प्रधान सेनापति शर्मा र संयुक्त राज्य इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर एक्विलिनोबीच–भेटघाट
काठमाडौँ, १४ फागुन : प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका इन्डो प्यासिफिक कमान्डका एडमिरल जाँन सी अक्युलिनोबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरुबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपालको तीनदिने भ्रमणमा आउनुभएका अक्युलिनोलाई यसअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।ग्लोबल पिस अपरेसन इनिसिएटीभको सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि दुई हप्ता अवधिको शान्ति स्थापनासम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण भइरहेको छ । अक्युलिनोले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको फागुन १३ गते आइतबार अवलोकन गर्नुभएको थियो ।
