`

‘मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्छ’ – शङ्कर पोखरेल

काभ्रेपलाञ्चोक, २४ कात्तिक : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको मौलिक संस्कृतिप्रति गर्व गर्नुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज एमाले धुलिखेल नगर कमिटीद्वारा तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमार आयोजित चियापानमा महासचिव पोखरेलले संस्कृतिप्रति गर्व गर्दै त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रियाअघि बढाउनुपर्ने बताउनुभयो ।

“हाम्रो संस्कृतिप्रति गर्व गर्नुपर्दछ र त्यसको जगमा राष्ट्र निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्दछ, अनि मात्रै चुनौतीको सामना गर्न सकिन्छ”, नेता पोखरेलले भन्नुभयो । उहाँले नेपाली समाजलाई धार्मिक अतिवादतर्फ लैजाने प्रयत्न भएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसले नेपाली समाजको मौलिक संस्कृतिलाई कमजोर बनाउने छ ।”

महासचिव पोखरेलले पछिल्लो समय नेपाली समाजको मौलिक संस्कृतिलाई विघटन गर्ने प्रवृत्ति नेपाली समाजका लागि निकै चुनौतीपूर्ण रहेको एमालेको दृष्टिकोण रहेको बताउनुभयो । “राष्ट्र विभिन्न चुनौतीबाट गुज्रिरहेको छ, अराजकता र चुनौतीको समाना गर्नसक्ने योजनाका साथ अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । देश निर्माण गर्न बलियो जनादेशको आवश्यक पर्ने उहाँको तर्क थियो ।

एमाले पोलिटब्यूरो सदस्यद्वय गोकुलप्रसाद बाँस्कोटा र कृष्ण राई, एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महतलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

रुकुमपश्चिमका भूकम्पपीडितलाई ३५ लाखको खाद्यान्न

त्रिवेणी (रुकुमपश्चिम), २४ कात्तिक : भाटभटेनी सुपर मार्केट प्रालिले रुकुम पश्चिमका भूकम्पपीडितलाई खाद्यान्न सहयोग गरेको छ । जिल्लाको सानीभेरी र आठविकोट नगरपालिकालाई पुग्ने गरी जिल्ला प्रशासनमार्फत प्रालिले खाद्यन्न सहयोग गरेको हो ।

प्रालिले जिल्लामा एक हजार छ सय ८० बोरा अर्थात् ४२ टन जिरा मसिनो चामल सहयोग गरेको भाटभटेनी सुपर मार्केट स्टोर प्रालिका क्षेत्रीय प्रबन्धक विनोद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यन्नबापत रुकुमपश्चिममा आएको चामल रू ३५ लाख बराबरको हो ।

पहिलो चरणमा प्रालिले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रू एक करोड ११ लाख एक हजार एक सय एघार सहयोग गरिसकेको छ । प्रभावित क्षेत्रमा खाद्यान्न अभाव नहोस् भनेर दोस्रो चरणमा चामल सहयोग गरिएको क्षेत्रीय प्रबन्धक भट्टराईले जानकारी दिनुभयो ।

रुकुमपश्चिममा वितरण सकिएलगत्तै जाजरकोटमा पनि राहत सामग्रीअन्तर्गत चामल वितरण गर्ने कार्यक्रम रहेको छ । जाजरकोटका लागि पनि रू ३५ लाख बराबरको खाद्यन्न सामग्री वितरण गरिने उहाँको भनाइ थियो ।

आवश्यक परेमा थप राहत सामग्री भूकम्पपीडितलाई उपलब्ध गराइने प्रालिले जनाएको छ । प्रालिले उपलब्ध गरेको चामल जिल्ला प्रशासनमार्फत सानीभेरी गाउँपालिमा पुगिसकेकाले छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिने गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो ।

तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत

दमौली (तनहुँ), २४ कात्तिक : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत पुगेको छ । आयोजनाले तीन खण्ड (प्याकेज) मा गरी ४६ दशमलव ३५ प्रतिशत प्रगति भएको जनाएको छ ।

तीन खण्डमा काम तीव्र गतिमा अगाडि बढिरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताउनुभयो । उहाँका अनुसार प्याकेज एकमा २५, प्याकेज दुईमा ४७ र प्याकेज तीनमा ६९ प्रतिशत प्रगति हासिल भएको छ ।

आयोजनाले विसं २०७५ देखि काम सुरु गरेको थियो । शिल्पकारले भन्नुभयो, “तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।” आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उहाँको भनाइ थियो ।

आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण सोमबारदेखि सुरु गरिएको शिल्पकारले जानकारी दिनुभयो । “त्यसका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ”, उहाँले भन्नुभयो ।

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको आयोजना प्रमुख शिल्पकारले बताउनुभयो । “बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो । सेती नदी अब सोही डाइभर्सन टनेलभएर बग्नेछ”, उहाँले भन्नुभयो ।

मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख शिल्पकारले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी फर्काइएपछि अब बाँध निर्माणका लागि काम गर्न सहज हुन्छ । बाँध निर्माणका लागि जग खन्ने काम पनि अब सुरु हुन्छ ।”

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र) लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो ।

निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमवल सात किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ टावरको जग हालिएको छ भने ३३ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख शिल्पकारले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघद्वारा म्यानमारका द्वन्द्व प्रभावित जनताका लागि दश लाख अमेरिकी डलर सहयोग

संयुक्त राष्ट्रसंघ (युएन) ले म्यानमारमा द्वन्द्व प्रभावित जनतालाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ । संयुक्त राष्ट्रसंघ मानवीय निकायले सो बारे जानकारी गराएको छ ।

मानवीय मामिला समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) म्यानमारले बिहीबार जनाए अनुसार म्यानमार मानवीय कोषबाट आवश्यक परेकाहरूलाई सहायता प्रदान गर्न सकिने छ ।

चीनमा चार करोड टन शरद अन्न खरिद

चीनले शरद ऋतुमा उत्पादन भएको अन्न खरिदलाई तीव्रता दिइरहेको छ । देशका प्रमुख अन्न उत्पादन गर्ने क्षेत्रका कम्पनीहरूले हालसम्म ४ करोड टनभन्दा बढी अन्न खरिद गरेको राष्ट्रिय खाद्य तथा रणनीतिक भण्डार प्रशासनको तथ्याङ्कले शुक्रबार उल्लेख गरेको छ ।बजारमा खाद्यान्नको मूल्य स्थिर रहेकाले खरिद गतिविधि तीव्र भएको प्रशासनले जनाएको छ ।

स्थानीय सरकारले कृषकका लागि राम्रो सेवा उपलब्ध गराउनुपर्छ र बजार व्यवस्था कायम राख्न र किसानको हकहित र हितको रक्षा गर्न सबै प्रकारका अनियमिततालाई कडा कारबाही गर्नुपर्ने माग छ स्थानीय सरकारले चामल, मकै र भटमास जस्ता प्रमुख शरद अनाजको मूल्यलाई अनुगमन गर्ने गर्छ ।

राहत वितरण प्रभावकारी बनाउन आग्रह

काठमाडौँ, २४ कात्तिक : राष्ट्रिय मानव आयोगले भूकम्पबाट घरबास गुमाएका पीडितक लागि खाद्यान्नको व्यवस्था, चिसो मौसमबाट सुरक्षितको व्यवस्था गर्दै राहत वितरणलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

“आवास र न्यानो कपडाको पर्याप्त व्यवस्था गर्न, विपद्पश्चात सामूहिक बसाईको अवस्थामा पानी, शौचालयको व्यवस्था गर्र्नुपर्छ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “सरसफाइलगायतका अभावका कारण हुनसक्ने विभिन्न किसिमका सरुवा रोग र महामारीको जोखिमबाट सुरक्षित राख्न आवश्यक पहल हुन, राहत छरितो र समयमै वितरणका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वयका लागि आयोग आग्रह गर्दछ ।”

आयोगले प्रभावितहरु सामूहिकरुपमा बसिरहेकाले शौचालय व्यवस्थापन र सरसफाइमा समस्या देखिएको जसका कारण सरुवा रोग वा अन्य महामारीलगायतका प्रकोप बढ्नसक्ने जोखिम रहेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

राहत वितरणमा जिल्लास्थित सङ्घीय सरकारअन्तर्गतका कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश सरकार र स्थानीय तहहरुबीचको समन्वयमा अभाव देखिएको अनुगमनका क्रममा पाइएको आयोगको भनाइ छ ।

यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्लालगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे आयोगका सदस्य मिहिर ठाकुर र लिली थापा नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

उद्धार र राहतमा तीनै तहका सरकार, राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाजलगायत सबै पक्षबाट भइरहेको क्रियाशीलता एवं घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिएकोजस्ता पक्षलाई आयोगले सकारात्मक रुपमा लिएको छ ।

रुकुम जिल्लाको आठविसकोट नगरपालिका–१४ स्थित छेपारे गाउँमा राहतस्वरुप वितरण गरिएका त्रिपालबाट शीत चुहिने गरेको र तल ओछ्याइएका मेट्रेस पातलो भई तलबाट चिसो आउने भएका कारण सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको पाइएको छ ।

चिसो बढ्दै गइरहेको अवस्थामा न्यानो कपडाको अपर्याप्तता र त्रिपालको बसाइका कारण सुत्केरी, बालबालिका, बिरामी र ज्येष्ठ नागरिकमा समस्या देखिएको, भूकम्प प्रभावित क्षेत्रका अधिकांश विद्यालय भवन क्षतिग्रस्त हुँदा विद्यालय बन्द भएको छ ।

भूकम्पमा परेका महिला र बालबालिकामा डर र त्रासको अवस्था रहेको, शौचालयको अभावका कारण महिनावारी भएका महिला र बालिकाले थप समस्या भोग्नु परिरहेकोलगायतका तथ्य अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

विश्वकप छनोटमा खेल्ने खेलाडी छनोट

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत सयुंक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो । अभ्यासका क्रममा घाइते भएका टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङलाई भने टोलीमा समावेश गरिएको छैन । नेपालले कात्तिक ३० गते यूएईसँग उसैको घरेलु मैदानमा खेल्नेछ । त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्ने छ । विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।

पहिलो चरणमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो । युएईसँग खेल्ने नेपाली टोलीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट र छिरिङ लामा छन् ।

यसैगरी, समूहमा योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजङ् कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियारलाई नेपाली टोलीमा समावेश गरिएको छ ।

‘सामाजिक सञ्जाल दुरुपयोग बढेको छ’ – सञ्चारमन्त्री शर्मा

पाटन (ललितपुर) २४ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल दुरुपयोग हुँदा कुलत बढेको बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फूलचोकी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ, सदस्यहरु वुद्धिबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी, न्हुच्छेदास नापित र कृष्णबहादुर श्रेष्ठको सालिक अनावरण तथा विद्यालय स्मारिका लोकार्पण कार्यक्रममा मन्त्री शर्माले सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौँ भने गुणात्मक विकास गर्न सक्दैनौँ भन्नुभयो । “वर्तमान युग सूचना प्रविधिको हो ।

सामाजिक सञ्जालको ठीक प्रयोग गर्न सक्दा आयआर्जन गर्न सकिन्छ । सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौँ भने गुणात्मक विकास गर्न सक्दैनौँ । सामाजिक सञ्जालको दुरुपयोग बढेको छ । बालबालिका त्यसको सिकार भएका छन्, यही कुरालाई ध्यान दिएर सामाजिक सद्भाव कायम राख्नका लागि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न मन्त्रिपरिषद्ले निर्देशिका पारित गरिसकेको छ”, मन्त्री शर्माले भन्नुभयो । विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि र शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण समन्वय गर्न तयार रहेको बताउँदै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा गर्नुपर्ने कामका लागि प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो ।

संविधानले १२ कक्षासम्मको शिक्षालाई निःशुल्क र आधारभूत शिक्षाको रुपमा परिभाषित गरेको बताउँदै मन्त्री शर्माले सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै सबैलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवसर सृजना गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले २०७४ मा निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयको अवस्था नाजुक रहेको सम्झना गर्दै अनुदान दिएर सामुदायिक विद्यालयको स्तरोन्नति गरेर नतिजामा सुधार ल्याउन प्रयास गरेको बताउनुभयो । “विसं २०७४ मा निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयको अवस्था नाजुक थियो । हामीले स्थानीय तहबाट अनुदान दिएर सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्छ भन्ने उद्देश्यका साथ नगरपालिकाभित्रका सबै विद्यालयलाई सुधार गर्न लाग्यौँ, जसले सुधार आउन थाल्यो । अहिले पनि नतिजामा सुधार भइरहेको छ”, नगरप्रमुख महर्जनले भन्नुभयो । गुणस्तरीय शिक्षा दिइरहेको अवस्थामा नगरपालिकाभित्रका विद्यालयमा पूर्वाधारको अवस्था सुधार गर्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै प्रमुख महर्जनले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षक र अभिभावकको चासो बढेको प्रष्ट पार्नुभयो । विद्यालयका प्रधानाध्यापक गोपालकुमार पाण्डेले विसं २०१६ वैशाख २५ गते स्थापित विद्यालयले २०४२ देखि एसएलसीमा सहभागी भएको जनाउँदै आफू २८ वर्षदेखि कार्यरत रहेर विद्यालयको शैक्षिकस्तर अभिवृद्धिमा निरन्तर लागि परेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संस्थापकको सालिक स्थापना गरेर योगदानको सम्मान गर्ने परम्परा स्थापित गर्न चाहेको बताउनुभयो ।

सूचना आयोगका पदाधिकारीको सात दिनको तलब भूकम्पपीडितलाई

काठमाडौँ, २४ कात्तिक : राष्ट्रिय सूचना आयोगका पदाधिकारीले भूकम्पपीडितका लागि सात दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

भूकम्पपीडितका राहत सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगका पदाधिकारीले सहयो गर्न लागेको प्रवक्ता कमला ओली थापाले जानकारी दिनुभयो । यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भई गएको भुकम्पबाट ठूलो जनधनको क्षति भएको थियो ।

मोरङका किसान धमाधम धान भित्र्याउँदै

बेलबारी (मोरङ) २४ कात्तिक : कात्तिक महिना मैझारो हुने क्रममा रहेका बेला मोरङका किसान धमाधम धान भित्र्याइरहेका छन् । हालसम्म ३५ प्रतिशत धान किसानका भकारीमा भण्डारण भएको छभने गर्जो टार्न खलिहानबाटै बिक्री पनि भएको छ ।

जिल्लाभर ८३ हजार तीन सय हेक्टरमा रोपाइँ भएकोमा कात्तिक २९ हजार हेक्टरको मात्र धान काटिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । मोरङमा गत वर्ष ८२ हजार नौ सय हेक्टर जमिनमा धान लगाइएको थियो । मौसमले साथ दिएको र समयमै मल वितरण हुँदा यो वर्ष धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताउनुभयो ।

गत वर्ष प्रतिहेक्टर ४ दशमलब ५ मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष बढेर प्रति हेक्टर पाँच मेट्रिकटनभन्दा बढी धान उत्पादन हुने सङ्केत देखिएको प्रमुख सिंहले राससलाई बताउनुभयो ।

मोरङका १७ पालिकामध्ये रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ५० प्रतिशत धान कटान भएको छ, कटहरी गाँउपालीका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा २५ प्रतिशत, सुनवर्षी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका, सुन्दरहरैचा नगरपालिकामा ४० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बुढीगङ्गा गाउँपालिकामा ३० प्रतिशत धान कटान भएको प्रमुख सिंहले बताउनुभयो बास्मती प्रजातिका धान पाक्न थप समय लाग्ने भएकाले केही समयपछि मात्र काट्नुपर्ने उहाँ बताउनुहुन्छ ।

मोरङमा धेरै मात्रामा रञ्जित धान, राम धान, बिबी एघार, स्वर्ण धान रोप्ने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मोरङमा गतवर्ष तीन लाख ३८ हजार एक सय १४ मेट्रिकटन धान उत्पादन भएको थियो ।

मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिवबीच भेट

गण्डकी, २४ कात्तिक : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहनुुभएका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुुनझेङबीच आज भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेले सचिव वाङ जुुनझेङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गर्नुुभयो । सचिव जुनझेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन प्रवर्द्र्धनमा थप मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाका नियमित सञ्चालन गरी प्रदेशवासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन मुख्यमन्त्रीले सचिव जुनझेङसँग आग्रह गर्नुुभयो । कोरोला नाकामा नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको द्रूत मार्ग निर्माण, तनहुँमा सय शै्ययाको अस्पताल निर्माणमा सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।चीनको सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओ लगायत सहरबाट नियमित सिधा उडानका लागि अनुरोध गर्दै उहाँले यसबाट दुई देशबीच व्यापार, पर्यटन एवं जनसम्पर्कमा मद्दत पुुग्ने बताउनुुभयो । तिब्बतसँगको सम्बन्ध अहिले मात्र नभई इतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल तिब्बत सम्बन्धको स्मरण गर्नुुभयो । १२ औँ शताब्दीतिर अरनिकोले नेपाल–चीनको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनुुभयो ।घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै द्विपक्षीय सम्बन्धलाई सदियौँदेखि दुुवै राष्ट्रले निरन्तरता दिइरहेको उहाँको भनाइ छ । चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले कोरोला नाका कात्तिक २७ गते (नोभेम्वर १३) मा खोल्ने योजना रहेको जानकारी दिनुुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सहरबाट सिधा उडान गर्ने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले प्राविधिक समूहलाई यसबारे अध्ययन गर्न पठाउने बताउनुुभयो । गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै जुनझेङले मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बतको भ्रमणको निम्ता दिनुुभयो ।

तीन क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवको आयोजनामा

काठमाडौँ, २४ कात्तिक : सरकारले निर्माणाधीन तीन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत समेट्नेगरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले विराटनगर, मूलपानी र भरतपुरको क्रिकेट सङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यही कात्तिक २३ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।बैठकले पूर्णक्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा गठित विज्ञ समूहको सुझावसहित प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

सरकारले भूकम्पपीडितको राहत उद्धारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत तथा उद्धारका लागि दिने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका प्रमुखसचिव नारायणप्रसाद शर्मा दुवाडीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ । त्यस्तै सहसचिव डा हरिप्रसाद लम्साललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा कायम मुकायम मुकरर गर्ने निर्णय गरिएको छ ।

पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी समिम नेपाललाई राजदूत पदमा नियुक्त गर्ने निर्णय भएको छ । सरकारले एशियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने करिब रु १३ अर्ब २६ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार भएको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।बैठकले सशस्त्र प्रहरी बल नेपाल मातहतका विभिन्न कार्यालयका लागि तराईमा छ बिघा आठ कट्ठा र पहाडमा तीन रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै अष्ट्रियाको भियानमा आगामी मङ्सिर १२ देखि १५ गतेसम्म हुने ९१औँ इन्टरपोल महासभामा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहाललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि भएको छ ।

सरकारले भूकम्पपीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको सो अवसरमा जानकारी दिइयो । बैठकले अजरबैजानको बाकुमा हुने ‘इन्टरनेश्नल कन्फ्रेन्स एडभान्सिङ द राइट एन्ड इम्पावरमेन्ट अफ ओमन’ विषयक कार्यक्रममा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई सहभागी हुन स्वीकृति दिएको छ ।

नेपाल र कतारबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरिएको छ । जैविक विविधता एवं प्रजाती संरक्षणको दृष्टिले महत्त्वपूर्ण पाँच औलेलगायत अन्य जडीबुटी तथा रुख प्रजातिको सङ्कलन, कटान, उपभोग, ओसारपसार, बिक्रीवितरण वा विदेश निकासीमा प्रतिबन्ध लगाउनेसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठनको आयोजनामा आगामी मङ्सिर २० देखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा हुने ‘कन्सर्टिङ एक्सन टुवर्स एग्रिफुड सिस्टम ट्रान्सफर्मेसन कार्यक्रममा राष्ट्रिय योजनाका सदस्य डा जयकान्त राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय समेतगरेको छ ।

यसैगरी मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको बैठकले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गरेको छ ।

भूकम्पपीडितलाई राहत र पुनस्थापनामा ढिलाइ हुन्न : मन्त्री बस्नेत

जाजरकोट, २४ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको बताउनुभएको छ । भूकम्पबाट भएको क्षतिको स्थलगत जानकारी लिँदै मन्त्री बस्नेतले पीडितका लागि तत्काल त्रिपाल, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको उपलब्ध गराउनेक्रम जारी रहेको बताउनुभयो ।

भेरी र नलगाड नगरपालिकाभित्रका भूकम्पपीडितसँग भेटघाट गर्दै मन्त्री बस्नेतले राहत र पुनःस्थापनामा ढिलाइ नहुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । भूकम्पबाट भेरीको तुलनामा नलगाड नगरपालिकामा बढी मानवीय क्षति हुनाका साथै भौतिक संरचनामा समेत हानि पुगेको छ । भेरी–३ थाप्ले, भेरी–१ रिम्ना, नलगाड–१ को पाली कल्पत र नलगाडका वडा नं ४, ५ र ६ मा उहाँले बिहीबार स्थलगत जानकारी लिनुभएको थियो ।

मन्त्री बस्नेतसँग पीडितले अब चिसोबाट जोगिनका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए । नलगाड–५ भारगाउँका परिमल सुनारले त्रिपाल मात्रै पर्याप्त नभएकाले अस्थायी टहरा निर्माण गरेर पुनःस्थापनाको कामलाई ध्यान दिन मन्त्री बस्नेतसमक्ष आग्रह गर्नुभएको थियो ।

सुत्केरीलाई समस्या

नलगाड–७ दल्लीका मीनाकुमारी बादी सुत्केरी भएर बिहीबार नगर अस्पतालबाट डिस्चार्ज हुनुभयो । उहाँलाई त्रिपालमुनि खाना र न्यानो कपडा नहुँदा समस्या भएको छ । भूकम्पले घरमा क्षति बनाउँदा सबै त्रिपालमा रहेका समयमा मीनालाई भत्किएको घर बाहिर बस्नु पर्दा समस्या उत्पन्न भएको छ ।

उहाँसँग छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी साथमा छिन् । मीनाकी सासू सुनिता अनुसार अब मीनाको काँधमा तीन बच्चाको व्यवस्थापनको कामसमेत थपिएको छ । उहाँका श्रीमान्को केही दिनअघि शल्यक्रिया गरेकाले राम्रोसँग हिँड्न सक्ने अवस्थामा छैन । सुनिताले भन्नुभयो, “बस्नका लागि घर भत्किएको छ भने खानका लागि अन्नको एक गेडा पनि छैन । ”

उहाँ जस्तै बारेकोट गाउँपालिका–२ रोकायगाउँकी सरिता गिरीलाई पनि समस्या छ । तीन दिनकी सुत्केरी उहाँ अहिले त्रिपालको सहारामा चिसोले हैरानी खेप्दै बस्नुभएको छ । उहाँका श्रीमान् भारतको कोलकतामा काम गर्न गएको पनि पाँच महिना भइसक्यो । अहिले उहाँ ९ वर्षको छोराका साथमा हुनुहुन्छ ।

भूकम्पको केन्द्रविन्दु रहेको नजिकै आफ्नो गाउँ भएकाले पराकम्प गइरहने समस्या छ । सुत्केरीले स्याहारसुसार पाउने समयमा आफैँ काममा लाग्नुपर्दा जोखिम बढेको उहाँको भनाइ छ ।

भूकम्पबाट कति स्वास्थ्य संस्थामा क्षति पुगेको छ भन्ने यकिन तथ्याङक छैन । भूकम्प प्रभावित अधिकांश ठाउँमा स्वास्थ्य संस्थाका भवनहरु चर्किएकाले सेवा प्रभावमा समस्या भएको छ । लिम्सास्थित स्वास्थ्य तथा सरसफाइ शाखाको भवन भत्किएपछि खुल्ला चौरमा त्रिपाल टाँगेर सेवा सञ्चालन गरिएको वरिष्ठ अनमी कल्पना रोकायले जानकारी दिनुभयो । त्यस्तै अन्य ठाउँको अवस्थासमेत चिन्ताजनक रहेको उहाँको भनाइ छ । खासगरी बारेकोट, नलगाड र भेरीमा भौतिक संरचनामा क्षति भएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ

काठमाडौँ, २४ कात्तिक : तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ । यही कात्तिक २६ गते आइतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको छ ।

सर्वोच्च अदालत प्रशासनले आज जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ हुनेछ ।

उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई

काठमाडौँ, २४ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

त्यसैगरी, उहाँको स्वकीय सचिवालयमा कार्यरत विज्ञ ९सल्लाहकार०हरुबाट १५ दिनको पारिश्रमिक, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सोसरहको कर्मचारीबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सोसरहको कर्मचारीबाट पा“च दिन र राजपत्राङ्कित वा सोसरहको कर्मचारीबाट तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ’ – सञ्चारमन्त्री शर्मा

काठमाडौँ, २४ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा स्थानीय तहको सहमतिका आधारमा एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको बताउनुभएको छ ।

नेपाल सरकारद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले सङ्घीयताको असली मर्मअनुरुप स्थानीय तहले पहिलो पङ्क्तिमा रहेर उद्धार र राहत कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले भूकम्प गएको भोलिपल्ट बिहानै प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुगेर निर्देशन दिएअनुरुप तत्काल आवश्यक समन्वयका साथ उद्धार कार्य प्रभावकारीरुपमा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राहत र उद्धारमा जे गर्न सकिन्थ्यो त्यो कार्य भइरहेकोछ, राहत र पुनःस्थापनाका विषयमा आएका गुनासालाई सरकारले गम्भीरताकासाथ लिएको छ ।”

विगतको भूकम्पको घटनाबाट पाठ सिकेर स्थानीय तहको अगुवाइमा सर्वदलीय सहमतिका आधारमा एकद्वार प्रणालीका आधारमा राहत वितरणको व्यवस्था गरिएको जनाउँदै मन्त्री शर्माले जात, समुदाय, भूगोल होइन आवश्यकताका आधारमा राहत वितरण भइरहेको बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “पीडामा परेका जनतालाई राहत उपलब्ध गराउनेमा पक्षपातसम्बन्धी विषय सोच्न र कल्पना गर्नसमेत सकिन्न ।” पुनःनिर्माणका समयमा नेपाली परम्परा बोकेको रैथाने घर, अरु सामाजिक र सांस्कृतिक सम्पदा संरक्षणमा ध्यान पुर्‍याइने उहाँले स्पष्ट पार्नुभयो ।

सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउछन् । ‘सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति-निर्माण गर्ने छ । तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन । जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन । सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन’, उनी भन्छन् ।

विशेष गरी सांसदले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भए पनि संसद्मा सांसदको नै महत्व थाहा नहुँदा तथा जनताका भावना र विचारको प्रतिनिधित्वको संसद्मा सुनुवाइ हुन नसक्दा सोहीअनुसार भूमिका निर्वाह हुन नसकेको सांसद तामाङको भनाइ छ । संसदीय अभ्यासमा सरकारको काम-कारबाहीको मूल्याङ्कन गरी रचनात्मक आलोचना गर्ने, सरकारलाई जनताप्रति उत्तरदायी तुल्याउने, सरकारका कमी–कमजोरीको आलोचना गरी सरकारका काम-कारबाहीको प्रभावकारिता अभिवृद्धिका लागि लोकतान्त्रिक सरकारको सहयोगी भूमिका निर्वाहबाट निरङ्कुश र स्वेच्छाचारी हुनबाट सरकारलाई रोक्ने, सरकारका काम-कारबाहीउपर निगरानी राख्नेलगायतका भूमिका प्रतिपक्षको हुने उनी बताउछन्

राप्रपा संसदीय दलको उपनेतासमेत रहेका तामाङ संसदीय अभ्यासलाई मजबुत बनाउन प्रतिपक्षको आवाजलाई सम्बोधन गर्न सरकार तत्पर रहनुपर्ने बताउछन् । ‘बहुदलीय व्यवस्थामा मुख्यतः संसद् प्रतिपक्षको हो । सरकारले नदेखेका, गलत गरेका विषयमाथि झक्झक्याउने, सरकारलाई सही मार्गदर्शनमा हिँडाउन प्रतिपक्ष तत्पर छ तर प्रतिपक्षको आवाज सुन्न सरकार तत्पर छैन’, सांसद तामाङ बताउछन् ।

पञ्चायतकालदेखि राजनीतिक अनुभव लिएका सांसद तामाङ अहिलेको जस्तो फिक्का अधिवेशन कहिल्यै नभएको जिकिर गर्छन् । गरिमामय संसद्लाई मर्यादित र अनुशासित बनाउन संसदीय भाषालाई हरेक सांसदले अनुसरण गर्नुपर्ने उनको धारणा छ । सांसदले सरकारप्रति आरोप लगाउनु संसदीय अभ्यासमा स्वभाविक रहेको तर सोही आरोप ठिक वा बेठिक भन्नेमा सरकार र जनता दुवैले छुट्याउन सक्नुपर्नेमा सांसद तामाङको भनाइ छ ।

पछिल्लो समय भड्किलो चुनावी प्रसार–प्रचारलगायतका कुप्रचार प्रवृत्तिका कारण जनताको सेवामा समर्पित सामान्य नागरिक चुनाव लड्न नसक्ने वातावरण सिर्जना हुँदै गएको सांसद तामाङले बताए । ‘पैसाले टिकट, पद किन्ने परिस्थिति निर्माण हुँदै गएको छ । यस्ता गलत प्रवित्त नै मुलुकमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण बनेको छ । सिधासाधा व्यक्तिलाई त चुनाव लड्ने वातावरण नै छैन’, उनी भन्छन् ।

मुलुकको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय हितअनुकूल कार्य गर्न समयमै सबै मिलेर सल्लाह र सहमतिमा वर्तमान चुनावी प्रक्रियामा सुधार गर्नुपर्नेमा सांसद तामाङ जोड दिन्छन् । ‘समयैमा सबै मिलेर सल्लाह र सहमतिमा अहिलेको चुनावी प्रक्रियालाई परिवर्तन गर्नुपर्छ । अहिले मुलुकको अवस्था विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ’, सांसद तामाङ बताउछन् । पञ्चायतकालदेखि हालसम्म उनी छ पटक चुनाव लडेकामा चार पटक निर्वाचित भए । तामाङ हाल प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्छन् ।

प्रधानमन्त्री प्रचण्ड रोल्पामा

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा पुगेका छन्। रोल्पामा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी शुक्रबार बिहानै रोल्पा पुगेका हुन् ।

उनले थबाङका स्थानीय बासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्‌घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन्।

यस्तै निर्माण सम्पन्न भएको ५० शैयाको रोल्पा अस्पताल भवन उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ

संविधानको रक्षाका लागि गठबन्धन बनेको हो – प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख दुःखमा साथ दिनु नै गणेशमान प्रति उच्च सम्मान भएको बताउका छन् । शुक्रबार लौहपुरूष गणेशमान सिंहको १०९ औं जन्मजयन्तिमा आयोजित कार्यक्रममा उनले यस्तो बताउका हुन् । उनले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताए ।

जनताले डेलिभर खोजिरहेको भन्दै उनले जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने ‘जनतालाई डेलिभरी गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । उनले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमति अनुसार नै गठबन्धन अघि बढ्ने पनि बताए ।

युएई जलवायु सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने

काठमाडौँ- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ ।

आगामी मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सहभागिता जनाउने भएको छ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन सोहीअनुसारको तयारी थालेको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव संकलन कार्यक्रममा प्रधानमन्त्री दाहालका विकास व्यवस्थापन विज्ञ डा. पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता बारे जानकारी गराएका हुन् ।

उनले भने, ‘यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ । सबै क्षेत्रबाट सुझाव संकलन गरी नेपालले प्रस्तुत गर्ने स्थितिपत्रलाई अन्तिम रुप दिइनेछ ।’

विज्ञ जेन्टलले नेपालले यस सम्मेलनमा पहिलो पटक आफ्नै ‘पेभिलिएन’ स्थापना गर्न लागेको बताउँदै त्यसमा ३० भन्दा बढी विभिन्न क्षेत्र र विषयका कार्यपत्रसहित नेपालले गुणस्तीय र प्रमाणसहित कार्यक्रम गर्ने अवगत गराए । नेपालले विश्वसामु सफल र राम्रा अभ्यास देखाउने छ, यो सरकारको मात्र नभई गैरसरकारी संस्था, नागरिक समाज हामी सबैको जिम्मेवारी हो’ उनले भने ।

सम्मेलनको पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको जलवायुका मुद्दालाई धेरै उचाईमा पुर्याएको उल्लेख गर्दै उहाँले यसलाई सबै मिलेर उपयोग गर्न लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा वन मन्त्री डा वीरेन्द्रप्रसाद महतोले सम्मेलनको तयारी तीब्रताका साथ भइरहेको बताउँदै यसपटक नेपालले उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ आफ्ना मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा राख्ने जानकारी दिए ।

जलवायुको असर विश्वभर भइरहेको र नेपाल जस्ता जोखिममा रहेको देश बढी प्रभावित भइरहेको उल्लेख गर्दै मन्त्री महतो भने, ‘केही वर्षयता नेपालमा ठूलो बाढी, पहिरो र प्राकृतिक विपद्का घट्ना बढिरहेका छन्, हिमनदी पग्लिने क्रम बढ्दो छ, यसका लागि हामीले आन्तरिक र बाह्य दुवै रुपमा तयारी गर्नु आवश्यक छ । अनि मात्र हाम्रो आवाज प्रभावकारी रुपमा सुनिन्छ ।’ कोप सम्मेलनको तयारीका साथै आन्तरिक रुपमा जलवायुका असर न्यूनीकरणमा पनि आफै अग्रसर हुनुपर्ने उनको भनाई थियो ।

नेपालले जलवायु सम्मेलनमा लामो समयदेखि सहभागिता जनाउँदै आएपनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको टिप्पणी गर्दै मन्त्री महतोले यस पटक नेपालले प्रमाण र तथ्याङ्कसहित प्रभावकारी रुपमा सम्मेलनमा प्रस्तुत हुने जानकारी गराए । ‘यसपटक टेबल ठट्याएर कुरा राख्ने हो । मागेर आउने होइन । हाम्रा छ अलग अलग विषयका कार्यपत्र सशक्त रुपमा विषय उठाएर विश्वलाई सुनाउने हो’, उनले भने ।

सम्मेलनको तयारीका लागि मन्त्रालयले सातै प्रदेशमा अन्तरक्रिया गरी सुझाव संकलन गरिसकेको बताउदै उनले नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार वन तथा वातावरण जोगाउन सफल भएको उल्लेख गरे । अब त्यसलाई मुलुकको समृद्धिसँग पनि जोड्न आवश्यक रहेकामा उनको जोड थियो । सम्मेलनमा नेपाल सरकार र सहभागिता जनाउने अन्य संघसंथाको उद्देश्य र चाहना एउटै हुने बताउँदै उनले सबै एकजुट भएर प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले आयोगले आगामी पञ्चवर्षीय योजना बनाउँदा जलवायुको अवधारणाअनुसार बनाउन प्रयास गरिरहेको बताए । उनले यसको कार्यान्वयमा विकास साझेदारलगायत सरोकारवाला सबैको सहयोगको अपेक्षा गरे । वन सचिव डा दीपक खरालले प्रधानमन्त्रीले सम्मेलनको उद्घाटन सत्रमा हुने दुई दिनको उच्चस्तरीय सत्रमा भाग लिने र नेपालका मुद्दाका बारेमा सम्बोधन गर्नुहुने जानकारी दिए । उक्त सत्रमा विश्वका राज्य र सरकार प्रमुखले सम्बोधन गर्नेछन् । मन्त्रालयले सोही अनुसारको तयारी गरिरहेको उनले बताए ।

कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधि आइसानी मेडागानगोडा लावे, नेपालका लागि युएईका राजदूत अब्दुल्ला अल साम्सी, ईजिप्टको दूतावासका प्रतिनिधिलगायतले आगामी जलवायु सम्मेलनमा उठाउनुपर्ने विषयका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. बुद्धिसागर पौडेलले सम्मेलनका लागि नेपालको तयारी बारेमा जानकारी गराएका थिए । मन्त्रालयले सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानी र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर न्यूनीकरण गरी छ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव संकलन गरेको छ ।

नेपालबाट हालसम्म तीन सम्मेलनमा मात्र राष्ट्र÷सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ । सन् २००९ डेनमार्कको कोपहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

उच्चस्तरीय प्रतिनिधत्वले सम्बन्धित मुलुकले सम्मेलनलाई कति गम्भीररुपमा लिएको छ भन्ने सन्देश जाने र यसले निर्णय क्षमता र कार्यान्वयनमा पनि ठूलो महत्व राख्ने यस क्षेत्रका जानकारको भनाइ छ ।

तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

सबस्टेशनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिनुभयो । विद्युत् आपूर्तिमा सहज बनाउन सबस्टेशन निर्माण गरिएको हो ।

तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका हुन् । सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले जिल्लामा विद्युतीकरणका लागि सबस्टेशन निर्माण गरेको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको हो । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड भारतसँग २०७५ पुस १० गते भएको खरिद सम्झौता २०७५ फागुनमा कार्यान्वयनमा आएको थियो । चौतीस दशमलव सात किमी प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ६९ टावरको जग हालिएको छ भने ३३ टावर खडा गरिएका छन् ।

उक्त प्याकेजको समग्र निर्माणमा ६९ प्रतिशत प्रगति रहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।

कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।

“यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पुर्याउँछ”, नगरप्रमुख भामले भने, “यस्तो कार्यक्रम देशका अन्य स्थानीय तहले पनि ल्याउन जरुरी छ ।”

बेलायतका राजाबाट दुःख व्यक्त

काठमाडौं । बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित भएको उल्लेख गरेका छन् ।

यस दुःखद घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरेका छन् ।

उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गरेको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।

रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु

रसुवा । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो ।

प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए ।

मोल काठमाडौँको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए । उनको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

मोललाई फिस्टेल हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । हावाईमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रेकिङ एजेन्सीले पाको उमेरका पर्यटकलाई सावधानीपूर्वक यात्रा गराउन छुट्टै पथप्रर्दशक वा सहयोगी व्यक्ति व्यवस्था गर्न आवश्यक हुन्छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। शुक्रबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ।

री रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा, साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४४ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६० पैसा रहेको छ।

उपासना र ऊर्जाको निधनले अझै ओभाएनन् सिंह दम्पतीका आँखा

कर्णाली। जाजरकोटको बारेकोट गाउँपालिका-४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ।

यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो।

घटना भएको एक साता बित्न लागेको छ। २१ वर्षीया उपासना र १८ वर्षीया ऊर्जाको निधनले सिंह दम्पतीका आँखा ओभाएका छैनन्।

पछिल्लो समय बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ मा बस्दै आएका सिंह दम्पती दुई छोरीसहित दशैं मनाउन गत असोज २८ गते मात्र बारेकोट गाउँपालिकास्थित जिरीगाउँ उक्लिएका थिए।

दशैं मनाएर बाबाआमासँगै बारेकोटबाट दुवै दिदी-बहिनी यही कात्तिक १० गते जाजरकोट सदरमुकाम फर्केका थिए। बुबाआमा मावली सदरमुकाम खलंगास्थित घरमा बस्दा उपासना र ऊर्जा शुक्रबार सानीआमाको घरमा बास बस्न गएका थिए।

उनीहरूसँगै सानीआमाकी २५ वर्षीया छोरी मेरिना आरसीको पनि शुक्रबार राति भूकम्पमा परेर ज्यान गयो। मेरिना कुसे गाउँपालिका-९ पैंक निवासी सुष्मा र सनत आरसीका कान्छी छोरी हुन्।

सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा स्नातक तहको पाँचौं सेमेस्टरमा अध्ययनरत थिइन्। उनको सपना थियो उच्च शिक्षा विदेशमा गएर लिने र पुनः नेपाल फर्केर सूचना तथा प्रविधिको पहुँचबाट बञ्चित रहेको दुर्गम कर्णालीका बस्तीमा काम गर्ने। गत कात्तिक १७ गते राति गएको भूकम्पले उनको सपना चकनाचुर बनायो।

सिंह दम्पतीकी कान्छी छोरी ऊर्जाले नेपालगञ्जस्थित स्टी थोमस इङ्लिस माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्। उनी चिकित्सा शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिइन्।

उनको सपना थियो चिकित्सक बनेर समाजसेवा गर्ने। त्यसका लागि अष्ट्रेलियाको सबै तयारी गरिँदै थियो। यही डिसेम्बरको अन्तिम साता अष्ट्रेलिया उड्ने ऊर्जाको सपना पनि भूकम्पले खरानी बनायो।

ऊर्जाले यसअघि चिकित्सक बन्न निजी मेडिकल कलेजमा नाम निकाले पनि बुबाआमालाई आर्थिक भारमा पार्न खोजिनन्। महँगो डाक्टरी शुल्क तिरेर बुबाआमाले आफूलाई पढाउन सक्ने अवस्था छैन भन्ने कुरा ऊर्जाले राम्रोसँग बुझेकी थिइन्। घरायसी अवस्थालाई राम्रोसँग बुझेकी उनले आफ्नै बलबुतामा अष्ट्रेलियाको चिकित्सा क्षेत्रको उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेकी थिइन्।

सिंह दम्पती आइटी इन्जिनियर बन्ने उपासना र डाक्टर बन्ने ऊर्जाको इच्छा पूरा गर्न जस्तोसुकै जोखिम मोल्न चाहन्थे। त्यसका लागि उनीहरूको उच्च शिक्षा र त्यसमा लाग्ने आर्थिक जोहो गरिरहेका उनीहरू तिहारलगत्तै ऊर्जालाई बाहिर पठाउने ध्याउन्नमा थिए। “सबैथोक भूकम्पसँगै बिलायो, कल्पना नगरेको बज्रपात सहनुपरिरहेको छ”, आँसु झार्दै सिंह दम्पतीले पीडा पोखे।

शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवंगत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने आफन्त शुभेच्छुकलाई घरको ढोका अगाडि राखिएका उपासना र ऊर्जाको तस्वीरले धरधरी रुवाउँछ। “घरको कुनाबाट छोरीहरूले बाबा भनेको आवाज मेरो कानमा गुञ्जिरहन्छ”, बुबा गोरखले भने।

सिंह पत्नी शोभा शाह भन्छिन्, “काख रित्तिएको छ। घरमा उपासना गर्ने ऊर्जा समाप्त भएको छ। राति निद्राबाट ब्यूझँदा अगाडि छोरी उभिएको देख्छु तर स्पर्श गर्न पाउँदिन। अनि डाँको छाडेर रुनेबाहेक अरु केही उपाय भेट्दिन। यस्तो पीडा कसैले भोग्नु नपरोस्।”

कठिन दुःख गरेर उच्च शिक्षा पढाउने र छोरीहरू राष्ट्रको अब्बल जनशक्ति बनेर सेवा गरेको खुसी देख्ने चाहना थियो सिंह दम्पतीको। भूकम्पले उनीहरुको आशा र खुसी सदाका लागि खोसेको छ । उपासनाको राति एक्लै पढ्ने बानी थियो। उनी थोरै पढेर धेरै बुझ्ने तेज दिमागकी थिइन्।

ऊर्जा अत्यन्तै मेहनती र इमान्दार थिइन्। बुबाआमाको आर्थिक तथा घरायसी समस्यालाई नजिकबाट बुझ्ने समझदार बानीका कारण एमबिबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेकी उनले आफ्नो पढाइलाई एक वर्षपछि धकेलेकी थिइन्।

यता पोखरा विश्वविद्यालयबाट छात्रवृत्तिमा परी मेरिनाले कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगञ्जबाट सिभिल इन्जिनियर पूरा गरेकी थिइन्।

देशको अब्बल इन्जिनियर बन्ने उनको सपना ध्वस्त मात्र भएन, आमाबुवाको आशाको दीयो पनि निभ्यो। भूकम्पका कारण आफन्त गुमाएका सयौँ परिवारको पीडा बुझेर सिंह र आरसी दम्पतीले चित्त बुझाएका छन्।

जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ । दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

तिहार नजिकिएसँगै पुष्प व्यवसायीलाई सयपत्री फूल टिप्ने चटारो

बर्दिया । तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो ।

मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको गुलरिया नगरपालिका–३ स्थित खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आउनुभएकी पार्वती थारूले बताइन्। उनले भनिन्, “कस्तो हुन्छ भनेर गत वर्ष चार कठ्ठा जग्गामा फूलखेती गरेको राम्रो भएपछि यस वर्ष आफ्नै एक बिघा जग्गामा फूलखेती गरेको गएको वर्षमा भन्दा यसपालि फूलको माग बढी छ ।” मागअनुसार बजारमा फूल पठाउन सकेको छैन, उत्पादन भएका फूल समयमै टिपेर माला उनेर स्थानीय बजारदेखि बाँके, दाङ, काठमाडौँसम्म पठाउने गरेको बताइन् ।

बिरुवा लगाएको लगभग ८० देखि ९० दिनमै फूल बेच्न तयार हुन्छ । एक कठ्ठा जग्गामा एक क्विन्टलसम्म फूल उत्पादन हुने थारुको भनाइ छ । पछिल्लो समयमा बर्दियाको बारबर्दिया र राजापुरमा पनि केही किसानले फूलखेतीको सुरुआत गरेको थारूले जानकारी दिइन् । गत वर्ष फूल प्रतिकिलो रु एक हजारदेखि रु एक हजार दुई सयसम्म बजारमा बिक्री भएको थियो । आफूले गत वर्ष प्रतिकिलो रु पाँच सय ५० मा घरैबाट बिक्री गरेको थारूको भनाइ छ ।

बर्दियाका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, विवाहमा गाडी सजाउन मिल्ने बाह्र महिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा फूलखेती गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकामा करारमा कर्मचारी माग (सूचनासहित)

काठमाडौं – काठमाडौं महानगरपालिकाले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी महानगरले करारमा कर्मचारी माग गरेको हो । जारी सूचना अनुसार महानगरले फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत पद पदपूर्तिका लागि माग गरेको छ ।

आवेदन दिन इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले अनलाइनमार्फत् मंसिर २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल विद्युत् प्राधिकरणमा झन्डै ४ सय कर्मचारी माग (सूचनासहित)

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी माग गरेको हो । सूचना अनुसार प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो।

आवेदन दिन इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्ने सूचना मा जनाइएको छ । यस्तै प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन सकिने जनाइएको छ।

जाजरकोट भूकम्पपीडितका लागि तनहुँका दुई स्थानीय तहको १० लाख सहयोग

दमौली । जाजरकोट भूकम्पपीडितका लागि तनहुँका दुई स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । जिल्लाको व्यास नगरपालिका र देवघाट गाउँपालिकाले भूकम्पपीडितको उद्धार र राहतका लागि रु १० लाख सहयोग गरेका हुन् । दुवै पालिकाले रु पाँच–पाँच लाख सहयोग गरेका छन् ।

व्यास नगरपालिकाको बैठकले विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उनले भने, “विपद्को अवस्थामा देशैभरबाट सहयोग भइरहेको अवस्थामा हामीले पनि केही सहयोग गर्ने निर्णय गरेका हौँ ।”

नगरपालिकाले भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

भूकम्पबाट व्यास नगरपालिकाभित्र पनि केही घरहरु भत्किन गएको सूचना प्राप्त भएकाले सबै नगरवासी दाजुभाइलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न आग्रह गरिएको छ ।

जाजरकोट भूकम्पपीडितका लागि तनहुँकै देवघाट गाउँपालिकाले पनि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । यस्तै नेपाली कांग्रेस तनहुँका तर्फबाट रु २५ हजार सहयोगको निर्णय भएको छ । देवघाट गाउँपालिकाका प्रमुख तिलबहादुर थापाले भूकम्पपीडितका लागि सर्वसाधारणबाट पनि राहत सङ्कलन भइरहेको जानकारी दिए ।

गाउँपालिकाले भूकम्पपीडितका लागि थप सहयोग गर्न वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको संयोजकत्वमा राहत सङ्कलन समितिसमेत गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो, “सहयोग गर्न इच्छुकलाई सहयोगका लागि आह्वान गरेका छौँ । सबै वडाबाट स्वतःस्फूर्तरूपमा सहयोग सङ्कलन गरिनेछ ।”

कञ्चनपुरमा प्लाष्टिक माला प्रतिबन्धित

बेदकोट । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।

दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।

उनका अनुसार पछिल्लो समय चाडबाड, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिकजन्य फूलगुच्छा, मालालगायतका सामग्रीको प्रयोगले वातावरण प्रदूषणका साथै स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने गरेको छ ।

सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा, माला तथा ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोलालगायतका सामग्रीको बिक्री, वितरण नगर्न प्रशासनले आग्रह गरेको छ ।

भूकम्पपीडितलाई कपडा सहयोग

कञ्चनपुरको भीमदत्त नगरपालिकाका व्यापारीले कर्णाली प्रदेशका भूकम्पपीडितलाई कपडा सहयोग गरेका छन् । भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित मिनी मार्केटका व्यापारीले कपडा सङ्कलन गरेर भूकम्प प्रभावितका लागि पठाएका हुन् ।

मिनी मार्केटका अध्यक्ष दुर्गादत्त भट्टका अनुसार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित स्थानीयका लागि रु दुई लाख बराबरको कपडा सहयोग गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत व्यापारीले कपडा जाजरकोट पठाएका हुन् । “चाडबाडको मुखमा भूकम्पले कर्णाली निकै ठूलो विनाश गरेको छ”, मिनी मार्केटका अध्यक्ष भट्टले भने, “यस्तो पीडाको अवस्थामा हामीले कपडा सङ्कलन गरेर आफूले गर्न सक्ने सहयोग गरेका छौँ ।”

कर्मचारीका लागि इन्धनको सट्टा नगद दिने निर्देशिका तयार

काठमाडौँ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोबिल, बे्रक आयलबापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनुपर्ने छ । यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने छन् ।

इन्धन सुविधा प्राप्त गर्ने कर्मचारीले कुनै कार्यक्रम वा सरकारी कामको सिलसिलामा काठमाडौँ उपत्यकाबाहेकका अन्य जिल्ला भ्रमण गर्नुपर्ने भएमा सोही कार्यक्रमबाट सवारीसाधन र इन्धनको व्यवस्था गर्नुपर्ने छ । त्यसरी इन्धन उपलब्ध हुन नसक्ने अवस्थामा भ्रमण आदेश स्वीकृत गर्न पदाधिकारीबाट स्वीकृत भएबमोजिमको इन्धन तथा सवारीसाधनको व्यवस्था सम्बन्धित कार्यालयले गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सरकारले अहिले राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीलाई मासिक १२५ लिटर तथा राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलाई मासिक एक सय लिटर इन्धन र त्रैमासिक रूपमा पाँच लिटर मोबिल तथा बे्रक आयल उपलब्ध गराउँदै आएको छ । निर्देशिका अनुसार सोही इन्धनबापत अबदेखि त्यस्तो सुविधा प्राप्त गर्ने कर्मचारीले नगद नै प्राप्त गर्ने भएका हुन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नै सरकारी सवारीसाधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी सवारीसाधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई इन्धनको साटो नगद नै उपलब्ध गराउने व्यवस्था सुरु गर्ने घोषणा गरेको थियो । सोहीबमोजिम अर्थ मन्त्रालयले उक्त निर्देशिका तयार गरेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

भुटानी शरणार्थी प्रकरण : मंसिर ५ मा सुनुवाइ, ६० वकिलले बहस गर्ने

काठमाडौं – विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाको मुद्दाको सुनुवाइ मंसिर ५ गते उच्च अदालत पाटनमा हुने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा साढे चार महिनादेखि थुनामा रहेका नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा तिहारपछि मात्रै सुनुवाइ हुने भएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दामा धेरै कानुन व्यवसायी रहेकाले मंसिर ५ का लागि पेसी तोक्ने आदेश गरेको हो । मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरू धेरै भएकाले तिहारअघि बहस नसकिने भएकाले पछाडि सारिएको हो । ‘मुद्दाको प्रकृति र संलग्न कानुन व्यवसायीको संख्यासमेतलाई दृष्टिगत गरी २०८० मंसिर ५ गते पेसी तोकी नियमानुसार गर्नू,’ बिहीबारको आदेशमा भनिएको छ ।

प्रवक्ता तीर्थराज भट्टराईका अनुसार २२ प्रतिवादीको एकैसाथ मुद्दाको सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतले थुनामा पठाएपछि त्यसविरुद्ध थुनामा रहेकाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गरी लिखत किर्ते २२ जनाको मुद्दा एकमुष्ट हेरिएको प्रवक्ता भट्टराईले जनाए । ‘तिहारको बिदा भएकाले मंसिर ५ का लागि पेसी तोकिएको छ,’ उनले भने, ‘मुद्दाको प्रकृति र संलग्न कानुन व्यवसायीको संख्या समेतलाई विचार गर्दा तिहार पछि समय तोकिएको हो ।’

थुनामा रहेका प्रत्येक प्रतिवादीले बहसका लागि तीन जना कानुन व्यवसायी वकालतनामा लिएका छन् । एक जनालाई बहस गर्न १५ मिनेटको समय दिए पनि ९०० घण्टा लाग्ने देखिएको छ । अदालतका अनुसार ६० जना कानुन व्यवसायीले बहस गर्दैछन् । गत असार २ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले ठगी, लिखत किर्ते, राज्यविरुद्धको संगठित अपराध मुद्दामा १८ जनामध्ये दुईजनाबाहेकलाई थुनामा पठाउने आदेश दिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसहितमा जेठ १० गते मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशलगत्तै पक्राउ परेका १६ जनालाई सुन्धारास्थित जगन्नाथ देवल जेलमा राखिएको छ । पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत थुनामा छन् ।

त्यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङ्टावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी र रायमाझीका छोरा सन्दीप, बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, रामशरण केसी र हरिभक्त महर्जन पनि जेल चलान भएका हुन् ।

रायमाझी, खाण, नरेन्द्र, चौधरी, रामशरण, मियाँ, सन्दीप र आङ्टावालाई भद्र बन्दी गृह तथा पाण्डे, रिजाल, इन्द्रजित, दुलाल, भण्डारी, शर्मा, महर्जन र सागर थुनामा छन् । लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भएक थिए । यो समाचार नागरिक दैनिकमा छ ।

न्यायाधीशमा भयो भागबन्डा, आज नाम टुंग्याउने तयारी

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश नियुक्तिको प्रक्रिया टुंगो लगाउने तयारी भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश इश्वरप्रसाद खतिवडासहित न्याय परिषद् सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामपसाद श्रेष्ठ छलफलमा जुटेका थिए ।

बिहीबार बसेको न्यापरिषद् सदस्यहरूको छलफलमा शुक्रबारसम्म न्यायाधीशको नाम टुंग्याउने सहमतिनजिक पुगेको परिषद्का एक सदस्यले बताए । कानुनमन्त्री धनराज गुरुङले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रियामा सत्ता गठबन्धन दलको भागबन्डामा पर्नेगरी न्यायाधीश नियुक्ति हुनुपर्नेमा घुमाउरो रूपमा जोड दिएको न्याय परिषद्का एक सदस्यले बताए ।

हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीसहित २१ जनाको दरबन्दीमा सात जना न्यायाधीश रिक्त छन् । तीमध्ये हाल न्यायाधीश नियुक्तिको सिफारिस गर्दा तीन जना कानुन व्यवसाय तथा प्राध्यापन क्षेत्रबाट र चारदेखि पाँच जना तल्ला अदालतका न्यायाधीशबाट हुन सक्नेछ । त्यसो हुँदा कांग्रेसनिकट कानुन व्यवसायीबाट दुई जना र माओवादी निकट कानुन व्यवसायीबाट एक जनाको नाम सिफारिस गर्ने तयारी छ ।

त्यस्तै, तल्लो अदालतबाट न्यायाधीश सिफारिस गर्दा चार जनामध्ये एक जना मुख्य न्यायाधीशबाट न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी छ । त्यसो हुँदा हाल एक मात्रै मुख्य न्यायाधीश नृपध्वज निरौलाको सम्भावना प्रबल छ । निरौला हाल दिपायल उच्च अदालतमा मुख्य न्यायाधीश छन् । त्यसपछि वरीयता क्रममा न्यायाधीशहरू सत्यमोहन जोशी थारु, सारंगा सुवेदी र रत्नबहादुर बागचन्द अगाडि छन् ।

कानुन व्यवसायीबाट नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले विजयप्रसाद मिश्रको नाम चर्चामा छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङले सुनिल पोखरेललाई अघि सारिरहेका छन् । उनी नेपाल बारको पूर्वमहासचिवसमेत हुन् । पोखरेलसँगै नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको सम्भावना बलियो छ । राष्ट्रपति कार्यालयको जोडबल र कांग्रेस सभापति देउवाले पनि चाहेका कारण घिमिरेको सम्भावना बलियो देखिन्छ ।

माओवादीबाट न्यायाधीश नियुक्तिका लागि बलियो सम्भावनामा हालका महान्यायाधिवक्ता दीनमणि पोखरेलको नाम अग्रपंक्तिमा देखिन्छ । महान्यायाधिवक्ता हुनुअघि पनि न्यायाधीश नियुक्तिका लागि पोखरेल आफैँले माओवादी पार्टीमा लबिङ गरेका थिए । यसअघि २०७९ भदौमा सर्वोच्च अदालतको तीन जना न्यायाधीश नियुक्ति सिफारिस हुनबाट छुटेका पोखरेल अहिले बलियो दाबेदारका रूपमा रहेका छन् । पोखरेललाई न्यायाधीश नियुक्तिका लागि नेपाल ल क्याम्पसका प्राध्यापक डीएन पराजुलीलाई अघि सारेर रोक्ने प्रयास पनि भइरहेको छ ।

यता नेकपा एमाले निकट कानुन व्यवसायीबाट रमेश बडालको नाम अघि सारिएको छ । बडाललाई न्यायाधीश बनाउन नहुने पक्षमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडा देखिएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

युक्रेनले सन् २०२४ को बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने

कीएभ– युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ । बिहीबार बजेट बिनियोजन बिषयमा मतदान भएको थियो ।

कीएभ र मस्को दुवैले युद्ध सुरु भएदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेका छन् । उनीहरू दुबैले हतियार र गोलाबारुदको उत्पादन बढाएका छन् किनकि उनीहरूले लामो द्वन्द्वको तयारी गरिरहेका छन् ।

युक्रेनको अर्थ मन्त्रालयका अनुसार करिब १.७ ट्रिलियन रिभनिया (करिब ४७ अर्ब अमेरिकी डलर) रक्षामा खर्च हुनेछ, जुन सन् २०२३ को बराबर हो ।यो आँकडा शिक्षा, सामाजिक कल्याण र स्वास्थ्य सेवामा संयुक्त रूपमा गरिएको खर्चभन्दा बढी हो र यो देशको योजनाबद्ध खर्चको कुल ९३ अर्ब डलरको लगभग आधा हो ।

युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राज्य अमेरिकाजस्ता पश्चिमी सहयोगीहरूको आर्थिक सहयोगमा युद्धको समयमा आफ्नो अर्थव्यवस्थालाई जीवित राख्नको लागी धेरै निर्भर बनेको छ ।आईएमएफले सन् २०२३ मा आवश्यक पर्ने अनुमान गरेकै हाराहारीमा आगामी वर्ष दैनिक खर्च गर्न ४१ अर्ब अमेरिकी डलर बाह्य सहयोग आवश्यक रहेको बताएको छ ।

यूक्रेनको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रक्षा क्षमताको सुदृढीकरण, जनसङ्ख्याको सुरक्षा, भूतपूर्व सैनिकहरूलाई सहयोग, सामाजिक स्तर र आर्थिक पुनरुत्थानलाई बढावा दिने देशको बजेटको प्राथमिकता स्पष्ट छ ।”

“हामीसँग छिटोभन्दा छिटो युद्ध जित्नका लागि थप ड्रोन र हाम्रा आफ्नै हतियारहरू हुनेछन्,” विज्ञप्तिमा भनिएको छ ।राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार साँझ संसदलाई सम्बोधन गर्दै ‘विजय’ हासिल गर्न बजेट स्रोतहरू विनियोजन गरिने बताउनुभएको छ ।

“हामी सबैले मानिसहरूले सडकहरू खन्ने र मर्मत गर्नेभन्दा पनि रक्षालाई सहयोग गर्न बजेट स्रोतहरू विनियोजन गर्न माग गरिरहेको देख्छौं”, जेलेन्स्कीले भने, “यो सही काम हो । युक्रेनलाई बलियो बनाउन सबै स्रोत साधनको प्रयोग गर्नुपर्छ ।”

तीनै तहको सरकारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा योजना तर्जुमादेखि खरिद प्रक्रियामा हुने अनियमिततालाई रोक्न आफूले दिएको २२ बुँदे सुझावको कार्यान्वयन भए नभएको बुझ्न विशेष रुपमा निगरानी राख्न शुरू गरेको हो ।

आयोगले गत विहीबार २२ बुँदे सुझाव कार्यान्वयन गरी आयोगलाई जानकारी दिन सरकारी निकायलाई आग्रह गरेको थियो । आयोगले यसअघि दिएका विभिन्न सुझावहरू पनि खासै कार्यान्वनय नभएको स्थितिमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, ७ वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग र ७ सय ५३ वटै स्थानीय तहहरूलाई सुझावको कार्यान्वयनबारे अनिवार्य रूपमा जानकारी लेखी पठाउन पत्र पठाएको थियो ।

आयोगले योजना छनोट तथा बजेट तर्जुमालाई वस्तुनिष्ठ, वैज्ञानिक र यथार्थपरक बनाउने र सार्वजनिक खरिदको कार्य पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउने उद्देश्य राखेर सुझाव दिएको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले भने – ‘आर्थिक गतिविधि र वित्तीय उत्तरदायित्वको ऐन तथा नियमको बर्खिलाप हुने गरी कामकारबाही गर्ने क्रम बढ्दै गएकोलाई मध्यनजर गरी आयोगले २२ बुँदे निर्णय गरी सोको कार्यान्वयनको लागि सक्रियता बढाएको हो । जथाभावी बजेट रकमान्तर गरी खर्च गर्ने विकृति झाँगिदै गएपछि आयोगले तीन तहका सरकारलाई सो सुझाव दिएको थियो ।’

दशैँपछि सचिव र विभागीय प्रमुखलाई बोलाएर दुई दिन छलफल गरेको आयोगले त्यसपछि सुझाव पठाएको हो । आयोजना व्यवस्थापनका सम्बन्धमा आयोगले सातबुँदे सुझाव दिएको छ । आयोजना व्यवस्थापनलाई व्यवस्थित र अनुशासित बनाई तोकिएको समय, गुणस्तर र लागतभित्रै आयोजना सम्पन्न गर्न तत्काल कार्यान्वयन गर्न आयोगले सुझाव दिएको छ ।

तीनै तहमा आयोजना बैंक, मध्यमकालीन खर्च संरचना, मन्त्रालयगत बजेट सूचना प्रणाली र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीबीच अन्तर आबद्धता कायम गर्ने, योजना आयोगले बजेट सिलिङ दिनुपूर्व त्यस निकायसँग तयारी पूरा भएका आयोजनाहरूको विवरण मागी जिम्मेवार पदाधिकारीसँग छलफल गर्ने, तीनै तहले सञ्चालन गर्ने आयोजना वर्गीकरणको वस्तुगत मापदण्ड बनाई त्यसले तोकेका प्रकृति तथा लागत सीमाका आयोजनामा मात्र बजेट विनियोजन हुनुपर्ने सुझाव आयोगको रहेको छ ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग

एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो ।

न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँडे । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै थिइन् । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भनिन्, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”

अस्पतालबाट घर झन्डै आधा घण्टाको मात्र बाटो हो । तर सुत्केरीका लागि त्यो पनि हिमाल चढे जस्तै भयो । मीना अलि पर नपुग्दै थर्थरी काँपेर उभिन नसकेर थचक्क बाटामै लडिन् । नलगाड नगरपालिका–७, दल्ली भेरी पारिको किनारको बस्ती हो । वरिपरि लहरै भत्केका घर, छेउमा कतै त्रिपाल, कतै झिँजामिजाले टालेका टहरा धमाधम बनाइँदै थिए । भूकम्पको पीडाले थलिएकाले होला । सुत्केरीलाई सघाउन कोही आएनन् ।

घर भत्किएर खण्डहर थियो । जताततै भत्किएकाले नभत्किएको पर्खालको बरन्डाको खाटमा उनी थचक्क बसिन्। एकछिन पीडाले मीनाले दाह्रा किटिन्, आँखा रसाए । चपक्क आँखा चिम्लेर खाटमा ढलिन् । छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी आमालाई के भयो भनेर छेउमा निन्याउरो मुख लगाएर उभिए । सासूले अर्कोपट्टि एक दिनकी छोरी राखिदिइन् । सासू सुनिता बादीका अनुसार छोराको शल्यक्रिया गरेकाले त्यति हिँडडुल गर्न सक्दैनन् । अर्को छोरा वैदेशिक रोजगारीका लागि मलेसिया गएको उतै बिरामी परेर उपचार गराउँदै छन् । उनको तेस्रो बच्चा भए पनि भूकम्पको पीडाले थिलथिलो भएको मीनाको शरीरले सुत्केरी व्यथा धान्न सकिरहेको थिएन । बस्न घर छैन, खान अन्न छैन । वरपर सबैले पाल टाँगेर ओत बनाइसके । उनको परिवार भने सुत्केरी बोकेर भत्किनै लागेको घरकै बरन्डामा बस्न बाध्य छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

हेर्नुहोस् कार्तिक २४ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – पारीवारिक कलहको सम्भाबना रहेको छ । बिश्वासिला व्यक्तिहरुवाट धोकाहुन सक्नेछ । अनावश्यक खर्चको सम्भावना रहेकोछ । मालसामान हराउन तथा क्षतीको सम्भाबना रहेकोछ । नयाँ कार्य थालनिका निम्ती सजग रहनु होला । मनोञ्जनपूर्ण यात्राको भने समभाबना रहेको छ ।

बृष राशि – सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि – यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि – कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि – मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

जोखिमपूर्ण बन्दै कमलाको काठे पुल

सिरहा । दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम सुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो ।

बाह्र वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ ।

“नजिकैको बजार पनि यतै छ, नातेदार पनि यतै छन्”, पुल तरेर सिरहा बजार आउनुभएका धनुषाको कमला नगरपालिका निवासी अन्सारुल राइनले भन्नुभयो, “बिहानसम्म आवतजावत सहज थियो, तर अहिले दिउँसो पुलमाथिका काठ भाँचिन लागेछन् । स्थानीय युवाले काठका फलेकमा काँटी ठोकेर मर्मत गरेकाले जसोतसो पुल पार गरियो ।” नगरपालिकाले यही काठको पुल पनि मर्मत सम्भारमा ध्यान नदिएको गुनासो उहाँले गर्नुभयो ।

यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको सिरहा नगरपालिका—६ का वडा सदस्य उमेश यादव बताउनुहुन्छ । “यहाँको दुर्गती भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो । विकल्पको रुपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घण्टा लामो यात्रा गर्नुपर्छ”, यादवले भन्नुभयो, “निर्माणाधीन पक्की पुल बन्छ र सहज यात्रा होला भनेर आशामै बसेको पनि एक दशकभन्दा बढी भइसक्यो । खोइ कहिले सम्पन्न हुने हो कुनै निश्चित छैन ।”

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि भाँसिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो ।

निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुन:निर्माणको काम तत्काललाई अनिश्चित भयो । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुन:निर्माण गर्ने गरी काम सुरु गरेकोे थियो । तर कमला नदीमा बढेको पानीको बहावका कारण पुन:निर्माणको काम असार नलाग्दै रोकियो । निर्माण कम्पनीका अनुसार तिहार तथा छठ पर्वपछिबाट रोकिएको पुल निर्माणको काम पुन: सञ्चालन हुनेछ ।

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रमण्डलको भेट

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।राष्ट्रपति भवनमा बिहिबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले हालै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियोे ।साथै उहाँले विपद्पछिको पुनःउत्थान र पुनःनिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गर्नुभएको थियो ।