`

भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग

एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो ।

न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँडे । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै थिइन् । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भनिन्, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”

अस्पतालबाट घर झन्डै आधा घण्टाको मात्र बाटो हो । तर सुत्केरीका लागि त्यो पनि हिमाल चढे जस्तै भयो । मीना अलि पर नपुग्दै थर्थरी काँपेर उभिन नसकेर थचक्क बाटामै लडिन् । नलगाड नगरपालिका–७, दल्ली भेरी पारिको किनारको बस्ती हो । वरिपरि लहरै भत्केका घर, छेउमा कतै त्रिपाल, कतै झिँजामिजाले टालेका टहरा धमाधम बनाइँदै थिए । भूकम्पको पीडाले थलिएकाले होला । सुत्केरीलाई सघाउन कोही आएनन् ।

घर भत्किएर खण्डहर थियो । जताततै भत्किएकाले नभत्किएको पर्खालको बरन्डाको खाटमा उनी थचक्क बसिन्। एकछिन पीडाले मीनाले दाह्रा किटिन्, आँखा रसाए । चपक्क आँखा चिम्लेर खाटमा ढलिन् । छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी आमालाई के भयो भनेर छेउमा निन्याउरो मुख लगाएर उभिए । सासूले अर्कोपट्टि एक दिनकी छोरी राखिदिइन् । सासू सुनिता बादीका अनुसार छोराको शल्यक्रिया गरेकाले त्यति हिँडडुल गर्न सक्दैनन् । अर्को छोरा वैदेशिक रोजगारीका लागि मलेसिया गएको उतै बिरामी परेर उपचार गराउँदै छन् । उनको तेस्रो बच्चा भए पनि भूकम्पको पीडाले थिलथिलो भएको मीनाको शरीरले सुत्केरी व्यथा धान्न सकिरहेको थिएन । बस्न घर छैन, खान अन्न छैन । वरपर सबैले पाल टाँगेर ओत बनाइसके । उनको परिवार भने सुत्केरी बोकेर भत्किनै लागेको घरकै बरन्डामा बस्न बाध्य छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

हेर्नुहोस् कार्तिक २४ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – पारीवारिक कलहको सम्भाबना रहेको छ । बिश्वासिला व्यक्तिहरुवाट धोकाहुन सक्नेछ । अनावश्यक खर्चको सम्भावना रहेकोछ । मालसामान हराउन तथा क्षतीको सम्भाबना रहेकोछ । नयाँ कार्य थालनिका निम्ती सजग रहनु होला । मनोञ्जनपूर्ण यात्राको भने समभाबना रहेको छ ।

बृष राशि – सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि – यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि – कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि – मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

जोखिमपूर्ण बन्दै कमलाको काठे पुल

सिरहा । दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम सुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो ।

बाह्र वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ ।

“नजिकैको बजार पनि यतै छ, नातेदार पनि यतै छन्”, पुल तरेर सिरहा बजार आउनुभएका धनुषाको कमला नगरपालिका निवासी अन्सारुल राइनले भन्नुभयो, “बिहानसम्म आवतजावत सहज थियो, तर अहिले दिउँसो पुलमाथिका काठ भाँचिन लागेछन् । स्थानीय युवाले काठका फलेकमा काँटी ठोकेर मर्मत गरेकाले जसोतसो पुल पार गरियो ।” नगरपालिकाले यही काठको पुल पनि मर्मत सम्भारमा ध्यान नदिएको गुनासो उहाँले गर्नुभयो ।

यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको सिरहा नगरपालिका—६ का वडा सदस्य उमेश यादव बताउनुहुन्छ । “यहाँको दुर्गती भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो । विकल्पको रुपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घण्टा लामो यात्रा गर्नुपर्छ”, यादवले भन्नुभयो, “निर्माणाधीन पक्की पुल बन्छ र सहज यात्रा होला भनेर आशामै बसेको पनि एक दशकभन्दा बढी भइसक्यो । खोइ कहिले सम्पन्न हुने हो कुनै निश्चित छैन ।”

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि भाँसिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो ।

निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुन:निर्माणको काम तत्काललाई अनिश्चित भयो । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुन:निर्माण गर्ने गरी काम सुरु गरेकोे थियो । तर कमला नदीमा बढेको पानीको बहावका कारण पुन:निर्माणको काम असार नलाग्दै रोकियो । निर्माण कम्पनीका अनुसार तिहार तथा छठ पर्वपछिबाट रोकिएको पुल निर्माणको काम पुन: सञ्चालन हुनेछ ।

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रमण्डलको भेट

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।राष्ट्रपति भवनमा बिहिबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले हालै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियोे ।साथै उहाँले विपद्पछिको पुनःउत्थान र पुनःनिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गर्नुभएको थियो ।

सुशासन कायम गर्न सरकार दृढतापूर्वक लागेको छ – प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ । ‘प्रतिमान–नीमा स्मृति प्रतिष्ठान’को २०औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न क्रियाशील रहेको बताउनुभयो ।

“दश महिनाको अवधिमा अर्थतन्त्रको सङ्कट अन्त्य गर्दै अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्न मेहनत गरिएको छ । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन्, यद्यपि दबाब अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता महसुस भएको छ”, उहाँले भन्नुभयो ।

आफ्नो भारत, इटाली, अमेरिका र चीन भ्रमणबाट नेपालको राष्ट्रिय हित प्रर्वद्धनमा योगदान भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गर्नुभएको नेपाल भ्रमण र नेपालप्रति व्यक्त विचारले सिङ्गो विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभयो । “यसले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको तर्जुमा, जलवायु परिवर्तनले नेपालमा पारेको बहुआयमिक प्रभावलाई कम गर्न, कार्बन उत्र्सजन नियन्त्रणबापत नेपालले प्राप्त गर्नुपर्ने ‘रोयल्टी’, जलवायु परिवर्तनका क्षेत्रमा नेपाल नेतृत्व देशका रूपमा प्रस्तुत हुने आधार प्रस्तुत गरेको छ”, उहाँले भन्नुभयो, “यो हाम्रा लागि महत्त्वपूर्ण उपलब्धि हो ।

जाजरकोट भूकम्पबाट भएको अकल्पनीय क्षतिले देश शोकमा परेकोे उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भूकम्पपछि उद्धार र राहतमा सरकारले लिएको पहलकदमीले पुनःस्थापनामा पनि प्रभावकारी र वैज्ञानिक भूमिकाको आधार तयार भएको बताउनुभयो । “सरकारले २०७२ को भूकम्पबाट शिक्षा लिएर यसपटक वैज्ञानिक र व्यवस्थितरूपमा पुनःस्थापनाको काम अगाडि बढाउने छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकको सामाजिक–आर्थिक विकासका लागि सरकारको मात्र मुख नताकी जनताले पनि खुला हृदयले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्राविधिक जनशक्ति उत्पादन गर्न प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्नुभयो ।

विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका प्रतिमान चन्द बोहराको स्मृतिमा स्थापित उक्त प्रतिष्ठानले देशका विभिन्न स्थानमा रहेका विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

‘कर्मचारीको मनोबल बढाउने ऐन आवश्यक’

विराटनगर । कोशी प्रदेशसभाको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा सदस्य उमाकान्त गौतम, सपना दर्जी, गोम्बू शेर्पा र इस्राइल मन्सुरीले भाग लिनुभएको थियो ।

प्रदेशसभा सदस्यहरूले कर्मचारीको वृत्ति विकासदेखि प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नेसम्मका प्रावधान ऐन बनाउनुपर्ने बताउनुभयो । श्रेणीविहीन कर्मचारीदेखि विशिष्ट श्रेणीका कर्मचारीको मनोबल बढाउने ऐन आवश्यक भएको उहाँहरूले बताउनुभयो । प्रस्तुत ऐन थप छलफलका निम्ति विषयगत समितिमा लैजानुपर्ने सुझाव दिनुभयो ।

बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेश निजामती सेवा ऐन बनिनसकेको र अहिले सदनमा बहस गर्ने क्रममै रहेकाले कानुनको अङ्ग नबनेसम्म कर्मचारीको उचित व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । उहाँले कोशी प्रदेशको बजेट पारित भएकै दिनदेखि नियमसम्मत योजनाहरूको कामले गति लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्रोतको सुनिश्चितता नभएका योजनाका विषयमा पनि अध्ययन भइरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले नेकपा (एमाले)सँगको सहकार्य आफूले नतोडेको र उक्त दललाई प्रतिपक्षमा नबस्न आग्रह गर्नुभयो । उहाँले संविधानको मर्म र भावनाबाट नै पहिचानवादीले गरेका आन्दोलनको सम्बोधन हुने बताउनुभयो ।

प्रश्नोत्तर कालमा मुख्यमन्त्री कार्कीलाई सदस्य रेवतीरमण भण्डारी, सपना दर्जी, रमेशकुमार बस्नेत, बुद्धिकुमार राजभण्डारी, राजन किराती, गोम्बू शेर्पा, छविलाल चुँडाल र रामदेव यादवले प्रश्न गर्नुभएको थियो ।

शून्य समयमा समसामयिक विषयमा गीतादेवी रेग्मी, मालतीकुमारी लिम्बू र राजन किरातीले बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक मङ्सिर ५ गते दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रिय सभा अध्यक्षसँग चिनियाँ प्रमण्डलको भेट

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन् ।साे अवसरमा दुई देशका बीचमा आपसी हित प्रवर्द्धन, सम्बन्ध विस्तार र सहकार्यका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेका देश रहेको बताउँदै चीनसँगको सौहार्द्रपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिएको कुरामा जोड दिए । उनले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेकोसमेत बताए । ‘हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, यस प्रतिबद्धताले समयको परीक्षाको सामना गरिसकेको छ,’ उनले भने, ‘एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव पार्दैन, हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता फेरि पनि दोहोर्याउन चाहन्छौँ ।’

यसै वर्षको जुन महिनामा अध्यक्ष तिमिल्सिनाले चीनको औपचारिक भ्रमणका क्रममा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजी र चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष वाङ हु निङसँग भएको भेटको स्मरण पनि गरे । सो अवसरमा उहाँसँग सचिव वाङले पनि शिष्टाचार भेटघाट गरेका थिए ।

उनले आफ्नो भ्रमणका क्रममा सीमानाका सञ्चालन गर्न र नेपालमा उत्पादित घाँस तिब्बत निकासीका लागि गरिएको आग्रह तत्काल कार्यान्वयन भएकामा धन्यवाद दिँदै सुन्तला जातका फलफूलको निकासी गर्ने वातावरण बनाउन तथा चीनको सहयोगमा बनेको पोखरा विमानस्थलमा तिब्बतको राजधानी ल्हासा र साङ्घाइबाट सिधा उडान गर्न आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा जलविद्युत्, कृषि उत्पादन, फर्निचर उत्पादनलगायतका उद्योगमा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक देखिएकाले त्यसका लागि वातावरण बनाउन दुवै देशले पहल गर्ने विश्वास व्यक्त गरे । हालै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि चीनले पुर्याएको सहयोगका लागि धन्यवादसमेत दिए ।

सो अवसरमा सिपिसीका तिब्बत सचिव जुनझेङले नेपाल र चीनका बीचमा रहेको मित्रतापूर्ण सम्बन्ध र सहकार्यको चर्चा गर्दै जाजरकोट भूकम्पपछि पुनर्निर्माणको काममा चीनले सहयोग पुर्याउने प्रतिबद्धता जनाए । उनले नेपालमा भूकम्प जाँदा त्यस्तै भौगोलिक अवस्थित भएको तिब्बत पनि प्रभावित हुने उल्लेख गर्दै नेपालको भूकम्पको कम्पनले तिब्बतीको मन पनि दुख्ने र उस्तै पीडाको महसुस गर्दै आएका बताए ।

उनले तिब्बत सरकारले पनि पुनर्निर्माण र राहतमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए । ल्हासा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएकाले छिट्टै ल्हासा–काठमाडौँ उडान सञ्चालन हुने जानकारी दिए । रासस

अदालतको आदेशपछि लेकसाइडका पर्यटन व्यवसायी उत्साहित

पोखरा, २३ कात्तिक । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो ।

उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको थियो । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदनउपर भएको बहसपछि न्यायाधिश भट्टराईले यस्तो आदेश दिएका हुन् । आदेशमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनू भनिएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले लामो समयदेखि पर्यटन व्यवसायीले उठाएको आवाजको सम्बोधन भएको प्रतिक्रिया दिए । “हामी निकै आजित भइसकेका थियौँ, पटक पटक प्रहरी प्रशासन, राज्य संयन्त्रलाई यसबारे जानकारी गराउँदै आएका थियौँ । आज बल्ल माग सम्बोधन भएको छ । अब कार्यावन्यनको पर्खाइमा छौँ ।” प्रहरीले १० बज्न नपाउँदै सिठी लगाएर होटल रेष्टुराँ बन्द गर्न आउने गरेका कारण खाना खाँदै गरेका पाहुना मुखामुख गर्नुपर्ने स्थिति सिर्जना हुने गरेको थियो ।

“अदालतको आदेशले अब राहत मिलेको छ”, अध्यक्ष श्रेष्ठले भने । उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै यहाँको पूर्वाधार विकासलाई पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक सुरक्षासहित पर्यटनमैत्री वातावरणका लागि राज्यले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले उच्च अदालतको आदेश व्यवसायी र पर्यटकमैत्री भएको बताए । “यो आदेश स्वागतयोग्य छ, लेकसाइडमा आउने पर्यटक आनन्दले घुम्ने तथा मनोरञ्जन लिन चाहन्छन, यसअघि उनीहरुलाई बाधा पुगेको थियो”, उनले भने । अदालतको आदेशलाई प्रभावकारीरुपमा कार्यान्वयन गरेर पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तीनै तहका सरकारले चासो र प्राथमिकता दिनुपर्ने अध्यक्ष पौडेलले बताए ।

यसैगरी होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अदालतको आदेशले व्यवसायीको मनोबल बढाएको बताए । “व्यवसायीले जोखिम मोलेर पर्यटन क्षेत्रमा लगानी गरेका छौँ । तर राज्य पर्यटनमैत्री बन्न नसक्दा जोखिम बढिरहेको छ, यो आदेशले उत्साह थपिएको छ”, उनले भने । आदेशपछि तालको सुन्दरतासँगै लेकसाइड आसपासका रात्रीकालिन दृश्यसहित मनोरञ्जन लिनबाट अब पोखरा आउने पर्यटक वञ्चित हुनु नपर्ने अध्यक्ष सुवेदीको भनाइ छ ।

पर्यटन बहुआयामिक क्षेत्रसँग जोडिएको हुनाले हरेक पक्षबाट पर्यटकको सहजतासहितको आतिथ्यताको खाँचो हुने भएकाले सम्बन्धित निकाय जिम्मेवार भएर यो क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने उनले बताए । गृह प्रशासन सुधार कार्ययोजनामा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रमा २४ घन्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ ।

अमेरिका नेपालको वृहत्तरहित र सुदृढ सम्बन्ध चाहन्छ :- परराष्ट्रमन्त्री साउद

वाशिङ्टन, २३ कात्तिक । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आएका परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले यहाँ महत्वपूर्ण भेटघाट गरी द्विपक्षीयहितका बहुआयामिक छलफल गरेका छन्।

यही कात्तिक १३ गतेदेखि सुरु भएको उनको भ्रमणका क्रममा सोही दिन आफ्ना अमेरिकी समकक्षी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग भेटवार्ता गरेका थिए । तत्पश्चात् उनी पाँच दिन यहाँ रहँदा झण्डै एक दर्जन भेटवार्ता एवं कार्यक्रममा सहभागी भएका थिए । यसक्रममा व्यापार, कूटनीतिक, सूचना प्रविधि, विकास, लगानी, खाद्यसुरक्षा, जलवायु परिवर्तनजस्ता विषयमा अमेरिकी अधिकारीसँग छलफल गरेका साउदले अमेरिकी सहयोग नियोग र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँगसमेत छलफल गरेका थिए ।

नेपाल र अमेरिकाले दौत्य सम्बन्ध स्थापना गरेको ७६ वर्षको अवधिमा नेपालको महत्वपूर्ण विकास साझेदारका रुपमा अमेरिकाले नेपालको सामाजिक, आर्थिक विकासमा सदैव सहयोग गर्दै आएको छ । ‘प्वाइन्ट फोर प्रोग्राम’मार्फत् सन् १९५१ देखि नेपालको स्वास्थ्य शिक्षा कृषि पूर्वाधारलगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकाले पछिल्लो पटक एमसिसीमार्फत ५० करोड अमेरिकी डलरको अनुदान सहायतामार्फत नेपाललाई सबैभन्दा ठूलो धनराशिको अनुदान प्रदान गर्ने देशका रुपमा आफूलाई उभ्याएको छ । भूगोलले विपरीत र टाढा रहे पनि नेपाली नागरिकसँगको सम्बन्धमा भने अमेरिका नजिक छ ।

अमेरिकामा रहेका नेपाली अमेरिकनका कारणले पछिल्ला दशकमा नागरिकस्तरको सम्बन्धसमेत मजबुत हुँदै गएको विश्लेषकहरुको भनाइ छ । यी र यस्तै अवस्थामा नेपालले आफनो आर्थिक विकासका लागि अमेरिकामा रहेको पुँजी र प्रविधिबाट लाभ लिने प्रयत्न पनि गरिरहेको छ । यस्तो अवस्थामा नेपाल सरकारकोतर्फबाट परराष्ट्रमन्त्री एनपी साउदको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइ प्रदान गरेको टिप्पणी कूटनीतिक वृत्तमा गरिएको छ । उनको यो भ्रमण र भेटघाट दुई देशबीचमा यो स्तरमा पाँच वर्षपछि भएको पटक भएको हो । नेपाल–अमेरिका सम्बन्धका विविध पक्ष, उनको पछिल्लो अमेरिका भ्रमण, नेपालमा अमेरिकी लगानी तथा सहयोगको चासोसहितका विविध क्षेत्रहरु समेटेर अमेरिका भ्रमणकै क्रममा गतहप्ता वासिङ्टन डिसीमा मन्त्री साउदसँग राससका अमेरिका प्रतिनिधि मधुकर अधिकारीले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

नेपाल सरकार र अमेरिकी सरकारका उच्च अधिकारीहरु तपाईं र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच भेटवार्ता भयो । दुई देशकाबीचमा पाँच वर्षपछि भएको यस भेटवार्ता कस्तो रह्यो ?

म अमेरिकी महामहिम एन्टोनी ब्लिङ्केनको औपचारिक भ्रमणमा आएको हुँ । नेपाल र अमेरिकाबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहँदै आएको छ । ७६ वर्ष अगाडि नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध कायम भएको हो । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशमा अमेरिका दोस्रो हो । संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्तिदेखि नेपालको विकास निर्माण स्वास्थ्य, खानेपानी प्रजातन्त्रको सम्वद्र्धन प्रवद्र्धन, गरिबी निवारणजस्ता कुराहरुमा अमेरिकाले नेपाललाई सहयोग दिँदै आएको छ । नेपालसँग घनिष्ट सम्बन्धी रही आएको अमेरिका सबैभन्दा ठूलो दातृ राष्टका रुपमा स्थापित भइसकेको छ ।

एमसिसी युएसएआइडीको सहयोग मार्फत नेपाललाई अनुदान दिने ठूला राष्ट्रहरुमा अमेरिका सूचीकृत छ । यस्तो सम्बन्ध भएको देशमा नियमतिरुपमा उच्चस्तरीय भ्रमणको आदानप्रदान जरुरी छ । यो पटक अमेरिकाले आमन्त्रण गरेकाले म नेपाल सरकारको प्रतिनिधित्व गर्दै आएको हुँ । नेपालका विकासका विविध पक्ष र सम्बन्धका धेरै आयामका बारेमा हामी विमर्श गरेका छौँ ।

नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र पछिल्लो पटक एमसिसीलगायत अरु आयोजनाहरुको कार्यान्वयनमा चासो राख्दै आएको देखिन्छ, यस विषयमा केही छलफल भयो ?

नेपालले आगामी सन् २०२६ मा अति कम विकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रयास गरिरहेका छौँ । यो हाम्रो प्रयत्नलाई स्पष्ट दिगो र पछाडि फर्कन नपरोस् भन्ने कुरामा नेपालले कोशिस गरेको छ । यो कामका लागि एउटा प्रमुख दातृराष्ट्रको नाताले अमेरिकाले पनि सहयोग गर्दै आएको छ । नेपालको बजेटमा समेत प्रतिविम्बित हुने गरेर अनुदान सहायता उपलब्ध गराउँदै आएको छ । एमसिसी परियोजनामार्फत विद्युत् प्रसारण लाइन र सडक निर्माणका लागि पनि ठूलो रकम अनुदानको सहयोग गर्दै आएको छ । कृषि, खाद्यसुरक्षाका लागि कृषिको विकास हुन जरुरी छ । अन्य क्षेत्रमा पनि सहयोग, लगानी र प्रविधिका क्षेत्रमा केबल अनुदान र सहयोग मात्र होइन कि हामीहरुलाई लगानीको आवश्यकतासमेत भएकाले नेपाललाई प्रविधिसम्म पहुँच चाहिएको र लगानीका लागि प्रत्यक्ष लाभ लिनसक्ने क्षेत्रमा तपाईहरुले लगानी गर्नुप¥यो भनेर मैले आग्रह गरे ।

नेपाल र अमेरिकाबीच हुँदै आएको पारस्परिक सम्बन्धका महत्वपूर्ण पाटाहरु छन् । तर केही आलोचकहरु अमेरिकाको सुरक्षा छातामा नेपाल जान लागेको पनि भन्दै छन् । यसमा अमेरिकाको भ्रमण गर्दै गर्दा मन्त्रीज्यूको के प्रतिक्रिया छ ?

नेपालले एउटा असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको छ । हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र र पञ्चशीलको सिद्धान्तमा अभ्यस्त रहँदै आएका छौँ । यसमा हामीहरुको विश्वास छ । हामीहरुको छिमेकीलगायत अन्य देशसँग सुमुधुर सम्बन्ध रहँदै आएको छ । हामीले हाम्रो दुई सय ५० वर्षको कूटनीतिक अनुभवलाई मुलुकको उन्नति प्रगति र जनताका हितका लागि प्रयोग गर्न चाहन्छौँ ।

मित्रराष्ट्रहरुसँग पनि त्यसैअनुसार सम्बन्ध सुदृढ गरेर अगाडि बढिराखेका छौँ । जहाँसम्म अमेरिकाको कुरा छ, नेपालको वृहत्तरहित र उन्नति लागि एउटा निःस्वार्थ सहयोगीका रुपमा लामो समयदेखि आफूलाई प्रस्तुत गर्दै आएको मैले महसुस गरेको छु । त्यसैले हाम्रो नीति असंलग्न परराष्ट्रबाट निर्देशित छ र हामी त्यहीअनुसार अगाडि बढ्छौँ ।

अमेरिका हामीहरुको एक मित्रराष्ट्र हो र यसले नेपालप्रति सद्भाव राख्दै आएको छ । हामीले पनि अमेरिकी प्रविधि, पुँजी, लगानीलाई हरेक सम्भावना भएका क्षेत्रमा परिचालन गर्नुपर्दछ । हामीले अमेरिकी सदाशयतालाई उपयोग गरेर आफ्नो समृद्धिको यात्रा तय गर्नुपर्छ । अमेरिकी सरकार र यहाँका नागरिकको सद्भाव र समृद्धिबाट हामीले पनि लाभ लिन सक्ने हुनुपर्दछ । यसपटक मैले यहाँ गरेका द्विपक्षीय भेटवार्ताहरुमा यी पक्षहरुलाई पनि विशेष ध्यान दिएको छु ।

यसपटक यहाँले एमसिसी परियोजनाको कार्यान्वयनका बारेमा छलफल गर्नुभयो । एमसिसीको कार्ययोजनाअनुसार कतिपय देशहरुले दोस्रो परियोजनामा पनि सम्झौता गरेको देखिन्छ, नेपालले पनि यस सम्बन्धमा केही गृहकार्य गरेको छ कि ?

अहिले एमसिसी कार्यान्वयनमा गइसकेको छ । अमेरिकी अनुदान र नेपालको पनि लगानी भएको परियोजना, दुवै देशको प्रतिष्ठा र सपनासँग जोडिएको छ । यो मैत्रीपूर्ण आयोजनाको तोकिएका समयमा नै पूरा गर्न सकियोस् भनेर दुवै सरकार चिन्तित छौँ । एमसिसीका थप परियोजना भविष्यमा फेरि आकर्षित गर्न सक्नेछौंँ भन्ने मलाई विश्वास छ । हामी लक्षित आयोजनाहरु समयमै सम्पन्न गर्नेछौँ ।

तपाईंले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा देखिने तरिकाले सहभागिता जनाइरहनुभएको छ । यसलाई दिगोरुपमा अगाडि बढाएर भविष्यमा रणनीतिकरुपमा स्थापित गराउने कुनै सोच राख्नुभएको छ ?

नेपाल एक स्वतन्त्र राष्ट्रका रुपमा रहँदै आएको छ । अन्तर्राष्ट्रिय कूटनीतिमा पनि हामीहरुको आफना अनुभवहरु छन् हाम्रा नीतिहरु समय परिस्थिति र आवश्यकताअनुसार परिर्माजन हुँदै अगाडि बढिरहेका छन् । त्यसका लागि नीतिगत र संरचनागत परिर्वतन आवश्यक हुन्छ । सरकारका तर्फबाट हामीहरुले परराष्ट्र मन्त्रालयमा पनि पुनःसंरचना गर्नुपर्ने आवश्यकता महसुस गरेका छौँ । अब परम्परागत कूटनीतिक शैलीले मात्रै परिवर्तनशील समाजको वर्तमान आकाङ्क्षा परिपूर्ति हुन सक्दैन । अब कूटनीतिमात्र नभई विकासका लागि र आर्थिक समृद्धिका लागि एउटा जरुरी भइसकेको छ । परराष्ट्र मन्त्रालयभित्र श्रम समस्यालाई समाधान गर्नु, आर्थिक कूटनीतिलाई विस्तार गर्नु र लगभग पाँच भागको एक भाग जनसङ्ख्या बाहिर रहेको नेपालीको सेवा प्रवाहलाई स्तरीय र मर्यादित बनाउनका लागि हामीहरुले आपूmलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता मैले देखेको छु ।

नेपालको कूटनीति कहिलेकाहीँ उत्तेजनामा बहकिने गरेको छ भन्ने गरेको पनि सुनिन्छ । तपाईंले मन्त्रालय सम्हालेपछि यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

वास्तवमा कूटनीति बहकावमा होइन कि समस्याको यथार्थ बुझाइ र राष्ट्रहरुकोबीचको परस्पर हितको प्रतिविम्ब हुनपर्छ । दुईपक्षीय या बहुपक्षीय मामिलामा हुने वार्ताहरु हमेसा सहज हुन्छन् भन्ने छैन । यस्ता किसिमिका जटिल वार्तामा पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर मुलुकले अगाडि बढ्नुपर्ने हुन्छ । नेपाल आफ्नो नीतिगत मान्यता, अनुभवहरु र भविष्यका कार्ययोजनालाई केन्द्रमा राखेर अघि बढिरहेको छ । हामी जस्तासुकै समस्याहरु पनि कूटनीतिक तवरबाट र वार्ताको टेबलमा बसेर समाधान गर्न सक्छौँ भन्ने मलाई लाग्छ । हाम्रो कूटनीतिक प्रयास पनि यसैतर्फ लक्षित हुनुपर्छ भन्ने मेरो विश्वास हो ।

परराष्ट्र मन्त्रालयका जिम्मेवारी सम्हाल्दै गर्दा केकस्ता चुनौतीको सामना गर्नुपरेको छ ?

परराष्ट्र नीति एउटा व्यक्ति या पार्टी विशेषको हुनु हुँदैन । परराष्ट्र नीतिले समसामयिक राजनीति, कूटनीति, विकास र राष्ट्रिय सहमतिलाई पनि प्रतिविम्बित गर्नुपर्छ । परराष्ट्र नीतिलाई आन्तरिक राजनीतिको या द्वन्द्वको प्रतिछायाँ बनायो भने हाम्रो देश र हामीप्रतिको बाह्य दृष्टिकोण नकारात्मक हुनसक्छ । त्यसकारण आन्तरिक राजनीतिलाई पनि सुदृढ र बलियो बनाउँदै लैजाने र त्यसलाई बाह्य संसारमा पनि प्रभावकारी किसिमले मुखरित गर्न सक्यौँ भने परराष्ट्र नीति सफल हुन्छ । मैले देश बाहिर जाँदा जहिले पनि आफ्नो देशको राष्ट्रिय सहमतिको प्रतिनिधित्व गरेको छु । राष्ट्रिय हितको प्रतिनिधित्व गरेको छु । साथै जनतालाई र उनीहरुको आकाङ्क्षाहरुलाई केन्द्रमा राखेको छु ।

राजनीतिमा विवाद हुन्छ, प्रतिस्पर्धात्मक राजनीतिमा यो विवाद अलि बढी पनि हुनसक्छ । बहुदलीय संसदीय व्यवस्थाभित्र विवादलाई हामीले स्वाभाविकरुपमा लिएका छौँ । यसरी हुने विवाद नेपालको बाह्य संसारलाई हेर्ने दृष्टिकोण, देशको प्रतिरक्षा, देशको आर्थिक हितमा आघात नपुग्ने गरेर मात्रै हामी अगाडि बढ्नुपर्छ । यदि हामीहरु यी कुरामा सचेत भएनौँ भने र त्यसो भएन भने बाह्य शक्तिले पनि आन्तरिक राजनीतिमा खेल्ने ‘स्पेस’ पाउन सक्दछन् । हामी यस्तोमा सर्तकतापूर्वक अगाडि बढ्नुपर्छ ।

कतिपय देशमा कूटनीतिक नियोगले प्रभावकारी काम गर्न सकेनन् भन्ने गुनासो पनि आउने गरेको छ । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

सरकारले गर्ने कामलाई प्रभावकारी बनाउँदै सरकारले गर्न नसक्ने कामको ‘डायस्पोरा’मा रहनुभएकाहरुको हित हुने गरेर कुनै ‘आउट सोर्सिङ’को प्रक्रियाबाट पनि यो समस्याको समाधान गर्न सकिन्छ । अब परराष्ट्र मन्त्रालय पुरानै ढर्रामा चलाएर मुलुकबाहिर रहेको करिब ६० लाख मानिसको ठूलो सङ्ख्याको समस्या समाधान हुन सक्दैन भन्ने मलाई लाग्छ ।

हाम्रो मुलुकमा अहिले पनि वर्षमा कम्तीमा १२ खर्ब रेमिटेन्स भित्रिइरहेको छ । यत्रो रकम नेपालमा पठाउने नेपालीको सेवा प्रवाह मैत्रीपूर्ण, सेवाभावले भरिएको हुनुपर्छ । उनीहरुका समस्यालाई सरकारले आत्मसात् गरेर, सम्बोधन गरेर अगाडि बढ्नुपर्छ । त्यस्तै बदलिँदो विश्व परिवेशमा नेपाललाई लाभ हुने गरी कूटनीतिक कौशलता प्रदर्शन गर्नुपर्नेछ । आर्थिक कूटनीतिका माध्यमबाट नेपालमा लगानीको आकर्षणलाई पनि विश्वमा पुर्याउनुछ । यसका लागि दरिलो र अब्बल परराष्ट्र नीति र त्यस बमोजिमको कौशलता अहिलेको आवश्यकता हो ।

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं – राप्रपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने निर्णय गरेको हो ।

यस्तै बैठकले जाजरकोट भूकम्पका बारेमा छलफलका गर्न सर्वदलीय बैठक बोलाउन सरकारसंग माग गर्ने निर्णय गरेको छ । यस्तै भूकम्पबाट घरवार गुमाएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको एक नेताले जानकारी गराए ।

क्षयरोग तथा मृत्युदर घटाउने भारतको सफलता डब्लूएचओद्वारा स्वीकार

नयाँदिल्ली । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले सन् २०१५ देखि लागु भएको क्षयरोगका घटना तथा मृत्युदर कम गर्ने प्रयासमा भारतले गरेको सफलतालाई स्वीकार गरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार बताएको छ ।

“भारतको प्रयासका कारण सन् २०२२ मा (सन् २०१५ देखि) क्षयरोगको घटनामा १६ प्रतिशत कमी आएको छ, यो वैश्विक क्षयरोगका घटनामा भएको गिरावट (आठ दशमलव सात प्रतिशत) भन्दा करिब दुई गुणा हो । यस अवधिमा भारत र वैश्विकस्तरमा क्षयरोगबाट हुने मृत्युदर पनि १८ प्रतिशतले घटेको छ,” मन्त्रालयले भनेको छ, “डब्लूएचओले सन् २०२१ मा चार लाख ९४ हजारबाट सन् २०२२ मा तीन लाख ३१ हजारमा क्षयरोगको मृत्युदरलाई ३४ प्रतिशतभन्दा बढीले घटाएर संशोधन गरेको छ ।”

डब्लूएचओले मङ्गलबार आफ्नो ग्लोबल क्षयरोग रिपोर्ट २०२३ जारी गर्दै भारतमा क्षयरोगको मामिला पत्ता लगाउने सुधारमा ठूलो प्रगति गरेको बताएको छ ।

“अनुमानित क्षयरोग मामिलाको उपचार बढेर ८० प्रतिशत भएको छ, यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो,” मन्त्रालयले भनेको छ, “भारतले राष्ट्रिय स्वास्थ्य मिसनको तत्वावधानमा लागु गरिएको राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रममा थप लगानी गरेर क्षयरोग उन्मूलन प्रयासहरूलाई प्राथमिकता दिनका लागि साहसिक कदम चालेको छ ।”

सिरियामा अमेरिकी हवाई आक्रमण, नौजनाको मृत्यु

दमास्कस । सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौजना लडाकू मारिएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्यस्थल र हतियार डिपोमा आक्रमण गरेका कारण गम्भीर घाइते भएका लडाकूको सङ्ख्या अझै धेरै रहेको कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ ।

पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाई आक्रमण’ गरेको जनाएको छ ।

पीडितको आन्दोलन फिर्तापछि अरुण तेस्रो प्रवेशमार्ग खुल्यो

किमाथाङ्का– सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुलेको छ । अरुण तेस्रो प्रवेशमार्ग पीडितले गत भदौ १६ देखि बन्द गरेको आन्दोलन आजदेखि फिर्ता गरेका छन् । अरुण तेस्रो प्रवेशमार्ग पीडितको आन्दोलन फिर्तापछि विद्युत्गृहस्थलको सञ्चालन भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

मुआब्जावापतको रकम जिल्ला प्रशासनको खातामा जम्मा हुने भएपछि प्रवेशमार्गका पीडितले आन्दोलन फिर्ता गरेको प्रजिअ कार्कीले बताए । अरुण तेस्रो प्रवेशमार्गको आन्दोलन ७० दिनपछि फिर्ता लिएको केन्द्रीय सङ्र्घष समिति संयोजक जनीकुमार राईले जानकारी दिए । अरुण तेस्रो प्रवेशमार्गको छुट जग्गाको मुआब्जा दिने सहमतिपछि आन्दोलन फिर्ता गरिएको केन्द्रीय सङ्घर्ष समिति संयोजक राईले बताए ।

मुआब्जा दिन छुट रहेको चार सय ५४ रोपनी जग्गाको मुआब्जा पाउने भएपछि सङ्घर्ष समितिले आन्दोलन फिर्ता गरेको हो ।

मुआब्जा पीडित सङ्घर्ष समितिले बन्दसहितको आन्दोलन फिर्ता लिएको विज्ञप्तिमार्फत जनाएको छ । खाँदबारी नगरपालिका–४, छयाङ्कुटीबाट चिचिला गाउँपालिका–२, दिदिङ्ग सडकखण्डको (२४ दशमलव पाँच किलोमिटर) छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका थिए । कात्तिक १७ गतेको ५६औँ मन्त्रिपरिषद् बैठकले छुट मुआब्जावापतको रु ५३ करोड विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको थियो ।

सो रकमपछि नेपाल सरकारबाट शोधभर्ना हुने गरी एसएपिडिसीले सरकारलाई दिन लागेको हो । लगानी बोर्डले सतलज जलविद्युत् निगमलाई लेखेको पत्रमा मुआब्जा वितरणको हकमा पछि लगानी बोर्डले निर्णय गर्ने उल्लेख गरेको छ । मन्त्रिपरिषद्को कात्तिक १६ गते बसेको बैठकले एक महिनाभित्र अर्थात् मङ्सिर १८ देखि मुआब्जा रकम वितरण सुरु गर्ने निर्णय भएको र सो मितिमा मुआब्जा वितरण सुरु नगरिए पुनः आन्दोलन सुरु गर्ने सङ्घर्ष समितिले जनाएको छ ।

गत वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडकखण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

मानसिकरुपमा विक्षिप्त भूकम्प प्रभावित, ध्यान दिन सुझाव

भेरीगङ्गा– जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ ।

विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव दिएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिकरुपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले सरकारले त्यहाँ मनोमरामर्शका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए । भूकम्पका कारण धेरैले आफन्त गुमाएका छन् । उनले भने, “अहिले पनि परकम्प जाने क्रम जारी छ, नागरिक त्रासमा छन् । यस्तोे अवस्थामा व्यक्तिमा मनोसामाजिक समस्या देखिनसक्छ । त्यसैले तीनै तहका सरकारले राहत र पुनस्थापनासँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिएर काम गर्नुपर्छ ।”

मनोविद् रावतले भूकम्पपछि सबै निकाय राहत वितरणमा मात्रै केन्द्रित भएको उल्लेख गर्दै मानसिकरुपमा पनि पीडित समस्यामा परेकाले सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

यसैबीच कर्णाली प्रदेश सरकारले भूकम्पपछि मनोसामाजिक समस्या निम्तिन सक्नेतर्फ ध्यान दिएर मनोविमर्शकर्ता खटाएको जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रभावित क्षेत्रमा चिकित्सक र मनोविमर्शकर्ता परिचालन गरेको छ ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले मनोसामाजिक समस्याको व्यवस्थापनका लागि विभिन्न साझेदार संस्थासँग मिलेर मनोविमर्शकर्ता खटाइएको जानकारी दिए । विभिन्न महामारी फैलिन सक्नेतर्फ सचेत भएको उल्लेख गर्दै उनले बालबालिकामा पोषणको समस्या आउन नदिने गरी काम सुरु गरिएको बताए ।

रास्वपाले मंसिर ११ देखि १३ गतेसम्म केन्द्रीय समिति र संसदीय दलको महोत्तरीमा गर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल र केन्द्रिय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको बैठकले आगामी मंसिर ११ देखि १३ गतेसम्म संसदीय दल र केन्द्रिय कार्यसमितिको बैठक महोत्तरीमा गर्ने निर्णय गरेको हो।

यसअघि पार्टी बुधबार र बिहीबार मधेशमा बैठक राख्ने तयारी गरेको थियो । तर गत शुक्रबार जाजरकोटमा गएको भूकम्पका कारण बैठक स्थगित भएको थियो ।

कृषिक्षेत्रको व्यावसायीकरण गरी निर्यात प्रबद्र्धन गर्न माग

काठमाडौँ, २३ कात्तिक । अखिल नेपाल किसान महासङ्घले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरण गरी निर्यात प्रबद्र्धन गर्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरेको छ । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेपछि खाद्य तथा कृषि क्षेत्रको आयात प्रतिस्थापन गरी आत्मनिर्भर कृषि अर्थतन्त्रको विकासबाट बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न महासङ्घले आयोगलगायत सम्बन्धित पक्षलाई सुझाव दिएको हो ।

आयोगले छुट्टाछुट्टै टोली बनाएर यही कात्तिक २० गतेदेखि सबै प्रदेशमा छलफल थालेको छ । संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि तीनवटै तहका सरकारलाई जनताको खाद्य सम्प्रभूताको हक स्थापित गर्न कृषि उत्पादनका क्षेत्रमा प्राथमिकता दिन महासङ्घले माग गरेको हो । महाङ्घमा आवद्ध नेपाल किसान सङ्घ, अखिल नेपाल किसान महासङ्घ नेकपा (एकीकृत समाजवादी) र नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासङ्घ, तथा समाजवादी किसान महासङ्घ छन् ।

महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले कृषि क्षेत्रमा गरिने लगानीले उत्पादन वृद्धि हुने, किसानको आम्दानी तथा उनीहरुको खर्चगर्ने क्षमता विकास हुने, किसानले गर्ने खर्चले मुलुकको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले भने, “सरकारले विगतमा कृषि क्षेत्रमा मल, बीउबिजनको व्यवस्थापन गर्न सकेको छैन् । त्यो अनुभवबाट पाठ सिकेर समयमै त्यसको व्यवस्थापनका लागि गृहकार्य गर्नुपर्दछ । ” आयोगका सदस्य डा प्रभु बुढाथोकी, डा जयकान्त राउत, डा रामकुमार फुँयाल र डा अनिता शाह ढुङ्गानाको नेतृत्वमा छुट्टछुट्टैटोली परिचालन गरिएको छ ।

सरकारले देशभरका किसान सङ्घ/सङ्गठन, राष्ट्रिय किसान सञ्जाल तथा कृषि र भूमिसम्बन्धी नागरिक सङ्गठनको विरोध हुँदाहुँदै पनि ठूला कर्पोरेट घराना, विदेशी बहुर्राष्ट्रिय निगमलाई दिन भूमि बैंकको अवधारणा ल्याएकाले त्यसको खारेजी गर्न आग्रह गरेको महासङ्घले हालै ७३औँ स्थापना दिवश समेत सम्पन्न गरेको छ ।

किसानले आफ्नो भूमि अति सस्तोमा भाडामा लगाउनुपर्ने, भूमि बैंकले सार्वजनिक खरिद ऐन अनुसार बढाबढ मूल्यमा स्वदेशी तथा विदेशी पुँजीपतिलाई दिनुपर्ने, तिनले कागजपत्र मिलाएर स्थानीय तहबाट कृषि क्षेत्रमा दिइने अनुदानसमेत कब्जा गर्ने, विदेशबाट फर्केका युवाले स्वदेश फर्केर आफ्नै जमिनमा खेतीपाती गर्न वा जमिन बेचबिखन गर्न नपाउने गरी भूउपयोग ऐन २०७५ मार्फत ल्याएको भूमि बैंकजस्तो नवउदारवादी, किसानमारा र भूमिसुधार विरोधी व्यवस्थालाई अविलम्ब ऐन संशोधन गरी खारेज गर्न महासङ्घले जोड दिएको छ ।

विदेशी लगानी भित्राउने र नेपाली कृषिलाई विदेशीको हातमा सुम्पने, प्रतिबन्धित अनुवंश परिवर्तित बिउ र खाद्यान्नलाई खुला गर्ने, नेपालमा कृषि भूमिको कित्ताकाट खुल्ला गरी खण्डीकरण गर्ने, देशका विभिन्न हदबन्दीभन्दा बढीको जग्गा गैरकानुनीरूपमा भूमाफियाहरूको कब्जामा पु¥याउनेलगायत कार्य यस क्षेत्रका विकासमा बाधक बनेको छ ।

नेपाल मसाल निकट किसान सङ्गठनका नेता भैरव रेग्मी नेपाली कृषि र किसानको रक्षा गर्न कृषि भूमिको गैरकृषि क्षेत्रमा प्रयोगलाई प्रोत्साहन गर्ने, मलखाद आयातमा हुने भ्रष्टाचारलाई निरुत्साहित गर्न सरकारले आवश्यक नियमन तथा कडा कारबाहीको व्यवस्था गर्न सरकारलाई सुझाए । बाँझो जमिनमा सिंचाई, कृषि उत्पादनमा यान्त्रिकरण र बजारीकरणका साथै युवालाई कृषि क्षेत्रमा आकर्षित बनाउन सरकारको नीति तथा कार्यक्रममा विशेष व्यवस्था आवश्यक छ ।

महासङ्घमा आवद्ध किसान सङ्गठनले किसानको जीवनमा समृद्धि र खुसीयाली ल्याउन सकेमा समाजिक रुपान्तरण तथा मुलुकमा आर्थिक विकास हुने निष्कर्ष निकालेका छन् । कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकारी डा प्रदीपचन्द्र भट्टराईले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्ने गरी राष्ट्रिय कृषि नीति निर्माणको अन्तिम चरणमा रहेको जनाउँदै नीतिले यसक्षेत्रको समस्या न्यूनीकरणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । कृषि तथा पशुपक्षी विकास मन्त्रलयका सहसचिव प्रकाश सञ्जेलका अनुसार करिब १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो छ ।

भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले २६ लाख दिने

भेरीगङ्गा (सुर्खेत), २१ कात्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।

मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले १६ वटै वडाको वडा विपद् कोषबाट एकरएक लाख १६ लाख र नगरपालिकाकोतर्फबाट १० लाख गरी जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाले पनि भूकम्पपीडितलाई ५० हजार सहयोग गर्ने बताएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले जानकारी दिए ।

भूकम्पबाट आठबीसकोटमा मात्रै चार हजार बढी घर पूर्णरुपमा ध्वस्त

त्रिवेणी (रुकुम पश्चिम), २३ कात्तिक । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको छ भने हजारौँको सङ्ख्यामा स्थानीय वासिन्दा त्रिपालको साहारामा चिसो रात कटाउन बाध्य भएका छन् ।

भूकम्पले घर पूर्णरुपमा क्षति पु¥याउदा शनिबारदेखि नै त्रिपाल साहारा बनेको र त्रिपालमै चिसो रात कटाउनु परेको आठबीसकोट नगरपालिका–१३ भल्लमाका ४१ वर्षीया हरिबहादुर ओलीले बताए । त्रिपालमा चिसो रात कटाउन आफ्नो परिवारलाई निकै मुस्किल भएको उनको गुनासो थियो ।

गत शुक्रबार गएको भूकम्पले आठबीसकोट नगरपालिकाकामा चार हजार दुई सय ७३ घर पूर्णरुपमा क्षति भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ।

नगरपालिकामा भएका जम्मा आठ हजार छ सय ३७ घरमध्ये चार हजार दुई सय ७३ घर पूर्णरुपमा क्षति हुँदा दुई हजार १८ घरमा आंशिक क्षति पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहको भनाइ थियो । भूकम्पले नभएका वडामा पनि सामान्य क्षति पुगेको छ । सामान्य क्षति हुनेमा एक हजार सात सय घर छन् । त्यस्तै स्थानीयस्तरमा उत्पादन हुने खाद्यन्नमा पनि ठूलो क्षती पुगेको छ ।

घरमा राखिएको धान, गँहु र मकै पनि पुरिएर क्षति हुनाका साथै १४ वटा भैँसी, आठ वटा गोरु, ६१ वटा भेडाबाख्रा र पाँच सय ७८ कुखुरा मरेको नगरपालिकाले जनाएको छ । गत शुक्रबार गएको भूकम्पले रुकुम पश्चिममा ५२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । अहिले ती क्षेत्रमा पीडितलाई राहत वितरणको काम चलिरहेको छ ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानमा इन्दु बर्मा नियुक्त

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तान इन्दु बर्मा बनेकी छिन् । बिहिबार नेपाल क्रिकेट संघ क्यानले उनलाई कप्तानमा नियुक्त गरेको हो । क्यानले १ दशकदेखि कप्तान रहेकी रुविना क्षेत्रीलाई विश्राम दिएर उनलाई कप्तान बनाएको हो । रुविना भने टिममा यथावत नै छिन् । यस्तै क्रिकेट टिमको उपकप्तानको जिम्मेवारी विन्दु रावलले पाएकी छिन् ।

यस्तै खेलाडीको सूचीमा इन्दु,विन्दु र रुविनाको अतिरिक्त अन्य सदस्यमा सिता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ रहेको क्यानले जनाएको छ ।

युरोपेली सङ्घसँग सदस्यता वार्ताका लागि सिफारिसको युक्रेनद्वारा स्वागत

किएभ (युक्रेन), २३ कात्तिक । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयु) मा समावेश हुने विषयमा युक्रेनसँग कुराकानी सुरु गर्ने युरोपेली आयोगको सिफारिसको स्वागत गरेका छन् ।

“यो एउटा बलियो र ऐतिहासिक कदम हो जसले युक्रेनलाई सदस्यका रूपमा सुदृढ युरोपेली सङ्घमा सदस्यतालाई मार्ग प्रशस्त गर्दछ”, उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्।

उनले युक्रेनसँग सदस्यतासम्बन्धी वार्ता सुरु गर्ने कि नगर्ने भन्नेबारे किएभले डिसेम्बरमा युरोपेली परिषद्को निर्णयको प्रतीक्षा गरिरहेको बताए । आफ्नो देशमा सुधार प्रक्रिया जारी रहेको उनको भनाइ थियो ।

यसअघि युरोपेली आयोगले युुरोपेली परिषद्लाई युक्रेनसँग वार्ता गर्न र युक्रेनले केही प्रमुख उपायहरू अपनाएपछि कुराकानीको रूपरेखा अपनाउन सिफारिस गरेको थियो । सन् २०२२ जुनमा युरोपेली सङ्घले युक्रेनलाई सदस्यताका लागि एउटा उम्मेदवारका रूपमा स्वीकार गरेको थियो ।

भूकम्पपीडितलाई चिसोबाट जोगाउनु पहिलो प्राथमिकता – मन्त्री बस्नेत

जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार गएको भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तक्रियामा उनले यसअघि भूकम्पको समयमा गरिएका कामको सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुनःनिर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने बताए ।

पुनःनिर्माणको अभियानमा सबै विकास साझेदार निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री बस्नेतले तत्कालका लागि राहत व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गरे । राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्य भएको उनको भनाइ थियो । ठूला ढुवानीका साधन पालिकाको सदमुकामसम्म पुग्नसक्ने अवस्था नभएकाले राहत व्यवस्थापनमा ढिला भएको उनले बताए ।

सानो हेलिकप्टर प्रयोग गर्दा राहत सामग्री थोरैमात्र ढुवानी भएको मन्त्री बस्नेतले जानकारी दिए । बाहिरबाट आएका सामग्री एकद्वार प्रणालीबाट सबै ठाउँका परिचालन गर्न पठाइएको जनाउँदै उनले सदरमुकामबाट पठाइएका सामग्री जाम भएपछि समस्य आएको बताए । सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट पीडितसम्म पुग्नका लागि समय लागेको मन्त्री बस्नेतको भनाइ थियो । वडाध्यक्षले वडा सदस्यलाई समेत परिचालन गरेर सामग्री वितरण गर्नुपर्नेमा उनले जोड दिए ।

केन्द्रबिन्दुमा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको मन्त्री बस्नेतले बताए । बारेकोट, कुशे गाउँपालिकामा त्रिपालको समस्या देखिएको भन्दै खाद्यान्नभन्दा पनि त्रिपालको समस्या बारेकोटमा बढी देखिएको उनले बताए ।

जाजरकोट र रुकुमपश्चिममा भएको क्षतिलाई एउटा योजना बनाएर पुनःनिर्माणको काम गरिने मन्त्री बस्नेतले समितिलाई जानकारी गराए । पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई गति दिन समस्या भइरहेको उनको भनाइ थियो । बढी चिसो भएमा पीडितलाई अस्थायी सेन्टर स्थापना गरी व्यवस्थापनको काम गरिने उनले जानकारी दिए ।

मन्त्री बस्नेतले दुःखमा साथ दिने, योगदान गर्ने, सल्लाह, सुझाव र हौसला दिने सबैलाई जाजरकोटको प्रतिनिधिका हिसाबले धन्यवादसमेत दिए । सुरक्षाकर्मी मित्रको पु¥याएको योगदानलाई भुल्नै नसक्ने भन्दै उनले विशेष धन्यवाद दिए ।

बागमती प्रदेशमा दुई विधेयक प्रमाणीकरण

मकवानपुर, २३ कात्तिक । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाबाट पारित भई आएका दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ती विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेका थिए ।

चितवनमा महसुल नतिर्ने एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटियो

कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट रु एक करोड ३७ लाख बक्यौता रकम असुली गरिएको छ । उनले भन्नुभयो, “प्राधिकरणले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियानअन्तर्गत बक्यौता रकम असुली गरिएको हो ।”

तीन हजार चार सय बढी सेवाग्राहीको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ । अभियान सुरु भएसँगै एक हजार पाँच सय सेवाग्राहीले लाइन काट्नुभन्दा अघि नै बक्यौता तिरेको श्रेष्ठले जानकारी दिए। अभियानअन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या नौ सय ८१ मा झरेको प्रमुख श्रेष्ठले बताए ।

मिटर रिडिङ्को समयले ४० दिनसम्म पनि विद्युत् महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उनले जानकारी दिए । प्रमुख श्रेष्ठले भने, “मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइन्छ ।” सुरुआती दिनमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिएको भए पनि विस्तारै बक्यौता नतिर्ने सबैको लाइन काटिने कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताए । उनले भने, “लाइन काट्ने अभिायनलाई तीव्र बनाइँदै लगिने छ ।”

लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने उनले बताए । तिहारपछि लाइन काट्ने प्रक्रियालाई अझै तीव्ररुपमा अघि बढाउने प्रमुख श्रेष्ठले जानकारी दिए।

बाँकेमा ट्रकले ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु

बाँके । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा गएराति ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौँ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो ।

वाङ जुङजेङको नेपाल भ्रमणको उद्देश्य के हो ? प्रचण्डको चीन भ्रमणमा भएका सहमति के हुन् ?

बुधवार काठमाण्डू ओर्लिएका चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङ जुङजेङको भ्रमणले चीनको नेपाललाई हेर्ने नीतिमा परिवर्तनको आशङ्का उब्जाएको एकजना पूर्वकूटनीतिज्ञले बताएका छन्।

पाँच दिनका लागि आएका वाङको भ्रमण गत सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भएका सहमति अघि बढाउनेमा केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तर प्रधानमन्त्रीको भ्रमणमा भएका सहमति कार्यान्वयनको पाटो हेर्न यसअघि चीनले बेइजिङकै अधिकारीहरू खटाउने गरेकोमा यो पटक तिब्बत हेर्ने पार्टी सचिवलाई पठाएको चीनका लागि नेपालका पूर्व राजदूत राजेश्वर आचार्यले बीबीसी न्यूज नेपालीसँग बताए।

“उहाँ प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताको फलोअपका लागि आउनुभएको भनिएको छ। भ्रमणको क्रममा भएका कुरा कार्यान्वयनका लागि बेइजिङबाट प्रतिनिधि खटाउने गरेको चीनले त्यसको स्तर घटाएर तिब्बतबाट नेपाललाई हेर्ने व्यक्ति खटाएको हो कि भन्ने यसले देखाएको छ,” उनले भने।

“यदि त्यसो हो भने यसले चीनले नेपाललाई हेर्ने नीतिमा परिवर्तन ल्याएको सङ्केत मिल्छ। किनभने पहिले यस्तो कहिल्यै भएजस्तो मलाई लाग्दैन।”सिन्जियाङमा अल्पसङ्ख्यक मुस्लिमहरूमाथि भएको दमनलाई लिएर वाङलाई सन् २०२१ मा अमेरिका, यूके सहितका पश्चिमा राष्ट्रहरूले प्रतिबन्ध लगाएका थिए। उनी त्यसबेला सिन्जियाङका पार्टी उपप्रमुख थिए।

चीन चिढिनुको कारण
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण फलदायी नभएको दाबी गर्दै ‘कूटनीतिक डायरी’का लेखक समेत रहेका आचार्य चीनले बेइजिङबाटै हेर्दै आएको काठमाण्डूसँगको सम्बन्धलाई ल्हासा सारेको हो की भन्ने आशङ्का गर्छन्।

“अमेरिकासँग राम्रो सम्बन्ध नभएको चीनले त्यहाँबाट सिधै नेपालका प्रधानमन्त्री चीन गएको कुरालाई त्यति रुचिकर मानेका छैनन्। उनीहरू कतिपय कुरा व्यक्त गर्दैनन् तर त्यसपछिका घटनाक्रमले त्यो कुरा देखाउँछ,” उनले भने।

चिनियाँ अधिकारीहरूले उसको सहुलियत ऋणमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को परियोजनामध्येको भएको दाबी गरेका थिए। तर नेपालले उक्त विमानस्थल बीआरआई अन्तर्गतको परियोजना नभएको दाबी गरेपछि चिनियाँहरू थप चिढिएको हुनसक्ने पूर्व राजदूत आचार्य ठान्छन्।

“अर्को कुरा प्रचण्डको चीन भ्रमणका क्रममा पनि नेपालबाट बीआरआई बारे उल्लेख्य प्रतिबद्धता नहुँदा चिनियाँ पक्षले निको नमानेको देखिन्छ,” उनले भने।

वाङ भ्रमणको उद्देश्य
प्रधानमन्त्री दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितका अधिकारीहरूसँग भेट गर्ने कार्यतालिका लिएर नेपाल आएका वाङले काठमाण्डू आइपुगे लगत्तै उपराष्ट्रपति रामसहाय यादवसँग बुधवारै भेट गरेका छन्।उनको भ्रमण प्रमुख दुई विषयमा केन्द्रित रहने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए।

“दुई देशबीचको सम्बन्धलाई विश्वास र सहकार्य बढ्ने गरी अघि बढाउने र प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा भएका सहमतिलाई कार्यान्वयनमा लैजानेबारे उहाँको भ्रमण केन्द्रित हुने बुझिएको छ,” उनले बीबीसी न्यूज नेपालीसँग भने।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर गत सेप्टेम्बर २३ मा एशियाली खेलकुद प्रतियोगिताको उद्‌घाटन समारोहमा सहभागी हुन चीन पुगेका थिए।

एक साता लामो भ्रमणका क्रममा जारी १२ बुँदे संयुक्त वक्तव्यमा नेपाल र चीनबीच थप सीमा नाका खोल्ने, बीआरआई कार्यान्वयन अघि बढाउने जस्ता विषयमा सहमति भएको उल्लेख थियो।र त्यसका लागि थप बैठकहरू गर्ने सहमति पनि दुई देशबीच सेप्टेम्बरमा भएको थियो।

प्रचण्डको चीन भ्रमणमा भएका सहमति के हुन्
गत सेप्टेम्बरमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा सन् २०१७ मा दुई देशबीच भएको फ्रेमवर्क सहमतिका आधारमा बीआरआईको सम्झौतालाई अन्तिम रूप दिने सहमति भएको थियो।

त्यस क्रममा उनीहरूले बन्दरगाह, सडक, रेल सञ्जाल, हवाई सञ्जाल सहितका पूर्वाधारहरू विकास गर्दै लैजाने सहमति गरेका थिए।

चीनले कोभिड महामारीपछि आंशिक रूपमा मात्रै सञ्चालन गरेको केरुङ बन्दरगाह र विसं २०७२ सालको भूकम्पदेखि नै सञ्चालनमा नआएको तातोपानी नाकाको खासा बन्दरगाह प्रधानमन्त्रीको भ्रमणभन्दा केही अघि मात्रै सञ्चालनमा ल्याएको थियो।

चीनले किमाथाङ्का र ओलाङ्चुङगोला सहितका थप सीमा नाकाहरू खुलाउनुका साथै नेपालतर्फका सडकहरू स्तरोन्नतिमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

“दुई पक्षबीच थप नाकाहरू व्यवस्थित गर्ने र निर्बाध सञ्चालन गर्ने कुराहरूका साथै परम्परागत सीमा नाकाहरू पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याउने सहमति भएको थियो,” यसअघि प्रधानमन्त्रीसँगै चीन गएका सापकोटाले भने।

जसमा अरनिको राजमार्ग र स्याफ्रुबेँसी रसुवागढी राजमार्गको मर्मत गरिने र टोखा छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाण्डूको चक्रपथ विस्तारको दोस्रो चरण कार्यान्वयन अघि बढाउने पनि सहमति भएको थियो।चीनले नेपाललाई केरुङ काठमाण्डू रेलमार्ग निर्माणका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

विद्युत् व्यापारमा पनि छलफल
चीन र नेपालबीच केरुङ रसुवागढी चिलिमे २२० केभी प्रसारण लाइन बिस्तारका लागि पहल अघि बढाउने सहमति प्रधानमन्त्रीको भ्रमणमा भएको थियो। त्यसबारे थप छलफलका लागि दुई देशबीचको संयन्त्रको बैठक अझै तय भएको छैन।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले नेपाली विद्युत् सञ्जालबाट टाढा रहेका दुर्गम हिमाली क्षेत्रमा विद्युत् आपूर्ति गरिदिन चीनसँग अनुरोध गरेको थियो। संयुक्त वक्तव्यमा चीनले तिब्बती क्षेत्रबाट नेपालका ती भूभागमा विद्युत् आपूर्ति गर्ने र आवश्यक प्रविधि वा उपकरण पनि दिने सहमति जनाएको थियो।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

चाडपर्वका समयमा चोरीसिकारी हुनसक्ने भन्दै निकुञ्जको सुरक्षामा कडाइ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकारी हुनसक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको हो ।

दसैँअघिदेखि नै निकुञ्जले सुरक्षामा कडाइ गरेको हो । तिहार, छठजस्ता पर्वको समयमा समेत सुरक्षामा कडाइ गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो । निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ । तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

निकुञ्जको ६७ वटा सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । “त्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ” उहाँले भन्नुभयो, “कार्यालयमा अन्य कर्मचारी पनि आलोपालो गरी बिदामा जाने गरी व्यवस्था मिलाइएको छ ।”

निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डुङ्गालगायत नियमित गस्ती गर्ने गरिन्छ । यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ । यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ ।

निकुञ्जभित्र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राख्ने गरिएको छ । यो स्पाइ क्यामरा हो । यसले खिचेको दृश्यको अनुगमन गरेर आवश्यकताअनुसार थप सुरक्षाकर्मी परिचालन गर्ने गरिएको छ । निकुञ्जका ठाउँठाउँमा सिसी क्यामरा राखिएको छ ।

निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्तीलगायतका जनावर रहेका छन् । पछिल्ला दिनमा जङ्गली ध्रुवे हात्तीले माडी र भरतपुरका राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेपछि दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको उहाँले जानकारी दिनुभयो ।

निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी राखिएको छ भने उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्र्याक्टरमार्फत निगरानी गरिरहेका छन् । जसका कारण निकुञ्ज सुरक्षामा समेत सहयोग पुगेको छ । वर्षात् र चाडपर्वको समयमा तस्कर सक्रिय हुनसक्ने भएकाले विशेष निगरानी गरिएको हो ।

विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग

कर्णाली – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ। प्रदेश तथा जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षसहित बुधबार बसेको प्रदेश सचिवालयको बैठकले पश्चिम नेपालमा सम्भावित विनाशकारी भूकम्पको उच्च जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नागरिकका लागि विपद् जोखिम आवास बीमा तथा प्राकृतिक विपद् जोखिम सामूहिक दुर्घटना बीमा गर्न सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपपहासचिव तथा कर्णाली प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवले जानकारी दिए।

यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा, विपद् व्यवस्थापन विशेष कार्ययोजना निर्माण, साधन स्रोत र जनशक्तिको उचित परिचालन गरी तत्काल पुनःस्थापना गर्न सचिवालय बैठकले तीनै तहका सरकारलाई अनुरोध गरेको छ। भूकम्पबाट ध्वस्त सबै संरचनाको पुनःनिर्माणका लागि एउटा सवल पुनःनिर्माण प्राधिकरण गठनको समेत बैठकबाट माग गरिएको उपपहासचिव यादवले बताए।

“उद्धारका बाँकी कामलाई पूर्णता दिँदै उपचार, राहत, पुनःस्थापन तथा पुनःनिमाणका काममा जोड दिन सरकारलाई अनुरोध गरिएको छ”,उनले भने। यस्तै, उद्धार, राहत, अस्थायी बसोबास, खाना, लत्ताकपडा, उपचार र क्षतिको विवरण सङ्कलन तथा पीडितलक्षित मनोपरामर्शका लागि पूर्ण क्षति भएका वडामा केन्द्रीय तथा प्रदेश समिति सदस्यको नेतृत्वमा टोली परिचालन गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिइएको छ।

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मुलुकमा आइपर्ने विषम् परिस्थिति तथा महाविनासकारी अवस्थाको प्रतिकार्यका लागि पूर्वतयारी, रोकथाम तथा जनताको जीउधनको सुरक्षा गर्न सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने अवस्थाका विषयमा सङ्घलगायत तीनै तहका सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए। भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि माओवादी केन्द्र कर्णाली प्रदेशले सरकारको राहत कोषमा रु पाँच लाख जम्मा गर्ने निर्णय गरेको छ ।

सांसद कानुन निर्माता मात्र होइन ‘अलराउण्डर’ हो : सांसद शाही

काठमाडौँ । विद्यार्थीकालदेखि राजनीतिमा होमिएका सांसद दयालबहादुर शाहीको पहिचान राजनीतिककर्मीका साथै सिद्धहस्त लेखक–विश्लेषकका रुपमा पनि स्थापित छ । झर्रो र उखान–टुक्काको शैलीका अभिव्यक्तिका साथ खरो राजनीतिक टिप्पणीकारका रुपमा चिनिने उनी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सांसद शाही एमालेको बाजुरा–काठमाडौँ सम्पर्क मञ्जको अध्यक्ष, बाजुरा जिल्ला कमिटी उपसचिव, जिल्ला सचिव, पार्टीको केन्द्रीय स्कुल विभाग सदस्य हुँदै हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । उनी राष्ट्रिय समाचार समिति (रासस)को पूर्व सञ्चालक समिति सदस्य र औद्योगोकि क्षेत्र व्यवस्थापन लिमिटेडको पूर्वअध्यक्षसमेत रहेका थिए ।

पार्टीमा लाग्नु र संसदीय जिम्मेवारीमा रहनुलाई सांसद शाही नियमित एवं सामान्य घटनाक्रमकै रुपमा लिन्छन् । एमालेको ‘जनताको बहुदलीय जनवाद’को सिद्धान्तबमोजिम जनताकै बीचमा पार्टीका नेता र कार्यकर्ता रहनुपर्ने भएकाले सांसद हुँदा पनि सो जिम्मेवारीबोधकै वरिपरि आफूलाई अनुभूत गराएको उनको बुझाइ छ ।

सङ्घीय संसद्को हालै सम्पन्न वर्षे अधिवेशनकको मूल्याङ्कन कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा सांसद शाही त्यसभन्दा संसद्को अघिल्लो कार्यकालमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन गरेर बनाइएको गठबन्धनको नियमितको चिरफारको खाँचो देख्छन् ।

“वर्तमान गठबन्धनले आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने नीति लिएको देखिन्छ । संसद्, सरकार र प्रतिपक्षको मात्र होइन यो कार्यपालिकाको मुहान हो । तर सरकारको नेतृत्वले व्यवस्थापिका र कार्यपालिकालाई निर्वाधरुपमा सञ्चालन गर्ने सोच राखेको देखिँदैन”, उनले भने, “एमालेले सदन र जनताका बीचमा वर्तमान गठबन्धन र यसको नेतृत्वका गलत सोच तथा क्रियाकलापलाई चिर्दै देश र जनताका पक्षमा आफूलाई प्रस्तुत गर्दै आएको छ । मुुलुकमा सङ्घीय गणतन्त्रको सहज कार्यान्वयनमा जोड दिएको छ । सदनको गत अधिवेशनलाई पनि यही सेरोफेरोमा राखेर हेर्नुपर्ने हुन्छ ।”

प्रमुख प्रतिपक्षबाट पनि बेला बेलामा सदनको अवरोध गरिएका कारण कानुन निर्माणमा ढिलाइ भएको त होइन ? भन्ने प्रश्नमा सांसद शाहीले संसद्बाट कानुन बनाउने प्राथमिकता, चिन्तन र निष्ठा वर्तमान सरकारको नदेखिएको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एक सय ४६ कानुन बनेका दृष्टान्त प्रस्तुत गरे । विपक्षीका कुरालाई तत्काल सम्बोधन गरिएमा सदनमा अवरोध नहुने तर्कसहित उनी भन्छन्, “अवरोध नहुनु नै विकास वा अवरोध हुनु नै विकासबाधक होइन । अवरोधले कहिलेकाँही विकास र गतिशीलता दिन्छ । कहिलेकाँही अवरोध विनाश पनि बन्न सक्छ । एमालेले अवरोध गर्दा विकास र गतिशीलता हुन्छ । यो कुरा नेपाली जनताले राम्रोसँग बुझेका छन् ।”

सांसद कानुन निर्माता भएकाले उहाँहरु विकासका सानातिना कामका लागि मन्त्रालय धाउनु हुँदैन भन्ने भाष्यमा सांसद शाहीको फरक बुझाइ छ । “सांसद भनेको कानुन निर्माता त हो नै । ऊ अलराउण्डर पनि हो । उहाँहरुले अरु काम गर्न हुँदैन भनिनु सोझासाझा सांसदलाई हेप्ने प्रवृत्ति हो”, उनले भने, “सांसद जनताको प्रतिनिधि हो । जनताकै छोराछोरी हो । जनताका लागि जहिले जे आवश्यक पर्छ, त्यो उसले गर्नुपर्छ । एमालेका सांसद सबै कार्यकर्ता र जनतासँग नै जोडिएका छन् ।”

राज्यका निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलन तथा समन्वयका सवालमा सांसद शाही सन्तुष्ट हुनुहुन्न । सन्तुलन र समन्वयमा सरकारले नै पर्याप्त काम गर्न नसकेको उनको आरोप छ । सर्वोच्च अदालतले सदनबाट पारित भएको बजेटमा परेको सांसद विकास पूर्वाधार कोषलाई कार्यान्वयन नगर्न आदेश दिएकामा उहाँको चित्त दुःखेको छ । “यो जनप्रतिनिधिको नासो हो । यसलाई कार्यान्वयन हुन दिनुर्छ । जनताको सेवाका निम्ति सांसदलाई काम गर्न सहजरुपमा दिनुपर्छ ।”

सांसदको अध्ययन र त्यसको वातावरणका विषयमा जिज्ञासा राख्दा उनी भन्छन्, “जसरी चुनाव जितेर आउनैपर्ने बाध्यताका कारण पछिल्ला दशकमा सांसदको स्तर खस्किएको छ । लोकतान्त्रिक चेतनामा फ्युज गएको छ । समाजमा अराजकता बढेको छ । तर पनि हाम्रो निष्ठा र जनसेवाप्रतिको प्रतिबद्धता निरन्तर जारी रहनेछ ।”

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। बिहिबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५० पैसा र बिक्रीदर ८५ रुपैयाँ ७९ पैसा रहेको छ।

ईयूको ५० वर्ष: कैयौँ विस्तार, एउटै प्रस्थान

काठमाडाैं | युक्रेन र मोल्दोभासँग औपचारिक सदस्यता वार्ता शुरू गर्न बुधबार सिफारिस गरेको युरोपेली सङ्घ (ईयू) ले विगत ५० वर्षमा विस्तारका विभिन्न चरणहरू पार गरेको छ ।युरोपेली आयोगले जर्जियालाई उम्मेदवारको दर्जा दिन पनि सिफारिस गरेको छ, सम्भवतः यसलाई सदस्यताको लागि लामो प्रक्रियामा राख्नेछ ।

युरोपेली आयोगको वार्षिक प्रतिवेदनमा ईयूको मापदण्डप्रति उम्मेदवार राष्ट्रहरूको प्रगतिबारे उल्लेखित निर्णयहरू डिसेम्बरमा हुने शिखर सम्मेलन समूहका २७ नेताहरूलाई वार्ता शुरू गर्ने वा नगर्ने निर्णय गर्न जानेछन् ।

प्रस्तावको पूर्वसन्ध्यामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २०२२ मा रूसले आक्रमण गरेको आफ्नो देश ‘यूरोपेली सङ्घमा रहने’ प्रतिबद्धता जनाएका थिए ।

सन् १९५७ मा स्थापना भएको ‘युरोपियन इकोनोमिक कम्युनिटी’ का रूपमा स्थापित यो समूह पछि ईयू बनेको हो । यसको सुरूवात बेल्जियम, फ्रान्स, इटाली, लक्जेम्बर्ग, नेदरल्याण्ड्स र पश्चिम जर्मनी गरी छ वटा सदस्यबाट भएको थियो ।सन् १९७३ मा बेलायत, डेनमार्क र आयरल्याण्ड, सन् १९८० को दशकमा ग्रीस, पोर्चुगल र स्पेनले सदस्यता लिएका थिए ।

सन् १९९५ मा अस्ट्रिया, फिनल्यान्ड र स्वीडेनलाई पहिलो पटक रूससँगको साझा सीमा हुँदै यो समूह पूर्वतिर विस्तार गर्न थाल्यो ।सन् २००४ मा १५ बाट २५ सदस्यीय ‘बिग ब्याङ्ग’ विस्तार भएको थियो, जसमा आठ पूर्व साम्यवादी पूर्वी युरोपेली देश र दुई भूमध्यसागरीय राष्ट्रले एकै पटकमा ईयूको झण्डा फहराएका थिए ।

सन् २००७ मा बुल्गेरिया र रोमानियाले इयूलाई २७ सदस्य राष्ट्रमा पुर्‍याएका थिए भने सन् २०१३ मा क्रोएसिया २८औँ राष्ट्र बनेको थियो ।सन् २०१६ को जनमत सङ्ग्रहमा ईयूबाट बाहिरिने पक्षमा भएको मतदानपछि बेलायत सन् २०२० मा ईयूबाट बाहिरिने पहिलो सदस्य राष्ट्र बनेको थियो ।

युक्रेनको युद्धले मध्य र पूर्वी यूरोपमा विस्तार गर्ने ईयूको अभियानलाई पुनर्जीवित गरेको छ ।सन् २००५ मा उत्तरी म्यासेडोनिया सन् २०१० मा मोन्टेनेग्रो सन् २०१२ मा सर्बिया सन् २०१४ मा अल्बानिया पछि सन् २०२२ डिसेम्बरमा बोस्निया उम्मेदवारको दर्जा पाउने पाँचौं बाल्कन राष्ट्र बनेको थियो ।

कोसोभोले सन् २०२२ मा पनि आवेदन दिएको थियो तर उसलाई उम्मेदवारको दर्जा दिइएको छैन ।नेटो सदस्य राष्ट्र टर्की सन् २०१९ देखि उम्मेदवार रहँदै आएको छ र सन् २००५ मा सदस्यता वार्ता शुरू गरेको थियो ।सन् २०१६ मा राष्ट्रपति रेसेप तैयप एर्दोगानले असफल ‘कू’ पछि असहमतिमाथि गरेको दमनका कारण सन् २०१६ देखि नै अङ्काराको इयूसँगको सम्बन्ध निकै बिग्रिएको छ ।

ईयूका धेरै सदस्य राष्ट्रहरूका लागि लामो समयदेखि रोकिएको प्रवेश वार्ता नामबाहेक अरू सबैमा मरेको छ । टर्कीको सदस्यताको लामो समयदेखि विरोध गर्दै आएको अस्ट्रियाले गत सेप्टेम्बरमा यो प्रक्रिया अन्त्य गर्न समेत आह्वान गरेको थियो ।युरोपेली महत्वाकांक्षाले युक्रेनले सन् २००४ देखि ठूला दुई युद्धको सामना गरेको छ र मोल्दोभाले ईयूको प्रतीक्षालयमा रहेका देशहरूको सङ्ख्यालाई आठमा ल्याएको छ ।

सुधारको लागि नजिकको आर्थिक र राजनीतिक सम्बन्धको व्यापार गर्दै यी दुई पूर्व सोभियत गणराज्यहरूसँग ईयूले सन् २००९ मा पूर्वी साझेदारी गठन गरेको थियो । अन्यमा अर्मेनिया, अजरबैजान, जर्जिया र हाल रूसको सहयोगी रहेको बेलारुस थिए ।जर्जियाले बुधबार पनि ईयू उम्मेदवारको दर्जाको लागि सिफारिस प्राप्त गरेको छ ।

भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

काठमाडाैं | जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ ।

कलाकारको छाता संस्था नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट रु ३९ हजार आठ सय ३१ कोषमा जम्मा गरिएको अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनले भने, “पीडितको घाउमा मल्हम लगाउने सानो प्रयास गरेका छौँ ।”

चलचित्र निर्माताको संस्था नेपाल चलचित्र निर्माता सङ्घको तर्फबाट उक्त कोषमा रु एक लाख सहयोग गर्ने अध्यक्ष नवल खड्काले जानकारी दिए । उनले भने, “हामी सबैले आ–आफ्नो स्थानबाट सहयोगी भावना देखाउनु आवश्यक छ । निर्माता सदस्यलाई पनि सहयोगका लागि अपिल गरेका छौँ ।”

चलचित्र निर्माता सन्तोष सेनले उक्त कोषमा रु ६१ हजार पाँच सय सहयोग गरेको जानकारी दिए । यस्तै गायक सुनिलसिंह ठकुरीले नेपालगञ्जमा यही कात्तिक २४ गते हुने ‘रक अन फेस्टिभल सेलिब्रेसन विथ सुनिलसिंह ठकुरी’ नामक साङ्गीतिक कार्यक्रम (कन्सर्ट)बाट प्राप्त हुने आम्दानी कोषलाई सहयोग गर्ने बताए ।

साउदीमा नेपाली कामदार किन पर्छन् जेल ?

काठमाडौं । पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत रहेका पाइन्छ ।

यही स्थितिलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेसा व्यवसायमा संलग्न रहेका नेपाली नागरिकले गर्न हुने–नहुने काम एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा आफूले समयसमयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेबसाइटमार्फत जानकारी गराउँदै आएको जनाएको छ ।

दूतावासले साउदी अरबमा गर्न हुने र नहुने कार्यहरू विभिन्न १५ बुँदामा र विशेष ध्यान दिनुपर्ने थप पाँच बुँदामा गरी कुल २० बुँदे विशेष महत्वपूर्ण जानकारी दिँदै त्यहाँ रहेका सम्पूर्ण नेपाली श्रमिक तथा समुदायको विशेष ध्यानाकर्षण गराएको छ ।

साउदी अरबको साइबर अपराधविरुद्धको कानुन, २००७ को कोही कसैले उल्लंघन गरेमा पाँच वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दुवै जरिमाना हुने भएकाले सो कानुनको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न÷नगराउन दूतावासले अनुरोध गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

तिहारले थाल्यो बढ्न थाल्यो सुनचाँदीको कारोबार

काठमाडौँ । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विगतका वर्षजत्तिको व्यापार बढ्न नसके पनि अन्य समयको तुलनामा दुईरतीन दिनअघिदेखि सुनको कारोबार बढ्दै गएको जानकारी दिए ।

आर्थिक मन्दी र मूल्य बढेका कारण विगतका वर्ष सुनचाँदीको कारोबारमा ३० प्रतिशतले गिरावट आएको उनले जानकारी दिए । तिहारको समयमा उपभोक्ताले धनसम्पत्ति जोड्ने भएकाले बजार मागसमेत बढेको व्यवसायीको भनाइ छ । तिहार आउनै लाग्दा धनतेरस र लक्ष्मीपूजाको दिन झनै सुनचाँदीको कारोबार बढ्छ ।

गत वर्ष २५ देखि ३० किलो सुनको कारोबार हुने गरेकामा हाल आर्थिक मन्दीका कारण समग्र व्यापारमा गिरावट आएको उहाँको भनाइ छ । तिहार नजिकिँदै गर्दा न्युरोडका सुनचाँदी पसलमा सामान खरिद गर्ने ग्राहकको भिडभाड लाग्ने गरेको छ ।

उपभोक्ताले धनतेरस र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरि धन आर्जन हुने विश्वास राख्छन् । चाडपर्वको समयमा सुनसँगै चाँदीको समेत कारोबार बढ्छ ।

तिहारलाई सुनभन्दा चाँदी धेरै खपत हुने चाडका रूपमा लिइन्छ । यो समयमा उपभोक्ताले पूजाआजाका लागि चाँदीको सामग्री किन्ने गर्छन् । सोही कारण पछिल्लो समय दैनिक छ सय किलो धेरै चाँदी बिक्न थालेको महासङ्घको भनाइ छ । बजारमा सुनको मूल्य प्रतितोला एक लाख १४ हजार रुपियाँ रहेको छ ।

गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको थियो । गत कात्तिक १२ मा प्रतितोला एक लाख १७ हजार रुपियाँ पुगेको सुनको मूल्य गत सातादेखि क्रमिक रूपमा घट्दै गएको छ । यस्तै चाँदी प्रतितोला एक हजार ३८५ रुपियाँ रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

राष्ट्रिय सतर्कता केन्द्रलाई शक्तिशाली बनाउनु पर्ने प्रस्ताव

काठमाडौं। मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई शक्तिशाली बनाउनु पर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रको प्रभावकारी सञ्चालन एवं सबलीकरण गर्न गठित कार्यदलले प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्र्रले अनुचित कार्यउपर छानबीन गरी उच्चपदस्थ पदाधिकारीलाई आवश्यक कारबाही गर्न पाउने गरी केन्द्रलाई अधिकार दिनुपर्ने प्रस्ताव गरेको छ ।

यसअघि २०६३ को अन्तरिम संविधानले उक्त अधिकार अख्तियारलाई दिएको भए पनि २०७२ सालको संविधानले अख्तियारको उक्त अधिकार कटौती गरेको थियो । यससँगै अनुचित कार्यउपर छानबिन गर्ने अधिकार पाउने निकाय नरहँदा सरकारी अधिकारीहरु बढि भ्रष्ट र अनैतिक हुने क्रम बढेको गुनासाहरू आइरहेका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रको प्रभावकारी सञ्चालन एवं सबलीकरण गर्न केन्द्रद्वारा गठित कार्यदलले सतर्कता केन्द्रलाई थप शक्तिशाली बनाउँदै भ्रष्टाचार नियन्त्रण गर्ने प्रभावकारी निकायको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औल्याएको हो । कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको उक्त प्रतिवेदनमा मुलुकमा सुशासन कायम गर्न प्रधानमन्त्रीको अध्यक्षतामा संस्थागत सुशासन प्रवद्र्धन परिषद् गठन गर्नुपर्ने आवश्यकता समेत औंल्याएको छ ।

प्रतिवेदनमा परिषद्को सदस्यमा गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्य सचिव, अर्थ सचिव, अख्तियारका सचिव, कानुन सचिव ,सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलगायत रहनुपर्ने र सदस्य सचिवको रूपमा राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत रहनुपर्ने प्रस्ताव गरिएको छ ।

सतर्कता केन्द्रले आफ्नो क्षेत्राधिकार संकुचित रहेकाले प्रभावकारी रूपमा काम हुन नसकेको बताउँदै आएको परिप्रेक्षमा अनुुचित कार्यउपर छानबीन गरि उच्चपदस्थ पदाधिकारीलाई आवश्यक कारवाही गर्न पाउने अधिकारलाई सतर्कता केन्द्रको कार्यक्षेत्रमा थप गर्नुपर्ने आवश्यकता औल्याउदै त्यससम्वन्धि पुर्ण अधिकार केन्द्रलाई दिन माग गरिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

स्वार्थ बाझिने समितिमा सांसद

पच्चिस मन्त्रालय र ती मातहतका निकायलाई हेर्ने गरी प्रतिनिधि सभाका समितिको कार्यक्षेत्र तोकिएको छ। स्वार्थ बाझिने समितिमा सांसद बस्न नमिल्ने गरी नियम बनाइएको छ। तर यो नियमको पालना गरिएको भने पाइँदैन। सांसदहरू स्वार्थ बाझिने समितिहरूको सदस्य भएको देखिन्छ।

२०७४ सालमा भएको निर्वाचनपछि गठित विभिन्न समितिमध्ये विकास समितिमा ठेकेदार सांसदको बाहुल्य थियो। २०७२ सालमा संविधान जारी गरेपछि संविधानसभा व्यवस्थापिका संसद्मा रूपान्तरण भयो। रूपान्तरित संसद्को अर्थ समितिमा बैंक तथा वित्तीय संस्थामा समेत संलग्नता भएका सांसद सदस्य थिए। अर्थ समितिले बैंक तथा वित्तीय संस्था एकीकरण गर्न बनेको विधेयक (बाफिया) पारित गरेर प्रतिनिधिसभामा पठाएपछि त्यसको विरोध व्यापक विरोध भयो। विरोध भएपछि विधेयकलाई पुनः समितिमा फिर्ता पठाइयो।

दलहरूले समितिमा सदस्यहरूको नाम पठाउँदा स्वार्थ बाझिने कुरालाई बेवास्ता गरेको पाइएको छ। केही सांसदलाई स्वार्थ बाझिने समितिमा उनीहरूको इच्छाअनुसार नै राखिएको छ। यसको जाँच संसद् सचिवालयले गरेको छैन। नियमअनुसार समितिमा सदस्यको नाम आएको छ छैनन् भन्ने विषयमा सचिवालयले अध्ययन गर्नुपर्छ।

सचिवालयले अध्ययन गरी सभामुखलाई जानकारी गराएपछि सभामुखले पुनः सम्बन्धित दललाई नियमावलीमा व्यवस्था भएबमोजिम नाम पठाउन भन्न सक्छन्। ‘पूर्वाधार विकास समितिमा ठेकेदार सांसदको रुचि रहने गरेको पाइन्छ। महिला समितिमा महिला मात्रै सदस्य हुने र पुरुष हुनै नहुने जस्तो देखियो, संसद्मा सबै सांसदले महिलाका विषयमा आवाज उठाउनु पर्छ, यसलाई समावेशी बनाउन जरुरी छ,’ एक महिला सांसदले भनिन्।

नियमको व्यवस्थाबमोजिम संसदीय समिति गठन नभएको भन्दै सचिवालयका अधिकारीले पनि आपत्ति जनाउँछन्। तर राजनीतिक दलको दबाबका कारण निर्णय उल्टाउन कठिनाइ हुने गरेको सचिवालयका एक अधिकारीले बता ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ छन्। उनी उद्योग, होटल, घरजग्गा तथा हार्डवेयर व्यवसायमा पनि संलग्न छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल र एमालेका सांसद लालप्रसाद साँवा लिम्बू पनि उक्त समितिको सदस्य छन् ।

दुवैजना मेनपावर कम्पनीसँग आबद्ध रहेको बताइन्छ। पूर्वाधार विकास समितिमा एकीकृत समाजवादीका सांसद धनबहादुर बुढा र एमाले सांसद प्रेमबहादुर महर्जन सदस्य छन्। उनीहरू पनि ठेकेदार पृष्ठभूमिका हुन्। व्यापारिक पृष्ठभूमिका कांग्रेस सांसद विनोद चौधरी अर्थ समितिमा छन्। अर्थ समितिमा रहेकी एमाले सांसद भगवती चौधरी फर्वाड लघु वित्तकी लगानीकर्ता हुन्। यो समाचार नागरिक दैनिकमा छ ।

इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र

जाजरकोट – जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४६६ भन्दा बढी पराकम्पन गएका छन् ।

पराकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए ।

उहाँका अनुसार अहिलेसम्म देशका विभिन्न स्थानमा रहेका ४२ वटा यन्त्रबाट भूकम्पको तथ्य सङ्कलन गरेर केन्द्रले भूकम्प गएको सूचना दिने गरेको छ । पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्प जाने क्रम जारी रहेको बेला यहाँको थप जानकारी तथ्यपरक रूपमा लिन यस यन्त्रले सघाउने उनले बताए  । अधिकारीले भने, “यसले यहाँको भूकम्पको वास्तविक केन्द्रबिन्दु पत्ता लगाउँछ, अनि भूकम्पको कम्पनको मान कति हो भन्ने पनि पत्ता लगाउँछ ।” अन्यत्रको यन्त्रका भरमा अहिले इपिसेन्टर रामीडाँडा तोकिएको छ । अझ त्योभन्दा नजिकको इपिसेन्टरको तय पनि यस यन्त्रले गर्ने छ ।

रुकुम र दैलेखमा यसअघि नै यन्त्र जडान गरिएका छन् तर उत्तरतिर हुम्ला, जुम्ला, मुगु र रुकुमसम्मको स्थान खाली छ । त्यसैले पनि यहाँ सिस्मोमिटर जडान गर्नु परेको जनाइएको छ । स्टेसनहरू वरिपरि छन् र बिचमा भूकम्प गयो भने सबैभन्दा वास्तविक तथ्याङ्क आउँछ ।

अहिले राखिएको सिस्मोमिटर प्राविधिक रूपले अति राम्रो र अद्यावधिक रहेकाले भूकम्पको यकिन तथ्याङ्क दिने अधिकारीले बताए । उनका अनुसार यन्त्र भएको स्थानमा २ म्याग्निच्युटभन्दा साना भूकम्प गएको खण्डमा त्यो पनि रेकर्ड गर्छ । जसले सामान्य गल्तीका लागि स्थान नदिई जे हो त्यही सूचना पठाउँछ ।

गाउँपालिकाले उपलब्ध गराएको सुरक्षित स्थानमा यन्त्र जडान गरिएको केन्द्रका चिन्तन तिमिल्सिनाले बताए । माटोमुनि स्वचालित रूपमा जडान गरिएको यन्त्र यहाँ अस्थायी रूपमा राख्ने योजना छ तर भूकम्प दोहोरिइरह्यो भने राख्ने समय लम्बिन सक्छ ।

उनका अनुसार भूकम्पका दरार कस्ता छन् ? यसको प्रवित्ति र प्रकृति कस्तो छ ? जमिनमुनि भूकम्पको शक्तिको हलचल कता बढी छ ? जस्ता विषयको अध्ययनमा पनि नयाँ राखिएको यन्त्रले सूचना सङ्कलन गरेर पठाउने गर्छ । यन्त्रले पठाएको सूचनाका आधारमा भूकम्पको शक्ति कहिलेदेखि सञ्चित हो ? कत्रो छ? भन्नेसम्मको विश्लेषण गर्न सहयोग पु¥याउने उनी बताउछन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।

बागमती प्रदेशले भ्रमण वर्ष मनाउने

बागमती । बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ ।प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले बताए ।

बैठकले सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने, प्रदेशका केही उपसचिवलाई प्रदेश सचिवमा (अधिकृतस्तर एघारौँ तह) बढुवा गरी नियुक्ति र पदस्थापन गर्ने, प्रदेश प्रमुखको कार्यालय सवलीकरण गर्ने, उपसभामुखको अष्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेशाज्ञाका लागि सिफारिस गर्ने र पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तामन्त्री श्रेष्ठले जानकारी दिए ।

मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

खजुरा । बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधि जितेको हो ।

विजेता त्रिभुवन आर्मीले रु आठ लाख नगद र दोस्रो स्थानमा आएको चर्च ब्वाइज क्लबले रु चार लाख नगद पुरस्कार प्राप्त गरेको आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए । उनका अनुसार त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२औँ मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने दोस्रो हापको ७६औँ मिनेटमा मानबहादुर आलेमगरले गोल गरेका थिए ।

त्रिभुवन आर्मीका खेलाडी आलेमगरलाई म्यानअफ द म्याज घोषणा गरियो । उनलाई रु पाँच हजार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टङ्क बस्नेतलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन सङ्घीयतादेखि स्थानीय सरकारको सहयोग हुने बताए ।

सयपत्री बेचेर नौ लाख आम्दानी

कमलामाई (सिन्धुली) – सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।

राहदानी बनाएर विदेश जान लाग्नुभएका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहनुुभएको छ । उहाँ भन्नुहुन्छ, “नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर रु नौ लाख आम्दानी लिइसकेको छु ।”

परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाई नहुने आठ रोपनीमा उहाँले व्यावसायिक सयपत्री खेती गर्नुभएको एक वर्ष बितिसकेको छ । उहाँलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत आर्जन भएको दर्नाल बताउनुहुन्छ ।

किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोप्नुभएको थियो । बेर्ना रोप्दा, बिरुवाको जलमल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उहाँमा उत्साह उब्जिएको छ । वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उहाँ सुनाउनुहुन्छ । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरि बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नाले उत्पादन गर्नुभएको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाडाँैको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ ।

सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती सुरु गरेको बताउने उहाँ गर्दै–सिक्दै, सच्याउँदै–सच्चिदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा हुनुहुन्छ । अहिले एक कठ्ठामा फूलखेती सुरु गरे पनि विस्तारै बढाउँदै जाने उहाँको योजना छ ।

अहिले उहाँको फूलबारीमा सयपत्रीका फक्रिएका फूलैफूल छन् । अहिलेसम्म कसैले माग भने गरेका छैनन् । तैपनि नबिक्ने चिन्ता उहाँलाई छैन । तिहारसम्ममा घरबारीबाटै फूल बिक्री हुने उहाँको विश्वास छ ।

यता गोलञ्जोर गाउँपालिका–२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् । आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उहाँका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । सयपत्री फूलखेती गर्नुभएका हमाल भन्नुहुन्छ, “राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।”

हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोप्नुभएको थियो । उहाँका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन । फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रतिबेर्ना रु तीन–पाँचसम्म किन्न पाइने हमालले जानकारी दिनुभयो । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उहाँलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट रु तीन लाख बढी आम्दानी हुने उहाँको अनुमान छ ।

सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका–५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ । अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट रु ४० हजार आम्दानी लिएका थिए । यस वर्ष एक कठ्ठामा लगाएको फूलखेतीबाट रु १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी रु चार सयमा फूल बिक्री गर्ने गर्दछन् ।

यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ । फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ । गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ । चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती सुरु गर्ने पहिलो किसान सुनकोशी–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ । फूल व्यवसायी बढ्दै गएका छन् । तिहार तथा अन्य समयमा पनि सयपत्री फूल जिल्लाबाट निर्यात हुन थालेको सम्बन्धित पालिकाका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रका प्रमुखहरू बताउँछन् । सयपत्री फूलको माग वर्षैभरि हुन्छ । तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने फूल व्यवसायी बताउँछन् ।

हेर्नुहोस् कार्तिक २३ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे /मेष राशि – अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

बृष राशि – आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

मिथुन राशि – पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि – थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि – मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि – धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

कुम्भ राशि – बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।