`

सयपत्री बेचेर नौ लाख आम्दानी

कमलामाई (सिन्धुली) – सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।

राहदानी बनाएर विदेश जान लाग्नुभएका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहनुुभएको छ । उहाँ भन्नुहुन्छ, “नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर रु नौ लाख आम्दानी लिइसकेको छु ।”

परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाई नहुने आठ रोपनीमा उहाँले व्यावसायिक सयपत्री खेती गर्नुभएको एक वर्ष बितिसकेको छ । उहाँलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत आर्जन भएको दर्नाल बताउनुहुन्छ ।

किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोप्नुभएको थियो । बेर्ना रोप्दा, बिरुवाको जलमल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उहाँमा उत्साह उब्जिएको छ । वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उहाँ सुनाउनुहुन्छ । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरि बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नाले उत्पादन गर्नुभएको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाडाँैको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ ।

सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती सुरु गरेको बताउने उहाँ गर्दै–सिक्दै, सच्याउँदै–सच्चिदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा हुनुहुन्छ । अहिले एक कठ्ठामा फूलखेती सुरु गरे पनि विस्तारै बढाउँदै जाने उहाँको योजना छ ।

अहिले उहाँको फूलबारीमा सयपत्रीका फक्रिएका फूलैफूल छन् । अहिलेसम्म कसैले माग भने गरेका छैनन् । तैपनि नबिक्ने चिन्ता उहाँलाई छैन । तिहारसम्ममा घरबारीबाटै फूल बिक्री हुने उहाँको विश्वास छ ।

यता गोलञ्जोर गाउँपालिका–२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् । आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उहाँका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । सयपत्री फूलखेती गर्नुभएका हमाल भन्नुहुन्छ, “राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।”

हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोप्नुभएको थियो । उहाँका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन । फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रतिबेर्ना रु तीन–पाँचसम्म किन्न पाइने हमालले जानकारी दिनुभयो । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उहाँलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट रु तीन लाख बढी आम्दानी हुने उहाँको अनुमान छ ।

सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका–५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ । अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट रु ४० हजार आम्दानी लिएका थिए । यस वर्ष एक कठ्ठामा लगाएको फूलखेतीबाट रु १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी रु चार सयमा फूल बिक्री गर्ने गर्दछन् ।

यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ । फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ । गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ । चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती सुरु गर्ने पहिलो किसान सुनकोशी–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ । फूल व्यवसायी बढ्दै गएका छन् । तिहार तथा अन्य समयमा पनि सयपत्री फूल जिल्लाबाट निर्यात हुन थालेको सम्बन्धित पालिकाका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रका प्रमुखहरू बताउँछन् । सयपत्री फूलको माग वर्षैभरि हुन्छ । तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने फूल व्यवसायी बताउँछन् ।

हेर्नुहोस् कार्तिक २३ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे /मेष राशि – अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

बृष राशि – आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

मिथुन राशि – पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि – थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि – मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि – धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

कुम्भ राशि – बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

गाजा युद्धविराम र बन्धकको रिहाई गर्न कतारद्वारा मध्यस्थता

दोहा – छोटो युद्धविरामको बदलामा गाजामा बन्धक बनाइएका १० देखि १५ जना व्यक्तिको सम्भावित रिहाईका लागि कतारले इजरायल र हमासबीचको वार्तामा मध्यस्थता गरिरहेको वार्ताबारे जानकार एक स्रोतले बुधबार जानकारी दिएको छ ।

“एक वा दुई दिनको युद्धविरामको बदलामा १०–१५ जना बन्धकको रिहाईका लागि अमेरिकासँगको समन्वयमा कतारी नागरिकको मध्यस्थतामा वार्ता जारी छ,” वार्ताको संवेदनशीलताका कारण नाम नबताउने शर्तमा स्रोतले भन्यो ।

प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा गरेको आक्रमणमा एक हजार ४०० भन्दा बढीको मृत्यु हुनुका साथै २४० भन्दा बढीलाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन् ।

गाजामा इजरायलको जवाफी कारबाहीमा १० हजार ५६९ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कतारले हमासको कब्जामा रहेका चार जना बन्धक (दुई इजरायली र दुई अमेरिकी) लाई हालैका हप्ताहरूमा सुपुर्दगी गर्न वार्ता गर्दै तीव्र कूटनीतिमा संलग्न रहेको छ ।

धनी खाडी राष्ट्र कतार प्यालेस्टिनी मुद्दाको कट्टर समर्थक रहेको छ र गाजाको इस्लामी शासकहरू हमाससँग सञ्चारको खुला च्यानलहरू छन् ।मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अखडा रहेको कतारमा हमासको राजनीतिक कार्यालय पनि छ र यो उसको स्वनिर्वासित नेता इस्माइल हनियेहको मुख्य निवास पनि हो ।

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, २२ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र चीन सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले तिब्बत स्वशासित क्षेत्र नेपाल र चीनबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रमा द्विपक्षीय अन्तक्रियाको प्रवेशद्वार भएको उल्लेख गर्दै जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

“हालै जाजरकोट र रुकुमपश्चिममा गएको विनाशकारी भूकम्पले सयौँको ज्यान जानुको साथै भौतिक पूर्वाधार र सम्पत्तिमा क्षति पुर्‍याएको छ । यस दुःखद् घडीमा साथ दिएकामा म चीन सरकार र जनताको प्रशंसा गर्न चाहन्छु”, भेटमा उहाँले भन्नुभयो, “यस कठिन समयमा जनवादी जनतन्त्र चीन सरकारले प्रदान गरेको सहयोगका लागि म आभार प्रकट गर्दछु ।”

भेटमा चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव जुनझेङले आफ्नो भ्रमण नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएको समझदारी कार्यान्वयन गर्ने उद्देश्यले भएको बताउनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उहाँले केही दिनअघिको भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुनःनिर्माणमा चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जाजरकोट भूकम्पः बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी

जानकी (बाँके), २२ कात्तिक : “मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ । मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ । मैले उनलाई बचाउन सकिनँ । मैले बहिनीलाई मेरै कारणले गुमाएँ” भन्दै चित्कारिएको आवाजले मङ्गलबार नेपालगञ्जस्थित भेरी अस्पतालको वार्ड स्तब्ध थियो ।

आफ्नो साथीजस्तै बहिनी गुमाएको पीडामा होस फर्किएदेखि छट्पटाउने गर्नुहुन्छ जाजरकोट भेरी नगरपालिका–१ की जुनी विष्ट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दुु भएर गएको भूकम्पमा जुनीले बहिनी मात्रै गुमाउनुु भएन, आफैँ पनि घाइते बन्नुभएको छ ।

जुनीको देब्रे हातको नशामा बढी चोट लागेकाले देब्रे हात चल्दैन । खुट्टा उपचार भएको चौथो दिनदेखि बिस्तारै चल्न थालेको छ तर हिँड्डुल गर्न सक्नु हुन्न । उहाँलाई अहिले शय्याबाट झर्न र चढ्न सहारा दिनुपर्छ । सुतेकै अवस्थामा पनि शय्यामा फर्कनसमेत नसक्ने जुनीलाई बहिनीको शोकले झन् थलाउँदै लगेको छ ।

भूकम्पमा परेर अर्को जीवन पाउनुभएकी १७ वर्षीया जुनी बहिनीलाई बचाउन नसकेकामा आत्मग्लानी भइरहेको छ । शनिबारदेखि भेरी अस्पतालमा उपचाररत जुनीले ‘बहिनी बचाउन सकिनँ’ भन्दै डाँको छाडेर रोइरहनुहुन्छ ।

अस्पतालका मनोसामाजिक परामर्शकर्ता कमला डाँगीका अनुसार जुनी उहाँको रेखदेखमा आउनुभएको आफन्तसँग पनि बोल्नु हुँदैन । “दिनभरि कि सलले मुख छोपेर सुत्नुहुन्छ कि त बहिनी बचाउन नसकेको गुनासो आफैँसँग गर्दै भक्कानिएर रुनुहुन्छ”, उहाँले भन्नुभयो, “जुनीलाई शारीरिक चोटभन्दा बढी बहिनीलाई आँखै अगाडि गुमाउनु पर्दाको मानसिक चोट धेरै छ ।”

जुनीलाई भूकम्प केवल आफ्नो घरमा मात्र आएको र भूकम्पमा बहिनी मात्रै पुरिएको भन्ने लागिरहेको मनोसामाजिक परामर्शकर्ता डाँगीले बताउनुभयो । अस्पतालमा भर्ना भएदेखि आजसम्म तीन चरणमा जुनीसँग कुरा गरिसकेको जनाउँदै उहाँले पहिलो र दोस्रो चरणमा उहाँ बोल्दै नबोलेको र तेस्रो चरण सामान्य चिनाजानमा मात्रै केन्द्रित रहेको बताउनुभयो ।

डाँगीले भन्नुभयो, “कुराकानी गर्न लागेको आज तेस्रो दिनमा मात्रै उहाँले मसँग मनमा गुम्सिएका पीडालाई भक्कानिँदै खोल्नुभयो । उहाँलाई आफूलाई लागेको चोटभन्दा पनि धेरै माया गरेर सँगै हुर्किएकी बहिनीलाई गुमाएकामा लागेको रहेछ ।”

भूकम्प जानुअघि शुक्रबार रातिसँगै खाना खाएर दुई बहिनी एउटै ओछ्यानमा भुइँतलामा सुतेका कुराकानीका क्रममा जुनीले बताउनुभएको डाँगीले उल्लेख गर्नुभयो । सुत्ने बेला शनिबार गाउँमा लागेको मेला हेर्न जाने र मेलामा जाँदा दिदीको नयाँ कुर्तासुरुवाल बहिनीको लगाउने सल्लाह भएकामा बहिनीको त्यो चाहना अधुरै रहेको भन्दै जुनी अस्पतालको शय्यामा भक्कानिने गरेको उहाँले बताउनुभयो ।

“जुनी नबोल्दा कसैसँग पनि बोल्नुहुन्न । उहाँलाई जति नै बोलाए पनि केही जवाफ दिनुहुन्न । तर आफ्नै सुुरमा एकोहोरो बहिनीलाई सम्झिएर डाँको छोडेर रुनुहुन्छ”, मनोसामाजिक परामर्शकर्ता डाँगीले भन्नुभयो, “उहाँको शरीरमा लागेको चोट औषधीले बिस्तारै निको हुँदै जान्छ । तर उहाँमा मनोसामाजिक समस्या बढी देखिएकाले यो समस्याबाट बाहिर निकाल्न अति नै संवेदनशील भएर कुरा गर्नुपर्ने हुन्छ ।”

परामर्शको चार दिनपछि डाँगीसँग मात्रै मनका कुरा बताउँदै जुनीको बुबा रोजगारीको सिलसिलामा विदेश गएको, आमा र भाइलाई सामान्य चोट लागेको बताउनुभयो । जुनीले आफूले पनि स्टाफ नर्सको पिसिएलमा नाम निकालेको कुराकानीका क्रममा बताउनुभएको डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार जुनीले बहिनी गुमाएको शोकमा खाना, पानी, औषधीलगायत केही पनि नखाइदिनाले उहाँको शारीरिक चोट निको हुन समय लागेको छ । “जुनीको मन र मस्तिष्कमा लागेको आघात निको पार्न उहाँसँग परमर्श र कुराकानी गर्नु नै उत्तम उपाय हो”, डाँगीले भन्नुभयो ।

भेरी अस्पतालमा अहिले ४९ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा भूकम्पमा परी घाइते भएका ५३ जनालाई उपचारका लागि ल्याइएको थियो ।

“तीनजना निको भई घर फर्कनुभएको छभने एकजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो”, प्रजिअ पोखरेलले भन्नुभयो, “उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त छ । धेरैको स्वास्थ्य सोधारोन्मुख हुँदै गइरहेको छ ।”

कर्णाली प्रदेश योजना आयोगको टिम जाजरकोटमा

जाजरकोट , २२ कात्तिक : भूकम्पबाट जनधनको क्षति व्यहोरेको जाजरकोटमा कर्णाली प्रदेशको योजना आयोगको टिम स्थलगत अनुगमनमा आएको छ ।भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गल शाहीलगायत योजना आयोगको टिम जाजरकोट पुगेको हो । आयोगको टिमले भूकम्पबाट क्षति व्यहोरेको जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा स्थलगत अध्ययनमा पुगेको मन्त्री शाहीले जानकारी दिनुभयो ।

घर निर्माणको मोडालिटीका विषयमा अध्ययन गर्नेका लागि उक्त टिम जाजरकोट आएको हो । क्षति विवरणस्थलगतरुपमै लिनका लागि पनि आयोगको टिम जाजरकोट आएको आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले बताउनुभयो ।

ऊर्जामन्त्री स्थलगत अध्ययनमा
जाजरकोटका प्रतिनिधिसभा सदस्य तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई भेट्न र क्षतिको विवरण अध्ययन गर्न स्थलगतरूपमा भेरी, नलगाड र बारेकोट गाउँपालिकामा जानुभएको छ । राहतस्वरुप पठाएको सामग्री पीडितसम्म नपुगेको गुनासो आएपछि मन्त्री बस्नेत स्थलगतरूपमा बुझ्न गाउँ जानुभएको हो । मन्त्रीसँगै सुरक्षा अधिकारीसमेत गएका छन् । आज बिहान भेरी र नलगाडको अध्ययन भएको प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले बताउनुभयो ।

राष्ट्रपतिद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह

काठमाडौँ, २२ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतलमा आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उहाँले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिनुभएको थियो ।

जाडोयामको प्रारम्भ अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनुभएको थियो ।

मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ : उपाध्यक्ष भुसाल

ललितपुर, २२ कात्तिक : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने भ्रामक र मिथ्या हुने सन्देशले समाज दूषित बनाइरहेको उहाँको भनाइ छ ।

दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण कार्यक्रममा उपाध्यक्ष भुसालले भन्नुभयो, “जनताको सुसूचित हुने अधिकारमा आँच नआउने गरी प्रविधिको दुरुपयोग रोक्नुपर्छ, भ्रामक र मिथ्या सन्देश प्रवाह हुन दिनु हुँदैन ।” सामाजिक सञ्जालमार्फत भइरहेका अनर्गल प्रचारले समाज विकास र राजनीतिक व्यवस्था सुदृढ नहुने बताउँदै उहाँले र भर्चुअल माध्यमबाट हुने गरेको अराजक अवस्थालाई नियन्त्रण गर्न सबै राजनीतिक दल एकमत भएको जानकारी दिनुभयो ।

लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई अवमूल्यन गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष भुसालले भन्नुभयो, “पटक–पटकको सङ्घर्ष र दशौँ हजारले जीवन समर्पण गरेर ल्याएको व्यवस्थालाई समृद्ध तुल्याउने हो, अझ सुदृढ बनाउने हो, दुत्कार्ने होइन ।” उहाँले महत्वपूर्ण पुस्तक बजारमा आउँदा सही इतिहास जनतासमक्ष पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनले पछिल्लो समय जनतासँग जोडिएका पार्टी गलत र जनताभन्दा टाढा रहेका पार्टी राम्रो भन्ने भ्रम फैलिँदा अप्ठ्यारो अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले अफवाहरूलाई नियन्त्रण गर्नका लागि परिवर्तनका लागि योगदान गर्ने राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका वक्ताहरूले प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक समाजसेवी दीपेन्द्र श्रेष्ठको योगदानमा आधारित रहेको उल्लेख गर्दै राजनीतिक एवं सामाजिक रुपान्तरणमा उहाँले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।पुस्तकमा दीपेन्द्रले राजनीतिक परिवर्तनमा पु¥याउनुभएको योगदानको चर्चा गरिनाका साथै उहाँले भोगेका र उहाँप्रति विभिन्न राजनीतिक दल एवं सामाजिक व्यक्तिको दृष्टिकोण समेटिएको छ ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा

काठमाडौँ, २२ कात्तिक । नेकपा एकीकृत समाजवादीले आगामी आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ ।सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मंसिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ ।

पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकको सुझावअनुसार अधिकांश युवालाई पार्टीमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा उनीहरूको सहभागिता बढाउने, अल्पसङ्ख्यक, दलित, सिमान्तकृत र पिछडिएका समुदायको प्रतिनिधित्वलाई समावेशी गराउने तथा वैचारिक दृष्टिकोणलाई परिमार्जन गर्ने गरी विधान संशोधनका लागि गृहकार्य भइरहेको महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण र जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे छलफल गर्ने सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।महाधिवेशन अगावै युवालक्षित कार्यक्रम सञ्चालन गर्ने पनि पार्टीले जनाएको छ ।

कृषि गणना २०७८ः प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत

मनहरी, २२ कार्तिक – बागतमी प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो । कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा४४ दशमलव एक प्रतिशतमात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताउनुभयो ।

बागमतीमा ७२ दशमलव छ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्यामा बृद्धि भएको छ । चौध दशमलव आठ प्रतिशत फलामे हलो, ३० दशमलव आठ प्रतिशत ट्याक्टर र १६ दशमलव सात प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताउनुभयो ।

तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भए पनि सरदर दुई पटक मात्र बाली लगाएको देखिन्छ । यस प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी घरपरिवार रहेकामा छ लाख ६८ हजार १७७ कृषक परिवार रहेको र दुई लाख ८२ हजार २९२ हेक्टर जमिन कृषिमा प्रयोग भएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा सरदर एक दशमलव ९१ प्रतिशत बाली सघनता रहे पनि प्रदेशमा भने दुई प्रतिशत अर्थात् दुई पटकसम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा बगैँचाको रुपमा आँप ५३२ हेक्टरमा, केरा एक हजार १२० हेक्टरमा, सुन्तला ६८८ हेक्टरमा, कागती ४६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ । त्यस्तै प्रदेशमा गाई भैसी पालन घट्दो छ । २०६८ को गणनादेखि नै यसको क्रम घट्दो देखिन्छ । गाईगोरु र राँगाभैसीभन्दा खसीबाख्रा, सुङ्गुर र बङ्गुर पाल्नेको सङ्ख्या भने धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा उत्पादन गरिएकोे वस्तु सबै घरायसी उपभोग गर्ने ६६ दशमलव चार प्रतिशत कृषक छन् भने केही वस्तु बिक्री गर्ने २५ प्रतिशत, केही घरायसीका लागि राखी सबै बिक्री गर्ने सात दशमलव चार प्रतिशत र सबै वस्तु बिक्री गर्ने शुन्य दशमलव नौ प्रतिशत रहेका छन् ।

युवाहरु विदेशिने भएका कारण पनि नेपालमा पछिल्लो समय कृषिमा महिलाको सङख्या बढ्दोे छ । विगत तीन दशकदेखीको नतिजा हेर्दा अहिले महिला कृषकको सङख्या बृद्धिभएको निर्देशक कार्कीले बताउनुभयो । नेपालमा ३२ दशमलव चार प्रतिशत महिला कृषक छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७ दशमलव दुई प्रतिशत र पुरुष ६५ दशमलव आठ प्रतिशत रहेका छन् । विसं२०५८ को गणनामा महिला आठ दशमलव एक प्रतिशत र पुरुष ९१ दशमलव नौ प्रतिशत कृषक थिए ।

किसानको मुख्य चिन्ता भने समयमै मल, बीउ उपलब्ध नहुनुुमा छ । कृषिगणनामा सहभागीमध्ये ५७ प्रतिशतले समयमै मल, बीउ उपलब्ध भए उत्पादन बढाउन सकिने बताए । त्यस्तै ४८ प्रतिशतले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यका लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल सुधार र उन्नत वीउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुुन्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ ।

उच्च अदालतको आदेश : पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनु

कास्की, २२ कात्तिक : उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले आज लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिनुभएको थियो ।

बरालले दिएको रिट निवेदनउपरमा बहसपछि अदालतले अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि कानुनविपरीतको कार्य भएको अवस्थामा बाहेक कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न इजलासबाट आदेश भएको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश गरिएको हो ।

अदालतले निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले १५ दिनभित्र विपक्षीका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत, लिखित जवाफ पेस गर्न विपक्षीलाई आग्रह गरेको छ । रिटमा निवदेकले गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको दाबी थियो । यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता त्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले पक्षमा बहस गर्नुभएको थियो ।

स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ

कास्की, २२ कात्तिक : उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ ।
उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले आज लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो ।

यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिनुभएको थियो । बरालले दिएको रिट निवेदनउपरमा बहसपछि अदालतले अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि कानुनविपरीतको कार्य भएको अवस्थामा बाहेक कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न इजलासबाट आदेश भएको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश गरिएको हो ।

अदालतले निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले १५ दिनभित्र विपक्षीका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत, लिखित जवाफ पेस गर्न विपक्षीलाई आग्रह गरेको छ ।

रिटमा निवदेकले गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको दाबी थियो ।

यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता त्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले पक्षमा बहस गर्नुभएको थियो । 

मुलुकमा लोकतन्त्रका नाममा पार्टी तन्त्रको विचित्र अभ्यास भइरहेको अध्यक्ष साहको आरोप

काठमाडौँ, २२ कातिक : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्र्टी तन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाउनुभएको छ ।सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँगको भेटघाटमा उहाँले निर्वाचित संस्था जनताप्रति नभई पार्टीतर्फ उत्तरदायी हुने घटनाले यसलाई पुष्टि गरेको बताउनुभयो ।

सांसद एवं पूर्वमन्त्री साहले भन्नुभयो, “राज्यका संयन्त्रमा जवाफदेहिता कमजोर छ । समानुपातिक निर्वाचनको दुरुपयोग भएको छ । लोकतन्त्र दल र समूह हुँदै नेतामा सीमित बन्न पुगेको छ ।”देशलाई विकास र समृद्धितर्फ लैजान नेताहरुको सोच र व्यवहारमा ठूलो परिवर्तनको खाँचो औँल्याउँदै उहाँले भ्रष्टाचार र कालोबजारीले मुलुकलाई थिलथिलो बनाएकाले त्यसका विरुद्ध सबै राजनीतिक शक्तिको एकीकृत प्रतिबद्धता चाहिने बताउनुभयो ।

जनतालाई केन्द्रमा राखी काम गर्ने इच्छाशक्ति भए जतिसुकै चुनौतीका बीच परिणाम दिन सकिने उदाहरण प्रस्तुत गर्दै साहले जनताकै सहयोगमा निर्वाचन क्षेत्रमा तीन सय किमी सडक बनाउन र २७ हजार घरपरिवारलाई ग्याससहितको चुलो वितरण गर्न सफल भएको घटना सुनाउनुभयो । जनउत्तरदायी, पारदर्शी र कर्तव्य पूरा गर्ने कार्यलाई उच्च महत्व दिने हो भने मधेसभित्रको दुर्गम भनेर चिनिएको आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास अरूका लागि उदाहरण बन्न सक्ने उहाँले बताउनुभयो ।

देशको पूँजी पलायन रोक्ने र आउनेलाई सहजता प्रदान गर्ने स्पष्ट नीति नहुँदा अर्थतन्त्र प्रभावित भएको बताउदै अध्यक्ष साहले राजनीतिक स्थिरता, सदाचार र नेताप्रतिको विश्वास बढाउन सकिएन भने मुलुक निर्माणको अभियानमा चुनौती खडा हुने तर्क राख्नुभयो ।

भूकम्प प्रभावितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लिएको छ – उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

गण्डकी, २२ कात्तिक : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लिएको जानकारी दिनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारका तर्फबाट भूकम्प प्रभावितका लागि उपलब्ध गराइएको सामग्री बुझेपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले विभिन्न दाताले उपलब्ध गराएको सहयोगलाई सङ्कलन गरी तीनवटै सरकारको समन्वयमा एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई प्रदान गरिने छ भन्नुभयो ।

उहाँले भन्नुभयो,“ भूकम्प पीडित कोही पनि खुला आकाशमुनि बस्नु नपरोस्, जाडोमा भूइँमा सुत्नु नपरोस् तथा खाद्यान्नविहीन हुनु नपरोस् भन्ने तवरबाट सरकारले काम गरिराखेको छ । यसका लागि आवश्यक व्यवस्थासहित सम्बद्ध पक्षलाई निर्देशन पनि दिइसकेको छ ।” भूकम्पलगत्तै प्रभावित दुबै जिल्लामा सरकारले पाँच÷पाँच करोड रुपैयाँ उपलब्ध गराइसकेको उहाँले जानकारी दिनुभयो ।

भूकम्पपछि मित्रराष्ट्रबाट सहयोग आउनेक्रम जारी रहेको जनाउँदै उहाँले सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो । हाम्रो देश प्राकृतिक विपत्तिले जोखिमी देश भएको उल्लेख गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले जोखिमी न्युनीकरणसँगै जनधनको कम नोक्सानी हुने गरी चनाखो बन्नु अपरिहार्य छ भन्नुभयो ।

भूकम्पलगत्तै पहिलो दिन प्रधानमन्त्री स्वयम् स्वास्थ्यकर्मीको टोली लिएर र दोस्रो दिन आँफू स्वयम् पुगी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका कामलाई तीव्रता दिइएको उहाँले जानकारी गराउनुभयो ।

यसअघि भूकम्प प्रभावित क्षेत्रका लागि दुईवटा चिनियाँ जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका जहाजमा रु २८ करोड रुपैयाँ बराबरका चार हजार ६ सय थान ब्ल्याङ्केट र ६०० थान त्रिपाल रहेको जानकारी गराइयो ।

सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै तनहुँ

तनहुँ, २२ कात्तिक : नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तिहारको मुख्य दिन भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ ।

गाई, गोरु र कुकुर तिहारको अवसरमा पशुलाई समेत फूलको माला लगाएर पूजा गरिने हुँदा तिहारमा सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुने गर्दछ । विगतका वर्षमा भारतीय सयपत्रीको माला नेपाली बजारमा प्रशस्त पाइने गरे पनि यस वर्ष नेपाल सरकारले भारतीय माला आयातमा प्रतिबन्ध लगाएपछि नेपाली फूलले राम्रो बजार मूल्य पाउन सक्ने देखिएको छ ।

सयपत्री फूलमा आत्मनिर्भर हुन यहाँका स्थानीय सरकारले किसानलाई अनुदान प्रदान गरी प्रोत्साहन गरेका छन् । जिल्लाका दश पालिकामध्ये आँबुखैरेनी, बन्दीपुर म्याग्दे गरी तीन पालिकाले आफ्नो पालिकाभित्र फूल उत्पादनका साथै प्रवद्र्धनमा सहयोग गर्दै आएका छन् ।

छोटो अवधि र थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय किसान पनि फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । विभिन्न स्थानीय तहमा पनि युवाले सामूहिक रुपमा वा एकल रुपमा सयपत्रीको खेती गरेका छन् । युवाले गरेको सयपत्री फूलको खेतीलाई स्थानीय तहले प्रवद्र्धन गर्न सुरु गरेको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा करिब २६ रोपनी क्षेत्रफलमा गरेको फूलखेतीबाट उत्पादन लिन सुरु गरेको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसमा व्यवसायिक फूलखेती गरिएको हो । व्यावसायिक र आयमूलकका साथै सयपत्रीमा पालिका क्षेत्रलाई ‘हब’ बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

याञ्चोकमा ३५ र आँधीमूल आमा समूहका १५ जना जनशक्ति दैनिक खट्दै आएका छन् । उक्त जनशक्तिले फूल टिप्ने र माला बनाउने कार्यमा तल्लिन हँुदै आएका छन् । असोज १५ गतेदेखि फूल टिपेर माला बनाई बिक्री समेत गर्न थालिएको छ । तयार गरिएका एक हजार थान मालामध्ये ५० प्रतिशत बिक्री भैसकेको बताइएको छ ।

महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा फूलका बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरेको गाउँपालिका कार्यालयले जनाएको छ । गोरखा, दमौली र काठमाडौँलगायत सहरबाट तिहारको लागि आठ हजार मालाको माग भइसकेको र माग आउने क्रम पनि जारी रहेको उहाँले बताउनुभयो ।

“मुख्य याममा गुणस्तर हेरी प्रतिमाला रु ४० देखि रु ७० सम्म बिक्री गर्ने योजना रहेको छ”, उहाँले भन्नुभयो, “अफसिजनमा प्रतिमाला खुद्रा रु एक सयदेखि एक सय २० सम्म बिक्री गर्ने लक्ष्य राखिएको छ । पहिलो वर्षको अनुभव रहेकाले प्राविधिक व्यवस्थापन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आउँदो वर्ष समयमै सुधार गर्ने गरी अहिले पूर्ण रुपमा फक्रिएका फूल टिपेर माला बनाई चिस्यान केन्द्रमा राख्न थालिएको छ ।”

सोही वडास्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्था लिमिटेडको चिस्यान केन्द्र बिग्रिएकाले गाउँपालिकाले मर्मतसम्भार गरी प्रयोगमा ल्याइएको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवद्र्धधन कार्यक्रमलाई अघि बढाइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उत्पादनलाई आयआर्जनमा जोडेर स्थानीयवासीको आर्थिकस्तर उकास्ने लक्ष्य गाउँपालिका कार्यालयले लिएको उहाँ बताउनुहुन्छ ।

दुईवटा आमा समूहलाई पहिलो वर्षमा रु ९० हजार अनुदान प्रदान गरे पनि आगामी वर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना रहेको छ । आमा समूहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीलाई बर्सेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ ।

मित्रता माविको हकमा भने ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत एकमुष्ट रु तीन लाख अनुदान प्रदान गरी आयआर्जनबाट विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने लक्ष्य गाउँपालिका कार्यालयको रहेको छ ।
त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–५ थुम्का,कल्चोक लगायतका स्थानमा चालिस रोपनी जमिनमा फूल खेती गरिएको छ । विगत केही वर्षदेखि यहाँका स्थानीय किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका हुन् ।

फूलमा आत्मनिर्भर हुँदै आर्थिक क्षेत्रमा समेत सक्षम हुन व्यावसायिक फूल खेतीलाई निरन्तरता दिइएको किसान तामप्रसाद भट्टले जानकारी दिनुभयो । “फूलमा आत्मनिर्भर बन्दै बाह्य जिल्लामा निर्यात गर्न सफल भइएको छ”, उहाँले भन्नुभयो “अघिल्ला वर्षहरुमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यस वर्ष चार रोपनी क्षेत्रफलमा खेती गरेको छु ।”

उहाँले उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गर्नुभएको छ । प्रतिमाला रु दुई सयदेखि तीन सय ५० सम्म बिक्री हुने गरेको उहाँको भनाइ छ । यस वर्ष करिब रु डेढ÷दुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्ट बताउनुहुन्छ । त्यस क्षेत्रका फूल उत्पादक किसानले मुख्य याममा रु एक लाख बढीको बिक्री गर्ने गरेका छन् ।

भारतको तुलनामा नेपालमा फूल उत्पादनमा लागत बढी पर्ने भएकाले चाडपर्वको समयमा भारतबाट आउने फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अर्का किसान नारायण लामिछानेले बताउनुभयो । यसपटक सरकारले भारतीय मालालाई आयातमा प्रतिबन्ध लगाएकाले स्वदेशी उत्पादनले प्राथमिकता पाएको बताउँदै उहाँ भन्नुहुन्छ, “स्वदेशमै उत्पादन गर्न सकिने अन्य कृषिजन्य वस्तुहरुमा पनि यसरी नै प्रतिबन्ध लगाएमा नेपाली कृषक प्रोत्साहित हुनेछन् ।”

बिरुवा लगाएको चार महिनाभित्र फूल उत्पादन लिन सकिन्छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक रुपमा यसतर्फ आकर्षण हुँदै गएका छन् । उक्त वडालाई बाह्रै महिना फूल उत्पादन गर्ने क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।

आगामी वर्षदेखि उक्त वडामा नर्सरी बनाएर गाउँपालिकाले उन्नत जातको फूलको बीउमा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो । उक्त क्षेत्रमा गरिएको व्यावसायिक फूल खेतीको आफूले स्थलगत अवलोकन गरिसकेको अध्यक्ष थापाले बताउनुभयो । “फूलखेतीबाट आफू प्रभावित भएको बताउँदै अध्यक्ष थापाले आगामी वर्ष समयमै गाउँपालिकाको सक्रियतामा किसानलाई प्रोत्साहन गर्ने गरी काम गरिने छ”, उहाँले भन्नुभयो ।

त्यसैगरी म्याग्दे गाउँपालिका–५, स्थित ठूलोखेतमा स्थानीय सुसन पौडेलले करिब चार रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्नुभएको छ । म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को पुष्प खेती विकास कार्यक्रमअन्र्तगत पौडेलले पालिकाबाट प्राप्त रु ५० हजार अनुदानसहित कूल रु ८० हजारको लगानीमा सयपत्री फूल खेती गर्नुभएको हो । चाडपर्वका अवसरमा बर्सेनि लाखौँ रुपैयाँ विदेशिने हुँदा स्थानीय बजार र आवश्यकतालाई दृष्टिगत गरी तिहारमा खपत हुने फूल उत्पादनमा लागेको पौडेलले बताउनुभयो ।

स्वदेशी उत्पादनसँगै स्वरोजगारको अवसर मिल्ने भएकाले आर्थिक रुपमा पनि थप टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यस वर्ष करिब रु तीन लाख बराबरको आम्दानी गर्ने उहाँको अपेक्षा रहेको छ । तिहारमा बाह्य देशबाट आउने फूल रोक्न सकिएमा फूलको व्यवसायले रोजगारीको अवसरसँगै आर्थिक उपार्जन गर्न सहज हुने देखिएको छ ।

स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरेर कृषकलाई प्रोत्साहनस्वरुप सहयोग गर्न गाउँपालिकाका सबै किसानलाई आग्रह गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । फूल आयातमै बर्सेनि ठूलो रकम विदेशिने प्रथालाई रोक्न र फूलमा आत्मनिर्भर बनाउनका लागि स्थानीय तहले फूलखेतीलाई प्राथमिकता दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल र कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड

काठमाडौँ, २२ कात्तिक : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलनका लागि नेपालमा कोरियाली लगानी आवश्यक छ भन्नुभयो ।

ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटीजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिने भन्दै अध्यक्ष ढकालले यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको पनि उल्लेख गर्नुभयो । नेपालमा तीन सय ५० भन्दा बढी कोरियाली उद्यम रहेका जानकारी दिँदै उहाँले कोरियाका लागि नेपाल एक आकर्षक लगानी गन्तव्य भइसकेको पनि स्पष्ट गर्नुभयो ।

नेपालमा अत्याधुनिक कोरियाली प्रविधि भित्र्याएर नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको उपयोगबाट लाभ लिन सकिने अध्यक्ष ढकालको सुझाव थियो । अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा कोरियालाई दक्षिण एसिया क्षेत्रकै व्यापारमा सहयोग पुग्ने र नेपालले विकासोन्मुख देशका रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न कोरियासँगको साझेदारी महत्वपूर्ण हुने तर्क गर्नुभयो ।

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको जानकारी दिँदै औपचारिक र सहज बैकिङ्ग कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने हुँदा त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन उहाँको आग्रह थियो ।

अध्यक्ष ढकालले कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरू रहेका भन्दै कोरियाली लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउन आग्रह गर्नुभयो ।

१६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भए – मन्त्री बस्नेत

पाटन (ललितपुर), २२ कात्तिक, : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उहाँले आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै धेरै सुधारमा काम गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

“१६ वर्षदेखि स्वास्थ्य क्षेत्रका रणनीति पास हुनसकेका थिएनन् । म आएपछि ती सबै पास गरेर काम गर्ने वातावरण बनाएको छु । अहिले एउटा पनि बाँकी छैनन्”, मन्त्री बस्नेतले भन्नुभयो, “सुआहारा परियोजनाले स्वस्थ जीवनशैलीको कुरा गर्छ । हामीले अरुलाई स्वास्थ बनाउन आफू स्वस्थ्य रहनुपर्छ । एउटा मान्छे स्वास्थ नहुँदा परिवारका साथै समाजलाई पनि असर पर्छ । हामीले राम्रो कामको सुरुवात आफैँबाट गर्ने हो ।”

उहाँले बाल मृत्युदर घटाउन स्वस्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको धारणा राख्नुहुँदै बच्चालाई कुपोषणबाट बचाउन गर्भदेखि नै हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले समाजको तल्लो तह, दुर्गम बस्तीसम्म गएर गरेको सुआहारा कार्यक्रम परियोजनाका कार्यक्रमले सकरात्मक सन्देश दिइरहेको तर्क गर्नुभयो ।

स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको तथ्याङ्कमा ३३ हजार कर्मचारी भए पनि व्यवहारिक काममा २७/२८ हजार मात्रै रहेको जनाउँदै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताउनुभयो । “तथ्याङ्कमा ३३ हजार कर्मचारी भए पनि व्यवहारिक काममा २७/२८ हजार मात्रै छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षा निःशुल्क भनेर संविधानमा लेखिएको छ । अहिले पनि प्रभावकारी काम हुन सकेको छैन । राम्रो काम गर्नेलाई सम्मान र नगर्नेलाई निगरानी गरेर सुधार्न लागि परेका छौँ ।”

जनताको सेवामा स्थापित स्थानीय पालिकाका स्वास्थ्य संस्थालाई आवश्यकपर्ने स्वास्थ्य उपकरण मन्त्रालयले प्राथमिकता दिएर उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ थियो । उहाँले स्वास्थ्य क्षेत्रमा थाहा नभएको/नजानेको काम विज्ञसँग सिक्नुपर्ने भन्दै मन्त्रालयले एक दिनमा कम्तीमा एउटा मात्रै भए पनि राम्रो काम गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहले सुआहारा परियोजना स्वास्थ्य क्षेत्रको एक सफल कार्यक्रम भएको बताउनुभयो । यो परियोजनाले तीन सय ८० भन्दाबढी स्थानीय तहका नागरिकको घरदैलोमा पुगेर जनस्वास्थ्यको विषयमा सचेत गराउन सकेको बताउँदै उहाँले सरकार र नागरिकलाई जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक सङ्गीता कौशल मिश्रले सुआहारा कार्यक्रमले महिला स्वास्थ स्वयंसेविकामा सकरात्मक प्रभाव पारेको भन्दै नेपालको स्वास्थ्य प्रणालीमा सुधार ल्याएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सामाजिक विकास महाशाखा सहसचिव डा किरण रुपाखेतीले कार्यक्रम नेपालको स्वास्थ्य क्षेत्रलगायतका क्षेत्रमा काम गर्ने एक भरपर्दो साझेदार भएको बताउनुभयो । सन् २००६ देखि सुरु भएको यो परियोजनाको दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको बताउँदै उहाँले तेस्रो बहुपक्षीय पोषण कार्यक्रम परियोजनाको ड्राफ्ट गरेर मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइएको जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोड बढी सहयोग

काठमाडौँ, २२ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा रू चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो ।

मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ ।

सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण रू एक करोड, नेपाल वायुसेवा निगम रू पच्चीस लाख, पर्यटन बोर्ड रू ५० लाख, पशुपति क्षेत्र विकास कोष रू २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ रू एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर रू एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर रू दश लाख रहेका छन् ।

त्यस्तै क्यासिनो मोजाङ रू पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज रू पाँच लाख, डेल्टिन क्यासिनो काठमाडाैँ रू पाँच लाख, क्यासिनो वेलिज काठमाडाैँ रू पाँच लाख, क्यासिनो प्राइड काठमाडौँ रू पाँच लाख, क्यासिनो प्यालेस काठमाडाँै रू पाँच लाख, क्यासिनो प्यालेस झापाले रू पाँच लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।

प्लास्टिकका फूल बिक्रीमा रोक

बलेवा (बागलुङ), २२ कात्तिक : बागलुङ नगरपालिका–१ रामरेखाका भुवन बोहराको बगैँचामा थरीथरीका फूल फुलेका छन् । तिहार पर्खेर बसेका फूल भुवनले व्यावसायिक रुपमा उत्पादन गर्नुभएको हो । बजार र धार्मिक तीर्थस्थलहरु नजिकै रहेकाले तिहारका लागि मात्रै नभएर अन्य समयमा समेत बिक्री हुने अपेक्षाका साथ उहाँले फूलको व्यावसायिक उत्पादन थाल्नुभएको हो । जिल्लामा यसरी व्यावसायिक रुपमा फूलको उत्पादन गर्नेहरु निकै कम छन् ।

तिहार नजिकिँदै गर्दा फूलले बजार नपाउला कि भन्ने चिन्ता नरहेको बोहराले बताउनुभयो । बागलुङ नगरपालिकाले प्लास्टिक र आयातित फूलको प्रयोगलाई रोक लगाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेपछि बजारको चिन्ता हटेको उहाँको भनाइ थियो ।

“तिहारका लागि स्थानीय रुपमा उत्पादन हुने फूल पर्याप्त हुन्छ । यहाँका हरेक घरमा थरीथरीका फूल फुल्छन् । पछिल्लो समय गाउँघरमा प्राकृतिक रुपमा फुल्ने फूलहरुको प्रयोगमा कमी आउन थालेको छ”, बोहराले भन्नुभयो, “बजारमा विदेशी बजारबाट आउने र प्लास्टिकका फूलले प्राकृतिक फूलको महत्व बिर्साएको छ ।” प्लास्टिक र आयातित फूलकै कारण पुष्प व्यवसायमा कसैले हात नहाल्ने उहाँको भनाइ थियो ।

गाउँको तुलनामा सदरमुकाम तथा बजार क्षेत्रमा प्लास्टिकका फूल बढी खपत हुने गरेको थियो । यस वर्ष बागलुङ नगरपालिकाले प्लास्टिकका फूल निषेध गरेको छ । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएर स्थानीय व्यवसायीले उत्पादन गरेका फूललाई प्राथमिकता दिइएको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको बैठकले बागलुङ नगरभित्र प्लास्टिकजन्य फूलको कारोबारमा रोक लगाउने निर्णय गरेको थियो । “जिल्ला प्रशासन, उपभोक्ता मञ्चलगायत सरोकारवालासँग मिलेर निर्णय कार्यान्वयनका लागि अनुगमनसमेत सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “आयात रोक्ने र प्राकृतिक वस्तुको उपयोग बढाउन यो निर्णय गरेका हौँ । यसबाट प्लास्टिकका फूलको खरिदमा बाहिरिने ठूलो रकम स्थानीयस्तरमा खर्च हुन्छ ।”

प्लास्टिकजन्य फूूलमालाका कारण वातावरणमा पार्ने असर रोक्नाका साथै स्थानीय फूूल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बिक्री वितरणमा रोक लगाइएको खड्काको भनाइ थियो । बजारमा प्लास्टिकका फूलको कारोबार भएको पाइए कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

गुञ्जिन थाले तिहारका गीत, यी हुन् हरेक तिहारमा गुञ्जिने गीतहरु ?

काठमाडौँ, २२ कात्तिक : उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।

चलचित्र ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत हुनुभएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिनुभएको छ । यादव खरेलले रचना गर्नुभएको गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गर्नुभएको छ ।

‘दियो बाली साँझको’ गीत पनि तिहारको समयमा उत्तिकै लोकप्रिय हुने गर्दछ । चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गर्नुभएको छ । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिनुभएको छ । निर्देशक तुलसी घिमिरेले चलचित्रमा तिहारको गीत र प्रसङ्गलाई कथावस्तु अनुसार नै प्रस्तुत गर्नुभएको छ ।

मनिला सोताङले गाउनु भएको चलचित्र ‘अन्याय’ मा समावेश गरिएको ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गर्नुभएको यस गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको छ । अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायत कलाकार प्रस्तुत हुनुभएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्ने गरेको छ ।

चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’ लगायतका गीतहरू तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् ।

नेपाली संस्कृतिलाई समेटेर बनाइएका यी गीतहरू अझैँसम्म लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको सङ्गीतकार अर्जुन पोखरेलले बताउनुभयो । “ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो”, उहाँले भन्नुभयो, “गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीत बढी प्रचार हुने गरेका छन् । त्यहीँ कारण तिहार मात्र नभइ दसैँ, होली लगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।”

पोखरेलले विषय र प्रसङ्ग मिलाउनुपर्ने, चाडपर्वमा मात्र गुञ्जिने, लागत खर्च बढी हुनेलगायत कारणले यस्ता गीत नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताउनुभयो । “पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन् । तर, सङ्ख्या निकै न्यून छ । पछिल्लो समय बनेका गीतसङ्गीतले माथि उल्लेखितलाई विस्थापित गर्न सकेका छैनन्”, उहाँले भन्नुभयो ।

पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेको गायक तथा सङ्गीतकार कर्णराज गिरीले बताउनुभयो । “नयाँ गीतमा चाडपर्वको माहोल, संस्कृति र मिठास कम देखिएको हुन्छ । मेरो रोजाइमा पनि तिहारका पुरानै गीत पर्ने गरेका छन् । नयाँ गीत चाडपर्वलाई लक्षित गर्दै तयार गर्ने निकै कम छन्”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलले भूकम्पपीडितलाई सहयोग गर्ने

विराटनगर, २२ कात्तिक : कोशी प्रदेशसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलले जाजरकोटका भूकम्पपीडितका निम्ति आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसका ३९ जना सदस्यले १५ दिनको पारिश्रमिक, नेकपा (एमाले) का प्रदेशसभा सदस्यका तर्फबाट रु पाँच लाख र राप्रपाका छ जनाले एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका छन् ।यसअघि कोशी प्रदेश सरकारले तत्काल राहत स्वरुप रु एक करोडका त्रिपाल, कम्बललगायत सामग्री प्रदान गरिसकेको छ ।

एमालेका सबै जनसङ्गठन जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने

काठमाडौँ, २२ कात्तिक : नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीप्रति सचेत हुँदै राहतका अघि बढाउने निर्णय गरेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताउनुभयो ।

एमालेका महासचिव शङ्कर पोखरेलको उपस्थितिमा भएको बैठकमा महासचिव पोखरेलले भूकम्पपीडितको सहयोगमा सबै जनसङ्गठन प्रभावकारी रूपमा खट्न निर्देशन दिनुभयो । महासचिव पोखरेलले उहाँले पार्टीका तर्फबाट टेन्टलगायत राहत सामग्रीका विषयमा पहल भइरहेको जानकारी दिँदै तत्काल आवश्यक सामग्री जुटाएर राहत परिचालनमा लगाउनसमेत जनसङ्गठनलाई निर्देशन दिनुभएको थियो ।

एकद्वार प्रणालीबाट राहत वितरण उचित नै भए पनि जिल्ला प्रशासन र स्थानीय तहमा राहत थन्क्याएर तीन दिनसम्म पीडितले नपाउनु चिन्ताजनक व्यवहार भएको बैठकको ठहर गरेको जनाइएकोे छ ।

प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटघाट

काठमाडौँ, २२ कात्तिक : प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युलीबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले भूकम्पपीडितलाई सात दिनको तलब दिने

काठमाडौँ, २२ कात्तिक : सर्वोच्च अदालतले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको हो ।

यही कात्तिक १७ गते गएको भूकम्प र सोपश्चात् गएका परकम्पसमेतबाट पीडित परिवारको सहयोगार्थ उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।बैठकले उच्च अदालतका न्यायाधीशको पाँच दिन, जिल्ला अदालतका न्यायाधीशको तीन दिन, राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका अधिकृतको तीन दिन, अन्य अधिकृतस्तरका कर्मचारीको दुई दिन र सहायकस्तरका कर्मचारीको एक दिन बराबरको तलब स्वेच्छिकरूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकपछि सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको उल्लेख छ ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २२ कात्तिक : नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२ः४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा जाजरकोट भूकम्प, पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा छलफल हुने प्रमुख गौतमले बताउनुभयो

काठमाडौँका सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर काञ्जी हाउसमा राख्दैछौं – मेयर बालेन

काठमाडौं – काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ । बुधबार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् ।

उनले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं। ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने बताएका छन् । उनले दक्षिणकाली नगरपालिकाको वडा नं। ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गरिने र काम गर्नको लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएको पनि बताएका छन् ।

उनले लेखेका छन् – ‘हामी काठमाडौँ महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं। ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छौ ।’

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , विरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ । ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं। ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ ।’

किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी कोटा निर्धारण

कञ्चनपुर, २२ कात्तिक : किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत किसानलाई रासायनिक मल उपलबध गराउन कोटा निर्धारण गरिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डिएपीको एक हजार छ सय ७७ बोरा (आठ हजार तीन सय ८१ मेट्रिक टन) कोटा छुट्याएको छ ।

नगरपालिकामा दर्ता भई रासायनिक मलको कारोबार गर्ने सहकारीलाई व्यवस्थित तरिकाले किसानसम्म मल पुर्याउनका लागि कोेटा निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो ।

नगरपालिकामा दर्ता भएका २२ वटा सहकारीले रासायनिक मलको कारोबार गर्दै आएका छन् । “सहकारीमा आबद्ध सदस्य र किसानको सङ्ख्यालाई ध्यानमा राख्दै कोटा निर्धारण गरेका छौँ”, कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले भन्नुभयो, “थोरै सदस्य भएका सहकारीलाई थोरै कोटा निर्धारण गरिएको छ ।”

सहकारीलाई कम्तीमा एक सय २५ देखि अधिकतम एक सय ५४ बोरासम्म पाउने गरी कोटा निर्धारण गरिएको उहाँको भनाइ छ । नगरपालिकाले सहकारीलाई कोटा निर्धारण गरी मल वितरण गर्दै आए पनि केही सहकारीमा सञ्चालकमा आबद्ध सदस्यलाई मात्रै रासायनिक मल उपलब्ध गराउँदा सहकारीमा आबद्ध नभएका किसानले मल नपाउने गरेको गुनासोसमेत रहेको छ ।

नगरपालिका क्षेत्रमा कोटा निर्धारण गरिएभन्दा बढी रासायनिक मल डिएपीको खपत हुने गरेको छ । झन्डै नगरपालिका क्षेत्रका किसानले प्रतिवर्ष रासायनिक मल डिएपीको १३ हजार मेट्रिक टनको माग गर्दै आएका छन् । कोटाको थोरैमात्रै मल आउँदा चर्को मूल्य तिर्दै किसानले भारतीय गुणस्तरहीन मलको प्रयोग गर्न बाध्य छन् ।

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

भजनी (कैलाली), २२ कात्तिक : बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीमा आकर्षित भएका छन् ।

राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका वडा नं ५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताउनुभयो । “मिल सञ्चालकसँग समन्वय भएर नै उखुखेती सुरु गरेका छौँ । “उहाँ भन्नुहुन्छ, “मिल सञ्चालन भयो भने किसानका लागि ठूलो अवसर सिर्जना हुने विश्वास छ ।”

प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले २०८१ सालमा चिनी मिल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको बताउनुभएको छ । “केही भागमा उखुखेती सुरु गरेका छौँ भने केही किसानलाई पनि उखुखेतीका लागि आग्रह गरेका छौँ”, प्रबन्धक निर्देशक ओलीले भन्नुभयो, “उखु उत्पादन हुँदै गर्दा आवश्यक उपकरणहरू जडानको काम पनि सँगसँगै गर्ने गरी काम थालेका छौँ ।”

कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न रु दुई अर्बदेखि अढाई अर्ब खर्च लाग्ने अनुमान कम्पनीको छ । मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँचदेखि छ हजार बिघा क्षेत्रफलमा उखुखेती आवश्यक पर्ने निर्देशक ओली बताउनुहुन्छ । मिल सञ्चालनमा आए पाँच सय बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँ अप्रत्यक्ष रोजगारीमा जोडिने अपेक्षा गरिएको छ । कम्पनीले प्राविधिक बाहिरबाट ल्याउने भए पनि अन्य कर्मचारी स्थानीयलाई प्राथमिकतामा राख्ने बताएको छ ।

बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् । “बलौटे माटोमा उत्पादन केही हुँदैन । वर्षात्को समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ ।” राजापुर नगरपालिका वडा नं ८ का धर्मचन्द्र चौधरीले भन्नुभयो, “चिनी मिल सञ्चालन भयो भने हामीलाई धेरै राम्रो हुनेछ । ममात्रै नभई यस क्षेत्रका किसानलाई पनि ठूलो अवसरको रूपमा चिनी मिल बन्ने छ ।”

अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन हुँदा बर्दियाका किसानलाई मात्रै नभई छिमेकी पालिकाले पनि ठूलो लाभ लिनसक्ने बताउनुभएको छ । उखु मिल सञ्चालन हुँदा उत्पादन नहुने कुनै पनि जग्गा खाली नरहने उहाँको विश्वास छ । “अहिले कैयौँ जग्गा प्रयोगमा छैन । वर्षात्को समयमा बाढी र डुबान, हिउँदमा सिँचाइको समस्याले किसान उत्साहित भएर खेतीमा अग्रसर हुनसकेका छैनन्”, सुरेन्द्र चौधरी भन्नुहुन्छ, “चिनी मिल बर्दियाका लागि ठूलो अवसर हो । यसबाट किसानलाई मात्रै नभई अन्य नागरिकलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा फाइदा हुने छ ।”

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारूले चिनी मिल राजापुर क्षेत्रका लागि ठूलो सम्भावना बोकेको उद्योग बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले रोजगारीका अवसरदेखि किसानको सम्भावनालाई चिनी मिलले पूरा गर्ने बताउनुभएको छ । “स्थानीय सरकारको प्राथमिकता भनेकै रोजगारीका अवसर सिर्जना गर्नु र स्थानीय उत्पादनलाई मजबुत बनाउनु नै हो । जसमा नगरपालिकाले सबै संयन्त्रसँग समन्वय र सहकार्य गर्दै पनि आएको छ ।” नगरप्रमुख थारू भन्नुहुन्छ, “स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा हामी सधैँ सकारात्मक र सहयोगी भावनाका साथ अगाडि बढेका छौँ । त्यसैको उपज चिनी मिल सञ्चालनमा आउनु पनि हुनेछ ।”

उहाँले राजापुर नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउनका लागि यस्तै दुई–चारवटा अन्य उद्योग सञ्चालनमा ल्याउन जरुरी रहेको बताउनुभयो । “चिनी मिल सञ्चालनमा आयो भने सयौँले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँले अप्रत्यक्ष रोजगारीमा जोडिने छन्”, नगरप्रमुख थारूले भन्नुभयो, “यसरी दुई–तीन अरु उद्योग सञ्चालनमा आउन सक्यो भने यस क्षेत्रका सबैले रोजगारी पाउने छन् । स्थानीय उत्पादनले बजार पाउने छ । अनि समृद्ध नगरपालिका बनाउन कुनै समस्या छैन ।”

टीकापुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर किसानले उखुखेती सुरु गरेको बताउनुभयो । “उहाँहरूकै आग्रहमा किसानले उखुखेती सुरु गर्नुभएको छ । गुड मिल सञ्चालन गर्दै आएको मैले पनि थप उखुखेती विस्तार गरेको छु”, वडाध्यक्ष ठकुल्ला भन्नुहुन्छ, “बर्दियामा मिल सञ्चालन भए पनि त्यसले टीकापुरलगायतका छिमेकी पालिकालाई समेत मद्दत मिल्ने छ ।”

सन् २०२३ मा चीनको जिडिपी ५.४ प्रतिशतले बढ्नेछ– आइएमएपफ

बेइजिङ – अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मङ्गलबार चीनको वास्तविक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२३ मा पाँच दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

आइएमएफका प्रथम उपप्रबन्ध निर्देशक गीता गोपीनाथले चीनको भ्रमण गरेपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चिनियाँ अर्थतन्त्र सरकारको सन् २०२३ को विकास लक्ष्य पूरा गर्ने मार्गमा छ, यसले कोभिडपछिको सुदृढ सुधारलाई दर्शाउँछ ।”

चीनका मिसन प्रमुख सोनाली जैन–चन्द्राको नेतृत्वमा आइएमएफको एउटा टोलीले सन् २०२३ आर्टिकल ४ कन्सल्टेसनमा छलफल गर्न अक्टोबर २६ देखि नोभेम्बर ७ सम्म चीनको भ्रमण गरेको थियो । मिसन टोलीले आर्थिक सम्भावना र जोखिम, सुधारको प्रगति र चुनौती तथा नीति प्रतिक्रियाहरूमा विचार आदानप्रदान गर्नका लागि सरकार, जनता तथा निजी क्षेत्रका प्रतिनिधि र शिक्षाविद्हरूसँग रचनात्मक छलफल गरेको थियो ।

सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा वृद्धि

वासिङ्टन – निर्यातभन्दा आयातमा ठूलो वृद्धि भएपछि सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको समग्र व्यापार अन्तर अपेक्षा गरिएभन्दा धेरै बढेर ६१.५ अर्ब डलर पुगेको वाणिज्य मनत्रालयले जनाएको छ ।

आयात २.७ प्रतिशतले बढेर ३२२.७ अर्ब डलर पुगेको छ भने निर्यात २.२ प्रतिशतले वृद्धि भई २६१.१ अर्ब डलर पुगेको छ ।अमेरिकी व्यापारलाई उपभोक्ता खर्चले मद्दत गरेको छ किनकि अमेरिकीहरू महामारीको समयको बचतका कारण डुबेका छन् तर मुद्रास्फीति कम गर्ने उद्देश्यले उच्च ब्याज दरहरूले मागलाई कमजोर पार्ने अपेक्षा गरिएको छ ।

मौद्रिक नीतिमा कडाइ गरिएपछि संयुक्त राज्य अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूको वृद्धि दर सुस्त हुँदा निर्यातमा पनि असर पर्न सक्छ ।सेप्टेम्बरमा भएको आयातमा मोबाइल फोन र घरायसी सामानका साथै सवारी साधन र पार्टपुर्जाजस्ता उपभोग्य वस्तुका कारण वृद्धि भएको देखिएको छ ।

‘अक्सफोर्ड इकोनोमिक्स’का अर्थशास्त्री म्याथ्यु मार्टिनले भन्नुभयो, “आगामी महिनाहरूमा निर्यात र आयात कमजोर हुने हामीले अपेक्षा गरेका छौं, तर उपभोक्ताको खर्च सुस्त हुँदा र व्यवसायहरूले आफ्नो अनुसन्धान तहमा काम गर्दा आयात अझ खराब हुनेछ ।

उहाँले भन्नुभयो, “यसबीचमा नरम हुँदै गएको विश्वव्यापी पृष्ठभूमि र अमेरिकी डलरको मजबुतीले निर्यात वृद्धिमा कमी ल्याउनेछ ।”सेप्टेम्बरको अमेरिकी व्यापार घाटामा भएको वृद्धिले वस्तु घाटामा वृद्धि र सेवा अधिशेषमा गिरावटलाई प्रतिबिम्बित गरेको वाणिज्य मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

दुई देशबीचको व्यापार युद्धका बेला चीनसँगको अमेरिकी वस्तु घाटा सेप्टेम्बरमा बढेर २४ अर्ब १० करोड अमेरिकी डलर पुगेको तथ्याङ्कले देखाएको छ ।‘हाई फ्रिक्वेन्सी इकोनोमिक्स’की रूबेला फारुकीका अनुसार तेस्रो त्रैमासिकमा व्यापारले ‘कूल गार्हस्थ उत्पादनमा सामान्य गिरावट’ ल्याएको छ ।प्रारम्भिक अनुमानका आधारमा चौथो त्रैमासिकमा ‘शुद्ध निर्यातबाट सानो योगदान’ हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

सदन प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्छ : नेत्री श्रेष्ठ

काठमाडौँ, २२ कात्तिक : जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्नुहुन्छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमाथि लामो कर्मकाण्डी बहस–छलफल भए पनि त्यसमा समावेश गर्न दिइएका सुझाव र संशोधन नसमेटिएकामा उहाँ तीव्र असन्तुष्टि व्यक्त गर्नुहुन्छ ।

सांसद श्रेष्ठ भन्नुहुन्छ, “दैनिक रु १० लाख खर्च गरी बजेटमाथि महिनौँ छलफल गरियो । त्यसमा आएका सकारात्मक सुझाव समेट्नुपथ्र्याे । सरकारले जे ल्यायो, बैठकमा हुन्छ र हुन्न भन्ने आधारमा अल्पमत, बहुमत र सहमतिका नाममा पास भएको देखेँ । त्यो व्यावहारिक लागेन ।”यस्तो ढाँचा, ढर्रा र औपचारिकताले देशले गति नलिने उल्लेख गर्दै उहाँले परिणाम नदिने झन्झटिलो प्रक्रियालाई तत्कालै सच्याएर जानुपर्ने सुझाव दिनुभयो । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीच भ्रष्टाचार र अनियमितताका लागि नभई जनतालाई सुलभरूपमा दिनुपर्ने सेवा–सुविधाबारे गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिँदै सांसद श्रेष्ठले देश र जनहितमा राष्ट्रिय सहमतिका लागि बनाइने कार्ययोजना, नीति र विधिका विषयमा संसद् र दलका बैठकमा गहन छलफल र मन्थनको आवश्यकता आँैल्याउनुभयो ।पार्टीले सदनमा गई नीति–निर्माणमा सहभागी हुन आफूलाई पहिलो मौका प्रदान गरेकामा गौरव महसुस गर्दै उहाँले संसद्मा बजेट तर्जुमा तथा राष्ट्रिय गतिविधिलाई नीतिगतरूपले व्यवस्थित र व्यावहारिकरूपले परिमार्जन गर्ने सोचाइबाट आफू आए पनि कार्यान्वयनको पाटो फितलो भएकामा दुःख व्यक्त गर्नुभयो । मुलुकमा भ्रष्टाचार बढ्नुमा नेता स्वयं नीतिगत भ्रष्टाचारमा संलग्न हुने तथा आफूअनुकूलको कानुन बनाउने घटनाले पुष्टि गरेको उल्लेख गर्दै उहाँले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सदस्य सुुन, ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरण प्रतिनिधिमूलक नमूना घटनाका रूपमा रहेको प्रतिक्रिया दिनुभयो ।मुलुकमा राजनीतिक परिवर्तनका लागि सहयात्रा गरेका राजनीतिक दल र नेताले आफ्ना स्वार्थका लागि जस्तोसुकै विषयमा सम्झौता गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको सांसद श्रेष्ठको भनाइ छ । राजनीतिक घटनाक्रमले आदर्श र सिद्धान्तभन्दा नेताहरूले पार्टी, गुट र परिवारवादलाई महत्त्व दिएको देखिएको उहाँले आरोप लगाउनुभयो ।विसं २०२८÷२९ मा नयाँ शिक्षा विरोधी विद्यार्थी आन्दोलनमा सहभागी भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएकी सांसद श्रेष्ठसँग स्ववियु कोषाध्यक्ष, क्रान्तिकारी महिला सङ्घको सदस्य, भूमिगत जीवन र अनेमसङ्घका केन्द्रीय सदस्य भई काम गरेको अनुभव छ । नेकपा (माले) उदयपुर जिल्ला सचिव, अनेमसङ्घ उपाध्यक्ष, माले केन्द्रीय कमिटी सदस्य, हाल सङ्घीय समाजवादी पार्टी नेपालको राजनीतिक समिति सदस्य भई काम गर्नुभएकी उहाँ हाल जसपा बागमती प्रदेश इन्चार्ज पनि हुनुहुन्छ ।सांसद श्रेष्ठले भन्नुभयो, “देशमा महँगी र बेरोजगारी चुलिएको छ, आम्दानीको स्रोत छैन, मुलुकको ठूलो श्रमशक्ति युवा–विद्यार्थी विदेश पलायन भइरहेका छन् । जलस्रोतको धनी भनिए पनि कतिपय गाउँमा खानेपानी अभावमा तड्पिनुपर्ने परिस्थिति छ । यस्तो बेला परिवर्तनका सहयात्रीबीच आरोप–प्रत्यारोप नभई देश विकासको साझा एजेन्डा आउनुपथ्र्याे, तर त्यो खै ?”महिलाले अंश पाउनुपर्छ र वंशज कायम हुनुपर्छ भन्ने मागको सहज कार्यान्वयनमा अझै चुनौती रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले बनेका कानुन कार्यान्वयनमा राज्यका संयन्त्र जागरुक हुनुपर्ने देखिन्छ भन्नुभयो । सम्पत्तिभन्दा मान, सम्मान, इज्जत र प्रतिष्ठा महत्त्वपूर्ण विषय भएको भन्दै नेत्री श्रेष्ठले भन्नुभयो, “पैसाभन्दा समाजमा सम्मान कमाउन निकै कठिन छ, जेल र भूमिगत जीवन बिताएका पाका नेतासमेतले विगतको आफ्नो योगदान बिर्सिएर लोभ गर्नुभयो भने सबैले विरोध गर्नुपर्छ ।”सदनलाई व्यवस्थित र मर्यादित बनाउने सांसदको नै दायित्व भएकाले कमी–कमजोरीलाई सुधार गरेर अघि बढ्न प्रतिनिधिसभा, पूर्वाधार विकास समिति सदस्य सांसद श्रेष्ठले सबैलाई सुझाउनुभयो । पछिल्ला चुनावमा उम्मेदवारबाट भएको खर्चको स्थितिले कहालीलाग्दो अवस्था देखाउने उल्लेख गर्दै उहाँले जसपा कार्यकारी समिति सदस्यले यसमा सुधार नगर्ने हो भने आर्थिक अवस्था कमजोर हुने तथा भ्रष्टाचार नगर्नेहरू केही समयमै राजनीतिक क्षेत्रबाट बाहिरिने ठोकुवा गर्नुभयो ।पार्टी सङ्गठन कमजोर र हारिने क्षेत्रमा महिलालाई उम्मेदवार बनाउने प्रवृत्ति सच्याउन आवश्यक रहेको सांसद श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “निर्वाचन प्रणाली पूर्ण समानुपातिक र समावेशी बनाउनुपर्छ । यसबाट भ्रष्टाचार रोकिन्छ कि जस्तो लाग्छ, अहिले समानुपातिकमा पुरुषको भाग खोसिएको छ ।” उहाँका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत कुनै निर्वाचन क्षेत्रमा आलोपालो चलाएर महिलाको स्थान सुरक्षित गर्न सकिन्छ ।एक प्रसङ्गमा सांसद श्रेष्ठले नागरिकता प्रमाणपत्र दिइँदा आमाको नाम भएको स्थानमा बेठिक चिह्न लगाइएकामा त्यसविरुद्ध मुद्दा हाल्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिनुभयो । हाम्रा संस्कार, संस्कृति, सद्भाव र मेलमिलापको भावनाको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गर्दै नेत्री श्रेष्ठले युवा र विद्यार्थीलाई विदेश पलायनका लागि रोक्ने शिक्षा पनि दिनुपर्नेमा जोड दिनुभयो ।

जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै

धनुषा, २२ कात्तिक : भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रेलमार्ग निर्माण हुन लागेको छ । रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली आगामी मङ्सिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ ।

विभागले भङ्गहा (विजलपुरा)–बर्दिबास रेलमार्ग उपखण्ड एवं पूर्वपश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो ।

मङ्सिर १५ गतेपछि बालीनाली लगाएमा किसानलाई त्यसको क्षतिपूर्ति नदिने विभागले जनाएको छ । भारतको जयनगरबाट महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ । पहिलो चरणमा जयनगरबाट कुर्थासम्म तथा दोस्रो चरणमा कुर्थाबाट भङ्गहासम्म निर्माण पूरा भई रेल सेवा सञ्चालनमा आइसकेको छ । तेस्रो चरणमा भङ्गहाबाट बर्दिबाससम्म मार्ग निर्माण हुन लागेको हो ।

नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय

काठमाडौं । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका थिए।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अनुसार उत्तर कोरियाली राजदूतले नेपालको आफ्नो दूतावास बन्द गर्न लागेको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको बताए। उत्तर कोरियाली राजदूत मेनले सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए।

प्रधानमन्त्रीलाई जानकारी गराएसँगै नेपालस्थित उत्तर कोरियाली दूतावासले नेपाल छाड्ने तयारी सुरु गरेको छ। ललितपुरको झम्सिखेलमा दूतावासको कार्यालय रहेको छ। परराष्ट्र मन्त्रालयलाई समेत उत्तर कोरियाली दूतावासले आफ्नो निर्णयबारे जानकारी गराइसकेको छ। अहिले सीमित कर्मचारी राखेर उत्तर कोरियाले आफ्नो दूतावास सञ्चालन गर्दै आएको थियो।

उत्तर कोरियाली दूतावास बन्द गर्ने निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए। प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै परराष्ट्र सल्लाहकार सापकोटाले अन्नपूर्णसँग भने, ‘दूतावास बन्द गर्ने निर्णयबाट म दुःखि छु। म आशा गर्छु उत्तर कोरियाले छिट्टै आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने छ।’परराष्ट्र सल्लाहकार सापकोटा, प्रधानमन्त्री प्रचण्ड र राजदूत जो योङ मेनबीच भएको छलफलमा सहभागी थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा!

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा गठित लघुवित्त–वित्तीय संस्थाहरूको समस्या र समाधान गर्न गठित समितिले चार लाख १८ हजार सात सय २२ जना ऋणीले दुई वा दुईभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने गरेको देखाएको छ।

राष्ट्र बैंकको सञ्चालक समितिको २०७९ फागुन १० गतेको बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित सात सदस्यीय लघुवित्त–वित्तीय संस्थाको समस्या र समाधान गर्न गठित अध्ययन समितिले कुल ऋणीको १८ प्रतिशतले दुई वा दुईभन्दा धेरै वित्तीय संस्थाबाट ऋण लिने गरेको औंल्याएको छ।

समितिले मंगलबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बहुसंस्थाबाट कर्जा लिएका ऋणीले एक खर्ब ४१ अर्ब (कुल कर्जाको ३७.९ प्रतिशत) कर्जा उपभोग गरेको देखाएको छ। ‘कुल ऋणीको ८१.८ प्रतिशतले एक संस्थाबाट मात्र र बाँकी १८.२ प्रतिशत (चार लाख १८ हजार सात सय २२ जना) ले दुई वा सो भन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लगेका छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बहु संस्थाबाट कर्जा लिएका यी ऋणीले एक खर्ब ४१ अर्ब ९कुल कर्जाको ३७।९ प्रतिशत० कर्जा उपभोग गरेका छन्।’

प्रतिवेदन अनुसार एक ऋणीले अधिकतम २३ वटा संस्थाबाट कर्जा लगेको देखिन्छ भने एकै ऋणीलाई १७ वटा संस्थाबाट २२ वटा कर्जा खातामार्फत अधिकतम ५२ लाख १७ हजार आठ सय ३४ रूपैयाँ कर्जा प्रवाह भएको औंल्याएको छ।

अध्ययन प्रतिवेदन अनुसार कुल ऋणीमध्ये दुई वटा संस्थाबाट मात्र कर्जा लिने ऋणी ११.७ प्रतिशत, तीनदेखि पाँच वटाबाट लिने ५.६ प्रतिशत, ६ देखि १० वटाबाट लिने ०.८ प्रतिशत र १० भन्दा बढीबाट लिने ०.१ प्रतिशत रहेका छन्।

प्रतिवेदनले कर्जाको आकार बढ्दै जाँदा ऋणीको कर्जा खाता संख्या पनि बढ्दै गएको औंल्याएको छ। ‘कर्जाको आकारका आधारमा हेर्दा ५० हजारभन्दा कम २९.५ प्रतिशत ऋणीले कर्जा लगेका छन् भने १५ लाखभन्दा बढी ०.२ प्रतिशत(तीन हजार आठ सय ५२ जना) ले कर्जा लगेको अवस्था छ,’ प्रतिवेदनमा भनिएको छ, ‘दुई लाखदेखि पाँच लाखसम्म कर्जा लिनेको संख्या कुल ऋणीको २१.२ प्रतिशत र कुल कर्जामा ४०.७ प्रतिशत हिस्सा रहेको छ।’

प्रतिवेदनले मूलतः लघुवित्त वित्तीय संस्थाको उच्च बिस्तार, निश्चित क्षेत्रका संस्थाहरूको केन्द्रीकरण, बहुबैंकिङ, केही ग्राहकमा अत्यधिक ऋणको अवस्था, संस्थाहरूको कमजोर आन्तरिक नियन्त्रण प्रणाली रहेको औंल्याएको छ।यो समाचार नागरिक दैनिकमा छ ।

सर्वोच्च अदालतमा ठूला भ्रष्टाचारको मुद्दा एक दशकदेखि सुनुवाइ बन्द

काठमाडौं । सर्वोच्च अदालतले न्यायिक सुशासनको प्रवद्र्धन गर्ने लक्ष्य लिएको भए पनि भ्रष्टाचार मुद्दामा निर्मम भएर निर्णय लिन सकेको छैन । सर्वोच्चको रणनीतिक योजनामा न्यायिक सुशासनको प्रवद्र्धन, गुणस्तरीय न्याय सम्पादन, न्यायपालिकाको आस्था र विश्वास अभिवृद्धिलगायतका महत्वपूर्ण लक्ष्य निर्धारण गरिएको छ । त्यसरी निर्धारण गरिएको लक्ष्यअनुसार सर्वोच्चले भ्रष्टाचारविरुद्धका मुद्दामा आफ्नो न्यायिक कारबाही आक्रामक किसिमले अगाडि बढाउन सकेको छैन ।

अकुत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्कापट्टामा गोलमाल, बैंक घोटालालगायत भ्रष्टाचारका १० वर्ष पुराना ४० वटा मुद्दा विचाराधीन छन् । त्यस्तै, पाँच वर्ष पुराना २ सय ७५ वटा भ्रष्टाचार मुद्दा विचाराधीन छन् ।

एउटा प्रकृतिको इजलासबाट अर्कोमा जानासाथ पुरानो लगत कट्टा भएर नयाँ दर्ता हुने भएकाले कतिपय पुराना मुद्दासमेत नयाँको रूपमा दर्ता भएका छन् । यी मुद्दा सर्वोच्च अदालतमा आउनुअघि विशेष अदालतमा तीन–चार वर्ष अल्मलिने हुनाले मुद्दाका आरोपितहरूले डेढ दशकभन्दा लामो समयसम्म अन्योलपूर्ण आरोप झेल्नुपरेको देखिन्छ ।

विशेष अदालत ऐन, २०५९ को दफा १६ को ९२० मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदनमा मुद्दाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र सर्वोच्चले किनारा गर्नुपर्ने भनिएको छ । तर, वर्षौं बित्दा पनि भ्रष्टाचारका मुद्दा इजलासमा पुगेर अल्झिरहेका छन् । लाउडा विमानको भ्रष्टाचार मुद्दा २३ वर्षदेखि अदालतमा घुमेको घुमै छ । सो मुद्दा सर्वोच्चमा पुगेपछि १२ प्रधानन्यायाधीश फेरिए । तर, मुद्दा अझै सुनुवाइ हुन सकेको छैन ।

लाउडा भाडामा ३८ करोड भ्रष्टाचार भएको दाबीसहित २०५८ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता भई विशेष अदालत सरेको मुद्दाका सबै प्रतिवादीले विशेषबाट सफाइ पाएपछि सरकारी पक्ष १४ माघ २०६४ मा सर्वोच्चमा पुनरावेदनमा गएको थियो । संयुक्त इजलासमा दुई न्यायाधीशको राय बाझिएपछि सो मुद्दा पूर्ण इजलासमा पेस हुनेगरी पुनः दर्ता भएको थियो । सर्वोच्चमा यो मुद्दा नै सबैभन्दा पुरानो मुद्दा हो ।यो समाचार राजधानी दैनिकमा छ ।

दैनिक उपभोग्य सामग्रीको मूल्यमा तीव्र वृद्धि, उपभोक्ताको चुलो बल्न कठिन

काठमाडौं । नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको छ । सरकारका सम्बिन्धत निकायहरूले प्रभावकारी काम र अनुगमन गर्न नसक्दा दाल, चामल, पिठोलगायत दैनिक उपभोग्य सामग्री अस्वाभाविक रूपले महंगिदा उपभोक्ताको चुलो बल्न कठिन देखिएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सरकार तस्कर, कालोबजारी र बिचौलियाको हातमा बिकेको हुनाले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको आरोप लगाए । अहिलेको मुल्यवृद्धि अप्राकृतिक भएको दाबी गर्दै उनले सरकारले चाहने हो भने तत्काल मूल्य नियन्त्रण हुने धारणा राखे ।

अघिल्लो वर्ष एक किलोग्रामको १ सय ८० रुपियाँ पाइने रहरको दालको मूल्य २ सय ९० रुपियाँ पुगेको छ । यसैगरी किलोको ७५ रुपियाँमा पाइने जिरा मसिनो चामल १ सय रुपियाँ पुगेको छ भने ६० रुपियाँ पाइने आँटा ७५ रुपियाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ । खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठले सरकारले आयात निर्यात र उत्पादनमा ध्यान नदिँदा निरन्तर मूल्य वृद्धि भएको बताए ।

त्यसैगरी भाइ मसलाको सामग्रीको मूल्यमा पनि तीव्र रूपमा वृद्धि भएको छ । अघिल्लो वर्ष ८ सय रुपियाँ प्रतिकेजी पाइने सुपारी १५ सय रुपियाँ पुगेको छ ।

अघिल्लो वर्ष १ हजार ४ सय प्रति किलोमा पाइने काजु अहिले १ सय ६ सय प्रति किलो पुगेको छ । यसैगरी अघिल्लो वर्ष १ हजार १ सय प्रतिकिलोमा पाइने बदामको अहिले १ हजार २ सय ५० रुपियाँ पुगेको छ ।

अघिल्लो वर्ष ४ सय ७० प्रतिकिलोमा पाइने किसमिस यसवर्ष ५ सय ५० पुगेको छ । तर, यसपटक चीनबाट बढी आयात भएकोले ओखरको मूल्य भने अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष ओखरको मूल्य प्रतिकेजी ५ सय ५० रहेको थियो भने यो वर्ष ४ सय ७० मा झरेको छ ।

चाडपर्वको पूर्वसन्ध्यामा बजारमा कालोबजारी र गुणस्तरहीन वस्तु बिक्री हुन थाले पनि सरकारी निकाय निकम्मा देखिएको हो । बजार अनुगमनको जिम्मा स्थानीय तहको भए पनि अनुगमनको काम सामान्य देखिँदा उपभोग्य वस्तुको कालोबजारी र गुणस्तरहीन देखिएको छ ।

चाडपर्वका अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु बिक्री–वितरण गर्नेजस्ता अनुचित कार्य भइरहेको उपभोक्तावादीहरूले बताएका छन् ।उपभोग्य वस्तुको बिक्री–वितरणसँग सम्बन्धित सार्वजनिक निकायले देशभर सुपथ मूल्यका पसल सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको उपभोक्ताले जनाएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण

कर्णाली, २२ कात्तिक : कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई रु दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई रु २५÷२५ लाख, कुशेमा गाउँपालिकालाई रु २० लाख, छेडागाड नगरपालिकालाई रु १० लाख, जुनीचाँदे गाउँपालिकालाई रु १० लाख र शिवालय गाउँपालिकालाई रु पाँच लाख हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई रु २५÷२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई रु २०÷२० लाख, मुसिकोट नगरपालिकालाई रु १० लाख र बाँफीकोट गाउँपालिकालाई रु पाँच लाख रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताउनुभयो । उहाँका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई रु १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई रु पाँच–पाँच लाख हस्तान्तरण गरिएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताउनुभयो । यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो ।

आठविसकोटका लागि विभिन्न सङ्घसंस्थाबाट राहत सामग्री धमाधम सहयोग हुँदै

त्रिवेणी (रुकुम पश्चिम) – रुकुम पश्चिमको आठविसकोट नगरपालिकालाई विभिन्न सङ्घसंस्थाबाट भूकम्पपीडितको लागि राहत सामग्री प्राप्त भएको छ । पीडितका लागि विभिन्न सङ्घसंस्थाले यतिबेला राहत सामग्री नगरपालिकामै पु¥याएर सहयोग गरिरहेका छन् भने केहीले सहयोगका लागि घोषणा गरिरहेका छन् । केहीले नगदसमेत हस्तान्तरण गरेका छन् ।

विभिन्न सङ्घसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा पुगेर उद्धारसमेत गरिहेका छन् । देश तथा विदेशबाट सहयोग आउने कार्यक्रम पनि जारी छ । आइबारबाट राहत सामग्री आउन सुरु भएको थियो । भूकम्पपीडितका लािग राहत सामग्री आउने क्रम रोकिएको छैन । नगरपालिकालाई खाद्यान्नसँगै अन्य राहत सामग्री आइरहेका छन् । पहिलो चरणको राहत सामग्री मृतकका परिवारलाई वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।

मृतकका २४ घरपरिवारलाई राहतसँगै किरिया खर्चबापतको रु २५ हजार रकम उपलब्ध गराइएको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले जानकारी दिनुभयो । नगरपालिकामा घर पूर्णरुपमा क्षति भएकालाई पनि खाद्यान्नसँगै बस्नको लागि त्रिपाल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले शनिबार उद्धार कार्य सकेर आइतबारदेखि राहत वितरणको काम सुरु गरेको हो । राहत वितरण कार्य आज पनि जारी रहेको नगर उपप्रमुख शाहीले जानकारी दिनुभयो ।

नगरपालिकालाई देश तथा विदेशबाट सहयोग आइरहेको छ । हालसम्म नगरपालिकालाई विभिन्न ३४ वटा सङ्घसंस्था तथा व्यक्तिले राहत सामग्री हस्तान्तरण गरेको आठविसकोट नगरपालिका जिन्सी शाखा प्रमुख टेकबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकालाई खाद्यान्नलगायत बस्नको लागि त्रिपाल टेन्ट कम्बल, स्वास्थ्य सामग्रीलगायत नगद सहयोग प्राप्त भएको छ ।

नगरपालिकालाई आर्थिक तथा खाद्यान्नलगायत राहत सामग्री आउने क्रम जारी रहेको र भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको काम पनि जारी रहेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत वितरण चलिरहेको र सबै भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाए गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पु¥याएको थियो ।

जनतालाई केन्द्रविन्दुमा राखेर कानुन बनाउनुपर्ने – पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जनतालाई केन्द्रविन्दुमा राखेर जनताको घरआँगनमा न्याय पुग्ने तरिकाले कानुन बनाउनुपर्ने बताउनुभएको छ ।संवैधानिक निगरानी समूह र नेपाल कानुन समाजले मंगलबार आयोजना गरेको ‘कानुनको शासन, पारदर्शिता र सहभागिता’ विषयक अन्तक्र्रियामा उहाँले कानुन जनताका लागि बनाउने भएकाले जनतालाई न्याय मिल्ने गरी बनाउनुपर्ने उहाँले बताउनुभएको हो ।

“मुलुकमा कानुन मान्ने संस्कृतिको विकास गर्नुपर्छ, जनतालाई न्याय पुग्ने गरी कानुन बनाउनुपर्छ”, संवैधानिक निगरानी समूहका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “कानुन गुणस्तरीय बनाउनुपर्छ, मुद्दाको फैसला समयमै हुनुपर्छ, समयमै मुद्दा छिन्न सकिएन भनेर मुन्टो लुकाएर बस्नुपर्ने अवस्था छ, त्यसको अन्त्य गर्नुपर्छ ।”

कानुन प्रविधिमैत्री बनाउनुपर्ने जरुरी भएको र अदालतमा विचाराधीन विषयमा मिडिया ट्रायल गर्न नहुने उहाँको भनाइ थियो । “कानुन मान्ने संस्कृति छैन, कानुनबाट उम्कने संस्कार छ”, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले थप्नुभयो, “कानुन बनाउँदा जनताको सहभागितामा बनाउनुपर्छ, कति कानुनका विषयमा सांसदलाई नै थाहा हुँदैन”, कानुन विज्ञान भएको र त्यसको कार्यान्वयन प्रभावकारी तरिकाले गर्नुपर्ने उहाँको भनाइ थियो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले अदालतमा विचाराधीन मुद्दामा मिडिया ट्रायल गर्दा स्वतन्त्र न्यायपलिकामाथि असर परेको बताउनुभयो । उहाँले स्वतन्त्र न्यायपालिकाको छवि उठाउनका लागि जनआस्था वृद्धि गर्नका लागि सबैको उत्तिकै भूमिका हरेको स्पष्ट पार्नुभयो ।

न्यायाधीश प्रधानले “शक्ति सन्तुलनको कुरालाई ध्यानमा राखेर राज्यका सबै निकायले काम गर्नुपर्ने हुन्छ, अदालतबाट छिटो, सहज न्याय हुनुपर्छ भन्ने न्यायाधीशहरुमा सजग छौँ”,न्यायाधीश प्रधानले भन्नुभयो, “आज उठेका विषयहरु म सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) मा राख्छु ।”

उहाँले छिटो पालो आउने अग्राधिकार दिएका मुद्दामा पनि प्रविधिले मानवीयता नबुभ्mने भएकाले ढिलाइ भएको स्वीकार गर्दै त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।कार्यक्रमका सहभागीले छिटो, सहज र सरल न्याय हुनुपर्ने, लामो समयसम्म मुद्दा फछ्र्योट हुँदा हुने नोक्सान, प्रविधिमैत्री र गुणस्तरीय न्याय हुनुपर्नेमा जोड दिएका थिए ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रुएक लाख ५० हजारतलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मारु ३८ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।

काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।