`

एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

पाकिस्तानबाट शनिबार एकै दिनमा ६,००० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् । शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार पाकिस्तानमा वर्षौंदेखि बस्दै आएका १ हजार ५१ परिवारका ६ हजार १ जना अफगानीहरू शनिबार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै स्वदेश फर्किएका छन् ।

पाकिस्तानमा बसोबास गर्ने गैरकानुनी शरणार्थीहरूलाई निर्वासित गर्ने इस्लामावादको निर्णयपछि दुई लाखभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि अफगानिस्तान फर्किएका छन्।
पाकिस्तानमा २५ लाखभन्दा बढी अफगान शरणार्थी बसोबास गर्दै आएको बताइएको छ । अफगान कार्यवाहक प्रशासनले हिउँद अघि फर्केकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधाहरू उपलब्ध गराउने बताउँदै आएको छ ।

फजुल खर्च रोक्नुपर्नेमा महामन्त्री थापाको जोड

काठमाडौँ, २६ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गर्नुभएको छ ।

सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाउन भएको छ ।

आज प्रधानमन्त्रीसँग भएको भेटमा महामन्त्री थापाले फजुल खर्च रोकेर भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न आग्रह गर्नुभएको महामन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।

महामन्त्री थापाले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि छुट्याइएको रु आठ अर्ब २५ करोड पुनर्निर्माण कोषमा जम्मा गर्न अनुरोध गर्नुभएको थियो । भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार

कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहारकाठमाडौँ, २६ कात्तिक : यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । आज साँझ दीपावली गरिँदै छ ।नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शनिबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन शनिबार सन्देशवाहकका रुपमा काग तिहार र धन्वन्तरी जयन्ती मनाइएको थियो । आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो । त्यसै साँझदेखि यम दीपदान पनि सुरु भएको छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ । भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० ः ५१ बजे उत्तम रहेको समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

गरियो नरक चतुर्दशी स्नान

प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान सूर्योदयअघि नदी, तलाउ वा धारामा स्नान गरी नरक चतुर्दशी पर्व आज बिहान मनाइएको छ । स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाइयो । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्छ । बिहान सूर्योदयअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाइएको हो ।

यो वर्ष कात्तिक २५ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको हो । पहिलो दिन शनिबार काग तिहार र धन्वन्तरी जयन्ती मनाइएको थियो । दोस्रो दिन आज नरक स्नान गरी कुकुरको पूजा गरी मीठो खान दिएर मनाइएको हो । तिहार बडादसैँपछि दोस्रो ठूलो चाड हो । यसलाई उज्यालोको चाड पनि भनिन्छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा भूकम्पपीडितलाई १० लाखका राहत सामग्री प्रदान

काठमाडौँ, २६ कात्तिक : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु १० लाख बराबरका राहत सामग्री प्रदान गरेको छ ।

कम्पनीका कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारीले नलगाड नगरपालिका र जाजरकोटका प्रमुखलाई दुई सय थान, भेरी नगरपालिकाका प्रमुखलाई दुई सय थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिमअन्तर्गत १४ नं वडाका अध्यक्षलाई तीन सय थान कम्बल हस्तान्तरण गर्नुभएको हो । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ती कम्बल प्रदान गरेको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा एनआरएनएको स्वास्थ्य शिविर

काठमाडौँ, २६ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए–बद्री केसी समूह)ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका एनआरएनएले जनाएको छ ।

शिविरमा भूकम्पपीडितलाई हुनसक्ने सम्भावित रोगबाट बच्नका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधि वितरण र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिइएको थियो । सो शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली काठमाडौँदेखि जाजरकोट पुगेको थियो ।

स्वास्थ्य शिविरमा आएका भूकम्पपीडितमा प्रमुखरुपमा श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायतका समस्या देखिएका थिए । यसअघि समितिले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै ‘स्वास्थ्य सेवा हटलाइन’ सञ्चालनमा ल्याएको थियो । 

समितिले भूकम्पपीडितलाई समयमा राहत, उद्धार तथा स्वास्थ्योपचार गर्न नसके चिसो बढ्दै गएकाले निमोनिया, रुघाखोकीको जोखिम रहेको जनाएको छ । शिविरमा खटिएका स्वास्थ्य विज्ञले सो क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला बढी जोखिममा रहेका जनाएका छन् । भूकम्पले घर भत्काउँदाको त्रास, बढ्दै गएको चिसोलगायत कारणले गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका हुन् । भूकम्प प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र उनीहरुको उद्धारका लागि सहजीकरण गर्न आवश्यक रहेको सङ्घले जनाएको छ ।

भैरव बहान गुल्ममा मनाइयो कुकुर तिहार

काठमाडौँ, २६ कात्तिक- यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ । परम्परागतरुपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको बहानका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ । हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ ।

कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ । आज घरघरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ । यसैबीच नेपाली सेनाको भक्तपुरको सानोठिमीस्थित भैरव बहान गुल्ममा आज ७२ वटा कुकुरलाई एकसाथ पूजा गरिएको छ ।

सो अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गराइयो । नेपाली सेनाका सहायक रथी विष्णु खड्काको उपस्थितिमा भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

गुल्मपति सेनानी गणेश अधिकारीले उक्त गुल्मभित्र सेनाको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमपूर्व त्यहाँ हुनसक्ने सम्भावित दुर्घटनाबारे सूचना सङ्कलनका लागि कुकुरहरुको परिचालन, विभिन्न घटनामाथि त्यहाँ रहेका तालिमप्राप्त कुकुरहरुको प्रयोगबाट हुने अनुसन्धानको विधि र प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो । सो गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा समेत कुकुर प्रयोग गर्दै आएको छ ।

हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरहरुको पनि आज सामूहिकरुपमा पूजा गरी मिठो खाना खुवाइएको थियो ।

गोल्डस्टार जुत्ता कम्पनीद्धारा भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

काठमाडौँ, २६ कात्तिक : गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । कम्पनीले पीडितहरुका लागि रू ३५ लाख ६८ हजार एक सय ५० बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो ।

यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने

काठमाडौँ, २६ कात्तिक : यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।

जाजरकोट भूकम्प : दुई जिल्लामा ३९ प्रहरी कार्यालयमा क्षति

त्रिवेणी (रुकुमपश्चिम), २६ कात्तिक : यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको हो ।

जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन आंशिक क्षति हुँदा चार भवन भने पूर्णरुपमा ध्वस्त भएका जिल्ला प्रहरी कार्यालयका जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन, चुनेचाँदे गाउँपालिका–९ मा रहेको इलाका प्रहरी कार्यालय पञ्चलादह, भेरी नगरपालिक–३ मा रहेको जिल्ला अदालत समन्वय सुरक्षा इकाइ कार्यालय र सोही ठाउँकै अस्थायी प्रहरी चौकी पूर्णरुपमा क्षति भएका हुन् । 

जिल्लामा भूकम्पले आंशिक क्षति पुर्‍याइएका २९ प्रहरी भवनमध्ये चार वटा कम जोखिम भएकाले सोही भवनबाट सेवा सञ्चालन भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभयो । अन्य जोखिम रहेका ठाउँमा त्रिपालबाट सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै रुकुमपश्चिममा १० वटा प्रहरी कार्यालयमा क्षति हुँदा पाँच भवन पूर्णरुपमा ध्वस्त भएका छन् भने पाँच वटामा आंशिक क्षति पुुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको पुरानो भवन बस्न नमिल्ने गरी क्षति भएको छ । 

प्रहरीचौकी पूर्तिमकाँडा, प्रहरीचौकी सोलावाङ, प्रहरीचौकी सिम्ली र इलाका प्रहरी कार्यालय आठबिसकोटका भवन पूर्णरुपमा भूकम्पले क्षति पु¥याएको छ । सिम्लीको प्रहरीचौकी अरुको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट इलाका प्रहरी कार्यालयले त्रिपालबाट सेवा दिइरहेको प्रनाउ भट्टराईले जानकारी दिनुभयो । बाँकी अस्थायी प्रहरीचौकी साँख, स्यालाखदी, पीपल, भुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

जुवातास खेलिरहेको अवस्थामा महिला पुरुषसहित १६ जना पक्राउ

काठमाडौँ, २६ कात्तिक : ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट रु एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ ।

यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ ।उनीहरुबाट रु ३४ हजार एक सय ४० बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । समाचारकक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ ।नेपालगञ्ज र बुटवलबाट काठमाडौँ आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो ।

काठमाडौँको सडकका गाईबाच्छा काञ्जी हाउसमा

काठमाडौँ, २६ कात्तिक : काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दिपावलीको पूर्वसन्ध्यामा दक्षिणकालीमा काञ्जी हाउस सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको सो कार्यको ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले खुसी व्यक्त गरेको छ ।

‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्र बनाउन देशभरका हरेक पालिकामा सुविधा सम्पन्न काञ्जी हाउस स्थापना तथा सडकमा गाईवस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि कानुनी वकालत गर्दै आएको छ । सडकमा अलपत्र असहाय गाईबाच्छालाई संराक्षणको आग्रह गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले आज विज्ञप्ति जारी गर्दै त्यसरी सडकमा गाईबाच्छा छाड्दा उनीहरुलाई रोग लाग्ने भएकाले काञ्जी हाउसमा लगेर राख्न गर्नुभयो । गाईबाच्छाको स्वास्थ्य परीक्षण गर्न तथा रोगी पाइएमा क्वारेन्टिनमा राख्नसमेत उहाँले आग्रह गर्नुभयो ।

अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छाको उद्धार गरी कागेश्वरी मनहरा नगरापलिको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ । उद्धार गरेर ल्याइने गाईबाच्छाको आफूहरुले संरक्षण गर्ने अध्यक्ष पुडासैनीले बताउनुभयो ।

स्वास्थमन्त्री बस्नेतद्वारा १५ शय्याको नगर अस्पताल शिलान्यास

काठमाडाैँ, २६ कात्तिक : स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल भवन शिलान्यास गर्नुभएको छ ।

नगरपालिकामा आज आयोजित शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले शिलान्यास भएको अस्पतालका लागि आवश्यक जनशक्ति र एक्सरे तथा प्राविधिक सामग्री उपलब्ध गराउने बाताउनुभयो । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निःशुल्क उपचार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।मन्त्री बस्नेतले सरकारी अस्पतालको दश प्रतिशत शय्या निःशुल्क बनाइएको जानकारी दिँदै छ महिनाभित्र नेपालका सबै सरकारी अस्पतालमा स्वास्थ्यकर्मचारीको अभाव अन्त्य गरिने बताउनुभयो ।नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबाले शिलान्यास भवन एक वर्षभित्र तयार गरी सेवा दिन थाल्ने बताउनुभयो । कान्छो नगरपालिका भएर पनि आफ्नो स्वास्थ्य भवन निर्माण गर्न थालेकामा सबै स्थानीयवासीका लागि खुसीको कुरा भएको बताउनुभयो ।नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले अस्पतालको लागि दक्ष डाक्टर र उपचारमा आवश्यक सामग्री उपलब्ध गराउन सङ्घीय सरकारलाई अनुरोध गर्नुभयो । उहाँले उपलब्ध बजेट रु २३ करोड भएको भए पनि रु २२ करोड ८६ लाखमा भवन बनाउन ठेक्का दिइएको बताउनुभएको थियो ।मन्त्री बस्नेतले आजै नव निर्मित चण्डेनी स्वास्थचौकी भवन उद्घाटनसमेत गर्नुभएको थियो ।—

भूकम्प प्रभावितलाई स्याङ्जाका तीन पालिकाद्वारा १२ लाख बढी सहयोग

वालिङ (स्याङ्जा) २६ कात्तिक : जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित बनेकाको सहयोगका लागि स्याङ्जाका तीन नगरपालिकाले झण्डै रु १३ लाख सहयोग गरेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै स्याङ्जाका गल्याङ, भीरकोट नगरपालिका र फेदीखोला गाउँपालिकाले रु १२ लाख ७७ हजार तीन सय ५५ उपलब्ध गराएका हुन् ।

स्याङ्जाको गल्याङ नगरपालिकाले रु चार लाख, भीरकोट नगरपालिकाले रु तीन लाख र फेदीखोला गाउँपालिकाले रु पाँच लाख ७७ हजार तीन सय ५५ सहयोग गरेका हुन् । गल्याङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीबाट रु दुई लाख र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख गरी कूल रु चार लाख उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो ।

“जनप्रतिनिधि एक दिनको सेवा सुविधा र कर्मचारीको एक दिनको तलबबाट रकम सङ्कलन गरिएको छ”, उहाँले भन्नुभयो, “उक्त रकमलाई नेपाल सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मा गरेका छौँ ।” भीरकोट नगर कार्यपालिकाको १०६औँ बैठकले पनि भूकम्प प्रभावितको सहयोगका लागि रु तीन लाख उपलब्ध गराएको छ । नगर कार्यपालिकाको बैठकले रु तीन लाख प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरे बमोजिम सहयोग गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।

नगरपालिकाले भूकम्पका कारण क्षति पुगेका घरमा बस्न सक्ने अवस्था नभएको र जाडोको मौसम भएकाले राहतस्वरुप फाईबर सिरकहरुसमेत पठाएको छ । फेदीखोला गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारीको तलबबाट रु पाँच लाख ७७ हजार तीन सय ५५ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

अध्यक्ष सुवेदीका अनुसार गाउँपालिकाका जनप्रतिनिधिको मासिक सेवा सुविधाबाट ५० प्रतिशत हुन आउने रु दुई लाख ४१ हजार सात सय ५०, गाउँपालिकाका स्थायी, करार, ज्यालादारी कर्मचारीको एक दिनको तलबबाट रु एक लाख पाँच हजार तीन सय ३२ र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, बाल शिक्षक, विद्यालय कर्मचारी, आईटी शिक्षकको एक दिनको तलब रु दुई लाख ३० हजार दुई सय ७३ सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको हो ।जिल्लाबाट विभिन्न सङ्घ संस्था तथा व्यक्तिले भूकम्प प्रभावितका लागि आर्थिक तथा जिन्सी सहयोग गर्ने क्रम जारी रहेको छ ।

एकै स्थानबाट एउटै मूल्यमा सयपत्री फूल बिक्री

कास्की, २६ कात्तिक : दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।

तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । पोखरा महानगरले तिहारका लागि आवश्यक फूल स्थानीय उत्पादनले धान्ने र बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहेको महानगरले जनाएको छ । महानगर फूलमा आत्मनिर्भर बनेको महानगरको दाबी छ ।मेलामा स्थानीय किसानसँगको साझेदारीमा उत्पादित सत्रपत्री फूल बिक्रीमा राखिएको महानगर आर्थिक तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । प्रमुख कडरियाले यस वर्ष तिहारका लागि बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था छैन ।“स्थानीय किसानसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ”, उहाँले भन्नुभयो, “यसपालिको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।”महानगरपालिकाले सयपत्री फूलको मूल्यसमेत तोकेको छ । आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय किसानको समन्वयमा फूलको मूल्य तोएिको हो । दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई रु पाँच, १० देखि १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य रु चार र पाँचदेखि १० ग्रामको रु दुई तोकिएको छ । यस्तै मालाको क्रमशः रु दुई सय, एक सय ८० र रु एक सय ५० तोकिएको छ । यसैगरी प्रतिकेजी रु चार सय सयपत्री फूलको मूल्य तोकिएको छ ।यसैगरी महानगरले रैथाने हाटबजारसमेत आजदेखि शुभारम्भ गरेको छ । हाटबजारमा स्थानीय उत्पादनका १० बढी प्रदर्शनी कक्ष रहेका छन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।यस्तै पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान (सई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषि उपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकार (सेलरोटी, झिलिङ्गा, चिनीरोटी), स्थानीयस्तरमा उत्पादित खाद्यवस्तु कोदो, मकै, गहुँ, फापरलगायत तरकारीजन्य वस्तु पनि बिक्रीका लागि राखिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।–––

म साहित्य लेख्न सक्छु भनेर विश्वास दिलाउनै १५ वर्ष लाग्योः वसन्त चौधरी

काठमाडौँ, २६ कात्तिक : ‘व्यापारी पनि कवि हुन्छ र ? उसले पनि गीत लेख्न सक्छ र ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन्छ । पैसा छँदैछ, पुस्तक त छपाएर बजारमा ल्याए भैगो नि !’

सुरु–सुरुमा वसन्त चौधरीका सिर्जना बजारमा आउँदा कतिपयले यस्तै प्रतिक्रिया दिन्थे रे । उहाँले सुनाउनुभयो, “नेपाली दाजुभाइमा यस्तोसम्म सोच पाएँ । बडो अचम्म लाग्थ्यो । खिन्न हुन्थेँ, बिचलित भइनँ । तर बजारले कुरा काटिरह्यो, मैले मेरो कर्म छोडिन, गरिरहेँ”, व्यवसायी वसन्त चौधरीले आफ्नो साहित्य यात्राका सुरुआती दिनको स्मरण गर्दै भन्नुभयो, “म लेख्न सक्छु, म पनि साहित्य सिर्जना गर्न सक्छु भनेर नेपाली साहित्य आकाशमा विश्वास दिलाउन मलाई धेरै सङ्घर्ष गर्नुपर्यो ।”

हुन पनि हो । कुनै व्यक्तिको व्यवसाय या पेसा हेरेर उप्रतिको धारणा बनाउने मानिस समाजमा अहिले पनि प्रशस्त भेटिन्छन् । सबैसँग भावना, सिर्जना हुन्छ र सबै मानिसले सबै प्रकारको सम्भावना बोकेको हुन्छ भनेर नसोच्ने प्रवृत्तिले चित्त दुखाएको अनुभव महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर रासससँग गरिएको साहित्य संवादमा चौधरीले सुनाउनुभयो ।

व्यापारिक घरानाको व्यक्ति साहित्यमा कसरी आकर्षित हुनुभयो ? स्कुल पढ्दैदेखि कविता, गीत लेख्न मन पराउने उहाँको साहित्यिक यात्रा त्यस्तै ३० को दशकबाट सुरु भएको हो । “त्यस्तै २०२८/२९ सालमा मैले अध्ययन गरिरहेको विद्यालयको अभिभावक दिवसमा एउटा कविता लेखेको सम्झन्छु । पछि फुटकर कविता लेख्थेँ तर सक्रिय थिइनँ । त्यस्तै ३०/३१ को उमेरदेखि किन–किन मलाई आफूभित्रै एक किसिमको उकुसमुकुस हुन थाल्यो । मलाई लाग्यो मभित्र केही छ, त्यो गुम्सिएर रहेको छ र त्यसलाई बाहिर निकाल्नुपर्छ । मेरो एक मनले त्यो छट्पटाहट महसुस गर्दथ्यो र मभित्रको अर्काे मनले त्यसलाई अभिव्यक्त गर्नुपर्छ, बाहिर निकाल्नुपर्छ भनेर सुझाउँथ्यो”, चौधरी भन्नुहुन्छ । उहाँभित्रका यी दुई मनको द्वन्द्वपछि उहाँको हृदयभित्रको त्यो उकुसमुकुस गीत बनेर जन्मियो । यसरी गीतबाट सुरु भयो उहाँको साहित्यिक यात्रा ।

तर गीत बाहिर भने आएनन् । डायरीमा लेख्ने, थन्काउने गर्नुभयो । “म डायरीमा लेखेर राख्थेँ । नेपालको फराकिलो साहित्यिक आकाशमा मेरा रचना कस्ता हुने हुन्, मानिसले कसरी लिने हुन् भन्ने लाग्थ्यो । दीपक जङ्गम, दीपक खरेल, शम्भुजीत बाँस्कोटासँग गीत–सङ्गीतका कुरा हुन्थे, हामी समय–समयमा भेट्थ्यौँ । एक दिन दीपक जङ्गमले मेरो डायरी पल्टाएर हेर्नुभयो । केही गीत, कविता पढेपछि उहाँले ‘यस्तो साहित्यलाई लुकाएर राख्नु भनेको साहित्यकै अन्याय हो’, भन्नुभयो । उहाँले डायरीका केही गीत छान्नुभयो र कम्पोज गर्छु भनेर लानुभयो । ‘माया बल्झेछ’ भन्ने एल्बम नै निस्कियो । त्यसैमध्येको एउटा गीत ‘गरुँ कि मीठो भुल’ धेरै चर्चित भयो । तर गीतकार म भन्ने धेरैलाई थाहा भएन । त्यो गीतको ‘रेस्पोन्स’ले मलाई यस क्षेत्रमा कलम चलाउन आत्मबल दियो । पछि म्युजिक भिडियोमा आएपछि गीत बढी चर्चित भयो । त्यसपछि मात्र मानिसहरूले मलाई चिन्न थाले”, उहाँले सुनाउनुभयो ।

आफ्नो एउटा गीत सुनाउनुभयोः
अनुहारको हाँसोदेखि खुसी ठान्नेहरू
बाहिरी ओठ मुस्कुराउँदा सञ्चो मान्नेहरू
हृदयमा चिहाइ हेर कति आगो बल्छ
हालचाल छाप मेरा खबर लेख्नेहरू ।

यो त्यस्तै २०४८ सालतिर लेखेको गीत हो । गीतका शब्द हेर्दा त्यही सुरुकै उकुसमुकुसको समयको जस्तो लाग्छ र उहाँको मनभित्रको बाँध फुटाउन खोजेको सन्देश दिन्छ । आफ्नो मनको छट्पटी मिडियामार्फत संसारमै फैलियोस् भन्ने याचनासमेत छ गीतमा । हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै गीतले आग्रह गरेको छ । पछि यो गीत रेकर्ड पनि भयो, दीपक जङ्गमले सङ्गीत भरेर दीपक खरेलले गाउनुभयो ।

चौधरी भन्नुहुन्छ, “त्यसपछि पहिलो कविता सङ्ग्रह निकालेँ छोरीको नाममा ‘मेघा’ । त्यसबेला पनि केहीले ‘पैसा छ देखायो होला’ सम्म भने । पछि जब द्वन्द्वकालमा ‘शान्ति लुकाउँ कहाँ’ भन्ने गीतले प्रसिद्धि पायो त्यसपछि बल्ल मानिसहरूले यसको कलम बलियो रहेछ भन्न थालेका हुन् ।”

मानिसले अँगालेको पेसा हेरेर मात्र उसको मूल्याङ्कन गर्न नहुने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “मैले आफूलाई साहित्यकर्मीका रूपमा चिनाउन, उभ्याउन र विश्वास दिलाउन मात्र कम्तीमा १५ वर्ष लाग्यो । मैले मसँग सिर्जना छ, लेख्न सक्छु भनेर यसरी पनि पुष्टि गर्नुपर्यो । त्यसैले मेरो विनम्र अनुरोध यो छ कि मानिसले अँगालेको पेसा हेरेर मात्र मूल्याङ्कन नगरौँ । कसैकाप्रति सोच्नुपर्दा सुरुमै नकारात्मक नबनौँ, नसोचौँ । सबैसँग सबै प्रकारको सम्भावना र क्षमता छ भनेर सम्मान गरौँ ।”

समय व्यवस्थापन

सबैलाई एक दिनमा उही २४ घण्टा नै हो । धनी, गरिब, साना–ठूलालाई समय धेरै र थोरै हुँदैन । त्यही २४ घण्टालाई कतिले यसरी व्यवस्थापन गर्छन् कि उनीहरू आफ्नो नियमित पेसाका साथै अर्काे क्षेत्रमा पनि चम्केका हुन्छन् । समय व्यवस्थापनको कुरा गर्दा एकपटक वरिष्ठ चिकित्सक भोला रिजालले भन्नुभएको थियो, “प्रायः पत्रकारले मलाई सोध्ने पहिलो प्रश्न यही हुन्छ, आखिर मसँग पनि उही दिनमा २४ घण्टा न हो ।”

नसोधुन् पनि किन ? उहाँसँग स्वास्थ्य जाँच गराउन कहिले त बिरामीले महिनौँ कुर्नुपर्छ । प्रायः दिनभर बिरामीकै सेवा भेटिने उहाँका चलचित्र मात्र छैनन्, नेपाली लोकगीतदेखि लिएर मुक्तिनाथ भजनमालाका शृङ्खला पनि छन् । समय निकालेर पुस्तक पनि लेख्नुहुन्छ । यसकारण पनि समय व्यवस्थापनको उहाँको कला अरुले जान्न, सिक्न खोज्नु स्वाभाविकै हो ।

साहित्यकार चौधरीको अनुभव छ, “समय व्यवस्थापनको कुरा गर्दा आफू ‘सोसियलाइज’ छैन भन्दा हुन्छ । किनभने म पाटी, भोज आदिमा अति आवश्यक र उपस्थित भइदिनैपर्नेबाहेक जान्न । बिहान म चाँडै उठ्छु र लेखपढको काम प्रायः बिहानै गर्ने गर्दछु । बिहानको समय मलाई ‘फ्रेस’ लाग्छ । तर पनि साहित्य लेख्न यही नै समय हो भन्ने छैन । ‘मुड’ आयो भने कार्यालय बसिरहेका बेला पनि लेख्छु । पहिले त लेख्न कलम कागज नै चाहिन्थ्यो । तर अहिले प्रविधिले पनि लेखपढको कामलाई सहज बनाइदिएको छ । केही कुरा मनमा फुर्यो भने राति सुतेका बेला, यात्रामा या बिहान जुनै बेला पनि हातको मोबाइलमा नोट गर्छु । नोटमा ‘थिम’ सङ्कलन गर्न सक्यो भने पछि फुर्सदमा मिलाएर लेख्छु ।”

साहित्य कि व्यापार ?

हामीले सोध्यौँ– यहाँ त ठूलो व्यापारिक घरानाको व्यक्ति । साहित्यमा किन लाग्नुभयो ? कसरी समय निकाल्नुभयो ? सायद यो उहाँको अपेक्षित प्रश्न थियो धेरै पत्रकारबाट आउने ।

“कर्म क्षेत्र त मेरो व्यापार नै थियो, मैले लाग्नुपर्ने पनि यसमै थियो, लागेँ । किनभने मसँग योबाहेक अरु के गर्ने भन्ने विकल्प पनि थिएन । तर व्यापार गरेर रमाउन म कहिल्यै सकिन । त्यस्तो स्वभाव मेरो सानैदेखि रहन सकेन । कहिल्यै अर्काको समस्या, दुःख देख्न नसक्ने स्वभाव थियो । कसैका दुःख, पीडाका कथाले मलाई छोइहाल्थ्यो । हरेक कर्मको आफ्नो धर्म, आचरण हुन्छन् । व्यापारको पनि छ नै । व्यापारको उद्देश्य नाफा कमाउनु त हो तर नाफामात्र कमाउनका लागि मैले व्यापार गरिनँ । त्यसैले पनि कहिलेकाहीँ त म व्यापार गरेर खान्न अर्थात् म व्यापारका लागि जन्मिएको होइन भन्ने लाग्दथ्यो मनैदेखि । मेरो पेसा र घरानाले नखोज्ला तर मभित्रको मनले व्यापारबाहेक अर्काे कुनै विकल्प नखोजेको होइन”, उहाँले भन्नुभयो ।

यसकारण पनि बेला–बेलामा उहाँले व्यापारको विकल्प खोज्नुहुन्थ्यो । विकल्प नभएपछि उहाँले सबैसँग समुदायमा पुग्ने र सेवा पनि गर्ने खालको व्यवसाय रोज्नुभयो । व्यवसाय पनि होस् र त्यसले मानव सेवा पनि गरोस् भन्ने लाग्थ्यो । त्यसैले स्वास्थ्य, कृषि आदिजस्ता क्षेत्रमा व्यवसाय गर्न उहाँको मन गयो ।

पैसा के हो ? मानिसलाई यो कति चाहिन्छ ? गम्भीर हुँदै जवाफ दिनुभयोे, “पैसा केबल जीवन जिउने, दिन काट्ने साधन मात्र हो । उहाँ पैसालाई योभन्दा ठूलो महत्वाकाङ्क्षासँग दाज्नु हुन्न । उहाँ भन्नुहुन्छ, “पैसा नभई पनि हुँदैन र बढी भयो भने पनि त्यसले विकृति ल्याउँछ । त्यसैले आधारभूत आवश्यकता पूरा गर्ने हिसाबले मात्र पैसा कमाए पुग्छ । आफूसँग यतिमात्र पैसा होस् कि यस्तो पैसाले आफूलाई र आफ्नो भोलिको सन्ततिलाई पनि अनुशासित बनाओस्, कर्मशील बनाओस् । ताकि मैले कमाएको पैसाले भोलिको पुस्ताले मेरो त छँदैछ नि भनेर घमण्ड नगरोस् । मलाई केही नगरी खान पुग्छ भनेर हात खुम्च्याएर बस्ने अवस्था नबनाओस् । बरु आफैँले केही गर्नुपर्छ, केही आर्जन गर्नुपर्छ भनेर कर्मशील बन्न सकोस् । हरेक मानिसले कर्म गरोस् र आफ्ना खाँचो र अत्यावश्यकताको जोहो गरोस् ।”

त्यसो भए सन्तुष्टि केमा मिल्दैछ त, साहित्य या व्यापार ? उहाँको सन्तुष्टि अहिले साहित्यले दिएको छ । अहिले साहित्यमा रमाउँदै हुनुहुन्छ उहाँ । उहाँलाई पैसाभन्दा पाठक कमाएजस्तो लाग्छ । भन्नुहुन्छ, “व्यापार भनेको घाटानाफाको कुरामात्र हो । तर मैले कुनै साहित्यिक रचनामा प्राप्त गरेको स्याबासी या खुसीको मापन गर्ने हो भने व्यापारमा भन्दा बढी छ । आत्मानन्द अहिले साहित्यमा लिँदैछु । लेख्दा, त्यो पढ्दा या सुनाउँदा आनन्द आउँछ । पुस्तक छापेर आमपाठकमा पुर्याउँदा र त्यसबाट ठूला साहित्यकार तथा विद्वानहरूले मेरा रचनाका अक्षर–अक्षरका केस्रा केलाएर अथ्र्याइदिँदा झनै खुसीको अनुभूति हुन्छ । आखिर जीवन सन्तोषमा जिउनु न रहेछ ।” अहिले म साहित्य र व्यापार दुवैमा छु । अहिलेका लागि दुवै हो । खुसीको पाटोचाहिँ साहित्य हो ।

आगामी लेखन यात्रा

उहाँका काव्यसङ्ग्रह ‘अनेक पल और मैँ’ र ‘तिमीबिनाको म’ दुई वर्षअघि एकैदिन लोकार्पण भएको थियो । सर्जक चौधरीको कृति ‘अनेक पल और में’ हिन्दी कविता सङ्ग्रहले त्यसपछि भारतमा आयोजित साहित्य सम्मेलनमा ‘बुक अफ इयर’ को उपाधि पनि जित्न सफल भएको थियो ।

साहित्यकार चौधरी भन्नुहुन्छ, “काव्य लेख्दा मन कहिल्यै थाक्दैन र सिर्जनशीलता पनि रोकिँदैन । बरु सोचको परिधि या ‘होराइजन’ झन् फराकिलो हुँदै जान्छ । मन नयाँ कुरा सोचेर कहिल्यै थाक्दैन, न त मनको सोचले विश्राम नै माग्छ । वरपर जे छ, जे घटना परिघटना भएको छ आखिर हामी त्यसैलाई शब्दमा उन्ने न हो । बरु मानिसको मन केही गुमाउँदा र केही प्राप्त गर्दा तरङ्गीत भइदिन्छ, त्यसलाई समयमै स्मृतिमा विम्ब निर्माण गरेर उतार्नचाहिँ सक्नुपर्छ । पछि त्यसैले कृतिको रूप लिने हो ।”

उहाँ अहिले पद्यबाट अलिकति गद्यतिरको अभ्यासमा हुनुहुन्छ । अलिकति ‘सेक्टर चेन्ज’ गर्दा केही नौलो अनुभूति भएको उहाँले सुनाउनुभयो । साना, फुटकर कविताबाट सुरु भएको लेखनलाई उहाँले उपन्यासतिर पनि तान्दै हुनुहुन्छ । “एउटा सामाजिक कथावस्तुमा आधारित उपन्यासको तयारीमा छु, लेखिरहेको छु । यो प्रेमकथामा आधारित उपन्यास हो ।”

त्यो उपन्यासमार्फत नेपाली समाजलाई दिन खोजिएको सन्देश के हो ? “हुन त यो प्रेमकथामा आधारित छ तर यसले नेपाली समाज कता जाँदैछ ? हाम्रा रीतिरिवाज र परम्परा कसरी मासिँदैछन् र मानिसका सोचमा किन परिवर्तन आइरहेको छ ? यस्ता सोच र व्यवहारले हाम्रो समाजलाई कालान्तरमा कहाँ पुर्याउँला ? यस्तै विषयमा राम्रो सन्देश दिन खोजेको छु । पात्र काल्पनिक छन् तर विषय वास्तविक छ ।”

साहित्य र सन्देश

साहित्य मनोरञ्जनमात्र होइन, ज्ञान सूचना र प्रेरणा पनि हो भन्नुहुन्छ चौधरी । उहाँको परिभाषामा साहित्य समाजको ऐना हो र यसले समाजमा भएका, घटेका सबै घटना र विषयलाई देखाइदिन्छ । साहित्यले मानिसलाई असल कामका लागि प्रेरित गर्छ र यसमार्फत समाजलाई परिवर्तन गरिदिन्छ । समाजको रुपान्तरण र जागरणमा साहित्यको ठूलो योगदान छ भन्नुहुन्छ उहाँ । वैज्ञानिक अनुसन्धान नै गर्ने हो भने पनि समाजको रुपान्तरण र परिवर्तनमा साहित्यको योगदान धेरै छ भन्नुहुन्छ उहाँ ।

मैले सोधेँ– त्यसो भए यहाँका रचनाले नेपाली समाजलाई के सन्देश दिइरहेको छ ? “मूल सन्देश त प्रेम नै हो । संसार प्रेममै अडेको छ । जसरी संसार ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भएर एकापसको भरमा चलेको छ, मानिस पनि एकअर्काको भर र विश्वासमै चलेको छ । यो सांसारिक भर विश्वासको मूल आधार भनौँ या सूत्र भनेको प्रेम हो । मेरो लेखनको अर्काे सन्देश सकारात्मकता हो । कसैप्रति उत्पन्न हुने नकारात्मकताले विध्वंस र आक्रोशमात्र निम्त्याउँछ । राम्रो अर्थात् सकारात्मक सोचले प्रेम जन्माउँछ र प्रेमले आपसमा सद्भाव बढाउँछ । मेरो लेखनमा सधैँ प्रेम र सकारात्मक सोचमात्र भरियोस् भन्ने मलाई लाग्छ । मेरा सिर्जना यसैमा केन्द्रित हुन् भन्ने मैले सदासर्वदा सोच्ने गर्दछु । शान्ति, प्रेम र सकारात्मकताले भरिभराउ भइदिए हाम्रो समाजमात्र होइन सकल चराचर जगत् नै करुणामय र उज्यालो हुन्छ । बत्तीको भन्दा प्रेम र करुणाको उज्यालोमा असीमित तेज र शक्ति हुन्छ ।

तर आफूले बायोग्राफी भने नलेख्ने उहाँको अठोट छ । भन्नुहुन्छ, “म यो लेखनमा समय खर्चिने पक्षमा पटक्कै छैन किनभने आफूलाई यसरी केन्द्रमा राखेर आफ्नै प्रसस्ती गाउन मैले सक्दिनँ ।” उहाँको यो मानसिकता पछिल्लो समय बजारमा आएका बायोग्राफी पढेपछि बनेको होला । तिनमा सबैले आफ्नै प्रशंसा गरेका छन् र ती पढ्दा लाग्छ गलत काम गर्नेमा उनीहरूबाहेक अरु सबै छन् । चौधरी भन्नुहुन्छ, “म मानिस हुँ, त्यसैले ममा पनि केही न केही कमजोरी होला । मानौँ कि जीवनमा कुनै गलत गरेको पनि हुँला । यदि त्यसलाई लेख्न सक्दिनँ भने मैले बायोग्राफी लेखेर किन आफ्नो र अरुको समय नष्ट गरौँ ? त्यसैले आजसम्म मैले बायोग्राफी लेख्ने योजना बनाएको छैन ।”

चौधरीका राष्ट्रियता नदुखोस् निबन्धसङ्ग्रह र संवाद प्रबन्धसङ्ग्रहसहित मेघा, मेरा डायरीका पानाहरू, मेरा कविताहरू, आँसुओ की सियासी से, वसन्त, तिमीबिनाको म, अनेक पल और मैं, वक्त रुकता नही कविता सङ्ग्रह र मेरा गीत आदि सङ्ग्रह प्रकाशित छन् । उहाँका यी कृतिहरूमा प्रेम, सकारात्मकता र करुणाभाव बढी पाइन्छ ।

स्थानीय तहको कार्य विस्तृतीकरण परिमार्जन गरिने

काठमाडौँ । स्थानीय तहको भौतिक पूर्वाधार निर्माण थप प्रभावकारी र व्यवस्थित बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जन गरिने भएको छ । तीन वटै तहको भौतिक पूर्वाधार निर्माण गर्ने भूगोल स्थानीय तहै भएकाले स्थानीय तहको भौतिक पूर्वाधार निर्माणमा थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्य विस्तृतीकरण परिमार्जन गर्न लागिएको हो ।

संविधानका अनुसूची ५ देखि ९ मा उल्लिखित तीनै तहका एकल र साझा अधिकारका सूची, मौलिक अधिकार र राज्यको निर्देशक सिद्धान्तमा उल्लिखित तीनवटै तहका विभिन्न अधिकारका विस्तृत रूप नै कार्य विस्तृतीकरण हो । स्थानीय सडक सञ्जाल, गोरेटो घोरेटो आयोजना कार्यक्रमसम्बन्धी नीति, कानुन, मापदण्ड योजना कार्यान्वयन र नियम गर्ने अधिकार स्थानीय तहलाई प्रदान गर्ने गरी कार्य विस्तृतीकरण परिमार्जनका लागि सरकारलाई सुझाव प्रदान गरिएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले स्थानीय तहको भौतिक पूर्वाधार निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जनका लागि यस अगाडि नै सरकारलाई सुझाव प्रदान गरिसकेका छन् ।

कार्य विस्तृतीकरणमा परिमार्जन गर्नुपर्ने विषय तीन वटै तहबाट सुझाव सङ्कलन भइसकेपछि कार्य विस्तृतीकरण मन्त्रीपरिषद्मा पेस गरिने छ । संविधानको एकल र साझा अधिकारमा दुई वा तीनै तहबिचमा दोहोरोपना परेका विषय हटाउन पर्ने र एकल अधिकारका विषयलाई अझ बढी विस्तृतीकरण गर्नु पर्छ भन्ने कोणबाट गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले सरकारलाई सुझाव दिएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय तहलाई थप बलियो बनाउने गरी कार्य विस्तृतीकरण संशोधनका लागि स्थानीय तहले सरकारलाई सुझाव प्रदान गरिसकेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

एउटै त्रिपालमुनि ११ परिवारको बास

जाजरकोट । एउटा त्रिपालमुनि कति परिवार बस्न मिल्छ होला ? एक, दुई बढीमा तीन परिवार। होइन जाजरकोटका भूकम्पपीडितले त्रिपाल र स्थान अभावमा एउटै त्रिपाल मुनि ११ परिवार बस्ने गरेका छन्।

जिल्ला सदरमुकाम खलंगास्थित कस्तुरी बोडिङ्ग स्कुलमा एउटै त्रिपालमुनि ११ परिवार सँगै सुत्ने गरेका छन्। भूकम्पले घर चिराचिरा पारेपछि त्रासले भेरी नगरपालिका ४ का ११ परिवार एउटै त्रिपालमुनि सुत्न बाध्य भएका हुन्।

भेरी नगरपालिका-४ का शिला पुन घर्ती, लक्ष्मी गिरी, धनसरा राना, कल्पना राना, सरस्वती पुन, कल्पना खत्री, शिला पुन, अनिता खड्का, सन्देश घर्ती, राजेश खत्री र महेश सिंहको परिवार एउटै त्रिपालमुनि सुत्ने गरेको उनीहरूले बताएका छन्। एउटै परिवारका दुईदेखि ५ जनासम्मको परिवार छ।

‘सबै गरी ३३ जना एउटै पालमुनि सुत्ने गरेका छौं। स्थानीय शिला पुन घर्तीले भनिन घरमा बस्न सकिने अवस्था छैन। त्रिपाल दिएका छैनन्। प्रत्येकले अलग अलग त्रिपाल हाल्ने ठाउँ पनि छैन। त्यही भएर सामूहिक रूपमा त्रिपालमा सुत्ने गरेका छौं। खाना खान आ(आफ्नो घरमा जाने र सुत्न मात्र त्यहाँ आउने गरेका छन्,’ उनले भनिन्।

सँगै सुत्दा कतिपयका केटाकेटी रुने कराउने, कतिपयले घुर्ने लगायतका समस्याले निन्द्रा नै नलाग्ने उनको बताइन्। त्यहाँ बस्ने धेरैजसो भाडामा बस्नेहरू पनि छन्। भाडामा बस्नेलाई स्थानीय तहले राहत नदिएपछि उनीहरू कोच्चिएर एउटै त्रिपालमा बस्न बाध्य भएका हुन्।

बोडिङ्गको आगनमा करीब १५ ओटा त्रिपाल र टेन्ट राखिएको छ। त्यहाँ करीव ५० बढी परिवारका दुई सय बढी बस्ने गरेका छन्। उक्त स्थानमा बसेका मध्य केही बालबालिकाहरू बिरामी परेका छन्। उनीहरूमा ज्वरो आउने, खोकी लाग्ने, निमोनिया लगायतका समस्या देखिएका छन्। सदरमुकाम भित्रकै यस ठाउँमा औषधोपचार र अन्य खानेकुरा लगायतका राहत सामग्री अभाव भएको कल्पना खत्रीले बताइन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

पथरी (मोरङ), २६ कात्तिक ः मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिनुभएको छ । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भन्नुभयो । उहाँले भन्नुभयो “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा छिटो आर्थिक समृद्धि हुन्छ । सङ्घबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ । ”

समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभएको छ । प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गर्नुभएको छ ।

कार्यक्रममा पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडकखण्डले अझै पूर्णता नपाएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “योजना अलपत्र भएका कारण जनताले सास्ती खेप्नुपरेको छ । जनताको स्वास्थ्यमा समस्या उत्पन्न गराएको छ । सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनुपरेको छ ”

नगरप्रमुखले भारतको सिक्टीबाट सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडक निर्माणमा पनि चासो राखिदिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा मोरङ क्षेत्र ३ (१)का प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, प्रदेश सरकारका सहरी तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर अजय श्रेष्ठसमेतको उपस्थिति थियो । गणेश अम्बिका प्रतिष्ठान अध्यक्ष पर्शुराम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले वडाका गतिबिधिबारे जानकारी दिनुभएको थियो ।

सो भवन निर्माणका लागि सोही वडा निवासी गणेश भण्डारी र अम्बिका भण्डारी दम्पतीले आफ्नो दिवङ्गत छोराको सम्झानामा पाँच कठ्ठा जमिन दान गर्नुभएको छ । उक्त भवन जिपी बिल्डर्स कम्पनीले रु एक करोड ४४ लाख ६१ हजार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । दुईतले भवनको विस्तृत आयोजना प्रतिवेदन रु सात करोडको तयार भएको थियो ।

सङ्खुवासभामा एक हजार सात सयमा डेङ्गु सङ्क्रमण

खाँदबारी, २५ कात्तिक : पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेछ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ । महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेङ्गु सङ्क्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेङ्गुका बारेमा जनचेतना दिन, स्कूल हेल्थ नर्स कार्यक्रमलाई सक्रिय बनाउन, डेङ्गु नियन्त्रण र रोगथामका लागि स्वयंसेवक परिचालन गर्न, स्थनीय तह र स्वास्थ्य संस्थामार्फत खोज र नष्ट अभियानलाई तीव्रता दिन निर्देशन दिएको बताउनुभयो । साउन र भदौ महिनामा मात्रै डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार सात सय १० पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार सङ्खुवासभाका भोटखोला र चिचिला गाउँपालिकामा सङ्क्रमित देखिएका छैनन् ।

संवैधानिक परिषदमा सरकारको बहुमत नहुँदा नियुक्ति प्रभावित

काठमाडौं । सरकारी कार्यालय, संवैधानिक निकाय, अदालतको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षकको कार्यालय ६ महिनादेखि प्रमुखविहीन छ। संविधानको धारा २८४ (३) मा संवैधानिक निकायका पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगाडि नै नियुक्तिका लागि सिफारिस हुनुपर्ने व्यवस्था छ।

तर सरकारले सवैधानिक व्यवस्था अनुसार काम नगर्दा महालेखा परीक्षकलगायत अन्य संवैधानिक पद लामो समयदेखि रिक्त छन्। संवैधानिक परिषद्ले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ।संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। तर उनले भनेजस्तो तत्काल नयाँ नियुक्तिको छाँटकाँट छैन। राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा महालेख परीक्षकलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने व्यवस्था छ।संवैधाननिक परिषद्ले गत साउनमा नै महालेखा परीक्षकका लागि निवेदन मागेको थियो। त्यसका लागि २०८० भदौ २ गतेसम्म म्याद तोकिएको थियो। १६ जनाले निवेदन परे पनि अहिलेसम्म संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन। संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीले बोलाउनुपर्छ। तर संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका छैनन्।संवैधानिक परिषद्मा एमाले पक्षधरको बहुमत छ। यसैकारण प्रधानमन्त्री दाहालले बैठक बोलाउन आनाकानी गरेका हुन्। त्यसैले महालेखा परीक्षकलगायत संवैधानिक पदमा नियुक्ति सिफारिस नहुनुमा राजनीतिक कारण लुकेको प्रस्ट छ। यो समाचार नागरिक दैनिकमा छ ।

तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात

काठमाडौँ । यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।

महासङ्घका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् ।

महासङ्घका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ६ करोड ६० लाख रुपियाँ बराबरको आयात भएको छ ।

महासङ्घका अनुसार गत वर्ष बैङ्किङ तरलता र डलर अभावका कारण झिलिमिली बत्तीको आयात र बजार निकै साँघुरिएको थियो । यसले गर्दा गत वर्ष पनि व्यापारीले चाहेजस्तो व्यापार गर्न सकेनन् ।

त्यसअघि निरन्तर तीन वर्षसम्म कोभिड महामारीका कारण बजार प्रभावित बनेको थियो । गत वर्ष करिब ४० करोड मूल्यबराबरको मात्रै आकर्षक झिलिमिली बत्ती आयात भएको महासङ्घको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ प्रमण्डलको भेट

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चीनको स्वशाषित क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलबीच गृह मन्त्रालयमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तरमा हार्दिकतापूर्ण सम्बन्ध रहेको बताउनुभयो । नेपालको विपद् तथा विकासमा चीनको सहयोग अमूल्य रहेको बताउँदै उहाँले भूकम्प तथा कोभिड महामारीका बेला र हाल पनि चीनले गरे सहयोगप्रति आभार व्यक्त गर्नुभएको गृह मन्त्रालयले जनाएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको नेतृत्वमा कार्यान्वयनमा गएको बिआरआई परियोजनालाई नेपालले आत्मसात गरिसकेको र यसमार्फत कमजोर अर्थतन्त्र भएका मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने चीनको नीतिको उहाँले सराहना गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले यसका लागि पूर्वाधारको कामलाई प्रभावकारी र व्यापकरूपमा अगाडि बढाउने गृहकार्य पनि सफल भइछाड्ने विश्वास व्यक्त गर्नुभयो ।

सचिव वाङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको चीन भ्रमणका क्रममा उहाँ र राष्ट्रपति सीबीच भएका सहमति–सम्झौतालाई कार्यान्वयन तहमा लैजानु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभयो ।

भूकम्पले रुकुम पश्चिमका १० प्रहरी कार्यालयमा क्षति,पालबाट सेवा

रुकुम-भूकम्पले रुकुम पश्चिमका १० प्रहरी कार्यालयमा क्षति पुर्‍याएको छ । क्षति भएका कार्यालयमध्ये पाँच वटा पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बताउनुभयो । बाँकी पाँच वटामा आंशिक क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयको भवन पनि चर्किएकाले बस्न मिल्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।प्रहरी चौकी पुर्तिमकाँडाको भवन, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र इलाका प्रहरी कार्यालय आठबिसकोटको भवन पूर्ण रूपले क्षति भएको छ । प्रहरीका अनुसार सिम्लि प्रहरी चौकी अहिले अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट प्रहरी पालबाट सेवा दिइरहेको छ ।

बाँकी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र इलाका प्रहरी चौकी चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

होटल पोखराको आयोजनामा १६औँ भाइटीका महोत्सव

गण्डकी- संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल सङ्घ पोखराको आयोजनामा यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गरिने भएको छ ।

‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो ।नेपाली संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्यका साथ निरन्तर महोत्सव गर्दै आइएको अध्यक्ष सुवेदीले बताउनुुभयो । कोभिड–१९ लगायत विविध कारण पर्यटन मारमा परिरहेको उल्लेख गर्दै उहाँले पर्यटन पुनःरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गर्नुुभयो ।संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष भाइटीकामहोत्सव सञ्चालन भइरहेको महोत्सवका संयोजक एवं सङ्घका सचिव पार्वता पाण्डेले जानकारी दिनुुभयो ।महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहो¥याएर टीका लगाउन आउने अपेक्षा गरिएको उल्लेख गर्दै संयोजक पाण्डेले महोत्सव पोखराका लागि अर्को महत्वपूर्ण पर्यटकीय गतिविधिका रुपमा विकास भएको बताउनुुभयो । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र गोर्खा प्रिमियम वियरले महोत्सवलाई सघाउनले सङ्घले जनाएको छ ।––

तिहारमै बिक्री भएन फूल, किसान निराश

बेदकोट (कञ्चनपुर), २६ कात्तिक : फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताउनुभयो ।

“फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन् ।” बजारमा प्लाष्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उहाँको भनाइ छ । “प्लाष्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ”, उहाँले भन्नुभयो, “अब फूलले बजार पाउने आशा छ ।”

कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्रावधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । उहाँले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर फूलखेती गर्नुभएको छ । “फूलको बीउ आफैँले छरेको थिएँ, सात कठ्ठा जमिनमा फूलखेती छ”, उहाँले भन्नुभयो, “फूल फुलेको दुई साताभित्र टिपेर बेचिसक्नुपर्छ, नभए फूलको बाहिरी पत्र कुहिएर फूल ढल्छ ।”

उहाँका अनुसार यस वर्ष अहिलेसम्म फूल बिक्री हुनसकेको छैन । भाडामा लिइएको सात कठ्ठा जमिनमा सयपत्री फूलखेती गरिएको छ । उहाँले यसअघि भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्नुभएको थियो । फूल बिक्री गर्नै हम्मेहम्मे परेको किसानको भनाइ छ । जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ ।

“फूल र माला बनाएर बेच्ने गर्छौ, रु पाँच सय प्रतिकिलो ग्रामका दरले फूल बेच्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “रु एक सयको फूलमाला बिक्री गर्ने गरेका छौँ ।” स्थानीयस्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।

दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो । दोस्रो ठूलो चाड तिहारको हर्षोल्लास गाउँसहरमा छाएको छ । घरबाट टाढा भएकाहरू तिहारलाई घर फिर्ती भएका छन् । बारीमा फूल ढकमक्क फुलेका छन् । तिहारमा घर सिङ्गार्न, लक्ष्मी पूजा गर्नदेखि भाइटीकाको दिन दाजुभाइलाई माला लगाउन सयपत्री र मखमली फूलको प्रयोग हुन्छ ।

आज धनधान्यकी देवी लक्ष्मीपूजा

काठमाडौँ, २६ कात्तिक : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

हेर्नुहोस् कार्तिक २६ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि -दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष राशि -मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मीथुन राशि -पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि-परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि-मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि- बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि -साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक राशि-मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

धनु राशि -हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

मकर राशि -मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि -दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि –शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सडक आयोजना निरीक्षण

दमौली, २५ कात्तिक : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डको आज निरीक्षण गर्नुभएको छ । पोखरास्थित सेती नदीमा बन्ने पुलको शिलान्यासका लागि आउनुभएका उहाँले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको आज स्थलगत निरीक्षण गर्नुभएको हो ।

जामुनेबाट कोत्रेसम्मको खण्डको काम सुस्त भएपछि मन्त्री ज्वालाले निरीक्षण गर्नुभएको हो । त्यसक्रममा मन्त्री ज्वालाले आयोजनाको कामलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रतगतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । गण्डकी प्रदेशको ‘लाइफ लाइन’का रूपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको गति अति सुस्त रहेको भन्दै उहाँले चाडो सक्न निर्देशन दिनुभयो ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी एनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

पूर्वी खण्डको काम सन्तोषजनक रहे पनि पश्चिम खण्डको काम अत्यन्तै न्यून गतिमा भइरहेको छ । सरकारले पश्चिम खण्डको ठेक्का तोड्ने गरी छलफलसमेत गरिसकेको छ ।

भरतपुर महानगरपालिकाकाद्धारा भूकम्पपीडित नौ सय परिवारलाई राहत सामग्री वितरण

चितवन, २५ कात्तिक : भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपूर्व पुगेर नौ सय परिवारलाई राहत वितरण गरेको छ ।

स्थलगतरूपमा मृतकका परिवारलाई समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै स्थानीय पालिकामार्फत राहत वितरण गरिएको हो । महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीलाई महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी जाजरकोटको नलगढा नगरपालिकाका प्रमुख डम्बरबहादुर रावललाई खाद्यान्न र लत्ताकपडा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टलाई खाद्यान्न र लत्ताकपडा र जाजरकोटको भेरी नगरपालिकाका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारमार्फत दुई सय बोरा राहत सामग्री हस्तान्तरण गरिएको हो । ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको छ । एक परिवारलाई २५ किलो चामल, पाँच किलो दाल र एउटा ठूलो ब्ल्याङ्केट वितरण गरिएको हो । अधिकारीका अनुसार महानगरपालिकाले रु ४० लाख हाराहारीको राहत सामग्री वितरण गरेको छ ।

सो क्रममा महानगर प्रमुख दाहालले दुःख साट्न भरतपुर महानगरको टोली स्थलगतरूपमा आएको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा महानगरका तर्फबाट रु एक करोड दिइने बताउनुभयो । स्थलगतरूपमा प्रभावित क्षेत्रमा पुग्नुभएका दाहालले मृतकका परिवारलाई भेट गर्नुभएको थियो । यसैगरी घाइतेलाई समेत उहाँको समूहले भेट गरेको थियो ।

उपप्रमुख चित्रसेन अधिकारीले विपद्मा सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै पालिकामार्फत प्रभावितसम्म पुग्ने प्रयास भरतपुर महानगरले गरेको बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रानाले यो सहयोगले केही हदसम्म प्रभावितलाई राहत मिल्ने बताउनुभयो ।
 

आधुनिक कोहलपुर बसबिसौनी सञ्चालनमा

राँझा (बाँके), २५ कात्तिक : बाँकेको कोहलपुरमा पुग्ने हरेक यात्री अत्याधुनिक बसपार्क देखेर मक्ख पर्छन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे अनि साँघुरो बसबिसौनीबाट हैरानी व्यहोर्दै आएका यात्री हिजोआज यसको फेरिएको संरचनाका कारण मक्ख परेका हुन् ।

अहिले कोहलपुरको पहिचान नै बनेको छ नयाँ बसबिसौनी । यसको समग्र व्यवस्थापनको जिम्मा लिएको बागीश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्य पूर्व–पश्चिम राजमार्गको छेउमै देखिने सेतो भवन र आसपासमा बनेका चिटिक्क परेका अन्य संरचनाले एकपटक यात्रीको ध्यान खिच्ने गरेको बताउनुहुन्छ ।

कोहलपुर चौराहमा फलफूलको व्यापार गर्दै आउनुभएका खड्कबहादुर थापा “पहिला–पहिला त यहाँ आउने हरेक मान्छेले के बन्न लागेको भनेर सोधेर हैरान पार्थे, “आजभोलि धेरै उतै जान्छन्, फोटो खिचाउँछन्, फलफूल किन्न आउने मान्छेको नजर त्यता जान्छ कति राम्रो बसपार्क भन्छन्”, नयाँ बसबिसौनी आकर्षणको केन्द्र बनेको बताउँदै भन्नुहुन्छ ।

पूर्व–पश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्गको मिलनबिन्दु कोहलपुर चौराह नजिकै पाँच बिघा १६ कठ्ठा जमिनमा अत्याधुनिक बसपार्क निर्माण भएको छ । यो बसपार्क नेपालभरिमै आधुनिक हुनुका साथै यात्रु र यातायात व्यवसायीका लागि सबै प्रकारका सुविधा उपलब्ध रहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास प्रमुख इञ्जिनियर बालकृष्ण महताराले बताउनुहुन्छ ।

इञ्जिनियर महताराका अनुसार बस चल्ने दूरीका हिसाबले बसपार्कलाई तीन भागमा विभाजन गरेर पार्किङको व्यवस्था गरिएको छ । बाहिर निस्कन बेग्लै ढोका छन् । बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि सटर राखिएका छन् । उत्तरतर्फ भण्डारणसहितका २९ वटा ठूला सटर छन् । दक्षिणतर्फ भण्डारणबिनाका ३० वटा सटर छन् ।

बसपार्कभित्रै निर्माण गरिएका ५९ वटै सटरमा व्यवसाय सञ्चालन भइसकेको छ । व्यापारिक भवनसँगै जोडिएका १० कोठामा २० वटा टिकट काउन्टर छन् । सुरक्षाकर्मीका लागि पनि भवन बनेको छ ।

बसपार्कभित्र विद्युतीय गाडी प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु एक करोडको लागतमा नेपाल विद्युत् प्राधिकरणले दुई वटा चार्जिङ स्टेशन पनि बनाएको छ । यहाँ मेडिकल काउन्टर पनि बनाइएको छ । टर्मिनल भवनमा यात्रु प्रतिक्षालय छ, स्तनपान कक्ष पनि अलग्गै छ । बसपार्कका शौचालय सुविधायुक्त छन् । बसपार्कभित्र जहाँसुकै धूमपान गर्न पाइने छैन । निर्धारित ठाउँमात्र त्यसो गर्न पाइन्छ । यहाँ तीन थान हाइमास्ट लाइट राखिएका कारण राति पनि झलमल्ल हुने गरेको छ ।
बसपार्कमा एकपटकमा लामो र मध्यम दूरीका कम्तीमा ५० वटा ठूला तथा छोटो दूरीका कम्तीमा २० वटा बस अटाउने क्षमता छ । भदौ १ गतेदेखि यो बसपार्कबाट लामो दूरीका बस र छोटो दूरीका बस सञ्चालनमा भएका छन् । टिकट काट्ने र यात्रुलाई सहजताका लागि सबै सुविधाको व्यवस्थापन गरेर बसपार्कभित्र ठूला तथा साना बस छुट्ने र पार्किङ गर्ने स्थान फरक–फरक व्यवस्था गरिएको छ ।

बसपार्क व्यवस्थापनका लागि वार्षिक रु ७१ लाख ७७ हजार सात सय ७७ नगरपालिकालाई तिर्ने गरी बागीश्वरी यातायात व्यवसायी प्रालिले सम्झौता गरेको छ । नेपालकै अत्याधुनिक दाबी गरिएको यो बसपार्क रु ३० करोड ६२ लाख सात हजार सात सयको लागतमा निर्माण गरिएको हो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट रु १८ करोड ३७ लाख २४ हजार छ सय २१ ऋण लिइएको छ भने नगरपालिकाले रु १२ करोड २४ लाख ८३ हजार ८० लगानी गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको र ४० प्रतिशत कोहलपुर नगरपालिकाले गरेको बताउनुभयो । उहाँले नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको जनाउँदै बसपार्कमा बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्स, तीनवटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै विद्युतीय चार्जिङ स्टेशनको व्यवस्था पनि मिलाइएको बताउनुभयो ।

कोहलपुरको गौरव गर्ने योजनाको रूपमा रहेको लामो दूरीमा चल्ने बस राख्न मिल्ने अत्याधुनिक बसपार्क सञ्चालनमा आएपछि कोहलपुरको स्वरुपमै परिवर्तन आएको नगरपालिकाका पूर्वप्रमुख लुटबहादुर रावतले बताउनभयो ।

पाकिस्तानबाट निर्वासित अफगान शरणार्थीद्वारा परिवारका थप सदस्य स्वदेश आउन नसकेको दाबी

पाकिस्तानबाट निर्वासित गरिएका सात हजार भन्दाबढी अफगानी शरणार्थीले आफ्ना परिवारका सदस्य विदेशमा नै रहेको बताएको टोलो न्युजले रिपोर्ट गरेको छ । टोलो न्युज काबुलबाट प्रसारण हुने अफगानी समाचार संस्था हो ।

महिला तथा बालबालिकासहित निर्वासित शरणार्थीहरूले अझै पनि पाकिस्तानमा आफ्ना परिवारको अवस्थाको बारेमा कुनै पनि जानकारी नभएको टोलो न्युजलाई बताएका हुन् ।

निर्वासित शरणार्थीमध्येका एक जना नुर मोहम्मदले भन्नुभयो, “कुरान कण्ठ गर्ने मेरा छोराहरू बाहिर जाँदै गर्दा धार्मिक विद्यालयका विद्यार्थीहरूलाई सीमामा ल्याएर निष्कासन गरे ।

उनीहरू घर आई हाम्रो सामानहरू लिएर गाडीमा फ्याँक्दै थिए, जुन क्रूरताको सुरुवात थियो, र हामी एकान्त गल्लीमा एक्लै बस्न सक्दैनौं,” टोलो न्यूजका अनुसार अर्का शरणार्थी अब्दुल्लाले भन्नुभयो ।

पाकिस्तानबाट अफगानी शरणार्थीहरूलाई जबरजस्ती देश निकाला गर्न थालेपछि स्पिन बोल्दाक नाकाबाट पचास हजारभन्दा बढी अफगानीहरू स्वदेश फर्किएका छन् ।

पाकिस्तानबाट फर्किएका शरणार्थीहरूको मामिलालाई व्यवस्थित गर्ने समितिका प्रमुख अगाजान सालेमले भन्नुभयो, “यो समिति यहाँ गठन भएको हो, यससँगै शरणार्थीहरुलाई सबै प्रकारको सहयोग उपलब्ध गराउँछौँ र उनीहरुलाई आवतजावतको व्यवस्था मिलाउँछौँ ।”

कान्दाहारको स्पिन बोल्दाक जिल्लामा फर्किएका आप्रवासीहरूको स्वागत केन्द्रको जानकारीअनुसार, पाकिस्तानी सेनाको दबाब र दुब्र्यवहारका कारण निर्वासित धेरै शरणार्थी मानसिक रोगबाट ग्रस्त छन् ।

केराखेती मासेर फूलखेती, दिनमै ७ क्विन्टल बिक्री

नारायणगढ (चितवन), २५ कात्तिक : चितवनको कालिका नगरपालिका–१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन् । वडा नं १ लङ्कालाइनका कृषक महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको जग्गामा संयुक्तरुपमा फूलखेती थालेका हुन् ।

तीन बिघा क्षेत्रफलमा लगाइएको केराखेती मासेर व्यावसायिक सयपत्री फूलखेती थालिएको पौडेलले बताउनुभयो । विगतका वर्षमा करोडौँको फूल विदेशबाट आयात भएको देखेर देशलाई फूलमा आत्मनिर्भर बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यहाँ फूलखेती गरिएको उहाँको भनाइ थियो ।कालिका–५ का स्थानीय बासिन्दा पौडेल एक प्राङ्गारिक कृषिको अभियन्तासमेत हुनुहुन्छ । उहाँले योसँगै अन्य स्थानमा विभिन्न तरकारी तथा फलफूलको प्राङ्गारिक खेती गर्दै आउनुभएको छ । “विगतमा केराखेती गरिँदै आएको जग्गा भाडामा लिएर यस वर्ष सयपत्री फूलको खेती गरेका हौँ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा विदेशी फूलको आयात रोकिएमा हामीले यसबाट सोचेजस्तो आम्दानी लिन सक्छौँ ।”उन्नति कृषि फार्ममार्फत एकै ठाउँमा तीन बिघा क्षेत्रफल जग्गामा फूलखेती गर्दै आएको बताउँदै पौडेलले यस स्थानमा ६० हजार सयपत्री फूलका बिरुवा रोपेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राम्रो बजारीकरण हुनसकेमा एउटा बिरुवाबाट हामीले रू ३० देखि ४० सम्म लिन सक्छौँ ।” दुई जना मिलेर फूलखेती सुरु गरेको भन्दै उहाँले यसका लागि करिब रू पाँच लाख ५० हजार लगानी भएको बताउनुभयो ।पौडेलले यसबाट रू १५ लाखको आम्दानी हुने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला केराखेती गर्दा रासायनिक विषादीको प्रयोगले जग्गा बिग्रेको थियो । यसलाई विस्तारै सुधार्दै लगेर प्राङ्गारीकतर्फ लैजाने योजना छ ।” यहाँ सूर्यमुखी फूलको खेती पनि गर्ने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।रत्ननगर नगरपालिका–१५ घर भएका कृषक वाइबाले पौडेलसँग मिलेर पहिलोपटक साझेदारीमा फूलखेती गरेको बताउनुभयो । विगतको वर्षमा भन्दा यस वर्ष चितवनमा फूलखेती अलि बढीमात्रामा गरिएको भन्दै उहाँले यहाँ उत्पादन भएका फूल स्थानीय बजारमाभन्दा पनि काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा निर्यात गर्ने गरिएको जानकारी दिनुभयो ।वाइबाले स्थानीय पालिकाले केहीमात्रामा बजारीकरण तथा खेतीमा सहयोग गरेकोे जानकारी दिनुभयो । “हाल दैनिक सात/आठ क्विन्टल फूलको बिक्री हुँदै आएको छ ।” हालसम्मको बिक्रीले लगानी सुरक्षित भइसकेको बताउँदै वाइबाले अब दुई/तीन दिनको बिक्रीबाट हुने आम्दानीबाट नाफा मिल्ने बताउनुभयो ।

गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए ।स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरु ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो ।

हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन, १४०० बाट १२०० झर्यो

हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन गरिएको छ ।इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदायहरू र गाजाको सिमानामा रहेको सैन्य स्थलहरूमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट इजरायलीहरूको मृत्यु हुने इजरायलीको सङख्या १ हजार दुई सय रहेको बताइएको छ ।

स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार आक्रमणमा मृत्यु हुनेको ठूलो सङ्ख्या अक्टोबर ७ गरिएको हमास लडाकुहरूको आक्रमणबाट भएको थियो भने, केही रकेट प्रक्षेपणबाट भएको थियो। बिहीबार इजरायल डिफेन्स फोर्सले जारी गरेको तथ्याङ्कले देखाए अनुसार अक्टोबर ७ देखि इजरायलतर्फ करिब ९ हजार ५०० रकेट प्रहार गरिएको छ । जसमध्ये अधिकांश हमास शासित गाजा पट्टीबाट आएका थिए ।

मृतकको सङ्ख्यामा आउने केही समयसम्म उतारचढाव जारी रहने सम्भावना छ र पट्टीमा अपहरण गरिएका २४० भन्दा बढी व्यक्तिहरूमध्ये पनि जोखिममा रहेको बताइएको छ टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

इजरायली सेनाले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार इजरायल–हमास द्वन्द्वको यस चरणमा ३५४ इजरायली सैनिकको मृत्यु भएको छ । हमास लडाकुहरूसँगको लडाईमा तिनीहरूमध्ये धेरैको मृत्यु भएको बताइएको छ ।

हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार एन्क्लेभमा ११ हजार २५ प्यालेस्टाइनीहरू मारिएका छन्।

जाजरकोट भूकम्प : कर्णाली प्रदेश सरकारले तिहारपछि पुनर्निर्माणका काम अगाडि बढाउने

भेरीगङ्गा (सुर्खेत), २५ कात्तिक : कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण शुरु गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग अपिल गरेको छ ।

मन्त्री परिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो । कार्यविधि बनाएर पुनर्निमाणका काम थालिने जानकारी उहाँले दिनुभयो ।

भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई रु दुई लाख रकम र घाइतेहरुको उपचारका लागि रकक तत्काल उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

तिहारमा पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तार कार्य नरोकिने

तनहुँ, २५ कात्तिक : तिहार बिदाको समयमा पनि पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ । निर्धारित समयमा नै आयोजनाको निर्माण कार्य सक्ने उद्देश्यले तिहार बिदाको समयमा पनि सडक विस्तार धमाधम गर्न थालिएको छ ।

मुग्लिन पोखरा पश्चिम खण्डका प्रमुख राजेश पौडेलका अनुसार दुई चरणमा गरी सडक विस्तार भइरहेको छ । लक्ष्यअनुसार प्रगति नभएकाले तिहारमा समेत सडक विस्तार गरिने उहाँले बताउनुभयो । पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको करिब ३९ किलोमिटर विस्तारको प्रगति हालसम्म करिब १२ प्रतिशत मात्र भएकाले बिदामा समेत काम तीव्र्रपमा गर्नु परेको आयोजना प्रमुख पौडेलले बताउनुभयो ।

पश्चिम खण्ड विस्तारका लागि २०७८ जेठमा सम्झौता भएको हो । यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने छ । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउने काम भइरहेको छ । पश्चिम खण्डको लागत रु सात अर्ब ४० करोड ४६ लाख रहेको प्रमुख पौडेलले बताउनुभयो ।

त्यसैगरी ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको पूर्वी खण्ड विस्तार कार्य तीव्र पारिएको पोखरा–मुग्लिन सडक योजनापूर्वी खण्डका प्रमुख श्याम यादवले जानकारी दिनुभयो । यस खण्डमा तिहार बिदाको समयमा पनि सडक विस्तार कार्यलाई तीव्र पारिने छ । सडक फराकिलो बनाउने, भित्ता खार्ने, खाडल पुर्ने, पक्की पुल र कल्भर्ट निर्माण गर्नेलगायत काम भइरहेका छन् । यस खण्डमा ३६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको प्रमुख यादवले जानकारी दिनुभयो । पूर्वी खण्ड विस्तारका लागि २०७७ माघमा विसं २०७८ वैशाखदेखि काम सुरु भएको होे । यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको काम २०८१ वैशाखसम्म सम्पन्न गर्नुपर्ने प्रमुख यादवले बताउनुभयो । पूर्वी खण्डको लागत रु ६ अर्ब २१ करोड ३१ लाख रहेको छ ।

भूकम्पपीडितलाई सघाउन उपाध्यक्ष राजेन्द्र पाण्डेको आह्वान

काठमाडौँ, २५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले भूकम्पपीडितलाई सघाउन आह्वान गर्नुभएको छ ।

गोरखा–काठमाडौँ सम्पर्क मञ्चले भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले आज आयोजना गरेको देउसीभैलो कार्यक्रममा उपाध्यक्ष पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहुनेतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले भूकम्पलगायत सम्भावित विपद् तथा प्रकोप व्यवस्थापनका लागि सरकार सधैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेता पाण्डेले प्रभावितले चिसोको समयमा खुला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाको स्वास्थ्यमा आउने समस्या निराकरण गर्न सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।पोलिटब्यूरो सदस्य दिलु पन्तले आपूर्ति कम भएकाले पीडितले राहत सामग्री नपाएका भन्दै त्यसलाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।

गणतन्त्रका उपलब्धि जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, २५ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सम्वत नै राष्ट्रिय सम्वत भएकाले सरकारको दस्ताबेजमा लेख्ने बताउनुभएको छ ।साहित्यकार पद्मरत्न तुलाधरको पाँचौँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् भनेर मात्र पुग्दैन, म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको थिए ।” पद्मरत्न तुलाधरले नेपाल सम्वत् नै राष्ट्रिय सम्वत् भएको बताएको स्मरण गर्दै उहाँले त्यसपछि आफूले पहिलोपटक नै प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “त्यो घोषणा पनि पद्मरत्नजीसँगै बसेर गरिएको हो, अब नेपाल सम्वत् ११४४ आउँदैछ, मसँग अस्ति केही प्रतिनिधि आउनुभयो र यही नेपाल सम्वत्बारे कुरा हुँदा त्यसलाई राष्ट्रिय सम्वत् भनेर मात्रै भएन, व्यवहारमा कार्यान्वयन गर्नुपर्‍यो, अब राष्ट्रिय सम्वत् नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ ।”

प्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रमाथि प्रहार भएको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीलगायत उपलब्धिको रक्षा गर्न सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति

काठमाडौँ, २५ कात्तिक : अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ ।

नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले उक्त आयोजना निर्धारित मितिमा सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताउनुभयो । “नेपाली सेनाको जिम्मेवारीअन्तर्गत निर्माणाधीन द्रुतमार्ग निर्माण कार्यलाई गुणस्तरीयरुपमा लक्षित समय सीमाभित्र सम्पन्न गर्न सेना कटिबद्ध रहेको छ”, उहाँले भन्नुभयो । 

आयोजनाको मुख्य चुनौतीका रुपमा लिइएको सुरुङ र अग्ला विशिष्ट प्रकृतिका पुल निर्माण लक्ष्यअनुरुप र उत्साहजनक ढङ्गले प्रगति भइरहेको पहाडी भनाइ छ । उहाँका अनुसार आयोजनाअन्तर्गत मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ र अग्ला पुल निर्माण भइरहेका छन् । 

हालसम्म निर्माणाधीन सुरुङको कूल लम्बाइ छ दशमलव ४१५ किलोमिटरमध्ये तीन दशमलव १३५ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको आयोजनामा संलग्न प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दशमलव ३५५ किलोमिटर लामो महादेवटार सुरुङमा एक दशमलव ४९० किलोमिटर निर्माण भएको छ । यस्तै एक दशमलव ६३ किलोमिटर लम्बाइको धेद्रे सुरुङमा आठ सय छ मिटर तथा एक दशमलव ४३ किलोमिटरको लेनडाँडा सुरुङमा आठ सय ५७ मिटर निर्माण भइरहेको छ । 

सुरुङमार्गको दुवैतर्फबाट खन्ने र सँगसँगै ‘फिनिसिङ’ गर्ने काम भइरहेको छ । गहिरा खोचमा अग्ला प्रकृतिको पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको प्राविधिक प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नं १ देखि ५ सम्मका ४५ वटा पुलको डिजाइन सम्पन्न भएको र एक हजार सात सय ६८ ‘पाइल’मध्ये एक हजार एक सय ७५ पाइल निर्माण भइसकेको सेनाले जनाएको छ । 

तीन महिनामा नेपाल टेलिकमको ३९ करोड बढी आम्दानी घट्यो

काठमाडौँ, २५ कात्तिक : नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा रू ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ ।

उक्त रकम गत आवको सोही अवधिको कूल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा रू ११ अर्ब चार करोड ९० हजार आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालू आवमा रु ३९ करोड १२ लाख ९७ हजार कमी भएको टेलिकमले जनाएको छ ।

कम्पनीको कूल सञ्चालन आय पनि रू ४९ करोड २५ लाख २१ हजार घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आय रू आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कूल सञ्चालन आय रू नौ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा रू ४९ करोड २५ लाख २१ हजार (अर्थात्, ५.४३ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको जनाएको छ । कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा रू दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिमा रू दुई अर्ब २२ करोड ५५ लाख छ हजार रहेको थियो । गत आवको तुलनामा चालू आवमा रू १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा रू ४५.०५ रहेको छ । चालु आवमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटिटी सेवाको बढ्दो प्रयोगक रहेको जनाइएको छ ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको जनाइएको छ । सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर पर्नुका साथै बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब कमी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।