`

गैँडा मारेको घटना छानविन गर्न माग

चितवन, २ मङ्सिर : नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको घटनाको छानविन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ ।

“गैँडा मारेको घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र निकुञ्ज क्षेत्रको सम्पूर्ण सुरक्षाको वातावरण तयार गर्न गम्भीर ध्यानाकर्षण गराउँदछौँ”, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । गैँडा तस्करले दसैँ तिहारको बीचमा तस्करी गर्नु अत्यन्तै शङ्कास्पद घटनाको रूपमा लिएको विज्ञप्तिमा भनिएको छ ।

“योजनाबद्ध रूपबाट गल, गैची र कोदालोजस्ता घरेलु हरियारको प्रयोग गरी खाडल बनाई गैँडालाई धरापमा पारिएको घटना नियोजितपूर्ण छ”, विज्ञप्तिमा उल्लेख छ ।

दुर्लभ एक सिङ्गे गैँडाको प्रमुख वासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा घटेको यस प्रकारको घटनाले राष्ट्रिय निकुञ्ज र निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षा र निकुञ्जको सुरक्षाको जिम्मा लिएको प्रशासनमाथि नै प्रश्न चिह्न खडा भएको विज्ञप्तिमा उल्लेख छ । सशस्त्र द्वन्द्वकालमा भएका गैँडा तस्करीको घटनालाई बिर्साउने गरी भएको पछिल्लो घटनाले पर्यावरण तथा प्रजाती संरक्षणमा समेत विश्वसामु नेपालको साख धमिलो भएको विज्ञप्तिमा भनिएको छ ।

महिला टी–२० सिरिज : जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

काठमाडौँ, २ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ । यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् ।

युक्रेनले ईयुमा अनाज निर्यातका लागि ‘ड्राइ पोर्ट’ निर्माण गर्ने

युक्रेनले युरोपेली संघ (ईयु) मा अन्न निर्यात बढाउन पश्चिमी जाकारपट्टिया क्षेत्रमा “सुक्खा बन्दरगाह” निर्माण गर्ने भएको छ । होरोन्डा गाउँमा बनाइने मल्टिमोडल लजिस्टिक हब, होरोन्डा प्लेटफर्म, इटालियन लगानीकर्ताहरूले कार्यान्वयनमा ल्याउने छन् । जाकरपट्टिया क्षेत्रीय राज्य प्रशासनले फेसबुकमा विज्ञप्ति जारी गर्दै यस बारे जनाकारी गराएको हो ।

“सुक्खा बन्दरगाह” मा गोदामहरू, अन्न र सूर्यमुखी तेलका लागि कन्टेनरहरूका साथै युक्रेनी ब्रोड-गेज रेलवेबाट युरोपेली न्यारो-गेज रेलवे लाइनहरूमा सामानहरू पुन: लोड गर्ने पूर्वाधार लगायतका संरचनाहरू निर्माण गरिनेछन् ।

ब्ल्याक सी अनाज सम्झौता निस्प्रभावी भएपछि कीभले वैकल्पिक मार्गहरू मार्फत आफ्नो देशमा उत्पादित अन्न र अन्य सामानहरूको निर्यात बढाउन विभिन्न प्रयास गरिरहेको छ।युक्रेनले जुन ३० मा समाप्त भएको सन् २०२२-२०२३ मार्केटिङ वर्षमा करिब ५८ मिलियन टन अन्न र तैलीय पदार्थ निर्यात गरेको युक्रेनी ग्रेन एसोसिएसनले जनाएको छ।

नोभेम्बर २० देखि २९ सम्म पाँचौं शाङ्घाई सहयोग सङ्गठन (एससीओ) सुरक्षा मञ्चको बैठक चीनमा

चीनको रक्षा मन्त्रालयले नोभेम्बर २० देखि २९ सम्म पाँचौं शाङ्घाई सहयोग सङ्गठन (एससीओ) सुरक्षा मञ्चको बैठक आयोजना गर्ने भएको छ ।मन्त्रालयले शुक्रबार जनाएअनुसार कार्यक्रममा एससीओ सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्रहरू र संवाद साझेदार देशहरूका रक्षा अधिकारीहरू, विशेषज्ञहरू र विषयविज्ञहरू उपस्थित हुने छन्।

तीन विश्वव्यापी पहलहरू र क्षेत्रीय रक्षा र सुरक्षा सहयोगको निकटका सम्बन्धित विषयवस्तु समावेश गरिने बैठकमा विशेषज्ञ व्याख्यान, छलफल र निकट भ्रमणहरू समावेश हुने छन् । यसको उद्देश्य सहभागी देशका सेनाहरूबीच आपसी समझदारी र विश्वास बढाउने, एससीओ ढाँचाभित्र रक्षा र सुरक्षा सहयोगलाई गहिरो बनाउनका लागि हवकम्बन गरिने उपायहरू सामूहिक रूपमा अन्वेषण र विचार-विमर्श गर्ने र साझा भविष्यका लागि एससीओ समुदायको निर्माणमा सकारात्मक रूपमा योगदान गर्ने लक्ष्य राखिएको छ।

छठ पर्व : सबैको मन जोड्ने सेतु

धनुषा : केरवा ज फरल घउरस वोपर सुगा मडराय ।
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।

अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ ।

अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको आज खरना मनाइँदैछ । छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।

आज पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । जनकपुरधाम किशोरी नगरकी एक बर्तालु ज्योति झा बताउनुहुन्छ, “खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ ।”

प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीर लिने चलन छ । खरना विधिको सन्दर्भमा महेन्द्रनगरकी ७५ वर्षीया गीता झा भन्नुहुन्छ, “आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।”

षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरीन्छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ६५ वर्षीया सङ्गीतादेवी यादवले छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गए अनिष्ट हुने जनविश्वास छ ।” यस दिन जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने गरिन्छ ।

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिने पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याउँछन् र प्रातःकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ । पण्डित लालबाबु झाका अनुसार अघ्र्य दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन छ ।

जनकपुरका वरिष्ठ पत्रकार तथा मैथिली साहित्यकार रामभरोस कापडी भन्नुहुन्छ, “सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड हो छठ ।” छठ पूजाका लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरी सिङ्गारिएको छ ।

श्रद्धालुले जनकपुरधामको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन् । दीपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी सुरु हुन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

अहिले तराई मधेसका हाट, बजार, सडक र गल्ली छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीबाट सजिएका छन् । उखु, केराउ, अदुवा, केरा, मुलालगायतका कृषिउपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खीर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले यहाँको भान्छा, भूमिसँग जोडिएको जनजीविका र जनस्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइ रहेको हुन्छ ।

छठ पर्वका लागि माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा डोम जातिले बुन्छन् । डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपली, छैटी, बेना (हाते पङ्खा) छठ पर्वका लागि नभई नहुने हस्तकला सामग्री हुन् । यसरी सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुला सङ्ग्रहालयकै काम गरिरहेको प्रतीत हुने समाजशास्त्री नागेन्द्र दुबे बताउनुहुन्छ । समाजशास्त्री दुबेका अनुसार छठ पर्वमा जात, धर्म, क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी फरक फरक समुदायका अनुहार जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेको हुन्छ ।

“मूलरुपमा मधेसी समुदायको मुख्य पर्वका रुपमा मानिँदै आएको यस पर्वमा सिउँदोदेखि नाकको टुप्पासमेत ढाकिने गरी सिन्दूर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहणी उल्लेख्यरुपमा देख्दा समाजको मीठो तस्वीरले जोकोहीको मन छुुन्छ”, मैथिली संस्कृतिका जानकार तथा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल बताउनुहुन्छ ।

अर्थशास्त्री डा सुरेन्द्र लाभका अनुसार रोजगारीको ठूलो बजार मानिएको सङ्घीय राजधानी काठमाडौँबाट दसैँ मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठ पर्वलाई नै मुख्य पर्व मान्ने तराईवासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेका हुन्छन् । उहाँले भन्नुभयो, “जब दसैँ मान्ने सबैतिरबाट काठमाडौँ फर्किन्छन् तब कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागि तराई मूलका व्यापारी, कर्मचारी, मजदुर, विद्यार्थी पोकोपन्तरो कसेर घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन् ।” सामाजिक विविधताले भरिएको हाम्रो समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले ओलम्पिक खेलमा झैँ यसरी नै यात्रालाई निरन्तरता दिइरहेको उहाँको कथन छ ।

तराईवासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको यस छठ पर्व अहिले पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ । यस पर्वको अर्को विशेषताको रुपमा सबै जातजाति, ठूला साना, धनी, गरिब सबै एकै ठाउँमा जम्मा भएर पूजाअर्चना गर्नु पनि हो । यस कारण वर्षौंसम्म भेटघाट नभएका बोलचाल नभएकासँग पनि भेटघाट तथा वार्तालाप हुने हुन्छ । तसर्थ छठ पर्व सबैको मन जोड्ने सेतुको रुपमा मान्न सकिन्छ ।

जाडो छल्न नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगे चरा

बेलबारी, २ मङ्सिर : जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ ।

कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख्या घट्दो क्रममा रहेको प्रमुख गौतम बताउनुहुन्छ ।“नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैन”, बर्ड वाचिङ क्याम्प कोशीटप्पुका सञ्चालक कुरमान मन्सुरीले भन्नुभयो, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।” उहाँका अनुसार कोशीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ ।वातावरण पत्रकार एवं उपप्राध्यापक रामचन्द्र अधिकारीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा हेर्न पाइन्छ । बेतना सिमसारमा ४९ प्रजातिका चरा रहेको तथ्याङ्क छ । यसमा ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा रहेको अधिकारीले जानकारी दिनुभयो । “कोशीटप्पुमा आउने प्रायःजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्, मङ्सिरदेखि फागुनसम्म नेपाल बाहिरबाट आउने चरा यहाँ बस्ने गरेको पाइएको छ”, उहाँ बताउनुहुन्छ ।उत्तरी धुर्वमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ चरा बसाइँसरी आउने गर्छन् । बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्छन् ।जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् । जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि भएको कोशी संरक्षण केन्द्रका प्रमुख गौतम बताउनुहुन्छ ।

जाजरकोट भूकम्प: पैतालिस स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट – जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ ।

दसैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ आंशिक गरी २४ वटा र सल्ल्यानमा तीन वटा पूर्ण क्षतिसहित कूल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति भएको छ । स्वास्थ्य संस्थामा भएको क्षतिको आकलन भइरहेकाले यो सङ्ख्या बढ्ने जनाइएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि सेवा प्रवाहमा समस्या भएको छ । भवनमा क्षति भएकामा अस्थायी रूपमा त्रिपाल राखेर स्वास्थ्य सेवा प्रवाह गरिएको निर्देशक खड्काले राससलाई बताउनुभयो ।

दुई सय आठ विद्यालयमा क्षति

भूकम्पबाट दुई सय आठ विद्यालयमा पूर्ण क्षति भएको छ । करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएका जनाइएको छ । जाजरकोटमा एक सय ७३ र रुकुमपश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी पाँच सय ८१ र रुकुमपश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा दुई सय आठ पूर्ण र चार सय १८ आंशिक तथा रुकुमपश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति भएको बताउनुभयो ।

भूकम्पबाट जाजरकोटमा २२ हजार सात सय ५९ र रुकुम पश्चिममा १७ हजार तीन सय ५१ गरी कूल ४० हजार एक सय १० विद्यार्थी प्रभावित भएका उक्त मन्त्रालयले जनाएको छ
मनोविमर्शकर्ता परिचालन

भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुमपश्चिमका गरी ३३ मनोविमर्शकर्ता परिचालन गरेको छ । जाजरकोटमा २१ र रुकुमपश्चिममा १३ मनोविमर्शकर्ता परिचालन गरिएको हो ।

फरार अभियुक्त तीस वर्षपछि पक्राउ

महेन्द्रनगर (कञ्चनपुर) – तीस वर्षदेखि फरार रहेका अभियुक्त शुक्रबार कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ ।

दक्षिण एसियाली कराते हुँदै

काठमाडौँ – नेपाल कराते महासङ्घको आयोजनामा सातौंँ दक्षिण एसियाली कराते च्याम्पियनसीप यही मङ्सिर १६ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा दक्षिण एसियाका छ राष्ट्रको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासङ्घका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव युवराज लामाले जानकारी दिनुभयो । दुई दिने उक्त प्रतियोगितामा आयोजक नेपालसहित बङ्गलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा क्याडेट, जुनियर, यु–२१ र सिनियर गरी चार विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासङ्घका महासचिव दावा गुरुङले जानकारी दिनुभयो । । क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ ।

सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । नेपाली खेलाडीको प्रशिक्षणका लागि छ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको छ । कुमुते टोली गोकर्णेश्वरस्थित शङ्खडोल कराते एकेडेमी तथा काता टोली बौद्ध डोजामा प्रशिक्षणरत छन् । अध्यक्ष लामाले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउँदै प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लामाले प्राविधिक रुपमा यो प्रतियोगिता बङ्गलादेशले आयोजना गर्नुपर्नेमा बङ्गलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराते महासङ्घ (एकेएफ) ले पनि स्वीकृति दिएको बताउनुभयो । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड १० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

नेपाली युवाको श्रम गन्तव्यमा पहिलो रोजाइ युएई

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार ४९२ युवा श्रमका लागि युएई पुगेका छन् । यसमा ७ हजार १५ महिला र ३० हजार ४७७ पुरुष छन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको विभागको तथ्यांकले देखाएको छ । यस तथ्यांकमा श्रम स्वीकृति नलिएका महिलाको गणना छैन । दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ । घरेलु कामदारका रूपमा पनि काम पाउने भएपछि उनीहरू त्यसरी जाने गरेका हुन् ।

अग्ला भवन, मरुभूमि, तेल र पर्यटनका लागि परिचित युएई संसारका केही विकसित देशमध्ये एक हो । यसको तीव्र रूपमा बढेको आर्थिक गतिविधिले नेपालीलाई श्रमका निम्ति स्वागत गर्ने गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

‘जलवायु परिवर्तनका मानवताका लागि गम्भीर चुनौती’:प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताउनुभएको छ । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार वहन गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो “विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले यस क्षेत्रमा बसोबास गर्ने लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको छ । निर्धारित लक्ष्यलाई समयसीमामा पूरा गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ ।”

दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्रीले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धताका साथ नेपालले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपाय अवलम्बन गरेको तथा हरियालीलाई प्रवद्र्धन गर्दै सन् २०४५ सम्ममा नेट जिरो शून्य उत्सर्जनमा पुग्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रधानमन्त्रीले विश्व समुदाय कोभिड– १९ महामारी, जलवायु परिवर्तन र गहिरो भूराजनीतिक जटिलताबाट उत्पन्न अभूतपूर्व सङ्कटको सामना गरिरहेको अहिले अवथाबारे स्पष्ट पार्दै त्यसबाट खाद्य, पोषण, स्वास्थ्य शिक्षा, अर्थव्यवस्था, वातावरण, शान्तिसुरक्षामा प्रभाव पारेको बताउनुभयो । उहाँले विकासोन्मुख देश त्यसमा पनि विशेषगरी अल्पविकसित देशहरु त्यसखालको सङ्कटबाट सबैभन्दा बढी प्रभावित भएको यथार्थ सुनाउनुभयो । खाद्यान्न र ऊर्जाको बढ्दो मूल्य, कठोर आर्थिक अवस्था र कमजोरीको निरन्तर चक्रले थप चिन्तित बनाएको प्रधानमन्त्रीले बताउनुभयो ।

ग्लोबल साउथका धेरै देश ऋणको बोझमा परेका कारण स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य महत्वपूर्ण राष्ट्रिय प्राथमिकतामा लगानीका लागि दबाबमा परेका प्रधानमन्त्रीले बताउनुभयो ।

विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्छ भन्ने आफूहरुको विश्वास रहेको प्रधानमन्त्रीकोे भनाइ थियो । आपसी विश्वास, साझेदारी, सहकार्य प्रवद्र्धन र एकताका साथ काम गर्नु अत्यावश्यक भएकामा उहाँले जोड दिनुभयो । ग्लोबल साउथले गरिबी उन्मूलन गर्न र आफ्ना मानिसलाई सुसंस्कृत जीवनका लागि पनि उचित हिस्साको जरुरी रहेको प्रधानमन्त्रीको कथन थियो ।

संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो– “हामी विश्वास गर्छौ कि विद्यमान विश्वव्यापी शासन संरचनामा सान्दर्भिक र आजको वास्तविकतालाई प्रतिबिम्बित गर्न समयसापेक्ष सुधार आवश्यक छ ।” उहाँले कमजोर र अल्पविकसितलगायत विशेष परिस्थितिमा रहेका देशको आवाजलाई पूर्ण रूपमा ध्यान दिएर अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले सन् २०२६ सम्ममा नेपाल अल्पविकसित देशको सूचीबाट स्तरोन्नती हुने चरणमा पुग्ने र यो प्रक्रियालाई थप सहज, दिगो र अपरिवर्तनीय बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । दिगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रिय नीति र योजनामा एकीकृत गर्दै अगाडि बढ्ने ध्येयका साथ विकासका दृष्टिकोण र प्राथमिकतालाई केन्द्रमा राखिएको जानकारी दिँदै प्रधानमन्त्रीले हालसम्म हासिल भएको प्रगति पनि विश्वव्यापी सङ्कटका कारण एक प्रकारको चुनौती थपिएको बताउनुभयो ।

प्रधानमन्त्रीले हाम्रा साझेदारबाट विकास सहायता, प्रत्यक्ष वैदेशिक लगानी, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोगजस्ता अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरिरहेको बताउनुभयो । विकासोन्मुख देशहरूको साझा लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भारतलाई सफल रुपमा जी २० को अध्यक्षता गरेकामा हार्दिक बधाई ज्ञापन गर्नुभयो । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भ्वाइस अफ ग्लोबल साउथ’को यो महत्वपूर्ण दोस्रो शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गर्नुभएकोमा कृतज्ञता ज्ञापन गर्नुभयो ।

चितवनमा जुवाको खालबाट ८० जना पक्राउ

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरुबाट रु पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ । उनीहरुबाट रु तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो । उनीहरु धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन् । उनीहरुबाट रु दुई लाख ३० हजार चार सय ४२ बरामद गरिएको थियो ।

सिटीईभीटीको सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।

मन्त्रालयले आवेदक मध्येबाट छानिएका आठ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्धन शाखाका अनुसार उनीहरूलाई मङ्सिर ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय गरिएको छ ।

सदस्यसचिवको छोटो सूचीमा परेकामा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, टेकबहादुर मल्ल, नलराम देवकोटा, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य परेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्राधिकरणको टिकटकलाई जवाफ – प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्नुहोस्

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन् ।

उनका अनुसार टिकटकका तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय का सन्दर्भमा आएको जिज्ञासासहितको पत्रको जवाफ दिँदै निर्णय कार्यान्वयन गर्न सहयोग गरिदिन आग्रह गरिएको बताए।

कात्तिक २७ गते मन्त्रीपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्राधिकरणलाई पत्र लेख्दै टिकटकले आफ्नो प्ल्याटफर्ममाथि प्रतिबन्ध गरिएको विषयमा जिज्ञासा राखेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सबै अदालतलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन

काठमाडौँ- राष्ट्रिय सूचना आयोगले हरेक तीन–तीन महिनामा सार्वजनिक गर्नुपर्ने सूचना देशभरका अदालतलाई प्रकाशन गर्न र सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।
आयोगको गत कात्तिक २४ गतेको बैठकले प्रत्येक तीन–तीन महिनामा गर्नु पर्ने स्वतः प्रकाशन गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमार्फत सबै अदालतलाई सूचनाको हकसम्नधी ऐनअनुसार उक्त निर्देशन दिएको हो ।

आयोगले सूचना अधिकारी तोक्न वा स्वतः प्रकाशन हुन बाँकी रहेका सूचना सार्वजनिक गर्न,अदालतहरुमा सूचना अधिकारी तोकी निजको नाम र सम्पर्क नम्बर तथा इमेल सार्वजनिक गर्न निर्देशन दिएको हो

हालै सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको सम्मेलनका क्रममा कतिपय अदालतमा कानुन बमोजिम तोकिनुपर्ने सूचना अधिकारी नतोकिएको र स्वतः प्रकाशन गर्नपर्ने सूचना सार्वजनिक नभएपछि आयोगले उक्त निर्देशन दिएको हो ।

सजाइँदै राजधानीका छठ घाट, गौरीघाट–गुह्येश्वरी क्षेत्रमा झिलीमिली

काठमाडौँ-पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म दीपावलीअघिदेखि नै झिलीमिली बत्तीले उज्यालो बनाइएको छ । तिहारको उज्यालो छँदैथियो यसवर्षदेखि छठलक्ष्यित दीपावली पनि यस क्षेत्रमा थपिएको छ ।

वाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गर्ने गरी तयारी गरिएको छठ पूजा समिति, गुह्येश्वरीले जनाएको छ । छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाउने तयारी गरिएको हो । प्रत्येक वर्ष छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ ।यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गर्न लागिएको छ । जहाँ आइतबार बेलुकी अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।गुह्येश्वरीमा यस वर्ष विगतमाभन्दा बढी छठ घाटको निर्माण गर्न लागिएको समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो । विगतमा करिब ५०० छठ घाट निर्माण गरिएकामा यस वर्ष ५५० भन्दा बढी बनाउने तयारी गरिएको छ । एउटा छठ घाट रु एक हजार ५०० शुल्क लिएर भक्तजनलाई दिएको छठ पूजा समितिका सदस्य नवलकिशोर यादवले बताउनुभयो ।यहाँ करिब ५५० वर्तालु, तिनका परिवार एवं अन्य दर्शन गर्ने र हेर्ने गरी करिब तीन लाख भक्तजन आउने अनुमान समितिले गरेको छ । २० वर्षअघिसम्म राजधानीमा हुने छठ पूजामा तराई क्षेत्रका सीमित मानिसको मात्र सहभागिता हुने गरेको थियो । अहिले तराई क्षेत्रबाट राजधानी आई बस्ने अधिकांश मानिसका साथै पहाडी समुदाय पनि छठ पर्व मनाउने गरेका छन् ।जनकपुरकी रञ्जु श्रेष्ठ विगत २५ वर्षअघिदेखि नै छठ मनाउने गरेको बताउनुहुन्छ । सुरुमा जनकपुरबाट छठ मनाउन सुरु गर्नुभएकी श्रेष्ठले हाल गुह्येश्वरीमै सूर्यको पूजा आराधना गरी पर्व मनाउने गर्नुभएको छ । आफू पहाडबाट जनकपुर झरे पनि आफूले अपनाई आएको संस्कारसँग मिल्ने भएकाले छठ मनाउन थालेको उहाँले सुनाउनुभयो । यस वर्षका लागि पनि उहाँ छठ घाटको रसिद काट्न समितिको कार्यालय पुग्नुभएको छ ।नदीको बीचमा छठी माताको माटाको मूर्ति स्थापना गर्न लागिएको छ । माटाको मूर्तिमा आइतबार र सोमबार पूजा आराधना गरी सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै वाग्मती नदीमै सेलाइने समितिका सचिव राजकुमार पोदारले बताउनुभयो ।छठ पूजा स्थलमा उखुको लाँक्रा, केराको घरी र केराको बोट बोकेर हिँडेका भक्तजनको भीड लाग्ने गर्छ । छठ पूजा स्थल वरपर व्यापार व्यवसाय गर्नेको भीड पनि देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले पसल नराख्न यस क्षेत्रमा गत वर्षदेखि नै माइकिङ गर्न सुरु गरेको छ ।कमलपोखरीमा तयारी तीव्रकमलपोखरीमा पनि सजावट गरी छठ घाट निर्माणलाई तीव्रता दिइएको छ । कमलपोखरीमा १७५ जना वर्तालुले छठ पूजा गर्न घाट निर्माण गर्ने तयारी भएको छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिनुभयो । यहाँ छठ पूजा सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरिने भएको छ ।चार दिने छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिइन्छ । यसका लागि नीराहार व्रत बसेका वर्तालुले आइतबार रातभर छठ पूजा स्थलमा जाग्राम बसेर उदाउँदो सूर्यको प्रतीक्षा गर्ने गरेको सिराहाबाट पर्व मनाउन आउनुभएका रणेन्द्र यादव बताउनुहुन्छ । सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व समापन हुन्छ ।पहिलो दिन गरियो नहाय खायचार दिने छठ पर्वका पहिलो दिन वर्तालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका छन् । यसलाई छठ वर्तालुको भाषामा नहाय खाय भन्ने गरिएको छ । छठका वर्तालुले कोजाग्रत पूर्णिमा अर्थात् आश्विन शुक्ल पूर्णिमादेखि नै लसुन, प्याजलगायत तामसी खानेकुरा नखाई चोखो खाएर बस्ने व्रतविधि रहेको समितिका सदस्य यादव बताउनुहुन्छ ।छठ पर्वको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । यस दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ । छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा आइतबार नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्यदान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको महाभारतलगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।सूर्यका दुई श्रीमती छाया र संज्ञा कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रुपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वाससमेत छ । यस अवसरमा सूर्यलाई विधिपूर्वक पूजा, आराधना गरेर अघ्र्य दिएमा मनोकामना पूरा हुनाका साथै छालाजन्य रोग पनि निको हुने विश्वास गरिन्छ ।छठ पूजा समितिलाई सहयोगछठ पूजा समितिलाई पशुपति क्षेत्र विकास कोषले रु तीन लाख सहयोग गरेको छ । यसैगरी काठमाडौँ महानगरपालिका वडा नं. ८ ले रु दुई लाख ५० हजार पर्वको तयारी गर्न दिएको अध्यक्ष आशामान सँगतले जानकारी दिनुभयो । फूलकुमारी ट्रष्टले रु ५० हजार दिएको छ ।समितिले विसं २०६० देखि गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती नदी किनारका दायाँबायाँ छठ घाट निर्माण गरेर पर्व मनाउँदै आएको छ । २०४८ सालदेखि पशुपतिको आर्यघाटपारि हाल आरती गर्नेस्थलमा छठ मनाउने गरिएको थियो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिवार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् मंसिर २ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमि/मेष राशि – सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ ।

बृष राशि – मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मिथुन राशि – सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ ।

कर्कट राशि – ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ ।

कन्या राशि – बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ ।

तुला राशि – ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

धनु राशि – नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मकर राशि – पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

कुम्भ राशि – झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि – बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

मृगौला रोगीलाई क्यान्सरको जोखिम उच्च छ – अध्ययन

एजेन्सी – हल्कादेखि मध्यम दीर्घकालीन मृगौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ ।

अमेरिकी जर्नल अफ किड्नी डिजिजमा हालै प्रकाशित सो अध्ययनले सीकेडीको प्रभावबारे कम थाहा भएको विषयलाई बाहिर उजागर गरेको छ ।

अध्ययन लेखकहरूका अनुसार ह्दयसम्बन्धी रोगलाई परम्परागत रूपमा किड्नी रोगको जोखिमसँग जोडेर हेरे पनि क्यान्सरबारे भने खासै उल्लेख गरिएको थिएन् ।

‘किड्नी रोगका ठूलो संख्याका बिरामीमा क्यान्सर मात्र देखिएको छैन्, उनीहरूमा क्यान्सको नराम्रो परिणाम देखिएको छ’, टोरन्टो विश्वविद्यालयका नेफ्रोलोजिस्ट तथा अध्ययनका प्रमुख लेखक अभिजात किचलुले भने ।

‘बारम्बार निदानबाहेक यी बिरामीहरूले सामान्य मृगौला भएका मानिसहरूको तुलनामा नराम्रो प्रतिकृया देखाए’, उनले थपे ।

राष्ट्रिय ध्वजावाहक सम्मान नेपाल एयरलाइन्सलाई

काठमाडौँ, १ मङ्सिर : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो ।

भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचारप्रसार गर्दै आएको कम्पनी हो । निगमका अनुसार गत कात्तिक ३० गते (नोभेम्बर १५) मा भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको थियो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्राप्त सम्मानले अझै जिम्मेवारीपूर्वक निगमको सेवालाई प्रभावकारी बनाउन प्रेरणा मिलेको बताउनुभयो ।

उहाँले निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएको र यसको वृद्धिमा लगातार प्रयास भइरहेको कुरा प्राप्त सम्मानले पुष्टि गरेको दाबी गर्नुभयो । निगमले हाल अन्तर्राष्ट्रियतर्फ चार थान वाईडबडी जहाजमार्फत भारतको नयाँदिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, दमाम, बैंकक, हङकङ, मलेसिया, जापानलगायत दश गन्तव्यमा उडान गरिरहेको छ ।

त्यसैगरी आन्तरिकतर्फ दुईवटा ट्विनअटर जहाजबाट ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थाम खर्क, खानिडाँडा, रूकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा, दाङ, रेसुङ्गालगायत १५ गन्तव्यमा उडान गरिरहेको छ । दसैंँ तिहार जस्ता चाडपर्वमा यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै निगमले एउटा जहाज नेपालगञ्जमा राखेर त्यहाँबाट रूकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमले उल्लेख गरेको छ ।

छठमय मिथिला : उल्लासमय वातावरण, सहर र गाउँबस्ती सजिए

छठमय मिथिला : उल्लासमय वातावरण महोत्तरी, १ मङ्सिर : छठ पर्वले मधेसका महोत्तरीसहितको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ । यहाँका सहर र गाउँबस्ती सजिएका छन् । जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ । विभिन्न रङका कलात्मक बिजुलीको उज्यालोले मिथिला क्षेत्र जगमगाएको छ । मिथिलाका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन् ।

गाउँ बस्तीका कच्ची घर पनि अहिले नयाँ माटोले लिपपोत गरिएपछि टिलिक्क भएका छन् । विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ । गाउँका गरिब अभाव, दुःख र अन्य पीडा बिर्सेर खुसी साटी रहेका देखिन्छन् । भगवान् सूर्य र षष्ठी देवीको उपासना गरिने यो पर्वका लागि अहिले पवित्र जलाशयमा सुन्दर घाट बनाइएका छन् । जलाशयमा कम्मरसम्म डुब्ने पानीमा आसन जमाएर सूर्यलाई अघ्र्य दिइने परम्पराको यो पर्वमा घाटस्थलहरु अहिले बेहुली झैं सिङ्गारिएका छन् ।

हिजो बिहीबार कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबाअरबाइन’ विधिबाट पर्वको तयारी थालेका बर्तालुले आज शुक्रबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधि गरेका छन् । ‘नहाय–खाय’ विधि व्रत सङ्कल्पका लागि पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रतको पूर्वतयारीसँग जोडिने यहाँका पाका मैथिल बताउँछन् । पर्वको तयारीले मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा भगवान् सूर्य र छठी माताको भक्तहरुप्रति करुणा वर्षिएको भावका गीत लगातार गुञ्जीरहेका छन् । पर्व सुरु भएसँगै यस भेगका सबै दैनिक गतिबिधि पनि छठ केन्द्रित भएका छन् । यसले सम्पूर्ण परिवेश नै छठमय बनेको छ । पर्वविशेषले सूर्यलाई अघ्र्य दिदा देखाइने ठकुवा, भुसुवालगायत परिकार पकाउन आवश्यक सामग्रीको जोहोमा बर्तालु परिवार व्यस्त छन् । पर्वका लागि आवश्यक सामग्रीको जोहो हुँदैछ । पर्वको मुख्य दिन निराहार व्रत गरिने षष्ठी तिथि भएपनि त्यसपूर्व नै मिथिलाको सम्पूर्ण परिवेश छठमय बनेको छ । पर्वको तयारीमा रहेका बर्तालुु मात्र नभएर मैथिल जनजीवनका सबैजसो गतिविधि पर्वकै तयारीमा केन्द्रित छन् ।

छठपर्वमा उखु, केरा, अदुवा, बेसार, ज्यामिर, भोगटेसहितका कृषि उपज पूजा सामग्री मानिदै आएका छन् । यसले थोरै जग्गा भएका गरिबले करेसाबारीमै उब्जाएका यी फसलले राम्रो बजार पाउने गरेका छन् । पर्वका अन्य आवश्यकता आफ्नो करेसाबारीका यिनै उपज बेचेर सजिलै पूरा गरिएको आफैँ पनि छठ व्रत गर्नु भएकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी हेमकली थारु बताउनुहुन्छ ।

काम गर्न टाढा पुगेका परिवारजन पर्वका लागि घर आएका छन् । पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ । यसअघिका जीवनमा भोगिएका सबै अभाव र दुःख बिर्सेर गरिब पनि आफ्नो क्षमताअनुसार पर्व मनाउन जुटेका छन् । छठको अर्को विशेषता घर परिवेशको स्वच्छता एवं शुद्धता रहेको यस भेगका बुढापाका बताउँछन् । “आर्थिक रुपमा कोही सम्पन्न वा कोही गरिब हुन सक्छन्” महोत्तरीको भङ्गाहा नगरपालिका–६ हतिसर्वा सङ्ग्रामपुरका बासिन्दा ६५ वर्षीय राजकिशोर यादव भन्नुहुन्छ, “तर घर परिवेशको स्वच्छता र सरसफाइमा सबैले ध्यान दिएका छन् ।” पर्वको अर्को सामाजिक विशेषता आपसी मनोमालिन्य हट्नु र प्रेमभाव देखिनु रहेको छठ तयारीलाई नजिकबाट नियालेका अन्य फरक धर्मावलम्बीको बुझाइ छ ।

“एक ठाउँमा बसेपछि गृहस्थ जीवनमा ठाकठुक त कहिलेकाँही पर्छ” जिल्लाको बलवा नगरपालिकाको रौजाका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता इस्लाम धर्मावलम्बी मन्सुल कवारी भन्नुहुन्छ, “तर छठ पर्वको तयारी सुरु भएपछि बोल्न छाडेका छिमेकी पनि विनम्र भएर कुराकानी गर्ने गर्छन् ।” पर्वमा शुद्धता, स्वच्छता, श्रद्धा र निष्ठाको मूलभाव रहने भएकाले नै छठ पर्वभरि सामाजिक किचलो र झैझगडा पनि कम देखिने, सुनिने गरिएको महोत्तरीकै जलेश्वर–६ बखरी बस्तीका बासिन्दा यस क्षेत्रका प्रसिद्ध साहित्यकार ८४ वर्षीय पूर्वप्रशासक महेश्वर रायको ठम्म्याइ छ । खासगरी मिथिलामा छठ पर्व नजिकिएसँगै सामाजिक, सांस्कृतिक र पारिवारिक परिवेश नै सङ्गीतमय र भक्तिमय बन्ने गरेको छ ।

विधिको गणनाले कात्तिक शुक्ल तृतीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा क्रमशः अरबाअरबाइन, नहाय–खाय, खरना, सझुका अरख र भोरका अरख मुख्य विधि मानिन्छन् । तृतीयाका दिन बर्तालुले उसिना चामल, माछामासु, कोदो, लसुन–प्याज खान छाड्छन् । यसलाई ‘अरबाअरबाइन’ भनिन्छ । चौथीका दिन बर्तालुले हात गोडाका नङ काटेर स्नान गरेर व्रत सङ्कल्प गर्दै चोखो खान्छन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । त्यसैगरी पञ्चमी तिथिमा राती एकछाकमात्र अलिनो खानेकुरा खाएर बर्तालुले ‘खरना’ विधि गर्दछन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिने ‘सझुका अरख’ सम्पन्न गरिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिने ‘भोरका अरख’ विधि भएपछि पर्व समापन गरिने परम्परा छ । नेपाली समाजमा अझै निर्मूल हुन बाँकी जातीय छुवाछुत र उचनिचको भेदभाव पनि यो पर्वमा सबैका निम्ति समान छ । “ छठ घाटमा फरक जाति समुदायका बर्तालु आआफ्ना पूजा र प्रसाद सामग्री फिजाएर बस्छन्, यो बेला को छुत को अछुत भन्ने कसैले वास्ता गर्दैनन्”, भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल भन्नुहुन्छ, “छठ पर्वमा देखिने यो अति नै सुन्दर पक्ष लाग्छ ।” दाहाल अगाडि भन्नुहुन्छ, “अन्य बेला उचोनिचो भनेर नाक खुम्च्याउने पनि सप्तमीका दिन बिहान घाटमा पर्व सम्पन्न गरेपछि दलित समुदायका बर्तालुले कथित उपल्लो जाति समुदायका भनिने दर्शकलाई प्रसाद स्वरुप ठकुवा, भुसुवा दिने र पाउनेले खुशीसाथ ग्रहण गरेका देखिन्छ ।”

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेलसम्म बर्तालुले सूर्य र छठी देवीको महत्ता झल्कने गीत गाएर आआफ्ना मनोकाङ्क्षा पूरा गरी दिन पुकारा गर्छन् । उपासकको इच्छित माग पूर्ति गर्ने भगवान सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधी नलाग्ने हिन्दू मैथिल जनविश्वास रहेको छ । केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्वीले मनाउन थालेपछि छठ पर्व साझा बनेको यस क्षेत्रका वुद्घिजीवीको भनाइ छ । इस्लाम धर्मावलम्वीले भाकल गरेर अघ्र्य र प्रसाद सामग्री सूर्यलाई देखाइ दिन बर्तालु हिन्दूलाई अराएका बाक्लै देखिन्छ । अब छठ पर्व मुलुकको राजधानीसहित विभिन्न भेगमा धुमधामसँग मनाउन थालिएसँगै राष्ट्रिय पर्व बनेको आम मैथिल गर्वसाथ बताउँछन् ।

लुम्बिनीमा ३० करोड लगानीमा रसियन गुम्बा

लुम्बिनी, १ मङ्सिर : बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ । एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो ।

नेपालस्थित रसियन दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहलमा मन्दिर निर्माण गर्न थालिएको छ । उक्त गुम्बा रु ३० करोडको लगानीमा निर्माण गरिने रुसी गुम्बा नेपालका संयोजक ई.प्रवीण गौचनले जानकारी दिनुभयो ।

लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको एक बिघा जमिनमा निर्माण थालिएको सो गुम्बा सन् २०२५ मा सम्पन्न गरिने लक्ष्य रहेको उहाँले बताउनुभयो । रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएका भिक्षुहरुबाट गरिएको बौद्ध पाठ परायणसहित रसियन राजदूत असेक्सेई नोभिकोभले गुम्बा शिलान्यास गर्नुभएको थियो । पाठ पारायण गर्ने भिक्षुहरुमा बुदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमन हुनुहुन्थ्यो ।

रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल निर्माण सुरु गरिएको साढे दुईतले उक्त गुम्बा रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचना अनुरुपको हुनेछ ।

शिलान्यास कार्यक्रममा रसियन राजदूत नोभिकोभले नेपाल र रसियाबीच मैत्री सम्बन्ध एवं संस्कृति आदानप्रदान गर्ने उद्देश्यले बुद्धको जन्मभूमिमा रसियन गुम्बाको निर्माण सुरु गरिएको बताउनुभयो ।

उहाँले शान्तिको सन्देश दिने बुद्धभूमि लुम्बिनीले नेपाल र रसियाबीचको सम्बन्ध थप प्रगाढ बनाउने पनि जानकारी गराउनुभयो ।

रूस नेपाल मैत्री समाजका उपाध्यक्ष दीनानाथ राजभण्डारीले दुई देशबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ गराउने यो प्रयासले संस्कृति संरक्षणका साथै बुद्धभूमि नेपालको पहिचान थप उजागर गर्ने उल्लेख गर्नुभयो ।

रूसी बौद्व समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसारभर शान्तिको स्रोत राष्ट्र बन्नसक्ने बताउनुभयो । लुम्बिनी विश्व विद्यालयका उपकुलपति डा सुवर्णलाल ब्रजाचार्यले लुम्बिनीबाट प्रवाह हुने शान्तिको सन्देशलाई संसारभरका मानव जातिले महत्वका हेर्ने बताउनुभयो ।

नेपालका तर्फबाट रुसका लागि पूर्वराजदूत ऋषिराम घिमिरेले नेपाल र रसियाबीचको सम्बन्ध, आपसी सहयोग, सद्भाव र मैत्रीको प्रतीकका रुपमा रहेको बुद्ध भूमिको महत्व बढाउन यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । 
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले यस कार्यमा प्रवासी नेपालीहरूले समेत सहजीकरण गरेको जानकारी गराउनुभयो । बुद्धको जन्मस्थान लुम्बिनीमा २७ देशहरूले आफ्नो देशको प्रतिनिधित्व हुने गरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेका उहाँको भनाइ थियो  । लुम्बिनी विकास कोषका अनुसार ४० देश तथा सङ्घसंस्थाले यहाँ संरचना निमार्णका लागि सम्झौता गरेका छन् । 

जाजरकोट भूकम्प : ढोकाको आड लिएर बाँचेका दिनेश !

कर्णाली, १ मङ्सिर : “गत कात्तिक १७ गतेको सुनसान मध्य रात । मस्त निद्रामा थिएँ । मलाई एक्कासि घर हल्लियोे । एकाएक घरका छाना र गारो ढल्न थालेपछि हतपत उठेर ढोकातिर लागेँ । ढोकानेर पुगेपछि त्यसको मुनि अडिए । भूकम्पको झट्काले घर भत्किँदै गयो ।” जाजरकोट कुशे गाउँपालिका घर भई भेरी नगरपालिका–१ माथिल्लो थाप्लेमा बस्दै आउनुभएका दिनेश सिंहले भन्नुभयो । भूकम्पबाट धेरैले ज्यान गुमाउँदा भाग्यले बाँचेका उहाँले भन्नुभयो “उभिएको ढोकाको पर्खाल गल्र्यामगुर्लुम ढलेपछि त्यसैसँग म पनि तल खसेछु । तर ममाथि छाना खस्न पाएन ।

यसअघि नै छत खसिसकेको थियो । पर्खालका ढुङ्गासँग ठोक्किएर होला, अँध्यारो रातमा केही बेर रन्थनिए पनि । वरपरका घर पनि धेरै ढलिसकेका रहेछन् । पक्की घर भएका छिमेकी बाहिरबाट कराइरहेको रहेको आवाज सुने यद्यपि त्यति बेला म उठिसकेको थिए ।” “मैले पुनर्जन्म पाएको छु । घरको नामो निसान नहुँदा म सकुशल रहेँ”, उहाँले भन्नुभयो, “भाग्यले बाँचेको छु । मेरो लागि यो सौभाग्य नै हो । सबैलाई यो अवस्था जुर्न सक्दैन ।” दुई छोराछोरी काठमाडौँ भएको र सोही दिन श्रीमती ‘लाइसेन्स’को परीक्षा दिन नेपालगञ्ज जाँदा उनीहरु पनि बाँचेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो दिन श्रीमतीसहित छोराछोरी घरमा भएको भए अवस्था निकै भयावह हुन्थ्यो होला ।

आफैँ भाग्यले बाँचेको मान्छे उनीहरुलाई बचाउन सकिने अवस्था थिएन । यदि उनीहरुलाई बचाउन लागिन्थ्यो भने हामी सबै च्यापिने खतरामा पुग्थ्यौँ ।” हातमा टाउको चोट लागे पनि अवस्था गम्भीर नभएको उहाँले बताउनुभयो । श्री लक्ष्मीप्राप्ति मावि कुशे गाउँपालिका–५ खुर्पा जाजजरकोटका प्रधानाध्यापकसमेत रहनुभएका सिंहको घर भूकम्पले पूर्णरुपमा ध्वस्त भएको छ । उहाँजस्तै सदरमुमकाम खलङ्गासहित सिङ्गो जाजरकोटका भूकम्पपीडित त्रिपालको भरमा खुला आकाशमुनि ओत लिएर बाँच्न बाध्य छन् । उहाँका अनुसार एउटै त्रिपालमा सपरिवार बस्न समस्या छ । सरकारले प्रतिपरिवार ठूलो आकारको दुई त्रिपाल आवश्यक छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीमबहादुर सिंहले भूकम्पका कारण जाजरकोट सदरमुकामको घर भत्कँदा सासूआमा गुमाउनुभयो । भूकम्पले ज्यान गुमाएका, घाइते भएका, घर पूर्ण एवं आंशिक ध्वस्त भएका परिवारलाई सरकारले न्यायिकरुपले राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंहले आफ्नो पालिकामा सबैको नागरिकको घर चर्केरभित्र बस्ने अवस्था नभएकाले घोगाको ढोडमा ओत लाग्नुपरेको दुखेसो पोख्नुभयो ।

“हामी लेक नजिक भएकाले चिसोले कठ्याङ्ग्रिएर दिन काटिरहेका छौँ”, उहाँले भन्नुभयो, “मान्छेहरु चिसोले नै मर्ने अवस्था भएकाले सरकारले आवासको बन्दोबस्ती छिटो गर्दिनुप¥यो ।” भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो पालिकामा मात्रै प्रति परिवार आठ हजार तीन सय ५१ तालपोलियन आवश्यक भएको जनाउनुभयो । उहाँका अनुसार प्रतिपरिवार दुई त्रिपाल अनिवार्य दिनुपर्छ । यसका लागि १६ हजार सात सय एक पाल चाहिन्छ । त्यसका निम्ति हामीले प्रदेश तथा सङ्घ सरकारसहित दातृ निकायसँग सहयोगका लागि आवश्यक पहल एवं समन्वय गरिरहेका छौँ ।

असोज १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट जिल्लामा मात्रै एक सय पाँच जनाको ज्यान लिएको थियो । एक सय १२ भन्दा बढी घाइते भए । रुकुम पश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाइते भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कमा छ ।

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

काठमाडौँ, १ मङ्सिर ः भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ ।कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउनुभएको हो ।

यसअघि कालापत्थरमा महिला स्काइ डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो । महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गर्नुभएको हो । न्यूजील्याण्ड र अमेरिकाका दुई स्काइ डाइभरको रेकर्ड थियो ।

एकचालिस वर्षीय महाजन भारतको पुनेकी स्काइ डाइभ र खेलकुद क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले भारतको प्रसिद्ध पद्यमश्री पुरस्रकार प्राप्त गरिसक्नुभएको छ । ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गर्नुभएको कम्पनीले जनाएका अध्यक्ष सुमन पान्डेले जानकारी दिनुभयो ।

महाजनको रेकर्ड गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वल्र्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौँमा आयोजिक एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काइ डाइभ गरेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले विश्व रेकर्ड राखेकामा महाजनलाई बधाई दिँदै यस्ता साहसिक क्रियाकलापले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्काई डाईभर महाजनले लामो समयदेखिको आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा आफू सक्रिय रुपमा लाग्ने बताउनुभयो । एभरेस्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डेका अनुसार एभरेस्ट स्काई डाईभ असाध्यै आकर्षक र साहसिक खेलको रुपमा चर्चित छ । चर्चित अन्तर्राष्ट्रिय मिडिया सिएनएनले जीवनभरमा गर्नुपर्ने साहसिकमध्ये स्काई डाईभलाई पाँच नम्बरमा राखेको छ ।

“धेरै विदेशी नागरिक सगरमाथा आरोहण र पदयात्रा गर्न आउँछन् । तर, सगरमाथा आरोहण गर्न नसक्नेलाई सगरमाथाको उचाइबाट स्काइडाइभ गर्ने फरक दृष्टिकोणबाट सगरमाथाको अवलोकन गर्छन् । यो पनि मूल्यवान कुरा हो । उनीहरुले ‘स्टोरी’ लिएर जान्छन् । यसले नेपाल गन्तव्यको प्रवर्द्धन हुन्छ”, अध्यक्ष पाण्डेले भन्नुभयो ।

स्काई डाईभ एक साहसिक खेल पर्यटन हो । विश्वभर सात लाख स्काई डाइभर रहेको बताइन्छ । दुबईमा समुद्रबीचको टापुमा स्काइ डाइभ गरिन्छ । मरुभूमिमा पनि यो साहसिक खेल खेलिन्छ । इजिप्टमा पिरामिडको अगाडि स्काइ डाइभ हुन्छ । स्काई डाइभमा एरियल फोटोग्राफी हुन्छ । जुन जीवनकालकै बहुमुल्य हुन्छ । नेपालको स्काइ डाईभमा पछाडि सगरमाथा पारेर फोटो लिइने हुनाले विश्वभरबाट स्काइ डाइभको आकर्षण हुन्छ ।

मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काइ डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । स्काइ डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा सन् २००८ मा एभरेष्ट स्काई डाइभ सुरु भएको हो । यसले धेरै विश्व रेकर्ड कायम भएको छ । कोभिडको वर्ष सन् २०२० बाहेक हरेक वर्ष स्काइ डाइभ हँुदै आएको छ । सन् २००९ मा हाईएस्ट ‘स्काई डाइभ’ कालापत्थरमा भएको थियो ।

रास्वपाले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने

काठमाडौँ, १ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने भएको हो ।

“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दैछौँ”, प्रवक्ता डा ढकालले राससलाई भन्नुभयो, “गत निर्वाचनमा अमूल्य मतसहित विश्वास दिनुभएकामा धन्यवाद दिन पार्टीको सबै सङ्गठन परिचालन गरी यही मङ्सिर २, ३ र ४ मा घरदैलोमा जाँदैछाँै । जनताबाट थप सल्लाह, सुझाव र खबरदारी गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो ।”

यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको एक वर्ष पूरा हुँदैछ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत सहभागी हुनुहुनेछ ।

प्रत्यक्षतर्फको एक सय ३१ र समानुपातिकतर्फको एक सय सातजना सहभागी हुनुहुनेछ । “नयाँ पार्टीका रुपमा हामी चुनावमा हतारमा थियौँ । त्यस समयमा गरिएको प्रतिबद्धताप्रति प्रतिबद्ध नै छौँ है भन्ने सन्देश दिन पनि जनताको घरदैलो जाँदैछौँ”, सहमहामन्त्री बुर्लाकोटीले भन्नुभयो, “एक सय ३१ वटा निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्र समिति गरी एक सय ४१ निर्वाचन क्षेत्रमा परिचालन हुनेछ ।”

प्रवक्ता डा ढकालले तीन दिनमा सबै ठाउँमा पुग्न सम्भव नभए पनि अन्य समयमा विभिन्न कार्यक्रममार्फत जनतासम्म पुग्ने बताउनुभयो । यस्तै, आज पार्टीको सातै प्रदेशको प्रदेश र निर्वाचन क्षेत्रस्तरीय बैठकसमेत बस्दैछ ।

शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लाग्यो– इजराइली सेना

इजराइली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लागेको बताएको छ । आइडिएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतङ्कवादी सुरुङ फेला पारेको छ । त्यस्तै अल–कुद्स अस्पतालमा ठूलो परिमाणमा हतियार र गोलाबारुद्ध फेला परेको पनि उसले जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आइडिएफले भनेको छ, “गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, शिफा अस्पताल परिसरभित्र एउटा हमास आतङ्कवादी सुरुङ भेटियो ।” अर्को पोस्टमा उसले भनेको छ, “रान्तिसी अस्पतालभित्र आइडिएफ सैनिकहरूले अर्को एउटा आतङ्कवादी सुरु पत्ता लगाएका छन् ।”

आइडिएफका अनुसार सालदाग एसएफ एकाइ, सातौँ ब्रिगेड र अतिरिक्त एसएफ एकाइहरूले शिफा अस्पतालभित्र हमासको सुरुङ पूर्वाधारको पर्दाफास गरेक हुन् । “उनीहरूले गत अक्टोबर ७ मा नरसंहारका लागि तयार गरिएको बुबी–ट्र्याप सवारी पनि पत्ता लगाएका छन्, उक्त सवारीमा ठूलो मात्रामा हतियार र गोलाबारुद थिए ।”

आइडिएफले अल–कुद्स अस्पतालभित्र हतियार र गोलाबारुदको तस्बिर एक्समा पोस्ट गर्दै भनेको छ, “अल–कुद्स अस्पतालभित्र ठूलो मात्रामा हतियार र गोलाबारुद फेला पर्यो, यी सबै पछिल्लो २४ घन्टामा भेटिएको थियो ।”

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पाण्डेको भनाई

दमौली, १ मङ्सिर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी अस्पतालको उद्घाटन समारोहमा आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सरकारले स्वास्थ्य क्षेत्रको बजेट घटाएको छैन । हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।” गण्डकी प्रदेशमा नौ सय भन्दा बढी डायलासिसका लागि पालो पखिर्नुपर्ने अवस्था रहेकामा अहिले त्यसलाई घटाएर दुई सय ५४ जनामा झारिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

यो वर्षभित्र गण्डकी प्रदेशमा कुनै मिर्गौला बिरामीले डायलासिसका लागि पालो पखिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउँदै पाण्डेले सङ्घ सरकार र दातृ निकायको सहयोगमा त्यसलाई शून्यमा झार्ने प्रयत्न गरिने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले क्यान्सरका बिरामीलाई रु एक लाखसम्म उपचार खर्च दिने निर्णय गरिएको भन्दै दश वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारी अस्पतालमा सेवा निःशुल्क दिने तयारीमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा केही काम गर्ने प्रयत्न गरेका छौँ, स्रोत र साधनको कमीका कारण सोचेजति गर्न सकेका छैनौँ ।”फरक प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले सङ्घीयताका विरुद्ध आवाज उठ्न थालेको बताउँदै सङ्घीयतालाई बलियो बनाउनुको विकल्प नभएको बताउनुभयो । धेरै ठूलो बलिदानबाट सङ्घीयता आएकाले यसको सफल कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सङ्घीयताको कार्यान्वयनका लागि प्रधानमन्त्री प्रचण्डको योगदान रहनुपर्छ, उहाँकै कारण आज सङ्घीयता आएको हो ।” परिवर्तनलाई प्रहार गर्न केही तत्व सक्रिय रहेको भन्दै उहाँले यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।

इजराइल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गर्नुभएको छ ।

“यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ”, विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उहाँले भन्नुभयो ।

गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो । सेप्टेम्बरको बैठकमा नयाँदिल्लीले कूटनीतिक सफलता हासिल गरेको र यसमा अफ्रिकी सङ्घलाई एउटा सदस्यका रूपमा जोडिएको दाबी गरेको थियो ।

आफूलाई ग्लोबल साउथको नेताका रूपमा हेर्ने भारतले यी मुलुकहरूका लागि विश्वले महत्त्वपूर्ण मुद्दाहरूमा प्रगति गर्नुपर्ने बताएको छ । “हामी एक सयभन्दा बढी मुलुक भए पनि प्राथमिकता उस्तै छ”, संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील मुलुकहरूका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले भन्नुभयो, “भ्वाइस अफ ग्लोबल साउथ २१औँ शताब्दीको सबैभन्दा अनौठो प्लेटफर्ममध्येको एक हो, भौगोलिक दृष्टिकोणले विश्वव्यापी दक्षिण सधैँ अस्तित्वमा छ तर यसले पहिलोपटक आफ्नै आवाज प्राप्त गरेको छ ।”

जलवायु वित्त, विकासशील मुलुकहरूको कर्जा बोझ र दिगो विकासका लागि किफायती र समावेशी ऊर्जा परिवर्तन शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा इजराइल–हमास युद्धमा सर्वसाधारणको भएको मृत्युको भरत्सर्ना गर्दै युद्धबाट नयाँ चुनौती आएको बताउनुभयो । “अक्टोबर ७ मा इजराइलमा भएको आतङ्कवादी हमलाको भारत निन्दा गर्दछ, हामीले पनि संयमता अपनाएका छौँ, संवाद र कूटनीतिमा जोड दिएका छौँ, हामी इजराइल र हमासबीचको सङ्घर्षमा सर्वसाधारणको भएको मृत्युको पनि घोर भर्त्सना गर्दछौँ”, उहाँले भन्नुभयो ।

एडीबीद्वारा जर्जियामा सिँचाइ प्रणालीको आधुनिकीकरण गर्न ४८ मिलियन अमेरिकी डलर ऋण

एसियाली विकास बैंक (एडीबी) ले जर्जियामा कृषि सिँचाइ प्रणालीको आधुनिकीकरण र संस्थागत सुधारका कार्यक्रमलाई सहयोग गर्न शुक्रबार ४८ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।

जलवायु मैत्री परिस्थिति निर्माण र उत्पादकता बढाउने उद्देश्यका साथ सो कार्यक्रम त्यहाँको कृषि क्षेत्रमा गरिएको बैङ्कको यस किसमको पहिलो संलग्नता हो । यस परियोजनाबाट त्यहाँ आधुनिक तरिकाले पाइपजडित सिँचाइ सञ्जाल निर्माण गर्नेछ ।
कार्यक्रमले जर्जियाको दिगो जलस्रोत व्यवस्थापन र सिँचाइ सेवा प्रवर्धनका लागि कुशल सरकारी स्वामित्वमा आधारित उद्यमको लागि नीति र संस्थागत सुधार गर्ने लक्ष्यलाई सयोग गर्ने बैङ्कले जनाएको छ ।

“जर्जियासँग कृषि क्षेत्रको विकास गर्न र अर्थतन्त्रमा आफ्नो हिस्सा बढाउने अपार सम्भावना छ,” मध्य र पश्चिम एशियाका लागि एडीबीका महानिर्देशक येभगेनी झुकोभले उल्लेख गर्नु भएको छ ।”यो नयाँ कार्यक्रमले जर्जियालाई कृषि प्रणालीको आधुनिकीकरण गर्न, खाद्य सुरक्षामा सुधार गर्न र स्थानीय जनताका लागि व्यापारका अवसरहरू खोल्न मद्दत गर्नेछ,” झुकोभले भन्नु भयो ।

तिहारमा नबिकेको फूल निःशुल्क गुर्जो अभियानलाई

काठमाडौँ, १ मङ्सिर : तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिएका छन् ।
कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवद्र्धक आदिमा उपयोगी हुने चूर्णमा प्रयोग गरिने अभियानकर्मी कमलबहादुर राजलवटले राससलाई जानकारी दिनुभयो । आयुर्वेदिक औषधी बनाउँदा यस क्षेत्रका विज्ञसँग पनि सल्लाह लिइने पनि उहाँले बताउनुभयो ।

आयुर्वेदिक चिकित्सकको परामर्शमा गुर्जोलगायत ६० प्रकारका जडिबुटीबाट बनाइने औषधी निःशुल्क वितरण गरिने पनि राष्ट्रिय महिला आयोगको सचिवसमेत रहनुभएका अभियानकर्मी राजलवटले जानकारी दिनुभयो । पाँच हजार किलोग्राम निःशुल्क प्राप्त फूलको व्यवस्थापनमा स्वयंसेवकहरु शोभिता भट्टराई, कलावती भट्टराई, योग गुरु सुरेन्द्र रिमाल तथा किशोर श्रेष्ठ खटिनुभएको जनाइएको छ ।

प्राधिकरणद्वारा सवस्टेशन निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौँ, १ मङ्सिर : काठमाडौँ उपत्यकाभित्र सहजरुपमा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन एक सवस्टेशनको निर्माण तत्काल सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्देशन दिएको छ ।

कूल २२०/१३२ केभी क्षमताको सो सवस्टेशन निर्माण तत्काल सम्पन्न गर्न प्राधिकरणले निर्माण व्यवसायीलाई आवश्यक ताकेता गरेको छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण भइरहेको एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जाने अवस्था आएपछि प्राधिकरणले तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो । सो आयोजनाको बिजुली खेर जान नदिन आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन र आवश्यक काम गर्न व्यवसायीलाई उच्च व्यवस्थापनले ताकेता गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।

सो टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो । सबस्टेसनको निर्माण आगामी माघको पहिलो हप्ताभित्र सम्पन्न गर्ने तालिका तय गरिएको छ ।

कार्यकारी निर्देशक घिसिङले निर्माण व्यवसायीले पछिल्लो समयमा आफ्नो कार्यसम्पादनमा सुधार गरी सबस्टेसन निर्माणमा राम्रो प्रगति हासिल गरेको बताउनुभयो । घिसिङले सबस्टेसनमा राखिने उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि भइसकेको अवस्थामा जनशक्ति थप गरी जडान कार्यलाई तीव्रता दिन निर्देशन दिनुभयो ।

“मध्यभोटेशी विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको छ, आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिले नै सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका नजिक रहेको मध्यभोटेकोशीले यस वर्षको सुख्खायामको विद्युत्को माग धान्नका लागि ठूलो सहयोग गर्छ, त्यसैले सबै गम्भीर भएर सबस्टेसन निर्माणमा लागेर आयोजनाको विद्युत् जतिसक्दो छिटो जोड्ने अवस्थामा पुगौँ, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न तयार छौँ ।”

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।

प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटकपटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभई मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिँदै आएको छ ।

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर राखिएका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरण जडान भइरहेका छन् । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने भने जडान बाँकी छ । सिभिलतर्फको फिनिसिङ काम बाँकी छ । कूल २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै चार सय केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।

कार्यकारी निर्देशक घिसिङको टोलीले मध्यभोटेशी जलविद्युत् आयोजनाको पनि अनुगमन गरेको थियो । आयोजना पुसभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् दुई सय २० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत्गृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावर निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब दुई किलोमिटर तार तानिएको छ ।

बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण दुई किलोमिटर तार तान्न नसकिएको मध्यभोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल शिवाकोटीले बताउनुभयो । समस्या समाधानका लागि स्थानीयसँग निरन्तर छलफल भइरहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायीरूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०÷१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।

कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नुपर्नेछ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनुपर्नेछ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरण आपूर्ति भइसकेका छन् । कार्यकारी निर्देशक घिसिङले उक्त प्रसारण लाइनमा पर्ने टावर निर्माणको काम तत्काल सुरु गर्न कम्पनीका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एशियाली विकास बंैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ ।

तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरमध्ये १३ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये १२ वटा सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नुपर्नेछ । एक वटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको २७ किलोमिटर तार तानिएको छ ।

त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण चार वटा टावर निर्माण हुन सकिरहेको छैन । १९ किलोमिटर तार तानिएको छ ।  ४००/२२० र १३२/११ केभी लप्सीफेदी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण नै सुरु हुन सकिरहेको छैन । 

–––

बूढीगण्डकी आयोजनाः निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गरिँदै

काठमाडौँ, १ मङ्सिर :सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गर्नका लागि आवश्यक छलफल सुरुआत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सो आयोजनाको निर्माण प्रक्रियाका लागि आवश्यक काम सम्पन्न गर्न निर्देशन दिनुभए पछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक छलफल थालेको हो ।

सो आयोजनाको कूल क्षमता एक हजार दुई सय मेगावाट बराबर छ । आयोजनाका लागि नै खर्च हुने गरी मन्त्रिपरिषद्ले हालै पेट्रोलियम पदार्थ आयातका क्रममा भन्सार विन्दुमा नै प्रतिलिटर रु पाँच बराबरको शुल्क लिने गरी निर्धारण गरेको छ । यस्तै, मुआब्जा वितरणको कामसमेत अन्तिम चरणमा पुगेको छ । सरकारले चालु आवमा नै सो आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ । आयोजना निर्माणका लागि वित्तीय तथा निर्माण ढाँचाका सन्दर्भमा तत्काल टुङ्गो लगाउने उद्देश्यका साथ आज मन्त्रालयमा छलफल भएको हो । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले शेयर संरचनाको विषयमा तत्काल टुङ्गो लगाएर ल्याउन बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठलाई निर्देशन दिनुभयो ।

यस्तै, आन्तरिक लगानीका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्था, नेपाल टेलिकमलगायतका सङ्घ संस्थासँग पनि तत्काल छलफल गरी कुन निकायले के कति लगानी गर्नसक्ने अवस्था छ त्यसको निक्र्योल गर्न निर्देशन दिनुभयो । यस्तै, आयोजना व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता चयन तथा परियोजना व्यवस्थापकको प्रबन्ध गर्न निर्देशन दिनुभएको छ । आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने सरकारको तयारी छ । हालसम्म वितरण भएको मुआब्जालाई सरकारी लगानी मानेर आयोजनालाई लगानीयोग्य बनाउने कि वा अरु कुनै विकल्प तय गर्ने भन्ने बारेमा निष्कर्ष निस्कन भने बाँकी रहेको छ । आयोजनालाई तत्काल गति दिन प्रभावित धादिङ र गोरखाका स्थानीयवासीले आग्रह गर्दै आएका छन् । सरकारले आयोजनास्थल गोरखाको गण्डकी गाउँपालिकाको सिउरेनीटारमा कार्यालयसमेत स्थापना गरी काम गरिरहेको छ । मन्त्री बस्नेतले युद्धस्तरमा आवश्यक तयारी गरेर कार्ययोजनासहित आगामी बैठकमा पेश गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत र मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिनुभयो । पछिल्लो परिस्कृत विवरणअनुसार आयोजनाको कूल लागत रु तीन खर्ब ८० अर्ब बराबर रहने बताइएको छ ।

त्यसमा मुआब्जा, पुनः स्थापना तथा पुनर्वासका लागि मात्रै रु ७३ अर्ब बराबरको खर्च हुने बताइएको छ । पेट्रोलियम पदार्थबाट मात्रै रु एक खर्ब ८० अर्ब बराबरको स्रोतको जोहो हुने सरकारको बुझाइ छ । मुआब्जा तथा पुनर्वासका लागि खर्च भएको रकमलाई सरकारले ‘भायविलिटी ग्याप फण्ड’ मा राखेर आवश्यक निर्णय गर्न सकिए सहज हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । एकै पटक ठूलो रकम नचाहिने तथा क्रमशः बजेट उपलब्ध गराउँदै जाने भएकाले पनि तत्काल आयोजनाको निर्माण सुरु गर्ने गरी आवश्यक तयारी गर्न ऊर्जामन्त्री बस्नेतले सम्बद्ध अधिकारीलाई आग्रह गर्नुभयो । आयोजना निर्माणका लागि करिब आठ बर्ष लाग्ने अनुमान छ । सो अवधिभित्र आन्तरिक स्रोतबाट नै लगानी जुट्न सक्ने देखिन्छ । यस्तै, सरकारले गठन गरेको एक कार्यदलले झण्डै रु ३५ अर्ब बराबरको रकम व्यावसायिक वा सहुलियतपूर्ण ऋण लिन सकिने सिफारिस गरेको छ । हालसम्म भए गरेका सबै अध्ययन तथा कार्यदलको प्रतिवेदनलाई एकमुष्ठरुपमा अध्ययन गरी तत्काल प्रक्रिया अगाडि बढाउन कुनै समस्या नहुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

यस्तै, मन्त्रालयका सहसचिव नविनराज सिंहले आयोजनाको व्यवस्थापनका लागि कुनै समस्या नरहेको जानकारी दिनुभयो । छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीयवासीको माग कानुनअनुसार सम्बोधन गर्ने, कर्मचारी व्यवस्थापन, लगानीको उपयुक्त विधि तथा शेयर स्वामित्वका विषयमा तत्काल निर्णय गर्नुपर्ने बताउनुभयो ।

सरकारी कार्यालय खुले पनि चहलपहल कम

काठमाडौँ, १ मङ्सिर : हिन्दूहरुकोे दोस्रो महान् चाड तिहारको सार्वजनिक बिदापछि मुलुकभरका सरकारी कार्यालय खुले पनि चहलपहल भने कम भएको छ । तिहारको अवसरमा गत कात्तिक २६ देखि ३० गतेसम्म सार्वजनिक बिदा परेको थियो । आज मङ्सिर १ गते शुक्रबार कार्यालय खुले पनि भोलि शनिबार बिदा र आइतबार छठ पर्वको सार्वजनिक बिदा परेकाले चहलपहल कम देखिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार तिहारको बिदापछि आजदेखि सबै सरकारी कार्यालय सञ्चालनमा आएका हुन् ।

लामो बिदापछि कार्यालय खुले पनि केही दिनभित्रै छठ पर्व पनि परेकाले कतिपय कर्मचारी छठ सकेर मात्र आउने गरी बिदामा बस्दा कार्यालय भने प्रभावकारी रुपमा सञ्चालन भएको पाइएन । जनतासँग प्रत्यक्ष सरोकार राख्ने बैंक, मालपोत, सडक र विद्युत् कार्यालयमा केही चहलपहल देखिन्थ्यो भने अन्य कार्यालयमा नगन्य रह्यो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल सामान्य छ । तिहारको पाँच दिनपछि कार्यालय खुलेपछि केही कार्यालयमा भने सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कार्यालय खुले पनि कर्मचारीको उपस्थिति न्यून रह्यो ।

तिहार र छठको निरन्तर बिदा परेकाले पनि कार्यालय सुनसान प्रायः देखिन्थे । सेवाग्राही पनि थोरै सङ्ख्यामा मात्र कार्यालय पुगेका छन् । तिहारको माहोल सकिएर अहिले देशभर छठ पर्वको रौनक छाएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकाका साथै तराईलगायत क्षेत्रमा छठ पूजाका लागि आवश्यक तयारी गरिएकोे छ ।

प्रधानमन्त्री दाहालले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने

काठमाडौँ, १ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्नुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्नुभएको सो सम्मेलनलाई उहाँले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण ः भविष्यका लागि सहकार्य’ रहेको छ ।

सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा

घोराही (दाङ), १ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कस्तुरीनगर टोलवासीसँग आज छलफल गर्दै मन्त्री शर्माले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्याङ्कनसम्ममा टोल विकास समिति लाग्नुपर्नेमा जोड दिनुभयो ।

समुदायको विकासका लागि स्थानीय स्रोतसाधनको प्रयोग गर्दै विकास निर्माणमा सबै मिलेर लाग्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री शर्माले टोलमा भएका समस्या समाधानका लागि आफूले पहल गर्दै आएको बताउनुभयो । जुनसुकै विकास निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहने भन्दै टोलवासी पनि विकास, निर्माणका विषयमा जागरुक हुनुपर्ने उहाँले धारणा राख्नुभयो ।

विशेष गरी स्थानीयस्तरको विकासको नेतृत्व स्थानीय तहले गर्नुपर्ने बताउँदै मन्त्री शर्माले त्यसका लागि सङ्घ र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताउनुभयो । निर्वाचनका क्रममा जनतासँग गरिएका प्रतिबद्धताअनुसार विकास निर्माणका क्षेत्रमा काम गरिरहेको उहाँको भनाइ थियो ।

मन्त्री शर्माले भन्नुभयो, “यहाँको समग्र विकासका लागि अझै पनि धेरै काम गर्न बाँकी छन् । स्थानीयस्तरमा हुने समस्या समाधानका लागि हरपल छु । नागरिक केन्द्रीत काम भइरहेका छन् ।” कार्यक्रममा कस्तुरीनगर टोलवासीले आम नागरिकले विकासको प्रत्याभूत गर्नेे गरी काम गर्न आग्रह गरेका थिए ।

मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो – मन्त्री शर्मा

देउखुरी (दाङ), १ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताउनुभएको छ । दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर) को आज निरीक्षण गर्दै उहाँले ‘खोसेर खाए पेट भरिन्न, बाडेर खाए भोकै भइन्न’ भन्ने कुरालाई आत्मसात् गरेर आश्रमको व्यवस्थापन गरिएको बताउनुभयो ।

सडकमा रहेका मानसिकरुपमा विक्षिप्त मानिसलाई स्याहार गरेर परिवारसँग पुनर्मिलन गराउने कार्य सबैभन्दा ठूलो धर्म भएको मन्त्री शर्माले जनाउनुभयो । बेवारिस मानवलाई संरक्षण गरेकामा संस्थालाई धन्यवाद दिँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर काम गर्न र सहयोगको लागि थप योजना तयार गर्न संस्थाका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

सेवा घरमा आश्रय लिइरहेकाका लागि भौतिक पूर्वाधार, स्वास्थ्य, खाना र लगाउने कपडाको आवश्यकता पर्ने जनाउँदै मन्त्री शर्माले सरकारको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो । “अन्य स्थानमा रहेका सेवा घरले कसरी काम गरेका छन्, त्यसबारे अध्ययन÷अवलोकन गरी सेवा घरलाई थप व्यवस्थित बनाउन आवश्यक खाका तयार गर्नुहोस्”, उहाँले भन्नुभयो ।

सेवाघरका संस्थापक सचिव विजयकुमार पोखरेलले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सेवा घरमा अहिले ३८ बाबुआमा र चार छोराछोरी गरी ४२ जना रहेको जानकारी दिनुभयो । जिल्लामा सडकबाट एक सय ६० भन्दा बढीलाई उद्धार गरिएको र सयभन्दा बढीलाई घरपरिवारमा पुनर्मिलन गराइएको उहाँले बताउनुभयो ।

कामको गति बढाउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, १ मङ्सिर : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिनुभएको छ । नेपालीका महत्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उहाँले निर्देशन दिनुभयो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका आज आयोजित मन्त्रालय र मातहतका उच्च अधिकारी सम्मिलित बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले चालु आर्थिक वर्षको चार महिना पूरा भएको सन्दर्भमा हालसम्म भए गरेका काम कारबाहीको विस्तृत विवरण प्रस्तुत गर्न र कामलाई पूर्णरुपमा गति दिन उहाँले आग्रह गर्नुभयो ।

कार्यसम्पादनको क्रममा आएका समस्या सकेसम्म आफँै हल गर्न ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, “सकेसम्म समस्या आउनै नदिने गरी काम गर्नुस् । समस्या आए आफैँ अग्रसर भएर समाधान गर्नुस् । त्यसो पनि हुन नसकेको खण्डमा मात्रै मन्त्रालयमा ल्याउनुस् । समस्या समाधानका लागि म आफैँ अग्रसर भएर लाग्छु । परिणाम निस्कनु आवश्यक छ ।” परम्परागत तवरले काम गरेर मात्रै अपेक्षित प्रगति हासिल हुन नसक्ने भएकाले इमान्दार र जिम्मेवार भएर काम गर्न उहाँले सचिव, सहसचिव तथा विभागीय प्रमुखलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय गौरवका आयोजना, ठूला र पहिलो प्राथमिकतामा रहेका आयोजनाको कामलाई विशेष ध्यान दिएर अगाडि बढाउन, निर्माण व्यवसायी परिचालनमा ध्यान दिन तथा आवश्यक सहजीकरण गर्नसमेत उहाँले ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री बस्नेतले ऊर्जा, सिँचाइ तथा प्रसारण लाइनको आयोजनामा देखिएको समस्या समाधानका लागि आफूले नियमित मेहनत गरिरहेको उल्लेख गर्दै सोहीअनुसार तलसम्म कर्मचारी परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।

जनतासँग प्रत्यक्षरुपमा जोडिएको मन्त्रालय भएकाले पनि यस मन्त्रालयको भूमिका झनै महत्वपूर्ण रहेको स्पष्ट पार्दै मन्त्री बस्नेतले भन्नुभयो, “जनताले प्रत्यक्षरुपमा राहत पाउने गरी कार्यसम्पादन हुनु आवश्यक छ । चाडपर्वहरु पनि सकिएका छन् । अब कुनै पनि बाहाना चल्ने छैन । तोकिएको लक्ष्य पूरा गर्न जिम्मेवार भएर लाग्नुस् ।” मन्त्री बस्नेतले ठूला आयोजनामा देखिएको समस्या समाधान गर्न पनि निर्देशन दिनुभयो ।

यस्तै सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्माणलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाएको सन्दर्भमा मन्त्रालय र मातहतका निकायले त्यसको तयारी गर्न उहाँले आग्रह गर्नुभयो । यसै महिनाको अन्तिमसम्म त्यसको एकमुष्ट विवरण पेश गर्न मन्त्री बस्नेतले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले प्राथमिकता क्रम निर्धारण गरेर नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका योजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । छलफलमा मन्त्रालयका सहसचिवहरु, विद्युत् विकास विभाग, जल तथा मौसम विज्ञान विभाग, सिँचाइ विभाग, नेपाल विद्युत् प्राधिकरण र मन्त्रालय मातहत रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो ।

भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा मृत्यु

ढोरपाटन (बागलुङ), १ मङ्सिर : बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ ।

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

इनरुवा (सुनसरी), १ मङ्सिर : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ ।

वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरिएको छ । मेलाका लागि संरक्षण मञ्चले स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई, सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र, इलाका प्रहरी कार्यालय चतरा महेन्द्रनगरलाई दिएको छ ।

मेला भर्नका लागि आउने भक्तजनका लागि नदीमा सुरक्षित स्नानका लागि बाँसको बार, उज्यालोका लागि बिद्युत्को व्यवस्थापनलगायतका कार्य पूरा गरेको उहाँले बताउनुभयो । मेलाका लागि बगर सम्याउने, रङ लगाउने, मन्दिर श्रृङ्गार्ने र नियमित सरसफाइ गर्ने कार्य गरेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो ।

छठका लागि बाँसको सामग्री बनाउँदै मरिक समुदाय

मिथला क्षेत्रमा मनाइने छठ पर्वका लागि यहाँको मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त छ । सुनसरीको हरिनगरसहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाउन जुटेको छ ।

मरिक समुदायका बासिन्दाले छमा प्रयोग हुने कोनियाँ, ढाकी, नाङ्लोलगायत बाँसका सामग्री बनाउने गरेका छन् । बाँसका सामग्रीको माग अत्यधिक रहेको हरिनगर–२ रामनगरभुटहाका वीरेन्द्र मरिकले बताउनुभयो । अहिले गाउँ–गाउँबाट रु एक सय ५० देखि रु तीन सय ५० सयसम्ममा बाँस किनेर ल्याई विभिन्न सामग्री बनाउन थालिएको छ । यस बेलामा मनग्य आम्दनी गर्न सकिने उहाँको भनाइ छ ।

“छठमा बाँसका सामग्री सबैलाई पुर्याउनै गाह्रो हुने गरेको छ । महिना दिनअघिबाटै यसमा लाग्छौँ”, मरिकले भन्नुभयो । रोजगार र पेसा नै बाँसका सामग्री बनाउने भएकाले त्यसमै सक्रिय भएर लागेको र त्यसबाट हुने आम्दनीबाट छोराछोरीको शिक्षामा खर्च गर्ने गरेको उहाँले बताउनुभयो । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कोनियाँ र ढाकी बनाउने योजना उहाँको छ ।

हरिनगरका मरिकजस्तै कोसी, देवानगञ्ज, गढी, इनरुवा, रामधुनी, बराहक्षेत्र, भोक्राहा, दुहबीलगायत स्थानमा बसोबास गर्ने मरिक समुदायले समेत छठलक्षित बाँसका सामग्री बनाउन थालेका छन् । आधुनिकतासँगै बाँसका सामग्रीको माग घट्दा मरिक समुदाय चिन्तित् छ ।

कफि पिउँदा रोग हैन, मुटु जोगाउँछ – अध्ययन

एजेन्सी – कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।

बिहीबार प्रकाशित तीन ओटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १०% देखि १५% सम्म कम हुन्छ ।

अध्ययन समूहका वरिष्ठ लेखक डा. पिटर एम किस्लरले एउटा विज्ञप्तिमा भनेका छन्, ‘ कफीले मुटुको धड्कन तीव्र पार्ने हुनाले यो पिउँदा मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्ने भन्दै कोही चिन्तित छन् । कफी पिउन बन्द गर्ने सामान्य चिकित्सा सल्लाह यहीँबाट आउन सक्छ ।’

सबै तीन अध्ययनहरूमा, किस्टलर र अन्य अनुसन्धानकर्ताहरूले यूके बायोबैंकको तथ्यांक प्रयोग गरेका थिए । यसले कम्तिमा १० वर्षको ५ लाख भन्दाबढी मानिसहरूको स्वास्थ्य अवस्था देखाउँछ ।

यी अध्ययनका लेखकहरूले कफी पिउने र मुटुको समस्या (एरिथमिया) र हृदय रोगबीचको सम्बन्ध पत्ता लगाउन खोजेका थिए ।