`

चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै, ५ सय जनालाई रोजगारी

बाँके । पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ ।

गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ । सो उद्योगका लगानीकर्ता सुप्रब धितालले उद्योगले जग्गा व्यवस्थापन गरी वातावरण प्रभाव मूल्याङ्कनको प्रक्रिया अघि बढाइसकेको जनाउँदै छिट्टै उद्योग सञ्चालनमा ल्याउने गरी तयारी अघि बढेको बताए । उनले यो उद्योगमा ५०४ जनालाई रोजगारी प्रदान गरिने जनाउँदै तीमध्ये अधिकांश बर्दिया जिल्लाकै बासिन्दा हुने बताए ।

सो उद्योगले वार्षिक दुई करोड ८० लाख सेरामिक टायल उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त उद्योगका लागि १० हजार केभिएको प्रसारण लाइनको आवश्यकता पर्ने हुँदा सोका लागि पनि पहल सुरु गरिसकिएको छ । पछिल्लो समयमा आएर बाँके, बर्दियालगायत पश्चिम नेपालका विभिन्न जिल्लामा तयार भइरहेका अत्याधुनिक भवन र घरका लागि टायलको माग अत्यधिक बढ्दै गएकाले सो उद्योग सञ्चालन गर्न थालिएको जनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन

काठमाडौं । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युुवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालुु आर्थिक वर्ष २०८०÷८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुुष्टि गरेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् । देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दसैँको मुखमा बिदेसिन धेरै युुवा बाध्य छन् ।

स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन ।

ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुुसी नै छोडेर विदेश गइरहेका छन् । चालु आवको असोजमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाको सङ्ख्या ५६ हजार २३५ पुगेको छ । गत वर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या ६२ हजार ७०६ थियो ।

यसै गरी गत आवको साउन, भदौ र असोजमा दुुई लाख दुुई हजार बिदेसिएकामा चालु आवको पहिलो तीन महिनामा यो सङ्ख्या एक लाख ६२ हजार ९०४ जनामा झरेको छ । सो अवधिमा श्रम स्वीकृति लिएर विदेश गएकामध्ये एक लाख ४१ हजार ४४५ जना पुुरुष र २१ हजार ४५९ जना महिला रहेका छन् ।गत आवको पहिलो तीन महिनामा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या लगभग २१ प्रतिशतले घटेर एक लाख ६२ हजार ९०४ जनामा सीमित भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक महेश दाहालले पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा सङ्कुचन आएसँगै गत वर्षको सो अवधिमा भन्दा रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटेको देखिए पनि बिदेसिने व्रmम भने नरोकिएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

शिलान्यास भएको सात वर्षपछि आदिकवि भानुभक्तको जन्मथलोमा भानुगृह निर्माण सुरु

दमौली- आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुगृह निर्माण सुरु हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो ।शिलान्यास भएको सात वर्षपछि भानुगृहको काम सुरु हुन लागेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो ।

मञ्चकै सक्रियतामा काम पुनः सुरु हुन लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार अगामी मङ्सिरदेखि काम सुरु गर्ने तयारी छ । उहाँले भन्नुभयो, “लामो समयदेखि काम नहुँदा अब समितिकै सक्रियतामा भानुगृह बनाउने छलफल भइरहेको थियो । मञ्चका पदाधिकारीले हामीले नै बनाउँछौँ भनेर प्रतिबद्धता जनाउनुभएको छ ।”

भानुगृह निर्माणका लागि मञ्चका तर्फबाट आर्थिक सङ्कलनसमेत भएको छ । उहाँले भन्नुभयो, “सात वर्ष अगाडि भानुगृहको लागत रु ६८ लाख अनुमान गरिएको थियो । अहिलेको अवस्थामा रु एक करोड जति पुग्ला । मञ्चका तर्फबाट आर्थिक सङ्कलन भइसकेको छ भनेपछि विकास समिति पछाडि हटेको छ ।”

यस वर्ष जसरी पनि भानुगृह निर्माणको काम सुरु गर्ने तयारीमा समिति थियो । तर अब मञ्चकै सक्रियतामा काम सुरु हुने र मञ्चका तर्फबाट समितिलाई परिपत्र भइसकेको निर्देशक रानाभाटको भनाइ छ ।

समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले संरक्षणविहीन अवस्थामा पुगेको छ । उहाँले भन्नुभयो, “भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी छौँ, पानी र बत्तीको सुविधा पुगिसकेको छ ।”

यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । निर्देशक रानाभाटले भन्नुभयो, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित भयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास गरेका छौँ ।”

विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो ।

भानु–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ ।

मोतिराम भट्टले उहाँलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको बताइन्छ । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिनुभएको थियो ।

बचतकर्ताको रकम घोटला प्रकरण : सहकारी सञ्चालक समितिका उपाध्यक्षसहित थप पाँचजना पक्राउ

खोटाङ, १३ कात्तिक : बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो ।सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि जनाउँदै कार्यालयमा बोलाएर षडयन्त्रपूर्वक सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको सञ्चालक समितिका एक पूर्वसदस्यले आरोप लगाउनुभएको छ । “ऋणीहरुविरुद्ध हामीले किटानी जाहेरी दिएका छौँ । उनीहरु नै हुन् दोषी । अहिले पक्राउ परेका कोही पनि दोषी छैनन् । सञ्चालक समितिका सचिव मनोज राई आफैँले ऋणीहरुविरुद्ध गत माघ ६ गते किटानी जाहेरी दिनुभएको छ । उहाँलाई नै प्रहरीले पक्राउ गरेपछि कसरी अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ?”, नाम उल्लेख नगर्ने सर्तमा एक पूर्वसदस्य ले भन्नुभयो, “ यसमा निष्पक्ष छानबिन हुन जरुरी छ । बिना कारण कसैलाई दुःख दिन पाइँदैन । दोषीले उन्मुक्ति पाउनुहुँदैन ।”सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ । “लालुपाते सहकारी संस्था लिमिटेडमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाइएको छ । अनुसन्धानका लागि सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखियो”, उहाँले भन्नुभयो, “नियन्त्रणमा लिइएका सञ्चालक समितिका पदाधिकारीलाई आइतबार नै जिल्ला अदालत खोटाङमा हाजिर गराउनुका साथै एक दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । सोमबार सबैजनाको एकै पटक पुनः म्याद गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ । सम्भवतः यससम्बन्धीको नतिजा चाँडै नै आउने अपेक्षा गरेका छौँ ।”आफूहरुले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले विसं २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । बचतकर्ताले दिएको जाहेरीको आधारमा जिल्लाबाट खटिएर गएको प्रहरी टोलीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र उहाँकी श्रीमती रविना श्रेष्ठ (जोशी)लाई असोज १३ गते तथा प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरेको थियो ।महिना दिनअघि काठमाडौँबाट पक्राउ परेका तीनैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ । पक्राउ परेका सुनिल श्री एयरलायन्सका क्याप्टेनसमेत हुनुहुन्छ ।बचत अपचलनमा मुख्य दोषी ठानिएका क्याप्टेन सुनिललगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने जनाउँदै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन । उनीहरुको परिवारले रु एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।सहकारीको नाममा खरिद गरिएको भनिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको छ । बचतकर्ताका रकमले खरिद गरिएको जग्गा आफ्नो नाममा पर्ने व्यक्तिको पहिचान भएर पनि प्रहरीले अहिलेसम्म उनीहरुलाई पक्राउ नगरेको सञ्चालक समितिका पूर्वसदस्यले बताएका छन् ।विसं २०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प रहेको छ । सहकारीमा एकैजनाले रु ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन् ।सहकारीका ऋणीहरुले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । सहकारीको जग्गाबाहेक साँवाब्याजसहित करिब रु दश करोड ऋण लगानी रहेको जनाइएको छ ।बचतकर्तालाई साँवाब्याजसहित करिब रु सात करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतवेदनमा हिसाब देखिएको छ । सहकारीका तत्कालीन अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन भएको सञ्चालक समितिका अन्य पदाधिकारीले बताउँदै आएका छन् ।बचतकर्ताले आफूहरुको बचत डुबाउने दोषीलाई कारबाही र डुबेको बचत फिर्ता गर्न माग गर्दै गत असोज १९ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङमा धर्ना दिएका थिए । सहकारीको बचत अपचलनमा मुछिएका आठ जनामध्ये तीनजना पक्राउ परेपछि दिक्तेल बजारमा विरोध प्रदर्शन गर्दै दोषीलाई कानुनी कारबाही गर्न तथा आफ्नो बचत सुरक्षितसाथ फिर्ता दिलाइदिन माग गर्दै धर्ना दिएका हुन् ।पक्राउ परेका दोषीलाई उन्मुक्ति नदिन, अन्य दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र डुबेको बचत रकमको साँवाब्याज फिर्ता गर्ने वातावरण निर्माणका लागि प्रदर्शन गरिएको बचतकर्ताले बताएका छन् । पक्राउ परेका व्यक्तिलाई अदालतले तारिखमा छाड्न लागेको सूचना आएकाले उनीहरुलाई कानुनी कारबाही तथा आफूहरुको बचत फिर्ताका लागि दबाबमूलक प्रदर्शन गरिएको बचतकर्ता धनीराम नछुङले बताउनुभएको छ ।जिल्लामा सञ्चालित अन्य केही सहकारी संस्थाले पनि आफूहरुको बचत फिर्ता नदिएको बचतकर्ताले गुनासो गर्न थालेका छन् । दश स्थानीय तह रहेको जिल्लामा एक सय ८१ सहकारी संस्था सञ्चालनमा छन् । 

उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश

काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन् ।

नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए तापनि पढाइसँगै कमाइ गर्ने योजनाअनुसार अधिकांश विद्यार्थी माध्यमिक शिक्षा (कक्षा १२) उत्तीर्ण हुनासाथ विदेशिने गरेका छन् । शाखा प्रमुख उपसचिव देवका ढकालका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्मको तथ्यांक अध्ययन गर्दा प्रत्येक महिना करिब १० हजारको संख्यामा विद्यार्थीले एनओसी लेटर लिने गरेका छन्।असारमा ११ हजार २ सय १७ साउनमा १० हजार १ सय ८२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । भदौ र असोजमा मासिक करिब १० हजारले एनओसीलेटर लिएका छन् । तथ्यांकअनुसार वार्षिक करिब १ लाख १० हजार विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् ।एनओसी लिएका अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेशिने गरेका छन् । नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, स्विजरल्यान्ड, बेलायत, जापान, जर्मन, साइप्रस, क्यानडा, चीनलगायत ९० बठीमुलुकमा उच्च शिक्षा अध्ययन गर्न विदेशिने गरेका छन् ।पछिल्लो समय नयाँ मुलुक रोमानियामा अध्ययन गर्न पनि एनओसी लेटर लिएका छन् । शाखाका अनुसार नयाँ मुलुक अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्न थालेको छ । शाखा प्रमुख उपसचिव ढकालले विद्यार्थीको नयाँ आकर्षण नयाँनयाँ मुलुकसमेत हुन थालेको बताए ।विदेशमा अध्ययनका लागि जाँदा ्र वार्षिक करिब १ खर्ब बाहिरिएको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

छोरी मात्र पाएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई सम्पत्ति करमा छुट

तनहुँ-व्यास नगरपालिका कार्यालयले छोरी मात्र पाएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई नगरपालिकाबाट लगाइने करमा छुट दिने नीति लिएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रममा “लैङ्गिक भेद्भाव मुक्त व्यास नगर” बनाउने उद्देश्य अनुरुप छोरी २० वर्ष नपुग्दासम्म सम्पत्ति कर लगायतका सबै करमा २० प्रतिशत छुट दिएको हो । व्यास नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउनका लागि “उपप्रमुख महिला सीप विकास कार्यक्रम” सञ्चालन गर्न लागेको छ ।“आत्मनिर्भर छोरी सशक्त व्यास नगर” अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी जनजाति दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको अध्ययनमा सहयोग गर्ने नीति लिएको हो ।उमेर २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण लगायतका सचेतनामूलक कार्यक्रम गरिने व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । नगरपालिकाभित्र स्थायी बसोबास गर्ने कक्षा १२ सम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदानको व्यवस्था मिलाइएको छ ।व्यास नगरपालिकामा स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पु¥याउने लक्ष्य नगरपालिकाको रहेको उहाँले बताउनुभयो । महिलाद्वारा सञ्चालित सहकारीलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गर्दै “महिलासँग उपप्रमुख कार्यक्रम” अन्तर्गत गर्भवतीको पोषणका लागि सहयोग गर्ने कार्यक्रम रहेको छ ।व्यास नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरी हिंसामा परेका महिलालाई कानुनी उपचारका लागि सहयोग एवं उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाउने योजना रहेको छ । उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराई पठनपाठनमा सहजीकरण गर्न लागेको व्यास नपाकी उपप्रमुख इन्दिरा दरैले बताउनुभयो ।दलित, सिमान्तकृत लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका विभिन्न कार्यक्रममार्फत सशक्तीकरण गर्ने योजना नगरपालिकाले लिएको छ । व्यास नपाका महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि प्रशिक्षण, अवलोकन भ्रमण, अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्ने र अनुभव आदान प्रदान गर्ने कार्यक्रम ल्याइएको छ । 

आयात वृद्धिसँगै अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं । बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमशः सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज महिनामा आएर आयातमा वृद्धि भएसँगै सुधारको संकेत देखिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तेस्रो महिनामा मात्रै आयातमा वृद्धि भएको जनाएको छ । चालु आवको साउन र भदौमा आयात पनि ऋणात्मक हुँदै आइरहेको थियो । जसका कारणले मुलुकको राजस्व संकलनमा पनि प्रत्यक्ष असर पार्दै आइरहेको थियो । असोजमा दशैं÷तिहारलगायतका पर्वलाई लक्षित गरेर वस्तु तथा सामानको आयात वृद्धि भएसँगै आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।

नेपालको अर्थतन्त्र आयातित वस्तुमा लगाइने करमा निर्भर रहँदै आएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९र८० साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा चार खर्ब रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको सोही अवधिमा गरिएको आयातमा १।६९ प्रतिशतले वृद्धि भएर चार खर्ब सात अर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । चालु आवको असोजमा मात्रै विदेशी मुलुकबाट डेढ खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ ।

चालु आवको तीन महिनाको अवधिमा नेपालमा आयात गरिने वस्तु तथा सेवामा केही बढे पनि नेपालबाट विदेशी मुलुकमा हुने निर्यात भने अझै पनि खुम्चिएकै छ ।

विभागका अनुसार नेपालले आव २०७९र८० को तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालबाट भने विदेशी मुलुकमा हुने निर्यात २.२६ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड रूपैयाँमा सीमित भएको छ ।

अर्थ मन्त्रालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा एक खर्ब ४५ अर्ब आठ करोड रूपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सो अवधिसम्म भन्सार विभागले लक्ष्यको ७४.९५ प्रतिशत अर्थात् एक खर्ब आठ अर्ब ७५ करोड रूपैयाँ मात्रै भन्सार राजस्व संकलन गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

जिल्ला प्रशासन कार्यालयको छड्के :जाजरकोटमा एक सय ३१ कर्मचारी अनुपस्थित

जाजरकोट-जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका एक सय ३१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
स्थानीय प्रशासनले आज गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुखसहित आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । प्रजिअ सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालयमध्ये तीन वटा कार्यालय प्रमुख मात्र कार्यालय उपस्थित थिए ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा प्रतीक्षा भारती, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र मालपोत कार्यालयका प्रमुख डिल्लीबहादुर केसीमात्र कार्यालय प्रमुखको रुपमा कार्यालयमा भेटिएको तर अन्य १० कार्यालय प्रमुख हाजिरी रजिष्ट्ररमा बिदा नै नजनाइ अनुपस्थित रहेका थिए ।

स्वास्थ्य सेवा कार्यालय, वन डिभिजन कार्यालय, भेरी नगरपालिका, जिल्ला हुलाक कार्यालय, बृहत् जलाधार कार्यालय, सिँचाइ तथा नदी नियन्त्रण कार्यालय, खानेपानी, ऊर्जा तथा सिँचाइ कार्यालय, सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, नापी कार्याय, भेरी करिडोर सडक आयोजना, मालपोत कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा छड्के गरिएको थियो । तीमध्ये सबैभन्दा धेरै स्वास्थ्य सेवा कार्यालयमा ३७ जना र त्यसपछि भेरी नगरपालिकामा २७ जना कर्मचारी अनुपस्थित थिए । दसैँ मनाउन घर गएका धेरैजसो कर्मचारी कार्यालयमा नफर्केपछि सेवाग्राही मर्कामा परेका छन् । दसैँ बिदापछि गत शुक्रबार नै कार्यालय खुलेपनि हालसम्म आधाभन्दा बढी कर्मचारी अझै कार्यालय आइपुगेका छैनन् । सरकारी कर्मचारीलाई नागरिकप्रति उत्तरदायी र जिम्मेवार हुन प्रजिअ सुनारले आग्रह गर्नुभयो ।

उहाँले दसैँ मनाउन घर गएका कर्मचारीलाई बिदा वा काजको बहानामा उतै नबस्न र तत्काल कार्यालयमा उपस्थित भई काम गर्न निर्देशन दिनुभयो । छड्केमा गएको स्थानीय प्रशासनको टोलीले अनुपस्थित कार्यालय प्रमुख र कर्मचारीको हाजिरीमा रातो चिह्न लगाएको छ ।

गाजामा बन्धक बनाइएका सबैलाई अविलम्ब रिहा गर्न महासचिवको आह्वान

काठमाडौँ-संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका उक्त विश्व संस्थाका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु । सर्वसाधारणको ह त्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन” लेख्नुभएको छ ।

नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ । आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन् । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । उक्त समूहले गत असोज २० गते इजरायलमाथि भीषण आक्रमण गरेको थियो ।

मुलुकको आर्थिक विकासमा सबै लाग्नुपर्नेमा एमालेको जोड

काठमाडौँ- नेकपा (एमाले) का मुख्य सचेतक पदम गिरीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्नुभएको छ । उहाँले अन्य राजनीतिकि दल र तिनका नेताले वर्तमान सरकार परिवर्तन गर्नुपर्छ भनिरहेको सन्दर्भमा आफ्नो पार्टी भने सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्नुभयो ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य सचेतक गिरीले मुलुकको आर्थिक क्षेत्र सुधारका निम्ति भने गठनबन्धनको वर्तमान सरकार परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । मुख्य सचेतक गिरीले भन्नुभयो, “गठबन्धनको सरकारले आर्थिक क्षेत्रमा सुधार गर्न सकिरहेको छैन, आर्थिक सुधारका लागि अब सरकार परिवर्तन गर्नुपर्ने बेला आएको छ, अहिले आर्थिक क्षेत्र धराशयी मात्रै नभएर मन्दी नै आइसकेको छ, आर्थिक रुपमा असफल मुलुक बन्ने खतरा बढेर गएको छ ।”

उहाँले जतिसक्दो चाँडो गठबन्धन भत्काएर नयाँ ढङ्गबाट राजनीतिक कोर्ष अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने जिम्मेवारी नेपालकै राजनीतिक दलको भएको बताउँदै नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउन संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सद्भाव मात्र रहने बताउनुभयो ।

हेर्नुहोस् कार्तिक १३ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ ।

बृष राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ ।

कर्कट राशि – सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला ।

सिंह राशि – गैर बिश्वस्निय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्रयोगमा साबधान रहनु होला ।

कन्या राशि – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । सामान्य यात्राकारक दिन रहनेछ ।

तुला राशि – भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि मध्यम रहनेछ ।

बृश्चिक राशि – सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

कुम्भ राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ ।

मीन राशि – अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । बाणीमा मधुरता छाउनेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

थाई एयरले पुनः थाल्यो काठमाडौँ–ब्याङ्कक उडान

काठमाडौँ, १२ कात्तिक: थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाडौँको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौँ गन्तव्यको उडान बन्द गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले आजदेखि उडान पुनःसुरु गरेको छ । यसअघि थाइल्याण्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाडौँ उडान आजैदेखि बन्द भएको छ । थाई स्माइल थाइल्याण्डको आन्तरिक उडानमा थियो । थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो सयम उडान गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

गत असोज ३० गते हालसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो साता एक सय १० हाराहारी उडान भएको थियो । ‘विन्टर सिजन’ अन्तर्राष्ट्रिय उडानको बढी माग आएको र एयर ट्राफिक व्यवस्थापनलाई मिलाएर उडान सहजीकरण गरिने विमानस्थलका महाप्रबन्धक तिवारीले बताउनुभयो । नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार हुने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएकोे छ । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उहाँले बताउनुभयो । झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट गर्नुभयो ।

सबै राजनीतिक दललाई मिलाएर कोशी प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले कोशी प्रदेश सरकार अब ढल्दैन भन्नुभयो । गत असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको कार्कीले असोज २८ गते दुईजना मन्त्री नियुक्त गर्नुभएको थियो । त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन ।

समृद्धिका लगानी लगानी गर्न आह्वान मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजलाई कोशी प्रदेशको समृद्धिका लागि योजनासहित लगानी भित्र्याउन आह्वान गर्नुभएको छ । विदेशमा रहेका नेपालीको सीप, प्रविधि र लगानी भित्र्याउन प्रदेश सरकार आतुर रहेको धारणा व्यक्त गर्दै उहाँले लगानीमैत्री कानुन बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ कार्यसमिति गठन समाजको आज सम्पन्न चौथो महाधिवेशनले मुकुन्द ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ ।

तीनजना नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौँ, १२ कात्तिक : दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो ।

योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ । इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले केहीबेर अघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हमासको आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ । डिस्चार्ज गरिएकामध्ये एकजना नेपाल आइसकेका र अर्का एकजना दूतावासको रेखदेखमा रहेका छन् । साथै अन्य दुईजनाको इजरायलमा उपचार भइरहेको छ ।

ईसेवाको कर्मचारी भएको भन्दै ठगी गर्ने पाँच पक्राउ

काठमाडौँ, १२ कात्तिक : ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, रौतहट गौर नगरपालिका–५ बस्ने २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट गढिमाइ नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव, गौर नगरपालिका–५ बस्ने २० वर्षीय अभयकुमार यादव र गौर नगरपालिका–५ बस्ने २१ वर्षीय रितेश कुसवाहा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरुले पीडितहरुलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारीक कर्मचारी हुँ भन्दै ईसेवाको आइडी, बैङक खातासँग लिङकअप गराई खाता नविकरण, केवाइसी फारम अपडेट, सिष्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ ।

उनीहरुले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैङ्क खाता तथा वालेटहरुमा ट्रान्सफरलगायत भुक्तानीसमेत गरी १८ जनाबाट रु १५ लाखभन्दा बढी रकम ठगी गरेको खुल्न आएको छ प्रवक्ता रेग्मीले बताउनुभयो । यस ठगीमा संलग्न उनीहरुलाई रौतहट जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज काठमाडौँ जिल्ला प्रहरी परिसर, टेकु पठाइएको उहाँले बताउनुभयो ।

राष्ट्रसङ्घीय शान्ति ‘मिसन’को नेतृत्व नेपालले पाउनुपर्छ : राष्ट्रपति

काठमाडौँ, १२ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा आज बिहान नेपाल आउनुभएका महासचिव गुटेरेससँगको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली देश नेपालले भोग्नुपरेका समस्या र समाधानको उपाय, जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने र राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा नेपालको योगदान र जिम्मेवारीलगायत समसामयिक विषयमा राष्ट्रसङ्घीय उच्च प्रतिनिधिमण्डलको ध्यानाकर्षण गर्नुभयो । उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोग्नुपरेका यसका नकारात्मक परिणामबारे गम्भीर हुन अनुरोध गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर घटाउन जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई आफ्ना दायित्व पूरा गर्नेतर्फ आवश्यक पहलकदमी लिन राष्ट्रसङ्घ प्रतिनिधि मण्डलसमक्ष आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका कारण हामी होइनांँै, अरूले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौँ, यस्तो अवस्थामा राष्ट्रसङ्घले वातावरण बिगार्नेहरुलाई उनीहरुको दायित्व पूरा गर्न झक्झक्याउनुपर्छ, जलवायु परिवर्तनका दुष्प्रभाव हामीले ब्यहो¥यौँ, अब सारा विश्व र मानवजातिले नै ब्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले त्यसविरुद्ध संयुक्त प्रयास गरौँ । त्यसको नेतृत्व राष्ट्रसङ्घले लिनुपर्छ”, राष्ट्रपति पौडेललाई उद्धरण गर्दै सल्लाहकार पोखरेलले राससलाई बताउनुभयो । भेटका क्रममा सगरमाथा क्षेत्र, अन्नपूर्ण आधारशिविरजस्ता स्थलको भ्रमण स्वयम् महासचिवले गर्नुहुने भएकाले सेता हिमाल कसरी काला हुँदैछन्, अतिवृष्टि र अनावृष्टिका कारण परेको प्रभाव आफैँ महसुस गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले बृहत् शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेतर्फ सरकार अघि बढेको बताउनुभयो ।

राष्ट्रपतिले पीडितलाई न्याय, दण्डहीनतालाई निरुत्साहित गर्नेगरी भएको अदालतको आदेश र संयुक्त राष्ट्रसङ्घको चासोलाई दृष्टिगत गरी मेलमिलापको सिद्धान्तका आधारमा बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको श्री पोखरेलले जानकारी दिनुभयो । अहिलेको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रसङ्घको भूमिका अझ बढेको उल्लेख गर्दै राष्ट्रपतिले राष्ट्रसङ्घीय शान्ति ‘मिसन’को नेपाल दोस्रो ठूलो योगदानकर्ता भएको स्मरण गराउँदै शान्ति सेनामा मार्फत नेपालले गरेको योगदानका निम्ति शान्ति सेना नेपाललाई नेतृत्व तहको जिम्मेवारी उपलब्ध गराउन महासचिव गुटेरेससँग अनुरोध गर्नुभएको थियो । महासचिव गुटेरेसले हरित गृह ग्यास उत्सर्जनमा नेपालको कुनै भूमिका नभए पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ प्रसङ्ग उठाउँदै जलवायु परिवर्तनका नकारात्मक असरबारे विश्वलाई सन्देश प्रवाह गर्न आफू नेपाल भ्रमणमा आएको बताउनुभयो ।

आफ्नो नेपाल भ्रमण तीन ‘एजेण्डा’मा केन्द्रित रहेको जानकारी दिँदै महासचिव गुटरेसले नेपालको सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनीकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकाले यहाँ आएको बताउनुभयो ।राष्ट्रपति पौडेलले शान्ति सम्झौताको मस्यौदा तयार गरेको स्मरण गर्दै महासचिवले राष्ट्रपति पौडेलकै कार्यकालमा त्यसका बाँकी काम पूरा हुने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पदाधिकारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री साउदसँग बेग्लाबेग्लै भेट गर्नुभएको थियो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गर्नुभएको छ ।महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर–हाम्दी र संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।

जापानमा ६० प्रतिशत व्यक्तिले एन्टिबायोटिकले रुघाखोकीको उपचार गर्न सक्छ भन्ने गलत धारणा राख्छन् : सर्वेक्षण

जापानमा करिब ६० प्रतिशत मानिसले रुघाखोकीको उपचारमा एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने गलत धारणा राख्ने गरेको पाइएकोे छ । हालै गरिएको एक सर्वेक्षणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबार सम्प्रेषित समाचार अनुसार ५०० जनामा गरिएको एक अनलाइन सर्वेक्षणमा करिब ५६ प्रतिशतले एन्टिबायोटिकले रुघाखोकी निको पार्न सक्ने बताएका थिए । विद्यालय जानु पहिलेका बच्चाका करिब ६७ प्रतिशत अभिभावकले यो औषधिले भाइरससँग लड्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

सामान्य रुघाखोकी र इन्फ्लुएन्जा दुवै भाइरल संक्रमण हुन्, जसको अर्थ एन्टिबायोटिक्स अप्रभावी उपचार हो ।अर्को एक सर्वेक्षणमा १५ वर्ष वा सोभन्दा बढी उमेरका करिब ६३ प्रतिशत मानिसले एन्टिबायोटिकले भाइरल सङ्क्रमण निको पार्न सक्ने विश्वास व्यक्त गरेका छन् । टोकियोस्थित नेसनल सेन्टर फर ग्लोबल हेल्थ एन्ड मेडिसिनको सेन्टर हस्पिटलका अनुसार घाँटी दुख्ने वा सिँगान बग्ने समस्यापनि उस्तै छ । इन्फ्लुएन्जा, रुघाखोकी र कोभिड–१९ एन्टिबायोटिकले उपचार गर्न सक्ने प्रमुख तीन भाइरस भएको अस्पतालले जनाएको छ ।

चिकित्सा विशेषज्ञहरूले एन्टिमाइक्रोबियलको दुरुपयोग र अत्यधिक प्रयोगले एन्टिमाइक्रोबियल प्रतिरोध बढाउन सक्ने चेतावनी दिएका छन् जसले संक्रमणसँग लड्न कठिन वा असम्भव बनाउँछ । जापान सरकारले एन्टिमाइक्रोबियल प्रतिरोधातमक शक्तिलाई लिएर चिन्ता व्यक्त गरेको छ, जसलाई चिकित्सकहरूले ‘मौन महामारी’ का रूपमा अथ्र्याउने गरेका पाइन्छ ।

जी–७ का व्यापारमन्त्रीद्वारा मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त

मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त गर्दै जी–७ राष्ट्रका व्यापार मन्त्रीहरूको समूहले आइतबार चीन र रूसमाथि कटाक्ष गरेको छ ।

जापानमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा रूसले जुलाईमा ‘ब्ल्याक सी’बाट सुरक्षित खाद्यान्न ढुवानीको अनुमति दिने सम्झौताबाट बाहिरिएपछि ‘युक्रेनी खाद्यान्न निर्यात पूर्वाधार ध्वस्त पारेको’ भन्दै आलोचना गरेको थियो ।

कुनै पनि देशको नाम नलिइकन जी–७ को वक्तव्यमा ‘आर्थिक निर्भरतालाई हतियार बनाउने कार्य’ र ’महत्वपूर्ण खनिजपदार्थमा हालैको निर्यात नियन्त्रणका उपायहरूप्रति चिन्ता व्यक्त गरिएको’ पनि उल्लेख गरिएको छ ।

चीनले अन्य देशलाई राजनीतिक रूपमा दबाब दिन व्यापार प्रतिबन्धहरू प्रयोग गरेको आरोप लगाइएको छ । चीनले हालै केही प्रकारका विद्युतीय वाहन ब्याट्रीहरू बनाउनको लागि महत्वपूर्ण मानिने ग्रेफाइटमा निर्यातमा प्रतिबन्धहरू लगाएको छ ।

अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा चीनको कामलाई सुस्त बनाउने प्रयासमा उच्च प्रविधियुक्त माइक्रोचिप्सको आप्रर्तिमा नयाँ प्रतिबन्ध लगाएको केही दिनपछि यो कदम चालिएको हो ।

टोकियोले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधित फोहोर पानी छोड्न सुरु गरेदेखि नै चीन र रूसले जापानी समुद्री खाना आयातमा लगाएको प्रतिबन्धप्रति अर्को स्पष्ट संकेत गर्दै जी–७ राष्ट्रहरूले कुनै पनि प्रतिबन्ध ‘विज्ञानमा आधारित र विश्व व्यापार संगठन (डब्ल्यूटीओ) र अन्य अन्तर्राष्ट्रिय नियमअनुसार मात्र लागू हुनुपर्ने’ बताएका छन् ।

उक्त पत्रमा मध्यपूर्वको बारेमा कुनै प्रत्यक्ष उल्लेख गरिएको छैन ।तर जापानको ओसाकामा भएको बैठकको सह–अध्यक्षता गरेका जापानका विदेशमन्त्री योको कामिकावाले इजरायल र प्यालेस्टाइनको पछिल्लो अवस्थाका कारण अनिश्चितता अझै बढ्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

जी–७ मा वर्तमान अध्यक्ष जापान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, बेलायत र संयुक्त राज्य अमेरिकाका साथै युरोपेली सङ्घ रहेका छन् । सन् २०१४ सम्म यसले रूसलाई सदस्यका रूपमा समेटेको थियो ।

ओसाकामा भएको वार्तामा भारत, अस्ट्रेलिया, चिली, केन्या र इन्डोनेसियालगायत अन्य देशका प्रतिनिधि, अन्तर्राष्ट्रिय सङ्घसंस्था र निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए ।

ऐतिहासिक सम्पदा संरक्षणमा महासचिव गुटेरेसको जोड

काठमाडौँ, १२ कात्तिक ः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा जोड दिनुभएको छ ।

नेपालको चारदिने भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकनपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै पुरातात्विक महत्वका सम्पदाको वास्तविक स्वरुप बिग्रन नदिन विशेष प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव एन्टोनियो गुटेरेसले भन्नुभयो, “भावी पुस्ताका लागि नेपालका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ ।

यसले नेपालको भविष्य उज्ज्वल हुनेछ ।” सन् १९७८ मा पनि आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाबाट आफू मन्त्रमुग्ध भएको बताउनुभयो । महासचिव गुटेरेसले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको बताउँदै यस्ता ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने बताउनुभयो । साथै उहाँले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राजनीतिक दलले गरेका प्रयत्नप्रति खुसी व्यक्त गर्नुभयो ।

महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौँ, १२ कात्तिक : नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।

महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाबारे जानकारी दिनुभएको थियो ।

महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा पुग्दा धिमे बाजा र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारी सहभागी हुनुहुन्छ । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार यहाँ आइपुग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।

राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

काठमाडौँ, १२ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा आज अपराह्न शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

दशैं बिदामा आन्तरिक पर्यटकको गन्तव्य मनाङ

मनाङ, १२ कात्तिक : हेटौँडाका अमृत ताम्राकार दसैँ बिदाको समय सदुपयोग गर्न मनाङ भ्रमणमा आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “लामो समयदेखि मनाङ आउने योजना थियो, बल्ल यसवर्ष आउने समय मिल्यो ।” मनाङ आएर यहाँको प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेको ताम्राकारको भनाइ छ ।

“हामी धेरै पछाडि छौँ, प्रकृतिसँग खेल्न र प्रकृतिलाई बुझ्न सकेका छैनौँ, यहाँको सुन्दरता छाडेर विदेश घुम्ने योजना बनाउँछौँ, पहिले आफ्नो देशको प्रकृतिलाई बुझ्न सक्नुपर्छ, अनि विदेश भ्रमण गर्ने हो, यहाँ छ असली प्रकृति र संस्कार, संस्कृति, हामीले घुमेर र बुझेर नै प्रवद्र्धन गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । ताम्राकार जस्तै नुवाकोटका हरि तामाङ पनि मनाङको प्राकृतिक सौन्दर्यसँग रमाउन व्यस्त हुनुहुन्छ । “मनाङ बाहेक अरु कुन ठाउँ हुनसक्छ स्वर्ग यही हो, एक पटक आउनै पर्ने ठाउँ नै मनाङ हो, जीवित नै स्वर्ग पुगेको आभास भइरहेको छ”, तामाङले भन्नुभयो ।

“मरेपछि स्वर्ग पुगिन्छ पुगिदैन, जिउँदै आएका छौँ, हामी त स्वर्गमा, यस ठाउँमा एक पटक सबै नेपाली आउनुपर्छ, प्रकृतिको असली स्वर्ग घुम्न जरुरी छ”, उहाँले भन्नुभयो । चिसो बढ्दै गरेको अवस्था र जोखिम बढी हुने क्षेत्र भएकाले यहाँ आउँदा भने जानकारी लिनु पनि आवश्यक रहेको तामाङको बुझाइ छ । तिलिचो ताल, सकेसम्म थोराङ्ला भञ्ज्याङ पुग्ने योजना भएको उहाँले बताउनुभयो । मनाङ विभिन्न तालतलैया, संस्कार, संस्कृति र परम्परालाई अनुभवसँगै मनाङीको आतिथ्य सत्कारलाई भरपुर रुपमा आनन्द लिइरहेको उहाँले बताउनुभयो । यहाँका बाटोमा आउँदा झरना, विभिन्न तालतलैयामा भरपुर रुपमा घुम्दै एक हप्ता सकाउने योजना रहेको उहाँको भनाइ छ ।

तामाङले भन्नुभयो, “यहाँ आएपछि त फर्किन नपरोस् जस्तो पो लाग्ने रहेछ, यहाँका प्रकृतिसँग रमाउँदै बस्न पो मन लाग्ने रहेछ ।” यहाँ आएर हिमालको एकदम नजिक पुगे जस्तो भइरहेको छ । बिदाको समय सदुपयोगसँगै नयाँ ठाउँको भ्रमण र प्रवद्र्धनमा टेवा पुग्ने उनीहरुको भनाइ छ । यसले प्रष्ट हुन्छ कि नेपालीमा भ्रमण गर्ने प्रचलन बढेको छ । नेपालीमा विस्तारै भ्रमण गर्ने योजनासहित नयाँ स्थानको भ्रमण तथा अवलोकन गर्ने प्रचलन बढ्दै गएको छ ।

बिदाको समयलाई नेपालीले भरपुर सदुपयोग गर्न थालेका छन् । यसमा हिन्दुको महानपर्व बडादसैँ र तिहार यसवर्ष एउटै महिनामा परेको छ । अहिले नेपालीले बिदाको समय पूर्णरुपमा भ्रमणमा सदुपयोग गरिरहेका छन् । दसैँ र तिहार मनाउनका लागि विदेशबाट स्वदेश फर्किएका नेपाली र कलेज, क्याम्पस अध्ययनरत विद्यार्थी लामो बिदाको सदुपयोग गर्दै मनाङ भ्रमणमा निस्कने गरेको पाइन्छ । अहिले नेपालका विभिन्न स्थानबाट हिमाली जिल्ला मनाङ आउने आन्तरिक पर्यटक बढेका छन् । दसैँ र तिहार बिदामा पर्यटकीय क्षेत्र मनाङको भ्रमणमा आउने बढेको स्थानीय बताउँछन् ।

विगतको तुलनामा आन्तरिक पर्यटक बढ्नुले नेपालीमा भ्रमण तथा अवलोकनमा निस्कने प्रचलन बढेको नासों गाउँपालिका–१ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो । उहाँका अनुसार दसैँको बिदामा दैनिक रुपमा मनाङ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेको छ । आन्तरिक पर्यटक बढ्दै गर्दा कोभिडका कारण सुस्ताएको व्यवसाय उकासिने अपेक्षासहित व्यावसायीमा खुसी छाएको छ । होटल व्यावसायी बाबुराम तामाङ भन्नुहुन्छ, “आन्तरिक पर्यटक आगमन हुँदा रात परेको थाहै भएन, काम गर्न भ्याइनभ्याइ छ ।” दसैँको बिदामा दैनिक रुपमा आन्तरिक पर्यटक एक हजार पाँच सय जति आउने गरेका तामाङले बताउनुभयो । “हामीलाई भ्याइनभ्याइ भएको छ, होटल तथा पर्यटन व्यवसायीलाई त पर्यटकको स्वागतमा नै व्यस्त हुँदा दसैँ आउँदा खुसी छाएको छ”, उहाँले भन्नुभयो । अहिले मनाङका सबैजसो होटल भरिभराउ रहेको उहाँले बताउनुभयो ।

आन्तरिक पर्यटकले मनाङलाई गन्तव्य बनाएर आउँदा होटल तथा पर्यटन व्यवसायीमा बन्द व्यापार चलायमान भएको बताउँछन् । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आगमनले दुई वर्ष कोभिडले थलिएको व्यापारमा उत्साह थपिएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

“यसवर्ष मनाङ पर्यटकीयस्थल हो भनेर आभास भएको छ, नभए दुई वर्ष त सिजनमा पनि सुनसान भएको थियो, यसवर्ष आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकको आगमन बढेको छ”, उहाँले भन्नुभयो । पर्यटकले बासस्थानको लागि भने आवश्यक जानकारी लिनुपर्ने उहाँको सुझाव छ । चिसो मौसममा होटल नपाउने समस्या हुनसक्ने अवस्था रहेकाले आवश्यक जानकारी लिएर आउन उहाँको भनाइ छ । गुरुङले भन्नुभयो, “विगतमा बाह्य पर्यटकको मात्रै आगमन हुने यस सिजनमा यसवर्ष आन्तरिक पर्यटकको पनि उल्लासमय आगमन भइरहेको छ ।” यसले गर्दा सुस्ताएको व्यापारमा आशा पलाएको उहाँले बताउनुभयो । सिजन भएकाले सबै प्रकारका होटलमा पर्यटकको रहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने काम नभए पनि उल्लेख्य आगमन भएको उहाँले बताउनुभयो । “जुनसुकै होटलमा कम भए पनि पर्यटक रहेका पाइन्छन्”, गुरुङले भन्नुभयो । हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुआतको समयमा गरी दुई सिजनमा मनाङ घुम्न अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी कोही मुस्ताङ त कोही पोखरा पुग्दछन् । अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ–आफ्नो गन्तव्यतर्फ जाने गर्दछन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारा हो । पर्यटकले यहाँबाट सुरु गरिएको यात्रा विशेष गरी मुस्ताङ पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँ, पोखरा, चितवन, बुटवललगायतका स्थानदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत मनाङ आउन सकिन्छ । पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन्

आयात बढ्दा निर्यात घट्यो, तीन महिनामा तीन खर्ब ६६ अर्बको व्यापार घाटा

काठमाडौँ, १२ कात्तिक : चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले रु चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ

। गत आर्थिक वर्षको सोही अवधिमा रु चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ ।

विभागका अनुसार सो अवधिमा नेपालबाट रु ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा रु ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो । सो अवधिमा नेपालको वैदेशिक व्यापार रु चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ ।

गत वर्षको यही अवधिमा रु चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा रु तीन खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । गत वर्षको सोही अवधिमा रु तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो ।

बाइडेन–सि भेटघाटको बाटो ‘सहज’ छैन– चिनियाँ विदेशमन्त्री वाङ

बेइजिङ-वासिङ्टनको दुर्लभ भ्रमण पूरा गर्नुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो ‘सहज थिएन’ भन्नुभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

यसै साता वाङले अमेरिकी राष्ट्रपति बाइडेन र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्नुभयो । शुक्रबार दुवै पक्ष आगामी महिना नेताहरूबीच एउटा बैठक आयोजना गर्न सहमत हुनुभएको थियो ।दुवै शक्तिबीच तनावपूर्ण सम्बन्धको समयमा अमेरिकी राष्ट्रपति बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सिलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गर्नुभएको छ । अमेरिका जाने बारेमा राष्ट्रपति सिले अहिलेसम्म पुष्टि गर्नुभएको छैन ।सिन्ह्वाका अनुसार विदेशमन्त्री वाङले शनिबार वासिङ्टनमा एस्पेन स्ट्राटिजी ग्रुपद्वारा आयोजित कार्यक्रममा भन्नुभयो, “दुवै पक्षले चाँडोभन्दा चाँडो द्विपक्षीय सम्बन्धलाई स्थिर र सुधार गर्ने आशा गरेका छन् र दुवै राष्ट्र प्रमुखबीच सान फ्रान्सिस्को शिखर सम्मेलनमा सँगै मिलेर काम गर्न सहमत भएका छन् ।”सिन्ह्वाका अनुसार वाङले चेतावनी दिँदै भन्नुभयो, “सान फ्रान्सिस्को मार्ग सहज छैन र यसलाई ‘अटोपाइलट’ का भरमा छोड्न सकिँदैन ।” सन् २०२२ नोभेम्बरमा बालीमा भएको भेटयता बाइडेन र सिबीच कुनै सम्पर्क भएको छैन ।दुवै मुलुक एसिया–प्रशान्त क्षेत्र र त्योभन्दा बाहिरको प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको र बेइजिङले अमेरिकी प्रभूत्वलाई कम गर्न रुससँग सहयोग बढाइरहेकाले विश्वका दुई शीर्ष अर्थतन्त्र मुलुकबीच वर्षौँदेखि सम्बन्ध तनावपूर्ण रहेको छ ।सिन्ह्वाका अनुसार वाङले शनिबार दुवै पक्षले हस्तक्षेप अन्त्य गर्न, अवरोधहरू हटाउन र आम सहमति बढाएर परिणाम हासिल गर्नुपर्ने बताउनुभएको थियो ।–––

पहिलो पटक अन्तरिक्षमा मुसाको भ्रूणको विकास

जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्यरूपमा भ्रूणको विकास भएको छ र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुनसक्ने सङ्केत दिएको छ ।

यामानाशी विश्वविद्यालयको एडभान्स्ड बायोटेक्नोलोजी सेन्टरका प्राध्यापक तेरुहिको वाकायामा र जापान एयरोस्पेस स्पेस एजेन्सी (जेएएक्सए) को एउटा टिमसहितको अन्वेषकहरूले सन् २०२१ अगस्टमा एउटा रकेटमा जमेको मुसाको भ्रूणलाई आइएसएसमा पठाएका थिए । 

अन्तरिक्ष यात्रीहरूले सोही उद्देश्यले डिजाइन गरिएको विशेष उपकरणको प्रयोगले प्रारम्भिक चरणमा भ्रूणहरूलाई पगाले र तिनीहरूलाई चार दिनसम्म स्टेसनमा विकसित गरे । 

“सूक्ष्म गुरुत्वाकर्षणको परिस्थितिमा विकसित भएका भ्रूण सामान्यतया ब्लास्टोसिस्टमा विकसित हुन्छन्, बलास्टोसिस्ट त्यस्तो कोशिका हो जुन प्लेसेन्टामा विकसित हुन्छ”, वैज्ञानिकहरूले भनेका छन् । 

शनिबार वैज्ञानिक पत्रिका आईसाइन्समा अनलाइन प्रकाशित एक अध्ययनमा अन्वेषकहरूले भनेका छन्, “प्रयोगबाट के स्पष्ट भएको छ भने भ्रूणको विकासमा गुरुत्वाकर्षणको कुनै उल्लेखनीय असर थिएन ।”

उनीहरूले पृथ्वीमा प्रयोगशालामा फिर्ता पठाइएको ब्लास्टोसिस्टको विश्लेषण गरेपछि डीएनए र जीनको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन नभएको पनि बताएका छन् । 

“यो पहिलो अध्ययनले अन्तरिक्षमा स्तनधारी फस्टाउन सक्छन् भन्ने देखाएको छ”, यामानाशी विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान संस्थान रिकेनले संयुक्त विज्ञप्तिमा भनेका छन्, “आईएसएसको पूर्ण सूक्ष्म गुरुत्वाकर्षण अन्तर्गत प्रारम्भिक चरणमा स्तनधारी भ्र्रूणहरूको सम्वर्द्धन गरिएको विश्वमा यो पहिलो प्रयोग हो ।”

“ब्लास्टोसिस्ट सामान्य हो भन्ने पुष्टि गर्नका लागि भविष्यमा आईएसएसको सूक्ष्म गुरुत्वाकर्षणमा विकसित ब्लास्टोसिस्टलाई मुसामा प्रत्यारोपित गर्न आवश्यक हुनेछ । यसबाट मुसाले बच्चा जन्माउन सक्छ वा सक्दैन भन्ने थाहा पाउन सकिनेछ”, विज्ञप्तिमा भनिएको छ ।  यस्तो अनुसन्धान भविष्यमा अन्तरिक्ष अन्वेषण र औपनिवेशिक अभियानका लागि महत्वपूर्ण हुनसक्छ । 

बाँकेमा विद्युत् महसुल नतिर्नेको आजबाट लाइन काट्दै प्राधिकरण

विद्युत्को महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन काटिने नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज र कोहलपुर वितरण केन्द्रले जनाएको हो । प्राधिकरणका अनुसार ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल भुक्तानी बाँकी रहेका ग्राहकको कात्तिक १२ गतेदेखि अभियानको रूपमा विद्युत् लाइन काटिने छ ।

प्राधिकरणले यसअघि नै सूचना जारी गरी आठ स्थानीय तहलाई पनि रु बाइस करोड ८५ लाख विद्युत् महसुल तिर्न ताकेता गरेको थियो । पैँतालिस दिनभित्र महसुल नतिरे कारबाही गर्ने चेतावनी दिएपछि स्थानीय तहका प्रमुखले आपसी छलफल गरेपश्चात् लाइन काट्ने निर्णयमा पुगिएको नेपालगञ्ज शाखाका प्रशासन प्रमुख भवानी चन्दले बताउनुभयो ।

उहाँले प्राधिकरणले सार्वजनिक गरेको सूचना पूर्णरुपले कार्यान्वयन गरिने भएकाले अब महसुल नबुझाए नियमनअनुसार कारबाही हुने पनि जानकारी दिनुभयो ।
अनुमति नलिइ बिना मिटर आफूखुसी जथाभावी सडकबत्ती जडान गर्ने कार्य कानुनसम्मत नरहेकाले सो नगर्न र नगराउन तथा मिटर जडान नगरी बालिएका त्यस्ता सडक बत्तीमा प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गराउन पनि सम्पूर्ण स्थानीय निकायलाई अनुरोध गरिएको प्राधिकरणकोे सूचनामा भनिएको छ । मिटर जडान नगरिएका अनधिकृत सडकबत्ती हटाइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाँकेका आठ स्थानीय तहले रु २२ करोड ८५ लाख ३१ हजार ८४ विद्युत् महसुल बुझाउन बाँकी छ । सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाले रु १९ करोड ४५ लाख आठ हजार १९ विद्युत् महसुल तिर्न बाँकी रहेको छ भने कोहलपुर नगरपालिकाले रु पाँच लाख ९८ हजार छ सय ४४ बुझाउन बाँकी छ । यसैगरी वैजनाथ गाउँपालिकाले रु त्रिसठ्ठी हजार ७० हजार, राप्ती सोनारी गाउँपालिकाले रु पन्द्र हजार सातसय सात, खजुरा गाउँपालिकाले रु पाँच हजार सात सय ७८, डुडुवा गाउँपालिकाले रु एक करोड चौराननब्बे लाख ५८ हजार १९, नरैनापुर गाउँपालिकाले रु एक लाख २३ हजार सात सय ५० र जानकी गाउँपालिकाले रु चौध लाख ४९ हजार तीन सय ६८ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको चेतानवीपश्चात् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विद्युत् महसुल बाँकी विषय पहिलेदेखिकै भएको बताउनुभयो ।
“अन्य महसुलको समस्या छैन । सडक बत्तीको हकमा देशभरको समस्या छ । यो विषयमा के गर्ने भन्ने विषयमा हामी छलफल गर्दैछौँ । चाँडै नै केही निष्कर्ष निकाल्छौंँ ।” उहाँले भन्नुभयो । विद्युत् महसुल तिर्ने विषयलाई लिएर उपमहानगरपालिका र विद्युत् वितरण केन्द्रबीच पहिलेदेखि नै टकराव थियो । प्राधिकरणले उपमहानगरको क्षेत्राधिकार रहेको जमिनमा विद्युत् पोल र लाइन विस्तार गरेकाले त्यसको शुल्क तिरेपछि मात्रै आफूहरूले महसुल तिर्नुपर्ने तर्कराख्दै आएको प्राधिकरणले जनाएको छ ।

विद्युत् महसुल तिर्नुपर्ने भनेर प्राधिकरणले ताकेता गरेपछि प्राधिकरणले पनि विद्युत् पोलहरूको महसुल तिर्नुपर्ने भनेर आफूहरूले अडान लिएकाले उक्त विषय अहिले पनि विवादित नै रहेको सम्बद्ध वडाध्यक्षहरूको भनाइ थियो।

अवैध निकासी पैठारी नियन्त्रण गर्न नेपाल–भारत सिमा नाकामा कडाइ गरिने

वीरगञ्ज, १२ कात्तिक : नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासी/पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासी/पैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागुऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपाराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिनुभयो ।

यस्तै बैठकमा सिमानाकाबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी तथा तस्करीलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको प्रजिअ रेग्मीले बताउनुभयो । भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई मध्यनजर गरी सिमाक्षेत्रको सुरक्षा प्रबन्धलाई चुस्तदुरुस्त बनाउने र दुवै मुलुकका सुरक्षा अधिकारीबीच सहकार्य गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय भएको प्रजिअ रेग्मीको भनाइ छ । बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गर्नुभएको थियो ।

दसैँमा २२ दुर्घटना हुँदा दुईको मृत्यु, ३८ घाइते

पर्सा जिल्लामा विजयादशमी अवधिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । यही कात्तिक ४ गतेदेखि कात्तिक ७ गते विजयादशमीको चार दिनको अवधिमा भएको सवारी दुर्घटनामा सो सङ्ख्यामा मानवीय क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिनुभयो ।

सो अवधिमा पर्सा जिल्लामा २३ वटा मोटरसाइकल, सात वटा कार/जीप, दुई वटा ट्रक र दुई वटा साइकल तथा तीन वटा अटो रिक्सा दुर्घटना भएको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । उहाँका अनुसार सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएको तीन सय ६२ सवारीसाधनमा कारबाही गरी जरिवानाबापत रु तीन लाख ५७ हजार राजस्व सङ्कलन भएको छ ।

लागुऔषधसहित युवक पक्राउ

ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित पर्सा प्रहरीले पोखराका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–६ निवासी ४० वर्षीय रवीन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेकोग १ ख ९६२६ नं को सार्वजनिक यात्रुबाहक बसलाई वीरगञ्ज महानगरपालिका २१ परवानीपुरमा जाँच गर्ने क्रममा केसीले बसको चालक बस्ने सिटमुनी सेतो झोलामा कालो प्लास्टिकको झोलाभित्र पत्रिकामा सेतो टेपले बेरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद् भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका साथबाट फेनारगन ३०० एम्पुल, डाईजेपाम–३०० एम्पुल र आइपीपीएल नुरफिन ३०० एम्पुल गरी ९०० एम्पुल लागुऔषध बरामद् भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो

किन अघि बढेन स्याफ्रुबेँसी–रसुवागढी सडकको काम ?

काठमाडौँ, १२ कात्तिक : सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न नसकेकै कारण भौतिक काम सुरु हुन नसकेको हो ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि र विसं २०७२ को नाकाबन्दीपछि सरकारले उच्च महत्त्वका साथ अघि बढाउने भने पनि त्यसअनुसार अघि बढ्न सकिरहेको छैन । यो खण्डको निर्माणका लागि केही समय पहिले चिनियाँ टोली आएर छलफल भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । अघि बढ्ने कुरा भए पनि उनीहरूले भनेअनुसार निर्माणस्थल खाली गराउन नसकिएको योजनाका इञ्जिनीयर सन्तराम पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुको अडान काम गर्न पूरै खाली हुनुपर्छ भन्ने छ ।”पहिले सरकार र चिनियाँ पक्षबीच सम्झौता हुँदा घरटहरा हटाउने, बिजुलीको पोल हटाउने जिम्मा सरकारको र निर्माणको काम चीन सरकारको हुने उल्लेख थियो । उनीहरुले ठेक्का पनि लगाएको तर उनीहरुको माग घरटहरा पूरै हटाइसकेर ‘साइट’ पूरै ३० मिटर खाली गर्नुपर्छ भन्ने रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरूले भनेअनुसार गर्दा स्याफ्रुबेँसी बजार पूरै उठ्छ । त्यसैले अहिले जति उपलब्ध छ त्यतिमा गर्नुपर्छ ।” सडक निर्माणका लागि ठेक्का भइसक्दा पनि स्याफ्रुबेँसीमा स्थानीयले ठाउँ नछाडेकाले निर्माणमा जान नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताउनुभयो ।सडकको अधिकार क्षेत्र खाली गराउन अझै एक दुई ठाउँमा विवाद छ । जैसीले भन्नुभयो, “स्याफ्रुबेँसी क्लियर भएपछि आउँछु भन्छन् तर गर्न सकिएको छैन ।” यो सडकमा केन्द्रबाट १५/१५ गरी जम्मा ३० मिटर चौडाइ कायम गराउनुपर्ने हुन्छ । राजमार्गमा चौडाइ त्यति चाहिने भए पनि त्यहाँ जग्गा नै उपलब्ध नहुँदा जति उपलब्ध हुन सक्छ त्यतिमा मात्रै गर्नेगरी सहमति गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रूपमा स्थापित गर्ने सरकारको योजना थियो । सरकारले सडक ऐन, २०३१ को दफा ३ को खण्ड ‘ख’ अनुसार यसलाई ‘फिडर रोड’ तोकेर केन्द्रबाट १५/१५ मिटर गरी ३० मिटर कायम गरिएको थियो । योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ ।चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्ला पर्छन् । भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरेका छन् । सरकारले यसलाई उत्तर–दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म पुग्नेछ । स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको सडकको लम्बाइ १७ किमी छ । गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ ।

नेपाल पर्वतारोहण सङ्घको स्वर्ण महोत्सव : विश्वका आरोही नेपाल आउँदै

काठमाडौँ, १२ कात्तिक : विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ । मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न नेपालका चर्चित हिमाल तथा पिकको महत्वपूर्ण भूमिका रहेको छ । तिनै पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घले स्थापनाको ५० वर्ष मनाउदैँछ ।

नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील एकमात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको सङ्घले यही कात्तिक १५ गते ५०औँ स्वर्ण महोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको हो । महोत्सवमा विश्वविख्यात आरोहीहरुको सहभागिता रहने र त्यहाँ समग्र पर्वतीय पर्यटन विकासबारे छलफल हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त दिवसका अवसरमा कात्तिक १४ गते एशिया महादेशमा रहेका अल्पाइन क्लबहरुको छाता संस्थाको रुपमा रहेको एशियाली पर्वतारोहण महासङ्घको साधारणसभा काठमाडौँ आयोजना हुदैँछ । नेपालको पर्वतीय पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले आयोजना हुने साधारणसभामा १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
त्यसैगरी कात्तिक १५ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आर्मी अफिसर्स क्लबमा विशेष समारोह आयोजना गरिनेछ । सो कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा विशिष्ट अधिकारीसहित विश्व पर्वतारोहण महासङ्घका अध्यक्ष, एशियाली पर्वतारोहण महासङ्घका अध्यक्ष, विभिन्न अल्पाइन क्लबका प्रतिनिधि, विश्व विख्यात आरोहीहरु, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

दिवसका अवरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ८० भन्दा बढी मुलुकमा सञ्जाल भएको विश्व पर्वतारोहण सङ्घका अध्यक्षलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ । विश्वभरका चर्चित आरोहीको नेपाल आगमन र विभिन्न गन्तव्यको भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सङ्घका महासचिव मोहन लम्सालले बताउनुभयो ।
एशियाली पर्वतारोहण महासङ्घ र विश्व पर्वतारोहण महासङ्घका प्रतिनिधिको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो,“एशियाली अल्पाइन क्लबका अध्यक्ष र प्रतिनिधि तथा एशियाली महासङ्घका पदाधिकारीको नेपाल आगमन आफैमा नेपालको पर्यटनका निम्ति महत्वपूर्ण विषय हो, विश्व विख्यात आरोही पनि आउने भएकाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको प्रवद्र्धनमा थप मद्दत पुग्ने छ ।”

एशियाली पर्वतारोहण महासङ्घको साधारण सभाले सुरक्षित आरोहणसम्बन्धी रणनीति तयार गर्ने सङ्घका अध्यक्ष शेर्पाले बताउनुभयो । हिमाल संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा साझा अभ्यासबारे पनि छलफल हुनेछ । सोही कार्यक्रममा एनएमएले हरेक वर्ष प्रदान गर्दै आइरहेको कुमार खड्ग विक्रम शाह प्रतिभा पुरस्कार, दावानर्बु शेर्पा पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार र डा हर्क गुरुङ पर्वतीय पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यस्तै सङ्घले यसैवर्षदेखि स्थापना गरेको पासाङल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार आठ हजार मिटरभन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल महिला आरोही पासाङल्हामु शेर्पा ‘अकिता’ लाई प्रदान गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ ।

दिवसका अवसरमा जलवायु परिवर्तनले पार्ने अवसरबारे विश्वलाई सन्देश दिने उद्देश्यले सगरमाथाको आधार शिविर नजिक कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । सगरमाथाको सबैभन्दा छिटो आरोहण गरेर कीर्तिमान कायम गर्ने काजी शेर्पाले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौँ हुँदै कालापत्थर पु¥याउनाका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको सङ्घले जनाएको छ ।

विकासशील मुलुकमा स्तरोन्नति हुन गरिएका नेपालका प्रयास प्रशंसनीय : महासचिव गुटेरेस

काठमाडौँ, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको बताउनुभएको छ ।

नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विश्वमा शान्ति स्थापना र बहुपक्षीय समस्या समाधानका लागि नेपालले उल्लेख्य भूमिका खेलेको पनि जनाउनुभयो ।

“नेपालले पछिल्लो २० वर्षमा शान्ति स्थापनाका साथै राजनीतिक व्यवस्था परिवर्तनमा सकारात्मक उपलब्धि हासिल गरेको छ । आगामी दिनमा नेपालले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य हासिल गर्न चालेका कदम पनि प्रशंसनीय छन्”, उहाँले भन्नुभयो ।

कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।

महासचिव गुटेरेसले भम्रणका क्रममा नेपालका हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेकोे गम्भीर असरलाई आफैँले अवलोकन गर्ने जनाउँदै जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग भेट्ने बताउनुभयो ।

महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउँदा अन्तर्राष्ट्रिय मापदण्ड र सर्वाेच्च अदालतको फैसलाका आधारमा पीडित, तिनका परिवार र समुदायमा शान्ति र न्यायको प्रत्याभूति दिलाउनपर्नेमा जोड दिनुभयो ।

महासचिव गुटेरेसले नेपालमा आफ्नो भ्रमणले राष्ट्रसङ्घ र नेपालबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । महासचिव गुटेरेसले आफूले पोखरा र लुम्बिनीको भ्रमण गर्ने जनाउँदै भगवान् गौतम बुद्धले शान्तिका लागि दिएका उपदेश आजको अशान्त र समस्याग्रस्त विश्वका लागि सबैभन्दा धेरै उपयोगी सावित हुने बताउनुभयो । महासचिव गुटेरेसले नेपालमा अन्तर्राष्ट्रिय सहयोग बढाउन पहल गर्ने विश्वास पनि दिलाउनुभयो ।

“नेपाल विश्वको मित्र बनेको छ । त्यसैले विश्वका सबै राष्ट्र अब नेपालको अशल मित्र बन्नुपर्छ । आपसमा सहकार्य र सहयोगले त्यो सम्भव हुन सक्नेछ” महासचिव गुटेरेसले भन्नुभयो । महासचिव गुटेरेसले इजरायल र प्यालेस्टाइनबीचको जारी युद्धका सन्दर्भमा कहिल्यै पनि नागरिकको हत्या, अपहरण र यातना दिने काम कुनै पनि हालतमा न्यायिक हुन नसक्ने स्पष्ट गर्दै गाजाको स्थिति झन खराब हुँदै गइरहेकामा दुःख व्यक्त गर्नुभयो ।

“मलाई दुःख लागेको छ तत्काल मानवीय उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै गर्दा इजरायलले आफ्नो सैनिक कारबाही बढाएको छ”, महासचिव गुटेरेसले भन्नुभयो, “कुनै पनि पक्षले युद्धसम्बन्धी अन्तराष्ट्रिय कानुन र मान्यताको पालना, मानवीयता र आफ्ना दायित्वको सम्मान र पालना गर्नुपर्छ । युुद्धका समयमा नागरिकको सुरक्षालाई कसरी ध्यान दिने भन्ने मानवीय कानुन र अभ्यासको पालना अपरिहार्य हुन्छ ।”

गाजा क्षेत्रमा विश्वका झण्डै २० लाख मानिस आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य उपचारबाट वञ्चित भइरहेको बताउँदै उहाँले सबै प्रकारका युद्धको बिराम गरी अपहरणमा परेकालाई सुरक्षित फिर्ता गर्न र जोखिममा रहेका गाजाका नागरिकलाई तत्काल उद्धार उपलब्ध गराउन सरोकारवाला सबै पक्षसँग आह्वान गर्नुभयो ।

उहाँले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीका परिवारप्रति शोक व्यक्त गर्दै अहिलेसम्म बेपत्ता रहेका विपीन जोशीको सुरक्षित उद्धारको अपेक्षा गर्नुभयो ।

सभामुख घिमिरेसँग महासचिव गुटेरेसको भेटवार्ता

काठमाडौँ, १२ कात्तिक : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

बानेश्वरस्थित संसद् भवनमा आज भएको भेटवार्तामा सभामुख घिमिरले महासचिव गुटेरेसलाई नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउन आफूहरु प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

उहाँले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको अवगत गराउँदै अब निकट भविष्यमै ऐन निर्माण हुने अपेक्षा व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

सभामुख घिमिरेले नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित र आफैँले नेतृत्व गरी शान्ति प्रक्रिया निष्कर्षमा पु¥याएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसङ्घीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको बताउनुभएको थियो ।

सभाुमख घिमिरेले भन्नुभयो, “नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया सन् २००६ मा सरकार र तत्कालीन विद्रोही पक्षबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित छ ।”

उहाँले नेपाल भगवान् गौतम बुद्धको देश भएको र नेपाली शान्तिप्रिय रहेको जानकारी गराउँदै नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धि विश्वका लागि नै मोडेल बन्न सक्छ भन्ने आफूलाई लागेको जानकारी गराउनुभयो । विश्वका कतिपय देशहरुमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टीकृत प्रयासहरु उदाहरण बन्न सक्ने पनि सभामुख घिमिरेको भनाइ थियो ।

“विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ हामीले अहिलेसम्म भोगेको सबैभन्दा ठूलो मानवीय चुनौतीका रुपमा रहेको छ”, सभामुख घिमिरेले भन्नुभयो, “नेपालले संयुक्त राष्ट्रसङ्घ र यसका एजेन्सी तथा निकायहरुलाई विशेषतः कोभिड–१९ को अति जोखिमपूर्ण र कठिन समयमा उपलब्ध गराएको सहयोग र सहायताका लागि विशेष आभार प्रकट गर्न चाहन्छु ।”

सभामुख घिमिरेले जलवायु परिवर्तनसम्बन्धी विषय नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै एक भूपरिवेष्टित पर्वतीय तथा न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएर पनि नेपालले जलवायु परिवर्तनको असमानुपातिक असर व्यहोर्नु परिरहेको बताउनुभयो । उहाँले महिला तथा बालबालिका जलवायु परिवर्तनको गम्भीर असरबाट झनै बढी प्रभावित भएका हुँदा संयुक्त राष्ट्रसङ्घीय प्रणालीको प्रभावकारिता अभिवृद्वि गर्न महासचिव गुटेरेसले चाल्नुभएको कदमको स्वागत गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “नेपालको संसद्को नियमावलीमा नै राष्ट्रसङ्घका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको छ, तपाईंको सम्बोधनलाई नेपाली जनताले पनि चासोका साथ हेरेका छन् ।”

त्यस भेटका अवसरमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउन राष्ट्रसङ्घ आवश्यक सहयोग गर्न तयार बताउनुभयो । साथै महासचिव गुटेरेसले सङ्क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपाल र स्विट्जरल्याण्डका राजदूतबीच भेट

काठमाडौँ, १२ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानिइल्ले म्युले आज शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । अध्यक्ष नेपालले राजदूत म्युलेको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा

राँझा (बाँके), १२ कात्तिक- नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ ।उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताउनुभयो ।

उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युुदर घटाउन प्रभावकारी भएको उहाँको भनाइ छ ।

उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताउनुभयो । “अस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुख, दुःखमा सँगसँगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो”, उहाँले भन्नुभयो, “चौबीसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स ‘स्ट्याण्डबाई’ रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ ।”

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले उपमहानगरपालिकाले स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाले नगरका २३ वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलोपटक एक जना एमबिबीएस चिकित्सक र ल्याब टेक्निसियनसहित स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छ ।

“विशेषज्ञ सेवाका लागि नेपालगन्जमै भेरी अस्पताल रहेकाले नागरिकको स्वास्थ्य प्रवर्द्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छ”, उहाँले भन्नुभयो, “अहिले विकराल बन्दै गएको नसर्ने रोगको अवस्थालाई मध्यनजर गरी केन्द्रबाट नगरवासीलाई स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा सेवा प्रवाह गरिएको छ ।”

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै हुँदै गएकाले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिकरूपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने भएकाले स्वास्थ्य प्रवर्द्धनका लागि सबैले पैरवी गर्ने बेला आएको उहाँको भनाइ छ ।

दसैँका समयमा पाथीभरामा २५ हजारभन्दा बढी जनाले दर्शन गरे

फुङ्लिङ (ताप्लेजुङ), १२ कात्तिक : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ । नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन चार हजार तीन सय २२ जनाले दर्शनका छन् ।

दसैँ र तिहारका समयमा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्पराअनुसार नवरात्रयता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नवरात्रपछि दैनिक हजारौँ सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरिरहेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।उहाँका अनुसार अधिकांश जिल्लाबाट पाथीभरा दर्शन गर्न भक्तजन आएका छन् । सङ्घीय राजधानी काठमाडौँलगायतबाट समेत भक्तजन दर्शनमा आएका छन् । नेपाल बाहिर भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट केही भक्तजन पाथीभराको दर्शनमा आएको समितिले जनाएको छ ।

चिल्लागढधाममा ५० लाखको लागतमाफाल्गुनन्दको सालिक निर्माण

आज विश्व पक्षाघात दिवस ,विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ, १२ कात्तिक : ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।

समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन् । नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा राजु पौडेल विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको बताउनुहुन्छ । हरेक छ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षाघात हुने गरेको छ ।

पक्षाघातको उपचारका लागि नेपाल पक्षाघात सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको डा पौडेल बताउनुहुन्छ ।

उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षाघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षाघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।

यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षाघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षाघातसम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । देशभरका १५ अस्पतालको पक्षाघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि सङ्घले गर्दै आएको छ ।

वरिष्ठ न्यूरोलोजिस्टसमेत रहनुभएका डा पौडेल पक्षाघात भएकामध्ये एकतिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

“विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ”, उहाँ भन्नुहुन्छ । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा पौडेल जोड दिनुहुन्छ । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

डा पौडेलका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा पौडेल बताउनुहुन्छ ।

पक्षाघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ । नेपालमा भौगोलिक विकटता, सीमित स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा पौडेल बताउनुहुन्छ ।

नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौँ : नेत्री अन्सारी

काठमाडौँ, १२ कात्तिक: जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिनुभएको छ । ‘सांसदसँग रासस संवाद’ मा उहाँले २२ जिल्ला समेटिएको मधेस प्रदेश तथा निर्वाचनसहित राज्यका सबै निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको माग गरिएकामा अहिले अभ्यासमा रहेको व्यवस्थालाई पनि उपलब्धिकै रूपमा ग्रहण गरिएको बताउनुभयो ।

सांसद अन्सारी भन्नुहुन्छ, “जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, चुनावलाई कम खर्चिलो तुल्याउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा तराईका २२ जिल्ला समेटिएको मधेस प्रदेशको माग भने हामी निरन्तर उठाइरहने छौँ ।” समानुपातिकका नाममा आफ्ना नातागोता र पैसा असुलेर उम्मेदवार बनाउने प्रवृत्ति गलत रहेको बताउँदै उहाँले भन्नुभयो, “समानुपातिकमा नेताका श्रीमती, छोरा÷छोरी, भान्जा÷भान्जी र आसेपासेलाई ल्याइनुहुन्न । जनताले त्यस्तालाई निर्वाचनमा तिरस्कार गर्नुपर्छ ।”

नेपाल सद्भावना पार्टीमा रही विसं २०४६ देखि राजनीतिक यात्रा सुरु गर्नुभएकी नेत्री अन्सारीले सोही पार्टीको महिला विभाग, काठमाडौँ उपत्यका इन्चार्जको जिम्मेवारीका साथ विसं २०५६ मा रौतहटबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुभयो । पछिल्लो समय उहाँ जसपा नेपालका पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

संसद् संविधान, कानुन, नियम बनाउने थलो भए पनि त्यहाँका क्रियाकलापले सत्तापक्ष र प्रतिपक्षको युद्धस्थलजस्तो भएको विचार राख्दै नेत्री अन्सारीले प्रतिपक्षले विरोधका लागि विरोध र सत्तापक्षले त्यसको आलोचना मात्रै गर्ने कार्यले गोलमाल देखिएको भनाइ राख्नुभयो ।

सप्तरी र रौतहट कार्यक्षेत्र भएकी तथा समानुपातिक निर्वाचन प्रणालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने अन्सारी शिक्षित र बुद्धिजीवी वर्गको प्रतिनिधित्व भएको सदनले जनतालाई समेत उत्साहित, मर्यादित र अनुशासित तुल्याउने सन्देश प्रवाह गर्न सक्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ सदनभित्रको गतिविधिले ‘डिसिप्लिन सिकाउने ठाउँमै डिसिप्लिन’ हँुदैन भने बाहिर कसरी सिकाउने होला भन्ने महसुस भएको छ तर सांसद आफैँले ज्ञानबद्र्धक, ओजपूर्ण, शालीन र सभ्य अभिव्यक्ति र प्रस्तुति दिनुपर्छ ।”

उहाँले जनताका पीरमर्काका आवाज उठाएर सम्बोधन गराउन प्रयत्न गर्नुपर्ने ठूलो ठाउँ तथा ठूला नेता र बुद्धिजीवीको प्रतिनिधित्व रहेको सदनमा यस्ता गतिविधि अचम्मलाग्दो र खल्लो भएको विचार प्रकट गर्नुभयो ।

जनताले सुख पाउँदैनन् भने कानुन बनाएर मात्र के अर्थ रहन्छ भनी प्रतिप्रश्न गर्दै उहाँले भन्नुभयो, “कानुन बनाएर अनुशासन र नियममात्रै सिकाउने कि खाली पेट भर्ने उपायको खोजी गर्ने भन्ने अहिलेको मुख्य विषय हो ।”

सरकार ढुकुटीमा पैसा कम रहेको भन्ने तर जनतालाई चर्काे करले अप्ठेरामा पारेको आरोप लगाउँदै उहाँले कर अस्वाभाविक ढङ्गले बढाइएको र राहत ओझेलमा परेको बताउनुभयो ।

देशको राजनीतिक तथा आर्थिक स्थितिमा सुधार र युवाको विदेश पलायन रोक्न रोजगारी दिलाउने आशा र विश्वास लिएर आफू सदनमा गएको बताउँदै उहाँले त्यसका लागि आफ्नो निरन्तर कोसिस रहे पनि प्रारम्भमै केही धमिलोपन महसुस भएको प्रतिक्रिया दिनुभयो ।

मुलुकमा पछिल्लो समय समाजका सबै क्षेत्र तथा तह र तप्कामा भ्रष्टाचार निकै वृद्धि भएको घटनाको अनुभव सुनाउँदै सांसद अन्सारीले भ्रष्टाचारमा नेता मात्र नभई कर्मचारीतन्त्र पनि उत्तिकै संलग्न रहेको प्रतिक्रिया दिनुभयो । एक प्रसङ्गमा उहाँले भन्नुभयो, “राजनीतिक नेता तथा कार्यकर्ता मात्र नभई तल्लो तहदेखि लाइन लागेर माथिल्लो तहसम्मका कर्मचारी पनि भ्रष्टाचार र अनियमितामा संलग्न छन्, यो समाजका सबै क्षेत्रमा व्याप्त छ, नियन्त्रण नभएसम्म सुशासनको पाटो कमजोर रहन्छ ।”

अनियमितता र भ्रष्टाचारका विरोधमा पार्टीले सदासर्वदा सशक्तरूपमा आवाज उठाइरहेको जिकिर गर्दै नेत्री अन्सारीले अनुसन्धान र प्रमाणले पुष्टि गर्न नसक्ने विषयमा सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप गरी कसैको चरित्र हत्या गर्ने कार्य भने बन्द गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

भ्रष्टाचारविरुद्धको कदम र अभियान निष्पक्षरूपमा चालिएमा पछिल्ला दिनमा त्यसमा संलग्न हुन सबै डराउने तर्क गर्दै उहाँले प्रश्न गर्नुभयो, “सरकारी जग्गा व्यक्तिका नाममा गर्ने र विमानस्थलबाट सुन बाहिर आएको घटनामा संलग्न दोषीलाई अहिलेसम्म कारबाही खोइ त, त्यस्ता मुद्दाको टुङ्गो किन नलागेको ?” ठूलो सङ्ख्यामा विद्यार्थी र युवा शिक्षा तथा रोजगारीका नाममा विदेश पलायनको घटनाले देशका लागि विविध खाले चुनौती खडा गरेको बताउँदै नेत्री अन्सारीले युवालाई पढ्न र रोजगारी दिने वातावरण तयार गर्न राज्यले भरमग्दुर प्रयास गर्नुपर्ने सुझाव दिनुभयो ।
 

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान

संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान गर्दै इजरायल र गाजाका हमास शासकबीचको शत्रुताको अन्त्यको लागि गैर–बाध्यकारी प्रस्तावलाई पारित गरेको छ । यो हमास आक्रमणपछि इजरायल र प्यालेष्टिनी क्षेत्रमा चर्किएको हिंसात्मक गतिविधिका लागि सयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिक्रिया हो ।

विश्व समुदायको छाता संगठनको रूपमा रहेको १९३ सदस्यीय यस निकायले अमेरिकाले समर्थन गरेको क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ देशको अनुपस्थितिमा १२० का विरूद्ध १४ मत फरकले प्रस्ताव पारित गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले महासभालाई विभाजित संयुक्त राष्ट्रसङ्घभन्दा अधिक साहासी र सैद्धान्तिक बन्नुपर्नेमा जोड दिनुभयो ।

विगत दुई सातामा चार पटक सहमतिका लागि गरिएको प्रयासमध्ये दुई भिटो शक्तिका कारण र अन्य दुई सहमतिको पक्षमा कम्तीमा नौ मत नपुग्दा विफल भएका छन् ।

इजराइलको संयुक्त राष्ट्रसङ्घीय राजदूत गिलाड एर्डनले मतदानपछि भन्नुभयो, “हमासको आतङ्ककारी क्षमता नष्ट नभएसम्म र हाम्रा बन्धकहरूलाई फिर्ता नगरेसम्म इजरायलले कारवाही बन्द गर्ने छैन ।” उहाँका अनुसार हमासलाई नष्ट गर्ने एउटै मात्र उपाय उनीहरूको सुरुङ र आतङ्कवादी सोचलाई जरैबाट हटाउनु हो ।

संयुक्त राज्य अमेरिकाद्वारा समर्थित क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ सदस्यको अनुपस्थितिसहित १९३ सदस्यीय वैश्विक निकायले १२० को विरूद्ध १४ मतले प्रस्ताव पारित गरेको थियो । उसले अक्टोबर ७ मा हमासले गरेको ’आतंकवादी हमला’को स्पष्ट निन्दा गर्नुका साथै हमासले कब्जामा लिएका बन्धकहरूलाई तत्काल रिहा गर्न माग गरेको थियो, जसको उल्लेख अरबले तयार पारेको प्रस्तावमा गरिएको छैन ।

संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत लाना नुसिबेह, सुरक्षा परिषद्का अरब प्रतिनिधिले पनि परिणामप्रति खुशी व्यक्त गरेका छन् ।

“यस प्रकारको भूराजनीतिक वातावरणमा १२० मत अन्तर्राष्ट्रिय कानून, बलप्रयोगको समानुपातिक प्रयोगको समर्थनको उच्च सङ्केत हो र यो अहिले धरातलमा भइरहेको यथास्थितिलाई अस्वीकार गर्नु हो,” उहाँले भन्नुभयो ।

प्रस्तावको विपक्षमा मतदान गर्ने १४ मुलुकहरूमा इजरायल र यसको निकटतम सहयोगी संयुक्त राज्य अमेरिका, पाँच प्रशान्त टापु राष्ट्रहरू र चार युरोपेली देशहरू अस्ट्रिया, क्रोएशिया, चेकिया र हंगेरी रहेका छन् । इयूका आठ सदस्य राष्ट्रले पक्षमा मतदान गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घका लागि फ्रान्सका राजदूत निकोलस डे रिभिएरेले आफ्नो देशले यो प्रस्तावलाई समर्थन गरेको र ‘कुनै पनि कुराले नागरिकको पीडालाई न्यायोचित ठहराउन नसक्ने’ बताउनुभएको छ ।

मन्सुरले भन्नुभयोे, ‘युरोपेली मतले सुरक्षा परिषद्को प्रस्ताव पारित गर्न वा यो युद्ध रोक्न इजरायलमा अधिकतम दबाब सिर्जना गर्न ‘धेरै सहयोगी’ हुन सक्ने सङ्केत गरेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हमासको आक्रमणबाट करिब एक हजार ४०० इजरायलीको मृत्यु भएको छ भने इजरायलको जवाफी हवाई आक्रमणमा सात हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । गाजामा बढ्दो मृत्यु र विनाशले गाजाका २३ लाख मानिसहरूलाई अति आवश्यक खाद्यान्न, पानी, औषधि र ईन्धन उपलब्ध गराउन ‘मानवताका लागि युद्धविराम’ को लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको छ ।

संयुक्त अरब इमिरेट्सका नुसेइबेहले पत्रकारहरूसँग भन्नुभयो, “सुरक्षा परिषद्को प्रस्तावजस्तो महासभाका प्रस्तावहरू कानुनी रूपमा बाध्यकारी हुँदैनन् तर तिनीहरूले अविश्वसनीय वजन र नैतिक अधिकार बोकेका हुन्छन् ।”

उहाँले सुरक्षा परिषद्का १० निर्वाचित सदस्यले महासभाबाट ‘नैतिक अधिकार’ लिने र परिषद्को प्रस्तावमा रहेको अवरोध तोड्ने प्रयास गर्ने बताउनुभएको छ ।
प्यालेस्टाइनको कब्जामा रहेका क्षेत्रमा इजरायली गतिविधिबारे महासभाको आपतकालीन विशेष अधिवेशनमा ११३ वक्ताको सूचीमार्फत मतदान भएको हो ।

जोर्डनका संयुक्त राष्ट्रसङ्घका राजदूत महमुद हमुदले संयुक्त राष्ट्रसङ्घको २२ राष्ट्रको अरब समूहको तर्फबाट बोल्दै प्यालेष्टिनी जमीनमा बढ्दो आक्रामक स्थितिको तात्कालिकतालाई ध्यानमा राख्दै यस प्रस्तावमा कदम चाल्न आह्वान गर्नुभएको थियो ।

मतदान अघि हमुदले क्यानडाको संशोधनलाई परास्त गर्न आग्रह गर्दै भन्नुभयो, “अहिले भइरहेको ज्यादतीका लागि इजरायल जिम्मेवार छ र त्यो गाजाको जमीनी आक्रमणमा पनि देखिनेछ ।”

संयुक्त राष्ट्रसङ्घका लागि क्यानडाका राजदूत रोबर्ट रायले प्रस्तावले अक्टोबर ७ को घटनालाई बिर्सेको जस्तो देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो संशोधनले इतिहासकै सबैभन्दा खराबमध्ये एक आतङ्कवादी हमलाका लागि जिम्मेवार हमासको निन्दा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि पाकिस्तानका राजदूत मुनीर अक्रमले अरबले तयार पारेको प्रस्तावमा जानाजानी इजरायलको निन्दा वा उल्लेख नगरिएको र अन्य कुनै पक्षको नाम उल्लेख नगरिएको बताएपछि आफूले प्रस्तावको पक्षमा समर्थन गरेको बताउनुभएको थियो ।

अकरमले भन्नुभयो, “यदि क्यानडा वास्तवमै न्यायसङ्गत थियो भने उसले या त अपराधमा दोषी ठहरिएका दुवै पक्षको नाम लिन सहमत हुने थियो वा हामीले रोजेको जस्तो नाम पनि राख्ने थिएन ।”

क्यानडाको संशोधनमा २३ वटा असहमतिसहित ८८का विरूद्ध ५५ मत खसेको थियो, तर यसले पक्ष वा विपक्षमा मतदान गर्नेहरूको दुई तिहाइ बहुमत प्राप्त गर्न असफल भएको थियो । त्यसपछिको सम्पूर्ण प्रस्तावको मतदानमा क्यानाडा अनुपस्थित थियो ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले इजरायलका एर्डनले हमासको नाम उल्लेख नगरेको र यो दुई राष्ट्र समाधानको दृष्टिकोणका लागि ‘हानिकारक’ भएको भन्दै प्रस्तावलाई ‘अपमानजनक’ भन्नुभएको थियो ।

उहाँले यसलाई ‘इजरायली र प्यालेस्टिनीहरूका लागि खतरनाक क्षण’ भन्नुभयोे, “हमासको ‘आतङ्क’ को कुनै औचित्य छैन, प्यालेस्टिनीहरूलाई मानव ढालको रूपमा प्रयोग गरिएको छ र ‘निर्दोष प्यालेस्टिनी’ हरूको जीवनको रक्षा गर्नु पर्दछ ।

ओमानले गल्फ कोअपरेशन काउन्सिलको तर्फबाट बोल्दै इजरायलले गाजामा गरेको ‘घेराबन्दी’, त्यहाँका जनता भोकमरी र प्यालेस्टिनीलाई सामूहिक सजायको निन्दा गरेको छ । तर प्यालेस्टिनीहरू आफ्नो आत्मनिर्णयको अधिकार र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्ने अधिकारको माग गर्नबाट विचलित हुनेछैनन् ।”

शुक्रबार पारित गरिएको प्रस्तावमा तत्काल, दिगो र स्थायी मानवीय युद्धविरामको लागि आह्वान गर्नुका साथै सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय सहयोग र मानव अधिकारअन्तर्गत आफ्ना दायित्वहरू तुरुन्तै पालना गर्न माग गर्दछ ।

हमासको भूमिगत ‘शहर’ निशानामा

प्यालेस्टिनी लडाकूलाई परास्त गर्ने इजरायली सेनाको घोषित अभियानमा गाजा पट्टीमा हमासको सुरुङको विशाल सञ्जाल मुख्य निशाना बनेको विज्ञहरूले बताएका छन् ।सेनाले शनिबार गाजामा रातको समयमा १५० वटा ‘भूमिगत लक्ष्य’ मा आक्रमण गरेको र त्यसले ‘आतङ्कवादीको सुरूङ’ र ‘जमिनमुनिका लडाकू स्थानहरू’ ध्वस्त पारेको र हमासका लडाकूहरू मारिएको बताएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार ४०० जनाको ज्यान लिएको इजरायलले बताएको छ । सेनाले गाजा क्षेत्रको सुख्खा शिविरमा शहरी युद्ध प्रशिक्षणलाई तीव्र बनाएको छ जहाँ गाजाको प्रतिकृति शहर निर्माण गरिएको थियो ।इजरायलले इजरायलबाट अपहरण गरिएका २२० भन्दा बढी व्यक्तिहरूलाई सुरुङमा राखिएको पनि बताएको छ ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार तीन हप्ताको युद्धमा इजरायली आक्रमणमा तीन हजार ५०० भन्दा बढी बालबालिकासहित सात हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

हमासको सैन्य शाखाले आक्रमणमा करिब ५० जना बन्धक मारिइसकेको दाबी गरेको छ तर यसलाई एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।विगतका हिंसात्मक भडकाव र युद्धहरूमा, इजरायली जेटहरूले विशाल सुरुङ नेटवर्कको केही भागहरूमा प्रहार गरेका छन् जुन हमासले वर्षौंदेखि निरन्तर विकास गरेको वा पुनर्निर्माण गरेको छ । यसलाई इजरायली सैनिकहरूले अक्सर ‘गाजा मेट्रो’ भनेर सम्बोधन गर्छन् ।

करिब ४० किलोमिटर लामो उक्त क्षेत्रमा ५०० किलोमिटर (३०० माइल) सम्म फैलिएको उक्त क्षेत्रलाई ध्वस्त पार्न सेनाले निरन्तर नयाँ हतियारको खोजी गरिरहेको छ ।इजरायली दैनिक मारिभले अक्टोबर ७ मा भएको आक्रमणपछि व्यापक रूपमा अपेक्षित भूमि आक्रमणको तयारी गरिरहेका बेला यसै हप्ता यसलाई ‘भूमिगत नरक’ भनेको छ ।

हमासले अहिलेसम्म रिहा गरेका चार बन्धकमध्ये एक ८५ वर्षीया योचेभेद लिफशिट्जले इजरायल फर्केपछि आफू सुरुङको ‘माकुराको जालो’मा हिँड्न बाध्य भएको बताउनुभएको छ ।अमेरिकी सैन्य एकेडेमी वेस्ट प्वाइन्टका मोर्डन वार इन्स्टिच्युटका जोन स्पेन्सरले ‘गाजाको सतहका वास्तविक शहरहरूमुनि एउटा अर्को शहर’ रहेको र इजरायली सेनाको आक्रमण अहिले यसैमा लक्षित गरिएको बताउनुभयो ।

सैन्य विज्ञका अनुसार हमासले आफ्नो नेतृत्व, लडाकु, मुख्यालय, सञ्चार, हातहतियार, पानी, खाद्यान्न, गोलाबारुदजस्ता आपूर्तिलाई स्थलगत आक्रमणको तयारीका लागि आफ्नो सुरुङ परिसरमा राखिसकेको छ ।यी सुरुङमा आफ्नै विद्युत् आपूर्ति, भेन्टिलेसन र खाद्यान्न तथा पानीको मौज्दात रहेको पर्यवेक्षकहरूले बताएका छन् ।

वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका विश्लेषक तथा अवकाशप्राप्त अमेरिकी सेनाका जनरल मिक रायनले भन्नुभयो, “हमासले आफ्नो भूमिगत सञ्जालको फाइदा उठाउँदै लडाकूलाई सही समयमा सही ठाउँमा सार्न सक्छ वा उनीहरूलाई प्रभावकारी रूपमा सम्हाल्न नसक्ने खतराबाट टाढा लैजान सक्छ ।

इजरायलले विशेषज्ञ कमाण्डो इञ्जिनियरहरूलाई सुरुङ पत्ता लगाउन र नष्ट गर्न तालिम दिएको पश्चिमी विज्ञहरूले बताएका छन् । सेनाले भूमिगत रुपमा काम गर्नका लागि कुकुरलाई विशेष तालिम समेत दिएको छ ।स्पेन्सरले भन्नुभयो, “यसको याहलोम एकाइ यो विश्वको सबैभन्दा ठूलोमध्ये एक हो जसले भूमिगत युद्धको सामना गर्न प्रशिक्षण, मानव, सुसज्जित, प्रयोग र नयाँ तरिकाहरू विकास गर्दछ ।”

जनकपुधाममा विश्व किर्तीमानका लागि ७० क्विन्टल अन्नको मूर्ति बनाइने

धनुषा-मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको मूर्ति निर्माण गरेर विश्व किर्तीमान कायम गर्ने कार्य थालनी भएको छ ।विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि यो शुभकार्य गर्न लागिएको बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले बताउनुभयो । अध्यक्ष साहले ७० क्विन्टल अन्न अनाजबाट मूर्ति निर्माण हुने बताउनुभयो ।

भारत उत्तरप्रदेशको अयोध्यामा १० हजार आठ सय स्क्वायर फिटको अन्नबाट मूर्ति बनाएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता भएको भन्दै विवाह पञ्चमीमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटमा सो मूर्ति बनाएर विश्व रेकर्ड बनाई विवाह पञ्चमीलाई अन्तर्राष्ट्रिय करण गरिने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो ।

सो मूर्ति निर्माण भएपछि वल्र्ड रेकर्डका लागि दाबी गर्ने नगरप्रमुख साहले बताउनुभयो । अन्नबाट राम–सीता स्वयम्वरको मूर्ति बनाइने निर्णय भएको साहले जानकारी दिनुभयो । नगरप्रमुख साहले भन्नुभयो, “मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ । मूर्तिका लागि कुनै रङ प्रयोग हुनेछैन । जहाँ जुन रङको आवश्यकता पर्छ, सोही रङको अन्न प्रयोग गरिन्छ ।” सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ भने मूर्ति बनाउन प्रयोग गरिएको अन्न फेरि प्रयोगमा ल्याइने बताइएको छ ।

जनकपुरधाम वडा नं ४ बस्ने रुपेश मिश्रकी छोरी गुनगुन मिश्रले भारतीय आजतक च्यानलमा सो मूर्ति विश्वकीर्तिमान कायम गरेको देखेर जनकपुरधाममा सो भन्दा पनि भव्य र ठूला मूर्ति बनाउनुपर्ने प्रस्तावमा भारतीय कलाकार तथा विज्ञ सतिष घुरजरसहितको टोली जनकपुरधाम आएर छलफल गरेको छ ।

पुस १ गतेदेखि सुरु हुने विवाह महोत्सवका लागि मङ्सिर २० गतेदेखि मूर्ति बनाउन सुरु हुने बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष साहले बताउनुभयो । मूर्ति बनाउनका लागि भारतको मध्यप्रदेशबाट कालिगड आउने छन् । जनकपुरको १२ बिघा जमिनमा निर्माण हुने मूर्ति निर्माणका लागि रु ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइ गरिरहेको छ भने त्यसका लागि उद्योग वाणिज्य सङ्घ, स्थानीय सरकार र प्रदेश सरकारलगायतको सहयोग रहने बताइएको छ ।

मूर्ति कस्तो बनाउने भन्ने विषयमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साह, बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद् अध्यक्ष शीतल साह, विद्वान डा राजेन्द्रप्रसाद विमल, मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठसहितसँग कलाकार घुरजरले सो विषयमा छलफल गर्नुभएको छ ।