पाँच हजार बालबालिका बेल्गोरोडबाट अन्यत्र स्थानान्तरण


युक्रेनसँग सीमा जोडिएको रूसको बेल्गोरोड क्षेत्रमा किएभले हप्तौंदेखि गरेको घातक बमबारीपछि पाँच हजार बालबालिकालाई सुरक्षित स्थानमा सारिएको त्यहाँका गभर्नरले शनिबार बताउनुभएको छ ।
गत हप्ता क्षेत्रीय अधिकारीहरूले सीमापार गोलाबारी र ड्रोन आक्रमणमा एक दर्जनभन्दा बढी सर्वसाधारणको मृत्यु भएपछि नौ हजार नाबालकलाई अन्य क्षेत्रमा स्थानान्तरण गरिने बताएका थिए ।
“हाम्रा पाँच हजार बालबालिका यस क्षेत्रभन्दा बाहिर छन् । हिजो सेन्ट पिटर्सबर्ग, ब्रायन्स्क र मखाचकलामा एक हजार ३०० बालबालिका आइपुगेका छन्,” गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले भन्नुभयो ।
बेल्गोरोडलगायत सीमा नजिकका नगरपालिकाहरूमा बसोबास गर्ने बालबालिकाहरूले अर्को महिनादेखि दूर शिक्षा कक्षा लिने उहाँले बताउनुभयो ।
आक्रमणका कारण बन्द भएका व्यवसायलाई ‘कर्मचारीलाई प्राथमिक उपचारको तालिम’ र झ्यालहरूमा सुरक्षाका लागि टेप नलगाएसम्म पुनः खोल्न अनुमति नदिइने उहाँले बताउनुभयो ।
दुई वर्षअघि द्वन्द्व सुरु भएदेखि नै बेल्गोरोडलाई बारम्बार अन्धाधुन्ध युक्रेनी आक्रमण हुँदै आएको रूसी अधिकारीहरूले बताएका छन् ।
बेल्गोरोड शहरमा रहेको एक अपार्टमेन्टमा शुक्रबार युक्रेनको एउटा ड्रोन दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु हुनुका साथै एक महिलासहित अन्य दुई जना घाइते भएका थिए ।