

सभापति देउवाले दिलीप ढुङ्गाना (धनुषा), डा डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई लेखा समितिको सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा, ३९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको कार्य गर्ने गरी चारजनालाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

भूकम्प : रुकुम पश्चिममा मृतकका परिवारले पाए नगद

त्रिवेणी (रुकुम पश्चिम), ११ मङ्सिर : जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप नगद वितरण गरिएको छ । कूल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन् ।

सानीभेरी गाउँपालिकाका–६ का १० मृतक परिवारलाई रु १६ लाख, आठबीसकोट नगरपालिकाका ३७ मृतकका परिवारलाई रु ६१ लाख, चौरजहारी नगरपालिकामा एक मृतकका परिवारलाई रु दुई लाख, रोल्पा र बर्दियाका एक/एक जना मृतक परिवारलाई रु चार लाख गरी कूल रु ८३ लाख नगद वितरण गरिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लामा ५० जना मृतकका परिवारका सदस्यलाई नगद राहत उपलब्घ गराइएको हो । आठबीसकोटमा मृत्यु भएका सल्यानका तीन जनालाई भने जिल्ला प्रशासन कार्यालय सल्यानले नगद उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।सङ्घीय सरकारबाट प्राप्त राहत मृतकका परिवारलाई वितरण गरिएको हो । सरकारले प्रत्येक मृतक घरपरिवारलाई रु दुई लाखका दरले नगद राहत रकम दिइएको हो । एउटै घरमा एकजना भन्दा बढी मृत्यु भएको अवस्थामा रु दुई लाखमा थप रु एक लाख बढाएर नगद उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।सङ्घीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपद व्यवस्थापन कोषमा रु पाँच करोड रकम पठाएको थियो । जसमा रु ८३ लाख नगद राहत विरण गरिएको छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास तथा पुनःस्थापनामा खर्च गरिनेछ ।रुकुम पश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो । त्यसमा पाँच जना जिल्ला बाहिरका रहेका थिए ।—

कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिने

काठमाडौँ, ११ मङ्सिर : कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले लिनुभएको छ । चालिसे कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली हुनुहुन्थ्यो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी चालिसेको सुत्केरी भए लगत्तै कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

विसं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका थिए । सफलको पढाइको जिम्मा लिएसँगै मन्त्री बस्नेतले उनलाई आज टोखा नगरपालिका-९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिनुभएको हो ।

उहाँले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले बेहोर्ने बताउनुभयो । मृतकका पति विमल चालिसेले मन्त्री बस्नेतको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले तत्कालीन समयमै सावित्रीको मृत्यु लगत्तै शिशुको पढाइको जिम्मा लिने घोषणा गर्नुभएको थियो ।

स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयनका लागि सङ्कल्प आवश्यक : सांसद गगन थापा

काठमाडौँ, ११ मङ्सिर : सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यक रहेको बताउनुभयो ।

उहाँले संविधानमा लेखेअनुसारको स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गराउनका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याइए पनि सफल हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री तथा उच्च तहमा स्वास्थ्य बीमाबारे छलफल नहुँदा अलपत्र परेको उहाँको भनाइ छ ।

हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम सरकारले ल्याएको थियो । “स्वास्थ्य बीमा राजनीतिक कुरा हो । राजनीतिक दलको नेताले मेरो नागरिकलाई संविधानमा लेखेअनुसार स्वास्थ्य सेवा पु¥याउँछु भन्नुपर्दछ”, उहाँले भन्नुभयो, “तर प्रधानमन्त्री तथा हाम्रा राजनीतिक दलका नेताबीच स्वास्थ्य बीमाका बारेमा छलफल भएको मलाई थाहा छैन । त्यसैले स्वास्थ्य बीमा अलपत्र परेको छ ।” स्वास्थ्य बीमासम्बन्धी कानुनलाई आवश्यक संशोधन गर्दै लगेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सांसद प्रकाश पन्थले स्वास्थ्य बीमा कार्यान्वयन गर्नसके संविधानअनुसार नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने धारणा राख्नुभयो । उहाँले स्वास्थ्य सेवा र प्रणालीमा सुधारको खाँचो रहेको उल्लेख गर्दै सामाजिक सुरक्षाका नाममा पैसा गइरहेकाले एकद्वारमार्फत स्वास्थ्यमा खर्च गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा राखेर नै बजेट बनाएको बताउनुभयो । उहाँले आधारभूत स्वास्थ्य सेवा निःशुल्क र बीमालाई व्यवस्थित गर्ने कुरामा गृहकार्य भइरहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले संविधानले सुनिश्चित गरेअनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपचार गराउन नसकेको बताउनुभयो । उहाँले जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको बताउनुभयो ।

“नागरिकलाई आधारभूत स्वास्थ्य सेवा व्यवस्थित गर्न उपलब्ध गराउन नसकेका कारणले र गुणस्तरीय स्वास्थ्य सेवा दिन सकेनौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रम सफल हुन सकेन ।”

स्रोत नखुलेको १५ लाख रकमसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, ११ मङ्सिर : काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम रु १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित गएराति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अनसुन्धान गरिरहेको प्रवक्ता कडायतले बताउनुभयो ।

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ११ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताउनुभयो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेकपा (माओवादी केन्द्र) को बेवसाइट सार्वजनिक गर्दै प्रधामन्त्री दाहालले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने दाबी गर्नुभयो । उहाँले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ”, प्रधानमन्त्रीले भन्नुभयो । एउटा विद्यालयमा घटेको घटना सुनाउँदै प्रधानमन्त्रीले भन्नुभयो, “एउटा विद्यालयमा रुख ढलेर एक विद्यार्थीको मृत्यु भएछ । त्यो रुख वनमा परेकाले काट्न पाएका रहेनछन् । कस्ता खालका कानुन रहेछ । विकास, जनतनाभन्दा पनि अन्य कुनै कुरालाई महत्त्व दिने छन्, त्यसलाई संशोधन गर्ने भनेर हिजो निर्णय गरेका छौँ ।”

सो ऐनको संशोधनपछि विकास निर्माण र लालपूर्जा वितरण गर्ने काम अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको सही प्रयोग गरेर मात्रै पार्टीलाई जनताका माझ थप लोकप्रिय बनाउन सकिने बताउनुभयो । उहाँले गत केन्द्रीय समितिको बैठकले पार्टीको आइसीटी फोरम गठन गर्ने निर्णय गरेको र सोहीअनुसार काम अगाडि बढेको उल्लेख गर्नुभयो ।

सरकारका तर्फबाट देश र जनताको पक्षमा राम्रो गर्ने इमान्दार प्रयास भएको जानकारी दिँदै प्रधानमन्त्रीले मिटरब्याजीको समस्या समाधान गर्न गरिएको प्रयासका अलावा, सामाजिक न्याय, सामाजिक सुरक्षा, भूमाफियालाई कारबाही, नक्कली भूटानी शरणार्थी प्रकरण, तस्करी नियन्त्रणमा गरिएको प्रयास उल्लेखनीय रहेको बताउनुभयो ।

नेपालको राष्ट्रिय पहिचानलाई सुदृढ गर्न सरकार गम्भीर रुपमा लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत, चीन, अमेरिका, इटालीलगायतको भ्रमण सहयोगी बनेको स्पष्ट पार्नुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपाल डरलाग्दो स्थितिमा पुगेकाले अन्तर्राट्रिय समुदायको ध्यानाकर्षण गराइएको र संयुक्त राष्ट्रसङ्घले नेपालको भ्रमण गर्नुभएको उल्लेख गर्नुभयो । विकसित राष्ट्रले नेपाललगायत देशलाई उपलब्ध गराउने भनेर यसअघि जनाएको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएकाले यस पटकको कोप–२८ मा त्यसबारेमा गम्भीर ध्यानाकर्षण गराइने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले सरकारले बुढीगण्डकी, कर्णाली चिसापानीलगायत ठूला आयोजनाको काम अगाडि बढाएको सो अवसरमा जानकारी दिनुभयो । बुढीगण्डकी आयोजनाका लागि मात्रै पूर्वाधार करमार्फत उठ्ने रकम जम्मा गर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ छ । कर्णाली चिसापानी आयोजनाको अध्ययन अगाडि बढाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइएको प्रधानमन्त्रीको कथन छ । सरकारले जटिलताकाबीचमा पनि विकास निर्माणको कामलाई गति दिने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिइएको भए पनि कार्यान्वयनमा आउन नसकेको सन्दर्भमा मन्त्रिपरिषद्बाट कार्यान्वयनमा लगिएको जानकारी दिँदै प्रधानमन्त्रीले त्यसबाट काठमाडौँ उपत्यकाका नेवार समुदायका अगुवाले सरकारलाई धन्यवाद दिएको बताउनुभयो ।

प्रज्ञा भवनमा कार्याक्रमकको आयोजना गरेर प्रधानमन्त्रीलाई अभिनन्दन गर्ने विषय आफैँमा महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

सोही अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिलाई सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अगाडि लैजाने बताउनुभयो । सामाजिक सद्भाव खल्बलिने अवस्था आएकाले सरकारले सामाजिक सञ्जाल निर्देशिका जारी गरेर कार्यान्वयन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन – सभापति देउवा

त्रिवेणी (नवलपरासी) ११ मङ्सिर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताउनुभयो ।

सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भन्नुभयो, “पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।”

सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस महामन्त्री गगन थापाले राजतन्त्रका बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताउनुभयो । जिल्ला सम्मेलनमा कांगे्रसका अन्य विभिन्न नेताहरूले सम्बोधन गरेका थिए ।

दक्षिण कोरियाको युवा जनसङ्ख्या आगामी ३० वर्षमा आधा हुने आकलन

सोल । तीव्ररूपमा बढिरहेको बढ्दो उमेरको जनसङ्ख्या र कीर्तिमानीरूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको सङ्ख्या आधा हुने अपेक्षा गरिएको मुलुकको तथ्याङ्क निकायले सोमबार बताएको छ ।

तथ्याङ्क कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको सङ्ख्या कूल जनसङ्ख्याको २० दशमलव चार प्रतिशत अर्थात एक करोड दुई लाख १३ हजार थियो । यो उमेर समूहको सङ्ख्या सन् १९९० मा एक करोड ३८ लाख ४९ हजारबाट सन् २००० मा एक करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड नौ लाख ६७ हजार भएपछि सन् २०५० मा यो सङ्ख्या घटेर ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ ।

सन् २०५० मा कूल जनसङ्ख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ । कूल प्रजनन दर अर्थात एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत सङ्ख्या तीव्ररूपमा बढ्दो जनसङ्ख्याका बिच सन् २०२२ मा शून्य दशमलव ७८ को न्यूनस्तरमा पुगेको छ ।

कूल युवा जनसङ्ख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१ दशमलव पाँच प्रतिशत भएको छ । यो आँकडा सन् २००० मा ५४ दशमलव पाँच प्रतिशतबाट तीव्ररूपमा बढेर सन् २००५ मा ६३ दशमलव दुई प्रतिशत र सन् २०१० मा ६८ दशमलव नौ प्रतिशत भएको छ ।

कूल युवा महिलाहरूमा आर्थिरूपमा सक्रिय युवा महिलाहरूको अनुपात सन् २००० मा ४२ दशमलव तीन प्रतिशतबाट बढेर सन् २०१० मा ५५ दशमलव दुई प्रतिशत र सन् २०२० मा ६१ दशमलव एक प्रतिशत भएको छ ।

आर्थिकरूपमा सक्रिय युवा पुरुषहरूको प्रतिशत सन् २००० मा ६६ प्रतिशतबाट घटेर सन् २०१० मा ६४ दशमलव सात प्रतिशत र सन् २०२० मा ६३ दशमलव नौ प्रतिशतमा झरेको छ ।

सुवेदीका फार्ममा एक किलो बढीका ड्रागन, २० लाखको बिक्री गर्ने योजना

चितवन । भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलोपटक यति ठूलो फलेको बताए । आइतबार साँझ आफ्नो फार्ममा फल टिपेर जोखेपछि उत्साहित हुँदै उनले भने– “एक किलो पुग्दैन कि भन्ने थियो, अझै बढीको भयो । निकै खुसी छु । योभन्दा पनि ठूलो अर्को फल पाक्न लागेको छ । आवश्यक मलजल र स्याहार पुर्याउन सक्यो भने दुई किलोसम्म फलाउन सकिन्छ ।”

सुवेदीले एक हेक्टर जमिन भाडामा लिएर तीन वर्ष यतादेखि ड्रागन फलको खेती गर्दै आएका छन् । यस वर्षका हालसम्म रू आठ लाख बराबरको बिक्री गरिसकेको उनले जानकारी दिए । फल फल्नेक्रम जारी रहेको भन्दै उनले यस वर्ष फल र बिरुवा गरेर रू २० लाखको बिक्री गर्ने योजना रहेको बताए ।

“यस वर्ष रू सात/आठ लाखको बिरुवा पनि बिक्री गर्ने योजनामा छु ।” भाँचिएका हाँगासमेत उपयोग गरेर बिरुवा तयार गर्न सकिन्छ”, सुवेदीले भने, “मेहनत गर्यो भने एक वर्षमा एक हेक्टर जमिनमा रू २० लाखको ड्रागन बेच्न सकिन्छ । यसबाट रू आठ लाख हाराहारी बचत हुन्छ ।” गत वर्ष रू १६ लाखको ड्रागन फल र बिरुवा बिक्री गरेको उनले बताए ।

पहिलो वर्ष पाँचरछ महिनापछि नै उत्पादन लिन थालेको बताउँदै सुवेदीले अहिले ड्रागन लगाएको ठाउँमा सयपत्री फूल, बदाम, भटमाससमेत लगाएको बताए । “यसै महिनादेखि जिरा पनि लगाउँदै छु । नेपालमा बर्सेनि रू २७ अर्बको जिरा आयात हुन्छ”, उनले भने । सुवेदीले फार्ममा उत्पादन भएको ड्रागनलाई प्रतिकिलो रू चार सयदेखि छ सयसम्ममा आकारका आधारमा बिक्री गर्दै आएको छ ।

व्यावसायिकरुपमा काम गर्न सरकारी अनुदान प्राप्त भएको सुवेदीले बताए । झण्डै रू ६० लाख लगानी गरेको जनाउँदै उनले रू १५ लाख अनुदान पाएको बताए । योसँगै रू छ लाख बराबरको सरकारी निकायबाट बोरिङ राखिएको उनको भनाइ थियो ।

आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ । बिरुवा उत्पादनदेखि बिक्रीसम्म उनले गरिरहेका छन् । रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा उनले व्यावसायिक कृषि गरेर यही सम्भव छ भन्ने देखाएका छन् ।

सुवेदीले मलेसियाबाट एक हजार, भियतनामबाट दुई हजार र भारतको राजस्थानबाट दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती सुरु गरेको जानकारी दिए । विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिमजस्ता मानव जीवनमा आवश्यक प्रशोधित सामग्रीको उत्पादन हुने गरेको उनले बताए । उनले यस खेतीमा एकपटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने बताए ।

वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेषगरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ । यहाँको उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरालगायतका सहरमा पुग्ने गरेको छ । सुवेदीले उद्योग सङ्घको शनिबारे हाटबजार र फार्मबाटै बिक्री गर्दै आएका छन् ।रासस

चितवनमा चार महिनामा सवारी दुर्घटनाबाट २३ जनाको मृत्यु

चितवन । जिल्लामा पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परी २३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा २१ जना पुरुष, दुई जना महिला छन् ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीकाअनुसार दुर्घटनामा परी दुई सय २९ जना घाइते भएका छन् । जसमध्ये ४७ जना गम्भीर घाइते भएका छन् भने एक सय ८२ जना सामान्य घाइते भएका छन् ।

जिल्लामा भएका सवारी दुर्घटनामा एक सय ३७ वटा सवारीसाधन परेका छन् । सुवेदीकाअनुसार जिल्लामा भएका पूर्व–पश्चिम लोकमार्गमा २१ वटा दुर्घटना भएका छन् । यस्तै नारायणगढ मुग्लिन सडक खण्डमा १३ वटा, पृथ्वी राजमार्गमा तीनवटा, सहरी सडक खण्डमा ६ वटा र भित्रि सडकमा ४५ वटा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गर्दै आइरहेको सुवेदीले बताए । उनका अनुसार कार्यालयले जनचेतनामूलक कार्यक्रम र प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आइएको छ । उनले भने, “मुख्य राजमार्गमा जनचेतनामूलक होडिङ् बोर्ड राख्ने काम सुरु गरिएको छ ।” दुर्घटना न्यूनीकरणका लागि आकस्मिक चेकजाँचलाई समेत तीव्र बनाइएको उनले बताए । रासस

काभ्रेमा क्यान्सरको उपचार सुरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ । अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो । काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ ।

क्यान्सर बिरामी हुँदा कुनै पनि व्यक्तिले भोग्नुपर्ने आर्थिक, सामाजिक र व्यवहारिक कठिनाइलाई न्यूनीकरण गर्दै उपचारमा सहजता ल्याउन क्यान्सर रोगको उपचार सुरु गरिएको अस्पतालका क्यान्सर केयर कोअर्डिनेटर डा.ध्रुव कँडेलले बताए । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरसले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि स्थानीयस्तरमै सेवा विस्तार गरिएको जानकारी दिए ।

विभिन्न प्रकारका रोगको उपचार हुने मध्यपहाडी क्षेत्रमा सबैभन्दा पुरानो विसं २०१७ मा स्थापित उक्त अस्पतालमा हाल एक सय ५० शय्याबाट उपचार सेवा प्रदान गर्दै आएको छ । स्क्यान्सर रोगका बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा एन्जिला बस्नेतले बताए ।

उनका अनुसार सुरुमा क्यान्सर रोगको पहिचान गर्ने र प्रमाणित भएमा त्यसको उपचारार्थ ‘केमो–थेरापी’लगायतका बाल क्यान्सर, रगत क्यान्सर, रेडियोलोजी, प्याथोलोजी, भ्याक्सिन, सर्जरी तथा क्यान्सरको उपचार सेवा प्रदान गरिने छ । यस्तै उक्त रोगको उपचारका लागि अस्पतालले छुट्टै भवन, थप अत्याधुनिक मेसिन र दक्षजनशक्तिको व्यवस्थापनमा जुटेको जनाएको छ । साथै अस्पतालले वार्षिक, दुई वार्षिक, त्रैवार्षिक र पञ्चवर्षीय योजना लिएर क्यान्सर रोगका बारेमा सम्पूर्ण उपचार गर्ने गरी योजना बनाएको छ ।

“क्यान्सरको उपचार सेवा पनि महँगो छैन”, बस्नेतले भने । उनले महिलालाई हरेक महिना एकपटक आफैँ ‘ब्रेस्ट चेक’ गर्न अनुरोध पनि गरे ।

नेपालमा वार्षिक २० हजारभन्दा धेरै नागरिक क्यान्सर रोगबाट सङ्क्रमित हुने गरेको तथा वार्षिक १४ हजार नागरिकको यही रोगका कारण निधन हुने गरेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार नेपालमा एक चिकित्सकले सहरी क्षेत्रमा १२ हजार र ग्रामीण भेगका एक लाख ५० हजार नागरिक हेर्नुपर्ने अवस्था रहेको छ ।रासस

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन् ।

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’मा पनि सहभागी हुने कार्यक्रम छ । उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वान जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख÷सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तालिका रहेको मन्त्रालयले जनाएको छ । उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन् । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्किनेछन् ।

जनकपुरमा हुने सीताराम विवाह महोत्सवको तयारी

धनुषा । यही मङ्सिर २६ देखि पुस २ गतेसम्म जनकपुरधाममा हुने सीताराम विवाह महोत्सवको तयारी सन्दर्भमा आज जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरु विश्वामित्रसँग जनकपुरधाम आई धनुष भङ्ग गरी सीतासँग स्वयमवर गर्नु आदि स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाउने चलन रहेको छ ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयंवरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता रहेको छ । बैठकले यही पृष्ठभूमिलाई सफल र भव्यता प्रदान गर्न मूल समिति, उपसमिति गठन र व्यवस्थापनका विविध आयामबारे छलफल र कार्यान्वयनमा जोड दिएको छ ।

समारोहका लागि एक सय ५१ सदस्यीय मूल समिति र स्वास्थ्य, यातायात, सुरक्षा, खानेपानी, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सजावट, दीपावली उत्सवको व्यवस्थापनका लागि उपसमितिहरु पनि गठन गरिएको छ । गत वर्षमा प्रदेश सरकारले महोत्सवका लागि रु २० लाख विनियोजन गरेको थियो तर यस वर्ष प्रदेश सरकारले महोत्सवका लागि रकम विनियोजन नगरेकोप्रति सहभागीहरुले चिन्ता व्यक्त गर्दै रकम विनियोजनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने सुझाव दिएका छन् ।

सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रमअन्तर्गत मङ्सिर २६ गते जनकपुरधाम नगर दर्शन, २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर, पुस १ गते स्वयम्वर तथा विवाह उत्सव र २ गते राम कलेवा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले बताए ।

यसका साथै विवाह पञ्चमीका दिन हेलिकप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रम पनि रहेको सहायक महन्त रामरोशन दास बैष्णवले बताए । सीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेको जानकार डा राजेन्द्र विमलले बताए ।

प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जोड्नुपर्छ : देवकोटा

काठमाडौँ । राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक सङ्घीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढङ्गले अघि बढ्न सक्ने तर्क गर्छिन् ।

उनले सरकार को आयो आएन, बजेट कस्तो ल्याइयो, महाभियोग र अविश्वासको प्रस्ताव किन भन्ने विषयमा राष्ट्रियसभाले वास्ता नराख्ने भएकाले त्यसरी बेग्ला–बेग्लै तोकेर जिम्मेवार बनाएमा निरन्तर र समयमै कानुन निर्माण हुने विचार प्रकट गरिन् ।

सदस्य देवकोटाले भनिन्, “विकास कसरी गर्ने, बजेट कहाँ हाल्ने अनि सरकार गठन र विघटनको काम उसले गर्छ । कानुन समयमै निर्माण गर्ने हो भने विधेयक निर्माणको सम्पूर्ण काम राष्ट्रियसभाबाट हुनुपर्छ भन्ने पाटोबाट बहस चलाइनुपर्छ ।”

विसं २०४३ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेकी उनीसँग नेपाल महिला सङ्घ दाङको अध्यक्ष, महिला सङ्घकै केन्द्रीय सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य, दोस्रो संविधानसभा सदस्य भई काम गरेको अनुभव छ ।

देशमा भएका विभिन्न घटनाका कारण प्रतिनिधिसभा लामो समयसम्म अवरुद्ध भएको विगतका घटना सुनाउँदै उनले कानुन निर्माणको प्रमुख थलो मूल जिम्मेवारी र कर्तव्यबाट प्रभावित हुँदा राज्य सञ्चालनमा पर्न सक्ने असरलाई समयमै सम्बोधन गर्न आवश्यक रहेको धारणा राखिन् ।

माथिल्लो सदनमा प्रतिनिधित्व गराउँदा विषयविज्ञको चयन गरिनुपर्ने सुझाव दिँदै उनले दललाई चुनावमा सहयोग गरेको, आफन्त र पीडितका नाममा जिम्मेवारी दिने सोच राखिए सभा ‘डम्पिङ साइट’ बन्न सक्ने खतराको चेतावनी दिइन् ।

बजेट विनियोजन र अवसर प्रदानका विषयमा सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाबीच विभेद गरेको आरोप लगाउँदै नेत्री देवकोटाले हालसम्मका सबै सरकारले धेरै ठाउँ र विषयमा विभेद गरेकाले सांसद कानुन निर्माणमा मात्रै केन्द्रित हौँ भनिएको बताइन् ।

राष्ट्रियसभालाई प्रतिनिधिसभाको छायाँका रूपमा मान्न नसकिने स्पष्ट गर्दै सदस्य देवकोटाले भनिन्, “केही अभ्यासले त्यो देखाएको हुनसक्छ, त्यसलाई सुधार्नुपर्छ, तर यहाँ सरकारले बरु छायाँ बनाउन खोजेको छ ।”

जनता र राष्ट्रहितलाई शिरमा राखेरमात्र विधि निर्माण गरिनुपर्नेमा जोड दिँदै उनले भनिन्, “सबैको साझा भएकाले देश निर्माणमा राजनीतिक दल, जनप्रतिनिधि, राज्य र राष्ट्र लाग्नुपर्छ । सरकारमा को छ–छैन गौण विषय हो ।”

बनाइएका कानुन कार्यान्वयनको प्रभावकारिता परीक्षण र मापन हुनुपर्नेमा जोड दिँदै नेत्री देवकोटाले कानुन तर्जुमा सबैको स्वामित्व कायम गराउँदै बनेका कानुन कार्यान्वयनमा सरकारको तदारुकताको खाँचो औँल्याइन् । राष्ट्रियसभामा आफ्नो छवर्षे कार्यकाल पूरा गरी तीन महिनापछि बाहिरिन लागेकी सदस्य देवकोटाले ‘सांसदसँग रासस संवाद’मा सभाको गरिमालाई प्रभावकारी तुल्याएर द्रूतगतिमा कानुन निर्माण गर्ने आफ्नो सोच पूरा हुन नसकेको प्रतिक्रिया दिइन् ।

उनले भनिन्, “द्रूतगतिमा काम गर्न सकिएको भए यसबेला सङ्घीयतासँग जोडिएका सबै कानुन निर्माण भइसक्नुपथ्र्याे, त्यो भएन । तथापि, बुद्धि, बर्कत र विवेकले भ्याएसम्म कोसिस गरियो । यस अवधिमा सकेजति राम्रो गरियो, नराम्रो भने गरिएन भन्नेमा पूर्ण विश्वास छ ।”

संविधानअनुकूल बनाइनुपर्ने कतिपय कानुन उपसमिति संयोजकका हैसियतले जिम्मेवारीकै बखत सम्पन्न गरेको विवरण सुनाउँदै उनले मुलुक सङ्घीयतामा प्रवेश गरिसकेपछि कानुन बनाउने र अधिकार प्राप्तिका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच दोषारोपणकै अवस्था रहेको बताइन् ।

कानुन निर्माणमा सरकारको अग्रसरताका लागि बारम्बार घचघच्याएको प्रसङ्ग सुनाउँदै सदस्य देवकोटाले प्रधानमन्त्रीसँग छलफल गरी सरकारको प्रतिबद्धता लिइए पनि परिणाम देखिने गरी प्रगति हासिल हुन नसकेको गुनासो गरिन् ।

प्रतिनिधिसभाबाट प्राप्त विधेयक छिटो टुङ्ग्याउनुपर्ने कानुनी व्यवस्थासँगै सरकारको समेत दबाब खेप्नुपरेको घटना सुनाउँदै उनले राष्ट्रियसभाबाट गएका विधेयक भने लामो समयसम्म अड्किने प्रवृत्तिको तीतो अभ्यास र अनुभूति झेल्नुपरेको भनाइ राखिन् ।

सङ्घीय संसद्ले स्थानीय तह र प्रदेशलाई साधनस्रोत र कानुनमार्फत बलियो बनाउनतर्फ विशेष पहलको खाँचो औँल्याउँदै नेत्री देवकोटाले त्यसका लागि अधिकार र कार्यक्षेत्र स्पष्ट गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समाजका सबै तह र तप्का सक्रियपूर्वक लाग्नुपर्छ भनिन् ।

सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध जोडिएको कानुन निर्माण भए पनि प्रधानमन्त्रीको नेतृत्वमा रहने अन्तरसम्बन्ध परिषद्को बैठक नियमित र ठोस हुन नसकेको बताउँदै सदस्य देवकोटाले कानुनको गति पनि धिमा रहेको गुनासो गरिन् । उनले भनिन्, “सरकार कानुनभन्दा सरकार बनाउने, टिकाउने तथा प्रधानमन्त्री र मन्त्री बन्ने एवं बनाउने प्रतिस्पर्धामै सीमित रहन पुगेको छ ।”

सङ्घीयताको पूर्ण कार्यान्वयन र जनहितका लागि तालिका बनाएर काम गर्न संसद् र सरकारलाई सुझाव दिँदै नेत्री देवकोटाले प्रतिनिधिसभा विघटन भएको अवस्थामा स्थायी सदनलाई पन्छाएर पत्रकार सम्मेलनमार्फत बजेट सार्वजनिक गरिनु व्यवहारिक नभएको टिप्पणी गरिन् ।

उनले भनिन्, “यस्तो बेला संविधान हेर्ने नभई असल अभ्यासको सुरुआत गर्न सक्नुपथ्र्याे । मुलुकलाई समृद्धितर्फ लैजान कानुनी पाटोबाट साझा र एकल अधिकारका प्रश्न टुङ्ग्याएर अब अघि बढ्नुको विकल्प छैन ।” नेत्री देवकोटाले निष्ठा, कुण्ठा र आक्रोशलाई बेलैमा सम्बोधन नगरिँदा हुने विस्फोटनबाट पुग्ने क्षति निकै भयवह र आकलन गर्न नसकिने भएकाले भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, रोजगारी सिर्जना र उद्योग कलकारखाना स्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिइन् ।

सङ्घ, प्रदेश र स्थानीय तहलाई सुदृढ तुल्याउन विशेष समिति गठन तथा महिला अधिकारका सम्बन्धमा सङ्कल्प प्रस्तावमा सरकारबाट भएको प्रतिबद्धता कार्यान्वयनको खाँचो औँल्याउँदै सदस्य देवकोटाले कानुन निर्माणमा राष्ट्रियसभामा सत्ता र प्रतिपक्षको व्यवहार कहिलै महसुस नभएको प्रतिक्रिया दिइन् ।

एक प्रश्नको जवाफमा उनले भनिन्, “मतदाता, समाज र अभिभावकले पठाएको संस्थाको गरिमा र शिर निहुर्याउने काम गरिनँ । जतिसके राम्रो गरेँ । राजनीतिबाट यो मेरो विश्राम होइन, भूमिका र परिवेशानुसार कामबाट सन्तुष्टि छ ।”

कार्तिक शुक्ल पूर्णिमा : गुरु नानक जयन्ती आज

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहेव’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गराए ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ ।

यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’ को थालनी गर्नुभएको थियो । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्थे ।

जाजरकोट भूकम्प: चिसोबाट सुत्केरीको मृत्यु

भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ।’

चदाराले छोरीको जन्म दिएकी थिइन्। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। सोमबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

यस्तै आज अमेरिकी डलरको १ को १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ। यस्तै युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ १० पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९८ रूपैयाँ ०४ पैसा रहेको छ।

अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ६१ पैसा तथा बिक्री दर ८८ रूपैयाँ ०१ पैसा, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९१ पैसा तथा बिक्री दर ८ रूपैयाँ ९५ पैसा, चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७० पैसा , साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २४ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ४० पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको छ।

रजत जयन्तीका रूपमा मनाइँदै सडक महोत्सव

लेखनाथ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा प्रत्येक वर्ष मनाउँदै आइएको सडक महोत्सवलाई यस वर्ष रजत जयन्तीका रूपमा मनाइने भएको छ । अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आइएको सडक महोत्सव २५ वर्ष पुगेसँगै यस वर्ष भव्य तयारीका साथ रजत जयन्तीका रूपमा मनाउन लागिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले नयाँ वर्षको स्वागतार्थ प्रत्येक वर्ष यस्तो महोत्सव सञ्चालन गर्दै आएको छ ।

पोखराको पर्यटन प्रवर्द्धनका लागि गरिँदै आइएको सडक महोत्सवलाई रजत जयन्तीका रूपमा मनाउने तयारी भइरहेको आयोजक संस्था रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।

पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप पोखराको लेकसाइड क्षेत्रमा पर्ने तीन किलोमिटर क्षेत्रफलमा सडक महोत्सव गर्न लागिएको हो । ‘सडकमा खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्य लिएर सञ्चालन हुँदै आएको सडक महोत्सव रजत जयन्तीका अवसरमा यस वर्ष थप आकर्षण बनाइने जानकारी महोत्सव संयोजक तथा कार्यवाहक अध्यक्ष पौडेलले दिए ।

आउँदो पुस १२ देखि १६ गतेसम्म आयोजना गरिएको सडक महोत्सव स्वदेशी तथा विदेशी गरी पाँच लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने दाबी आयोजक संस्थाको छ । महोत्सवका मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, डुङ्गा दौड, भलिबल प्रतियोगिता, कन्सर्ट, पोखराको पर्यटन विकास, प्रवर्द्धन, अवसर तथा चुनौती विषयमा अन्तक्र्रियाका साथै पोखरा तथा स्थानीयरूपमा उत्पादन कृषि, हस्तकला एवं चित्रकलाको प्रदर्शनी गरिने जानकारी सो अवसरमा दिइएको थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवसँगै गुणस्तरीय सेवालाई पनि त्यत्तिकै ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । कोरोना महामारीपछि यस वर्ष पोखरामा आउने पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएकाले पर्यटन व्यवसाय चलायमान भएको उनको भनाइ छ ।

महोत्सवसँगै पोखराको लेकसाइडलाई पर्यटनमय बनाउन यहाँको पर्यटनसँग सम्बद्ध एक दर्जन संस्था सक्रियरूपमा लागेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखराको पर्यटन विकासमा सञ्चारकर्मीको भूमिका पनि महत्त्वपूर्ण हुने बताए ।

बजेट अभाव हुँदा खानेपानी योजना अलपत्र

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु गरिएका योजनाले अझैसम्म पूर्णता पाउन सकेका छैनन् ।

गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ भन्ने नीतिअनुरूप जिल्लामा सुरु भएका योजनामा पर्याप्त बजेट नहुँदा काम सम्पन्न हुनसकेको छैन । ढोडेनी खानेपानी योजना, झ्याल्टुङ्गडाँडा खानेपानी योजना, भागर खानेपानी योजनालगायतका आयोजना सम्पन्न हुनसकेका छैनन् ।

बजेट अभाव र निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण योजना सम्पन्न हुन नसकेको झ्याल्टुङ्गडाँडा खानेपानी योजना, मध्यविन्दु–१० का अध्यक्ष हेमबहादुर थापाले बताए । करिब दुई सय घरपरिवारलाई खानेपानीको व्यवस्थाका लागि पाँच वर्षअघि सुरु भएको योजना पूरा हुन नसकेको उहाँले बताए ।

आर्थिक वर्ष २०७६÷७७ मा काम सुरु भएका योजना डेढगाउँ, कावासोती डिग्री कलेज, कावासोती–१७, अग्यौली, वौनाहा, आपचौर, मैनाघाट, देवचुली, अमरापुरी खानेपानी योजना सञ्चालनमा आउन सकेका छैनन् । नवलपुरमा सञ्चालित अन्य योजनामा जिल्ला अस्पताल, आरुङ्गखोला, कावासोती, मगरकोटका खानेपानी योजनासमेत बजेट अभावले सम्पन्न हुनसकेका छैनन् ।

गण्डकी प्रदेश सरकारमार्फत सुरु भएको खानेपानी योजनाका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा सम्पन्न गर्न समस्या परेको कावासोती–१७, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण ढुङ्गानाले बताए ।

नवलपुरमा चालु आवमा अधिक रु चार करोडदेखि न्यूनतम रु छ लाख ८० हजारसम्मका योजना सञ्चालनमा छन् । धेरै लागत अनुमान रहेका योजनामा न्यून बजेट विनियोजन गर्दासमेत योजना सम्पन्न हुन धेरै समय लाग्ने गरेको छ । नवलपुरमा चालु आवका लागि रु १८ करोड १८ लाख बजेट विनियोजन गरिएको छ । विभिन्न शीर्षकमा जिल्लामा एक सय एकवटा आयोजना सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, एकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताए ।

जिल्लामा सञ्चालित महत्त्वपूर्ण खानेपानी योजना लामो समयसम्म सम्पन्न नहुँदा उपभोक्ता मारमा परेका छन् । ओभरहेड ट्याङ्की बनाउनुपर्ने योजना न्यून बजेट विनियोजन भएका कारण अघि बढाउन मुस्किल रहेको खानेपानी एकाइ नवलपुरका प्रमुख आचार्यले बताए । पुराना कतिपय योजना बजेट अभावका कारण आफूहरूले अगाडि बढाउन नसकेको उनले बताए । निर्माणका चरणमा रहेका योजना सम्पन्न गराउन आवश्यक बजेटका लागि आफूहरूले मन्त्रालयमा पहल गरिरहेको उनले बताए ।

जिल्लामा खानेपानी डिभिजन कार्यालय नहुँदासमेत काम गर्न थप समस्या भएको यहाँका सरोकारवालाको भनाइ छ । तनहुँस्थित खानेपानी डिभिजन कार्यालयले नै नवलपुरमा खानेपानी योजनाहरू हेर्दै आएको छ । जिल्लामा एकाइ कार्यालय स्थापना गरिएको भए पनि सबै काम तनहुँबाट हुने गर्दछ । जिल्लामा सञ्चालित लिफ्टिङ खानापानी योजनाका लागि विद्युतीकरणमा ढिलाइ हुँदासमेत समस्या हुने गरेको छ ।

रास्वपाको केन्द्रीय समितिको बैठक आजबाट शुरु

काठमाडौँ – रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट शुरु हुँदैछ । बैठक महोत्तरीको जलेश्वरमा बस्ने जनाइएको छ ।

बैठक पहिलो पटक काठमाडौँ उपत्यका बाहिर बस्न लागेको हो । बैठक आजबाट शुरु भएर मंसिर १३ गतेसम्म बस्नेछ ।बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन लगायतका बिषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

ऐतिहासिक नमोबुद्ध जात्रा : ‘पितृ’का सम्झनामा दीप प्रज्ज्वलन गरिने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा आजदेखि जात्रा सुरु भएको छ । आज कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन ।

किंवदन्तीअनुसार बुद्धले लुम्बिनीमा पुनःजन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको स्थान । काभ्रेपलाञ्चोकको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा मेला लाग्दै आएको हो ।यो किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गर्दछ । मेलामा बर्सेनि करिब एक लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राअन्तर्गत आज दिनदेखि रातभरि र भोलि पनि नमोबुद्धमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लाग्ने गर्दछ ।नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झनामा दीप प्रज्ज्वलन गरिन्छ । “यहाँ बर्सेनि पितृका नाममा बत्ती बाल्ने परम्परा रहँदै आएको छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता छ”, उनले भने। विशेषगरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामाले बताए । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए ।सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो । “पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी मानिएको हो भने, पाँच डमरु भिक्षु भएका थिए”, लामागुरु लामाले भने । उनका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजा–रानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएका थिए । “तत्पश्चात राजारानी शङ्खेश्वरी अजिअजिमाको नामले चिनिँदै आउनुभएको हो”, लामागुरुले भने ।संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृश्य कुँदिएको मूर्ति छ ।नमोबुद्धमा सधैजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीय समाजसेवी राकेश लामाले बताउछन् । उनीका अनुसार मेलामा यस वर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडाौं, धादिङ, नुवाकोटलगायतबाट सहभागिता हुने गरेको छ ।यस्तै नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमोबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दीपङ्कर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । राजकुमारको जन्मघर काशीवर्ण महावीर अर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो । धेरैजसो बुद्धमार्गी भक्तजन पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ ।उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुखबिरुवा तथा बाघ, भालु, बँदेल, खरायो, हरिणजस्ता जन्तु पाइन्थ्यो । साथै मयुर, हाँस, वनकुखुरालगायत पक्षी उक्त जङ्गलमा पाइने गरेकामा हाल पाइन छाडेको अध्यक्ष लामाले बताए ।केन्द्रीय राजधानी काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा नमोबुद्ध पर्दछ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूला–ठूला बुद्धमूर्ति, चैत्य रहेको छ । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर रहेको छ ।यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिमशृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ ।

‘सर्भिस लेन’को ढाँचा परिवर्तन गर्न बुटवल उपमहानगरपालिकाको आग्रह

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले यहाँस्थित चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ । चौराहाबाट गोलपार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय प्रवर्द्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने जनाउँदै उपमहानगरपालिकाले विभागसँग सो आग्रह गरेको हो ।

बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले बुटवलको व्यस्त बजार र बस्ती क्षेत्र सडकको ‘सर्भिस लेन’लाई हरियाली, साना सवारी पार्किङ, साना व्यवसाय, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निर्णय गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए।उनका अनुसार बुटवलको मुख्य बजार क्षेत्रको सर्भिस लेनको बहुउपयोग गर्नका लागि सर्भिस लेनको डिजाइनलाई सडक विभागलाई पत्राचार गर्ने निणर्य गरिएको हो ।उहाँले चौराहाबाट गोलपार्कसम्मको सर्भिस लेनको निर्माण बाँकी रहेकाले निर्माण सुरु हुनुअघि नै ढाँचामा हेरफेर गरी स्थानीय आवश्यकताअनुसारको बनाउनु पर्छ भने । “ सडक बनाएपछि सवारी पार्किङ गर्ने क्षेत्र मासियो, अन्यत्र पार्किङ गर्ने स्थान छैन, पहिलेका आराम गर्ने चौतारी पनि मासिए, पानी पिउने ठाउँ, शौचालय पनि राख्ने ठाउँ छैन”, उपमहानगरप्रमुख पाण्डेयले उनले भने, “त्यसैले यो क्षेत्रको सर्भिस लेनमा यी सबै कुरासमेत गाभेर यहाँको आवश्यकतानुसारको बनाउनुपर्छ भन्ने हाम्रो आग्रह हो ।”उनले सर्भिस लेनको बीच–बीचमा साना गाडी पार्किङको क्षेत्र, साना विश्रामस्थल, पिउने पानी, शौचालयसमेतलाई व्यवस्थित गर्ने गरी सडक विभागलाई प्रस्तावित डिजाइन पठाइएको समेत जानकारी दिए । बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय आवश्यकतालाई हेरेर ‘सर्भिस लेनको डिजाइन’मा परिवर्तन गर्नुपर्ने बताए ।सडक डिभिजन बुटवलका प्रमुख विसुनदास लामाले सरोकारवालाको मागअनुसार सडक विभागमा अनुरोध गर्ने बैठकमा बताए । बैठकमा बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार सङ्घ, ट्राफिक व्यवस्थापन कार्यालय, खानेपानी संस्थान बुटवल, यातायात व्यवसायीलगायतका सरोकारवालाको सहभागिता थियो ।स्थानीय सरोकारवालाबीचको छलफलको निर्णयानुसार छिट्टै स्थानीय सरोकारवालाको भेला डाकेर सडकको ‘सर्भिस लेन’ परिवर्तनका लागि बृहत् छलफल गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।यसैगरी नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत बुटवल–८ र १० को नाला निर्माणका बारेमा सरोकारवालाबीच छलफल गरी आवश्यकतानुसार सिफारिस गर्ने निर्णय गरेको छ । नगरप्रमुख पाण्डेय र प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ सहित बसेको बैठकले नाला निर्माणका क्रममा स्थानीय आवश्यकतानुसार निर्माण गर्नका लागि सरोकारवालाबीच छलफल गर्ने निर्णय गरेको हो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमवार केही प्रदेशका पहाडी भू -भागमा सामान्य बदली रहने छ। जल तथा मौसम विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई-स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

जाजरकोट भूकम्पमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए

काठमाडौं । गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटका १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका छन् । विद्यालय भत्किएर त्रिपालमुनि पढाउन बाध्य ती विद्यालयहरूलाई १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तक आवश्यक पर्नेभएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्कअनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उक्त संख्यामा पाठ्यपुस्तक आवश्यक देखिएको हो । ती पुस्तक कार्तिक १७ गते गएको भूकम्पले पुरिएका हुन् ।

केन्द्रले उपलब्ध गराएको तथ्याङ्कअनुसार रूकुम पश्चिमको ६ र जाजरकोटको ७ स्थानीय तहमा पाठ्यपुस्तक पुग्न सकेको छैन । रूकुम पश्चिमको आठबिसकोट, सानीभेरी, त्रिवेणी, चौरजहारी र बाफीकोटको स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको हो । त्यसै गरी जाजरकोटको जुनिचाँदे, कुशे, नलगाड, छेडागाड, शिवालय, भेरी र बारेकोट स्थानीय तहमा पुस्तक पुग्न सकेको छैन ।

तथ्याङ्कअनुसार ती स्थानीय तहमा कक्षा १ को १ हजार ९ सय १३, कक्षा २ मा १ हजार ७ सय ४९, कक्षा ३ मा १ हजार ७ सय ११, कक्षा ४ मा १ हजार ५ सय ४७, कक्षा ५ मा १ हजार ५ सय ६१, कक्षा ६ मा १ हजार ३ सय २९, कक्षा ७ मा १ हजार २ सय ८३, कक्षा ८ मा १ हजार १ सय ८७, कक्षा ९ मा १ हजार ४ सय २१ र कक्षा १० कक्षामा ९ सय ४ सेट पाठ्यपुस्तकको आवश्यक्ता छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा। भोजराज काफ्लेले आवश्यकपर्ने पुस्तक खरिद गर्न रकम अभाव भएका कारण विद्यार्थीको हातमा पाठ्यपुस्तक पुस्तक पुग्न नसकेको बताए । सानो कक्षामा बढी पुस्तक आवश्यक पर्ने देखिएको जानकारी दिँदै उनले विद्यालयका प्रधान अध्यापकहरूले स्थानीय तहमा पुगेर रकम निकासा माग गरी पाठ्यपुस्तक खरिद गरे समस्या नहुने बताए ।

उनले भने, ‘सबै स्टेसनरीमा पाठ्यपुस्तक छ, विद्यार्थीसँग पैसा छैन । प्रधान अध्यापकहरूले पहल नगेसम्म पुस्तक पाउन कठिन हुनेछ ।’यो समाचार नेपाल समाचारपत्रसँग दैनिकमा छ ।

जहाज खरिद प्रक्रिया छिट्टैअघि बढाउने वायु सेवा निगमको तयारी

काठमाडौँ । नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरिद प्रक्रिया फरक रहेकाले यी दुई कार्य एकअर्कालाई रोकेर गर्ने विषय नभएको स्पष्ट पारेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले जहान खरिद गर्न आवश्यक रहेको र पुनर्संरचनाको काम क्रमशः हुँदै जाने प्रतिक्रिया भएको बताए । उनले भने, “निगमले जहाज खरिद प्रक्रिया अघि बढाएपछि पुनर्संरचनाको कुरा उठेको छ । आर्थिक वर्ष २०८०र८१ को बजेटमै पुनर्संरचनाको व्यवस्था गरिए पनि अहिले निगमसँग दैनिक व्यवसाय सञ्चालन गर्न जहाज नरहेको अवस्थामा खरिद प्रक्रियालाई रोक्नु हुँदैन ।”उनले निगमले दुर्गम क्षेत्रमा उडाउने गरी तीन वटा ट्विनअटर जहाज किन्न बोलपत्र गरिसकेको र यसको आर्थिक स्रोत आफ्नै स्रोतबाट जोहो गरिने बताए  । उनले हरेक जहाज छ महिनाको अन्तरमा ल्याइने र सबै रकम एकमुस्ट तिर्नु नपर्ने भएकाले यसको खरिद प्रक्रियासमेत पारदर्शी हुने बताए ।प्रवक्ता पौडेलले निगमले जहाज खरिद प्रक्रियाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएको र निगमको सुधारका लागि बनेका समितिहरूको प्रतिवेदनले समेत जहाज अपरिहार्य रहेको प्रस्ट पारेकाले निगमको गुणात्मक सुधारका लागि जहाज खरिद प्रक्रिया आवश्यक रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

नेपाल–संयुक्त अधिराज्य मैत्रीसन्धिको एक शताब्दी

काठमाडौँ । नेपाल–संयुक्त अधिराज्यबीच मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आइतबार हनुमानढोका दरबारमा विशेष कार्यक्रम आयोजना गरियो । परराष्ट्र मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सन्धिका महत्वपूर्ण पक्षबारे मन्तव्य व्यक्त गर्दै त्यसले नेपाल संयुक्त अधिकाज्य सम्बन्ध सुदृढीकरणमा ठूलो योगदान गरेको बताए ।

नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेन सन्धिको महत्व तथा बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए । प्राध्यापक त्रिरत्न मानन्धरले नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै त्यसलाई वर्तमान अवस्थामा पुर्याउन मैत्रीसन्धिले गरेको योगदानको चर्चा गरेका थिए ।

परराष्ट्र सचिव भरतराज पौड्यालका तर्फबाट मन्त्रालयका सहसचिव तथा युरोप–अमेरिका महाशाखाका प्रमुख गणेश ढकालले दुईदेशीय सम्बन्धबारे मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा दुई देशबीचको सम्बन्ध तथा सय वर्षअघि भएको उक्त सन्धिका असाधारण तस्बिर पनि प्रदर्शन गरिएको थियो । साथै नेपाली सेनाले साङ्गीतिक प्रस्तुति पनि पेस गरेको थियो ।

त्यस अवसरमा सङ्घीय संसद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, सशस्त्र प्रहरी बल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रमुख पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा वरिष्ठ पत्रकारहरुको उपस्थिति थियो ।

नेपालबाट १२ अर्ब २५ करोड रुपैयाँको गलैँचा निर्यात

काठमाडौँ । नेपाल प्रायः सबै वस्तुमा परनिर्भर छ । स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात भइरहेका छन् । तर नेपालको एउटा उत्पादन गलैँचा स्वदेशमा मात्र नभएर अमेरिकी बजारमासमेत लोकप्रिय छ ।


मुलुकले वार्षिक साढे १४ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैँचाले भने आशा जगाएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालबाट करिब १२ अर्ब २५ करोड रुपैयाँको गलैँचा विदेश निर्यात भएको छ । त्यसको आधाभन्दा बढी ७ अर्ब ३८ करोडको गलैँचा अमेरिका निर्यात भएको छ ।

भन्सार विभागका अनुसार गलैँचा निर्यात मूल्यको ६० प्रतिशत अमेरिका गएको देखिन्छ । यसले अमेरिकी बजारमा नेपाली गलैँचाको माग उच्च रहेको प्रष्ट सङ्केत गर्छ । नेपालमा उत्पादित गलैँचा गुणस्तरीय भएकाले अमेरिकी बजारमा राम्रो प्रभाव छाड्न सफल भएको नेपाल कार्पेट उत्पादक तथा निर्यात संघका अध्यक्ष तेन्जिङ शेर्पाले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो । उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे ।

“इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भने, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।”

कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ । प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए ।

रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकको हारगुहार,उद्धार गरी नेपाल फर्काउन अनुरोध

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् ।

राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पु(याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् । पशुपति एचआर सोलुसन प्रालिमार्फत् साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिएपछि आफूहरूलाई अर्कै कम्पनीमा सप्लाइका रूपमा काममा लगाएको भए पनि समयमा तलब नपाएको उनीहरूको गुनासो छ ।त्यहाँ कार्यरत हरि गिरीका अनुसार अझै पनि सो कम्पनीले नेपालबाट कामदार लगिरहेका छन् र केहीलाई राम्रो काम दिएका पनि छन् । ‘तर, हामीलाई भने बेवास्ताा गरिएको छ, घर जान्छु भन्दा कम्पनीले १० हजार साउदी रियाल तिरे मात्र फर्कन दिने भन्ने गरेको छ,’ उनले भने ।‘हामी यहाँ आएको करिब चार महिना भयो, दुई महिनाको तलब पाउनै बाँकी छ, हामी १०–१५ जना जति छौं यो फ्याक्ट्रीमा काम गर्ने,’ उनले राजधानीसँग भने, ‘हामीले आफ्नै पैसाले टिकट काटेर भए पनि नेपाल फर्किने भनेका छौं, तर कम्पनीले १० हजार रियाल माग्छ, त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु रु रियादस्थित नेपाली दूतावासमा पनि पटकपटक सम्पर्क गरियो, समस्याको सुनवाइ भएन, अब हामीले के गर्ने रु उद्धारमा आवश्यक सहयोग गरिदिनु प¥यो, कुनै राम्रो रोजगारदाता कम्पनी भेटिए पनि जाने थियौं ।’पीडितले मेनपावरलाई आफूहरूलाई सम्झौताअनुसारको काम र तलब दिलाउन नसक्ने भए नेपाल फर्काउन आग्रह गर्दा कुनै वास्ता नगरेको बताएका छन् । आफूहरू एक महिनादेखि कामविहीन भएर बस्दा पनि मेनपावरले कुनै सुनवाइ नगरेको उनीहरूले बताएका छन् । मेनपावरले बेवास्ता गरेपछि उनीहरूका आफन्तमार्फत् वैदेशिक रोजगार विभागमा उद्धारका लागि निवेदन दिएको तर सुनवाइ नभएको उनीहरूले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

अन्यायविरुद्ध लड्न नसके शक्ति राष्ट्रले हेप्छन् : बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अन्यायविरुद्ध आवाज उठाउनुपर्ने बताएका छन् । ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नाराका साथ भक्तपुरमा सम्पन्न ४३ औँ नेपाल भाषा साहित्य तःमूज्यामा उत्कृष्ट सांस्कृतिक एवं साहित्यकारहरुलाई आज पुरस्कार प्रदान गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष बिजुक्छेले अन्यायविरुद्ध लड्न नसके शक्ति राष्ट्रले हेप्ने भएकाले किताबमा लेखेर, अखबारमा छापेर, जुलुस गरेर निरन्तर आवाज उठाइरहनुपर्ने बताए । नेमकिपा सचिव एवं सांसद प्रेम सुवाल, बागमती प्रदेशसभा सदस्यहरु सुरेन्द्रराज गोसाई, सृजना सैँजू, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, तःमूज्याका अध्यक्ष आशाकुमार चिकंबन्जार लगायतले भाषा र साहित्यबाट पनि अन्यायविरुद्ध आवाज उठाउनुपर्ने बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा : आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा कोषले कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेका बेला विभिन्न कारणले मृत्यु भएका ४१४ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ ।

कोषका अनुसार बालाजुु ग्रुप अफ कम्पनीमा कार्यरत सन्तोष मेट्रु र अक्सफाम जिबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उनीहरू आश्रित परिवार श्रीमती र सन्ततिले गरेर मासिक त्यो बराबरको रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्दै आएका छन् । मृतक मेट्रु र न्यौपाने कम्पनीमा काम गर्ने र तलब पनि मासिक एक लाखभन्दा बढी पाउने भएकाले आश्रित परिवार योजना अन्तर्गत मृतकका श्रीमतीहरूले ६० प्रतिशत र सन्ततिले शैक्षिकवृत्ति अन्तर्गत ४० प्रतिशत निवृत्तिभरणको सुविधा प्राप्त गरेका छन् ।

सामाजिक सुरक्षा ऐन अनुसार मृतक मेट्रु र न्यौपाने कार्यरत कम्पनीमा काम गरेबापत प्राप्त गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशतबाट दुवैका श्रीमतीले मासिक ५९ हजार ७७५ रुपियाँ निवृत्तिभरण आजीवन प्राप्त गर्नेछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

हेर्नुहोस् मंसिर ११ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – भोज भतेर जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ ।

बृष राशि – मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

मीथुन राशि- सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ ।

कर्कट राशि- आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

सिंह राशि – मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

कन्या राशि- हराएको माल सामान फेला पर्न सक्छ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

तुला राशि- सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । बादबीबादको सामना गर्नु पर्नेछ ।

बृश्चिक राशि – मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

धनु राशि- बोलिका कारण दाम्पत्य शुखमा केहि खटपट रहनसक्छ । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला ।

मकर राशि – आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । सामान्य खर्च हुन सक्छ ।

कुम्भ राशि – आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । शत्रु सबल रहलान । आम्दानि क्षेत्र भने मध्यम रहनेछ । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

मिन राशि – पारीवारिक मेल मीलाप बढ्नेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला ।

मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान

रसुवा । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् ।

पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायव गराएको आरोप उनीहरू माथि लागेको छ ।

मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका अन्दाजी ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई थुमनबाट प्रहरी नियन्त्रणमा लिइ जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट बेपत्ता बनाएको आरोपमा सुरक्षाकर्मीद्वय पक्राउ परेका हुन् ।

सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको सो मुद्दामा पछि ठहरेबमोजिम हुनेगरी हाललाई धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश जारी भएकामा तोकिएको जनही रु छ लाख ५० हजार धरौटी राख्न नसक्दा ती दुई प्रहरी कारागार चलान भएका हुन् ।

यस्तै मानिस बेपत्ता बनाउने कार्यमा सहयोग एवं संलग्न भएको आरोपमा पक्राउ परेका गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका उर्केन छिरिङ तामाङ रू पाँच लाख र दावा ग्याल्जेन तामाङ रू तीन लाख धरौटीमा रिहा भएका छन् । पक्राउ गरिएका सबैलाई मानिस बेपत्ता गराउने अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

प्रहरीको अनुरोधमा उर्केनले थुमनबाट धुञ्चे जानका लागि गाउँमा सवारीसाधनको व्यवस्था गरिदिएको र दावा ग्याल्जेनले मोटर साइकलमा राखी धुञ्चे ल्याउँदा तार्सा भन्ने गाउँतल भिरबाट भोटेकोसीतर्फ भागेर हामफालेको प्रहरीको बयान रहेको बताइएको छ । पीडित तथा आफन्त शुभचिन्तक एवं गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीउपर कारबाहीका लागि सडक सङ्र्घषसमेत गरेका थिए ।

उनीहरूबाटै बेपत्ता पारिएको हो भन्ने तत्काल यथेष्ठ प्रमाण र आधार नहुँदा लामो बहस र छलफलबाट पछि ठहरेबमोजिम फैसला हुनेगरी हाललाई धरौटी जमानतमा छोड्ने आदेश जारी भएको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले जानकारी दिए ।

सो मुद्दामा बहस चलिरहेको समयमा पीडिततर्फका केही व्यक्तिले अदालतका छानामा ढुङ्गा प्रहर गरे पनि नेपाल प्रहरीले त्यसलाई तत्काल नियन्त्रण गरेको थियो । रसुवा जिल्ला अदालतले हालसम्म गरेका आदेश तथा फैसल कुनै पनि विवादित नभएको र यस मुद्दालाई गम्भीरतापूर्वक अध्ययन र विश्लेषण गरी अन्तिम फैसलामा जाने जानकारी दिँदै पहिलो चरणको आदेश नै अनावश्यक टीकाटिप्पणी गरी स्वतन्त्र न्यायालयको मानमर्दनमाथि आँच आउने टीकाटिप्पणी नगर्न आमनागरिकसमक्ष रसुवा जिल्ला अदालतले अनुरोध गरेको छ ।रासस

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिचको भेटवार्तामा के भयो ?

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुबिच भेटवार्ता भएको छ । आइतबार उनीहरुबीच धुलाबारीस्थित मेची क्राउन प्लाजामा भेटवार्ता भएको हो । शनिबार झापामा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पूर्वराजालाई राप्रपाका नेताहरुले भेटेका हुन् ।

भेटमा उनीहरुले वर्तमान व्यवस्थाप्रति वितृष्णा बढेको बताउदै सबै राजावादी समूह एकजुट हुने बेला आएको बताएका थिए । भेटमा उनीहरुले राप्रपा सशक्त ढंगले अघि बढ्नुपर्ने बताएका थिए तर पूर्वराजा भने कुनै प्रतिक्रिया नदिइकन बसे ।

मनोचिकित्सक नभएका १४ जिल्लामा मानसिक उपचार सेवा प्रदान गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवामा सवैको सहज, सुलभ र समान पहुँच पुर्‍याउनका लागि १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सबैमा मानसिक स्वास्थ्य पुर्‍याउनका लागि मनोचिकित्सक नभएका प्रत्येक प्रदेशका दुई/दुई जिल्लामा मनोचिकित्सक पठाएर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।

महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले मनोचिकित्सक नपुगेको जिल्लामा मानसिक स्वास्थ्य सेवा पुर्‍याउनका लागि मनोचिकित्सक पठाएर उपचार सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार कोशी प्रदेशको पाँचथर र भोजपुर, मधेस प्रदेशमा महोत्तरी र रौतहट, बागमती प्रदेशको सिन्धुपाञ्चोक र रसुवा, गण्डकी प्रदेशको लमजुङ र म्याग्दी, लुम्बिनीको बर्दिया र रुकुम पूर्व, कर्णालीको दैलेख र कालिकोट तथा सुदूरपश्चिम प्रदेशको बैतडी र बझाङ जिल्लामा मनोचिकित्सकसहितको टोली परिचालन गरिएको छ ।“ती जिल्लामा अहिलेसम्म मनोचिकित्सक थिएनन् । ती जिल्लामा मानसिक रोगीले आफ्नै जिल्लामा उपचार सेवा पाउने छन्”, उनले भने, “अब ती जिल्लाका मानसिक रोगी अन्य जिल्लामा जानुपरेन ।”मनोचिकित्सकले त्यहाँ रहेका स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने छन् । शाखाले ती जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरेर त्यहाँ मानसिक रोगीको उपचार गरिरहेका छन् । “हामीले तालिम दिएका स्वास्थ्यकर्मीले पहिले त्यही रहेका मानसिक रोगीलाई उपचार गर्दछन्”, उनले भने, “ती स्वास्थ्यकर्मीले रिफर गरेका बिरामीलाई केन्द्रबाट महिनामा एक पटक जाने चिकित्सकले थप उपचार गर्दछन् ।”शाखाले पहिलो पटक नमुनाका रुपमा १४ जिल्ला छनौट गरे पनि पछि मनोचिकित्सक नभएका अरु जिल्लामा पनि सेवा विस्तार गर्ने उहाँले बताए । मनोचिकित्सकले हरेक महिना ३० जना कडा खालका बिरामीको उपचार गरिरहेको डा बरालले बताए । ती बिरामीले निःशुल्क औषधि पाउने छन् ।राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण–२०२० मा गरिएको अध्ययनमा सय जनामध्ये १० जनामा कुनै न कुनै प्रकारका मानसिक समस्या रहेको तथ्य फेला परेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको २०१८ को तथ्याङ्कअनुसार नेपालमा बहिरङ्ग विभागमा आएका बिरामीमध्ये पाँच प्रतिशत बिरामीमा मानसिक स्वास्थ्य समस्या रहेको जनाइएको छ ।यस्तै नेपाल प्रहरीको प्रतिवेदनमा दैनिक १८/१९ जनाले मानसिक स्वास्थ्यका कारण आत्महत्या गर्ने गरेको जनाइएको छ ।

रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका-७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो ।

लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आज पत्रकार सम्मेलन गरेर उत्खननमा भेटिएका प्रमाणका बारेमा जानकारी गराएको छ । नोभेम्बर १ तारिखदेखि सुरु गरिएको उत्खननमा प्राचीन कालका विहारका विभिन्न इँटाका पर्खालहरू र पोखरी फेला परेको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सल्लाहकार तथा दुरहाम युनिभर्सिटिको प्रोफेसर रविन कनिङ्गमले बताए ।


उनका अनुसार यस क्षेत्रमा प्राचीनका विभिन्न भौतिक संरचना छन् । भगवान गौतमबुद्धको अस्तिधातु रहेको उक्त क्षेत्रमा सुरुमा ‘जियोफिजिक्स’ द्वारा केही आधार खोज्ने प्रयास गरिएको थियो । उक्त ‘जियोफिजिक्स’ कै आधारमा उत्खनन गरेपछि ती भौतिक संरचना फेला परेको प्रोफेसर कनिङ्गमले जानकारी दिए ।

रामग्राम स्तूप भगवान गौतमबुद्धको आठ अस्तिधातु मध्येको एक हो । बाँकी सात वटा अस्तिलाई विभिन्न राजाहरूले ८४ हजार टुक्रा गरेर विभिन्न ठाउँमा बाँडे पनि रामग्राम स्तूपको भने कोलि राज्यले सिङ्गो नै राखेका छन् । जसको महत्त्व अन्य स्तूपभन्दा बढी रहेको बताइँदै आइएको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले उत्खननमा भेटिएको प्रमाणबाट काल निर्धारण गरिने बताए । उनका अनुसार अहिले भेटिएको विभिन्न प्रमाणले यहाँ कुन कालको संरचना हो, कस्तो मान्छे बस्थे लगायतको कुरा खुल्ने बताएका छन् । यस्तै पछिका दिनमा पनि यस क्षेत्रमा उत्खनन कार्यलाई निरन्तर दिइने कुँवरले बताए ।

कुँवरले रामग्राम स्तूपलाई केन्द्र विन्दु मानेर एक हजार मिटर चारै दिसातर्फ खोज अध्ययन अनुसन्धान गरिनुपर्ने आवश्यकता देखिएको बताए । रामग्राम र लुम्बिनीसँगै सम्बन्धित रहेको पण्डितपुरमा पनि ‘जियोफिजिक्स’ को काम भइरहेको उनले बताए । उनका अनुसार त्यहाँ पनि केही तथ्य भेटिएको छ । जुन प्राचीनकालको सहर हुन सक्ने अनुमान गरिएको कुँवरले बताए । यी क्षेत्रमा रहेको संरचनालाई संरक्षण गर्नका लागि स्थानीय तहलाई लुम्बिनी विकास कोषले ध्यानाकर्षण गराएको छ ।

यसैबीच रामग्राम नगरपालिकाका मेयर धनपत यादवले लुम्बिनी विकास कोष लुम्बिनीमै सीमित नभइ रामग्रामलाई पनि गुरुयोजना अन्तर्गत विकास गर्न आग्रह गरेका छन् । उनले भने, ‘रामग्राम स्तूपमा पर्यटक आउँछन् तर तथ्याङ्क के कति ? कसैसँग नभएकाले संवेदनशील हुने गरेछन् ।’

रामग्राम नगरपालिकाले लुम्बिनी विकास कोषको सहकार्यमा रामग्राम स्तूप विकासलाई रु २० लाख रकम विनियोजन गरेको रामग्राम नगरपालिकाका मेयर यादवले बताए । रासस

म्यान्मा सशस्त्र समूहद्वारा चीन–म्यान्मा सीमामाथि कब्जा

बैङ्कक । म्यान्माको एउटा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले मुलुकको सत्तारूढ जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण हासिल गरेको स्थानीय मिडिया र सुरक्षा स्रोतले आइतबार बताएका छन् ।

अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक समूहको सशस्त्र गठबन्धनले सेनाविरुद्ध आक्रामक हमला गर्नुअघि चीनको सीमानजिक म्यान्माको उत्तरी शान राज्यमा झडपहरू भएका थिए । गठबन्धनले दर्जनौँ सैन्य स्थानका साथै चीनसँग व्यापारका लागि महत्त्वपूर्ण एक सहरमाथि कब्जा गरेका छन् । यसबाट नगदको अभावमा परेको जुन्ताका लागि व्यापारिक मार्ग बन्द भएको छ ।

समूहसँग सम्बद्ध एक स्थानीय मिडिया आउटलेटका अनुसार म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी ( एमएनडिएए) ले आक्रामक हमला गरी किन सान क्यावत सीमा प्रवेशद्वारमाथि कब्जा गरेको छ । एमएनडिएए सशस्त्र गठबन्धनमध्येको एक समूह हो ।

“एमएनडिएएले आज बिहान किन सान क्यावत भनिने म्युज जिल्लाको मोङ्गको क्षेत्रमा एउटा अर्को सीमा प्रवेशद्वार कब्जा गरेको बताएको छ”, कोकाङ समाचारले आइतबार भनेको छ, “अराकान आर्मी (एए) र ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) सहितको गठबन्धनले शुक्रबार हमला सुरु गरेपछि सीमा व्यापार क्षेत्रमा अन्य सैन्य स्थानमा कब्जा गरेको थियो ।”

एक सुरक्षा स्रोतले एमएनडिएएले किन सान क्यावतमा सीमा व्यापार क्षेत्रमा आफ्नो झन्डा फहराएको एएफपीलाई बताएको छ । महामारीपछि सन् २०२२ मा पुनः प्रवेशद्वारा खोलिएको थियो र यो म्यान्मा–चीन सीमामा एउटा प्रमुख व्यापारिक विन्दु हो ।

साताको सुरुमा जुन्ताका प्रवक्ता ज मिन तुनले सरकारी मिडियालाई सीमापार नजिक रहेका करिब एक सय २० ट्रकमा सशस्त्र समूहहरूले आगो लगाएको आरोप लगाएका थिए ।

झडपहरूमा भएको वृद्धिले पहिलादेखि नै सङ्घर्षरत म्यान्माको अर्थतन्त्र र महत्त्वपूर्ण सीमापार व्यापारमा नोक्सान पुगेको छ भने सेनालाई अत्यन्त आवश्यक करहरू र विदेशी मुद्राबाट बन्चित गराएको छ ।

किन सान क्यावत सीमामार्फत कारोबार हुने सामानहरूमा मेसिनरी, विद्युतीय उपकरण, कृषि ट्र्याक्टर र उपभोक्ता वस्तुहरू रहेका छन् ।