`

फोहरमैला सङ्कटसँग जुध्न विश्वव्यापी कदम चाल्न राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आह्वान

Nepal One HD १९ चैत २०८० ७:३७
विश्व

फोहरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गर्नुभएको छ । हरेक वर्ष मार्च ३० मा मनाइने अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि एक भिडियो सन्देश जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पृथ्वीको खतरनाक अवस्थाबारे आफ्नो राय व्यक्त गर्नुभएको हो । “मानव जातिको अत्यधिक उपभोग र फोहोर उत्पादनका कारण वातावरणीय क्षयको डरलाग्दो चित्र कोर्दै पृथ्वी फोहोरको बाढीमा डुबेको छ,” गुटेर्रेसले भन्नुभयो ।

हरेक वर्ष ‘दुई अर्ब टनभन्दा बढी ठोस फोहोर’ नगरीय क्षेत्रबाट उत्पादन हुँदा यसको परिणाम पृथ्वीको जलवायु, पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यको लागि विनाशकारी छ ।उहाँले अति उपभोगलाई सम्बोधन गर्ने तात्कालिकतामा जोड दिँदै भन्नुभयो, “अत्यधिक उपभोगले हामीलाई विनाशतर्फ लगिरहेको छ । मानव गतिविधिमा हस्तक्षेपको खाँचो छ ।”

महासचिव गुटेर्रेसले शून्य फोहोरसम्बन्धी सल्लाहकार समितिको प्रयासको प्रशंसा गर्दै शून्य फोहोर प्राप्त गर्ने मिसनमा विभिन्न सरोकारवालाहरूलाई एकताबद्ध गर्न भूमिका खेलेकोमा समितिको प्रशंसा गर्नुभयो ।

यस सङ्कटसँग जुध्न संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले बहुआयामिक दृष्टिकोणको खाका प्रस्तुत गरेका छन् । “व्यवसायहरूले फजुल प्याकेजिङ कम गर्न र दीर्घायु र जीवनचक्रलाई अधिकतम गर्न आफ्ना उत्पादनहरूमा पुनर्विचार गर्नुपर्दछ,” दिगो उत्पादन अभ्यासहरूतर्फ परिवर्तन गर्न आग्रह गदै उहाँले भन्नुभयो । उपभोक्ताहरूलाई ‘आफूले किनेका सामान र उत्पादनहरूको बारेमा दुई पटक सोच्न र सम्भव भएसम्म रिसाइकल वा पुनः प्रयोग गर्न’ पनि आग्रह गरिएको छ ।

गुटेर्रेसले चक्रीय अर्थव्यवस्थालाई बढावा दिन सरकारी कार्यको महत्वमा जोड दिनुभयो चक्रीय अर्थव्यवस्थाले ‘पुनः प्रयोग, पुनः निर्माण, पुनरुत्थान र अपशिष्ट रोकथाम’ लाई प्राथमिकता दिन्छ ।उहाँले स्रोतको ह्रासको प्रभावलाई उल्लेखनीय रूपमा कम गर्न सकिने आधुनिक फोहरमैला व्यवस्थापन कार्यक्रमको खाँचो औँल्याउनुभयो ।

“यो शून्य फोहोर दिवसमा, फोहोरको विनाशकारी चक्रलाई सदाका लागि अन्त्य गर्ने प्रतिज्ञा गरौं”, उहाँले भन्नुभयो, “हामी विश्वभरका नागरिकहरूलाई भावी पुस्ताका लागि पृथ्वीको रक्षा गर्ने दिगो अभ्यासहरूमा प्रतिबद्ध हुन आग्रह गर्दछौं ।सन् २०२२ डिसेम्बर १४ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आफ्नो ७७ औं अधिवेशनमा मार्च ३० लाई अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया