`

राष्ट्रपतिबाट बडादसैँको शुभकामना

काठमाडौँ, ७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि भएकाले यस पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सबैलाई प्रेरित गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामथ्र्य प्रदान गरोस् भन्ने पनि उहाँले कामना गर्नुभएको छ ।

“हाम्रो मुलुकमा परम्परागतरुपमा हर्षाेल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेका छन्”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भन्नुभएको छ, “बडादसैँ पर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्छ भन्ने मलाई लाग्छ ।”

उहाँले नयाँ उत्साह, उमङ्ग, असल कामलाई हौसला प्रदान गर्न र सकारात्मक ऊर्जा थप्ने प्रेरणा देओस् भन्ने कामना पनि गर्नुभएको छ ।

राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।

राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ ।

राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ । अन्य सर्वसाधारणका लागि अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने महानुभावले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ ।

आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

काठमाडौँ – आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा

भोजपुर, ६ कात्तिक : भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकँुडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । पुस्तान्तरण हुन नसक्दा परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो । गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट ससाना आकारका गोलियालाई कुदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । यसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ ।

खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पङ्खामा खसाई काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक) को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ । यसको अलवा हातले यन्त्र गुमाएर पनि काठका सामग्री बनाउने चलन रहेको छ । चँुदाराहरुले कलात्मकरुपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगायत विभिन्न सामग्री बनाउदै आएका छन् ।

चिसो, खोला खोल्सीमा बसेर काम गर्नुपर्ने तथा धेरै मेहनत गर्नुपर्ने भएकाले नयाँपुस्ताको रोजाइमा नपरेको हो । ठेकी कुदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने भएकाले पछिल्लो समयमा पेसाप्रति लाग्ने मान्छेको सङ्ख्या घट्दै गएको हो ।

विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि पछिल्लो समयमा सङ्ख्यासमेत घटेको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराहरुको भनाइ छ । दूध जमाउने ठेकीबाहेक मोही पार्नै ठेकी, कोसी, आरी खुर्पेटा कुदेर चँुदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादनलगायतका औजारको प्रयोग हुने गर्दछ ।

काम गर्ने प्रविधिले आधुनिकता नपाउदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदाराहरुको भनाइ छ ।धेरै मेहनतले खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिकोपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको लामो समयबाट चँुदारा पेसा गर्दै आएका टेम्केमैयुुङका रत्नबहादुर विश्वकर्माले बताउनुभयो ।

“पुस्तान्तरण हुनसक्दा पुख्र्यौली पेसा सङ्कटमा परेको छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्ताले यो काम गर्न चाहदैन् । यसलाई नयाँ पुस्तासम्म पु¥याउन संरक्षण गर्न आवश्यक छ ।”काठको सामग्री बनाउनका लागि दार, पँयले, लोठसल्ला, मौवा, कटहर लगाएत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताउनुभयो । तर पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको उहाँले बताउनुभयो ।

आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ । मेहनतका आधारमा प्रतिफल नहुने भएकाले नयाँपुस्ताले चासो नदिँदा पेसा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । “यो काम गरेर हामीले जीवन गुजरा गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेसा नै गर्न छाडे । नयाँ पुस्ताले चासो दिदैन् । पेसा जोगाउन नै समस्या छ । राज्यले यसलाई संरक्षणमा भूमिमा खेल्न आवश्यक छ ।”

हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउनसके काम गर्न सहज हुने चँुदाराको काम गर्दै आएका स्थानीय जङ्गबहादुर विकले बताउनुभयो । “परम्परागतरुपमा काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौँ ।”

पेसालाई जोगाउन नयाँपुस्तालाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ । तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विश्वकर्माले बताउनुभयो । “यो सीपलाई विस्तार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिस पाउन मुस्किल छ । राज्यकोतर्फबाट जीवन गुजरा गर्न सक्नेसम्मको वातावरण बन्यो भने पेसालाई जोगाउन सकिन्छ ।”

परम्परागतरुपमा गाईभैँसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो हट्दै गएको छ । बजारमा स्टिललगायत प्लाष्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउँदै देखिन्छ ।

पराम्परागतरुपमा सञ्चालन हुँदै आएका यस्ता पेसाहरुको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने टेम्कैमैयुङ–५ का स्थानीय रामबहादुर विष्टले बताउनुभयो । गाउँघरमा मात्र हुने पराम्परागत पेसाको संरक्षण गर्न ठोस योजना बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

स्वास्थ्यका लागि पनि काठका भाडा फाइदाजनक हुने स्थानीयवासीको भनाइ छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा विस्तारै हराउन थालेका हुन् ।

इजराइल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश

आवश्यक सहायता लिएर जाने सवारी साधनहरूको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको सीएनएनले बताएको छ । बीस लाखभन्दा बढी नागरिकको घर गाजाले इजराइलको लगातारको बमबारी र पूर्ण नाकाबन्दीका कारण गम्भीर पानीको समस्या र भोकमरीको खतराको सामना गरिरहेको छ ।

शनिबार र आइतबार कूल ३४ वटा ट्रकले सोही रफाह क्रसिङमार्फत इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी, औषधि र चिकित्सकीय उपकरणसहित अत्यावश्यक सामग्री पुर्याएका थिए । यी प्रयासका बावजुद मानवअधिकार संस्थाहरूले प्यालेस्टिनी क्षेत्रसम्म पर्याप्तरूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले आइतबार गाजामा इजराइलको कारवाहीलाई मानवताविरुद्धको अपराधसरह भएको घोषणा गरेका थिए । गाजाका लागि इजराइलको सीमा क्रसिङ बन्द भएका कारण इजिप्ट र गाजालाई जोड्ने रफाह क्रसिङ प्यालेस्टिनी क्षेत्रमा सहायता सामग्री पुर्याउने एकमात्र व्यावहारिक मार्ग बनेको सीएनएनले बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग टेलिफोनमा कुराकानी गर्नुभयो । कुराकानीका क्रममा दुवै नेताले गाजामा मानवीय सहायता तथा राहत सामग्रीको निरन्तर प्रवाहलाई सुनिश्चित गर्ने आवश्यकता रहेको पुष्टि गर्नुभयो ।

काठमाडौँका सडक प्रायः सुनसान

काठमाडौँ, ६ कात्तिक : बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधान पातलिएका छन् । स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो ।

घटस्थापनादेखि नै मानिसहरु काठमाडौँबाट जान थालेका थिए । अघिल्लो शनिबारदेखि दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका थिए ।

नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो । सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकामा सवारी चाप अति कम रहेको र ट्राफिक व्यवस्थापनको स्थिति सामान्यतः रहेको जनाएको छ । नवमीका दिन आफ्ना सवारी साधानलाई धोइपखाली गरी पूजाआजा गरिन्छ ।

‘संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ’- शङ्कर पोखरेल

देउखुरी (दाङ), ६ कात्तिक – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताउनुभएको छ । बडा दसैँ, शुभ दीपावली, छठ एवं नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली संस्कृति र संस्कारले समाजलाई जोड्ने काम गरेको बताउनुभयो ।

संस्कृतिका नाममा फैलिएका विकृतिलाई युवा पुस्ताले हटाउँदै जानुपर्ने बताउँदै महासचिव पोखरेलले नेपालमा सीमाका कारण लागुपदार्थ दुव्र्यसनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष सावधानीपूर्वक अभियान नै थाल्नुपर्ने बताउनुभयो । समाजमा बढ्दो दुव्र्यसनी हटाउनका लागि गृह मन्त्रालयको मात्रै पहलकदमी अपुग हुने भएकाले विद्यालय तहबाटै सचेतना अनिवार्य रहेको बताउनुभयो ।

महासचिव पोखरेलले पछिल्लो समयमा घर परिवारका अभिभावकहरू कार्य व्यस्तताका कारण बालबालिकाको चासो नदेखाएका कारण दुव्र्यसनीको समस्या थप विकराल बन्दै गएकाले अभिभावकहरूले चासो बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहनगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाकातर्फबाट लागुपदार्थ दुव्र्यसनी सचेतनाको कार्यक्रम बढाए पनि विद्यालय तहसम्म नै नपुग्दा प्रभावकारी बन्न नसकेको बताउनुभयो । उहाँले प्रहरी सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताउनुभयो ।

प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले युवा जनशक्ति लागु पदार्थ दुव्र्यसनीमा बढिरहकाले यसको नियन्त्रणको सबैको सहयोग, चासो अपरिहार्य रहेको बताउनुभयो ।

खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

म्याग्दी, ६ कात्तिक : म्याग्दीको धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी हुुनुुभएको छ ।

आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका वडाध्यक्षसमेत रहनुुभएका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए ।

प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाले सहभागिता जनाएका थिए । पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई सो क्षेत्रमा पहलमान मान्ने गरिन्छ ।

हरेक वर्ष महानवमी पर्वको अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरेर पहलमान पहिचान गर्ने चलन रहेको छ । खत्रीले आठौँ पटक पहलमानको उपाधि जित्दा यसअघि २०७८ र २०७९ मा विजयी हुुुनुुभएका मालिका गाउँपालिका–१ निस्कोटका याम परियार दोस्रो बन्नुुभयो ।

यसअघि विसं २०७० देखि ७६ सम्म सात वटा उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुुभएको थिएन । २०७९ मा यामसँग पराजित हनुुभएको थियो । निरन्तरको अभ्यास, शारीरिक व्यायम र स्वच्छ खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो ।

विजयी खत्रीलाई गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगर, पूर्वउपध्यक्ष रेशम छन्त्याललगायतले फेता गुटाएर सम्मान गर्नुुभएको थियो ।

म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।

जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । यस वर्षको दसैँको नवमीका दिन करिब पाँच हजार जनाले ताकमकोतमा पूजाआजा गरेका पुजारी गोविन्द पौडेलले बताउनुभयो ।

पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ : परराष्ट्र मन्त्री साउद

गण्डकी, ६ कात्तिक : परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताउनुुभएको छ । पोखराको तोरीपानीबाट फेवाताल किनारमा आज प्याराग्लाइडिङ गरेपछि उहाँले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गर्नुुभयो ।

प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् सराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने उहाँले बताउनुुभयो ।

सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार प्याराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्था(ना) का महासचिव खेम आचार्यले जानकारी दिनुुभयो । मन्त्री साउद सवार प्याराग्लाइडरको उडान पाइलट महेन्द्रबहादुर भट्टराईले गराउनुुभएको थियो ।

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ, ६ कात्तिक : वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका दिनमा मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ । मन्दिरमा आज बिहानदेखि नै दर्शन, पूजा पाठ गर्न भक्तजनको घुँइचो लागेको हो । भक्तजन लामो लाममा दर्शन गर्ने प्रतीक्षामा बसेका छन् ।

तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानी मन्दिर वसन्तपुर दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एकपटक दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । यसैले गर्दा पनि यहाँ भक्तजनको भीड लागेको हो ।

हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा तलेजुका साथै जगन्नाथ, शिवपार्वती, ठूलो घण्टा, कालभैरव, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत सम्पदा छन् ।

सर्वसाधारणका लागि प्रत्येक वर्ष बडादसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइएको हो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । महाअष्टमीको रात्रिमा कालरात्रि नामले गरिने पूजामा यो बलि चढाउने गरिन्छ । नेपाली सेनाको मुख्यालयबाट मार हान्न सैनिक खटाउने गरिएको छ ।

पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा ढोका थिए । तलेजु भवानी मन्दिरमा चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो । जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा, उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे । देवी, देउता तथा कुमारीलाई पनि पश्चिमकै ढोकाबाट प्रवेश गराइन्थ्यो । सन् १९९० को भुइँचालोपछि भने अरू सबै ढोका बन्द गरेर एउटैबाट मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको हो ।

तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ । तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पूजिन्छ ।  तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि हुने गरेको छ । नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् । उनी सिम्रौनगढका राजा थिए । 

मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । तीनतलाको हनुमानढोकास्थित तलेजु मन्दिर एक सय २ फिट अग्लो छ । सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ ।

तलेजु मन्दिर वर्षमा एकपटक महानवमी दिनमात्र  सर्वसाधारणका लागि खुला गरिए पनि यहाँ दिनहुँ पूजाआराधना हुन्छ । कर्माचार्यका थरका पुजारी यहाँ पूजा गर्ने परम्परा छ । तलेजुको पूजा गर्न आठ जना मानिस संलग्न हुन्छन् । त्यहाँ हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठाउँ) मा कर्माचार्य, जोशी र राजवंशी गरी तीनवटा थरका मानिसले मात्र प्रवेश पाउने नियम छ ।

राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन् । थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको हुन्छ । नगरा बजाउने, घण्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि । यो मन्दिरमा मल्ल तथा शाह राजाहरूले विभिन्न पर्वको परम्परा बसाएका थिए ।

तलेजु मन्दिरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा २४ वटा साना पर्व मनाउने गरिएको छ । एउटा पर्वमा १६ जातका ४२ जना मानिस अनिवार्य चाहिने व्यवस्था छ । तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन् । राणाकाल र त्यसअघि राजपरिवारका सदस्यले मात्र पूजा गर्ने अवसर पाएका थिए । तलेजु मन्दिरमा पूजा गर्न विधि–विधान पु¥याउनुपर्छ । त्यसका लागि ज्योतिष कहाँ गएर तिथिमिति हेराएर, शुभ साइत र शुभ मिति जुराउनुपर्छ । त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ ।

हनुमानढोका क्षेत्रमा तलेजु मदिर सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको अग्लो मन्दिर हो । मन्दिर अग्लो भएकाले परदेखि नै यसको आकर्षण देखिने गरेको छ ।

विचार : दसैँ, सडक सुरक्षा र चालकको दायित्व

काठमाडौँ, ६ कात्तिक : आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन् । दसैंको समय यात्रुहरुको चाप उच्च भएसँगै सवारीसाधनको सङ्ख्या र आवागमन पनि वृद्धि हुनु स्वभाविक हो । सिमित सडक पूर्वाधार, बढ्दो यात्रुको चाप र सवारीसाधनको अविश्राम आवतजावतले सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएकोछ ।

सार्वजनिक यातायात क्षेत्रका लागि दसैं एउटा अवसर हो । अरु समय यात्रुको चाप हुँदैन, नियमित सवारीसाधन गुडाउन पाइदैन । दसैंका समय निरन्तर यात्रु ओसारपसार भइरहने हुँदा सवारीसाधनको नियमित चेकजाँच गर्न भ्याइरहेको हुँदैन । अविश्राम काम गरिरहँदा चालक थाकेका हुन्छन् । थकान, तनाव, हतारो, यान्त्रिक गडबडी, सीमित सडक पूर्वाधार र सवारीसाधनको अधिक चापले सडक दुर्घटना हुने गरेको छ ।

सडक दुर्घटना न्यूनीकरण देशको चासोको विषय हो, सबैको सरोकारको विषय हो । तर, सूर्योदयदेखि राति अबेलासम्म सडकमा जीवन खोजिरहने चालकका लागि अरुको भन्दा बढी जरुरतको विषय हो सडक सुरक्षा । तसर्थ चालकहरुले निम्न विषयहरुलाई पालना गर्नसक्यो भने सडक दुर्घटनामा क्रमशः न्यूनीकरण हुनेछ ।
आफू सुरक्षित हुनुस् ः शारीरीक, मानसिक रुपमा म ठीक छु, म स्वस्थ छु, यो सवारीसाधनलाई म गन्तव्यसम्म सुरक्षित पु¥याउन सक्छु भन्ने महसुस गर्नुस् ।

तीव्र गति, जीवनको क्षति भन्ने कुरा सम्झी रहनुस् ः तीव्र गतिकै कारण सडक दुर्घटना बढिरहेको तथ्यले देखाएको छ । केही समय ढिला भएपनि धैर्य गर्नुस्, तीव्र गतिमा सवारी नचलाउनुस् । ढिला गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने उखानलाई सम्झिनुस्, दुर्घटनामा ज्यान गएका अङ्गभङ्ग भएका, दुर्घटनाकै कारण जेल परेका मजदूरका दर्दनाक व्यथा सम्झनुस् ।

सवारीसाधन चलाइरहँदा मोबाइलमा कुरा गर्र्दै नगर्नुस् : पलभरको सानो गल्तीले सडक दुर्घटना हुने गरेको छ, जनधनको क्षति हुने गरेको छ । सवारीसाधन चलाइरहेको समय मोबाइलमा कुरा गर्दै नगरौं । महत्वपूर्ण फोन आएको अवस्थामा सवारीसाधन रोकेर कुरा गर्ने वा गन्तव्यमा पुगेर कलब्याक गरेर कुरा गर्ने बानी बसालौं ।
क्षमता भन्दा बढी यात्रु नचढाउनुस् ः सवारीसाधनमा क्षमताभन्दा बढी यात्रुलाई कोचाकोच नचढाउनुस् । छोटो दूरीमा बाहेक लामो दूरीमा उभ्याएर यात्रा नगराउनुस् । अधिक भिडभाड गराएर यात्रा नगराउनुस् ।

दवाब र तनाबमा काम नगर्नुस् : काम नगरी हुँदैन भन्ने दवाबमा काम नगर्नुस् र तनाब छ भने पनि काम नगर्नुस् । दवाब र तनाबमा सवारीसाधन चलाउँदा पनि सडक दुर्घटनाहरु हुने गरेको अध्ययन देखाएको छ । चालक आफू मात्रै खुशी होइन, आफूले चलाएको सवारीसाधनमा यात्रा गर्ने अन्य यात्रुलाई पनि हँसाएर रोमाञ्चित बनाएर सवारी चलाउनु पर्दछ ।

बढी भाडा नलिनुस् ः यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिँदै नलिनुस् । यात्रुहरुबाट बढी भाडा असुल गरेको पाइएमा कानुनले दण्डित गर्ने व्यवस्था गरेको छ । त्यस्तो अपराध नगर्नुस् ।
समयलाई महत्व दिनुस् ः सवारीसाधन छुट्ने समयलाई ध्यान दिनुस् । एउटै रफ्तारमा सवारीसाधन चलाउनुस् । कतै तीव्र कुदाउने, कतै लामो समय रोकेर राख्ने नगर्नुस् । दुर्घटनाग्रस्त क्षेत्रहरुमा संयम भएर हिड्नुस् ।

ट्राफिक नियम र सडक अनुशासनको पालना गर्नुस् ः हाम्रो राजमार्ग मृत्यु मार्ग जस्तै भएका छन्, सडक दुर्घटनामा ज्यान जानेको संख्या कहाली लाग्दोछ । अधैर्य र जवरजस्त सडक प्रयोगकर्ता चालक (निजी तथा सार्वजनिक सवारीसाधनका चालक) का कारण सडक दुर्घटना वृद्धि भइरहेको छ । कमसेकम आफुलाई जिम्मेवार चालकका रुपमा परिचय बनाउनुस् । ट्राफिक सङ्केतको पालना गर्नुस्, ट्राफिक नियमको अनुशरण गर्नुस् । ट्राफिक नियम र सडक अनुशासनमा इमान्दार बन्नुस् ।

खानपानलाई व्यवस्थित गर्नुस् : मादकपदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) बाट टाढा रहनुस् । हाम्रो कानुनले ड्रिङ्क्स् एण्ड ड्राइभलाई गैरकानुनी मान्दै दण्ड सजायको व्यवस्था गरेको छ । यसको खासकारण सडक दुर्घटना नै हो । तसर्थ, यो अक्षम्य अपराध नगर्नुस्, सक्नुहुन्छ मापसे मुक्त हुनुस्, सक्नु हुन्न काम गरिरहेको समय यसबाट टाढा रहनुस् ।

काम र जीवनलाई सन्तुलित गर्नुस् : आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन श्रमिकहरुको जीवनसँग जोडिएका सन्दर्भ हुन् । आरामबिनाको निरन्तर कामले स्वास्थ्यमा असर पार्छ । यसका कारण दुर्घटना निम्तिन्छ । तपाइँ र तपाइँको हातमा रहेका यात्रुहरुको जीवनमा असर पार्छ । तसर्थ काम र जीवनलाई सन्तुलन मिलाउनुस् । कामपछि परिवारसँग समय बिताउनुस्, सभ्य बोल्नुस् ।

महिला, बालबालिका र बृद्धबृद्धालाई सम्मान गर्नुस् ःतपाइँले चलाइरहेको सवारीसाधनमा महिला, बृद्धबृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरु हुन सक्छन् । उनीहरुको क्षमता र समस्याहरु तपाइँ हामीभन्दा फरक हुनसक्छ । सकेसम्म उनीहरुलाई सहयोग गर्नुस् सकिएन भने पनि कमसेकम सम्मान गर्नुस् । उनीहरु हाम्रो छोरी, छोरा, आमा, बुबा, श्रीमती वा परिवार जस्तै हुन सक्छन् भन्ने सम्झिनुस् ।

गुणस्तरहीन खानेकुरा बिक्री गर्ने होटलमा यात्रु नलानुस् ः यात्राका क्रममा बाटोमा यात्रुलाई चिया, खाजा र खाना खुवाउने लाइन होटलहरु जसले स्वस्थ र गुणस्तरीय खानपान गराउँछन्, त्यस्ता होटलमा मात्रै सवारीसाधन रोक्नुस् । जनस्वास्थ्यमा खेलवाड गर्ने र जनतालाई ठगी गर्ने लाइन होटलहरुमा सवारीसाधन रोक्दै नरोक्नुस् ।

यात्रुमैत्री हुनुस् : सार्वजनिक यातायातको यात्रा पीडादायी हुन्छ भन्ने अनुभूत गर्नुस् । सबैको स्वास्थ्य एकनासको हुँदैन कतिपय यात्रुहरु मधुमेह, रक्तचापका रोगीहरु हुन्छन्, बृद्धबृद्धाहरु, महिला, बालबालिका र अशक्तहरु हुन्छन् । उनीहरुलाई समय समयमा शौचालय आवश्यक पर्नसक्छ भन्ने विषय हेक्का राख्नुस् ।
लाइसेन्स र कागजपत्र साथमा राख्नुस् ः तपाइँको साथमा सवारीसाधनको ब्लु बुक, जाँचपास, रुटपरमिट, चालक अनुमति पत्र (लाइसेन्स) बिमाको कागजलगायत साथमा राख्नुस् । बाटोमा चेकजाँच गर्ने अधिकारीले कागजातहरु माग गरेमा देखाउनुस् । कुनै किसिमको समस्या भए वादविवाद नगर्नुस् । कागजपत्र जफत गरिए सम्बन्धित प्रालि वा सङ्घ, सङ्गठनलाई जानकारी गराउनुस् ।
सवारीसाधनको अवस्था चेक गर्नुस् : सुरक्षित यात्राका लागि सवारीसाधन ठीक हुनु पर्छ । हामीले चलाउने सवारीसाधन ग्यारेजबाट निकाल्नु अघि र ग्यारेजमा राख्ने समयमा सवारीसाधनको अवस्थाको चेकजाँच गर्नुस् । मोबिल, पानी, इन्धन, ब्रेक, टायर, टाइरड, इन्जिन, अतिरिक्त टायरलगायत अत्यावश्यक र महत्वपूर्ण पार्टपुर्जाहरु राम्ररी चेकजाँच गर्नुस् । आफूले चलाउने सवारीसाधनको अवस्थालाई सधैँ ठीक अवस्थामा राख्नुस् ।

नेपालमा सडक दुर्घटनाको डरलाग्दो रुप :
सडक दुर्घटनामा प्रत्येक वर्ष नेपालमा दुई हजार आठ सय ८० जनाको ज्यान गइरहेको छ । सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १४ हजार ४ सयको हाराहारीमा घाइते भइरहेका छन् । दसैँ तथा चाडपर्वका समय सडक दुर्घटनामा वृद्धि हुने गरेको छ । सडक दुर्घटनाका मुख्य कारणहरु निम्न प्रकार छन् ।

भौतिक कारण: पर्याप्त सडक पूर्वाधार नहुनु, मापदण्डविपरीत प्रविधिविहीन सडक र अत्यधिक सवारीसाधनको चाप सडक दुर्घटनाको कारण बनेको छ ।

मानवीय कारण: मानवीयअन्तर्गत चालक, पैदलयात्री तथा सडक उपभोक्ताहरु पर्दछन् । सडक प्रयोग गर्दा उनीहरुसँग हुनु पर्ने चेतना, ज्ञान, सीप र अनुभवहरुका कारण सडक दुर्घटना निम्तिने गर्दछ ।

यान्त्रिक कारण: सुरक्षित यात्राका लागि सवारीसाधन उपयुक्त हुनु पर्दछ । अवस्था राम्रो हुनु पर्दछ । यान्त्रिक रुपमा सवारीसाधन ठिक हुनु आवश्यक छ ।

पर्यावरणीय कारण : कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति वा वातावरण पनि दुर्घटनाको कारण हो । साथै हावा, पानी, आँधिहुरी, बाढी, पहिरो हुस्सु, कुहिरो आदिका कारण सडक दुर्घटना हुने गरेको छ ।

अन्त्यमा, सडक दुर्घटना न्यूनीकरण मजदूरहरुको एकल प्रयासबाट मात्रै सम्भव छैन । यसो भनेर हामी गैरजिम्मेवार हुन मिल्दैन । सडक दुर्घटनाको सामाजिक, आर्थिक र मानवीय असरलाई हामी श्रमिकहरुको तर्फबाट एउटा प्रयत्न भयो भने सबैलाई फाइदा हुनेमा दुईमत छैन । (लेखक नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

सहारा बनेको छोरो बाकसमा फर्किदा…

महेन्द्रनगर (कञ्चनपुर), ६ कात्तिक : मुलुकभर दसैँको रौनक बढिरहेका आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उहाँको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झर्नुभएकी आमा पार्वती छोराको शव देखेपछि बेहोस हुनुभयो । परिवार र आफन्त र टोलबासीका आँखा रसाए ।

“दीपेश पढाइमा सानैदेखि अब्बल थियो । सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको साहरा थियो”, छिमेकी सुरेश पालले भन्नुभयो, “परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने उ आज बाकसमा फर्किदाको स्थिती निकै दुःखदायी बनेको छ ।”

आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान ल्याइएको थियो । दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्ट परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका– १५ मा समेत छ ।

दीपेश यही बसेर पढेका थिए । कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दिपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताउनुभयो ।

“दीपेश र उनका भाई वसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्”, दीपेशको मलामी महाकाली पुग्नुभएका प्रिन्सिपल ओझाले भावुक हुँदै भन्नुभयो, “अकल्पनीय घटनाले सबैलाई शोकमा डुबायो ।”

यहाँस्थित रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्लस टु पास गरेका दीपेशको सपना भाईलाई जसरी भए पनि डाक्टर बनाउने थियो । दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । शिक्षक पेशामा रहेका बुवा अशोक विष्टको क्यानसरबाट मृत्युभएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गर्दै आउनुभयो ।

आमा पावर्ती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका हुनुहुन्छ । दीपेशका भाई वसन्तराज दाजुको सल्लाहअनुसार नै हाल बिपी प्रतिष्ठान धरानमा एमबिबिएसमा अध्ययनरत छन् ।

विष्टको आज महाकाली नदी किनारमा अन्त्येष्टी गरिएको छ । इजरायल घटनामा मारिएका चार सुदूरपश्चिमका विद्यार्थीको शव आइतबार धनगढी पुर्‍याइएको थियो ।

इच्छाकामना गाउँपालिकामा श्रमदानबाट पुल निर्माण

भरतपुर, ६ कात्तिक : चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो । पुल निर्माणका लागि ३० प्रतिशत श्रमदानको काम गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेपछि पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताउनुभयो । श्रमदानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

“तीसदेखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गरेका छौँ”, उहाँले भन्नुभयो”, “प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।” उहाँले पुल निर्माणका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । पुल निर्माण भएपछि दसैँका अवसरमा पुल सञ्चालनमा आएको छ ।

“पलिकामा सरसफाइ, कुलो निर्माण, विद्यालय र बाटोघाटो निर्माणमा पनि श्रमदान गरिएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसले विकास निर्माणलाई पारदर्शी बनाउनेछ । जनसहभागिताका लागि नागरिक उत्साहित छन् ।” उहाँले पालिकामा सबै विकास निर्माणका काममा श्रमदान गर्ने योजना रहेको र न्यूनतम १० प्रतिशत श्रमदान अनिवार्य गरेको बताउनुभयो ।

यसअघि हरिपुर खोलामा राखिएको बेलीब्रिजको संरचना प्रयोग गरेर स्याङ्दी खोलमा पुल निर्माण गरिएको इच्छाकामना–७ का वडाध्यक्ष बमबहादुर रानामगरले जानकारी दिनुभयो । हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ । उहाँले बेलीब्रिज राख्नका लागि वडावासीले श्रमदान गरेको बताउनुभयो । उहाँले पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुने जानकारी दिनुभयो । पुल नहुँदा हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आउनुपरेको थियो ।

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान

फुङ्लिङ,६ कात्तिक ः ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।

फुङ्लिङ–६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ । आवश्यकताअनुसार सिसी क्यामेरा थप गर्ने योजना रहेको उहाँको भनाइ छ ।

यस्तै, सुकेटारमा फोहरमैला बिसर्जन गर्न ३० डस्टविन ९फोहर दानी० राखिएको पनि वडा कार्यालयले जनाएको छ । प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ ।

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे

खोटाङ, ६ कात्तिक – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिनुभयो ।

वडा नं १२ जाल्पास्थित ज्योति माविमा विसं २०७६ देखि विद्युतीय हाजिरी चलेका छैनन् । वडा नं १५ विजयखर्कस्थित चम्पावती माविमा जडान गरेको करिब डेढ वर्षदेखि नै विद्युतीयहाजिरीले काम दिएन । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण मर्मत वा नयाँ जडानमा नगरपालिका र विद्यालय दुवैको ध्यान जान सकेको छैन ।

पन्ध्र वडा रहेको नगरपालिकाले पाँच वर्षअघि एउटाबाहेक सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको उपस्थितिलाई नियमित गर्ने उद्देश्यले विद्युतीय हाजिरी जडान गरेको थियो । सामुदायिक विद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि १८ माविमा जडान गरिएको विद्युतीय हाजिरीको अवस्थाका बारेमा हाल नगरपालिका नै बेखबर बनेको देखिएको छ ।

तत्कालीन नगर प्रमुख दीपनारायण रिजालको कार्यकालमा शिक्षकको विद्युतीय हाजिरी ‘ट्र्याकिङ’ गर्नेगरी विसं २०७५ असोज १ गतेदेखि नगरका सबै माविमा लाखौँ खर्च गरेर विद्युतीयहाजिरी सञ्चालनमा ल्याइएको थियो । बिग्रेका विद्युतीय हाजिरीको उपकरण नगरपालिका वा स्वयं विद्यालयले पनि मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने वा नयाँ उपकरण जडान गर्नमा कुनै चासो देखाएका छैनन् ।

बिग्रिएको विद्युतीय हाजिरीको उपकरण पुनःसञ्चालनमा ल्याउने तदारुकता नदेखिनुले कतिपय शिक्षकलाई हाइसञ्चो भएको अभिभावक बताउने गरेका छन् । विद्युतीय हाजिरीमार्फत नगरपालिकाको कार्यालयमै बसेर सबै माविमा कार्यरत शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था कार्यान्वयन हुँदा केही हदसम्म शैक्षिक क्रियाकलापमासमेत सुधार आएको थियो ।

विद्युतीय हाजिरी ट्र¥याकिङले ‘कुन विद्यालयका शिक्षक, कुनबेला उपस्थित भए, कुनबेला हाजिर गरे, कतिबेला विद्यालयबाट निस्किए’ भन्ने निगरानी हुने गरेको थियो । ई–हाजिरीको सुरुवाती दिनमा शिक्षकलाई नियमित गर्न सघाउ पुगेको पनि थियो तर, ई–हाजिरी जडानपछि त्यसको अवस्थाका बारेमा नगरपालिकाबाटै निरन्तर हेरचाह र चासो नपुग्दा अहिले बेकम्मा बन्न पुगेको छ ।

नगरपालिकाले कुनै एउटा निजी कम्पनीको विद्युतीय हाजिरी उपकरण बिकाउने भूमिका मात्र निर्वाह गरेको जनाउँदै तत्कालीन नगर प्रमुख रिजालको आलोचना हुने गरेको छ । यतिसम्म कि तत्कालीन नगर प्रमुख रिजाल र उपप्रमुख विणादेवी राई नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट र वर्तमान नगर प्रमुख र उपप्रमुख गठबन्धनबाट निर्वाचित भएकाले पनि अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामलाई अहिलेका जनप्रतिनिधिले चासो नदिएको कतिपयले आरोप लगाउने गरेका छन् ।

कमसल खालको उपकरण जडान गरेकाले विद्युतीय हाजिरीको उपकरण हाल बिग्रिएको अवस्थामा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वर्तमान नगर प्रमुख एवं शिक्षा शाखा प्रमुख तीर्थराज भट्टराई बताउनुभयो । “कतै चल्छन्, कतै चल्दैनन् । सबै विद्यालयमा जडान गरिएका विद्युतीय हाजिरीको उपकरण कमसल भएको पाइएको छ”, उहाँले भन्नुभयो, “बिक्री गर्ने कम्पनी र नगरपालिकाबीच कस्तो सम्झौता भएको रहेछ भनेर हेर्दैछौँ । यदि घोटला भएको ठहर भएमा कारबाही हुन्छ ।”

निकै तामझामका साथ जडान गरिएको विद्युतीय हाजिरी केही विद्यालयमा छ÷सात महिना नपुग्दै बिग्रेर थन्किएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकले बताउने गरेका छन् । अधिकांश विद्युतीय हाजिरी कोभिडको निहुँमा बन्द भएको समाचार स्रोतले जनाएको छ ।

वैशाखी टेकेर कपाल काट्दै जीविका चलाउँछन् बुद्ध : उपचार गर्न आर्थिक अभाव

झापा, ६ कात्तिक : बुद्धशान्ति गाउँपालिका– ६ का बुद्ध तामाङलाई १७ वर्षअघि २३ वर्षे तन्नेरी उमेरमै हड्डीको क्षयरोग (बोन टिबी) सङ्क्रमण भयो । तैपनि बुद्धको आत्मविश्वास डगमगाएन । रोगले गाँज्दै लग्यो । उहाँका कम्मर मुनि दुवै खुट्टा चल्न छाडे । जीवनको धरा नै हल्लाउने यी दुःखद् अवस्थाबाट उहाँ विचलित हुनुभएन । वैशाखी र आत्मविश्वासमा टेकेर आफ्नै खुट्टामा उभिने क्रममा उहाँ गाउँमा कपाल काट्ने शैलुन खोल्न सफल हुनुभयो ।

शारीरिक अपाङ्गता र बोन टिबीसँग जुधिरहनुभएको उहाँले चार वर्षदेखि बुद्धशान्ति–६ स्थित आफ्नै गाउँ सन्तपुरमा शैलुन खोल्नुभएको छ । उहाँ दैनिक १५ देखि २० जनासम्म ग्राहकको कपाल वैशाखी टेकेरै काट्नुहुन्छ । तामाङको दाजु पनि शारीरिक अपाङ्ग हुनुहुन्छ । परिवार धान्नुपर्ने जिम्मेवारी पनि तामाङकै काँधमा छ ।

अपाङ्ग र बिरामी भएर पनि स्वावलम्बनका लागि तामाङले देखाएको साहस र शीप देखेर मानिस चकित छन् । “धेरै अपाङ्गहरु सडकमा मागेर जीवन धान्न बाध्य भइरहेको देखिन्छ”, बुद्धशान्ति वडा नं ६ का अध्यक्ष शिवराज पौडेल भन्नुहुन्छ, “तर, तामाङले सिप सिकेर आफ्नै पौरखमा जिउने जुन साहस देखाउनुभएको छ, त्यसको जति प्रशंसा गरे पनि कम नै हुन्छ ।”

विसं २०४० मा झापाकै शान्तिनगरमा जन्मनुभएको तामाङलाई २०६३ सालमा क्षयरोग पुष्टि भएको थियो । खुट्टाको हड्डीमा पीडा हुन थालेपछि जचाउँन धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदा चिकित्सकले क्षयरोग लागेको जानकारी दिएका थिए । गरिबीका कारण कक्षा ४ भन्दाबढी शिक्षा उहाँले लिन पाउनु भएन । उहाँको विवाह भएको छैन ।

“रोग लागिहाल्यो भनेर मैले हरेस खाइन”, उहाँले भन्नुभयो, “उपचारसँगै जिउनका लागि उपाय खोज्न थालेँ । सुरुमा मोबाइल र टिभी बनाउन सिके । केही समयपछि कपाल काट्न सिकेँ ।” अहिले आफ्नै गाउँ सन्तपुर चोकमा उहाँको व्यवस्थित शैलुन छ ।” कम्मरमुनिका अङ्ग नचले पनि उहाँको हात र दिमाग तेजसँग चल्छ । वडा कार्यालयले शैलुन खोल्न रु ७५ हजार सहयोग गरेको वडाध्यक्ष पौडेलले बताउनुभयो । वडा कार्यालयले दिएको सहयोगमा ऋण थपेर व्यवस्थित शैलुन सञ्चालन गर्न सकेको तामाङले बताउनुभयो ।

स्थानीय शिक्षक योेगेन्द्र चम्लागार्इंले कपाल काट्ने राम्रो सिप भएकाले तामाङको शैलुनमा गाउँका बसै मानिस कपाल काट्न आउने गरेको बताउनुभयो । “अपाङ्ग र बिरामी हुनुहुन्छ, जीविकाका लागि मद्दत पुगोस् भनेर स्थानीयले सहानुभूति पनि राख्नुभएको छ”, उहाँले भन्नुभयो ।

सुरुमा बुद्धले गाउँमा टिनको बेरा लगाएर सानो टहरो हालेर शैलुन सुरु गर्नुभएको थियो । अव्यवस्थितरुपमा वैशाखी टेकेरै कपाल काटेको दयनीय अवस्था देखेर नै वडा कार्यालयले उहाँलाई व्यवस्थित शैलुन बनाउन आर्थिक सहयोग गरेको हो ।

“अपाङ्ग भएर बाटोमा हात फैलाउन मलाई मन लागेन, त्यही भएर कपाल काट्ने पेसा सुरु गरेको हुँ”, गाउँका उदाहरणीय युवाका रुपमा पहिचान बनाउनुभएको तामाङले भन्नुभयो, “खान र लाउन यही शैलुनको आम्दानीले पुगेकै छ । बोन टिबीको राम्रो उपचार गर्न आर्थिक अभाव छ । कतैबाट उपचारको सहयोग पाए लिने थिएँ ।”

युएईविरुद्धको खेलमा नेपाल पाँच विकेटले विजयी

काठमाडौँ, ६ कात्तिक : राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई ) पाँच विकेटले पराजित गरेको छ ।

युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहदै ४० रन जोडे ।नेपालले सुरुवाती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाएको थियो । तर कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्किएको थियो ।यूएईका मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहूर खानले समान एक/एक विकेट लिए ।मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको थियो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए ।बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई÷दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए । नेपालले यसअघि भएको पहिलो खेलमा युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो । अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ ।—

कागबेनीका बाढी प्रभावितको सहयोगका लागि करिब ८० लाख सङ्कलन

गण्डकी, ६ कात्तिकः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनःस्थापनाका लागि स्वतस्र्फूत सहयोग उठिरहेको हो । कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङका अनुसार जनस्तरबाट हालसम्म करिब रु ८० लाख सङ्कलन भएको छ ।

“देशविदेशमा रहनुभएका मुस्ताङवासीबाट सहयोग आउने क्रम जारी छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्”, उहाँले भन्नुभयो, “स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।”सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताउनुभयो । बाढीबाट पूर्णरुपमा घर क्षति भएका नौ परिवारका लागि कागबेनी नजिकै एक्लेभट्टीमा अस्थायी बास निर्माण थालिएको उहाँको भनाइ छ । “बाढी आउँनासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए”, संयोजक गुरुङले भन्नुभयो, “प्रधानमन्त्री तहबाटै कागबेनीको पुनःनिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ ।”बाढीबाट सामान्य क्षति भएका घरको मर्मतसम्भार स्थानीय आफै पनि गरिरहेको उहाँले बताउनुभयो । बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको छ । “तीन वटै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीन÷चार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ”, उहाँले भन्नुभयो, “धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्छ ।”गृहमन्त्री, मुख्यमन्त्रीलगायतले बस्ती पुनःनिर्माण र बाढीप्रभावितको राहतमा कुनै कमी हुन नदिने बताएकाले आफूहरु आशावादी रहेको स्थानीय कर्मा गुरुङले बताउनुभयो । बाढीमा घरबास गुमाउनुभएकी गुरुङ अहिले सपरिवार आफन्तकोमा आश्रम लिइरहनुभएको छ । “घरगोठ, जग्गा सबै बाढीले लग्यो, अब आफ्नो भन्ने केही पनि छैन”, उहाँले भन्नुभयो, “सरकारले हाम्रो दुःख देखोस्, बाढी प्रभावितलाई केही व्यवस्था होस् ।”सङ्घसंस्था, छिमेकी र आफन्तबाट सहयोग पाएको भन्दै छिट्टै सरकारबाट पनि राहत रकम आउनेमा विश्वस्त रहेको उहाँले सुनाउनुभयो । हेर्दाहेर्दै कागबेनी क्षेत्र बगरमा परिणत भएकामा उहाँ दुःखी हुनुहुन्छ । “अहिलको जस्तो बाढी कहिल्यै आएको थिएन, धन्न हामी जोगिऔँ, धन सम्पत्तिको भने धेरै ठूलो क्षति भयो”, गुरुङले भन्नुभयो, “पर्यटक र तीर्थयात्रीको चहलपहल हुने ठाउँ अहिले उराठलाग्दो बनेको छ ।”कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाले पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । मुक्तिनाथ क्षेत्र, उपल्लो मुस्ताङ र डोल्पा जाने सङ्गमस्थल पनि हो कागबेनी । कागखोलामा आएको बाढीबाट घर, मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । 

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ, ६ कात्तिक : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ ।चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उहाँ आज स्वदेश फर्कनुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा शंकर खतिवडाले जानाकारी दिनुभयो ।

गत हप्ता चीन जानुभएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो ‘बीआरएफ’ फोरम लाई सम्बोधन गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनमा आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट गर्नुभएको थियो ।

निर्वाचनका समयमा गरेका प्रतिबद्धता पुरा गर्नु सांसदको कर्तव्य हो– नेत्री खातुन

काठमाडौँ, ६ कात्तिक- नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचका समय बेला नेताहरुले मतदाता समक्ष गरेका बाचा र प्रतिबद्धता पुरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सांसदसँग रासस सम्बादमा उहाँले चुनाव प्रसार प्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवा सुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालयका कोटा–चोटामा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।

नेत्री खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसकेतापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिनुभयो । मतदाताले कानून निर्माणमा कति प्रगति भयो तथा बाँकी के कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय संख्यात्मक संरचनाले तीव्ररुपमा कानून निर्माणमा चूनौति खडा गरेको बताउनुभयो ।

हिउँदे र बर्खे अधिवेशन सकिदाँसम्म जति कानून निर्माण गर्नु पर्ने हो त्यो नभएकोमा आलोचना भइरहेको बताउदै उहाँले जनताका आवाज र कानून निर्माणलाई सवै राजनीतिक दलले साझा एजेण्डा बनाउन पर्ने विचार प्रकट गर्नुभयो । सांसद खातुनले भन्नुभयो, “स्वार्थको राजनीतिककारण एक–अर्काको अस्थित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने,सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आ–आफनो स्वार्थ रहने परिस्थितिले कानून तर्जूमालाई तिव्रता दिन चूनौति खडा भएको छ ।”

नेत्री खातुलनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुन पर्नेमा सस्तो लोकप्रीयताका लागि नियमापती गर्ने, आरोप– प्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएकोे टिप्पणी गर्नुभयो । जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउदै पार्टी केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुवान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र बन्यजन्तुबीचको द्वन्द प्रमुख समस्या रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न प¥यो । जल्दाबल्दो समस्या त्यही हो । बाढी पनि समस्याकै रुपमा छ । पुल आवश्यक छ ।”

खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्ट्राचार निवारणका लागि चूनौति खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पु¥याएको धारणा राख्नुभयो । हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसावले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उहाँले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पु¥याउन आवश्यक रहेको सुझाव दिनुभयो ।

विचारमा बलियो र निष्ठावान भएपनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै नेत्री जागाले गरिव र जनताको सेवामा समर्पित व्यक्ति अघि बढन नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । मुलुकको शिक्षा क्षेत्र र उद्योग धन्दा प्रवद्र्धनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउँदै उहाँले देशभित्रै स्वरोजगार मुखी सवै खाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा महिला, बालबालिका तथा समाजकल्याण समिति सदस्य समेत रहनुभएकी सांसद खातुनले बर्दिया सबै खाले समुदायबीच हार्दिकता र सामाजिक सद्भाव कायम गरेको नमूना जिल्लाकारुपमा स्थापित रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै समुदायबीच धार्मिक, सामाजिक, भाषिक र साँस्कृतिक सद्भाव कायम छ, एक अर्काको धर्म, सँस्कृति र चाड पर्वलाई सम्मान गर्दै सवै समुदायको चाड पर्वमा सबै सहभागी हुने शुभ–कामना आदान प्रदान गरी भाइचाराको सम्वन्ध कायम गरेका छौँ ।”
 

दसैँसँगै गाउँघरमा चहल पहल बढ्यो

टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन् । । भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन । ‘‘अहिलेसम्मकै रमाइलो दसैँ भएको छ । यस वर्ष म निकै खुशी छु’’, उहाँ भन्नुहुन्छ, ‘‘बालबच्चा सहित भारतमा बस्ने छोरा घर फर्किएको छ । यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ ।’’

टीकापुर ब्लक नं। १६ का नवराज कुँवरलाई नवदूर्गाको पूजाआजा गर्न पाउँदा, सबै आफन्तसँग भेटघाट हुँदा रमइलो लाग्छ । ‘‘दसै विशेष लाग्छ, नवरात्रमा ब्रत बस्ने, पूजाआजा गर्ने, मन्दिर दर्शन गर्ने कार्य राम्रो लाग्छ’’, उहाँले भन्नुभयो, ‘‘पारिवारिक जमघट र आर्शीवाद लिने र दिने कार्य निकै रमाइलो लाग्छ ।’’

कैलालीकी राजकुमारी चौधरीलाई दसै विशेष लाग्छ । उहाँलाई दसैमा गरिने नाचगान, खानपान रमाइलो हुनुका साथै गाउँ नै उत्साहित भएजस्तो लाग्छ । ‘‘थारु गाउँमा दशैँको अवसरमा एक महिनासम्म नाचगान हुन्छ, थारु समुदाय आपफ्नो पोशाक लगाएर संस्कृति झल्कने,मौलिक भाषामा गीत गाएर, मादलको तालमा गाउँमा नाचगान हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले दशैँ विशेष लाग्छ ।’’

स्थानीय केशर उपाध्यायलाई पनि दसैँ विशेष लाग्छ । ‘‘दसैँसँग हाम्रो संस्कृति, सभ्यता र परम्परा जोगिएको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘वर्षभरि भेट नभएका आफन्त भेटिने भनेकै दशैँमा हो ।’’दसैँमा सबै परिवार जम्मा हुने, नयाँ लुगा लगाउने, मीठा परिकार खाने, नाचगान तथा रमाइलो गर्ने भएकाले दशैँ रमाइलो लाग्छ । लक्ष्य साउँदलाई पनि दशैँ आर्शिवाद दिने र लिने पर्व भएकाले महत्वपूर्ण लाग्छ । उहाँलाई हुने खानेले धुमधाम गर्ने नहुनेले अभाव झेल्ने कुरालाई राम्रो लाग्दैन ।

ठूला मानिस भन्दा बालबालिकालाई दसैँमा अझ रमाइलो लाग्छ । दसैँमा विद्यालय समेत विदा हुने, घुमघाम गर्न र मीठा परिकार खान पाइने भएकाले बालबालिका अझ रमाउँछन् । कक्षा ९ मा अध्ययनरत बालक योगेश साउँद दशैँमा नयाँ कपडा पाइने, विभिन्न ठाउँमा अभिभावकसँग घुम्न पाउँदा निकै रमाइलो लाग्छ । ‘‘यस वर्ष पनि बाबा आमाले घुम्न लैजाने भन्नुभएको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘एक महिना विदा छ, यो समयमा अलिकति गृहकार्य ९पढाई०को तनाव हुन्छ । त्यसबाहेकको सबै समय रमाइलो लाग्छ ।’’

दसैँ मनाउन नमिल्ने परिवारलाई भने दसैँले खासै उत्साह दिँदैन । अन्यले दसैँ मनाउँदा मनाउन नपाउने परिवारलाई भने नरमाइलो पनि हुन्छ । टीकापुरकी धनशोभा रावलको घरमा यस वर्ष दसैँ छैन तर पनि उहाँ गाउँघर झिलिमिली भएको देखेर रमाउनुभएको छ । ‘‘हरेक पर्वको महत्व उत्तिकै हुन्छ । दसैँ अझ विशेष पर्वका रुपमा मनाइने भएकाले यो पर्वले एकता, मेलमिलापको सन्देश दिनुपर्छ’’, उहाँ भन्नुभयो, ‘‘सबैको दसैँ नहुन सक्ने भएकाले समाजमा पर्व मनाउँदा अर्काको मन दुखाउने, अन्यलाई असर पर्ने गरी कुनै क्रियाकलाप भने गर्नु हुँदैन ।’’

दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी

म्याग्दी, ६ कात्तिक ः मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५ च्याङग्रा निकासी भएको जानकारी दिनुभयो । “जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,” उहाँले भन्नुुभयो “कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा रु। तेइस करोड दुई लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।”

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उहाँले बताउनुभयो । गतअसोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो ।प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशुु चिकित्सकलाई रु। १५ शुल्क तिर्नुुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङग्रा खरीद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।कृषकले प्रतिगोटा रु। ४० हजारको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको छोसेरका कृषक आङगेल गुुरुङले बताउनुुभयो । तीन देखि चार वर्ष उमेरका च्याङग्रा मासुुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटिहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुुभव छ । दशैँ तिहारमा च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ ।मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् । पैसठ्ठी ठूला च्याङग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० सम्म घरघरमा च्याङग्रा पालेका छन् । हिमचुुतुुवा, ब्वासो र जंगली कुुकुर च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु। २५ हजार थियो । कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाले बताउनुुभयो । बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार देशका धेरै भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

हेर्नुहोस् कार्तिक ६ गते सोमवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष राशि- माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि – खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि- दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थीक क्षेत्र मध्यम रहनेछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि – स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि – अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि- भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि- अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि – अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि – अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि – नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि- शुभचिन्तकहरुको साथ सहयोगमा आर्थीक क्षेत्र सबल बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

चाडपर्वको बेला गाउँमा नै रमाइलो

दमौली- तनहुँ व्यास नगरपालिका–३ निवासी डा. विनय शाह दसैं मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किनुभयो । फूलपातीकै दिन उहाँ सपरिवार आफ्नो जन्मस्थानमा जानुभएको हो ।“ हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैं मनाउन रमाइलो छ,” उहाँले भन्नुभयो, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा शाहको परिवार दसैं मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ ।

अन्य ठाउँमा रहेका आफन्तहरु पनि दसंै मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दसैंका बेला सबै आफन्तहरु गाउँमा भेट हुन्छौ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ ।”

दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै जानुभयो । “दसैं गाउँमा रमाइलो हुन्छ, दसैं सकाएर पुनः काममा फर्किन्छु,” उहाँले भन्नुभयो ।

दसैंका कारण यतिबेला दमौली बजार सुनसान बनेको छ । बजार क्षेत्रका मानिसहरु दसैं मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो ।

दमौलीमा पसल सञ्चालन गर्र्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दसैं मनाउन गाउँ हिँडेपछि यतिबेला दमौली बजार सुनसान छ । अन्य समयमा यातायातको चाप रहने यहाँ दसैंंको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ । यहाँका धेरैजसो पसलहरु बन्द भएका छन् ।

मुख्य व्यापारिक केन्द्रहरु दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दसैंले प्रभाव पारेको छ । सर्वसाधारण दसैंंका लागि किनमेल गरेर दसैंं मनाउन ब्यस्त छन् । शुक्रबारसम्म बजारका पसलहरुमा राम्रो व्यापार भएपनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारदेखि व्यापार व्यवसाय घटेको छ ।”

जिल्लाका ग्रामीण भेगहरुमा भने दसैंंको उल्लासमय वातावरण रहेको छ । विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दसैंको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन् ।

अन्य समयमा आ–आफ्नो काममा व्यस्त रहने आफन्तहरुको भेटघाटले ग्रामीण भेगहरुमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाई चाडपर्वको बेला गाउँमा भेट हुन्छन् ।”

तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दसैँमा पनि निरन्तर

तनहुँ-ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दसैँको बिदामा पनि निरन्तर रहने भएको छ ।आयोजनाको प्याकेज–१ अन्र्तगत ‘डाइभर्सन टनेल’को निर्माणलाई निरन्तरता दसैँपछि नदी पर्काउने योजनाका रहेको आयोजनाले जनाएको छ । कतिपय जनशक्ति दसैँ नमान्ने रहेकाले निर्माणकार्यलाई निरन्तरता दिइएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिनुभयो ।

आयोजनाको कूल एक हजार चार सय ५६ मिटर सुरुङ्गमध्ये बाँकी रहेको तीन सय ५६ मिटर खन्ने काम भैरहेको रहेको छ । त्यसैगरी, प्याकेज–२ अन्तर्गत मुख्य सुरुङका साथै इलेक्ट्रोनिक्स मेकानिकल र टर्बाइनलगायत निर्माण कार्य गरिने उहाँले बताउनुभयो ।

उक्त दुईवटा प्याकेजका लागि करिब एक सयको हाराहारीमा जनशक्ति परिचालन हुने सो आयोजनाले जनाएको छ । निर्माणाधीन आयोजनाको समग्रमा भौतिक प्रगतितर्फ हालसम्म ४६ प्रतिशत कार्य पूरा भैसकेको तनहुँ जलविद्युत् लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“मुख्य टनेलको पानी फर्काउनका लागि दसैँमा काम छाड्न मिल्दैन्”, उहाँले भन्नुभयो, “दसैँ लगत्तै नदीको पानी फर्काउने ठूलो टनेलको काम गर्नुपर्ने भएकाले निर्माणकार्य अघि बढाएका हौँ ।” प्याकेज–१ को निर्माण ठेक्का सोङ दा–कालिका जेभीले विसं २०७७ चैत्र ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता गरेको थियो ।

त्यसैगरी,प्याकेज–२ अन्तर्गत १, २ र ३ को पावरहाउस जाने टनेलको सबै निर्माणकार्य सम्पन्न गरेको छ । यस प्याकेजअन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने कार्य भैरहेको छ । वन नीतिका कारण अहिले विद्युत् टावर निर्माणकार्य रोकिन पुगेको आयोजना प्रमुख शिल्पकारले जानकारी दिनुभयो ।

कूल ३४ दशमलव ७ किलोमिटर प्रशारण लाइनमा ९४ वटा टावर राखिनेछ । हालसम्म करिब एक किलोमिटर प्रशारण लाइन जडान गरिएको आयोजनाले जनाएको छ । प्रशारण लाइनको सन् २०२२ मेसम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई भएका कारण सन् २०२४ डिसेम्बर १९ सम्म समयअवधि थप गरिएको छ ।

त्यसैगरी, आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।

विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता गरेको थियो । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाई र ५१ मिटर उचाइ भएको भूमिगृत विद्युत्गृहको सुरुङ्ग खन्ने कार्य सम्पन्न गरेको छ ।

पाल्पा दुर्घटना उपडेट : मृतक छ जनाको सनाखत

रामपुर (पाल्पा)- पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँच जना नवलपरासी(बर्दघाट सुस्ता पूर्व) जिल्लाका रहेका छन् । नवलपरासी देवचुली नपा–१६ रजहर का बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी चालक गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा देवचुली–१६ रजहरका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगानाका वर्ष ३५ की सबिता धिताल, सोही ठेगानाका ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् । अर्का एक जना लमजुङ वेसीसहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेकी छिन् ।

आज करिब ४ बजे बजे तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट कार १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कार दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रबक्ता एवं प्रहरी निरीक्षक चन्दले बताउनुभयो । दुर्घटना भएसँगै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली उद्धारमा खटिएको थियो ।

मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा र लड्डु चढाउने भक्तजनको भीड

धनुषा-जनकपुरधामसहित मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । वडाँदसैँको आठौँ दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा शनिबार मध्यरातिदेखि नै खोइँछा भर्ने र लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।

राजा जनकको कुलदेवीका रुपमा चिनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको हो ।

सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानी भर्ने गर्दछन् । मिथिलामा माता दुर्गाको खोइँछा भर्ने विधि निकै पौराणिक हो । सप्तमीको साँझदेखि नै मिथिलानीले खोइँछा भर्ने गर्दछन् ।

पण्डीत लालबाबु झाका अनुसार मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई खोइँछा दिने गरिन्छ । खोइँछामा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ । झाले भन्नुभयो, “खोइँछा भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानी दुर्गामाताको खोइँछा भर्ने गर्दछन् ।”

खोइँछा भर्नका लागि हजारौँको सङ्ख्यामा महिला राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोकलगायतका स्थानमा जम्मा भएका छन् । प्रसाद चढाउनका लागि गए राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोइँछा भर्न महिलाको भीड लाग्छ । जनकपुरमा आज रातिदेखि बलि दिनेछ । त्यसका लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजन बोका बलिका लागि जनकपुरधाम पुग्ने क्रम जारी रहेको छ । प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको सङ्ख्यामा बलि प्रदान हुने गरेको छ ।

इजरायल घटनाका मृतकको शव आफन्तलाई बुझाइयो

सुदूरपश्चिम- इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा मृतकका आफन्तलाई बुझाइएको छ ।कैलालीको जोशीपुर गाउँपालिका आशिस चौधरी, घोडाघोडी नगरपालिकाका नरायणप्रसाद न्यौपाने, दार्चुला मल्किार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निबुवाखेडाका दीपेशराज बिष्टको शव आफन्तलाई बुझाइएको हो । मृतक चार युवाविद्यार्थीको शव नेपाली सेनाको स्काईट्रकमार्फत् धनगढी विमानस्थलमा पुर्‍याइएको थियो । शव बुझ्न मृतकका आफन्त धनगढी विमानस्थलमा पुगेका थिए ।

विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, मृतक विद्यार्थीलाई अध्ययन गरेको सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रीकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपाने, आफन्तजनलगायतले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

मृतकका आफन्तलाई शव बुझाउन कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुखलगायत विमानस्थल पुग्नुभएको थियो । स्कुल अफ एग्रीकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपानेका अनुसार ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि ४९ युवा विद्यार्थी इजरायल गएकोमा १७ जना हिंसात्मक घटनामा परेका थिए । यीमध्ये दश जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात जना सुदूरपश्चिम प्रदेशका रहेकोमा तीन जनाको शव पुग्न बाँकी छ ।

कञ्चनपुर महेन्द्रनगरका विपिन जोशी वेपत्ता रहेको बताइएको छ । घटनामा घाइते भएका तीन जना उपचारमा रहेका छन् भने ३५ जना नेपाल फिर्ता भइसकेका छन् ।

घटनाबाट दुःखी छु : इजरायली राजदूत

मृतकको शव लिएर धनगढी विमानस्थल पुग्नु भएका नेपालका लागि इजरायली राजदूत खनान गुडेरले मृतक परिवारका आफन्तसँग भेट गरी घटनाबाट आफू दुःखित रहेको बताउनुभयो । धनगढी विमानस्थलको विशिष्ट कक्षमा राजदूत गुडेरले मृतकका परिवारजनसँग दुःख साट्नका लागि आफू धनगढी पुगेको भन्दै सम्वेदना व्यक्त गर्नुभयो ।––

आज दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै

काठमाडौँ, ६ कात्तिक ः प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

हनुमानढोको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।

पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

रामपुर (पाल्पा), ५ कात्तिक : पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । जीप खोलामा खसेकाले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

बडादसैँमा किसानलाई धान भित्र्याउने चटारो

ढोरपाटन (बागलुङ), ५ कात्तिक : नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा-टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ ।

खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यति बेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ । दसैँ र धान भित्र्याउने समय एकै पटक पर्दा किसानलाई चाडबाडको भन्दा खेती स्यार्ने चटारो बढी छ ।

गत असारमा लगाइएको धान असोज अन्तिम सातासम्म भित्र्याउने समय भए पनि निरन्तरको वर्षाले खेतमै रहेको थियो । निसीखोला गाउँपालिका–४ का केशर पौडेलले अब वर्षा भए धान बालीमा ठूलो क्षति हुने भएकाले भित्र्याउन भ्याइनभ्याइ भएको बताउनुभयो । असोज २९ गतेसम्म ठूलो वर्षा भएकाले धान भित्र्याउन नसकिएको किसानले बताएका छन् । केही दिनदेखि पानी नपरेकाले खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको उहाँले बताउनुभयो । मार्सी जातको धान छिटो पाकेको छ ।

उहाँले भन्नुभयो, “यस वर्ष अलि ढिला दसैँ आयो, पोहोर परार साल त यति बेला तिहार आउँथ्यो, दसैँ सकेर धान भित्र्याउथ्यौँ, पानीले पनि त्यत्ति धेरै दुःख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिन भयो पानी परेको छैन त्यही भएर धेरै किसानहरु धान काट्ने र भित्र्याउनमा व्यस्त छन्, अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकै पटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दसैँ पोहोर परार सालको जस्तो फुर्सदिलो नहुने भयो ।”

अर्का किसान निमबहादुर क्षेत्रीले असोज दोस्रो साता धान काट्ने तयारी गरेको तर वर्षाका कारण रोकिएको बताउनुभयो । पानी बिदा (वर्षा रोकिनु) भएको बेला अर्मपर्म गरेर धान काट्न थालेको उहाँले सुनाउनुभयो । धान काटेको दुई दिनमा छाँट्ने र भित्र्याउने भएको हुँदा धेरै किसान यतिबेला खेतमा व्यस्त भएको क्षत्रीको भनाइ छ । यस वर्ष समयमै वर्षा भएकाले धान पनि राम्रो उत्पादन भएको भन्दै समयमै नभित्र्याए असिनाले नोक्सान गरिदिन सक्ने उहाँ बताउनुहुन्छ ।

निसीखोला क्षेत्रमा अन्य ठाउँको तुलनामा छिटो रोपाइँ हुने हुँदा धान असोज दोस्रो साता नै पाक्ने गर्छ । यहाँका किसानले मार्सी, जडन, जेठो बुढो लगायत जातका धान लगाउने गर्दछन् । जडन जातको धान अलि ढिला पाक्ने किसानको भनाइ छ । बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । जसमध्ये ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमवलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा छ । बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।

‘चाडपर्व, अपराध र सावधानी’

काठमाडौँ – यतिबेला बडा दशैंको रमझममा छौँ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहारजस्ता चाड विशेष रुपमा र लामो अवधिसम्म पनि मनाइने गरिन्छ । यस्ता चाडपर्वका बेला धेरै जसो विदामा रहने गर्दछन् । विदेश गएका र रोजगार, व्यापार, अध्ययन आदिको क्रममा बाहिरिएकाहरू पनि यतिबेला आफ्नो गाउँघर फर्किएका छन् । अधिकांश व्यक्तिहरु आफ्नो मूल परिवार, पुख्र्यौली थातथलोमै गएर चाडपर्व मनाउने गर्दछन् । वर्ष दिनमा आउने महत्वपूर्ण चाडपर्वमा धेरैजसो शहरमा बस्नेहरु गाउँ जाने गर्दछन् ।

चाड पर्वका बेला धेरै मान्छे आफन्त भेटघाट, रमाइलोमा मस्त र व्यस्त पनि हुन्छन् । मान्छेको मनस्थिति पनि पर्वमय अर्थात उल्लासमय हुन्छ । सानादेखि ठूला, गरिबदेखि धनीसम्म सबै खुसी र आनन्दमा जुटछन् । आफ्नो व्यवसायिक, पेशागत काम र जिम्मेवारी बोेझबाट धेरैले खुकुलो भएको महसुस गरिरहेका पनि हुन्छन् । यही चाडपर्वको सहज समयलाई अपराधीहरु भने उपयुक्त समयका रुपमा भरपुर प्रयोग गर्न उद्यत हुन्छन् । कोही नभएकोमा यही मौकामा अपराधीले चोरी, लुटपाट जस्ता अपराध गर्ने गर्दछन् । चाडपर्वमा हुन सक्ने सम्भावित अपराध, प्रहरीको भूमिका र नागरिक कर्तव्यबारे यहाँ केलाउने प्रयास गरिएको छ ।

चाडपर्वमा बढ्दो अपराध
चाडपर्वका बेला अनेकन खालका अपराधहरु हुन्छन् । विशेषतः दसैँ, तिहारजस्ता चाडपर्वको मौका छोपी अपराधीहरुले विभिन्न अपराधका गतिविधिहरु बढाउने गर्दछन् । यस अवधिमा चोरी, लुटपाट, चन्दा असुली, तस्करी, कालोबजारी र सवारी दुर्घटनालगायतका घटना र अपराध बढी हुने गर्दछन् । प्रहरीका अनुसार, अघिपछिको समयभन्दा चाडपर्वको समयमा आपराधिक घटनाहरु अत्यधिक भएको पाइन्छ । अन्य समयभन्दा बढी चाडपर्वका बेला किनमेल बढी हुने भएकाले आर्थिक कारोबार पनि सोही अनुसार भइरहेको हुन्छ । बैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा बढी भिडभाड बढने भएकाले ती क्षेत्रमा चोरी, लुटपाट हुने सम्भावना अधिक हुन्छ ।

पूजापाठ बढी हुने भएकाले मठमन्दिर, धार्मिक स्थलमा पनि दर्शनार्थीको भिडसँगै चोरीका घट्ना पनि बढने सम्भावना रहन्छ । ओहोरदोहोर बढी हुने भएकाले यातायात सेवा सहज नहुन सक्छ । सवारी साधान भरीभराउ हुने भएकाले यात्रु ठगिन सक्ने, लुटिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । राजमार्गमा लुटपाटका घटना पनि बढ्न सक्छन् । क्षमता भन्दा बढी यात्रु राख्ने सम्भावना भएकाले सवारी दुर्घटना पनि बढने हुन्छ । आजभोली सामाजिक सञ्जालको पनि अनावश्यक प्रयोग भइरहेको हुन्छ । आफू कुन दिन कहाँ जाँदै छु भन्ने कुरा सामाजिक सञ्जालमा असावधानीवश व्यक्त गर्दा चोर्ने मौका कुरेर बसेका व्यक्तिलाई थाहा हुन्छ र उनीहरू मौका छोपेर सोही समयमा घरमा चोरी गर्न सक्छन् । सामाजिक सञ्जाललाई पनि सही रूपमा सदुपयोग गर्न जानियो भने भने पनि केही हदसम्म हाम्रो धनजनको सुरक्षा हुन सक्छ ।

प्रहरीको थप जिम्मेवारी
शान्ति, सुरक्षाको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । आमजनताको जिउधनको सुरक्षा गर्नु र शान्ति सुरक्षाको वातावरण बनाउनु प्रहरीको प्रमुख काम हो । चाडपर्वका बेला सुरक्षा संवेदनशीलता बढ्ने हुँदा प्रहरी प्रशासन अरु बेलाभन्दा थप चनाखो र अग्रसर हुनुपर्छ । सम्भावित अपराधलाई मध्यनजर गरेर प्रहरी, प्रशासन बेलैमा सचेत र जिम्मेवार बन्न जरुरी छ । प्रहरी प्रशासनले चाडपर्व लक्षित छुट्टै र विशेष रणनीति योजना पनि बनाउने गर्दछ । हालै भएको दङ्गा (घटना)ले नेपालगञ्ज तङ्ग्रिदैछ । बाँकेमा प्रशासन र प्रहरी प्रमुख नयाँ आउनु भएको छ । उहाँहरुको पछिल्लो सक्रियताले बिगतको जस्तो घटना पुनरावृति नहोस् भन्नेतर्फ सचेतता अपनाएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्व केन्द्रित सुरक्षा रणनिति सार्वजनिक गरेको छ । सम्भावित हिंसाको त्रासमा रहेको नगरको संवेदनशीलतालाई मध्यनजर गर्दै ड्रोन कयामरामार्फत सुरक्षा सतर्कता अपनाइएको हो । प्रहरीको भौतिक उपस्तिथिती हुन नसक्ने स्थानको समेत सुरक्षा अवस्था निगरानी गर्न प्रहरीले ड्रोन क्यामरा परिचालन गरेको हो। नेपाल प्रहरीका एक हजार १३ र सशस्त्र तर्फ ४ सय पन्ध्र प्रहरी परिचालन गरिएको बाँके प्रहरीले जनाएको छ । यस्तै सोअवधीमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पनि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ ।
कतिपय अवस्थामा प्रहरीले आफू र आफनो योजनालाई बढ्ता चर्चामा ल्याउने काम पनि गर्दछ अर्थात प्रभावकारिताभन्दा पहिले नै सस्तो लोकप्रियता खोजिरहेको हुन्छ । अपराध नियन्त्रण योजना प्रचार गर्नु अपराधीहरुलाई दबावमा राख्ने हेतुले ठीक पनि हुन सक्ला । तर नाङ्लो ठटाएर हात्ती तर्साउने रणनीति प्रहरीले अपनाउन खोज्दा अपराधीहरु थप सचेत भएर अर्कै रणनीति पनि अवलम्बन गर्न सक्छन् । बढ्ता हल्ला गर्ने तर कार्यान्वयन नगर्ने हो भने जनताको विश्वास पनि गुम्ने हुन्छ । विगतको समीक्षा समीक्षासहित प्रहरीले नयाँ रणनीति लागू गर्नु पर्छ । आपराधिक घटना हुनै नदिन प्रहरी सचेत र तयार रहनु पर्दछ ।

अपराध हुन सक्ने सम्भावित स्थानको पहिचान गरी गस्ती, सुराकी बढाउने, सम्भावित संलग्नहरुको अनुमान गरि विशेष निगरानी गर्ने पनि गर्नु पर्दछ । आपराधिक गतिविधि हुन नदिन पुर्व तयारी के कस्तो गर्ने, रोकथामका विधि के कस्तो, कसरी अपनाउने आदि प्रहरीले बेलैमा अवलम्बन गर्नु पर्दछ । चाडपर्वको मौसममा यात्रुहरुको आहोर दोहोर बढी हुने भएकाले यात्रुहरु लुटिन सक्ने, ठगिन सक्ने र दुर्घटनामा पर्न सक्ने सम्भावना प्रवल हुन्छ । भिडभाडमा पकेटमारहरु सक्रिय हुन्छन् । लुटपाट बढोत्तरी हुन्छ ।
यस्तै यातायातका साधानमा पनि क्षमता भन्दाबढी यात्रु राख्ने गरिन्छ । यसका कारण लुटपाटसँगै सवारी दुर्घटना बढ्ने सम्भावना हुन्छ । यसतर्फ प्रहरी, ट्राफिक प्रहरीले विशेष कडाई र निगरानी बढाइनु पर्छ । वैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा भिडभाड बढ्ने भएकाले ती क्षेत्रलाई प्राथमिकताका साथ सुरक्षा दिनुपर्ने हुन्छ । मठमन्दिरलगायतका धार्मिक स्थलमा पनि सुरक्षा सतर्कता अपनाइनुपर्ने हुन्छ । हतियार देखाएर लुटपाट गर्ने, पेय तथा नशालु पदार्थ खुवाएर बेहोेस बनाएर लुटने भएकाले यसबाट जोगिन र आपराधिक गतिविधिको पहिचानका लागि चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ ।

पछिल्लो समयमा शान्ति सुरक्षाका लागि आम नागरिकसँग प्रहरीले विभिन्न माध्यमबाट हातेमालो गरिरहेको छ । तथापि त्यसको प्रभावकारिता के कस्तो रह्यो ? त्यो भने त्यति सार्वजनिक गरिएको पाइँदैन । यस्तै चाडपर्वको अवधीमा पूजापाठ, मूर्ति स्थापना, मन्दिर रङ्गरोगन आदिका नाममा जवरजस्ती पैसा उठाउने, चन्दा असुल्ने प्रवृति पनि बढ्दो छ । यसलाई नियन्त्रण र निरुत्साहित गरिनुपर्छ । साथै प्रहरीले राजमार्ग सुरक्षा गस्ती बढाउने, मादकपदार्थ सेवन परीक्षण अभियान तीव्र पार्ने, ट्राफिक नियमको पालन गर्न लगाउने लगायतका विशेष अभियान पनि सञ्चालन गर्नु पर्छ । आम जनतालाई के कसरी सुरक्षित राख्न सकिन्छ ? के कस्ता अपराधका प्रवृति देखा परेका छन् ? त्यसका बारे पनि प्रहरीले आम जनतालाई जानकारी गराउने र सचेत पार्नु पर्दछ ।

नागरिकको कर्तव्य
कुनै स्वतन्त्र राज्य भित्रको भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने र सम्बन्धित मुलुकको सार्वभौमिक अधिकार प्राप्त व्यक्ति नै त्यो राज्यको नागरिक हुन्छ । नागरिक पनि बिना बर्दीको प्रहरी हो । यो भनाई पक्कै पनि त्यसै भनिएको हैन । नागरिक स्वयं सचेत र जागरुक भइदिने हो भने अपराधका आधा घटना त्यसै कम हुने प्रहरीको अनुभव छ । कुनै आपराधिक गतिविधिको सूचना सर्वप्रथम प्रत्यक्षदर्शीका रुपमा होस् या स्थानीयका रुपमा उसले नै पाउने हो, तसर्थ त्यस्ता अवाञ्छित र शङ्कास्पद गतिविधिको बेलैमा प्रहरीलाई खवर गर्न सके धेरै घटनाबाट जोगिन र जोगाउन सकिन्छ । तर हाम्रो समाजमा आफूलाई नपर्दासम्म कोही अघि सर्दैनन् । अपराधका घटनालाई पनि सामान्य ठानीदिन्छन् र आँखा चिम्लीदिने गर्छन् । यसले गर्दा अपराधमा संलग्नहरुको मनोवल बढ्ने र घटना पुनरावृति हुने सम्भावना हुन्छ । कतिपय अवस्थामा हाम्रै, आफ्नै कारणले पनि अपराधलाई बढवा मिलिरहेको हुन्छ । आफनो जीउधनको सुरक्षामा लाफरवाही गरिरहेका हुन्छौं, त्यसको फाइदा ती अपराधीले लिइरहेका हुन्छन् ।

घर बाहिर, कहीं टाढा जानु छ भने बहुमूल्य वस्तु सुरक्षित राखिनु पर्छ । झ्याल ढोका बन्द गरिनु पर्छ । छिमेकीलाई रेखदेखका लागि सुचित पनि गर्नु पर्छ । आपराधिक क्रियाकलापको शङ्का लागेमा तुरुन्त प्रहरीलाई खबर गर्ने प्रवृति बसाल्नु पर्छ । आफनो चोरी भएको हैन, भनेर चुप लाग्ने गर्नाले चोरलाई थप हौसला मिल्ने हुन्छ । घटना पुनरावृति हुन्छ । चाडपर्वको समयमा सर्वसाधारण स्वयं जिउधनको सरक्षार्थ सचेत हुन जरुरी छ । यात्रामा निस्किदा महङ्गा गरगहना नलगाउने, ठूलो धनराशि नबोक्ने, आर्थिक कारोवार बैंकमार्फत गर्ने बानी बसाल्नु पर्दछ । चाडपर्वको समय त्यसै पनि संवेदनशील अवस्था हो । यस्तो बेला धार्मिक, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न पनि नागरिकको अहम् भूमिका हुनुपर्दछ । संविधानले नै नागरिकको कर्तव्य बारे प्रष्ट्याएको पनि छ । आफनो राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानूनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकको प्रमुख कर्तव्य पनि हो । तसर्थ आउनुस्–आजैबाट आफनो कर्तव्यपालना गरौं ।

(लेखक नेपालगञ्जका सक्रिय पत्रकार हुनुहुन्छ)

धादिङमा गएको भूकम्पका कारण २० घर भत्किए, ७५ घर चर्किए

धादिङ, ५ कात्तिक : आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो ।

पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताउनुभयो । धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो ।

धार्मिक विद्यालयमा नमुना बन्दै ‘मदरसा आधारभूत नुरुल हुदा’

रामपुर (पाल्पा), ५ कात्तिक : वीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हँुदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । उहाँले घरदेखि निकै टाढा रहेको पाल्पाको रामपुरलाई शैक्षिक थलो बनाउनुभएको छ ।

उर्दू विषयका साथै नेपाल सरकारले निर्धारण गरेका सबै विषय नेपाली, अङ्गे्रजी माध्यममा एउटै विद्यालयमा पढाइ हुने भएकाले अध्ययनका लागि रामपुर आएको उहाँ बताउनुहुन्छ । आफ्नो मामामार्फत आठ वर्षको उमेरमा नै रामपुर आउनुभएका मियाँले मुस्लिम विद्यार्थीको लागि मदरसा नुरुल हुदा विद्यालय नेपालकै नमुनाका रुपमा पढाइ हुने विद्यालय भएको महसुस गर्नुभएको छ ।

“मुस्लिम समुदायका विद्यार्थीले यहाँको विद्यालयमा पढाइ हुने सबैजसो विषय नेपालमा अन्यत्र कुनै पनि विद्यालयमा पढाइ भएको पाइँदैन । यहाँ उर्दू भाषालाई संरक्षण गर्दै नेपाल सरकारका सबै विषय नेपाली, अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको हुँदा अधिकांश विद्यार्थीले यहीँ विद्यालय रोज्ने गरेका छन्” उहाँले भन्नुभयो ।

धार्मिक विषय मात्र नभई नेपाली र अङ्ग्रेजी माध्यममा पनि पठनपाठन हुने भएपछि कक्षा ८ सम्मको पढाईका लागि संस्थागत विद्यालयमा धेरै रकम खर्चेर पढ्नुपर्ने अवस्था नरहेकाले यो विद्यालय मुस्लिम विद्यार्थीको लागि उत्कृष्ट विद्यालयको रुपमा रहेको उहाँ बताउनुहुन्छ ।

रुपन्देहीको सांस्कृतिक नगरपालिका–५ ढुडाहकी मन्तस खातुन अहिले नेपाली भाषा मज्जाले बोल्नुहुन्छ । एक वर्षअघि यस विद्यालयमा कक्षा ५ मा अध्ययन गर्न आउनुभएकी उहाँ नेपाली भाषामा अति कमजोर विद्यार्थी हुनुहुन्थ्यो । गाउँकै एक मुस्लिम विद्यार्थीले पढ्ने विद्यालयमा उर्दू भाषा पढ्नुभएकी खातुन नेपाली भाषा सिकाईका अलवा, अङ्ग्रेजी, गणित विषय एकै ठाउँमा अध्ययन गर्न पाइने भएपछि यस विद्यालय रोज्नुभएको हो । कक्षा ६ मा अध्ययनरत खातुन एक वर्षमा आफुले यस विद्यालयबाट धेरै प्रगती गरेकोमा खुशी हुनुुहुन्छ ।

“गाउँमा सञ्चालन भएको विद्यालयमा उर्दूबाहेक अन्य केही विषय पढाइ हँुदैनथ्यो, विद्यालय गएर पढे नपढेको कसैलाई मतलव नै थिएन” उहाँले भन्नुभयो,–“अङ्ग्रेजी, नेपाली विषय नाममात्रैको पढाइ हुन्थ्यो, विद्यार्थीले के कति बुझे बुझेनन् भन्ने नै थिएन, मन लाग्दा विद्यालय जाने आदत बसेको थियो, अहिले यहाँ आएर पढ्न पाउँदा एक वर्षमा नै धेरै ज्ञान सीपमा परिवर्तन आएको देख्दा म आफै दङ्ग छु” ।

खातुनले पढेर भविष्यमा नर्स बन्ने सपना बुन्नुभएको छ । बाहिरबाट आएका विद्यार्थी र स्थानीय विद्यार्थीमा कुनै भेदभाव नरहेको, विद्यार्थीले पढाएको कुुरा के कति बुझे बुझेनन् यस विषयमा विद्यालयले निरन्तर औपचारिक या अनौपचारिक रुपमा मूल्याङ्कन गर्दै पृष्ठपोषण दिने गरिरहेको खातुले बताउनुभयो । यस कार्यले पनि विद्यार्थीले शिक्षण सिकाइ कार्यमा सक्रिय रुपले निरन्तर मेहनत गरिरहेको पाइन्छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बस्ने आलमिन मियाँले कक्षा २ देखि नै मदरसा नुरुल हुदा आधारभूत विद्यालयमा अध्ययन गरिरहनुभएको छ । कक्षा ७ मा पढ्ने उहाँ भारतको लखनउमा तीन वर्षसम्म अध्ययन गर्दा सिकाइमा कुनै प्रगति हासिल नभएपछि रामपुर आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भारतमा राम्रो पढाई हुने आशाले पढ्न गएको थिए, तीन वर्षसम्म अध्ययन गर्दा उर्दुमात्र विषय पढियो, खाने बस्ने सुविधा राम्रो थिएन, नेपालका विद्यार्थी भनेर नराम्रो व्यवहार गरेपछि आफ्नै देश फर्केर पाल्पा रामपुरमा ज्ञानार्जनको थलो रोजेको हुँ” ।

कैलालीबाट रामपुर आउनजान गाडीमा एकतर्फी करिब १८ घण्टाको यात्रा गर्नु परेता पनि यहाँको पढाइले गाउँबाट टाढा रहे पनि आफू सन्तुष्ट रहेको मियाँले अनुभव व्यक्त गर्नुभयो । टाढाबाट आउने विद्यार्थीलाई स्थानीयको तुलनामा शैक्षिक शुल्कमा सहुलियत, छात्रावासको व्यवस्था, पारिवारिक वातावरणमा पठनपाठन गर्न पाउने सुविधाले परिवारबाट टाढिएर बसेको अनुभूति नभएको उहाँको भनाइ छ ।

भाषा सुधार, उर्दूका अलवा अन्य विद्यालयमा जस्तै नेपाली र अङ्ग्रेजी माध्यममा पठनपाठन हुने, तराईका विद्यालयमा उर्दू मात्र पढाई हुने भएकाले धेरैजसो तराई मुलुकबाट मुस्लिम विद्यार्थी रामपुरमा आउने गरेको प्रधानाध्यापक मोहम्मद सलिम बताउनुहुन्छ । बाहिरबाट पढ्न आउने विद्यार्थीमा भाषामा अति नै समस्या रहेको, बाहिरका विद्यालयमा ( मुस्लिम विद्यालय) कक्षा ८ उत्तीर्ण भएको विद्यार्थी यहाँ ५ कक्षामा भर्ना गरेर पढाउनु परेको प्रधानाध्यापक सलिमले जानकारी दिनुभयो ।

यहाँ भाषामा सुधार, धार्मिक विषय पढ्न पाउने भएपछि बाहिरका विद्यार्थीको आकर्षण बढेको छ । धेरै विद्यार्थी पढ्नका लागि सम्पर्कमा आउने गरेपनि विद्यालयमा सीमित भौतिक संरचना, छात्रावास, जनशक्ति रहेकाले सम्पर्कमा आएका सबै विद्यार्थी भर्ना गर्न नसकिएको विद्यालयका लेखापाल महम्मद अलि बताउनुहुन्छ । धार्मिक विद्यालयमा लुम्बिनी प्रदेशकै नमुना मदरसाको रुपमा पनि लिइन्छ । यस विद्यालयमा मुस्लिम समुदायका बालबालिकाले मात्रै अध्ययन गर्ने गर्दछन् । हाल विद्यालयमा छात्रा ८१, छात्र १३२ गरी जम्मा २१३ विद्यार्थी अध्ययनरत छन् । बाहिरबाट आएका सबै विद्यार्थी (८२ जना) लाई छात्रावासमा राखिएको छ ।

नेपाल सरकारका अनिवार्य सबै विषयसहित उर्दू, अरेबिक, दिनियाँत (नैतिक शिक्षा), कुरान, कम्प्युटर विषय पठनपाठन हुने गरेको छ । अन्य विद्यालयमा शनिबार विदा हुने गरेकामा यहाँ शुक्रबार हप्तामा एक दिन विदा दिने गरिएको छ । साढे दुई वर्षदेखिका बालबालिका विद्यालयमा भर्ना भई पढिरहेका छन् । रामपुरमा मदरसा स्थापना नहुँदा यस क्षेत्रका मुस्लिम समुदायका विद्यार्थी विराटनगर, भारतको आजमगढ, विहारमा गएर पढ्नुपर्ने अवस्था थियो । मदरसा खुलेपछि रामपुरका मात्र नभई छिमेकी जिल्ला तनहुँ, स्याङ्गजा, नवलपुर क्षेत्रका मुस्लिम समुदायका विद्यार्थीलाई पठनपाठनमा धेरै सजिलो भएको छ ।

कक्षा ८ उत्तीर्णपश्चात् भने मुस्लिम समुदायका विद्यार्थीलाई धार्मिक विषय अध्ययनका लागि सुनसरी तथा भारतका विभिन्न विद्यालयमा पुगेर पठनपाठन गर्नुपर्ने बाध्यता कायमै छ । रामपुरमा नै उच्च शिक्षा सम्मको पठनपाठनका लागि विद्यालयले पहल गरिरहेको छ भने तत्काल कक्षा ९ र १० सञ्चालन गर्ने र क्रमशः कक्षा ११ र १२ सुरु गर्ने योजना छ । पठनपाठन गर्न देशका विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन् । नेपालगञ्ज, रुपन्देही, वीरगञ्ज, सुनसरी, भैरहवा, कैलाली, नवलपुर, तनहुँलगायतका विभिन्न जिल्लाका विद्यार्थी विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् ।

रामपुरको इस्लामपुर क्षेत्रका स्थानीय युवाले रोजगारको सिलसिलामा विदेशमा साङ्गठनिक रुपमा एकताबद्ध भएर हरेक महिना आफूले श्रमबापत पाएको मासिक तलबमध्ये केही रकम सङ्कलन गरेर विद्यालय सञ्चालनका लागि सहयोगार्थ पठाउने गरेका छन् । विद्यालयको छात्रावासमा राखिएको सहयोग बाकसमा पनि केही रकम सङ्कलन भइरहेको छ । विभिन्न सङ्घसंस्था, व्यक्तिबाट विद्यालयमा शैक्षिक पोशाक, स्टेशनरी सहयोग प्राप्त हुने गरेको छ । धार्मिक विद्यालयको रुपमा सञ्चालित भएकाले नेपाल सरकार शिक्षा मन्त्रालयबाट हरेकवर्ष रु पाँच लाख रकम अनुदानस्वरुप सहयोग प्राप्त हुने गरेको छ भने अन्य आवश्यक आर्थिक व्यवस्थापन विद्यालय आफैँले गरिरहेको छ ।

मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाउने, विद्यार्थीबाट मुठ्ठीदान सङ्कलन (जकात फण्ट) कार्य भइरहेको छ । हरेक हप्ताको विहीबार विद्यार्थीले घरमा उत्पादन भएका विभिन्न अनाजहरु विद्यालयमा लैजाने गर्दछन् । यो कार्य विद्यालयमा नियमित रुपमा चलिरहन्छ । घरमा उत्पादन भएका विभिन्न अनाजहरु विद्यालय आउँदा विहीबारको दिन विद्यार्थीले प्रत्येक घरबाट अनिवार्य साथमै लिएर आउने गर्छन् ।

विद्यालयले मुठ्ठीदान ल्याउन अनिवार्य गरेको छैन । तर घरबाटै दैनिक विद्यालय अध्ययन गर्न आउने विद्यार्थी स्वयम् आफैँले आफूले सकेको अनाज मुठ्ठीदानको रुपमा ल्याउने गरेका छन् । यसरी मुठ्ठीदानबाट सङ्कलित अनाजले यहाँको छात्रावासमा बसोबास गर्ने विद्यार्थीक करिव चारदेखि छ महिनासम्म खाद्यान्न व्यवस्थापन हुने गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा सङ्कलन भइरहेको मुट्ठीदान कार्यक्रमले विद्यार्थीमा लिनुभन्दा पनि आफूसँग भएको केही अनाज दिनुपर्छ भन्ने नैतिक भावनाको विकास भएको छ । यहाँ बसोबास गर्ने मुस्लिम समुदायले घरमा उत्पादन भएका धान, गहुँ, मकैलगायतका अन्नबाली भित्र्याउने बेला उत्पादन भएको अन्नबापत एक मुरीको एक पाथी विद्यालयको नाममा छुट्टयाउने गर्दछन् । घरमा उत्पादन भएका तरकारी, फलफूललगायतका वस्तु छात्रावासमा बसोबास गर्ने विद्यार्थीका लागि स्थानीयले सहयोग गर्ने कार्य निरन्तर नै चलिरहेको छ । रामपुर नगरपालिका क्षेत्रमा १५० घरपरिवारका करिब आठ सय जनसङ्ख्याको बसोबास रहेको छ । वैदेशिक रोजगार, विभिन्न पेशा, व्यावसाय नै मुख्य आयस्रोत रहेको छ ।

यस विद्यालय २०५५ सालमा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएर कक्षा १ देखि ५ सम्म सञ्चालन गरिएको हो भने २०६० मा भने छिमेकी विद्यालय सीताराम माध्यमिक विद्यालयसँग समन्वय गरेर कक्षा ७ सम्म चलाइयो । विसं २०६८ मा कक्षा ६ देखि ८ सम्मको विद्यालयले अनुमति लिएर आफ्नै भवनबाट कक्षा सुरु भयो । विद्यालयको नाममा पाँच रोपनी जग्गा छ । हाल साढे दुई रोपनी जग्गामा विद्यालय सञ्चालन भइरहेको छ । यस विद्यालय रामपुर नगरपालिकाभित्र उत्कृष्ट विद्यालयमा पर्दछ । हरेक वर्ष शैक्षिक गुणस्तर वृद्धि हासिल गर्दै समयानुकूल धार्मिक विषयका अलवा अन्य विषयमा विभिन्न प्रविधिमैत्री शिक्षा दिन सफल विद्यालय बनेको छ ।

फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश

म्याग्दी, ५ कात्तिक : म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया जानुभयो ।

म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन अमेरिका लाग्नुभयो । त्यसैगरी बेनीका केसी र दरवाङका गौतम दम्पत्ति आफन्त र घरपरिवारसँग दसैँ मनाउन विदेश जाने उदाहरण मात्रै हुनुहुन्छ ।

पहिले–पहिले विदेश र सहरबजारबाट दसैँ र तिहार जस्ता पर्व मनाउन जन्मथलो गाउँमा फर्कने चलन थियो । अहिले भने परिवारका सदस्यसँग चाडपर्व मनाउन विदेश जाने चलन शुरु भएको छ ।

श्रीमती र छोराछोरीसहित दसैँ मनाउन बेलायत पुग्नुभएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला आफन्तजन सबै विदेशमा भएपछि चाडपर्वमा भेटघाट र भ्रमणको मेसो मिलाएको बताउनुभयो ।

“हाम्रो परिवारमा नेपालमा हुनेभन्दा विदेशमा हुनेको सङ्ख्या बढी छ”, उहाँले भन्नुभयो, “आफन्त पनि धेरै विदेशमै छन् । आफन्तसँग दसैँ पनि मनाइने र भेटघाट तथा घुमघाम पनि हुने भएकाले यसपाली बेलायतमा दसैँ मनाउने योजना बनायौ ।”

अध्ययन, रोजगारी, व्यापार, व्यवसायको सिलसिलामा अमेरिका, अस्टे«लिया, क्यानडा तथा बेलायतलगायतका मुलुकमा रहेका नेपालीले त्यहाँ पनि नेपालमा जस्तै गरी दसैँ मनाउने गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ अमेरिकाका अध्यक्ष रघु सुवेदीको भनाइ छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इसान) अमेरिकाका अध्यक्ष राहुल केसीले चाडपर्व मनाउन, विवाह, छेवर, व्रतवन्धका लागि विभिन्न देशमा नौमती बाजा समूह नै गठन गरिएको उहाँको भनाइ छ ।

“नेपालबाट मौलिक भेषभुषा र बाजा मगाएर कलाकार समूहले विदेशमा नेपाली संस्कृति फैलाएका छन्”, उहाँले भन्नुभयो, “नेपालीहरुको बाहुल्य भएका कम्पनीले नेपाली चाडपर्व मनाउन छुट्टी समेत दिने गरेका छन् ।”म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले ‘डायसपोरा’मार्फत नेपाली संस्कार र संस्कृति संसारभर फैलिन थालेको बताउनुभयो । “पहिले डायसपोरामार्फत पश्चिमा संस्कृति नेपाल आयो । अहिले नेपाली संस्कृति विदेशमा फैलिनु सकारात्मक हो,” उहाँले भन्नुभयो, “यसले गर्दा नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण भइरहेको छ ।”

‘मर्निङ वाक’मा पनि हात्तीकै त्रास

झापा, ५ कात्तिक : झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जानुहुन्थ्यो । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग जम्काभेट भयो । जङ्गल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उहाँ हात्तीको आक्रमणमा पर्नुभयो । उहाँको दमकको एडभान्स हस्पिटलमा उपचारकै क्रममा उहाँको मृत्यु भयो ।

झापामा भारतबाट समूहमा आउने हात्ती र स्थानीय जङ्गललाई बासस्थान बनाएका रैथाने गरी दुई किसिमका जङ्गली हात्तीको त्रास छ । मेची नदी पार गरेर दर्जनौंको सङ्ख्यामा भित्रिने जङ्गली हात्ती रातभर खेतीपाती चरेर विहानको उज्यालो नहुँदै भारततिर फर्किन्छन् । तर, रैथाने हात्ती विहान अबेरसम्म स्थानीयको खेतबारीमा चरिरहेका हुन्छन् ।

एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका रैथाने हात्तीका कारण ‘मर्निङ वाक’ त्रासमय हुने गरेको छ । “विहानै सडकमा हात्ती हिँड्दै गरेका हुन्छन्, मर्निङ वाक गर्न पनि डराउने अवस्था आयो”, मेचीनगर–१० धुलाबारीका गङ्गाधर पराजुलीले सुनाउनुभयो ।

‘मर्निङ वाक’ मात्र होइन, विहान सडक आसपास फूल टिप्न हिँड्ने चलन पनि हात्तीकै कारण घट्दै गएको छ । हालै धुलाबारी बजारभित्रै बगैँचामा फूल टिपिरहेका बेला जङ्गली हात्तीको आक्रमणमा परी ८० वर्षीया पानालाल देवी साहको घटनास्थलमै मृत्यु भयो ।

‘मर्निङ वाक’ गर्ने, च्याउ र निगुरो टिप्ने र घाँस र दाउरा सङ्कलन गर्ने मानिसहरु हात्तीको आक्रमणमा पर्ने गरेका छन् । झापाको जङ्गलमा टिपेको च्याउ र निगुरो बेचेर जीविका चलाउनेहरु धेरै छन् ।

पूर्वपश्चिम राजमार्गको चारआली जङ्गल खण्डमा दिनहुँ ५० भन्दा बढी महिला तथा बालबालिका निगुरो र च्याउ बेच्न बस्ने गरेका छन् । उनीहरु एकाविहानै घना जङ्गलभित्र पसेर निगुरो र च्याउ सङ्कलन गर्छन् र सडक किनारमा पसल थाप्छन् ।

निगुरो र च्याउ खोज्ने मानिसहरु हात्ती आक्रमणको जोखिममा छन् । जङ्गल पार गरेर सडकमा आउनुपर्ने र एकाविहानै जङ्गलभित्र ती वस्तु खोजी गर्नुपर्ने भएकाले उनीहरु कुनै पनि बेला हात्तीको निशानामा पर्न सक्छन् ।

हात्ती नियमित हिँड्ने बाटोमा चारआलीको निचाझोडा र जलथल वनसहित दर्जनौं सामुदायिक वन क्षेत्र छन् । मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति, विर्तामोड, भद्रपुर, हल्दिबारी, बाह्रदशी, कनकाई, शिवसताक्षीलगायतका क्षेत्रमा पनि हात्ती भेटिन्छन् ।

स्थानीय शिक्षक रञ्जित परियारका अनुसार निगुरो र च्याउ खोज्ने चारआली जङ्गल हात्तीले बाहुनडाँगीदेखि जलथलसम्मको पचास किलोमिटर विचरण गर्ने मुख्य बाटो मै पर्दछ । “दिनहुँजसो हात्ती यताउता हिँडिरहेका हुन्छन्, मानिसहरु ज्यान जोखिममा पारेर च्याउ र निगुरो टिपिरहेका हुन्छन्”, उहाँले भन्नुभयो, “हात्ती जङ्गलमा छ कि छैन भन्ने थाहा हुने कुरा भएन । ‘साइरन’को व्यवस्था पनि छैन ।”

डिभिजन वन कार्यालय झापाले हात्ती विचरण गर्ने जङ्गल आसपास सर्वसाधारणको सतर्कताका लागि सूचना पाटी राखेको छ । कार्यालयले हात्तीलाई नजिस्काउन, नजिक नजान र नमार्न स्थानीयलाई चेतावनी दिए पनि घाँस, दाउरा, च्याउ र निगुरोको सङ्कलन स्थानीयको जीविकासँग जोडिएका कारण जोखिम बढेको छ ।

भद्रपुर नगरपालिका वडा नं. ७ का गिरेन कर्मकार हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा मारिए । दमक वडा नं. ३ का कमैया राई हम्सेदुम्से सामुदायिक वनमा हात्तीको आक्रमणमा मारिए ।

वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत अभियन्ता शङ्कर लुइँटेल जङ्गली हात्ती सामान्यतया आफू खतरामा परेको महसुस गरेपछि मात्रै आक्रमणमा उत्रिने बताउनुहुन्छ । हात्ती आहारा खोज्दै मानिसको बस्ती, खेतबारी र सहरतिर जाने गरेको हुँदा उसको लक्ष्यमा बाधा महसुस गरेपछि आक्रामक हुने गरेको उहाँको भनाइ छ ।

“मानिस र हात्तीको हिँड्ने र जीवन धान्ने क्षेत्र एउटै हो,” अभियन्ता लुइँटेलले भन्नुभयो, “हात्तीका लागि जङ्गलमा आहारा छैन । त्यसो भएकाले हात्तीहरु मानव बस्ती र खेतबारीसम्मै आइपुग्छन् । बालीनाली जोगाउने मान्छेको प्रयास र जसरी पनि बाली खाएर पेट भर्नुपर्ने हात्तीको बाध्यताका कारण मानव–हात्ती द्वन्द्व चर्किएको हो ।”डिभिजन वन कार्यालय झापाको तथ्याङ्कअनुसार विगत एक दशकमा झापामा हात्तीको आक्रमणमा ६० जनाले ज्यान गुमाइसकेका छन् ।

दसैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

दमौली, ५ कात्तिक : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैंमा पनि निरन्तर सञ्चालन हुने भएको छ । दसैंका कारण आयोजनाको काम प्रभावित नहुने जनाइएको छ ।

अन्य समयको तुलनामा दसैंमा कामदार केही कम भएपनि काम निरन्तर सञ्चालन भइरहेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । “दसैं बिदाले आयोजनाको काम प्रभावित हुँदैन, अरु बेला भन्दा अहिले कामदार केही कम छन्, कतिपयलाई दसैं बिदा दिइएको छ,” उहाँले भन्नुभयो, “निर्धारित मितिमै काम सम्पन्न गराउनका लागि पनि कामलाई निरन्तरता दिनुपर्ने अवस्था छ ।”

हालसम्म आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको बताइएको छ । आयोजनाका अनुसार प्याकेज एक अन्तर्गत बाँध निर्माणमा २५ प्रतिशत, प्याकेज दुई अन्तर्गत विद्युतगृह निर्माणमा ४५ प्रतिशत र प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणमा ६९ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्याकेज दुई अन्तर्गत भूमिगत विद्युतगृहको भौतिक निर्माणको काम ६६ प्रतिशत सकिएको छ । इलेक्ट्रोनिकल मेकानिकल अन्तर्गत १० प्रतिशत प्रगति हासिल भएको छ ।

आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रा.लि. नेपाल जे.भी.ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको प्याकेज एक अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यो प्याकेज अन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ एक र दुईको निर्माण जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

बाँधको माथिल्लो भागको स्लोप खन्ने काम अन्तर्गत हालसम्म इलिभेसन तह ५४४ मिटरबाट ४८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह ४७० मिटरसम्म खनिएको आयोजनाले जनाएको छ ।

आयोजनाको प्याकेज दुईको निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र नेपाली रुपैयाँ रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ ।

यो प्याकेज अन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारको भनाइ छ ।

आयोजनाको १४५६.९ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म ६८० मिटर खनिएको छ । आयोजनाको २१०.९ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खनिएको छ । प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ६९ वटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । ३३ वटा टावर जडान सम्पन्न भएको र आठ स्थानमा टावर संरक्षण गरिएको छ । ३४.७ किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ ।

प्रसारण लाइन निर्माण २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले रु १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले रु १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले रु आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले रु आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम

काठमाडौँ, ५ कात्तिक : दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भएपनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहेको छ ।

राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ । यी मन्दिरमा झकिझकाउ बनाएर सिँगारिनुका साथ बेलुकी झिलिमिली बत्ती सजाइएको छ ।

शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् ।

नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाएको जनाएका छन् । कति भक्तजन राजधानीका शक्तिपीठमा दर्शन गरी बाहिरका देवी मन्दिरमा पनि दर्शनका लागि जाने तयारी गर्दैछन् ।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

शारदीय नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।

दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका पनि लगाउँछन् ।

दसैँका अवसरमा धेरै मानिस आ–आफ्नो थातथलो फर्केका छन् । कतिले अझै जाने तयारी गरेका छन् । काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् ।

सार्वजनिक यातायातमा गुन्द्रुक कोचेझैँ यात्रु राख्दा दुःख पाएको काठमाडौँ उपत्यकाबाट बाहिरिनेको गुनासो छ । सार्वजनिक यातायात व्यवस्थित नहुँदा दसैँ, तिहारजस्ता चाडपर्वमा यात्रुले धेरै सास्ती खेप्नुपर्ने बाध्यता छ । तीन तहको सरकारको संरचना भएपनि सार्वजनिक यातायात व्यवस्थापन गर्न कसैको पनि ध्यान जान नसकेको यात्रुले गर्ने गरेका छन् ।

त्रिकोणात्मक टी-२० : युएईले हङकङलाई हरायो

काठमाडौँ, ५ कात्तिक : त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जीतका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनायो । हङकङका लागि बाबर हायातले ४५ बल खेल्दै तीन चौका र पाँच छक्काको मद्दतमा ६६ रन बनाए । त्यस्तै एजाज खानले ४८ रन बनाए । यी दुवै खेलाडीले चौथो विकेटका लागि एक सय १४ रनकोसाझेदारी गरेका थिए ।

युएईका जहुर खानले तीन विकेट लिए भने निलांश केश्वानीले दुई विकेट झारे । सिरिजअन्तर्गत भोलि नेपाल र युएईबीच खेल हुनेछ ।