`

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। शुक्रबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।


यस्तै आज अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३ पैसा,साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ३९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ५५ पैसा रहेको छ।

अष्ट्रे्लियन डलर एकको खरिद दर ८६ रूपैयाँ ३३ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ७२ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १४ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९६ रूपैयाँ ९७ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८३ पैसा रहेको छ।

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

जानकी (बाँके), १ मङ्सिर : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ । उमेरले ५० नाघिसक्नुभएका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउनुहुन्छ । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन सुरु गर्नुभएका उहाँले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताउनुभयो । माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले उहाँ यसलाई नङमासुको सम्बन्ध भन्न रुचाउनुहुन्छ । “बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ । माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ ।

सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकाले माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु”, अमिनले विगत सम्झिँदै भन्नुभयो । बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिन बताउनुहुन्छ । “जे सिकायो त्यही सिक्ने त हो । मेरो बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु”, उहाँले भन्नुभयो, “माटोका भाँडा बनाउने हाम्रो पेसा थिएन र बाजेको पालादेखि यही गर्दै आएकले आज हाम्रा लागि यही नै पेसा बनेको छ ।” अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा रु १५–१६ हजारसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा रु पाँच–छ हजार आम्दानी भएको अमिनले बताउनुभयो । “यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिन्छ ?” निरास हुँदै उहाँले यस वर्ष दसैँतिहारमा भएको घाटाको कथा सुनाउनुभयो । अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उहाँले तीन घोडा पाल्नुभएको छ ।

ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिन बताउनुहुन्छ । “सात जनाको परिवारसँगै तीनवटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ । भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “यस वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ ।” अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आउनुभएको छ । कसगर भाँडा बनाउन सासूबाट सिकेको बताउनुहुन्छ । नेपालगञ्ज उपमहागनर पालिका–५ स्थित मसानघाट टोलकी उहाँले आफूसँगै दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाउनुभएको छ । पुख्र्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्नुहुन्छ । भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उहाँको भनाइ । गत वर्षको दसैँतिहारमा रु १३ हजारको व्यापार गर्नुभएकी सुफियाले रु १० हजार नाफा कमाएको बताउनुभयो । तर यस वर्ष भने जम्मा रु पाँच हजार जतिको नाफा भएको उहाँको भनाइ छ । अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ । तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफिया बताउनुहुन्छ । “हामीले जानेको काम भनेकै माटोका भाँडा बनाएर बेच्ने हो । तर यसको व्यापार बढ्नुको साटो घट्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “आफूसँगै आफ्ना पुस्ताको चिन्ता लागिरहेको छ ।” सुफियाले यस वर्षको दसैँतिहारका लागि एक ट्रली माटोका भाँडा बनाउनुभएको थियो । तर उहाँले सोचेजस्तो नाफा हुन सकेन । बुलबुलियास्थित मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगर झण्डै २१ घरपरिवारका छन् ।

तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुख्र्यौली पेसाका रूपमा चिनाउँदै आइरहनुभएको छ । कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहनुभएको छ । पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिड–१९ पछि भने ओरोला लाग्दै गएको कसगरहरूको भनाइ छ । माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउने गर्नुहुन्छ । एक ट्रली माटोको मूल्य साढे चार हजार पर्ने गर्दछ । अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि आफ्ना सातजना परिवारको साँझ–बिहानको छाक माटोका भाँडामै भर परेको छ । उमेरले झण्डै चार दशक नाघिसक्नुभएका पप्पुको भने चार पुस्ताले यो पेसालाई अँगाल्दै आइरहनुभएको छ । पप्पुको सातजनाको परिवारमध्ये छोराले फुर्सदमा ज्यालादारीको काम गर्ने गर्नुहुन्छ । तर माटोका भाँडा बनाउने समयमा परिवारलाई सघाउने उहाँको भनाइ छ । पप्पुले भन्नुभयो, “फुर्सदको समयमा छोराले ज्याला मजदुरी गर्ने गर्छ र तर जब माटो मुछेर भाँडा पकाउनुपर्ने हुन्छ त्यतिखेर छोराले पनि ज्यालामजदुरीको काम छाडेर हामीसँगै भाँडा बनाउन सहयोग गर्छ ।” एक ट्रली माटोको मूल्य रु चार हजार तिर्दै आएका कसगरहरूले यसै वर्षदेखि माटोको मूल्य बढेर रु साढे चार हजार तिरेको पप्पु, मोहम्मद र सुफियाले बताउनुभयो । उहाँहरूका अनुसार माटो बिक्री गर्ने साहुले यसै वर्षदेखि मूल्य बढाएपछि साढे एक ट्रलीको मूल्य साढे चार हजार भएको हो ।

काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गर्ने गरिन्छ । “पहिला–पहिला गोबरको गुइँठामा भाँडा पकाइन्थ्यो तर अहिले पशुाचौपाया पाल्न छाडेकाले गोबर पनि पाउन छाडेको छ”, सुफियाले भन्नुभयो, “हिजोआज गोबरको साटो धानको भुस अथवा दाउरामा भाँडा पकाएर तयार गर्ने गर्छौँ ।” एक क्विन्टल दाउरालाई रु एक हजार पर्दछ । माटोका भाँडा तयार गर्नलाई दुईपटक पकाउनुपर्ने हुन्छ । धानको भुस पाउन हम्मेहम्मे पर्न थालेको हुनाले कसगरहरू प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ । रु दुईदेखि दुई सय ५० सम्म मूल्य पर्ने माटोका भाँडामा बत्ती बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैँटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा) लगायत अन्य भाँडाकुँडा बनाइन्छन् । माटाका भाँडा सुकाउन नमिल्ने र भिज्ने भएको हुनाले वर्षाको मौसममा चार महिना कसगरले भाँडा बनाउनु हुँदैन । त्यो चार महिनामा मात्रै उहाँहरू दैनिकीरूपमा ज्यालामजदुरीको काम गरेर साँझ–बिहानको छाकको जोहो गर्ने गर्नुहुन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा खाल्डोमा पारेर तस्करले दुई गैँडा मारे

चितवन, १ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा गैँडा मारिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।”छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उहाँले बताउनुभयो । यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन् । गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।–

रुसले अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने

रुस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अहिले ठूलो सङ्कटबाट गुज्रिरहेको र दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रुसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

रुस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनःस्थापनाको ९० औं वर्षगाँठको उपलक्ष्यमा परराष्ट्र मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दै यस आशयको विज्ञप्ति जारी गरेको छ ।

वाशिङ्गटनको “रुसोफोबिक” (रुस र रूसी जनताप्रिको डर, वितृष्णा) गतिविधिका कारण सम्बन्ध विच्छेदन हुने जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।”यो रुसको छनोट होइन, यद्यपि, संयुक्त राज्य अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको छ … र यसले विनाशकारी नतिजा निम्त्याउन सक्छ,” विदेश मन्त्रालयले बताएको छ । वाशिङ्गटनले आफ्नो सैद्धान्तिक उद्देश्यमा ध्यान केन्द्रित गर्दै रूसलाई गलहत्याउने रणनीतिका कारण द्विपक्षीय सम्बन्ध बिग्रिएको रुसको दाबी छ।

अमेरिकी आधिपत्य र प्रभुत्वलाई “आधारभूत विश्वदृष्टिकोण” मान्ने वर्तमान अमेरिकी राजनीतिक अभिजात वर्गका नीतिहरूले पनि सम्बन्धलाई ठूलो मात्रामा बाधा पुर्यािएको रुसको बुझाइ छ ।
संयुक्त राज्य अमेरिका रुसका जनताको अशान्ति र स्थीर शासन व्यवस्था परिवर्तनलाई व्यवस्थित गर्नमा केन्द्रित छ, र यसले यी लक्ष्यहरू प्राप्त गर्न स्रोतहरू लगानी गरिरहेको छ, विज्ञप्तिमा भनिएको छ।

इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह आधार कब्जा

इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ । इजरायली रक्षा बलले बिहीबार जनाए अनुसार नौसेना, आर्मर र ईन्जिनियरिङ् बलहरूको संयुक्त आक्रमण र वायुसेनाको सहयोगमा करिब १० को प्रयत्नमा टनेल शाफ्टहरू नष्ट गरिएको र आतङ्कवादी पूर्वाधारका चारवटा भवनहरू पनि ध्वस्त पारिएको छ ।

हमासले आफ्नो नौसेनालाई प्रशिक्षण दिन र नौसैनिक आक्रमणहरू सञ्चालन गर्न यो सुविधा प्रयोग गरेको आइडिएफले जनाएको छ । नागरिक नौसेना एंकरेज को आवरणमा हमासले प्रशिक्षण र आक्रमण गर्ने उद्देश्यका लागि त्यो ठाउँको फाइदा उठाएको बताइएको छ । साथै नागरिक जहाजहरू र गाजाको नौसेना प्रहरी डुङ्गाहरू पनि प्रयोगमा ल्याइएको बताइएको छ । इजरायली सेनाले दशजना आतङ्ककारीलाई मारेको छ र एंकोरेज क्षेत्रका सबै भवनहरू खाली गरेको दाबी गरेको छ।

सन् २०१० को मावी मारमारा आक्रमणको घटनाहरूको सम्मान स्मारक पनि ढालिएको छ । बन्दरगाह कब्जा गर्न संलग्न इजरायली नौसेनाका १३ औं फ्लोटिलाका केही लडाकुहरूले मावी मारमारामा पनि पुगेका थिए ।

इजरायली नौसेनाले गाजा नाकाबन्दीलाई प्रतीकात्मक रूपमा तोड्न खोज्ने छ जहाजको फ्लोटिलालाई पनि रोकेको थियो । सो क्रममा फ्लोटिलाको सबैभन्दा ठूलो जहाज मावी मारमारामा हिंस्रक झडपमा परेको थियो ।

सन् २००७ मा हमासले गाजा माथि नियन्त्रण कब्जा गरेपछि इजरायली नौसेनाले इरानी हतियारहरू समुद्री मार्गबाट स्ट्रिपमा तस्करी गर्ने प्रयासहरूलाई रोकेको थियो ।

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौ ।आज कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज प्रतिकेजी टनेल गोलभेडा सानो ४५, गोलभेडा सानो लोकल ३०, भारतीय गोलभेडा ठूलो ७०, कागती १४०, केरा १७०, फूजी स्याउ ३५०, अम्बा ८०, मौसम १००, जुनार २५०, काक्रो ४०, पुदिना ५००, हरियो फर्सी २५ रहेको छ ।

घिउ सिमी लोकल ३०, काउली स्थानिय ३०, आलु रातो ६०, भारतीय आलु रातो ३६, लौका ३०, चुकन्दर ८०, कुरिलो १२००, हरियो प्याज १००, च्याउ ७० रुपैया रहेको छ । अन्य तरकारीको कति छ तल तालिकामा हेर्नुहोस्

संसद्मा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ : सांसद चौधरी

काठमाडौँ, १ मङ्सिर : निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन् । कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसद्मा बादप्रतिवादको शृङ्खला नै चल्यो । सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तथा अवरोधलगायत कारणबाट संसद् प्रभावहीन बन्न पुग्यो ।

दलहरूबीच हार्दिकता हुन नसक्दा संसद्मा अन्तिम अवस्थामा पुगेका विधेयक पनि पारित हुन सकेनन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तयारी अवस्थामा रहे पनि टुङ्गोमा पुगेनन् । कतिपय विश्लेषक यसलाई राजनीतिक नेतृत्व र सांसदको गैरजिम्मेवारीपनको उपज मान्छन् ।सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सचेतक रुपा सोशी चौधरी सदनमा थुप्रै विधेयक दर्ता भए पनि शीघ्र प्रक्रियामा अगाडि बढाउन नसक्नु कमजोरी भएको स्वीकार्नुहुन्छ । संसद् र सांसदले कानुन निर्माणलाई आफ्नो प्रमुख दायित्व बनाउनुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक दल र शीर्षनेता पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।“समितिका सभापति, सांसद, संसद् सचिवालय, कर्मचारी, दलका नेता, सम्बन्धित मन्त्रालय सबै आ–आफ्नो ठाउँमा क्रियाशील हुन सक्नुपर्छ”, सांसद चौधरीले भन्नुभयो, “मुलुकलाई अगाडि बढाउन आवश्यक कानुन निर्माण हुन सकेन भने त संविधानमाथि नै प्रश्न उठ्न सक्छ, अहिलेको जस्तो घिसेपिटे तरिकाबाट हुँदैन ।”सरकारले संसद्लाई ‘बिजनेस’ दिएन भन्ने गरिए पनि सदनमा थुपै विधेयक छलफलका लागि तयार रहेको उल्लेख गर्दै उहाँले ‘मिनी संसद’का रूपमा रहेका संसदीय समितिले प्रभावकारीरूपमा काम गर्न नसक्दा पनि केही समस्या देखिएको बताउनुभयो । “राजनीतिक दलहरूबीच सहमति भइसकेको विषयलाई छिटोछिटो समितिबाट टुङ्ग्याउँदै सदनमा पठाउने तथा पारित गर्नेतर्फ जानुपथ्र्यो”, सांसद चौधरीले भन्नुभयो, “यतातर्फ ढिलाइ भइरहेको छ ।”संविधानको पालना गरेर तद्अनुसारको कानुन निर्माणलाई प्राथमिकता दिनुपर्ने सांसद चौधरीको मत छ । सदनलाई ‘बिजनेस’ दिने तथा जनजीविकाका सवाललाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ भन्दै उहाँले भन्नुभयो, “संविधानले निर्दिष्ट गरेको मार्गमा सबै हिँड्नुपर्छ, कामकुरो एकतातिर कुम्लो बोकी ठिमीतिर हुनुहुँदैन, संसद्मा एकअर्काको आलोचनाभन्दा पनि विषयवस्तुलाई निष्कर्षमा लैजाने वहस हुनुपर्छ ।”संसदीय प्रक्रिया अत्यन्त औपचारिक रहेको उल्लेख गर्दै सांसद चौधरीले भन्नुभयो, “संसदीय प्रक्रिया हेर्दा कहिलेकाहीँ त उकुसमुकुस नै लाग्छ, तर प्रक्रिया मान्दिन भन्न पाइँदैन ।” देश र जनताको पक्षमा अत्यावश्यक देखिएका कानुन ‘फास्ट ट्रयाक’बाट बने पनि हुन्थ्यो भन्ने आफूलाई लाग्दै आए पनि नेपालमा प्रचलनमा रहेको संसदीय प्रक्रिया झण्झटिलो रहेको उहाँले अनुभव सुनाउनुभयो । “संसद् औपचारिक थलो त हो, तर कहिलेकाहीँ छिटोछिटो काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ”, सचेतक चौधरीले भन्नुभयो ।शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउने विषय अहिलेको सार्वभौम संसद्को प्राथमिकतामा हुनुपर्ने उल्लेख गर्दै उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा तथा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । “अन्तर्राष्ट्रिय मञ्चमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक ऐन, कानुन निर्माणलाई प्राथमिकता दिनुपर्छ”, सांसद चौधरीले भन्नुभयो, “शान्ति प्रक्रिया, सम्पत्ति शुद्धीकरणलगायत विषयसँग सम्बन्धित विधेयक कुनै दल र नेता विशेषको मात्र होइन, यो सिङ्गो नेपालसँग जोडिएको छ । राष्ट्रको सवाल आउँदा सबै जिम्मेवार भएर हल गर्नुपर्छ ।”विसं २०३५ मङ्सिर १२ गते कैलालीमा जन्मनुभएकी सांसद चौधरी २०५५ सालदेखि माओवादीमा आबद्ध हुनुभएको होे । जनयुद्धका क्रममा उहाँ २०५६ भदौदेखि २०५७ चैतसम्म जेल पर्नुभएको थियो । चौधरी जनमुक्ति सेनाको बटालियन कमिस्नर तथा महिला विभाग प्रमुख हुनुहुन्थ्यो । उहाँ अन्तरिम व्यवस्थापिका सदस्यसमेत हुनुहुथ्यो ।सांसद चौधरीले लामो समयसम्म संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन बन्न नसक्दा प्राप्त राजनीतिक उपलब्धि संस्थागत हुन नसकेको र संविधान नै अप्ठ्यारो अवस्थामा पुग्ने खतरा औँल्याउनुभयो । “यो प्रमुख चुनौती नै हो, प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्न दलीय स्वार्थभन्दा पनि संविधानअनुसारको कानुन निर्माण गरेर जानुको विकल्प छैन”, उहाँले भन्नुभयो ।कानुन निर्माणका क्रममा विषयवस्तु र प्रक्रियामा लैङ्गिक विभेद हुने गरेको आफूले पनि महसुस गरेको उल्लेख गर्दै सांसद चौधरीले महिलाको राजनीतिक सहभागिताको पाटो भने कमजोर रहेको बताउनुभयो । गणतन्त्रको विकल्प गणतन्त्र नै भएको उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको व्यवस्था बनाउन अहिले देखिएका कमी–कमजोरी सुधारेर जानुपर्नेमा जोड दिनुभयो ।–

फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित

काठमाडौँ, १ मङ्सिर : फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा युएईले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि कप्तान अलि मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो ।

दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए । खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो ।

उक्त गोल अली मखबूटले गरेका थिए । यस्तै खेलको ४४औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे । यस्तै युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे ।

अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने

काठमाडौँ-अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ ।

यहाँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ ।उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सहयोग गर्नेछ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भन्नुभयो, “पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दुछु । अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।”

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

महोत्तरी, १ मङ्सिर : मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि हिजो बिहीबार नै गरेका हुन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थालिने परम्परा छ ।

छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला÷पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

हिजो बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो व्रत यसपालि पर्सी आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन आउने सोमबार बिहान सूर्योदयसँगै गरिने छ ।

मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् ।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । जन–जन परिचालित हुने यो लोकपर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको देखिन्छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशका धेरै भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विभागका अनुसार हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मालीमा तैनाथ शान्ति सेना स्वदेश फिर्ता

काठमाडौँ, ३० कात्तिक : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ ।डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसङ्घको चार्टर्ड विमानद्वारा आज ८१ जनाको डफ्फा स्वदेश फिर्ता भएको हो ।

मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसङ्घको निर्णयअनुरुप नेपाली सेनाको टोलीमा रहेका एक सय ५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरतसमेत एक सय ६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली आज नेपाल आइपुगेको हो ।नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाका लागि विश्वभर तैनाथ मिसनममा फौज उपलब्ध गराउने सदस्य राष्ट्रको दोस्रो वरियतामा रहेको छ । हाल नेपालबाट पाँच सय ८२ महिला शान्ति सैनिकका रुपमा खटिएका छन् । जुन महिलातर्फ शान्ति सेनामा सबैभन्दा ठूलो सहभागिता भएको निर्देशनालयले जनाएको छ ।

स्वास्थ्यमन्त्रीद्वारा बर्न अस्पतालका घाइतेसँग भेट

काठमाडौँ, ३० कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका मोरङको उर्लाबारीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

मोरङको उर्लाबारीमा यही कात्तिक २६ गते भएको आगलागीमा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्रीले उपचार खर्च तिर्न नसक्नेहरुको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन दिनुभयो । पैसाको अभावमा कसैको पनि उपचार नरोकिने बताउँदै उहाँले जलेका बिरामीहरुका लागि कीर्तिपुर बर्न अस्पतालले उत्कृष्ट काम गरिरहेकाले मन्त्रालयले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा शङ्करमान राईले उर्लाबारी घटनाकासमेत गरी अहिले अस्पतालमा ४४ जना जलेका बिरामीको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले उर्लाबारी घटनाका पीडित २५ जना घाइतेमध्ये पाँच जनाको शुक्रबार शल्यक्रिया गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।

नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा जोड

काठमाडौँ, ३० कात्तिक : लिथवेनियाका लागि नेपालका गैरआवासीय राजदूत प्रा डा रामस्वार्थ रायले नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा जोड दिनुभएको छ ।

गणतन्त्र लिथवेनियाका राष्ट्रपति गितानस नौसेदासमक्ष बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा नेपालका राजदूतले पारस्परिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा जोड दिनुभएको हो । नेपालको सामाजिक–आर्थिक विकासमा लिथवेनिया सरकार तथा जनताबाट प्राप्त सहयोगका निम्ति उहाँले हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।

राजदूत रायले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट राष्ट्रपति नौसेदको व्यक्तिगत सुख, सुवास्थ्यका साथै लिथवेनियाका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको कोपनहेगनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

आठ वर्षपछि पुनःनिर्माण गरिँदै अदालत भवन

गलकोट, ३० कात्तिक : भुकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा काम भइरहेकाले निर्माणले तीव्रता पाएको हो । छ तलाभन्दा बढीको पूर्ण आपाङ्गमैत्री भवनमा अहिले चौथो तलाको काम भइरहेको छ ।

अदालतको भवन २०७२ सालको भूकम्पले छियाछिया बनाएकाले पहिलो पटक दुईवटा विद्युतीय भ¥याङसहित नमूना भवन निर्माण भइरहेको हो । हालसम्म भवनको ४० प्रतिशत काम सम्पन्न भइसकेको र सोही भवनसँगै जोडिएको मुख्य आवासगृहको पहिलो तला पनि ढलान भएको निर्माण कम्पनीको जिकिर छ ।

मुख्य भवनको मात्रै निर्माणको काम ६० प्रतिशत भए पनि भवन तथा तीन वटा आवास गृह निर्माणका हिसाबले पूरै योजनाको ४० प्रतिशत सम्पन्न भएको हो । सम्झौता भएको ११ महिनामा चौथो तलाको ढलान भइरहेकाले सम्झौता अघि नै भवन सकेर बुझाइने निर्माण कम्पनीले जनाएको छ ।

उक्त भवन ३० महिनामै सक्नेगरी २०७९ मङ्सिर १६ गते श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु ५७ करोडमा ठेक्का पाएको थियो । भवन निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गर्नाका साथै दिन र रातमा समेत दुई चरणमा निर्माणको काम भइरहेको ठेकेदार कम्पनीका व्यवस्थापक ओम गुरुङले जानकारी दिनुभयो ।

“पुरानो भवन भत्काउनेदेखि नयाँ भवनको भूइँतलाको लागि माटो व्यवस्थापनमा समय लाग्यो, अहिले दिनरात गरी दुई चरणमा काम भइरहेको छ, यति ठूलो भवन ३० महिनामै सक्नु चुनौतीपूर्ण हो तर हामीसँग प्रविधि र जनशक्ति दुवै छ”, उहाँले भन्नुभयो, “रु ५७ करोड लागतको भवन दिनमा मात्रै काम गरे पाँच वर्ष लाग्छ, दिनरात काम गरेर ३० महिना अगावै सक्नु आवश्यक छ ।”

भवन निर्माणका लागि आवश्यक कच्चा सामग्री रेडिमिक्सको सहायताबाट तयार पारी प्राविधिक जाँच गरेपछि मात्रै प्रयोगमा ल्याइने गरिएको छ । श्रमिकलाई समेत आवसीय सुविधासहित भवन निर्माणस्थलमै राखिएको छ । बागलुङ इजालसका सूचना अधिकारी शिवप्रसाद गौतमका अनुसार भवन निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको अन्य निर्माणमा जस्तो निर्माण व्यवसायीले यो भवन निर्माणमा ढिलासुस्ती नगरेकाले समय अगावै सकिने बताउनुभयो ।

“अहिले उक्त इजलासको काम यहाँस्थित जिल्ला अदालतको भवनबाटै भइरहेकाले हामीलाई छिटोभन्दा छिटो भवन निर्माणको काम सकेर सेवा दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।
अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह र कर्मचारी आवाससमेत तीन ब्लकमा हुनेछ । सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त भवन प्रविधिमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीका साथै साविक धौलागिरि अञ्चलका चार जिल्लामध्ये सबैभन्दा ठूलो र आधुनिक हुने सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।सो भवनमा छवटा अत्याधुनिक इजलास कक्ष रहने छन् ।

एआईले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा

आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ ।

तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ ।

बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् ।

“उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठूलो जोखिम छ”, अध्ययनमा भनिएको छ । एआईले सेतो पोशाकधारी (चिकित्सक) को विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठूलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ ।

अध्ययनअनुसार एआईका कारण आफ्नो जागिर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्तिह धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन् । बैंक अफ कोरियाको अध्ययनमा भनिएको छ, “एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा हो तर यसले एआई प्रणाली विकसित गर्ने इन्जिनियर र एआईसँग सम्बन्धित स्टार्ट–अपहरूमा नयाँ नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्दछ ।”

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ– सी

चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उहाँले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताउनुभएको हो ।

“यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उहाँले भन्नुभयो ।

राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उहाँको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उहाँहरूले दुई मुलुकबीचको तनावलाई कम गर्ने वाचा गर्नुभएको छ ।

उच्चस्तरीय सैन्य हटलाइनलाई पुनः सक्रियताका साथ सुरु गरी दुवै पक्षले लक्जरी फिलोली एस्टेटमा वार्तापछि धेरै सम्झौताको घोषणा गरेका छन् ।

“हामीले धेरैभन्दा धेरै पुल बनाउनु पर्छ र जनता–जनताबीच कुराकानी गर्नका लागि अधिक सडक बनाउनुपर्छ”, करिब चार सय व्यापारिक नेता, सरकारी अधिकारी र शिक्षाविदहरूको उपस्थितिमा चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “हामीले विभिन्न अवरोध सिर्जना गर्नु हुँदैन वा भयावहको प्रभाव सिर्जना गर्नु हुँदैन ।”

सो अवसरमा उपस्थित हुने अतिथिहरूमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, ब्ल्याकरकका लरेन्स फिङ्क र पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला हुनुहुन्थ्यो ।

चीनको कडा व्यापारिक निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राख्दै अमेरिका–चीन व्यापार परिषद् र अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा सीको टिप्पणीलाई ध्यानपूर्वक हेरिएको थियो । अमेरिकी कम्पनीहरूले तीव्ररूपमा चीनमा लगानी गर्नबाट पन्छिरहन खोजेसँगै सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौंको सबैभन्दा तल्लो स्तरमा पुगेको अमेरिकी र युरोपेली उद्यम लबीहरूले बताएको छन् ।

उत्तरपश्चिम पाकिस्तानमा छुट्टाछुट्टै भीडन्तमा एकजना सैनिक र ४ आतङ्ककारी मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार सुरक्षा बल र आतङ्ककारीहरू बीचको दुईवटा छुट्टाछुट्टै भीडन्तमा एकजना सैनिक र चार जना आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ।उक्त घटना मध्ये एउटा प्रान्तीय राजधानी शहर पेशावरको बाहिरी भागमा भएको थियो जहाँ सुरक्षा बलहरूले आतङ्ककारीहरू रहेको गुप्त सूचनाका आधारमा कारबाही सञ्चालन गरिएको थियो ।

उक्त कारबाहीका क्रममा गोलाबारी शुरु भएको र अत्यधिक खोजीको सूचीमा रहेका चारजना आतङ्ककारीहरू मारिएको जनाइएको छ । “ती आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ । ती आतङ्ककारीहरू त्यस क्षेत्रमा फिरौती, हत्या र लुटपाटका गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए,” विज्ञप्तिमा भनिएको छ।

अर्को कारबाही प्रान्तको डेरा इस्माइल खान जिल्लामा सञ्चालन गरिएको थियो जहाँ आतङ्कवादीहरूसँगको तीव्र दोहोरो भीडन्तमा एकजना सैनिकको मृत्यु भएको आईएसपीआरले जनाएको छ । उक्त विज्ञप्तिमा भनिएको छ- “पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध भएकाले यस कारबाही तीव्र पारिएको छ ।”

टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ

काठमाडौँ – नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासका निम्ति यस्ता बहसहरू भइरहनेछन् र राज्यले खुल्ला हृदयले स्वागत गरिरहनुपर्दछ । यो आलेख टिकटक प्रतिबन्ध गर्नुपर्नाको कारण एवं प्रतिबन्धपछि देशव्यापी रूपमा उठेका प्रश्न र जिज्ञासाहरूमा केन्द्रित रहनेछ, जसले हरेक लोकतान्त्रिक राज्य कसरी राज्य, राज्यका नागरिक र समाजप्रति उत्तरदायी रहन्छ भन्ने कुराको बोध गर्न सजिलो हुनेछ ।

विश्व सन् १९८० पछि सूचना–प्रविधिमा अभ्यस्त हुन थालेको भए पनि नेपालले आधुनिक प्रविधिको प्रयोग गर्न थालेको लामो इतिहास छैन । २०६२/६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सूचना–प्रविधिमा विशेष चासोका साथ पहल लिएको थियो, जुन मन्त्रिपरिषद्मा सूचना तथा सञ्चारमन्त्री थिए माओवादी नेता कृष्णबहादुर महरा । अर्थात् सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा प्रवेश गरेको माओवादीका निम्ति विशेष रूचि र चासोको विषय थियो–सूचना प्रविधि । किनकी, १० वर्षे जनयुद्धमा माओवादी स्वयंले नवीनतम् प्रविधिहरूको विकास र उपयोगमा जोड मात्र दिएन, पार्टी अध्यक्ष प्रचण्डले आफ्नो हरेक दस्तावेजमा सूचना–प्रविधिमा आएको अभूतपूर्व क्रान्तिको आत्मसाथ गर्दै नयाँ जनवाद हुँदै समाजवादको आधार तयार पार्नुपर्नेमा जोड दिनुहुन्थ्योे । यसको अर्थ हो–प्रारम्भदेखि नै माओवादी प्रविधिमैत्री थियो ।

पछिल्ला १५ वर्षमा नेपालले सूचना–प्रविधिको क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । यस अवधिमा छापा तथा विद्युतीय सञ्चारमाध्यममा गुणात्मक विकास भएको छ । आमसञ्चार यति शक्तिशाली क्षेत्र भएको छ, जो आफैँले आफ्ना लागि समाचार उत्पादन, प्रसारण र वितरण गर्दछ । सामाजिक सञ्जालका धेरै प्लेटफर्ममा नेपालीहरू अभ्यस्त छन् । यस्ता सञ्जालहरूले पहुँचको अभावमा लुकेका प्रतिभाहरूको प्रष्फुटन गराएका छन्, अन्यायमा परेका नागरिकहरूका आवाजले राष्ट्रिय महत्व पाएका छन् । उपचार नपाएका कैयौं नेपालीहरूलाई सहयोगको राम्रो आधार तयार भएको छ । मानिसहरूले कम खर्चमा आफूले पढ्न/सुन्न/हेर्न चाहेको सामग्री सुलभ रूपमा प्राप्त गरेका छन् । बलियो सामाजिक सञ्जाल स्थापित गर्न सहयोग पुगेको छ । देश/विदेशमा रहेका आफन्त र साथीहरूबाट सघन सम्बन्ध र अन्तरक्रिया कायम भएको छ । विभिन्न शिक्षाप्रद सामग्रीको उपलब्धताले मानिसले बहुआयमिक ज्ञान हासिल गर्ने अवसर प्राप्त गरेको छ । नीति निर्माता र राज्य सञ्चालकहरूलाई नागरिक तहबाट खवरदारी गर्ने राम्रो माध्यम बनेको छ, आदि–आदि । सूचना–प्रविधि र सामाजिक सञ्जालका बहुआयाम छन्, जसले व्यक्ति, समाज, राष्ट्र र सिङ्गो विश्वलाई अगाडि बढ्न उत्प्रेरित गरिरहेको छ ।

तर, यति धेरै सवल पक्ष हुँदाहुँदै पनि पछिल्लो समय नेपाली समाजमा सामाजिक सञ्जालको दुरूपयोग बढ्दो छ । साइबर अपराधका नयाँ–नयाँ आयाम र तरिकाहरू सतहमा आएका छन् । नेपाल प्रहरीमा दर्ता भएका उजुरीहरू र तिनीहरूको प्रकृति हेर्दा राज्यले जिम्मेवारीपूर्वक नियमन नगर्ने हो भने हाम्रो भविष्यमाथि खतराको बादल मडारिँदैछ । यसतर्फ हामी सबै चनाखो र गम्भीर बन्नैपर्छ ।नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाल र एपहरूका गुणदोष दुबै छन् । युट्युब, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा पनि पारिवारिक र सामाजिक मर्यादाविपरितका धेरै सामग्रीहरू छन् । तिनीहरूमाथि समेत नियमन जरूरी छ ।

तर, आजको सन्दर्भमा सबैभन्दा धेरै दुरूपयोग टिकटकको देखिएको छ । त्यसको नियमनका लागि राज्यको तर्फबाट पर्याप्त गृहकार्य र तयारी गरिएको देखिन्छ, यद्यपि नियमन सम्भव भएन । त्यसैले सरकार तत्कालका लागि टिकटक बन्द गर्ने र अरू सामाजिक सञ्जालहरू मर्यादित बनाउन नियमन गर्ने निष्कर्षमा पुग्यो। आजको यथार्थ यही हो । टिकटकमा प्रसारित सबै सामग्रीहरू खराब छैनन् । त्यो कुरा प्रयोगकर्ताको ज्ञान, विवेक र सभ्यतामा समेत निर्भर रहन्छ । टिकटकका माध्यमबाट नयाँ प्रतिभाहरू सतहमा आएका छन्, उनीहरूले सामाजिक जीवनमा राम्रो प्रगति गर्ने आधार पनि खडा भएको छ । विभिन्न ज्ञानवर्धक सामग्री बनाउने बौद्धिक जमात पनि यहाँ क्रियाशील छ । उनीहरूले टिकटकलाई कसरी प्रगतिका निम्ति उपयोग गर्ने भन्नेखालका शिक्षा र सन्देश प्रसारण गरिरहेका छन् । यो सकारात्मक पक्ष हो ।

तर, टिकटकबाट चर्चा कमाउने र आयआर्जन गर्ने नाममा जे–जस्ता सामग्रीहरू प्रसारित हुने गरेका छन्, ती गम्भीर प्रकृतिका छन् । श्रम, उत्पादन, रोजगारी र सेवा क्षेत्रमा हुनुपर्ने युवा जनशक्तिको सम्पूर्ण ध्यान टिकटकमा देखिएको छ, उनीहरू टिकटकबाट आम्दानी गर्न जे–जे गर्दा ‘भ्यूज’ बढ्छ, त्यस्तै कर्म गर्न अभ्यस्त देखिन्छन् । लाइभका नाममा जे–जति विकृति देखिएका छन्, त्यसको जति नै निन्दा गरे पनि कमै हुन्छ । यस्ता सामग्रीहरूको प्रसारणले सबैजसो परिवारमा तनाव र बेचैनी हुने गरेको छ । अत्यन्तै उत्तेजक, कृतिम, अश्लिल सामग्री प्रस्तुत हुँदै जाँदा शिक्षित र बौद्धिकहरूसमेत ‘भ्यूज’ बढाउन अश्लिलताको प्रतिस्पर्धातर्फ धकेलिँदैछन् । उनीहरूसमेत उट्पट्याङमा लालयित हुने र गहन बौद्धिक एवं शैक्षिक सामग्री, चिन्तन/मन्थन शून्यप्रायः देखिँदैछ । प्रयोगको एकाध वर्षमा नै नेपालमा यस्तो विकृति देखिएको छ, जसमाथि लगाम नलगाउने हो भने भोलिको परिस्थिति राज्य, समाज र परिवारको नियन्त्रणबाहिर जानसक्छ ।

टिकटकमा प्रसारित भएका कतिपय सामग्रीहरू परिवार सँगै बसेर हेर्नै नसकिने खालका छन् । पूरै नग्नताका साथ प्रस्तुत हुने, सीमाबाहिरको गालीगलौज गर्ने, आफूले ढलेको सिन्को नउठाउने, केही गरिरहेका वा गर्न खोजिरहेका माथि तथानाम गाली गर्ने, आवाज, तस्बिर, भिडियो ‘इडिट’ गर्ने र तथ्यलाई बङ्गाएर प्रस्तुत गर्ने, श्रम संस्कृतिलाई तिरस्कार गर्ने, पारिवारिक उत्तरदायित्वबाट बिमुख हुने, घर–घरमा मनोरोगको भ्रूण रोप्ने, सभ्यता, संस्कृति र ज्ञानविज्ञानमाथि प्रहार गर्ने, पारिवारिक कलह, झै–झगडा, व्यक्तिको गोपनीयताको हकमाथि आक्रमण, बालबच्चा र जेष्ठ नागरिकको विकास र हेरचाहमा लापर्वाहीजस्ता सयौं अश्लिलता र विकृतिका कारण टिकटकमाथि नियमन अनिवार्य थियो ।सामाजिक सञ्जालको दुरूपयोगले सञ्चारमाध्यम पनि दिक्क भएका छन् । हप्तौं लगाएर अनुसन्धान गरिएका सामग्री ओझेलमा पर्ने र कुनै लगानी, परिश्रम र गुणस्तर नभएका सामग्री भाइरल हुने परिस्थितिले हरेक क्षेत्रको व्यवसायिकतामाथि नयाँ चुनौती थपिएको छ । कर्मठहरू गुमनाम छन्, अघिपछि युट्युबरहरू बोकेर हिड्ने ‘स्टन्डबाज’हरू चर्चामा छन् । अस्पतालमा १८ घण्टा बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीको कुनै चर्चा छैन, एक कार्टुन चाउचाउ बाँड्न १२÷१५ जना युट्युबर बोकेर हिड्ने अभियान्ताको चर्चा छ । उही दानी, उही ज्ञानी, उही त्यागीको भ्रमले समाज आक्रान्त छ । नयाँ–नयाँ रङ्गका जोगीको उदयले नागरिक रनभुल्लमा छन् ।

एउटा स्रष्टाले अहोरात्र मेहेनतका साथ गीत, कथा, कविता लेख्छ । एउटा कलाकारले वर्षौं लगाएर उक्त सिर्जनामा सङ्गीत र स्वर भर्छ । एउटा उत्पादकले लाखौं खर्च गरेर उक्त सिर्जना बजारमा ल्याउँछ । तर, एउटा बेतुकको टिकटकरले त्यसलाई पूरै बिगार्छ, सामाजिक सञ्जाल दुर्गन्धित तुल्याउँछ । बिडम्वना, त्यही युट्युबर र टिकटकर हिट हुन्छ। “लाइक”, ‘फलो’, ‘भ्यूज’ उसैको बढ्छ । जसको सिर्जना हो, ऊ गुमनाम छ । जसले सिर्जनामाथि अपराधपूर्ण धावा बोल्छ, सामाजिक सञ्जाल दुर्गन्धित बनाउँछ, ऊ हिरो छ । यो ज्यादती सभ्य समाजले सहन सक्ने कुरा होइन ।टिकटकका सन्दर्भमा यति कुरा भनिसकेपछि अब चाहिँ नागरिक तहबाट उठेका केही जिज्ञासा, आलोचना र टिप्पणीहरूमाथि ध्यान दिन उपर्युक्त ठान्दछु । ती तर्क एवं टिप्पणी र सच्चाइबारे हामी सबै प्रष्ट हुन आवश्यक छ ।

पहिलो : टिकटक बन्द गर्नु अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नु हो, वाक् तथा प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु हो । यो कुतर्क र आग्रहपूर्ण राजनीतिक आक्षेप हो । यिनै राजनीतिक दलहरू हुन्, जो निरङ्कुशताका विरूद्ध देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति लड े। लोकतन्त्रका निम्ति, अभिव्यक्ति स्वतन्त्रताका निम्ति भूमिगत जीवन, जेलनेल र बलिदानको कीर्तिमान कायम गरे ।

त्यसैले यी दल र शक्तिहरूको नशानशामा लोकतन्त्रप्रति आस्था र विश्वास छ । हामी स्पष्ट हुनुपर्छ–अभिव्यक्ति स्वतन्त्रताको अर्थ अराजकता होइन, स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन, वाक् स्वतन्त्रताको अर्थ मनलाग्दी लागीगलौज र मानमर्दन होइन । हाम्रो संविधान र कानुनहरूले जुन व्यवस्था गरेका छन्, त्यसको मर्म र भावनाको सम्मान गर्नु नै वास्तविक अर्थमा लोकतन्त्र हो । दोस्रो : टिकटक नेपालमा मात्र बन्द गरिएको होइन, विश्वका कैयौं मुलुकहरूले यसको औचित्यमाथि प्रश्न उठाउँदै बन्द गरिसकेका छन् । अश्लिलता, मानव बेचविखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायतका कारण देखाउँदै टिकटक प्रतिवन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको छ । बेलायत (२०२३), अमेरिका (२०२०), न्युजिल्याण्ड (२०२३), क्यानडा (२०२३), ताइवान (२०२२), बेल्जियम (२०२३), डेनमार्क (२०२३), पाकिस्तान (२०२०), अफगानिस्तान (२०२२), भारत (२०२०), सोमालिया (२०२३), अर्मेनिया (२०२०), अजरवैजान (२०२०), बङ्गलादेश (२०१८), इन्डोनेसिया (२०१८) इरान (२०२३), जोर्डन (२०२२), अष्ट्रिया (२०२३), इस्टोनिया (२०२३), फ्रान्स (२०२३), आयरल्याण्ड (२०२३), लाट्भिया (२०२३), माल्टा (२०२३), नेदरल्याण्ड (२०२२), नर्वे (२०२३) र अष्ट्रेलिया (२०२३) ले टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् । आफ्नै देशभित्र उत्पादन भएको एपलाई चीनले समेत कडा नियमन गरिरहेको छ, जहाँ चीनबाहिरका नागरिकले उही एपबाट टिकटक चलाउन सक्दैनन् । यसले प्रष्टाउँछ– कुन सोसल मिडिया वा एप प्रयोग गर्ने वा नगर्ने, गर्न दिने वा नदिने भन्ने कुरा सम्बन्धित मुलुकको राष्ट्रिय हित र चासोमा निर्भर रहन्छ ।

तेस्रो : टिकटक नियमन गर्न सकिन्थ्यो, नियन्त्रण गर्नु गलत हो । जुन कुरा सतही विश्लेषण हो । एक हप्ताअघि गृह मन्त्रालयले टिकटकका प्रतिनिधि बोलाएर एपलाई नियमन गर्नेबारे छलफल गरेको थियो । तर, उक्त छलफलमा टिकटकका प्रतिनिधिहरूले टिकटक नियमन गर्न नसकिने, अवान्छित सामग्रीहरू हटाउन नसकिने, फेक आइडीलाई नियमन गर्न नसकिने बताएपछि सरकारले बन्दको बिकल्प रोज्नुपरेको हो । चौंथो : सामाजिक सञ्जालका रूपमा आउने नयाँ–नयाँ प्रविधिका मुख्यतः दुई स्वार्थ छन् : प्रविधिको माध्यमबाट प्रभाव विस्तार र व्यापारिक स्वार्थ । त्यस्ता सञ्जालहरू सञ्चालनमा आउँदा नेपालभित्र अनिवार्य दर्ता हुनुपर्छ । दर्ता नहुँदा त्यस्ता सञ्जालहरूको अनुगमन, नियमन र करको दायरामा ल्याउने विषय कठिन हुन जान्छ । तसर्थ, भविष्यमा सामाजिक सञ्जालका सबै प्लेटफर्महरूलाई देशभित्र दर्ता अनिवार्य गर्नेगरि जानैपर्छ ।

पाँचौं : पारिवारिक र सामाजिक सद्भाव भड्काउने अरू पनि सोसल मिडिया छन्, टिकटक बन्द गरेर समस्या समाधान हुँदैन भन्ने तर्क पनि छ । यथार्थ हो– अरू सोसल मिडियामा पनि अवान्छित सामग्री छन्, तिनीहरूको पनि नियमन जरूरी छ । तर, सबैभन्दा बढी अवान्छित गतिविधि टिकटकमा हुनु र स्वयं टिकटकका प्रतिनिधिले नै नियमन गर्न सकिँदैन भन्नु नै टिकटक बन्द गर्नुपर्नाको प्रमुख कारण हो । छैटौं : टिकटक बन्द गरे पनि ‘भिपिएन’बाट टिकटक चलाउन सकिन्छ भन्ने तर्क पनि छ । हो– भिपिएनबाट पनि टिकटक चलाउन सकिन्छ तर राज्यले नै गैरकानुनी ठहर गरिसकेको एप चलाउने काम पनि गैरकानुनी हुन जान्छ । त्यस्ता प्रयोगकर्ताहरू स्वतः कानुनको दायरामा आउनेछन् ।

सातौं : सर्वोच्च अदालतले सरकारको निर्णय उल्टाउनेछ । यो पनि सतही तर्क नै हो । नेपालको संविधानले देशको राष्ट्रिय हित, प्रतिष्ठा, स्वतन्त्रता, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा कानुन बनाएर नियन्त्रण गर्ने अधिकार प्रदान गरेको छ । टिकटक प्रतिबन्ध सामाजिक सञ्जाल नियमन निर्देशिका जारी गरेपछि मात्रै गरिएको छ । तसर्थ, यो संवैधानिक र कानुनसम्मत छ ।

आठौं : चीनको एप्लिकेशन भएकाले बन्द गरियो, भूराजनीतिक दबाबको प्रभाव हो भन्ने गरिएको छ । जुन सर्बथा गलत र पूर्वाग्रहपूर्ण विश्लेषण हो । नेपाल सरकार पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीतिका साथै दुबै छिमेकीलगायत विश्वभरिका मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्दछ । यो तथ्य प्रचण्ड सरकारका १० महिनाले प्रमाणित गरिसकेको छ । नवौं : सरकार मिसन २०८४ बाट त्रसित भएको प्रोपोगाण्डा गर्ने कोशिस हुँदैछ, जुन भ्रामक कुरा हो । २०८४ को निर्वाचनमा कुन शक्ति र दलको हैसियत के हुन्छ भन्ने कुरा हाम्रो बाँकी ४ वर्षले निर्धारण गर्नेछ, कुनै पूर्वप्रायोजित प्रोपोगाण्डाले निर्धारण गर्दैन । आज जुन दल र नेताहरू गालीगलौजको सहाराले जनमत आफूतिर तान्ने कोशिस गर्दैछन्, निर्वाचित भएपश्चात तिनीहरू पनि परीक्षाको कसीमा जाँचिनैपर्छ ।

त्यतिबेला थप प्रष्ट हुनेछ–आवेग, घृणा, उत्तेजना, गालीगलौजले राज्य चल्दैन । राज्यका कुशल सञ्चालक ती हुन्, जोसँग ज्ञान, विवेक, निर्णय क्षमता, राजनीतिक योगदान, त्याग बलिदान, सिद्धान्त, राजनीतिक समर्पण चाहिन्छ । यो तथ्य स्थापित गर्न लोकतान्त्रिक शक्तिहरूले धैर्यतापूर्वक सङ्घर्ष गर्नेछन् ।

दशौं : प्रविधि नवीनतम् चेतनाको उपज हो, यसलाई नियन्त्रण गर्न खोज्नु पछौटेपन हो भन्ने कूतर्क पनि देखिन्छ । यो सबैभन्दा भयानक र घातक छ । प्रविधि मुलतः विकसित चेतना र विज्ञानको उपज हो । तर, प्रविधिका सबै प्लेटफर्मले नवीनतम् युग र चेतनाको प्रतिनिधित्व गर्छन् भन्ने निश्चित हुँदैन । ‘पोर्न साइड’ पनि प्रविधि नै हो तर त्यसले नवीनतम् चेतनाको प्रतिनिधित्व गर्दैन । क्रिप्टोकरेन्सी पनि प्रविधि नै हो तर त्यसमाथि लगभग सिंगो विश्वले नै प्रतिबन्ध लगाएको छ । त्यसैले सभ्यता र समुन्नतिको आकांक्षा राख्ने मुलुकहरूले त्यसमाथि प्रतिबन्ध लगाएका छन् । गुण र दोषका आधारमा समर्थन र विरोध नगरी प्रविधिका खराब पक्षहरूलाई पनि नवीनतम् चेतनाको उपज ठान्नु बौद्धिक टाटपल्टाइ मात्रै हो । त्यसैले तत्कालका निम्ति सरकारले जुन कदम चालेको छ, त्यसले राष्ट्रको बृहत्तर हित, सामाजिक सद्भाव र पारिवारिक एकताको लक्ष्य राखेको छ । हामीसँग सामाजिक सञ्जालका धेरै प्लेटफर्महरू छन्, तिनीहरूको रचनात्मक, सकारात्मक, आलोचनात्मक र प्रतिफलमुखी ढङ्गले उपयोग गरौं । (लेखक प्रधानमन्त्रीका प्रेस विज्ञ हुनुहुन्छ)

छठ पर्वमा कृषिजन्य वस्तुको विशेष महत्त्व

महेन्द्रनगर (धनुषा) ३० कात्तिक : मिथिलाञ्चलसहित तराई–मधेशमा विशेष महत्त्वका साथ मनाइने छठ पर्वमा कृषिजन्य वस्तुको विशेष महत्त्व छ । शुद्धतामा विशेष ध्यान दिइने यो पर्वमा कृषि उपजलाई प्रसादका रूपमा लिइन्छ भने केहीलाई वर्जित गरिएको छ ।

नरिवल, टापनिम्बु, स्याउ, उखु, मुला, बेसारको झार, अदुवा, शकरकन्दसहित विभिन्न स्थानीय कृषि उत्पादनलाई प्रसाद सामग्रीको रूपमा चढाइन्छ भने लसुन, प्याज, कोदो, मसुरीसहितका वस्तु वर्जित छ ।

पछिल्लो समय काठमाडौँ उपत्यका र अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि मनाउन थालिएको छ । छत्तीस घण्टासम्म पानी पनि नखाएर व्रत बस्ने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अघ्र्य दिइन्छ भने छठी माताको पूजा आराधना गरिन्छ ।

कामख्या परिवार नेपालका अध्यक्ष बाबा विभाष लाभका अनुसार प्रकृति र शक्तिका स्वरूप मानिने सूर्य देवताको पूजा गरी मनाइने महत्त्वपूर्ण पर्व छठको पनि विशेष महत्त्व र महिमा रहेको छ । सूर्यको पूजा गरी मनाइने पर्वमध्ये छठ महत्त्वपूर्ण मानिन्छ ।

यो पर्व चार दिनसम्म मनाइन्छ । पहिलो दिन अर्थात् चतुर्थीको दिनलाई ‘अरवा–अरबाइन’ वा नहाए खाए भनिन्छ । यस दिन व्रती सर्वप्रथम स्नान गरी भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुरीसहितका वस्तु परित्याग गरी शुद्ध र पवित्र भोजन गरी व्रतको सुरुवात गर्ने गर्छिन् ।

दोस्रो दिनको विधिलाई खरना भनिन्छ । यस दिन व्रती बिहानैदेखि निर्जला व्रत बसी साँझ गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोको घोलले भूमि सुशोभित गरिन्छ । अनि चन्द्र दर्शनपछि माटोको नयाँ चुलो र भाँडावर्तनमा सख्खर, दूध र चामलको खीर बनाएर केराको पातमा राखी कुलदेउता स्थापित कोठामा छठी मातालाई चढाइन्छ ।

यसपछि व्रती र परिवारका सदस्य खीर प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् । त्यसपछि सुरु हुन्छ, व्रतीहरुको ३६ घण्टाको कठोर उपवास । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिवसीय रूपमा मनाइने पर्वमा व्रतीले निर्जल उपवास बस्नुपर्दछ । यस पर्वको महत्त्वपूर्ण तेस्रो दिन अर्थात् षष्ठी तिथि हो । यस दिन प्रसादका रूपमा बनाइएको ठकुवा, भुस्वा, पुरी कचवनिया र फलफूलसहितका प्रसाद सामग्री लिएर सरोबर, नदीनाला तथा पोखरी, घाट पु¥याइन्छ । नरिवल, टापनिम्बु, स्याउ, उखु, मुला, बेसारको झार, अदुवा, शकरकन्दसहित विभिन्न स्थानीय कृषि उत्पादनसमेत प्रसाद सामग्रीको रूपमा चढाइने भएकाले यसलाई कृषिको पूजाका रूपमा समेत लिइन्छ । स्थानीय कृषिजन्य उत्पादनहरू सूर्यदेवतालाई चढाउँदै धन्यवाद दिने र पुनः सफल कृषि उत्पादनको कामना पनि यस पर्वमा हुनेगर्छ ।

सम्पूर्ण सामग्रीसहित पोखरी र सरोबर घाट पुगेका व्रतालु साँझ द्वीप, धूप, अगरबत्ती प्रज्वलित गरी सूर्य देवता र छठि माताको पूजाआराधना गरी राति पोखरी घाटमै जाग्राम बस्ने गर्दछन् । स्थानीयरूपमै माटोले बनाइएको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चङ्गेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुले जलाशयको दृश्य मनमोहक बनाइएको हुन्छ । अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदा व्रती दुवै हातमा चालमको घोल र सिन्दुर लगाएर अक्षता र फूलसहित पालैपालो अघ्र्य सामग्री सूर्यदेवता समक्ष अर्पण गरिन्छ ।

खरनाका राति भक्तजन जलाशय घाटमै प्रसादको सुरक्षाका लागि छठिमाता पूजाको गीत र सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने गर्दछ । पर्वको चौँथो तथा अन्तिम दिनलाई पारन भनिन्छ । यस दिन व्रती बिहान सूर्य उदाउँने वित्तिकै जलाशयमा स्नान गरी उदाएको सूर्यदेवतालाई अघ्र्य दिएपछि छठ विधिवत् रूपमा सम्पन्न हुन्छ ।

सूर्यको उपयोगी किरणको अभावबाट हुने कुष्ठरोगसहितबाट रोग ब्याधिबाट मुक्तिका लागि पनि यो पर्व विशेष महत्त्व रहेकोे ज्योतिष राकेश साहले बताउनुहुन्छ । जानकार एवं विज्ञ डा विनोद साहका अनुसार व्यावहारिक रूपमा कठिन पूजा मानिने छठी पूजाको सुरुवात पाटलीपुत्र वर्तमान भारतको पटना भन्ने स्थानबाट मगध राजाको शासनकाल १३०० देखि १५०० विसीमा भएको मानिन्छ ।

यस पर्वको सुरुवातको विषयमा विभिन्न किम्बदन्ती पनि रहेको छ । सूर्य पुराणमा कात्तिक शुक्ल षष्ठीका दिन सर्वप्रथम अत्रिमुनिक पत्नी सती अनुसुया समृद्धि र दाम्पत्य प्रेमप्रति श्रद्धा प्रकट गर्न षष्ठी व्रत बसेकी थिइन् । अर्को धार्मिक मान्यताअनुसार द्वापरयुगमा पाण्डव अज्ञातबासमा रहँदा द्रौपदी अज्ञातबासको सफलताका लागि सूर्यदेवको आराधना गर्दै षष्ठी व्रत गर्नुभएको जानकार डा सुरेन्द्र लाभले बताउनुभएको छ । त्यही ‘षष्ठी’ शब्द रुपान्तरण हुँदै छठी, छठ, छइठ भएको जानकार बताउँछन् ।

यो पर्व विशेष गरी महिलाले मनाए पनि पुरुषको भूमिका पनि महत्त्वपूर्ण र सहयोगीका रूपमा देखिन्छ । सरसमान र प्रसाद सामग्री पुरुषले बोक्ने र पोखरीसम्म पुर्‍याउने गरेकाले यसले परिवारमा स्नेह बढ्ने विश्वास पनि गरिन्छ । यस पर्वमा प्रयोग हुने सम्पूर्ण सामग्री नयाँ हुनुपर्दछ । जानकार एवं पण्डित कुशेश्वर उपाध्यायले भन्नुभयो, “वर्षमा दुई पटक गर्मीमा अर्थात् चैतमा मनाइने छठलाई चैती छठ र जाडोमा मनाइने छठलाई कार्तिक छठ भनिन्छ ।”

कार्तिकमा मनाइने छठ चैतमा मनाइने छठभन्दा लोकप्रिय मानिन्छ । बिना भेद्भाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको सङ्गम सावित हुनुभएको जानकार डा राजेन्द्र विमलले बताउनुभयो ।

विशेषगरी भारतको विहार तथा नेपालको तराई–मधेशमा मनाइने यो पर्व अब पहाड र हिमालमा पनि विस्तार मात्र भएको छैन । मुस्मिल समुदायले पनि मनाउन थालेपछि राष्ट्रिय पर्वको रूपमा स्थापित हुनुभएको जानकार रोशन जनकपुरीले बताउनुभयो ।

शैक्षिक कोषका लागि देउसीभैलो, दुई लाख ६१ हजार सङ्कलन

दमौली, ३० कात्तिक : तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्नेक्रम बढेको छ । तनहुँका केही विद्यालयले देउसीभैलोबाट सङ्कलित रकम विद्यालयकै काममा खर्च गर्ने लक्ष्य राखेका छन् । व्यास नगरपालिका–१२ छिर्कनेस्थित अमरज्योति माध्यमिक विद्यालयका विद्यार्थीले देउसीभैलो खेलेर रु दुई लाख ६१ हजार दुई सय ४४ सङ्कलन गरेका छन् । विद्यालयमा स्थापित गरिब तथा विपन्न एवं जेहेन्दार विद्यार्थी सहायता कोषको सहयोगार्थ विद्यार्थीले भैलो खेलेर उक्त रकम सङ्कलन गरेका हुन् । ‘मेरो अमरज्योति म बनाउँछु’ अभियानअन्तर्गत तिहारका अवसरमा भैलो खेलेर उक्त रकम सङ्कलन भएको प्रधानाध्यापक रघुनाथ पण्डितले जानकारी दिनुभयो ।

उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको कोषमा रकम जुटाउन विद्यार्थीले भैलो सुरु गरेका छन् । यो केही दिन जारी रहन्छ ।”

यसैगरी भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले भैलो खेलेर रु चार लाख बढी रकम सङ्कलन गरेको छ । विद्यार्थी, शिक्षक, कर्मचारीले तीन दिनको अवधिमा उक्त रकम जुटाएका हुन् । यो रकम विद्यालयको भवन निर्माणमा प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घराज पाण्डेले जानकारी दिनुभयो ।

यसैगरी व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले छात्रवृत्ति कोषका लागि भैलो सुरु गरेको छ । क्याम्पसका विद्यार्थीले गरिब, अपाङ्ग, जेहेन्दार, विपन्न एवं पिछडिएको वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोषमा रकम जुटाउने उद्देश्सहित भैलो सुरु गरेको हो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले भन्नुभयो, “लक्ष्मीपूजाको दिनदेखि भैलो खेल्न सुरु गरिएको छ । भैलोबाट सङ्कलित रकम विद्यार्थीको हितमा प्रयोग हुन्छ ।”

व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले पनि भैलो कार्यक्रम सुरु गरेको छ । जिल्लाका अन्य शैक्षिक संस्था, आमासमूह, क्लब लगायतले पनि निश्चित उद्देश्य राखेर भैलो खेलिरहेका छन् ।

अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्यपदक

काठमाडौँ, ३० कात्तिक : कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्यपदक जितेको छ । प्रतियोगितामा दृशान्तकुमार महर्जनले नेपालका लागि कास्यपदक दिलाएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

सोसाइटी सन् २०१८ देखि अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हँुदै आएको छ । नेपालले यसअघि सन् २०१९ मा पनि ओलम्पियाडमा कास्यपदक जितेको थियो । सन् २०१४ देखि सुरु राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडबाट जीत हासिल गरेका विद्यार्थीले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडमा भाग लिँदै आएका छन् ।

नेपालले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाडमा भाग लिँदै आएको छ । सोअन्तर्गत हालसम्म विद्यार्थीले नेपालका लागि १२ सम्मानार्थ पदक र दुई कास्यपदक हात पारेको छ । सन् २०२२ मा स्थापित अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाड–जुनियरमा हालसम्म नेपाली विद्यार्थीले तीन सम्मानार्थ पदक प्राप्त गरेको उहाँले सुनाउनुभयो ।

के हो राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाड

राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सिफारिस गरिँदै आएको सोसाइटीले जनाएको छ ।

सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट तीन हजारभन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थी देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएका छन् ।

राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडमा कक्षा ८–१२ मा अध्ययनरत १३–२० वर्षका विद्यार्थीलाई समावेश गराइन्छ । प्रतियोगितासम्बन्धी थप जानकारी जान्न चाहनेले सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले बताउनुभयो ।

भूकम्पपीडितलाई इयूको अट्ठाइस करोड असी लाख

काठमाडौँ, ३० कात्तिक : युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।

अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो ।

जुवातास खेल्ने एक सय पैसट्ठी पक्राउ, पैतिस लाख बरामद

काठमाडौँ, ३० कात्तिक : तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ । यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले ६९ बुक तास, रु बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ । सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो । उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट रु आठ करोड ७७ लाख ४५ हजार बराबरको क्षति भएको थियो ।

आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मुत्यु भएको थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो । सोही अवधिमा भएका सडक दुर्घटनामा सात जनाको मृत्यु र तीन सय ३० जना घाइते भएका थियो । करिब एक करोड बराबरको धनमाल चोरी भएको र शङ्कास्पद सात जनालाई पक्राउ गरिएको थियो । यसैबीच, केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्ल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ ।

माओवादी केन्द्रद्वारा शोक व्यक्त

काठमाडौँ, ३० कात्तिक :नेकपा(माओवादी केन्द्र)ले पार्टी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले आज एक विज्ञप्ति जारी गरी संविधानसभा सदस्य एवं पार्टी सल्लाहकार श्रेष्ठको ८२ वर्षको उमेरमा उपचारका क्रममा गएराति नर्भिक अस्पतालमा निधन भएकामा पार्टीका तर्फबाट शोक प्रकट गर्नुभएको हो ।

नेपालको कम्युनिस्ट आन्दोलनका बौद्धिक व्यक्तित्व, लेखक एवं चिन्तक कृष्णदास श्रेष्ठको जीवनसङ्गिनी महालक्ष्मी वैवाहिक जीवनपश्चात् कम्युनिस्ट आन्दोलनमा अविच्छिन्नरूपमा सक्रिय हुनुहुन्थ्यो ।

जापानी अर्थतन्त्र सङ्कुचनमा

जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ । विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचित भएको प्रारम्भिक आँकडाले देखाएको छ । यो माइनस शून्य दशमलव एक प्रतिशतको सहमति प्रक्षेपणभन्दा खराब हो ।

लगातार कम उपभोक्ता खर्च र वैश्विक अर्थतन्त्रको कमजोरीले जापानको निर्यातमा असर गरेका कारण लगातार दुई त्रैमासिकमा वृद्धिपछि यो गिरावट आएको हो ।

समीक्षा अवधिमा निर्यातमा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । यो अघिल्लो चौमासिकको तीन दशमलव नौ प्रतिशतभन्दा कम हो । त्यस्तै आयातमा एक प्रतिशतले वृद्धि हुँदा समग्र विकासमा प्रभाव परेको छ । निजी आवासीय तथा कर्पोरेट लगानीसहित निजी मागमा शून्य दशमलव छ प्रतिशतले गिरावट आएको छ ।

ब्लुमबर्ग न्युजका अनुसार जापानको अर्थतन्त्र गत वर्षको तेस्रो चौमासिकको तुलनामा यस वर्षको सोही अवधिमा दुई दशमलव एक प्रतिशतले सङ्कुचन भएको छ । बजारको अपेक्षा भने माइनस शून्य दशमलव चार प्रतिशत थियो ।

बढ्दो महँगीले उपभोक्ताहरू त्रसित भएकाले दुई वर्षअघि पदभार सम्हालेपछि प्रधानमन्त्री किसिदाको पोल रेटिङ सबैभन्दा तल्लो तहमा पुगेको छ । उहाँले यसै महिना अर्थतन्त्रलाई बढावा दिन र मुद्रास्फीतिको पीडा कम गर्ने उद्देश्यले एक सय ७० खर्ब येन (एक खर्ब १३ अर्ब २० करोड अमेरिकी डलर) को प्रोत्साहन प्याकेज घोषणा गर्नुभयो ।

कोभिड–१९ को महामारीसँग जुध्न सरकारले पछिल्लो तीन वर्षमा अर्थतन्त्रमा अर्बौं डलर लगानी गरिसकेको छ । पछिल्लो योजनामा प्रतिव्यक्ति ४० हजार येनको आम्दानी र आवासीय कर कटौती तथा कम आम्दानी भएका परिवारलाई ७० हजार नगद हस्तान्तर गरिने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमानअनुसार आंशिकरूपमा येनको गिरावटका कारण जर्मनी यो वर्ष जापानलाई उछिनेर विश्वको सबैभन्दा तेस्रो ठूलो अर्थतन्त्र बन्न तयार छ । यद्यपि जर्मनीको अर्थतन्त्र पनि यो वर्ष कमजोर भइरहेको छ ।

सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : सांसद श्रेष्ठ

काठमाडौँ, ३० कात्तिक : जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् । सङ्घीय प्रणालीमा स्थानीय तहलाई विकास निर्माणका कामको अधिकार दिइए पनि जनताले सांसदसँगै बढी अपेक्षा गर्नुले हाम्रो शासकीय व्यवस्थाको कार्यान्वयनमा समीक्षाको माग गर्छ । यो कुरा प्रतिनिधिसभा सदस्य सूर्यकुमारी श्रेष्ठलाई पनि गढेको छ ।

“जनतको आशा र अपेक्षा हुनु अन्यथा होइन तर सांसदको भूमिका के हो भनेर हामीले जनतालाई बुझाउन सकेका छैनौँ”, नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं दैलेख जिल्लाका सहइन्चार्ज श्रेष्ठ भन्नुहुन्छ, “स्थानीय मठमन्दिर, बाटो, बिजुली, धारो, पानीट्याङ्की बनाउन पनि हामीलाई आग्रह आइरहेको हुन्छ । सिंहदरबारका मन्त्रालयतिर गएर यी कामभन्दा साना काम नल्याउनु, ठूला र क्रमागत आयोजनाका प्रस्ताव ल्याउनु भनिन्छ । तर पनि हामीले सदनमा जनताका सबै आवाजलाई सुनुवाइ गर्ने कोसिस गरिरहेका छौँ ।”

विद्यार्थीकालदेखि राजनीतिमा लागेकी नेत्री श्रेष्ठ २०५८ सालमा नेपाल मजदुर किसान पार्टीबाट एमालेमा प्रवेश गर्नुभएको हो । उहाँ २०४६ सालमा नेमकिपा निकट विद्यार्थी सङ्गठनको दैलेख जिल्ला अध्यक्ष हुनुुहुन्थ्यो । त्यसअघि उहाँ एमाले निकट अखिल नेपाल महिला सङ्घको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्थ्यो ।

सांसद श्रेष्ठ जनस्तर र किसानका कुरालाई सदनमा प्रायः उठाइरहनुहुन्छ । गत असोज २१ गतेको प्रतिनिधिसभाको बैठकमा उहाँले नेपालमा लाखौँ किसान जमिन बाँझो छाडी विदेश पलायन भएको र सरकारले उचित ध्यान दिन नसक्दा कृषिप्रधान मुलुकको नारा नारामै सीमित भएको विषय उठाउनुभएको थियो । “आजभन्दा ५२ वर्षअघि भोकमरी खेपेको बङ्गलादेशले अहिले कृषिमा क्रान्ति गर्दै वर्षमा तीनपटक हाइब्रिड धान उत्पादन गरेर त्यहाँका १७ करोड जनसङ्ख्यालाई हाइब्रिड धानले खान पुर्याएको छ । नेपालमा पनि त्यस्ता जातका धान लगाउनुपर्छ र उत्पादन बढाउनुर्छ”, केही समय अघि बङ्गलादेशको भ्रमण गर्नुभएकी सांसद श्रेष्ठले भन्नुभयो ।

सांसद श्रेष्ठले गत वैशाख २७ गतेको प्रतिनिधिसभाको बैठकमा दैलेखको आठबिस नगरपालिका–६ को सामुदायिक वनमा भएको भीषण आगलागीमा परेका दलित समुदायका १२ जनाको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभएको थियो । संसद्मा आफूहरूले बोेलेका कुराको पर्याप्त कार्यान्वयन नभएको गुनासो उहाँको छ । सांसद श्रेष्ठ सङ्घीय संसद्को हालै सम्पन्न वर्षे अधिवेशनको मूल्याङ्कन कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा भन्नुहुन्छ, “राष्ट्रियसभाका उत्पत्ति भएका कतिपय विधेयक पारित भएन । कतिपय विधेयक विवादित बने । मेरो विचारमा सरकारले कुन कानुन कहिले ल्याउने र कसरी छलफल गर्ने भन्नेजस्ता कार्यसूचीमा स्पष्टता ल्याउन सकेको छैन भने कानुन पारितका क्रममा पारदर्शिता कायम गर्न सकेको छैन ।”

सत्तारुढ दलकै कतिपय सांसदले पनि स्पष्ट सूचना नपाएको र उहाँहरूलाई दलको ह्वीपका आधारमा सहमत हुन बाध्य पारिएको सांसद श्रेष्ठको बुझाइ छ । “सदनमा सांसदहरूले आफूलाई लागेको विचार स्वतन्त्ररुपमा राख्न पाउनुर्छ । सांसदलाई टाँगाको घोडाजस्तो एकोहोरो बाटोमा हिँडाउन खोज्नु हुँदैन ।”, उहाँ भन्नुहुन्छ, “हामी त प्रतिपक्षमा छौँ । तर पनि संसदीय दलका बैठकमा लागेका कुरामाथि घनीभूतरूपमा छलफल गर्छाैँ । अरु समयमा प्रमुख सचेतक र सचेतकमार्फत सूचना आदान–प्रदान गरेर संयोजन गर्छौँ ।”

राज्यका निकायहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलन र समन्वयका सवालमा सांसद श्रेष्ठ सन्तुष्ट हुनुहुन्न । सन्तुलन र समन्वयमा सरकारले नै पर्याप्त काम गर्न नसकेको उहाँको आरोप छ । न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने र जघन्य अपराधमा प्रमाणित भएका व्यक्तिलाई आममाफी दिन नहुने उहाँको भनाइ छ ।

नेपाल सरकारले यस वर्ष सांसद पूर्वाधार विकास कोषको रकम हालैको जाजरकोट र रुकुमपश्चिको भूकम्प प्रभावित क्षेत्रको पुनःस्थापना कोषमा राख्ने निर्णय गरेका प्रति उहाँ खुसी हुनुहुन्छ । तर अरु समयमा उक्त कोषको रकम र कार्यक्रम वितरण गर्दा प्रत्यक्षतर्फका सांसदलाई मात्रै निर्णय प्रक्रियामा अगुवा नमानी समानुपातिकतर्फका सांसदलाई पनि उत्तिकै भूमिका दिन उहाँको सुझाव छ ।

सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

इनरुवा (सुनसरी), ३० कात्तिक : सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।

को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवाडाको बुधबार निधन भएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

पूर्वाधारको पर्खाइमा म्याग्दीको मालिका धुरी

म्याग्दी, ३० कात्तिक : प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

सहज पदमार्ग, आवास, खानेपानीलगायत पूर्वाधारसँगै मालिकाको धार्मिक तथा पर्यटकीय महत्वका बारेमा पर्याप्त प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।

“सुन्दर दृश्यावलोकन गर्न सकिने मालिकामा विदेशी पर्यटक भित्र्याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “विशेष पूजाआजा हुने चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीबाहेकका दिनमा भक्तजन पनि आउँदैनन् ।”

मालिकामा पूजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओढारमा कष्टप्रदरूपमा रात कटाउन बाध्य छन् । खानेपानी र शौचालयको सुविधा छैन । बेनीबाट पैदल दुई दिन र सवारीसाधन प्रयोग गर्दा एकैदिनमा मालिका पुग्न सकिन्छ । ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाइन्दफाँट भएर मालिका जान सकिन्छ ।

“सत्तलको सरसफाइ, आवास व्यवस्थापन र भक्तजनको सुरक्षाको आवश्यकता छ”, पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटबाट मालिका दर्शन गर्न जानुभएका कृष्ण जिसीले भन्नुभयो, “धुलैधुलो भएको सत्तलमा प्लास्टिक बिछ्याएर बस्नुपर्यो । चिसो र असुविधाले बस्नै गाह्रो भयो ।”

रघुगङ्गा र मालिका गाउँपालिकाले गत वर्ष रु १० लाख लगानी गरेर खानेपानी योजना निर्माण गरे पनि नियमित पानी आपूर्ति हुनसकेको छैन । बुटवलका भरत छन्त्याल र ठाडाखानीका खिममाया छन्त्यालले निजी लगानीमा केही वर्षअघि पाइपमार्फत मालिकाको सत्तलसम्म खानेपानी पुर्याइदिए पनि मर्मतसम्भारको अभावमा दिगो हुन सकेन । तीन वर्षअघि गण्डकी प्रदेश सरकारको रु ४० लाखमा देउरालीबाट मालिका धुरीसम्म एक हजार दुई सय ७२ मिटर ढुङ्गाको सिँढीसहितको पदमार्ग बनेपछि आवतजावत गर्न सहज भएको मालिका गाउँपालिका–७ का पलवीर जुग्जालीले बताउनुभयो ।

मालिका गाउँपालिकाले बिम हुँदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । रु ८३ लाखको लागतमा बाइन्दफाँटबाट धौलागङ्गा र नागीथलाको बीचसम्म सडक पुर्याइएको छ । तीन वर्षअघि ठेक्का लिएका निर्माण व्यवसायीले काम नगर्दा धौलागङ्गाबाट नागीथलासम्म जोड्ने सडक विस्तार हुन नसकेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

“पुरानो ठेकेदारलाई काम सम्पन्न गराउन ताकेता गर्नुका साथै यस वर्ष मालिका जोड्ने सडक स्तरोन्नति गर्न रु ८३ लाख विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष निर्माण भएको खानेपानी योजना मर्मत गरेर मालिकामा नियमित पानी आपूर्तिको व्यवस्था मिलाउँछौँ ।”

गण्डकी प्रदेश सरकारले मालिका धुरी जान प्रयोग हुने दरवाङ–बिम सडक कालोपत्र गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सो योजनालाई रु २० करोड बराबरको बहुवर्षीय ठेक्का लगाउने तयारी भएको बताउनुभयो । रघुगङ्गा गाउँपालिकाले रु १० लाखको लागतमा ठाडाखानीबाट पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र रु चार लाख २० हजारमा बथानडाँडाबाट सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ ।

बीसभन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ । दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले बताउनुभयो ।

“सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको घुइँचो लाग्छ”, उहाँले भन्नुभयो, “म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन् ।”

मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकाबाट सिस्ने, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ । मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो । विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ ।

मालिकालाई पर्यटकीयस्थलका रूपमा विकास गर्न व्यवस्थित पदमार्ग, आवास सुविधाका लागि नजिकैका बस्तीमा घरबास, सामुदायिक विश्रामगृहको व्यवस्थासँगै धार्मिक महत्व र प्राकृतिक सौन्दर्यको प्रचार–प्रसारमा जोड दिनुपर्ने देखिएको छ । सत्तलमा काठ बिछ्याउने, पूजाआजाका लागि भक्तजन आउने समयमा सामुदायिक विश्रामगृह सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड

काठमाडौँ – असहाय गाईबाच्छा संरक्षण अभियानले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्रका रूपमा विस्तार गर्न हरेक पालिकामा सुविधासम्पन्न काञ्जी हाउस स्थापना हुनुपर्ने माग गरेको छ । सडकमा गाईवस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि सो अभियानले कानुनी वकालत गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दक्षिणकालीमा काञ्जी हाउस निर्माण र सञ्चालनमा ल्याएकामा खुसी व्यक्त गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले सडकमा गाईबाच्छा छाड्दा उनीहरूलाई रोग सम्भावना हुने भएकाले काञ्जी हाउसमा लगेर स्वास्थ्य परीक्षण गरी रोगी पाइएमा क्वारेन्टिनमा राख्न आग्रह गर्नुभयो ।

अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छालाई उद्धार गरी कागेश्वरी मनहरा नगरापलिको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ । अध्यक्ष पुडासैनीले उनीहरूलाई खाना, छाना, उपचार र माया दिन सबैमा आग्रह गर्दै जसले उद्धार गरेर ल्याइदिए पनि आफूहरूले संरक्षण दिने बताउनुभयो ।

मूर्तिकला रामबहादुरको जीउने आधार

कञ्चनपुर – शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुनुहुन्छ । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो ।

“विद्यालय पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो,” बिष्टले भन्नुभयो, “अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।” मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको उहाँ बताउनुहुन्छ । “काम गर्न भ्याइ नभ्याइ छ,” उहाँले भन्नुभयो, “मासिकरूपमा रु ५० हजारदेखि ७० हजारसम्म कमाई हुन्छ ।”

मूर्तिकलानै जीवन जिउने आधार बनेको बिष्ट बताउनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा हासिल गर्ने धोको पूरा गर्न नसकेकामा उहाँलाई पछुतो छैन । “उच्च शिक्षा पढेर सरकारी नोकरी गर्ने अभिलाषा थियो,” बिष्टले भन्नुभयो, “मूर्तिकलामा रमाउन थालेपछि दाम र नाम दुवै चलेपछि त्यो सबै बिर्सिए, अहिले यही पेशा प्यारो लागेको छ, पढाई पूरा गर्न नसकेको पछुतो छैन ।”

नेपालका अधिकांश ठाउँबाट मूर्ति बनाउने माग आउन थालेको बिष्टले बताउनुभयो । मूर्ति बनाउने तालिम भने उहाँले लिनुभएको छैन । अरुले बनाएका मूर्ति हेर्दै सिक्दै गएको उहाँको भनाइ रहेको छ ।

“काम गर्दै जाँदा सीप निर्खादै गए, अहिले जुनसुकै मूर्ति बनाउन दिए पनि बनाउन सक्न भए,” बिष्टले भन्नुभयो । आफूले पहिला पेन्टरको कामबाट कलाकारिता थालेको र त्यसपछि ब्यानरमा लेख्ने, चित्र कोर्ने, शिलालेखसँगै मूर्ति कोर्न थालेको उहाँले बताउनुभयो ।” काठ, सिमेन्ट, धातु ग्रेनाइड र ढुङ्गामा शिलालेखको कार्य गरेवापत रु दुई हजार पाँच सयप्रति वर्गफिटका दरले उहाँले ज्याला लिनुहुन्छ ।

बिष्टले मूर्ति बनाउनका लागि रु १० हजारदेखि रु ८० हजारसम्म रकम लिनुहुन्छ । “मूर्तिको प्रकृति हेरेर रकम लिने गरेको छु,” उहाँले भन्नुभयो, “हालसम्म मझौला प्रकृतिका मूर्ति बनाउने माग आएको छ, ठूला मूर्ति बनाउने इच्छा भए पनि माग आएको छैन ।” सुदूरपश्चिमका नौ वटै जिल्लाबाट विशेष गरी मन्दिरमा राखिने मूर्ति, शिलालेख, काठका धार्मिक स्तम्भमा मूर्ति कोर्ने कार्य अधिक आउने गरेको बिष्टको भनाइ छ । मूर्ति बनाउने कार्यसँगै उहाँले प्रशिक्षण पनि दिँदै आउनुभएको छ ।

मूर्ति बनाउने कार्यबाट आएको रकमले बिष्ट परिवारको घर खर्चसँगै छोरा छोरीलाई प्राविधिक शिक्षा पढाउन लाग्ने खर्च व्यहोरिदै आएको छ । यस पेशाबाट आएको रकमले उहाँले घरघरेडी पनि जोड्नु भएको छ ।

बिष्ट भन्नुहुन्छ, “यस पेशालाई अपनाए पछि खर्च अभाव भएको छैन, सबै ठाउँमा चिनिने मौका पाउँदा गौरवान्वित महशुस गर्छु, नाम र दाम दुवै पाएपछि यही पेशालाई जीवन्त राख्छु ।” पैशाकै लागि विदेशिने युवालाई उहाँ स्वदेशमै काम गरे मान सम्मानसँगै दाम कमाउन सकिने सल्लाह दिनुहुन्छ ।

भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग

काठमाडौँ, २९ कात्तिक : चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ ।
पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।
यहाँस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभयो ।

भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पु¥याइदिने जानकारी दिएको डा भट्टराईले राससलाई बताउनुभयो । स्थानीय राजनीतिक दल र प्रतिनिधिकाहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उहाँले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने बताउनुभयो

महिला टी–२० सिरिज : नेपालले आज हङकङसित खेल्ने

काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । समूह चरणको अर्को खेल अहिले ७ः१५ बजे जापान र तान्जानियाबीच हुँदै छ । टस जितेर जापानले पहिला फिल्डिङ रोजेको छ ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । नेपालका लागि सीता राना मगरले मात्र सम्झिनलायक खेल प्रदर्शन गरिन् । उनले ४३ रन बनाइन् ।

हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

जानकी (बाँके), २९ कात्तिकः बाँकेको नेपालगञ्जमा तिहाको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज हिन्दू धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाउनु भएको हो ।
धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले बताउनुभयो । उहाँले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताउनुभयो ।

‘म आफु ३५ वर्षको हुँदादेखि नै दिदीबहीनीको हातबाट भाइटीका लगाउँदै आइरहेको छु । अहिले म ५४ वर्षको भएँ । यो सम्बन्ध केवल सामाजिक सद्भावको मात्र नभई दिदीभाइ र दाजुबहिनीबीचको प्रेमको सम्बन्ध पनि हो ।’ सिद्धिकीलाई भाइटीका लगाउन दिदी माया र बहिनी मीना नेपालगञ्जस्थित बौद्धगुम्बा टोलमा रहेको सिद्धिकीको घरमा जानु भएको उहाँले बताउनुभयो ।

सामाजिक अभियानकर्मी सिद्धिकी पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको बताउनुहुन्छ,‘हिन्दूले मुस्लिमको चाडलाई मनाउँछन् र मुस्लिमले पनि हिन्दूको चाडपर्वलाई हर्षोल्लासका साथ हामी यसैगरी मनाउँदै आइरहेका छौँ ।’ उहाँले भन्नुभयो,“दुवै समुदाय एकअर्काको पर्वमा सहभागी हुने र मनाउने यहाँको परम्परा बनिसकेको छ ।” सिद्धिकी वर्षाँैंदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मानेर रमाउँदै आइरहनुभएको छ ।

त्यसैगरी बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि आफूले मानेको बहिनीको हातबाट भाइटीका लगाएर तिहार हर्षोल्लासका साथ मनाउनुभएको छ । उहाँले बहिनीको हातबाट भाइटीका लगाएको तस्बिर आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा ‘ह्याप्पी तिहार’ भनेर पोष्ट गर्नुभएको छ । उहाँले दसैंँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताउनुभयो । ‘हामी सद्भावको सहरमा छौँ ।

यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूको मात्र नभई हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ ।’ उहाँले भन्नुभयो,“मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनदेखि नै सम्मान छ ।

टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ, भने त्यो खुसीमा हामी अवस्य सहभागी हुन्छौँ र हुनैपर्छ ।” मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको बताउनुभयो । बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ ।

तिहारको अवसरमा भाइटीकाको दिन मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिनुभएको छ । दुवै समुदायका धर्म गुरूले एकता र सद्भावका लागि संयुक्त रूपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गर्नुभएको छ ।

‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’

काठमाडौँ, २९ कात्तिक : कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ ।

क्यानले आज एक विज्ञप्ति निकालेर साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती दुवै ल्याउने वास्तविकतालाई दृष्टिगत गरी निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।

“नेपालमा उपलव्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ,” डिजिटल नेपाल निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ ।

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौँ, २९ कात्तिक ः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्परा अनुसार आज सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ । टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा आजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका

काठमाडौँ, २९ कात्तिक : काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिनुभएको छ । विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो । दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला हुनुभएको थियो । काष्ठमण्डपमा सामूहिक टीका लागि एक सय ५० बढी मण्डप बनाइएको अञ्जलीले जानकारी दिनुभयो ।

दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको उहाँको भनाइ छ । आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै दिदीले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको बताउनुभयो । अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारको टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गर्नुभएको थियो ।

काठमाडौँको मरु निवासी नरेश श्रेष्ठ अञ्जली दिँदीसँग सप्तरङ्गी टीका लगाउन पाउन प्रशन्न हुनुहुन्थ्यो । उहाँले तिहारमा निधार खाली तथा मन खल्लो नहोस् भनेर अञ्जली दिदीसँग टीका लगाउन आएको बताउनुभयो । मण्डपमा बसेका दाजुभाइलाई अञ्जली दिदीले सप्तरङ्गी टीका, माला र सगुन प्रदान गर्नुभएको थियो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल

काठमाडौँ, २९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले समाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताउनुभएको छ ।

हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधताले भरिपूर्ण नेपाली समाजका फरक धार्मिक रीतिरिवाज, वेशभूषा, कला, साहित्य तथा संस्कृतिले समग्र राष्ट्रको गौरव बोकेको बताउनुभयो । सबै जाति समुदायका चाडपर्वले नेपालीलाई एकताबद्ध गरी सांस्कृतिकरूपमा एकापसमा जोड्ने काम गरेको उल्लेख गर्दै उहाँले समाजिक भ्रातृत्व, सहअस्तित्व, पारस्परिक सहयोगले नै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पूर्वप्रधानमन्त्री नेपालले सबै समुदायका भाषा साहित्य कला संस्कृति तथा मौलिक परम्परा चाडबाडको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक उपलब्धिलाई रक्षा गर्न परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउँदै उहाँले सन्देशमा सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई आर्थिक तथा सामाजिक रुपान्तरण गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो । जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा गठित संविधानसभाबाट निर्मित संविधानअनुसार तीन तहको निर्वाचन दोस्रोपटक सम्पन्न गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेकाले यसको सुदृढीकरणका लागि समयसापेक्ष संविधान परिमार्जन गर्न सकिने बताउनुभयो ।

संसद्लाई प्रभावकारी बनाउन राजनीतिक दल जिम्मेवार र सांसद इमान्दार बन्नुपर्छ : सांसद राई

काठमाडौँ, २९ कात्तिक : निर्वाचनपश्चात नयाँ संसद् गठन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । गत पुस २५ गते प्रारम्भ भएको संसद्को दुई अधिवेशन सम्पन्न भइसकेका छन् । कानुन निर्माणको प्रमुख थलोका रूपमा संसद्लाई लिइन्छ । तर संसद्को पछिल्लो दुई अधिवेशनलाई हेर्दा कानुन निर्माणको पाटो भने अत्यन्त कमजोर देखिन्छ ।

संविधानसभाबाट संविधान जारी भएको पनि आठ वर्ष नाघिसकेको छ । संविधान कार्यान्वयनसँग सम्बन्धित महत्त्वपूर्ण कानुन अझै पनि निर्माण हुनसकिरहेका छैनन् । आवश्यक कानुनको अभावमा सङ्घीयता कार्यान्वयन हुन नसकेको स्वयं राजनीतिक दलका नेताहरूले पनि अभिव्यक्त गर्दै आउनुभएको छ ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राई वास्तवमा नेपालको इतिहासमा संसद्को दोस्रो अविधेशन निकै लामो रहे पनि परिणाम भने चित्तबुझ्दो नरहेको बताउनुहुन्छ । “संसद्ले धेरै कानुन निर्माण गर्नुपर्ने छ, तर महत्त्वपूर्ण कानुन अझै बन्न सकेनन्, सन्तोष मान्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “संसद् भनेको कानुन निर्माण थलो हो । संसद् ठिक ढङ्गले अगाडि बढिरहेको छैन ।”

संसद्लाई प्रभावकारी बनाउन संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दल जिम्मेवार र सांसद इमान्दार बन्नुपर्ने उहाँको भनाइ छ । “सांसदको प्रमुख भूमिका नीति, नियम, ऐन, कानुन निर्माण गर्ने नै हो । कतिपय विधेयक संसद्मा दर्ता भएको अवस्था छ, तर आग्रह–पूर्वाग्रहका कारणले गर्दा संसद्मा दर्ता भएका विधेयक ‘अड्काउने’ देखिएको छ”, सांसद राईले भन्नुभयो ।

संसदीय इतिहासमा सबैभन्दा लामो अधिवेशन चले पनि लामो समय प्रमुख प्रतिपक्षीले निरन्तर संसद् अवरुद्ध गर्दा संसदीय काम–कारबाही अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । “पशुपति मन्दिरमा चढाइएको सुनको जलहरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएकोलगायत विषयलाई लिएर संसद् अवरुद्ध भयो, त्यसका कारण समयमै विधेयकमाथि छलफल हुन सकेन र ऐन बनेन”, उहाँले भन्नुभयो ।

कतिपय विधेयकका प्रावधानमा आफ्नो विमति हुँदाहुँदै पनि दलीय व्यवस्थामा ह्वीप जारी गरेपछि मानिदिनुपर्ने बाध्यता रहेको सांसद राई बताउनुहुन्छ । उहाँ देश र जनताको पक्षमा सांसदले खेल्नुपर्ने भूमिका पनि केही कमी भयो कि भन्ने ठान्नुहुन्छ । सांसद राई राजनीतिक दलहरूले आग्रह र पूर्वाग्रह नगरीकन जनताको पक्षमा कानुन बनाउनेतर्फ लाग्नु नै श्रेयकर हुन जाने बताउनुहुन्छ ।

“कानुन निर्माणमा दलहरूको अग्रसरतामा कमी देखिन्छ । जनप्रतिनिधि भइसकेपछि सांसदले जिम्मेवार बनेर अगाडि बढ्नुपर्छ । दलीय स्वार्थ बोकेर हिँड्दा ठूला समस्या पैदा भएका छन्”, उहाँले भन्नुभयो ।

विसं २०२५ वैशाख १४ गते खोटाङमा जन्मनुभएका सांसद राई २०३९ सालमा नेकपा माले पार्टी निकटको अनेरास्ववियूको सदस्य बन्नुभएको थियो । विद्यार्थी सङ्गठनमा आबद्ध रही बहुदलीय व्यवस्था प्राप्तिका लागि आन्दोलनका क्रममा रहँदा उहाँ प्रहरी हिरासतमा पर्नुभएको थियो । खुम्बुवान राष्ट्रिय मोर्चा, किरात वर्कस पार्टी हुँदै सांसद राई हाल माओवादी केन्द्रमा आबद्ध हुनुहुन्छ । विसं २०६४ को संविधानसभा सदस्य रहनुभएका उहाँ २०७४ सालमा तत्कालीन प्रदेश नं १ को प्रदेशसभा सदस्य र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री बन्नुभएको थियो । विसं २०७९ को निर्वाचनमा उहाँ खोटाङ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।्

सांसद राई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउनुपर्छ भन्ने आवाज कहीँकतै झिनोरूपमा सुनिएको भए पनि यो सम्भव नभएको बताउनुहुन्छ । “गणतन्त्रपूर्वको अवस्थामा जनता अत्यन्त अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका थिए । जनताले नागरिक अधिकार प्रयोग गर्न पाएका थिएनन्”, उहाँले भन्नुभयो, “गणतन्त्रमा जनताले अधिकार प्राप्त गरिरहनुभएको छ, अहिलेको व्यवस्थालाई अझ सबल बनाएर लैजानुपर्छ ।”

सांसद जनताको नजिकको प्रतिनिधि रहेको उल्लेख गर्दै सांसद राईले सांसदले जनता र सरकारका बीचमा सेतुका रूपमा काम गर्नुपर्ने बताउनुभयो । “जनताको पीरमर्का संसद्मा राख्नुपर्ने हुन्छ । जनताका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्नु पनि सांसद्को कर्तव्य हो”, उहाँले भन्नुभयो ।

संसद्को आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाएका कतिपय विषयमा सरकारको ध्यानाकृष्ट भए पनि भनेजस्तो अवस्था नरहेको उहाँको गुनासो छ । “यद्यपि संसदीय समितिमा सांसदले उठाएका वा समितिका निर्देशन कार्यान्वयनमा भने सरकार अग्रसर नै रहेको देखिन्छ, तर संसद्मा राखिएका समस्या समाधानका पक्षमा भने गुनासो नै छ”, उहाँले भन्नुभयो ।

टी–२० सिरिज : नेपालविरुद्ध तान्जानिया ब्याटिङ गर्दै

काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले ब्याटिङ गरिरहेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो । केहीबेर अघिसम्मको खेलमा तान्जानियाले १४ ओभरमा तीन विकेट गुमाउँदै ६९ रन बनाएको छ । नेपालका लागि सङ्गीता राईले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएकी छिन् ।

नेपाल र तान्जानिया पहिलोपटक भिड्न लागेका हुन् । आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा रहेको छ । जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो । क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दैआएकी थिइन् ।

नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

नेपाली टोलीमा सोमु विष्ट, कञ्चन श्रेष्ठ र सोनी पाख्रिनले पहिलो पटक अवसर पाएका हुन् भने रोमा थापा र सङ्गिता राईले पुनरागमन गरेका छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । जारी प्रतियोगितामा नेपालका लागि तान्जानिया र जापान नयाँ प्रतिद्वन्द्वी हुन् । आइसिसी बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छ ।

नेपालले कात्तिक २९ गते पहिलो खेल तान्जानिया सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै ३० गते हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।