`

राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट रङ्गशाला बनाइने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले क्रिेकट रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ । नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम मंगलबार वितरण गर्दै उहाँले भन्नुभयो, “क्रिकेट रङ्गशालालाई चाँडै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौँ ।”

“सबैभन्दा पहिला तपाईंहरूलाई बधाई छ । तपाईंहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “दश वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला ।”

नेपाली क्रिकेट टोलीले छनोट चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाली जनता र युवाको लगाव बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो लगावले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीमा अझ बढी हौसला बढाउन, उनीहरूका लागि बढी लगानी गर्न र खेलकुदका अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ ।”

खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउनसक्ने एउटा महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै प्रधानमन्त्रीले त्यसमा पनि क्रिकेटको भूमिका मुख्य रहेको उल्लेख गर्नुुभयो । उहाँले भन्नुभयो, “क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउँदै छौँ, भरतपुर, मुलपानी र कीर्तिपुरको काम पनि शीघ्र अगाडि बढाइन्छ । यसरी मात्र आम नेपाली खेलप्रेमी जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ ।”

केही कानुनी र प्रक्रियागत समस्याका कारण खेलाडीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने भनिएको पुरस्कार वितरणमा ढिलाई भएको स्वीकार गर्दै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा सरकार पूर्ण सचेत हुने बताउनुभयो ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेट खेललाई सरकारले दिएको महत्त्वबाट आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकामा खुसी छौँ ।” उहाँले कीर्तिपुर क्रिकेट रङ्गशालामा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रक्रिया अगाडि बढाएकामा सरकारलाई कृतज्ञता ज्ञापन गर्नुभयो । “सरकारको प्रयासप्रति हामी आभारी छौँ । बाँकी काम पनि चाँडै पूरा हुनेमा विश्वस्त छौँ”, कप्तान पौडेलले भन्नुभयो ।–

बन्दीपुरमा चालिस रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती

तनहुँ- जिल्लाको बन्दीपुर गाउँपालिकामा चालिस रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । भारतबाट आयात हुने फूललाई निरुत्साहित गर्दै स्वदेशमै उत्पादित फूलको प्रवर्द्धन गर्न फूलखेती थालिएको हो ।

बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का,कल्चोकमा नेत्रप्रसाद लामिछाने,नारायण लामिछाने लगायतका २० जना बढी किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् ।

बिगत चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको स्थानीय किसान तामप्रसाद भट्टले जानकारी दिनुभयो । अघिल्ला वर्षमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यसवर्ष चार रोपनी क्षेत्रफलमा फूलखेती गरेको उहाँले बताउनुभयो । उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गरेको छु,उहाँले भन्नुभयो, “प्रतिमाला रुदुई सयदेखि तीन सय ५० सम्म बिक्री गर्ने गरेको छु ।”

यसवर्ष करिब रुडेढ÷दुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्ट बताउनुहुन्छ । त्यसक्षेत्रका फूल उत्पादक किसानले सिजनमा रुएक लाख बढीसम्मको बिक्री गर्ने गरेका छन् । गाउँपालिकामा सयपत्री फूलखेती गरेसँगै तिहारको समयमा बाह्य देशबाट ल्याउनु नपरेको व्यवसायी बताउँछन् ।

भारतको तुलनामा नेपालमा फूल उत्पादनमा लागत बढी पर्ने भएकाले दसैँ तिहारका समयमा भारतबाट आउने फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अर्का किसान नारायण लामिछानेले बताउनुभयो । बिरुवा लगाएको चार महिनाभित्र फूल उत्पादन हुन्छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्ला समय व्यावसायिक किसानको यसतर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।

उक्त वडालाई बाह्रै महिना फूल उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।
आगामी वर्षदेखि उक्त वडामा नर्सरी बनाएर गाउँपालिकाले हाइब्रीड फूलको बीउमा अनुदान र प्राविधिक सहयोग उपलव्ध गराइने उहाँले बताउनुभयो ।

उक्त क्षेत्रमा गरिएको व्यावसायिक फूल खेतीको आफुले स्थलगत अवलोकन गरिसकेको अध्यक्ष थापाले बताउनुभयो । “फूलखेतीबाट आफू प्रभावित भएको बताउँदै अध्यक्ष थापाले आउँदो वर्ष समयमै गाउँपालिकाको सक्रियतामा किसानलाई प्रोत्साहन हुने किसिमले काम गर्ने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो ।

माओवादी गण्डकी प्रदेशसभा सदस्यको सात दिनको तलब भूकम्पपीडितलाई

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलले सात दिनको पारिश्रमिक जाजरकोट भूकम्पपीडितलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सो दलका प्रमुख सचेतक कुशुम बुढा पुनले दलको मंगलबारको बैठकले दलका सदस्यहरुको एक साताको पारिश्रमिक भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।“विपद् र शोकको घडीमा राहत र उद्धारमा सहयोग पु¥याउन दलको तर्फबाट सो सहयोग रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हौँ ।” पुनले भन्नुभयो । नेकपा (माओवादी केन्द्र) का गण्डकी प्रदेशसभामा सभामुखसहित आठ सदस्य रहनुभएको छ ।

माओवादी संसदीय दलले गत कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्थास्थ्य लाभको कामना गरेको छ । गण्डकी प्रदेशसभामा रहेका ठूला तीन वटै दलले भूकम्प प्रभावितका लागि राहत प्रदान गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसले प्रदेशसभा सदस्यहरुको १५ दिनको तलब राहत स्वरुप प्रदान गर्ने यसअघि नै घोषणा गरिसकेको छ । नेकपा (एमाले) ले पनि राहत कोषमा प्रदेशसभा सदस्यहरुको एक हप्ताको तलब जम्मा गर्ने निर्णय गरिसकेको छ ।जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा कास्कीका विभिन्न सङ्घ संस्था तथा निकायले सहयोग गरेका छन् । भूकम्प प्रभावितका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पनि राहत सामग्री पठाएका छन् । गण्डकी प्रदेश सरकारले प्रभावितहरुका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेको छ ।

यसैगरी पोखरा महानगरपालिकाले रु ५० लाख बराबरको राहत सहयोग गर्ने निर्णय गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीले दुवै जिल्लाका प्रभावितको लागि रु एक÷एक लाखको दरले राहत पठाएको छ ।

भूकम्प प्रभावितलाई बागमती प्रदेशमा कार्यरत कर्मचारीको एक करोड २५ लाख सहयोग

मनहरी – जाजरकोट भुकम्पपीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन् ।

बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो । गत कात्तिक १७ गते गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव घनश्याम उपध्यायले बताउनुभयो ।

बैठकले कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार राति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनःस्थापनाको लागि बागमती प्रदेशअन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवं सो सरहका पदाधिकारीको तीन दिनको तलब, अधिकृतस्तरका कर्मचारीको दुई दिनको तलब र अन्य सबै कर्मचारीको एक दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त रकम सङ्कलन गरी कर्णाली प्रदेश सरकारको खातामा जम्मा गरिने छ । प्रदेश सरकार मातहत कार्यरत प्रमुख सचिव, सचिवको तीन दिन बराबरको, उपसचिव र शाखा अधिकृतको दुई दिन बराबरको र अन्य कर्मचारीको एक दिनको तलब रकम अनुमानित रु एक करोड २५ लाख हुन आउने उपाध्यायले बताउनुभयो ।

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखु खेतीतर्फ आकर्षित

भजनी, २१ कात्तिक : बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती सुरु गरेको बताउनुभयो । “मिल सञ्चालकसँग समन्वय भएर नै उखु खेती सुरु गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “मिल सञ्चालन भयो भने किसानका लागि ठूलो अवसर सिर्जना हुने विश्वास छ ।”

प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले २०८१ सालमा चिनी मिल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको बताउनुभएको छ । “केही भागमा उखु खेती सुरु गरेका छौँ भने केही किसानलाई पनि उखु खेतीका लागि आग्रह गरेका छौँ”, प्रबन्ध निर्देशक ओलीले भन्नुभयो, “उखु उत्पादन हुँदै गर्दा आवश्यक उपकरण जडानको काम पनि सँगसँगै गर्ने गरी काम थालेका छौँ ।”

कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न रु दुई अर्बदेखि अढाइ अर्ब खर्च लाग्ने अनुमान कम्पनीको छ । मिल पूर्णरुपमा सञ्चालन गर्नका लागि पाँचदेखि छ हजार बिघा क्षेत्रफलमा उखु खेती आवश्यक पर्ने निर्देशक ओली बताउनुहुन्छ । मिल सञ्चालनमा आए पाँच सय बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँ अप्रत्यक्ष रोजगारीमा जोडिने अपेक्षा गरिएको छ । कम्पनीले प्राविधिक बाहिरबाट ल्याउने भएपनि अन्य कर्मचारी स्थानीयलाई प्राथमिकतामा राख्ने बताएको छ ।

बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् । “बलौटे माटोमा उत्पादन केही हुँदैन । वर्षातको समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ”, राजापुर नगरपालिका–८ का धर्मचन्द्र चौधरीले भन्नुभयो, “चिनी मिल सञ्चालन भयो भने हामीलाई धेरै राम्रो हुनेछ । म मात्रै नभई यसक्षेत्रका किसानलाई पनि ठूलो अवसरको रुपमा चिनी मिल बन्ने छ ।”

अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन हुँदा बर्दियाका किसानलाई मात्रै नभई छिमेकी पालिकाले पनि ठूलो लाभ लिनसक्ने बताउनुभएको छ । मिल सञ्चालन हुँदा उत्पादन नहुने कुनै पनि जग्गा खाली नरहने उहाँको विश्वास छ । “अहिले कैयौँ जग्गा प्रयोगमा छैन । बर्षातको समयमा बाढी र डुबान, हिउँदमा सिँचाइको समस्याले किसान उत्साहित भएर खेतीमा अग्रसर हुन सकेका छैनन्”, सुरेन्द्र चौधरी भन्नुहुन्छ, “चिनी मिल बर्दियाका लागि ठूलो अवसर हो । यसबाट किसानलाई मात्रै नभई अन्य नागरिकलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा हुनेछ ।”

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले चिनी मिल राजापुर क्षेत्रका लागि ठूलो सम्भावना बोकेको उद्योग बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले रोजगारीका अवसरदेखि किसानको सम्भावनालाई चिनी मिलले पूरा गर्ने बताउनुभएको छ । “स्थानीय सरकारको प्राथमिकता भनेकै रोजगारीका अवसर सिर्जना गर्नु र स्थानीय उत्पादनलाई मजबुत बनाउनु नै हो । नगरपालिकाले सबै संयन्त्रसँग समन्वय र सहकार्य गर्दै पनि आएको छ”, नगर प्रमुख थारु भन्नुहुन्छ, “स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा हामी सधैँ सकारात्मक र सहयोगी भावनाका साथ अगाडि बढेका छौँ । त्यसैको उपज चिनी मिल सञ्चालनमा आउनु पनि हुनेछ ।”

उहाँले राजापुर नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउनका लागि यस्तै दुई चारवटा अन्य उद्योग सञ्चालनमा ल्याउन जरुरी रहेको बताउनुभयो । “चिनी मिल सञ्चालनमा आयो भने सयौँले प्रत्यक्ष रोजगारी पाउने छन् भने हजारौँले अप्रत्यक्ष रोजगारीमा जोडिने छन्”, नगर प्रमुख थारुले भन्नुभयो, “यसरी दुईतीन अरु उद्योग सञ्चालनमा आउन सक्यो भने यसक्षेत्रका सबैले रोजगारी पाउने छन् । स्थानीय उत्पादनले बजार पाउने छ । अनि समृद्धि नगरपालिका बनाउन कुनै समस्या छैन ।”

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर किसानले उखु खेती सुरु गरेको बताउनुभयो । “उहाँहरुकै आग्रहमा किसानले उखु खेती सुरु गर्नुभएको छ । गुड मिल सञ्चालन गर्दै आएको मैले पनि थप उखु खेती विस्तार गरेको छु”, वडाध्यक्ष ठकुल्ला भन्नुहुन्छ, “बर्दियामा मिल सञ्चालन भए पनि त्यसले टीकापुरलगायतका छिमेकी पालिकालाई समेत मद्दत मिल्ने छ ।”
 

हेर्नुहोस् कार्तिक २२ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे / मेष राशि – प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

बृष राशि – अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीथुन राशि – सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि – मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

तुला राशि – प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि – मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि – पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि- आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि – बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मिन राशि- ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

स्वर्ण पदक विजेता खेलाडी स्वदेश फिर्ता

काठमाडौँ, २१ कात्तिक : दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली आज स्वदेश फर्किएका छन् ।

बङ्गलादेशको राजधानी ढाकामा यही कात्तिक १३ देखि १९ गतेसम्म भएको उक्त प्रतियोगितामा रबिन्स तामाङले नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपको सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट साम्बो र स्पोर्ट्स साम्बोमा रविन्सले नेपाललाई दुई स्वर्ण पदक दिलाएका हुन ।

त्यस्तै पुरुष ८८ केजीभन्दा माथिको तौल समूहमा सिजेश श्रेष्ठले नेपाललाई दुई काँस्य पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले मात्र सहभागिता जनाएका थिए । पदक विजेता टोलीलाई साम्बो फेडेरेसनका कार्यबाहक अध्यक्ष पुरुषोत्तम सिम्खडा, उपाध्यक्ष बाबुराजा महर्जन, महासचिव उत्तम श्रेष्ठ, उपमहासचिव कृष्णबहादुर राउतलगायतले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा एक लाख ११ हजार सहयोग

काठमाडौँ, २१ कात्तिक : डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गरेको छ ।एसोसिएसनले आज भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम सहयोग गरेको एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।

डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौँको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक क्षति भई बासस्थानको भएकाका लागि तत्काल बसोबास र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

डिएलएले भूकम्पबाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस दुःखद् परिस्थितिमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णलाई मानवीय सेवामा सहयोग गर्न डिएलएले आग्रह गरेको छ ।

भूकम्पपीडितलाई कांग्रेस तनहुँको सहयोग

यसैबीच नेपाली कांग्रेस तनहुँले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको आज सम्पन्न बैठकले भूकम्पपीडितलाई रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

जसअनुसार पार्टीका तर्फबाट रु २५ हजार सहयोग गरिएको छ । त्यस्तै जिल्ला कार्यसमिति र गण्डकी प्रदेश कार्यसमितिका सदस्यबाट रु ३४ हजार सङ्कलन भएको छ । थप राहत सङ्कलनका लागि जिल्ला उपसभापति देवकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त समितिले पार्टीका सबै तहबाट सहयोग सङ्कलन गर्नेछ । रु एक लाखभन्दा बढी सङ्कलन गरेर प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ ।”

बैठकले भूकम्पबाट घरबारविहीन भएकालाई आवश्यक राहत तदारुकताका साथ समयमै पु¥याउन र घाइते भएका सबैको उपचार यथाशीघ्र गर्न सङ्घीय एवं प्रदेश सरकारसँग अनुरोध गरेको छ । बैठकले भूकम्पबाट कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्य हुनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

भूकम्पपीडितका लागि आइएसएमटी कलेजको रु पाँच लाख

यसैगरी जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण मृत्यु भएकाको सहयोगार्थ आइएसएमटी कलेजले रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ ।

यही कात्तिक १७ गते शुक्रबार मध्यरातिमा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण मृत्यु भएकाहरुलाई सहयोगार्थ क्याम्पसले रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको आइएसएमटी कलेजका अध्यक्ष योगेश उप्रेतीले जानकारी दिनुभयो ।

‘भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशील छ’ – राष्ट्रपति

रुकुम, २१ कात्तिक : जाजरकोटका भूकम्पपीडितलाई भेटेर रुकुमपश्चिम पुग्नुभएको राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक राज्य हुनुको अनुभूति जनतालाई गराउन सरकार सक्रिय भएर लागेको बताउनुभयो । उहाँले भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

रुकुमपश्चिममका भूकम्पपीडितसँग आज अपराह्न भएको भेटमा राष्ट्रपतिले विपत्तिबाट उत्पन्न परिस्थितिको सामना गर्न राज्य संयन्त्र भूकम्पपीडितको साथमा रहेको बताउनुभयो । उहाँले पीडितको पुनःस्थापना, उनीहरूको सुविधा सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित भएकाले नआत्तिन अनुरोध गर्नुभयो । राज्यलाई नोक्सानीको सही सूचना दिएर राहत र पुनःनिमाणको कार्यमा सहयोग गर्नसमेत उहाँले अनुरोध गर्नुभयो ।

भूकम्पपीडितसहित जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारीलगायत रहेको भेलामा राष्ट्रपतिले पीडितलाई राहत, अस्थायी आवास र उनीहरूको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्न निर्देशन गर्नुभयो ।

राष्ट्रपति पौडेलसमक्ष प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लामा भएको मानवीय र भौतिक क्षतिको अवस्था र तत्कालको आवश्यकताबारे जानकारी गराउनुभएको थियो । उहाँले जिल्लामा ५२ जनाको मृत्यु भएको र १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षति भएका जानकारी दिनुभएको थियो ।

टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने निर्णय

काठमाडौँ, २१ कात्तिक : अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा आज बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले १५ जना खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापकसहित १९ जनालाई नगद पुरस्कार पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।यही कात्तिक १७ गते मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सेमिफाइन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

भूकम्पमा परी अपाङ्गता भएकाको मागः हामीलाई प्राथमिकता दिइयोस्

भेरीगङ्गा (सुर्खेत), २१ कात्तिक ः रुकुम आठबिसकोट नगरपालिका–१३ सोताका भरत जङ्ग दृष्टिविहीन हुनुहुन्छ । हिँड्डुल गर्न उहाँलाई अरूको सहायता चाहिन्छ । उहाँको श्रीमती पनि शारीरिक अपाङ्गता हुनुहुन्छ । गाउँमै जसोतसो सानो घर बनाएर बस्ने जोहो गर्नुभएका भरतको घर यही कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त बनायो । घर भत्के पनि धन्नले ज्यान जोगाउन सफल भएका उहाँका दम्पति अहिले राहातको पर्खाइमा हुनुहुन्छ ।

सरकारले राहत वितरण त सुरु गरे पनि उहाँहरुले राहतको नाममा एउटा त्रिपाल मात्रै पाउनुभएको छ । “घरमा खाने अन्न पनि छैन । घर पनि भूकम्पले ध्वस्त बनायो । आफैँ अपाङ्ग छौँ,” भरत दुखेसो पोख्नुहुन्छ , “सरकारले यस्तो बेलामा हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरु जो भूकम्पपीडित भएका छौँ, उनीहरुलाई पहिलो प्राथमिकता राखेर राहत दिनुपर्ने हो तर त्यसो हुन सकेको छैन ।”

“हरेक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसकेको र भूकम्पका कारण अझै पीडित बन्नुपरेको छ ”, उहाँ भन्नुहुन्छ, “अपाङ्गता भएका व्यक्तिहरुको पहुँच हरेक क्षेत्रमा कमजोर छ । अझै यो भूकम्पका कारण पीडित बनेका हामीजस्ता अन्य व्यक्ति पहुँच नपुगेरै त होला राहत पाउन सकेका छैनन् ।”

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ कल्लेरीका डिलसरा बोहोरा खड्काको पनि शारीरिक त्यस्तै छ । राम्रोसँग हिँड्डुल गर्न नसक्ने उहाँको घर पनि भूकम्पले भत्कायो । घर भत्किने बेलामा घरमाथिबाट बाँच्ने आसले श्रीमान्श्रीमती नै हाम फाल्दा श्रीमान् सामान्य घाइते हुनुभयो । उहाँको ढाडमा चोट लागेको छ । छिनभरमै घरबारविहीन बन्नुभएकी डिलसराको परिवार अहिले खुल्ला आकासमुनि बस्दै आएको छ । अहिलेसम्म सहयोगका लागि कोही पनि नआएकाले वडाध्यक्षलाई फोन गरेर राहतको पहल गरिदिनको अनुरोध गरिरहे उहाँले पनि राहत पाउनुभएको छैन ।

“म खुट्टाले हिँड्न नसक्ने मान्छे भूकम्पमा परी धन्नले बाँचे । घर भत्कियो, अहिलेसम्म के कति क्षति भयो भनेर कसैले वास्ता नगरेपछि वडाध्यक्षलाई राहतको लागि पहल गरिदिन फोन गरिरहेको छु ।” उहाँको बिलौना छ, सबैभन्दा पहिले भूकम्पले हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरु के कति छन् खोज्नुप¥यो अनि सरकारले पहिलो प्राथमिकतामा राखेर राहत दिनुपर्छ ।”

जाजरकोट भेरी नगरपालिका–३ का लोकेन्द्र कार्की हेमोफिलियासम्बन्धी अपाङ्गता हुनुहुन्छ । उहाँ कात्तिक १७ गते टिभी हेर्दै हुनुहुन्थ्यो । भूकम्प आएपछि घरको छतले उहाँ पुरिनुभयो । धेरै पटक बोलाउँदा पनि कसैले सुनेनन् तर धेरै समयपछि लोकेन्द्रको उद्धार भयो । घाइते हुनुभएका उहाँ अहिले बाँकेको भेरी अस्पतालमा उपचार गराइरहनुभएको छ । लोकेन्द्रको परिवार पनि अहिले घरबारविहीन भएको छ । जिल्ला सदरमुकाम भएको हुँदा उहाँले केही रुपमा राहत त पाइरहे पनि अपाङ्गता भएका अन्य व्यक्तिहरु भूकम्पको चपेटामा परे पनि अहिलेसम्म राहत पाएका छैनन् ।

“सरकारले यस्तो विपद्को बेलामा हामीजस्ता अपाङ्गता व्यक्तिहरुलाई ध्यान दिनुपर्छ । उनीहरु यस्तो बेलामा धेरै पीडामा परेका हुन्छन् । राहत सामग्री पनि पहिलो प्राथमिकतामा राखेर दिनुपर्छ तर त्यसो भएको देखिँदैन । कति अपाङ्गता भएका व्यक्तिहरु अहिले झन पीडित छन् त्यसको यकिन डाटा पनि सङ्कलन भएको छैन,” लोकेन्द्र भन्नुुहुन्छ ।

विपद्को बेला सबैभन्दा समस्या र जोखिममा अपाङ्गता भएका व्यक्तिहरु पर्दै आएका छन् । पहुँचयुक्त संरचना नहुँदा उनीहरु समस्यामा पर्दै आएका छन् । बाढी, पहिरो र भूकम्पजस्ता विपद्का घटनामा अपाङ्गता भएका व्यक्तिहरु झनै जोखिममा हुन्छन् । यस्तो बेलामा पहिलो प्राथमिकता राखेर सरकारले राहत र पुनःस्थापनाको काम गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
अपाङ्गताको क्षेत्रमा काम गर्दै आउनुभएका अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका जितलाल ढकाल भूकम्पमा परी कति अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेका छन् भनेर डाटा पनि सङ्कलन नगरिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भूकम्पले कति जनधनको क्षति ग¥यो यस्तो बेलामा अपाङ्गता भएका व्यक्तिहरु अझै कति पीडित हुनुहुन्छ तर सरकारले कति व्यक्ति घाइते भए, कति अपाङ्गता भएका व्यक्तिहरु घरबारविहीन भए भनेर कुनै तथ्याङ्क ल्याएको छैन, यो दुःखद हो । सबै व्यक्तिलाई एउटै डालोमा हालेर राहत र पुनःस्थापनाको काम गर्दा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसक्ने चिन्ता रहेको छ ।”

सरकारले भने कोही कसैलाई पनि पहुँचबाट टाढा नराख्नेगरी एकद्वार प्रणालीबाट राहत र पुनःस्थापनाको काम गरिने बताउँदै आएको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी अपाङ्गता भएका तीन व्यक्ति घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ । जाजरकोटको जम्मा जनसङ्ख्याको पाँच र रुकुम पश्चिममा चार प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क छ ।

प्रदेश निजामति सेवा ऐनमाथिको सैद्धान्तिक छलफल सकियो

विराटनगर, २१ कात्तिक : कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । बिनाविभागीयमन्त्री शम्शेर राईले सदनमा पेस गर्नुभएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, गोम्बू शेर्पा, विदुरकुमार लिंथेम र प्रदीपकुमार सुनुवारले धारणा राख्नुभयो ।

उहाँहरुले कोशी प्रदेश सरकार र जनतालाई सुमधुर सम्बन्ध स्थापना महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजामती सेवा ऐन त्रुटिरहित हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले प्रस्तुत विधेयकको मस्यौदामै धेरै त्रुटि देखिकाले ऐनलाई समृद्ध बनाउन दफावार छलफल गर्नुपर्ने, कर्मचारी नियुक्ति, सरुवा र बढुवा तथा योग्यता ऐनमै स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो ।

सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका तर्फबाट बिनाविभागीयमन्त्री राईले जवाफ दिँदै सुशासनबिना विकासको कल्पना गर्न नसकिने भएकाले यो विधेयकमा पर्याप्त छलफल हुने बताउनुभयो । उहाँले सैद्धान्तिक छलफलमा उठेका विषयमा गम्भीर भएर बहस र छलफल गरी त्रुटिरहित विधेयक बत्रेमा विश्वास व्यक्त गर्नुभयो ।

आजको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता निर्मला लिम्बूले कर्णाली प्रदेशमा आएको भूकम्पबाट भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेता लिम्बुले ताप्लेजुङको सुदूरपूर्व हिमाली क्षेत्रमा रहेका जनतालाई सेवासुविधा पु¥याउन सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । उहाँले ताप्लेजुङकै तिपला भञ्ज्याङको बाटो खोल्न सरकारसँग माग गर्नुभयो ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरु खड्गबहादुर बस्नेत, गोविन्द गिरी र सदानन्द मण्डल मुलुकको समसामयिक विषयमा धारणा राख्नुभएको थियो । कोशी प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

कांग्रेसका प्रदेशसभा सदस्यको १५ दिनको तलब भूकम्पपीडितलाई

लेखनाथ (पोखरा), २१ कात्तिक : नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको १५ दिनको तलब भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले उक्त निर्णय गरेको हो । सो रकम नेपाली कांग्रेस, केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कांग्रेसले भूकम्पप्रभावितलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोध गरेको छ ।

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

काठमाडौँ, २१ कात्तिक : कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो ।

बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो । वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।

व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि खोपको म्याद सकिने थालेको बताउनुभयो । उहाँले खोपको म्याद सकिन थालेकाले अब प्रयोग गर्न नसकिने बताउनुभयो । “अहिले कोरोना भाइरसको महामारी पनि छैन । खोपको म्याद पनि सकिन थालेको छ । त्यसैले अव हामी प्रयोग गर्न सक्दैनौ”, उहाँले भन्नुभयो ।

खोपको म्याद यही पुस ७ गतेसम्म मात्र छ । उहाँले खोप त्यतिकै खेर जान थालेपछि उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरिएको बताउनुभयो । “हामीले दुई पटकसम्म खोप के गर्ने भनेर मन्त्रालयलाई पत्राचार गरिसक्यौँ”, उहाँले भन्नुभयो, “अब मन्त्रालयले जे गर्न निर्देशन दिन्छ । त्यही गर्दछाँै ।”

नेपालमा पहिलो र दोस्रो मात्रा खोप लगाउन मानिस नभएको र बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि ४० लाख खोप प्रयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल गरी अन्य देशमा पठाउन पठाउन अनुरोध भएको थियो ।

आपूर्ति व्यवस्थापन शाखाको प्रमुख डा सुरेन्द्र चौरसियाले विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि खोप नलगाइको बताउनुभयो । “कोरोना महामारीको बेला खोपको माग गरेर आएको हो । तर खोप नेपाल आउँदा धेरै मानिसले पहिलो र दोस्रो मात्रा खोप लगाइसकेका थिए”, उहाँले भन्नुभयो, “खोपलाई डब्लुएचओले बुस्टरका लागि प्रयोग गर्न नमिल्ने भनेपछि हामीले खोपको प्रयोग गर्न सकेनौँ ।” त्यतिबेला बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो । डब्लुएचओले प्रयोग नगर्ने भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले खोप नलगाउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले खेर जान थालेको खोपबारे अझै निर्णय नभएको बताउनुभयो । उहाँले चीन बाहेक अन्य देशमा पठाउन नसके यही खोपलाई ‘डिस्पोजल’ गरिने बताउनुभयो । अहिलेसम्म नेपालमा छ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप आइसकेको छ ।

विपत् व्यवस्थापन र प्रतिकार्य सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पाण्डे

गण्डकी, २१ कात्तिक ः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् व्यवस्थापन र प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकार र नेपाली सेना पश्चिम पृतना हेडक्वाटर्सद्वारा संयुक्त रुपमा विपत्मा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि आयोजित सि.सं.१ फायर फाइटिङ तालिम समापन समारोहमा उहाँले विपद्जन्य घटनाको न्यूनीकरण, सबै संयन्त्रको समन्वयात्मक ढङ्गबाट परिचालन तथा प्रतिकार्य गर्न र पीडितलाई राहत प्रदान गर्न सरकार सदैव तयार रहेको बताउनुुभयो ।

“विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रुपमा आर्थिक स्रोतसमेत सुनिश्चित गर्दै आएको छ”, मुख्य मन्त्री पाण्डेले भन्नुभयो, “जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुरोध भई आएका विषयमा राहत तथा क्षतिपूर्ति वितरण, विपद् उद्धारका लागि प्रयोग हुने सामग्रीहरू वितरण, विभिन्न किसिमका विपद् नमूना अभ्यास, कम्युनिटी सर्च एन्ड रेस्क्युजस्ता तालिमहरू सञ्चालन हुँदै आएको छ ।”

विपद् व्यवस्थापन र प्रतिकार्यमा नेपाली सेना तथा सबै सुरक्षा निकायले समन्वयात्मक रुपमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उहाँले यस तालिमले सबै सुरक्षा निकायको आगलागी नियन्त्रण क्षमता अभिवृद्धिसँगै उद्धारमा संलग्न हुने सम्पूर्ण निकायमा आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

गत वर्ष गण्डकी प्रदेशमा दुई सय ७० स्थानमा आगलागी हुँदा १० जनाको मृत्यु, ३९ जना घाइते हुनाका साथै अनुमानित रु आठ करोड ८४ लाख ६१ हजार बराबरको क्षति भएको थियोे ।

पश्चिम पृतना हेडक्वाटरका पृतनापति दीपक बानियाँले गण्डकी प्रदेश सरकारको पहलमा गरिएको यस तालिमले विपत् व्यवस्थापन एवम् प्रतिकार्यमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरोकारवाला निकायसँग सहकार्य गर्दै विपत् व्यवस्थापन एवम् प्रतिकार्य गर्दै आइएको र सरोकारवाला निकायको सहकार्य तथा समन्वयबाट विपद् जोखिमी न्यूनीकरणसँगै विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभयो ।

पृतना तालिम अधिकृत प्रमुख सेनानी विक्रमदेव गिरीले गण्डकी प्रदेश सरकारको वार्षिक विकास कार्यक्रमअन्तर्गत विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि पृतना हेडक्वाटरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका शिक्षार्थीलाई सहभागी गराई कात्तिक १३ गतेदेखि आठदिने फायर फाइटिङ तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

तालिममा गण्डकी प्रदेशस्थित नेपाली सेनाका ३०, नेपाल प्रहरीका १० र सशस्त्र प्रहरी बलका १० गरी ५० जनाको सहभागिता थियो । कार्यक्रममा फायर फाइटिङको विभिन्न नमूना अभ्यास गरिएको थियो ।

कोरला नाका कात्तिक २७ गतेदेखि सञ्चालन हुने

म्याग्दी, २१ कात्तिक ः मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बताउनुभयो ।

“सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट कोरला नाका सञ्चालन गर्न भएको कूटनीतिक पहल सफल भएको छ,” उहाँले भन्नुभयो, “लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।”

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनमा ल्याउने तयारी भएको जनाएको थियो । यसैगरी मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो ।

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिका वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।

उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

“प्रवेश पास भएका नागरिकले जुुनसुुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,” उहाँले भन्नुभयो, “कोरला नाकाको नजिकै रहेको नेचुुङ भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिका लागि तयारी गरिएको छ ।”

नेचुङ सशस्त्र प्रहरी बल (विओपी)को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ ।सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।

विसं २०५८ सम्म रोकतोक नरहेको सीमामा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो ।

भूकम्पपीडितलाई सञ्चार मन्त्रालयको सहयोग

काठमाडौँ, २१ कात्तिक : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहत निकायका कर्मचारीले भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

राजपत्राङ्कित विशिष्ट/प्रथम श्रेणी वा दश तह र सोभन्दा माथिका कर्मचारीले तीन दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणी वा छ तहदेखि नौ तहसम्मका कर्मचारीले दुई दिन र सहायकस्तरका सम्पूर्ण कर्मचारीले एक दिन बराबरको तलब सहयोग प्रदान गर्नेछन् ।

यही कात्तिक महिनाको मासिक पारिश्रमिकबाट नै कट्टा हुने गरी सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ । यो सहयोगका अतिरिक्त सम्पूर्ण निकायले आफूले सकेको र आफ्नो भूमिका क्षेत्रभित्र पर्ने एवं थप योगदान गर्न सक्षमता एवं इच्छा भएमा आर्थिक, भौतिकलगायत अन्य सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा महाशाखा प्रमुख, विभागका महानिर्देशक र मन्त्रालयका शाखा प्रमुख तथा निकायका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकले प्रभावित क्षेत्रमा सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिने र सोको अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले भूकम्पमा परी मृत्युवरण गरेकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न विश्व हिन्दू महासङ्घको माग

अर्घाखाँची, २१ कात्तिक : विश्व हिन्दू महासङ्घ जिल्ला कार्य समितिले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गरेको छ । महासङ्घले आज आयोजना गरेको हिन्दू धर्मसम्बन्धी अन्तक्र्रियामा विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष दधिराम शर्माले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले हिन्दू राष्ट्र घोषणा हुन नसके नेपालकै अस्तित्व खतरामा रहेको जिकीर गर्नुभयो । विश्व हिन्दू महासङ्घका केन्द्रीय सचिव पुनाराम पोख्रेलले विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो । संस्कृत भाषा विश्वको मुख्य र पुरानो भाषा हुँदा पनि यसको महत्त्व नेपालले बुझ्न नसकेको उहाँको टिप्पणी थियो ।

कार्यक्रममा विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य लोकनाथ पाण्डे, प्रदेश सचिव कमलकान्त पौडेल हिन्दू धर्म रक्षा परिषद् नेपाल केन्द्रीय अध्यक्ष नारायण खनाललगायतले देशलाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत समाजवादीद्वारा सरकारलाई सहयोग

काठमाडौँ, २१ कात्तिक : नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट भूकम्पपीडितका लागि रु २५ लाख राहत रकम हस्तान्तरण गरेको छ ।पार्टी अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्षद्वय राजेन्द्र पाण्डे र प्रमेश हमालसहितको टोलीले बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेक हस्तान्तरण गरेको हो ।

गत शुक्रबार जाजरकोट भएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित तथा प्रभावितको उद्धार एवं राहतका लागि एकीकृत समाजवादीले राहत रकम सहयोग गरेको हो ।

प्रधानमन्त्री दाहालले सहयोगका लागि अध्यक्ष नेपाललाई धन्यवाद दिँदै प्रभावितलाई व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पार्टीको सचिवालय बैठकले सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

अवैध लागूऔषधसहित छ जना पक्राउ

काठमाडौँ, २१ कात्तिक : अवैध लागूऔषध खैरो हेरोइन दुई सय ४४ ग्राम, नाइट्रोभेट एक सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार चार सय १५ क्याप्सुलसहित छ जनालाई नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका–३ बस्ने ३८ वर्षीय गङ्गालाल बिक, काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका–१४ बस्ने ३७ वर्षीय झरेन्द्रबहादुर ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २७ वर्षीय सन्दिप इटानी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूमध्ये सपना रायमाझी र गङ्गालाल बिकलाई अवैध लागूऔषध खैरो हेरोइन ८१ ग्राम पाँच सय मिलिग्रामसहित काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट कात्तिक १५ गते, दीपक श्रेष्ठ र दीपेश डङ्गोल महर्जनलाई लागूऔषध खैरो हेरोइन एक ग्राम आठ सय मिलिग्राम, ट्रामाडोल १७ हजार चार सय १५ क्याप्सुल र नाइट्रोभेट एक सय १२ ट्याब्लेटसहित काठमाडौँ चावहिलबाट कात्तिक १६ गते पक्राउ गरिएको हो । यसैगरी झरेन्द्रबहादुर ठकुरी र सन्दिप इटानीलाई लागूऔषध खैरो हेरोइन एक सय ६० ग्राम छ सय मिलिग्रामसहित काठमाडौँ तारकेश्वर नगरपालिका–४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौं, महानगरपालिका–१४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा छ सय एम्पुल, चक्कु दुई थान, विभिन्न कम्पनीका मोबाइल तीन थान र नगद ५७ हजार छ सय रूपैयाँसहित पर्सा हरिहरपुर गाउँपालिका–११ घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ७० वर्षीय रामचन्द्र चमार समेत तीन जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

जुवा खेल्दा खेल्दै सात जना पक्राउ
बूढानीलकण्ठ नगरपालिका–११ कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेष्टुरेन्ट एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।उक्त स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ललितपुर गोदावरी घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३५ वर्षीया मिरू तामाङसमेत सात जनालाई नगद रु २३ हजार छ सय ८० र आठ दाना ओखरसहित पक्राउ गरेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

ठूलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा उपराष्ट्रपतिद्वारा युएईलाई आभार व्यक्त

काठमाडौँ, २१ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठूलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति आभार प्रकट गर्नुभएको छ ।

उपराष्ट्रपति कार्यालय लैनचौरमा आज नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीसँगको भेटमा उहाँले युएईले स्वास्थ्य, शिक्षा, अन्तरिक्ष प्रविधि, ऊर्जा, कृतिम बौद्धिकता र नवप्रवर्तन लगायतको क्षेत्रमा हासिल गरेको प्रगतिका लागि बधाई दिनुभयो ।

“नेपालले युएईको मानव संशाधनको आवश्यकता पूर्तिमा योगदान पु¥याउँदै आएको छ”, भेटमा उपराष्ट्रपति यादवले भन्नुभयो, “पछिल्लो समय दुई मुलुकबीच समन्वय र सहकार्यको क्षेत्र फराकिलो भएको छ ।” नेपालमा भव्य प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव, आतिथ्य र विविध साहसिक पर्यटनका अवसर रहेको उल्लेख गर्दै उहाँले व्यस्त आधुनिक शहरी जीवनभन्दा फरक ढङ्गले बिदा मनाउन इमिराती पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत अल शाम्सीले नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पछिको पुनः निर्माणमा आफ्नो मुलुकले सहयोग गर्न चाहेको बताउनुभयो । “युएई नेपालसँगको आपसी साझेदारीलाई थप बलियो बनाउन चाहन्छ”, उहाँले भन्नुभयो, “आगामी कोप–२८ सम्मेलनमा नेपाल आफ्नो बलियो तयारीका साथ प्रस्तुत हुनेमा म विश्वस्त छु ।”राजदूत अल शाम्सीले दुई मुलुकबीच उच्चस्तरीय भ्रमणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै आफूले बढीभन्दा बढी इमाराती पर्यटकलाई नेपाल भित्र्याउन प्रयास गर्ने बताउनुभएको थियो

जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत

काठमाडौँ, २१ कात्तिक : जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कात्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितलाई गैरआवासीय नेपाली सङ्घले आज राहत सामग्री हस्तान्तरण गरेको छ ।

भूकम्पपीडित घरपरिवारका लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । सङ्घले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल दुई सय थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल चार सय जोर, चामल चार सय बोरा, दाल सय केजी, एक हजार लिटर तेल, पाँच सय केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको हो ।

यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामग्री वितरण गरिएको सङ्घले जनाएको छ । विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीको गाँस काटेर सङ्कलन भएको सहयोग भूकम्पपीडित समक्ष वितरण गर्न पाउँदा सन्तोष मिलेको सङ्घले जनाएको छ । सन् २०१५ मा गएको गोरखा भूकम्पमा समेत गैरआवासीय नेपाली सङ्घले पाँच सयभन्दा बढी स्वयंसेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको थियो । जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा विदेशमा बस्ने नेपालीले सहयोग गर्ने सङ्घको प्रतिबद्धता छ ।

नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ, २१ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको, नेपालमा लगानीका लागि उपयुक्त कानुन र वातावरण रहेको तथा लगानीकर्तालाई सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले विश्वास दिलाउनुभयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ३७औँ ‘क्यासी’ सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताउनुुभयो । एसिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासङ्घले पहल गर्ने थप स्पष्ट पार्नुभयो ।

क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुुर्‍याउन तयार रहेको प्रतिबद्धता जनाउनुुभएको महासङ्घले जनाएको छ । भेटवार्तामा अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव डा बैकुण्ठप्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यको उपस्थिति थियो । निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ यस संस्थाको संस्थापक सदस्य रहेको छ ।

‘सहाराविहीनको सहारा सरकार हो’ – राष्ट्रपति

काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिका बेला आडभरोस गर्ने कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गर्नुभएको छ । सबैले मिलेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले सहारविहीनको सहारा सरकार हुने बताउनुभयो । जाजरकोट भूकम्पबाट भएको क्षति तथा भूकम्पपीडितको अवस्थाबारे जानकारी लिन आज भूकम्पको केन्द्रविन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयसँगको छलफलमा विपत्तिको मिलेर सामना गर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई बताउनुभयो ।

“ दैवी विपत्तिले सृजना गरेको अहिलेको विषम अवस्थामा हाम्रो कोही छैन भन्ने नठान्नु होला, हामीलाई सघाउने सरकार छ भन्ने ठान्नुहोला,” राष्ट्रपतिलाई उद्धृत गर्दै सल्लाहकार पोखरेलले बताउनुभयो ।

विपद्को समयमा युद्धस्तरमा काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले जनप्रतिनिधिलाई भूकम्पको क्षतिको वास्तविक तथ्याङ्क राख्न र पीडित नठगिउन भन्नेतर्फ सचेत हुन पनि सुझाव दिनुभयो । उहाँले राहत सामग्री वास्तविक भूकम्पपीडितले प्राप्त गर्ने सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।

जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भूकम्प प्रभावितको आवश्यक प्रबन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्ने उहाँले बताउनुभयो । राष्ट्रपतिले पौडेलले विगतमा जाजरकोट झाडाबान्ताको महामारीबाट प्रभावित भएका बेला पनि आफू यस क्षेत्रका जनतामाझ आएको सम्झना गर्दै अहिले पनि आफू पीडित जनताका साथमा रहेको बताउनुभयोे ।

राष्ट्रपतिले अस्थायी बसोवासको तत्काल प्रबन्ध गर्न, जाडो र वर्षायाममा समस्या नहुने गरी आवासको व्यवस्था गर्न तथा उपयुक्त स्थान पहिचान गरी घर निर्माण गर्न सुझाउनुभयो ।राष्ट्रपति पौडेलले जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेलाई भेट्नुभएको थियो भने भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग छलफल गर्नुभएको थियो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले चार हजार तीन सय घरमध्ये दुई सय ४० पूर्णरुपमा ध्वस्त भएका, एक हजार आठ सय ९१ उच्च जोखिममा रहेका र एक हजार परिवार विस्थापित भएका जानकारी दिनुभएको थियो । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवं् रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्थ्यो ।

भूकम्पपीडितलाई माओवादीको ५० लाख सहयोग

काठमाडौँ, २१ कात्तिक : नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैबीच, सूर्य नेपाल प्रालिले भूकम्प प्रभावितको राहतका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ । सूर्य नेपालका उपाध्यक्ष रवी केसी प्रधानमन्त्री दाहाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठसँग फ्रिडम फण्डका पदाधिकारीको भेट

काठमाडौँ, २१ कात्तिक : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग फ्रिडम फण्डका पदाधिकारी तथा प्रतिनिधिले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरूबीच नेपाल सरकारका प्राथमिकता र फ्रिडम फण्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको थियो ।

श्रमिक एवं कामदारमाथि हुने घरेलु, लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पुर्‍याउँदै आएको फ्रिडम फण्डले नेपाल सरकारसँगसमेत सहकार्यको प्रस्ताव गरेको थियो । त्यसक्रममा टोली प्रमुख नताशा डोल्बीले अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणसम्बन्धि कानुन निर्माण र लागू गरेकामा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गर्नुभएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले कृषि, जलविद्युत्, पर्यटन र जडिबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताउनुभयो । राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने मूल लक्ष्यमा वर्तमान सरकारको मूल जोड रहेको र सबै सहकार्य र सहयोग त्यसैमा केन्द्रित होस् भन्ने चाहना आफूहरूको भएको उहाँले बताउनुभयो ।

सन् २०२६ देखि नेपाल विकासशील देशमा स्तरोन्नति हुने भएकाले पनि भौतिक र सामाजिक विकासको रफ्तारलाई अघि बढाउन सहयोगको खाँचो रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । टोली प्रमुख र प्रतिनिधिहरूले राजनीतिक परिवर्तन र भौतिक विकासलाई सामाजिक न्यायसहित अगाडि बढाउने सरकारको प्राथमिकताको प्रशंसा गर्नुभएको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान

काठमाडौँ, २१ कात्तिक : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनेछ ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल हुने अध्यक्ष नेपालले जानकारी दिनुभयो । नेपाली प्रतिनिधिमण्डल यही कात्तिक २८ गते स्वदेश फर्कनेछ ।

वर्षा र हिमपातको सम्भावना, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

काठमाडौँ, २१ कात्तिक : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि कात्तिक २२ गते बुधबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कात्तिक २३ गते बिहीबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

जानकी (बाँके), २१ कात्तिक : जमुना बुढामगर भर्खर १९ वर्षको हुनुभयो । केही दिनअघि गएको भूकम्पका कारण उहाँले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाउनुभयो । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहनुहुन्छ । भूकम्पबाट घाइते उहाँ हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाकोे गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उहाँले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्णरूपले फर्किएको छैन । श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उहाँ अस्पतालको शैययामा छटपटिरहनुभएको छ ।

जमुना एकसुरमा कहिले राम्रैसित बोल्नुहुन्छ भने कतिबेला बोल्दै बोल्नुहुन्न । निकै कम बोल्नुहुन्छ । जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउनुहुन्छ । जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आउनुभएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिहुन्छ ।

“छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे”, आमा पवित्राले भन्नुभयो, “एक्लै–एक्लै आफँैसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।” भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उहाँलाई छोरीको चिन्ताले सताइरहेको छ ।

शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुग्नुभएको थियो । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताउनुभयो ।

“हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ । उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ”, भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिनुभएका उहाँले भन्नुभयो । जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्र मरेको शिशुलाई निकालिएको छ । शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसान.घाटमा नै गरिएको बुवा भागिरामले बताउनुभयो ।

जमुनाको उद्धार गर्न जाजरकोट पुग्नुभएका भागीराम र उहाँकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो । “हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ । गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ । त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ भूकम्पले हाम्रो पनि घर चर्किएछ ।” दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए ।

अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरचाह गर्न श्रीमान्सँगै आउनुुभएकी आमा पवित्रा भन्नुहुन्छ, “जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला”, उहाँले भन्नुभयो, “अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।”

आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।

भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो । दुई जना निको भई घर फर्किएका छन् भने एक जनाको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिनुभयो ।

विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुट्दै, तीन करोड जुट्यो

गलकोट (बागलुङ), २१ कात्तिक : बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ ।

विपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ । सहयोग सङ्कलन गरिएको रु तीन करोडमध्ये रु ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ ।

अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा झण्डै रु एक करोड खर्च भइसकेको अध्यक्ष आचार्यले बताउनुभयो । उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट रु ५० लाख, बागलुङ नगरपालिकाबाट रु २० लाख र जैमिनी नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन भई फछ्र्योट भइसकेको छ । यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट रु एक करोड ५९ लाख र जापानबाट रु ५० लाख सङ्कलन भएको छ ।

“सहयोग जुटाएरै आधुनिक भवन निर्माण थालिएको छ”, अध्यक्ष आचार्यले भन्नुभयो “अबको तीन वर्षमा भवनले सार्थकता पाउला भन्ने आशा छ, सहयोग उठ्ने क्रम जारी छ ।” नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले सहयोग सङ्कलन अभियानलाई स्वदेशमा मात्रै नभएर विदेशमा समेत चलाइएको बताउनुभयो । शेरचन हालैमात्र जापान भ्रमणमा पुगेर भवन निर्माणका लागि रु ६० लाख सहयोग सङ्कलन गरेर फर्कनुभएको छ । रु १० करोड सहयोग जुटाउने नेपाली कांग्रेसको अभियान छ । बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद गरेर भवन निर्माण थालिएको हो ।

र्‍यान एयरको नाफा बढेपछि शेयरधनीलाई लाभांश वितरण

लण्डन – र्‍यान एयरले उच्च भाडा दर र उच्च कारोबारका कारण पहिलो छ महिनामा खुद नाफा ७२ प्रतिशतले बढेपछि शेयरधनीलाई नियमित लाभांश दिने घोषणा गरेको छ ।सस्तो सेवाका लागि नाम चलेको आयरल्याण्डको एयरलाइन्स, र्‍यान एयरले एक वक्तव्यजारी गर्दै भनेको छ, “सेप्टेम्बरको अन्त्यसम्मको छ महिनामा करपछिको नाफा २.२ अर्ब युरो (२.४ अर्ब डलर) पुगेको छ ।”

डब्लिनमा मुख्यालय रहेको विमान सेवाले आफ्नो इतिहासमा पहिलो पटक नियमित लाभांश भुक्तानी सुरु गर्ने जनाएको छ ।कोभिड–१९ महामारीका कारण विश्वव्यापी रुपमा उडान बन्द भएको दशकको सुरुमा ठूलो नोक्सानी व्यहोरेको उड्डयन क्षेत्रले बलियो पुनरुत्थानको आनन्द लिइरहेको बेला यो कदम चालिएको हो ।

र्‍यान एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले भन्नुभयो, “हामी ती शेयरधनीहरूलाई धन्यवाद दिन चाहन्छौं, जसले कोभिडको कठिन समयमा सहयोग गरेका छन् ।”क्यारियरले अर्को वर्षको फेब्रुअरी र सेप्टेम्बरमा दुई समान भुक्तानीमा फैलिएको ‘४० लाख यूरोको पहिलो साधारण लाभांश’ घोषणा गरेको छ ।

आगामी वर्षहरूमा र्‍यान एयरले खुद मुनाफाको करिब २५ प्रतिशत लाभांश बाँड्ने अपेक्षा गरिएको छ । धेरै प्रतिकुलताको बावजुद उच्च वार्षिक मुनाफाको अपेक्षाको साथ लाभांश घोषणा भएका छन् । यसले डब्लिनमा र्‍यान एयरको शेयर मूल्य १६.१२ यूरो अर्थात् छ प्रतिशत वृद्धि गर्न मद्दत गरेको छ ।

र्‍यान एयरले यसअघि सन् २०२० सम्मको १२ वर्षको अवधिमा ६ अर्ब ७४ करोड यूरो बराबरको शेयर पुनःखरीद र तदर्थ लाभांश भुक्तानी गरिसकेको कम्पनीले एएफपीसँग बताएको छ । ओलेरीले थप्नुभयो, “विमान कम्पनीको पूर्ण–वर्ष परिणाम अहिले र मार्चको अन्त्यसम्म यूक्रेन वा गाजा आक्रमणजस्ता ‘कुनै अप्रत्याशित प्रतिकूल घटनाहरूको अनुपस्थितिमा अत्यधिक निर्भर रहन्छ ।”

राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ – नेत्री राजभण्डारी

काठमाडौँ, २१ कात्तिक : नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउनुहुन्छ । जनता र देशका हितका सवालमा सबै शक्ति एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उहाँले एक पक्षले उठाएका विषयलाई अर्काले खण्डन गर्दै जुहारी खेल्ने काम भइरहेकामा त्यसमा सुधारको खाँचो औँल्याउनुभयो ।

उहाँ भन्नुहुन्छ, “मुलुकको हित हुने विषयमा सरकार, प्रमुख प्रतिपक्षलगायत सबै पक्ष एक ठाउँमा उभिनुपर्छ, अहिले त्यस्ता विषयमा समेत सदनमा दलहरूबीच जुहारी खेलेजस्तो अनुभव हुन्छ ।”

नेत्री राजभण्डारीले नेतृत्वले देश, समाज र जनतालाई ठिक बाटाबाट डोहोर्याउन पार्टीको आन्तरिक जीवनमा प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो ।

‘सांसदसँग रासस संवाद’मा प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित उहाँले विभिन्न विधि र प्रक्रिया रहेका कारण राजनीतिकरूपमा बाहिरबाट कल्पना गरिएजस्तो आफूले सदनमा महसुस गर्न नपाएको बताउँदै कानुन निर्माणका हिसाबले जति काम गर्नुपथ्र्याे, त्यो अनुभव गर्न पाइएन भन्नुभयो ।

पछिल्लो निर्वाचन परिणामले प्रमुख राजनीति दलप्रति जनतामा केही वितृष्णा आएको पक्षलाई नकार्न नमिल्ने बताउँदै सांसद राजभण्डारीले आस्थाका आधारमा नभई जनताकेन्द्रित कार्यक्रम ल्याएर तिनमा उत्साह भर्न सकिने धारणा राख्नुभयो ।

उहाँको कार्यक्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको नेवारी समुदायको सांस्कृतिक सम्पदा, जात्रा, डबली, मठमन्दिर भएको क्षेत्र छ । नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गर्नुभएका उहाँले काठमाडौँ जिल्लामा पार्टी सङ्गठन विस्तारमा सक्रियपूर्वक योगदान पुर्याउँदै आउनुभएको छ ।

उहाँका अनुसार सहरी र सानो निर्वाचन क्षेत्र भएकाले खानेपानीबाहेक विकास निर्माणका हिसाबले मतदाताको खासै गुनासो आएको छैन । निर्वाचन क्षेत्र नं ८ का मतदाता कल्चर संरक्षणसम्बन्धी विषय धेरै उठाउँछन् । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका, स्वयम्भूसहित यहाँ नेवारी कल्चर धेरै छ, इन्द्रजात्रा र अरू जात्रा तथा गुठीका संरक्षणको विषय प्रखररूपमा उठ्ने गरेको छ ।

पुरातात्त्विक महत्त्व बोकेको क्षेत्र भएकाले यसको संरक्षण र संवद्र्धन गर्नु राज्यको दायित्व भएको विचार प्रकट गर्दै उहाँले ती संरचना र संस्कृतिलाई जोगाउन र व्यवस्थित गर्न सकिएमा संसारकै आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिने प्रशस्तै सम्भावना बोकेको छ भन्नुभयो ।

सदनमा शून्य, विशेष र आकस्मिक समयमा विभिन्न महत्त्वका जल्दाबल्दा विषय उठाइए तापनि सम्बोधन भने नभएको गुनासो गर्दै नेत्री राजभण्डारीले असल जनप्रतिनिधि बन्न कानुन निर्माणको जिम्मेवारी पूरा गर्दै जनताका समस्या बुझ्ने र सम्बोधनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सांसद राजभण्डारीले सदनमा हुने बहसको प्रत्यक्ष प्रसारणको व्यवस्था भई जनताले नजिकबाट नियालिरहेकाले अभिव्यक्ति र प्रस्तुतीकरणमा देखिने अशोभनीय विषयलाई तत्काल सुधार गर्न तत्तत् राजनीतिक दलका नेतृत्वले सांसदलाई सुझाव र प्रशिक्षण दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

कांग्रेस नेता नवीन्द्रराज जोशीकी धर्मपत्नीले महिला भएकै कारण सदनमा अवसर प्राप्त गर्ने सन्दर्भमा असहजता भोग्नु नपरे पनि बोल्न समय दिँदा कहिलेकाहीँ आफ्नो नाम पछि परेको हो कि भन्ने अनुभूति सुनाउनुभयो ।

एक प्रसङ्गमा नेत्री राजभण्डारीले भन्नुभयो, “अहिले निर्वाचन प्रणाली खर्चिलो छ, निष्ठाको राजनीतिक ओझेलमा परेको पनि सुनिएको छ, आचारसंहिता पालना राम्रोसँग हुन सकेन । राम्रो अभ्यासलाई होइन, नराम्रा विषयलाई अनुसरण गरिँदा यो अवस्था आएको हो ।”

विधेयक ल्याउने विषयमा सांसदलाई पूर्वजानकारी दिने तथा त्यसबारे छलफल गर्ने र बुझाउने विषय संसदीय दलमा खासै नहुने गरेको पनि बताउनुभयो । उहाँले भ्रष्टाचारका कारण जनतालाई छिटोछरितो र सुलभरूपमा सेवा प्राप्त गर्न चुनौती खडा भइरहेको अनुभव पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार, अनियमितता र महँगीविरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने देखिएको छ । अन्यायविरुद्ध आवाज नउठाएसम्म गलत कार्य रोकिँदैन । सांसदले पनि सदनमा आफ्नो आवाज मुखरित गर्नुपर्छ ।”

अहिले विदेश पलायनको स्थिति हेर्दा केही वर्षमै युवा, विद्यार्थी मुलुकमा रहलान् र भन्ने प्रश्न उब्जिरहेको बताउँदै सांसद राजभण्डारीले मुलुकको ठूलो जनशक्ति युवालाई पढाइ सकिनेबित्तिकै रोजगारीको सुनिश्चिता दिलाउन विभिन्न राष्ट्रिय कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिने, बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने, थप रोजगारीका क्षेत्र विस्तारलाई प्राथमिकता दिने गर्नुपर्छ, यसले तिनमा देशभक्ति बढाउँछ र रोजगारी पनि दिलाउँछ ।”

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बलेवा (बागलुङ), २१ कात्तिक : बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले यही कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ ।

सुडानमा आएको बाढीका कारण १६ लाख बालबालिका भोकमरीको जोखिममा – संयुक्त राष्ट्रसङ्घ

नैरोबी, केन्या – दक्षिण सुडानमा आगामी वर्ष पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सोमबार जनाएको छ ।सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ राष्ट्रले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ ।

देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या भोग्नुपरेको छ भने उनीहरू रोगको महामारीसँग पनि जुधिरहेका छन् ।“सन् २०२४ मा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरिएको छ,” डब्लुएफपीले भनेको छ ।

गत बर्ष बाढीले जमिनको ठूलो भाग डुबाएको रुबकोना काउन्टीमा करिब सबै मानिसलाई २०२१ देखि साना टापुहरूमा बस्न बाध्य बनाएको छ, अप्रिलदेखि खाद्य असुरक्षाको त्रास १२० प्रतिशतभन्दा बढीले बढेको छ ।देशको उत्तरी भागमा पर्ने काउन्टीले सन् २०२४ को अप्रिलसम्ममा भोकमरीको भयावह अवस्थाको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

“जलवायु सङ्कटको प्रत्यक्ष प्रभावमा बाँच्नुको यो वास्तविकता हो,” जुबामा डब्ल्यूएफपीकी कन्ट्री डाइरेक्टर मेरी एलेन म्याकग्रोर्टीले भन्नुभयो । उहाँले भन्नुभयो, “हामी कुपोषणमा अत्यन्त चिन्ताजनक वृद्धि देखिरहेका छौं जुन अत्यधिक भीडभाड र जलमग्न अवस्थामा बाँच्नुको प्रत्यक्ष परिणाम हो ।”

“पानीबाट सर्ने रोगहरूको फैलावटले कुपोषणको रोकथाम र उपचारमा मानवीय निकायहरूले गर्ने कुनै पनि कामलाई उजागर गर्दछ र यसबाट साना बच्चाहरूलाई सबैभन्दा बढी असर परिरहेको छ,” उहाँले बताउनुभयो । सुडानको क्रूर युद्धबाट भागेर भागेका लाखौं दक्षिण सुडानी शरणार्थीहरू स्वदेश फर्केपछि यो सङ्कट झनै जटिल बनेको छ र डब्लुएफपीले गत महिना परिवारहरूले ‘भोकमरीको आपतकालीन अवस्था’ को सामना गरिरहेको चेतावनी दिएको थियो ।

सुडानमा गत अप्रिलको मध्यमा सुरु भएको द्वन्द्वका कारण अहिलेसम्म १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क कार्यक्रमको अनुमान छ ।धेरै युद्धविरामहरू हिंसा रोक्न असफल भएका छन् जसले व्यापक क्षेत्रमा मानवीय सङ्कटको भय बढाएको छ ।

विश्वको सबैभन्दा गरिब राष्ट्रमध्येको एक दक्षिण सुडानले आफ्नो आधा जीवन युद्धमा बिताएको छ र आज सत्ता साझेदारी गर्ने प्रतिद्वन्द्वी नेताहरूबीच पाँच वर्ष चलेको गृहयुद्धमा करिब तीन लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ ।संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको नेतृत्वले रक्तपात मच्चाउन, राजनीतिक स्वतन्त्रतामाथि अंकुश लगाउन र सार्वजनिक सम्पत्ती दोहनमा भूमिका खेलेको भन्दै पटक–पटक आलोचना गर्दै आएको छ ।

दक्षिण सुडानसँग तेलको ठूलो भण्डार छ तर यो ‘गम्भीर मानवीय सङ्कट’ मा रहेको विश्व बैंकले जनाएको छ । यहाँ सन् २०२३ मा करिब ९४ लाख मानिस अर्थात् ७६ प्रतिशत जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता हुने अनुमान गरिएको छ ।

गाजामा इजरायली आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलद्वारा थालेको कारबाही करिब एक महिना पुग्दै गर्दा प्यालेस्टिनी भूमिमा इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको जनाएको छ ।

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गर्नुभएको छ ।

इजरायली सेनाले गरेको भीषण बमबारीमा आतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टाइनीको मृत्यु भएको उहाँले बताउनुभयो । मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएयता मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण रहेका छन् ।

गाजा क्षेत्रमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ ।भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो । विभागका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २७ करोड ६८ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा अलैँची निर्यात ७२ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा समेत वृद्धि हुने गर्छ । अलैँची औषधी, मसलाका रूपमा प्रयोग हुने गर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा

काठमाडौं । मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको पाइएको छ ।

पाँचजना मालपोत अधिकृतहरुले एकै किसिमबाट रकम हिनामिना गरेको हो। आर्थिक वर्ष २०७१(०७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको पाइएको हो।

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले उक्त कार्यमा संलग्न तत्कालीन मालपोत अधिकृहरु क्रमशः हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपालबहादुर ढु∙ाना, पदमप्र्रसाद अर्याल, चन्द्रबहादुर भण्डारीसहित कम्प्युटर अधिकृत कमोद तिवारी र नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मिश्रले २०७१/७२ मा मालपोत कार्यालय, पर्साको फाँट ‘ग’ को एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको थियो। सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी आफनै खातामा जम्मा गरेको आयोगको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको दुई करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजस्व चुहावट भएको आयोगले जनाएको छ। उनी विरुद्ध बिगो कायम हुन गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र सोही ऐनको दफा ७ बमोजिम राजस्व हिनामिना भएको रकमको दोब्बर जरिवानाको माग दाबी लिइएको आयोगका प्रवक्ता थपलियाले बताए। यो समाचार नागरिक दैनिकमा छ ।

तिहार नजिकिएसँगै बजारमा उपभोग्य वस्तुको भाउ महँगियो

काठमाडौँ । तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका भाउ महँगिएको हो ।

उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुसी मूल्य तोकेर बिक्री गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति भने पनि किन्न बाध्य भएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमलसिनाले सरकार, राजनीतिक दल, सुरक्षाकर्मी, नियमन कर्मचारी, पत्रकार सबै भूकम्प प्रभावित केन्द्रित भएको मौका छोपी व्यापारीले मनलाग्दी हरेक उपभोग्य वस्तुको भाउ बढाएको बताए । उनले भने, “यो बेलामा सरकारका नियमनकारी निकायको अनुगमनलाई झन् चुस्त दुरुस्त बनाउनुपर्नेमा, बजारमा गुणस्तरहीन वस्तु, कालो बजारी मौलाएको छ, बजार मूल्य मात्रै नभएर गुणस्तरमा पनि त्यतिकै समस्या देखिएको छ ।”

नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्क अनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ । सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले पछिल्लो समयमा दैनिक उपभोगका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताए । उनले भने, “पछिल्लो पटक चिनी, दाल, गेडागुडी चामल मात्रै होइन, हरेक, वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी चाडपर्वकै असर हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको द्रुत बसका लागि थप २० लाख खर्च गर्ने तयारी

काठमाडौँ । तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको त बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ । त बस सेवाका लागि रातो रंग लगाउन र संकेत अक्षर राख्न तीन करोड १० लाख रूपैयाँ भुक्तानी गर्न चारवटा कम्पनीबाट सडक विभागमा बिल पेस भइसकेको छ । बिल भुक्तानी नहुँदै विभागले द्रुत बस सेवा रुटमा डिभाइडर राख्न अरू २० लाख खर्च गर्ने भएको हो ।

द्रुत बस सेवा रुटलाई डेडिकेटेड (छुट्टै लाइन) बनाउन विभागले करिब ६ सय वटा गहुँगो किसिमका डिभाइडर खरिद गर्ने भएको छ । एउटा डिभाइडरको बजार मूल्य तीन हजार रूपैयाँ पर्ने बताइएको छ । यसैगरी विभागले अन्य प्रयोजनका लागि डोरी पनि खरिद गर्ने भएको छ । डोरी र डिभाइडर खरिद गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको छ ।

सूर्यविनायक-धुलिखेल- सिन्धुली बर्दिबास सडक आयोजनाका सिनियर डिभिजन इञ्जिनियर (सिडिइ) नारायण लामिछानेले भने जडिबुटीदेखि सूर्य विनायकसम्म डेडिकेडेड लाइन बनाउन एक सयभन्दा बढी डिभाइडर खरिद गर्न सडक विभागबाट मौखिक निर्देशन आएको बताए । सोही आयोजानले नै जडिबुटीदेखि सूर्यविनायकसम्मको रुटमा रातो रंग लगाएको थियो । विभागका अनुसार सडक डिभिजन काठमाडौंलाई अरू सयवटा डिभाइडर खरिद गर्न अहाइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।