`

इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिए

अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) को प्रतिवेदन उद्धृत गर्दै टाइम्स अफ इजराइलले पत्रकारहरूले लगातार हमला, पक्राउ, धम्की, सेन्सरसिप र परिवारका सदस्यको हत्याको सामना गर्नुपरिरहेको बताएको छ ।

ती पत्रकारहरूमध्ये २६ जना गाजामा र तीमध्ये पनि अक्टोबर ७ मा इजराइलमा हमासको हमलाका क्रममा चार जना मारिएका थिए । हिज्बुल्लाहलाई लक्षित गरी गरिएको इजराइली गोलाबारीमा लेबनानमा एक पत्रकारको मृत्यु भएको थियो । “सीपीजेले अन्य पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालयहरू तथा पत्रकारहरूको घरमा क्षति पुर्याएको धेरै अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान गरिरहेको छ”, सीपीजेले भनेको छ । “पत्रकारहरू सङ्कटको बेला महत्वपूर्ण काम गर्ने नागरिक हुन् र उनीहरूलाई युद्धरत पक्षहरूले निशाना बनाउन हुँदैन भन्नेमा सीपीजे जोड दिन्छ”, सीपीजेको मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रम संयोजक सेरिफ मन्सुरले भन्नुभयो ।

कोभिड–१९ विरुद्धको खोपको बिक्रीमा भारी गिरावटपछि फाइजर घाटामा

कोभिड–१९ विरुद्धको खोपको बिक्रीका साथै महामारीको उच्च अवस्थामा उपचारात्मक औषधिका कारण आउने गरेको आम्दानीमा गिरावटपछि कम्पनी घाटामा गएको मङ्गलबार फाइजरले जानकारी दिएको छ ।

औषधि निर्माता कम्पनीले तेस्रो त्रैमासिकमा २.४ अर्ब अमेरिकी डलरघाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.६ अर्ब डलर रहेको थियो ।

कोभिड–१९ थेराप्युटिक प्याक्सलोभिड र भ्याक्सिन कोमिरनेटीमा ५.६ अर्ब डलरको इन्भेन्ट्री राइट–डाउनका कारण नतिजा मापन गरिएको थियो ।

फाइजरले अक्टोबर १३ मा कोभिड–१९ को दरमा आएको गिरावटका कारण कम्पनीको राजस्वमा आएको भारी गिरावटका कारण आफ्नो पूर्वानुमान घटाएपछि यो नतिजा आएको हो ।तेस्रो त्रैमासिकमा कम्पनीको आम्दानी ४२ प्रतिशतले घटेर १३ अर्ब २० करोड डलरमा झरेको छ ।

तर तेस्रो त्रैमासिकमा गैर–कोभिड उत्पादनमा ठोस वृद्धि पछि फाइजरले कम्पनीले नयाँ औषधिहरूको हालैको सरकारको स्वीकृतिका कारण सन् २०२३ को लक्ष्य हासिल गर्ने बाटोमा रहेको बताएको छ।

“हामीले हालैका बर्षमा धेरै कोशेढुङ्गा हासिल गरेका छौं जसले हाम्रो वैज्ञानिक आधारको अन्तर्निहित शक्ति र चौडाइलाई जनाउँछ,” प्रमुख कार्यकारी अल्बर्ट बोर्लाले भन्नुभयो, “यसले संयुक्त राज्य अमेरिका र युरोपमा एब्रिस्भोलाई रेस्पिरेटरी सिन्सिटिअल भाइरस (आरएसभी) र कपाल झर्ने र फोक्सोको क्यान्सर र अन्य उपचारहरूको सामना गर्न सरकारी स्वीकृतिहरू दिएको छ ।”

फाइजरले सन् २०२४ सम्ममा वार्षिक ३.५ अर्ब अमेरिकी डलर बचत गर्ने गर ि‘मूल्य समायोजन’ कार्यक्रमको बीचमा रहेको बताएको छ ।

फाइजरका अनुसार कम्पनीले यस वर्ष कुनै पनि शेयर पुनः खरीद गरेको छैन र चौथो त्रैमासिकमा कुनै शेयर खरीदको अपेक्षा पनि गरिएको छैन ।‘प्रि–मार्केट ट्रेडिङ’मा फाइजरको सेयर ०.१ प्रतिशतले बढेको छ ।

पर्वतमा सयपत्री फूलको व्यावसायिक खेती

पर्वत १४ कात्तिक ः पर्वतमा पहिलोपटक सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको छ । घर वरिपरी तथा करेसाबारीमा प्राकृतिक कारणले उम्रिएका फूलका बोटबाट उत्पादित फूलले दसँै, तिहार तथा विभिन्न मेला महोत्सवमा माला तथा फूलको प्रयोग गर्दै आए पनि जिल्लामै पहिलो पटक दक्षिण पर्वतको विहादी गाउँपालिका–६, शालिग्रामस्थित हनुमानडाँडाका एक युवाले व्यावसायिकरुपमा फूल खेती सुरु गर्नुभएको हो । स्थानीय मेघनाथ भट्टराईले चालु आर्थिक वर्षदेखि परीक्षणको रुपमा गरिएको फूलखेती सफल भएको छ ।

उहाँले भट्टराई पशुपक्षी तथा कृषि फार्ममार्फत व्यक्तिगत लगानीमा झण्डै दुई रोपनी जमिनमा सयपत्री फूल लगाउनुभएको छ । अहिले परीक्षणको रुपमा लगाइएको फूलले बजार राम्रो पाएमा व्यवसाय विस्तार गर्दैै जाने योजनासमेत बनाउनुभएको छ । विभिन्न प्रकृतिका सयपत्री फूल बिक्रीबाट यसवर्ष न्यूनतम रु दुई लाखभन्दा बढी आम्दानी हुने उहाँको अपेक्षा छ । तिहारको बेला फूल बिक्रीका लागि स्थानीय सेतीवेणी बजार, हुवास, स्याङ्जा, वालिङलगायत बजारमा पठाउने तयारी गरेकोसमेत भट्टराईले बताउनुभयो ।

जिल्लाभर फूलको खेतीगर्ने र बिक्रीवितरण गरी आम्दानी गर्ने प्रचलन नभएपपछि उहाँले विभिन्न सञ्चारमाध्यममा देखेको भरमा उक्त खेती गर्न सुरु गर्नुभएको हो । सुरुवातमा रु ५० हजार लगानी गरेर फूलको खेती गरिएको भट्टराईले बताउनुभयो । गत साउनमा लगाइएका सयपत्रीका बिरुवा अहिले फुलेर लटरम्म भएका छन् । नेपालीको दोस्रो ठूलो पर्व तिहारसमेत नजिकिँदै गएका बेला बारीभरी पहँेलपुर बनेको फूलले सहजै बजार पाउने भट्टराईको विश्वास छ । कोदो र मकै खेती हुने बारीमा यस वर्षदेखि फूलखेती गरिएको हो । “मकै लगाए बाँदरले सखाप पारिदिन्छ, त्यो भन्दा फूलखेती गरेमा धेरै आम्दानी गर्न सकिएला भन्ने ठानेर कोदो र मकैको सट्टा फूलखेती गरेको हुँ ।” उहाँले भन्नुभयो ।

यसअघि पर्वतका सातवटै पालिकामा यसरी व्यावसायिकरुपमा फूल लगाएको नपाइएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो । उहाँले अन्य समयभन्दा तिहारको बेला बाहिरवाट लाखौँको फूल र माला आयात हुने गरेको बताउँदै जिल्लामै उत्पादन भएमा फूल आयात गरिरहनुनपर्ने समेत बताउनुभयो । बाहै्रमास सयपत्री उत्पादन गर्न सकेमा कुनैपनि सभा समारोहमा बाहिरबाट फूल आयात गर्न नपर्ने र व्यावसायीले समेत मनग्गे आम्दानी गर्न सकिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विहादी गाउँपालिका–६ शालिग्रामका वडाध्यक्ष मोहन बस्यालले जिल्लामै व्यावसायिक रुपमा सयपत्रीको फूलको खेती गर्ने भट्टराई पहिलो किसान भएको जिकिर गर्नुभयो ।

वडामा उद्यमशील बन्छु भन्ने हरेक नागरिकलाई आफूले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै उहाँले मौसमी तथा बेमौसमी सयपत्री फूलको व्यावसायिक खेती टिकाउन सके विदेशबाट आयातित फूल र प्लास्टिकका माला विस्थापित हुने र वातावरणीय प्रदूषण हट्ने जानकारी दिनुभयो । तिहारमा जतिसक्दो प्राकृतिक फूलबाट बनेका माला लगाएर स्थानीय फूल उद्यमीलाई प्रवद्र्धन गर्नसमेत आग्रह गर्दै वडाध्यक्ष बस्यालले यस अघि एक रोपनी क्षेत्रफलमा अदुवा, बेसार र खुर्सानी लगाउने किसानलाई प्रति व्यक्ति रु २० हजार अनुदान उपलव्ध गराएको बताउनुभयो ।

औद्योगिक करिडोरमा भरपर्दो विद्युत् आपूर्ति दिन विद्युत प्राधिकरणको प्रयास

काठमाडौँ, १४ कात्तिक ः नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ ।

प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालु लाइन सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनको क्षमता स्तारोन्नत्ति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनाबद्धरुपमा अगाडि बढाएको हो ।

मोरङ र सुनसरीका उद्योगीहरुले गर्मीयाममा उद्योगहरुमा पटक–पटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएकाले प्राधिकरणले त्यहाँको औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहवीस्थित एक सय ३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउने पुरानो लाइनको सुधार र थप लाइनको सबस्टेसन निर्माण गरिरहेको छ ।

केहीअघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित चार सय केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति दिनका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन् । इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गर्न सकिने छ । यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घट्ने छ ।

अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका÷हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लास्थित खोलामा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइनहुँदै झापाको दमकमा आउने छ । यसले गर्दा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोतको अभाव छैन ।

सुनसरी र मोरङको विद्युत् आपूर्तिमा सुधार र एक सय ३२ केभीको दुहवी तथा विराटनगर क्षेत्रमा रहेका ३३÷११ केभी रानी र टङ्किसिनुवारी सबस्टेसनहरुको भार घटाउन एक सय ३२ विराटनगर सबस्टेसन निर्माणाधीन छ । सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पु¥याउनका लागि इनरुवा सबस्टेसनबाट एक सय ३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ । ठेकेदार कम्पनी सानडोङ ताइकाई इञ्जिनीयरिङ र मुडभरी एण्ड जोशी कन्ट्रक्सनको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माणमा ढिलाइ भइरहेको छ ।

सबस्टेसनमा रहने उपकरण राख्नका लागि अधिकांश संरचना निर्माण भइसकेका र अधिकांश उपकरण पनि निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केहीअघि निर्माणस्थलको अनुगमन गरी आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न नसकिए विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउसक्ने भएकाले उक्त अवधिमा आयोजनाको काम नसकिएमा ठेक्का सम्झौताबमोजिम कारबाही गर्ने चेतावनी ठेकेदारलाई दिनुभयो ।

त्यस क्षेत्रका औँद्योगिक करिडोरमा रहेको विद्युत् आपूर्तिका समस्या समाधन गर्न भइरहेका कामको जानकारी दिन उद्योग सङ्गठनका अध्यक्ष राकेश सुरानालाईसमेत टोलीमा सहभागी गराइएको थियो । “यस वर्ष सुनसरी र मोरङमा सञ्चालित उद्योगलाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेका छौँ, विकल्पहरु धेरै छन्, सञ्चालित योजना गर्मी सुरु हुनुभन्दा पहिले नै सक्नु बाध्यकारी अवस्थामा छौँं”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “यसका लागि जनशक्ति थप्नुहोस्, स्थानीय रुपमा भइरहेका अवरोध हटाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, उद्योगी व्यसायीहरुलगायतको साथ र सहयोग आवश्यक छ ।”

इनरुवा–विराटनगर २३ किलोमिटर १३२ केभी प्रसारण लाइनमा पर्ने ८० वटा टावरमध्ये ७३ वटाको जग हालिएको छ । बहत्तर वटा खडा गरिएको छ । प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ । स्थानीयवासीको अवरोधका कारण दुई वटा र प्राविधिक समस्याले पाँच वटा टावर निर्माण हुनसकेको छैन । इनरुवा सबस्टेसनबाट खनारसम्म ३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा छ । यो लाइन सञ्चालनमा आएपछि दुहवी सबस्टेसनको करिब ४० मेगावाट भार घटाउन सकिने छ ।
इनरुवाबाट पुरानो इनरुवा सबस्टेसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ । यसले पनि दुहवी सबस्टेसनको भार घटाउने छ । इनरुवा–दुहवी एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता वृद्धिको प्रक्रिया अगाडि बढाइएको छ । झापा, मोरङ र सुनसरीको विद्युत्को माग धान्न दमकबाट विराटनगर सबस्टेसनसम्म एक सय ३२ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

करिब ६५ किलोमिटर उक्त लाइन दमकबाट मोरङको कानेपोखरी गाउँपालिकास्थित केरौन, सुनसरीको दुहवीहुँदै विराटनगर सबस्टेसनमा जोडिने छ । उक्त लाइन निर्माण भएपछि झापा, मोरङ र सुनसरीमा विद्युत् आपूर्तिका लागि १३२ केभीको रिङ बन्ने छ । जसले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउने छ ।

उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन

जाजरकोट , १४ कात्तिक ः उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चिनतर्फ नाका खुल्ला गरिएपनि आवतजावत भने हुन सकेको छैन ।

आर्थिक गतिबिधिहरु चालु गरेर जनजीवन सहज तुल्याउन चिन र नेपालतर्फको सीमा नाँका खुल्ला गरिए पनि चिसोका कारण आवतजावत हुन नसकेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले जानकारी दिनुभयो । “चिसो बढ्नै लाग्दा नाका खोल्ने सहमति भएको थियो”, उहाँले भन्नुभयो, सदरमुकाम दुनै गएर सीमा पास गराइ उपल्लो डोल्पामा आउँदा आउँदै सीमा क्षेत्रमा हिउँ परेको थियो । अहिले हिउँ र चिसोका कारण आवतजावत गर्न नसक्दा खुल्ला गरिएको सीमा नाकाबाट कुनै पनि फाइदा लिन सकिएको छैन ।

सीमा क्षेत्र खुलाउन पहल गर्नुभएका उपल्लो डोल्पाका जनप्रतिनिधि तथा प्रदेशसभासदस्य वीरबहादुर शाहीले सीमा खुल्ला गरेपनि लाभ लिन नसक्दा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो र व्यापार केही नभएका कारण अहिले नाकामा कुनै गतिबिधि हुन सकेको छैन ।”

प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले तीनमहिने प्रगति विवरणमा सिमा खुलाउने विषयलाई समेटे पनि चिसोकै कारण समस्या आएको जानकारी दिँदै हामीले यता प्रक्रिया पूरा गर्दा गर्दै ढिलो भएकाले चिसो बाधक बनेर आएको बताउनुभयो । चौध नम्बरको क्याटो र १५ नम्बकरको मरिम्ला नाका चिनसँग जोडिएको छ ।

तिब्बतको सिँगाचे डोङबा काउन्टीसँग जोडिएको छ । पाँच वर्षदेखि कोरोनाका कारण खुल्न नसकेको नाका निकै लामो प्रयास पछि खुले पनि सदुपयोग हुन नसकेको हो । उपल्लो डोल्पामा खाद्यान्नलगायत सामग्रीहरु धुवानी गर्न गरिएको प्रयास चिसोका कारण फेरी रोकिएको छ । उपल्लो डोल्पामा तीन पालिका छन् । अब चिसोका कारण उपल्लो डोल्पावासीहरु तलतिर झर्ने समय सुरु भइसकेको छ । यहाँका विद्यालयहरु चिसोमा बन्द हुने गर्दछन् । अहिले अधिकांश सरकारी कर्मचारीसमेत उपल्लो डोल्पा पुगेका छैनन् ।

शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको छ : प्रधानमन्त्री

काठमाडौँ, १४ कात्तिक : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री दाहालले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपालले शान्ति प्रक्रियालाई सफलता अघि बढाएको अवगत गराउँदै भन्नुभयो, “हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।” अहिले आफूहरु शान्ति प्रक्रिया–सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उहाँले आफ्नोे अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्भुभयो, “अहिले हामी जहाँ उभिरहेका छौँ, भगवान बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र हो जसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा व्यापक रूपमा प्रेरणा र मार्गदर्शन गरिरहन्छ ।”

उहाँले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महत्व रहेको र यसले विश्वव्यापी रूपमा समान मूल्यको संरक्षण र प्रवद्र्धन गर्न खोज्ने संयुक्त राष्ट्रसङ्घको बडापत्रबीच अवस्थित सहजीवन सम्बन्धलाई सुदृढ पार्ने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले महासचिव गुटेरेसको विश्वव्यापी महत्वको ऐतिहासिकस्थलको भ्रमणको प्रशंसासमेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसङ्घ लामो समयदेखि संलग्न रहेको उल्लेख गर्दै सन् १९७२ मा जापानी वास्तुकार केन्जो टाङ्गेद्वारा युएनडिपीको सहयोगमा गुरुयोजना सुरू तयार भएको बताउनुभयो । सोही बेलादेखि संयुक्त राष्ट्रसङ्घले शान्ति र सद्भावको प्रवद्र्धन, तीर्थ र पर्यटनको एक प्रमुख केन्द्रको रूपमा लुम्बिनीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ थियो । सन् १९९७ मा संयुक्त राष्ट्रसङ्घले लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई विश्वव्यापी मञ्चमा मान्यता दिएको थियो ।

“शान्ति, सद्भाव र करुणा हाम्रा जन्मजात गुण हुन्, जुन हामीले शान्तिका धर्मदूत र नेपालका प्रबुद्ध पुत्र बुद्धबाट पाएका छौँ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “विविधतामा एकता नै हाम्रो शक्ति हो र सद्भाव र सहअस्तित्व नै हाम्रो संस्कृतिको आवश्यक तत्व हो । हामी “भवतु सर्व मङ्गलम्” र “वसुधैव कुटुम्बकम्”मा विश्वास गर्छौंँ । उहाँले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यताले नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

“सौहार्दता र भ्रातृत्व हाम्रा अन्तर्राष्ट्रिय संलग्नताका आधारभूत विशेषता हुन् । हामी संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रतिको हाम्रो प्रतिबद्धतामा अडिग छौँ” उहाँले भन्नुभयो । त्यसैगरी उहाँले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनमा जलवायु परिवर्तनको प्रभावप्रति विश्वव्यापी ध्यानाकर्षण गर्ने महासचिव गुटेरेसकोे प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

“तपाईको हिजो खुम्बु क्षेत्रको भ्रमण र आज बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणको क्रममा तपाईले जलवायु परिवर्तनले हाम्रा जनताको जीवन र जीविकोपार्जनमा कस्तो असर पारेको छ भन्ने नियाल्नुभएको छ । कार्बन उत्सर्जनमा हाम्रो हिस्सा शून्य भए पनि जलवायु परिवर्तनको असर हामीले भोगिरहेका छौँ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीले विश्वभर शान्ति कायम हुन दिनुपर्छ, शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार सबैका लागि सबै परिस्थितिमा सबैले कायम राख्नुपर्छ ।”

विश्व शान्ति र सुरक्षा सुनिश्चित गर्न सबै प्रकारका असमानता, अन्याय, शोषण, वञ्चितता र गरिबीको अन्त्य गरिनुपर्ने प्रधानमन्त्री दाहालको जोड थियो ।

जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ

म्याग्दी, ११ कात्तिक : तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति पु¥यायो ।

विसं २०७१ असोजमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा हुदहुद आँधीमा परेर पदयात्रामा गएका ४३ जनाले ज्यान गुमाए । २०७८ साल कात्तिक २८ र फागुन २१ गते मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरे । 

उल्लिखित विवरण मुस्ताङमा पछिल्लो समय विपद्का कारण भएको क्षतिको केही उदाहरण हुन् । विश्वव्यापी तापक्रम वृद्धि र मौसममा भएको परिवर्तनका कारण मुस्ताङको जनजीवन प्रभावित हुनाका साथै विपद्को जोखिम बढेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । 

“विशिष्ट भूगोल भएको मुस्ताङको मौसममा भएको परिवर्तनले विपद्को चुनौती थपेको छ,” उहाँले भन्नुभयो, “पानी बढी पर्न र तापक्रम बढेपछि समग्र जनजिवनमा असर परेको छ ।” पानी धेरै पर्न थालेपछि माटोले छाएका घर, गुम्बाहरु चुहिने, भत्किने, खोलामा बाढी आएर कटान गर्ने, नदीमा गेग्रान थुप्रिएर बगर बस्तीभन्दा अग्लो हुने, बस्तीमा कटान हुने, खोलाले धार परिवर्तन गर्ने समस्या बढेको छ । 

यसैगरी, तल्लो भेगमा स्याउ उत्पादन नहुने, माथिल्लो भेगमा स्याउ फल्ने, स्याउ र आलुमा नयाँ रोग देखिने, उत्पादन घट्ने, पानीका मुहान सुक्ने, चरन क्षेत्रमा घाँस कम उम्रिँदा चौँरी, भेडा र च्याङ्ग्रालाई आहारा अभाव हुने, लामखुट्टेको टोकाइबाट हुने रोगका बिरामी भेटिन थालेका जोमसोमका चन्द्रबहादुर थकालीले बताउनुभयो । 

पानी कम पर्दा मुस्ताङका अधिकांश घर, भवनहरु माटोले छाउने चलन थियो । पछिल्लो समय माटोले छाएका घर चुहिने थालेपछि जस्तापाताले छाउने र ढलान गर्ने क्रम बढेको छ । घरपझोङ गाउँपालिका–५ ठिनीका ७२ वर्षीय बलबहादुर थकालीले पछिल्लो समय धेरै वर्षात हुने र बेसिजनमा हिमपात हुँदा खेतीबाली लगाउने समय तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । 

“पुस–माघको हिउँदयाममा हिउँ पर्दैन, असोज कात्तिक र चैत वैशाखमा धेरै हिउँ पर्न थालेको छ,” उहाँले भन्नुभयो “गत वैशाख जेठको झरीले फुलेको स्याउ परागशेचन हुन नपाएर यसपालि उत्पादन आधाभन्दा बढीले घटेको छ ।” स्याउ उत्पादन राम्रो हुन पुस–माघमा हिउँ पर्नुपर्छ । आजकाल मुस्ताङमा फागुन–चैतमा हिउँ पर्छ । स्याउको फुल्ने बेला यस वर्ष वैशाख–जेठमा हिउँ सहितको पानी परेको थियो । २३ वर्षको तथ्याङ्कलाई आधार मानेर डा महेन्द्र बानिया, डा ताल्चा भडेल, डा अर्जुन बानियाँ, इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारी र इञ्जिनियर नवराज शर्माले गर्नुभएको अध्ययन प्रतिवेदनका अनुसार मुस्ताङको पछिल्लो २३ वर्षको वार्षिक तापक्रम ०.१३ प्रतिशतका दरले वृद्धि भएको देखाएको छ । 

यही अनुपातमा बढ्दा आगामी एक सय वर्षमा सो क्षेत्रको तापक्रम दोब्बर हुने अनुमान गरिएको छ । जोमसोम केन्द्रमा वार्षिक औसत २९२.७ मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जोमसोमदेखि माथिल्लो क्षेत्रमा पछिल्ला वर्षमा पानी बढी पर्न थालेको विभागको तथ्याङ्क छ । 

जोमसोम केन्द्रमा जुलाई महिनाभरि औसत ४६.८ मिलिमिटर र अगस्तमा ४३.९ मिलिमिटर वर्षा मापन भएको थियो । कागबेनीमा बाढी आउँदाको दिन जोमसोममा २५.२ मिलिमिटर वर्षा मापन भएको थियो । यो औसतभन्दा बढी हो । सोही दिन जोमसोममा कालीगण्डकी नदीको बाढीको सतह २.७७ मिटर उचाइमा पुगेको थियो । 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मी भण्डारीका अनुसार कमजोर र भिरालो भूगोल भएको मुस्ताङमा वर्षा धेरै हुँदा माटो बगेर खोलामा मिसिँदा बाढी आउँछ । “खोला किनारमा बस्ती बसाउन उपयुक्त र सुरक्षित हुँदैन । भौतिक संरचना बनाउँदा पनि धेरै अध्ययन आवश्यक छ,” उहाँले भन्नुभयो “सडक, पुल र भवन जस्ता सार्वजनिक भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढी, पहिरोको इतिहासलाई आधार बनाएर डिजाइन गर्नुपर्छ ।”

कालीगण्डकी र सहायक नदीहरुबाट आउने बाढीको कटानका कारण मुस्ताङको छुसाङ, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, छैरो, टुकुचे, खन्ती, कोवाङ, लार्जुङको बस्ती जोखिममा परेका छन् । सर्वोच्च अदालतको आदेशका कारण पछिल्लो तीन वर्षयता कालीगण्डकी नदीको बगर उत्खनन र निकासी रोकिएको छ । खोलामा गेग्रान थुपिँ्रदै थाने र व्यवस्थापन नगर्दा बस्तीभन्दा माथि बगर हुन थालेको घरपझोङ गाउँपालिकाका पूर्वअध्यक्ष आशबहादुर थकालीले बताउनुभयो । सर्वोच्चको आदेशले कालीगण्डकीबाट नदीजन्य बस्तुको उत्खनन र निकासी रोकिँदा स्थानीय तहले राजस्व गुमाउने तथा गेगर थुप्रिएर बाढी तथा कटानको जोखिम बढाएको थकालीको भनाइ छ । 

चार हजार एक सय मिटर उचाइमा रहेको मुस्ताङको समजोङ गाउँका १८ घरपरिवार पानीको खोजीमा नामसुङमा बसाइँ सरेका छन् । खानेपानी र सिँचाइका लागि पानीको अभाव भएपछि २००९ मा धे गाउँका २३ घरपरिवारलाई थाङचुङ सारिएको थियो । विसं २०४२ र २०४४ मा मुस्ताङ हिमताल विस्फोट हुँदा दुई जनाको ज्यान भएको थियो । हिमताल फुटेर विस्थापित भएका ३२ परिवारलाई तनहुँको ढोरफिर्दीमा राखिएको छ । 

जलवायु परिवर्तनको नियन्त्रण गर्न नसकिने असर देखिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)का प्रमुख रविन कडरियाले बताउनुभयो । “तापक्रम वृद्धिले हिमाली क्षेत्रको वन र जीविकोपार्जनमा प्रत्यक्ष असर देखिएको छ,” उहाँले भन्नुभयो “पहिला मुस्ताङको घरमा माटाको छानो हुन्थ्यो । अहिले पानी धेरै पार्न थालेपछि घरहरु जस्तापाटाले छाउने र ढलान  गर्न थालेका छन् ।”

दुई दशकअघि सम्म स्याउ फल्ने कोवाङमा अहिले स्याउ उत्पादन राम्रो हँुदैन । स्याउको विकास, अनुसन्धान हुने मार्फाको शीतोष्ण वागबानी विकास केन्द्रलाई माथिल्लो क्षेत्रमा सार्नुपर्ने आवाज उठेको छ । ताङ्वे, छुसाङ, फलेक, झोङलगायत माथिल्लो भेगमा स्याउ खेती हुन थालेको छ । स्याउ मुुस्ताङबाट निकासी हुुने प्रमुख फलफूल हो । 

स्याउ, आलुमा नयाँ रोग देखिने, उत्पादन घट्ने र गुणस्तरमा पनि असर पर्न थालेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो । यसपालि स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुुमान गरिएको छ । “फूल खेलेर परागशेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेको छ,” उहाँले भन्नुुभयो, “यस वर्ष स्याउको फूल फुल्ने समय वैशाख–जेठ महिनामा वर्षाले स्याउ बोटमा परागशेचन (पोलिनसन) हुन पाएन ।”

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । गत वर्ष मुस्ताङमा छ हजार ६ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । रु ५० करोड मूल्य बराबरको चार हजार ६ सय २० मेट्रिक टन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरमा निकासी भएको थियो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङ वेमौसमी र अत्याधिक वर्षातका कारण माटोले बनेका घर भत्किन थालेका बताउनुभयो । “गत साउनमा तीन दिनको वर्षातपछि कागखोलाको बाढीले कागबेनीलाई तहसनहस बनायो,” उहाँले भन्नुभयो, “२०७९ असोजको एक हप्ताको झरीले यहाँका धेरै माटोले बनेका घरहरु चुहिने र भत्किन थालेपछि पलास्टिकको टनेल वितरण गरेका थियौ ।” 

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भौतिक निर्माणलाई वातावरणमैत्री बनाउनुपर्ने, इन्धन खपत कम गर्ने, जैविक विविधताको संरक्षण र विकसित देशले हरितगृह ग्यास उत्सर्जन गरेबापत दिने क्षतिपूर्ति रकमलाई अनुकूलनका कार्यक्रम बनाएर परिचालन गर्नुपर्ने बताउनुभयो ।  

सरकारले मुस्ताङमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि रु ५० करोडको कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही कात्तिक १ गते राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जोमसोममा आयोजना गरेको ‘जलवायु संवाद’ मा भाग लिन आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतोले सो बजेट उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । 

“जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने रु ५० करोड मुस्ताङमा खर्चने निर्णय गरेका छौँ,” प्रधानमन्त्री दाहालले भन्नुभएको थियो, “संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनले नेपालमा पु¥याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाएको छु ।”

वन तथा वातावरणमन्त्री महतोले जलवायु परिवर्तनको असर र क्षति न्यूनीकरण गर्न विकास योजनालाई वातावरणमैत्री बताउनुपर्ने बताउनुभयो । “अवैज्ञानिक किसिमको निर्माणले प्रकृतिमा असर गरेको छ,” उहाँले भन्नुभयो “भविष्यमा हुने क्षति र असरको विश्लेषण नगरी विकासका काम गर्ने प्रवृत्ति रोक्न आवश्यक छ ।” 

जलवायु परिवर्तनका कारण जनजीवनमा परेको असरका बारेमा स्थलगत निरीक्षण र नागरिकको गुनासो सुनेर अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा ती विषय उठानका लागि प्रधानमन्त्री र विभागीय मन्त्रीको उपस्थितिमा संवाद गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले बताउनुभयो । 

जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने

काठमाडौँ, १४ कात्तिक : नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसपक्षमा राष्ट्रसङ्घको भूमिकाबारे खुलेर छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसङ्घले चालेका कदमबारे जिज्ञासा राख्नुभएको थियो ।

जवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसङ्घीय जलवायु परिवर्तन सहयोग कोष’ को पुनःसंरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताउनुभयो । त्यस्तै उहाँले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामा सहयोग गरिने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक–सामाजिक न्यायसहित विकासको मार्गमा अघि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकता त्यसमै केन्द्रित रहेको बताउनुभयो । महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवं अभियान परिपुरक भएको र नेपालले दिगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गर्नुभयो ।

नेपालले ध्यानलाई अभियानका रुपमा राष्ट्रसंघसम्मै पु¥याएर शान्ति तथा बुद्धको सन्देश स्थापित गर्न खोजेको र यहाँका सबै राजनीतिक पक्षको सहमतिसहित एकदिने ध्यान शिविर तय गरिने जानकारीसमेत उपप्रधानमन्त्री श्रेष्ठले दिनुभयो ।

नियम उल्लङ्घन गर्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने

काठमाडौँ, १४ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिङ्क रहे पनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्नेे स्पष्ट पारेको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा पहिचान मात्रै हुने भएकाले नियम उल्लङ्घन गर्नेलाई कारबाहीका लागि सक्कल लाइसेन्स नै चाहिने बताउनुभएको हो ।

नागरिक एपमा जोडिएपछि अब चालकले लाइसेन्स बोक्नु नपर्ने सन्देश जानेगरी समाचार सार्वजनिक भएपछि यस विषयमा कार्यालयले सूचना जारी गरी स्पष्ट पारेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यालयले जारी गरेको सूचनामा भनिएकोे छ, “हाललाई कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा उक्त चालक लाईसेन्स प्राप्त गरेको व्यक्ति हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्र मान्य हुन्छ तर ट्राफिक नियम उल्लङ्घन र कारबाही प्रक्रियाको क्रममा भौतिकरुपमा सक्कलै लाइसेन्स आवश्यक पर्ने व्यहोरा जानकारी गराईन्छ ।” 

ट्राफिक नियम उल्लङ्घन नगरेको अवस्थामा मात्रै नागरिक एपमा जोडिएको लाइसेन्सले काम गर्ने जनाइएको छ । नियम उल्लङ्घनपछि भने यसअघि झैँ सामान्य अबस्थामै जसरी सक्कल लाइसेन्सको आधारमा कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता

काठमाडौँ, १४ कात्तिक : नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब रु १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि यो एडिबीबाट भएको अतिरिक्त वित्तीय लगानी हो । कूल तीन सय २४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिनेछ । प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र सङ्घीयता कार्यान्वयनलाई सघाउने अर्थसचिव पुष्करले विश्वास व्यक्त गर्नुभयो ।

“ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सवलीकरणसँगै यो परियोजनाले सङ्घीयता कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ”, अर्थसचिव पुष्करले भन्नुभयो, “बाढीपहिरोलगायतका समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ । यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ ।”

एडिबीका देशीय निर्देशक आर्नोड काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताउनुभयो । सडक मर्मतसम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका काम यो आयोजनामार्फत् गरिनेछन् ।

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, १४ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले भन्नुभयो, “शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घका साथै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहनेमा म विश्वस्त छु । नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदाय र महासचिव गुटेरेसको धारणा सकारात्मक छ ।”यसैगरी, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको सही मूल्याङ्कन गर्नुभएको बताउनुभयो ।महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, गरिबी, जलवायु परिर्वतनलगायत विषयमा सदनमा गर्नुभएको सम्बोधनको सराहना गर्दै अध्यक्ष ओलीले जलवायु परिर्वतनलगायत मुद्दामा सम्पन्न देशले विपन्न राष्ट्रलाई सहयोग गर्नुपर्ने बताउनु प्रशंसनीय भएको टिप्पणी गर्नुभयो ।महासचिव गुटेरेसले नेपालको शान्तिप्रक्रियालाई पीडित केन्द्रित भएर निरुपण गर्नुपर्ने, सर्वोच्च अदालत, राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का सुझावसमेतलाई ध्यानमा राखेर गर्नुपर्नेमा जोड दिनु सामयिक भएको अध्यक्ष ओलीले बताउनुभयो । 

जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट

सिमकोट, (हुम्ला) १४ कात्तिक ः राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलबार दुई उडान भरेपनि दोस्रो फ्लाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ । पहिलो उडान नेपालगञ्ज गरेर विकट जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पुगेपनि एयरलाइन्सका कर्मचारीले फोन र फेसबुक म्यासेन्जरका आधारमा टिकट वितरण गरेको पीडित यात्रु बताउँछन् ।

पहिलो फ्लाइटको टिकट सबैलाई मिलाएर वितरण गरेपनि दोस्रो फ्लाइटको टिकट कर्मचारीले मनपरी वितरण गरेको आरोप छ । एक हप्तादेखि टिकटका लागि सिमकोट विमानस्थलमा पुगे पनि फोनका आधारमा पहुँचवालाले मात्रै टिकट पाउने गरेको यात्रु राजबहादुर परियार बताउनुहुन्छ । निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेको उहाँको भनाई छ । कर्णाली प्रदेशको सुर्खेतमा कात्तिक १८ गते हुने अध्यापन अनुमतिपत्रको परीक्षा दिन जाने विद्यार्थी बढी मर्कामा परेको परियार बताउनुुहुन्छ ।यस्तै खार्पुनाथ गाउँपालिका–३ का हस्ता रावल सिमकोट विमानस्थलमा टिकटका लागि गत हप्तादेखि धाए पनि नपाएको गुनासो गर्नुहुन्छ । निजी एयरलाइन्सका कर्मचारीले टिकटका लागि धाउँदा सामान्य सर्वसाधरणको कुरा नै नसुन्ने गरेको उहाँ बताउनुहुन्छ । सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको हो । समिट एयरलाइन्सले दैनिक नियमित एक उडान भरेको अन्य सीता तथा तारा एयरलाइन्सले पछिल्ला केही दिनयता फाट्टफट्ट उडान भरे पनि मनपरी टिकट वितरण गर्ने गरेको यात्रुको गुनासो छ ।नेपाल एयरलाइन्सले गत शुक्रबार, शनिबार र आइतबार उडान भरेको थियो । तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठाबाटै र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारण बताउँछन् । जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगे पनि टिकट पाउन समस्या हुनाका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो यात्रु रावलको छ । दसैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको उहाँ बताउनुहुन्छ ।सुर्खेतभन्दा नेपालगञ्ज जान हुम्लाबाट उडान अझ महँगो रहेको छ । त्यस्तै नेपालगञ्ज जाँदा रु नौ हजार एक सय १५ तिर्नुपर्छ । दसैँ मनाउन हुम्ला पुगेका विद्यार्थी, रोजगारीको सिलसिलामा जिल्ला बाहिर बस्दै आएका नागरिक तथा बिरामीलगायतलाई जिल्ला बाहिर फिर्ता हुन समस्या छ ।

अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसङ्घले सहयोग गर्छ : महासचिव गुटेरेस

काठमाडौँ, १४ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताउनुभएको छ । आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसङ्घले भूमिका खेल्ने बताउनुभएको हो ।

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ । “नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा ‘स्मुथ ट्रान्जिसन’का लागि संयुक्त राष्ट्रसङ्घले सहयोग गर्नेछ । अहिले नेपालले अल्पविकसित मुलुकहरुको अध्यक्षता गरिरहेकोमा अरु देशका लागि पनि नेपालले चाल्ने कदमको महत्वपूर्ण अर्थ रहन्छ”, उहाँले भन्नुभयो ।

नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी गतिविधिको प्रसंशा गर्नुहुँदै गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेनामार्फत् महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो ।

त्यस्तै जलवायु परिवर्तनका असर न्युनीकरणको अभियानमा नेपाल एक्लै नरहेको उहाँको भनाइ छ । “जलवायु परिवर्तनका मुद्दामा नेपाल एक्लै छैन । संयुक्त राष्ट्रसङ्घले नेपालले लिएको नेतृत्वलाई सम्मान गर्दछ र हामी पनि सँगै छौं । राष्ट्रसङ्घ सहयोग गर्न तयार छ”, गुटेरेसले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ र नेपालबीच लामो समयदेखिको सम्बन्ध रहेको पनि उहाँले सो अवसरमा उल्लेख गर्नुभयो ।
 

राष्ट्रियसभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १४ कात्तिक : राष्ट्रियसभामा आज तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौँ वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गर्नुभएको हो ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस गर्नुभयो ।

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकोमा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले दाङ–घोराही–तुल्सीपुर सडकको मर्मतसम्भारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का सांसद प्रकाश पन्तले पृथ्वी राजमार्गलगायत राष्ट्रिय राजमार्गको दु्रावस्था रहेकाले तिनको मर्मत गर्न माग गर्नुभयो ।

सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्ने महासचिव गुटेरेसको विश्वास


काठमाडौँ, १४ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “तपाईँहरू आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन । स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो ।”

नेपालको चारदिने औपचारिक भ्रमणबाट आफू ज्यादै खुसी भएको उल्लेख गर्दै महासचिव गुटेरेसले नेपाल विश्वको मित्र भएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्ला केही दिनमा यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन्, नेपाल विश्वको मित्र हो ।”

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको पूर्ण पाठ :

महामहिमहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू एवम् मित्रहरू,

आज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो । मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो । म यहाँ पहिलो पटक सन् १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, म छक्क परेको छु र यो यात्रा पनि कुनै अपवाद होइन । विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैँ रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको, अनि पक्कै पनि लुम्बिनीको पवित्रता । म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्य र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु ।

महामहिमहरू,

हामी आज संसारको अशान्तिको बीचमा एकअर्कालाई भेट्दै छौँ । गरिबी र भोकमरीमा दशकौँको प्रगति उल्टिदैछ । मुद्रास्फीतिले घरायसी र राष्ट्रिय बजेटलाई कमजोर बनाउँदैछ । परिवारहरू होस् वा राष्ट्रहरू, आर्थिक सङ्कटको सामना गर्दैछन् । महिलाहरूको प्रतिनिधित्व जनसङ्ख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम छ । हिंसा र द्वन्द्व चुलिएका छन् । मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौँ माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली थिए । मृत्यु भएका दश नेपाली विद्यार्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता श्री विपिन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।

माननीय मन्त्रीज्यू तथा सांसदज्यूहरू,

भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेका छन् । साना मुलुकहरू ठूला शक्तिहरूबीचको प्रतिस्पर्धामा सम्पाश्र्विक क्षति हुन डराउँछन् । जलवायु प्रकोप घातक शक्तिका साथ तीव्र भइरहेको छ । यी सङ्कटको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ । यो देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायुसम्बन्धी कार्यको कट्टर समर्थक हो । दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैँले बनाउनुभएको छ । विगत बीस वर्षको तपाईँहरूंको यात्रा हेर्न लायकको छ, अद्भुत छ ।

नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसङ्घको बडापत्र छ । तपाईँहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अङ्गाल्नु भयो र तीमध्ये धेरैमा प्रगति गर्दै हुनुहुन्छ । तपाईँको मुलुकले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको छ र युद्धबाट शान्तितर्फ उन्मुख भएको छ । यो यस्तो प्रक्रिया हो जसलाई संयुक्त राष्ट्रसङ्घले समर्थन गर्न पाउँदा गर्व लागेको छ ।

महानुभावहरू, माननीय सांसदज्यूहरू,

नेपाल परिवर्तशील छ । तपाईँहरूका प्रगतिको गतिशील कथा आज पनि निरन्तर छ । अल्पविकसित देशको स्थितिबाट तपाईँहरू अगाडि बढ्दै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घ एक सहज सङ्क्रमणलाई समर्थन गर्न प्रतिबद्ध छ । तपाईँहरू आफ्ना शान्ति प्रक्रियाका अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ । प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन । स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो ।

हामीलाई के कुरा थाहा छ भने सङ्क्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ, जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन् । जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ । त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन् । यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन् । नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई म स्वागत गर्दछु । तपाईँहरू एक्लो हुनुहुन्न ।

अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईँको सर्वोच अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्रसङ्घ तपाईँहरूलाई सहयोग गर्न तयार छ । संयुक्त राष्ट्रसङ्घ र नेपाल पुराना मित्र हुन् । हाम्रो सहकार्य गहन छ । नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसङ्घ परिवारको प्रिय सदस्य र हालैमा अतिकम विकसित मुलुकहरूको समूहको अध्यक्षका हैसियतमा विकासोन्मुख देशहरूका लागि प्रभावशाली आवाज भएको छ ।

यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ । विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्र सङ्घको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो । नेपाली जनताको समर्पण, अदम्य साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु । हाम्रो नीलो झण्डामुनि रही सेवा गर्दै आफ्नो जीवन गुमाएकाहरूलाई सम्मान गर्न म एक क्षण लिन चाहन्छु ।

महामहिमहरू,

जलवायुसम्बन्धी कार्यमा नेपाल अग्रपङ्क्तिमा छ । तपाईँहरू सन् २०४५ सम्ममा शून्य उत्सर्जनमा पुग्ने लक्ष्यतिर बढिरहनुभएको छ । असाधारण वनजङ्गलको पुनस्र्थापनाका प्रयासहरूका लागि धन्यवाद, वनले अब देशको लगभग आधा भाग ओगटेका छन् । तपाईँहरू सबै पहलका लागि हाम्रो पूर्वचेतावनी प्रणालीका अग्रगामीहरूमध्ये एक हुनुहुन्छ, जसको लक्ष्य २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई सुरक्षित राख्नु हो । वैश्विक सङ्कटले नेपाललाई अझै नराम्ररी प्रहार गरिरहेका छन् किनकि नेपाल विश्वका विकासोन्मुख देशहरूमध्ये एक हो । कोभिड–१९ को महामारीका दीर्घकालीन प्रभाव, मुद्रास्फीति र जलवायु सङ्कटले विकासका प्राप्त लाभलाई चुनौती दिइरहेका छन् र लगानीका लागि उपलब्ध हुने रकमको मात्रा खुम्चिरहेको छ ।

वैश्विक कार्वन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश हो । तर मनसुन, आँधीबेहरी र पहिरो तीव्रता र भीषणताको हिसाबले बढ्दैछन् । बाली, पशुधन र सम्पूर्ण गाउँहरू नष्ट गर्दै अर्थव्यवस्थालाई ध्वस्त पार्दैछन् र मानव जीवनलाई बर्बाद गर्दैछन् । अगस्टमा भएको भारी वर्षाले ल्याएको पहिरोले विनाश निम्त्यायो र सयौँ मानिसहरूको मृत्यु भयो । हिमनदी असामान्य गतिमा पग्लिरहेका छन् । नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको छ ।

प्रभाव विनाशकारी छ, पानीले भरिएका ताल फुट्दैछन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन् । पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ । चुनौतीहरू बढ्ने क्रम जारी रहनेछ । हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गर्दछन् । जसरी तिनीहरू सङ्कुचित हुन्छन् त्यसरी नै नदीहरू बग्छन् । भविष्यमा सिन्धु, गङ्गा र ब्रह्मपुत्र जस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुनेछ । नुनिलो पानीको अतिक्रमणसँगै यसले यस क्षेत्र र बाहिरका डेल्टाहरूलाई नष्ट गर्नेछ । यसको अर्थ तल्लो समुदायहरू र सम्पूर्ण देशहरू सदाका लागि मेटिन सक्छन् ।
लाखौँ मानिसहरू सर्नुपर्ने हुन्छ । पानी तथा जमिनको लागि भयङ्कर प्रतिस्पर्धा हुनेछ ।

महामहिमहरू,

जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा के भइरहेको छ त्यो डरलाग्दो अन्याय हो र जीवाश्म इन्धन युगको गम्भीर आरोप हो । जलवायु सङ्कटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति म अति चिन्तित छु । संयुक्त राष्ट्रसङ्घ उनीहरुको साथमा छ । विश्वले पनि यस्तै गर्नुपर्छ । नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक सङ्कटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ । मैले दिगो विकास लक्ष्य स्टिमुलस र जलवायु कार्यको लागि किफायती दीर्घकालीन वित्तपोषणमा कम्तीमा ५ खर्ब प्रतिवर्ष वितरण गर्ने प्रस्ताव गरेको छु । सदस्य राष्ट्रहरूले गत महिनाको महासभामा प्रस्तावलाई स्वागत गरे र यसलाई अगाडि बढाउन प्रतिबद्ध भए । म उनीहरूलाई यी प्रतिबद्धतालाई वास्तविकतामा रूपान्तरण गर्नका लागि अब कार्य गर्न आह्वान गर्दछु । म नेताहरूलाई ढिलाइ नगरी जलवायुमा काम गर्न आग्रह गर्दछु । सबैभन्दा ठूला उत्सर्जनकर्ताहरूले नेतृत्व लिनुपर्दछ । विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशहरूले मैले प्रस्ताव गरेको एक्सलरेसन एजेन्डालाई प्रभावकारी बनाउनु पर्छ । तिनीहरूले ग्लोबल स्टकटेकमा बलियो परिणामका साथ कोप २८ लाई अर्थपूर्ण बनाउनुपर्छ । हामीले जलवायु न्याय प्रदान गर्न पनि आवश्यक छ ।

विकसित देशहरूले वार्षिक एक खर्ब डलर दिने वाचा पूरा गर्नुपर्छ र दोहोरो अनुकूलन वित्त, अनुकूलनमा जलवायु वित्तपोषणको आधा खर्च गर्ने पहिलो चरणको रूपमा । जलवायु उत्थानशीलता निर्माण गर्ने प्रयासको केन्द्रमा सबैभन्दा सङ्कटासन्न समुदाय हुनुपर्दछ । यसवर्षको कोप २८ मा सबै पक्षले कोशेढुङ्गा नोक्सान र क्षति कोषलाई परिचालन गर्नुपर्छ । हामीलाई कोषमा नयाँ र समयमै वाचा चाहिन्छ । नेपाली जनता त्यसैमा निर्भर छन् । आँधीबेहरीमा आफ्ना घर गुमाएका परिवारका लागि र उर्लंदो नदीहरूले आफ्ना गाउँ छोड्न बाध्य भएका समुदायहरूका लागि हानि र क्षति कुनै वार्ताको बिन्दु वा कर्मचारीतन्त्र अमूर्तता होइन । यो एक जीवन रेखा हो ।

माननीय मन्त्रीज्यूहरू तथा सांसदज्यूहरु,

नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय प्रणालीको मित्रका रूपमा रहेको छ । र आज त्यो प्रणालीलाई पुनर्ताजगी, पुनरुत्थान र सुधारको निकै आवश्यकता छ । संसार परिवर्तनको अवस्थामा छ । यो बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ । यो राम्रो कुरा हो । बहुध्रुवीय विश्वले वैश्विक मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ । तर शान्ति कायम राख्न यो नयाँ गतिशीलतालाई बलिया बहुपक्षीय संस्था चाहिन्छन् । इतिहासले हामीलाई त्यो प्रमाणित गरेको छ । बीसौं शताब्दीको सुरुमा युरोप बहुधुवीय थियो, तर बलिया बहुपक्षीय संस्थाहरू थिएनन् । यो युद्धमा पर्यो जसले विश्वलाई आफ्नो चपेटमा लियो । त्यो हामीले लिन सक्ने जोखिम होइन । हामीलाई आजको वास्तविकतालाई प्रतिबिम्बित गर्ने बलिया अन्तर्राष्ट्रिय संस्थाहरू चाहिन्छन् । तर संसार हाम्रोे ऐना हो जहाँ तिनीहरू स्थापना भएका थिए – लगभग ८० वर्ष पहिले । त्यो परिवर्तन हुनुपर्छ । विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्छ ।

मैले संयुक्त राष्ट्रसङ्घको पुरानो सुरक्षा परिषद्लाई सुधार गर्न आह्वान गरेको छु । मैले विश्वव्यापी वित्तीय संरचनालाई सुधार गर्ने उपायहरू प्रस्ताव गरेको छु जसले गर्दा यसले विकासशील देशलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्दछ र तिनीहरूका आवश्यकताको प्रतिकार्य गर्दछ । यी प्रस्तावहरूले यस वर्षको संयुक्त राष्ट्र सङ्घ महासभामा र त्यसपछि वास्तविक ध्यान प्राप्त गर्दैछन् । आगामी वर्षको भावी राष्ट्रसङ्घीय शिखर सम्मेलन थप प्रगतिलाई अघि बढाउने महत्वपूर्ण अवसर हो । हामीले परिवर्तनलाई वास्तविकतामा परिणत गर्नका लागि मद्दत गर्न नेपालले सहयोग गर्ने कुरामा म भरोसा गर्छु ।

महामहिमहरू,

बहुपक्षवादले संसारलाई प्रतिबिम्बित गर्नुपर्छ र त्यसलाई प्रतिकार्य गर्नुपर्छ । यसको अर्थ हामीले नयाँ चुनौतीलाई सम्बोधन गर्न र नयाँ अवसर प्रयोग गर्न आवश्यक संस्था र उपकरण सिर्जना गर्नु हो । आजको सन्दर्भमा प्रविधि दुवैको उदाहरण हो । यसले समस्या समाधान गर्न र विकासलाई प्रोत्साहित गर्न सक्छ वा यसले विभाजनलाई निम्त्याउन सक्छ र असमानतालाई बढाउन सक्छ । आज यसले पहिलेको धेरै थोरै गर्दैछ र पछिको धेरै गर्दैछ । विश्वलाई आश्चर्यजनक गतिमा परिवर्तन गर्ने प्रविधिका लागि हामीलाई वैश्विक प्रतिकार्य चाहिन्छ । मानवताको भलाइको लागि तिनीहरूलाई प्रयोग गर्न ।

सबै देशहरूले आफ्नो भनाइ राख्न पाउनुपर्छ । मेरो उच्च स्तरीय आर्टिफिसियल इन्टेलिजेन्स निकायमा जी७७ देशका विज्ञ समावेश छन् । यसले यस वर्षको रिपोर्ट गर्नेछ । तसर्थ सदस्य राष्ट्रहरूले आर्टिफिसियल इन्टेलिजेन्सका लागि वैश्विक शासन विकल्प विचार गर्न सक्छन् । हामीले टेक्नोलोजीका फाइदा पनि सबैमा र्पुयाउनुपर्दछ र नयाँ प्राविधिक युगमा कसैलाई पनि पछाडि नछोड्ने कुरा सुनिश्चित गर्नुपर्दछ । संयुक्त राष्ट्र सङ्घले प्रस्ताव गरेको ग्लोबल डिजिटल कम्प्याक्टको उद्देश्य यही हो ।

प्रविधिले सबैका लागि काम गर्छ भन्ने सुनिश्चित गर्न सरकार र उद्योगहरूलाई एकसाथ ल्याउने र दिगो विकास लक्ष्यलाई गति दिने लक्ष्य राखेको छ । फेरि, भावी शिखर सम्मेलन प्रगतिलाई अगाडि बढाउने एक उत्कृष्ट अवसर हो । र बहुपक्षीयता, शान्ति र विकासोन्मुख देशहरूको हितको अटल पक्षधरका रूपमा नेपाल शिखर सम्मेलनमा महत्वपूर्ण सहयोगी हुनेछ ।

महामहिमहरू,
पछिल्ला केही दिनमा यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन् – नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ । संयुक्त राष्ट्र सङ्घले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न छाड्ने छैन । यहाँहरू सबैलाई मेरो हार्दिक धन्यवाद छ ।

प्रधानमन्त्री दाहाल लुम्बिनीमा

लुम्बिनी, १४ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उहाँ यहाँ आइपुग्नुभएको हो । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै हुनुहुन्छ ।

लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामालगायतले स्वागत गर्नुभएको छ । महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ ।

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

गुल्मी, १४ कात्तिक : जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ । उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता श्रीमान् वृषबहादुरले बताउनुभयो ।

अर्थमन्त्री डा महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता

काठमाडौँ, १४ कात्तिक : अर्थमन्त्री डा प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ ।

भेटका क्रममा अर्थमन्त्री डा महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गर्नुभयो । उहाँले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो ।

त्यसैगरी उहाँले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गर्नुभएको अर्थमन्त्री डा महतको सचिवालयले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।

टे«जरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो ।

लण्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्च्स्तरीय सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमबार भएको नेपालको नवीकरणीय ऊर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तक्र्रियामा सहभागी हुनुभएको थियो ।

सो क्रममा मन्त्री डा महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गर्ने बताउँदै वैदेशिक लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिनुभयो । उहाँले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिनुभयो ।

डोल्मा फाउण्डेशनका टीम गोचर र जापनिज बैंक एमयुएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंकका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राख्नुभएको थियो । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्वरभूमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

सदनमा बोलेका विषय सुनुवाई भएन,मतदातालाई सुनाउन मात्र बोलेको जस्तो देखियो : सांंसद बजगाईँ

काठमाडौँ, १४ कात्तिक : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले आफूहरूले संसद्मा उठाएका विषय सरकारका तर्फबाट खासै कार्यान्वयन नहुने गरेको बताउनुहुन्छ । उहाँले रासससँग कुरा गर्दै संसद्मा उठाएका महत्त्वपूर्ण विषयको कार्यान्वयन पक्ष फितलो भएकाले ती विषय आफ्ना मतदातालाई सुनाउन मात्र बोलेको जस्तो आफूलाई अनुभव हुने गरेको टिप्पणी गर्नुभयो ।

सांसद बजगाईँले भन्नुभयो, “सदनमा कुरा राख्न पाइएको छ । सुनुवाइ हुँदैन, सरकारलाई सुनाउँदा सरकार सुन्दैन । सरकारले नसुनेपछि मिडियामार्फत सुनाउनुपर्ने अवस्था छ । जिम्मेवारी निर्वाह गर्ने सम्बन्धमा अनुशासन र नियम–कानुनको पालना भएको देखिँदैन । कर्तव्य निर्वाह नगरे पनि कसैलाई डर छैन ।”

संसद्मा नकारात्मक सोच रहने गरेको गुनासो गर्दै उहाँले कसले कसलाई छिड्की हान्ने भन्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो । सामूहिक सकारात्मक एकताको कमी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसद्मा बेलिरहने हो । संसद्मा बोलेको कुरा मतदातालाई सुनाउन बोलेको जस्तो हुने हो । हाम्रो माननीयले बोलेको थियो त भन्नेमात्र हुने हो ।” उहाँ दुईपटक पार्टीको केन्द्रीय सदस्य र एकपटक प्रदेशसभा सदस्यमा पराजय व्यहोरे पनि राजनीतिमा निरन्तर सङ्घर्षशील रहिआउनुभएको छ ।

हाल गोरखा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँले साना मुद्दामा पनि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा संसद्ले अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो । सरकारले सुरुमा पर्याप्त ‘बिजनेस’ दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यद्यपि पछिल्लो समयमा सरकारले दौडधुप गरेको छ, बिजनेस पनि दिइरहेको छ ।”

विसं २०२९ मा गोरखामा जन्मनुभएका उहाँ सानै उमेरदेखि नै नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको सक्रिय राजनीतिमा लाग्नुभएको हो । विसं २०४८ मा कांग्रेसको क्रियाशील सदस्यता लिनुभएका उहाँले पार्टीमा पदबिना काम गरिरहेको बताउनुभयो । सांसद बजगाईँले भ्रष्टाचार र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दलबीच एकजुट हुनुपर्ने सुझाव दिनुभयो ।

फरक प्रसङ्गमा उहाँले संसद्को सांसद विकास कोषलाई कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको विषयप्रति असन्तुष्टि जनाउँदै यसले विधायिकी अधिकार कुण्ठित भएको टिप्पणी गर्नुभयो । यो राज्यको शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्तविपरीत भएको उहाँको टिप्पणी छ । सांसदको पहिलो काम कानुन निर्माण भएको र त्यसबाहेक जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि केही गर्नुपर्ने उहाँको भनाइ छ ।

“संविधानअनुसार हामीले जनतामा गरेको वाचा पूरा गर्न पनि केही विकास निर्माणका काममा सहभागी हुनैपर्छ, अहिलेको प्रणालीमा यो कहीँ न कहीँ जोडिन्छ । यसलाई अस्वाभाविकरूपमा लिनु हुँदैन । आफ्नो क्षेत्रको विकासको जिम्मेवारी हाम्रो पनि हो”, सांसद बजगाईँले भन्नुभयो, “भोट माग्दैमा त्यसरी नै मागिएको छ, यसलाई अन्यथा सोच्नु हँुदैन र यस्तो प्रचलन विश्वका धेरै देशमा रहेको छ । जनताले पनि त्यही अपेक्षा गरेका हुन्छन् ।” तर विकास निर्माण स्थायी शक्तिले नै गर्नुपर्नेमा भने उहाँको स्पष्ट धारणा छ ।

सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद बजगाईँले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसद्मा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”, सांसद बजगाईँले भन्नुभयो, “केही सांसदले कहिलेकाहीँ बोलको कुरामा कुन शब्द हटाउने कुन नहटाउने भन्नेमा सभामुखलाई पनि जानकारी नभएको जस्तो देखिन्छ ।”

कांग्रेसमा १२औँ महाधिवेशनदेखि नियमतिरूपमा पार्टीको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आउनुभएका उहाँले सदनमा कार्यगत एकता नदेखिने, सांसदहरू स्वतन्त्र नहुने र सकारात्क सोचभन्दा बढी नकारात्मक हुने गरेको उल्लेख गर्दै यसमा सुधारको खाँचो औँल्याउनुभयो ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता

वाशिङटन डिसी, १४ कात्तिक : परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियोे ।

यसैगरी दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल गर्नुभएको थियो । परराष्ट्रमन्त्री साउदले उक्त अवसरमा नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याउनुभएको थियो ।

मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको विकास र सूचना प्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गर्नुभयो । मन्त्री साउदले नेपाललाई थप वस्तुहरूको सुविधासहित व्यापार सहुलियत प्रदान गर्न अनुरोध गर्नुभयो ।

मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताउनुभयो । उहाँहरूबीचको द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षले एमसिसी परियोजना तोकिएको समयमा नै सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताउनुभएको थियो ।

द्विपक्षीय वार्ताका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, मन्त्रालयका अधिकारी र दूतावासका प्रतिनिधिको सहभागिता थियो । साथै अमेरिकी सरकारका तर्फबाट भने अमेरिकी उपसहायकमन्त्री डोनाल्ड लु, नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसन सहभागी हुनुहुन्थ्यो ।

व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य

टीकापुर (कैलाली), १४ कात्तिक : कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ ।

नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् । “सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्, हाम्रो बिक्री गर्नुपर्ने वाध्यता छ”, किसान हरिमाया चौधरीले भन्नुभयो, “दसैँ–तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गर्नुपर्यो । धेरै घाटा भयो ।”
हरिमायाजस्तै अधिकांश किसान यतिबेला धान बिक्रीका लागि स्थानीय व्यापारीले भनेकै मूल्य स्वीकारिरहेका छन् ।

कैलालीमा नेपाल खाद्य संस्थानले भने यही कात्तिक अर्को साताबाट धान खरिद गर्ने बताएको छ । कात्तिक तेस्रो साताबाट धान खरिदको तयारी भइरहेको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख एन्जिला बस्नेतले बताउनुभयो । “अर्को हप्ताबाट सुरु गर्ने तयारी छ । टीकापुर र धनगढीमा खरिद गर्ने हो”, उहाँले भन्नुभयो, “नागरिकको गोदाम भाडामा लिएर खरिद गर्दा समस्या हुन्छ । त्यसैले गोदाम भएका ठाउँबाटै खरिद गर्ने तयारी छ ।”

संस्थानले यस वर्ष कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । टीकापुर र धनगढीबाट पहिलो चरणमा धान खरिद गर्ने तयारी भएको उहाँले बताउनुभयो । “किसानका धान सहजरूपमा खरिदका लागि धान मौज्दात राख्न गोदाम भएका स्थानबाटै खरिद गर्ने तयारी छ”, उहाँ भन्नुहुन्छ, “हामीले सरकारले तोकेकै मूल्यमा खरिद गर्छौँ ।”

सरकारले यस आव २०८०÷८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानप्रति क्विन्टल रु तीन हजार तीन सय ६२ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

संस्थानले सरकारले तोकेको मूल्यमा धान गरिद गर्ने गरेता पनि समयमा सरकारी काँटा नलगाउँदा धेरै किसानले सस्तो दरमा गल्ला तथा स्थानीय व्यापारीकहाँ बेच्नुपर्ने बाध्यता छ । ढिलो खरिद सुरु गरे पनि संस्थानले खरिद गर्ने स्थानमा किसानलाई धेरै सास्तीसँगै हप्ता दिनसम्म बसेर बेच्नुपर्ने भएकाले समयमा सहजरूपमा धान खरिद गर्ने वातावरण मिलाउनु आवश्यक रहेको किसानको माग छ । “निश्चित कोटा र ढिलो खरिद सुरु हुन्छ, किसानको उत्पादन धेरै हुन्छ, त्यसैले बिक्रीस्थलमा ठूलो भीड लाग्छ”, किसान दीपक चौधरी भन्नुहुन्छ, “त्यसैले पनि किसानले उचित मूल्य पाउन सकेका छैनन्, पालो कुर्नुभन्दा ब्यापारीकहाँ कम मूल्यमै बिक्री गर्ने गरेका छन् ।”

महासचिव गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउँनुहुँदै

लुम्बिनी, १४ कात्तिक ः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउँदै हुनुहुन्छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका उहाँ आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी आउन लाग्नुभएको हो । महासचिव गुटेरेस अहिले बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ ।

हेलिकोप्टरमा लुम्बिनी पुगेपछि महासचिवलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिने छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् ।

महासचिवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ । मन्त्री किराती र मुख्यमन्त्री चौधरी सोमबार नै लुम्बिनी आइपुग्नुभएको छ । प्रधानमन्त्री दाहाल आज बिहान काठमाडौँबाट आउने कार्यक्रम छ ।

महासचिवले लुम्बिनीमा वृक्षरोपण गर्नुहुने छ । लुम्बिनीमा डेढ घण्टा बिताएपछि उहाँ आज नै काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताउनुभयो ।

महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

महासचिवको भ्रमणलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्मको आवश्यक सुरक्षा व्यवस्था चुस्त बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्नेविरुद्ध ट्राफिक कारबाही तीव्र

काठमाडौँ, १४ कात्तिक ः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ ।नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको छ ।

उहाँले सोमबार बिहानदेखि आज बिहान ६ः०० बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको बताउनुभयो । यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यकरूपमा हर्ज बजाउने १७, नम्बरप्लेट नराखी सवारी चलाउने १५ र तीव्रगतिमा गाडी चलाउने तीन सय २१ जना चालक कारबाहीमा परेका छन् ।

प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरेको जानकारी दिनुभयो । प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।

चर्चामा आउन थाले ओझेलमा परेका बागलुङका पर्यटकीय गन्तव्य

ढोरपाटन (बागलुङ), १४ कात्तिक : पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् ।

नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो समय चर्चामा आउन थालेका छन् । यी पर्यटकीय ठाउँमध्ये अधिकांशमा अहिले पनि पूर्वाधार बन्न सकेका छैनन् । पर्यटनका हिसाबले बागलुङले सम्भावना बोकेको छ, तर प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माण ढिलाइ गर्दा सोचेअनुसार पर्यटक भित्र्याउन सकेको छैन ।तीन राष्ट्रिय सडकले जोडिएको बागलुङले बाह्य पर्यटक भने निकै कम मात्रामा भित्र्याउने गरेको छ । ढोरपाटन सिकार आरक्षबाहेक अन्य ठाउँमा विदेशी पर्यटक आएको खासै पाइँदैन । पछिल्लो समय बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा फाट्टफुट्ट बाह्य पर्यटक देख्न थालिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले पूर्व–पश्चिम, कालीगण्डकी करिडोरले चीन–भारत र सालझण्डी–ढोरपाटनले तराई–पहाडलाई जोडेको छ । विगतका वर्षमा भन्दा यस वर्ष पर्यटन यामको सुरुआतमै उल्लेख्य पर्यटक बागलुङमा भित्रिएको र नयाँ ठाउँमा पुग्न थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो ।पहिलेको तुलनामा पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै जाँदा ओझेलमा रहेका पर्यटकीय ठाउँ चर्चामा आउन थालेको उहाँको भनाइ छ । केही वर्ष अगाडिसम्म पर्यटकीय सम्भावना बोकेका ठाउँमा पुगे पनि त्यसलाई कसैले पनि बाहिर नल्याएको भन्दै अहिले पुग्ने हरेक व्यक्तिले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै ठाउँ चर्चित बन्दै गएको उहाँको भनाइ छ । नयाँ गन्तव्यलाई थप व्यवस्थित बनाएर प्रचार–प्रसार गरी पर्यटक भित्र¬्याउनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष खड्का बताउनुहुन्छ । अध्यक्ष खड्काले भन्नुभयो, “सामाजिक सञ्जालले पनि धेरै ओझेलमा रहेका ठाउँलाई बाहिर ल्याउन मद्दत गर्नुका साथै धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको छ ।”बजार नजिकै भए पनि भिरलाँकुरी अघिल्लो वर्षसम्म गुनामनै थियो तर अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ । बागलुङ बजारबाट हिँडेर करिब ४५ मिनेटमा पुग्न सकिने हुँदा धेरै मान्छे भिरलाँकुरी आउन थालेको स्थानीय सृष्टि आचार्यको भनाइ छ । यहाँबाट बागलुङ बजारसहित थुप्रै हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटक आउन थालेको उहाँले बताउनुभयो । धेरैजसो पदयात्रामार्फत भिरलाँकुरी पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।आचार्यले भन्नुभयो, “यो ठाउँ पहिला सुनसान, स्थानीयले घाँस काट्ने ठाउँ थियो, तर अहिले हरेक दिन मान्छे आउन थालेपछि चहलपहल बढेको छ, यस्तो ठाउँ पर्यटकीय गन्तव्य होला भन्ने कसैले पनि सोचेका थिएनौँ, अहिले ‘ट्रेकिङ’ गर्नेहरूका लागि यो ठाउँ उपयुक्त बनेको छ, बिदाको दिन अझ बढी पर्यटक आउने गरेका छन् ।”नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उत्यकाको पूर्वपट्टि पर्छ जलजला । यहाँ पनि पछिल्लो समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय वीरबहादुर घर्तीले बताउनुभयो । पहिले–पहिले जलजलामा पर्यटक पुग्ने गरे पनि गत वर्षदेखि अझ बढी जान थालेको उहाँको भनाइ छ । ढोरपाटन उपत्यकाबाट पाखाथर, छेन्तुङगाउँ हुँदै जलजला पुग्ने पर्यटकलाई मोटर बाटोले थप सहज बनाएको उहाँले बताउनुभयो । खाने र बस्ने सुविधाका लागि होटल तथा रेष्टुरेन्ट बढ्दै गएपछि पर्यटक बढेको घर्ती बताउनुहुन्छ ।“धेरै पर्यटक ढोरबराह मन्दिर र खापाथरसम्म आएरमात्रै फर्किन्थे, तर अहिले टाढा–टाढा पुग्ने गरेका छन्, पर्यटक आउन थालेसँगै होटल व्यवसाय पनि राम्रो हुँदै गएको छ, पहिले जनैपूर्णिमाका बेलामात्रै पर्यटक ढोरपाटन आउँथे, तर अहिले बाह्रै महिना आउने गरेका छन्”, उहाँले भन्नुभयो, “जलजला पुग्न समस्या छैन, सडक बनेको छ, ठाउँ–ठाउँमा गोठ छन्, वरपर जङ्गल र डाँडाकाँडाले पर्यटकलाई आकर्षित गरेको छ, बर्खामा यहाँ थुप्रै गोठ बस्ने गर्छन् ।”चर्चित भएर पनि ओझेलमाबागलुङका धेरै चर्चित गन्तव्यमा आधारभूत पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य मानिने गाजाको दह, सहस्रधारा झरना, अर्नाकोट, बराह ताल, बुद्ध हिललगायतका दर्जन बढी ठाउँमा निकै कम पर्यटक पुग्ने गरेका छन् । त्यहाँसम्म पुग्ने सडक तथा पैदलमार्ग सहज नहुँदा पर्यटक कम जाने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष खड्का बताउनुहुन्छ । मुख्य सडकमै पर्ने गाजाको दहसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण र अप्ठ्यारो हुँदा ओझेलमा परेको उहाँ बताउनुहुन्छ ।स्थानीय तुलबहादुर थापाले बागलुङ बजारबाट करिब दुई घण्टा गाडीको यात्रामा पुग्न सकिने गाजाको दह निकै सुन्दर भए पनि पर्यटक कम आएको बताउनुभयो । पर्यटकले सहजता बढी खोज्ने हुँदा गाजाको दह ओझेलमा परेको उहाँ बताउनुहुन्छ । पहिले कहिलेकाहीँ पैदलयात्रामार्फत विदेशी पर्यटक पुग्ने गरे पनि अहिले सुनसानजस्तै रहेको थापाको भनाइ छ । पर्यटक भित्र्याउनका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी रहोको उहाँले जानकारी दिनुभयो ।तमानखोलाको बराह ताल जिल्लाकै उच्च स्थानमा रहेको छ । यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा पर्यटक कम मात्रामा जाने गरेका छन् । पर्यटकको सहजताका लागि तमानखोला गाउँपालिकाले यस वर्ष मोटर बाटो निर्माण गरेको छ । मोटर बाटोको स्तरोन्नतिपछि मात्रै तालमा पर्यटक पुग्ने अपेक्षा लिइएको छ ।

डब्लूएचओ प्रमुख गेब्रेयेससद्वारा शान्तिका लागि एकजुट हुन आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इथियोपियामा आफ्नो युद्धकालको पीडा स्मरण गर्दै विश्वका नेताहरूलाई शान्तिका लागि एकजुट हुन आग्रह गर्नुभएको छ ।

विश्व स्वास्थ्य संगठनले इजरायल र हमासबीचको युद्धमा गाजा पट्टीमा खाद्यान्न, स्वास्थ्य सामग्री र अन्य सहायताको सुरक्षित वितरणका लागि तत्काल ‘मानवीय सहायताका लागि युद्धविराम’ गर्न आह्वान गर्नुभएको छ ।टेड्रोसले प्रसिद्ध सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा भन्नुभएको छ, “युद्धविराम र शान्तिका लागि विनम्र अनुरोध गरिरहेको छु ।”

“युद्धको छायाँमा फसेको बच्चाको रूपमा, मलाई यसको गन्ध, आवाज र दृश्यहरू राम्ररी थाहा थियो । अहिले द्वन्द्वको बीचमा फसेकाहरूप्रति म गहिरो सहानुभूति राख्छु, उनीहरूको पीडा मेरो आफ्नै जस्तो महसुस गर्छु,” उहाँले भन्नुभयो, “युद्धले विनाश, भयावहता र त्रासदी मात्र ल्याउँछ । अरु केही होइन ।”

“यस नाजुक घडीमा, हामी विभाजनबाट माथि उठेर शान्तिको मार्ग अँगालौं । साहसको साँचो प्रदर्शन शान्ति रोज्नुमा निहित छ । म विश्वका नेताहरूलाई एकताबद्ध हुन र विश्वलाई शान्तितर्फ डो¥्याउन आह्वान गर्दछु ।

इजरायली अधिकारीहरूका अनुसार गत अक्टोबर ७ मा हमासका बन्दुकधारीले गाजामा आक्रमण गरेपछि इजरायलले गाजामा भारी बमबारी गरेको छ, जसमा एक हजार ४०० जनाको मृत्यु भएको छ, जसमा अधिकांश सर्वसाधारण रहेका छन् र अन्य २२० भन्दा बढीलाई अपहरण गरिएको छ ।

हमासद्वारा सञ्चालित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी आठ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ ।

टेड्रोसले ‘अन्यायपूर्ण र भयानक’ हमासको आक्रमणको निन्दा गर्दै गाजामा भएको बमबारीमा ‘बालबालिकाले मूल्य चुकाइरहेको’ बताएका छन् ।

गत वर्षको मे महिनामा डब्लुएचओको दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुँदा ५८ वर्षीय टेड्रोसले आफ्नो नम्र पालनपोषणलाई एक गरीब परिवारमा युद्धपिडित सन्तानका रूपमा जन्म भएको बताउनुभएको थियो ।

भावुक बन्दै बोल्दा उहाँले सानै उमेरमा द्वन्द्वको अनुभव गरेको र हालै युक्रेनको भ्रमणको क्रममा ती तीव्र भावनाहरू कसरी उच्च गतिमा आए भनेर वर्णन गर्नुभएको थियो ।

“जब मैले युक्रेनी बच्चाहरूलाई देखें, मेरो ५० वर्षभन्दा पहिलेको छवि दिमागमा आयो; यो यति दृष्यमान थियो कि यसबाट मैले मेरै विगतको युद्धको गन्ध, युद्धको आवाज, युद्धको छवि महशुस गरेँ,” उहाँले आँसु झार्दै भन्नुभयो, “म कसैलाई पनि यस्तो होस् भन्ने चाहन्नँ । त्यसैले मलाई आशा छ कि शान्ति आउनेछ ।”

हमासद्वारा गाजाका महिलालाई बन्धक बनाएको भिडियो सार्वजनिक, ‘क्रूर दुष्प्रचार’भएको इजरायली प्रधानमन्त्री नेतन्याहूको भनाइ

हमासले सोमबार एक भिडियो सार्वजनिक गर्दै अक्टोबर ७ मा भएको आक्रमणका क्रममा २३० भन्दा बढी व्यक्तिहरूमध्ये तीन जना महिलालाई लडाकूहरूले अपहरण गरी गाजा लगिएको भनेका बताएको छ ।

प्यालेस्टिनी इस्लामिक समूहले ७६ सेकेन्डको भिडियोमा ती महिलालाई ‘यहुदी बन्दी’ को संज्ञा दिएको छ तर उनीहरूको पहिचान तत्काल पुष्टि गर्न सम्भव छैन ।सेतो टाइलको भित्तामा प्लास्टिकको कुर्सीमा बसेकी एक महिलाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सबै बन्दीहरूको रिहाईका लागि कैदी आदानप्रदानमा सहमत हुन आग्रह गरेकी छिन् ।

हिब्रु भाषामा बोल्दा तिनी साह्रै आक्रोशित भएकी देख्न सकिन्छ र अन्तमा उनी रून्छिन् । तर तिनको दुवैतिर बसिरहेका अरू दुई जना चुपचाप बसेका देख्न सकिन्छ । हमासका सयौं बन्दुकधारीले सीमा पार गरी दक्षिणी इजरायलमा प्रवेश गरी किबुट्ज समुदाय, शहर र सैन्य अखडामा आक्रमण गरेपछि बन्धक बनाइएका थिए । तिनीहरूको उमेर ८० वषको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

हमासले घेराबन्दी गरेको क्षेत्रमा निर्माण गरेको भूमिगत सुरुङको विशाल सञ्जालमा उनीहरूलाई राखिएको अधिकारीहरूले विश्वास गरेका छन् । इजरायलले आफ्नो इतिहासकै सबैभन्दा खराब आक्रमणमा एक हजार ४०० जना सर्वसाधारणको मृत्यु भएको बताएको छ ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई तथा स्थल आक्रमणमा परी आठ हजार ३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी महिला तथा बालबालिका रहेको जनाएको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले अक्टोबर ७ मा गरेको भीषण आक्रमणका तीन जनालाई बन्धक बनाएको भिडियो ‘क्रूर मनोवैज्ञानिक दुष्प्रचार’ भएको बताएका छन् ।

“यो हमास–आइएसआइएसको क्रूर मनोवैज्ञानिक प्रोपोगान्डा हो,” नेतन्याहूले भिडियो सार्वजनिक भएलगत्तै आफ्नो कार्यालयले जारी गरेको टिप्पणीमा गाजाका लडाकूलाई इस्लामिक स्टेट समूहसँग तुलना गर्नुभएको छ । प्रधानमन्त्री नेतन्याहूले भिडियोमार्फत् सार्वजनिक महिलाको नाम येलेना ट्रुपानोब, डेनियल एलोनी र रिमोन किश्र्ट भएको बताउँदै ‘अपहरणमा परेका र हराइरहेका सबैलाई घर फर्काउने’ प्रतिबद्धता जनाएका छन् ।

बन्दीहरूमाथि बढ्दो घरेलु दबाबको सामना गर्दै इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले आइतबार लडाकूहरूले बन्धकहरूको भाग्यमाथि ‘मनोवैज्ञानिक खेल’ खेलेको आरोप लगाउनुभएको छ । अक्टोबर १६ मा हमासले इजरायली–फ्रान्सेली बन्धक मिया शेमको भिडियो सार्वजनिक गरेको थियो ।

पोखरामा रगत अभाव : रक्तदान गर्न आह्वान

कास्की, १४ कात्तिक स् गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ ।

रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ । पोखरा–५ जिरो किमीमा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको सो केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन् । अहिले रगत अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम गरेर अभाव टार्ने प्रयास गरेका हौँ ।”

केन्द्रले अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएको जनाएको छ । सहज आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने उहाँले बताउनुभयो । पोखरामा दैनिक ७० देखि ७५ युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गर्दछ । आकस्मिक रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनबहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वतःस्फूर्त सहभागिताप्रति आभार व्यक्त गर्नुभयो ।

“मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमा छ । प्रहरी जनताकै सेवाका लागि रहेको हुँदा जनताको सुरक्षाका साथै जनसेवाका कार्यमा प्रहरी सधँै साथमा रहन्छ”, उहाँले भन्नुभयो ।

रक्तदान कार्यक्रम आयोजना गरेको अभिभावक गृह कास्कीका अध्यक्ष देवेन्द्र सुवेदीले आकस्मिकरूपमा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिताप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रगत अभाव भएको थाहा पाएपछि तत्कालै कार्यक्रमको आयोजना गरिएको हो ।”

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

काठमाडौँ, १४ कात्तिक (रासस) : दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ ।

मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।”

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूमध्ये मधुवन–१ सुनसरीका स्वर्णकार र सपही–६ धनुषाका साहको शव पहिचान हुन बाँकी थियो । दुवैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।

हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल आइपुगेको छ । हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान शारदा–३ का प्रवेश भण्डारी छन् ।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा शरद्याममा पनि पर्यटक

म्याग्दी, १४ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा शरद्याममा पनि पर्यटक जान थालेका छन् ।

नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार–प्रसार भएपछि यसपालिको शरद्याममा पहिलोपटक आन्तरिक पर्यटक पुगेका हुन् ।

अन्नपुर्ण –४ का वडा सदस्य श्याम पुर्जाले शरद्याममा हिमाल आरोहणका लागि विदेशी पर्यटक नआए पनि देशका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटकको चहलपहल बढेको जानकारी दिनुभयो । “विगतका वर्षमा वसन्त ऋतुमा हिमाल आरोहणका लागि हेलिकोप्टरबाट आउने पर्वतारोहीहरूको चहलपहल हुने अन्नपूर्ण आधार शिविर शरद्याममा सुनसान हुने गर्दथ्यो”, उहाँले भन्नुभयो, “दसैँपछि मात्रै दुई सय जनाभन्दा बढी आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका छन् ।”

नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । हुमखोलाबाट आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ ।

एकैदिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘अतुलनीय स्थान’ गन्तव्य घुम्न आएको पोखराका दीपक कार्कीले बताउनुभयो । पोखरा, बेनी, काठमाडौँलगायतका ठाउँबाट टेन्ट, खाने, बस्ने सामान लिएर आधार शिविर पुग्ने गरेका छन् । स्थानीय युवाहरूले पर्यटकलाई घुमाउन लैजाने गरेका छन् ।

सन १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथमालको आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।

हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी सुम्निमा बरुवालले बताउनुभयो । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रूपमा रहेको छ ।

गत जेठ महिनामा म्याग्दीका पत्रकार र जनप्रतिनिधिको टोलीले मौरिस हर्गोज पदमार्ग तथा अन्नपूर्ण आधार शिविरको प्रचार–प्रसारका लागि भ्रमण गरेका थिए । यसैगरी म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अष्टे«लियाले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आयोजना गरेको तस्वीर प्रदर्शनीले पनि अन्नपूर्ण आधार शिविरको प्रचार–प्रसार भएको थियो ।

प्रवर्द्धनात्मक गतिविधिसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटक आगमन बढेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । आधार शिविरमा खाने–बस्ने सुविधा, सञ्चार, खानेपानीलगायत पूर्वाधारका लागि गाउँपालिकाले जोड दिने अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान

गण्डकी, १४ कात्तिक : नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

अन्नपूर्ण आधार शिविरमा पुगी उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गर्नुहुने जनाइएको छ । महासचिव गुटेरेसको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।

पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालका परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्दछ । अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् ।

फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहदेखि चार हजार एक सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा एरिक सिप्टनले गर्नुभएको पदयात्राले यहाँको पदयात्रा पर्यटन अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । अन्नपूर्ण हिमालको गरिमा र महत्वलाई उजागर गर्नका लागि प्रत्येक वर्षको अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन गर्दै आइएको छ ।

धार्मिक एवं सांस्कृतिकरूपले महत्वपूर्ण मानिने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने बुद्धशिला, पुजनीय बराह र यहाँबाट देखिने एक सय आठ धारासहितका धार्मिकस्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ ।

फिल्म फेस्टिभलमा ‘हल्कारा’

काठमाडौँ – एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र ‘हल्कारा’ अमेरिकामा ‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’को नवौँ संस्करणमा छनोट भएको छ ।

कात्तिक २२ देखि मङ्सिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने महोत्सव अन्तर्गत प्रतिस्पर्धात्मक खण्डमा छनोट भएको निर्देशक विक्रम सापकोटाले जानकारी दिनुभयो ।

“हाम्रो चलचित्र अवार्डमा छनोट भएको जानकारी दिन पाउँदा उत्साहित छौँ । दुई प्रदर्शनी तय गरिएको छ । हाम्रो मौलिक कथालाई अन्तर्राष्ट्रिय महोत्सवमा प्राप्त प्रतिक्रियाले उत्साहित छौँ”, निर्देशक सापकोटाले भन्नुभयो । चलचित्रमा हल्कारा (हुलाकी) मार्फत वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, दीपक क्षेत्री लगायतले अभिनय गर्नुभएको छ ।

पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी : मन्त्रालय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताउनुभयो । उहाँका अनुसार बालबालिका, प्रजनन समूहका वयष्क मानिस, केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीमा पनि रगतमा लेड (सिसा) पाइएको छ । सिसा एक प्रकारको रसायन हो जुन सजिलै नपग्लने र मानिसको शरीरमा नपच्ने खालको हुन्छ ।

मानिसलाई आवश्यकभन्दा बढी सिसा रहेको अध्ययनले देखाएको उहाँले बताउनुभयो । रङ्रोगन (पेन्टर्स), सौन्र्दयका साधन (लिपिस्टिक, काजल), रङ्गीचङ्गी खेलौना, चाउचाउ र केही दर्ता नगरिएका आयुर्वेदिक औषधिका लेड (सिसा) पाइने गरेको उहाँले जानकारी दिनुभयो । लेडको विषाक्तताबाट जोगिन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

सरकारले लेड (सिसा) को विषबाट बच्नका लागि जनचेतना जगाउन सचेतना सप्ताह मनाएको छ । सिसा बिजुलीको तेल, श्रृङ्गारका सामग्र्री घर रङ्गाउने पेन्टमा प्रयोग गरिन्छ । यस्तै आयुर्वेदिक औषधि भन्दै झोल औषधिमा पनि बढी सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो ।

लेड (सिसा) को विषबाट मानिसलाई मस्तिष्क, स्नायु र मानिसको व्यवहारमा असामान्य बनाउने गर्दछ । यसैगरी सिकाई र सुनाईमा पनि मन्द विकास गराउँछ । सिसाको मात्रा शरीरमा बढी भएको अवस्थामा बच्चा र युवालाई पेट दुख्ने, खान मन नलाग्ने, मानसिक विकास रोकिने, कब्जियत हुने, रक्तअल्पता, झनक्क रिसाउने, मिर्गौला बिग्रने, एकान्त बस्ने जस्ता लक्षण देखिने गर्दछ ।

विश्व स्वास्थ्य सङ्गठनले मानव स्वास्थ्यका लागि १० विषाक्त रसायनमध्ये एक रसायन सिसा हो भनेको छ । सरकारले रङको मात्रा ९० पिपिभन्दा कम हुनुपर्दछ भनेर मापदण्ड बनाएपनि अनुगमन नहुँदा बढी मात्रा सिसाको प्रयोग हुने गरेको छ ।

तनहुँमा डेङ्गु सङ्क्रमित छ हजारभन्दा बढी पुगे

दमौली – तनहुँ जिल्लामा दैनिक डेङ्गु सङ्क्रमित थपिने क्रम बढेको छ । दुई महिनाको अवधिमा जिल्लामा छ हजार चार सय ८४ सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा पाँच हजार चार सय १५, शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४, घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन् । कुल सङ्क्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर १ मा एक हजार तीन सय ८६ जना रहेका छन् । वडा नम्बर २ मा एक हजार तीन सय २८ जना सङ्क्रमित भएका छन् । हालसम्म यहाँ डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई खोज र नष्ट गर अभियान सञ्चालन गर्न परिपत्र गरिएको अधिकारीको भनाइ छ । अधिकारीका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ । स्थानीय अस्पतालको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीहरुलाई उपचार गर्ने र जटिलता उत्पन्न हुन सक्ने भएमा बहुविशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी पठाउन सबै अस्पताललाई निर्देशन दिइएको छ ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हो ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाईबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

‘स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्छ’ – राष्ट्रियसभाका उपाध्यक्ष

भक्तपुर – राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाका सम्पदा क्षेत्रको सोमबार अवलोकन गर्दै उहाँले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पनि छलफल गर्नुभएको थियो । स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले यसलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको हो । भक्तपुरका सांस्कृतिक सम्पदाको उपाध्यक्ष अर्यालले अवलोकन गर्नुभएको थियो ।

छलफलमा उपाध्यक्ष अर्यालसँग नगरप्रमुख प्रजापतिले संसद्मा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु सङ्घीयता र संविधान विपरीत भएको बताउँदै जिल्लास्तरीय सबै कार्यालय खारेज गरी पालिकाअन्तर्गत राख्नुपर्ने माग गर्नुभएको थियो ।

शिक्षकले राजनीति गर्न नपाउने भन्ने प्रावधान गलत भएको भन्दै राजनीति देश र जनताको हितमा केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।

जनकपुरधाम उपमहानगरले विद्युतीय रिक्सालाई दर्ता गर्ने

जनकपुरधाम – क्षेत्राधिकारको अन्यौल हटेपछि जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्युतीय रिक्सा (इ–रिक्सा) लाई दर्ता प्रक्रियामा ल्याउने भएको छ । नगरप्रमुख मनोजकुमार साहको अध्यक्षतामा बसेको सरोकारवाला सम्मिलित बैठकले विद्युतीय रिक्सा दर्ता, अनुमति, नवीकरण तथा नियमन कार्यविधि २०७९ अनुसार यहाँ सञ्चालित इ—रिक्सालाई दर्ता प्रक्रियामा ल्याउने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन र नगरपालिकाको कर तथा गैरकर सम्बन्धी ऐन २०७७ को दफा १५ (२) बमोजिम बनाइएको कार्यविधिमा टेकेर यही कात्तिक १९ गतेदेखि मङ्सिर मसान्तभित्र सबै इरिक्सालाई दर्ता प्रक्रियामा ल्याउने निर्णय गरिएको पनि कार्कीले बताउनुभयो । नगरप्रमुख साहले क्षेत्राधिकारको अन्यौलताका कारण यसअघि नगरक्षेत्रमा सञ्चालित रिक्साको नियमन तथा दर्ता प्रदेशअन्तर्गतको यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट हुँदै आएकामा सो अधिकार स्थानीय तहकै हुने समझदारीपछि अब उपमहानगरले नै व्यवस्थापनका सम्पूर्ण कार्य गर्ने जानकारी दिनुभयो ।

उहाँले इरिक्सा युनियन एकाई धनुषा, यातायात व्यवस्था कार्यालयलगायत सरोकारवालासँग बसेर उपमहानगरपालिका नगरभित्र सञ्चालन भइरहेका इ–रिक्साहरुको अभिलेखीकरण र व्यवस्थापनका लागि समयसीमा तोकेर दर्ता गर्ने र सो अवधिमा प्रक्रियामा नआउने इ–रिक्सालाई उपमहानगरमा चल्न नदिनेबारे जानकारी गराइएको बताउनुभयो ।

उपमहानगरपालिकाका प्रवक्ता एवं राजश्व शाखा प्रमुख परमेश्वर झाले विसं २०७१ सालताका नगरपालिकाको सिफारिसमा यातायात व्यवस्था कार्यालयमा दर्ता, अभिलेखीकरण र नवीकरणका काम हुँदै आएकामा अबदेखि भने उपमहानगरबाटै नियमन, व्यवस्थापन र कर सङ्कलनका काम हुने बताउनुभयो । इ–रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने र रुट छुट्ट्याउने लगायतका काम पनि उपमहानगरपालिकाले गर्ने झाको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी निरीक्षक शेखरकुमार साहले उपमहानगरपालिका क्षेत्रमा चल्ने इ—रिक्साको अभिलेख, भाडादरमा एकरुपता नहुँदा ट्राफिक व्यवस्थापन र सोसम्बन्धी कार्यक्रम सञ्चालन गर्नसमेत कठिनाई भइरहेकामा यस कार्यले सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ई—रिक्सा युनियन एकाई समिति धनुषाका अध्यक्ष पुष्पराज अर्यालले हाल जनकपुर क्षेत्रमा सञ्चालित आठ हजारभन्दा बढी रिक्साहरुको नियमन, व्यवस्थापन र भाडामा एकरुपता नहुँदा आफूहरुले पनि समस्या भोग्नुपरेको भन्दै अब भने त्यो झण्झटबाट मुक्ति पाउने आशा बढेको बताउनुभयो । उहाँले सम्पूर्ण इ—रिक्सा चालकलाई तोकिएको समयभित्रै दर्ता प्रक्रियामा आउन युनियनले पनि सबैलाई अनुरोध गर्नेसमेत बताउनुभयो ।

जनकपुरधाम उपमहानगरमा करिब दश हजार इ–रिक्सा सञ्चालनमा रहे पनि वर्षौैँदेखि त्यसको नियमनको अधिकार प्रदेश सरकारको हुने वा स्थानीय निकायको भन्ने अन्यौलताका कारण व्यवस्थापनमा समस्या भएको थियो । इ–रिक्सा व्यवस्थापन स्थानीय तहकै क्षेत्राधिकारमा पर्ने निष्कर्षपछि दर्ता प्रक्रियामा ल्याइए पनि पेट्रोलियम पदार्थबाट चल्ने रिक्साको नियमनको अधिकारबारे भने अझै अन्यौलता कायमै छ ।

रिक्सा व्यवस्थापनमा ध्यान नदिएकाले प्रदेश राजधानीको रुपमा रहेको जनकपुरधाममा ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको भन्दै स्थानीय तथा प्रदेश सरकारको आलोचना हुँदै आएको छ ।

दसैँमा पेट्रोलियम पदार्थको खपत बढ्यो

नेपालीको महान् पर्व दसैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो । चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिरी जिल्लामा गएकाले पनि डिजेल, पेट्रोलको माग बढेर खपतमा वृद्धि भएको हो ।

अन्य समयको तुलनामा चाडपर्वका बेला सवारीसाधन बढी गुड्ने भएकाले पनि इन्धनको खपत बढी हुने गर्छ । दसैँ मनाउन सहरबाट गाउँ गाउँमा अधिकांश मानिस जाने हुँदा सवारीसाधनसँगै जहाजको उडान धेरै हुने गर्छ ।

नेपाल आयल निगमका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्षको दसैँमा डिजेल, पेट्रोलको खपतमा वृद्धि भएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दसैँमा इन्धनको खपतमा वृद्धि भएको जानकारी दिए । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा डिजेल, पेट्रोल र हवाई इन्धनको माग उच्च हुँदा खपतमा समेत वृद्धि भएको उहाँको भनाइ छ । गत वर्षको दसैँको तुलनामा यस वर्ष डिजेल र पेट्रोलको खपत बढेको उनको भनाइ छ ।

निगमका अनुसार गत वर्ष असोज १० देखि २३ सम्म दुई करोड ६९ लाख ४४ हजार ६०७ लिटर पेट्रोल खपत भएकामा यस वर्ष असोज २८ देखि कात्तिक ११ सम्म दुई करोड ९८ लाख ५८ हजार ६५८ लिटर खपत भएको छ ।

यस्तै गत वर्षको दसैँ अवधिमा दुई करोड ९७ लाख २८ हजार ९९४ लिटर डिजेल खपत भएकामा यस वर्ष तीन करोड ७७ लाख आठ हजार ९४३ लिटर खपत भएको निगमले जनाएको छ । सामान्य अवस्थाको तुलनामा दसैँका बेला दोब्बर बढी डिजेल खपत हुने गर्छ ।

निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२६ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ ।

यसैबिच भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ६३ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) आयात भएको छ ।

साउनदेखि असोजसम्म २९ अर्ब ९२ करोड १६ लाख चार हजार रुपियाँ बराबरको दुई लाख ६९ हजार ८७६ किलोलिटर डिजेल आयात भएको छ । यस्तै पेट्रोल १७ अर्ब १० करोड ८७ लाख ३९ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार ५९४ किलोलिटर आयात भएको छ ।

यस्तै चार अर्ब ७० करोड ३७ लाख १२ हजार रुपियाँ बराबरको ४३ हजार ५८० किलोलिटर हवाई इन्धन आयात भएको छ । ११ अर्ब ६२ करोड ७१ लाख ६३ हजार रुपियाँको एक लाख ३२ हजार ५७७ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको विभागको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

१२ वर्षदेखि ‘हेर्न नभ्याएको, नमिलेको’ एउटा मुद्दा

काठमाडौं । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारका मुद्दामध्ये १२ वर्ष पुरानो भ्रष्टाचारसँग सम्बन्धित मुद्दाको सोमबार पेसी चढेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासमा परे पनि उक्त मुद्दा भने ‘हेर्न नमिल्ने’मा परेको छ । सरकारले २०६८ साल असोज ३० गते सर्वोच्चमा दिनेशनाथ चालिसेसहित नौ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पुनरावेदन दर्ता गरेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन दर्ता भएको थियो । जुन मुद्दा प्रायः हेर्न नमिल्नेमै पर्ने गरेको छ ।

२०७९ साउन २४ गते मिसिल कागज झिकाउने आदेश भएको थियो । त्यसपछि एक पटक हेर्न नभ्याइने र तीन पटकसम्म हेर्न नमिल्नेमा परेको छ । त्यसै मुद्दामा प्रतिवादी चालिसेको तर्फबाट कानुन व्यवसायीका रूपमा हरिकृष्ण कार्कीले समेत बहस गरेका थिए । त्यसपछि कार्की सर्वोच्चमा न्यायाधीश नियुक्ति भई प्रधानन्यायाधीशको जिम्मेवारी लिएर सेवानिवृत्त भइसकेका छन् । तर सर्वोच्चमा अहिलेसम्म मुद्दाको टुंगो लाग्न सकेको छैन ।

पुराना भ्रष्टाचारका अरू पनि मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छन् । पाँच वर्ष नाघेका चार हजार बढी मुद्दा सर्वोच्चमा विचाराधीन छन् । त्यसमा १७ वर्ष पुराना भ्रष्टाचारका मुद्दा पनि फैसला हुन बाँकी छन् । पूर्वमन्त्री गोविन्द जोशीलगायतका पुराना भ्रष्टाचारका मुद्दामा फैसला हुन सकेको छैन ।

सर्वोच्चमा पुनरावेदन दर्ता भइसकेपछि २०६८ चैत २१ गते न्यायाधीशहरू दामोदरप्रसाद शर्मा र गिरिशचन्द्र लालको संयुक्त इजलासमा पहिलो पटक पेसी चढेको थियो । पेसी चढेको सुरुवातमै पक्षका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका थिए । त्यसपछि २०६९ जेठ १४ गते चढेको पेसीमा पनि पक्षकै कानुन व्यवसायीबाट मुद्दा स्थगित भएको थियो । त्यसपछि न्यायाधीश दामोदरप्रसाद शर्मा र तर्कराज भट्टको संयुक्त इजलासले झझि ९झगडिया झिकाउने० आदेश गरेको थियो । त्यसपछि दर्जन बढी पटक पक्षकै कानुन व्यवसायीले मुद्दा स्थगित गरेका छन् ।

सामान्यतया कानुन व्यवसायीले तीन पटकसम्म मुद्दा स्थगित गर्ने कानुनी व्यवस्था छ । यो मुद्दामा भने १५ पटकसम्म पक्षका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका छन् । धेरैपटक ‘हेर्न नमिल्ने र हेर्न नभ्याइने’मा परेको यो भ्रष्टाचार मुद्दा २०७७ सालमा दुई पटक, २०७८ सालमा एक पटक र २०७९ सालमा दुई पटक र २०८० सालमा चारपटक पेसी चढेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने

काठमाडौँ- लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जनालाई सात दिनभित्र सम्पर्कमा नआए कारवाही गरिने भएको छ ।

कार्यालयमा जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका २२ जना प्रहरीलाई सातदिन भित्रमा हाजिर हुन आउन प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ । अन्यथा उनीहरुलाई सेवाबाट हटाउने कारबाही हुने छ ।” नेपाल प्रहरीको सम्पर्कमा नरहेका प्रहरीमा प्रहरी सहायक निरीक्षक जेम्सहाङ सोदेम्बा, प्रहरी हवल्दार डम्मरनारायण चौधरी, लोकबहादुर गौतम, सहायक प्रहरी हवल्दारमा नारायण पोखरेल, राजकुमार थारु, सुनिता चौधरी, भुपाल क्षेत्री रहेका छन् ।

यसैगरी प्रहरी जवानमा टोपेन्द्र शाही, विकेश प्रजापति, प्रदीप रोका, श्यामसुन्दर यादव, रामकृष्ण वली, जनकसिंह साउद, राजन राई, विशाल थापा, विश्वप्रकाश विक, युवराज अर्याल, सुजन गुरुङ, हेमराज महतोे, प्रकाश कुँवर, नीरज बढई तथा वसन्त ढकाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता कडायतले बताउनुभयो । 

नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा

काठमाडौं । गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् ।नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव २६ प्रतिशत घर खाली अवस्थामा रहेको हो ।बिनाअध्ययन र प्रयोजन बैंकसँग कर्जा लिएर र भूकम्पपछि सरकारसँग अनुदान लिएर घर बनाउँदा अनुत्पादक क्षेत्रमा पैसा खनिएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को क्रममा गरिएको घरपरिवार सर्वेक्षणको सोमबार सार्वजनिक भएको प्रतिवेदनले नेपालका कुल २५ प्रतिशत जनता ऋणमा परेको देखिएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म ९१५ दिन० प्रत्येक व्यक्ति तथा परिवार’ विस्तृत विवरण संकलन गरेको थियो ।सार्वजनिक गरिएको नतिजाअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले घर रहेका छन् । २८ दशमलव ७८ प्रतिशत २ तले, ९ दशमलव १७ प्रतिशत ३ तल्ले र १ दशमलव ३ प्रतिशत चारतले पाइएको छ । शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले शून्य दशमलव शून्य १ प्रतिशतदेखि नौ तले ० दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका छन् ।मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात २ दशमलव ३४ प्रतिशत रहेको छ ।नेपालका कुल घरमध्ये ७१ प्रतिशत आवासीय, ३ प्रतिशत व्यापारिक, शून्य दशमलव ३७ प्रतिशत सरकारी, १ दशमलव १२ शैक्षिक, शून्य दशमलव २० प्रतिशत स्वास्थ्यसम्बन्धी रहेका छन् ।यीमध्यै पौने ५ लाख घर खाली अवस्थामा रहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ

काठमाडौँ – मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी हिजै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ गरेको पनि उहाँको भनाइ छ ।

प्रहरीको अनुसन्धानमा मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ ।