`

सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट पुगेर अस्थायी आवास निर्माणलाई तीव्र दिदै

नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर–टहरा) निर्माण अभियान सुरु गरेको छ ।भूकम्पपछि कांग्रेसले अस्थायी आवास निर्माण गर्ने घोषणा गरेसँगै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट पुगेर अस्थायी आवास निर्माणलाई तीव्र गतिमा अघि बढाएको हो ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जाजरकोट जिल्लाको नलगाड नगरपालिका–५ स्थित रघुनाथ, ऐरारी, पोखरा, मुलीलगायत स्थानमा अस्थायी आवास निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कांग्रेसको उक्त अभियानलाई सहयोग गर्न प्रदेशसभा सदस्य डिल्लीराज सुवेदी, पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेल, कांग्रेस जाजरकोटका नेता महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मीलगायत जाजरकोटमा पुगेर अस्थायी आवास निर्माणमा जुट्नुभएको कांग्रेसले जनाएको छ ।
उक्त अभियानमा नेविसङ्घका नेता, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवक संलग्न रहेको विश्वकर्माले बताए । अभियानमा थप क्रियाशील भएर लाग्न पार्टीका सबैलाई अपिल गरिएको छ । रासस

नेपाली सेनामा जागिर खाने सूवर्ण अवसर

काठमाडौं – नेपाली सेनामा जागिर खुलेको छ । सूचना प्रकाशन गर्दै सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि जागिर खुलाएको हो ।

सूचनामा सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जनामा दरखास्त आह्वान गरिएको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिहरुले पुस ७ गतेसम्म दरखास्त फाराम भर्न सक्नेछन् ।

निसानले विद्युतीय कार उत्पादनका लागि बेलायतमा एक अर्ब पाउन्ड लगानी गर्ने

जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १ अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ ।

निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत सरकारले अनुमोदन गरेको छ ।निसान योकोहामा, कानागावा प्रिफेक्चर, जापानमा मुख्यालय रहेको जापानी बहुराष्ट्रिय कार उत्पादन कम्पनी हो ।सन्डरल्याण्डको नजिकै एक समर्पित इलेक्ट्रिक ब्याट्री प्लान्ट पनि रहेको र यस कदमले निसानको सबैभन्दा ठूलो युरोपेली सुविधामा छ हजार रोजगारीको भविष्य सुरक्षित गर्न मद्दत गर्नेछ । निसानका प्रमुख कार्यकारी माकोटो उचिदाले शुक्रबार गर्ने घोषणाका लागि प्रधानमन्त्री ऋषि सुनक सण्डरल्याण्ड कारखानामा उपस्थित हुने अपेक्षा गरिएको छ ।निसानका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

चार महिनादेखि प्राध्यापकले तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भने, ‘प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् ।’

उनका अनुसार प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प छ । । अध्यक्ष सापकोटाले भने, ‘प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’ गरेका हौँ ।’ प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए । तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताए । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्याबरोटरी विषयमा चिकित्सा शिक्षा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गराइरहेको छ ।

छुवाछुत कसुरमा वडाध्यक्षलाई कैद र जरिवानाको फैसला

कास्की- पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र रु ७५ हजार जरिवानाको फैसला गरेको छ ।

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा अधिकारीलाई बिहिबार अदालतले सो बमोजिमको आदेश गरेको हो । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई सो आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार जातीय तथा अन्य सामाजिक छुवाछुत र भेद्भावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको हो । सो दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र रु ५० हजारदेखि रु दुई लाखसम्म जरिवानाको व्यवस्था छ ।

सो दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहेपनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको सूचना अधिकारीले बताए । पोखरा–२४ का वडा सदस्य मैया नेपालीले विसं २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारीविरुद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएकी थिइन् । यसैगरी पीडित नेपालीलाई अधिकारीले रु १० हजार क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसला छ ।

वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वर्ष पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन् । नेपालीको किटानी जाहेरीपछि अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा रु एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।

एक महिनामै ८० हजार पर्यटक पुगे मुस्ताङमा

म्याग्दी- पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।

घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार दसैँ, तिहार, छठपर्व बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकको लर्को लागेको थियो । कात्तिकमा मुस्ताङमा १३ हजार नौ सय एक सवारीसाधनले पर्यटक बोकेर भित्रिएका थिए ।

छ हजार चार सय आठ मोटरसाइकल, छ हजार दुई सय ८९ कार–जिप तथा सात सय ५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले अधिकतम दैनिक चारदेखि पाँच हजार पाँच सयको अनुपातमा पर्यटक मुस्ताङ भित्रिएका बताए ।

बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए । मुक्तिनाथको रानीपौवाका होटल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए ।

‘विगतका वर्षमा दसैँतिहार याममा वर्षात्का कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि धेरै दुःख पाए’, उनले भने ‘यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजे ।’ शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । छठ सकिएपछि चिसो बढ्न थालेकाले पर्यटक आगमन घट्दै गएको छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको होटल व्यवसायीले बताएका छन् । रासस

खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका लागि तयार गरेर घरमा राखेकी छिन् । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उनले धानको उचित मूल्य पाएकी छैनन् ।

व्यापारीहरू धान किन्नका लागि घरमै आउँदा पनि मूल्य नपाएर किसान चौधरीले धान घरमै थन्क्याएर राखेकी हुन्। उनले अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गरेकी छैनन् । खाद्य व्यवस्थाले राम्रो दिँदा पनि बिक्रीका लागि टाढा हुँदा लैजान नसकेको उनले बताइन् ।

“नजिकमा खाद्यको खरिद केन्द्र छैन । धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ”, उनले भनिन्, “खरिद केन्द्र टाढा हुँदा गाउँमै सस्तोमा धान बिक्री गर्ने गरेका छौँ ।” उनका अनुसार गाउँका स्थानीय व्यापारीले अहिले रु दुई हजार सात सय क्विन्टलका दरले धान खरिद गरिरहेका छन् । डेढ बिघा जमिनमा धानखेती गरेकी उनको यसपटक उत्पादन वृद्धि भएको छ ।

“धान खरिदका लागि घरमै आउँछन् । गाडी भाडा तिरेर हामीले ढुवानी गर्नु पर्दैन”, उनले भनिन्, “खाद्यसम्म पुर्याउँदा ढुवानी खर्च लागेर केही फाइदा हुँदैन ।” उनका अनुसार यसपटक ६० क्विन्टल धान उत्पादन भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि महेन्द्रनगरमा मात्रै केन्द्र राखेको छ । महेन्द्रनगरबाट टाढा रहेका किसानलाई खाद्यसम्म धान पुर्याउनै सकस छ ।

सरकारले सञ्चालन गरेको धान खरिद केन्द्र पायक क्षेत्रमा नहुँदा गाउँमै सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको लालझाडी गाउँपालिकाका किसान भगत चौधरीले बताए । “हामीलाई धान बिक्रीका लागि महेन्द्रनगर लैजान निकै टाढा पर्छ । ढुवानी खर्च कटाउँदा गाउँमा बिक्री गरेजस्तै हुन्छ”, उनले भने, “यहाँका व्यापारीले घरमै गाडी ल्याएर धान लैजान्छन् ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय महेन्द्रनगरले गत कात्तिक १५ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो । भीमदत्त नगरपालिकासहित नजिक पर्ने बेदकोट, शुक्लाफाँटा र दोधारा चाँदनीका गरेर दैनिक १० किसान धान बिक्रीका लागि पुग्ने गरेको निमित्त कार्यालय प्रमुख टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

“अहिलेसम्म १८ क्विन्टल धान खरिद गरिएको छ । धान खरिद गर्ने काम माघ अन्तिमसम्म चल्छ”, उनले भने, “यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ ।” प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ का दरले धान खरिद भइरहेको उनले बताए । यो मूल्य गत वर्षभन्दा बढी हो । गत वर्ष रु दुई हजार नौ सय ६७ प्रतिक्विन्टलका दरले धान खरिद गरिएको थियो ।

महेन्द्रनगरबाट टाढा रहेका किसानलाई लक्षित गरेर खरिद केन्द्र स्थापनाका लागि पत्राचार गरिएको निमित्त कार्यालय प्रमुख उपाध्यायले बताए । “ती क्षेत्रमा खरिद केन्द्र खोल्न पत्राचार गरेका छौँ । हामीसँग कर्मचारी तथा भौतिक संरचनाको अभाव छ”, उनले भने, “स्रोतसाधनको व्यवस्थापन गरेर खरिद केन्द्र थप्ने तयारी छ ।”

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

काठमाडौं। मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन्। एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट ९८७ हजार रुपैयाँ० तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

मलेसियन इमिग्रेसनमा आफंै उपस्थित भई सरकारले तोकेको जरिमाना तिरेर सजिलै नेपाल फर्कने सकिने दूतावासले जनाएको छ । दूतावासका अनुसार इमिग्रेसनमा जरिमाना तिरी चेक आउट मेमो लिएर आफंैले टिकटकको व्यवस्था गरेर नेपाल फर्किनुपर्ने छ ।मलेसियामा कम्पनी छाडेर अन्यत्र कम्पनीमा गैरकानुनी रूपमा काम गर्ने क्रम बढेपछि दूतावासले कम्पनी छाडेर नभाग्न अनुरोध गरेको छ । मलेसियाको कानुनअनुसार एउटा कम्पनीका लागि नेपालबाट श्रम स्वीकृति लिएर गएको कामदारले भागेर अर्को कम्पनीमा गए त्यस्ता कामदारको भिषा नलाग्ने नियम रहेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढाथापाले बताए ।पछिल्लो समय मलेसिया गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको भन्दै सचिव बुढथापाले गैरकानुनी रूपमा नबस्न अपिल गरेका छन् । दूतावासको तथ्यांकअनुसार कोभिड–१९ पश्चात् अहिलेसम्म मलेसिया आएका नयाँ नेपाली कामदारको संख्या १ लाख ७५ हजारको हाराहारीमा रहेको छ ।मलेसिया आउने नेपालीको संख्या बढेसँगै गैरकानुनी रूपमा काम गर्नेको संख्या पनि उच्च रहेको भन्दै गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गरेको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष ९सोक्सो०ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने व्यवस्था छ ।‘हामी जुन देशमा छौं, त्यो देशको कानुनको पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार हुनुपर्छ,’ सचिव बुढथापाले भने ।साथै कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत उनले बताए ।राजधानी दैनिकमा खबर छ ।मलेसियामा दलाल सक्रिय रहेकाले नेपालदेखि व्यक्तिगत प्रयोजनबाहेक भिजिट भिजामा नआउन र यहाँबाट अन्य कुनै पनि तेस्रो मुलुक जान सक्ने अवस्था नरहेकाले कुनै पनि दलालले मलेसियाबाट युरोप, अमेरिकालगायतका देशमा पठाइदिन्छु भन्दै भ्रम फैलाउने काम गरिरहेकाले सचेत हुन पनि उनले अनुरोध गरेका छन् । हाल मलेसियामा विभिन्न क्षेत्रमा गरी करिब ४ लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।

वैदेशिक व्यापारमा संकुचन: दबाबमै अर्थतन्त्र

अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहँदा आर्थिक सूचकले भने दबाब कायमै रहेको देखाएका छन्। अर्थतन्त्रका बाह्य सूचकमा सुधार भए पनि आयात, निर्यातसहित समग्र वैदेशिक व्यापारमा संकुचन आएको छ। चालु आर्थिक वर्षको चार महिनामा कुल वैदेशिक व्यापारमा २४ अर्ब ३९ करोड रूपैयाँले कमी आएको छ। त्यस्तै आयात करिब २० अर्ब रूपैयाँले घटेको छ। कतिपयले यसलाई मन्दीको संकेत पनि भनेका छन्।

विदेशी विनिमय सञ्चिति, रेमिटेन्स आगमनमा वृद्धि, शोधनान्तरमा सुधार, कर्जा प्रवाह बढेर सुधारको संकेत देखिए पनि वैदेशिक व्यापार घट्नु चिन्ताको विषय भएको आर्थिक क्षेत्रका जानकारले बताएका छन्।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को चार महिना ९साउन(कात्तिक० को तथ्यांकअनुसार वैदेशिक व्यापारमा ४।१५ प्रतिशतले गिरावट आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा पनि वैदेशिक व्यापार घटेको थियो। चालु आवको पहिलो चार महिनामा आयातमा ३।७९ प्रतिशत र निर्यातमा ७।६८ प्रतिशतले कमी आएको छ। नेपालको अर्थतन्त्र आयातमा आधारित रहेकाले आयात घट्नु भनेको उपभोग घट्नु हो। उपभोग घट्नु चिन्ताको विषय भएको अर्थशास्त्री डा। अच्युत वाग्लेले बताए।

‘आयात घट्दा आर्थिक वृद्धिमा असर गर्छ,’ उनले भने, ‘यसले राम्रो संकेत गर्दैन।’ विकास निर्माणसँग सम्बन्धित वस्तुको आयातमा कमी आएको हो भने पनि त्यसले पुँजीगत खर्च कम भएर अर्थतन्त्रमा असर पर्ने वाग्लेले बताए। आयात र निर्यात दुवैको हिस्सा घटेको छ। पोहोर साउनदेखि कात्तिकसम्म चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रूपैयाँको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोडको वस्तु आयात भएको छ।

दसैं, तिहार, छठलगायत पर्वको अवसरमा वस्तुको खपत बढेर आयात बढ्नुपर्नेमा खपत नै कम भएकाले आयात घटेको हो। गत आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक व्यापारमा व्यापक गिरावट आएको थियो। गत आवको पहिलो चार महिनामा वैदेशिक व्यापारमा करिब २० प्रतिशतले कमी आएको थियो।

त्यस्तै आयातमा १८ प्रतिशतले कमी आएको थियो भने निर्यात ३३ प्रतिशतले घटेको थियो। गत वर्ष घटेकाले यो वर्ष सुधार हुने अपेक्षा गरिए पनि संकुचन देखिएको छ। या्े समाचार नागरिक दैनिकमा छ ।

मुख्यमन्त्री चौधरीद्वारा सेवा प्रभावकारी बनाउन निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रदेश सरकारका सचिवहरूसँग आज मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको बैठकमा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयमातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवं छिटो–छरितो बनाउन आवश्यक रहेको भन्दै सोहीअनुसार गर्न निर्देशन दिए । उनले कार्यसम्पादनलाई प्रभावकारी बनाई उपलब्धि बढाउनसमेत आग्रह गरे । “अहिले प्रदेश सरकारको कार्यसम्पादन र उपलब्धि भनेअनुसार राम्रो हुनसकेको छैन, अब त्यो अवस्था आउन दिनु हुँदैन”, उनले भने ।

सरकारको कामको गति सुस्त भयो, उपलब्धि बढाऊ, भएको प्रगति सार्वजनिक गरौँ । चालु आर्थिक वर्षको अहिलेसम्मको प्रगति, उपलब्धि र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीररूपमा लिन आग्रह गरे । उनले अनावश्यक योजनाभन्दा पनि आवश्यक योजना कार्यान्वयनमा चासो दिनसमेत आग्रह गरे ।

मन्त्रालयको लक्ष्य र उद्देश्यमा रहेर नीति निर्माण गर्न र सोहीअनुसार काम गर्नसमेत मुख्यमन्त्री चौधरीले आग्रह गरे । त्यहीअनुसार नीति बनाउन र स्रोत परिचालन गर्नसमेत उनले निर्देशन दिए । त्यसैगरी योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय बढाउनसमेत मुख्यमन्त्री चौधरीले निर्देशन दिएका छन् ।

बैठकमा प्रमुख सचिव राधिका अर्यालले निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गरे । उनले अबको समय पूर्णरूपमा कार्यान्वयनको भएको हुँदा त्यसमा दत्तचित्त हुनुपर्नेमा जोड दिए । मन्त्रालयका सचिवहरूले मन्त्रालयले योजना र बजेट कार्यान्वयनका लागि नीति, विधि बनिसकेकाले अब काममा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रवार केही प्रदेशका पहाडी भू -भागमा सामान्य बदली रहने छ। जल तथा मौसम विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बझाङमा छाउपडी प्रथा तोड्ने महिला सम्मानित

बझाङ । गतसाता खप्तडछान्ना गाउँपालिका–७ गडरायमा छाउपडी प्रथा तोड्ने महिला एक कार्यक्रममा सम्मानित भएका छन् । गडरायमा लागू भएको गरिमा परियोजनाले छाउपडी कुप्रथा तोडेको भन्दै १० जना महिलालाई सम्मान गरेको हो ।

सम्मानित भएका महिलाले महिनावारी भएको समयमा घरभित्र बस्ने, दही दूध खाने, गाईभैँसी दुहुनेजस्ता घरायसी काममा सक्रिय भएपछि सम्मान गरेको गरिमा परियोजनाले जनाएको छ । सामाजिक कुरीतिविरुद्ध डटेर सम्मानित हुनेमा प्रमिला रोकाया, गीता रोकाया, पारू रोकाया, अस्मिता रोकाया, पद्मा सिंह, उजेली थापा, विमला सार्की, शान्ति थापा, मनादेवी जोशी र जसु थापा छन् ।गडरायमा अहिले धेरै महिलाले छाउपडी नमान्ने गरेको प्रमिला रोकायाले बताइन् । उनले देउता मान्ने धामी झाँक्रीले पनि पछिल्लो समय छाउपडीलाई त्यति विभेद नगरेको बताइन् ।

कतारका विदेश राज्यमन्त्री राजधानीमा

काठमाडौँ । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार अपराह्न काठमाडौँ आइपुगेका छन् ।उनलाई त्रिभुवत अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल तथा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलि अल अन्सारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे ।

कतारी अतिथिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।विदेश राज्यमन्त्री अल मुरैखी परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गरेर आज नै स्वदेश प्रस्थान गर्नेछन् ।

हेर्नुहोस् मंसिर ८ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे / मेष राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृष राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ ।

मीथुन राशि- बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला ।

कर्कट राशि – गैर बिश्वस्निय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्रयोगमा साबधान रहनु होला ।

सिंह राशि – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन ।

कन्या राशि – भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।

तुला राशि- सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

मकर राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ ।

कुम्भ राशि- अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

मिन राशि – नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ ।

बारेकोटमा भूकम्पबाट भत्किएका ४४ विद्यालय अझै खुलेनन्

जाजरकोट । कात्तिक १७ गते बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालयमा अझै सञ्चालन हुन सकेका छैनन् । बारेकोट गाउँपालिका–६ धुमास्थित कक्षा ४ पढ्ने सविन चलाउने विद्यालयदेखि घरको अवस्था देख्दा बैराग लाग्ने गरेको बताउँछन् । त्रिपालमा बसिरहेका चलाउनेको घर भत्किएपछि किताब पुरिएका छन् ।

घरभित्रको सामानसमेत निकाल्न नपाएको चलाउने परिवारले अहिले खुला आकाशमा त्रिपाल टाँगेर रातदिन कटाइरहेको छ । छोराछोरीका विद्यालयको पोशाकदेखि अन्य सामग्रीसमेत घरमै पुरिएपछि एकसरो कपडामा रहेको चलाउने परिवार सरकारले निर्माण गरिदिने अस्थायी संरचनाका बारेमा रेडियोबाट समाचार सुनेपछि केही आशा पलाएको बताउँछन् ।विद्यालय पनि पूरै भत्किएका कारण छोराछोरी कहाँ पढाउने भन्नेमा दोधारमा परेको प्रदीप चलाउनेले बताए । अन्यत्र विद्यालय सञ्चालन भएर शैक्षिक काम चलिसके पनि बारेकोटमा अझै आपत्कालीन सिकाइ केन्द्र निर्माण नभएका कारण विद्यालय सञ्चालन हुनसकेको छैन ।भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा मानवीय क्षति नभए पनि भौतिक क्षति व्यापक छ । विद्यालय कुनै पनि सग्लो अवस्थामा नरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए। भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका विद्यालयमा युनिसेफले अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ । अन्य ठाउँका विद्यालय चर्केको भए पनि बारेकोटका सबै विद्यालय भत्केका छन् ।बारेकोटमा मात्र ४४ विद्यालयका तीन सय १७ कक्षाकोठा ध्वस्त भएपछि विद्यालय सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष गिरीले बताए । एक सय १९ वटा शौचालयसमेत काम नलाग्ने गरी भत्किएको उनले जानकारी दिए । तत्काल एक सय ७३ वटा आपत्कालीन सिकाई केन्द्र निर्माण भएमा मात्र कक्षा सञ्चालन गर्न सकिने र नौ हजार आठ सय ६६ विद्यार्थी अहिले विद्यालयमा आउन नसकेको अध्यक्ष गिरीले बताए ।दसैँ तिहारमा बन्द भएका विद्यालय हिउँदयाममा सञ्चालन हुने गरेका थिए । हिउँदमा अधिकांश पाठ्यपुस्तक पढाइ हुने समय हो । अन्य समयमा विद्यालय खुले पनि पढाइ हुने अवस्था थिएन । अस्थायीरूपमा आपत्कालीन अवस्थामा विद्यालय खुले पनि अधिकांश विद्यार्थीलाई कापी, किताब र पोशाकको आवश्यकता छ ।जाजरकोटमा चार सय २३ विद्यालयमा क्षति भएको छ । भेरीमा ५५, नलगाडमा ७१ , छेडागाडमा ५३, कुशेमा ५५, शिवालयमा ४०, जुनिचाँदेमा ६५ विद्यालयमा क्षति भएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताए ।

पाथीभरामा दसैँतिहारमा मात्रै ६१ हजार बढी दर्शनार्थी

ताप्लेजुङ, ७ मङ्सिर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् ।

वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दसैँतिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताए । नवरात्रका समयमा देवीको पुजाआरधना गर्न उपयुक्त मानिने र चाडवाड, बिदालगायतका कारणले पनि उक्त समयमा धेरै दर्शनार्थी आएका उनको भनाइ थियो ।

यहाँ आउने दर्शनार्थीको गणनाका लागि अहिले गणना गर्ने प्रविधि सहितको सिसी क्यामेरा जडान गरिएकाले उक्त सङ्ख्यामा दर्शनार्थी आएका देखिएको निर्देशक हाङ्वाङले बताए। यस वर्ष दसैँतिहारमा मौसम सफा रहेकाले स्वदेशी तथा विदेशी तीर्थयात्रीको आगमन बढेको उनले जानकारी दिए ।

समितिका निर्देशक हाङ्वाङका अनुसार पाथीभरा मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । पाथीभरामा भारतको सिक्किम, आसामलगायतका ठाउँबाटसमेत तीर्थयात्री आउने गरेका छन् ।

पाथीभरा पुग्न ताप्लेजुङ सदरमुकाम हुँदै सवारी साधनमा काफ्लेपाटीसम्म र सो भन्दामाथि पैदल हिँड्नुपर्छ । करिब चार घण्टाको उकालो चढेपछि पुगिने मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाईमा पर्दछ ।

दर्शनार्थीको चापलाई मध्येनजर गर्दै मन्दिर दर्शनका लागि जनशक्ति खटाएर आवश्यक व्यवस्थापन गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए ।

जीपी सभागृह तत्काल सम्पन्न गर्न नेता सिटौलाको आग्रह

बनियानी– नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्माण थालिएको आठ वर्षमा पनि गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी स्मृति सभागृह) पूरा नभएपछि बाँकी काम तत्काल सम्पन्न गर्न आग्रह गरेका छन्।

सभागृहको काम अघि बढाउन तथा त्यसलाई पूरा गर्न भद्रपुर नगरपालिका र जिल्ला समन्वय समितिलाई उनले आग्रहसमेत गरेका हुन् । मेची रङ्गशालामा आजदेखि सुरु भएको ‘ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग’ प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेता सिटौलाले त्यस्तो आग्रह गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गरेका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सभागृह आठ वर्ष बित्दा पनि अधुरै छ ।

मेची रङ्गशालाको स्तरोन्नतिमा आफू प्रतिबद्ध रहेको बताउँदै नेता सिटौलाले सक्दो सहयोग गर्ने र खेल क्षेत्रको श्रीवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगितामा आयोजकसहित १५ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक भद्रपुर झापा गोल्डकप समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

डिपफेक रोक्न भारतले नयाँ नियम बनाउने

काठमाडौँ – भारतका संघीय मन्त्री अश्विनी वैष्णवले बिहीबार डिपफेकको सामना गर्न सरकारले चाँडै नयाँ नियमहरू कार्यान्वयनमा ल्याउने बताए ।मन्त्रीले यस्ता सामग्रीको सृजना र प्लेटफर्म दुबैलाई अनुसन्धानको दायरामा राखेर गलत देखिदा बित्तिकै कारबाही गरिने बताउँनु भएको छ । ‘नयाँ नियमहरू वा नयाँ कानून ल्याउने वा अवस्थित ढाँचालाई परिमार्जन गरेर यसको नियन्त्रण गरिने छ,’ वैष्णवले उल्लेख गरेका छन् ।यसका लागि तत्काल काम शुरु हुने र अबको केही साताभित्र नियमावलीको मस्यौदा तयार गर्ने उनले बताए । मन्त्री वैष्णवले डीपफेकका विषयमा प्रतिक्रियाहरू बुझ्नका लागि शिक्षाविद्, उद्योगी निकायहरू र सामाजिक सञ्जाल कम्पनीहरूका प्रतिनिधिहरूसँग परामर्श गरिएको जनाकारी बताए ।मन्त्रालयका अनुसार आगामी १० दिनभित्र डिपफेक पत्ता लगाउने, गलत सूचना फैलिन नदिने, प्रतिवेदन संयन्त्रलाई सुदृढ गर्ने र जनतामा चेतना जगाउने गरी चार किसिमले कारबाहीयोग्य वस्तु पहिचान गरिने छ ।डिपफेक भनेको एआई उपकरणहरू प्रयोग गरेर अनुहार र शरीरलाई डिजिटल रूपमा परिवर्तन गर्नको लागि बनाइएको व्यक्तिको भिडियो हो जसबाट उनीहरू अरू कोही जस्तो देखिने गर्छन्। यो सामान्यतया दुर्भावनापूर्ण वा गलत जानकारी फैलाउने उद्देश्यले गरिन्छ।

भर्खरै सामाजिक सञ्जालमा भारतीय चलचित्र अभिनेत्रीहरूको यस किसमिले बनाइएका नक्कली भिडियोहरू देखा परेको छ जसले देशभर गहिरो आक्रोश पैदा गरेको छ।

तुलसी र दामोदरको विवाह गरी मनाइयो हरिबोधिनी एकादशी

काठमाडौँ – औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ ।हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग विवाह गरिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा आराधना गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझिने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिएको हो । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । वास्तु बिग्रिएका घरमा तुलसी रोप्नाले वास्तु दोष पनि निवारण विश्वास छ ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना एवं डेँगुबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक एवं नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा श्यामबाबु यादवले बताए ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यसै विश्वासले आज बूढानीलकण्ठमा पनि लाखौँ भक्तजनको भीड लागेको थियो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइएको छ ।

वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी भक्तपुरको चाँगुनारायण र ललितपुर विशङ्खुनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको थियो । नारायणहिटी दरबार परिसरमा रहेको नाराणस्थानमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।

विश्वव्यापी विज्ञान सहर वरीयतामा बेइजिङ पुनः शीर्ष स्थानमा

नेचर इन्डेक्स ग्लोबल साइन्स सिटी २०२३ ले जारी गरेको वरीयतामा बेइजिङ पुनः विश्वको शीर्ष विज्ञान सहर बनेको छ।८८ वटा उच्च गुणस्तर भएका शोध पत्रिकाहरूमा प्रकाशित लेखहरूको लेखकत्वका आधारमा नेचर इन्डेक्सले मापन गर्दा बेइजिङ विश्वव्यापी विज्ञान सहरको वरीयतामा पहिलो स्थानमा पुगेको यो लगातार सातौँपटक हो।

शीर्ष १० सूचीमा बेइजिङपछि न्युयोर्क महानगरीय क्षेत्र, सांघाई, बोस्टन महानगरीय क्षेत्र, सान फ्रान्सिस्को खाडी क्षेत्र, नानजिङ, बाल्टिमोर–वासिंटन, गुआङजाओ, टोक्यो महानगरीय क्षेत्र र वुहान रहेका छन्।

बेइजिङबाहेक अन्य नौ चिनियाँ सहर विश्वका शीर्ष २० विज्ञान सहरमा परेका छन्। पछिल्लो तथ्यांकअनुसार कृत्रिम बौद्धिकतामा बेइजिङको पेटेन्ट स्टक विश्वमा पहिलो स्थानमा छ। बेइजिङमा प्रति १० हजार मानिससँग औसत २१८.३ आविष्कार पेटेन्ट छ। यो चीनमा पहिलो स्थानमा छ।

‘बेइजिङ र अन्य एसियाली सहर विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा तीव्र रूपमा अगाडि बढिरहेका छन्। यिनीहरूलाई यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ठूलो आवश्यकता छ,’ सिंघुवा विश्वविद्यालयका उपाध्यक्ष जेङ रोङले भने।

गाजामा युद्धविरामका लागि भएको सहमतिको सरकारद्वारा स्वागत

काठमाडौं – नेपाल सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ।मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकालेर स्वागत गरेको हो।

कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ। सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ।बुधबार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो।

अवैध रूपमा विदेशी विनिमय कारोबार गर्ने एक जना पक्राउ

काठमाडौँ – हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन्।

काठमाडौँका विभिन्न स्थानमा केही व्यक्तिले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतीय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ।

साथै उनको घरबाट रु ८९ लाख ६९ हजार नेपाली, अमेरिकी डलर सात हजार २६, ल्यापटप ३ थान, सिपियु छ थान, टेलर मेसिन एक थान, सिसिटिभि एनभिआर एक थान, मोबाइल आठ थान, राहदानी दुई थान, नागरिकता एक थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद भएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 सुन्दर सहर बनाउने लक्ष्यका साथ पर्खाल–पर्खालमा चित्र बनाएर धनगढी चिनाइँदै

कैलाली । धनगढीलाई सुन्दर सहर बनाउने लक्ष्यका साथ नगरका सार्वजनिकस्थलका भित्ता (पर्खाल) मा स्थानीय कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्रसम्बन्धी चित्र उतार्न थालिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले भित्तामा कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यलगायत चित्र उतारेर धनगढी र खासगरी सुदूरपश्चिमलाई चिनाउने अभियान थालिएको बताए । धनगढी रङ्गशालाको भित्ता (पर्खाल) मा चित्र उतारेर कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्य चिनाउने यो अभियान थालिएको हो । हमालले भने, “अब धनगढीका भित्ताले सुदूरपश्चिमको कला संस्कृति र पर्यटकीय गन्तव्यका बारेमा आगन्तुकलाई जानकारी गराउनेछन् ।”

चित्र उतारिएका पर्खालमा कुनै पोष्टर, पर्चा नटाँस्न र फोहर नगरिदिन उपमहानगरपालिकाले नगरवासीसँग आग्रह गरेको छ । उपमहानगरपालिकाले धनगढीलाई सुन्दर र हराभरा सहर बनाउनुअघि सारेको ‘हरियाली धनगढी अभियान’ अन्तर्गत यसअघि उपमहानगरका सार्वजनिक सडक तथा स्थानमा वृक्षारोपण गरिएको थियो ।

‘उज्यालो धनगढी अभियान’ अन्तर्गत उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त पहलमा नगर क्षेत्रका विभिन्न सडकमा सडक बत्ती जडानको कार्य भइरहेको छ । धनगढी–अत्तरिया ‘छ लेन’ सडकको उपमहानगर क्षेत्रमा पर्ने खण्डको सडकमा स्मार्ट स्ट्रिट लाइट बलिसकेको छ । उपमहानगरपालिकाको अन्य सडकमा पनि स्मार्ट स्ट्रिट लाइट, हाइ माष्ट, मिनी माष्ट लाइट बाल्ने लक्ष्य छ । सडक बत्तीको व्यवस्थासँगै रातिको समयमा धनगढीका मुख्य सहरी क्षेत्र झिलिमिली देखिने गरेको छ ।सडक बत्तीको व्यवस्थाका लागि उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको थियो ।

हमालकै नेतृत्वको तत्कालीन कैलाली उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिमका सम्भावना चिनाउन ‘सुन्दर सुदूरपश्चिम अभियान’ चलाएको थियो । यस क्रममा सुदूरपश्चिमका पर्यटकीय र धार्मिक क्षेत्रका आकर्षक तस्बिर अङ्कित आकर्षक पोष्टर प्रकाशन गरी वितरण गरिएको थियो ।

कुवेतका लागि नेपाली राजदूत लम्सालले प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र

काठमाडौं – कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका युवराजधिराज शेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राजप्रासदमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कुवेतका युवराजको सुख, शान्ति एवं सुस्वास्थ्यका साथै कुवेती जनताको निरन्तर प्रगतिको कामना गरे ।

राजदूत लम्साललाई स्वागत गर्दै कुवेतका राजकुमारले कुवेत अधिराज्यको आर्थिक विकासमा एक लाखभन्दा बढी नेपालीले गरेको योगदानको सराहना गर्दै राजदूत लम्सालको सफल कार्यकालका निम्ति हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कुवेती फण्डमार्फत नेपालमा लगानी बढाउने आश्वासन दिँदै कुवेती युवराजले आर्थिक सहयोगका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

उच्च अदालतका मुख्य न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त मुख्य न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।न्याय परिषद्को यही मंसिर ५ गतेको बैठकले छ जनालाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

बैठकले उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह, उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा रमेशप्रसाद भण्डारी, उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा शान्तिसिंह थापालाई सिफारिस गरेको थियो।

भारतमा सडक सुरुङमा फसेका कामदारहरूको उद्धार कार्य जारी

भारत, ७ मङ्सिर । भारतमा करिब दुई सातादेखि भत्किएको सडक सुरुङमा फसेका ४१ जना कामदारलाई छुट्याएर अन्तिमसम्म भग्नावशेष खनेपछि एम्बुलेन्सहरूलाई बिहानैदेखि तयारी अवस्थामा राखिएको छ ।घटनास्थलमा एएफपीका पत्रकारहरूले बिहानको समयमा आपत्कालीन सवारीहरू तयारी अवस्थामा राखिएको देखेको बताएका छन् । हिमाली राज्य उत्तराखण्डको सुरुङबाट उनीहरूलाई चाँडै मुक्त गरिने आशा अधिकारीहरूले गरेका छन् ।

नोभेम्बर २२ मा निर्माणाधीन सुरुङको एक भाग खसेपछि इन्जिनियरहरूले करिब ५७ मिटर माटो, कङ्क्रिट तथा भग्नावशेषबाट स्टिलको पाइप खन्ने काम गरिरहेका छन् ।

कयौँ दिनको दर्दनाक सुस्त प्रगतिपछि शक्तिशाली ड्रिलिङ मेसिनका साथ इन्जिनियरहरू बुधबार दु्रत गतिमा अगाडि बढेका छन् । यद्यपि धातुका रडहरूका कारण मार्ग अवरुद्ध हुँदा केबल १२ मिटर अगाडि बढ्ने काम सुस्त भएको छ ।

इन्जिनियरहरूले रड काट्नका लागि पाइपभित्र पस्ने र सो समयमा शक्तिशाली ड्रिलिङ गरिने मध्यरातमा उद्धार टोलीका वरिष्ठ सदस्य हरपाल सिंहले बताए ।चिन्तित आफन्तहरू हिन्दू मन्दिर बनाइएको स्थलमा जम्मा भएका छन् । एक पुजारीले सुरुङभित्र फसेका कामदारहरूको सुरक्षित उद्धारका लागि प्रार्थना गरिरहेका छन् ।

“जुन दिन उनीहरू सुरुङबाट बाहिर आउँछन् त्यो दिन हाम्रा लागि सबैभन्दा खुशीको दिन हुनेछ”, ३५ वर्षीय चञ्चल सिंह विष्टले भने । सुरुङभित्र उनका २४ वर्षीय भाइ पुष्कर सिंह आर्य फसेका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बुधबार साँझ दुर्घटनास्थलमा पुगेर काम युद्धस्तरमा भएको बताए ।भग्नावशेष खस्नुका साथै महत्त्वपूर्ण भारी मेसिन बारम्बार बिग्रिएर उद्धार कार्यमा अवरोध भएको छ ।

मङ्गलबार पहिलो पटक कामदारहरूलाई जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपको माध्यमबाट पठाएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्याइएको छ ।

उक्त सुरुङ मार्ग प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एउटा भाग हो । उक्त परियोजनाको उद्देश्य केही प्रसिद्ध तीर्थस्तल र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।

यद्यपि विज्ञहरूले ठूलो भाग पहिरोको जोखिममा रहेको भन्दै उत्तराखण्डमा व्यापक निर्माणको प्रभावको बारेमा चेतावनी दिएका छन् ।

चार महिनामा साढे १२ अर्बको विद्युत् भारत निर्यात

काठमाडौँ, ७ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ ।

विद्युत् निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाखले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख आर्जन गरिएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी रु १४ अर्ब ५० करोड २१ लाख आर्जन भएको छ ।

प्राधिकरणले साउनमा दुई अर्ब १४ करोड ७६ लाख, भदौमा रु तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा रु चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख बराबरको विद्युत् निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत् बिक्री दरप्रति युनिट नौ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट सात ७ रुपैयाँ ७६ पैसा थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट सात अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्ये पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी छ सय ३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

गुल्मीमा सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

रेसुङ्गा । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ ।जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले राससलाई जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो ।

शान्तिपूर्ण प्रदर्शन गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले संविधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ ।

आयोगले आगामी दिनमा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको हो ।

नेकपा (एमाले)को भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट आज काठमाडौँमा आयोजित प्रदर्शनको दिनभर अनुगमन गरेपछि जारी विज्ञप्तिमा त्यस्तो आग्रह गरिएको हो ।

अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवासङ्घ नेपालको प्रदर्शन शान्तिपूर्णरूपमा सम्पन्न भएको पाइएको तथा बल्खुमा भएको प्रदर्शनमा युवासङ्घ र अभियान समूहबीच झडप भएको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएका जनाइएको छ ।

प्रदर्शनका कारण प्रदर्शनस्थल वरपरका विद्यालयमा पठनपाठन अवरुद्ध भएको, उक्त क्षेत्रका पसल बन्द हुँदा निर्वाधरूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र एवं सुरक्षितरूपमा आवतजावत गर्न नपाएको हुँदा त्यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगले बताएको छ ।

संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान

काठमाडौँ । भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।

हरेक वर्ष नेपाल र भारतबिच सैन्य अभ्यास हुँदै आएको छ । गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो । यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोगमा आज आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले खैरहनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सवइञ्जिनियर सुमन श्रेष्ठविरुद्ध रू ३१ लख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको छ । यस्तै, तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

वन उपभोक्ता समूह र कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङविरुद्ध रू एक करोड १९ लाख पाँच हजार छ सय तीन, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समरबहादुर घर्तीविरुद्ध रू ८९ लाख दुई हजार छ सय ६५ बराबरको बिगो दाबी गरिएको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभौक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्ज्वल बर्तौलाविरुद्ध रू १३ लाख ३१ हजार दुई सय १७ बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

आयोगले बुढी राप्ती उपभोक्ता समितिका तत्कालीन अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध रू ७८ हजार र कङ्क्रिट मचान उपभोक्ता समितिका कोषाध्यक्ष ठण्डाकुमारी दाहाल र सचिव कल्याण लटौलाविरुद्ध रू ३५ लाख ५० हजार नौ सय ५२ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन युवकको मृत्यु

सिरहा । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् ।

प्रवक्ता पाण्डेका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रसाईंको नेतृत्वमा रहेको महाअभियानले काठमाडौँका यी सात स्थानबाट जुलुस निकाल्दै

काठमाडौं । आज मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले काठमाडौंमा प्रदर्शन गर्दैछ। प्रसाईंको नेतृत्वमा रहेको महाअभियानले काठमाडौंको बल्खुमा कार्यक्रम गर्न लागेका हो । यस अभियानले आज काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्ने जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने र प्रदर्शन शुरु गरिने जनाइएको छ ।

प्रसाई नेतृत्वको महाअभियानसँगै एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पनि आज नै प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा प्रदर्शन गर्न रोक लगाएको छ ।

जातीय विभेदका घटना घटे तर एउटैको पनि सुनुवाइ भएन – सांसद विश्वकर्मा

काठमाडौँ । सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ । जातीय विभेदका घटना पटकपटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उनसँग तितो अनुभव छ ।

“सांसद भएर काम सुरु गरेको एक वर्ष भयो, म सांसद भएर आएपछि पनि ३०÷३२ जातीय विभेदका घटना घटे तर एउटैको पनि सुनुवाइ भएन”, सांसद विश्वकर्माले भनिन्, “मैले पटकपटक सदनमा आवाज उठाए, सुनुवाइ हुँदैन, जातीय विभेदको कुरा अहिले पनि कम हुन सकेको छैन, जुन दुःखद् कुरा हो ।” उनी आफ्नो समुदायको विभेद न्यूनीकरण गर्न पटकपटक आवाज उठाउछिन् । तर एकाधबाहेक सम्बोधन हुँदैनन् । तै पनि हिम्मत हारेकी छैनन् ।

“मैले विभेद कम गर्न सदनमा आवाज उठाउँछु, आफ्नो क्षेत्रको समस्या समाधान, रोकथाम गर्नका लागि काम गरिरहेकै छु”, सांसद विश्वकर्माले भनिन् ।

सांसद विश्वकर्माको जन्म झापाको लखनपुर–३ मा भएको हो । विंस २०४० देखि राजनीतिक यात्रा प्रारम्भ गरेकी उनले नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि नै काम गरेकी हुन् । झापा–२ बाट समानुपातिकबाट प्रतिनिधित्व गर्दै सांसद विश्वकर्माले पार्टीको वडा ण्ण्ण्कमिटी हुँदै पार्टीभित्र दलित मुक्ति आन्दोलनमा सक्रियारुपमा काम गरिन् । उनले दलित मुक्ति मोर्चाको जिल्ला सचिव भएर काम गर्दै अहिले मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्य र महिला विभागको केन्द्रीय सचिव भएर काम गरिरहेकी छन् ।

सांसद विश्वकर्माले संविधान अनुकूलका कानुन बनाउन धेरै बाँकी भए पनि सरकारले संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाउन ध्यान नदिएकामा दुःख लागेको छ । “कानुन बनाउने कुरामा प्रतिपक्षको भन्दा पनि सत्तापक्षले अलि बढी ध्यान दिनुपर्ने हुन्छ”, उनले थपे, “सरकारले बनाउनुपर्ने कानुन सदनमा ल्याएर छलफल गराउनुपर्ने हुन्छ तर त्यो हुन सकेको छैन ।” उनले कानुन बनाउनुपर्ने कुरामा धेरै पटक सदनमा उठाएको तर सरकारले गम्भीरतापूर्वक नलिएको अनुभव सुनाए । कानुन बनाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष भनेर बस्न नहुने उनको बुझाइ छ ।

सांसद विश्वकर्मालाई सक्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप गर्नु संसदीय अभ्यासमा सामान्य कुराजस्तो लागे पनि सदन प्रतिपक्षको भएकाले सरकारले अलि बढी ध्यान दिनुपर्छ भन्ने लाग्छ । “सरकारले गल्ती गरेको अवस्थामा प्रतिपक्षले आवाज उठाउने ठाउँ सदन होे, त्यो कुरा सरकारले पनि बुझन जरुरी छ”, उनले भनिन्, “तर आरोपप्रत्यारोप गरेर समस्याको समाधान हुँदैन, जनताको समस्या समाधानमा जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।”

जनताका प्रतिनिधि अत्यन्तै इमान्दार, संवेदनशील भएर जनताको हित हुने गरी बोल्नुपर्छ भन्ने सांसद विश्वकर्मालाई लाग्छ । “जनताको समस्या समाधान गर्ने तरिकाले जनप्रतिनिधि सदनमा सभ्य भएर आफ्नो कुराहरु राख्नुपर्छ”, उनले भनिन् , “सरकारको ध्यानाकर्षण सभ्य तरिकाले पनि गर्न सकिन्छ, गैरजिम्मेवार तरिकाले कहिले पनि प्रस्तुत हुन हुँदैन ।”

नेपालको राजनीतिक परिपाटीमा सांसदहरु विकास निर्माणमा बढी केन्द्रीत हुनुपर्ने जरुरी भएको उनको बुझाइ छ । विधायक भनेको कानुन बनाउने हो भनेर नेपाली समाजमा बुझाउन नसकिएको भन्ने उनलाई लाग्छ । “जनताले विकासकै आशा गरेका हुन्छन्, चुनावमा भोट माग्दा पनि कुन नेताले के बनाउने भन्ने बोल्यो भन्ने आधारमा मत निर्धारण हुन्छ”, उनले भनिन्, “म यहाँ बाटो बनाउँछु, त्यहाँ पुल बनाउँछु, यति बजेट हालिदिन्छु भनेर वचन दिएको हुन्छ, सांसदमा पनि विकास निर्माणमा ध्यान दिँदा लोकप्रिय भइन्छ भन्ने छ ।”

सांसद विकास कोष बढी मात्रामा पहुँच हुनेले मात्र प्रयोग गरेको पाइएकाले त्यो नहुँदा नै ठीक भएको उल्लेख गर्दै उनले थपिन्, “जहाँ विकास जरुरी छ, त्यहाँ विकास गर्नुपर्छ, निर्वाचित सांसदको हालीमुहाली हुने तर समानुपातिक सांसदलाई साँची मात्र बनाउने परिपाटी पनि गलत हो ।”

सांसद विश्वकर्मालाई सत्तापक्ष वा प्रतिपक्ष सबै मिलेर देशमा भएका विकृति, विसङ्गति, सबै खाले विभेदको अन्त्यका लागि पहल गर्नुपर्छ भन्ने लागेको छ । कुनै पनि प्रकारको कुरीति र कुसंस्कारको विरुद्धमा सबै एकताबद्ध हुन उनको आग्रह छ ।

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरू

त्रिवेणी (रुकुम पश्चिम)- गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टरस्केलको भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो । त्यसमा विद्यालयका भवन पनि सुरक्षित रहन सकेनन् । विद्यालय भवनमा क्षति पुर्‍याएपछि विद्यालय नजिकै विद्यार्थीका लागि त्रिपाल प्रयोग गरेर अस्थायी सिकाइ केन्द्र स्थापना गरी बालबालिकाको पठनपाठन सुरु गरिएको छ ।

जिल्लाभरमा कूल दुई सय १३ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरिएको छ । केही सिकाइ केन्द्र स्थापना भएर पठनपाठन सुरु भएको छ भने केही निर्माणको क्रममा रहे पनि पठनपाठन भने जिल्लाभर नै सुरु भइसकेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिए ।

भूकम्पले बढी प्रभावित पारेको आठविसकोट नगरपालिकामा एक सय ३९ र सानीभेरी गाउँपालिकामा ७४ सिकाइ केन्द्र स्थापना गरिएको छ । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा भूकम्पले विद्यालय भवनमा त्यति धेरै क्षति नगरेकाले विद्यालय भवनबाटै पठनपाठन भइरहेको एकाइ प्रमुख पुनले जानकारी दिनुभयो । एक महिनाको लामो बिदापछि सोमबारदेखि विद्यालय खुलेका छन् ।

भूकम्पले आठविसकोटका ६४ विद्यालयमध्ये ५३ मा क्षति पुर्‍याएको छ । जसमा दुई सय ५२ वटा कक्षाकोठा र ७६ वटा शौचालयमा क्षति पुगेको आठविसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले जानकारी दिए । नगरपालिकामा नौ हजार आठ सय ४७ विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । एघार विद्यार्थीको मृत्यु भएको छ भने एक जना कार्यालय सहयोगीको पनि भूकम्पमा परी मृत्यु भएको छ ।

नगरपालिकाका अधिकांश ठाउँमा पठनपाठन सुरु भए पनि केही ठाउँमा अस्थायी सिकाइ केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेकाले तत्काल पठनपाठन सुरु हुने उनले जानकारी दिए । भूकम्पले शैक्षिक सामग्रीमा क्षति पुगेकाले आवश्यक सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

भूकम्पप्रभावित क्षेत्रका सबै ठाउँमा अस्थायी सिकाइ केन्द्र निर्माण सकिएकौ छैन । अस्थायी सिकाइ केन्द्र निर्माण नभएका ठाउँमा विद्यालयको खुला चउरबाटै पठनपाठन भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पश्चिमले जनाएको छ ।

भूकम्पका कारण रुकुम पश्चिममा एक सय आठ विद्यालयका पाँच सय ४४ वटा कक्षा कोठामा क्षति पुगेको छ भने एक सय ३८ वटा शौचालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

कतारका विदेश राज्यमन्त्री आज काठमाडौँ आउँदै

काठमाडौँ – कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । राज्यमन्त्री अल–मुरैखीस भ्रमण सम्पन्न गरी शुक्रबार काठमाडौंबाट प्रस्थान गर्नेछन् ।

भूकम्पबाट प्रहरी कार्यालय भत्कियो, त्रिपालबाटै काम

जाजरकोट– जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन् ।

प्रहरी नायव महानिरीक्षक ढकालका अनुसार जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार र कालीकोटमा दुई प्रहरी भवनमा क्षति पुगेको छ । जाजरकोटमा जिल्ला प्रहरी कार्यालयका चार भवन भत्किएका छन् । बाह्र इलाका प्रहरी कार्यालय, १० प्रहरी चौकी, ६ अस्थायी प्रहरी पोस्ट र जिल्ला ट्राफिक कार्यालय भूकम्पबाट भत्किएको छ ।

रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय, दुई इलाका प्रहरी कार्यालय, चार प्रहरी चौकी र पाँच अस्थायी प्रहरी पोस्ट भत्किएका छन् । त्यस्तै सल्यानमा तीन इलाका प्रहरी कार्यालय भत्किएका छन् । जुम्लामा जिल्ला प्रहरी कार्यालय, एउटा इलाका प्रहरी कार्यालय र दुई प्रहरी चौकी भत्किएको छ । कालीकोटमा जिल्ला प्रहरी कार्यालय र एउटा प्रहरी चौकी भत्किएको छ ।

भाडाको घरमा रहेको जाजरकोट भेरी नगरपालिका–१ अस्थायी प्रहरी पोस्ट, रावतगाउँ चर्किएको छ । त्यहाँका प्रहरी अहिले त्रिपालको भरमा दैनिक कामकाज गरिरहेका छन् । सदरमुकाम खलङ्गामा रहेको जिल्ला प्रहरी कार्यालयको हालत पनि अन्य प्रहरीचौकीभन्दा फरक छैन । जिल्ला प्रहरी कार्यालय प्रहरी जवान त्रिपालको भरमा छन् ।

प्रहरी नायव उपरिक्षक सन्तोष रोकाका अनुसार जिल्ला प्रहरी कार्यालयका आठमध्ये सात भवन चर्किएर बस्न नहुने भएका छन् । भर्खरै बनेको एउटा पक्की भवन मात्र बस्न लायक छ । जाजरकोटमा जिल्ला प्रहरी कार्यालय, २०३४ सालमा स्थापना भएको हो । भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पनि प्रहरीको पुराना संरचना भत्किएर जीर्ण बनेको प्रहरी नायब उपरीक्षक नवराज भट्टराई बताउँछन् । पुर्तिमकाँडा, सोलावाङ र सिम्ली चौकी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अस्थायी प्रहरी पोस्ट साँख, स्यालाखदी, प्रहरीचौकी, पीपल, झुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीको संरचनामा पनि आंशिक क्षति पुगेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको निवास पनि भूकम्पले भत्काएको छ । जिल्ला प्रशासन कार्यालयका पुराना संरचना बस्न नहुने भएका छन् । डीआईजी ढकाल प्रदेशभर तीन सय आठ प्रहरी युनिट रहे पनि २५ प्रतिशत एकाइको मात्रै आफ्नो भवन रहेको बताउँछन् । ७५ प्रतिशत सबै जोखिममा रहेका र भाडामा लिएका घर रहेको उनको भनाइ छ ।

प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गरी प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको छ। आयोगले नेपालको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गरी प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको हो।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ शान्तिपूर्ण रुपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

नेकपा ९एमाले० को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतद्वारा यही मङ्सिर ७ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको मानव अधिकारको दृटिकोणबाट अनुगमन गर्ने आयोगले जनाएको छ।

‘आयोगले यस सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा आएका अभिव्यक्ति एवं सञ्चारमाध्यममा प्रकाशन, प्रसारण भएका सामग्रीलाई गम्भीररुपमा लिई नजिकबाट अध्ययन गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोप प्रत्यारोपयुक्त अभिव्यक्ति दिनेजस्ता गतिविधि भएको पाइएकाले यसबाट सर्वसाधारण नागरिकमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको छ।’

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भए पनि मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र नेपाल पक्ष राष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ ले समेत शान्तिपूर्ण प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रताको हकको सुनिश्चितता गरेको छ। तर प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीकै प्राथमिक दायित्व रहेको आयोगको ठहर छ।

समावेशी आरक्षणको मापदण्ड तोक्नुपर्छ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिकस्तरका आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नुपर्ने सुझाव दिएका छन् ।

देशमा समावेशीकरण र आरक्षणको मापदण्ड र यसको उपभोग त्रुटिपूर्ण रहेको टिप्पणी गर्दै नेता यादवले हालको मापदण्डलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय समावेशी आयोगले आज ललितपुरमा आयोजना गरेको छलफलमा अध्यक्ष यादवले सीमान्तकृत वर्गभित्रकै हुनेखाने चतुर व्यक्तिले आरक्षणको दुरुपयोग गर्दै आएकोे टिप्पणी गरे ।काठमाडौँमा घर भएका, व्यापार व्यवसायमा जमेका, आर्थिक एवं शैक्षिकरुपले बलियो भएका व्यक्ति नै सबैभन्दा बढी आरक्षणको दुरुपयोग गरेको नेता यादवले बताए । भाषा, धर्म र जातिलाई आधार मानेर अल्पसङ्ख्यकको परिभाषा र मापदण्ड तोक्नुपर्ने उनले बताए ।

‘आर्थिक सङ्कट विश्वव्यापी हो, उद्योगी व्यवसायी निरास नहुनुस्’:मन्त्री रिजाल

भैरहवा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको आर्थिक सङ्कट नेपालको मात्र नभई विश्वव्यापी भएकाले उद्योगी एवं व्यवसायीलाई निरास नहुन आग्रह गरेका छन् ।

चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा भैरहवामा सुरु भएको छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले मुलुक बनाउन उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए ।“सबैले देश आर्थिक सङ्कटमा छ भनेर भनिरहँदा लगानी गर्ने मानिसमा नैराश्यता उत्पन्न भएको मैले महसुुस गरेको छु”, उनले भने, “यो समस्या नेपालमा मात्र हैन, संसारभर आएको हो, अन्य मुलुकका उद्योगी व्यवसायी एवम् अन्य डटेर सामना गरिरहँदा हामी निरासाका कुरा मात्र गरिरहेका हुन्छौँ ।”नेपाल अहिले अधोगतिमा नभई उभोगतिमा रहेको बताउँदै मन्त्री रिजालले केही विश्वसनीय आधार रहेका कारण ढुक्क भएर लगानी गर्न आग्रह गरे । “तपाईहरुको संरक्षकत्व, अभिभावकत्व नेपाल सरकारले लिनेछ, भविष्यमा आउने समस्याको सामना गर्न नेपाल सरकार तपाईहरुको साथमा रहनेछ”, उनले भने, “ब्याज समस्याका विषयमा सरकारले पहल गरिरहेको छ, निरास भइहाल्नुपर्ने अवस्था छैन ।”कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले मेलाको उद्देश्य औद्योगिक वस्तुको खरिद बिक्री मात्र नभई संस्कारको पुस्तान्तरणसमेत रहेको बताए । यसै सन्दर्भमा मन्त्रालयले ‘नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकासको अवधारणा’ अघि बढाएको उनले बताए । यसको लागि चालु आर्थिक वर्षमै कार्यक्रम र कार्यान्वयनमा लागेको मन्त्री साहको भनाइ छ ।स्थानीय उत्पादन र कृषिको प्रवद्र्धन गर्ने उद्देश्यसहित भैरहवामा आयोजित मेला मङ्सिरको १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा खेलकुदको प्रवद्र्धनका लागि भलिबल, कुस्तीलगायतका खेल प्रतियोगिता सञ्चालन गरिँदै छ । महोत्सवमा तीन सय ५० स्टल रहेको छ ।