`

उपभोक्ताले चिनीबिनाकै मनाए दशैँ, सरकारको लापरबाहीले मौलायो कालोबजारी

काठमाडौं । असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी उद्योगीसँग सहमति गरे पनि चिनीबिना नै उपभोक्ताले दशैँ मनाएका छन् ।

बजारमा अभाव र कालोबजारी हुन सक्ने सामानलाई प्रतिस्पर्धात्मक बनाउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट र साल्ट ट्रेडिङ कर्पोरेसन हुँदाहुँदै व्यापारीलाई नै चिनी बेच्नुपर्छ भनी विभागले सहमति गरेसँगै झनै कालोबजारी मौलाएको हो ।

विभागले कार्तिक २ गते बुधबारबाट १ सय १५ रुपियाँमा खुद्रा पसलेले चिनीको आपूर्ति सहज बनाएको दाबी गरे पनि उपत्यकाका अधिकांश पसलमा चिनीको छैन ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागकै सहमतिमा एभरेस्ट र हिमालयन सुगर मिलमा रहेको १ हजार मेट्रिक टन चिनी बजारमा बेच्न पढाइएको बताए । उनले केही दिन अगाडि ११ ओटन चिची मिलको स्टक निरीक्षण गर्ने क्रममा अन्यमा मौज्दात नरहेको बताए ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

अहिले भएको चिनी कोक र पेप्सीका लागि बेच्न राखेको चिनी बजारमा पठाएको उनले बताए । ५० हजार मेट्रिक टन भारतबाट मगाएको नआएपछि चिनीको अभाव भएको विभागले जनाएको छ ।

समयमा गुलियो परिकार पकाएर खाने नेपालीका लागि यसपालिको दशैँमा भने मासुभातमा मात्र सीमित हुनुपरेको छ । अन्य बेलाको तुलनामा चाडवाडका बेला चिनीको माग ह्वात्तै बढ्ने गर्छ । यस्तो बेलामा चिनीको मागलाई सरकारले नै ख्याल नगर्दा उपभोक्ताले दुःख पाएका छन् ।

बजारमा चिनीको अभाव देखिएसँगै व्यापारीहरुले चिनीको मूल्य बढाएका छन् । गत असोज महिनासम्म ९५ रुपियाँ प्रतिकेजीमा उपलब्ध चिनीको मूल्य यति बेला प्रतिकेजी १ सय ७० रुपियाँसम्म बिक्री भइरहेको उपभोक्तहरुले बताउने गरेका छन् । गत कार्तिक १ गतेसम्म बजारमा अभाव देखिएको चिनी एकाएक २ गतेबाट महँगो मूल्यमा बजारमा पाउन थालियो । यसरी कालोबजारीमा बेचिने चिनी भने व्यापारीले आफूले चिनेका र व्यापारीलाई मात्र दिने गरेको उपभोक्ताले बताउने गरेका छन् ।

तनहुँमा धान उत्पादन क्षेत्र घट्दै,वार्षिक चार हजार मेट्रिक टन चामल अपुग

दमौली (तनहुँ), १२ कात्तिक : तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो । जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागबानी विकास अधिकृत वीरेन्द्र धितालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका लागि चार हजार सात सय १७ मेट्रिक टन चामल अपुग छ ।

वार्षिक प्रतिव्यक्ति दैनिक शून्य दशमलव २५ केजीका दरले एक वर्षका लागि प्रतिव्यक्ति ९१ दशमलव २५ केजी चामल आवश्यक पर्दछ । तनहुँमा यस वर्ष २७ हजार दुई सय २० मेट्रिक टनमात्रै चामल उत्पादन भएको छ । जबकि वार्षिकरूपमा ३१ हजार नौ सय ३७ मेट्रिक टन चामल आवश्यक पर्दछ ।

उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा उत्पादन भएको चामलले पुगिरहेको छैन । धान उत्पादन घटेसँगै चामल पनि अपुग भइरहेको छ ।” प्रतिव्यक्तिले प्रतिदिन दुई सय ग्राम खायो भने एक हजार सात सय ७० मेट्रिक टन बचत हुने तथ्याङ्कले देखाएको छ ।

धान उत्पादनमा आत्मनिर्भर हुनसके जिल्लामा चामल बढी हुने देखिएको छ । यसका लागि कार्यालयले चैतेधान प्रवर्द्धन कार्यक्रमलाई अगाडि बढाएको छ । हाल एक हजार आठ सय ९० हेक्टरमात्रै चैते धानखेती भइरहेकामा त्यसलाई दुई हजार चार सय हेक्टरमा विस्तार गर्ने लक्ष्य छ । “त्यसो हुँदा चैते धान उत्पादन वृद्धि भई चामलमा आत्मनिर्भर बन्न सकिन्छ । त्यतिबेला ६० मेट्रिक टन चामल बढी उत्पादन हुन्छ”, बागबानी विकास अधिकृत धितालले भन्नुभयो ।

वर्षे धान बिक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ । विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको छ । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस अवधिमा वर्षे धानखेती गर्ने क्षेत्रफल चार हजार २० हेक्टर क्षेत्रफल घटेको छ भने दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।

विसं २०६० सालमा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन चैत धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै हुने गरेको छ ।

यस अवधिमा चैते धानखेती गर्ने क्षेत्रफल एक हजार नौ सय १० हेक्टर क्षेत्रफल घटेको छ भने तीन हजार आठ सय ४२ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । विसं २०६० मा आठ हजार एक सय ९४ मेट्रिक टन धान उत्पादन भएकामा विसं २०७९ मा २५ मेट्रिक टनमात्रै धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा घैय्या धानखेती हुने गरेकामा अहिले १० हेक्टर क्षेत्रफलमा मात्रै उक्त खेती भइरहेको छ ।

यस अवधिमा घैय्या धानखेती गर्ने क्षेत्रफल तीन हजार आठ सय ९२ हेक्टरले घटेको छ भने आठ हजार एक सय ६९ मेट्रिक टन कमी आएको छ । कार्यालयले चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न लागेको छ । चैते धानतर्फ कृषकको आकर्षण बढाउन चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । यसका लागि कार्यालयले हाइब्रिड बीउ, हाते ट्रयाक्टर, धान उत्पादनमा प्रोत्साहन वितरणलगायतका कार्यक्रम ल्याएको छ ।

गत आव २०७९÷८० मा कार्यालय चैते धान प्रवर्द्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आव २०८०÷८१ मा त्यसलाई बढाएर रु एक करोड ५० लाख पुर्याइएको छ । गत आवमा चैते धान प्रवर्द्धन कार्यक्रममार्फत १० वटा समूहलाई दुई हजार पाँच सय केजी हाइब्रिड बीउ वितरण गरिएको थियो । त्यसका लागि रु ४३ लाख ५९ हजार खर्च भएको थियो । त्यस्तै १६ हजार १२ केजी उन्नत बीउ, २५ वटा हाते ट्रयाक्टर, ३४ वटा मिलका साथै धान उत्पादनमा रु छ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको थियो ।

चालु आवमा चैते धानको बीउ प्रतिस्थापन, उन्नत र हाइब्रिड बीउ प्रयोगमा जोड, मेसिनरी प्रयोग, चैते धान सुकाउने मेसिन, धान काट्ने मेसिन वितरण, कुलो निर्माण र मर्मत, चामल मिलको स्तरोन्नति र चैते धानको बजारीकरणमा सहयोग गरिने ज्ञान केन्द्रले जनाएको छ ।

दसैँ पर्यटन मेला सम्पन्न

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा सञ्चालन भएको पाँचौँ मिछुर्लुङ दसैँ मेला सकिएको छ । यही कात्तिक ८ गतेदेखि सुरु भएको उक्त मेला कोजाग्रत पूर्णिमाको दिन समापन भएको हो ।

तेस्रो नेत्र युवा संस्थाले दसैँको अवसर पारी मेलाको आयोजना गरेको थियो । मेलाको अवसरमा आयोजित जुनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी मेटल समूह भिमादले जितेको छ । शनिबार सम्पन्न फाइनलमा किहुँस्थित हुक्का समूहलाई पराजित गर्दै गण्डकी मेटल समूहले उपाधि जितेको हो । प्रतियोगितामा माझकोट समूह तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु ३० हजार, २० हजार र दश हजार नगदसहित ट्रफी प्रदान गरिएको आयोजक संस्थाका सचिव अमृत थापाले जानकारी दिनुभयो । महोत्सव समापनका अवसरमा मौलिक कौरा र लोपोन्मुख झाम्रे नृत्य प्रस्तुत गरिएको थियो ।

मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि प्रत्येक दसैैँमा मेला आयोजना हुँदै आएको छ । महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले ग्रामीण पर्यटन प्रवर्द्धनमा सरकारको सहयोग रहने बताउनुभएको छ । मन्त्री आलेले ग्रामीण पर्यटन समृद्धिको आधार भएकाले यसमा सरकारको साथ रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटनबाट समृद्धि सम्भव छ, त्यसमाथि ग्रामीण पर्यटन समृद्धिको आधार हो । सरकार पर्यटन प्रवर्द्धनका लागि सबै हिसाबले सहयोग गर्न सकारात्मक छ ।” भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको बताउनुभयो ।
–––

पैसा खर्च गरेर ‘माननीय’ बन्ने प्रवृत्तिले भ्रष्टाचार र अस्थिरता निम्त्यायो– सांसद शाही

काठमाडौँ-नेपाली कांग्रेसका नेता दिक्पालकुमार शाही पार्टीमा कुनै योगदान नै नभएका पनि पैसा खर्च गरेकै भरमा उम्मेदवार बन्ने गलत प्रवृत्तिलाई प्रश्रय दिएकाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “राजनीतिलाई सेवा नभई खरिदबिक्री गर्ने, सङ्गठनमा दुःख नगरी पैसाका आधारमा ‘माननीय’ हुने अनि राजनीतिमा अस्थिरता निम्त्याउने समानुपातिक निर्वाचन प्रणाली नै हो । भ्रष्टाचार अन्त्य गर्न सबैभन्दा पहिला यो प्रणाली नै हटाउनुपर्छ ।”

‘सांसदसँग रासस संवाद’मा नेता शाहीले प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक समावेशिताका आधारमा महिला, आदिवासी, मधेसी, दलितलगायत समुदायको स्थान सुरक्षित गरी त्यसैभित्र प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद शाही भन्नुहुन्छ, “समानुपातिक प्रणालीले देशमा कहिल्यै राजनीतिक स्थिरता दिँदैन । स्थिरता नभई जनताले सुशासनको अनुभूति गर्दैनन् । विकास र आर्थिक समृद्धि प्राप्त गर्न सकिन्न, त्यसैले यसप्रति समयमै सोच्नुपर्छ ।”

जिल्ला तहमा कांग्रेसमा ३५ वर्षदेखि निरन्तर क्रियाशील शाही दैलेख जिल्ला शिक्षक सङ्घका संस्थापक उपसभापति, जिल्ला विकास समिति सदस्य, नेका जिल्ला उपसभापति हुँदै पार्टीको १४ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनुभयो ।

जिल्ला र निर्वाचन क्षेत्रमा बाटो, पानी, बिजुली, स्वास्थ्य र शिक्षासम्बन्धी विभिन्न समस्या रहेकामध्ये केही सम्बोधन भएको, कतिपय हुनेक्रममा पुगेको तथा केही बाँकी रहेको जनाउँदै उहाँले जिल्लाका समस्या र मागमा मतदाताको निरन्तर प्रश्न र खबरदारीले आफूलाई थप योगदानका लागि प्रेरणा दिइरहेको बताउनुभयो ।

राजनीतिक क्षेत्रमा लामो समय बिताए पनि केन्द्रीय संसद्मा पहिलो प्रवेश भएकाले अभ्यासका क्रममा कतिपय विषयवस्तु सिक्ने र सिकाउने क्रम चलिरहेको बताउँदै सांसद शाहीले निर्वाचनमा मतदातासँग गरिएको प्रतिबद्धता पूरा गर्न आफूले गरेको प्रयासलाई पनि जनताले ठिकै मानिरहेको अनुभूति सुनाउनुभयो ।

उहाँका अनुसार ऐतिहासिक, धार्मिक र कर्णाली सभ्यताको आधार क्षेत्र दैलेखमा पानीमा ज्वाला बल्ने पेट्रोलियम पदार्थको खानी मात्र नभई दुल्लु र धार्मिक क्षेत्र पञ्चकोशी विकास निर्माणका आधारस्तम्भ हुन् । जिल्लाका केही स्थानमा अझै खानेपानी जटिल समस्याका रूपमा छ । त्यस चुनौतीलाई सामना गर्न विभिन्न प्रयास भइरहेको छ । आठबिसमा २० शय्याको अस्पताल, केही विद्यालय निर्माण र सडक कालोपत्रेको कामलाई प्राथमिकतामा राखिएको छ ।

केन्द्रीय सांसदको मुख्य जिम्मेवारी कानुनभन्दा विकास निर्माण हो र भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “देशको भूगोल, निर्वाचनमा गरिएको वाचा, चुनावी घोषणापत्र, जनचाहना, समाज र परिस्थितिका कारणले कानुनभन्दा विकास निर्माण, रोजगारी, बाटो, खानेपानी र विद्यालयका आवाज प्राथमिकतामा पर्छ ।”

सांसदले कानुन निर्माणभन्दा अदालतमा परेको मुद्दासमेत सांसदले भनेर जिताइदियोस् भन्ने मान्यता गाउँघरमा अझै स्थापित रहेको बताउँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा विकास निर्माणमा एकरूपता हुन नसकेको उदाहरण प्रस्तुत गर्नुभयो ।

परिवर्तनका पक्षधरका रुपमा आफूले प्रत्येक आन्दोलनमा सुशासनका कुरा उठाएको सुनाउँदै नेता शाहीले भनसुन र भ्रष्टाचार मौलाउने तथा सुशासन कमजोर हुने परिस्थिति नै वितृष्णाको कारक भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “राणाशासन र पञ्चायतकालमा भन्दा अहिले धेरै विकृति मौलाएको छ । भ्रष्टाचार अन्त्य नभई जनताले सुशासन पाउँदैनन् । अनियमितता र विकृति हाकाहाकी छ, यसको जालोलाई तोड्न सबैले सोच्नुपर्छ । सबै मिलेर काम गर्नुपर्छ ।”

संसदीय प्रणालीमा प्रतिबद्ध रही झोपडी र गाउँमा बस्नेलाई हेरेर विकास निर्माणका खाका तय गर्नुपर्छ भन्ने मान्यता राख्ने कांग्रेसमाथि प्रमुख प्रतिपक्षलगायतले निरन्तर आक्रमण गरिरहेको आरोप लगाउँदै सांसद शाहीेले कर्मचारीलाई उचालेर आन्दोलन गर्ने तथा निरन्तर सदन अवरोध गर्नेजस्ता उदाहरण प्रस्तुत गर्नुभयो ।

एक अर्काे प्रसङ्गमा उहाँले सामाजिक सञ्जालका कारण विरोध गरेर मजाक लिने प्रवृत्ति सदनमा समेत देखिएको बताउँदै भन्नुभयो, “एक जिम्मेवार व्यक्तिले त्यसो गर्न मिल्दैन, देश र दुनियाँका समस्या उठाउनुपर्छ, त्यसमा बहस गर्नुपर्छ, उच्छृङ्खल पक्षलाई छाड्नुपर्छ ।”

नागरिकमा राज्य र समाजप्रतिको विश्वास घट्दै गएकामा चिन्ता व्यक्त गर्दै सांसद शाहीले सदनमा आफू नयाँ भए पनि मुख्य समस्या गरिबी न्यूनीकरण तथा शिक्षालाई गुणस्तरीय बनाउन केही गराँै भन्ने भावनाका साथ लागिपरेको सुनाउनुभयो ।

काठेपुलले जोडिदै शे –फोक्सुण्डो ताल,अझै पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ

जाजरकोट, १२ कात्तिक ः शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसंग आग्रह गरिइएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ छ ।

अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदल फोक्सुण्डो ताल पुग्ने गर्दछन् । ताल पुग्नका लागि आधा दर्जन काठको जीर्ण पुलमार्फत सुलिगाड खोला तर्नुपर्ने विवशता रहेको छ । जीर्ण रहेका ती काठका लाप्काबाट आवतजावत गर्दा दुर्घटनाको सम्भावनासमेत हुने गरेको नलगाड नगरपालिका–८ हल्चौरका रामप्रसाद खत्रीले बताउनुभयो ।

डोल्पाको दुनैसम्म यातायातका साधनमा जान र आउन सकिन्छ । सुलिगाडबाट पैदल हिँडेर तालसम्म दुई दिनमा पुग्न सकिन्छ । सुलिगाड खोलामा पक्की पुल निर्माण गरी पदमार्गसमेत भरपर्दो भएमा आन्तरिक तथा बाह्य पर्यटक तालसम्म पुग्न सजिलो हुने सरोकारवाला बताउँछन् । पछिल्ला वर्षमा तालसम्म पुग्नका लागि धेरैको चासो बढेको छ ।

फोक्सुण्डो ताल शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ रिग्मोगाउँ नजिकै रहेको छ । समुद्री सतहबाट तीन हजार छ सय मिटर उचाइमा रहेको फोक्सुण्डो ताल चार दशमलव ९४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । फोक्सुण्डो तालको गहिराइ एक सय ४५ मिटर भन्ने गरेता पनि स्थानीयका अनुसार छ सय ५० मिटर गहिरो रहेको दाबी गर्दै आइरहेका छन् । दिनमा मौसमअनुसार पटक–पटक रङ परिवर्तन गर्ने यस ताल अङ्ग्रेजी वाई आकारमा फैलिएको छ भने अर्को विशेषता मानव अङ्ग फोक्सोजस्तो पनि देखिन्छ ।

फोक्सुण्डो ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो झरनालगायत माथिल्लो डोल्पा सुलिगाडबाट माथि पैदलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । स्थानीयले कतै काठेपुल, कतै ठोसो, कतै लाप्कु, साँकुलगायतका विभिन्न स्थानीय नाम भन्ने गर्दछन् । परापूर्वकालमा खोलानाला तर्न नसक्ने वृद्ध, महिला, बालबालिकाका लागि भनेर भेरिवा वा खोलाको एक किनाराबाट अर्को किनारासम्म आवतजावत गर्न सजिलो बनाउँदै आएको छ ।

डोल्पाका अधिकांश खोलानालामा झोलुङ्गे पुल निर्माण जारी रहे पनि सुलिगाडबाट फोक्सुण्डोसम्मको पैदलमार्गमा काठेपुलले नै यहाँ आउने सबै नागरिकलाई तालसम्म पुग्न सहयोग पुग्दै आएको छ । सुलिगाडबाट फोक्सुण्डो तालसम्मको पैदलमार्गमा स्थानीय र पर्यटकका लागि आवतजावतमा सहज होस् भनी झोलुङ्गे पुल निर्माण गरिएता पनि परम्परागत काठेपुल पनि संरक्षण गर्नुपर्ने आवश्यक रहेको शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का वडाध्यक्ष निमा लामाले बताउनुभयो । उक्त क्षेत्र पर्यटकीय पदमार्ग भएको हुँदा पर्यटकलाई आकर्षित गर्नका लागि पनि काठेपुल संंरक्षणमा सरोकारवाला निकायले जोड दिनुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।

पदमार्गका बीच–बीचमा होटल तथा अन्य सुविधा भएमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । वर्षायाममा केही काठेपुल तथा लाप्का भत्किएको र बाटामा समस्या आएका ठाउँमा मर्मत गरी सहजता ल्याउन सके अझै सजिलो हुने सरोकारवाला बताउँछन् ।

हेर्नुहोस् कार्तिक १२ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे

मेष राशि -सामान्यकार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । नयाँ मित्रहरुको प्राप्तीले तथा साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अधुरा कार्यहरु सम्पादन गर्न मातृपक्षको साथ सहयोग आवश्यक रहनेछ । नयाँ लगानिमा भने बिशेष साबधानी अपानाउनु उत्तम रहनेछ । प्रेम सम्बन्धमा सुधारको योग रहेकोछ ।

बृष राशि -नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि-नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कर्कट राशि- शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

सिंह राशि -मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि- सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि -भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि -स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि- प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि- नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि -निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि -नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ

तनहुँ, १२ कात्तिक : दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् ।
“दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस÷चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो”, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भन्नुभयो, “त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।”

पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताउनुभयो । मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ । यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मस्र्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिनुभयो ।

सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्यरूपमा लैजानुपर्दछ । सुन खोज्दा नदी किनारामा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ । घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुग्नुभएका कमल बोटेले बताउनुभयो । बालुवा चाल्ने क्रममा महिनाको करिब रु २० हजार बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिनुभयो ।

घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताउनुभयो । करिब ४५÷५० दिन सुन चालेर घर फर्किने गरेको उहाँको भनाइ छ ।

“अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु”, उहाँले भन्नुभयो, “माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै रु २५÷३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु । मेहनतको कुरा हो यसै भन्न सकिँदैन ।”

पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ । सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाउनुभयो । यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् ।

पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित

तनहुँ-‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवंं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।

बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैंश गुरुङले राससलाई जानकारी दिनुभयो । दसैँमा आन्तरिक पर्यटकको चहलपहल बढेको उहाँले बताउनुभयो । दसैँमा दैनिक सात सयदेखि एक हजारसम्म आन्तरिक पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए ।

विशेषगरी युरोपेली मुलुक, चीन, भारतलगायत देशबाट पर्यटक बन्दीपुर आउने गरेका छन् । बाह्य पर्यटक दिनमा चार सयदेखि पाँच सयसम्म आउने गरेका छन् । बन्दीपुर घुम्न आउने पर्यटकका लागि होटल व्यवसायीले आकर्षक कार्यक्रम नबनाए पनि आन्तरिक पर्यटकका लागि १० देखि १५ प्रतिशतसम्म छुट दिने गरिएको छ ।

कुनै बेला व्यापारिक केन्द्र बनेको बन्दीपुर विसं २०२५ मा सदरमुकाम दमौलीमा सरेपछि व्यापारी पनि दमौली, आँबुखैरेनी र नारायणगढतिर गएका कारण यो स्थल प्रायः सुनसान भएको थियो ।

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो, घुम्न आएका पाहुनाले होटल भरिभराउ

म्याग्दी, ११ कात्तिक : म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिनुभयो ।

“देशका विभिन्न ठाउँमा भ्रमणमा आएका पाहुनाले होटल भरिएका हुन”, गलेश्वरमा रहेको होटल याकका सञ्चालकसमेत रहेका आचार्यले भन्नुभयो, “पोहोरपरार सालभन्दा यसपालि पर्यटक आगमन राम्रो छ ।” बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोडेपानी, सिंगा तातोपानीका होटल पाहुनाले भरिभराउ बनेका हुन् ।

होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । दशभन्दा बढी सुविधायुक्त होटल रहेको भुरुङ तातोपानीका होटल व्यवसायी राजु हमालले तीन दिनयता सबै होटल पाहुनाले भरिभराउ रहेका बताउनुभयो ।

बडादसैँको टीकाको भोलिपल्टदेखि काठमाडौँ, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले तीन दिनयता दैनिक चारदेखि पाँच हजार पाँच सय पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिनुभयो ।

“कात्तिक ९ गते एक हजार दुई सय सवारीसाधनमा पाँच हजार पाँच सय, १० गते नौ सय ७४ सवारीसाधनमा पाँच हजार र शनिबार सात सय सवारीसाधनमा चार हजार जना मुस्ताङ भित्रिएका छन्”, उहाँले भन्नुभयो, “अन्य समयमा दैनिक डेढ सयदेखि दुई सय सवारीसाधनमा पर्यटक भित्रने गरेका थिए ।”

महतका अनुसार जीप, बसको तुलनामा मोटरसाइकल, निजी गाडी र स्कुटरमा मुस्ताङ घुम्न जाने बढी छन् । पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्नेहरू मुस्ताङ घुम्न आएका घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहनुभएका मार्फाका होटल व्यवसायी राजु लालचनले बताउनुभयो ।

“पोहोर साल दसैँमा वर्षात्का कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि दुःख पाए”, उहाँले भन्नुभयो, “यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजेका छन् ।” शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । विदेशीभन्दा नेपाली पर्यटकको सङ्ख्या बढी रहेको होटल व्यवसायीले बताएका छन् । 

कोजाग्रतमा ताल–बाराही देवीको दर्शन गर्नेको घुइँचो

लेखनाथ- मोरङ विराट चोक निवासी खगेन्द्र तिमिल्सेनालाई पोखरा फेवातालको पानीमाथि ताल बाराही देवीका मूर्ति छ भन्ने कुरा यस अगाडि नै थाहा थियो । कोजाग्रत पूर्णिमा दिन देवीको दर्शन गर्न आउने मेसो उहाँलाई मिलेको थिएन । यसपटक भने उहाँले फुर्सद निकालेर परिवारसहित मुस्ताङको मुक्तिनाथ दर्शनसँगै   पोखराको ताल बाराही देवीको दर्शन गर्न आउनुभएका तिमिल्सेनाले भन्नुभयो, “फेवाताल र ताल बाराही मन्दिर स्वर्गको टुक्रा जस्तै लाग्यो ।”

ताल बाराही मन्दिरको दर्शनसँगै आइतबार ग्रहण नुहाउन चितवनको देवघाट जाने र त्यतैबाट घर फर्कने सोच बनाउनुभएका तिमिल्सेनाले भन्नुभयो, “मुक्तिनाथ र ताल बाराही देवीको दर्शनले हिन्दू धर्मप्रतिको विश्वास जगाएको छ ।”

गोरखाको आरुघाटबाट ताल बाराही देवीको दर्शन गर्न आउनुभएका कृष्ण लामिछानेले भन्नुभयो, “दसैँसँगै देवीका शक्तिपीठमा दर्शन गर्ने सोचअनुसार यसवर्ष पोखराको फेवातालमा अवस्थित ताल बाराही देवीको दर्शन गर्न आएको हुँ ।”

पोखरा महानगरपालिका–३२ खुदी निवासी रमा अधिकारीले परापूर्व कालदेखि नै कोजाग्रत पूर्णिमाका दिन ताल बाराही मन्दिरमा दर्शन गर्नेको घुइँचो लाग्ने भएकाले आफू हरेकजसो वर्ष दर्शन गर्न यहाँ आउने गरेको बताउनुभयो । विश्वकै पर्यटकीयस्थल पोखरा–६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित ताल बाराही मन्दिर पुनः निर्माण गर्न लागिएका कारण ताल बाराही देवीको पुरानो मन्दिर भत्काइएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजा गरिँदै आइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न यस वर्षको कोजाग्रत पूर्णिमा पनि दर्शनार्थीको सङ्ख्या भने घटेको छ्रन् ।

मन्दिरका पुजारी निर्मल पहारीका अनुसार कोजाग्रत पूर्णिमाका दिन परापूर्व कालदेखि ताल बाराही देवीको दर्शन गर्न भत्तजनको घुइँचो लाग्दै आउने गरेको र देवीको दर्शन गर्नले मनले चिताएको कुरा पुग्ने विश्वास रहदै आएको छ । ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषध्यक्ष निर्मल खत्रीले सयौँ वर्षदेखि कोजाग्रत पूर्णिमाका दिन ताल बाराही देवीको दर्शन गर्न विशेष मेला लाग्दै आएको र त्यही परम्परा अहिलेसम्म चलेको बताउनुभयो । उहाँका अनुसार कोजाग्रत पूर्णिमाका दिन मात्र ताल बाराही देवीको दर्शन गर्न चार–पाँच हजारको सङ्ख्यामा दर्शनार्थीको आउने गरेका छन् ।

मन्दिरको अस्तित्व विसं १६६७ देखि कायम रहिआएको पाइन्छ । कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शीला थियो, त्यही मन्दिर स्थापना गरी ताल बाराही देवीको रूपमा पूजाआजा गर्न थालिएको पछि त्यही मन्दिर स्थापना गरिएको भनाइ ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो ।

तीन दशकयता ताल बाराही देवीको मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभई तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको छ ।

फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ देखि भएको अर्का पूजारी परशुराम पहारीले बताउनुभयो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउने गर्छ ।

हाल भत्काइएको मन्दिर विसं २०१७ मा तत्कालीन राजा महेन्द्र शाहले अहिलेको स्वरूपमा निर्माण गर्नुभएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि रु नौ करोडको गुरुयोजना तयार गरिएको जानकारी ताल बाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिनुभयो । चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनःनिर्माणसँगै अन्य संरचना निर्माणका लागि उक्त रकम खर्च गरिने भएको छ ।

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

काठमाडौँ, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो ।

सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ । भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । आगामी मङ्गलबार अपराह्न ४ः०० बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो ।–––

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशका धेरै भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विभागका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती

ढोरपाटन (बागलुङ) – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहको मध्यपहाडी लोकमार्गको काम समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्रयाक खुले पनि हालसम्म कालोपत्र नहुँदा धुलो र हिलोले यात्रु तथा स्थानीय आजित भएका छन् ।

लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई जिम्मेवारी दिएको दियो । तर निर्माण कम्पनीले समयमै काम गर्न सकेका छैनन् । बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्ड गरी दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।

दुई वर्षमा सक्नेगरी जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र गर्ने काम नसक्दा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नुपरेको छ । उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेबीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चारपटक म्याद थप गर्दासमेत बल्ल सात किलोमिटर सडकमात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी छ ।

उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ । बिहुँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि विसं २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । बाह्र किमी सडकमध्ये हालसम्म उपल्लो खण्डमा छ किमी सडक कालोपत्र सम्पन्न भए पनि पाँचपटक म्याद थप्दासमेत छ किमी सडक कालोपत्र गर्न अझै बाँकी रहेको छ ।

उक्त सडकको ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । सडक समयमै कालोपत्र नहुँदा वर्षौंदेखि आफूहरुले हिलो र धुलो खान बाध्य भएको स्थानीय केदार कँडेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “धेरै वर्ष भयो यो बाटो कालोपत्र गर्छौं भन्न थालेको तर अहिले पनि केही परिवर्तन हुनै सकेको छैन, अहिले त सडकमा मान्छे डुबाउने धुलो छ, बर्खामा हिलो पनि उस्तै हुन्छ, हामीहरु त आजित भयौँ, घर नजिकै सडक छ, घर उठाएर पर सार्न पनि नमिल्ने, हामी सानो हुँदा यो सडकको हालत यस्तै थियो, अहिले हामी ४०÷४२ वर्षमा लाग्दा पनि यस्तै छ ।”

सवारी चालक मिनबहादुर विकले यो सडकमा गाडी चलान थालेको १७ वर्ष भएको भन्दै सडकको दुरावस्थाका कारण अहिलेसम्म लाखौँ रकम बराबरको पार्टपुर्जा फेर्नु परेको बताउनुभयो । बागलुङ बजार नजिकै भए पनि सडक अप्ठ्यारो हुँदा बिहुँबाट बजार झर्न झण्डै दुई घण्टा लाग्ने विकको अनुभव छ ।

“वैकल्पिक बाटो छैन, यही सडकमा हिँड्नुपर्छ, म दैनिक दुई पटक ओहोरदोहोर गर्छ, यात्रुले निकै गुनासो गर्छन्, धेरैले वान्ता पनि गर्छन्, यो सडक अप्ठ्यारो छ भन्ने सबै नेतालाई थाहा छ, तर काम गर्दैनन्”, विकले भन्नुभयो, “बर्खामा हिलोले गाडी नै डुब्ला जस्तो हुन्छ, हिउँदमा धुलोले गाडी देखिँदैन ।”

रुसी प्रधानमन्त्रीद्वारा लचिलोपन निर्माण गर्न आह्वान

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बिहीबार साङ्घाई सहयोग सङ्गठन (एससीओ) सदस्यहरूको लागि विश्वव्यापी चुनौतीहरूको बीचमा लचिलोपन निर्माण गर्नु साझा प्राथमिकता भएको बताउनुभएको छ।

एससीओले बढ्दो प्रतिस्पर्धा र अशान्ति, संरक्षणवादी उपायहरू र अवैध प्रतिबन्धहरू कडा पार्नाले यस क्षेत्रका वरपर आपूर्ति शृङ्खलाहरू अवरुद्ध गरेको छ । तर नागरिकहरू तिनीहरूका व्यवसायहरूलाई विश्वसनीय रूपमा सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनु भयो ।

प्रधानमन्त्री मिशुस्टिनले एससीओ सदस्य राष्ट्रहरूको सरकार प्रमुखहरूको परिषद्को २२ औं बैठकलाई सम्बोधन गर्ने क्रममा सो धारणा राख्नु भएको हो । “हामी यसलाई सँगै समाधान गर्न सक्षम हुनेछौं। पारस्परिक व्यापारका क्षेत्रमा प्रगतिशील वृद्धि यसको प्रत्यक्ष प्रमाण हो,” मिशुस्टिनले भन्नु भयो ।

उहाँले ऊर्जाको मूल्य अस्थिरताका बीचमा विशेषगरी इन्धन र ऊर्जा क्षेत्रमा सदस्यहरूले सहयोगलाई अझ गहिरो बनाउन आवश्यक रहेको पनि उल्लेख गर्नु भएको छ । सो सम्मेलनमा प्रधानमन्त्रीले स्वतन्त्र क्षेत्रीय भुक्तानी र सेट स्थापना गर्ने प्रस्ताव पनि राख्नु भएको छ ।

अजरबैजानसँग आगामी केही महिनाभित्र शान्ति सम्झौता हुने

नागोर्नो–काराबाखलाई जातीय–अर्मेनियाली पृथकतावादीबाट बाकुले पुनः नियन्त्रणमा लिएपछि आगामी महिनाहरूमा अजरबैजानसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्ने विश्वास आर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले गर्नुभएको छ ।

अजरबैजानको आर्मेनियाली बाहुल्यता रहेको काराबाख क्षेत्रको नियन्त्रणका लागि येरेभान र बाकुबीच दशकौँदेखि द्वन्द्व चलिरहेको छ ।

बाकुले सेप्टेम्बरको अन्त्यमा २४ घण्टे आक्रमणमा पहाडी इलाकालाई पुनः प्राप्त गरेको थियो जसले दशकौंदेखिको आर्मेनियाली पृथकतावादी शासनको अन्त्य गरेको थियो ।

“हामी अहिले अजरबैजानसँग शान्ति र सम्बन्ध सामान्यीकरणसम्बन्धी सम्झौताको मस्यौदामा काम गरिरहेका छौं र मलाई आशा छ यो प्रक्रिया आगामी एक दुई महिनामा सफलतापूर्वक टुङ्गिनेछ,” पाशिन्यानले भन्नुभयो ।

जर्जियाको राजधानी तिब्लिसीमा आयोजित एक अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा उहाँले भन्नुभयो, “भविष्यको शान्ति सम्झौता ककेशस (ब्ल्याक सी र क्यास्पियन सी) क्षेत्रका छिमेकीहरूको सोभियतकालीन सिमानाको पारस्परिक मान्यतामा आधारित हुनेछ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले यो वर्षको अन्त्यसम्ममा येरेभानसँग शान्ति सम्झौता गर्न सकिने बताउनुभएको छ ।

येरेभानले ऊर्जाको धनी बाकुले आफ्नो फाइदालाई दबाउने प्रयास गर्न सक्ने आशङ्का व्यक्त गरेको छ ।

येरेभानले सहयोगी टर्कीको सहयोगमा दक्षिणी आर्मेनियाको जमिन कब्जा गरेर अजरबैजानसँग आफ्नो नखिचेभान क्षेत्रलाई जबर्जस्ती जोड्न सक्छ भन्ने आशङ्का व्यक्त गर्दै आएको छ ।

उसले बाकुलाई ‘जातीय सफाया’ को आरोप पनि लगाएको छ किनकि लगभग सबै जातीय अर्मेनियाली जनसङ्ख्या अर्थात् करिब एक लाख मानिसहरू बाकुको विशाल आक्रमणपछि आर्मेनियातर्फ भागेका थिए, जसले शरणार्थी सङ्कट निम्त्याएको थियो ।

ताइवान सरकारले ‘खतरनाक युद्ध’ को जोखिममा निम्त्याएको चीनको आरोप

ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ ।
चीनले स्वशासित ताइवानलाई आफ्नो भूभाग का रुपमा दाबी गर्दै आएको छ र सन् २०१६ मा ताइवानका राष्ट्रपति साई इङ–वेन सत्तामा आएयता चीनको ताइवानसँगको सम्बन्धमा थप तनाव देखिएको छ ।

बेइजिङले हालैका वर्षहरूमा ताइवानमाथि कूटनीतिक र सैन्य दबाब बढाएको छ र गत अगस्टमा अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान वरपर युद्धक विमानको सङ्ख्यामा वृद्धि गरिएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले बिहीबार डीपीपीले ताइवानलाई युद्ध र हिंसाको खतरनाक स्थितिमा तीव्र गतिमा धकेलिरहेको बताउनुभएको छ ।
चीनले ताइवानको सत्तारुढ डीपीपीमाथि पटक–पटक औंला उठाएको छ भने उक्त टापुमा सैन्य धम्की बढाउँदै लगेको छ ।चिनियाँ सेनाले आफ्नो सैन्य प्रशिक्षण र युद्धको तयारीलाई मजबुत बनाउने वुले बिहीबार बताउनुभएको छ ।

उहाँले चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरको जलक्षेत्रमा संयुक्त राज्य अमेरिकाको प्रभावको पनि आलोचना गर्नुभएको छ तर बेइजिङ र वासिङ्टनबीच ‘सञ्चारका माध्यमहरू सधैं खुला रहेको’ बताउनुभयो ।बिहीबार ताइवानले शान्डोङ विमानवाहक पोतको नेतृत्वमा रहेको चिनियाँ फ्लोटिला टापुलाई फिलिपिन्सबाट छुट्याउने जलमार्ग बाशी च्यानल हुँदै प्रशान्त महासागरमा प्रवेश गरेको बताएको छ ।

वर्तमान सरकार पाँच वर्ष टिक्छ – प्रधानमन्त्री

त्रिवेणी (रुकुम पश्चिम) – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताउनुभएको छ । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताउनुभयो ।

“गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरु बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको उठाउने खतरा बढ्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले मुलुकका विभिन्न भागमा धार्मिक र जातीय सद्भाव बिगार्ने खेल भइरहेको भन्दै त्यसलाई रोक्न पनि सरकार आवश्यक भएको तर्क गर्नुभयो ।

प्रधानमन्त्री दाहालले रुकुम पश्चिमको समग्र विकासबारे आफू जानकार रहेको बताउनुहुँदै काठमाडौँ पुगेपछि मन्त्रिपरिषद्को बैठकले यसबारे महत्वपूर्ण निर्णय गर्ने जानकारी दिनुभयो ।

तीनजना युवाको मृत्युले शोकमा गाउँ

भैरहवा (रुपन्देही) – कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत हुनुहुन्थ्यो । परिवारसँग दसैँ मनाउन गाउँ आउनुभएको थियो । दसैँको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न जानुभएको नाउ कहिल्यै नफर्कने गरी जानुभयो ।

कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर उहाँको मृत्यु भयो । उहाँसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु भयो । मूर्ति विसर्जनका लागि नदीमा पुगेका अन्य दुई डुबेपछि उनीहरूलाई बचाउने क्रममा नाउले पनि ज्यान गुमाउनुभयो ।

कोटहीमाई गाउँपालिकाकै वडा–५ मा नजिकका गाउँमा बनाइएका मूर्तिहरू विसर्जन गर्ने चलन छ । दसैँको टीकाका दिन अमरगञ्जसहित अन्य गाउँका ल्याइएका मूर्तिहरू विसर्जन हुँदै थिए ।

प्रत्यक्षदर्शी राजदेव भरका अनुसार मूर्तिलाई पानीमा सेलाएपछि अजय भर र सन्तकुमार भरसहितका स्थानीय युवाहरू मूर्तिलाई पूरै डुबाउन भन्दै नदीको गहिरो रहेकोतर्फ जान थाले । “अगाडि गहिरो थियो, त्यहाँ जाने क्रममा सन्तकुमार भर डुब्न थाले”, राजदेवले भन्नुभयो, “प्रहरीमा अजयले उनलाई ताने, लगत्तै अर्का युवा अजय भर पनि डुब्न थाले, उनलाई जोगाउन सन्तकुमार र अजय नाउ अगाडि बढे, यसै क्रममा तीनजना नै डुबे ।”

दानव नदी गहिरो रहेको र तत्काल कोही पौडी खेल्न नजान्ने भएकाले तीनै जना नदीमा हराएको उहाँको भनाइ छ । दुर्गा मूर्ति बिसर्जनमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने १८ वर्षीय अजय राजभर, २४ वर्षीय अजयकुमार नाउ र २० वर्षीय सन्तकुमार भरको मृत्यु हुन पुग्यो ।

दसैँको दश दिनसम्म हर्षोल्लास गरी दसैँ मनाएका यी तीनजना गाउँले युवाहरू एकैसाथ अस्ताए । तीनजना युवालाई गुमाएको अमरगञ्ज गाउँ त्यसयता शोकमा डुबेको छ ।

डुबेकामध्ये अजयकुमार नाउ र अजय भरको शव केही घण्टामै फेला परे पनि सन्तकुमार भरको शव करिब ४७ घण्टापछि मात्र फेला परेको छ । उनको शव फेला पर्दासम्म उहाकै भाइ पर्ने अजय भरको त्रिवेणीमा र अजयकुमार नाउको दानव खोलामा अन्त्येष्टि भइसकेको थियो ।

प्रहरी जवान अजयकुमार नाउको डेढ वर्षअघि मात्र विवाह भएको थियो । बाँकी दुईजना अविवाहित थिए । “दुर्गा मूर्ति विसर्जनमा युवाहरूमा अर्कै जोस हुन्छ”, कोटहीमाई गाउँपालिका–१ का वडा अध्यक्ष राजेश गुप्ताले भन्नुभयो, “यो दुर्घटनाले हामीलाई गम्भीर बनाएको छ, आगामी दिनमा यससम्बन्धी कठोर कदम चाल्नैपर्ने देखिएको छ ।” उहाँले विसर्जनअघि स्थानीय युवासँग यस विषयमा छलफल पनि गरेको दाबी गर्नुभयो ।

इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले व्यस्थापनमा कुनै कमी नरहेको दाबी गर्नुभयो । “यसअघिका वर्षमा नदी वारि घटना हुने गरेको थियो, हामीले सोहीअनुसार तयारी गरेका थियौँ”, उहाँले भन्नुभयो, “नदीमा निश्चित क्षेत्रसम्म जान मिल्ने गरी भीड व्यवस्थापन गरेका थियौँ ।” दानव नदी पारि कोटहीमाई गाउँपालिका–५ को क्षेत्र इलाका प्रहरी कार्यालय लुम्बिनीअन्तर्गत पर्छ ।

दसैँ मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

काठमाडौँ – दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।

नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । दसैँको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

यसवर्ष दसैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ ।

गरिबीको अन्त्यको आधार कृषि र वनपैदावार : मुख्यमन्त्री शर्मा

त्रिवेणी (रुकुमपश्चिम) – कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभएको छ ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कृषि र वनपैदावारबाट उद्योग सञ्चालन गरेर मात्रै कर्णालीको गरिबी अन्य गर्न सम्भव हुने बताउनुभयो ।

“त्यसका लागि भौगोलिक बनावट छुट्याएर व्यावसायिकरुपमा उत्पादन गर्ने किसानसँग हातेमालो गर्न लागेका छौँ र त्यसैका आधारमा खाका कोर्दैछौँ, कर्णालीमा भएको जडीबुटी, वन पैदावार, श्रम एकसाथ परिचालन गर्दैछौँ”, मुख्यमन्त्री शर्माले भन्नुभयो ।

“बैङ्कले हामीलाई त्यति राम्रोसँग पत्याइराखेको अवस्था छैन, तिनै तहको सरकार मिलेर लघुवित्त बैङ्क निर्माण गरेर कम्तीमा किसानलाई नौ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने र किसानलाई उत्पादनमा लगाउने योजनाका साथ हामी अगाडि बढिरहेका छौँ, मलाई विश्वास छ, यो निर्णयमा सम्माननीय प्रधानमन्त्रीले यसको अनुमति दिनुहुनेछ र हामी अगाडि बढ्ने छौँ”, उहाँले भन्नुभयो ।

जनकपुर–अयोध्या हवाई सेवाका लागि सरकारले पहलकदमी लिनुपर्छः नेता निधि

जनकपुरधाम – नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गर्नुभएको छ ।

बिहिबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै नेता निधिले विभिन्न चरणमा भएको छलफलपछि हवाई सेवा सञ्चालनका लागि निजी क्षेत्र तयार रहेको भन्दै भारतीय पक्षसँग कुरा गरेर बाँकी प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई आग्रह गर्नुभयो ।

“विगत दुई तीन वर्षदेखि माता जानकीको जन्मस्थल जनकपुर र श्रीराम जन्मस्थल भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सकिने सम्भावनाबारे विभिन्न चरणमा कुराकानी भइरहेको थियो । मैले जानकारी पाएअनुसार निजी क्षेत्रको बुद्ध एअर सातामा तीन दिन हवाई उडान भर्न तयार रहेको छ”, प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका निधिले भन्नुभयो, “अब वायु सेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहलकदमी लिएर उडान अनुमति, पूर्वाधार निर्माण र भारत सरकारसँग आवश्यक सम्झौता गर्न जरुरी छ । यसका लागि म सम्बद्ध पक्षसँग विशेष अनुरोध गर्न चाहन्छु ।”

अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरको सन् २०२४ जनवरीमा भारतीय प्रधानमन्त्रीले प्राण प्रतिष्ठा (समुद्घाटन) गर्ने कार्यक्रम रहेको र तत्पश्चात् त्यहाँ बढ्ने धार्मिक पर्यटकीय गतिविधिबाट लाभ लिन हवाई सेवा जरुरी रहेको भन्दै नेता निधिले त्यसभन्दा अघि नै नेपाल सरकारले आवश्यक पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यस कार्यले जनकपुरमात्र नभई सिङ्गो नेपालले नै आर्थिक लाभ लिनसक्ने र जसले देशको समृद्धि र गरिबी निवारणको यात्रामा कोसेढुङ्गाको काम गर्ने नेता निधिको भनाइ थियो ।

त्यसैगरी, उहाँले सीता जन्मभूमि जनकपुरधाम र सती माताको भूमि कैलास मानसरोवरलाई जोड्न नयाँ सम्भावनाको खोजी र त्यसको प्रचारप्रसार पनि जरुरी रहेको धारणा राख्नुभयो । उहाँले नेपालकै भूमिबाट कैलास मानसरोवर पुग्नसक्ने बाटो निर्माणका लागि पनि सरकारसँग माग गर्नुभयो ।

टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर

मलेखु (धादिङ) – धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालिलाग्दो भिर छ, अर्काे दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ । माछाको शरीरजस्तो भू–बनोटको टाकुरामा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको यो मन्दिरले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको छ । गणेश हिमाल, मनास्लु, माछापुच्छ«े, मानापाथीलगायत आधा दर्जन बढी हिमालको दृश्यावलोकन गर्न सकिने भैरवी मन्दिरमा चाडपर्व र बिदाको दिन दर्शनार्थीको घुइँचो नै लाग्छ ।

पौराणिक भनाइअनुसार यस मन्दिरसँग भगवान् भैरव र भैरवीको कथा जोडिएको छ । भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएका बेला मासु खान मन लाग्यो । भैरव बाघको रुपधारण गरेर मासु लिन जङ्गल जानुभयो । सुँगुरको सिकार गरेर फर्किनुभयो । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यही घोप्टो परेर बस्नुभयो । भैरवलाई भित्र पस्न दिनुभएन । प्रश्रव पीडामा छट्पटिएकी भैरवीलाई छाडेर टाढा जान नसकेपछि भैरव भैरवी बसेकै तल्लोपट्टि बसेको किंवदन्ती छ । अहिले यो स्थानमा भैरवी र भैरवको छुट्टाछुट्टै दुईवटा मन्दिर छ ।

नेपालमा राम शाहले विसं १६६६ मा स्थापना गरेको आठवटा शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उनले स्थापना गरेका कुरा लालमोहरमा लेखिएको छ । तर स्पष्ट बुझिँदैन । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसी भाकल गरेको र भाकलपछि नुवाकोट विजय हासिल गरेको विभिन्न लेख तथा लिपिमा भेटिन्छ ।

“मन्दिरमा पूजासहित बडादसैँ र चैते दसँैमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा रहिआएको छ । वडा दसँैको नवमीका दिन सुँगुरको बलि दिँदै आएको छ”, श्रेष्ठ भन्नुहुन्छ, “मन्दिर आइपुग्न सदरमुकामबाट १३ किमी कालोपत्र र पाँच किमी कच्ची गरी १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ । सवारीसाधनबाट मात्र भई हाइकिङ गर्ने पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।”

विसं २०७२ को भूकम्पले भत्किएपछि अहिले मन्दिरको पुनःनिर्माण भइरहेको छ । विसं २०७६ फागुन २३ गते मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको हो । रु १३ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर निर्माणको काम सुरु गरिएको छ । हालसम्म मन्दिरमा रु चार करोड बराबरको पुनःनिर्माण भइसकेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष धु्रव श्रेष्ठले बताउनुभयो ।

मन्दिरमा खानेपानी, शौचालयको राम्रो व्यवस्था छ । सिसी क्यामेरा र इन्टरनेट पनि जडान गरिएको छ । मन्दिर आइपुग्ने भक्तजन प्राकृतिक सुन्दरताको मनोरम दृश्यमा लोभिने गरेका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीबाट १८ किमीको दूरीमा रहेको सुनौलाबजार धादिङ जिल्लाको पुरानो सदरमुकाम पनि हो ।

सुनौलाबजार पुरानो मन्दिर

भैरवी मन्दिरको तल्लो भागमा रहेको सुनौलाबजार धादिङ जिल्लाको पुरानो सदरमुकाम पनि हो । जब विसं १९४७ मा धादिङ बेनीघाटको इराङबाट जङ्गीअड्डा सुनौलाबजार सारियो, तब त्यहाँ सदरमुकामका लागि आधार बन्यो । तर, २०३२ सालमा यहाँबाट सदरमुकाम धादिङबेँसी सारियो । सुनौलाबजार अहिले पनि पुरानो धादिङको नामले परिचित छ ।

तत्कालीन समयमा भौगोलिक विकटता, यातायातको पहुँच र ढुवानीको समस्याले नै टाकुरामा रहेको सदरमुकामलाई बेँसी झारियो । धादिङबेँसीमा सदरमुकाम सरेपछि त्यहाँका ८० प्रतिशत मानिस पनि बेँसी झरे । त्यसपछि सुनौलाबजारको चहलपहल घट्यो । जिल्लाकै पुरानो भैरवी उच्च माध्यमिक विद्यालय अहिले पनि कायमै छ । खानेपानीको चरम अभाव अहिले समाधान भइसकेको छ ।

एउटा कालखण्डमा पूरै धादिङ नेतृत्व गरेको पुरानो धादिङ पर्यटनका हिसाबले सूचीकृत गर्न लायक ठाउँ हो । भैरवी मन्दिरको चर्चा सुरु भएसँगै अहिले यहाँको चहलपहल फेरि बढेको छ ।

भ्रष्टाचारको समूल अन्त्य हुनुपर्छ : डा कोइराला

विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

विराटनगरको सोभित भवनमा बिहिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताउनुभयो । उहाँले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने भन्दै नेपाली कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो । उहाँले देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै नेपाल एसियाको गरिब देश हुनुमा राजनीतिक दल र नेता प्रमुख कारक भएकाे बताउनुभयो ।

केन्द्रीय सदस्य डा कोइरालाले विकासमा कोशी प्रदेश पछाडि पर्नाका कारण पनि राजनीतिक अस्थिरता हो भन्दै राजनीतिक दलले समाजलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अन्य राजनीतिक पार्टीबाट समायोजन भएर आउने राजनीतिक दलका नेता र कार्यकर्तालाई नेपाली कांग्रेसले संरक्षणसहित अवसर पनि दिन्छ ।”

माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ – प्रधानमन्त्री दाहाल

रुकुम – प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द० का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताउनुभएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा बिहिबार आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्नुहुँदै उहाँले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक छ भन्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो,“हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियाँै, त्यो प्रतिवद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो । ”

केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उहाँको भनाइ थियो । “हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो ।”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँवर्ष नै टिक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले निकै बलियो सरकार बनाएका छाँै । यो सरकार पाँच वर्षनै रहन्छ । कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ ।” सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उहाँले आरोप लगाउनुभयो । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ बनाउन सफल भएको बताउनुभयो । “हामीले छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छाँै । अझै पनि बलियो हुने छ । मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरँे । ती देशहरु नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन् ।” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

वर्तमान सरकार गठनभएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले मिटरव्याजीलाई कारबाही गरेका छाँै । नक्कली भुटानी शरणनार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छाँै । यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरुको ठूलो साथ र सहयोग रहेको छ ।”

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण : ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौँ – आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।

हेर्नुहोस् कार्तिक १० गते शुक्रवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि- मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष राशि – अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

मीथुन राशि – आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

कर्कट राशि- अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

सिंह राशि – मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

कन्या राशि – हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

तुला राशि – तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

बृश्चिक राशि – स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

धनु राशि – मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

कुम्भ राशि – मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

मिन राशि- कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ ।

टीकाको साइत ११ बजेर २ मिनेटमा : टीका लगाइ माग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

काठमाडौँ, ७ कात्तिक (रासस) ः दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका सदस्य तथा बाल्मिकी क्याम्पस धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

“विजया दशमीको टीका लगाउने मुख्य साइत ११ बजेर २ मिनेटमा छ, शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँ भन्नुहुन्छ, “शुभ साइतमा टीका लगाउन प्रारम्भ गरेपछि जतिबेला पनि टीका लगाउन मिल्छ ।”

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३७ बजे रहेको छ ।

टीका लगाइ माग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराई बताउनुहुन्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँको भनाइ छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै

काठमाडौँ, ७ कात्तिकःनेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान ८.३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरी नक्साल आउने छ भने अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सुर्यबिनायक हुँदै पुनः नक्साल आउने छ ।

दसैँभर मौसम सफा रहने

काठमाडौँ, ७ कात्तिक ः आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ ।

जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि दसैँभर सामान्यतया मौसम सफा रहने जनाएको छ ।

मौसमविद् राजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि दसँैभर मौसम सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् लामिछानेका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मेची-काली अभियानले फेरियो चन्द्रकलाको जीवन

काठमाडौँ – कोल्वी–८, नयाँबस्ती, बाराकी चन्द्रकला तिमल्सिनाकोे घर कुनै गाईगोठभन्दा कम छैन । उमेरले १५ टेक्दै गरेकी उनलाई जन्मदै बौद्धिक अपाङ्गता थियो । साठीको नजिक पुग्नुभएको बुबा मुक्तिनारायण व्यवहारको दलदलमा यसरि फसेका छन् कि लाग्छ परिस्थिति अब उनको नियन्त्रण बाहिर छ ।

चन्द्रकलाकी आमा मुक्तिनारायणकी चौथो श्रीमती हुन् । उनी अघिका तीन श्रीमतीले छाडेपछि चन्द्रकलाको आमासँग उनको विवाह भयो । साथमा माइली श्रीमतीबाट जन्मेको आकाश छन् । पैसा कमाउन भारत लागेका उनी फर्कदा मनोरोगी भएर फर्किएका थिए । उनी दिनभर घर बस्दैनन् । दिनभर गाउँ डुलिरहन्छन् र भोक लागेपछि घर आउँछन् । घर बाहिर फलैंचामा नै उनको विस्तारा छ । चरालाई आरा राखिदिए झैं गरी उनलाई डोरीमा थाल झुण्डाएर खाना राख्ने गरेको रहेछ । आकाश कुनबेला आएर खान्छन् र जान्छन् कसैलाई थाहा हुँदैन ।

चन्द्रकला आफूलाई दिशापिसाव लागेको समेत थाहा पाउँदिनन् । उनको स्याहारसुसार र घरधन्दा मनोरोगी आमको जिम्मेवारीमा छ । साथमा एउटा गाई, केही बाख्रा र कुखुरा पालेका छन्, ६० वर्षीय मुक्तिनारायण सकिनसकी घाँस काट्न जान्छन्, दाउरा खोज्छन्, गाईबस्तुको कुडोपानी गर्छन् ।

मानव सेवा आश्रमका उद्धार टोली चन्द्रकलाको घर पुग्दा सबै गाउँले जम्मा भएर उनको उद्धार गर्न अनुनय विनय गर्न थाले । उनको उद्धारले परिवारमा थप सहजता मिल्ने र चन्द्रकलाको आगामी जीवन थप सहर बनाउन सकिने निचोडसहित यात्रीले चन्द्रकलाको उद्धार गरे । उनीसहित हिजो उद्धार गरिएकाहरुलाई मानव सेवा आश्रम वीरगंज शाखामा राखिएको छ ।

यतिबेला देश दशैंमय भएको छ । मीठो खाने, राम्रो लगाउने, परिवारजन भेला हुने र सद्भाव बाढ्ने, अग्रजको अशिर्वाद ग्रहण गर्ने जस्ता क्रियाकलापहरुमा सिंगो नेपाली समाज रमाइरहदा मानव सेवा आश्रमले भने यस पटकको दशैं फरक तरिकाले मनाइरहेको छ । ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले गत असोज २७ गतेदेखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दशैं, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गरिएको हो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बाग्मती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । विगत वर्षहरुमा पुस÷माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडहरुलाई लक्षित गरी सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस अभियानमा करिब तीन सय जनाको उद्धार गरिनेछ ।

गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एक कार्यक्रमबीच यात्रीहरुलाई विदाई गर्दै यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताउनु भएको थियो । राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभई समाजसेवा झन बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उहाँको भनाइ थियो ।

अठ्तीस दिनसम्म सञ्चालन हुने अभियानमा आश्रमका ३८ जना स्वयंसेवकको सहभागिता रहेको छ । यात्रीहरुले असोज २७ गते पूर्वीनाका मेची पुलमा पुगेर दीप प्रज्ज्वलन गरी उद्धार कार्यको शुभारम्भ गरेका थिए । कोशी प्रदेशमा चार दिन बिताएर मधेस प्रदेश केन्द्रीत भएका उद्धार टोलीले हिजोसम्म ८३ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिसकेको छ । उद्धार गरिएकाहरुमध्ये अधिकांश मनोरोगी छन् ।

यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन वरिष्ठ समाजसेवी एवं आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मा पनि सहभागी हुनु भएको छ । यात्राको सम्पूर्ण खर्च सोही फाउण्डेसनले बेहोरीरहेको छ । संसारलाई महंगोमा गीत सुनाएर आफूले प्राप्त गरेको अधिकांश पारिश्रमिक समाज सेवामा लगाउँदै आइरहनुभएकी आनी छोइङ डोल्मा यतिखेर सहयोगापेक्षीहरुको उद्धार, नुवाइधुवाई र सरसफाइमा रमाइरहनुभएको छ ।

मानव सेवाभन्दा अर्को महान धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको समाजसेवी आनी छोइङले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘दिनदुःखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य संग्रह बढ्छ । मानव सेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाई पनि मिलोस् भनेर अभियानलाई साथ दिएकी हुँ ।’’ मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक रहने उहाँको भनाइ छ ।

मानव सेवा आश्रमका देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा रहेका छन् । तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन् । यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको

हुलाक भन्ज्याङमा ३५ वर्षपछि रोटेपिङ

मलेखु, ७ कात्तिक ः धादिङको ज्वालामुखी गाउँपालिका–६स्थित हुलाक भञ्ज्याङमा ३५ वर्षपछि यो दसैँमा रोटेपिङ हालिएको छ । पुराना कला र संस्कृति जगेर्ना गर्ने अभियानमा लागेका स्थानीय युवाले कलात्मक रोटेपिङ तयार गरेका हुन् ।

गाउँका सबै युवा मिलेर पिङ निर्माण गरेपछि यो वर्ष दसैँ रौनक बनेको छ । बालबालिकादेखि वृद्धसम्मलाई रोटेपिङले थप उल्लासमय बनाएको छ । स्थानीयवासी हरिमान शाक्य भन्नुहुन्छ, “३५ वर्षपछि रोटेपिङ चढ्््न पाइयो । पिङ खेल्न पाएपछि त हामीजस्ता बुढापाकालाई पनि दसैँ रमाइलो हुँदो रहेछ ।”

बाजेका पालासम्म पुस्तान्तरण हुँदै आए पनि बाको पालादेखि हराउँदै गएको रोटेपिङको जगेर्नामा नयाँपुस्ता लागिपरेका छन् । यहाँका युवाले गाउँका बूढापाका र बालबालिकालाई पिङ खेलाउँदै रोटेपिङबारे पाकाको कुरा सुन्ने र सानालाई सुनाउने गरिरहेका छन् ।

यो दसैँमा साना बालबालिकाले पनि रोटेपिङको अनुभव लिने मौका पाएका छन् । झण्डै तीन दशकपछि गाउँमा रोटेपिङ चढ्न पाउँदा वृद्धवृद्धा पनि मख्ख छन् । मीठो खानुभन्दा पनि दसैँ मानाउन गाउँ पुगेकाहरु पनि पिङमा नै रमेका छन् ।

मौलिक संस्कृतिको जगेर्ना गर्ने र पुराना कला संस्कृतिका बारेमा नयाँ पुस्तालाई आकर्षण बढाउने उद्देश्यले गाउँका साथीभाइ मिलेर रोटेपिङ निर्माण गरिएको स्थानीय युवा सुनिता शाक्य शाक्यले बताउनुभयो । “तीन दशकअघिसम्म हजुरबुबाले दसैँमा बर्सेनि रोटेपिङ खेल्नुहन्थ्यो रे भन्ने गरेको सुनिन्थ्यो तर देख्न भने मुस्किल थियो । वर्षमा एक दिन भए पनि पिङ खेलेर धर्ती छोड्नुपर्छ भन्ने पाका पुस्ताको भनाइलाई समेत मनन गर्दै यसपाली पिङ हालियो”, शाक्यले खुसी सुनाउनुभयो ।

“रोजगारीको सिलसिलामा युवापुस्ता विदेशिने क्रम बढेसँगै पनि दसैँ तिहारमा रौनकता दिने रोटे पिङ हराउन थालेको छ । प्रविधिको विकाससँगै सहर बजार र मेला महोत्सवमा पैसा तिरेर खेल्न पाइने पिङले पनि रोटेपिङप्रतिको चासो कम भएको पाइन्छ,” उहाँले भन्नुभयो, “निर्माण गर्न खर्चिलो हुने, काठपात बढी लाग्ने र युवापुस्तामा सीप अभावकै कारण रोटे पिङ लोप हुँदैगयो । भावी पुस्ताले रोटेपिङ देख्नै नपाउने भएका थिए । हाम्रा राष्ट्रिय पर्वहरुसँग जोडिएको संस्कृति जोगाउनु हाम्रो दायित्व हो ।”

रोटेपिङकै ढाँचामा फलाम प्रयोग गरी व्यावसायिक हिसाबले पिङ बनाइने र खेल्ने खेलाइने प्रचलन पनि निकै बढेको छ तर त्यस्तो पिङमा दसैँमा देखिने रोटेपिङमा जस्तो रौनक पाइँदैन । ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’ भन्ने नेपाली उखानजस्तै गाउँबाट लोप भइसकेको रोटेपिङ झण्डै ३५ वर्षपछि सोही स्थानमा पुनः बन्दा र खेल्न पाउँदा हुलाक भन्ज्याङवासी अहिले खुसीले दङ्ग छन् ।

वडासदस्य तथा स्थानीय बासिन्दा लिलामान शाक्यको पहलमा यहाँ ३५ वर्षपछि रोटेपिङ बनेको हो । पुस्तौँदेखि खेल्दै आएको रोटेपिङ एकादेशको कथाजस्तो नबनोस् भन्ने हिसाबले यो वर्ष दसैँमा रोटेपिङ बनाउनुपर्छ भन्ने आफूले योजना बनाएँ, उहाँले भन्नुभयो, “यो प्रस्ताव वडाध्यक्ष किशोर सेढाई समक्ष राखे त्यसपछि पालिकाको आर्थिक सहयोगमा गाउँमा रोटेपिङ बनाउन सफल भयौँ ।”

करिब रु एक लाखको लगानीमा तयार भएको यो पिङ प्राविधिक हिसाबले पनि सुरक्षित बनेको छ । अहिले मौलिकरूपमा बनाइएको पिङमा प्रयोग भएको काठको खम्बा र फलामको डन्डी दसैँ सकिएपछि सुरक्षित स्थानमा राखिने र आगामी वर्षमा पनि गाउँमा रोटेपिङ बनाउने कार्यलाई निरन्तरता दिँदै जाने उहाँको भनाइ थियो ।

असत्यमाथि सत्यको विजयको प्रतीकः प्रदेश प्रमुख गुरुङ

गण्डकी, ७ कात्तिक ः गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउनुुभएको छ ।

विजयादशमीको उपलक्ष्यमा शुुभकामना सन्देश व्यक्त गर्दै उहाँले असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा मनाइने विजयादशमी पर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकको अन्त्यसँगै व्याप्त अनेक असत्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

यसैगरी सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित सबैको सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ ।

शान्ति र आपसी सद्भावका लागि विजयादशमीले सबैलाई प्रेरणा देओस् : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सद्भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व भाव कायम राख्दै अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

बडादसैँका अवसरमा आज शुभकामना दिँदै उहाँले दुःखमा धैर्य र अभावमा पनि खुसी देखिन सक्नु नेपाली समाजको स्वभाव एवं चरित्र भएकाले महँगी र गरिबीमा पनि गच्छेअनुसाको आर्थिक र सामाजिक व्यवहार गर्दै खुशियालीका साथ विजया दशमी मनाउन आग्रह गर्नुभएको छ ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भन्नुभएको छ, “बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाजमा विशेष चाडका रुपमा विजयादशमी हर्षोल्लासका साथ मनाइन्छ, यस अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकमाना व्यक्त गर्न चाहन्छु ।”

उहाँले धार्मिक सहिष्णुता, जातीय सहअस्तित्व र साम्प्रदायिक सुसम्बन्ध उदाहरणीय रुपमा रहेको नेपाली समाजमा केही अलमल र खलबलका सङ्केत देखापर्नु वाञ्छनीय नभएको उल्लेख गर्नुभएको छ । पूर्वअध्यक्ष रेग्मीले भन्नुभएको छ, “विकास, समृद्धि र सामाजिक रुपान्तरणका लागि नेपाली आवश्यकतालाई सम्बोधन गर्ने गरी अझ पनि सामाजिक तथा राजनीतिक वातावरण किन स्वच्छ हुन सकिरहेको छैन ? नेपाली समाजमा अहम् प्रश्नको रुपमा आज पनि रही रहनु सुखद् पक्ष होइन ।”

सन्देशमा पूर्वअध्यक्ष रेग्मीले विजयादशमीले शान्ति, समृद्धि, आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता, सहकार्य र एकता अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ । उहाँले सबैमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीबाट विजयादशमीको शुभकामना

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको बताउनुभएको छ ।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले बडादसैँले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गर्नुभयो ।

“देशविदेशमा छरिएका परिवारका सदस्यबीचको पुनर्मिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिनेजस्ता मौलिक परम्पराले गर्दा बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँ पर्वको आर्थिक र सामाजिक पक्षसमेत उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले देश र परदेशमा रहेका परिवारका सदस्य भेला भएर मान्यजनबाट टीका र जमरासहित आशीर्वाद लिने पर्वका रूपमा दसैँले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको बताउनुभएको छ ।

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ७ कात्तिक : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले विभिन्न समुदायबीच एकता, सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्घि गर्न पर्वको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्न समाजवादी अर्थव्यवस्था कार्यान्वयन तथा जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिनुपर्नेमा जोड दिनुभयो ।

सुशासन, समृद्धि र सामाजिक न्यायको आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सक्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो औँल्याउनुभयो ।

सभापति देउवाद्वारा बडादसैँको शुभकामना

काठमाडौँ, ७ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैँ २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको उल्लेख गर्नुभएको छ ।

विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, ७ कात्तिक : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सांस्कृतिक धरोहर र वैभवको रूपमा रहेका चाडपर्वमा अन्तर्निहित भावना र सन्देशबाट मुलुकको विकास, समृद्धि, सुशासन तथा न्यायपूर्ण समाजको स्थापनाका लागि महत्त्वपूर्ण आधार प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

“नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्ने तथा विधिको शासनको प्रवद्र्धन र भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि चाडपर्वले हामी सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सक्ने ऊर्जा, क्षमता र प्रेरणा प्रदान गरुन् भन्ने कामनासमेत गर्दछु”, प्रधानन्यायाधीश श्रेष्ठले शुभकामना सन्देशमा भन्नुभएको छ ।

सदिऔँदेखि नेपाली समाजमा रहेको आपसी सद्भाव, विश्वास र सहिष्णुता कायम गर्दै विविधताबीचको एकता तथा सामाजिक सांस्कृतिक ऐक्यबद्धताको प्रवद्र्धन गर्न यसप्रकारका चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ । उहाँले देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

राष्ट्रियसभाका अध्यक्षद्वारा विजयादशमीको शुभकामना

काठमाडौँ, ७ कात्तिक : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विजयादशमी २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

विजया दशमीका आवरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समाजलाई सभ्य, शान्तिपूर्ण, मावनतापूर्ण, समतापूर्ण, सुसंस्कृति र शिक्षित समाजका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जनतामा पलायको समृद्धिको सपना पूरा गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा उल्लेख गरेको बताउनुभएको छ । सामाजिक, सांस्कृतिक, चाडपर्व, मूल्य मान्यता, तथा चलन रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अङ्गको रुपमा रहेको उहाँको भनाइ छ ।

सभामुखबाट बडादसैँको शुभकामना

काठमाडौँ, ७ कात्तिक : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रुपमा रहेको बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ सङ्कल्पको विकास गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । “उमङ्गमय वातावरणमा देश परदेश गएका आफन्तको मिलनले नाता सम्बन्धलाई गाढा र न्यानो बनाउने भएकाले दसैँको विशेष सांस्कृतिक महत्व रहिआएको छ, दसैँलाई सांस्कृतिक महत्त्वको चाडको रुपमा विकास गरी पर्वको गरिमा वृद्धि हुने गरी मनाउन अपील गर्दछु”, सभामुख घिमिरेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उल्लेख गर्र्दै उहाँले संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्तिका रुपमा रहेका बताउनुभएको छ । विभिन्न जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन नेपालीको पहिचान भएको सन्देशमा उल्लेख छ ।

चाडबाडमा भड्किलो व्यवहार गर्ने, अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले वडादसैँले आपसी एकता, शान्ति र सकारात्मक सोच विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“संस्कृति परिवर्तनशील विषय हो, कतिपय परम्परालाई परिवर्तन एवं सुधार गर्दा कुनै जाति वा समुदायको आफ्नो सांस्कृतिक परम्परा लोप हुन सक्छ”, शुभकामना सन्देशमा सभामुख घिमिरेले भन्नुभएको छ, “तसर्थ, हाम्रा नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रोत्साहित गर्दै जानु अहिलेको प्रमुख आवश्यकता हो ।”

मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजया दशमीले प्रेरित गर्न सकोस् : उपराष्ट्रपति यादव

काठमाडौँ, ७ कात्तिक : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सामूहिकता र एकतालाई बढावा दिने तथा व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले विजया दशमी अभिप्रेरित रहेको बताउनुभयो ।

विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभयो ।

नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशीता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गणतन्त्रले गरेको बताउनुभयो ।

भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार बडादसैँ, दशहरा, दुर्गापूजा, नवरात्री आदि नामले मनाइने विजयादशमी पर्व अधर्ममाथि धर्म, खराबमाथि असल एवम् असत्यमाथि सत्यको जीतका रुपमा परापूर्वकालदेखि हिन्दूले बनाउँदै आएको उहाँले उल्लेख गर्नुभएको छ ।

“आ–आफ्नो मौलिक चलन, परम्परा, रीतिरिवाज, विधि–विधान, अनुष्ठान र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा यो चाड बनाउनुले विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग पुगेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

विजया दशमीले सामाजिक विविधतालाई सुदृढ र प्रगाढ बनाउँदै राष्ट्रिय भावनालाई थप मजबुत बनाउन उत्प्रेरित गर्ने उहाँको भनाइ छ । उपराष्ट्रपति यादवले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको विजया दशमीले अहंकार, लोभ, मोह, क्रोध जस्तो खराब आचरणबाट टाढा रहन पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गर्नुभएको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर ‘गरे हुन्छ, परिवर्तन सम्भव छ’ भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने बताउनुभयो ।

“नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ । यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

उहाँले मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकामा जोड दिनुभएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गर्नुभएको छ ।

उहाँले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले विजया दशमीको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामनासमेत गर्नुभएको छ ।