`

पाकिस्तानबाट ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

सोमबार ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै ५ हजार ६ सय ४० शरणार्थी स्वदेश फर्किएका हुन् ।

त्यस्तै, सोमबार ३ हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको पनि मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै सङ्माख्या इरानमा रहेको बताइएको छ ।

विगत दुई महिनामा ४ लाख भन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किएका छन् । अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँद याममा फर्किएकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ ।

झापाका पाँच युवाले सुरु गरेको फार्मबाट तीन करोडको केरा बिक्री

झापा, २९ कात्तिक : विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गर्नुभएको हो । दुवै ठाउँमा रोपिएका केराका बोट लहलह भएर फस्टाएका छन् ।

भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार भद्रपुरको केराखेतीमा दसैँ र तिहारको समयमा २८ हजार घरी केरा पाकेको थियो । ती सबै काठमाडौँ, वीरगञ्ज, चितवन र पोखराको बजारमा बिक्री भइसकेको छ । बजारमा प्रतिघरी केरा औसत रु एक हजार दुई सयमा बिक्री भएको छ । फार्ममा फलेका सबै केरा कम्पनी आफैँले बजारमा पुर्याएर बिक्री गरेको हो ।

भद्रपुरको फार्मबाट मात्र रु तीन करोड ३६ लाखको पाकेको केरा बिक्री भएको अध्यक्ष उप्रेतीको भनाइ छ । “उत्पादन सुरु भएको पहिलो वर्षमै भद्रपुरको खेती नाफामा गयो”, खेतीबाट उत्साहित अध्यक्ष उप्रेती भन्नुहुन्छ, “अर्को यामदेखि अझ धेरै नाफा पाउने आशा जागेको छ । पहिलो यामको केरा बजारीकरण गर्न समस्या भयो । आउँदो याममा बढीभन्दा बढी फाइदा लिने कम्पनीको योजना छ ।”

भद्रपुर–५ मा रहेको केराफार्मको जग्गा जिल्लाकै पुरानो भद्रपुर गौशालाको स्वामित्वमा छ । उक्त जग्गा वार्षिक रु पाँच लाख भाडा तिर्ने सम्झौतामा लिइएको हो भने गौरादहमा धेरै व्यक्तिको निजी जग्गा एकमुष्टरूपमा वार्षिक रु १० लाख भाडा तिर्ने शर्तमा कम्पनीले लिएको हो । अध्यक्ष उप्रेतीका अनुसार भद्रपुरको फार्ममा ३० हजार र गौरादहमा ८० हजार केराका बोट हुर्किएका छन् । ‘जी नाइन’ नामक उन्नत जातको केराको बिरुवा टिस्युकल्चर प्रविधिबाट नर्सरीमा उमारिएका हुन् । प्रतिबिरुवा रु ३५ मा खरिद गरिएको उहाँले बताउनुभयो ।

वीरगञ्ज, खुदुनाबारी र गौरीगञ्जमा टिस्युकल्चर प्रविधिबाट केराको बिरुवा उमार्ने नर्सरी रहेका छन् । कम्पनीले तिनै नर्सरीबाट बिरुवा किनेको हो । एकपटक हुर्काएको बिरुवाले पाँच वर्षसम्म नयाँ बिरुवा उमारेर निरन्तर उत्पादन दिइरहन्छ । गौरादहको फार्ममा हाल केरा पाक्न थालेका छन् । उन्नत जातको यो केरा नौ महिनामा पसाउन थाल्छ भने एक वर्षभित्रै पाक्छ ।

ठूला घरी र पोटिला कोसा धेरै हुने भएकाले यसले सजिलै बजार पाउने गरेको अर्का सञ्चालक कमल थापाको भनाइ छ । केराखेतीमा लागेका युवामध्ये जैसवाल बिर्तामोडको कृषि थोक बजारका ४० वर्षदेखिका अनुभवी व्यापारी हुनुहुन्छ । उहाँलाई बजारीकरणको राम्रो ज्ञान छ । पहिलो खेती भएकाले कतिपय कठिनाइ भने झेल्नु परिरहेको थापाले बताउनुभयो ।

ठूलो लगानीमा केराखेती गरे पनि श्रीगणपति एग्रिकल्चर प्रालिले हालसम्म सरकारी अनुदान र प्रोत्साहन पाउन सकेको छैन । “कुलिङ च्याम्बर नहुँदा पहिलो याममा पाकेको केरा बजारमा बिक्री भइनसक्दै बिग्रिएर नष्ट हुने समस्या झेल्नुपर्यो”, थापाले खेतीको अनुभव सुनाउँदै भन्नुभयो– “पाकिसकेका केराका घरीलाई टिकाउन कुलिङ च्याम्बर चाहिएको छ ।”

झापाको उत्पादनलाई काठमाडौँको बजारसम्म पुर्याउन तीन दिनसम्म लाग्ने र ढुवानीमा प्रतिगाडी रु ५० हजारसम्म भाडा लाग्ने भएकाले ढुवानीको गाडी पनि आवश्यक परेको अर्का सञ्चालक प्रकाश निरौला बताउनुहुन्छ । सरकारले लागत सहभागितामा कुलिङ च्याम्बर र ढुवानीको गाडी खरिदमा अनुदान दिए व्यवसायमा मद्दत पुग्ने उहाँको भनाइ छ ।

भारतीय बजारबाट सस्तो दाममा भित्रिने केराले स्वदेशी उत्पादनलाई बजारमा ठूलो चुनौती खडा गरेको कृषकहरूको अनुभव छ । भारतीय केराको आयात रोकिदिने हो भने स्थानीय उत्पादनले बजार पाउने उनीहरू बताउँछन् । स्वदेशमै रोजगारी सिर्जना गर्ने र कृषिमा प्रोत्साहन गर्ने सरकारको कार्यक्रम भए पनि वास्तविक किसानले मल, बीउ, सिँचाइ, उपकरण र बजारीकरणमा अनुदान पाउन नसक्नु दुःखलाग्दो विडम्बना भएको सञ्चालक निरौला बताउनुहुन्छ ।

चालीस वर्षदेखि विर्तामोडमा व्यापार गर्दै आउनुभएका दारोगा जैसवाल भारतबाट कृषि प्राविधिक ल्याएर केराखेतीमा लगाउनुपरेको बताउनुहुन्छ । सरकारले सिँचाइका लागि पाइप र रासायनिक मलखाद बेलैमा चाहिए जति अनुदानमा पाउने हो भने नेपाली युवाले रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उहाँको भनाइ छ ।

भद्रपुर गौशालाका एक सयभन्दा बढी गाईवस्तु पालिएको हुँदा त्यहीको गोबर खरिद गरेर मलखादको समस्या केही हदमा टरेको भए पनि रासायनिक मलको सधैँ अभाव रहने जैसवालले जानकारी दिनुभयो । “कृषि, कृषि भनेर सरकारले चर्को स्वरमा भनेको भन्यै गरेको सुनिन्छ, यहाँ हामीले केही पाएकै छैन”, उहाँ भन्नुहुन्छ, “हामीलाई कृषि उपकरण, ट्रयाक्टर, ढुवानी गर्न गाडी, सिँचाइका लागि पाइपलगायत सामग्री चाहिएको छ ।”

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट (बागलुङ), २९ कात्तिक : बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन् । बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् ।

पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेको छ । रेडर्क गरिएका आधुनिक गीतले देउसी भैलोको मौलिकता र संस्कृति मासिदै गएको सन्दर्भमा यहाँको एक पुरानो सामुदायिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले भने नेपालको हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ ।

बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले नेपालका जातजाति र भाषा संस्कृतिलाई समेटेर भैलो देखाउन थालेको छ । विपन्न विद्यार्थीलाई कापी, कलम र खाजाको जोहो गर्नका लागि विद्यार्थी कल्याण कोष स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको देउसी भैलो कार्यक्रममा सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएका नाचगान प्रस्तुत गरिएको छ ।

देउसी भैलोमा तामाङ सेलो, थारू नाच, नेवारी नाच र साकेला नाचदेखि यानिमाया र सालैजो उनीहरूकै वेशभूषामा सजिएर नितृ देखाउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउनुभयो ।

“कला संस्कृतिको संरक्षण र विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री र खाजा खर्च जुटाउन कार्यक्रम आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो, “पहाडको तामाङ संस्कृति, तराईको थारू र पहाडको आदिवासी जनजाति र नेवारी संस्कृतिलाई देउसी भैलोमा देखाउन थालिएको छ ।”

विसं १९९७ मा स्थापना गरिएको धवलागिरिकै जेठो विद्यालय विद्यामन्दिरमा अध्ययनरत गरिब, मजदुर तथा श्रमिकका बालबालिकालाई शिक्षा दिन, असहाय बालबालिकाको कल्याणको लागि स्थायी कोष सञ्चालन गर्न र विद्यालयलाई शैक्षिक हब बनाउन देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक छविरमण शर्माले जानकारी दिनुभयो । विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।

नौमती बाजा संरक्षण गर्दै नगरपालिका

पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङमा संरक्षण गर्न थालिएको छ । सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो । नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई बाजाका सामग्री सहयोग गरेको छ ।

बागलुङ–८ सिगाना लामीचौरमा रहेको दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्नका लागि उक्त बाजा सहयोग गरिएको हो । पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि बागलुङ नगरपालिकाले नगरस्तरीय रु तीन लाख बजेटमार्फत दुई समूहलाई नौमती बाजा खरिद गरी वितरण गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने नौमती बाजा वितरण समितिका अध्यक्ष जब्बरबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार दलित समुदायभित्र दुई समूहले नौमती बाजा बजाउने गर्दछन् । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेकाले नगरपालिका संस्थागतरूपमै नौमती बाजा संरक्षणमा जुटेको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले बताउनुभयो ।

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता हुनुभएको छ ।

दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो ।

‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको सो पार्टीले जनाएको छ ।

आज भाइटीका, १०ः५१ बजे शुभ साइत

काठमाडौँ – नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

‘बिहान १०ः५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

‘राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्छ’

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् अधिकारीले सुनाउनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला गरिने

दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम रहेको जनाइएको छ ।

खञ्जनेश्वर महादेवमा भक्तजन

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”–उहाँले भन्नुभयो ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । आठ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि २०७७ सालसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछिदेखि मात्र भक्तजनका लागि पुन ः खुला गरिएको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् ।

सभामुख घिमिरेद्वारा तिहारको शुभकामना

काठमाडौँ – सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना गर्नुभएको छ ।

सभामुखले आज एक सन्देश जारी गरी आपसमा रमाउँदै देउसी भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने तिहारले आम नेपाली दिदीबहिनी तथा दाजुभाइबीच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो, संस्कार र संस्कृतिमा फरक भएकैले नेपाली आज विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन्”, सभामुखले सन्देशमा भन्नुभएको छ ।

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही

काठमाडौँ, २८ कात्तिक : नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो ।

प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट कारबाही हुने उल्लेख गरेको छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले “सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय गरेको थियो ।केही सेवा प्रदायकले सरकारी निर्णयको अवज्ञा गरेका बताउँदै तत्काल निर्देशन कार्यान्वयन गरी प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरेको छ ।

तिहारका अवसरमा जुवातास खेल्ने ९० जना पक्राउ

काठमाडौँ, २८ कात्तिक : तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।काठमाडौँबाट १७, कञ्चनपुरबाट ४२, सिन्धुलीबाट चार, डडेलधुराबाट १३, दार्चुलाबाट सात जना र सङ्खुवासभाबाट सात जना गरी ९० जना पक्राउ परेको जनाइएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दङ्गालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दङ्गालसमेत आठ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रु ७६ हजार आठ सय ३५ र एक बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत नौ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रु ४० हजार आठ सय ५५ र एक बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका–१७ बाँसखेडा बस्ने भीमबहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय इन्द्र पाठकसमेत २८ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु दुई लाख ५८ हजार छ सय ९४ र ताससहित पक्राउ गरेको हो ।

यसैगरी सोही नगरपालिका–१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१४ बस्ने ३८ वर्षीय दीनेश खत्री लगायत छ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद रु २५ हजार चार सय ६० र तास पाँच थानसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका–६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रामबहादुर राना समेत आठ जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु २२ हजार ४० र तास एक बुकसहित पक्राउ गरेको हो ।

यसैबीच सिन्धुली, सुनकोशी गाउँपालिका–६ खाल्टे बस्ने ५० वर्षीय रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद रु २२ हजार सात सय ६०, एक बुक तास र ३३ वटा कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डडेल्धुरा, अमरगढी नगरपालिका–१ मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय ओमप्रकाश जोशीसमेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु २१ हजार तीन सय ७९ र तास दुई सय ५२ पत्तासहित पक्राउ गरेको हो ।

दार्चुला, महाकाली नगरपालिका–५ गल्फै बस्ने ३२ वर्षीय केशवदत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट लगायत सात जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रु ४३ हजार तीन सय र तासको गड्डी छ थानसहित पक्राउ गरेको हो ।

सङ्खुवासभा, चैनपुर नगरपालिका–३ तीनखोप्रे बस्ने ३६ वर्षीय हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५१ वर्षीय प्रेमबहादुर कटुवाल लगायत सात जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ३८ हजार तीन सय २५ र एक बुक ताससहित पक्राउ गरेको हो । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसमेत गरिरहेको जनाइएको छ ।

बागलुङका किसानलाई गहुँ छर्ने र धान भित्र्याउने चटारो

ढोरपाटन (बागलुङ), २८ कात्तिक : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिनमात्र बाँकी तर सहरबजारभन्दा गाउँमा बढी चहलपहल भइरहेको छ । यतिबेला बागलुङका किसानलाई धान भित्र्याउने र गहुँ छर्ने चटारो छ । कामको बेला परेको तिहारले गाउँमा मान्छे जुटाएको भने रौनक भने कम छ । तिहारमा आफन्त र इष्टमित्रसँग घरमै रमाउन छाडेर यहाँका किसान धान, कोदो र खर काट्न तथा गहुँ छर्नमा व्यस्त छन् ।

तिहार मान्न गाउँ आएकाहरूले गर्दा कामदारको खाँचो छैन । पाकिसकेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर छ किसानलाई । आकाशमा कालो बादल मडारिँदा उनीहरू चिन्तित हुन्छन् उनीहरू । बागलुङको गलकोट, बडिगाड, जैमिनीलगायत गाउँका किसान आजभोलि खेतबारीमै भेटिन्छन् । यहाँका किसानलाई चाडबाडको भन्दा खेतबारीकै चटारो बढी छ ।

जैमिनी गाउँका किसान प्रताप शर्माले केही दिनदेखि वर्षा रोकिएकाले धान भित्र्याउन थालेको बताउनुहुन्छ । खेतमा धान पाकिसकेको हुँदा भित्र्याउन आफूलाई भ्याइनभ्याई भएको उहाँ बताउनुहुन्छ । यस क्षेत्रमा धेरै किसानले जडन जातको धान लगाउने हुँदा ढिला पाकेको शर्मा बताउनुहुन्छ । एकैपटक धन भित्र्याउने र गहुँ छर्ने बेला भएकाले तिहारप्रति त्यति चासो नभएको उहाँ बताउनुहुन्छ ।

“पहिला–पहिला तिहार सकिएपछि धान भित्र्याउने चलन थियो, अहिले अलि ढिला आए चाडपर्व त्यही भएर कामको चटारो भयो, चाडपर्व मनाउनेभन्दा बाली भित्र्याउने र छर्नेतर्फ बढी ध्यान गयो”, शर्माले भन्नुभयो, “दसैँ–तिहार मनाउन आएका छोरा भतिजा सबै गाउँमा भएको बेला धमाधम काम गरिरहेका छौँ, एक–दुई दिनपछि उनीहरू जान्छन् ।”

गलकोटका किसान प्रेमबहादुर विक तीन दिनदेखि धान भित्र्याउनमै व्यस्त हुनुहुन्छ । गाउँका सबैले एकैपटक धान भित्र्याउन र गहुँ छर्न थालेपछि खेताला कम भएको उहाँको भनाइ छ । पहिला पर्म गरेर काम गर्ने गरेको भन्दै यसपालि एकैपटक धान भित्र्याउन थाल्दा समस्या भएको बताउनुहुन्छ ।

जिल्लामा खेतीयोग्य जमिनको २० दशमवलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष छ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्र सिँचाइको सुविधा छ ।

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको छ ।

चीन र अमेरिकाका नेता बीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गर्नु भएको हो ।

सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने

नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक मुलुक हो र उसले आफ्नो विद्यमान २०६० लक्ष्यको तुलनामा धेरै नै महत्त्वाकांक्षी कार्बन तटस्थताको लक्ष्यको मागलाई पन्छाएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सन् २०२३ र सन् २०५० को बीचमा विद्यमान जीवाश्म इन्धन सम्पत्तिहरूबाट वैश्विक उत्सर्जनको ४५ प्रतिशत हिस्सा चीनको हुने अनुमान गरिएको बताएको छ ।

बेलायतस्थित जलवायु साइट कार्बन ब्रिफले सोमबार जारी गरेको विश्लेषणमा चीनले पनि नवीकरणीय ऊर्जा क्षमतालाई अत्यन्त तीव्रताका साथ स्थापना गरिरहेको बताइएको छ । चीन एक्लैले सन् २०२३ मा स्थापना गरेको नयाँ सौर्य ऊर्जाको मात्रा अमेरिकामा पूरै स्थापित क्षमताभन्दा दुई गुणा छ ।

“सन् २०२३ मा स्थापना गरिएको नयाँ सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत् र आणविक क्षमताले मात्र प्रतिवर्ष अनुमानित चार सय २३ टेरावाट घन्टा (टिडब्लुएच) उत्पन्न हुनेछ जुन फ्रान्सको कूल विद्युत् खपतको बराबर हो”, सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरको लौरी माइलीभिर्ताको प्रतिवेदनमा भनिएको छ ।

नवीकरणीय ऊर्जा स्थापनामा ठूलो मात्रामा बढोत्तरी र खडेर कम कम हुँदै जाँदा जलाशय फेरि भरिएका कारण जलविद्युत्मा अनुमानित वृद्धिले सन् २०२४ मा जीवाश्म–इन्धन बिद्युत् उत्पादन र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्ने प्रत्याभूति गरेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि चीनले आफ्नो कोइला शक्ति क्षमताको विस्तारलाई जारी राखेको छ । यसले चीनको परम्परागत र नयाँ उदीयमान स्वार्थ समूहहरूबीचको द्वन्द्वका लागि स्थिति तयार गरिरहेको प्रतिवेदनले चेतावनी दिएको छ ।

नवीकरणीय ऊर्जाको वृद्धिले कोइला उद्योग र स्थानीय सरकारहरूको हितलाई उच्च जोखिममा पार्ने कार्बन ब्रिफले बताएको छ । “यी सरोकारहरूले सम्भावित अवरोध गर्न सक्ने चिन्ता बढाएको छ जसको प्रतिरोध गर्ने अपेक्षा गर्न सकिन्छ”, कार्बन ब्रिफले भनेको छ ।

चिनियाँ र अमेरिकी जलवायु अधिकारीहरूले यसै महिना हुने कोप२८ सम्मेलनमा वार्ता गर्न यसै साताको सुरुमा भेट गरेका थिए । भेटमा दुवै पक्षले रचनात्मक वार्ता भएको भन्दै प्रशंसा गरेका थिए ।

बाइडेनको ‘नुडल कूूटनीति’ भोजनालय, अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर

बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन–अमेरिका सम्बन्धको स्थल थियो ।

सन् २०११ को भ्रमणमा तत्कालीन अमेरिकी उपराष्ट्रपति जो बाइडेन याओजी चाओगनमा अपराह्न भोजनका लागि जानुभयो र यसले उहाँको ‘नुडल कूटनीति’ लाई लिएर सामाजिक मिडियामा क्रेज बढ्यो ।

यो साता राजधानीको ऐतिहासिक हटोङ इलाकामा एउटा रेस्टुरेन्टबाहिर चिनियाँ सर्वसाधारणले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटले उहाँहरूको आफ्नै कूटनीतिक सफलता हासिल गर्न सहयोग गर्ने अपेक्षा गरेका छन् ।

बाइडेन र सीले यसै साता सान फ्रान्सिस्कोमा व्यापारदेखि भू–राजनीतिक तनावसम्मका महत्त्वपूर्ण मुद्दामा विचारविमर्श गर्दै हुनुहुन्छ । यो उहाँहरूको एक वर्षभन्दा लामो समयपछिको पहिलो भेटवार्ता हुनेछ ।

बेइजिङको सात सय वर्ष पुरानो ड्रम टावर नजिक यात्रुहरूले दुवै नेताहरूले विश्वका लागि एक हुन सिक्न आवश्यक रहेको एएफपीलाई बताए ।

“चीन–अमेरिका सम्बन्ध तनावपूर्ण छ, तपाईं यो देख्न सक्नुहुन्छ तर उनीहरू अत्यन्त निकटसँग जोडिएका पनि छन्”, आफ्नो थर मात्र बताउने अर्थशास्त्रकी छात्रा युआनले भनिन्, “यी विशाल वैश्विक आर्थिक प्रणाली भएका दुई अत्यन्त ठूला मुलकु हुन्, त्यसैले यो अत्यन्त महत्त्वपूर्ण छ, उनीहरूबीचको सम्बन्धले सम्पूर्ण विश्वको अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पर्दछ ।”

सुप र बनहरूको तात्तातो कचौराले बाहिरको चिसोलाई राहत प्रदान गरिरहेको खचाखच भरिएको बिस्ट्रोबाहिर सेवानिवृत्त चालक यूले प्रतिद्वन्द्वी मुलुकका नेताहरूबीचको बैठकको स्वागत गर्दै अमेरिकी राष्ट्रपतिका लागि केही प्रशंसा गरे ।

“यो वास्तवमै राम्रो हो, मानिसले वास्तवमै यसको प्रतीक्षा गरिरहेका छन्”, उनले भने, “चीनमा हामीमध्ये अधिकांश वृद्धवृद्धाहरू अवकास भइसकेका छन् तर बाइडेन अहिले पनि अमेरिकी जनताका लागि लडिरहनुभएको छ, उहाँसँग धैर्य हुनुपर्छ साथै अमेरिकी जनताको समर्थन पनि हुनुपर्दछ ।”

चीनको राजधानीमा बाइडेनको रात्रिभोजपछि चीन–अमेरिका सम्बन्धमा गिरावट आएको छ र व्यापारदेखि ताइवानसम्मका थुप्रै मुद्दामा बेइजिङ र वासिङ्टनबीच विमति कायम छ ।

चीनमा जनताको राय नाप्न कठिन छ । मिडियामा व्यापक सेन्सरसिप लगाइएकोछ र मिडियाले पार्टीको लाइनको पालना गर्दछन् । जनता पनि सामान्यतया विदेशी सञ्चारमाध्यमसँग विवादास्पद विषयमा विचार दिन अनिच्छुक हुन्छन् ।

चालक युले सम्बन्धहरूको वर्तमान स्थितिजस्ता ‘उच्चस्तरीय मामिला’ सँग आफूलाई कुनै सरोकार नभएको बताए । यद्यपि उनले दुई मुलुकबीचको भिन्नताका कारण उनीहरूले मिल्न सिक्नु महत्त्वपूर्ण हुने बताए ।

“अमेरिका निश्चितरूपमा केही पक्षमा चीनभन्दा बलियो छ र चीन निश्चितरूपमा अन्य पक्षमा अमेरिकाभन्दा बलियो छ”, उनले भने, “यी दुई मुलुक एकअर्काका परिपूरक हुन् ।”

यद्यपि केही मानिसले बेइजिङ र वासिङ्टनबीचको बढ्दो भिन्नतातर्फ सङ्केत गर्दै कुनै पनि सम्झौता गर्न कठिन हुने बताएका छन् । आफ्ना कम्पनीहरूमाथि आर्थिक प्रतिबन्ध मुलुकको विकास रोक्ने प्रयास हो भन्ने चिनियाँ सरकारको धारणालाई उनीहरूले दोहोर्याएका छन् ।

“निश्चितरूपमा बाइडेनले आफ्नो देशको हितको रक्षामा ध्यान केन्द्रित गर्नुहुन्छ”, छात्रा युआनले भनिन्, “उहाँले केही यस्ता निर्णय लिन सक्नुहुन्छ जुन हाम्रो बुझाइभन्दा पर हुनसक्छ ।”

अमेरिकी राष्ट्रपतिप्रति शत्रुतापूर्ण व्यवहार देखाउने अन्य केही मानिसले भने बाइडेनले वैश्विक मुद्दाको समाधान गर्नुको सट्टा घरेलु समस्याहरू सुल्झाउन अधिक समय दिनुपर्ने राय व्यक्त गरेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले भने, “जहिलेदेखि बाइडेनले सत्ता सम्हाल्नुभयो, सम्पूर्ण वैश्विक अर्थतन्त्र अधोगतिमा गइरहेको छ, उहाँले युक्रेन र इजराइलमा भएका युद्धतिर नभएर अर्थतन्त्रमा ध्यान दिनुपर्छ ।”

बाइडेनको उमेर आफ्नो विचार बनाउनका लागि महत्त्वपूर्ण कारक हो कि भनेर प्रश्न गर्दा उनले भने, “यो उमेरको कुरा होइन, चीनका नेताहरू पनि वृद्ध छन् ।”

विभिन्न ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष ११४४

काठमाडौँ, २८ कात्तिक : चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ ।

राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना ¥याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना ¥याली निकालिएको हो ।

यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट नेपाल संवत् सुरु भएको थियो । पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा नेपाल संवत् चलेको थियो । लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । आजैदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ । यो निर्णय आजैदेखि कार्यान्वयन भएको जनाइएको छ ।

सयपत्री कतार निर्यात भएपछि किसान उत्साहित

तनहुँ (दमौली), २८ कात्तिक : तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पु¥याइएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भन्नुभयो, “यो गाउँपालिकाका लागि नै खुसीको कुरा हो । गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकामा कतारसम्म निर्यात भएको छ ।” पहिलो चरणमा प्रतिमाला रु एक सय ५० का दरले कतार पठाइएको छ ।

अरु बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताउनुभयो । फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उहाँको भनाइ छ । अध्यक्ष चुमानले भन्नुभयो, “पहिलो पटक तीन ठाउँमा खेती गरियो, अब यसलाई विस्तार गर्ने योजना छ ।”

गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गरेको छ । गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ । गाउँपालिकाले चालू आवदेखि अनुदानको कार्यक्रम अगाडी बढाएको छ । सोही बमोजिम तीन ठाउँमा सयपत्री फूलखेती सुरु गरी उत्पादन भइसकेको छ । उत्पादन भएको सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताउनुभयो ।

गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि आँबुखैरेनी–३ मा हाटबजार सञ्चालनमा ल्याएको छ । उक्त हाटबजार प्रत्येक शुक्रबार सञ्चालन हुने गरेको छ । गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीका लागि सहयोग गरेको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो रु पाँच सयसम्म बिक्री भइरहेको छ । स्थानीय स्तरमा किलोको रु दुई सयसम्म बिक्री गरिँदै छ । यस्तै एउटा माला रु ८० सम्ममा बिक्री भइरहेको छ ।

गाउँको तिहार सम्झिएर न्यास्रो मान्दै सहरिया

काठमाडौँ, २८ कात्तिक ः “आहै झिलीमिली झिलिझिली
के को झिलिमिली
आहै बत्तिको झिलिमिली
सिमल बारुलै सिमल बारुलै…..”

गायक नवीनकुमार खड्का र पुस्तका खड्काका मात्रै होइन धेरै लोकप्रिय गायक र कलाकारका स्वरमा हरेक तिहारमा टेलिभिजन, रेडियो र सामाजिक सञ्जालमा देउसी–भैलोका गीत गुञ्जिएका हुन्छन् । मौलिक नेपाली संस्कृतिका रुपमा रहेको यो देउसी–भैलोको परम्परा पछिल्लो समयमा प्रत्यक्ष खेलेरै संस्कृति संरक्षण गर्ने कार्यमा कमी आएको देखिन्छ । तिहारको रौनकसँगै गाउँ–सहरमा भिलिमिली बत्तीको उज्यालो छाउँछ । घरका ढोका र आँगनदेखि ढोकासम्म सयपत्री र मखमली फूलका माला र रङ्गोलीले सजिएका हुन्छन् ।

पहिला पहिला गाउँघरको दैउसी–भैलीको रौनक बेग्लै हुन्थ्यो । राँको, टर्च लाइट, लालटिन वा मैनटोल बालेर कात्तिक कृष्णपक्षका रातमा परबाट देउसी–भैलीको टोली गाउँदै हिँडेका हुन्छन् । कुनै घर नजिकै पुग्न लागेपछि कुकुर भुक्न थाल्छ । घरका बा–आमाले आँखा तन्काउँदै हेर्छन् । ओहो, देउसी–भैलो टोली आएछ है भन्दै स्वागतको तयारीमा जुट्छन् । ‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको, ए… औँशीको बारो गाईतिहारो भैलो’ गाउँदै विभिन्न भाकामा बूढाबुढी, बालबालिका र युवाहरु एकसाथ नाचगान गरेर जाने बेलामा घरधनीले खुसी मनले नाङ्गलामा चामल, दियो बत्ती, सेल–रोटी, फलफूल, मिठाइ र दक्षिणा ठीक पार्छन् । देउसी भैलो खेल्नेले ‘ढुङ्गा छुँदा अन्न होओस्, यो घरमा सुनको छाना होओस्’ आदि भनेर शाषिश पनि दिने गर्दछन् ।

नेपाली मौलिक संस्कृतिका रुपमा रहेको यो परम्परा पछिल्ला वर्षमा हराउनुमा सहरिया जीवनशैली, युवाहरुको विदेश पलायन, आर्थिक मन्दि, कोभिड–१९ पछिको अवस्था, समय समयमा आइपर्ने विपद्का घटना आदि कारण देखिएका छन् । देउसी–भैलो तिहारको मौलिक गहना हो । तिहार भन्नासाथ देउसी–भैलोको झझल्को हरेकलाई आउने गर्छ । समयक्रमसँगै सांस्कृतिक रहनसहनमा परिवर्तन आएकाले तिहारको रौनक क्रमिक रुपमा घट्दै गएको छ । यो वर्ष पनि तिहारको चहलपहल निकै घटेको छ । विगतका वर्षहरुमा गाउँघरदेखि सहरमा देउसी–भैलो खेल्ने हुलका हुल रातभर हिँड्थे । तिहारलाई थप उल्लासमय बनाउँथ्यो । तर, यसपटक तिहारमा विगतका वर्षमा जस्तो उल्लासमय देखिँदैन । त्यसो त विदेशमा रहने नेपालीले आफू बसेका ठाउँमा पनि चाडपर्व मनाएका हुन्छन् । उनीहरुले त्यहाँ नेपाल र नेपालीको संस्कृतिप्रतिको माया दर्शाउँदै नाचगान गरेका भिडियो सामाजिक सञ्जालमा देखिन्छन् ।

 काठमाडौँ उपत्यकालगायत मुख्य सहरदेखि भित्री गल्लीहरुमा पनि देउसी–भैलोको चहलपहल देखिँदैन । कतिपय घरटोलमा त बत्तीको झिलिमिली पनि छैन । अति व्यस्त बजार असन, नयाँसडक, वसन्तपुरतिर त्यत्ति चहलपहल छैन । वसन्तपुर क्षेत्रमा केही विदेशी पर्यटक घुमिरहेका भेटिए पनि बजारमा किनमेल खासै बढेको छैन ।पहिला पहिला खैजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा नै हाम्रो संस्कृतिको वैभव हो । देउसी–भैलोबाट जम्मा भएको रकम विद्यार्थीको पठनपाठन, मठ, मन्दिर, चौतारी, पँधेरा, कुवा निर्माण तथा दिनदुःखीलाई दान दिने जस्ता सामाजिक पवित्र काम गरिने असल परम्परा पनि हुनेगर्दथ्यो । 

पश्चिमा संस्कृति र आधुनिक पप–सङ्गीतको प्रभावका कारण मौलिक संस्कृतिमा प्रतिकूल असर परेको संस्कृतिविद् एवं पाका नागरिकको बुझाइ रहेको छ । संस्कृतिविद् जगमान गुरुङ मेमोरी कार्ड राखेर डिस्को बजाउँदै नाच्नेजस्ता विकृतिले मौलिक संस्कृतिलाई गाँज्दै गएको बताउँदै देउसी र भैलोको आदर्श र मर्यादा गुम्दै गएको जानकारी दिनुहुन्छ । “राजनीतिक दलका भातृृ सङ्गठन र संस्थाले राजनीतिक अभिष्ट र आर्थिक सङ्कलनको स्वार्थ राखेर देउसी भैलो खेल्न थालेका पनि देखिएको छ । सनातन कूलधर्म र परम्परालाई बजारमुखी बनाइएको छ । नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको मुहान सुक्न थालेको छ’’, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गुरुङले रासससँग भन्नुभयो, “गाउँघरमा द्वन्द्वकालदेखि नै मानिस विस्थापन हुँदै गए । सहरमा सहरिया जीवनशैलीले मानिसमा सामाजिकता हराउँदै गएको छ । संस्कृतिलाई संयमित बनाउने नाममा सरकार र स्थानीय तहले यतिबजेसम्म खेल्न पाइने र नपाइने भनेर नियम बनाएको छ । यी सबैको मारमा देउसी भैलो पनि परको छ ।’’

साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ यमपञ्चकसहितको तिहारले काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइपूजा गरेर जनावर, प्रकृति र कृषि कर्मको पूजादेखि आपसी भातृत्वको संरक्षण गर्ने बताउनुहुन्छ । यस्तो असल परम्परालाई जोगाउनु सबैको दायित्व भएको पुडासैनीको आग्रह छ । अर्का साहित्यकार सरिता अर्याल सामाजिक अपराधका घटनको डरले सहरमा रातिसम्म हिँडडुल गर्न असुरक्षा हुने गरेको र संस्कार–संस्कृतिमा कमी आएका कारण यस वर्ष देउसी भैलो खेल्नेहरु न्यून भएको बताउनुहुन्छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिका–४ का ७० वर्षीय उद्धवबहादुर राई गाउँघरमा पनि पहिला पहिला जस्तो उल्लासमय तिहार नभएको बताउनुहुन्छ । “गाउँमा तन्नेरीहरु छैनन् । बूढाबुढीले खेल्न जानु पनि भएन । पहिलाको जस्तो मजा हुनै छाडेको छ ।’’

संखुवासभा घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ६८ वर्षीय लालबहादुर बुढाथोकी आजभोलि देउसी खेल्ने र मनाउनेहरु धेरै कम देखिएको जनाउँदै साना साना बालबालिका अलिअलि देखिए, अरु देखिएनन् । युवा पुस्तामा धर्म–संस्कृतिप्रतिको विश्वास र लगाव कम भएर पनि उनीहरुको रुचि घटेको हुन सक्ने उहाँको भनाइ छ । प्यूठान घर भइ हाल भक्तपुर बस्दै आउनुभएका खुम केसीको अनुभवमा सरहको तिहार न्यास्रो भएको छ । कोभिडपछि धेरै व्यावसायी काठमाडौँ उपत्यकाबाट बाहिरएकाले पनि चलहपलहमा कमी आएको उहाँको भनाइ छ । पौराणिक मान्यताअनुसार दानवीर कहलिएका बलीराजालाई दमन गर्न वामनको रुप धारण गरेका भगवान विष्णुको सहारामा देवताहरु लागेका बेला तीन पाउ जमिन पाउँ भनेर माग्दा बलीराजाले त्यति जमिन दिने सङ्कल्प गरे । वामनको अवतार ठूलो हुँदै गएकाले उनको एउटा पाउले पृथ्वी र अर्काे पाउले आकाश ढाक्न थाले ।

वामनको तेस्रो पाउ पर्नासाथ बलीराजा भासिएर पाताल पुगे । त्यसपछि राजाले विष्णुसँग वर्षमा एक पटक तिहारमा पृथ्वीलोक घुम्न पाउने वरदान लिए । तिनै बलीराजा पृथ्वीमा आउने भएपछि दीप प्रज्ज्वलनसहित देउसी भैलो खेल्ने गरिन्छ । सबै ठाउँमा बलिराजा जान नभ्याउने भएकाले देउसी र भैलो खेल्ने समूहले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए…’ भन्दै घरघरमा पुग्ने गरेका हुन् भनिएको छ ।

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

काठमाडौँ, २८ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरू हातबाट टीका र आर्शिवाद लिनुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

भाइटीकाको दिन मौसम कस्तो रहला ?

काठमाडौँ – भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिकदेखि सामान्यतया सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

“आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगमा आंशिक बदली र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तिहारको भाइटीकाको दिन मौसम सामान्यतया सफा नै रहने देखिन्छ”, मौसमविद मानन्धरले भन्नुभयो ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ । सङ्घीय राजधानी काठमाडौँमा अबको दुई दिन मौसम सामान्यतया सफा रहनेछ । उपत्यका आसपासका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम सफा रहनेछ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भोलि कात्तिक २९ गते कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समभावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

भूकम्पपीडितको घरदैलोमै उपचार सेवा

कर्णाली, २८ कात्तिक : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल, शिक्षाध्यक्ष डा डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा रविन खातुङ, डा तोसिमा कार्की भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेलाई उपचार गरेर फर्केको हो । जाजरकोटको भेरीगङ्गा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेकालगायत सबैखाले समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको उपकुलपति डा रावलले जानकारी दिनुभयो ।

प्रतिष्ठानको टोलीले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका मन्त्री, जाजरकोट जिल्ला अस्पताल व्यवस्थापन समिति र सरोकारवालासँग ५० शय्याको अस्पताल गर्नुपर्नेदेखि विभिन्न नीतिगत योजनामा छलफल गरेको उहाँले बताउनुभयो । त्यस्तै भविष्यमा आइपर्ने विपद् प्रतिकार्य रोकथामका लागि अस्पताललाई तयारी अवस्थामा राख्न र त्यसमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरी उपचार सेवा प्रदान गर्ने विषयमा पनि अन्तक्र्रिया भएको उहाँको भनाइ छ ।

उपकुलपति डा रावलले भन्नुभयो, “सरकारले अत्याधुनिक उपकरणसहित शल्यक्रिया कक्ष, सघन उपचार एकाई (आइसीयू) लगायतका सुविधाको व्यवस्था गर्नुपर्दछ । विशेषज्ञ जनशक्ति प्रतिष्ठानले उपलब्ध गराउँछ ।” उहाँले जिल्ला अस्पताल जाजरकोटको अस्पताल प्रमुख डा प्रतीक्षा भारतीलाई रु तीन लाखबराबरको आवश्यक औषधि, चिकित्सा सामग्री सहयोग गरिएको जनाउनुभयो ।

उहाँका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य डीन प्रा डा क्षत्री नेतृत्वको जनस्वास्थ्य विशेषज्ञ र मनोसामाजिक परामर्शदाता सम्मिलित टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । उक्त टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतनाको अभियान सञ्चालन गर्नुका साथ अमेरिका–नेपाल मेडिकल फाउण्डेशनद्वारा पीडितलाई सहयोग गरिएको एक हजार हाइजेनिक किट्स वितरण गरेको छ ।

विपद्पश्चात् उद्धारको काम सकिएको जनाउँदै उपकुलपति डा रावलले तत्काल सबैलाई अस्थायी बास, त्रिपाल र न्यानो कपडा सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । सम्भावित महामारी रोक्न सघन जनस्वाथ्य अभिायन सञ्चालन, प्राथमिक स्वास्थ्योपचारका लागि अनिवार्य ५० शय्याको अस्पताल, पर्याप्त मेडिकल तथा सर्जिकल उपकरण र जनशक्ति आवश्यक विषय भएको उहाँको भनाइ थियो ।

तिहारपछि प्रतिष्ठान जुम्लाले जनस्वास्थ्य, चिकित्सा, नर्सिङ र विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीलाई जनस्वास्थ्य अभियान सञ्चालनका लागि परिचालन गर्ने योजना बनाएको छ । जतिसक्दो द्रुत तवरबाट सरकारले जाजरकोट अस्पतालका लागि शल्यक्रिया कक्ष र सघन उपचार एकाईसहित उपकरणको प्रबन्ध गरेमा प्रतिष्ठानले विशेषज्ञ जनशक्ति उपलब्ध गराउने योजना बनाइएको उपकुलपति रावलले बताउनुभयो ।

तिहार त्यागेर जनस्वास्थ्य टोली भूकम्पपीडितको उपचारमा

नेपालीको दोस्रो महान् पर्व तिहार (दीपावली)को रमझम बढिरहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनस्वास्थ्य टोली भूकम्पपीडितको उपचारमा व्यस्त छ । प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य डीन प्रा डा मुुनिराज क्षत्री नेतृत्वको छ जनाको टोली एक सातादेखि भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितको उपचार गरिरहेको छ ।

उहाँसँगै डा ओमप्रकाश काफ्ले, मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यसहित जाजरकोट र रुकुम पश्चिमका प्रभावित जिल्लाका पीडितलाई जनचेतना, उपचार सेवा र राहत सामग्री नपुगेर सङ्कट व्यहोरिरहेकालाई सहयोग गर्दै आएको छ । यसपालिको तिहार भूकम्पपीडितको उपचार सहयोगमा बिताउने गरी अहिले नलगाड नगरपालिकाका बिरामीको उपचारमा रहेको उहाँले बताउनुभयो ।

“हामी एक सातादेखि पीडितको उपचार सेवामा तल्लीन छौँ”, उहाँले भन्नुभयो, “अब नलगाडपछि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जाँदैछौँ ।” यसअघि जाजरकोटको भेरी र छेडागाड नगरपालिका तथा रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिका उपचार सेवा दिइएको डीन प्रा डा क्षत्रीले बताउनुभयो ।

उहाँका अनुसार उपचार सेवा प्रवाहबाट प्रत्यक्ष–परोक्ष गरेर करिब तीन हजार भूकम्पपीडित लाभान्वित भएका छन् । “भूकम्प प्रभावित क्षेत्रमा चिसो बढ्दै गएको छ । चिसोले दम, निमोनिया र रुघाखोकीका बिरामी बढ्ने खतरा छ”, उहाँले भन्नुभयो, “खानेपानी, शौचालयको अभावले वातावरणीय प्रदूषण बढ्ने र त्यसले रोग निम्तिने समस्या पनि त्यत्तिकै देखिएको छ ।”

यसको सामना कसरी गर्ने भन्ने कुरामा तीनै तहका सरकारले दीर्घकालीन रणनीतिक योजना बनाउन आवश्यक रहेको डीन क्षत्रीको भनाइ छ । उहाँका अनुसार नागरिकको स्वास्थ्यमा आइपर्ने सङ्कट निवारण कसरी गर्नेमा प्रतिष्ठानले पनि आफ्नो योजना बनाएर अगाडि बढ्ने छ ।

बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी दुई सय ५० भन्दा बढी घाइते भएका थिए । एक सय ५७ जनाको उक्त भूकम्पमा परी मृत्यु भएको थियो ।

सङ्खुवासभा र गोरखामा पनि नेपाल संवत् मनाइयो

गोरखा, २८ कात्तिक: गोरखाका नेवार समुदायले आज सांस्कृतिक झाँकी तथा र्यालीसहित नेपाल संवत् ११४४ विभिन्न कार्यक्रम गरी मनाएका छन् । नयाँ वर्षको रूपमा नेवाः देय् दवु जिल्ला कार्यसमिति गोरखाको आयोजनामा सदरमुकाममा नेवार समुदायको पोशाकमा सजिएर झाँकीसहितको र्याली गरेर नेपाल संवत् मनाइएको हो ।

गोरखा नगरपालिका–६ को रानीपोखरी परिसरबाट सुरु भएको र्याली ठूलो आँगन, पाटेचौर, गोरखा अस्पताल, धनबासे, कालीमाटी बजार हुँदै शक्तिचोक, पुरानो बसपार्कबाट पुनः रानीपोखरी परिसरमा पुगेर समापन भएको थियो ।

र्यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले इतिहास, भाषा, संंस्कृति र संस्कारसँग जोडिने भएकाले सबै जातजातिको भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गराउनु भएसँगै नेपाल संवत् मनाउन थालिएको हो ।
त्यस अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष विष्णुराना मगर र नेवाः देय् दवुका सल्लाहकार मोहनलाल श्रेष्ठलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी, सङ्खुवासभाको खाँदबारी र चैनपुरमा नेवाः देय् दबुले शान्ति र्याली निकालेको थियो । खाँदबारीको बुद्ध चोकबाट प्लेकार्डसहित निस्किएको र्यालीले नगरका विभिन्न स्थान परिक्रमा गरेको थियो ।

र्यालीपछि आयोजित कार्यक्रममा नेवाः देय् दबुका सदस्यले नेपाल संवत्लाई राष्ट्रिय संवत् रूपमा आजबाट प्रचलनमा ल्याएको र सरकारी कागजातमा उल्लेख गर्ने सरकारको निर्णयको स्वागत गरेका थिए ।

विधिपूर्वक गोवर्द्धन पूजा गरियो

काठमाडौँ, २८ कात्तिक : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु, हली एवं कृषकको पूजा आजा गरी मनाइएको छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजा आराधना गरिएको हो । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । भगवान् विष्णुको आज्ञा अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ । दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र ‘देउ शिर रे’ भनी देउसी खेल्ने परम्पराको सुरुवात् गरेको विश्वास छ । यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ ।

प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्वपूर्ण योगदान गर्दै आएको छ । महादेवको वाहनको रुपमा समेत पूजिने गोरु (साँढे) लाई आज पूजा गरी मीठा मीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ । यसैगरी गोरु जोत्ने हलिलाई पनि पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ । यसैले आजको दिनलाई हल तिहार पनि भनिन्छ ।

वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ । तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्व रहेको सांस्कृतिक रुपमा अर्थ दिने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यसरी वैदिक सनातन धर्मले सबैको महत्व भएको दर्शन अङ्गालेको पनि उहाँले सुनाउनुभयो ।

सामाजिक एकता बलियो बनाउनुपर्ने – माधव नेपाल

काठमाडौँ, २८ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै जाति तथा समुदायका भाषा, साहित्य तथा संस्कृतिको संरक्षणबाट समाजिक एकतालाई बलियो बनाउन सकिने बताउनुभएको छ ।

नेपाल संवत् ११४४ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविध कला, मौलिक संस्कृति तथा चाडपर्वले सांस्कृतिकरूपमा एकापसमा जोड्ने फरक भौगोलिक क्षेत्रका नेपालीलाई एकताबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभएको छ ।

तत्कालीन समाजमा शङ्खधर साख्वाले जनताको ऋणमोचन गरी सञ्चालन गरेको संवत्ले राष्ट्रको सांस्कृतिक पहिचान कायम गरेको बताउँदै सन्देशमा उहाँले यसलाई प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष नेपालले राष्ट्रिय उत्पादन वृद्धि गर्न रोजगारका अवसर सिर्जना गरी सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीद्वारा शुभकामना

काठमाडौँ, २८ कात्तिक: – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

“नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । आजैको दिन नेवार समुदायमा म्हः पूजासमेत गरिन्छ, ” सामाजिक सञ्जालमा अध्यक्ष ओलीले लेख्नुभएको छ ।

नेपाली सेनाद्वारा आगोले पोलेका घाइतेको हवाई उद्धार

काठमाडौँ, २८ कात्तिक : नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ । यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको थियो ।

स्वास्थ्य बीमाले धानेको भरतपुर अस्पताल

चितवन, २८ कात्तिक : यहाँको सङ्घीय सरकारी भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ ।

अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका हुने गर्दछन् । उनीहरूको आम्दानीले अस्पतालको खर्च धान्ने गरेको छ । त्यसो त थोरै सङ्ख्यामा सङ्घीय सरकारको दरबन्दीमा रहेका चिकित्सक कर्मचारी छन् । ठूलो सङ्ख्या अस्पताल विकास समितिमार्फत् नियुक्त भएका चिकित्सक कर्मचारी छन् । उनीहरुको तलबलगायत सुविधा बीमामार्फत् आउने रकमको भरमा हुने गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार अस्पतालमा कूल चिकित्सक कर्मचारीको सङ्ख्या एक हजार एक सय पाँच जना छन् । तीमध्ये नेपाल सरकारका स्थायी कर्मचारी एक सय ५४ जना मात्रै रहेका छन् । त्यसका अतिरिक्त आमा सुरक्षा कार्यक्रमका १५ जना, पोषण पुनःस्थापना कार्यक्रमका नौ जना, एआरटी कार्यक्रमका एक जना, ओसिएमसी कार्यक्रमका दुई जना, तालिम सहायक एक जनाको नेपाल सरकार र दातृ निकायले तलबभत्ता उपलब्ध गराउँछन् ।

सरसफाइ तथा सुरक्षा गार्डतर्फका एक सय ९६ जना कर्मचारीको एक वर्षको रु पाँच करोड ६४ लाख भन्दा बढी खर्च हुने गरेको छ । सरकारले वर्षको रु दुई करोड ६३ लाख मात्रै पठाउँदै आएको छ । बाँकी रकम विकास समितिको आम्दानीबाट खर्च हुने गरेको छ । एक वर्षमा रु ५० करोडभन्दा बढी रकम विकास समितिमार्फत् तलब भत्ताका अतिरिक्त नियमित अस्पताल सञ्चालनमा खर्च हुने गरेको छ । यसको मुख्य स्रोत स्वास्थ्य बीमा कार्यक्रम हो ।

भरतपुर अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम सुरु भएको हो । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम ईन्चार्ज लीलाधर पौडेलका अनुसार गत आर्थिक वर्षमा बीमा कार्यक्रममार्फत् दाबी भुक्तानी रु ५२ करोड ५३ लाख भएको थियो । यसवर्ष रु एघार करोड भन्दा बढी भुक्तानी भइसकेको छ । बीमाबाट भुक्तानी हुन बाँकी रु पच्चीस करोड नाघेको छ । पौडेलका अनुसार दैनिक एक हजार दुई सयभन्दा बढी पोलिसी स्वास्थ्य बीमा बोर्डमा पठाउने गरिएको छ । यो सरदर हिसाब गर्दा दैनिक रु २० लाखभन्दा माथि हुने गरेको छ ।

अस्पतालमा बीमा कार्यक्रम लागू भएपछि गत आर्थिक वर्षको अन्त्यसम्म रु एक अर्ब ३२ करोड ७९ लाख ८९ हजार तीन सय ९९ दाबी भुक्तानी भएको छ । यो अवधिमा अस्पतालले सात लाख ७५ हजार एक सय ५१ वटा दाबी पेस गरेको थियो । पौडेलको भनाइमा दैनिक सबैभन्दा बढी दाबी गर्ने भरतपुर अस्पताल पहिलो हो । त्यसो त अस्वीकृत कम हुने अस्पतालमा पनि यही अस्पताल पर्ने गरेको छ ।

अस्पतालमा चितवन बाहेक नवलपरासी, तनुहँ, गोरखा, मकवानपुर, धादिङलगायत जिल्लाका विभिन्न पालिकाका नागरिकले पहिलो सेवा विन्दुका रुपमा भरतपुर अस्पताललाई लिएका छन् । त्यसो त २२ वटा भन्दा बढी जिल्लाबाट बीमाका रिफरल बिरामी आउने गरेको पौडेल बताउनुहुन्छ ।

स्वास्थ्य बीमा बोर्डले प्रविधिलाई पूर्णरुपमा सुदृढीकरण गराउन नसक्दा दाबी प्रक्रियामा अप्ठ्यारो भएको गुनासो आउने गरेका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा तिवारी समयमा दाबी भुक्तानी नगर्दा अस्पताल सञ्चालनमा अप्ठ्यारो पर्ने र यसको प्रभाव सेवाग्राहीमा हुने बताउनुहुन्छ ।

बीमाको नीति पाँच वर्षयता एउटै भएको भन्दै तिवरीले समयसापेक्ष परिवर्तन गर्नुपर्ने बताउनुभयो । सम्पन्न र विपन्नको एउटै पोलिसीभित्र पर्दा समस्या हुने गरेको गुनासो छ । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल ७० प्रतिशत बिरामी बीमाको हुने गरेको बताउनुहुन्छ । एकै दिन अस्पतालको बहिरङ्ग सेवामा तीन हजार हाराहारीसम्म बिरामी आउने गर्दछन् ।

पौडेलले १८ जना कर्मचारी स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थापनमा खटिएको जानकारी दिनुभयो । अस्पताल आएका बिरामीलाई कसरी सहज उपचार दिन सकिन्छ भन्नेतर्फ विकास समिति लागेको उहाँले बताउनुभयो । विकास समितिको आम्दानीको भरमा भौतिक पूर्वाधारदेखि तलब भत्तासम्म खुवाउनु परेको उहाँको भनाइ छ ।

विकास समितिको आम्दानीमध्ये ठूलो हिस्सा बीमाबाट आउने गरेको छ । अस्पतालमा आएका बिरामीको स्वास्थ्य परीक्षणदेखि औषधि खरिदसम्म सहजता बनाउन अस्पतालले काम गरिरहेको पौडेलले बताउनुभयो । फार्मेसीमा बीमाले तोकेका सबै औषधि दिने गरी काम भइरहेको उहाँ बताउनुहुन्छ ।

बीमाका बिरामीलाई सहजता तुल्याउन काउन्टरमार्फत् चेक गरी तुरुन्त औषधि दिने, अन्तरङ्ग र आकस्मिकमा चौबीसै घण्टा बीमामार्फत् औषधि दिने गरिएको छ । अस्पतालमा एमआरआई र क्याथल्याब जडान गर्न लागिएको भन्दै पौडेलले यससँगै अन्येत्रबाट आएका बिरामीको सङ्ख्या घट्ने बताउनुभयो । बीमा भएका केहीले अनावश्यक रुपमा परीक्षण गर्न दबाब दिने, औषधि माग गर्ने, एक व्यक्तिले अर्काको पोलिसी प्रयोग गर्नेजस्ता समस्या रहेको उहाँको भनाइ छ । बीमा कार्यक्रम लागू भएसँगै बिरामीले सहज उपचार पाएको र रोग पालेर बस्नु नपरेको उहाँ बताउनुहुन्छ ।

शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति – प्रधानमन्त्री दाहाल

पाटन (ललितपुर), २८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताउनुभएको छ ।

नेपाल संवत् ११४४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शङ्खधर साख्वालाई नसम्झिरहन सकिँदैन, उहाँलाई हामीले राष्ट्रिय विभूति पनि घोषणा गरिसकेका छौँ । उहाँले तत्कालीन समयमा ऋणमोचन गर्ने कामको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम गर्नुभयो । उहाँको त्यो अभियानसँगै नेपाल संवत् जोडिएको छ ।”

प्रधानमन्त्रीले दाहालले विगतमा नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम रहेको चर्चा गर्दै विगतका यस्ता भ्रमलाई अन्त्य गर्नुपर्छ भन्नुभयो । नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा घोषणा गरिनुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको र नेपालीको आफ्नै मौलिक संवत् नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा घोषणामा मात्रै सीमित नराखी सरकारी निर्णयमा पनि विक्रम संवत्सँगै नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय मन्त्रिपरिषद्बाट गर्न पाउँदा आफूलाई गर्वको महसुस भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विसंसँगै नेसं पनि उल्लेख गर्नुपर्ने निर्णय भएकामा तपाईंहरु सबैलाई बधाई तथा शुभकामना भन्न चाहन्छु, यसले हाम्रो स्वतन्त्रता, समानता, सामाजिक न्यायसहितको राष्ट्रिय स्वाधीनता र हाम्रो आत्मसम्मानलाई फेरि एउटा उचाइमा उठाएको छ, यो हामी सबै नेपालीले गर्व गर्नुपर्छ ।”े ।

प्रधानमन्त्रीले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रित रही उच्च प्राथमिकता साथ काम गर्दै आएको बताउनुभयो । आजको दिनले नयाँ सन्देश दिने जनाउँदै प्रधानमन्त्री दाहालले नेसं ११४४ को शुभकामनासमेत व्यक्त गर्नुभयो ।

फूलखेतीमा रमाउँदै युवा कृषक

लुम्बिनी, २८ कात्तिक : रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उहाँले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आउनुभएको छ । यस वर्ष चार कट्ठा क्षेत्रफलमा पुष्प खेती गरेको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष तिहार केही ढिलो पर्दा उहाँको फूलबारीमा फूल दसैँअघिनै फुल्न सुरु गरेको हो । “यस वर्ष फूल अलि छिटो फुलेको थियो तर दसैँको दुर्गा पूजामा पनि फूलको राम्रो व्यापार भयो”, उहाँले भन्नुभयो, “तिहार नजिकिएसँगै फूलको माग पनि बढेको छ, यस वर्ष दसैँ र तिहारमा फुलको राम्रो व्यापार भएको छ ।” प्रतिमाला रु एक सय र फूलको प्रतिकिलो रु पाँच सयसम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो ।

यस वर्ष रु पाँचलाख आम्दानी गर्ने उहाँको लक्ष्य छ । भारतबाट फूल आयात हुँदा स्थानीय किसानलाई भारतीय फूलसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको व्यवसायी अर्यालको अनुभव छ ।
चाडपर्व सुरु भएसँगै फूलले बजार पाउन थालेको छ । पछिल्लो समय युवा पुष्प व्यवसायप्रति आकर्षित छन् । फूलको आयात रोक्न युवा लागेका छन् । भारतबाट आउने फूल र मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल परेको छ । बुटवलको बजारमा भारतबाट सहजै फूलमाला आउँछ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ चम्कीपुरस्थित फोकस मल्टी एग्रो कन्र्सन एण्ड रिर्सच सेन्टरमा ढकमक्क मखमली र सयपत्री फूल फुलेका छन् । दीपावली सुरूसँगै फार्ममा आबद्ध युवालाई फूलबारीमा फूल टिप्न र माला गाँस्न व्यस्त छन् । सञ्चालकसहित कृषि विषय अध्ययन गरेका विद्यार्थी ओजेटिको लागि आएकासमेत फूल टिप्न र माला बनाउन व्यस्त छन् ।

फार्मका प्रबन्ध निर्देशक राजेश कुँवरले पाँच जना युवा मिलेर विगत चार वर्षदेखि कृषि फार्म सञ्चालन गर्दै आएको बताउनुभयो । कृषि विषय अध्ययन पूरा गरेका तथा पढ्दै गरेका युवा सरोज भट्टराई, किरण तिमिल्सिना, सञ्जय ज्ञवाली र विवेक ज्ञवालीसमेत फार्मका सञ्चालक हुनुहुन्छ । सुरुमा रु दुई लाख लगानीमा सञ्चालन गरिएको फार्ममा अहिले करिब रु ३० लाख बढी लगानी पुगेको उहाँ बताउनुहुन्छ ।

गत वर्ष आठ कट्ठामा फूल खेती गरिएकोमा अहिले १५ कट्ठा क्षेत्रफलमा लगाइएको फार्मका प्रबन्ध निर्देशक कुँवरले बताउनुभयो । उहाँहरुले दाङ र अर्घाखाँचीमा पनि यस वर्षदेखि जग्गा भाडामा लिएर फूल खेती गर्नुभएको छ । “हामीले उत्पादन गरेको फूलमाला दसैँअघिबाट बिक्री हुँदै आएको छ, यस वर्षदेखि त दाङ र अर्घाखाँचीमा पनि उत्पादन गरेर बिक्री गर्ने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “तिहारका लागि अहिलेसम्म टिपेका फूल र बनाएका माला आज र भोलि सबै बिक्री हुँन्छ ।”

फार्ममै पुग्ने ग्राहकलाई बजार भाउभन्दा मालामा रु २० र फूलको प्रतिकिलो रु ५० सस्तोमा बिक्री गर्नेसमेत व्यवस्था गरिएको छ । अहिले फार्मबाट माला रु सय र सयपत्री फूल प्रतिकिलो रु पाँच सय ५० सम्ममा बिक्री भइरहेको छ । फार्ममा फूलखेतीसँगै फलफूल र तरकारी खेती पनि गरेका छन् । कृषि पढ्दै गरेका १७÷१८ जना विद्यार्थी ओजेटिको लागि आएको उहाँले बताउनुभयो ।

उत्पादन गरेको माला भण्डारण गरी राख्नको लागि ‘कोल्ड स्टोर’को अभावका कारण पहिला नै उत्पादन गरेका माला राख्न समस्या भएको उहाँको गुनासो छ । उनीहरूले स्थानीय बुटवल जैविक कृषि उत्पादन सहकारी संस्थाले निर्माण गरेको कोल्ड चेम्बरमा भाडा तिरेर स्टोर गर्ने गरेका छन् । “भाडा तिरेर कोल्ड स्टोरमा राख्दा उत्पादनको लागत बढ्छ”, उहाँले भन्नुभयो, “उत्पादन भएको फलफूल, फूल राख्न सरकारी निकायबाट एउटा कोल्ड चेम्बर वा स्टोरको माग गरेका छौँ ।”

बुटवलमा पहिलोपटक व्यावसायिक फूलखेती सुरू गरेका उनीहरूले विभिन्न जिल्लामा पुगेर पुष्प खेतीसम्बन्धी तालिमसमेत दिँदै आएका छन् । अहिले वार्षिक २०–२५ कृषक समूह र विभिन्न विद्यालयबाट विद्यार्थी शैक्षिक भ्रमणका लागि आउने गरेको कुँवरले बताउनुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिलमा पुष्पखेती गर्दै आएका युवा व्यवसायी सुरज गुप्ताको परिवारका छ जना दाजुभाइ यसैमा सक्रिय छन् । करिब छ दशकदेखि नर्सरी व्यवसायमा जमेका गुप्ता परिवार तीन पुस्ता यसै व्यवसायमा रहेको गुप्ता बताउनुहुन्छ । जिल्लाका विभिन्न छ स्थानमा करिब आठ बिघा क्षेत्रफलमा नर्सरीको प्लान्ट सञ्चालन गर्दै आएको र त्यसैबाट पूरै परिवारनै चलेको उहाँ बताउनुहुन्छ ।

यस्तै, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–६ भगलापुरका झविन्द्र पौडेलले यस वर्ष करिब एक बिघा जग्गामा सयपत्री फूलको खेती गर्नुभएको छ । विगत सात वर्षदेखि पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आउनुभएका पौडेलले गाईपालन र फूलखेती गर्दै आएको बताउनुभयो । फूलका बिरुवा, फूल र तयारी माला बिक्री गर्दै आएको उहाँले बताउनुभयो । “उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन, धेरैजसो फूल स्थानीय बजारमै खपत हुने गरेको छ”, उहाँले भन्नुभयो, “यस वर्ष फूल बिक्रीबाट रु १० लाख बढी आम्दानी हुने आश गरेका छौँ ।”

तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने पुष्प व्यवसायी बताउँछन् । नेपालमा करिब छ सय किसिमका फूल पाइने भए पनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ । लुम्बिनी प्रदेश फूलखेतीका लागि अनुकूल र सुहाउँदो हावापानी रहेको छ । प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती हुने गरेको छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकी बागवानी विकास अधिकृत सुनैना बरालीले लुम्बिनी प्रदेशका सबै जिल्लामा फूल खेती राम्रो हुने गरेको बताउनुभयो । निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका १२ जिल्लाको २८ हेक्टर क्षेत्रफलमा यस वर्ष फूलखेती भएको छ । लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको र लुम्बिनीमा अहिले करिब ८० प्रतिशत फूल आन्तरिक उत्पादनबाट धानिएको बागवानी विकास अधिकृत बरालीले बताउनुभयो ।

बिरुवा रोपेको दुई महिनाबाट उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसान फूलखेतीमा आकर्षित भएको उहाँको भनाइ छ । प्रदेशका बाह्रवटै जिल्लामा पुष्प व्यवसाय प्रवद्र्धन गर्न ज्ञान केन्द्रबाट किसान अगुवालाई पुष्पखेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरणसमेत प्रदान गर्ने काम भएको उहाँले बताउनुभयो ।

सांसदको चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : सांसद थापा

सांसदको चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : सांसद थापाकाठमाडौँ, २८ कात्तिक : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताउनुभएको छ ।

रासससँग कुरा गर्दै उहाँले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा २४ हजार दुई सय ३९ मतका साथ उहाँ विजयी हुनुभएको थियो ।

वडा, प्रदेश र सङ्घका जनप्रतिनिधि तथा कार्यपालिकाको काम र जिम्मेवारी फरक फरक हुनुपर्ने भएपनि हामीकहाँ सबै जनप्रतिनिधि सबै किसिमका जिम्मेवारीमा व्यस्त हुन रुचाउने गरेको आफूले पाएको उहाँले बताउनुभयो । जनताको अपेक्षा पनि कानुनले निर्धारण गरेकोभन्दा फरक हुने गरेको उहाँले अनुभव सुनाउनुभयो । कांग्रेस भक्तपुरका सभापति समेत रहनुभएका सांसद थापाले भन्नुभयो, “मैले सदनमा पहिलो दिन उपस्थित भएर शीर्ष नेताको सम्बोधन सुनेपछि त झन सांसदभन्दा म वडाअध्यक्ष लड्नुपर्ने रहेछ माननीय भइन्छ भन्ने लाग्यो ।”

विसं २०२५ भदौ २३ गते भक्तपुरमा जन्मनु भएका उहाँले आफूले सानो उमेरदेखि अहिलेसम्म राजनीतिक नेतृत्वबाट एउटै कुरा सुनिरहेको उल्लेख गर्दै भन्नुभयो, “सानो छँदा पनि मत माग्न आउने नेताहरुले बाटो, खानेपानी, बिजुली, पुल, पुलेसालगायत कुरा बनाइदिने आश्वासन दिने गर्थे, अहिले पनि जनताको त्यही अपेक्षा छ भने के चाही परिवर्तन ग¥याँै त हामीले ?” जनताले पनि चुनावमा सांसदसँग बाटो माग्ने होइन नि त । चुनाव जित्नलाई बाटो नै बनाउनुपर्नै रहेछ, अनि कसरी कानुन निर्माणमा केन्द्रित हुने ।”

हामीकहाँ पहिला घर बनाउने अनि बाटो, बिजुली, पानी र अन्य सुविधा पु¥याउनुपर्ने चलन रहेको बताउँदै नेता थापाले त्यस्ता आधारभूत सुविधा भएको स्थानमा पो घर बनाउनुपर्ने होइन भनी प्रश्न गर्नुभयो । सानै उमेरदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएको उहाँले भन्नुभयो, “अनि हामीजस्ता राजनीति गर्नेले त्यस्ता स्थानमा बाटो खोल्दिन्छु बिजुली ल्याई दिन्छु भन्नुपर्ने रहेछ ।” यो कुराको चिरफार गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद थापाले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसद्मा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”, उहाँले भन्नुभयो । थापा मीनभवन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका प्रत्यासी हुनुका साथै नेविसङ्घको केन्द्रीय सदस्य हुँदै पार्टीको राजनीतिमा प्रवेश गर्नुभएको हो ।

अहिलेको राजनीतिप्रतिको वितृष्णालाई चिर्न नसके सम्पूर्ण प्रणाली नै असफल हुने चिन्ता व्यक्त गर्दै नेता थापाले भन्नुभयो, “हामीजस्ता सांसदहरु सदनमा ठूला ठूला र आदर्शका कुरा गर्छौं, जनतालाई त्यसको के अर्थ त्यसैले यथार्थ र व्यवहारिक कुरा मात्र बोल्नुपर्छ ।” सदनमा देशभित्र अवसर नभएर युवा पलायन भए भनेर आदर्शका कुरा छाट्ने नेताका छोराछोरी विदेशमा रहेका उहाँले जानकारी गराउनुभयो । उहाँले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत गर्न र रक्षाका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

सदनलाई प्रभावकारी बनाउन हामी सबै सच्चिन पर्ने जोड दिँदै उहाँले भन्नुभयो, “हामी संसद हौँ कि अरु केही वा वडाध्यक्ष हौ छुट्याउन प¥यो ।” उहाँले साना मुद्दामा पनि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा संसद्ले अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो । सरकारले पर्याप्त ‘विजनेस’ दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उहाँको भनाइ थियो ।

मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको र यसलाई नियन्त्रण गर्न राजनीतिकर्मीको के भूमिका रहन्छ भन्ने प्रश्नमा सांसद थापाले भन्नुभयो, “सामान्य राजनीति गर्ने व्यक्ति होस् वा सरकारी कर्मचारी महँगा गाडी फेरि फेरि चढछन्, काठमाडौँजस्तो महँगो स्थानमा घरजग्गा जोडेका छन्, बालबच्चालाई महँगा विद्यालयमा पढाएका छन्, महँगो जीवनशैलीमा रहेका छन्, यति देखेपछि भ्रष्टाचारी खोज्न कही जानुपर्छ ।”

कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट भक्तपुर कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित उहाँले भ्रष्टाचार र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दलबीच एकजुट हुनुपर्ने सुझाव दिनुभयो ।

फार्मबाट फूल बिक्री भएन, घरघरमा पुगेर बिक्री गर्न थालियो

गल्याङ, २८ कात्तिक : स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला घरघरमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो ।

तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूूलको माग बढेपछि व्यावसायिक रुपमा फूलखेती गर्ने बढेका छन् । तर उत्पादन भएको फूूल समयमै बिक्री नभएपछि उत्पादक टोल टोलमा सवारीसाधन लिएर फूूल बिक्रीमा निस्किएका हुन् ।

गल्याङ नगरपालिका तीन छर्तिमा मौलाकालिका कृषि तथा पशुुपालन फार्म मार्फत व्यावसायिक सयपत्रीको फूूलखेती गर्दै आउनुुभएका चन्द्रबहादुुर राना ‘चित्र’ ले बेमौसमीरुपमा उत्पादन भएका फूूल फार्मबाटै बिक्री गर्नुुहुुन्छ । तर ठूलो परिमाणमा फूूल उत्पादन गर्नुुभएका उहाँको फार्मबाट खासै बिक्री नभएपछि टोलटालमै पुुगेर फूूल बिक्री गर्नुुभएको छ । उहाँले गल्याङ बजारका विभिन्न टोलका घरघर, पसल पसलमा फूूल लगेर बिक्री गर्ने गरेको जानकारी दिनुभयो ।

“बेमौसमी फूूलको माग धान्न मलाई मुुस्किल हुुन्थ्यो, यसपालि तिहार लक्षित धेरै नै फूूल लगाएकाले र यहाँका धेरै कृषकले फूूल उत्पादन गरेकाले फार्मबाट सयपत्री कम बिक्री भयो”, उहाँले भन्नुुभयो, “तयार भएका फूूल बिग्रेला कि भनेर टोलटोलमा पुुगेर फूूल बिक्री गर्ने गरेको छुु ।” उहाँले गल्याङ बजारका सात भन्दा वढी पसललाई फूूल बिक्री गर्न दिनुुभएको छ भने गल्याङ बजारको गराङ्दीचोकमा सयपत्री फूूलको मात्रै पसल राख्नुुभएको छ ।

गल्याङ –२ रैबारमा रहेको जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्रका सञ्चालक प्रदीप पाण्डेले समयमै उत्पादित फूल बिक्री गर्नका लागि टोलटोलमा पुगेको बताउनुभयो । “उपभोक्ताको सहजताका लागि पनि टोलटोलमा पुगेर फूूल बिक्री गरेको हुुँ”, उहाँले भन्नुुभयो, “फार्ममा पनि प्रसस्त फूूल रहेकाले थप बिक्रीका लागि टोलमा नै आउनुुपरेको हो ।”

यस्तै गल्याङ–११ का कृषक रुमलाल कँडेलले पनि आफ्नो सवारी साधनमा राखेर टोलटोलमा पुुगेर फूूल बिक्री गर्दै आउनुुभएको छ । उहाँले माग भएका व्यक्ति तथा पसलमा पुुगेर फूूल बिक्री गरेको बताउनुुभयो । “फार्ममा जान उपभोक्तालाई असहज भयो”, उहाँले भन्नुुभयो, “टोलटोलमा पुुगेपछि माग गरेका र देखेका अरु ग्राहकलाई फूूल बिक्री गर्न सहज भएको छ ।”

वालिङमा पनि वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले उत्पादन गरेको सयपत्री फूल बिक्री गर्नका लागि सवारी साधनमा फूल राखेर घरघरमा पुगिएको छ । सहकारीका अध्यक्ष दीपेन्द्र गैह्रेले आफ्नै ठाउँको उत्पादनलाई रोज्नका लागि उपभोक्तालाई आग्रह गर्नुभयो । “यहाँ उत्पादन गरिएको फूल गुणस्तरीय छ”, उहाँले भन्नुुभयो, “संस्थाको कार्यालयमा पनि फूल राखिएको छ, उहाँले उपभोक्ताको सहजताको लागि टोलमा पनि पुगेर फूल बिक्री गरिएको हो ।”

गल्याङ, वालिङ र मिर्मीका बजारका व्यापारीले यसपालि कृतिम फूूलभन्दा सयपत्री फूूल पसलमा राख्ने गरेका छन् । यद्यपी स्थानीय व्यवसायीले पर्याप्त फूल उत्पादन गर ेपनि बाहिरबाट आउने प्लास्टिकका फूूल पनि बजारमा देखिएको छ । फूूल व्यवसायीले स्थानीय प्रशासनले प्लास्टिकका फूल बिक्री गर्न नरोक्दा आफूहरु समस्यामा परेको बताएका छन् ।

भूकम्पका ४८ घाइते निको भएर घर फर्किए

राँझा (बाँके), २८ कात्तिक : जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । “सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।”

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि उक्त वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो । भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइनुभएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसक्नुभएको छ । तीन जनालाई काठमाडौँ प्रेषण गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । निको भएर घर फर्किनुभएका बिरामीलाई घरसम्म पुग्न विभिन्न सङ्घ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो ।

जनवरी-सेप्टेम्बरमा किर्गिस्तानको विदेशी व्यापार कारोबार १०.८ बिलियन अमेरिकी डलर

किर्गिजस्तानको वैदेशिक व्यापार कारोबार सन् २०२३ जनवरीदेखि सेप्टेम्बर सम्म १०.८ बिलियन अमेरिकी डलरपुगेको छ । यो कारोबार गत वर्षको तुलनामा २६.२ प्रतिशतले बढेको अर्थ मन्त्रालयले सोमबार उल्लेख गरेको छ।

गत वर्षको सोही अवधिको तुलनामा किर्गिजस्तानबाट निर्यातको मात्रा ४९.६ प्रतिशतले बढेको छ भने किर्गिस्तानमा आयात हुने वस्तुको मात्रा २१.६ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ । राष्ट्रिय तथ्याङ्क समितिका अनुसार रुसले देशको सबैभन्दा ठूलो व्यापार हिस्सा ६५.३ प्रतिशत र काजाकिस्तानको ३२.४ प्रतिशत रहेको छ।

इन्धन अभावका कारण गाजामा संयुक्त राष्ट्संघका गतिविधि बन्द हुने अवस्थामा

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीले सोमबार बताएअनुसार इजरायल र हमास बीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा एजेन्सीका गतिविधि दुई दिन भित्र बन्द हुने चेतावनी दिएको छ ।

“गाजामा मानवीय कार्य आगामी ४८ घण्टामा रोकिनेछ किनकि कुनै इन्धन गाजामा प्रवेश गर्न अनुमति छैन,” एजेन्सी गाजा प्रमुख थोमस ह्वाइटले ट्विटरमा लेखेका छन् । इन्धन अभावले यहाँ अस्पताल लगायत अत्यावश्यक सेवा प्रदायक निकायले समेत सेवा दिन नसक्ने विषम परिस्थिति सृजना भएको छ ।

‘सामाजिक सद्भाव कायम राख्न टिकटक बन्द गरिनुपर्छ’

काठमाडौँ- सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा नेपालभित्र टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
“टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालिसकेको छ, सम्भवतः आजैदेखि बन्द हुन्छ ।”

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिकटक’मा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको विभिन्न राजनीतिक दलका नेता एवं सरोकारवालाहरूले प्रतिक्रिया दिनुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सामाजिक सद्भाव खलबलाउने, समाजलाई नकारात्मक बाटोतिर लैजाने भएकाले सरकारको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो । “सरकारले गरेको यो निर्णय स्वागतयोग्य छ र पूर्णरूपमा कार्यान्वयन हुनुपर्छ”, उहाँले भन्नुभयो, “व्यक्ति, समाज र मुलुकका लागि यो निर्णय अपरिहार्य थियो, त्यसैले तत्कालका लागि बन्द गरिएको हो । तर, आवश्यकता र प्रभावकारिताको हिसाबले पुनः सञ्चालन गर्न सकिन्छ ।”

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले सरकारको निर्णय स्वागतयोग्य भएको र यसलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सामाजमा अनैतिक गतिविधि फैलाउन टिकटकको दुरुपयोग भइरहेकाले सजकता अपनाउँदै सरकारले उचित समयमा सही निर्णय लिएको उहाँको भनाइ छ ।

पछिल्लो समय टिकटकको गलतरूपमा अभ्यास हुँदा सामाजिक सद्भाव भड्काउने किसिमका सामग्री प्रचार–प्रचार हुँदै आएको छ । यसले व्यक्ति, समुदाय र सिङ्गो प्रणालीमाथि नै नकारात्मक भ्रम फैलाउने खालका गलत प्रचार–प्रसारले सत्यभन्दा पर गएर नकारात्मक माहोल सिर्जना भइरहेको आम बुझाइ छ ।

टिकटककै कारण पारिवारिक सम्बन्धमा विग्रह, सम्बन्धविच्छेद, सामाजिक विचलन, व्यक्तिगत लाञ्छना, व्यक्तिको नैसर्गिक अधिकारको हननलगायत गतिविधि बढेपछि सम्भावित जोखिम नियन्त्रण गर्न सरकारले टिकटकलाई तत्काल बन्द गर्ने निर्णय लिएको दाबी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारले कानुनी व्यवस्था सुनिश्चित गरेर सामाजिक सञ्जाल नियन्त्रण नभई नियमन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “टिकटकका कारण परिवार, समाज र राष्ट्रमै गलत क्रियाकलाप भएका छन् । टिकटकबाट चाहिने नचाहिने काम पनि भएको छ । तर, यसरी सामाजिक सञ्जाललाई बन्द गर्ने होइन । यसलाई कानुनमार्फत नियमन गर्नुपर्छ ।

एमालेका नेता महेश बस्नेतले पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले अन्य सामाजिक सञ्जाल र युट्युबमा पनि नियमन गर्न सरकारलाई सुझावसमेत दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नियन्त्रण गर्नेभन्दा पनि कानुन बनाएर नियमन गर्नुपर्ने धारणा राख्नुभयो । कांग्रेस महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गर्नुभयो ।

टिकटकको सकारात्मक सदुपयोग भए राजनीतिक दल र अभियन्तालाई जनतासँग साक्षात्कार गर्ने उपयुक्त माध्यम हो । तर, प्रविधिको दुरुपयोग गरेर व्यक्तिगत स्वतन्त्रता हनन, सामाजमा आपराधिक गतिविधि बढाउन प्रशय पुग्ने सामग्री बिगबिगी रुपमा आइरहेकाले यसलाई प्रभावकारी नियमनको अपरिहार्यता बढेको छ ।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा शरद सिंह यादवले अभिव्यक्ति स्वतन्त्रताको नाममा टिकटकमा छाडापन चलिरहेका र व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने काम भइरहेकाले सचेत हुनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अभिव्यक्ति स्वतन्त्रताका नाममा व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने काम टिकटक र युट्युबका माध्यमबाट केही व्यक्ति र समूहले चलाइरहेका छन् । त्यसैले सचेत हुनैपर्ने अवस्था आएको देखियो । बन्दै गर्ने पक्षमा त हामी छैनौँ तर सरकारले टिकटकको प्रभावकारी नियमन गर्ने र गलत सामग्रीलाई बन्द गरेर सही सामग्रीलाई प्रोत्साहित गर्नु राम्रो हुन्छ ।”

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङ्क’ लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकाले छिट्टै सबै बन्द हुने जानकारी दिनुभयो । सामाजिक अभियन्ता विन्दु परियार थापाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु समाधान हैन बरु सरकारले नियम कानुन बनाएर निगरानी राख्ने हो भन्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले विज्ञप्तिमार्फत भनेको छ, “नागरिक पत्रकारितासँग पनि जोडिएका सामाजिक सञ्जालहरुलाई नियमन गर्न एउटा कानुन खाँचो छ, जसले सबै सामाजिक सञ्जाललाई नेपालमा सञ्चालनको मापदण्ड, निर्देशिका र विधिमा राख्न सकोस् ।”

भूकम्पपीडितको तिहार पालमा, नागरिकको दुःख र त्रास दुवै उस्तै

कर्णाली – तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ ।

चिसो सिरेठोमा खुला आकासमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितले सामान्यतया दसैँ मनाए पनि यही कात्तिक १७ शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरुका पछिल्ला दिन कष्टकर तरिकाले व्यतित भइरहेका छन् ।

भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक हर्षोल्लासका साथ दीपावली मनाउन सक्ने अवस्थामा छैनन् । जाडोको समयमा खुला आकासमुनिको बासले उहाँहरूलाई रात कटाउन निकै धौ–धौ छ । यद्यपी, पालमुनी भए पनि बत्ती बालेर दीपावली सुरु भएको पहिचान भने दिनुभएको छ ।

भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो । यद्यपि भूकम्पबाट सिङ्गो जाजरकोट, रुकुमपश्चिमको चौरजहारी तथा मुसिकोट नगरपालिका र बाँफीकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन् ।

कात्तिक १८ गतेदेखि जाजरकोटका सातै स्थानीय तहका नागरिक खुला आकाशमा बिताइरहेका छन् । कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएका छन् । विस्थापित सबैको बास भनेकै पालमुनि हो । दसैँ घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन् ।

सहर तथा गाउँमै पक्की घर भएका नागरिकका घर आँगन रङ्गौलीले सजिरहँदा भने भूकम्पपीडितले आइतबार त्यही पालमुनिको बासस्थानमै दीप प्रज्वलन गरे । जाजरकोट नलगाड नगरपालिका निवासी एक स्थानीयले पालमुनि दीपावली गरेको तस्बीर अहिले सामाजिक सञ्जाल व्यापक चर्चामा छ ।

तिहारको रौनक चलिरहँदा भूकम्पीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंह दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “नमरुञ्जेलसम्म आफ्नो संस्कृति र आस्था मार्ने कुरा त भएन तर आनन्दका साथ तिहार मनाउने अवसर भूकम्पका कारण गुमेको छ ।”

भेरी नगरपालिका जाजरकोट निवासी दिनेश सिंहले भूकम्पबाट भाग्यले बाँचिएको बताउँदै पालमुनिको तिहार मनाउन समस्या भएको बताउनुभयो । “तिहार आफ्नो ठाउँमा छ बरु सरकारले चिसोमा कठ्याङ्ग्रिएका जनताको समस्यालाई छिटो बुझेर घरटहरा हालिदिएको भए हुन्थ्यो”, सिंहले भन्नुभयो, “तिहार त यसपटक मनाउन नपाए अर्को पटक आइहाल्ला । एकबारको जीवन बचाउनेतर्फ लाग्नुपर्यो ।”

जुनीचाँदे गाउँपालिकाका मनसरा रावतले फेरी भूकम्प आएर आएर जीवन सक्याउने हो कि भन्ने त्रासले तिहारको कुनै रमझम नभएको प्रतिक्रिया दिनुभयो । भूकम्पबाट बास खोसिएकाको जीवनरक्षाका लागि सरकारले जतिसक्दो छिटो पुनःस्थापना तथा पुनःनिर्माणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने उहाँको भनाइ थियो ।

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

भरतपुर (चितवन),२८ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गर्नुभएको छ । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई/दुई ब्ल्याङकेट वितरण गर्नुभएको हो ।

सोमबार आयोजित कार्यक्रममा उहाँले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ भन्नुभयो । “चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन”,उहाँले भन्नुभयो, “चेपाङ संस्कृति पर्यटन र आयआर्जनसंग जोडेर देशलाई संमृद्धि बनाउने समुदाय पनि हो ।” सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उहाँको भनाइ थियो ।

मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पु¥याएवापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच÷पाँच हजार सहित सम्मान गर्नुभयो । सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाउनुभएको थियो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा जानकारी दिनुभएको थियो । मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने जानकारी दिनुभयोे । मन्त्री किरतीले चेपाङ समुदायसंग देउसीभैलो समेत खेल्नुभयो ।

क्रिकेट खेलाडी गुलशन झा सम्मानित

मलङ्गवा – राष्ट्रिय टोलीका क्रिकेट खेलाडी गुलशन झालाई सोमबार एक कार्यक्रमबीच मलङ्गवामा सम्मान गरिएको छ । नेपालले टी–२० विश्वकपमा स्थान बनाउँदा क्रिकेट खेलाडी झाले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले सोमबार उहाँलाई सम्मान गरेको हो ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका झा हाल सदरमुकाम मलङ्गवा–८ मा बसोबास गर्दै आउनुभएको छ । क्रिकेट खेलको माध्यमबाट झाले सर्लाहीसहित देशको मानसम्मान अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरेको उल्लेख गर्दै उहाँलाई सम्मान गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क क्षेत्रीले जानकारी दिनुभयो । राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर झाको हौसला बढाउनका लागि अभिनन्दन गरिएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल पत्रकार महासङ्घका अध्यक्ष क्षेत्रीले संयुक्त रुपमा क्रिकेट खेलाडी झालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नुभएको थियो ।

जाजरकोट भूकम्प : गर्भवती, सुत्केरी र बालबालिका प्रभावित

भेरीगङ्गा (सुर्खेत) – जाजरकोट भूकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन् । यो प्रदेशको कूल जनसङ्ख्याको २२ प्रतिशत हो ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन् । सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण पाँच वर्षमुनिका मात्रै १९ हजार दुई सय ९६ बालबालिका प्रभावित भएका छन् भने पाँच हजार तीन सय ४३ स्तनपान गराइरहेका गर्भवती प्रभावित भएका छन् ।

तीन हजार तीन सय १७ गर्भवती प्रभावित हुँदा दुई हजार २६ स्तनपान गराइरहेका महिला प्रभावित भएको तथ्याङ्कमा जनाइएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा धेरै नागरिक प्रभावित भएका छन् । गर्भवती, सुत्केरी र पाँच वर्षमुनिका बालबालिका झनै समस्यामा परेको डा खड्काले बताउनुभयो ।

४८ स्वास्थ्य संस्थामा क्षति

भूकम्पबाट जाजरकोट, रुकुमपश्चिममा र सल्यानमा गरी ४८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै क्षति रुकुमपश्चिममा भएको छ ।

रुकुमपश्चिममा रहेका एक सय ११ स्वास्थ्य संस्थामध्ये २४ वटामा क्षति पुगेको छ । जसअन्तर्गत दुई वटा पूर्णरूपमा र २२ वटा आशिंकरूपमा क्षति पुगेको निर्देशक डा खड्काले बताउनुभयो । जाजरकोटमा एक सय ३३ स्वास्थ्य संस्थामध्ये १८ वटा क्षति भएका छन् । छ वटा पूर्णरूपमा ध्वस्त भएका छन् भने १२ वटा आशिंकरूपमा क्षति पुगेको छ ।

यता, सल्यानका एक सय ५५ स्वास्थ्य संस्थामध्ये तीन वटा पूर्ण र तीन वटा आशिंकरूपमा क्षति भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी स्वास्थ्य चौकी ध्वस्त भएको छ ।

मृत्यु हुनेमा बालबालिका धेरै

स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका धेरै रहेका छन् । अठार वर्षभन्दा कम उमेर समूहका ९५ बालबालिकाले भूकम्पमा परी ज्यान गुमाउनु परेको हो ।

अध्यावधिक विवरणअनुसार पाँच वर्ष मुनिका मात्रै २४ बालबालिकाको मृत्यु भएको छ तीमध्ये १४ बालक छन् भने १० बालिका रहेका छन् । अठार वर्षमुनिका र पाँच वर्षमाथिका ७१ जनाको मृत्यु भएको तथ्याङ्कमा जनाइएको छ । तीमध्ये ३७ पुरुष र ३४ महिला रहेको निर्देशक डा खड्काले बताउनुभयो । मृत्यु भएका अन्य ५८ जना १८ वर्षमाथिका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस क्षेत्रमा विभिन्न प्रकोप फैलिन सक्नेतर्फ आफू सचेत रहेको भन्दै सम्भव भएसम्म स्वास्थ्य सेवा सुचारु गरिएको निर्देशक खड्काले बताउनुभयो । पानीजन्य रोग लाग्न नदिन भूकम्प प्रभावित क्षेत्रमा पानीको शुद्धता परीक्षण सुरु गरिएको भन्दै उहाले त्यहाँ स्वास्थ्यकर्मी खटाइएको जानकारी दिनुभयो ।

स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

दमौली, २८ कात्तिक : तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो ।

अनुसन्धान केन्द्रले खरी, बोयर, बारबारी, सिन्हान र सानन जातका बाख्रामा अनुसन्धान गर्दै आएको छ । अनुसन्धानले खरी र साननमा क्रस गरी उत्पादित वर्णशङ्कर जातका बाख्राले बढी उत्पादन र उत्पादकत्व दिएको अनुसन्धान केन्द्रका संयोजक राजु कंडेलले जानकारी दिनुभयो ।

सानन वर्णशङ्कर बाख्राले दूध र मासु उत्पादन वृिद्ध भएको अध्ययन अनुसन्धानले देखाएको उहाँको भनाइ छ । शुद्ध सानन बाख्राले दैनिक चार लिटर दूध उत्पादन गर्ने र खरी वर्णशङ्कर बाख्राले दैनिक दुई लिटर दूध दिँदै आएको केन्द्रको भनाइ छ ।

अनुसन्धान केन्द्रले प्राथामिकताका आधारमा बाख्रा सम्बन्धी मार्गचित्र तयार गरी अनुसन्धान, प्राविधिक विकास र प्रबद्र्धन गर्दै आएको छ । रैथाने स्थानीय र लोपोन्मुख बाख्राका जातहरुको संरक्षण, सम्बद्र्धन र प्रयोग गर्दै आइएको केन्द्रका संयोजक कंडेलले बताउनुभयो ।

त्यस्तै बाख्रा सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई आवश्यक प्राविधिक सहयोग गर्ने र उन्नत नश्लका बाख्राहरुको उत्पादन गरी देशभरका अगुवा किसानहरुलाई वितरण गर्दै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अनुसन्धान केन्द्रले व्यावसायीक बाख्रापालक अगुवा किसानहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न तालिम समेत सञ्चालन गरिरहेको छ ।”

अनुसन्धान केन्द्रमा खरी जातका माउ तथा पाठा पाठी एक सय ७१ , सिन्हान ३१ , जमुना पारी माउ बाख्रा तीन , उन्नत जातको शुद्ध बोयर एक सय ९१ , ९८ प्रतिशतको एक वटा बीउ बोका, बोयर ९३ प्रतिशतको ३८ , ८६ प्रतिशतको ८३ , ७५ प्रतिशतको ८९ , ५० प्रतिशतको ८३ , बारबारी शुद्ध २४ , सानान शुद्ध २४ वटा बाख्रा रहेका छन् ।

बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित भएका बीउ बोका ५० प्रतिशत वर्णशङ्कर बीउ बाख्राको जिउँदो तौल प्रति केजी रु आठ सय र ७५ प्रतिशत वर्णशङ्कर बीउ बाख्राको जिउँदो तौल प्रति केजी रु एक हजारमा किसानहरुलाई बिक्री गर्दै आएको छ । बीउ पाठापाठी किसानको माग अनुसार अनुसन्धान केन्द्रले उत्पादन गर्न नसकेको बताइएको छ ।

बाख्राको अनुसन्धानको लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको निलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् ।

केन्द्रमा बाख्राहरुलाई चरिचरणको घाँसहरुमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुख्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ । कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राको लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायो लगायतका घाँस खुवाउने गरिएको छ ।

देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रमा मन्त्री, सांसद लगायत विभिन्न पार्टीका नेताहरुले समेत अवलोकन गर्ने गरेका छन् ।

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

सबै मुस्ताङबासीका लागि कोरला नाका खुलाम्याग्दी, २८ कात्तिक : मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवत जावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिनुभयो ।

“कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा हामी (नेपाल) पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौ,” उहाँले भन्नुभयो “चिनियाँ पक्षले हाम्रो प्रस्तावमा सहमति जनाएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाहरुले पनि प्रस्थान अनुमतिपत्रको आधारमा कोरला नाकाबाट चीन आवत जावत गर्न पाउने भएका छन् ।”

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो । सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरुसँग समन्वय गरेर थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयोे ।

कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिची सम्म ब्यापार, व्यवसायका लागि नियमित आवत जावत थालेका छन् ।

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।

विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको थियो । कोरला नाका नियमित सञ्चालन र सबै मुुस्ताङबासीलाई आवत जावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो ।

दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडा लगायत सामग्री सस्तोमा आयात गर्न पाएका उहाँले बताउनुभयो । चीनको नेचुङ–लिची काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जन सुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा सोमबार दिउँसोदेखि नाका खोलिएको थियो ।

सो अवसरमा नेपाल तर्फबाट प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

दुवै सररकारका प्रतिनिधिहरुको उपस्थितिमा नाका खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चिनले लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दाहरुलाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा चीनले कोरला लगायत नेपालका १४ व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा यही कात्तिक २५ गते चीनले दशगजा क्षेत्रको नेपाली भूमीमा पाँच प्रिफेव कन्टेनर जडान गरिएको छ । कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन । नेपालमा थिएनन् ।

चार हजार मिटर भन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुुरोधमा चीनले ‘प्रिफेव कन्टेनर’ उपलब्ध गराएर जडान गरिएको हो । चार वटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् । चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकुल मौसम हुँदा आश्रय लिन सक्नेछन् ।

नेचुङ शसस्त्र प्रहरी बलको (विओपी)को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्चि सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्कि सडक र सुविधा सम्पन्न भवन बनाएको जनाइएको छ ।

चाडपर्वमा आकस्मिक सेवा उपलब्ध गराउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सार्वजनिक बिदाको दिन सबै जसो स्वास्थ्य संस्थाको बहिरङ्ग सेवा बन्द हुने भएकाले आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताललाई आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार अस्पताललाई आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक र एम्बुलेन्स तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

प्रवक्ता डा बुढाथोकीले चाडपर्वमा जथाभावी चिकित्सकको सल्लाहबमोजिम औषधी सेवन गर्नसमेत आग्रह गर्नुभयो । मन्त्रालयका चाडपर्वको बेला विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोगले वायुप्रदूषण, ध्वनि प्रदूषण, आगलागी तथा आगोजन्य विपद्का घटना निम्त्याउन सक्ने हुनाले आफू पनि जोगिन र अरूलाई पनि असर नपु¥याउनसमेत अनुरोध गरेको छ ।

सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय – प्रधानमन्त्री

काठमाडौँ, २८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उहाँले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तकका रुपमा रहनुभएको बताउनुभयो ।

नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्‍याउनुभएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसाल्नुभएको जनाउनुभएको छ ।

आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उहाँले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।