`

राष्ट्रसङ्घद्वारा सिरिया सङ्कटका लागि चार अर्ब डलर सहयोगको आह्वान

Nepal One HD ९ चैत २०८० १८:३५
विश्व

संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले शुक्रबार सिरियाका लागि करिब चार अर्ब डलरको मानवीय सहयोगको अपिल गर्नुभएको छ । उहाँले कोष करिब अस्तित्वमा नभएको भन्दै सहयोगको कमीले थप सिरियालीहरूको पलायनलाई प्रेरित गर्ने चेतावनी दिनुभयो ।

तेर्ह वर्षअघि सरकारविरोधी प्रदर्शनको दमनका साथ सुरु भएको सिरिया युद्धबाट पाँच लाख सात हजारभन्दा बढीको मृत्यु भएको छ, लाखौँ मानिस विस्थापित भएका छन् र मुलुकको अर्थतन्त्र, पूर्वाधार उद्योग तहसनहस भएको छ ।

“सन् २०२४ मा हामीले सहायताको आवश्यकता भएका एक करोड ६७ लाख सिरियाली नागरिकमध्ये एक करोड आठ लाखको जीवन बचाउन सहयोग प्रदान गर्नका लागि चार अर्ब सात करोड डलरको अपिल गर्दैछौँ”, सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका निवासी एवं मानवीय समन्वयक एडम अब्देलमौलाले भन्नुभयो, “मुलुकभरमा कम्तीमा एक करोड २९ लाख मानिस खाद्य असुरक्षामा छन् ।”

मार्च १ मा यस वर्षको मानवीय प्रतिक्रिया योजना आवश्यकताहरूको ‘केवल शून्य दशमलव ०२ प्रतिशत’ कोषको व्यवस्था गरिएको भन्दै उहाँले यसको अर्थ ‘जीवन बचाउने कार्यक्रम र सेवाहरू’ मा कटौती गरिएको वा कम गर्दै गइरहेको छ भन्नुभयो ।

निष्क्रियताले कम्तीमा २५ लाख बालबालिकाले विद्यालयमा फर्कने अवसर गुमाउने छन् भन्दै अब्देलमौलाले प्रजनन उमेरका करिब २३ लाख महिलाले ‘महत्त्वपूर्ण प्रजनन र मातृ स्वास्थ्य सेवामा पहुँच गुमाउन सक्ने’ बताउनुभयो ।

उहाँका अनुसार गाजा क्षेत्रमा प्यालेस्टिनी लडाकू समूह हमाससँग इजराइलको युद्धका कारण वैश्विक ढुवानी अवरोधले सिरियामा वस्तुको मूल्यमा वृद्धि र मुलुकमा लक्ष्यहरूविरुद्ध इजराइली हवाई आक्रमणमा ‘उल्लेखनीय वृद्धि’ भएको छ ।

सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि नै इजराइलले सिरियामा सयौँ हवाई आक्रमण गरेको छ । यसमा हिजबुल्लाहसहित इरान समर्थित बलहरूका साथै सिरियाली सेनाका स्थानहरूमा पनि निशाना बनाइएको छ । यद्यपि अक्टोबर ७ मा हिजबुल्लाहको सहयोगी हमाससँग इजराइलको युद्ध सुरु भएपछि आक्रमण बढेको छ ।

“सिरियामा विमानस्थालहरूमा निशाना बनाउँदा मानवीय हवाई सेवाहरूमा पनि असर परेको छ, गत वर्ष हामीले ४९ वटा मानवीय उडानहरू रद्द गर्नुपर्यो”, अब्देलमौलाले भन्नुभयो । उहाँले सिरिया सङ्कटलाई बेवास्ता गर्दा ‘आतङ्कवादको पुनरुत्थान’ र ‘शरणर्थी फिर्तीका लागि अनुकूल परिस्थिति सिर्जना नगर्दा’ लेबनान र जोर्डनजस्ता छिमेकी मुलुकलाई थप अस्थिर बनाउने जस्ता ‘विनाशकारी’ परिणामको सम्भावनाबारे चेतावनी दिनुभयो ।

उहाँले युरोपमा बसाइँ सर्ने सम्भावनाको वृद्धिबारे पनि चेतावनी दिनुभयो । उहाँका अनुसार सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा सिरियाबाट शरणका लागि दिइएको निवेदनमा ‘३८ प्रतिशतले’ वृद्धि भएको छ ।


प्रतिक्रिया