`

द्रुत बस सेवा तिहारपछि पुनःसञ्चालन हुने

काठमाडौँ – दसैँपछि रोकिएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउनेभएको छ । सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ । दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताउनुभयो । उहाँले भन्नुभयो “तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ ।”

द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ । असोज ३ देखिदेखि द्रुत बस नमूना परियोजनाका रुपमा सेवा शुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

एक महिनामा द्रुत बस सञ्चालन गर्दा यातायात व्यवस्था विभाग, बाग्मती प्रदेश सरकार र यातायात ब्यवसायीले त्यसको अनुभव लिएका छन् । सेवा सञ्चालनका क्रममा देखिएका समस्याहरु हल गर्ने गरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गनुभएको छ ।

द्रुत बसको लेनमा अब डोरी लगाइने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताउनुभयो । रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरु द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुल्ला हुने महानिर्देशक रिजालले बताउनुभयो । सङ्घीय राजधानी काठमाडौँको जाम कम गर्ने, निजी सवारीसाधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा आकर्षित गर्ने उद्देश्यले द्रुत बस सेवा सञ्चालन गरिएको हो ।

आजदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

गोदावरी (ललितपुर) – फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० सुरु हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा सहभागी नर्सरी÷फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।

एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्तले मेलाको सबै तयारी पूरा भएको बताउनुभयो । “मेला पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, सजाटवमा रुचि राख्ने र यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति उपयोगी हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “पुष्प व्यवसायका क्षेत्रमा भएका विकास र नवीनतम् प्रविधिलगायतको जानकारी पनि उपलब्ध हुनेछ ।”

प्रदर्शनीको सह–आयोजकमा पुष्प विकास केन्द्र छ । साथै सहयोगी संस्थामा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रायोजकमा सेवा कोकोपिट र बैंकिङ साझेदारमा कृषि विकास बैंक छ । प्रदर्शनीमा व्यावसायिक कक्ष ५१, प्रतियोगितात्मक कक्ष दुई र सूचनामूलक चार गरी ५७ प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ ।

प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र रु एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । मेलामा टिकट नम्बरका आधारमा हरेक दिन लक्की ड्र पनि गरिनेछ । एसोसिएसनले २०५१ सालदेखि पुष्प मेला÷प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

हाल ४८ जिल्लामा लगभग दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भइरहेको छ । जसमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी चार लाख ४० हजारभन्दा बढी जनशक्ति रोजगार छन् । पुष्प व्यवसायको कारोबार वार्षिक १० देखि १५ प्रतिशतले भइरहेकामा कोरोना महामारीका कारण असर पुगेको थियो । आर्थिक वर्ष २०७८÷८९ रु दुई अर्ब ३० करोडको हाराहारीमा पुष्प व्यवसायको कारोबार भएको थियो । साथै आव २०७९÷८० मा रु तीन अर्ब सात करोडभन्दा बढीको कारोबार भएको थियो ।

सरकारी सवारीको दुरुपयोग बढ्दो

गलकोट (बागलुङ) – बागलुङ जिल्लामा सरकारी सवारीको दुरुपयोग बढ्न थालेको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङले सरकारी सवारीको दुरुपयोग बढेपछि धमाधम कारबाहीको दायरामा ल्याउन थालेको हो ।

जिल्लामा सार्वजनिक बिदाको दिन सम्बन्धित निकायबाट अनुमति नलिई सरकारी सवारीसधान प्रयोग हुन थालेपछि ट्राफिक प्रहरीले सक्रियताका साथ कारबाही गर्न थालेको छ । असोजभर परेको तीन दिनको सार्वजनिक बिदाको समयमा १६ सरकारी सवारीसधान कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । जिल्लामा असोज महिनादेखि सरकारी सवारीको जाँचमा कडाइ गरिएको हो ।

सरकारी सवारी लिएर पर्यटकीयस्थल हिँडेको, घुम्न हिँडेको र विना काममा सरकारी सवारीको प्रयोग बढेपछि कारबाही गर्न थालिएको छ । स्थानीय तहका सरकारी सवारी बढी दुरुपयोग भएको प्रहरीको भनाइ छ ।

असोज महिनाको तीन दिनमा मात्रै १६ सरकारी सवारी मोटरसाईकल र जीपलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक मीनबहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काले असोजको ३ गते, असोजको ६ गते र असोजको २० गते मात्रै १६ वटा सरकारी सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताउनुभयो । जसमध्ये तीन वटा जीप र १४ वटा मोटरसाइकल रहेका छन् । तीन दिनको सार्वजनिक बिदाको दिनमा सरकारी सवारीको कारबाहीबाट तीन दिनमै रु १६ हजार राजस्व सङ्कलन भएको छ । “सरकारी सवारी दुरुपायोग बढ्न थालेपछि सार्वजनिक बिदाको समयमा ठाउँ–ठाउँमा सरकारी सवारीको जाँच गर्दै आएका छौँ, खासगरी दसैँ सुरु भएपछि बढी सरकारी सवारीको दुरुपयोग भएको भन्ने गुनासो आएपछि होल्ड गर्न थालिएको छ”, ट्राफिक प्रहरी प्रमुख खड्काले भन्नुभयो, “जिल्ला प्रशासनको अनुमति विना सञ्चालनमा आएका सरकारी सवारीलाई होल्ड गरेर रु एक हजार जरिवाना गरिएको छ, यो अभियानले आगामी दिनमा निरन्तरता पाउनेछ ।”

खड्काका अनुसार अन्य समयमा सार्वजनिक र निजी सवारीको जाँच बढाएपनि सार्वजनिक बिदाको समयमा सरकारी साधन लक्षित जाँच गरिदै आइएको छ । बागलुङ बजारको मुख्य प्रवेशद्वारमा सार्वजनिक बिदाको दिन अनुमतिविनै प्रवेश गर्न खोजेका दर्जनौँ सवारीलाई गन्तव्यमा पुग्न रोक लगाएर फकाईएको छ ।

अनुमतिविना जिल्लामा सरकारी सवारी प्रवेश गर्न नदिएपछि प्रवेशद्वारबाटै फर्काइएको ट्राफिक प्रहरीको भनाइ छ । पछिल्लो समय धार्मिक पर्यटकीयस्थल, होटल तथा रेष्टुरामा बिदाको समयमा सरकारी सवारी देखिन थालेपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीब्रता दिन थालेको हो ।

एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि – अध्यक्ष ओली

लेखनाथ (कास्की) – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताउनुभएको छ ।एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले भन्नुभयो, “दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर एमाले अगाडि बढेको छ ।”

कृषिमा आधुनिकीकरण, उद्योग क्षेत्रमा लगानीको वातावरण, पर्यटन तथा प्राकृतिक सम्पदाको उपयोग गरी देश र जनताको समृद्धि गर्ने गन्तव्य एमालेको रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर भएको छ, कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सबै पार्टी मिलेर अगाडि बढ्नुको विकल्प छैन ।”

वर्तमान अवस्थामा देखिएको अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउन लोकतान्त्रिक पार्टीको भूमिका महत्वपूर्ण भएको बताउँदै उहाँले लोकतन्त्र प्राप्तिपछि भएका विकासका काम र संविधानबाट प्राप्त उपलब्धिलाई जनतामाझ लैजान जरुरी भएको बताउनुभयो ।

एमालेका हरेक कार्यकर्ता दिनको १८ घण्टा जनताको सेवामा जुट्दै आउँदो निर्वाचनमा एमाले पार्टीलाई सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्नुसमेत उहाँले जोड दिनुभयो । एमालेका पालामा विकास निर्माणका काम धेरै भएको दाबी गर्दै अध्यक्ष ओलीले वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऊँ, गाउँगाउँमा सडक बाटो, शिक्षा–स्वास्थ्य जस्ता कामहरु गरेर लोकप्रियता हासिल गरेको बताउनुभयो ।

आफूले कुनै किसिमको भ्रष्टाचार नगरेको दाबी गर्दै अध्यक्ष ओलीले कम्बोडियामा आफ्नो लगानी नभएको र त्यो भ्रम छर्न रचिएको प्रपञ्च भएको बताउनुभयो । सुन तस्करी काण्डमा मुछिएकालाई कानुनी दायरामा ल्याउनसमेत उहाँले जोड दिनुभयो ।

पार्टीका उपाध्यक्ष रामबहादुर थापाले एमाले समाजवादको बाटोमार्फत देश र जनताको समृद्धितर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले एमालेको दसौँ महाधिवेशनको कार्यदिशा पनि बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमार्फत देश र जनताको समृद्धि गर्ने नै रहेको विश्वास दिलाउनुभयो ।

नेपाली जनताको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण र औद्योगीकरणलाई जोड दिनुपर्ने थापाको भनाइ थियो । सो अवसरमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहणसमेत गराइएको थियो ।

वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कात्तिक १५ गते पनि देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

तिहारसम्ममा सबै राष्ट्रिय राजमार्ग मर्मत गरिने

काठमाडौँ – भौतिक पूर्वाधार तथ यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडकममध्ये आधामा दसैँ पहिले नै मर्मत सकिएको र बाँकीमा तिहार अघिसम्म सकिने बताउनुभएको छ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा उहाँले मुख्य राजमार्ग र काठमाडौँ उपत्यकाका धेरै सडकमा मर्मतको काम गरिसकिएको बताउनुभयो । चाडपर्वका लागि काठमाडौँ उपत्यका बाहिरिने नागरिकलाई सहज बनाउन लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यात्रुले सजिलै टिकट पाएर आआफ्नो घर फर्कन पाएका छन् ।”

दसैँमा नागरिकलाई यात्रामा सहज बनाउनका लागि घटस्थापनादेखि पूर्णिमासम्म हेभी सवारीमा रोक लगाइएको र सवारी जुनसुकै मार्गमा जान सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरुभन्दा यो वर्ष दुर्घटना पनि कम भएको छ ।”

समितिका सभापति दीपकबहादुर सिंहले सडक निर्माण गर्दा नै कम्तीमा १०÷१२ वर्षसम्म मर्मत गर्न नपर्ने गरी गर्नुपर्ने बताउनुभयो । निर्माणाधीन सडकमा धुँवा धुलोका कारण नागरिकले धेरै हैरानी बेहोर्नुपरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “खाना खाँदा खानामै धुलोका कण र पसलेले पसल खोल्दा सामानमा धुलोनै धुलो भइरहेको छ ।”

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँँभर पनि सडक विभाग र यातायत व्यवस्था विभागअन्तर्गतका कार्यालयले नागरिकका गुनासो सुन्ने र सम्बोधन गरेको बताउनुभयो । यो वर्ष तुलनात्मक रुपमा कम सडक दुर्घटना भएको र नागरिकले टिकट नपाउने समस्या कम भएको उहाँको दाबी थियो ।

समितिका सदस्यहरु ठाकुर गैरे, प्रदीप पौडेल, शिव नेपाली, विना लामा, डा. चन्द्रकान्त राउत, दयालबहादूर शाही, निशा डाँगी, कल्पना चौधरी, प्रतिमा गौतम, निर्मला कोइरालालगायतले सडकको खराब अवस्था र सवारी अव्यवस्थित हुँदा नागरिकले सधैँ चाडपर्वको समयमा हैरानी बेहोरिरहेको औँलयाउनुभएको थियो । नारायणगढ–बुटवल, मुग्लिन–नागढुङ्गा, सिद्धार्थ राजमार्गलगायतका सडकमा धेरै समस्या रहेको उहाँहरुले बताउनुभयो । समिति सदस्यहरुले दसैँ मनाउन जाँदा र फर्कँदा सामान्यभन्दा दोब्बर बढी समय लागेको बताउनुभयो ।

समितिले आजै ग्वार्काेस्थित फ्लाई ओभर, विस्तारका क्रममा रहेको कलङ्की–बसुन्धारा सडक र विष्णुमतीस्थित पुलको स्थलगत अवलोकन गरेको थियो ।

हेर्नुहोस् कार्तिक १४ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – भोज भतेर जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ ।

बृष राशि – मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

मीथुन राशि- सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ ।

कर्कट राशि – आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

सिंह राशि – मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

कन्या राशि – हराएको माल सामान फेला पर्न सक्छ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

तुला राशि- सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । बादबीबादको सामना गर्नु पर्नेछ ।

बृश्चिक राशि- मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

धनु राशि – बोलिका कारण दाम्पत्य शुखमा केहि खटपट रहनसक्छ । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला ।

मकर राशि – आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । सामान्य खर्च हुन सक्छ ।

कुम्भ राशि- आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । शत्रु सबल रहलान । आम्दानि क्षेत्र भने मध्यम रहनेछ । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

मिन राशि- पारीवारिक मेल मीलाप बढ्नेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला ।

विभिन्न निर्णय गर्दै जसपाको बैठक सम्पन्न

काठमाडौँ, १३ कात्तिक ः जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले मधेस प्रदेशसभा सदस्यको रिक्त स्थानमा सिराहाकी सञ्जिलाकुमारी यादवलाई निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । साथै ललितपुरको रानीबुमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहनुभएको छ ।

यसैगरी उक्त बैठकले गङ्गाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरेको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “चुरे उत्खनन् गरी निकासी पैठारीसम्बन्धी सरकारकाे निर्णयको पार्टीले बिरोध गर्ने तथा केन्द्रीय कार्यालय समितिको अध्यक्ष भन्ने वाक्यांशलाई अब उप्रान्त केन्द्रीय कार्यालय सचिवको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।”

सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने

काठमाडौँ – लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जनालाई सात दिनभित्र सम्पर्कमा नआए कारवाही गरिने भएको छ ।

कार्यालयमा जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका २२ जना प्रहरीलाई सातदिन भित्रमा हाजिर हुन आउन प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ । अन्यथा उनीहरुलाई सेवाबाट हटाउने कारबाही हुने छ ।” नेपाल प्रहरीको सम्पर्कमा नरहेका प्रहरीमा प्रहरी सहायक निरीक्षक जेम्सहाङ सोदेम्बा, प्रहरी हवल्दार डम्मरनारायण चौधरी, लोकबहादुर गौतम, सहायक प्रहरी हवल्दारमा नारायण पोखरेल, राजकुमार थारु, सुनिता चौधरी, भुपाल क्षेत्री रहेका छन् । यसैगरी प्रहरी जवानमा टोपेन्द्र शाही, विकेश प्रजापति, प्रदीप रोका, श्यामसुन्दर यादव, रामकृष्ण वली, जनकसिंह साउद, राजन राई, विशाल थापा, विश्वप्रकाश विक, युवराज अर्याल, सुजन गुरुङ, हेमराज महतोे, प्रकाश कुँवर, नीरज बढई तथा वसन्त ढकाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता कडायतले बताउनुभयो ।

भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच पक्राउ

काठमाडौँ, १३ कात्तिक : भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरुवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय कारीईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–१५ बस्ने २८ वर्षीय अर्जुन भट्टराई तथा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कतार एयरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरुले भन्सार छली गरी सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ सिनामङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले रु २६ लाख ५१ हजार आठ सय पाँच दशमलव ४७ मूल्य बराबरको तीन थान सुनको ढिक्का (जम्मा तौल दुई सय १४ दशमलव ३६ ग्राम), तीन थान सुनका सिक्री (जम्मा तौल ५० दशमलव .०१ ग्राम) र नगद रु एक लाख १० हजार बरामद गरेको थियो । उनीहरुलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

को ‘सम्माननीय’, को ‘माननीय’ ?

काठमाडौँ – राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिनुभयो । त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा उठेको केही मुख्य विषयवस्तुलाई सम्बोधन गरेको छ ।

विधेयकमा अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई ‘सम्माननीय वा माननीय’ के भनेर सम्बोधन गर्ने भन्ने विषयलाई व्यवस्थित गरिएको छ । यसमा अति विशिष्ट व्यक्तिहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष रहने गरी मर्यादाक्रम मिलाउन प्रस्ताव गरिएको छ जसका पदका अघि ‘सम्माननीय’ भनी सम्बोधन गर्नुपर्ने हुन्छ ।

त्यस्तै ‘विशिष्ट व्यक्ति’का सूचीमा रहेका सङ्घीयमन्त्री र सांसद, प्रदेश प्रमुख–मुख्यमन्त्री–मन्त्री–सभामुख, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्ष, सर्वाेच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख र सदस्य, महान्यायाधिवक्ता, पूर्वअतिविशिष्ट पदाधिकारी तथा संविधानसभाध्यक्ष–उपाध्यक्ष–सदस्यलाई भने पदका अघि ‘माननीय’ शब्दले सम्बोधन गरिनेछ ।

महामहिम

गैरसरकारी विधेयकका रूपमा गोपीबहादुर सार्की आछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिलाकुमारी, डा वेदुराम भुसाल, रमेशजङ्ग रायमाझी र शेखरकुमार सिंहले दर्ता गराएको विधेयकमा विदेशी राष्ट्रप्रमुख, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, संयुक्त राष्ट्र सङ्घ र सार्कका महासचिव, अन्तरसरकारी क्षेत्रीय सङ्गठनका पदाधिकारी र नेपालस्थित विदेशी कन्सुल जनरललाई भने पदका अघि ‘महामहिम’ शब्द प्रयोग गर्न प्रस्ताव गरिएको छ ।

नेपालका राष्ट्रिय झन्डा र राष्ट्रिय गान कहाँ, कुनबेला र कसरी प्रयोग गर्नेजस्ता विषय पनि विधेयकमा व्यवस्था गरिएको छ । यसअघि मर्यादाक्रम गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले बनाउँदै आएको थियो । बेलाबेलामा हुने संशोधनले विद्यमान महत्त्वपूर्ण पदको मर्यादा तल र माथि भइरहने हुँदा अन्योल देखिँदै आएको छ ।

संसद्का पदको गहन अध्ययन नभई मर्यादाक्रम निर्धारण हुँदा केन्द्रका साथै प्रदेश र स्थानीय तह तथा राजनीतिक दल र अन्य सङ्घसंस्थाले गर्ने कुनै विशेष कार्यक्रम, समारोह आदिमा असहज देखिएकाले यस्ता विषयलाई विधेयकले सम्बोधन गर्ने प्रयास गरेको छ ।

राष्ट्रिय झन्डा कसले राख्ने

नेपालको राष्ट्रिय झन्डा कुन कुन व्यक्तिको सवारी साधनमा रहने भन्ने पनि प्रस्तावमा उल्लेख छ । सोअनुसार अतिविशिष्ट व्यक्ति, नेपाल सरकारका मन्त्री, प्रदेश प्रमुख–मुख्यमन्त्री–सभामुख–मन्त्री, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षले सवारीसाधनमा राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने छन् । त्यसको उल्लङ्घन गर्नेलाई कसुरसहितको व्यवस्था गरिएकाले विधेयक अहिलेका सन्दर्भमा निकै महत्त्वपूर्ण सावित हुनेछ । राष्ट्रिय झन्डाको प्रयोग हाम्रो सम्मान र गौरवसँग जोडिएको विषय भएकाले त्यो कहाँ, कसरी र कसले गर्ने भन्नेमा यसअघि स्पष्ट व्यवस्था थिएन ।

प्रारम्भमा प्रस्तावितभन्दा केही महत्त्वपूर्ण पदको मर्यादाक्रम छलफल र संशोधनपछि तल–माथि गर्न प्रस्ताव गरिएको छ । प्रस्तावित गैरसरकारी विधेयकमा प्रधानन्यायाधीशको मर्यादा पाँचौँ नम्बरमा राखिएकामा त्यसमा विधायनसमितिले संशोधन गरी पुनःहाल कायम रहेअनुसारकै ४ नम्बरमा राखेको छ ।

पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिँदैछ : राष्ट्रसङ्घ महासचिव गुटेरेस


काठमाडौँ, १३ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताउनुभएको छ ।सगरमाथा क्षेत्रको अवलोकनका लागि उहाँ आज बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुग्नुभएको थियो । उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

“म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्”, गुटेरेसले भन्नुभएको छ, “हामीले बाढी पहिरो देख्नुपरेको छ । यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ । हामीले यसलाई रोक्न जरुरी छ ।”

जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि आफूले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको उहाँले उल्लेख गर्नुभएको छ । “हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्नसक्नुपर्छ । यसबाट हामी पछि हट्न सक्दैनौँ”, उहाँले भिडियो सन्देशमार्फत् भन्नुभएको छ ।

जङ्गलमा बाँदर भुलाउन फलफूल खेती

भरतपुर (चितवन), १३ कात्तिक : देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको छ । बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वनले जङ्गलमा फलफूलका बिरुवा रोप्न थालेको हो ।

जङ्गलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेपछि जङ्गलमा फलफूल खेती थालिएको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो । “मैले बाँदर रोक्न केही विकल्प देखेको छैन, कि त तारबार लगाएर निश्चित ठाउँमा राख्नुपर्‍यो होइन भने सबै सामुदायिक वनमा फलफूलका बिरुवा रोप्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले त फलफूलका बिरुवा रोप्न सुरु गरेका छौँ ।” १० कट्ठा क्षेत्रफलमा लिचिका ७० र आँपका ८० वटा बिरुवा रोपेको उहाँले बताउनुभयो । यसलाई विस्तार गर्दै लैजाने योजना रहेको गुरुङले बताउनुभयो ।

देवघाट क्षेत्रमा कमलादेवि सामुदायिक वन, सुन झाँक्री सामुदायिक वन, गणदेवि सामुदायिक वन, साँडेबर सामुदायिक वन, देउती सामुदायिक वन, मधु सामुदायिक वन, चक्रवर्ती सामुदायिक वन, बगली सामुदायिक वन, चौकीडाँडा सामुदायिक वनलगायतका ११ वटा सामुदायिक वन छन् । यी वनमा चार हजारको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ । यी बाँदरलाई गाउँ पस्न नदिनका लागि वनमा फलफूलको बिरुवा रोप्नुपर्ने गुरुङको भनाइ छ ।

एक दशकदेखि देवघाट क्षेत्रमा बाँदरले हैरान बनाउँदै आएको छ । बाँदरको त्रास बढ्दै गएकाले यहाँका बाँदरलाई व्यवस्थापन गर्ने विषयमा क्षेत्र विकास समिति र सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीय बताउँछन् । बढीमात्रामा वृद्धवृद्धा र केटाकेटीलाई बाँदरले झम्टिने गरेका छन् । यहाँका घरमा लगाइएका जस्तापाता पनि बाँदर उफ्रेर एक वर्षमै पानी चुहिने बनाइदिन्छन् । यहाँका केही बाँदरलाई दुई वर्षअघि अन्यत्रै स्थानान्तरण गर्ने प्रयास गरिएको थियो । त्यसपछि बाँदरमैत्री पार्क निर्माण गर्ने योजनासमेत बनेको थियो । तर, सफल भएको थिएन ।

“गाउँपालिकाबाट दुई वर्षअघि आहार खानपिनका लागि बाँदर पार्क बनाउने निर्णय भएको थियो । त्यसले पनि भएन । बाहिर लगेर व्यवस्थित गर्नुपर्‍यो भनेर केही बाँदर लगियो । त्यो पनि भएन । अध्यक्ष गुरुङले भन्नुभयो, “बाँदर नियन्त्रणको काम केन्द्रबाट नै पहल गर्नुपर्छ ।” देवघाटका किसानलाई बाँदरबाट खेती जोगाउनसमेत मुस्किल छ । “बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्‍यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, देवघाट–५ देउपुरकी कल्पना थापामगरले भन्नुभयो, “आधा बाँदरलाई आधा आफूलाई हो ।” उहाँले बाँदरको समस्या दीर्घकालीनरुपमा समाधान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।

राष्ट्रसङ्घीय महासचिवको भ्रमणले शान्ति मिसनमा जगाएको आशा

काठमाडौँ – नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हिजो उच्च सरकारी अधिकारी एवं प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रसङ्घ र नेपालबीचको लामो मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्नुभयो । खासगरी नेपालले भोग्दै आएको जलवायु परिवर्तनबाट सिर्जित समस्याप्रति उहाँले गहिरो चिन्ता मात्र व्यक्त गर्नुभएन, आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी सङ्कटको आँधीमा फसेको नेपालजस्तै राष्ट्रलाई अत्यधिक अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र यसका लागि विकसित राष्ट्र अगाडि आउनु जरुरत रहेको उल्लेख गर्नुभएबाट नेपालप्रतिको उहाँको स्नेह प्रष्ट झल्किन्थ्यो ।

उहाँले विगत ३० वर्षमा नेपालले एक तिहाइ हिउँ गुमाएको प्रसङ्गसमेत उल्लेख गर्दै यहाँका हिमनदी उच्चगतिमा पग्लिरहेकामा चिन्ता व्यक्त गर्नुभयो । नेपाल र संयुक्त राष्ट्रङ्घले आपसी सहकार्य गरी काम गर्न खोजेको र यसबाट समस्याको पहिचान र समाधानका लागि अन्तर्राष्ट्रिय सहयोगको सम्भावना खोज्न सहयोग पुग्ने महासचिव गुटेरेसको भनाइले आगामी दिनमा राष्ट्रसङसँग नेपालको सम्बन्धलाई अझ फराकिलो तुल्याउन सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

नेपालको सामाजिक आर्थिक विकासमा राष्ट्रसङ्घको सहयोग उत्तिकै महत्वूर्ण रहेको सन्दर्भमा शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकासका क्षेत्रमा पु¥याएको सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न सहज भएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । राष्ट्रसङ्घको नेतृत्वबाट १५ वर्षपछि भएको नेपाल भ्रमणले निकै महत्वपूर्ण अर्थ राख्दछ । संयोग नै मान्नुपर्छ प्रधानमन्त्री प्रचण्ड नै प्रधानमन्त्री भएका बेला यसअघि महासचिव बान्की मुनले नेपाल भ्रमण गर्नुभएको थियो । विश्वमा इजरायनल र हमासबीच युद्ध चर्किरहेको छ भने लेबनान, सिरियालगायत विभिन्न देश अशान्त बनिरहेका बेला पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणलाई प्राथमिकता दिनु आफैँमा पनि महत्वपूर्ण विषय हो ।

भ्रमणका बेला नेपालका सुरक्षाकर्मीले राष्ट्रसङ्घ मातहत रहेर विश्वका द्वन्द्वग्रस्त मुलुकमा पु¥याउँदै आएको शान्ति स्थापनाका बारेमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा र गृहमन्त्री तथा प्रमुख राजनीतिक दलका नेताहरुसँगको भेटवार्तामा पनि छलफल भएको थियो । यसले आगामी दिनमा थप शान्ति सैनिक पठाउन र युएनका माथिल्लो तहमा पनि नेपाली पदाधिकारीलाई पुग्नका लागि सहज हुने विश्वास गरिएको छ । नेपालको यस भ्रमणले कुनै न कुनैरूपमा नेपालको मुद्दा अन्तर्राष्ट्रिय समुदायमाझ पु¥याउन मद्दत गरेको छ । संयुक्त राष्ट्रसङ्घसँग नेपालको सम्बन्ध खासगरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रिया अनि अन्य आर्थिक–सामाजिक विकासका मुद्दाका कारण गहिरो गरी जोडिएको छ ।

महासचिव गुटेरेसको भ्रमणले आगामी दिनमा विश्व शान्ति स्थापनामा नेपालले पु¥याउँदै आएको योगदानको उच्च कदर हुने वातावरण मिलेको छ । संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्बिलो साथ र सहयोग रहँदै आएको छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्व कल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने संयुक्त राष्ट्रसङ्घको मुख्य उद्देश्य हासिल गर्न नेपाल सुरुदेखि नै सक्रिय रहेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति प्रयासमा शान्ति सेना पठाएर आफ्नो औकातअनुसारको प्रभावकारिता देखाएको छ । संयुक्त राष्ट्रसङ्घको शान्ति सेना कार्यक्रम त्यसको एउटा मुख्य अङ्ग हो । नेपाली सेनाले जटिल खालका द्वन्द्वग्रस्त क्षेत्रमा गएर शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा स्थापनामा छ दशकभन्दा बढी महत्वपूर्ण योगदान गरिसकेको छ ।

विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको योगदान उच्च रहेको छ । नेपाल भौगोलिक हिसाबले सानो, दुई शक्तिशाली छिमेकी राष्ट्रका बीचमा तरुलजस्तै रहेको भए पनि यसको वीरताको गाथालाई कसैले भुलेका छैनन् । पछिल्लो समयमा विश्वलाई चिनाउने गरी नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा काम गरिरहेको छ, जुन नेपालको गौरवको विषय हो । शान्ति सेनामा पु¥याएको योगदानकै कारण नेपालले सन् १९६९ र १९८८ मा दुई पटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य हुने अवसरसमेत पायो । त्यति मात्र होइन, विभिन्न विश्व मञ्चमा नेपालले आफ्नो विश्व शान्ति, मानवअधिकारको प्रत्याभूति र साना राष्ट्रको सवालमा प्रष्टसँग राख्ने अवसर पाएको छ । भगवान गौतमबुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशबाट परिचित नेपाल पछिल्लो ६० वर्षदेखि उत्कृष्ट र अब्बल शान्ति सेनाको देशको नामबाट पनि चिनिन थालेको छ । विश्व शान्ति स्थापनामा सेनाबाट आर्जित शक्तिले विकास गरेको कूटनीतिकै कारण नेपाललाई आज विश्वले चिनेको छ ।

सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै नेपालले खासगरी विश्व शान्तिका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सन् १९५८ मा राष्ट्र सङ्घको विशेष आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेवनानमा पाँच नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । सन् १९७४ मा इजिप्टमा नेपाली सेनाको श्री पुरानो गोरख गण पहिलो पटक कन्टिजेन्टका रूपमा खटिएको थियो । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । सात अगस्ट, २०२२ को तथ्याङ्कअनुसार संसारका १२ मिसनमा पाँच हजार पाँच सय ६८ र नेपाली सेना (जसमा दुई सय ९५ जना महिला) र यीमध्ये एक सय ९४ जना सशस्त्र प्रहरी बलबाट र ४२ जना प्रहरीबाट सहभागी भएका छन् । नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा योगदान दिने दोस्रो देश बनेको छ ।

नेपाली सेनाले १० देशमा शान्ति स्थापना कार्यका लागि तैनाथ ११ विभिन्न मिसनमा सक्रिय सहभागी भई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको छ । यस अवधिमा सेनाले उच्च पदस्थ सैनिक अधिकारीदेखि मिलिटरी कन्टिन्जेन्ट, पर्यवेक्षक र स्टाफ, अफिसर, मेडिकल डाक्टर तथा इञ्जिनियरसम्मका जनशक्तिले विश्व शान्ति स्थापनामा काम गरिसकेका छन् । ती द्वन्द्वरत मुलुकहरुमा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकले पु¥याएको योगदान कम महत्वपूर्ण छैन ।

शान्ति सेनामा सक्रिय सहभागिताले मुलुकको कूटनीतिक इतिहासमा नयाँ इँटा थप्ने अवसर मात्र दिएको छैन, विश्व मञ्चमा आफ्नो उपस्थितिलाई सार्थक तुल्याउने महत्वपूर्ण अवसर पनि प्राप्त भएको छ । नेपालको परराष्ट्र नीतिको मार्गदर्शनका सिद्धान्तमा नै शान्ति र मानव अधिकार रहेकोले द्वन्द्वरत मुलुकमा खटिएर जाने सैनिकले पनि यसलाई नै मूलमन्त्र बनाएका छन् । विभिन्न द्वन्द्वरत देशहरूमा नेपालले पु¥याएको योगदान संसारका शक्तिशाली, वैभवशाली, शान्तिकर्मी राष्ट्रहरूले नजिकबाट हेरिरहेकाले नेपाललाई ती देशहरूमा आफ्नो शान्तिप्रति प्रतिबद्धताको छवि विस्तार गर्ने राम्रो अवसर मिलेको छ । नेपालको परराष्ट्र नीतिको एउटा मुख्य आधार भनेको संयुक्त राष्ट्रसङ्घमा खेल्ने भूमिका हो । शान्ति सेनामा ठूलो सङ्ख्यामा भाग लिनुले नेपालको परराष्ट्र नीतिमा राम्रो सफलता भएको छ । राष्ट्र सफल हुन आन्तरिक र परराष्ट्र नीति दुवैमा सफल हुनुपर्छ । यी दुवै एकै सिक्काका दुई पाटा हुन् ।

विश्व शान्ति र मानव अधिकार संरक्षणमा सैनिक योगदानकर्ताका रूपमा नेपाल दोस्रो स्थानमा छ । नेपालबाट नेपाली सेनातर्फ छ हजार ६४, नेपाल प्रहरीबाट ४४ र सशस्त्र प्रहरी बलका एक सय ९४ जना गरी कुल छ हजार दुई सय ९९ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटिएका छन् । यो सङ्ख्या केबल पहिलो मुलुक बङ्गलादेशले पठाएका सुरक्षाकर्मीभन्दा ९८० ले मात्र कम हो ।

शान्ति मिसनमा महिला सैनिकतर्फ उच्च योगदान दिने राष्ट्रहरुको सूचीमा भने नेपाल विश्वमै एक नम्बरमा रहेको छ । नेपालले विश्वकै सबैभन्दा धेरै छ सय १२ जना शान्ति सैनिकमा पठाएको छ । पहिलो नम्बरमा रहेको बङ्गलादेशले पाँच सय ६६ र तेस्रोमा रहेको भारतको एक सय २५ जना महिला शान्ति सैनिक रहेका छन् । नेपाल सरकारले अब १० हजार शान्ति सैनिक पठाउने तयारी गरेको छ । नेपाली सैनिकको माग उच्च छ, जतिखेर पनि फेरि माग हुने भएकाले थप सैनिक पठाउन सक्ने गरी तयारी अवस्थामा रहेको सरकारको भनाइ छ । यदि त्यति सङ्ख्यामा नेपाली सैनिकलाई पठाइएमा नेपाल पहिलो स्थानमा आउन सक्ने अवसर रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा पहिलो नम्बरको देश हुन सकेको अवस्थामा नेपालको आर्थिक, राजनीतिक र कूटनीतिक महत्व निहीत हुन्छ । आर्थिकरुपमा त्यहाँ खटिने सैनिकले पाउने पारिश्रमिकले उनीहरुको आर्थिकस्तरमा सुधार ल्याउन मद्दत नै पुग्दछ । राजनीतिक दृष्टिले विश्व शान्तिमा व्यावहारिकरुपमै योगदान दिनसक्ने हैसियतमा नेपालको वर्चस्व बढ्छ । कूटनीतिकरुपमा राष्ट्रसङ्घको महासभामा सुरक्षा परिषद्को अस्थायी सदस्यमा चुनाव लड्न थप बल पुग्छ । पछिल्लो समय कूटनीतिकरुपमा लबिङ गर्न नसक्दा महासभाको सभापति र सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि भएका निर्वाचनमा पराजय भोग्नुपरेको तीतो अनुभव छ ।

द्वन्द्वरत मुलुकमा शान्ति स्थापना नेपाली सेनाले प्रस्तुत गर्दै आएको कार्यकुशलता र व्यावसायिक दक्षताको राष्ट्रसङ्घले प्रशंसा गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हालै संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा विश्व शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय बन्दै गएको बताउनुभएको छ । उहाँले विश्व शान्ति स्थापनामा नेपाल महत्वपूर्ण साझेदार रहेको र यो साझेदारी युगौँसम्म कायम रहने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

तातोपानी कुण्डमा डुब्न भीड : छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको निको हुने जनविश्वास

गलेश्वर (म्याग्दी), १३ कात्तिक : दसैँ सकियसँगै प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा उपचारका लागि आएको बिरामीको भीड लागेको छ ।बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काका अनुसार दैनिक दुई सयको हाराहारीमा तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिनका लागि नेपालको विभिन्न ठाउँबाट बिरामीहरु यहाँ आएका छन् ।

वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । “यो सामान्य अवस्था हो, चिसो बढेसँगै बिरामीको पनि चाप बढ्छ । बिरामीको चाप बढेपछि दैनिक दुई/दुई घण्टाका दरले पुरुष र महिलालाई दुई/दुई वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाएका छौँ”, सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

“अब तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिन आउनेहरुको चाप बढ्छ, चिसो बढेसँगैे बिरामीको अतिरिक्त पर्यटकको पनि यहाँ आउने गर्दछन्”, अध्यक्ष खड्काले भन्नुभयो, “सहजरूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरकफरक समय तालिका बनाएका हौँ ।”

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा तीन सय ५० देखि चार सयले स्नान गर्नसक्ने क्षमता छ । छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एकपटकका लागि प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।

एक दिनमा दुई पटक दुई/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच/दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । विगत १३ वर्षदेखि सरस्वती माविका १६ जनामध्ये चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु एक लाखका दरले सहयोग गर्दै आएको छ ।

नेपाललाई लगानीको गन्तव्य बनाउन आवश्यक छ – पूर्व अर्थमन्त्री

चितवन, १३ कात्तिक ः पूर्वअर्थमन्त्री महेश आचार्यले देशको अर्थतन्त्रमा सुधार ल्याउन अभियानाका रूपमा आर्थिक सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक गराउने खालको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

“जुन अभियानले लगानीका गन्तव्य नेपाल बनोस् । देशभित्रका उद्यमी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न सजिलो बनाउने गरी सरकारले नीति निर्माण गरोस् पूर्वअर्थमन्त्री आचार्यले भन्नुभयो, “लगानीकर्तालाई लगानीका लागि हिन्दूस्तान, चीन, बङ्गलादेश र श्रीलङ्का जानुभन्दा नेपालमा सजिलो छ भन्ने वातावरण बनाइ लागनीको गन्तव्य बनाउन सिङ्गो देश लाग्नुपर्छ ।”

राजनीतिक स्थिरतासँगै जिम्मेवार सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो “ मुलुकमा लगानी बढाउन र समुदायको आयआर्जनलाई फराकिलो बनाउन आवश्यक छ । जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”

निर्यात साँघुरो बन्दै गएको, आयातमा निर्भरता बढ्दै गएको र राजस्व परिचालन अपेक्षाअनुसार हुन नसक्दा खर्चको संरचना नियन्त्रण बाहिर जान खोजेजस्तो देखिएको उहाँको भनाइ थियो । चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा असन्तुलन बढेको उहाँले बताउनुभयो ।

शुक्लाफाँटामा चाडपर्वसँगै भ्रमणका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि

महेन्द्रनगर (कञ्चनपुर) १३ कात्तिक- विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ तिहार लगायतका चाडपर्वमा अवलोकन भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको छ ।

हरेक वर्ष वर्षाका केही महिना बन्द रहने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कात्तिक महिना सुरु भएसँगै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका निमित्त कार्यालय प्रमुख प्रमोद यादवले कात्तिक महिनाको १२ गते आइतबारसम्म मात्रै शुक्लाफाँटामा चार सय १४ पर्यटकले अवलोकन भ्रमण गरेको जानकारी दिनुभयो ।“यो महिनाको हालसम्म ३५ जीप सफारीभित्र भएको देखिन्छ ।”

यादवले भन्नुभयो, “कात्तिक महिना सुरु भएसँगै पर्यटक आउने क्रम बढ्दै गएको छ ।” शुक्लाफाँटामा वन्यजन्तु हेर्न फागुनदेखि जेठसम्म उपयुक्त समय भए पनि यहाँ असोजदेखि नै पर्यटक आगमन सुरु हुन्छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गे, ३६ वटा पाटे बाघ, १७ भन्दा बढी गैँडा, चार सय ५० प्रजातिभन्दा बढीका चराचुरुङ्गीको बासस्थान हो ।

साथै मुलुककै ठूलो घाँसे मैदानमा देखिने बाह्रसिङ्गेको झुण्ड यहाँको प्रमुख आकर्षण हो ।आइतबारसम्म यहाँ चार सय १० आन्तरिक र चार विदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । “गत असोजमा आन्तरिक तथा बाह्य गरी २८ मात्रै पर्यटक यहाँ घुम्न आएका थिए ।” यादवले भन्नुभयो, “प्रायः असोजसम्म पानीले गर्दा फाँट पुग्न बाटोको असहजताले पर्यटक आउन कमै हुन्छ ।”

धनगढी, महेन्द्रनगरलगायत घर भई दसैँ–तिहार बनाउन घर बिदा आउने अधिकांश स्थानीय पनि बिदाको सदुपयोग गर्दै शुक्लाफाँटा, झिलमिला ताल, बेदकोट ताल लगायतका पर्यटकीय क्षेत्रमा घुम्न जाने गर्दछन् । दसैँ र तिहारकोे समयमा आन्तरिक पर्यटकीय गन्तव्यका साथै यहाँबाट गड्डाचौकी नाका हुँदै भारत उत्तराखण्डको नैनिताल घुम्न जाने सङ्ख्या पनि बढी नै हुन्छ ।त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितै जोडिएको नेपालको एक मात्र राना थारु सामुदायिक होमस्टेमा पनि पर्यटक आवागमन सुरु भएको छ । होमस्टेका सचिव चेतराम रानाले चाडपर्वसँगै पर्यटक आउने याम सुरु भएको बताउनुभयो । उहाँले पर्यटक आउने जाने चहलपहल सुरु भएसँगै होमस्टेको कारोबार पनि वृद्धि हुँदै जाने बताउनुभयो ।

“शुक्लाफाँटा, एसियाकै लामो झोलुङ्गे पुलदेखि भाइररोडसम्म यहाँबाट नजिक पर्ने भएकाले होमस्टे पाहुनाका लागि राम्रो गन्तव्य हो ।” रानाले भन्नुभयो, “दिनभरि पर्यटकीय क्षेत्र घुमेर बेलुकी होमस्टेमा थारु परिवारको स्वाद लिदै रात बिताउन पर्यटक आउँछन् ।”उहाँले राना थारु होमस्टेमा वार्षिक दुई हजारदेखि दुई हजार पाँच सयसम्म पाहुना आउने गरेको बताउनुभयो । 

विद्युत महशुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा

चितवन, १३ कात्तिक ः नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग गर्ने दुई सय १४ ग्राहक कालोसूचीमा परेका छन् ।

यस्तै ३९ वटा उद्योग, छ वटा संस्थागत, तीन वटा पानी उद्योगलाई पनि कालो सूचीमा राखिएको छ । लामो समयसम्म बक्यौता रकम नतिर्ने ग्राकलाई कालोसूचीमा राख्ने र दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाईन काट्ने काम सुरु गरिएको उहाँले बताउनुभयो ।

दुई महिनासम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइनकाट्ने काम आइतबारदेखि सुरु गरिएकामा पहिलो दिन विद्युत् महसुल धेरै बाँकी रहेका दस ग्राहकको लाईन काटिएको छ ।

लाइन काटेसँगै कतिपयले रकमसमेत भुक्तानी गरिसकेका छन् । प्राधिकरणका कर्मचारीले विद्युत् मिटरबक्स रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेको हो । इञ्जिनीयर पौडेलले थप्नुभयो “सुरुवातमा विद्युत् महसुल धेरै भएका ग्राहकको लाइन काटिने छ । कम्तीमा रु दसहजारसम्म तिर्न बाँकी रहेका ग्राहकको लाईन काट्ने गरी काम अघि वढाएका छौँ ।”

दुई महिना नाघेका ग्राहकबाट मात्रै रु ३५ करोड ४१ लाख ५३ हजार शुल्क उठ्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । दुई वर्षभन्दा माथिको रु दस करोड ५६ लाख ४४ हजार बक्यौता रकम उठाउन बाँकी रहेकोे छ । कार्यालयले चालु आर्थिक वर्षसम्म रु ४३ करोड ५५ लाख ७८ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको इञ्जिनीयर पौडेलले बताउनुभयो । दुई महिनादेखि छ महिनासम्म महसुल नतिर्ने ग्राहकबाट रु चार करोड ९८ लाख २० हजार, छ महिनादेखि १२ महिनासम्मको महसुल नतिर्ने ग्राहकबाट रु दुई करोड आठ लाख २८ हजार, एक वर्षदेखि दुई वर्षसम्मको महसुल नबुझाउने ग्राहकबाट रु तीन करोड २९ लाख ५८ हजार उठ्न बाँकी रहेको छ ।

कञ्चनजङ्घा आउने पर्यटकलाई अक्सिजन सिलिन्डरको व्यवस्था

फुङ्लिङ (ताप्लेजुङ), १३ कात्तिक (रासस) ः ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय गन्तव्यको भ्रमणमा आउने पर्यटकका लागि फक्ताङलुङ गाउँपालिकाले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरेको हो ।

दसैँ तिहारको समयमा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी पोर्टेबल अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरहरू केबीसी, लोनाक, खम्बाचेन, घुन्सा, सेलेले साथै उच्च हिमाली बस्ती ओलाङ्चुङ्गोला र याङ्मामा उक्त व्यवस्था गरिएको छ ।उच्च क्षेत्रमा अक्सिजनको कमी हुने भएकाले पर्यटकलाई लेक लाग्ने (हाइ अल्टिच्युड) जोखिम बढी हुँदा सो समस्याबाट बच्नलाई पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरिएको फक्ताङलुङ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले सो व्यवस्था गरेसँगै कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई राहत पुगेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । उहाँकाअनुसार आवश्यक परेमा वा आपत्कालीन अवस्थामा तत्काल सजिलैसँग पोर्टेबल अक्सिजन सिलिन्डर प्रयोग गर्न सकिन्छ ।अक्सिजनसँगै उच्च भेगमा चिसो र अक्सिजन कमीका कारण टाउको दुख्नेलगायत स्वास्थ्यमा देखापर्ने समस्याको निदान गर्न वा स्वास्थ्यलाई सन्तुलन राख्न सहयोग पुग्नेखालका औषधिसमेतको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । कञ्चनजङ्घासहित जिल्लाका मुख्य पर्यटकीय गन्तव्यहरू फक्ताङ्लुङ गाउँपालिकामा पर्ने हुँदा पालिकाले पर्यटन प्रवर्द्धन साथै भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढाउने उद्देश्यले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था मिलाएको जनाएको छ ।यता दसैँ तिहारको मौसमसँगै आजभोलि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । असोजदेखि याता ३५० जना विदेशी पर्यटक भ्रमणमा आइसकेको कञ्चनङ्घा संरक्षण व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार कञ्चनजङ्घा भ्रमण गर्न विदेशी पर्यटक आउने क्रम जारी रहेको छ । त्यस्तै आन्तरिक पर्यटक पनि उल्लेख्य सङ्ख्यामा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आइरहेको घुन्सा चोकपोष्टले जनाएको छ । आन्तरिक पर्यटकको भने तथ्याङ्क नराखिएको जनाइएको छ ।

रुकुम पश्चिम जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना

रुकुम, १३ कात्तिक ः जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ । विसं २०४५ मा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो ।

योसँगै जिल्लामा ब्लड बैंकको सङ्ख्या दुई पुगेको छ । यसअघि चौरजहारीमा ब्लड बैंक सञ्चालनमा आइसकेको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार रूपान्तर नेपाल भक्तपुर, मुसिकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिम लगायतका संस्थाको सहयोगमा अस्पतालमा ब्लड बैंक स्थापना गरिएको हो ।

ब्लड बैंकका लागि रूपान्तर नेपालले रु ३० लाख बराबरका विभिन्न १० प्रकारका सामग्री तथा उपकरण सहयोग गरेको छ । रूपान्तर नेपालले ग्रेस मिसन सिङ्गापुरको सहयोगमा ब्लड बैंकका लागि आवश्यक सामग्री मुसिकोट नगरपालिकालाई हस्तान्तरण गरेको थियो भने नगरपालिकाले अस्पताललाई हस्तान्तरण गरेको हो ।

उक्त सामग्री सहयोग पाएपछि कर्मचारी तथा आवश्यक भौतिक संरचनाको व्यवस्थापन गरेर ब्लड बैंक स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बैंकका लागि छुट्टै भवनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । ब्लड बैंक स्थापना भएपछि अब जिल्ला अस्पतालमा आउने रगतको आवश्यकता पर्ने बिरामीलाई सहज भएको छ । अस्पताल स्थापना भएको वर्षौँसम्म पनि ब्लड बैंक नहुँदा रगतको आवश्यकता पर्ने बिरामी मारमा पर्दै आएका थिए । रगतको आवश्यकता सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा बिरामीका आफन्त वा अन्य व्यक्तिलाई गुहारेर पूर्ति गर्ने गरिएको थियो ।

ब्लड बैंक उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र जिल्ला बाहिर जानु नपरोस् भनेर ब्लड बैंक स्थापनाका लागि नगरपालिका गम्भीरताका साथ लागेको जानकारी गराउनुभयो । अस्पतालमा विशेषज्ञ सेवा सुचारु भइरहेकाले रगतको अभाव भएको अवस्थामा नगरपालिका गम्भीर बनेको र त्यसैको फलस्वरूप आज ब्लड बैंक स्थापना गर्न सफल भएको उहाँको भनाइ छ ।

नगरपालिका आफँैले मात्र लगानी गरेर ब्लड बैंक सञ्चालन गर्न सम्भव नदेखिएपछि नगरपालिकाले दातृ निकायलाई गुहारेको उहाँले जानकारी दिनुभयो । ब्लड बैंकस्थापनासँगै रक्तदान सुरु भएको छ । आज पहिलो दिन सात जनाले रक्तदान गरेको बताइएको छ । त्यसमध्ये दुई जना बिरामीलाई रगत चढाइएको छ ।

समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

काठमाडौँ, १३ कात्तिक : जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो ।

आजको बैठकमा सङ्घीय संसदमा पेस हुन लागेका ऐनबारेमा पनि छलफल भएको थियो ।

दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज घुमे

चितवन, १३ कात्तिक ः दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।

उनीहरुले विभिन्न प्रवेशद्धारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन् । भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही समयमा सात सय ३७ पटक जीप सफारी भएको छ ।

उहाँका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन । सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन् । यस क्षेत्रबाट चार सय चार पटक जीप सफारी भएको छ । यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जीप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना बिदेशी र सार्कका १०९ जना र १११ पटक जीप सफारी गरिएको छ । दसैंको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना बिदेशी, सार्क राष्ट्रका तीन जना र जीप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना बिदेशी र १६ पटक जीप सफारी गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एबं दुई पटक जीप सफारी गरिएको छ ।

दसैंको समयमा निकुञ्ज भ्रमण गर्नेहरुबाट रु एक करोड ८५ लाख ४४ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कोरोनाका कारण घटेको पर्यटक विस्तारै बढ्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षहरुको तुलनामा नेपालीसँगै विदेशी पर्यटक बढेको छ ।”

सौराहामा ९० प्रतिशत विदेशी पर्यटक

सौराहामा विदेशी पर्यटकको सङ्ख्या एक्कासी बढेको छ । दैनिक एक हजार पाँचभन्दा बढी विदेशी पर्यटक सौराहा आएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताउनुभयो । कोरोनापछि सबैभन्दा बढी विदेशी पर्यटक अहिले आएका हुन् । अहिले आएका पर्यटकमध्ये तेस्रो मुलुकका ४० प्रतिशत, चिनियाँ ३० प्रतिशत, भारतीय २० प्रतिशत र स्वदेशी १० प्रतिशत रहेका छन् । उहाँको भनाइअनुसार अहिले ९० देखि ९५ प्रतिशत कोठा बुकिङ भएका छन् । आउँदो डिसेम्बर सम्म ७५ हजारले बुकिङ गरिसकेको उहाँले जानकारी दिनुभयो । दसैंको बिदा सकिएसँगै स्वदेशी पर्यटक घटेका हुन् भने एकाएक विदेशी बढेका छन् ।

विभिन्न देशबाट काठमाडौँ आएका विदेशी पर्यटक सौराहा आएका छन् । पोखरा र लुम्बिनीलाई गन्तव्य बनाएका पर्यटक पनि सौराहा आउन थालेका हुन् ।
सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि हात्ती, जीप र डुङ्गा सफारी चलायमान भएका छन् । दैनिक एक ट्रिप गर्न मुस्किल रहेको हात्ती सफारी अहिले तीन ट्रिपसम्म हुन थालेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो । सौराहामा एक सय २५ होटल र ९५ रेस्टुरेण्ट रहेका छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा सात हजार पाँच सय पर्यटक राख्न सक्ने क्षमता रहेको छ । सफारी पर्यटनको हिसाबले विश्वमा चितवन राष्ट्रिय निकुञ्जलाई चिन्ने गरिन्छ । निकुञ्जको प्रवेशद्धारमध्ये धेरै पर्यटक प्रवेश गर्ने क्षेत्र सौराहा हो ।

महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन, फेवातालमा नौका विहार

गण्डकी, १३ कात्तिक : नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुुग्नुुभएको छ ।

आज दिउँसो ४ः३० बजे पुम्दीकोट पुुग्नुुभएका महासचिव गुटेरेसलाई महादेवको विशाल मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा महानगरपालिका-२२ का वडाध्यक्ष हिमलाल बराललगायतले स्वागत गर्नुभएको थियो ।

महासचिव गुटेरेसले यहाँस्थित महादेवको विशाल मूर्तिसँगै यहाँबाट देखिने हिमाली दृश्यावलोकन एवम् फेवातालसहित पोखराको रुचिपूर्वक अवलोकन गर्नुुभएको थियो । महासचिव गुुटेरेसले करिब आधा घण्टा पुम्दीकोटमा विताउनुुभएको समितिका सदस्य मातृका बरालले जानकारी दिनुुभयो ।

जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट अग्लो महादेवको विशाल मूर्ति पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आफूहरूलाई निकै उत्साहित बनाएको मूर्ति निर्माण अभियानका संयोजक एवं पुम्दीकोट विकास समितिका अध्यक्ष बरालले बताउनुुभयो ।

जनस्तरबाट निर्माण गरिएको महादेव विशाल मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माण अघि बढिरहेको बताउँदै बरालले हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको जानकारी दिनुुभयो । समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरी काम गरिरहेको छ ।

देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । पछिल्ला समयमा बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने विश्वास लिइएको छ । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने विसं २०७८ मा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो ।

समितिले वृहत् गुरुयोजनाअनुसार बाँकी कामअघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन, गुरुमहाराज आश्रम निर्माण भइसकेका छन् भने नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिने गरी संरचना निर्माण भइरहेको छ । विशालमूर्ति रहेको स्थान (कैलाश) र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने कार्ययोजनासमेत छ ।

त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, बगैँचाआदि निर्माण गर्ने लक्ष्य राखिएको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्गआदि स्थापना भइसकेको छ भने परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माण गर्ने समितिको सोच छ ।

संयुक्त राष्ट्रसंघका महासचिवको पुम्दीकोटको भ्रमणले यस स्थानका विश्वव्यापी प्रवद्र्धन हुने विश्वास लिइएको निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट पर्यटन विकास समितिका अध्यक्ष बरालले बताउनुुभयो ।

“महासचिव गुटेरेसले पुम्दीकोटको अवलोकनसँगै यहाँबाट देखिने हिमाली दृश्य, फेवातालसहित पोखराको अभिरुचिपूर्वक अवलोकन गर्नुुले यहाँको विश्वव्यापी प्रवद्र्धन भएको छ”, उहाँले भन्नुुभयो, “उहाँको आगमनले हामीलाई हर्षितसँगै थप उत्साहित बनाएको छ ।”

महासचिव गुटेरेसले फेवातालमा नौका विहार गर्नुुभएको छ । उहाँको भ्रमणले पोखराको पर्यटन विश्वव्यापीरुपमा प्रवर्द्धन भएको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुुभयो ।महासचिव गुटेरेस फिस्टेल लजदेखि तालबाराही मन्दिरसम्म पुुगी दृश्यावलोकनसँगै ताल र हिमालबारे जानकारी लिनुुभएको थियो ।
 

बेइजिङद्वारा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् ।बेइजिङको चेतावनी प्रणालीमा दोस्रो सबैभन्दा ठूलो अरेन्ज अलर्ट सहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार दिनसम्म मध्यम वायु प्रदूषण हुँदा जारी गरिन्छ ।

मङ्गलबारदेखि बिहीबारसम्म आपत्कालीन प्रतिक्रिया उपायहरूको शृङ्खला लागू गरिनेछ जसमा व्यापक प्रदूषण फैलाउने सवारी साधनमाथि अनिवार्य यातायात प्रतिबन्ध लगाइने छ ।

बेइजिङ म्युनिसिपल इकोलोजी एन्ड इन्भाइरोमेन्ट ब्यूरोले बालबालिका, वृद्ध, हृदय वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित मानिसलाई घरभित्रै बस्न र अन्य मानिसलाई बाहिरी गतिविधि कम गर्न सल्लाह दिएको छ । ब्यूरोले प्रतिकूल मौसमका कारणले बेइजिङ र छिमेकी क्षेत्रमा धुवाँ देखिएको बताएको छ । मौसम पूर्वानुमानअनुसार बेइजिङमा वायु प्रदूषणको विद्यामान अवस्था शुक्रबार समाप्त हुने अपेक्षा गरिएको छ ।

इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजारभन्दा बढी

गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजार ३०६ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।मृत्यु हुनेमा तीन हजार ४५७ बालबालिका र दुई हजार १३६ महिला रहेको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायली हवाई आक्रमणमा परी २१ हजार ४८ प्यालेस्टिनी घाइते भएका छन् बताइएको छ । गाजा पट्टीमा इजरायलको बमबारीका कारण २५ वटा अस्पतालसेवा स्थगन गर्न बाध्य भएको र २५ वटा एम्बुलेन्सलाई निशाना बनाइएको मन्त्रालयले जनाएको छ ।

अल–कद्राले घाइते प्यालेस्टिनीलाई बचाउन पर्याप्त रगत नभएको बताउँदै गाजावासीलाई अस्पतालमा गएर रक्तदान गर्न आग्रह गर्नुभएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायली सेनाले सुरक्षा दिँदै आएको क्षेत्र र शहरहरूमा गरेको आक्रमणपछि इजरायली आक्रमण सुरु भएको थियो ।

अहिलेसम्म इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भइसकेको छ । इजरायली रक्षा बलका अनुसार हमासको आक्रमणका क्रममा कूल २३९ जनालाई बन्धक बनाइएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए ।

दसैँ तथा शुभदिपावलीको अवसरमा राजविराजमा पन्ध्र दिने मेला सुरु

राजविराज९सप्तरी०, १३ कातिक : दसैँ तथा शुभदिपावलीको अवसरमा पन्ध्र दिने सांस्कृतिक, पर्यटन तथा कृषि व्यापार मेला सोमबारदेखि सुरू भएको छ राजविराजस्थित राजरङ्गशाला खेलमैदानमा सप्तरी युथ नेपालले आयोजना गरेको सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउन ३० भन्दा बढी स्टल रहेको सप्तरी युथका उपाध्यक्ष मोहन यादवले जानकारी दिनुभयो ।

मेलासँगै सांस्कृतिक कार्यक्रम तथा रोटे पिङ्ग, ब्रेक डान्स, नाचसहित दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धनसम्बन्धी स्टल रहने मेला समिति संयोजक सतेन्द्र यादवले बताउनुभयो । यसैगरी मेलामा मिथिलाको संस्कृति, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सवका साथै विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल पनि रहेको छ ।

मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै संयोजक यादवले मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने बताउनुभयो । मेलामा हरेक दिन विभिन्न ब्याण्डको प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना हुने उहाँको भनाइ थियो ।

नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक

काठमाडौँ, १३ कात्तिक : नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले घर छन् ।

नेपालमा एक दशमलव तीन प्रतिशत चारतले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि नौतले र शून्य दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर छन् ।

“मधेस प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत छन् भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् दुई दशमलव ३४ प्रतिशत छन्”, तथ्याङ्क कार्यालयले भनेको छ ।

देशभर कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई दशमलव ९८ प्रतिशत रहेको छ ।

करिब ६२ प्रतिशत परिवारको कुनै एक सदस्यसँग बैंक खाता रहेको छ । “कूल ४१ लाख २२ हजार छ सय ९० अर्थात् ६१ दशमलव ८९ प्रतिशत परिवारमा कम्तीमा एकजना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ”, तथ्याङ्क कार्यालयको विवरणमा भनिएको छ, “यसैगरी कूल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्यामध्ये ७४ लाख नौ हजार एक सय ८१ जना अर्थात् २५ दशमलव ५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको देखिन्छ ।”

यसैगरी, कूल एक करोड ४२ लाख ५३ हजार पाँच ५१ पुरुषमध्ये २६ दशमलव ४२ प्रतिशत र कूल एक करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४ दशमलव ७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको छ ।

देशभरका कूल आठ लाख ३६ हजार एक सय २७ अर्थात् १२ दशमलव ५५ प्रतिशत परिवारमा कम्तीमा एकजना व्यक्तिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन् ।

देशभरका कूल परिवार सङ्ख्यामध्ये २५ दशमलव ५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिन्छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१ दशमलव ९६ प्रतिशत रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ सञ्चालनका क्रममा २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म (पन्ध्र दिन) प्रत्येक व्यक्ति तथा परिवारका बारेमा विस्तृत विवरण सङ्कलन गरिएको थियो ।

काठमाडौँ, १३ कात्तिक : नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले घर छन् ।

नेपालमा एक दशमलव तीन प्रतिशत चारतले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि नौतले र शून्य दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर छन् ।“मधेस प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत छन् भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् दुई दशमलव ३४ प्रतिशत छन्”, तथ्याङ्क कार्यालयले भनेको छ ।देशभर कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई दशमलव ९८ प्रतिशत रहेको छ ।करिब ६२ प्रतिशत परिवारको कुनै एक सदस्यसँग बैंक खाता रहेको छ । “कूल ४१ लाख २२ हजार छ सय ९० अर्थात् ६१ दशमलव ८९ प्रतिशत परिवारमा कम्तीमा एकजना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ”, तथ्याङ्क कार्यालयको विवरणमा भनिएको छ, “यसैगरी कूल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्यामध्ये ७४ लाख नौ हजार एक सय ८१ जना अर्थात् २५ दशमलव ५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको देखिन्छ ।”यसैगरी, कूल एक करोड ४२ लाख ५३ हजार पाँच ५१ पुरुषमध्ये २६ दशमलव ४२ प्रतिशत र कूल एक करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४ दशमलव ७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको छ ।देशभरका कूल आठ लाख ३६ हजार एक सय २७ अर्थात् १२ दशमलव ५५ प्रतिशत परिवारमा कम्तीमा एकजना व्यक्तिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन् ।देशभरका कूल परिवार सङ्ख्यामध्ये २५ दशमलव ५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिन्छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१ दशमलव ९६ प्रतिशत रहेका छन् ।राष्ट्रिय जनगणना २०७८ सञ्चालनका क्रममा २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म (पन्ध्र दिन) प्रत्येक व्यक्ति तथा परिवारका बारेमा विस्तृत विवरण सङ्कलन गरिएको थियो ।

बागमती प्रदेश सरकारद्वारा सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

मनहरी, १३ कात्तिक : बागमती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आइतबार बागमती प्रदेश सरकारले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजालसमा रिट दायर गरेको हो ।

प्रदेश सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले रिट दायर गरेको हो । बागमती प्रदेश सरकार सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ को विरुद्धमा सर्वोच्च अदालत पुगेको हो ।

प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । उहाँले दायर गर्नुभएको रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय संसद् सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण, सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीलाई विपक्षी बनाइएको छ । संविधानले दिएको अधिकारमाथि हस्तक्षेप गर्दै सङ्घीय संसद्बाट सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ पारित गरेको प्रदेश सरकारको दाबी रहेको छ ।

प्रदेश सरकारले दायर गरेको रिट निवेदनमा सङ्घीय संसद्बाट जारी गरिएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ का नाममा रहेको व्यवस्थापन भन्ने शब्द, प्रस्तावनामा रहेको सहरी क्षेत्रमा सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रु मैत्री, विश्वसनीय लागतप्रभावी र सुरक्षित बनाई व्यवस्थापन, विकास तथा विस्तार गर्ने भन्ने विषय संविधानसँग बाझिएको प्रदेश सरकारले दायर गरेको रिट निवेदनमा दाबी गरिएको छ ।

उक्त ऐन नेपालको संविधानसँग प्रत्यक्ष रुपमा बाझिएको हुँदा बाझिएको हदसम्म नेपालको संविधानको धारा १३३ (१) बमोजिम प्रारम्भ भएको मितिदेखि अमान्य र बदर घोषित गरी पाऊँ भनी मागदाबी गरिएको छ । रिट निवेदनमा उत्प्रेषण, परमादेश, आदेश जारी गरी संविधान र संविधानले नै प्रदेश सरकारलाई दिएको अधिकार संरक्षण गरी पाऊँ भनी माग गरिएको छ ।

प्रदेश सरकारले प्रदेशभित्र यातायातसम्बन्धी व्यवस्थापनको संविधानप्रदत्त अधिकार पाएकामा काठमाडौँ उपत्यकाको तीन जिल्लालाई बागमती प्रदेशबाट झिकी, अलग गर्न खोजेपछि बागमती प्रदेश सरकार सर्वोच्च अदालत पुगेको हो ।

काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायात सञ्चालन व्यवस्थापनसम्बन्धी सम्पूर्ण अधिकार सङ्घीय सरकार मातहत रहने गरी ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९’ बनाई सङ्घीय संसद्बाट पारित गराई लागू गराउन खोजेको छ । सो ऐनअनुसार उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातको समग्र व्यवस्थापन सङ्घीय सरकारले सो कानुन अनुसार गठन गर्ने प्राधिकरण मातहत ल्याएको उक्त ऐनको प्रस्तावना र यसको उद्देश्यबाट देखिने रिट निवेदनमा उल्लेख गरिएको छ ।
 

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने निर्णय

काठमाडौँ, १३ कात्तिक : नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उहाँले बताउनुभयो ।

यस्तै, पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैत्रमा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने भएको छ । गत साउनमा गरिएको पार्टी सदस्यता अभियान र नवीकरणमा करिब पाँच लाख ५० हजार पार्टी सदस्यता पुगेका छन् ।केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनेछन् । यस्तै साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई पनि खुला गर्ने निर्णय गरेको विभागका सचिव ढुङ्गेलले जानकारी दिनुभयो । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न पाउनेछन् । यसैगरी, पार्टीले विभिन्न कारणले कारबाहीमा परेकालाई लिखित रुपमा आत्मालोचना गरेको अवस्थामा पार्टी काममा फर्काउने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

कोइलाको अभावमा सिमेन्ट उत्पादन बन्द

मकवानपुर १३ कात्तिक : हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिनुभयो ।

उहाँले आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताउनुभयो ।उहाँले आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताउनुभयो । कूल तीन लाख बोरा सिमेन्ट काठमाडौँलगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ । चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ ।

कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उहाँले बताउनुभयो । विसं २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले विसं २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिकरुपमा उत्पादन सुरुआत गरेको थियो । सो उद्योगमा करिब तीन सय ९० कर्मचारी कार्यरत रहेका छन् ।

नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै

काठमाडौँ, १३ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपाललले अब पहिला फिल्डिङ गर्ने भएको हो ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुआत गर्न चाहन्छ । यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।

गौशालामा गौमूत्र प्रशोधन गर्न ‘प्लान्ट’ जडान

वालिङ (स्याङ्जा), १३ कात्तिक ः स्याङ्जाको भीरकोट नगरपालिका–८ स्थित छोरेडाँडा गौशालामा गौमूत्र प्रशोधन गर्नका लागि ‘प्लान्ट’ जडान गरिएको छ ।

स्थानीय जातका गाईको गहुँत तथा गोबर धार्मिक र वैज्ञानिक दृष्टिले समेत उपयोगी रहेकाले यसलाई प्रशोधन गरी प्रयोग गर्ने ध्येयले प्लान्ट जडान गरिएको छोरेडाँडा गौशाला व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त खनालले बताउनुभयो ।
“स्थानीय जातको गाईको गौमूत्रको महत्व बुझ्न नसक्दा यसै खेर गइरहेको थियो”, उहाँले भन्नुभयो, “यसको महत्वलाई दृष्टिगत गरी बुटवलबाट अत्याधुनिक प्रशोधन मेसिन खरिद गरी ल्याएर प्रशोधन थालेका छौँ ।”

छाडा छाडिएका गाईका कारण खेतीबाली नष्ट गर्ने, बजारमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएकाले गाईको व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको थियो । गौशाला सञ्चालनका लागि पनि आर्थिक पाटोलाई बलियो बनाउनुपर्ने आवश्यकता देखिएसँगै गौमूत्र प्रशोधन प्लान्ट जडान गरी ब्यावसायिक उत्पादन थाल्ने तयारी गौशालाको रहेको उहाँले जानकारी दिनुभयो ।

गाईको गौमूत्र मानव स्वास्थ्यका लागि लाभदायक रहेकाले यसलाई थप प्रशोधन गरेर प्रयोग गर्न लागिएको गौशालाका संरक्षक छायाराम खनालले बताउनुभयो । “विशेष गरी स्थानीय जातको गाईको गहुँत तथा गोबर मानव स्वास्थ्यमा औषधीय गुण हुन्छ भन्ने धार्मिक र वैज्ञानिक दृष्टिले पुष्टि गरिसकेका छन्”, उहाँले भन्नुभयो, “मानव स्वास्थ्यसँगै बालीनालीमा विषादी र जैविक मलको रुपमा प्रयोग गर्न सकिने भएकाले यो बहुउपयोगी छ ।”

गौमूत्र धार्मिक दृष्टिले धेरैले प्रयोग गरे तापनि स्वास्थ्यका दृष्टिले उपयोगी हुने जानेर पनि प्रयोग गर्ने विधिका बारेमा अनभिज्ञ भएकाले प्रयोगकर्तालाई विज्ञहरुको सहयोगमा जानकारी गराउने योजना गौशालाको छ ।

गौमूत्रको उपयोगिताको बारेमा स्थानीय समुदायलाई जानकारी गराउने र प्रशोधित गौमूत्र स्थानीयस्तरमै खपत गर्ने योजना गौशालाको छ । स्थानीयस्तरमा खपत भएर रहेको प्रशोधित गौमूत्रलाई आफ्नै छुट्टै ब्राण्डमार्फत अन्यत्र पठाउने तयारी रहेको उहाँ बताउनुहुन्छ ।

प्रशोधित गौमूत्र बिक्री गर्ने, गोबरलाई प्रशोधन गरी सुगन्धित अगरबत्ती बनाउने, गोबरबाट अर्गानिक गड्यौले मलको व्यावसायिक उत्पादन गरी बिक्री गर्ने तयारीसहित काम भइरहेको छ ।

गौशालामा अर्गानिक उद्योग स्थापनासँगै नमूनाको रुपमा विकसित गर्दै लगिने उहाँले दाबी गर्नुभयो । पछिल्लो समय गौशालामा दाताले शुभकार्य, पितृकार्य तथा जन्मोत्सवमा आर्थिक सहयोग गर्न थालेकाले सञ्चालनमा सहज हुँदै आएको छ ।

महासचिव गुटेरेसको प्रतिक्षामा पर्यटकीय नगरी पोखरा

गण्डकी, १३ कात्तिक ः आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ«ेसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा ।

पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखरा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसजस्तो अतिविशिष्ट व्यक्तिको स्वागतको पर्खाइमा छ ।

नेपालको औपचारिक भ्रमण रहनुभएका महासचिव गुटेरेसको भ्रमण तालिकामा पोखरा पर्नुले पोखरेलीहरू गौरवान्वित बनेका छन् । महासचिव गुटेरेस दिउँसो आउनुहुने कार्यक्रम रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुुभयो ।

महासचिवको भ्रमण पोखरेलीका लागि ठूलो गौरवको विषय भएको उल्लेख गर्दै महानगर प्रमुख आचार्यले आफूहरू उहाँको भव्य स्वागतको प्रतिक्षामा रहेको बताउनुभयो ।

कार्यक्रमअनुसार महासचिव गुटेरेस नेपाली सेनाको विमानबाट पोखरा आउनुहुनेछ । उहाँ सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण हुनेछ । विमानस्थलको १ नं वे मा विमान अवतरण भएसँगै उहाँलाई सोही स्थानमा पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्वागत गर्नुुहुनेछ ।

यसपछि महासचिव गुटेरेसलाई विमानस्थलभित्रै गण्डकी प्रदेशका पर्यटन, उद्योग, बन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश प्रमुख सचिवलगायत १६ उच्च पदस्थ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ ।

विमानस्थल परिसरमा पोखराको संस्कृति झल्कने झाँकीसहित पोखरेलीवासीका तर्फबाट उहाँको भव्य स्वागत गर्ने कार्यक्रम तय भएको महानगरप्रमुख आचार्यले जानकारी गराउनुुभयो ।

महासचिव गुटेरेसको पोखरा आगमन पोखराको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि विशेष महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुुभयो । आफूहरू महासचिवको स्वागतको पर्खाइमा रहेको जनाउँदै उहाँले पोखरासहित यस क्षेत्रको मौलिकता झल्कने किसिमका झाँकीहरू प्रस्तुत गर्न लागिएको बताउनुभयो ।

महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

महासचिव गुटेरेस मङ्गलबार बिहान ६ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जानुहुने बताइएको छ । अन्नपूर्ण आधार शिविरमा छोम्रोङ पर्यटन समितिले उहाँको स्वागतका लागि तयारी गरेको सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।

महासचिव गुटेरेसलाई परम्परागत पोसाकमा सजिएका महिलाले माला लगाएर स्वागत गर्ने तयारी गरिएको जनाउँदै उहाँले आफूहरू स्वागतका लागि आतुर भएको बताउनुभयो ।

भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

भोजपुर, १३ कात्तिक ः भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो ।

दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ पुग्ने गरेका छन्् । यो स्थानमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक मेलासमेत लाग्ने गरेको छ । मानिस आफ्नो आफ्ना कुलपित्रृको सम्झनामा सत्बिज छर्नको लागिसमेत पुग्ने गरेका छन् ।

मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँसमेत छ । केही समयअघिसम्म यहाँ ऋषीहरुसमेत बस्ने गरेका थिए । भाकल पूरा गर्नको लागि यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ ।

यहाँ लाग्ने मेलामा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाटसमेत दर्शनार्थी आउने गरेका छन् । यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यको अवलोकन गर्न मानिस पुग्ने गरेका छन् ।

मेलाबाहेक अन्य समयमा समेत दर्शन तथा पञ्चबलि गर्नको लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । मन्दिर रहेको स्थानबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्सेलगायत आठ हजार मिटर अग्ला छ वटा र अन्य ३३ वटा हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

यो क्षेत्र भएर नेपाल सरकारको गुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गसमेत विस्तार भएको छ । मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ

ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीय हीरालाल लुइँटेलले बताउनुभयो । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने उहाँको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्थको प्रष्ट दृश्यसमेत देख्न सकिन्छ ।

“टेम्केसिद्ध एउटा पवित्र धार्मिक तथा पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो, “यो ठाउँको धार्मिक महत्वको विषयमा प्रचारप्रसार हुन सकेको छैन । यसको महत्वलाई उजागर गरेर थप विकास गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ ।”

संरक्षणको अभावमा बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन् । प्राकृतिक सौन्दर्यता नियाल्दै धार्मिक दर्शनको लागि अहिले मानिस दैनिकजसो आउने गरेको टेम्केडाँडामा गोठपालन गर्दै आउनुभएका गणेश विष्टले बताउनुभयो । मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकोले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ ।

“दर्शनको लागि यहाँ धेरै मानिस आउने गरेका छन्”, विष्टले भन्नुभयो, “खासमा मन्दिरको महत्वलाई मानिसले बुझ्न नसकेको जस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिरको संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।”

मानिसको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको स्थानीयको भनाइ छ । मन्दिरमा लगाइएको घेराबारा भत्किन थालेका छन् । आसपासमा चरण क्षेत्र भएकोले यहाँ गाईबस्तुसमेत भित्र पस्ने अवस्था रहेको स्थानीयवासीको भनाइ छ ।

यहाँ रहेको मन्दिरमा सल्लाको काठलाई फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानीसमेत चुहिने गरेको स्थानीयवासी शिवकुमार विष्टले बताउनुभयो । “यो पाथीभराजस्तै उचाइमा रहेको धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “तर यो स्थानको प्रचारप्रसारसँगै संरक्षणको काम हुन सकेको छैन । राज्य तहबाट यस्ता ठाउँको विकासमा ध्यान दिन आवश्यक छ ।”

मन्दिरको संरक्षण विकासको लागि काम गर्ने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको विकासमा ध्यान दिने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।

“टेम्के आफैँमा एक धार्मिकसँगै पर्यटकीयस्थल हो”, उपाध्यक्ष राईले भन्नुभयो, “तर यो ओझेलमा परेको छ । यहाँ दैनिकजसो मानिसको आवगमन हुन्छ । धार्मिक पर्यटनसँग जोडेर थप संरक्षणसँगै प्रचारप्रसारमा ध्यान दिन्छौँ ।”

यो स्थानलाई जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्नसके प्राकृतिप्रेमीको लागि यो उत्तम गन्तव्य बन्न सक्ने धार्मिक तथा पर्यटकीय क्षेत्र विज्ञहरु बताउँछन् ।

‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो झोलुङ्ग पुल अन्तीम चरणमा

बलेवा (बागलुङ), १३ कात्तिक ः ‘सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालीगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ ।

बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्ने गरी सिङ्गल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी चार वर्ष पहिला एक टापुदेखि अर्को टापु सीधा जोड्ने विश्वकै लामो पुल तयार भएको थियो । पाँच सय ६७ मिटर लामो पुलको बागलुङ नगरपालिकाले गण्डकी स्वर्णीम झुला नामकरण गरेको छ । लामो पुल तयार भएको चार वर्षपछि बागलुङकै बागलुङ –४ देखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने गरी दोस्रो लामो पुल तयार भएको हो ।

झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदीमाथि पुल बन्ने क्रम जारी छ । बागलुङ–४ गौरीधामदेखि पर्वतको जलजला –८ नाग्लिवाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको हो । पाँच सय २४ मिटर लामो एक सय ८५ मिटर अग्लो सिङ्गल स्पानको विश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने पुल निर्माण गरिरहेको निर्माण कम्पनी प्रतिनिधि वसन्त घर्ती मगरले बताउनुभयो ।

अहिले निर्माण भएको पुलले पर्वत र बागलुङ लामो यात्रा छोटिने छ । यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषिउपज बिक्री वितरण गर्नसमेत सहज हुने स्थानीय बताउँछन् । २०७९ भदौ ४ गते सो पुल निर्माण थालनी भएको थियो । काम सुरु भएको एक वर्षभित्र करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । पुल निर्माण गर्न रु आठ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माणको म्याद झण्डै एक वर्ष बाँकी रहेको छ । पुल निर्माण गर्नका लागि पुलको मुखमा पर्ने जग्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले करिब पाँच आना जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो ।

बागलुङ –१ बाङ्गेचौरदेखि पर्वत पाङ जोड्ने विश्वकै सबैभन्दा लामो पाँच सय ६७ मिटरको झोलुङ्गे पुल चार वर्ष अगाडि नै बनिसकेको छ । यसभन्दा अघि स्विट्जरल्याण्डमा चार सय ९७ मिटर लामो सिङ्गल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो रहेको थियो ।

बेथितिविरुद्ध मोर्चा बनाए लड्नुपर्छ– नेत्री पौड्याल

काठमाडौँ, १३ कात्तिक : नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउनुहुन्छ । ‘सांसदसँग रासस संवाद’ मा उहाँले लामो समयसम्मको राजनीतिक सङ्क्रमणले विभिन्न विकृतिविसङ्गति र अनियमितालाई मलजल गरेकाले छिटो आवश्यक कानुन निर्माण गरी त्यस्ता बेथितिविरुद्ध मोर्चा बनाए लड्नुपर्नेमा जोड दिनुभयो ।

सांसद पौड्याल भन्नुहुन्छ “देश परिवर्तनका संवाहक प्रमुख राजनीतिक शक्ति एकार्कालाई आरोपप्रत्यारोप नगरी साझा शत्रुविरुद्ध अहिले खरो भएर उत्रनुपर्छ, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्नुपर्छ ।”

नेपाल विद्यार्थी सङ्घ भोजपुरका जिल्ला सदस्यबाट विसं २०३५ मा प्रवेश गर्नुभएका नेत्री पौड्याल लामो समयसम्म नेपाल महिला सङ्घ सुनसरीका सल्लाहकार रहनाका साथै नेपाल टे«ड युनियन कांग्रेसमा सक्रिय रहनुभयो । नेपाल बाल सङ्गठनमा १७ वर्ष केन्द्रीय सदस्य भई काम गरेको अनुभव सम्हाल्नुभएका उहाँ नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य पनि हुनुहुन्छ । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित पौड्याल हाल नेका केन्द्रीय सदस्य हुनुहुन्छ ।

सङ्घीय संसद्मा अहिले राजनीतिक परिवर्तनका लागि एक ढिक्का भएर लडेका सहयात्रीकै वर्चस्व रहेकाले छिटो कानुन बनाएर कार्यान्वयनमा लैजाने विषयमा पनि तिनको जोडबल हुनुपर्ने आँैल्याउनुभयो । विधायक पौडेलले संविधान जारी भएपछि तत्काल ऐन÷कानुन निर्माणमा भएको ढिलाइका कारण सङ्क्रमणकाल लम्बिन गई उब्जेका अनेकौँ समस्या सम्बोधन गर्ने सिलसिलामा भएका कतिपय सहमतिले सुशासनलाई चुनौती दिएकाले छिटो कानुन तर्जुमा गरी त्यस्ता समस्यालाई किनार लगाउनुपर्नेमा जोड दिनुभयो ।

सदनमा आफ्नो पहिलो प्रवेश भएकाले सुरुदेखि नै त्यहाँ हुने गतिविधिलाई आफूले गहिरोसँग नियालिरहेको बताउँदै सांसद पौड्याल भन्नुहुन्छ, “विषयगत समिति गठनमा ढिलाइ भयो, अनि लामो समय सदन अवरुद्ध भयो, विधेयक आएनन्, त्यसकारण सोचे जति कानुन निर्माणको काम हुन सकेन ।”

विधायकको मुख्य जिम्मेवारी कानुन निर्माण र जनताको आवाज सदनमा बुलन्द गर्ने नै भएकामा आफू स्पष्ट रहेको बताउँदै उहाँले विगतको सशस्त्र द्वन्द्वबाट नागरिकमा परेको असर र भोग्नुपरेको दुःखलाई राहत प्रदान गर्नसमेत कानुन ल्याउन नसकिएको स्विकार्नुभयो ।

कानुन निर्माणलाई तीव्रता दिनुपर्नेमा त्यसअनुरूप दौडन नसकेर आलोचित हुनुपरेको घटना सुनाउँदै नेत्री पौड्यालले भन्नुभयो “सुरुका तीन महिना सरकार गठन र विघटनमै बित्यो । त्यसले सदनका कामकारबाहीलाई असर पु¥यायो । विधेयकमाथि छलफल गर्न पाइएन, कानुन निर्माणमा पछि परियो ।”

गत ११ महिनामा कम्तीमा १० विधेयक पारित गरिसक्नुपर्ने कार्यभार पूरा हुन नसकेको बताउँदै उहाँले बाँकी अवधिमा तर्जुमा गरिसक्नुपर्ने कानुनको जिम्मेवारी पूरा गर्न ठूलो चुनौती रहेको प्रतिक्रिया दिनुभयो ।

समयमै कानुन निर्माण भएमा आफ्नै कार्यकालमा बनेका कानुनको प्रभावकारिता, गुणस्तर र कमजोरीको परीक्षण गर्ने अवसर प्राप्त हुने बताउँदै सांसद पौड्यालले त्यस आधारमा गएको कार्यकाल मूल्याङ्कनका हिसाबले मध्यमसमेत बन्न नसकेको स्पष्ट गर्नुभयो ।

प्रतिनिधिसभा, उद्योग वाणिज्य तथा उपभोक्ताहित समितिका सदस्य उहाँ भन्नुहुन्छ, “चाडबाडका मुखमा हुने मूल्यवृद्धि र कालोबजारीबाट सर्वसाधारण जनता महँगीमा तथा न्यून तलब ज्यालाका कारण श्रमिक अप्ठेरामा छन् । कृषक समयमा मल, बीउ पाउँदैनन् । उनीहरूलाई कहीँकतै राहत छैन, कहिले र कसले दिने ?”

एक प्रश्नका जवाफमा सांसद पौड्यालले भन्नुभयो, “सदनमा सांसदको उपस्थिति कमजोर भएर बैठक स्थगन हुने स्थिति एउटा जनप्रतिनिधिलाई सुहाउँदो कुरा होइन, यसले सांसद र संसद्को गरिमालाई घटाएको छ । मैले दलभित्र यो कुरा धेरै पटक उठाएकी छु ।”

सदनभित्रका सबै गतिविधि सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण हुने भएकाले जनताले आफूहरूलाई नजिकबाट नियालिरहेको जनाउँदै उहाँले जनप्रतिनिधिले नै व्यवस्थाप्रति वितृष्णा फैलाउने र जनतालाई निरास बनाउने बोली, व्यवहार र प्रस्तुति दिन नहुने सुझाव दिनुभयो ।

वर्गीय राजनीतिका विषय उठाएर आएका वामपन्थी राजनीतिक दलले समेत जातविशेषको एजेन्डा अघि सारेकामा आफूलाई कति चित्त नबुझेको बताउँदै नेत्री पौड्यालले त्यसले विविधतायुक्त जातीय सद्भावमा खलल तुल्याएको प्रतिक्रिया दिनुभयो ।

एक प्रसङ्गमा उहाँले भन्नुभयो, “प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गरी दुवै निर्वाचन प्रणालीमा रहेको सदस्य सङ्ख्या घटाउनमा मेरो सहमति छ । समानुपातिक प्रणालीमा सुधार गर्दै महिलालाई भने भूगोलमा बढीभन्दा बढी उम्मेदवार खडा गराउनुपर्छ ।”
 

महासचिव गुटेरेस सगरमाथा क्षेत्र जादै

काठमाडौँ, १३ कात्तिक ः नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जानुहुने भएको छ ।

मौसम अनुकूलताअनुसार उहाँ आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जानुहुने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्नुहुने जनाइएको छ ।

त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्नुहुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेस दिउँसो पोखरा भ्रमणका लागि प्रस्थान गर्नुहुने छ ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुग्नुभएको हो । उहाँले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँ सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।

दूध र तरकारी बिक्रीबाट वार्षिक २१ लाख आम्दानी

गल्याङ, १३ कात्तिक : स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पस्नुभयो । पढाइमा अब्बल मानिनुभएका उहाँको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो । उहाँ विदेश पसेर राम्रै कमाइ गर्न थाल्नुभयो तर विरामी परेपछि स्वदेश फर्कनुभयो ।

उहाँले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका–२, खड्केटारीमा पाँच वर्ष पहिले एक हजार कुखुरापालनबाट व्यवसाय सुरु गर्नुभयो । रु चार लाखबाट सुरु गरेको अनिलको व्यावसाय बजारको अभावमा दुई वर्ष नपुग्दै रु सात लाख ऋणम डुुब्यो ।

व्यवसायबाट सन्तुष्ट हुन नसक्नुभएका उहाँले कुखुरापालन छोडेर रु १० लाख ऋण लिएर महालक्ष्मी कृषि तथा पशुपालन फार्ममार्फत पुनः उहाँले भैँसी पाल्न सुरु गर्नुभयो । “अहिले फार्ममा छ भैँसी र तीन गाई छन्, भैँसीमध्ये तीन दुुहुना र तीन ब्याउनी हुन्, गाईमध्ये एक दुहुनो, एक ब्याउनी र एक बाच्छी हुन्”, उहाँले भन्नुभयो, “चार पाडी अँधिया पाल्न दिएको छु, दैनिक ३०÷३५ लिटर दूध उत्पादन हुन्छ, वार्षिक रु १२ देखि १५ लाखको दूध बिक्री हुन्छ ।” कुनै बेला १८ सम्म भैँसी पु¥याउनुभएका उहाँले कामदार अभावमा भैँसीलाई घटाएर गाई थप्नुभयो ।

उहाँले १४ टनेलमा गोलभेँडा, काँक्रो, सिमी, काउलीलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । “तीनदेखि पाँच टनेलबाट वार्षिक दुई हजार, २१ सय किलो अमिता जातको गोलभेँडा उत्पादन गरेर बिक्री गर्ने गरेको छु”, उहाँले थप्नुभयो, “गोलभेँडा गुणस्तरीय भएकाले प्रतिकिलो रु एकसय २० मा सजिलै बिक्री हुन्छ, गोलभेँडाको वार्षिक रु दुई लाख ४० हजारको कारोबार हुन्छ ।”

त्यस्तै उहाँले तीन टनेलबाट वार्षिक चार हजार किलो बेमौसमी क्राँक्रो उत्पादन गर्दै आउनुभएको छ । किसान अनिलले रु एक सय ४० देखि रु एक सय ५० मा प्रतिकिलो काँक्रो बिक्री गर्दै आउनुभएको छ । उहाँले काँक्रोको वार्षिक रु पाँच लाखको कारोबार गर्नुहुन्छ । उहाँले काँक्रो सकिएपछि खरभुजा लगाउने जानकारी दिनुभयो । “मेरो फार्ममा तीन टनेलमा इटलियन एफवान जातको वार्षिक पाँच÷छ सय किलो सिमी उत्पादन गर्दै आएको छु”, उहाँले भन्नुभयो, “सिमीको बजार भाउ रु ७० देखि रु एक सय २० सम्म हुन्छ, सिमीको पनि रु ६० देखि रु ८० हजारसम्मको कारोबार हुन्छ ।

यस्तै उहाँको फार्ममा चार÷पाँच सय बोट काउली हुर्किरहेका छन् । काउली प्रतिकिलो रु एक सयदेखि एक सय ५० सम्ममा बिक्री हुन्छ । एक महिनाभित्र यहाँ उत्पादित काउली बजार पठाउन सकिने उहाँले बताउनुभयो । उहाँले यसअघि उत्पादन भएको काउलीको एक वर्षको अवधिमा रु ५० हजारको कारोबार भएको दाबी गर्नुभयो । उहाँले वार्षिक ८०÷९० मुरी धान समेत उत्पादन गर्नुहुन्छ । अनिलले उत्पादित तरकारी र दूध पोखराका विभिन्न डेरी र पसलमा आफैँले पु¥याएर फर्कनुहुन्छ ।

फार्म ७० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्योमध्ये ३५ रोपनी आफ्नै जग्गा र ३५ रोपनी भाडाको जग्गा हो । अनिलको कामदार र परिवारका लागि छुट्टाछुट्टै दुई वटा आवास, एक गोठ, १४ प्लाष्टिक टनेल छन् । उहाँले उन्नत जातका घाँस पनि लगाउनुभएको छ । “युएनडिपीको कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा पाँच टनेलका लागि रु पाँच लाख पाएपछि व्यवसाय विस्तारका लागि झन हौसला बढ्यो”, उहाँले भन्नुभयो, “युएनडिपीको अनुदान प्राप्त गर्नका लागि गाउँपालिकाले मलाई सिफारिस ग¥यो ।”

उहाँले गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिउपज खरिद गर्ने कार्य प्रशंसायोग्य भए पनि खरिद मूल्य अत्यन्त न्यून रहेको दुखेसो पोख्नुभयो । “कृषि ज्ञान केन्द्र स्याङ्जाले ३० रोपनी क्षेत्रफलमा आलु लगाउने समूहलाई अनुदान दिने भनेको रहेछ”, उहाँले भन्नुभयो, “मैले ३० रोपनीमा हैन ४० रोपनीमा आलु लगाउँछु, मलाई अनुदान दिनुहोस् भनेको छु ।” उहाँलाई फार्ममा काम गर्नका लागि बुबा उमालाल र आमा कमला उपाध्यााय, श्रीमती मञ्जु पौडेलले सहयोग गर्दै आउनुभएको छ । उहाँले वाहिरीदुई जनालाई दैनिक रोजगारसमेत दिनुभएको छ ।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाभित्र बाँझो जग्गालाई अधिकतम प्रयोगमा ल्याएर उत्पादन र उत्पादकत्व वृद्धि गराउने उद्देश्यले बाँझो जग्गा अधिकतम उपयोग गर्ने किसानलाई कार्यविधि बनाएर अनुदान दिएको बताउनुभयो । उहाँले १८ रोपनी बाँझो जग्गा भाडामा लिए धान र तरकारीजन्य कृषिउपज उत्पादन गरेको जनाउँदै महालक्ष्मी कषि तथा पशुपालन फार्मका सञ्चालक अनिललाई रु ४५ हजार अनुदान दिएको बताउनुभयो ।

“फेदीखोला गाउँपालिकामा बाँझो जग्गा उपयोग अनुदान कार्यक्रमअन्तर्गत अहिलेसम्मकै बढी अनुदान पाउने कृषकमा अनिल पर्नुहुन्छ”, गाउँपालिका अध्यक्ष सुवेदीले भन्नुभयो, “गाउँपालिकाले उहाँलाई युवा उद्यम कार्यक्रममार्फत बिनाब्याज बिनाधितो पाँच वर्षका लागि रु पाँच लाख ऋणसमेत उपलब्ध गराएको छ ।” वैदेशिक रोजगारबाट फर्किएर गाउँ फर्केका हरेक युवालाई पालिकाले स्वरोजगार बन्न सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

भारतमा प्याजको निर्यात मूल्य प्रतिटन आठ सय अमेरिकी डलर कायम

नयाँदिल्ली – भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८०० अमेरिकी डलर को निर्यात मूल्य अधिसूचित गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।

घरेलु बजारमा प्याजको उपलब्धता कायम राख्न पनि यो कदम चालिएको अधिकारीहरूले बताएका छन् । संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार यो सूचना आइतबारदेखि लागू हुनेछ र डिसेम्बर ३१ सम्म लागू हुनेछ ।

उक्त निर्णयसँगै सरकारले प्याजको मूल्य स्थीर राख्न विदेशबाट थप दुई लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने पाँच लाख टनभन्दा बढी प्याज खरिद भइसकेको मन्त्रालयले जनाएको छ ।पछिल्लो दुई सातामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको समाचारमा जनाइएको छ ।

पहिचान र अधिकार प्राप्तिको अन्तिम लडाइँ आवश्यक – राजकिशोर यादव

राजविराज (सप्तरी) – जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले पहिचान र अधिकार प्राप्तिको अन्तिम लडाइँ आवश्यक भएको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरी कार्यालय राजविराजमा भएको कार्यकर्ता भेटघाटमा नेता यादवले पहिचान र अधिकार सुनिश्चितताको लागि अन्तिम लडाइँ लड्न अझै बाँकी नै रहेको बताउनुभयो ।देशको समग्र विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले पार्टी सङ्गठन निर्माणमा पनि उत्तिकै इमान्दारीका साथ लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता यादवले मधेसी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम, महिला, पछाडि परेको क्षेत्रको खसआर्य, अल्पसङ्ख्यक समुदायलगायत अन्यायमा परेका समुदायको हकअधिकार स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।