`

निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ, २८ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ ।

‘नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गर्नु भएको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले चाडपर्व र यस खालका असल परम्पराले नेपाली समाजलाई सभ्य र सहिष्णु बनाउँदै लगेको उल्लेख गर्दै साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् मौलिक राष्ट्रिय संवत् रहेको बताउनुभएको छ । यस संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रपति पौडेलले नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल संवत्बाट आपसी सद्भाव बढाउन सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ, २८ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको मौलिक नेपाल संवत्, ११४४ प्रारम्भ भएको उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन छ । कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत्को पहिलो दिन काठमाडौँ उपत्यकामा नयाँ बही खाताको सुरुवात गर्ने परम्परा रहिआएको थियो ।

“शङ्खधरले काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋण एवं दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नुभएकामा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै हृदयदेखि नै स्मरण गर्न चाहन्छु”, उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ । उहाँले नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाले गर्नुभएको योगदानको प्रशंसा गर्नुभएको छ । उहाँले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई थप प्रगाढ, बलियो र सबल बनाउँदै एकताबद्ध भई मुलुकको विकासको महाअभियानमा दत्तचित्त र एकाग्रताका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गर्नुभएको छ ।

“शङ्खधरले निःस्वार्थ, लोक कल्याणकारी र परोपकारी भावले समाजको हित, समृद्धि, उन्नति तथा प्रगतिका लागि पुर्याउनु भएको योगदानको उच्च कदर गर्न सक्नुपर्दछ, उहाँले अवलम्बन गर्नुभएको सत्कर्म, सत्मार्ग र सत्यनिष्ठालाई अनुकरण र अनुसरण गर्न नेपाल संवत् ११४४ ले सम्पूर्ण देशवासीलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ ।

नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा

काठमाडौँ, २८ कात्तिक : नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”–उहाँले भन्नुभयो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णय अनुसार यसो गरिएको हो । देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दै छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ । शास्त्रसम्मत् रुपमा आजै दुवै पर्व मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।

तिहारको चौँथो दिन : आज गोवद्र्धन पूजा

काठमाडौँ, २८ कात्तिक : यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आज गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

बली, हलि एवम् गोरु पूजा – भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ ।

हेर्नुहोस् कार्तिक २८ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- बाणीका कारण आफन्ंतंजंनंंंहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशि – जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

मीथुन राशि- प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

कर्कट राशि- अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि – मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि- कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि- पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि – मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि – अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि – मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि – सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

लक्ष्मी पूजाको दिन गतवर्षभन्दा बढी विद्युत् माग

काठमाडौँ, २७ कात्तिक : यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे माग गत वर्षको तुलनामा एक सय ३३ मेगावाटले बढेको जनाएको छ ।

गतवर्षको कात्तिक ७ गते परेको लक्ष्मी पूजाका दिनको विद्युत् माग एक हजार तीन सय पाँच मेगावाट थियो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले यो अभिलेख औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले उच्च माग एक हजार तीन सय ५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।

लक्ष्मी पूजाको दिनको माग देशभित्रैका विद्युत् गृहबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको पाँच सय १७ मेगावाट विद्युत् उच्च माग भएको समयमा भारततर्फ निर्यात गरिएको छ ।

गतवर्ष लक्ष्मी पूजाको उच्च माग भएको समयमा चार सय छ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एक हजार नौ सय ५५ मेगावाट अभिलेख गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मी पूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा जानुभएको थियो ।

कार्यकारी निर्देशक घिसिङले सात वर्षअघि लक्ष्मी पूजाको दिनको माग पूरा गर्न दुई सय ५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताउनुभयो । उहाँले गतवर्षभन्दा लक्ष्मी पूजाको दिन उच्च माग १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

ऐन-कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा उस्तै छ, ज्येष्ठ नागरिकका समस्या

काठमाडौँ, २७ कात्तिक : ज्येष्ठ नागरिकसम्बन्धी भएका ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा उहाँहरूका समस्या जिउँका तिउँ छ ।ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा ‘सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई सिट सुरक्षित राख्नुपर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्नेछ’ भनिएको छ । तर यसको प्रभावकारी कार्यान्वयन हुन सको छैन ।

बानेश्वर बस्ने ७० वर्षीय ज्येष्ठ नागरिक नगेन्द्र सापकोटाले ऐन आएको लामो समयसम्म पनि ऐनको सही ढङ्गबाट लागू नहुँदा आफूहरूले समस्या झेल्नुपरेको गुनासो गर्नुभयो । सार्वजनिक यातायातमा यात्रा गर्दा उहाँले भाडामा अहिलेसम्म छुट नपाएको बताउनुभयो ।

सिन्धुलीका ६९ वर्षीयले वीरबहाुर मगरको पनि नगेन्द्रको जस्तै गुनासो छ । बरु सहचालकसँग भाडा छुटको कुरा गर्दा उल्दै झपारेर गाली गर्ने गरेको उहाँको अनुभव छ । सहचालकले ज्येष्ठ नागरिकलाई भाडामा छुट दिनेबारे आफूलाई कुनै जानकारी नभएको भन्दै पूरै भाडा माग्ने गरेको उहाँको भनाइ छ ।

ऐनमा व्यवस्था भए पनि ज्येष्ठ नागरिक न त ज्येष्ठ नागरिक सिटमा बस्न पाएका छन्, न त भाडामा ५० प्रतिशत छुट नै भएका छन् । ऐनमा ‘सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको सङ्ख्याका ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने छ’ भनिएको छ । तर यो कानूनी व्यवस्थाको पनि प्रभावकारी कार्यान्वनय हुन सकेको छैन । यसरी नीति/नियम र ऐन/कानूनमा ज्येष्ठलाई नागरिकलाई यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका निवर्तमान अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने भनिए पनि व्यावहारिक रुपमा पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयनका लागि सरकारले नै पहल गर्नुपर्ने तर्क गर्नुभयो । ऐनमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेछ ।

खानेपानी, बिजुली, टेलिफोनलगायत सार्वजनिक सेवा प्रदान गर्ने अन्य संस्थाले सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्नेछ र ज्येष्ठ नागरिकलाई समय समयमा अन्य छुट र सुविधा दिन सक्नेछ पनि भनिएको छ ।

सी र बाइडेनबीच शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’ माथि कुराकानी हुने

चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी जो बाइडेनले यसै साता सान फ्रान्सिस्कोमा हुने शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’ का बारेमा विचार विमर्श गर्नुहुने बेइजिङले सोमबार बताएको छ ।

“दुवै राष्ट्राध्यक्षले चीन–अमेरिकासँग सम्बन्धित रणनीतिक, सामान्य र दिशात्मक मुद्दाका साथै वैश्विक शान्ति र विकाससँग सम्बन्धित मुख्य मुद्दाहरूमा गहन वार्ता गर्नुहुनेछ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “चीन प्रतिस्पर्धासँग डराउँदैन तर हामी चीन–अमेरिका सम्बन्धलाई प्रतिस्पर्धाका सन्दर्भमा गरिने परिभाषाको विरोध गर्छौं ।”

यसै साता क्यालिफोर्नियामा हुने एपेक शिखर सम्मेलनका अवसरमा बाइडेन र सीबीच करिब एक वर्षमा पहिलो पटक भेट हुँदैछ । ह्वाइट हाउसका प्रेस सचिव क्यारिन जिन–पियरेका अनुसार दुवै नेताबीच थुप्रै द्विपक्षीय, क्षेत्रीय र वैश्विक मुद्दाको दायराका साथै प्रतिस्पर्धालाई जिम्मेबारीपूर्वक व्यवस्थापन गर्ने तरिकाबारे कुराकानी हुनेछ । 

सी–बाइडेन शिखर सम्मेलन बेइजिङ, वासिङ्टन र अन्य स्थानमा शीर्ष अधिकारीहरूबीच हालैका महिनाहरू भएका बैठकहरूको शृङ्खलापछि हुन लागेको हो । यसअघि सी र बाइडेनबीच सन् २०२२ नोभेम्बरमा बालीमा भेट भएको थियो । 

बुधबार हुने बैठकको उद्देश्य दुवै मुलुकबीचको चिसिएको सम्बन्धलाई ‘स्थिर’ बनाउने रहेको भन्दै एक वरिष्ठ अमेरिकी अधिकारीले ठूलो परिणामको आशा नगर्न चेतावनी दिनुभयो । 

प्रवक्ता माओले सोमबार अमेरिकासँग चीनको हितलाई नोक्सान पुर्याएर आफ्नै सरोकारलाई जोड दिनुको सट्टा चीनको तर्कसङ्गत चासो र वैध विकास अधिकारलाई इमान्दारीपूर्वक सम्मान गर्न आग्रह गर्नुभयो । “अमेरिकालाई चीन परिवर्तन गर्न चाहँदैन र अमेरिकाले पनि चीनलाई आकार दिन वा परिवर्तन गर्न खोज्नु हुँदैन”, उहाँले भन्नुभयो ।

युद्ध प्रभावित इजरायलमा अक्टोबरमा २२० मिलियन अण्डा उत्पादन

अक्टोबर सन् २०२३ को अक्टोबर महिनामा २२० मिलियन अण्डाहरू अण्डा उत्पादन भएको छ । जारी युद्धले देशको कृषि उत्पादनमा निकै ठूलो असर पारेको छ । सै बीच कृषि मन्त्रालयले आगामी हिउँद महिनाहरूमा ताजा तरकारीको स्थानीय उत्पादनमा विगतका वर्षहरूको तुलनामा कमी आउने अपेक्षा गरेको छ।

यति हुँदाहुँदै पनि अण्डा र मासुको दरभने बढ्दो मात्रामा छ । साथै कुखुराको आपूर्तिमा पनि अभाव हुने अपेक्षा गरिएको छैन ।दुग्ध उद्योगमा, गाजा नजिकैको क्षेत्रबाट दूध संकलन सामान्यमा पनि सामान्य प्रभाव परेको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घद्धारा भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग

काठमाडौँ, २७ कात्तिक : नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्पपीडितका लागि रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सङ्घका तर्फबाट चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणका अवसरमा सङ्घका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष कुँवरले पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई उक्त राहत हस्तान्तरण गरिएको बताउनुभयो । जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि उक्त रकमको सहयोग गरिएको सङ्घले जनाएको छ ।

गाईको विधिपूर्वक पूजा आराधना गरी गरियो गाई पूजा

काठमाडौँ, २७ कात्तिक : तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज गाईको विधिपूर्वक पूजा आराधना गरी मीठामीठा खानेकुरा दिइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ । गाईलाई लक्ष्मीमाताका रुपमा पनि सम्बोधन गरिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैले गाईलाई राष्ट्रिय जनावरका रुपमा पनि संविधानमै उल्लेख गरिएको छ । यसैले गाईलाई सम्मान गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन अर्थात् लक्ष्मीपूजाका दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधियो ।

असहाय गाई बाच्छा संरक्षणस्थलमा सामूहिक गौ पूजा
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारस्थित असहाय गाई बाच्छा संरक्षणस्थलमा गाई तिहारका अवसरमा सामूहिक गौ पूजा गरिएको छ । संरक्षणस्थलमा करिब दुई सय छाडा छोडिएका गाई बाच्छा संरक्षण गरिएको हो । संरक्षणस्थलमा आज आयोजित कार्यक्रममा गाई पूजासहित देउसी भैलो पनि गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाल, बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँललगायतको सहभागिता रहेको थियो ।

पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मी पुडासैनीको नेतृत्वमा असहाय गाई बाच्छाको संरक्षण भइरहेको छ । गाईलाई दुध दिउञ्जेल घरमा राख्ने र दुध दिन छोडेपछि मन्दिर परिसर, नदी किनार, सार्वजनिकस्थल एवम् सडकमा छोड्ने क्रम बढ्न थालेपछि अभियानकर्मी छाडा गाई बाच्छाको संरक्षणमा जुटेका हुन् । बाच्छीलाई घरमै राख्ने र बाच्छालाई सानैमा छाडा छोड्ने गरिएको छ । यस्तो प्रवृत्तिका विरुद्ध अभियानकर्मीले चेतना पनि जगाउँदै आएका छन् ।

यस वर्ष तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित

काठमाडौँ, २७ कात्तिक : फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रुपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निरास भएका हुन् ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले देश बाहिरबाट वैध तथा अवैधरूपमा ठूलो परिणाममा फूल आयात भइदिँदा, विश्व आर्थिक मन्दीको प्रभाव सर्वत्र पर्दा र काठमाडौँ महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको बताउनुभयो । आर्थिक मन्दीका कारण काठमाडौँ उपत्यकाका सटर, पसलकवल उल्लेखनीय सङ्ख्यामा खाली भएको, सञ्चालनमा आएका पनि यसअघिका तिहारमा जस्तो झकीझकाउ नदेखिएको र संस्कृतिसँग जोडिएको फूल व्यवसायको कारोबार निश्चित ठाउँबाट मात्र गर्न पाउने स्थानीय सरकारको निणर्यका कारण फूल कृषक तथा व्यवसायी मारमा परेका फ्लोरिकल्चर एशोसिएसनले स्पष्ट गरेको छ । 

यस वर्ष तिहारमा बढीमा पाँच लाख माला आयात भए पुग्ने भनी सम्बन्धित निकायको ध्यानाकर्षण गरेकामा त्योभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएकाले नेपालमा उत्पादित फूलले बजार नपाएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । यसअघिका वर्षमा जस्तो काठमाडौँका प्रमुख चोक तथा मुख्य सडक आसपासमा फूलमाला किनबेच गर्न नपाउने कामपाको निर्णयका कारण पनि यस वर्षको तिहारमा फूल व्यवसायको कारोबार प्रभावित भएको व्यवसायीको गुनासो छ ।  

भृकुटीमण्डपमा फूलमाला बिक्री गरिरहनुभएका धादिङको महादेवबेंसीका चन्द्रबहादुर थापा र काभ्रेपलाञ्चोकको पाँचखालकी पार्वती खरेलले वर्षाैंदेखि तिहारमा फूल कारोबारमार्पmत परिवारको पालनपोषणका साथै तिहार खर्चको व्यवस्था गरिँदै आएकामा यस वर्ष फूलले उचित बजार नपाउँदा तिहार मान्ने अवस्था नरहेको बताउनुभयो । गाउँबाट रू सात सयका दरले ल्याएको फूल यहाँ रू तीन सयमा पनि बिक्री नभइदिँदा निरुत्साहित भएको उल्लेख गर्दै उहाँहरुले फूल व्यवसायीले अघिल्ला वर्षमा जस्तै काठमाडौँका प्रमुख सडक चोकमा यमपञ्चकभर व्यवसाय गर्न पाउनुपर्ने माग गर्नुभयो । 

काठमाडौँ महानगरपालिकाले यस वर्ष फ्लोरिकल्चर एशोसिएसका प्रतिनिधि समेतको उपस्थितिमा भृकुटीमण्डप, बालाजु, कोटेश्वर–तीनकुने र हाँडीगाउँमा मात्रै फूल बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाएको छ । काठमाडौँ उपत्यकाको काँठ क्षेत्रसहित धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, उदयपुरलगायत जिल्लाबाट काठमाडौँ उपत्यकामा सयपत्री फूल बिक्रीका लागि ल्याइएको छ । 

हात्तीबाट बाली जोगाउन विकल्पका रुपमा नगदेबालीतर्फ झापाका किसान आकर्षित

झापा, २७ कात्तिक : झापाका विभिन्न स्थानीय तहमा हात्तीपीडित किसान हात्तीले नखाने बालीतर्फ आकर्षित भएका छन् । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, हल्दिबारीलगायतका बस्तीमा जङ्गली हात्तीले अन्नबाली खान थालेपछि विकल्पका रुपमा नगदेबालीतर्फ किसान आकर्षित भएका हुन् ।

नगदेबालीबाट मनग्य आम्दानी हुने र हात्तीले पनि नखाने भएपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् । हात्तीले नखाने र बजारमा महँगो मूल्यमा बिक्री हुने भएकाले अन्नबालीको साटो सुपारी, मरिच र तेजपत्ता खेती धमाधम विस्तार गरिरहेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । 

“धान र मकैखेती गर्दा हात्तीले खाएर नष्ट गरिहाल्छ । बाहुनडाँगीका स्थानीयले चार दशकदेखि जङ्गली हात्तीको पिरलो भोगिरहेका छन्” उहाँले भन्नुभयो, “अब गरिखानै नपाउने अवस्था सिर्जना भएपछि किसानले हात्तीले नखाने र धेरै आम्दानी हुने नगदे बाली रोज्न थालेका हुन् ।”

धान र मकैखेती मासेर मेचीनगर नगरपालिका–१, २, ३ र ४ मा सयौँ किसानले चिया, सुपारी, मरिच, तेजपत्ता र कागती गरी कम्तीमा पाँचतले खेती गरिरहेका छन् । एउटा अन्नबाली हुने खेतमा एकैपटकमा पाँचदेखि नौ बालीसम्म फल्ने भएकाले किसानलाई नगदेबालीबाटै बढी लाभ भइरहेको छ ।

मेचीनगर–४ का युवराज गिरी धान खेत मासेर नगदे बाली लगाउने पुराना कृषक हुुनुहुन्छ । उहाँले विगत १५ वर्षदेखि तीन बिघा खेतमा चिया, सुपारी, मरिच, कागती, बेसार, अदुवा र केरा गरी साततले खेती गरिरहेको बताउनुभयो ।

वार्षिकरुपमा चियाबाट रू तीन लाख, सुपारीबाट रू दुई लाख र मरिचबाट रू दुई लाख नियमित आम्दानी भइरहेको जानकारी दिँदै तेजपत्ता, कागती, बेसा, अदुवा र केराखेतीको अलग्गै आम्दानी हुने गरेको गिरीले बताउनुभयो । “चिया खेतको बीचबीचमा सुपारी, कागती, तेजपत्ताको बोट हुर्काएको छु”, उहाँले भन्नुभयो, “मलखाद र सिँचाइ प्रयोग गर्न पनि एकैपटकमा हुन्छ । सुपारीका बोटमा मरिच लहरिएर फल्ने गरेको छ ।” 

जङ्गली हात्तीले सबैभन्दा बढी प्रभावित क्षेत्र बाहुनडाँगीमा अगुवा किसान रवि नेपालले १५ बिघामा अन्नबाली मासेर नगदेबाली लगाउनुभएको छ । उहाँले आफ्नो खेतीबाट उत्पादित नगदेबाली भारतसम्म निकासी गर्दै आउनुभएको छ ।

“धान, मकै, कोदोजस्ता अन्नबाली लगाएर हाम्रा बाबुबाजेले हात्तीलाई खुवाए”, हात्तीले नखाने नगदेबालीको फाइदा बताउँदै उहाँले भन्नुभयो, “अहिले हाम्रो पुस्ताले पनि त्यही दुःख किन दोहो¥याउनु भनेर मैले सुपारी, चिया, मरिच, तेजपत्तालगायतका नयाँ बाली लगाएको हुँ ।”

उहाँले अन्नबाली लगाउने खेतमा अहिले बोटबिरुवासमेत गरेर ५० प्रजातिका खेतीपाती गरिरहेको बताउनुभयो । नेपालका अनुसार चिया र सुपारी खेतीमा तेजपत्ताको मात्रै दुई हजार पाँच सय बोटले उत्पादन दिइरहेका छन् । बर्सेनि रू पाँच लाखको तेजपत्ता बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । 

सुपारी, तेजपत्ता, मरिचजस्ता नगदेबालीको बजार र मूल्यमा कुनै समस्या छैन । यी बालीले महँगो मूल्य पाउने गरेका छन् । व्यापारीहरुले घरमै आएर किनेर लैजाने गरेकाले किसान नगदे बालीतिरै आकर्षित भएका हुन् ।

“तेजपत्ता बोटमै टिपेर व्यापारीले प्रति केजी रू १२, सुकाइएको तेजपत्ता प्रति केजी रू ६० र मरिच प्रतिकेजी रू एक हजार दुई सयमा खेतबाटै बिक्री हुँदै आएको छ”, नेपालले भन्नुभयो, “बाहुनडाँगीका हरेक घरमा सुपारी र मरिचका बोट छन् ।” सुपारीका बोटमा आफूले बर्सेनि दुई केजी मरिच फलाउने गरेको उहाँले बताउनुभयो । 

साविक बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारी हात्ती प्रभावित क्षेत्रमा हात्तीले खाने र क्षति पु¥याउने अन्नबालीको साटो वैकल्पिक खेतीतिर किसानलाई प्रोत्साहित गर्ने सरकारी नीतिको खाँचो रहेको बताउनुभयो । उहाँका अनुसार एक दशकदेखि सरकारले सुपारी जोनको अवधारणा ल्याएर व्यावसायिकरुपमा सुपारीखेतीतर्फ लाग्न हात्तीपीडित क्षेत्रका किसानलाई प्रोत्साहित गरिरहेको छ ।

पर्वतमा खेतीयोग्य जमिन बाँझो राख्ने प्रचलन बढ्दै

पर्वत, २७ कात्तिक : पर्वतमा खेतीयोग्य जमिन बाँझो राख्ने प्रचलन बढ्दै गएको छ । बढ्दै गएको युवाशक्तिको पलायन, बाँदरको आतङ्क, भौगोलिक अवस्था, कृषिमा यान्त्रिकीकरणको अभावलगायत कारणले बर्सेनि बाँझो जमिनको क्षेत्र बढ्दै गएको जिल्लास्थित कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अहिले जिल्लामा पाँच हजार दुई सय ४४ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ । जिल्लाभर २८ हजार पाँच सय ९२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन भए पनि २३ हजार तीन सय ४८ हेक्टरमा मात्र खेती हुने गरेको केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जानकारी दिनुभयो । “अझै ग्रामीण क्षेत्रमा बर्सेनि बालीनाली लगाउन छाडेको जमिन हेर्ने हो भने अझै बढ्नसक्ने देखिन्छ”, उहाँले भन्नुभयो । 

जिल्लाको खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । पन्ध्र हजार एक सय एक हेक्टरमा कुनै पनि सिँचाइ सुविधा नपुगेको अधिकारीले बताउनुभयो । जिल्लाका सातवटै पालिकामा बर्सेनि जग्गा बाँझो रहनेक्रम बढ्दै गएको उहाँको भनाइ थियो । 

कृषिमा पर्याप्त आधुनिकीकरण गर्ने, युवालाई प्रोत्साहनमुलक कार्यक्रम ल्याउनेलगायत कृषकलाई कृषिमै लागेर पर्याप्त आम्दानी गर्नसक्ने वातावरण नभएसम्म खेतीयोग्य जमिन बाँझिँदै जाने अधिकारीले बताउनुभयो । “जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिको आठौँ जिल्ला परिषद्ले जमिन बाँझो राख्नेलाई कारबाही गर्ने नीति ल्याएको भए पनि लागू हुन नसक्दा पर्वतमा जग्गा बाँझो रहने क्रम बढ्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न स्थानीय तहले पनि बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याए पनि प्रभावकारी हुन सकेको छैन ।” 

तत्कालीन समयमा उक्त निर्णय गर्दा कृषिमा क्रान्ति नै आउने दाबी गरेका जिल्लाका सरोकारवाला अहिले मौन छन् । परिषद्ले जमिन बाँझो राख्नेलाई कारबाहीस्वरूप जरिवाना तिराउने निर्णय गरेको पनि सात वर्ष बितेको छ । धेरै जमिन भएर, फुर्सद नपाएर, जनशक्ति नभएरलगायतका बाहना बनाउँदै जमिन बाँझो राख्ने जमिनदारलाई हरेक बालीअनुसार प्रतिरोपनी रू ५० का दरले जरिवाना लगाउने उल्लेख थियो ।

सिँचाइको पर्याप्त सुविधा हुने क्षेत्रमा पनि खेती नभएको जग्गा कूल जमिनको एक तिहाइ अझै बाँझै रहेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदेखेती नहुने जग्गाको क्षेत्रफल करिब तीन चौथाइ भएको अनुमान सरोकारवालाले गरेका छन् । 

जिल्ला परिषद्ले जग्गाधनीले कुनै पनि हालतमा खेती गर्नसक्ने अवस्था नभए नजिकको छिमेकी वा खेती गर्न इच्छुक जोकोहीलाई पनि बाली लगाउन दिनुपर्ने कार्यविधिमा बनाएको थियो । अहिलेसम्म पनि जग्गाधनीले न आफूले खेती गरेका छन्, न त अरूलाई नै जिम्मा लगाएका छन् । यो समस्या जिल्लाभर छ । अहिलेका स्थानीय सरकार पनि यसबारे नीतिनियम बनाएर अघि बढ्न सकेका छैनन् ।

कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले जनशक्ति अभावमा करिब २५ रोपनी खेत बाँझै छोडेको बताउनुभयो । बाह्रै महिना सिँचाइ हुने उक्त जमिनमा काम गर्ने जनशक्ति घरमा नभएपछि हिउँदे बाली लगाउन छोडिएको उहाँले बताउनुभयो । उहाँका छिमेकी विष्णुहरि पराजुलीले पनि ३३ रोपनी खेत बाँझै छोड्नुभएको छ । वर्षमा तीन खेती सजिलै हुने भए पनि विष्णुहरि र पुनाखरले जनशक्ति नभएकै कारण वर्षे धानबाहेक हिउँदे खेती लगाउने अवस्था नरहेको बताउनुभयो । 

जिल्लामा बाह्रै महिना सिँचाइ हुने नौ हजार हेक्टरमध्ये तीन चौथाइ जमिन बाँझो रहेको अनुमान छ । गाउँमा जनशक्ति नहुनु, भएका परिवारमा पनि खाइखेती प्रणालीले श्रम र लगानीअनुसारको उत्पादन नहुनुलगायत कारणले हिजोआज खेतीयोग्य जग्गा बाँझिनेक्रम बढ्दो छ । जमिन बाँझिनेमा मुख्य कारण बाँदर आतङ्क पनि प्रमुख बनेको स्थानीय बताउँछन् ।

पछिल्ला केही वर्षयता बाँदरका बथान बस्तीबस्ती चहार्न थालेपछि दुःख गरेर लगाएको खेती थन्क्याउन नपाएपछि किसानमा निराशा बढेको छ । केही किसानले व्यावसायिकरूपमै तरकारी र फलफूल खेती गरेको भए पनि बाँदर र अन्य प्राकृतिक कारणले अपेक्षित लाभ लिन नसकेको बताउँछन् ।

गाउँमा वृद्धवृद्धाबाहेक कोही पनि नबस्ने भएकाले जनशक्तिकै अभावमा खेतीयोग्य जमिन बाँझिँदै गएको फलेवासका नगरप्रमुख गङ्गाधर तिवारीले बताउनुभयो । उहाँले कृषकलाई प्रोत्साहनका लागि नगरले विभिन्न कार्यक्रम लागू गरेको बताउनुभयो । 

जमिनको उचित सदुपयोग गर्दै व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहनका कार्यक्रमसमेत ल्याउने दाबी गरिए पनि परिवर्तित संरचनापछि बनेका स्थानीय सरकार त्यसतर्फ चनाखो छैनन् । जनप्रतिनिधिले आफू निकट व्यक्ति र कार्यकर्तामुखी कार्यक्रम ल्याउँदा व्यावसायिक किसानले अपेक्षित लाभ लिन सकेका छैनन् । पहुँचवाला र नेतानिकटले फर्जी फर्म र व्यवसाय देखाएर बजेट कुम्ल्याउने गर्दा रातदिन मरिमेट्ने किसान मारमा परेका छन् । 

१९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित

काठमाडौँ, २७ कात्तिक : चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित हुनुभएको छ । एसएस फाउन्डेसनद्वारा आज यहाँ आयोजित खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी एरिकालाई सम्मान गरिएको हो ।

सम्मानस्वरुप उहाँले रू ३१ हजार पुरस्कार प्राप्त गर्नुभयो । एरिकाले गत असोजमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ६८ केजी तौल समूहमा नेपाललाई रजतपदक दिलाउनुभएको थियो । 

एशियाली खेलकुदको इतिहासमा नेपालका लागि एरिकाले तेस्रोपटक रजतपदक दिलाउनुभएको हो । त्यस्तै एशियाली खेलकुदमा नेपालले कराँते खेलमा भने पहिलो रजतपदक जितेको थियो । यसअघि तेक्वान्दो खेलबाट सविता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजतपदक जितेको थियो । 

एरिकाले मेहनत गरे सफलता हासिल गर्न सकिन्छ भन्ने मनोबलले यो पदक दिलाएको भन्दै यस किसिमको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताउनुभयो । उहाँले आगामी दिनमा खेल क्षेत्रमा अझ उत्कृष्ट खेल्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।   

कार्यक्रममा कराते खेलका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ पनि सम्मानित हुनुभयो । सम्मानस्वरुप उहाँले रू ३१ हजार प्राप्त गर्नुभयो । उहाँले नेपाली खेलाडीको रगतमा साहस र वीरताको प्रतिक रहेको भन्दै मार्सल आर्ट खेलले सफलता भित्र्याउँदै आएको बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद पशुपति शम्शेर जबराले आमनेपाली जनतालाई तिहार र छठको शुभकामना दिँदै नेपालले अन्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न नसके पनि खेलकुद क्षेत्रमा सफलता हासिल गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपालकी १९ वर्षीया एरिकाले सानै उमेरमा यस किसिमको सफलता पाउनु गर्विलो विषय भएको उहाँको भनाइ थियो ।  

महेन्द्रपुल–पृथ्वीचोक सडक ‘अस्फाल्ट’ प्रविधिको प्रयोग गरी कालोपत्र

कास्की, २७ कात्तिक : पोखराको मुख्य बजार महेन्द्रपुल–पृथ्वीचोक सडक ‘अस्फाल्ट’ प्रविधिको प्रयोग गरी कालोपत्र गरिएको छ । अमेरिकन प्रविधि ‘अस्फाल्ट’को प्रयोग गरी महेन्द्रपुल–नयाँबजार हुँदै पृथ्वीचोकसम्मको सडक कालोपत्र गरिएको पोखरास्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।

करिब डेढ किलोमिटर सडक रू पाँच करोड लागतमा कालोपत्र सम्पन्न गरिएको कार्यालयका ओभरसियर रमेशराज पौडेलले जानकारी दिनुभयो । अस्फाल्टबाट कालोपत्र गर्दा बलियो हुने भएकाले लागत पनि बढी भएको उहाँको भनाइ थियो । महेन्द्रपुल–पृथ्वीचोक खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेपछि सवारी चलाउन सहज भएको चालकहरुको भनाइ छ ।  

अस्फाल्ट पिच गर्दा चार सेन्टिमीटर मोटाइको पिच हुनुपर्ने भन्दै स्थान हेरेर चारदेखि १० सेमिसम्मको मोटाइमा कालोपत्र गरिएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पोखराका अन्य सडकसमेत यही प्रविधिमा कालोपत्र गरिएका छन् ।

यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर वर्षेनी सडक जीर्र्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले क्षेत्र विभाजन गरी मुख्य सहरी क्षेत्रअन्तर्गत करिब २५ किमी सडकलाई अस्फाल्ट प्रविधिबाट कालोपत्रको योजना अघि बढाएका थिए । 

प्रदेश सरकारले मुस्ताङचोक, सहिदचोक, हल्लनचोक हुँदै जिरो किमीसम्मको पाँच किमी एक सय ५० मिटर सडक कालोपत्र यसअघिनै सम्पन्न गरेको छ । पोखरामा पानी धेरै पर्ने भएकाले सडक छिटो जीर्ण हुने भएकाले यो प्रविधिको प्रयोग गर्न थालिएको सडक डिभिजन कार्यालयका ओभरसियर पौडेलले बताउनुभयो । यसबाट सडक स्तरोन्नति गर्दा पाँचदेखी सात वर्षसम्म टिकाउ हुने उहाँको भनाइ थियो ।

“अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ । यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ”, पौडेलले भन्नुभयो, “हामीले पोखराको विरौटादेखी पृथ्वीचोक र छोरेपाटनदेखी विरौटासम्म अस्फाल्टका लागि ठेक्का लगाएका छौँ ।”   पर्यटकीय क्षेत्र लेकसाइड, न्यूरोड, चिप्लेढ्ङ्गा, बागलुङ राजमार्गअन्तर्गत जिरो किमीदेखि विन्ध्यवासिनीसम्मको सडक पहिलो पटक अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको थियो । 

‘चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ’:मन्त्री मोहनबहादुर बस्नेत

धुलिखेल, २७ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उहाँले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताउनुभयो ।

“वर्र्षैँदेखि रोकिएको काम अब सुरु गर्छौं”, मन्त्री बस्नेतले भन्नुभयो– “पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौं ।” एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रुपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उहाँले बताउनुभयो । वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो । 

“हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ”, उहाँले भन्नुभयो । सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्यचौकीका लागि आवश्यक पर्ने उपकरण दुई महिनाभित्रमा उपलब्ध गराउने बताउनुभयो । 

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले विकट बस्तीका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेनीमण्डनको चण्डेनीडाँडा र ज्याम्दीको रामपुरमा स्वास्थ्य केन्द्र स्थापना गरी भवन, स्वास्थ्यकर्मी र औषधीको व्यवस्थापन नगरपालिकाले गर्दै आएको बताउनुभयो । जोगिटारस्थित स्वास्थ्यचौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति गरी आवश्यक दरबन्दी र उपकरण व्यवस्थापन गर्न उहाँले मन्त्री बस्नेतसित आग्रह गर्नुभयो । 

नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले भूकम्पपछि स्वास्थ्यचौकी भवन जीर्ण भएपछि कोरियाको रेडक्रसको सहयोगमा निर्माण गरिएका दुई भवनबाट सेवा दिँदै आएकामा अहिले भारत सरकारको सहयोगमा नयाँ सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएको बताउनुभयो । सो अवसरमा भवन निर्माणका लागि आवश्यकपर्ने जग्गा दान गर्ने विष्णुमणि नेपाल, पिताम्बर नेपाल र रामप्रसाद नेपाललाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय

काठमाडाँै, २७ कात्तिक : सरकारले जाजरकोट भूकम्पपछिको पुनःनिर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन व्यक्ति, सङ्घसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यकपर्ने देखिएकाले विपद् व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रु आठ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनःथापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिनुभयो । यस्तै थप रु एक अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा रु १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको उहाँले बताउनुभयो ।  

बैठकले नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । उक्त अध्ययनका लागि सरकारका मुख्यसचिवलाई जिम्मेवारी दिइएको छ । मुख्यसचिवले अध्ययन गरेपछि प्रतिवेदन पेस गर्ने बैठकको निर्णय छ । 

मन्त्रिपरिषद्ले भूकम्पका कारण आवास पूर्ण क्षति भएका र आंशिक क्षति भए पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सिधैँ उपलब्ध गराउने छन् । अनुदान रकम उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुने मन्त्रिपरिषद्को निर्णय छ । 

बैठकले सहरी विकास मन्त्रालयले अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहका प्राविधिकमार्फत प्राविधिक सहयोग उपलब्ध गराउने, सङ्घ र स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार जनशक्ति उपलब्ध गराउन तथा अस्थायी आवास निर्माण र प्राविधिक परिचालनको अनुगमन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले अस्थायी आवास निर्माणलगायत कार्यमा आवश्यक समझदारी कायम गर्न तथा सहयोग र समन्वय गर्न स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा सम्बन्धित स्थानीय तह र वडामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वदलीय संयन्त्र निर्माण गरी परिचालन गर्ने निर्णयसमेत गरेको छ । 

यस्तै भूकम्पबाट प्रभावित क्षेत्रका स्थानीय प्रशासन र सुरक्षा निकायले तत्काल खोज, उद्धार र राहतका लागि उक्त निकायले उपलब्ध बजेटबाट गरेको इन्धन खर्चबापतको रकम अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । बैठकले यही कात्तिक २८ गतेदेखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । 

चेपाङसँग तिहार मनाउन संस्कृतिमन्त्री चितवनमा

चितवन, २७ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायसँग तिहार मनाउन चितवन आउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले चेपाङ समुदायसँग तिहार मनाउन आफू चितवन आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चेपाङ समुदायले तिहार कसरी मनाउछन् हेर्नुछ । उनीहरुसँग बसेर देउसी, भैलो खेल्नु छ ।” नेपालमा चेपाङ समुदायको धर्म संस्कृति, भाषा लोप हुने खतरामा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चेपाङको धर्म संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी छ ।” 

मान्छेहरु पुरानो संस्कृति हेर्ने इच्छा गरेको देखिएको बताउँदै उहाँले चेपाङ समुदायको धर्म संस्कृति र भाषा संरक्षण गरेर पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । उनीहरुको भाषा, धर्म र संस्कृति लोप भए नेपाल बहुजाति, धर्म संस्कृति भएको देश भन्न नसकिने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले भरतपुर विमानस्थलको धावनमार्ग चार सय मिटर थप गर्नेगरी काम भइरहेको बताउनुभयो । नेपालको काम नगर्ने संस्कृतिको अन्त्य गर्दै सरकारले विमानस्थलको धावनमार्ग बढाउनका लागि नेपाली सेनासँग कुरा गरिरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिला सेना र घोडा प्रजनन केन्द्र सार्ने कुरा गरेका थियौँ । वनका कारणले समस्या भयो । अब धावनमार्ग बढाउन सेनासँग छलफल भइरहेको छ ।” सेनासँग सहमति गरेर सेना पनि त्यहीँ रहनेगरी धावनमार्ग बढाउनका लागि तिहारलगत्तै छलफल गरेर टुङ्गो लगाउने उहाँको भनाइ थियो । धावनमार्ग बढेसँगै ७२ सिटे जहाज अवतरण गर्न सकिने र रात्रिकालीन उडान गर्न सकिने उहाँले बताउनुभयो ।

वैज्ञानिक योजनाका आधारमा भन्दा पनि राजनीतिक दबाबका आधारमा विमानस्थल बन्ने गरेको बताउँदै उहाँले विमानस्थललाई व्यावसायिक प्रयोगमा लैजान सरकार लागेको बताउनुभयो । निजगढ विमानस्थलको बाँकी काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय भएको बताउँदै उहाँले यसलाई अघि बढाउन मन्त्रालयले काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विमानस्थल देशको आवश्यकता हो । काम अघि बढ्छ अब ।” 

अरु विमानस्थल थप्ने विषयमा वैज्ञानिक अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । जनताको माग र वैज्ञानिक अध्ययनका लागि कार्यदल बनाएर अघि बढेको उहाँको भनाइ छ । मन्त्री किरातीको रत्ननगर नगरपालिका वडा नं ११ मङ्गलपुरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा रहेका बालबालिकासँग देउसी, भैलो खेल्ने कार्यक्रम रहेको छ । केन्द्र सञ्चालन गर्दै आउनुभएका केपी किरण शर्माका अनुसार त्यहाँ एक सय ४५ जना चेपाङ बालबालिका रहेका छन् । 

त्यसपछि मन्त्री किराती इच्छाकामना गाउँपालिकाको चौकीभञ्ज्याङ र सप्रेमीस्थित चेपाङ समुदायमा पुग्नु हुनेछ । त्यहाँका चेपाङ संस्कृतिविद् भोटेबहादुर चेपाङको दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । चेपाङ ७९ वर्षीय हुनुहुन्छ । 

सोही क्षेत्रमा चेपाङ समुदायलाई मन्त्री किरातीले न्यानो कपडासमेत वितरण गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रधानमन्त्री हुँदा डा बाबुराम भट्टराई कालिका नगरपालिका–१० को तीनदोभानमा आएर चेपाङ समुदायसँग रात बिताउनुभएको थियो । त्यतिबेला वडारमा रहनुभएका बन्दीपुरे चेपाङलाई सम्मान गर्नुभएको थियो ।

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

ढोरपाटन (बागलुङ), २७ कात्तिक : कास्कीको माछापुछ«ेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आउनुभयो । बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गर्नुभयो । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पु¥याउनुभयो । तर सबै बिक्री हुनसकेनन् । तीन सय ५४ मात्रै बिक्री भए ।

दसैँ सकिएपछि गुरुङले बाँकी रहेका तीन सय ४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किनुभयो । केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्याङ्ग्रा लिएर आउनुभएको छ । दसैँका लागि ल्याएका च्याङ्ग्रा तिहारसम्म पनि नबिक्दा उहाँ साह्रै तनावमा देखिनुहुन्छ । दसैँको भन्दा अहिले च्याङ्ग्राको मूल्य कम भएकाले बिक्री भइरहेको छ । पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दसैँमा सबै बिक्री भएका गुरुङ बताउनुहुन्छ ।

“यसपाली सोचे अनुसार व्यापार भएन”, उहाँले भन्नुभयो । वर्षौँदखि भेडाच्याङ्ग्रा खरिद बिक्री गर्दै आउनुभएका गुरुङलाई यसपाली आर्थिक मन्दिका कारण ठूलो समस्या भएको छ । तिहारको दिनसम्म सबै च्याङ्ग्रा सक्ने योजनामा उहाँ हुनुहुन्छ । कम मूल्यमा दिन थालेपछि दसैँका तुलनामा यस बेला बढी बिक्री भएका छन् । अझै पनि उहाँसँग करिब डेढ सय च्याङ्ग्रा साथमै छन् ।

गुरुङलाई तिहारसम्म सबै भेडाच्याङ्ग्रा बिक्री गर्न सकिँदैन कि भन्ने पिरले सताइरहेको छ । करिब दुई महिना च्याङ्ग्रा व्यापार गर्ने उहाँ १८ वर्षदेखि यही पेसामा लाग्नुभएको हो । दसैँ तिहार जस्ता ठूला पर्वमा धेरैले मासुका लागि च्याङ्ग्रा खोज्ने गर्दछन् । च्याङ्ग्राको यसवर्ष न्यूनतम रु ३० हजारदेखि रु ५८ हजारसम्म मूल्य छ ।

सहरबजारमा च्याङ्ग्राको मासुको अत्यधिक माग छ । रु एक करोड ५० लाखमा खरिद गरेको च्याङ्ग्रा बिक्री नभएपछि थारै पनि नाफा नउठाइ बेच्न बाध्य भएको गुरुङले बताउनुभयो । दसैँका बेला कम बिक्री गरे पनि पर्याप्त नाफा उठाउन पाएको उल्लेख गर्दै उहाँले तिहारसम्म बिक्री गरिसक्नुपर्ने हुँदा सस्तो भाउमा बेच्न थालेको बताउनुभयो । बागलुङ बजारदेखि गलकोटसम्म पुगेर फर्कने योजना रहेको गुरुङ बताउनुहुन्छ ।

“मैले व्यवसाय थालेको धेरै वर्ष भयो तर अहिलेसम्म यस्तो कहिल्यै पनि भएको थिएन, पहिले–पहिले च्याङ्ग्रा झरे भने ग्राहकले बाटोमै कुरेर बस्थे, छानी–छानी किन्ने गर्थे, पहिलेको तुलनामा अहिले अलिकति महँगो पनि भएर होकी,” गुरुङले भन्नुभयो– “यसपाली त आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झण्डै भए एक महिना त गाउँमै दाना पानी खुवाएर पाले ।”

पुथा उत्तरगङ्गा पूर्वी रुकुमका तिलबहादुर बुढा मगरले पनि यसपाली सोचे अनुसार भेडाबाख्रा बेच्न सक्नुभएन । ३४ वर्षदेखि भेडापालन गर्दै आउनु भएका बुढा मगरले यो वर्ष सबैभन्दा कम व्यापार गरेको सुनाउनुभयो । आफ्नो मुख्य व्यापार हुने क्षेत्र रुकुमकोट, बागलुङको निसीखोला, बुर्तिबाङ, बडिगाड, गुल्मीको वामीटक्सार चोरकाटे र रिडी भएको भन्दै सबै ठाउँमा पुग्दा पनि तीन सयभन्दा बढी भेडाबाख्रा बिक्री गर्न नसकेको उहाँको भनाइ छ । दसैँसम्म पाँच सय भेडा बिक्री गर्ने लक्ष्य राखेको उहाँ बताउनुहुन्छ ।

गत वर्ष भेडाबाख्रा बिक्री गरेर रु १५ लाख आम्दानी गरे पनि यसवर्ष आधा मात्र कमाइ भएको बुढा मगर बताउनुहुन्छ । न्यूनतम रु २० हजारदेखि अधिकतम रु ४२ हजारसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो । बाँकी रहेका भेडा बथानमै लगेर छोड्ने बुढा मगरको भनाइ छ ।

लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा २६ लाखभन्दा बढीको क्षति

टक्सार (भोजपुर), २७ कात्तिक : लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिनुभयो ।

आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ ।

पोखरामा भिन्तुना र्‍यालीसहित नेपाल संवत्को स्वागत गरिँदै

कास्की, २७ कात्तिक : नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा आपसी भाइचाराको विकास गर्ने गरी पोखरामा नेपाल संवत् (नयाँ वर्ष) ११४४ लाई भिन्तुना र्‍यालीसहित भव्य स्वागतको तयारी गरिएको छ ।

नेवा खल ः कास्कीले मौलिक तथा राष्ट्रिय संवत्को स्वागतका लागि यही कात्तिक २८ गते बजारका विभिन्न क्षेत्रमा जातीय सांस्कृतिक पोसाकसहित ¥यालीको आयोजना गनै लागिएकोे हो ।

नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरामा भिन्तुना ¥याली आयोजना गरिने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही कात्तिक २८ गते बिहान ७ः३० बजे पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शङ्खधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिनेछ । त्यसपछि कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना ¥याली निकालिने छ ।

पृथ्वीचोकबाट सुरु हुने उक्त ¥याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिने अध्यक्ष पालिखेले जानकारी दिनुभयो । पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा वेशभुषाको प्रस्तुति र प्रचारप्रसार गर्ने उद्देश्यले ¥याली आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

¥यालीमा उत्कृष्ट हुने समुहमध्ये प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु सात हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद रु पाँच हजारका दरले पुरस्कारको समेत व्यवस्था गरिएको नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष अनिशा श्रेष्ठले जानकारी दिनुभयो । नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभुति शङ्खधर साख्वाले चलाएका हुन् ।

साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौँ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल संवत् चलाएका हुन् । सरकारले नेपाल संवत्का प्रवद्र्धक साख्वालाई विसं २०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

लक्ष्मी पूजामा पड्काएको रकेट बमले आगलागी, ५० लाखभन्दा बढीको क्षति

इनरुवा, २७ कात्तिक – गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिनुभयो । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ । इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ध्रुवेलाई नियन्त्रणमा लिन टोली परिचालन

चितवन, २७ कात्तिक ः धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ ।

उहाँले भन्नुभयो, “हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको छ ।” हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डाट’ गर्ने उहाँले बताउनुभयो । यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ । योसँगै ‘स्याटेलाइट कलर’ जडान गरिने उहाँले जानकारी दिनुभयो । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उहाँले बताउनुभयो । यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।

निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । उहाँले भन्नुभयो, “हात्ती बाहिर निस्किएको हुँदा मानवीय क्षति हुनसक्ने भएकाले साँझ र बिहानपख अत्यावश्यक कामबाहेक बाहिर ननिस्कान अनुरोध गर्दछौँ ।” निस्कनै परे टच लाइट बालेर र समूहमा निस्कन कार्यालयले अपिल गरेको छ । यस हात्ती हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिँदै आएको छ । यसले हालसम्म २२भन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ ।

गाजा बाहिर १ हजार ५७० आतङ्ककारी कब्जामा

गाजामा युद्ध शुरु भएदेखि यता जुडिया र सामरियाभरि लगभग १ हजार ५७० आतङ्कवादीहरूलाई कब्जा गरेको छ । तीमध्ये लगभग ९५० आतङ्कवादी सङ्गठन हमाससँग सम्बन्धित छन्।शिन बेटको निर्देशनमा सामरियाको बुर्का गाउँमा आतङ्कवादी टोलीलाई विफल पारेको बताएको छ । यसैगरी ३४ वर्षीय आतङ्कवादी मेनेसर सिफले हातमा बम लिएर भाग्ने प्रयास गर्दे गरेको बेला सेनाको आक्रमणमा मारिएका थिए ।

उनी सोही गाउँका बासिन्दा थिए जसलाई इजरायलले १७ वर्षसम्म कैद गरेको थियो ।सेनाले उनको घरको छतमा भेटिएका विस्फोटक पदार्थहरूलाई ध्वस्त पारेको थियो। सेनाले आतङ्कवादी टोलीको कब्जामा रहेका हतियारहरू पनि बरामद गरेको छ।

सेनाले हेब्रोन शहरमा अपरेसनमा क्रममा लडाकुहरूले हतियार उत्पादनका लागि प्रयोग गर्ने गरेका चारवटा मेसिनहरू पनि जफत गरेको थियो ।त्यसैगरी जेनिन शहरमा आतङ्कवाद विरुद्धको इन्जिनियरिङ अपरेशनमा आतङ्ककारीहरूले सेनालाई गोली हान्दा जवाफी फायर गर्दा एकजना आतङ्ककारी मारिएका छन्।

तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो

दमौली, २७ कात्तिक : तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ । तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन् ।

म्याग्दे गाउँपालिका–५ का सुशन पौडेल सयपत्री फूल बिक्रीका लागि बजारसम्म पुगेको जानकारी दिनुभयो । उहाँले यसै वर्षदेखि म्याग्देखोला छेउमा व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गर्नुभएको थियो ।

यहाँ उत्पादित फूल दुलेगौडा, खैरेनीटार, जामुने, थर्पुलगायतका ठाउँमा फूल बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, “सयपत्रीको माला, फूल बिक्रीका लागि बजारसम्म पुगेका छौँ । स्थानीयस्तरमा उत्पादित फूल खरिद गरेर हौसला प्रदान गर्नेमा विश्वस्त छौँ ।”

विदेशबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि आफूले यसै वर्षदेखि फूलखेती तर्फ आकर्षित भएको उहाँको भनाइ छ । उहाँले यस वर्ष चार हजार टिटी जातको फूल लगाउनुभएको थियो । तिहारअगावै फूल फुलेर ढकमक्क भएको थियो ।

उहाँले भन्नुभयो, “यो मेरो पहिलो अनुभव हो । दसैँ तिहारलगायतका चाडपर्वमा फूलको माग धेरै हुने र विदेशबाट ल्याउनुपर्ने अवस्था देखेपछि म फूलखेतीमा लागेको हुँ ।” फूलखेतीले आफूलाई उत्साहित बनाएको बताउँदै उहाँले विदेश जानुको साटो आफैँ स्वरोजगार बन्न सक्नुपर्छ भन्ने सन्देश दिन खोजेको बाउनुभयो ।

उहाँले भन्नुभयो, “हामीजस्ता युवाले स्वदेशमै फूलखेती गर्न सक्यौँ भने फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।” दसैँ, तिहार, एकादशीमा फूलको अत्यधिक माग हुने जनाउँदै उहाँले बजारको व्यवस्थापन मुख्य कुरा भएको बताउनुभयो । “फूल उत्पादन मात्रै गरेर भएन, यसको बजार व्यवस्थापन पनि हेर्नुपर्छ । फूल फुलिसकेको छ, माग पनि आउन थालेको छ”, उहाँले भन्नुभयो ।

अहिले उत्पादन भएको फूललाई चिस्यान केन्द्रमा राखेर पछिसम्म बिक्री गर्न सकिए राम्रो हुने उहाँको भनाइ छ । स्
फूलखेतीबाट सन्तुष्ट रहेको बताउँदै उहाँले भन्नुभयो, “युवाले रोजगारी पाइन भनेर विदेशिनुको साटो बरु फूलखेती गरे हुन्छ । यसमा सम्भावना छ ।” पौडेललाई फूलखेतीका लागि गाउँपालिकाले सहयोग गरेको छ । पुष्पखेती विकास कार्यक्रमअन्तर्गत पौडेललाई रु ५० हजार सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन र युवालाई प्रोत्साहन गर्न पुष्पखेती विकास कार्यक्रम सञ्चालन गरिएको हो । यसले गर्दा युवालाई स्वरोजगार बन्न प्रेरित गर्छ ।” गाउँपालिकाका अन्य वडामा पनि फूलखेती गर्न चाहे सबैलाई सहयोग गरिने उहाँको भनाइ छ ।

बन्दीपुर गाउँपालिका–५ स्थित थुम्कामा ५० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तामप्रसाद भट्ट, नेत्रप्रसाद लामिछाने, नारायण लामिछानेलगायत ६० जनाले सयपत्री फूलको खेती गर्नुभएको हो । फूल फुल्न थालेपछि एक बिरुवाबाट करिब दुई वटा माला तयार हुने पुष्प व्यवसायी भट्टकोे भनाइ छ । एक बिरुवाबाट न्यूनतम रु ५० आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले व्यावसायिक रुपमा फूल उत्पादन गरेर गत वर्ष रु एक लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यस वर्ष पनि सोहीअनुसार आम्दानी हुने उहाँको प्रारम्भिक अनुमान छ । बिरुवा रोपेको चार महिनाभित्र फूल फुल्न थाल्ने भएकाले थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । स्थानीय बजारमा मात्र नभई आवश्यक पर्ने फूल चितवनमा पनि उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

प्लाष्टिकजन्य फोहर बढेपछिराप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ

भरतपुर, २७ कात्तिक : चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहर बढेपछि सरसफाइ गरिएको छ । राप्ती नदी सरसफाइ अभियानले भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट गोलाघाटसम्मको नदी किनार क्षेत्रमा सरसफाइ गरेको हो । सरसफाइको क्रममा एक सय १२ बोरा फोहर सङ्कलन गरिएको राप्ती नदी सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नदी किनारमा बढी मात्रामा पेय पदार्थका बोतल, सिसा र प्लाष्टिकजन्य वस्तु बढी भेटिएको छ । उहाँले भन्नुभयो “दुलर्भ वन्यजन्तुको वासस्थान क्षेत्रमा जथाभावी फोहर फाल्दा उनीहरुलाई धेरै असर हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्छ ।”

राप्ती नदीको माथिल्लो क्षेत्रमा बस्ने मानिसले जथाभावी फोहर गर्दा जङ्गली जनावरलाई असर गरेको उहाँको भनाइ छ । उहाँले पवित्र राप्ती नदीको सभ्यता जोगाइ राख्न विभिन्न सङ्घ संस्थाका सहयोगमा सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । पछिल्लो समय राप्ती नदीमा मानवीय क्रियाकलापको चाप बढ्दै जाँदा दूषित भइरहेको छ । “यसलाई जोगाउन हामीले चार वर्षदेखि सरसफाइ अभियान जारी राखेका छौँ”, उहाँले भन्नुभयो, “यसलाई थप विस्तार गर्न शनिबार सबैभन्दा लामो दूरीमा पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ गरेका हौँ ।”

राप्ती नदी भरतपुर महानगरपालिकाको–२८ नम्बरस्थित गोलाघाट पुगेपछि नारायणीमा मिसिन्छ । सो कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, जनप्रतिनिधि, नेपाली सेना, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र संरक्षणकर्मीको सहभागिता रहेको थियो ।
–––

खोटाङमा आगलागी हुँदा २५ लाख बढीको क्षति

खोटाङ, २७ कात्तिक : हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत्् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उहाँको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आगलागीलाई स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीका कारण सातजनाको कटवाल परिवार विचल्लीमा परेका छन् । धितुङस्थित बुँलागैरीका अधिकांश स्थानीय बासिन्दाले घर एकअर्काको नजिक बनाएकाले आगलागीको समयमा जोखिम हुने गरेको छ ।

धितुङमा गत वर्ष एकापसमा जोडिएका घरमध्ये एउटामा सल्किएको आगोले जलेर पूर्णरुपमा नष्ट भएको थियो भने आठ वर्षअघि एउटा घरबाट सुरु भएको आगोले छवटा घर जलेर नष्ट भएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको धितुङलगायत अधिकांश वडा आगलागीको उच्च जोखिममा छन् ।

भूकम्पपीडितका लागि विपद् व्यवस्थापन कोषमा ३१ लाखभन्दा बढी रकम जम्मा

त्रिवेणी (रुकुम पश्चिम) – जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिममा रु ३१ लाख १४ हजार एक सय ४६ रकम जम्मा भएको छ ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समितिको खातामा विभिन्न संस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको हो । विभिन्न २० वटा सङ्घसंस्था तथा व्यक्तिमार्फत सहयोग रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खातामा अरु पनि रकम जम्मा भएको तर कात्तिक २३ गतेसम्मको बैंक स्टेटमेन्ट तथा नगद बैैंक भौचर, फोन पेबाट उपलब्ध भएको रकम हो । बैंक बन्द भएकाले २३ गतेदेखि पछि जम्मा भएको रकमपछि सार्वजनिक गरिने सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो । स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ ।

जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ र विपद्सम्बन्धी प्रचलित कानुन बमोजिम खर्च हुने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट २० लाखको सयपत्री फूल निर्यात

गल्याङ, २७ कात्तिक ः स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म रु २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिनुभयो ।

उहाँले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताउनुभयो । उहाँले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको रु २५ लाख बराबरको सयपत्रीका फूल निर्यात हुने दाबी गर्नुभयो ।

“फूल खेती र ड्रागन खेतीका लागि रु १० लाख बजेट विनियोजन गरेका थियौँ”, उहाँले भन्नुभयो, “फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ ।”

उहाँका अनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट रहेको बताउनुभयो । उहाँले फूलखेती हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताउनुभयो ।

कृषि शाखा प्रमुख पौडेलले जुनसुकै मौसममा पनि फुल्ने क्रमा जातको ‘हाइब्रिड’ सयपत्री फूलखेती गर्न कृषकलाई आफूहरुले सिफारिस गरेको बताउनुभयो । उहाँले सयपत्री फूल कृषकले बिक्री गर्न नसकेमा बजारीकरणका लागि पालिकाले सहयोग गरिरहेको बताउनुभयो । उहाँले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गरेको बताउनुभयो ।

नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले पालिकाले बजारको जिम्मा लिने भएपछि आफूहरु फूलखेतीतर्फ आकर्षित भएको जानकारी दिनुभयो । “गाउँ पालिकाले विगत तीन वर्षदेखि फूलखेत गर्ने कृषकलाई अनुदानसमेत उपलब्ध गराउँदै आएको छ”, उहाँले भन्नुभयो, “उत्पादिन फूल पालिकाले नै बिक्री गरिदिने भएपछि हामीहरुलाई सजिलो भएको छ ।”

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कालीगण्डकी गाउँपालिकालाई फूलैफूलको पालिका बनाउने उद्देश्यअनुरुप कृषकलाई फूल उत्पादनतर्फ उत्प्रेरित गरिरहेको बताउनुभयो । उहाँले यस वर्ष गाउँपालिकाको अनुुदानमा १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनी जमिनमा सयपत्री फूलखेती गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष थापाले कालीगण्डकीमा सयपत्री फूूलखेतीका लागि उपयुुक्त माटो, हावा र पानी भएकाले आगामी वर्ष खेतीलाई विस्तार गरिँदै लगिने दाबी गर्नुुभयो । “कालीगण्डकी पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको पालिका हो”, उहाँले भन्नुभयो, “यहाँ भएका होमस्टेलाई फूलको माध्यमबाट प्रवद्र्धन तथा विकास गर्ने, यहाँका धार्मिक तथा ऐतिहासिक महत्वका स्थल अवलोकन गराउने र आम्दानीको स्रोत बनाउने हाम्रो लक्ष्य हो ।”

अध्यक्ष थापाले पालिकावासीले गाउँपालिकाको योजनालाई साथ दिँदा आफूहरु सफल भएको दाबी समेत गर्नुभयो । उहाँले कृषकलाई ड्रागनखेती तर्फ आकर्षित गर्न पालिकाको लागानीमा ड्रागन खेती गरिएको र यसको खेती गर्न चाहने कृषकलाई पोल, बिरुवा, टायललगायतका वस्तुमा सहयोग गर्दै आएको बताउनुभयो ।

भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावित

भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावितभेरीगङ्गा (सुर्खेत) – कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन् । भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार छ सय ८७ जनामध्ये ४० हजार एक सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलबीर सुनारले बताउनुभयो ।

जाजरकोटमा ७५ हजार आठ सय ५३ विद्यार्थीमध्ये २२ हजार सात सय ५९ र रुकुमपश्चिममा ५७ हजार आठ सय ३४ विद्यार्थीमध्ये १७ हजार तीन सय ५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिनुभयो । जाजरकोटमा चार सय २३ र रुकुम पश्चिममा तीन सय १३ गरी सात सय ३६ विद्यालयमध्ये दुई सय आठ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् भने चार सय १८ विद्यालय आंशिक रूपमा क्षति भएको जनाइएको छ ।

जाजरकोटका धेरै विद्यालयमा क्षति भएको छ । जाजरकोटमा मात्रै एक सय ७३ पूर्ण रूपमा र चार सय आठ विद्यालय आंशिक रूपमा क्षति भएका छन् । त्यसैगरी रुकुमपश्चिममा ३५ पूर्ण र १० विद्यालय आंशिक रूपमा क्षति भएका छन् ।

६७ विद्यार्थीको मृत्यु
भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । जसमा सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको शिक्षा अधिकृत सुनारले जानकारी दिनुभयो ।

३६ रुकुमपश्चिम र ३५ जाजरकोटका गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको सुनारको भनाइ छ । भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुमपश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन् ।

सरकारी योजना के छ ?

प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल छ सय सिकाइ केन्द्रहरू स्थापना गर्ने योजना बनाएको छ । सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत बलवीर सुनारले तत्काल भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी सिकाइ केन्द्रहरू निर्माण गरी विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने योजना रहेको बताउनुभयो । विद्यालयमा भएको भौतिक क्षतिको लेखाजोखा गरी पुनःनिर्माणको कामलाई अगाडि बढाउने तयारी गरिएको छ ।

काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

काठमाडौँ – काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौँले जनाएको छ । भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ, इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह पनि गरेको छ ।” प्रजिअ बस्नेतले भन्नुभयो ।

उहाँले भन्नुभयो,“आवश्यक मात्रामा सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ ।” जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ ।

आज गाई पूजा, गाईको पूजाआजा गरी मनाइँदै

काठमाडौँ, २७ कात्तिक ः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

हेर्नुहोस् कार्तिक २७ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे /मेष राशि – नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

इजरायलले नयाँ नेटो सदस्य फिनल्याण्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्ने

इजरायलको रक्षा मन्त्रालयले आइतबार फिनल्याण्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीको लागि ३१७ मिलियन युरो ($ ३४० मिलियन) सम्झौताको घोषणा गरेको छ।

यसलाई “ऐतिहासिक सम्झौता” भन्दै मन्त्रालयले इजरायली र अमेरिकी कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको प्रणालीले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, विमान र ड्रोनलाई रोक्न सक्ने बताएको छ।

आँबुखैरेनीबाट सयपत्री कतार निर्यात

तनहुँ, २६ कात्तिकः जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री निर्यात भएको छ । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको हो । व्यावसायिक फूलखेती थालेसँगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले राससलाई जानकारी दिनुभयो ।

सधैँ चुल्हो र चौकामा मात्र सीमित हुने यहाँका महिला पछिल्ला समय आयआर्जनतर्फ उन्मुख भएका अध्यक्ष आलेमगरले बताउनुभयो । उत्पादनसँगै महिलाहरुलाई आयआर्जनमा जोड्न गाउँपालिका कार्यालयले फूलका बीउ अनुदानदेखि प्राविधिक सहयोगसम्म गर्दै आएको छ ।

दुवै आमा समूहले २१ रोपनी क्षेत्रफलमा लगाएको ३० हजार बोटबाट उत्पादित ८५ किलो फूल कतार निर्यात गरेका गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । प्रतिकिलो रु पाँच सय ५० का दरले फूल निर्यात गरिएको हो ।

दोहाको रिजेन्सी मार्केटस्थित सुदान फ्लावरले नेपालबाट फूल लगेको त्यसका सञ्चालक कविन्द्र कँडेलले राससलाई बताउनुभयो ।

चाडपर्वमा शान्तिसुरक्षामा असर पुग्ने गतिविधि नगर्नू

सुदूरपश्चिम, २६ कात्तिक : जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउँदा समाजको संस्कृति, परम्परा, मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न÷नगराउन आग्रह गरेको छ ।

सो कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा चाडपर्व मनाउँदा पटाका, अतसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न÷नगराउन, मादक पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झैझगडा गरी शान्तिसुरक्षालाई असर पार्ने गतिविधि नगर्न र देउसी, भैलो राति ९बजेसम्म मात्र खेल्न तथा यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गतिविधि नगर्न÷नगराउनसमेत आग्रह गरिएको छ ।

चोरी सिकारीको आरोपमा चारजना पक्राउ

बर्दिया, २६ कात्तिक : बर्दिया राष्ट्रिय निकुञ्जले चारजना चोरी सिकारीलाई हातहतियारसहित पक्राउ गरेको छ ।

बर्दिया निकुञ्जमा सुरक्षार्थ नेपाली सेना देवीदत्त गणको गस्ती टोलीले दुई थान भरुवा बन्दुक, ४० किलोभन्दा बढी जरायोजस्तो देखिने मासुको सुकुटी, दुइटा जरायोको सिङलगायत अन्य अखेटोपहरासहित गोप्य सूचनाका आधारमा घरमै गई आज चारजनालाई पक्राउ गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ पर्नेमा सुर्खेत जिल्ला बराहताल गाउँपालिका–१ तेलपानीका ६६ वर्षीय गगन वली, सोही पालिका–१ तेलपानीका ४३ वर्षीय यमबहादुर वली, सोही ठाउँका ३८ वर्षीय चन्द्रबहादुर वली र सोही ठाउँकै ३८ वर्षीय दिलबहादुर वली रहेको निकुञ्जका संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिनुभयो । उनीहरुलाई आइतबार सार्वजनिक गर्दै वन्यजन्तु ऐनअन्तर्गत कारबाही चलाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सामूहिक भाइटीका गर्दै पोखरा महानगर

लेखनाथ, २६ कात्तिक : तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ ।पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयामा पर्ने भाइटीका दिन सामूहिक भाइटीका कार्यक्रम राखिएको हो । पोखरा महानगरपालिका र गीता मन्दिर व्यवस्थापन समितिको संयोजनमा सामूहिक भाइटीका कार्यक्रम राखिएको जानकारी सामूहिक भाइटीका कार्यक्रमका संयोजक एवं पोखरा महानगरपालिका कार्यालयका अधिकृत लोकदर्शन कोइरालाले दिनुभयो ।

पोखराकै लब्धप्रतिष्ठित दिदीबहिनीको हातबाट आफ्ना दिदीबहिनी नभएका दाजुभाइ तथा घर टाढा भएर वा व्यस्तताका कारण आफ्नो घर जान नसक्ने दाजुभाइहरु सामूहिक भाइटीकामा सहभागी हुन सक्ने संयोजक कोइरालाले बताउनुभयो ।

भाइटीकाका दिन बिहान १०ः५१ देखि दिउँसो २ बजेसम्म सामूहिक भाइटीका कार्यक्रम रहने कोइरालाले बताउनुभयो । सामूहिक भाइटीकामा हालसम्म ४० जना दाजुभाइले नाम टिपाइसक्नुभएको छ, संयोजक कोइरालाले भन्नुभयो, “पोखरा महानगरपालिकाले पहिलोपटक यसरी सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको हो ।”

“एक सयजनाको सङ्ख्यामा दाजुभाइ सामूहिक भाइटीकामा सहभागी हुने अपेक्षा गरेका छौँ,” कोइरालाले भन्नुभयो, “गीता मन्दिरमा सामूहिक भाइटीकाको तयारी गरिसकिएको छ । यम पञ्चकको पाँचौँ दिन भाइटीका मनाउने गरिन्छ, दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो दिनको महत्वलाई बुझाउन विभिन्न किसिमका पौराणिक किंवदन्ती एवं ऐतिहासिक कथा सुन्ने गरिएको छ ।”

एउटा पौराणिक कथाअनुसार परापूर्वकालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको कथा चर्चित छ । यस दिन यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छाअनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए । सोही समयदेखि यो पर्व मनाउन थालियो । यस्तै किंवदन्तीका अनुसार कात्तिक शुक्ल द्वितीया विशेष कारणले महत्वपूर्ण छ ।

‘एउटा युद्धका लागि अर्को युद्ध’ : युक्रेनी शरणार्थीहरू इजराइलबाट फर्किए

गत वर्ष रुसी आक्रमणपछि तेतियाना कोचेभाले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा आफ्नो घर छोडेर गाजा नजिकैको इजराइली तटीय सहर अश्कलोनमा शरण लिएकी थिइन् । उनका पतिले विगतमा इजराइलमा काम गरेका थिए । आफ्ना तीन छोराछोरीलाई रुसी आक्रमणबाट टाढा राख्नका लागि अश्कलोन लैजाँदा शान्तिसँग बाँच्न सकिने ग्यारेन्टी हुन्छ भन्ने उनले सोचेकी थिइन् । तर त्यसपछि अक्टोबर ७ आयो जुन दिन हमासले इजराइमाथि हमला गर्यो । इजराइल र हमासबीचको युद्धमा हजारौँ मानिस मारिए ।

हजारौँ अन्य युक्रेनी शरणार्थीको जस्तै ३९ वर्षीया कोचेभा पनि दोस्रोपटक युद्धबाट भागिन् । उनले भनिन्, “यदि म मारिएँ भने कम्तीमा पनि मेरो जन्मभूमिमा हो ।” सन् २०२२ फेब्र्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्दा कोचेभाले खार्किभमा बेसमेन्टमा लुकेर १० दिन बिताइन् । खार्किभ झन्डै रुसी सेनाको हातमा परेको थियो ।

`4रुसी आक्रमणको पाँच महिनापछि उनको परिवार इजराइल प्रस्थान गर्यो । उनीहरूले गाजाबाट करिब १० किलोमिटर टाढा अश्कलोनमा नयाँ जीवन सुरु गरे । करिब एक हजार दुई सयको ज्यान जाने गरी हमासले गरेको अचानक आक्रमणपछि उनले अश्कलोन छोड्नुपर्छ भन्ने महसुस गरिन् । उनले भनिन्, “मेरो हात काँप्न थाल्यो र मेरो मुलुकमा युद्ध सुरु हुँदा भएको जस्तो अनुभूति मलाई भयो ।”

त्यसपछि इजराइलले गाजापट्टीमा सैन्य कारवाही सुरु गर्यो । प्यालेस्टिनी लडाकू समूह हमासका अनुसार इजराइली कारवाहीमा अहिलेसम्म ११ हजारभन्दा बढी मानिस मारिएका छन् ।

कोचेभा अनन्त साइरन र विस्फोटहरू सम्झिँदै फेरि आश्रयस्थलमा सुतिन् । त्यसपछि उनले त्यहाँबाट भाग्नुपर्छ भन्ने निर्णय गरिन् । “जब साइरन र विस्फोटका घटना तीव्र हुन् थाल्यो, म आत्तिएँ”, उनले भनिन्, “म डराएँ, मलाई घर आउनुपर्छ भन्ने महसुस भयो ।”

परिवारलाई मध्य इजराइलमा सारिएको थियो । खार्किभ जानुअघि धेरै दिन उनीहरू त्यहाँ बसे । युक्रेनको नियन्त्रणमा रहे पनि खार्किभमा युद्ध अझै पनि जीवनको एउटा विशेषता हो । रुसी आक्रमणबाट उक्त सहर अझै प्रभावित हुन्छ । साइरन अहिले पनि जीवनको नियमित हिस्सा भएको छ ।

तर कोचेभाका लागि खार्किभ फर्किनु राहतको कुरा थियो । “म यहाँ हिँड्छु, यो मेरा जन्मभूमि हो, मेरो झन्डा हो, यसलाई कसरी व्यक्त गरौँ मलाई थाहा छैन, म खुशी छु”, उनले भनिन् । हमासको आक्रमपछि करिब चार हजार युक्रेनीले इजराइल छोडेको किएभले बताएको छ ।

राजधानी किएभमा अन्ना ल्यास्को र उनकी आठ वर्षीया छोरी पनि इजराइलबाट फर्किएका छन् । उनीहरू गत मार्चमा रुसको आक्रमणको पहिलो सातामा इजराइल भागेका थिए । “हामी किएभका ती इलाकाको नजिकै बसिरहेका थियौँ जुन रुसी सेनाको सुरुको आक्रमणमा परेको थियो, हामी बिजुली, पानी र सञ्चारबिना बसिरहेका थियौँ”, २८ वर्षीया ल्यास्काले भनिन्, “मेरी छोरी धेरै डराइन् र मैले छोड्ने निर्णय गरेँ ।”उनले छोरीलाई इजराइल लैजाने निर्णय गरिन् जहाँ उनका आफन्त थिए । तर गत महिना इजराइलमा द्वन्द्व सुरु भएपछि उनलाई रुसले युक्रेनमा आक्रमण गरेको दिन स्मरण भयो ।

“मेरो पहिलो भावना युक्रेनमा फेब्रअरी २४ (२०२२) मा जस्तै थियो”, उनले भनिन्, “कसैले मलाई बिहान फोन गरेर भन्यो, ‘अन्ना युद्ध सुरु भएको छ’, यो मैले युक्रेनमा महसुस गरेको जस्तै थियो, मेरी छोरीको आँखामा डर थियो र उनले बस्न सकिन्न भन्ने बुझिन् ।”

उनीहरू युक्रेनी दूतावासको सहयोगमा एक सातापछि तेल अविवबाट बाहिर निस्किए । उनकी छोरी किएभ पार्कमा झरेका पातहरूमा खेल्दै गर्दा ल्यास्कोले आफूहरू घरमा खुशी भएको र परिवारसँग पुनर्मिलन भएको बताइन् ।

किएभमा निप्रा नदीको विपरित किनारमा आफ्नो कार्यालयमा बसेकी आक्साना सोकोलोभ्सकाले रुसको आक्रमणबाट भाग्दा इजराइल ‘विश्वको सबैभन्दा सुरक्षित देश’ होला भन्ने आफूले सोचेको बताइन् । सन्तान भएका महिलाजस्तै ३९ वर्षीया सोकोलोभ्स्काले पनि गत वर्ष युद्धको सुरुआतमा आफ्ना तीन छोराछोरीसँगै युक्रेन छोडेकी थिइन् ।

“मलाई उनीहरूको जीवन जोखिममा पार्ने कुनै अधिकार थिएन”, उनले भनिन् । हिब्रु बोल्ने भएकाले उनले इजराइललाई आफ्नो गन्तव्य रोजिन् र उनीहरू तेल अविव नजिकैको रिसोन लेत्सियनमा बस्न थाले । तर उनले पनि अक्टोबर ७ पछि आफ्ना छोराछोरीसँगै एउटा आश्रयस्थलमा बिताइन् । “ठूलो मात्रामा बमबारी सुरु भयो”, उनले भनिन् ।

फेरि तुरुन्तै उनले इजराइल छोड्ने निर्णय गरिन् । “एउटा युद्धका लागि अर्को युद्धलाई छोड्न कठिन हुन्छ”, उनले एएफपीलाई भनिन् । यद्यपि फेरि पनि साकोलोभ्स्का घर आएर खुशी थिइन् । रुसी आक्रमणको करिब दुई वर्षपछि उनले भनिन्, “अहिले किएभमा इजराइलको तुलनामा स्थिति शान्त छ, यही एकमात्र कारणले म घर फर्किएँ ।”