`

ट्याक्सीमा छुटेका गहना चालकले प्रहरीलाई बुझाए

काठमाडौँ, ३ मङ्सिर : काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ ।

ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

जडीबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४ ५३ नम्बरको ट्याक्सीमा करिब सात तोला बराबरको सुन र चार तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी सङ्गीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् । प्राप्त खबर तथा लिखित निवेदनका आधारमा ट्राफिक प्रहरीले सिसीटिभी क्यामेराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयं सुनका गहना सुरक्षित लिएर आज बिहान ट्राफिक प्रहरी वृत्त गौशालामा सम्पर्क गर्न आएका प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

कार्यालयमा रहेको खोजतलास शाखाले सवारीसाधनमा छुटेका धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ । गत साउनदेखि हालसम्म एक सय ३३ जनाले दिएको निवेदनका आधारमा ९९ को धनमाल खोजी गरी रू ४० लाख छ हजार छ सय २५ मूल्य बराबरको सामान सम्बन्धित धनीलाई बुझाइएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

आफ्नो धनमालको सुरक्षा गर्न र सवारीसाधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन उहाँले आग्रहसमेत गर्नुभयो ।

विश्व शौचालय दिवस : तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

काठमाडौँ, ३ मङ्सिर : विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो ।

यसवर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नारा ‘परिवर्तनको गति बढाउँदै’ रहेको छ । राष्ट्र सङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ । दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पु¥याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र सङ्घले यस वर्षको नारा परिवर्तनको गति बढाउदै भन्ने राखेको हो ।

राष्ट्र सङ्घका अनुसार विश्वका साढे तीन अर्ब व्यक्ति अझै पनि सुरक्षित शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख व्यक्ति अझै पनि खुलास्थानमा दिसा–पिशाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यसले प्रकृति, महिला, युवती र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्षमात्र बाँकी छ । यो लक्ष्य हासिल गर्न अहिले गरेको कामको गति पाँच गुना तीब्र बनाउनु पर्ने स्मार्ट वास सोलुसन्स नेपालका अध्यक्ष ई.रामदीप साहले बताउनुभयो ।

नेपालमा सरसफाइको अवस्था

विसं २०७६ असोज १९ गते खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा भएको हो । सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो । सबैभन्दा पहिला कास्की खुला दिसामुक्त घोषणा भएको थियो । झण्डै नौ वर्षको अनवरत प्रयासपछि सन् २०१९ को सेप्टेम्बर ३० मा यो उपलब्धि हासिल भएको थियो ।

नेपालमा पूर्ण सरसफाइको अवधारणालाई सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताहको रुपमा कार्यान्वयनमा ल्याइएको थियो । सन् २००३ मा समुदायको अगुवाइमा यो अभियान बढाइयो भने सन् २००६ मा विद्यालयको अगुवाईमा । सन् २००८ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गरेपछि यसले ब्यापक जनजागरण ल्यायो ।

सन २०११ मा सरसफाइ गुरुयोजना नै बनाएर सरसफाइका सूचक र चरण निर्धारण गरियो । गुरुयोजना अनुरुप आधारभूत स्तरको सरसफाई सुनिश्चित गर्ने उद्देश्यले सन् २०१७ सम्म प्रत्येक घरमा चर्पी बनाउने अभियान सञ्चालन भयो । नेपाललाई २०१७ मा नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य दुई वर्ष ढिलो गरी २०१९ सेप्टेम्बर ३० मा हासिल हुन सक्यो ।

आगामी चुनौती

दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । राष्ट्रसङ्घको खानेपानी तथा सरसफाइ हेर्ने निकाय ‘युएन वाटर’ले सार्वजनिक गरेको विवरणअनुसार नेपालको ५१ प्रतिशत जनसङ्ख्याले मात्र सुरक्षित सरसफाइ सेवा उपयोग गर्ने गर्दछन् । आउँदा सात वर्षमा झण्डै आधा जनसङ्ख्यालाई यस्तो सेवा पु¥याउन पर्ने अवस्था छ । नेपालका ६४ प्रतिशत जनसङ्ख्यामा साबुन पानीले हात धुने सुविधा प्राप्त छ । यसलाई पनि शतप्रतिशत पु¥याउनुपर्नेछ ।

घरबाट निस्कने फोहर पानीको प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशतमात्र हुन सकेको छ । बाँकी ६१ प्र्रतिशत फोहर पानीको प्रशोधन र सही व्यवस्थापन गर्ने चुनौती बाँकी नै रहेको अध्यक्ष ई साहले जानकारी दिनुभयो । यसैगरी नेपालमा शहरीकरण तीव्र गतिमा बढेको छ तर त्यही गतिमा शहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचना तथा तिनीहरुमा बग्ने फोहर पानीको प्रशोधन र उचित व्यवस्थापनको काम हुन पनि बाँकी छ ।

महिला टी–२० सिरिज : जापानसामु जितका लागि ११६ रनको लक्ष्य

काठमाडौँ, ३ मङ्सिर ः चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले जापानसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनायो ।

नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् । बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् ।

अहिले जापाने जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा जापानले १४ ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ ।

छठले राष्ट्रिय एकता सुदृढ गर्ने प्रधानमन्त्री दाहालको विश्वास

काठमाडौँ, ३ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । छठका अवसरमा आज शुभकामना दिँदै उहाँले देशमा विद्यमान चुनौतीमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन छठले प्रेरित गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ, “यस पर्वले चुनौतीलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकतावद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।”

भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूसा र सभ्यताका दृष्टिले नेपाल विश्वमै विशाल र वैभवशाली रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस यथार्थलाई हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यले राम्रोसँग प्रमाणित गरेको बताउनुभयो । उहाँले शुभकामना सन्देशमा नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले मानवजीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आरधना गरी छठ पर्वको परम्परा सुरूवात भएको बताउनुभयो । छठ प्रकृति र मानव जीवनबीच जीवन्त व्यावहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित रहेको उल्लेख गर्दै उहाँले यसले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवन उपयोगी प्राकृतिक वस्तुको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले तराई–मधेसमा सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौ ।आज कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज प्रतिकेजी टनेल गोलभेडा सानो ४०, गोलभेडा सानो लोकल ३०, भारतीय गोलभेडा ठूलो ७०, जुनार २५०, केरा १७०, हरियो फर्सी २० रहेको छ ।

सेतो मुला २०, बन्दा ६०, घिउ सिमी लोकल २०, काउली स्थानिय २०, आलु रातो ५८, भारतीय आलु रातो ३६, लौका ३०, चुकन्दर ८०, कुरिलो १०००, सुकेको प्याज९५ तोने बोडी ४०,मटरकोशा १४०, रायो साग ३० रुपैया रहेको छ । अन्य तरकारीको कति छ तल तालिकामा हेर्नुहोस्

पर्यटकको रोजाइमा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन

ढोरपाटन (बागलुङ) ३ मङ्सिर : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौँदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ । पूर्वाधार अभावमा गुज्रिदै आए पनि यहाँ पर्यटक भने बाह्रै महिना फाट्टफुट्ट पुग्ने गर्दथे । केही वर्ष अगाडिसम्म ढोरपाटनमा आउने पर्यटकको हिसाब थिएन । बाहिरबाट आउने पर्यटकका लागि बस्ने र खाने होटल तथा रेष्टुरेण्टको व्यवस्था पनि त्यत्ति राम्रो थिएन । तर अहिले ढोरपाटन पुग्ने हरेक पर्यटकको गणना हुन थालेको छ ।

आर्थिक वर्ष २०७७÷७८ देखि नेपाली सेनाले ढोरपाटन प्रवेशद्वार देउरालीमै आगन्तुकको गणना गर्नुपर्छ । पछिल्लो समय विगतका तुलनामा ढोरपाटन आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । पहिलो जनैपूर्णिमा र वैशाखेपूर्णिमा मात्रै आउने गरेकामा दुई वर्षयता बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । हिउँदमा हिउँ खेल्न र गर्मीमा शितलाका लागि ढोरपाटन आउनेको सङ्ख्या ठूलो छ । अझ यस वर्ष दसैँ बेला निकै ठूलो सङ«ख्यामा पर्यटक आएको पाइन्छ । विदेशी पर्यटक सिकारयामका बेला सिकार खेल्न हेलिकप्टरमार्फत आउने गर्छन् । त्यसबाहेक गाडी तथा मोटरसाइकलमार्फत घुम्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा ढोरपाटन घुम्न आउनेको सङ्ख्या दुई हजार छ सय नौ छ ।

असोज महिनामाभन्दा कार्तिक महिनामा बढी पर्यटक ढोरपाटन आएको सिकार आरक्षको तथ्याङ्कमा उल्लेख छ । असोजमा नेपाली चार सय ७५ र विदेशी २१ गरी चार सय ९६ ढोरपाटन आएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिनुभयो । कात्तिक दसैँ तिहारको महिना भएको हुँदा यस बेला दुई हजार एक सय १३ पर्यटक आएको उहाँको भनाइ छ । कात्तिकमा दुई हजार ९७ नेपाली र १६ विदेशी पर्यटक आएको उहाँ बताउनुहुन्छ ।

गत आवमा सात हजार छ सय ४५ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन आएकोमा चालु आवको चार महिनामा तीन हजार नौ सय ९९ पर्यटक भित्रिएको सूचना अधिकारी पङ्गेनीको भनाइ छ । अहिलेनै चार महिनामै चार हजार पर्यटक भित्रिसकेको भन्दै चालू आव सकिदासम्म गत वर्षको तुलनामा धेरै बढी आउने आँकलन गरेको उहाँले बताउनुभयो । गत वर्ष १९ लाख ६२ हजार पाँच सय राजस्व सङ्कलन भएकोमा चालु आवमा बढ्न सक्ने सूचना अधिकारी पङ्गेनी बताउनुहुन्छ ।

उहाँलेभन्नुभयो, “अहिले पर्यटक आगमन निकै बढी छ, यही हिसाबले पर्यटक आइराखे यस बढी आउने सम्भावना देखिएको छ, हरेक दिन आन्तरिकसँगै विदेशी पर्यटक ढोरपाटनमा आएको पाइन्छ, यसले राजस्व वृद्धि हुने छ ।”

ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा आव २०७७÷७८ आन्तरिक पर्यटकले सय प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ । शिकार आरक्षको अनुसार आव २०७६÷७७ सम्म विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएको आरक्षणले दुई वर्ष अघिदेखि स्वदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।

ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले पछिल्लो समय प्रचारप्रसार बढी हुँदा पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । बुर्तिबाङदेखि देउरालीसम्मको सडक निकै अप्ठ्यारो हुँदा पर्यटकले सास्ती खेप्नुपरेको भन्दै निर्माण कम्पनीले ढिला सुस्ती गरेको उहाँको भनाइ छ । अहिले ढोरपाटनमा पर्यटकका लागि बस्ने र खाने राम्रो व्यवस्था हुन थालेपछि घुम्न आउनेको सङ्ख्या हरेक दिन बढ्न थालेको कार्यवाहक नगरप्रमुख कायत बताउनुहुन्छ । पहिले बिहान गएर साँझ फर्ने गरे पनि अचेल धेरै जसो बास बस्ने गरि आउने गरेको उहाँको भनाइ छ ।

“ढोरपाटन उत्कृष्ट गन्तव्यमा पर्छ, तर अहिलेसम्म विकास हुन नसक्दा धेरै पर्यटक भित्र्याउन सकेको अवस्था थिएन, अहिले पर्यटक आगमन निकै उत्साहजनक छ, अप्ठ्यारो सडकमा पनि पर्यटक गाडी लिएर आएको पाइन्छ, अहिले ढोरपाटनमा केही सुधार भएको छ, होटल रेष्टुरेण्ट पनि बढ्दै गए, पाहुनालाई खान र बस्नको समस्या छैन”, कायतले भन्नुभयो , “प्रचारप्रसार पनि तीव्र हुँदा पहिलेको तुलनामा अहिले पर्यटक धेरै आएको पाएका छौँ, अझै बढ्ने अपेक्षा गरेका छौँ ।”

पर्यटन प्रवद्र्धन गर्न साइकल टोली पोखरामा

गण्डकी, ३ मङ्सिर : ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार गर्न टोली पोखरा आएको हो ।

यसवर्ष विशेषतः मगर र गुरूङ घरवाससँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ १४ सदस्यीय टोली कात्तिक ३० गतेदेखि रूपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूूर्यकुमार सारू मगरले जानकारी दिनुभयो । टोलीले साइकल यात्रा गर्दै वालिङस्थित मगर जातिको बाझकोट होमस्टे, स्याङ्जास्थित गुरूङ जातीको सिरूवारी होमस्टे हुँदै पोखरा आइपुगेको उहाँले बताउनुुभयो ।

विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्ति सहभागी टोलीले साइकल यात्राका माध्यमबाट नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा देखाएको चासो निकै सकारात्मक रहेको पर्यटन व्यवसायी डिल्लीराज पाण्डेले बताउनुभयो । टोलीले यसअघि अर्घाखाँचीको सुपादेउराली, पाल्पाको रानीमहल र व्यास नगरपालिकाको मानुङकोट पनि साइकलबाटै यात्रा गरिसकेको छ ।

महिला टी–२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापान भिड्दै

काठमाडौँ, ३ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

समूह चरणको पहिलो र दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो ।महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले आज नै उपाधिका लागि खेल्ने छन् ।

‘सदनको बहस दलभन्दा माथि उठन सकेन’ – रास्वपाका उपसभापति अर्याल

काठमाडौँ, ३ मङ्सिर : पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको छ ।

सोही अभियानअन्तर्गत पार्टी सङ्गठन परिचालन गरिरहनुभएका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका उपभापति डोलप्रसाद अर्याल एक वर्षको ‘रिपोर्ट कार्ड’ बोकेर धादिङका जनताको घरदैलोमा पुग्नुभएको छ । जनताका लागि देखाउन रिपोर्ट कार्ड बोक्नुभएका उहाँ आफू भने त्यो रिपोर्ट कार्डबाट अझै सन्तुष्ट हुन सक्नुभएको छैन । एक वर्षे अवधिमा विधायिकाको भूमिका प्रभावकारी हुन नसकेको उहाँ विश्लेषण छ ।

“हामी त सन्तुष्ट छँदै छैनौँ । जुन समय हामीले सदनमा व्यतित ग¥याँै, त्यसबाट जनताले के प्राप्त गरे भन्नेमा हिसाबले हेर्दा सन्तुष्ट हुने ठाँउ कति पनि छैन”, सांसदसँग रासस संवादका क्रममा सांसद अर्यालले भन्नुभयो, “जनताको हित हुने विषयमा हामी बाँडिनु भएन । तर हामी कानुन निर्माण गर्न चुकेका हौँ । जसोतसो दुई अधिवेशन सकियो, हाम्रो पार्टीले गर्ने कोसिस गरिनै रह्यो । यद्यपि एक वर्षको काममा सन्तुष्टि हुने ठाउँ छैन ।” उहाँले दोस्रो अधिवेशनको समीक्षासँगै आफूहरुले आगामी अधिवेशनमा सशक्त रुपमा प्रस्तुत हुने विषयमा प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

“हामीले चाहेको संसदीय अभ्यास यो होइन भनेर आन्तरिक छलफल गरिरहेका छौँ । उसो त सुरुका दिनदेखि नै नगरेको पनि होइन”, सांसद अर्यालले भन्नुभयो, “जनतासम्म पुगेर उहाँहरुको कुरा ल्याउने, बितेको अधिवेशन, जनताको आशा अपेक्षासम्बन्धी सुझाव र अहिले प्रक्रियामा आएका कानुन बनाउने, आवश्यक कानुनका विषयमा तयारी गरेर अर्को अधिवेशनमा हाम्रो जोडदार उपस्थिति रहने छ ।”

धादिङ मैदी–४ मा जन्मिनुभएका सांसद अर्यालसँग पर्यटन र विप्रेषण क्षेत्रमा २० वर्षको अनुभव छ । विसं २०७९ मा रास्वपाको स्थापनासँगै राजनीतिमा सक्रिय उहाँ गत निर्वाचनमा रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बन्नुभएको हो । अर्याल सत्तापक्ष र प्रतिपक्षका रुपमा नभइ सदन र मुलुकको विकासका लागि जनताको मुद्दामा एकजुट हुनुपर्ने मान्यता राख्नुहुन्छ । यद्यपि संसदीय अभ्यासमा सांसदहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठन नसकेको उहाँ विश्लेषण गर्नुहुन्छ ।

“धेरै दलका सांसदले आफनो दललाई मात्र प्रतिनिधित्व गरेको पाएँ । सदनको बहस दलभन्दा माथि उठन सकेन”, सांसद अर्यालले भन्नुभयो, “सदनभित्र सबै जनताका लागि यी सबै दलले दलभन्दा माथि उठेर छलफल, बहस गर्ने अभ्यास हुनुपर्दथ्यो, तर त्यसो नभएको मैले महसुस गरे । अझ यो ढ्यापढ्यापबाट पास गर्ने प्रवृतिभन्दा माथि उठनुपर्छ ।”

सांसद अर्याल दलले सांसदको स्वतन्त्रतामा अंकुश लगाउँछ भन्ने आरोपप्रति भने पूर्णरुपमा सहमत हुनुहुन्न । उहाँले भन्नुभयो, “सबै विषयमा दलको ह्वीप लगाएको छ भन्ने मलाई लाग्दैन । तर प्रतिपक्ष र सत्तापक्षको ढयापढयाप गर्ने प्रणाली आफैमा अलिकति दुर्भाग्यपूर्ण नै छ । यसले गर्दा पनि सांसदहरु पार्टीको ह्वीपमा परेका हुन् कि भन्ने बुझाइ पनि हुनसक्छ ।”

संसदीय अभ्यासमा अपेक्षाकृत रुपमा काम कम भए पनि सदनमा रास्वपाको उपस्थितिले सकारात्मक सन्देश दिएको सांसद अर्यालको जिकिर छ । उहाँ भन्नुहुन्छ, “रास्वपाका सांसदको उपस्थितिले सदनप्रति जनताको चासो बढेको विषयलाई नकार्न सकिन्न ।” जनतालाई परिवर्तनको सुरुवात भएको महसुस गराउने आफूहरुको प्रयास सफल भएको उहाँको दाबी छ ।

“देश विदेशमा रहनुभएका नेपाली नागरिक एवं प्रशासनिक क्षेत्रका साथीले पनि सदनमा रास्वपाका सांसदको उपस्थितिले सदन हेर्न र सुन्न लायक भएको प्रतिक्रिया दिनुभएको छ । हाम्रो उपस्थितिले सदनप्रति आमनागरिकको आर्कषण र अपेक्षा दुवै बढाएको छ”, सांसद अर्यालले भन्नुभयो । सदनमा जनताका मुद्दा प्रस्तुत गर्दा सरकारको ध्यानाआर्कषण कसरी गराउने भन्नेमा आफूहरु सचेत भएको उहाँको भनाइ छ । उहाँले जनताको मुद्दा र जनताका हितका विषयमा सदनसँगै प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालय, विभाग र सम्बीन्धत निकायमा ध्यानाआर्कषण गराइरहेको बताउनुभयो ।

“सरकारले सुन्दैन भन्दै गर्दा सरकारलाई सुन्ने बनाउने काम हाम्रो हो । सुन्ने बनाउन हामीले धेरै प्रयास जारी राखेका छौँ”, सांसद अर्यालले भन्नुभयो, “मेरो निर्वाचन क्षेत्रलाई अथवा मेरो काम गर्दिनुहोस् भनेर होइन, समग्र देशको जनताको हितको विषयलाई लिएर सदनदेखि सरकारका विभिन्न निकायमा आफ्नो प्रयास जारी राखेका छौँ ।” सरकारको ध्यानाआर्कषण गराउन केही हदसम्म आफू सफलसमेत भएको उहाँको भनाइ छ ।

“निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुन हुँदैन भनेर मैले संकल्प प्रस्ताव राखेको थिए । सर्वोच्च अदालतले सांसदको भूमिका सम्झाउँदै उक्त बजेट खर्च गर्न रोक लगाइदिएको थियो । त्यसका लागि हामीले सर्वोच्च अदालतलाई धन्यवाद पनि दियौँ”, सांसद अर्यालले भन्नुभयो, “उक्त बजेटको रकम अहिले मन्त्रिपरिषद्ले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा खर्च गर्ने निर्णय गरेको छ । यो चित्त बुझ्ने निर्णय भयो ।”

यस्तै जिल्ला निर्वाचन कार्यालय खोरेजीको विषयमा आफूहरुको पहलबाट जोगाउन सफल भएको उहाँको जिकिर छ । सांसद अर्यालले संसद्को आगामी अधिवेशनमा गैरसरकारी विधेयक अघि बढाउन तयारी भइरहेको पनि बताउनुभयो । “गैरसरकारी विधेयक सदनमा लैजानै पर्छ भन्नेमा छौँ र त्यसका लागि तयारी गरिरहेका छौैँ”, उहाँले भन्नुभयो ।

राजनीतिक यात्राको एक वर्ष पूरा गर्दैगर्दा सांसद अर्यालले सुशासनमा सबैभन्दा ठूलो समस्या देखिएको आफूले पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार नै मिलिजुली बनेको छ, भागबण्डाका कुरा आउँछन् । हामीले सोचेको जस्तो त छैन तर सुशासन कायम गर्नका लागि हामी घचघचाउने काममा निरन्तर लागेका छौँ ।”

सांसद अर्यालले सफल संसदीय अभ्यासमा अनुशासन अतिआवश्यक हुने उल्लेख गर्दै संसदीय मर्यादा विपरीत सदनमा आरोपप्रत्यारोपका क्रममा प्रयोग हुने भाषा सुन्न लायक नभएको अनुभव रासससँग साटनुभयो । “यो हुनुहुँदैन आउने दिनमा सच्चिनुपर्छ”, उहाँले भन्नुभयो, “कानुन बनाउने जनप्रतिनिधिले के कसरी बोल्ने, खाने, हिँड्ने र लाउने कुरामा ध्यान दिनुपर्छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो । त्यसमा हामी पार्टीभित्र पनि छलफल गरिरहेका छौँ ।” उहाँले समग्र राजनीतिक संस्कारमा सुधारको आवश्यक भएको बताउनुभयो ।

“हामीसँगसँगै अन्य पार्टीका युवा सांसदहरु पनि जोडिनुभएको छ । हामीले परिकल्पना गरेको सफल संसदीय अभ्यास सम्भव छ तर यसका लागि समय भने पक्कै लाग्छ”, सांसद अर्यालले भन्नुभयो ।

चाड–पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर : सभापति देउवा

काठमाडौँ, ३ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको बताउनुभएको छ । छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उल्लेख गर्नुभयो ।

छठ नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने महत्वपूर्ण र पवित्र पर्व हो । सभापति देउवाले यस पर्वका अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाज भएको मुलुक भएको उल्लेख गर्दै यी प्रत्येक धार्मिक र सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउनुभयो ।सभापति देउवाले छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सृजना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभ–कामना व्यक्त गर्नुभएको छ । 

बैङ्कहरूले पठाएनन् उखु किसानको अनुदान

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले उखु किसानलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै हस्तान्तरण नगरिदिँदा सर्लाहीका उखु किसानको छठपर्वसमेत खल्लो भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले कात्तिक २३ गते विभिन्न बैङ्क, वित्तीय संस्था तथा सहकारीका खातामा एकमुस्ट रकम पठाइदिएको थियो ।

तर, कात्तिक २४ गते शुक्रबार बैङ्क खुलेदेखि ३० गतेसम्म तिहार बिदा भयो । मङ्सिर १ गते शुक्रबार बैङ्क खुले पनि अधिकांश बैङ्कले किसानको खातामा पैसा पठाएका छैनन् ।चाडपर्वका समयमा समेत व्यस्तताका नाममा बैङ्क खातामा पैसा हस्तान्तरण नगरिदिँदा दसैँ मात्र नभएर तिहार र छठसमेत खल्लो भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । तिहारको मुखमा कोलेनिकामार्पmत दिनुपर्नेमध्ये ३० प्रतिशत रकम आएको र त्यो पनि नभ्याइएको भन्दै रकम भुक्तानी नगर्नु विडम्बनापूर्ण रहेको मैनालीले औँल्याए । “केही सहकारीले रकम बाँड्न भ्याए तर बैङ्कहरूले खातामा इन्ट्री गर्न भ्याइएन भनेर पैसा हालेनन्,” मैनालीले भने, “यो वर्ष उखु किसानको पर्व उल्लासमय बन्न सकेन ।”अर्थ मन्त्रालयले तिहारअघि जिल्लामा पठाएको अपूरो रकममध्ये किसानलाई बाँड्नका लागि ३० प्रतिशत मात्रै पुग्थ्यो । तिहारअघि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षतामा बैठक बसेर त्यही रकम भए पनि सबै किसानलाई ३० प्रतिशतको हिसाबले खातामा पठाइदिने निर्णय गरेको थियो ।सर्लाहीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेले निर्णय भएको दिन कात्तिक २२ गते रातभर काम गरेर भोलिपल्टै बैङ्कको खातामा पैसा पठाइएको बताउनुभयो । गत वर्ष जिल्लाका तीन वटा चिनी मिलमा उखु बेचेका १७ हजार ३० जना किसानलाई प्रतिक्विन्टल ७० रुपियाँको दरले वितरण गर्न २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ३० पैसा आउनुपर्ने हो तर कोलेनिकामा नौ करोड ११ लाख २६ हजार ६३८ रुपियाँ मात्रै आएको छ ।कोलेनिकाले प्राप्त सबै रकम बैङ्कको खातामा पठाइसकेको प्रमुख कोष नियन्त्रक न्यौपानेले बताउनुभयो । किसानले छठ बिदापछि मात्रै पैसा निकाल्न पाउने भएका छन् । जिल्लामा आउन बाँकी २० करोड १४ लाख २६ हजार १११ रुपियाँ ३० पैसा लागि अगुवा उखु किसान, पालिकाका जनप्रतिनिधि र सङ्घीय सांसदले पहल जारी राखेको बताएका छन् ।अगुवा उखु किसान राजकुमार उप्रेतीले यो वर्ष चिनी मिल चल्नुअघि नै बाँकी अनुदान रकम पनि जिल्लामा निकासा गरिदिन माग गर्दै अर्थ तथा कृषि सचिवलाई भेटेरै कुरा राखेको बताए । रकामान्तर गरेर वा अन्य कुनै विकल्प अपनाएर भए पनि उखु किसानको पूरा अनुदान रकम निकासा गरिदिन माग राखिएको उप्रेतीको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ

फेरि किन चाहियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ?

काठमाडौं । सरकारले ऋण लिएर निर्माण गरेका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले फेरि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेसँगै यसको पक्ष विपक्षमा बहस सुरु भएको छ।

सरकारले नभई नहुने पूर्वाधारका योजना बनाउन नसकेका बेला करिब पाँच खर्ब रूपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना अघि बढाउन लागेको हो।यसअघि २०७९ जेठ १२ गते सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरेको थियो। हवाई पूर्वाधारविज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा गठित विज्ञ समूहले दिएको सुझावका आधारमा गत साता बसेको मन्त्रिपरिषद् बैठकले फेरि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको हो।सरकारले ऋण लिएर बनाएका विमानस्थल नचल्दा मुलुक ऋणको पासोमा पर्ने हो कि भन्ने चिन्ता भइरहेका बेला फेरि खर्बौं रूपैयाँ लाग्ने अर्को विमानस्थल निर्माण प्रक्रिया अघि बढाएको हो।सर्वोच्च अदालतले विमानस्थल निर्माण प्रक्रिया रोक्न निर्देशन दिएपछि सरकारले विज्ञ समूह गठन गरेको थियो। सोही समूहले दिएको सुझावका आधारमा सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तयारी गरेको हो।सरकारले आर्थिक वर्ष २०७०÷७१ देखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, बारालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

चिनोका रूपमा ट्रलीबस, अर्बौंको सम्पत्ति प्रयोगविहीन

बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय छेवैमा थोत्रा ट्रलीबस, तिनका खिया लागेका पार्टपुर्जा, सिमेन्टका बडेबडे पिल्लर र तार असरल्ल छरिएका छन् । लाग्छ, यो कुनै अव्यवस्थित कबाडीखाना हो ।

राष्ट्रिय सानका रूपमा रहेको सार्वजनिक यातायात ट्रलीबस सेवाको एउटा चिनोका रूपमा कबाडी सामान मात्रै बाँकी छ । १४ वर्षअघि बन्द भएको ट्रलीबस सेवा रहेको २८ रोपनी सात आना जग्गा यातायात व्यवस्था विभागको नाममा दर्ता कायम छ । सहरको महत्वपूर्ण स्थानमा रहेको यो स्थानबाट ट्रलीका कबाडी हटाउन न चासो राखिएको छ न जग्गा नै प्रयोगमा ल्याउने योजना सरकारको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “ट्रलीबसका बारेमा छलफलमै छौँ । कुनै निर्णयमा पुगिएको छैन । सके ट्रलीबस चलाउने छौँ । नभए के गर्ने भन्नेबारे छिट्टै निर्णयमा पुग्ने छौँ ।”काठमाडौँ र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायक कुनै समय ट्रलीबस गुड्थ्यो ।

त्यसको सबुदका रूपमा सडक किनारमा कतैकतै बाँकी रहेका पिल्लर र टाँगिएका असरल्ल तारले दिन्छ । यस कार्यकालका कतिपय कर्मचारी अवकाशमा गए कतिपय स्थानीय तहमा मिलान गरिए । चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो । ट्रलीबस निर्माण भएको १२ वर्षसम्म निर्वाध रूपमा सञ्चालन भए पनि २०४४ सालसम्म आउँदा थला पर्ने अवस्थामा पुग्यो । नातागोता र कार्यकर्ता भर्तीकेन्द्र बन्दै गएपछि ट्रलीबस सेवा घाटामा गएर थलिएको बताइन्छ ।

२०५३ सालमा काठमाडौँ महानगर, ललितपुर उपमहानगर र भक्तपुर नगरपालिकाले ‘स्मार्ट सिटी’ को अवधारणा अनुसार सहर विकास योजना बनाउन ट्रलीबस सञ्चालनको जिम्मा लिएका थिए । तिनले पनि सञ्चालन गर्न नसकेपछि २०६६ सालबाट सेवा पूर्णतः बन्द हुन पुगेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

वीरगञ्जमा राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । करिब एक साताअघि सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।

गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ परेकामा पर्सागढी नगरपालिका–१ मनवा टोल निवासी अङ्कित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१ सखुवनिय टोका गौतम महतो, नन्दन दास थारू र लक्की चौधरी रहेको प्रहरी निरीक्षक केसरीले जानकारी दिनुभयो । पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपा नेवाःखलः कास्कीलाई

गण्डकी- नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवाःखलः कास्कीलाई पुरस्कृत गरिने भएको छ ।नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएको झि पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले आज पोखरामा नेवाःखलः कास्कीका कार्यसमिति र सल्लाहकार तथा सदस्यमाझ जानकारी दिनुभयो । नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखेले यस सम्मानले नेवार समुदायमा अझ धेरै भाइचारा बढ्ने बताउँदै संस्कृति संरक्षण र प्रवर्द्धनमा यसले ठूूलो सहयोग पुग्ने बताउनुुभयो ।

सुदर्शन कपिला सिरपा पुरस्कारको स्थापना विसं २०७६ (नेपाल संवत् ११४०)मा झि पुचःका संरक्षक एवं समाजसेवी सुर्दशनबहादुर श्रेष्ठ तथा उहाँका परिवारले गर्नुुभएको थियो । यो पुरस्कार नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवर्द्धन एवं जगेर्ना गर्ने संस्था वा व्यक्तिलाई झि पुचःमार्फत प्रत्येक दुुई-दुुई वर्षमा कदरस्वरुप प्रदान गरिन्छ ।श्रेष्ठ तथा उहाँका परिवारले सुर्दशन कपिला सिरपाद्वारा सम्मान र रु दुुई लाख नगद पुरस्कार दिन रु २० लाखको अक्षयकोष खडा गर्ने उद्घोष गरेअनुसार झि पुचः विराटनगरले सुर्दशन कपिला ट्रष्टको विनियमावली बनाई विशेष समितिमार्फत काम गर्दै आएको छ ।

छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास

काठमाडौँ, ३ मङ्सिर स् राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ ।छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकृतिको पूजा गरिने छठपर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गर्नुभएको छ । यसै अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै जारी गरिएको सन्देशमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने बताउनुभएको छ ।

यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देशमा छठपर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको बताउनुभएको छ । “यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले प्रमाणित गर्छन्, नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको छ”, सन्देशमा भनिएको छ ।

यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैगरी, सभामुख देवराज घिमिरेले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि यसै अवसरमा दिनुभएको शुभकामना सन्देशमा छठपर्वजस्ता चाडका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभएको छ । उहाँले यो पर्वबाट राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुुभएको छ ।

सूर्य देवता र छठीमाताको पूजाअर्चना छठपर्वको मुख्य विशेषता हो । यो पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ धुमधामसँग यो पर्व मनाइन्छ । खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व पछिल्लो समय काठमाडौँ उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लामा समेत सूर्यदेवता र छठीमाताको पूजाअर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । भेदभावबिना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो चाड मनाइन्छ ।

छठपर्वलाई प्राकृतिकसँग प्रेमको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा यो मौसममा उपलब्ध हुने सबैखाले नयाँ अन्न, फलफूल, कन्दमूलहरू प्रसादका रूपमा प्रयोग गरिन्छ ।

प्रकृति र सभ्यताको अनुपम उदाहरण रहेको छठपर्वको नेपालको तराई मधेसमा हिन्दूबाहेक इसाई, मुस्लिम र नेवार समुदायले पनि मान्ने गरेका छन् ।

सूर्यको पूजा आराधना गरी छठ उल्लासपूर्वक मनाइँदै

काठमाडौँ, ३ मङ्सिर : आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको हुन्छ ।

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ ।

रानीपोखरीमा उल्लासपूर्वक मनाउने गरिएको यो पर्व भूकम्पयता गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाउन थालिएको छ । यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ ।

सूर्य पुराणअनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूया छठ व्रत बस्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको धार्मिक विश्वास छ । छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने चलन छ ।

हेर्नुहोस् मंसिर ३ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृष राशि- पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि – शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि- जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि – स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि – आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि- पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि- आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि – आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि- परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि – शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि – यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा कम्तीमा एक सय प्यालेस्टिनीको मृत्यु

इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा १०० प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य स्रोतले शनिबार जनाएको छ ।

स्रोतले सिन्ह्वालाई दिएको जानकारी अनुसार जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणपछि कम्तीमा १०० जनाको शव इन्डोनेसियाली अस्पतालमा सारिएको छ ।

स्रोतका अनुसार विद्यालयभित्रबाट शवहरु निरन्तर फेला परिरहेको र ठूलो सङ्ख्यामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।

यसैबीच प्रत्यक्षदर्शीका अनुसार उक्त विद्यालयमा सयौं विस्थापित हरू बसिरहेका र इजरायली सेनाको तीव्र हवाई आक्रमणमा परी उनीहरूको हताहत भएको हो ।

भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख

काठमाडौँ, २ मङ्सिर : जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ ।

नेपालका लागि चीनका राजदूत छन ्सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गर्नुभएको हो ।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताउनुभएको छ ।

भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन

काठमाडौँ, २ मङ्सिर : प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । आज यहाँ लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समिर अभिनन्दन समारोह’मार्फत अभिनन्दन गरिएको हो ।

विश्वमा सबैभन्दा बढी गीत लेखेवापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउनुभएका समिरले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेख्नुभएको छ ।

सो समारोहमा गीतकार समिरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिनाथको यस भूमिमा आएर सम्मानित हुन् पाउँदा आफू निकै प्रफुल्लित भएको बताउनुभयो । हिमाल र पहाडबीचबाट काठमाडौँ उत्रिने क्रममा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर जाने बताउनुभयो ।

काठमाडौँ उत्रनु अगाडि हिमालको सुन्दर दृश्य हेर्दै एउटा गीत रचना गरिसकेको बताउँदै गीतकार समिरलेसो गीतलाई नेपालमा अत्यधिक मन पराउने र नेपालका लागि धेरै लेख्ने बाचा पनि गर्नुभयो । उहाँ व्यवसायी वसन्त चौधरीको निमन्त्रणामा पहिलो पटक नेपाल आउनुभएको हो ।

अहिलेसम्म आफूले धेरै सम्मान पाएको तर जसले गीतकारको पीडा दुःख बुझेको छ उसकै सम्मान पाउँदा खुसी महसुस गरेको भन्दै उहाँले गीतकार सङ्घ नेपाललाई धन्यवाद दिनुभयो ।

सो अवसरमा गीतकार तथा साहित्यकार बसन्त चौधरीले समिर अन्जानको नाम साङ्गितिक क्षेत्रमा निकै चर्चित रहेको बताउनुभयो । हिन्दी चलचित्र र गीत मन पराउने सबैले उहाँलाई मन पराउने उहाँको भनाइ थियो । गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले सङ्घले विभिन्न समयमा गीतकारको सम्मान गर्दै आएको भन्दै यसपटक समिर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको र सो अवसरका लागी लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद दिनुभयो ।

गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् ।

जाजरकोटमा चिसोले थप तीनको मृत्यु

जाजरकोट, २ मङ्सिर : चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

डुमे दमका दीर्घरोगी पनि हुनुहुन्थ्यो । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उहाँको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उहाँको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताउनुभयो ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

संविधानमा भएको अधिकार प्रदेशलाई दिनुपर्छ – शेखर कोइराला

विराटनगर, २ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताउनुभएको छ ।न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको आज यहाँ विचोमन गर्दै नेता कोइरालाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको चाहना र आवश्यकता पूरा हुनुपर्छ भन्नुभयो । उहाँले सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान हुनुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले सीप र दक्षताको उच्चतम उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्दै सरकारले शिक्षा र स्वास्थ्य जस्ता विषयमा संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा पुस्तक लेखक खरेल र न्यू सृष्टि दैनिकका सम्पादक निर्मला ढुङ्गाना, मेरी ल्याण्ड कलेजका प्रमुख लक्ष्मण खनालले धारणा राख्नुभएको थियो ।

बङ्गलादेशमा ‘मिधिली’का कारण सात जनाको मृत्यु

बङ्गलादेशमा आएको चक्रवात ‘मिधिली’को प्रभावका कारण सात जनाको मृत्यु भएको छ ।चक्रवातले शुक्रबार दिउँसापछि बङ्गलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको होे । राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजार जिल्लामा भारी वर्षाका कारण माटोको घरको पर्खाल भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको स्थानीय सरकारी स्रोतले जनाएको छ ।

दक्षिणपूर्वी चट्टोग्राम र मध्य टाङ्गेल जिल्लामा रूखले किचेर थप तीन जनाको मृत्यु भएको छ ।आँधीले तटीय जिल्लाहरूमा बालीनालीमा क्षति पु¥याएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ । बङ्गलादेशको तटीय क्षेत्रमा शुक्रबार भीषण हावाहुरीका कारण बिजुलीका खम्बा उखेलेपछि विद्युत आपूर्ति बन्द भएको छ ।

चक्रवातले अनुमान गरेभन्दा छिटो भूस्खलन गरेका कारण माझीहरूलाई सुरक्षित आश्रय स्थलमा फर्कन पर्याप्त समय व्यवस्थापन गर्न नसक्दा अनुमानित ३०० मछुवाहरू देशको दक्षिण पश्चिममा रहेको सुन्दरवनमा आश्रय लिन बाध्य भएको विश्वास गरिएको छ ।

स्थानीय अङ्ग्रेजी पत्रिका न्यू एजले शनिबार प्रकाशित गरेको एक रिपोर्टमा ‘बरगुना डिस्ट्रिक्ट फिसिङ ट्रालर ओनर्स एसोसिएसन’का अध्यक्ष गोलम मोस्तोफा चौधरीलाई उद्धृत गर्दै भनिएको छ, “३०० जना मछुवा बोकेका २५ वटा माछा मार्न प्रयोग गरिने साना डुङ्गा गन्तव्यसम्म फर्केका छैनन् ।”

क्रिकेट विश्वकप फाइनलमाः भारतमा प्रार्थना

क्रिकेट विश्वकप फाइनल हुँदै गर्दा भारतभर क्रिकेटप्रेमीहरूले जितको कमाना गर्दै प्रार्थना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबारर क्रिकेट विश्वकपको फाइनल खेलमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

क्रिकेटको विश्वव्यापी महत्त्वको खेल प्रदर्शनीको १० स्थानमा १० टोलीबीच ४६ दिनसम्म चलेको ४८ खेलसहितको म्याराथन प्रतियोगिता आइतबार ब्लकबस्टर फाइनलमा सम्पन्न भएको छ ।भारतको पश्चिमी गुजरात राज्यको अहमदाबादमा पाँच पटकको च्याम्पियन अष्ट्रेलिया विरुद्ध आइतबारको फाइनलमा पुग्ने क्रममा सबै १० खेल जित्दै भारत विश्वकपको उत्कृष्ट टोली बनेको छ।

प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसले खेलको अवलोकन गर्नुहुने गुजरात राज्य सरकारले शनिबार जनाएको छ ।क्रिकेट प्रेमीका साथसाथै उत्सवमा एयरफोर्स फ्लाईपास्ट, लाइट र लेजर शो, र इनिङ्स ब्रेकमा सयौं नर्तकहरूले बलिउड हिट गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) जनाएको छ ।

क्रिकेटमा बलियो भए तापनि भारत सन् २०१३ च्याम्पियन्स ट्रफीपछि भने लामै समय अन्तरराष्ट्रिय उपाधिविहीन बनेको छ । करिब १४० करोड भारतीय जनता चरम क्रिकेटप्रेमी छन् जो अधैर्य छन् जसको तनमन क्रिकेटको पिचमा पुगेको छ ।
फ्यानहरूले भारतको जितको कामना गर्दै देशभर विशेष प्रार्थनाहरू आयोजना गरिरहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय पसलहरूमा विराट कोहलीलगायत भारतीय क्रिकेट नायकहरूका पोस्टरहरू छ्पाप्याप्तिसँगै अहमदाबाद उत्साह र प्रत्याशाले गुन्जिएको छ ।शहरका सडकहरूमा सुरक्षा बलको ठूलै तैनाथी गरिएको छ। होटलहरू पूर्ण रूपमा खचाखच भरिएका छन् सामान्य मूल्यभन्दा धेरै गुणा बढीमा होटलहरू बुक गरिएका समाचार सार्वजनिक भएका छन्।

यो खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान जुन १ लाख ३२ हजार क्षमताको नरेन्द्र मोदी रङ्गशालामा आयोजना हुँदै छ ।सन् २०१४ मा प्रधानमन्त्री हुनु अघि गुजरातको राज्य सरकारको नेतृत्व गर्दा हिन्दु राष्ट्रवादी नेताको घरेलु परियोजनाहरू मध्येको यो एक रङ्गशाला परियोजना थियो ।

रूस र चीनबीचको पारस्परिक विश्वास थप प्रगाढ बनेको रूसी राष्ट्रपति पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीन आपसी विश्वासको अभूतपूर्व स्तरमा पुगेको बताएका छन्। नवौँ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चको पूर्ण सत्रमा पुटिनले रूस र चीनबीचको सम्बन्ध अतुलनीय स्तरमा पुगेको बताउँदै द्विपक्षीय सम्बन्ध रचनात्मक रहेको र यसले विश्वव्यापी स्थिरतामा योगदान पु¥याएको बताउनुभयो ।

राष्ट्रपति पुटिनले रूस र चीनबीचको सांस्कृतिक आदानप्रदान र पारस्परिक सम्बन्धबिना रूस र चीनबीच समन्वयको व्यापक रणनीतिक साझेदारी निर्माण गर्न असम्भव हुने पनि उहाँले बताउनुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङले सांस्कृतिक, शैक्षिक र खेलकुदलाई सधैं ठूलो महत्व दिँदै आउनुभएको छ ।

पुटिनले रूसी र चिनियाँ जनता एकअर्काको संस्कृतिप्रति गहिरो चासो राख्ने गरेको पनि बताउनुभयो । “मलाई विश्वास छ रूस–चीन संस्कृति वर्ष २०२४÷०२५पूर्ण सफल हुनेछ,” राष्ट्रपति पुटिनले भन्नुभयो ।

शनिबारसम्म चल्ने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय सांस्कृतिक सम्महेलनमा चीन, इटाली, संयुक्त अधिराज्य, टर्की र अन्य देशका प्रतिनिधिहरू सांस्कृतिक आदानप्रदान, शिक्षा र सम्पदा संरक्षणमा सहयोगबारे छलफल गर्न रूसमा भेला भएका छन् ।

‘विपीनको उद्धार गर्न पहल भइरहेको छ’- परराष्ट्रमन्त्री साउद

महेन्द्रनगर (कञ्चनपुर) २ मङ्सिर : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपीन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ ।

शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उहाँलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिनुभयो ।

“जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ”, मन्त्री साउदले भन्नुभयो, “सुरक्षामा गम्भीर रुपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्रमन्त्रीसित पनि आग्रह गरिएको छ ।” साथै कूटनीतिक रुपमा पहल अघि बढाउँदै अन्तर्राष्ट्रिय रेडक्रससित पनि आग्रह गरिएको उहाँको भनाइ छ ।

“बन्धक रहेका जोशीलाई छुटाउन आज बिहान मात्रै कतारका राजदूतसित छलफल भएको छ”, मन्त्री साउदले भन्नुभयो, “हमासको आक्रमणबाट सुदूरपश्चिमले बढी क्षति ब्यहोरेको अवस्था छ ।” कूटनीतिक पहल गरेर छुटाउने प्रक्रियामा रहेको बताउँदै उहाँले विश्वस्त रहन सबैलाई आग्रहसमेत गर्नुभयो । मन्त्री साउदले शनिबार बिहान जोशीका बुबा÷आमा र दाजुसित भेटसमेत गरेका थिए ।

फरक प्रसङ्गमा मन्त्री साउदले विकासमा राजनीतिक गर्न नहुने बताउनुभयो । “सबैको उद्देश्य जनताको विकासकै लागि राजनीति हो”, उहाँले भन्नुभयो, “विकासमा राजनीतिक दल, वल्लोपल्लो नभनी सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ ।”

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लामो समयदेखि मुआब्जाको पर्खाइमा रहेका पीडितको समस्या समाधान हुनेगरी सरकारले अन्तिम अधिकारसम्पन्न अर्धन्यायिक आयोग गठन गर्ने तयारीमा रहेको बताउनुभयो । “अबको एक हप्ताभित्र एकजना पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन हुँदैछ”, उहाँले भन्नुभयो, “वास्तविक पीडितलाई सकभर जग्गा नै नभए मुआब्जा रकम उपलब्ध गराउने गरी अन्तिम आयोग बन्दैछ ।”

प्रधानमन्त्रीलाई खुम्बु पासाङल्हामु गाउँपालिकाको ज्ञापनपत्र

काठमाडौँ, २ मङ्सिर : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विभिन्न तीनबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।आज सोही गाउँपालिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष मिङमा छिरी शेर्पाले स्थानीय समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउनुभएको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा आफूहरु असाध्यै हर्षित भएको उल्लेख गरिएको छ ।विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित सो गाउँपालिकाले सङ्घ, प्रदेश र विभिन्न दातृ निकायसँग सहकार्य समन्वय गर्दै गाउँपालिकालाई समृद्ध बनाउन प्रयासरत रहेको ब्यहोरासमेत सो अवसरमा अवगत गराएको थियो ।

हवाई यातायातको भर पर्नु परेकाले यस क्षेत्रमा यातायातको सहज पहुँचका लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गरी पालिका केन्द्रसम्मको सडक ट्र्याक खोल्ने कार्यलाई द्रुत गतिमा भइरहेको जानकारी गराएको छ । सगरमाथा क्षेत्र जोड्ने उक्त सडकको स्तरोन्नतिको योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गरिदिन गाउँपालिकाले प्रधानमन्त्रीलाई अनुरोध गरेको हो ।

प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर ३० मा खुम्बु क्षेत्रको भ्रमणमा तापक्रम बढ्ने, हिमताल पग्लने र त्यसले जनतालाई पु¥याउने हानिनोक्सानीको कुरालाई गम्भीरतापूर्वक लिनुभएको थियो ।

जलवायु परिवर्तनको जोखिमबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा परेको समस्या र चुनौतीलाई समाधान गर्न क्षतिपूर्ति हुनुपर्छ भन्ने विषय केही समयपछि हुन लागेको कोप–२८ सम्मेलनमा विश्वको ध्यानाकर्षण गराउन गाउँपालिकाले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।

उच्च हिमाली भूभाग र महँगो ढुवानीको कारण खाना पकाउने इन्धनको महँगीको मार खुम्बुवासीले वर्षौंदेखि ब्यहोर्दै आएकाले सो पालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जोडी जनजीवनलाई थप सहज बनाउन पहल गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै गाउँपालिकाले समस्याको दिगो समाधान हुने अपेक्षा गरेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

गाउँपालिकाले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्न अधिकतम प्रयास गर्ने विश्वास दिलाउनुभयो । उहाँले गाउँपालिकाका तर्फबाट पेस भएका मागलाई आफूले गम्भीरतापूर्वक लिएको र सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन दिने उल्लेख गर्नुभएको थियो ।

नमोबुद्ध जात्रा : बौद्ध धर्मालम्बीको खुसियालीको पर्व

काभ्रेपलाञ्चोक, २ मङ्सिर : शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन कात्तिक शुक्ल पूर्णिमा तिथि । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको दस्तावेजमा उल्लेख गरिएका छन् ।

काभ्रेपलाञ्चोकको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्ध नगरपालिका–११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ । यो वर्ष सो मेला–जात्रा यही मङ्सिर १० गतेदेखि तीन दिनसम्म मनाइन्छ ।

किंवदन्तीअनुसार द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको ठूलो भीड लाग्ने गर्दछ । मेलामा करिब एक लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राको सुरुको रातभरि नमोबुद्धमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेहरुको उत्तिकै भीड लाग्ने गर्दछ ।

नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्ती प्रज्वलन गरिन्छ । “यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता छ”, लामाले भन्नुभयो । विशेषगरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामा बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको थियो ।

सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो । “पाँच डमरु जन्माएका बघिनी लक्ष्मी मानिएको हो भने, पाँच डमरु भिक्षु भएका थिए”, लामागुरु लामाले भन्नुभयो । उहाँका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको थियो । लामागुरुले भन्नुभयो, “तत्पश्चात् राजारानी शङ्खेश्वरी अजिमाको नामले चिनिनुहुन्छ ।”

संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तूपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । सो पर्वत आठ हजार फिटको उचाइमा रहेको छ । सो पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृश्य कुँदिएको मूर्ति रहेको छ । नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीयवासी राकेश लामाले बताउनुहुन्छ । उहाँका अनुसार मेलामा यो वर्ष छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोट लगायतबाट सहभागिता रहने गर्दछ ।

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमाबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दीपङ्कर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । राजकुमारको जन्मघर काशीवर्ण महावीर अर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो । धेरैजसो बुद्धमार्गी भक्तजन पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ ।

सो गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रूखबिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता जन्तु पाइन्थ्यो । साथै, मयूर, हाँस, वनकुखुरालगायत पक्षी उक्त जङ्गलमा पाइने गरेकामा हाल पाइन छाडेको लामा बताउनुहुन्छ ।

केन्द्रीय राजधानी काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा नमोबुद्ध पर्दछ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेको छ । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर रहेको छ । यस पर्वतबाट ऐतिहासिक पनौतीलगायत हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिमशृङ्खला र पहाडी मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

यसैबीच नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन नगर कार्यालयले गत साल गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी काम अघि बढाइएको नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायत पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनका लागि सिसी टिभी क्यामेरासमेत जडान गरिएको छ ।

पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृङ्खलाहरु देख्न सकिन्छ । यस्तै ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहलसमेत थालिएको छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ ।

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

चितवन, २ मङ्सिर : स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको जनाएको छ ।

कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलका अनुसार सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति रहने छ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको पनि उपस्थिति रहने उहाँले जानकारी दिनुभयो ।

यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरुसहित विभिन्न दातृ निकायका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनुहुने कट्टेलले बताउनुभयो । उहाँका अनुसार शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । साथै जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ ।

कार्यक्रममा जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित तीन सय भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले जानकारी दिनुभयो । “विदेशी र स्वदेशी वैज्ञानिकहरुको प्रस्तुतीकरण रहने छ । कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै समूहगत छलफल थालिने छ”, उहाँले भन्नुभयो, “दोस्रो दिन समूहगत छलफल र प्राविधिक विषयगत प्रस्तुति तथा छलफल गरिने छ । अन्तिम दिन प्राविधिक तथा विषयक छलफलका साथै समापन गरिने छ ।”

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक, कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता रहने संयोजक कट्टेलको भनाइ थियो । उहाँका अनुसार यस प्रकारको महत्वपूर्ण सम्मेलन पहिलोपटक गर्न लागिएको हो । यसले नयाँ उपलब्धिहरुको आदानप्रदान गर्ने छ भने अनुसन्धानलाई सहयोग पुग्नेछ ।

गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, २ मङ्सिर : वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत हुनुहुन्छ ।

उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताउनुभयो । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उहाँले बताउनुभयो । आवश्यक प्रमाण सङ्कलन गरी भएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने छ ।

राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानविन गर्न समिति गठन गरिएको हो । गत बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै छ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा फेला पारिएका थिए । छ वर्षे गैँडा तीन दिन र १८ वर्षे गैँडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ ।

उक्त घटना सार्वजनिक भएसँगै सत्यतथ्य छानविनको माग गरिएको थियो । नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गरी घटनाको छानविन गर्न माग गरेको थियो । संरक्षण क्षेत्रमा लागेका व्यक्तिले पनि चिन्ता व्यक्त गर्दै छानविनको माग गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा र नेपालभर सात सय ५२ गैँडा छन् ।

भूकम्प : रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण सकियो

त्रिवेणी (रुकुम पश्चिम), २ मङ्सिर : जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा पहिलो चरणको राहत वितरण सकिएको छ । भूकम्प गएको भोलिपल्ट नै उद्धार सकिए पनि पहिलो चरणको राहत वितरण भने दुई सातापछि हिजो शुक्रबार मात्रै पूरा भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताउनुभयो ।

भूकम्पबाट प्रभावित जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित परिवारलाई त्रिपाल, कम्बल, सिरक, म्याट, चामल, दाल, नुन, तेललगायतका राहत सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मानवीय क्षति तथा भौतिक संरचनामा कम क्षति भएका मुसीकोट र चौरजहारी नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा पनि पहिलो चरणमा राहत वितरण सकिएको छ । अब स्थानीय तहबाट क्षतिको पूर्ण विवरण प्राप्त भएपछि विपद् व्यवस्थापन समितिको बैठकले गर्ने निर्णयअनुसार अस्थायी आवास निर्माण सुरु गरिने उहाँको भनाइ छ ।

“अबको आवश्यकता भूकम्पपीडितलाई अस्थायी टहरा निर्माण गरी सुरक्षित ठाउँमा स्थानान्तरण हो । सोही अनुसार काम गर्छौ”, उहाँले भन्नुभयो । उहाँका अनुसार स्थानीय तहलाई कार्यालयले भनेअनुसारको ढाँचामा क्षतिको विवरण सङ्कलन गरी पठाउन निर्देशन दिइसकिएको छ । केही व्यक्ति तथा संस्थाले आफ्नै पहलमा आठबिसकोट र चौरजहरी नगरपलिकामा अस्थायी टहरा निर्माण सुरु गरिसकेका छन् ।

मृतकका परिवारका नगद

भूकम्पमा ज्यान गुमाएका रुकुम पश्चिमका मृतकका परिवारलाई नगद वितरण गरिएको छ । सानीभेरी गाउँपालिकाका १० जना मृतकका परिवारलाई रु १६ लाख र आठबीसकोट नगरपालिकाका मृतकका ३७ जना मृतकका परिवारलाई रु ६१ लाख गरी कूल रु ७७ लाख नगद वितरण गरिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । बाँकीलाई कागजपत्र मिलेपछि राहत वितरण गरिने उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार सङ्घीय सरकारबाट प्राप्त रकमबाट मृतकका परिवारलाई नगद वितरण गरिएको हो । सरकारले प्रति मृतकका घरपरिवारलाई रु दुई लाखका दरले र एउटै घरमा एक जनाभन्दा बढीको मृत्यु भएकामा रु दुई लाख र थप रु एक लाखका दरले नगद उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा रु पाँच करोड रकम पठाएको थियो । जसमा रु ६७ लाख नगद राहत वितरण गरिएको छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण र पुनःस्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । रुकुम पश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो ।

चिसोबाट जागिन समस्या
भूकम्पमा परी घर भत्किएपछि रुकुम पश्चिम र जाजरकोटको अधिकांश प्रभावित अहिले त्रिपालको साहरामा रात काटिरहेका छन् । उनीहरुलाई खाना र बस्नसँगै चिसोबाट कसरी जोगिने भन्ने चिन्ता पनि उत्तिकै छ । चिसोकै कारण जाजरकोटमा पाँच जना भूकम्पपीडितको ज्यान गइसकेको छ ।

आठबीसकोट नगरपालिका–१३ हम्पाका लक्ष्मण शाही आफूसँगै धेरैलाई चिसोबाट मुस्किल परिरहेको बताउनुभयो । भूकम्पकै कारण उहाँले आमा, बहिनी, दुई भान्जा गुमाउनुभएको छ । उहाँहरुलाई गुमाउनुको पीडाबीच यतिबेला चिसोबाट आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ । “हामीलाई तत्कालका लागि घामपानीबाट बच्नका लागि सुरक्षित अस्थायी आवास चाहिएको छ, चिसोले रातको समयमा निद्रा पर्दैन, त्रिपालको साहरामा लामो समयका लागि विकल्प होइन”, उहाँले भन्नुभयो ।

सोही वडाका हरिबहादुर ओलीले पनि चिन्ता लक्षमणको जस्तै छ । “बालबच्चाको चिन्तासँगै पछिल्लो समय अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता पनि थपिएको छ”, उहाँले भन्नुभयो, “सरकारले चिसोबाट जोगाउन सुरक्षित बसोबासको वन्दोबस्त गरिदिए राम्रो हुन्थ्यो ।”

सानीभेरी गाउँपालिका-४ की कालिकादेवी मल्लले त्रिपालको भरमा बारीमा चिसो रात काट्दा समस्या भएको बताउनुभयो । “विनाशकारी भूकम्पबाट बाँच्न सफल भए पनि चिसोबाट जोगिन निकै मुस्किल भएको छ”, उहाँले भन्नुभयो ।

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, २ मङ्सिर : मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ । झन्डै नौ वर्षअघि देखि निर्माण सुरु भएको सो आयोजनामा भइरहेको अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइनको तारमुनिको जग्गाको मुआब्जा वितरणका लागि मात्रै रु पाँच अर्ब बराबरको बजेट आवश्यक रहेको छ । यस्तै, निर्माण व्यवसायीलाई थप रु पाँच अर्ब बराबरको बजेट आवश्यक देखिएको छ ।

यस आधारमा सो आयोजनाका लागि कूल रु १० अर्ब बराबरको थप बजेट आवश्यक देखिएको उहाँले जानकारी दिनुभयो । प्रसारण लाइनको दायाँ बायाँ ४६ मिटर रहने भएकाले पनि मुआब्जा बापतका लागि ठूलो बजेट जरुरी रहेको छ । अवरोधै अवरोधका कारण आयोजनालाई गति दिन समस्या पैदा भएको छ ।

आगामी चार महिनाभित्र सो प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गर्नैपर्ने बाध्यतामा प्राधिकरण रहेको छ । “जताततै समस्या छ, समाधानका लागि गरिएको प्रयाससमेत सार्थक हुन सकेको छैन”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “सप्तरी र सिरहामा नापी र मालपोत कार्यालयले समेत आवश्यक सहजीकरण नगरिदिएका कारण झनै समस्या पैदा भएको छ ।”

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा जोडिने प्रसारण लाइन १० वटा जिल्ला पार भएर जान्छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानको स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण ढिला भएको हो । स्थानीय अवरोध खुलाइ निर्माणका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल हुन सकिरहेको छैन ।

रणनीतिक महत्त्वको प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसक्दा कूल चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् धनुषास्थित ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा पश्चिमतर्फ पठाउन सकिएको छैन । अहिले ढल्केबरबाट पश्चिमतर्फ एक सय ३२ केभी प्रसारण लाइन मात्रै छ ।

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने दुई सय ८८ किलोमिटर प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये सात सय ५७ टावरको जग हालिएको छ भने सात सय ५० खडा गरिएको छ । रूख कटानको स्वीकृतिमा भएको ढिलाइ र स्थानीयको अवरोधका कारण बाँकी टावरहरुको निर्माण हुन सकेको छैन । सबै टावर खडा गरिसकेपछि ठेकेदार कम्पनीले तार तान्न सुरु गर्नेछ ।

हेटाँैडा उपमहानगरपालिका–१५, १६ र १७ स्थिति हटिया क्षेत्रका बासिन्दाको अवरोधका कारण निजी जग्गामा पर्ने १४ वटा टावरको निर्माण सुरु हुन सकेको छैन ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रसारण लाइन निर्माणमा भइरहेको प्रगतिका बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई आवश्यक समन्वय गरेर तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले स्थानीय सुरक्षाकर्मीको सहयोग लिन र प्रशासनसँग मिलेर काम गर्न निर्देशन दिनुभयो ।

स्थानीयहरुले प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै सामुदायिक वनमा पर्ने टावरसमेत निर्माण गर्न दिएका छैनन् भने निर्माण गरिएका दुईवटा टावर सार्न माग गरिरहेका छन् । उनीहरुले प्रसारण लाइन मानव बस्तीबाट नलगी जङ्गलबाट लैजानुपर्ने माग गरेका छन् । आयोजनाले भने सबै प्रक्रिया पूरा गरी डिजाइन गरिएकाले अहिले आएर रुट परिवर्तन गर्न नसकिने प्रस्ट पार्दै आएको छ ।

“माथिल्लो तामाकोशीको बिजुली ढल्केबरबाट पश्चिमतर्फ ल्याउन नसक्दा यता नपुग्ने उता खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न यो लाइन जतिसक्दो छिटो निर्माण गर्नुपर्ने छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

स्थानीयले सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर र सिरहाको लहान पडरिया क्षेत्रमा पनि प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् । हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३/२३ मिटर हुने छ । सो प्रसारण लाइन निर्माणपछि मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार सहज हुने अपेक्षा गरिएको छ ।

‘बुद्धले देखाउनुभएको शान्ति र शिक्षा अँगाल्नुको विकल्प छैन’ – मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), २ मङ्सिर : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विभिन्न जातजाति, धर्म र संस्कृतिमा धनी नेपालमा बुद्धले देखाउनुभएको शान्ति र शिक्षाको मार्गलाई अँगाल्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

बैदाम तामाङ सेवा समाजद्वारा पोखरा–६ को खहरेमा निर्माण गरिएको पेमा धेछेनलिङ गुम्बाको आज उद्घाटन गर्दै उहाँले अन्तिम सत्य शान्ति भएको विचार राख्नुहुँदै बुद्धले दिनुभएको सन्देश विश्वभर फैलिएको बताउनुभयो । “मानिस धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य शान्ति नै हो, बुद्धका सन्देशहरू नेपालमा मात्र नभएर विश्वमै फैलिरहेका छन्”, उहाँले भन्नुभयो ।

नयाँ पुस्तालाई संस्कार, संस्कृतिका साथै रीतिरिवाज हस्तान्तरण गर्दै सयौँ वर्षदेखि कायम सामाजिक सद्भाव अझ बलियो बनाउन आवश्यक भएको उहाँको भनाइ थियो । “बुद्धले विश्वमा जसरी शान्तिको सन्देश फैलाउनुभयो, त्यसरी नै हामी सबै नेपालीले शान्तिको बाटो अँगाल्दै अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

रु दुई करोड ७५ लाखको लागतमा निर्माण गरिएको गुम्बामार्फत विदेशी तथा स्वदेशी पर्यटकको बसाइ लम्ब्याउने विश्वास लिइएको बताउँदै मुख्यमन्त्री पाण्डेले यसै गुम्बामा हुने बुद्ध मार्गका प्रवचनले विश्वमा शान्तिको सन्देशसमेत पुग्ने बताउनुभयो ।

सो अवसरमा बैदाम तामाङ सेवा समाजका अध्यक्ष गौबहादुर (ज्याक) तामाङ, बुद्ध जयन्ती समारोह कास्कीका अध्यक्ष चन्द्रबहादुर गुरुङ, तामाङ घेदुङ सङ्घका पूर्वअध्यक्ष धनप्रसाद तामाङ, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले भनाइ राख्नुभएको थियो ।

गुम्बामा मङ्सिर २ देखि ९ गतेसम्म प्रज्ञा पारामिता त्रिपिटक कङ्ग्युर वाचन, विश्व शान्ति पूजा, गुम्बाको प्राण प्रतिष्ठालगायतका पवित्र काम हुने छ । देश विदेशबाट जम्मा हुनुभएका एक सय आठ लामा धर्मगुरुले लगातार आठ दिनसम्म कङ्ग्युर पाठपूजा गर्नुहुनेछ । सो गुम्बामा २८ फिट अग्लो अमिताभ बुद्धको प्रतिमा राखिएको छ ।

परराष्ट्रमन्त्रीद्वारा शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवन उद्घाटन

कञ्चनपुर, २ मङ्सिर : एसियाली विकास बैंकको ऋण सहयोगमा निर्मित शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवनको आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गर्नुभएको छ ।

त्यस अवसरमा मन्त्री साउदले नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाका रूपमा विकास गर्न सम्बद्ध अधिकारीहरू लाग्नुपर्नेमा जोड दिनुभयो । सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय हो भन्नुभयो ।

फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताउनुभयो ।

भवन रु १० करोडको लागतमा निर्माण भएको हो । भवनको भुइँतलामा ३१ वटा र पहिलो तलामा १९ गरी जम्मा ५१ वटा कोठा छन् ।

चुनावमा मत बिक्री भएमा राजनीति स्थिर हुन्न : सांसद यादव

काठमाडौँ, २ मङ्सिर : जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादव मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको प्रतिक्रिया दिनुहुन्छ । उहाँ आफ्नो एकबर्से कार्यकालको समीक्षा गर्दै देश र जनताका जल्दाबल्दा विषयमा प्रखररूपमा आवाज उठाउनुपर्नेमा सदनलाई राजनीतिक दलले सरकार बनाउने तथा गिराउने खेल मैदानका रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउनुहुन्छ ।

‘सांसदसँग रासस संवाद’ मा नेत्री यादवले भन्नुभयो, “संसद्को मुख्य काम कानुन निर्माण गर्ने भए पनि यसलाई राजनीतिक दलले एकार्कालाई आरोपप्रत्यारोप गर्ने थलो बनाए । देशका ज्वलन्त विषय उठाउनेलाई भन्दा नेताका नाममा अरूको आलोचना गर्नेलाई सदनमा धेरै समय दिइन्छ, यो धेरै दुःख लाग्ने विषय हो ।”

सांसद यादवले आफूहरु ऐन बनाउने मुख्य जिम्मेवारी लिएर आएकाले सदनमा सबैको भूमिका बराबर हुने पक्षलाई हेक्का गरी समयको पाबन्दी पनि एउटै हुनुपर्छ भन्ने मान्यता रहेको पनि सुनाउनुभयो । विसं २०४७ मा नेपाल सद्भावना पार्टीमा आबद्ध भई राजनीतिमा प्रवेश गर्नुभएकी नेत्री यादव युवा र महिला मञ्च हुँदै २०६४ सालमा मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभयो । मोरङबाट पार्टीको महिला फोरमको केन्द्रीय सदस्य र राजनीतिक समिति सदस्य हुँदै हाल उहाँ जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र राजनीतिक समिति सदस्य हुनुहुन्छ ।

मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिनुभएकी सांसद यादवका ‘आत्मजा’ नेपाली उपन्यास तथा हिन्दी कवितासङ्ग्रह ‘धीरे से’ (नेपाली अनुवाद कृति ‘सुस्तरी’) र ‘तुम बिन’ प्रकाशित छन् । सङ्घीय सांसद यादवले भन्नुभयो, सदनमा जनताका आवाज राख्दै गर्दा तीन मिनेटमै हाम्रो माइक काटिन्छ, तर अर्काको आलोचनामै केन्द्रित बेकारको भाषण प्रस्तोतालाई घन्टौँ समय दिइन्छ । सदनलाई जुहारी खेल्ने होइन, ऐनकानुन बनाउने थलोका रूपमा प्रयोग गरिनुपर्छ । भाषणको बाहुल्यले सदनका दुवै अधिवेशन धेरै उपलब्धिमूलक हुन सकेन ।”

भूकम्पलगायत प्राकृतिक विपद्को सामना गर्न चालिएका कतिपय कदम औचित्यपूर्ण हुन नसकेको उल्लेख गर्दै सांसद यादवले युवा र विद्यार्थीको विदेश पलायन रोक्न प्रभावकारी कार्ययोजना आउन नसकेको तथा विकास निर्माण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा गएको एक वर्ष फलदायी हुन नसकेको प्रतिक्रिया दिनुभयो । शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण र बेपत्ता आयोगसम्बन्धी विधेयक पनि लामो समयदेखि अड्किरहेकाले अब छिटो टुङ्ग्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद यादवका अनुसार आफूहरु संलग्न नभए पनि कतिपय विषयमा भ्रष्टाचारको भागीदारको आरोप खेप्न परिरहेको छ । अनियमितता र भ्रष्टाचार मौलाउनमा राजनीतिसँगै कर्मचारीतन्त्र पनि त्यतिकै दोषी भएको उहाँको भनाइ छ । नेताहरूलाई ओहदामा पुग्नासाथ भ्रष्टाचारका लागि बाटो देखाउन कार्यालय सहयोगीदेखि सचिवसम्मको भूमिका रहने गरेको छ । आफूले संसद्मा नागरिकतासहित जनसरोकारका सवालमा निरन्तर आवाज उठाइरहेको जिकिर गर्दै सांसद यादवले भन्नुभयो, “नागरिकता विधेयक सदनबाट पास भयो, कानुन पनि बन्यो । कार्यान्वयनमा भने अझै केही जटिलता र झन्झट देखियो । उदाहरणका लागि अझै पनि महिलाले सन्तानलाई आफ्ना नामबाट नागरिकता दिन पाएका छैनन् ।”

आफू र आफ्नो राजनीतिक दल समानुपातिक निर्वाचन प्रणालीको पक्षधर भए पनि सदुपयोग नहुँदा परिवारवाद र समूहमा सीमित बन्न पुगेको उदाहरण प्रस्तुत गर्दै समानुपातिक सांसद यादवले प्रत्यक्ष निर्वाचनमा पनि जनताले अब कस्तो व्यक्तिलाई जिताउने भनी मनन गर्ने बेला आइसकेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “जनता पनि चुनावका बेला व्यक्ति होइन, खल्ती हेर्छन् । समस्या त्यहाँनेर हो । यहाँ निष्ठाको राजनीति गर्नेको जमानत जफत हुन्छ, पैसावालले चुनाव जित्छ । त्यसैले जनता नै पहिला इमान्दार हुनुपर्छ ।”

पैसाका बलमा चुनाव जित्नेको प्रस्तुति पनि सोहीस्तरकै हुने गरेको उदाहरण दिँदै सांसद यादवले ‘सहयोग गर्छु’ भनेर आउने व्यक्ति वा संस्थासँग पनि कमिसन खोज्ने प्रवृत्ति मौलाएको बताउनुभयो । नेत्री यादवले हरेक सङ्घ संस्थामा राजनीतिकरण भएकै कारण मुलुकका उद्योग र कलकारखाना बन्द हुँदा बेरोजगारी समस्या ह्वात्तै बढेको प्रतिक्रिया दिनुभयो । स्वतन्त्र अदालतसहित न्यायालयमा समेत राजनीतिको चर्काे प्रभाव र दबाब देखिएको विचार प्रकट गर्दै उहाँले कर्मचारी, प्रहरी प्रशासन र निर्वाचन आयोगसमेत राजनीतिबाट टाढा रहन नसकेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “वडा कार्यालयमा निःशुल्क लेखिदिनुपर्ने निवेदनमा पनि कर्मचारीले ठूलो रकम लिने गरेको देखिएको छ । यो भ्रष्टाचारको एउटा नमूना हो, यस्ता काममा सरकारी कर्मचारीबाटै अतिरिक्त रकम असुल्ने प्रवृत्ति जताततै देखिन्छ ।”

विद्यार्थीलाई उच्च शिक्षा दिने नारा लगाइए पनि त्यसपछिको रोजगारीका पाटामा ध्यान नपु¥याइँदा लर्काे लागेर छोरानाति विदेशिन बाध्य भएको उल्लेख गर्दै नेत्री यादवले छोराछोरी विदेश जाँदा गौरव गर्ने नेपाली समाजले पनि पलायनलाई मलजल गरिरहेको प्रतिक्रिया दिनुभयो ।

सांसद यादवले भन्नुभयो, “बाँकी उद्योगधन्दा पनि क्रमशः बन्द हुँदैछन् । देशको अर्थतन्त्र हामी आफैँले सङ्कटमा पु¥यायौँ । युवाको माइन्ड र मसललाई प्रयोग गर्न सकेनौँ, अनि यहाँ मनी कसरी आउँछ ? यसमा राज्यकै दोष छ ।”

जातीय विभेदविरुद्ध छठ

एक प्रसङ्गमा सांसद यादवले विगतमा मधेस र मधेसी समुदायमा सीमित छठ अहिले हिन्दू, मुसलमान, बौद्धमार्गीसहित सबै धर्मावलम्बीको साझा बनेको र आपसमा सद्भाव, सम्बन्ध र मेलमिलाप गाँस्ने पर्वका रूपमा मुलुकभर फैलँदै गएकामा खुसी व्यक्त गर्नुभयो ।

साहित्यकार यादवले भन्नुभयो, “छठ मनाउने क्रममा सवै जातजाति र समुदाय जलाशयमा सँगसँगै उभिएर सूर्यलाई अघ्र्य दिने, पूजार्चना र प्रसाद वितरण गर्ने प्रचलनबाट जातीय विभेद र छुवाछूतलाई समेत अन्त्य गर्न ठूलो सहयोग पुग्दैआएको छ ।”

छठले जलाशयमा सामूहिक उभिन र एकार्काबीचमा घुलमिल हुन सहयोग गरेको पक्षलाई राज्य र नेताहरूले पनि अनुशरण गर्नुपर्ने सुझाव दिँदै उहाँले भन्नुभयो, “छठले हामीबीच सद्भाव र प्रेम बढाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्छु ।”

महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित

काठमाडौँ, २ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो ।

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् ।

एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् ।

बलिङतर्फ नेपालकी अश्मिना कर्माचार्यले चार, सङ्गिता राईले तीन तथा पूजा महतो दुई विकेट लिइन् ।

नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्ने छ ।

महिला टी–२० सिरिज : जापानसामु ११४ रनको लक्ष्य

काठमाडौँ, २ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ । नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको छ ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको हो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् । अहिले जापानले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा जापानले आठ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६ रन बनाएको छ । बलिङतर्फ नेपालकी पूजा महतो र अश्मिना कर्माचार्यले दुई दुई तथा सङ्गिता राईले एक विकेट लिएकी छिन् ।

अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए

गण्डकी, २ मङ्सिर : कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोज महिनापछि कात्तिकमा सबैभन्दा बढी पर्यटकले ‘एक्याप’ घुमेका छन् । वैशाखमा ३१ हजार नौ सय ५१ र असोजमा २८ हजार सात सय पाँच पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । सबैभन्दा कम साउनमा पाँच हजार चास सय एक पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेको ‘एक्याप’ प्रमुख डा कडरियाले बताउनुभयो ।

गत वैशाखदेखि कात्तिकसम्ममा एक लाख २५ हजार पाँच सय ३४ पर्यटकले ‘एक्याप’को भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा ९५ हजार नौ सय ११ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका थिए । अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा अहिले बढेको उहाँले बताउनुभयो ।

“कोभिड–१९ महामारीताका सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले विस्तारै पुरानै लय पछ्याउँदै छ”, प्रमुख डा कडरियाले भन्नुभयो, “दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आगमन अझ बढ्ने देखिन्छ ।” ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक ‘एक्याप’ भित्रने गरेको उहाँले बताउनुभयो ।

“आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्ने पर्यटकको सङ्ख्या उल्लेख्य छ”, उहाँले भन्नुभयो, “नेपालीहरु घुम्न निस्कने मुख्य याम पनि यही हो, विशेष गरी युवामा घुम्ने क्रेज बढ्दो छ ।”

अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको प्रमुख डा कडरियाले बताउनुभयो । उहाँका अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।

हालै नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्नुले पनि यस क्षेत्रको महत्व थप चुलिएको छ । त्यस बखत उहाँले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भूत रहेको बताउनुभएको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो ।

“कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ”, प्रमुख डा कडरियाले भन्नुभयो, “आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।”

मुख्य पर्यटकीय याम (असोज–कात्तिक) र (चैत–वैशाख) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको गुरुङले बताउनुभयो । गुरुङले विदेशी पर्यटकसहित यो याममा मर्दी आधार शिविर र घोडेपानी हुँदै मुक्तिनाथसम्मको पदयात्रा गर्नुभएको थियो । “रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि अन्नपूर्ण संरक्षण क्षेत्र उत्कृष्ट छ”, उहाँले भन्नुभयो ।

गैँडा मारेको घटना छानविन गर्न माग

चितवन, २ मङ्सिर : नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको घटनाको छानविन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ ।

“गैँडा मारेको घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र निकुञ्ज क्षेत्रको सम्पूर्ण सुरक्षाको वातावरण तयार गर्न गम्भीर ध्यानाकर्षण गराउँदछौँ”, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । गैँडा तस्करले दसैँ तिहारको बीचमा तस्करी गर्नु अत्यन्तै शङ्कास्पद घटनाको रूपमा लिएको विज्ञप्तिमा भनिएको छ ।

“योजनाबद्ध रूपबाट गल, गैची र कोदालोजस्ता घरेलु हरियारको प्रयोग गरी खाडल बनाई गैँडालाई धरापमा पारिएको घटना नियोजितपूर्ण छ”, विज्ञप्तिमा उल्लेख छ ।

दुर्लभ एक सिङ्गे गैँडाको प्रमुख वासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा घटेको यस प्रकारको घटनाले राष्ट्रिय निकुञ्ज र निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षा र निकुञ्जको सुरक्षाको जिम्मा लिएको प्रशासनमाथि नै प्रश्न चिह्न खडा भएको विज्ञप्तिमा उल्लेख छ । सशस्त्र द्वन्द्वकालमा भएका गैँडा तस्करीको घटनालाई बिर्साउने गरी भएको पछिल्लो घटनाले पर्यावरण तथा प्रजाती संरक्षणमा समेत विश्वसामु नेपालको साख धमिलो भएको विज्ञप्तिमा भनिएको छ ।