`

जाजरकोट भूकम्प : कर्णाली प्रदेश सरकारले तिहारपछि पुनर्निर्माणका काम अगाडि बढाउने

भेरीगङ्गा (सुर्खेत), २५ कात्तिक : कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण शुरु गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग अपिल गरेको छ ।

मन्त्री परिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो । कार्यविधि बनाएर पुनर्निमाणका काम थालिने जानकारी उहाँले दिनुभयो ।

भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई रु दुई लाख रकम र घाइतेहरुको उपचारका लागि रकक तत्काल उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

तिहारमा पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तार कार्य नरोकिने

तनहुँ, २५ कात्तिक : तिहार बिदाको समयमा पनि पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ । निर्धारित समयमा नै आयोजनाको निर्माण कार्य सक्ने उद्देश्यले तिहार बिदाको समयमा पनि सडक विस्तार धमाधम गर्न थालिएको छ ।

मुग्लिन पोखरा पश्चिम खण्डका प्रमुख राजेश पौडेलका अनुसार दुई चरणमा गरी सडक विस्तार भइरहेको छ । लक्ष्यअनुसार प्रगति नभएकाले तिहारमा समेत सडक विस्तार गरिने उहाँले बताउनुभयो । पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको करिब ३९ किलोमिटर विस्तारको प्रगति हालसम्म करिब १२ प्रतिशत मात्र भएकाले बिदामा समेत काम तीव्र्रपमा गर्नु परेको आयोजना प्रमुख पौडेलले बताउनुभयो ।

पश्चिम खण्ड विस्तारका लागि २०७८ जेठमा सम्झौता भएको हो । यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने छ । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउने काम भइरहेको छ । पश्चिम खण्डको लागत रु सात अर्ब ४० करोड ४६ लाख रहेको प्रमुख पौडेलले बताउनुभयो ।

त्यसैगरी ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको पूर्वी खण्ड विस्तार कार्य तीव्र पारिएको पोखरा–मुग्लिन सडक योजनापूर्वी खण्डका प्रमुख श्याम यादवले जानकारी दिनुभयो । यस खण्डमा तिहार बिदाको समयमा पनि सडक विस्तार कार्यलाई तीव्र पारिने छ । सडक फराकिलो बनाउने, भित्ता खार्ने, खाडल पुर्ने, पक्की पुल र कल्भर्ट निर्माण गर्नेलगायत काम भइरहेका छन् । यस खण्डमा ३६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको प्रमुख यादवले जानकारी दिनुभयो । पूर्वी खण्ड विस्तारका लागि २०७७ माघमा विसं २०७८ वैशाखदेखि काम सुरु भएको होे । यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको काम २०८१ वैशाखसम्म सम्पन्न गर्नुपर्ने प्रमुख यादवले बताउनुभयो । पूर्वी खण्डको लागत रु ६ अर्ब २१ करोड ३१ लाख रहेको छ ।

भूकम्पपीडितलाई सघाउन उपाध्यक्ष राजेन्द्र पाण्डेको आह्वान

काठमाडौँ, २५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले भूकम्पपीडितलाई सघाउन आह्वान गर्नुभएको छ ।

गोरखा–काठमाडौँ सम्पर्क मञ्चले भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले आज आयोजना गरेको देउसीभैलो कार्यक्रममा उपाध्यक्ष पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहुनेतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले भूकम्पलगायत सम्भावित विपद् तथा प्रकोप व्यवस्थापनका लागि सरकार सधैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेता पाण्डेले प्रभावितले चिसोको समयमा खुला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाको स्वास्थ्यमा आउने समस्या निराकरण गर्न सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।पोलिटब्यूरो सदस्य दिलु पन्तले आपूर्ति कम भएकाले पीडितले राहत सामग्री नपाएका भन्दै त्यसलाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।

गणतन्त्रका उपलब्धि जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, २५ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सम्वत नै राष्ट्रिय सम्वत भएकाले सरकारको दस्ताबेजमा लेख्ने बताउनुभएको छ ।साहित्यकार पद्मरत्न तुलाधरको पाँचौँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् भनेर मात्र पुग्दैन, म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको थिए ।” पद्मरत्न तुलाधरले नेपाल सम्वत् नै राष्ट्रिय सम्वत् भएको बताएको स्मरण गर्दै उहाँले त्यसपछि आफूले पहिलोपटक नै प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “त्यो घोषणा पनि पद्मरत्नजीसँगै बसेर गरिएको हो, अब नेपाल सम्वत् ११४४ आउँदैछ, मसँग अस्ति केही प्रतिनिधि आउनुभयो र यही नेपाल सम्वत्बारे कुरा हुँदा त्यसलाई राष्ट्रिय सम्वत् भनेर मात्रै भएन, व्यवहारमा कार्यान्वयन गर्नुपर्‍यो, अब राष्ट्रिय सम्वत् नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ ।”

प्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रमाथि प्रहार भएको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीलगायत उपलब्धिको रक्षा गर्न सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति

काठमाडौँ, २५ कात्तिक : अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ ।

नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले उक्त आयोजना निर्धारित मितिमा सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताउनुभयो । “नेपाली सेनाको जिम्मेवारीअन्तर्गत निर्माणाधीन द्रुतमार्ग निर्माण कार्यलाई गुणस्तरीयरुपमा लक्षित समय सीमाभित्र सम्पन्न गर्न सेना कटिबद्ध रहेको छ”, उहाँले भन्नुभयो । 

आयोजनाको मुख्य चुनौतीका रुपमा लिइएको सुरुङ र अग्ला विशिष्ट प्रकृतिका पुल निर्माण लक्ष्यअनुरुप र उत्साहजनक ढङ्गले प्रगति भइरहेको पहाडी भनाइ छ । उहाँका अनुसार आयोजनाअन्तर्गत मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ र अग्ला पुल निर्माण भइरहेका छन् । 

हालसम्म निर्माणाधीन सुरुङको कूल लम्बाइ छ दशमलव ४१५ किलोमिटरमध्ये तीन दशमलव १३५ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको आयोजनामा संलग्न प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दशमलव ३५५ किलोमिटर लामो महादेवटार सुरुङमा एक दशमलव ४९० किलोमिटर निर्माण भएको छ । यस्तै एक दशमलव ६३ किलोमिटर लम्बाइको धेद्रे सुरुङमा आठ सय छ मिटर तथा एक दशमलव ४३ किलोमिटरको लेनडाँडा सुरुङमा आठ सय ५७ मिटर निर्माण भइरहेको छ । 

सुरुङमार्गको दुवैतर्फबाट खन्ने र सँगसँगै ‘फिनिसिङ’ गर्ने काम भइरहेको छ । गहिरा खोचमा अग्ला प्रकृतिको पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको प्राविधिक प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नं १ देखि ५ सम्मका ४५ वटा पुलको डिजाइन सम्पन्न भएको र एक हजार सात सय ६८ ‘पाइल’मध्ये एक हजार एक सय ७५ पाइल निर्माण भइसकेको सेनाले जनाएको छ । 

तीन महिनामा नेपाल टेलिकमको ३९ करोड बढी आम्दानी घट्यो

काठमाडौँ, २५ कात्तिक : नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा रू ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ ।

उक्त रकम गत आवको सोही अवधिको कूल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा रू ११ अर्ब चार करोड ९० हजार आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालू आवमा रु ३९ करोड १२ लाख ९७ हजार कमी भएको टेलिकमले जनाएको छ ।

कम्पनीको कूल सञ्चालन आय पनि रू ४९ करोड २५ लाख २१ हजार घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आय रू आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कूल सञ्चालन आय रू नौ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा रू ४९ करोड २५ लाख २१ हजार (अर्थात्, ५.४३ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको जनाएको छ । कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा रू दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिमा रू दुई अर्ब २२ करोड ५५ लाख छ हजार रहेको थियो । गत आवको तुलनामा चालू आवमा रू १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा रू ४५.०५ रहेको छ । चालु आवमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटिटी सेवाको बढ्दो प्रयोगक रहेको जनाइएको छ ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको जनाइएको छ । सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर पर्नुका साथै बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब कमी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेतीमा एक अर्बको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गरिँदै

कास्की, २५ कात्तिक : पर्यटकीय सहर पोखराको बजार क्षेत्र प्रवेशको मुख्यद्वार पृथ्वीचोकस्थित सेती नदीमाथि रु एक अर्ब सात करोड २४ लाखको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गर्न लागिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण गर्न लागिएको हो ।

पोखरा–मुग्लिन राजमार्ग सुधार आयोजनाअन्तर्गत पृथ्वीराजमार्गमा निर्माण हुने उक्त पुलको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले आज एक कार्यक्रमबीच शिलान्यान्स गर्नुभयो । आगामी २०८२ भदौसम्म निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ सो पुल निर्माणको ठेक्का रसुवा कन्स्ट्रक्सन कम्पनीलाई दिइएको छ । सेती नदीमा हाल रहेको पुलको दुवैतर्फ थप दुई लेनका एक÷एक पुल निर्माण गरिने मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले बताउनुभयो । पुल निर्माणपछि यसले पोखरा पर्यटनको थप गन्तव्य बन्ने विश्वास लिइएको छ ।

प्रमुख पौडेलका अनुसार निर्माण हुने ‘सिग्नेचर आर्च’ पुल विशिष्ट खालको र आकर्षक हुनेछ । उहाँले भन्नुभयो, “पुल निर्मापछि यातायात व्यवस्थापनसहित पोखराको पर्यटन विकासमा समेत मद्दत पुग्नेछ । यो पुल पोखराको सेल्फी ब्रिजका रुपमा चिनिने छ ।”

पृथ्वीचोकमा चार दशकअघि निर्माण गरिएको हालको पुल साँघुरो हुँदा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको थियो । सडकअनुसार पुल साँघुरेको हुँदा पृथ्वीचोकमा लामो समयसम्म जाम हुने समस्या पुल निर्माणपछि हट्ने विश्वास  छ । सोही पुल हुँदै देशका विभिन्न गन्तव्यमा लामो तथा छोटो दूरीका यात्रुवाहक सवारी साधन तथा मालवाहक सवारी दैनिक ओहोरदोहोर गर्दै आएका छन् । 

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने बताइन्छ । पुल निर्माणको प्रारम्भिक काम भने यसअघि नै सुरु भइसकेको छ । निर्माण कम्पनीका इन्जिनियर सुदर्शन देवकोटाले स्थानीयस्तरमा समस्या नआएको खण्डमा पुल तोकिएको मितिमै सम्पन्न हुने बताउनुभये । उहाँले भन्नुभयो, “काममा कुनै बाधा आएन भने निर्धारित समयमै पुल बन्छ । निर्माण कम्पनीका तर्फबाट हामी प्रतिबद्धता गर्न चाहन्छौँ ।”

कार्यक्रममा मन्त्री ज्वालाले सेती नदी ऐतिहासिक र प्रकृतिको अनुपम उदाहरण रहेको उल्लेख गर्दै आकर्षक पुल निर्माणले पोखरामा थप सौन्दर्य थपिने बताउनुभयो । उहाँले पुल निर्माणमा स्थानीय र प्रदेश सरकारबाट निर्माण व्यवसायीलाई सहयोग हुने भएकाले समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । 

दाङमा फूलखेती गरेका किसानलाई टिपेर माला गाँस्न भ्याइनभ्याइ

घोराही (दाङ), २५ कात्तिक : दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गर्नुभएका लोकेन्द्र रोका मगर फूल टिपेर माला बनाउन थाल्नुभएको छ । यस्तै घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढा मगर पनि तिहारका लागि आजदेखि फूल टिपेर माला बनाउन थाल्नुभएको छ । घोराही उपमहानगरपालिका–१४ मा फूल खेती गर्दै आउनुभएका वीरेन्द्र खड्काले पनि फूल टिपेर माला बनाउन थालेको बताउनुभयो । उहाँले विगतमा तिहारको समयमा रु सात लाखभन्दा बढीको फूल बिक्री गरेको बताउनुभयो ।

लोकेन्द्र, इन्द्रा र वीरेन्द्र जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि फूल बिक्रीको तयारी थालेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उहाँहरूको भनाइ छ । माला बनाएर शीतभण्डारमा राख्ने तर्खरमा किसान छन् । जिल्ला बाहिरबाट समेत फूलको माग आएको घोराही उपमहानगरपालिका–१४, झिगौरास्थित जलजला पुष्प खेती फार्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताउनुभयो । 

“जिल्लाभित्रैकै माग धेरै छ”, उहाँले भन्नुभयोे । रोका मगरले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गर्नुभएको हो । उहाँले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गर्नुभएको छ । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले जिल्लामा दसैँतिहारलगायत पर्व तथा अरु बेला फूलको माग आउन थालेपछि फूलखेती गर्न थाल्नुभएको हो । “दाङमा व्यावसायिक रूपमा फूलखेती कतै थिएन, काठमाडौँमा फूलखेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले पनि सुरु गरेको हुँ”, रोका मगरले भन्नुभयोे ।

रोका मगरले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन सुरु गरेको बताउनुभयो । फूलको माग दसैँतिहारमा बढी हुने गरेको उहाँको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उहाँको भनाइ छ । 

जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत रोका मगरको आग्रह छ । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत ७ वर्षपहिले देखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको हो । उहाँले पनि अहिले फूल टिपेर माला बनाउन थाल्नुभएको छ । तिहारका लागि माग हुन थालेको उहाँको भनाइ छ । 

“माला बनाउन थालेका छौँ”, उहाँले भन्नुभयो । प्रति माला रु ८० देखि रु दुई सयसम्ममा बिक्री गर्ने गरेको बुढाले बताउनुभयो । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उहाँ बताउनुहुन्छ् ।  अहिले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको बुढाले बताउनुभयो ।  

एकदुई कट्ठाबाट सुरु भएको जिल्लाको फूलखेती हालआएर २५ बिघामा पुगेको छ भने ५० भन्दा बढी किसान व्यावसायिक रुपमै फूलखेतीमा जोडिएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीयको उत्पादनलाई बढावा दिन सर्वसाधारणमा कृत्रिम फूलको प्रयोग नगरी प्राकृतिक फूलका माला प्रयोग गर्न र अटेरी गरे कारबाही सहितको सूचना जारी गरेका छन् ।  

उपलब्धि रक्षाका लागि नयाँ अभियान : प्रधानमन्त्री दाहाल

कीर्तिपुर, २५ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार तथा पार्टीमार्फत गणतन्त्र र सङ्घीयता जस्ता उपलब्धिको रक्षाका लागि नयाँ अभियान थालेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) द्वारा आज कीर्तिपुरमा आयोजित ‘कीर्तिपुरका जनता’ विषयक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री दाहालले विगतबाट शिक्षा लिँदै जनतामा आशा जगाउने कार्य गर्न थालेको बताउनुभयो । “विगतमा निष्ठाबाट विचलित हुँदा र पार्टी विभाजन हुँदा फेरि प्रतिक्रान्तिले टाउको उठाउने र अहिलेको परिवर्तनलाई उल्ट्याउने सपना देख्न थाले । त्यसपछि नयाँ ढङ्गले जानुपर्ने भएकाले पार्टीले देशभर अभियान सञ्चालन गरेको हो”, उहाँले भन्नुभयो । यसक्रममा आफू तेस्रोपटक प्रधानमन्त्री भएपछि देशको अवस्थामा देखिने गरी परिवर्तन गर्न विशेष रुपले लागिपरेको प्रम दाहालले बताउनुभयो ।

सरकारले वैदेशिक रोजगारीमा गएका करिब चार लाख श्रमिक र अनौपचारिक क्षेत्रमा रहेका हजारौँ श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने कार्य गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । यसैगरी सरकारले नक्कली भूटानी शरणार्थी प्रकरण, भूमाफियालाई असफल पार्ने कार्य तथा तस्करीको जालो हटाउने कार्यको सुरुआतबाट ‘अब चाहिँ केही हुन्छ’ भन्ने कुराको अनुभूति जनतालाई दिने कार्य गरेको उहाँले उल्लेख गर्नुभयो ।  

संयुक्त राष्टसङ्घका महासचिवबाट हालै भएको नेपाल भ्रमणको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मञ्चहरुमा मौसम परिवर्तनप्रति विश्वकै ध्यानाकृष्ट गरेपछि उक्त भ्रमण सफल भएको बताउनुभयो । मौसम परिवर्तनको सन्दर्भमा नेपालको हक स्थापित गर्न सरकार सफल भएको उहाँको भनाइ थियो । सरकारको मेहेनतको फलस्वरुप मुुलुकको आर्थिक अवस्था क्रमशः सुधार हुँदै गएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । 

“श्रीलङ्काकै स्थितिमा मुलुक पुग्छ कि भन्ने त्रासबाट अर्थतन्त्रलाई उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो । पछिल्लो समय विगत सय वर्षको विद्युत् उत्पादनभन्दा बढी हुने गरी १० हजार एक सय मेगावाटको कर्णाली–चिसापानी परियोजना अघि बढाउने तथा मूलपानी, भरतपुर र विराटनगरका क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने र निजगढको विमानस्थल तथा द्रुतमार्गका काम अघि बढाउने पनि सरकारले निर्णय गरेको उहाँले बताउनुभयो । 

कीर्तिपुरवासीको जिज्ञासा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले पहिलो पटक २०६४ मा कीर्तिपुरबाट जितेर प्रधानमन्त्री भएका बेला गर्न नसकिएका कतिपय काम यसपटक गर्नका लागि पहल गरिरहेको बताउनुभयो । कीर्तिपुरका स्ववासी जग्गा दर्ता, लायकु दरबार पुनःनिर्माण, सार्वजनिक जग्गा संरक्षणलगायत कार्य गर्न विशेष पहल गरिने उहाँले बताउनुभयो ।  

काठमाडौँ महानगरपालिकाले तोक्यो फूलमाला बिक्री गर्न चार स्थान

काठमाडौँ, २५ कात्तिक : काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ ।

दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पु¥याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उहाँले बताउनुभयो ।

महानगरपालिका प्रमुख बालेन्द्र साहले नेपाली फूल उत्पादनलाई प्रोत्साहन गर्न दीपावलीमा प्रत्येक घरमा नेपाली फूल प्रयोग हुनुपर्छ भन्ने निर्देशनअनुरुप महानगरपालिकाले सहजीकरण गर्न लागेको वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डे स्पष्ट पार्नुभयो । महानगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने कार्यमा सहयोग पु¥याउन सबैसँग आग्रह गर्दै आगामी दिनमा अझ व्यवस्थित गरिने प्रतिबद्धता जनाएको छ ।

नेपाल फ्लोरिकल्चर एशोसिएनका अध्यक्ष मीनबहादुर तामाङले अघिल्ला वर्षको तुलनामा यस वर्ष करिब दुई सय बिघा बढी जग्गामा  फूलखेती वृद्धि भएकाले नेपाली बजारमा स्वदेशी उत्पादनले धान्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशी फूल र माला मात्रै प्रयोग गर्ने भनिए पनि अहिलेसम्म करिब तीन लाख किलोभन्दा बढी फूल भित्रिएको तथ्याङ्क छ ।”

विगतका वर्षमा प्रमुख चाडमा ९० प्रतिशत फूल भारतसँग निर्भर रहने गरेकामा केही वर्षयता नेपाली फूलले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको सो अवसरमा जानकारी दिइयो । भारतीय फूलको माला सुतलीमा उनिएको हुन्छ भने नेपाली फूलको माला सेतो धागोबाट तयार हुने भएकाले सहजै चिन्न सकिने व्यवसायीको भनाइ छ । अध्यक्ष तामाङले उपभोक्तालाई नेपाली उत्पादनको प्रयोगका लागि आह्वान गरिएकाले अस्वाभाविक मूल्यवृद्धि नगर्न र सहुलियत मूल्यमा उपलब्ध गराउन किसान र व्यवसायीलाई आग्रह गर्नुभयो । 

नेपाल चेम्बर्स अफ कमर्श काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले फूलैफूलको पर्व तिहारमा उपभोक्तालाई मनासिव मूल्यमा नेपाली उत्पादन पु¥याउने र क्रमशः आत्मनिर्भर हुने प्रयासमा सहयोग पु¥याउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “स्वदेशी ताजा र सुगन्धित फूल र माला चढाएर लक्ष्मी खुसी पार्नुस्, दाजु र भाइलाई पूजा गर्नुस् । सहजरुपमा गुणस्तरीय नेपाली फूलमा किनेर किसानलाई समर्थन र सहयोग गर्नुपर्छ ।”

 नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि सुनिता न्हेमाफूकीले मुलुकको फूलको ठूलो बजार काठमाडौँ उपत्यका भएकाले महानगरपालिको स्वदेशी उत्पादन प्रवद्र्धन र सम्मान गरौँ भन्ने अभियानले किसानलाई प्रोत्साहन गरेको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रिय कृषक समूह महासङ्घका संस्थापक अध्यक्ष उद्धव अधिकारीले नेपाल बहुधार्मिक, बहुसास्कृतिक र बहुभाषिक, बहुजातीय मुलुक भएकाले प्रत्येक दिनहुँजसो मनाइने पर्व र सांस्कृतिक कार्यक्रममा कुनै न कुनैरुपमा फूलको प्रयोग हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयात र निर्यातबीचको सन्तुलन कायम गर्न तथा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न फूललगायत उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । तिहारमा नेपाली फूलको प्रयोग अभियान पनि त्यसको एउटा हिस्सा हो ।”

गाउँघरमा आफ्नै खेतबारीमा उत्पादन हुने भए पनि अधिकांश किसानले यसलाई व्यावसायिक प्रयोजनसित जोड्न सकेका छैनन् । तिहारमा मात्रै सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेकामा त्यसमध्ये सयपत्रीको ३५ लाख थान तथा बाँकी गोदावरी, मखमलीलगायत फूलको माला बिक्री हुने गरेको छ । तिहारमा मात्रै करिब रु ३५ करोड बराबरको फूलको कारोबार हुने गरेको बताइएको छ । 

रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान

रुकुम, २५ कात्तिक : नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ । भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो ।

भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले राससलाई जानकारी दिनुभयो । आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उहाँले बताउनुभयो । आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ ।

विचौलियाले अस्पताललाई बद्नाम गरिरहेका छन् : मन्त्री बस्नेत

काठमाडौँ, २५ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भित्रकै विचौलियाले अस्पताललाई बदनाम गरिरहेका बताउनुभएको छ । वीर अस्पताल सरसफाइ अभियानको आज यहाँ शुभारम्भ गर्नुहुदै मन्त्री बस्नेतले अस्पतालको तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि अस्पताललाई नै गालीगलौज गरी बद्नाम गर्ने, सञ्चारमाध्यममा गलत समाचार लेखाउन लगाउने अस्पताल भित्रैकै विचौलिया भएको बताउनुभयो ।

“केही स्वार्थी कर्मचारी र विचौलियाले अस्पतालको बद्नाम गरिरहेका छन् । उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न केही कर्मचारीलाई उचालिरहेकाले यसतर्फ सबै सजक रहन जरुरी छ”, उहाँले भन्नुभयो । वीर अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो ।कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा डा भूपेन्द्र बस्नेतले तिहारका बेला अरु ठाउँ सफा सुग्घर र झिलीमिली बनाए जस्तै अस्पतालमा पनि सरसफाइ अभियानको सुरुआत गरिएको बताउनुभयो । यो कार्यले निरन्तरता पाउने उहाँको भनाइ थियो ।वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले विभिन्न समूह बनाएर अस्पताल सरसफाइ अभियान थालिएको जानकारी दिनुभयो । सरसफाइ अभियानमा न्याम्सका पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, कर्मचारीलगायत सहभागी हुनुहुन्थ्यो ।

भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या

कर्णाली, २५ कात्तिक : भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

अत्यधिकरुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन् । वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो ।

चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको उहाँले बताउनुभयो । वडाध्यक्ष पन्तका अनुसार लहँमा तुसारो परेको र सिरेठो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ ।

उहाँका अनुसार तीन सय ७५ घरधुरी रहेको वडामा नं ४ मा दम, बाथ र मुटु रोगी ३० ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ । बालबालिका बिरामी हुन थालेको भन्दै वडाध्यक्ष पन्तले चिसोले स्वास्थ्य अवस्था बिगँ्रदै जाँदा बिरामीको सङ्ख्या बढ्न थालेको बताउनुभयो ।

दल्ली नगर अस्पतालका डा विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिनुभयो । उहाँले अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक एकसय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उहाँको भनाइ छ ।

भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औल र चतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी सङ्कट बढेको नगरप्रमुख रावतले बताउनुभयो । “स्थानीयहरु नदीको दुषित पानी खान बाध्य छन्”, उहाँले भन्नुभयो, “अधिकांश स्थानीयका शौचालय भत्किएपछि खुलास्थानमा शौच गर्न बाध्य भएकाले रोग फैलने खतरा बढेको छ ।”

नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा श्याम विकले भेरी नगरपालिकाको रावतगाउँ, नलगाडको चिउरी, कालेगाउँलगायत ठाउँमा चार दिनसम्म बसेर करिब चार सय बिरामीको उपचार गरेर फर्किएको बताउनुभयो । उहाँका अनुसार भूकम्प गएको एक/दुई दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो । नियमित औषधि सेवनकर्ताको भूकम्पले घर भत्काउँदा औषधि पुरिएपछि उनीहरुले औषधि खानबाट वञ्चित भए जसले गर्दा उनीहरुमा चिसोले असर पार्दै गएको छ ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले पीडितका आधारभूत आवश्यकता परिपूर्ति गर्न निरन्तर लागि परेको बताउनुभयो । “एकैपटक सबै कुरा गर्न गाह्रो छ तथापि प्रतिपरिवार एउटा त्रिपाल र कम्बल दिएका छौँ”, उहाँले भन्नुभयो । एक/एक थान त्रिपाल र कम्बलकै साहारामा रात कटाउनुपर्दा सिरेठो जाडोले ज्येष्ठ नागकि, बालबालिका र सुत्केरीमा दम, रुघाखोकी, निमोनिया, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको उहाँको भनाइ छ ।

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

भक्तपुर, २५ कात्तिक : तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउन एकछिन फुर्सद छैन ।शिवप्रसाद प्रजापतिले आफूहरुले यसवर्ष करिब २० लाख पाला बनाएर बिक्री गर्ने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब ६० घरपरिवार माटोको भाँडा, पाला बनाउन व्यस्त छन्, बजारमा भारतीय पाला छिरिरहेको छ, सरकारले यसलाई रोक्न सके यसवर्ष हामीले २० लाख पाला बनाएर काठमाडौँ उपत्यकादेखि पोखरासम्म बिक्री गर्ने योजना बनाएका छौँ ।”उहाँले भक्तपुरका पाला देशका विभिन्न ठाउँमा पुग्ने गरे पनि अहिले तराईदेखि पहाडसम्म स्थानीयस्तरमै पाला निर्माण गरेपछि यहाँका पाला उपत्यका र काभ्रेमा मात्रै खपत हुने बताउनुहुन्छ । यसवर्ष एक दर्जन पाला रु ४० मा खुद्रा बिक्री गरेको र थोकमा प्रतिगोटा रु दुई मा बिक्री भइरहेको उहाँले बताउनुभयो ।केही वर्ष अगाडिसम्म भक्तपुरमै माटो पाइने भए पनि असहले साँखुबाट महँगोमा माटो ल्याउनुपर्दा प्रजापति समुदायलाई समस्या परेको भन्दै उहाँले स्थानीय सरकारले माटो ल्याउन सहजीकरण गरिदिनुपर्ने बताउनुहुन्छ ।“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ”, तालाक्व पोर्टरी स्क्वायरका ३८ वर्षीय विनोदकुमार प्रजापतिले भन्नुभयो, “माटोको समस्याले अर्डरअनुसारको काम गर्न पाइएको छैन ।” उहाँका अनुसार वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो । त्यसैले यो मौकालाई गुम्न नदिन यहाँका सिङ्गो समुदायका स–परिवार बिहानैदेखि रात नपरेसम्म माटोकै काममा व्यस्त हुने गरेको उहाँको भनाइ छ । भाँडा बनाउने परम्परागत मेसिन लोप भएपछि आधुनिक र सजिलो विद्युतीय मेसिनबाट माटोको भाँडा बनाउन व्यस्त उहाँले यस वर्ष १५ हजार पाला बिक्री गरिसक्नुभएको छ । पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त उहाँले यस वर्ष साना र ठूला दुवै प्रकारको पालाको माग रहेको बताउनुभयो ।पोटरी स्क्वायरकै दयाराम प्रजापतिको पनि हात एकछिन पनि खाली छैन । बाजे बराजुको पालादेखि माटोको भाँडा बनाउँदै आएको उहाँको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “यस वर्ष पालाको माग धेरै छ, तिहार आइसक्यो, मागअनुसारको पाला उत्पादन गर्न भ्याएकै छैन ।”यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौँ, ललितपुर, काभेपलाञ्चोक, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जलगायतका स्थानमा बिक्री हुने गरेको छ ।पाला बनाउन व्यस्त विनोद प्रजापतिले माटो र काठको अभाव भएको भन्दैसरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुने बताउनुभयो । भक्तपुरमा माटो पाउन छाडेको करिब एक दशक भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गरे पनि त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेसा नै सङ्कटमा पर्ने अवस्था आएको उनीहरु गुनासो गर्छन् ।स्थानीय विकास प्रजापतिले साँखुबाट व्यापारीले एक मिनीट्रक माटोको रु १३ हजारदेखि १५ हजारसम्म लिने गरेको बताउनुहुन्छ । माटो र दाउराको अभावले समस्या आएको उहाँको भनाइ छ ।विगतमा भक्तपुरका कुमाले बाहिर जिल्लामै गएर माटोको भाँडा बनाउने गर्दथे भने कतिपय विभिन्न जिल्लामा बसाई सरेर गएका कुमालेले सोही ठाउँमै माटोको भाँडा बनाउने गरेपछि माग घटेको स्थानीय बलराम प्रजापति बताउनुहुन्छ । पुर्खादेखि गर्दै आएको काम छाड्न नसकिएको बताउँदै यहाँले माटोको भाँडाबाट घरखर्च चल्ने गरेको बताउनुहुन्छ ।—

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरु

काठमाडौँ, २५ कात्तिक : सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरु गरिएको छ ।ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सिसी क्यामरा जडान सुरु गरिएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा जडान सुरु गरिएको बताउनुभयो ।उहाँका अनुसार ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवतीबहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ११२ वटा सिसी क्यामरा जडान हुनेछन् ।यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो ।ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि परिषद्को अगुवाइमा सिसी क्यामरा जडानलाई अगाडि बढाइएको बताउनुभयो ।विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दैै आइरहेको छ । 

राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता

रामीडाँडा (जाजरकोट), २५ कात्तिक : जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् । त्यसमाथि आज विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ । भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताउनुभयो ।

बारेकोट गाउँपालिका–१ धौलाकोटमा पनि राहत सामग्री पुग्न सकेको छैन । स्थानीय हरिबहादुर थापाले भूकम्पपीडितमा चिसोका कारण ज्वरो र झाडापखाला देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकासँग जति पटक माग्दा पनि राहत पाइएको छैन, भूकम्पको केन्द्रविन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो तर अहिलेसम्म त्रिपाल पनि पुगेको छैन ।”

बारेकोट चिसो ठाउँ हो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत पर्याप्त नभएको र सबैले नपाएको बताउनुभयो । उहाँका अनुसार बारेकोटमा अझै एक हजार सात सय थान त्रिपाल अपुग छ ।

नलगाड नगरपालिकामा पनि सबैलाई राहत पुगेको छैन । नगरपालिकाको वडा नं १ देखि ७ सम्म राहत वितरण गरिए पनि वडा नं ८ देखि १३ का बासिन्दाले राहत सामग्री पाएका छैनन् । नलगाड वडा नं ८ बारेकोट गाउँपालिकाको वडा नं ८ सँग जोडिएको पालिका हो भने वडा नं ९ बारेकोटको धुमालगायतका क्षेत्रसँग जोडिएको क्षत्र हो ।

नलगाड वडा नं ८ पालिकामा सबैभन्दा धेर जनसङ्ख्या भएको क्षेत्र हो । त्यहाँ केही संस्थाले आफूखुसी राहत सामग्री वितरण गर्दा सबैले नपाएको स्थानीय भीमबहादुर खत्रीले बताउनुभयो । प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरी निर्णय गर्दा आफूहरु पीडित भएको उहाँको भनाइ छ ।

भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ । बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन् । आज विहानदेखि पर्न थालेको पानीले प्रभावितलाई थप पीडा दिएको छ । अधिकांश घरबाट छाएको ढुङ्गा झरेका छन् । भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ । कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई पटकसम्म दिएका पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले बताउनुभयो ।

सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएर बस्नेलाई कसैले पनि राहत पाएका छैनन् । राहत माग्न जाँदा घर मालिकको मात्रै नाम भेटिने गरेको र आफूहरुलाई सूचीमा नाम नै नभएको बारेकोट गाउँपालिका–४ घर भई सदरमुकाममा बस्दै आउनुभएका मालबहादुर सिंहले गुनासो गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रभात चलाउनेले पालिकामा धेरै राहत आएको भनिए पनि अझै ४० प्रतिशतले राहत नपाएको बताउनुभयो ।

उच्च अदालतको आदेश : फिर्के खोलाका संरचना तत्काल नहटाउनु

कास्की, २५ कात्तिक : उच्च अदालत पोखराले पोखराको फिर्के खोला किनारका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।

पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेपछि अदालतले सो सूचना कार्यान्वयन नगर्न आदेश गरेको हो ।

महानगरको सूचनालाई लिएर स्थानीय राजन रौनियारसमेतले दायर गरेको रिटमा शुक्रबार अदालतले सुनुवाइ गर्दै निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म तत्काल महानगरको सूचनाको कार्यान्वयन नगर्नू÷नगराउनू तथा यथास्थितिमा राख्नु भनी विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको हो ।

पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलाको मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउनका लागि महानगरले गत कात्तिक १० गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । महानगरपालिकाले भवन निर्माण संरचना बनाउँदा यसअघि नक्सापास गरेको स्मरण गराउँदै भत्काउनुपर्ने भए जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जाको व्यवस्था गर्नुपर्ने निवेदकको जिकिर छ ।

निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता मुकुन्द अर्याल र अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गर्नुभएको थियो । पोखरा महानगरपालिका वडा २, ४, ५, ६, ७, ८, १७ र १८ अन्तर्गत फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने महानगरको तयारी थियो ।

फिर्केखोलाको खोलाघरभित्र एक सय ६० संरचना बनेका छन् । तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका सङ्घसंस्थाले संरचना बनाएका छन् । गत साउन पहिलो साता महानगरले फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउनका लागि प्राविधिक समिति बनाएर सीमाङ्कन सुरु गरेको थियो । सो प्राविधिक समितिले एक महिना लगाएर खोलाको नाप जाँच गरेको थियो ।

प्राविधिक समितिको प्रतिवेदनअनुसार फिर्के खोलाघर माथि स्थायीदेखि अस्थायी प्रकृतिका संरचना निर्माण गरेको पाइएको थियो । फिर्के अतिक्रमण गरी खोलामाथि सामाजिक सङ्घसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइएको थियो ।

महानगरले फिर्केका अतिक्रमित संरचना हटाएर सो क्षेत्रमा दिगो पर्यटन विकास परियोजना सञ्चालनको तयारी गरेको छ । सो परियोजनाअन्तर्गत फिर्केको संरक्षण, सम्वद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।

नोभो नोर्डिस्कले मोटोपना विरुद्धको औषधि उत्पादन बढाउन छ अर्ब डलर लगानी गर्ने

डेनिस औषधि निर्माता कम्पनी नोभो नोर्डिस्कले मधुमेह र मोटोपनाविरुद्धको उपचारको ठूलो माग पूरा गर्न उत्पादन सुविधा विस्तार गर्न ४२ अर्ब क्रोनर (६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा शुक्रबार गरेको छ ।‘ओजेम्पिक’ र ‘वेगोभी’ औषधीको बिक्रीले नोभो नोर्डिस्कलाई बजार पूँजीद्वारा युरोपमा सबैभन्दा मूल्यवान कम्पनी बनाएको छ ।

तर औषधि निर्माताले औषधिहरूको मागलाई कायम राख्न सङ्घर्ष गरेको छ । दुबै यसको जीएलपी–१ को उत्पादनमा निर्भर गर्दछ, जसले इन्सुलिन उत्पादन गर्ने आन्द्राको हर्मोनको मात्रा बढाउँछ ।कम्पनीले यो लगानी डेनमार्कको कालुन्डबोर्गमा विद्यमान उत्पादन सुविधाहरू विस्तार गर्न, गम्भीर दीर्घकालीन रोगहरूमा वर्तमान र भविष्यको उत्पादन जिम्मेवारीेको लागि प्रयोग गरिने बताएको छ ।

“यो लगानीले औषधिजन्य सामग्री (एपीआई) को उत्पादनदेखि प्याकेजिङसम्म सक्रिय सम्पूर्ण विश्वव्यापी मूल्य श्रृंखलामा अतिरिक्त क्षमता सिर्जना गर्नेछ । यो लगानीमा अधिकांश एपीआई क्षमतामा लगानी गरिएको छ,” नोभो नोर्डिस्कले एक विज्ञप्तिमा भन्नुभयो ।

नयाँ ‘बहु–उत्पादन सेवा’ निर्माण गरिने र यो लगानीबाट नयाँ एपीआई सुविधामा ७०० र नयाँ प्याकेजिङ सुविधामा १०० गरी ८०० नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । “जीएलपी–१ उत्पादनहरू समावेश गरिएको लगानीले नोभो नोर्डिस्कको भविष्यको बजार माग पूरा गर्ने क्षमता बढाउनेछ,” कम्पनीले भनेको छ ।

ओजेम्पिक सूईबाट दिइने मधुमेह रोगविरूद्धको एक उपचार हो । वेगोभी फरक मात्रामा ओजेम्पिकको समानान्तर छ र मोटोपनको उपचारको लागि अमेरिकी नियामकहरूद्वारा अनुमोदित गरिएको छ ।नोभेम्बरको सुरुमा, नोभो नोर्डिस्कले तेस्रो त्रैमासिक मुनाफामा ५६ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेको थियो । नोभो नोर्डिस्कले तेस्रो त्रैमासिक मुनाफा अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्मको खूद नाफा २२.५ अर्ब क्रोनर पुगेको बताइएको छ । यसको बिक्री २९ प्रतिशत बढेर ५९.७ अर्ब क्रोनर पुगेको छ ।

६० प्रतिशत भूकम्पपीडितलाई राहत वितरण

कर्णाली – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भूकम्पपीडितलाई एक सातामा ६० प्रतिशत राहत वितरण गरिएको बताउनुभएको छ ।

भूकम्पमा परेकाको उद्धारसँगै जाजरकोट र रुकुमपश्चिमका ६० प्रतिशत भूकम्पपीडितलाई हवाई तथा स्थलगत दुवै मार्ग प्रयोग गरेर राहत वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार शनिवारसम्म सबै पीडितले राहत प्राप्त गर्नेछन् ।

“भग्नावशेषमा परिणत भएका घरका पीडितलाई त अनिवार्य राहत वितरण गर्नु नै पर्नेभयो,” मन्त्री जिसीले भन्नुभयो, “कच्ची घर भएका तर भूकम्पको त्रासले बाहिर बसेकालाई पनि त्रिपाल, लत्ताकपडा, भाडावर्तनलगायत बन्दोबस्तीका सामग्री सहयोग गर्नुपर्ने भएकाले राहतको परिमाण बढाउनुपर्ने भएको छ ।”

त्यसका साथै भूकम्प प्रभावित स्थानीय तहमार्फत राहतका काम गर्नेगरी प्रदेश सरकारद्वारा रु दुई करोड ४५ लाख वित्तिय हस्तान्तरण गरिएको बताउँदै मन्त्री जिसीले विपद् व्यवस्थापन कोषमा कोशी प्रदेशबाट रु एक करोड र एनसेलबाट रु ५० लाख जम्मा भएको जनाकारी दिनुभयो ।

सदन, सरकार र आफ्नै कामबाटसमेत सन्तुष्ट छैन : नेता आले

काठमाडौँ, २५ कात्तिक : सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गर्नुभएको छ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका सांसद आलेले पछिल्लो एक वर्षको समीक्षा गर्दा सन्तोष गर्ने पर्याप्त ठाउँ नरहेको विश्लेषण गर्नुहुन्छ ।

‘सांसदसँग रासस संवाद’ का क्रममा नेकपा (एकीकृत समाजवादी)का नेता सांसद आलेले निर्वाचन यताका आफूले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई गरेको प्रतिबद्धताअनुसार काम गर्न नसकेको स्वीकार्नुभयो । “सत्तापक्षकै सांसदको हैसियतले बोलिरहँदा म पछिल्लो एक वर्षको कार्यकालबाट खासै सन्तुष्ट छैन । जनता पनि खुसी छैनन् । चुनावयता मैले मुख्यगरी दुईवटा विषय उठाएको थिए । तर ती पूरा भएनन्”, सांसद आलेले भन्नुभयो, “तर मलाई विश्वास छ, मैले उठाएका यी दुई मुद्दा पाँच वर्षभित्र पूरा हुने छन् ।”सांसद आलेले आफूले निर्वाचनका क्रममा पश्चिम सेती नदीमा तटबन्ध निर्माण गर्ने र धनगढी–दीपायल–बझाङ–ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने वाचा आफ्ना मतदातासँग गरेको उल्लेख गर्नुभयो । यी दुवै आयोजनाका लागि आफूले पहल गरेको भए पनि उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको उहाँको भनाइ छ ।नेपाल, भारत र चीन जोड्ने सडकका रुपमा दीपायल–चैनपुर–ताक्लाकोट सडक बनाउन सके नेपाली सीमाबाट कैलाश मानसरोवर करिब ७० किलोमिटर मात्रै टाढा पर्ने भएकाले यो सडक आयोजना निकै महत्वपूर्ण रहेको सांसद आले बताउनुहुन्छ । यी दुई आयोजनाका लागि बजेट छुट्याइदिन आफूले अर्थमन्त्रीसँग आग्रह गरेको भए पनि वार्षिक बजेटमा नपरेको उहाँको गुनासो छ ।सांसद आले यसअघि २०७० सालमा डोटी निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य र २०७४ सालको निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । हक्की स्वभाव र स्पष्ट धारणा राख्ने सांसदका रुपमा चिनिनुहुने आले संसद्को प्रभावकारिताका लागि सरकार, प्रतिपक्षसँगै कर्मचारी संयन्त्रको पनि ठूलो भूमिका रहने बताउनुहुन्छ । त्यस्तै, चाँडो–चाँडो सरकार र मन्त्री फेरिने अवस्थाले पनि प्रस्तावित कानुन निर्माणमा ढिलाइ भएको उहाँको बुझाइ छ ।“विधेयक बनाउन कर्मचारी र सम्बन्धित मन्त्रालयको मन्त्री सक्रिय हुनुपर्छ । तर राष्ट्रसेवक कर्मचारीले समयमा विधेयक नबनाउँदा ढिलाइ हुने गरेको छ”, आले भन्नुहुन्छ, “मन्त्रिमण्डल चाँडो–चाँडो फेरिरहँदा पनि विधेयक आउन सकेका छैनन् । एउटा मन्त्रीले काम अघि बढाएको हुन्छ । अर्को मन्त्री आएपछि त्यसमा फेरि समय लाग्छ । त्यो समस्या मैले देखेको छु । उदाहरणका लागि निजामती कर्मचारी विधेयकलाई लिन सक्छौँ ।”त्यस्तै, संसद्का गतिविधिलाई प्रभावकारी र नतिजामुखी बनाउन सरकार र प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार हुनुपर्ने सांसद आले बताउनुहुन्छ । “कतिपय कुरामा सरकार पनि चुकेको छ । सरकार चुकेपछि प्रतिपक्षबाट अवरोध हुने नै भयो । संसदीय व्यवस्थामा त्यसलाई अन्यथा मान्न हुँदैन”, उहाँ भन्नुहुन्छ, “प्रमुख प्रतिपक्ष ‘वेटिङ गभर्मेन्ट’ हो । त्यसकारण विरोध प्रतिपक्षको धर्म नै हो । तर सबै कुरा अवरोध गरेर मात्रै पनि पूरा हुँदैन । कतिपय कुराहरु वार्ताबाट पनि समाधान गर्नुपर्छ ।”सत्तापक्ष र प्रतिपक्षबीच वार्ता र समन्वयको वातावरण बनाउन सक्ने व्यक्ति पनि आवश्यक हुने उहाँको बुझाइ छ । स्व सुवास नेम्वाङले विगतका वर्षहरुमा त्यस्तो भूमिका निर्वाह गर्ने गरेको स्मरण गर्नुहुँदै सांसद आलेले अबका दिनमा त्यो अभाव खड्किने देखिएको बताउनुभयो ।नागरिकका जनजीविकासँग जोडिएका निकै कम विषय मात्र संसद्मा उठ्ने गरेको र संसद्मा प्रवेश पाएका विषयको कार्यान्वयनको प्रभावकारितामा पनि प्रश्न उठ्ने गरेको छ । सांसद आले पनि यसमा सहमत हुनुहुन्छ । “दुर्गम जिल्लामा हवाई सेवा नहुँदा नागरिकले सास्ती पाएकोबारे संसद्मा कुरा उठेपछि म पर्यटनमन्त्री हुँदा धेरैवटा जिल्लामा नेपाल वायुसेवा निगमको सानो जहाज उडान गर्ने व्यवस्था गरेको थिए । हुम्ला, जुम्ला, कालीकोट, अछाम, बाजुरा, डोटीलगायतका जिल्लामा वायुसेवा निगमको ट्विनअटर जहाज जान्थ्यो । तर म मन्त्रीबाट हटेपछि जहाज पनि रोकियो”, उहाँले भन्नुभयो, “जनताको करबाट किनेको जहाज जनताकै लागि प्रयोग गर्नुपर्छ भनेर पटक–पटक भनेको छु । त्यस्तै दसैँ, तिहारको समयमा खाद्यलगायत उपभोग्य वस्तुमा अचाक्ली मूल्यवृद्धि भएका विषय संसद्मा उठेका छन् ।”संसदीय समितिले पनि आ–आफ्नो जिम्मेवारी गम्भीर भएर निभाउनुपर्ने उहाँको सुझाव छ । आफू सदस्य रहेको सार्वजनिक लेखा समितिले थुप्रै आर्थिक अनियमितताका कुराको अध्ययन गरेर दोषीलाई कानुनी कठघरामा ल्याउने काम पनि गरेको आले बताउनुहुन्छ । “वैज्ञानिक वन व्यवस्थापनको नाममा जङ्गल मासिँदै थियो । त्यसबारे लेखा समितिले अध्ययन गरेर त्यो कार्यक्रम नै रोक्न निर्देशन दियो । म वन तथा वातावरणमन्त्री भएको बेला नै मैले वैज्ञानिक वन खारेजको प्रस्ताव मन्त्रिपरिषद्मा लगेर निर्णय गराए”, उहाँ भन्नुहुन्छ, “अहिले पनि डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विद्युत् महसुलको विषय, चुरे क्षेत्र उत्खनन गरेर ढुङ्गा, गिट्टी निकासी गर्नेलगायतका विषय समितिमा आएका छन् । भष्ट्राचारका मुद्दा हामीले उठाइरहेका छौँ । समिति सक्रिय छ । संसदीय समितिमार्फत काम भएका छन् । नभएका होइनन् ।”अहिले देश आर्थिकमन्दीको अवस्थामा छ । यस्तो जटिल अवस्थामा पनि केही राजनीतिज्ञ र उद्योगी-व्यवसायीको मिलेमतोमा राज्य सम्पत्तिको दुरुपयोग तथा कानुनविपरीतका काम भइरहेको सांसद आले बताउनुहुन्छ । डेडिकेटेड ट्रङ्कलाइनको मात्र करिब रू २० अर्ब महसुल बक्यौता राज्यले उठाउन नसकेको उल्लेख गर्नुहुँदै आलेले निजी क्षेत्रका छाता सङ्गठनले पनि राष्ट्रको हितमा काम गर्नुको साटो विचौलियाको काम गरिरहेको आरोप लगाउनुभयो ।“केही नेता र उद्योगी व्यवसायी मिलेर राज्य शक्तिको दुरुपयोग गर्ने तथा उद्योगी व्यवसायीले विचौलियाको काम गर्ने हाम्रो देशका लागि दुर्भाग्य हो । राज्यले आफ्नो कर असुल गर्नैपर्छ । अझै पनि यो विषयमा राजनीतिक दल, तिनका नेता र राज्य संयन्त्र गम्भीर हुन जरुरी छ”, आलेले भन्नुभयो ।

‘बजेट कार्यान्वयनमा न्यून प्रगति’

काठमाडौँ – सरकारले वार्षिक बजेटमार्फत् घोषणा गरेका अधिकांश योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या रहेको एक अध्ययनले देखाएको छ । मुलुकको अर्थतन्त्र र निजी क्षेत्रसँग जोडिएका बजेटका योजना तथा कार्यक्रमको वास्तविक प्रगति न्यून रहेको नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले गरेको ‘बजेट वाच’बाट देखिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० को बजेटमा निजी क्षेत्र र अर्थतन्त्रसँग जोडिएका ६२ वटा योजना तथा कार्यक्रमको विश्लेषण गर्दा ३५ प्रतिशत अर्थात् २२ वटा बुँदामा शून्य प्रगति देखिएको छ । त्यस्तै, २९ वटा बुँदा अर्थात् ४७ प्रतिशत आंशिक कार्यान्वयन र ११ बुँदा अर्थात् १८ प्रतिशत पूर्ण कार्यान्वयन भएको देखिएको हो ।

सिएनआईले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेटका ७३ वटा बुँदाको कार्यान्वयनको अवस्था विश्लेषण गर्ने भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पायोनियर ल एसोशिएटको बौद्धिक साझेदारी तथा युएस एडको प्रावधिक साझेदारीमा सिएनआईले बजेट कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न लागेको हो ।

चालु आर्थिक वर्षको कार्यान्वयनको अवस्था विश्लेषण गर्न लागिएका बजेटका विषयलाई ऊर्जा (जलविद्युत्), होटल तथा पर्यटन क्षेत्र, सूचना प्रविधि, पूर्वाधार, शिक्षा तथा स्वास्थ्य, कृषि, औषधीजन्य तथा सुगन्धित वनस्पती र खानी तथा खनिज गरी छ वटा क्षेत्रमा विभाजन गरिएको छ ।

चालु आर्थिक वर्षको ‘बजेट वाच’ बारे जानकारी दिन आज राजधानीमा आयोजित एक कार्यक्रममा सीएनआइका अध्यक्ष राजेश अग्रवालले सरकारले वार्षिक बजेटमार्फत् राम्रा योजना ल्याउने गरेपनि त्यसको कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । “बजेटमा राम्रा कार्यक्रम आउने तर कार्यान्वयनमा समस्या देखिने अवस्था रहेको छ । बजेट कार्यान्वयन कमजोर हुँदा पूँजीगत खर्चसमेत न्यून हुने गरेको छ”, अग्रवालले भन्नुभयो ।

मुलुकको आर्थिक रुपान्तरणका लागि स्वदेशी र विदेशी लगानी बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष अग्रवालले नेपालले दीगो विकासको लक्ष्य प्राप्त गर्नकालागि वार्षिक रू २० खर्ब २५ अर्ब लगानी गर्न आवश्यक रहेको बताउनुभयो । चालु आर्थिक वर्षको बजेटमा लगानी प्रवद्र्धनसँग सम्बन्धित आठ वटा बुँदा रहेको र यसको कार्यान्वयनलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ छ । “बजेटमा घोषणा गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट विद्यमान अर्थतन्त्रले भोगिरहेको मन्दीको असर, समग्र बजार मागमा आएको कमी, निजी क्षेत्रको घट्दो मनोबलमा सुधार ल्याउन सकिने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द कार्कीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रणाली सुधार र कानुनी क्षेत्रमा पर्याप्त काम भएको बताउनुभयो । सरकारले बजेटमार्फत् एकल बिन्दु सेवाकेन्द्र कार्यान्वयनमा ल्याउने नीति लिएको भएपनि त्यसको प्रभावकारिता भने सोचेअनुरुप देखिन नसकेको उहाँले स्वीकार्नुभयो । नेपालमा लगानी गरिरहेका विदेशी लगानीकर्ताको भिसा सहज बनाउन कानुनीरुपमा काम भइरहेको उल्लेख गर्नुहुँदै उहाँले विदेशी लगानी सहजीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिलो प्रक्रियाकै कारण विदेशी लगानी आकर्षित हुन नसकेको उल्लेख गर्नुभयो । पूँजीबजार सुधारका लागि थालिएका प्रयास पर्याप्त नरहेको पनि उहाँले स्वीकार्नुभयो । गैरआवासीय नेपालीलाई नेपालको पूँजीबजारको दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाउन बोर्डले काम गरिरहेको उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गानाले बजेटमा उल्लेख भएका बुँदाको कार्यान्वयनमा सबैको समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुभयो । पूर्व अर्थसचिव शिशिरकुमार ढुङ्गानाले विदेशी लगानी भित्र्याउनका लागि सम्बन्धित निकायको काम गर्ने शैली चुस्त दुरुस्त हुनुपर्ने बताउनुभयो । विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरणको अवस्थाबारे जानकारी दिन विभिन्न वेभसाइट तथा अन्य अनलाइनमा आधारित सामग्री सम्प्रेषण गरिनुपर्ने उहाँको भनाइ छ । त्यस्तै, नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) चाँडो गर्न पनि उहाँले सुझाव दिनुभयो ।

पोखरामा जनकपुरको मिथिला संस्कृति प्रदर्शन गरिने

गण्डकी, २५ कात्तिक : आभ्या क्लबको आयोजनामा यही मङ्सिर ९ र १० गते पोखरामा जनकपुरको मिथिला संस्कृति, कला एवं पोखरेली ह्याण्डीक्राफ्ट प्रदर्शनी हुने भएको छ ।हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कृपा श्रेष्ठले जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेली सामु ल्याउन लागेको जानकारी दिनुुभयो ।

‘मिथिला शैली, कला र सांस्कृतिक समृद्धि’ नाराका साथ गर्न लागिएको प्रदर्शनीमा जनकपुरका आठ कलाकारसहित १५ जनाको टोली पोखरा आउने उहाँले जानकारी दिनुुभयो ।उक्त क्रममा आभ्या क्लब परिसरमा नै पोखरेली महिलाको हस्तकला प्रदर्शन गरिने उल्लेख गर्दै उहाँले मिथिला र पोखरेली कलाकारको सहभागितामा चित्रकला कार्यशाला पनि गरिने बताउनुुभयो ।कला संस्कृतिको संरक्षणका लागि यसअघि साउनको दोस्रो साता ‘अ डे विद कलर्स’ शीर्षकमा पोखराका बालबालिका तथा विभिन्न उमेर समूहका झण्डै दुुई सय ५० जनाको सहभागितामा सम्पन्न गरिएको क्लबले जनाएको छ । त्यस्तै भदौको तेस्रोे साता माटो, कला र पोखरा शीर्षकमा मूर्तिकलासमेत सम्पन्न गरिएको श्रेष्ठले जानकारी दिनुुभयो ।

देशभक्त विद्यार्थी उत्पादन गर्नुपर्नेमा बिजुक्छेको जोड

भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले देश र जनताको सेवा गर्ने देशभक्त विद्यार्थी उत्पादन गर्नु हरेक शैक्षिक प्रतिष्ठानको दायित्व भएको बताउनुभएको छ ।

शुक्रबार वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी माध्यमिक विद्यालयको उद्घाटन गर्दै नेता विजुक्छेले राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने तथा राष्ट्रप्रेम जागृत हुने पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

बिजुक्छेले भन्नुभयो, “देश र जनताको सेवा गर्ने भावना हाम्रा विद्यार्थीमा विकास गर्नुपर्छ ।” उहाँले बढ्दो वैदेशिक हस्तक्षेपविरुद्ध प्रतिरोधको क्षमता आजका विद्यार्थीमा जगाउनुपर्नेमा जोड दिनुभयो । कलेज व्यवस्थापन समिति अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेजले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गर्नुभयो । नेमकिपा केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष एवं वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व, कलेजका प्राचार्य धनकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

‘सहकारीप्रति जनताको विश्वास बढाएर अर्थतन्त्र निर्माण गर्नुपर्छ’ – सभामुख घिमिरे

पाटन, (ललितपुर) – सभामुख देवराज घिमिरेले सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाएर देशको अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राख्नुभएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ ललितपुरको शुक्रबार आयोजित २९औँ वार्षिक साधारणसभामा मन्तव्य राख्नुहुँदै सभामुख घिमिरेले बैंक नपुगेको ठाउँमा सहकारी पुग्ने बताउँदै यो क्षेत्रलाई राज्यले प्राथमिकता र महत्व दिएको धारणा राख्नुभएको हो ।

“हामीले २०७२ मा संविधान जारी गर्दा सरकारी, निजी र सहकारी गरी तीन खम्बे अर्थ नीति अवलम्बन गरेका छौँ । सहकारी भनेको कमजोर आम्दानी हुनेलाई एकताबद्ध गरेर ठूलो काम गर्न सक्ने अवसर प्रदान गर्ने माध्यम हो । सबै जनताको अर्थतन्त्र समान अवसर कायम गर्ने माध्यम सहकारीलाई राज्यले पनि प्राथमिकता र महत्व दिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले राष्ट्रियस्तरका बैंक पनि नपुगेको ठाउँमा पुग्ने महत्वपूर्ण आधार सहकारी भएको भन्नुहुँदै जनताको पहुँच नभएको ठाउँमा पहुँच पु¥याउने र वित्तीय कारोबारमा हरेक हिसाबबाट प्रेरणा दिने, बाटो देखाउने र देशको अर्थतन्त्रलाई मजबुत पार्ने आधारको रुपमा सहकारी रहेको बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष परितोष पौड्यालले तीन दशकमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घले बहस र पैरवीलाई निरन्तरता दिएको र यसले सहकारी आन्दोलनलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले वित्तीय शिक्षालाई आधारभूत थलो बनाएको सङ्घले वार्षिक नीति तथा कार्यक्रममार्फत सहकारी आन्दोलनलाई अझ सवलीकरण गर्ने काममा आफूलाई उभ्याएको प्रष्ट पार्नुभयो ।

सङ्घले सदस्य सुदृढीकरण कार्यक्रम, प्रारम्भिक संस्थाका सदस्यलाई मालिक बनाउने काम र सदस्यले लाभ प्राप्त गर्न सक्ने माध्यम तयार गर्ने अभियान थाल्नु पर्नेमा उहाँको जोड थियो । २९औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सञ्चालक समितिका अध्यक्ष रामहरि बजगाईंले आबद्ध प्रारम्भिक संस्थाको क्षमता अभिवृद्धि गर्ने, सहकारीको अनुगमन तथा एकीकरणलाई जोड दिने, सङ्घको प्रभावकारी व्यवस्थापन गर्नेलगायत योजना तथा कार्यक्रम रहेको बताउनुभयो ।

सङ्घले २९औँ वार्षिक साधारणसभाका अवसरमा संस्थापक सञ्चालक शम्भुबहादुर केसी, सहकारी पत्रकार खिलानाथ दाहाल, उत्कृष्ट कर्मचारी रमिता अवाले, उत्कृष्ट सहकारी झम्सिखेलस्थित खुत्रुके बचत तथा ऋण सहकारी संस्था र गोदावरी नगरपालिका–१० स्थित कर्मठ सामुदायिक बचत तथा ऋण सहकारी संस्थालाई सम्मानित गरेको छ ।

लुम्बिनी प्रदेशमा वर्षा

काठमाडौँ २५ कात्तिक : देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।भोलि कात्तिक २६ गते आइतबार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।कात्तिक २७ गते सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वार्ताबाट द्वन्द्वको समाधान खोज्नुपर्नेमा जोड

काठमाडौँ – इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व वार्ताका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिइएको छ ।नेपाल बुद्धिजीवि परिषद्ले शुक्रबार आयोजना गरेको ‘राष्ट्रिय सुरक्षा तथा वैदेशिक सम्बन्ध : इजरायल प्लेस्टाइन द्वन्द्वको नेपालमा असर’ बहसका वक्ताहरूले नेपालको शान्ति प्रियता, मानवअधिकारको सम्मान र असंलग्न परराष्ट्र नीतिका आधारमा दुवै पक्षलाई संवादका माध्यमबाट समस्याको समाधान गर्न/गराउन पहल गर्नुपर्नेमा जोड दिइएको हो ।

परराष्ट्र मामिलाका जानकार गोपाल खनालले हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसको औपचारिक नेपाल भ्रमणबाट विश्वमा शान्तिको सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले द्वन्द्व समाधानका लागि नेपालले युद्धविराम गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

परिषद्का महासचिव गजेन्द्र थपलियाले विश्व शान्ति, मानवअधिकार र राष्ट्रियताका सवालमा हरेक बुद्धिजीविले राजनीतिक आस्थाभन्दा माथि उठेर नेतृत्वलाई सल्लाह दिन सक्ने बताउनुभयो । उहाँले तत्कालीन राजा वीरेन्द्र शाहबाट गरिएको शान्तिक्षेत्रको प्रस्तावलाई पुनःब्युँताउनुपर्छ भन्नुभयो ।

परिषद्का बौद्धिक अध्ययन केन्द्रका संयोजक डा राजेन्द्र चापागाईंले शक्तिराष्ट्रको टकवारका कारण विभिन्न मुलुकबीच आपसी युद्ध हुँदा न्यूनतम मानवीतासमेत उलङ्घन हुनु निन्दनीय भएको टिप्पणी गर्नुभयो ।

१९ जिल्लालाई नमूना बनाउने टेलिकमको घोषणा

काठमाडौं – नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो । जसअनुसार शुक्रबार टेलिकमले नमूना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको हो । प्रदेश राजधानी रहेका जिल्लासहित हरेक प्रदेशबाट कम्तीमा दुई जिल्ला समेटिने गरी नमूना जिल्ला कायम गर्ने घोषणा नेपाल टेलिकमले गरेको छ ।

भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित खोटाङ, मोरङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, बर्दिया र रोल्पा रहेका छन् ।

टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा मागबमोजिम उपलब्ध गराई नमूना जिल्ला कायम गर्न थालेको टेलिकमले जनाएको छ । प्रवक्ता शोभन अधिकारीद्वारा आज जारी विज्ञप्तिमा ती जिल्लाका सबै वस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलमा गुणस्तरीय दूरसञ्चार सेवा प्राविधिकरुपमा सम्भव भएसम्म उपलब्ध गराउने उल्लेख छ ।

हाल सेवाका दृष्टिबाट नमूनाको रुपमा कायम गरिने जिल्लामा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्यान्डर्ड सेट्स तथा सेवाहरु कायम हुनेगरी नेटवर्क स्थापित गरिने टेलिकमले जनाएको छ । यी जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधार तय गरिने विज्ञप्तिमा उल्लेख छ ।

जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानववस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइवर सेवा उपलब्ध गराइने पनि टेलिकमले जनाएको छ । सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजनासमेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर हुने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

नमूना जिल्लामा सेवाग्राहीले दूरसञ्चार सेवा खरिद गर्न, जडान तथा मर्मत सम्भार, महसुल भुक्तानीजस्ता सेवाहरु प्राप्त गर्न कम्पनीका कार्यालयमा नभइकन कल सेन्टरबाटै सेवासम्बन्धी सबै कार्य गर्न सकिने व्यवस्था गर्ने घोषणा पनि टेलिकमले गरेको छ । यसमा सेवासम्बन्धी कुनै गुनासो वा सिकायत रहेमा शीघ्र सम्बोध गर्नेगरी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने र विना अवरोध सेवा प्रवाहका लागि सरोकारवाला निकाय विद्युत् प्राधिकरण, खानेपानी, सडकलगायत निकायसँगको आवश्यक समन्वयमा हुने पूर्वाधार निर्माण र सेवा विस्तारका कार्य सम्पन्न गरिने प्रतिबद्धता पनि टेलिकमले जनाएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना

काठमाडौँ, २५ कात्तिक ः राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ३९ औँ जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

फाल्गुनन्दको जयन्तीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरेर उहाँहरुले सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिनुभएको मार्गनिर्देश अनुशरणीय रहेका बताउनुभएको छ ।सन्देशमा राष्ट्रपति पौडेलले सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई सामाजिक अभियान्ताको रुपमा समाज सुधारक भई कार्यसमेत गर्नुभएको उल्लेख गर्नुभएको छ । उहाँले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।“फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको छ, उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ”, सन्देशमा उहाँले भन्नुभएको छ ।उपराष्ट्रपति यादवले फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र उहाँले अवलम्बन गर्नुभएको सत्मार्ग किरात धर्म र संस्कृतिका लागि मात्रै नभई सिङ्गो नेपाली समाज र अन्य धर्मावलम्बीका लागि पनि उत्तिकै मार्गदर्शन गर्ने महत्वपूर्ण पक्ष भएको बताउनुभएको छ ।फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनले आ–आफ्नो संस्कृति र परम्परा मनाउने नाममा पछिल्लो समय नेपाली समाजमा विकास हुँदै गएको भड्किलोपन, आडम्बर र महङ्गा कुसंस्कृतिलाई मितव्ययी एवम् संयमित बनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख छ ।प्रधानमन्त्री दाहालले समाज सुधारक फाल्गुनन्दले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्दै उहाँको उपदेशको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ । फाल्गुनन्दले अगाडि सार्नुभएको समाज सुधारका महत्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्ष किरात धर्मावलम्बीका लागि मात्र नभई सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय रहेको उहाँले बताउनुभएको छ ।किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि निर्वाह गरेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ ।

राष्ट्रिय सभा निर्वाचनको तयारीमा आयोग

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तयारीस्वरूप आयोगले मतदाताको मतभार सम्बन्धमा हिसाब गरेर पठाइदिन राष्ट्रिय तथ्याङ्क कार्यालयलाई बिहीबार पत्राचार गरेको जानकारी दिए। राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख एवं उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ मा पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी सरकारले मिति तोक्ने व्यवस्था छ । जस अनुसार सरकारले माघ दोस्रो साताभित्र निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्नुपर्ने छ । कानुनले मतदान हुने दिनसम्ममा १२० दिन पुग्ने गरी निर्वाचनको मिति घोषणा हुनुपर्ने व्यवस्था गरेको छ तर कानुनबमोजिम नै निर्वाचनको मिति घोषणा भए आयोगसमक्ष अब करिब ७५ दिन मात्रै बाँकी रहन्छ ।

ऐनमा प्रत्येक प्रदेशमा गठन हुने निर्वाचकमण्डलले गोप्य मतदानद्वारा सदस्य चयन गर्ने व्यवस्था छ । निर्वाचकमण्डलमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहने छन् । प्रदेश सभा सदस्य र पालिकाका प्रमुख, उपप्रमुखको मतभार फरक हुन्छ ।

२०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ थियो । पालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ थियो । प्रत्येक १० वर्षमा हुने जनगणनाका आधारमा मतभार पुनरवलोकन गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा २०७८ मा सम्पन्न जनगणनाको तथ्याङ्कबमोजिम आयोगले मतभार पुनरवलोकन गर्दै छ । जनसङ्ख्या वृद्धि भएकाले मतभारसमेत बढ्ने छ । अब भने प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ हुने अनुमान गरिएको छ ।

प्रवक्ता पौडेलले तिहारलगत्तै निर्वाचनको मिति घोषणा नभए निर्वाचन कार्यक्रम छोट्याउनुपर्ने बताए । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत रहेका छन्। निर्वाचन भने १९ सदस्यका लागि हुने छ र राष्ट्रपतिले एक जना मनोनीत गर्नेछन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

आज धन्वन्तरी जयन्ती

काठमाडौँ, २५ कात्तिक ः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो ।

विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रुपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा वि सं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रुपमा जडिबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरुमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।

कोरोना भाइरस एवं डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन समेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ । विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ ।

महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ, २५ कात्तिक ः किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन विसं २००५ मा भएको हो । किराँत समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोवास रहेको पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका संस्थापक अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिनुभयो ।–––

सुरु भयो यमपञ्चक, आज काग तिहार मनाइँदै

काठमाडौँ, २५ कात्तिक ः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उहाँले भन्नुभयो ।यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।भाइटीका कात्तिक २९ गते १० ः ५१ बजे उत्तमकात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १० ः ५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाउनुभयो । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् ।झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन ।

मुटुरोग विशेषज्ञ डा ओममूर्तिद्वारा विश्व रेकर्ड कायम

काठमाडौँ, २४ कात्तिक : मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गर्नुभएको छ ।

चिकित्सक एवं लेखक उहाँले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गर्नुभएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिनुभयो ।

“गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा गरेको छु”, उहाँले भन्नुभयो, “यो कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय बन्ने आशा छ ।”

असोज १२ गते साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घन्टा लामो उक्त प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले एकैपटक प्रत्यक्ष प्रसारण हेरेका थिए । उक्त फेसबुक प्रत्यक्ष प्रसारणलाई नौ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए । फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए । प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गर्नुभएको थियो ।

डा ओममूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आउनुभएको छ । उहाँले यो दोस्रो पटक विश्व रेकर्ड मार्च २०२३ मा बनाउनुभएको थियो । सन् २०१३–१४ मा इमेज एफएम १०३ दशमलव ६ मेगाहर्जबाट अतिथि वक्ताका रुपमा लगातार ४४ सातामा ‘मुटु स्वास्थ्य जागरुकता’ रेडियो कार्यक्रममा अतिथि वक्ताको रूपमा भाग लिनुभएको थियो ।

‘मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्छ’ – शङ्कर पोखरेल

काभ्रेपलाञ्चोक, २४ कात्तिक : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज एमाले धुलिखेल नगर कमिटीद्वारा तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमार आयोजित चियापानमा महासचिव पोखरेलले संस्कृतिप्रति गर्व गर्दै त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रियाअघि बढाउनुपर्ने बताउनुभयो ।

“हाम्रो संस्कृतिप्रति गर्व गर्नुपर्दछ र त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्दछ, अनि मात्रै चुनौतीको सामना गर्न सकिन्छ”, नेता पोखरेलले भन्नुभयो । उहाँले नेपाली समाजलाई धार्मिक अतिवादतर्फ लैजाने प्रयत्न भएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसले नेपाली समाजको मौलिक संस्कृतिलाई कमजोर बनाउने छ ।”

महासचिव पोखरेलले पछिल्लो समय नेपाली समाजको मौलिक संस्कृतिलाई विघटन गर्ने प्रवृत्ति नेपाली समाजका लागि निकै चुनौतीपूर्ण रहेको एमालेको दृष्टिकोण रहेको बताउनुभयो । “राष्ट्र विभिन्न चुनौतीबाट गुज्रिरहेको छ, अराजकता र चुनौतीको समाना गर्नसक्ने योजनाका साथ अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । देश निर्माण गर्न बलियो जनादेशको आवश्यक पर्ने उहाँको तर्क थियो ।

एमाले पोलिटब्यूरो सदस्यद्वय गोकुलप्रसाद बाँस्कोटा र कृष्ण राई, एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महतलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

रुकुमपश्चिमका भूकम्पपीडितलाई ३५ लाखको खाद्यान्न

त्रिवेणी (रुकुमपश्चिम), २४ कात्तिक : भाटभटेनी सुपर मार्केट प्रालिले रुकुम पश्चिमका भूकम्पपीडितलाई खाद्यान्न सहयोग गरेको छ । जिल्लाको सानीभेरी र आठविकोट नगरपालिकालाई पुग्ने गरी जिल्ला प्रशासनमार्फत प्रालिले खाद्यन्न सहयोग गरेको हो ।

प्रालिले जिल्लामा एक हजार छ सय ८० बोरा अर्थात् ४२ टन जिरा मसिनो चामल सहयोग गरेको भाटभटेनी सुपर मार्केट स्टोर प्रालिका क्षेत्रीय प्रबन्धक विनोद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यन्नबापत रुकुमपश्चिममा आएको चामल रू ३५ लाख बराबरको हो ।

पहिलो चरणमा प्रालिले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रू एक करोड ११ लाख एक हजार एक सय एघार सहयोग गरिसकेको छ । प्रभावित क्षेत्रमा खाद्यान्न अभाव नहोस् भनेर दोस्रो चरणमा चामल सहयोग गरिएको क्षेत्रीय प्रबन्धक भट्टराईले जानकारी दिनुभयो ।

रुकुमपश्चिममा वितरण सकिएलगत्तै जाजरकोटमा पनि राहत सामग्रीअन्तर्गत चामल वितरण गर्ने कार्यक्रम रहेको छ । जाजरकोटका लागि पनि रू ३५ लाख बराबरको खाद्यन्न सामग्री वितरण गरिने उहाँको भनाइ थियो ।

आवश्यक परेमा थप राहत सामग्री भूकम्पपीडितलाई उपलब्ध गराइने प्रालिले जनाएको छ । प्रालिले उपलब्ध गरेको चामल जिल्ला प्रशासनमार्फत सानीभेरी गाउँपालिमा पुगिसकेकाले छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिने गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो ।

तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत

दमौली (तनहुँ), २४ कात्तिक : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत पुगेको छ । आयोजनाले तीन खण्ड (प्याकेज) मा गरी ४६ दशमलव ३५ प्रतिशत प्रगति भएको जनाएको छ ।

तीन खण्डमा काम तीव्र गतिमा अगाडि बढिरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताउनुभयो । उहाँका अनुसार प्याकेज एकमा २५, प्याकेज दुईमा ४७ र प्याकेज तीनमा ६९ प्रतिशत प्रगति हासिल भएको छ ।

आयोजनाले विसं २०७५ देखि काम सुरु गरेको थियो । शिल्पकारले भन्नुभयो, “तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।” आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उहाँको भनाइ थियो ।

आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण सोमबारदेखि सुरु गरिएको शिल्पकारले जानकारी दिनुभयो । “त्यसका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ”, उहाँले भन्नुभयो ।

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको आयोजना प्रमुख शिल्पकारले बताउनुभयो । “बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो । सेती नदी अब सोही डाइभर्सन टनेलभएर बग्नेछ”, उहाँले भन्नुभयो ।

मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख शिल्पकारले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी फर्काइएपछि अब बाँध निर्माणका लागि काम गर्न सहज हुन्छ । बाँध निर्माणका लागि जग खन्ने काम पनि अब सुरु हुन्छ ।”

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र) लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो ।

निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमवल सात किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ टावरको जग हालिएको छ भने ३३ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख शिल्पकारले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघद्वारा म्यानमारका द्वन्द्व प्रभावित जनताका लागि दश लाख अमेरिकी डलर सहयोग

संयुक्त राष्ट्रसंघ (युएन) ले म्यानमारमा द्वन्द्व प्रभावित जनतालाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ । संयुक्त राष्ट्रसंघ मानवीय निकायले सो बारे जानकारी गराएको छ ।

मानवीय मामिला समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) म्यानमारले बिहीबार जनाए अनुसार म्यानमार मानवीय कोषबाट आवश्यक परेकाहरूलाई सहायता प्रदान गर्न सकिने छ ।

चीनमा चार करोड टन शरद अन्न खरिद

चीनले शरद ऋतुमा उत्पादन भएको अन्न खरिदलाई तीव्रता दिइरहेको छ । देशका प्रमुख अन्न उत्पादन गर्ने क्षेत्रका कम्पनीहरूले हालसम्म ४ करोड टनभन्दा बढी अन्न खरिद गरेको राष्ट्रिय खाद्य तथा रणनीतिक भण्डार प्रशासनको तथ्याङ्कले शुक्रबार उल्लेख गरेको छ ।बजारमा खाद्यान्नको मूल्य स्थिर रहेकाले खरिद गतिविधि तीव्र भएको प्रशासनले जनाएको छ ।

स्थानीय सरकारले कृषकका लागि राम्रो सेवा उपलब्ध गराउनुपर्छ र बजार व्यवस्था कायम राख्न र किसानको हकहित र हितको रक्षा गर्न सबै प्रकारका अनियमिततालाई कडा कारबाही गर्नुपर्ने माग छ स्थानीय सरकारले चामल, मकै र भटमास जस्ता प्रमुख शरद अनाजको मूल्यलाई अनुगमन गर्ने गर्छ ।

राहत वितरण प्रभावकारी बनाउन आग्रह

काठमाडौँ, २४ कात्तिक : राष्ट्रिय मानव आयोगले भूकम्पबाट घरबास गुमाएका पीडितक लागि खाद्यान्नको व्यवस्था, चिसो मौसमबाट सुरक्षितको व्यवस्था गर्दै राहत वितरणलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

“आवास र न्यानो कपडाको पर्याप्त व्यवस्था गर्न, विपद्पश्चात सामूहिक बसाईको अवस्थामा पानी, शौचालयको व्यवस्था गर्र्नुपर्छ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “सरसफाइलगायतका अभावका कारण हुनसक्ने विभिन्न किसिमका सरुवा रोग र महामारीको जोखिमबाट सुरक्षित राख्न आवश्यक पहल हुन, राहत छरितो र समयमै वितरणका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वयका लागि आयोग आग्रह गर्दछ ।”

आयोगले प्रभावितहरु सामूहिकरुपमा बसिरहेकाले शौचालय व्यवस्थापन र सरसफाइमा समस्या देखिएको जसका कारण सरुवा रोग वा अन्य महामारीलगायतका प्रकोप बढ्नसक्ने जोखिम रहेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

राहत वितरणमा जिल्लास्थित सङ्घीय सरकारअन्तर्गतका कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश सरकार र स्थानीय तहहरुबीचको समन्वयमा अभाव देखिएको अनुगमनका क्रममा पाइएको आयोगको भनाइ छ ।

यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्लालगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे आयोगका सदस्य मिहिर ठाकुर र लिली थापा नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

उद्धार र राहतमा तीनै तहका सरकार, राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाजलगायत सबै पक्षबाट भइरहेको क्रियाशीलता एवं घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिएकोजस्ता पक्षलाई आयोगले सकारात्मक रुपमा लिएको छ ।

रुकुम जिल्लाको आठविसकोट नगरपालिका–१४ स्थित छेपारे गाउँमा राहतस्वरुप वितरण गरिएका त्रिपालबाट शीत चुहिने गरेको र तल ओछ्याइएका मेट्रेस पातलो भई तलबाट चिसो आउने भएका कारण सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको पाइएको छ ।

चिसो बढ्दै गइरहेको अवस्थामा न्यानो कपडाको अपर्याप्तता र त्रिपालको बसाइका कारण सुत्केरी, बालबालिका, बिरामी र ज्येष्ठ नागरिकमा समस्या देखिएको, भूकम्प प्रभावित क्षेत्रका अधिकांश विद्यालय भवन क्षतिग्रस्त हुँदा विद्यालय बन्द भएको छ ।

भूकम्पमा परेका महिला र बालबालिकामा डर र त्रासको अवस्था रहेको, शौचालयको अभावका कारण महिनावारी भएका महिला र बालिकाले थप समस्या भोग्नु परिरहेकोलगायतका तथ्य अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

विश्वकप छनोटमा खेल्ने खेलाडी छनोट

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत सयुंक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो । अभ्यासका क्रममा घाइते भएका टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङलाई भने टोलीमा समावेश गरिएको छैन । नेपालले कात्तिक ३० गते यूएईसँग उसैको घरेलु मैदानमा खेल्नेछ । त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्ने छ । विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।

पहिलो चरणमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो । युएईसँग खेल्ने नेपाली टोलीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट र छिरिङ लामा छन् ।

यसैगरी, समूहमा योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजङ् कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियारलाई नेपाली टोलीमा समावेश गरिएको छ ।