`

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने कालिया खोलाको पुल अधुरै

राजविराज (सप्तरी), १ कात्तिक : हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ । निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन भएपछि पुल कहिले बन्ने टुङ्गो छैन ।

‘लामा बागमती निर्माण सेवा’ले २०७१ सालमा पुल निर्माण सुरु गरेको हो । सदरमुकाम राजविराज जोड्ने सो पुल निर्माण समयमा सम्पन्न नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको छ । निर्माण सेवाले हालसम्म रु दुई करोड १३ लाख भुक्तानी पाइसकेको छ ।पुल निर्माण सम्पन्न गर्न बाँकी रहेको काम ठेकेदारले अलपत्र छाड्दा आवतजावत गर्न सर्वसाधारणलाई समस्या भएको छ । निर्माण कम्पनीको ढिलाइ र आयोजना कार्यान्वयन एकाइको बेवास्ताले गर्दा उक्त पुलको समयमै निर्माण सम्पन्न हुन नसकेको हो । उक्त पुलको हालसम्म ८१ दशमलव २३ प्रतिशत काम सम्पन्न भएको छ । यहाँ समयमा पुल निर्माण सम्पन्न नभएका कारण वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने गरेकाले आवतजावतमा अवरोध हुने गरेको तिरहुत गाउँपालिका–२ का विजय यादवले बताउनुभयो ।उहाँ भन्नुहुन्छ, “समान्य वर्षा भएपछि कालिया खोलाबाट चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी पूर्णरुपमा बन्द हुने गरेको छ ।”राजविराजबाट जिल्लाको पूर्व जोड्ने तिरहुत गाउँपालिका, कन्चरुप नगरपालिका, सप्तकोशी नगरपालिका र उदयपुर जिल्लासम्मका छोटो दूरी प्रयोग गर्ने उक्त बाटोमा पुल निर्माण अवरोधका कारण समस्या भएको छ । पुल निर्माणमा ढिलाइ गरेपछि हुलाकी सडक निर्माणको जिम्मा लिएको बज्रगुरु निर्माण सेवाले ठेक्का लिएको करिब दुई किलोमिटर सडक कालोपत्रको काम पनि हुन सकेको छैन ।

महानगर प्रहरी प्रमुखमा पाण्डेको वढुवा

काठमाडौँ, १ कात्तिक : काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ ।

महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिनुभयो । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो । यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो ।

विसं २०५० मा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो । यसअघि काठमाडौँ महानगरपालिकामा पाँच जनाको प्रहरी उपरीक्षक दरबन्दी थियो । हाल महानगर प्रहरीमा तीन सय हाराहारीमा जनशक्ति रहेको छ ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै

काठमाडौँ, १ कात्तिक : नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ ।

टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा युएई तीन खेलमा विजयी भएको छ । नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुने छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन् ।
 

प्रधानमन्त्री दाहाल मुुस्ताङमा

जोमसोम (मुस्ताङ), १ कात्तिक : प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुुस्ताङ आइपुग्नुुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुुन उहाँ मुुस्ताङ आउनुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आउनुुभएका प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुुगेको कागबेनीलगायत क्षेत्रको अनुुगमनमा आउनुुभएको मुुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुुभयो । प्रधानमन्त्री दाहालले मुुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ । उहाँले हालै गर्नुभएको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो ।चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुुमतिपत्र वितरण गरिएको छ । प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) मुुस्ताङका इन्चार्ज कपिल लामाले बताउनुुभयो ।प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत यहाँ आउनुभएको छ ।जलवायुु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले आजै जोमसोममा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुुहुने कार्यक्रम छ ।

चलचित्र‘महाजात्रा’ विदेशमा प्रदर्शनको तयारी

काठमाडौँ, १ कात्तिक : नेपाली चलचित्रले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ ।

दर्शक बढाउने काम अपेक्षित चलचित्रले गरेका छन् । तीमध्येको एक हो, ‘जात्रा’ शृङ्खला । षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रले अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । त्यहीँ कारण उक्त कम्पनीले निर्माण गर्ने आगामी चलचित्र ‘महाजात्रा’ निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’को भारतबाहेकका लागि प्रदर्शन अधिकार खरिद गर्नुभएको छ । उहाँले कथाले पूर्णता नपाउँदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खलाप्रतिको दर्शकको विश्वासलाई मुख्य कारण देखाउनुभयो ।

“जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । त्यहीँ कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेँ”, वितरक थापाले भन्नुभयो, “मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकांश देशमा प्रदर्शन अधिकार खरिद गरिसक्नुभएको छ । निर्माण पक्षलाई विश्वास गर्नुभएको छ, साथै जात्राको अघिल्लो शृङ्खलाले बनाएको विश्वसनीयता पनि हो ।”

जापान, हङ्कङ, न्यूजील्याण्ड, दक्षिण कोरिया, मध्यपूर्वका देश, अष्ट्रेलिया तथा युरोपमा चलचित्र नेपालकै मिति आगामी चैत ९ गते प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिनुहुँदै वितरक थापाले ‘महाजात्रा’मार्फत केही नयाँ देशमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुनेसमेत बताउनुभयो ।

विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवारका साथ आउने गरेका छन् । सो चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन लागेको बताउनुभयो ।

“हाम्रो पछिल्लो चलचित्र जात्रैजात्रा इन्टरनेट रिलिज भएपछि अधिकांश दर्शकले सामाजिक सञ्जालमार्फत आगामी शृङ्खला ल्याउन आग्रह गर्दै जिज्ञासा राख्नुहुन्थ्यो । हामीले दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले समेत शृङ्खलालाई निरन्तर दिन हौसला दिएको हो”, उहाँले भन्नुभयो ।

आपत्कालीन आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’को लेखन तथा निर्देशन प्रदीप भट्टराईले गर्नुभएको छ भने यसमा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कालगायत कलाकारले अभिनय गर्नुहुनेछ । यसको छायाँङ्कन दसैँलगत्तै कात्तिकको दोस्रो साताबाट सुरु हुनेछ ।

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

खोटाङ, १ कात्तिक : जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना आफैँ बिरामी भएपछि उक्त सेवा ठप्प भएको हो ।

ढुङ्गाना उपचारका लागि काठमाडौँ जानुभएको छ । उहाँ उपचारका लागि जानुभएपछि अस्पतालले प्रसूति सेवा बन्द भएको बारे सूचना जारी गरेको छ । गत असोज ३० गते जारी गरिएको सूचनामा भनिएको छ, “अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला अस्पतालमा सुत्केरी र शल्यक्रिया सेवा बन्द भएको छ ।”

जिल्ला अस्पतालका निमित्त प्रमुख डा चतुरानन्द यादवले कार्यरत एकमात्र स्वास्थ्यकर्मी बिरामी भएर उपचार गराउन गएपछि सेवा बन्द गर्न बाध्य भएको जानकारी दिनुभयो । “एनेस्थेसिया सहायक दशैँपछि मात्र फर्किनुहुन्छ, त्यतिबेलासम्म सेवा उपलब्ध गराउन सकिँदैन”, उहाँले भन्नुभयो । ढुङ्गानाको ठाउँमा अर्को कर्मचारीको व्यवस्था गर्न तत्काल सम्भव नभएको उहाँको भनाइ छ ।

जिल्लामा वैकल्पिक व्यवस्था नहुँदा सुत्केरीलाई चर्को शुल्क तिरेर हेलिकप्टर चार्टर गरी उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । विसं २०४९ मा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन । अस्पताललाई ‘निकसाइमन’ नामक संस्थाले एकजना एनेस्थेसिया सहायक उपलब्ध गराएको हो । ती स्वास्थ्यकर्मी आफै बिरामी भएको अवस्थामा पटक पटक प्रसूति सेवा बन्द गर्ने गरिएको छ ।

दशैमा घरमै कसरी बनाउने चिकेन रोस्ट ?

चिकेन रोष्ट मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो । हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन् । घरमै रोष्ट बनाउन पनि एकदमै सजिलो छ । यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट ।

आवश्यक सामग्री
चिकेन आवश्यकताअनुसार
तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन, अदुवाको पेस्ट
कागती
अण्डा

बनाउने तरिका
मासुमा बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन, अदुवाको पेस्टसँगै कागतीको रस र अण्डा राखेर राम्ररी मोल्ने र कम्तिमा आधा घण्टाका लागि छोपेर राख्ने ।पकाउँदा भाँडामा तेल तातेपछि त्यसमा म्यारिनेट गरेर राखेको मासु हाल्ने । केही समयपछि खैरो हँुदै गएपछि त्यसलाई फकाएर पकाउने र रोस्ट खान तयार हुन्छ ।

हिमाली जिल्ला मनाङमा हिमपात

मनाङ- हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिनुभयो । “विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

उहाँका अनुसार तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपात हुन सुरु भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ । समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन् । स्थानीय याङदुङ गुरुङले सयममा हिमपात हुँदा किसानमा खुसी छाएको बताउनुभयो । “हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुन्छ, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरुआत भएको छ, यसले किसानलाई फाइदा हुन्छ”, उहाँले भन्नुभयो । हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताउनुभयो ।

“हिमपातको सुरुआत भएकाले मङ्सिरको पहिलो सातादेखि खर्कबाट याक, चौँरी बेसी झार्ने बेला भएको छ”, उहाँले भन्नुभयो । हिमाली जिल्लाका मानिसलाई त हिमपात भएपछि खुसी हुने गरेको उहाँले बताउनुभयो । गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । समयमा नै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताउनुभयो ।

गुरुङले भन्नुभयो, “पहिले पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ, तर पनि समयमा परिदिए राम्रो हुने थियो, उत्पादन राम्रो हुने आशा लिएका छौँ, यस वर्ष समयमा नै सुरु भएको छ ।” यहाँ उत्पादन हुने स्याउ, करु, जौ, फापर, आलुलगायतका बाली पानी पुग्ने हुन्छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित

वेदकोट (कञ्चनपुर)- कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन् । पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् ।

सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताउनुभयो । “सात÷आठ कट्ठा खेतको काटेको धान भिजाएको छ, एक्कासी पानी आउँदा खेती भित्र्याउनै पाएनौँ”, उहाँले भन्नुभयो, “भिजेको धान खेतमै छ, घाम पनि लागेको छैन ।”

गाउँमै अढाइ बिघा जमिन अधियाँमा लिएर उहाँले खेती गर्दै आउनुभएको छ । अधियाँको जमिनमा उब्जाएको खेतीले वर्षभरि खाने चौधरी पाकेको धान खेतमै भिजेपछि चिन्तित छन् ।“थोरै धान कुन्युँ बनाएर राखेका थियौँ, त्रिपालले छोपेर त्यो धान जोगिएको छ”, उहाँले भन्नुभयो, “अधियाँ बनाएर खानुपर्छ, वर्षाले पाकेको धान खेतमै भिजाएपछि समस्या थपिएको छ ।”

काटेको धान खेतमै भिजेको बताउँदै उहाँले अझै वर्षा भए धानबालीमा बढी क्षति पुग्ने बताउनुभयो । गाउँमा ठाउँठाउँमा वर्षाले धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले बताउनुभयो । “धेरैले धान भित्र्याउन सकेका छैनन्, काटेर धान चुट्नमा किसान व्यस्त छन्”, उहाँले भन्नुभयो, “यस्तो समयमा भएको वर्षाले किसानलाई दुःखित बनाएको छ ।”
उहाँले पिपलाडीमा पाँच बिघा जमिनमा धान, तरकारीलगायतको खेती गर्दै आउनुभएको छ । यसवर्ष धान उत्पादन पनि घटेको चौधरीको भनाइ छ ।

“विगतको वर्षमा दुई सय बोरासम्म धान उत्पादन हुन्थ्यो, यो वर्ष धान राम्रो छैन”, उहाँले भन्नुभयो, “त्यसैमा पानीले भिजाएको छ ।” खेती भित्र्याउने समयमा हुने वर्षाले कञ्चनपुरमा वर्षेनी क्षति हुने गरेको छ । किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण पछिल्ला वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले ठाउँठाउँमा वर्षाको कारण पाकेको धान भिजेको बताउनुभयो । “क्षतिको आधिकारिक विवरण आएको छैन, वर्षाले जिल्लाभर १०÷१५ प्रतिशत धान भिजाएको अनुमान छ”, उहाँले भन्नुभयो, “अहिले किसानलाई धान भित्र्याउने चटारो छ ।” जिल्लाभर अहिलेसम्म ५०÷६० प्रतिशत खेती मात्रै भित्र्याइएको अनुमान छ । अझै पानी पर्ने सम्भावना रहेकाले किसानलाई सतर्कता अपनाउन उहाँले आग्रह गनुभयो ।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित

काठमाडौँ-न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित हुनुभएको छ । मंगलबारसम्पन्न साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । समाजको नयाँ कार्यसमितिलाई प्रबन्ध समिति भनिन्छ ।

उपाध्यक्षमा सर्वाेच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ, महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल, कोषाध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेती रहनुभएको छ ।

सदस्यमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्का रहनुभएको छ । समाजको कार्यसमिति सदस्यको पदावधि दुई वर्षको हुनेछ ।

आर्थिक सूचकाङ्क सन्तोषजनक

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो महिनामा पनि शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपियाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपियाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१।७ प्रतिशतले कमी आई ८५ करोड आठ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ४६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कर्णाली प्रदेश सरकारको प्रथम त्रैमासिक प्रगति सार्वजनिक

कर्णाली- कर्णाली प्रदेश सरकारको प्रथम त्रैमासिक प्रगति सार्वजनिक गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले मंगलबारआयोजना गर्नुभएको पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा चालु आव २०८०/०८१ को तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कामको प्रगति सार्वजनिक गर्नुभएको हो ।

नजिकिँदै गरेको विजयादशमी, तिहार तथा छठपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा देशभरिका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले सीमित साधन स्रोत, जनशक्तिको अभावका बीचबाट प्रदेश सरकारले यहाँका नागरिकहरुको आर्थिक सम्पन्नता र सामाजिक न्यायको प्रत्याभूति हुने गरी काम थालेको बताउनुभयो ।

मुख्यमन्त्री शर्माले चालु आवको नीति तथा बजेट निर्माण र स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको, लगानी सम्मेलनको तयारी भइरहेको, स्वीट्जरल्याण्ड भ्रमणमा प्रदेशको आर्थिक विकासका लागि प्रस्ताव तयारी गरी लगानीबारे छलफल भइरहेको, विभिन्न खाले प्राकृतिक विपद्मा परी क्षति पुगेका कृषकलाई रु छ करोड राहत उपलब्धलगायतका कामलाई प्रथम त्रैमासिक उपलब्धिका रुपमा उल्लेख गर्नुभयो ।

उहाँका अनुसार यस अवधिमा प्रदेशसभाबाट कर्णाली प्रदेश विनियोजन र आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन पारित भएका छन् । तीन वटा विधेयक सभामा दर्ता भई विषयगत समितिमा छलफल भइरहेको र नौ वटा विधेयकको मस्यौदा निर्माणको कार्य भइरहेको मुख्यमन्त्री शर्माले बताउनुभयो ।

त्यसैगरी, प्रदेश सरकारका सचिव आनन्द सारुले सरकार साउनयता सहायकस्तरका तीन सय ६० कर्मचारीलाई नियुक्तिका लागि सिफारिस गरिसकेको जानकारी दिनुभयो । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना गरी कार्य सञ्चालन गरेको जनाउँदै उहाँले सरकारले दश कार्याविधि र तीन मापदण्ड निर्माण गर्नुका साथै विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको लगायतका ४४ बुँदे कार्य प्रगतिपत्र सार्वजनिक गर्नुभयो ।

‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को उद्देश्य पूरा गरी सरकारलाई जनउत्तरदायी बनाउन अगाडि बढेको प्रदेश सरकारले कृषि र वन पैदावरका माध्यमबाट रोजगारी सिर्जना गर्ने र त्यसबाट स्वरोजगार हुने वातावरण तयार गर्ने बताएको छ । यसका लागि विषयगत मन्त्रालय, आयोग र मातहत निर्देशनालय तथा जिल्ला कार्यालयलाई बजेट कार्यान्वयनमा जोड दिन निर्देशन गरिएको बताइएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, प्रदेश सरकारका कायममुकायम सचिव चूडामणि पौडेल, प्रदेश सचिवहरु तथा पत्रकार सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मंगलबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको छ ।

प्रधानमन्त्री दाहाल मंगलबार दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल जानुभएको थियो । हस्पिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।”प्रधानमन्त्री दाहालको उपाचारमा डा युवराज शर्मा, डा.यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेको हस्पिटलले जनाएको छ ।

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, १ कात्तिक : नवरात्रको चौँथो दिन दसँैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौँथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष काठमाडौँ उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाएको देखिन्छ ।

हेर्नुहोस् कार्तिक १ गते बुधवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको बिश्वासमा गरीएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि रहनु पर्नेछ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मीथुन राशि – अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ ।

कर्कट राशि – मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

सिंह राशि – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

कन्या राशि – कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

तुला राशि – मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि – बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि – नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि – कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशि – मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला ।

‘निष्पक्षता नै प्रहरीको मूलमन्त्र हुनुपर्छ’

जनकपुरधाम, ३० असोज : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले न्याय र निष्पक्षता नै प्रहरीको मूलमन्त्र हुनुपर्ने बताउनुभएको छ । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आज आयोजित ६८औँ प्रहरी दिवसको उपलक्ष्यमा मुख्यमन्त्री यादवले असल मानिसको रक्षा र खराबलाई दण्डीत गर्नु प्रहरीको आदर्श हुनुपर्ने बताउनुभयो ।

“मलाई थाहा छ तपाईंहरु कम स्रोत साधन र घामपानी नभनी नागरिकको सेवामा खटिरहनुभएको छ । नागरिकको पहिलो भरोसा नै तपाईंहरु नै हो, त्यसैले कुनै पनि निर्दोष मानिस र सिङ्गो समाजले सधैँ सम्झिने गरी काम गर्नुहोस्”, मुख्यमन्त्री यादवले भन्नुभयो ।

देश बनाउने जिम्मा राजनीतिज्ञको मात्र नभई प्रहरी प्रशासनलगायत सबैको साझा उद्देश्य भएकाले सबैले आफ्नो दायित्वमा कटिबद्ध हुनुपर्ने भन्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार यस्ता कार्यका लागि सधैँ साथमा रहने बताउनुभयो । उहाँले मधेस प्रदेशको आवश्यकता र संवेदनशीलतालाई ख्याल गर्दै काम गर्न पनि अपिल गर्नुभयो ।

मुख्यमन्त्री यादवले भन्नुभयो, “मधेस प्रदेशमा विद्यमान समस्याका बारेमा तपाईंहरु अझबढी जानकार हुनुहुन्छ । यहाँको शान्ति सुव्यवस्था, अमन चयन, विकास र सुशासनका लागि यस प्रदेशमा विशेष जोड दिन चाहन्छु ।”

कार्यक्रममा प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहमद समीमले राम्रो काम गर्दा आक्षेप र अवरोधको सामना गर्नुपरे पनि कानुनसम्मत ढङ्गले अगाडि बढ्न प्रहरीलाई आग्रह गर्नुभयो ।

त्यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासलाई कायम राख्दै आफूहरु सधैँ जनसेवामा समर्पित रहेको बताउनुभयो । उहाँले आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाहका क्रममा सहिद भएका अमर प्रहरीप्रति उच्च सम्मान प्रकट गर्नुभयो । त्यसअवसरमा सहिद परिवारलाई सम्मान र प्रहरीका सन्ततिलाई पुरस्कृतसमेत गरिएको थियो ।

गीतकार कुमार शिवाकोटीले अमेरिकाबाटै ल्याए प्रियसी

काठमाडौँ । गीतकार कुमार शिवाकोटीको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकाको ह्यारिसबर्क पेन्सिलभेनियामा करिब १ दशकदेखि बस्दै आएका गीतकार कुमार शिवाकोटीले आफ्नो सृजनामा तयार भएको गीत ‘भिझाएर आँशु’ को चर्चापछि अर्को गीत प्रियसी लिएर आएका हुन् । जसमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ भने गायक तथा मोडल प्रकाश सपुतको अभिनय रहेको छ । सार्वजनिक गीतमा गायक तथा संगीतकार पुष्प गजमेरको संगीत रहेको छ । जसमा सुमित विश्वकर्माको एरेन्ज रहेको छ भने गीतको मिक्सिगं तथा मास्टरिगं भारतको चेन्नईमा गरिएको हो ।

भिडियोले आँफुलाई भन्दा पनि बढी माया गरेकी प्रेमीकाले दिएको धोकापछिको अवस्थाको वर्णन गरेको छ । आँफुले माया गरेको मान्छेले धोका दिएपछि एउटा पुरुषले सबै कुरा त्यागेर हिड्नु परेको अवस्थालाई निर्देशक निकेश खड्काले कलात्मक शैलीमा देखाएका छन् । जसमा प्रकाश सपुत र समिक्षा पोखरलको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने भिडियोको सम्पादन विकाश धमलाले गरेका हुन् ।गीतकार कुमार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, पिरतीको खेल र ‘सानीलाई’ बजारमा ल्याईसकेका छन् भने उनको हामी नेपाली बोलको गीत रिलिजको क्रममा रहेको छ । गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । सार्वजनिक गीतको भिडियो जन्मभूमी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो ।

लेक लागेर बिरामी परेका तीनको उद्धार

गोरखा, ३० असोज : उत्तरी गोरखाको साम्दोमा लेक लागेर बिरामी परेका तीनको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । चुमनुव्री गाउँपालिका–१ साम्दोबाट लेक लागेर बिरामी परेका गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका वसन्त घिमिरे, चितवनको भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको हेलिकप्टरमार्फत उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।

बिरामीलाई एयर डाइनेष्टिको हेलिकप्टरमार्फत साम्दोबाट उद्धार गरी काठमाडाँै पु¥याइएको उहाँले बताउनुभयो । लार्केपासका लागि गएका तीनै जनालाई साम्दोमा पुगेपछि लेक लागेको थियो । उद्धारका लागि हेलिकप्टर पुगेलगत्तै हिउँ परेपछि केहीसमय हेलिकप्टर उड्न समस्या परेको थियो ।

गोरखाको अन्तिम गाउँ साम्दो समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटर उचाइमा पर्दछ । उनीहरु बिरामी परेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बिरामीको उद्धारका लागि गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाइँ त्यहाँ पुग्नुभएको थियो ।

त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, ३० असोज : त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् ।

सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान हुँदैछ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

नेपालमा पर्यटकीय याम सुरु भएको र दसैँलगायत महत्त्वपूर्ण चाडपर्व पनि प्रारम्भ भएकाले विदेशबाट नेपाल आउनेको सङ्ख्या बढेको छ । आन्तरिकतर्फ पनि उडान चाप रहेको छ । दैनिक दुईतर्फी तीन सय उडानबाट करिब १५ हजार यात्री आवतजावत गरिरहेका विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।

नियमित स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री

काठमाडौँ, ३० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ ।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उहाँ केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनुहुनेछ ।

प्रधानसेनापति ट्रफी मध्यपृतना र जगदल गणलाई

काठमाडौँ, ३० असोज : यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगितामा समग्र पृतनास्तरमा उपत्यका पृनता र गणस्तरमा जगदल गण सर्वाेत्कृष्ट घोषित भएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आज आयोजित कार्यक्रममा उपत्यका पृनतापति र जगदल गणका गणपतिलाई ट्रफी एवं नगद पुरस्कार प्रदान गर्नुभयो ।

प्रथम हुने पृतना र गणलाई रु तीन/तीन लाख नगद पुरस्कार प्रदान गरियो । प्रतियोगिता समग्रमा पुरानो गोरख गण र १६ नं बाहिनी द्वितीय भए भने फष्ट राइफल गण र मध्यपूर्वी पृतना तृतीय घोषित भए ।

द्वितीय हुने गण र बाहिनीलाई रु एक–एक लाख नगद, ट्रफी तथा तृतीय हुने गण र पृतनालाई रु ५०–५० हजार नगद र ट्रफी प्रदान गरियो ।

प्रतियोगितामाअन्तर्गत आज भएको फुटबल खेलमा जगदल गण प्रथम भयो भने काली शक्ति गण इन्जिनियरिङ दोस्रो भयो । प्रतियोगितामा जगदल गणले १ का विरुद्ध २ गोल गरेको थियो । जगदल गणका दोरिन्द्रविक्रम ढुङ्गाना र सन्जोग दुराले १/१ गोल गर्नुभयो भने काली शक्ति गणका अमृत दराईले १ गोल गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने गणलाई क्रमशः रु एक लाख र रु ५० हजार नगद ट्रफी र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा तेस्रो घोषित देवीदल गणलाई रु ३० हजार नगर र प्रमाणपत्र प्रदान गरियो । समारोहमा उत्कृष्ट खेलाडी, प्रशिक्षण र निर्णायकलाई पनि प्रमाणपत्र प्रदान गरियो ।

उहाँहरुलाई वलाधक्षरथी सीताराम खड्का तथा पूर्वप्रधानसेनापतित्रय प्यारजङ्ग थापा, राजेन्द्र थापा र पूर्णचन्द्र थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केट बल र फुटबल विधा समावेश थिए ।

समापन अवसरमा बलाध्यक्ष खड्काले ‘स्वास्थ्यका लागि खेल’ र ‘राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ भएको प्रतियोगितामार्फत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका प्रतिभावान खेलाडी उत्पादन र पहिचान गर्ने ध्येय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेलकुदमार्फत व्यक्तिगत र संस्थागत अनुशासन कायम गर्न प्रतियोगिताले निरन्तर सहयोग पु¥याउने नै छ ।” तेह्र दिनसम्म सञ्चालन भएको प्रतियोगितामा खेलाडी, प्रशिक्षक र निर्णायक गरी दुई हजार पाँच सयको सहभागिता रहेको सो अवसरमा जानकारी दिइयो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेल क्षेत्रका च्याम्पियन टिम हो ।

सो अवसरमा प्रतियोगिताअन्तर्गत ४२ किमी एथलेक्टिसका विजयी मोहनदेव जोशी र १० किमी दौड प्रतियोगिताका विजयी खड्गबहादुर खड्कालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

त्यस अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेल विधामार्फत उच्च योगदान पुर्‍याउने कीर्तिमानी खेलाडी दीपक अधिकारी र राष्ट्रिय महिला फुटबल खेलाडी विमला चौधरीलाई पनि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

नेपाल विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश

काठमाडौँ, ३० असोज : नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले निर्णायक गोल गरे । उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह एचमा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

काठमाडौँ, ३० असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा महतले भन्नुभयो, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् अब ती क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु ।”

जलविद्युत्को विकासबाट नै देशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिने यथार्थ दोहोर्‍याउँदै मन्त्री महतले निजी क्षेत्रबाट तीन सय मेगावाट विद्युत् उत्पादन भइरहेको अवस्थामा विदेशमा रहेका नेपालीले मातृभूमिको उन्नयनका निम्ति लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लगानीको प्रतिफल सुनिश्चित गर्ने ऐनकानुन रहेकाले निर्धक्क भएर पूँजी प्रवाह गर्न आह्वान गर्नुभयो ।

नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, ३० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै दक्ष, जिम्मेवार र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावशाली सङ्गठनको रूपमा स्थापित गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

६८औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सीमित साधन र स्रोतका बीच अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीले विश्वस्तरीय कार्य गरीख्याति कमाउनु देशका निम्ति गौरवको विषय भएको बताउनुभयो ।

“सीमित साधनस्रोत, जनशक्ति र अनेकौँ चुनौतीका बाबजुद अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याति कमाएको छ, त्यो हाम्रा लागि महत्वपूर्ण पुँजी हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो सङ्गठनको क्षमता अभिवृद्धिसँग सरकारको सफलता पनि गाँसिने हुनाले सङ्गठनको आधुनिकीकरणका लागि मेरो नेतृत्वको सरकार गम्भीर छ ।”

प्रहरी कर्मचारीको वृत्ति विकास, परिचालन र समन्वयमा सरकारले वैज्ञानिक विधि पालना गर्दै सङ्गठनभित्रका सबैले आत्मसम्मानका साथ देश सेवाको अनुभूति गर्न पाउनुपर्ने आफ्नो मान्यता रहेको र तदनुरु हुनुपर्नेमा आफूले निरन्तर जोड दिँदै आएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

सरकार प्रहरी जवानदेखि उच्चतम अधिकृतसम्मका सबैको साझा अभिभावक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबैलाई सरकारले समान व्यवहार गर्छभन्ने व्यवहारबाटै प्रमाणित भएको बताउनुभयो ।“सङ्गठनमा एकता कायम गर्न, प्रहरी कर्मचारीको मनोबल उकास्न नेतृत्वतह सधैँ सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले विश्वव्यापीकरणसँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिको चरम विकासले थपेका चुनौतीको डटेर सामना गर्न तथा त्यसले प्रदान गरेका अवसरलाई उपयोग गर्न निर्देशन दिनुभयो । उहाँले सूचना–प्रविधिको विकाससँगै अपराधका नयाँ–नयाँ आयाम विकसित भइरहेको वर्तमान परिप्रेक्ष्यमा अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिमैत्री संयन्त्र बनाएर प्रविधिको भरपूर उपयोग गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ नेपाल प्रहरीले संयुक्त राष्ट्रसङ्घमार्फत गरेको योगदानको सराहना गर्नुभयो ।

आगामी दिनमा विश्वशान्तिका निम्ति नेपाल प्रहरीलगायत देशका सुरक्षा अङ्गको उपस्थिति र भूमिका बढाउने सन्दर्भमा सरकारले आवश्यक कूटनीतिक प्रयास गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

विविधतामा एकता राष्ट्रको पहिचान भएको तथा राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै आम नागरिकलाई संविधानप्रदत्त मौलिक हक निर्धक्क भएर उपभोग गर्ने वातावरण बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउन समितिको आग्रह

काठमाडौँ, ३० असोज ः केही सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराएको, कानुनविपरीत वर्खास्त, सरुवा, बढुवा गरिएको भनी सार्वजनिक भएका विषयमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले चासो व्यक्त गरेको छ ।

समितिका अध्यक्ष सङ्गीता खड्काले आज विज्ञप्ति जारी गरी कान्तिपुर पब्लिकेशनलगायत विभिन्न सञ्चार प्रतिष्ठानले पछिल्ला दिनमा कानुनी व्यवस्था विपरीत पत्रकार तथा कर्मचारीलाई ऐनले तोकेको सेवा सुविधाविना नै करार सम्झौता भङ्ग गर्ने, निष्काशन गर्ने, सरुवा गर्ने लगायतका कार्य गरेका विषयमा गुनासो र उजुरी समितिमा आएको उल्लेख गर्नुभएको हो ।

श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका सेवा सुुविधाको विषय तथा श्रमजीवी र सञ्चालकका अधिकार एवं कर्तव्यसम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रमा नै श्रम अधिकार हनन्सम्बन्धी उजुरी र गुनासो आउनु दुःखद विषय भएको समितिको भनाइ छ ।

“सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारलाई ऐनमा तोकिए बमोजिम सेवा सुविधा उपलब्ध गराई सञ्चार प्रतिष्ठानलाई श्रम शोषण मुक्त क्षेत्रको रुपमा आफ्नो पहिचान स्थापित गर्न समिति सम्पूर्ण सञ्चार प्रतिष्ठानलाई आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ । ऐन बमोजिम सधैँ सञ्चार प्रतिष्ठानले श्रमजीवी पक्षलाई तोकिए बमोजिमको सेवा सुविधा दिनुपर्ने व्यवस्था छ । नेपालीको ठूलो पर्वको रुपमा रहेको दसैँको समयमा देखिएको विवादलाई तत्काल सम्बोधन गरी ऐनको पूर्ण पालनाका लागि सम्बन्धित सञ्चार प्रतिष्ठानलाई समितिले आग्रह गरेको छ ।

अपराध अनुसन्धानमा नेपाल प्रहरी सक्षम – मुख्यमन्त्री जम्कट्टेल

मनहरी (मकवानपुर) ३० असोज ः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अपराध अनुसन्धानमा नेपाल प्रहरीसक्षम रहेको बताउनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले ६८औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले शान्ति सुरक्षा र अमनचयनमा नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । प्रहरी सङ्गठनलाई समय सापेक्ष रुपान्तरण गर्दै अझ सुदृढ बनाउनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।

प्रदेशले संविधानमा व्यवस्था गरिएको अधिकार क्षेत्रमा रहेर काम गर्दा सङ्घीय कानुनले विभिन्न बाधा व्यवधान देखाएकाले प्रहरी समायोजनले समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुुभयो । प्रदेश सरकारको मातहतमा प्रहरी सङ्गठन आएपछि मातहतका निकायलाई रुपान्तरण गर्दै लैजान सजिलो हुने मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ ।

प्रहरी सेवालाई सङ्ख्यात्मक मात्र होइन प्रविधिको प्रयोग गरेर अपराध नियन्त्रण गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी अस्पतालको निर्माण बहुवर्षीय आयोजनाको रुपमा अगाडि बढेको बताउँदै यसका लागि चालु आवबाटै बजेट व्यवस्था गरिएको जानकारी पनि कार्यक्रममा गराइएको छ ।

सोही अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको शान्ति सुरक्षामा प्रहरी सङ्गठनले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वप्रहरी हवल्दार डम्बरबहादुर सापकोटा (खत्री)लाई सम्मान गरिएको थियो भने प्रदेश प्रहरीका उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । साथै विभिन्न स्थानीय तह, समाजसेवी, सञ्चारक्षेत्र र सङ्घसंस्थालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले ६८औँ प्रहरी दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै शान्ति सुरक्षा र अमनचयनमा प्रहरी कटिबद्ध भई लागिरहेको बताउनुभयो ।

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन दुई हजार बढी तीर्थयात्री पुगे

ताप्लेजुङ, ३० असोज ः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् । मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो । नवरात्र सुरु भएयता करिब पाँच हजार बढी तीर्थयात्री पाथीभरा आएका छन् । यो वर्षदेखि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या यकिन गर्नका लागि व्यक्ति गणना (फेस काउण्ट) गर्ने सिसी क्यामेरा जडान गरिएको छ । नवरात्रका समयमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको बताइएको छ ।अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार भने पाथीभरामा भक्तजनको चाप निकै बढ्ने गरेको छ । अघिल्ला वर्षहरुमा दसैँको समयमा पर्ने शनिबार र मङ्गलबारका दिन एकै दिनमा दश हजार भक्तजन पुगेको तथ्याङ्क छन् । वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् ।भक्तजनको आगमन बढेसँगै पाथीभरा क्षेत्रमा सुरक्षा, सहज यातायात, खाने बस्ने जस्ता प्रबन्धलाई व्यवसायीलगायत सम्बन्धित पक्षसँग छलफल गरी थप व्यवस्थित गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।तीर्थयात्रीको चाप बढ्दै गएपछि सहजरुपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।–-

चिकित्सा र सिटीइभिटीसम्बन्धी उपसमितिको म्याद थपियो

काठमाडौँ, ३० असोज : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) को सम्बन्धन, विद्यार्थी भर्ना र गुणस्तरका सम्बन्धमा गठित उपसमितिको कार्यावधि आगामी कात्तिक २० गतेसम्मका लागि थप गरेको छ ।

उपसमितिका संयोजक देवेन्द्र पौडेलको आग्रहमा समितिका सभापति भानुभक्त जोशीले समय थप्न आजको बैठकमा राख्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । गत भदौ २५ गते गठित उपसमितिको हालसम्म दुई बैठक भएका छन् । यही असोज १४ गतेको पछिल्लो बैठकले तोकिएको कार्यक्षेत्रमा तथ्य र स्रोत सामग्रीसहित विस्तृत अध्ययन तथा सरोकार भएका निकायका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच चिकित्सा शिक्षा ऐनको व्याख्या र कार्यढाँचाबारे विवाद उत्पन्न भएको विषयमा पनि उपसमितिले सुझाव दिनेछ । समितिको आजको बैठकमा सभापति जोशीले विद्यालय शिक्षा विधेयकलगायत महत्वपूर्ण चार विधेयकमाथि समितिले दफावार छलफल गर्नुपर्ने भएकाले दसैँ बिदाका अवसरमा अध्ययन गर्न सांसदलाई आग्रह गर्नुभयो ।

उहाँले समितिको वार्षिक कार्ययोजना र विषय (मन्त्रालयगत) उपसमिति गठनबारे आगामी बैठकमा छलफल गर्ने पनि जनाउनुभयो । बैठकले एमबिबिएस अध्ययनरत एवं आन्दोलनरत विद्यार्थीको मौका परीक्षा र शुल्क फिर्तासम्बन्धी विषयमा सरोकार भएकासँग छलफल गर्ने र सो सम्बन्धमा सदस्य सुमना श्रेष्ठको संयोजकत्वमा विद्या भट्टराई र ज्ञानु बस्नेत सुवेदीलाई उक्त मागको औचित्य अध्ययन गर्ने जिम्मेवारी दिएको छ ।

बैठकमा सांसद सुमना श्रेष्ठले समय तालिकासहित कार्ययोजना बनाउन सुझाव दिनुभयो भने सांसद विद्या भट्टराईले चिकित्सा शिक्षाका लागि शुल्क तिरेर पनि परीक्षा दिन नपाएका विद्यार्थीबाट समितिमा आएका उजुरीमाथि छलफल गरी न्याय दिनुपर्नेमा जोड दिनुभयो । सांसद डा तोसिमा कार्कीले चिकित्सकमाथि हातपात हुने अवस्था अन्त्यका लागि दीर्घकालीन र नीतिगत काम गर्नुपर्नेमा जोड दिनुभयो । बैठकले बझाङमा हालै गएको भूकम्पबाट प्रभावित शिक्षा र स्वास्थ्य क्षेत्रमा क्षतिपूर्ति र पुनःनिर्माणका लागि सरकारलाई निर्देशन निर्णय पनि गरेको छ ।

बैठकमा सङ्घीय संसद् सचिवालयबाट कार्यक्रम तथा अनुगमनका लागि प्राप्त वार्षिक कार्यक्रम र विनियोजित रकमबारे समितिका सचिव निर्मलादेवी लामिछाने (वस्तीले) जानकारी गराउनुभएको थियो ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

काठमाडौँ, ३० असोज: चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू २३ अर्ब ५० करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३६ अर्ब ८४ करोडले घाटामा थियो ।

त्यस्तै, गत भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति रू ५३ अर्ब ६१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू २० अर्ब ८१ करोडले घाटामा थियो ।

गत असार मसान्तसम्ममा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन दशमलव नौ प्रतिशतले बढेर भदौ मसान्तसम्ममा रू १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रू १४ खर्ब ६ अर्ब ५२ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू एक खर्ब ९३ अर्ब ५९ करोड रहेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले १२ दशमलव छ महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

गत भदौ मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २९ दशमलव सात, ८६ र २६ दशमलव दुई प्रतिशत रहेको छ ।

पछिल्लो दुई महिनामा आयात पाँच दशमलव एक प्रतिशतले, निर्यात सात दशमलव आठ प्रतिशतले र कूल वस्तु व्यापार घाटा चार दशमलव सात प्रतिशतले घटेको छ ।

भदौ मसान्तसम्ममा सरकारको कूल बजेच खर्च रू एक खर्ब ३१ अर्ब १४ करोड र राजस्व परिचालन रू एक खर्ब ४१ अर्ब आठ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय शून्य दशमलव पाँच प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १२ प्रतिशतले बढेको छ ।

त्यस्तै, यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन शून्य दशमव एक प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव सात प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव दुई प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार प्रतिशत छ ।

अरुण तेस्रोको मुआब्जा विवाद समाधानका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव पठाइने

काठमाडौँ, ३० असोज : लगानी बोर्डको आज बसेको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएको मुआब्जा विवादबारे विज्ञसहितको अध्ययन समिति बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ ।

“अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएको मुआब्जा विवादबारे अध्ययन गर्न विज्ञसहितको समिति गठन गर्ने विषय मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको छ”, लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालले रासससँग भन्नुभयो, “स्थानीयको अवरोध खुलाउनका लागि पनि मन्त्रिपरिषद्बाट केही निर्णय आएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा छलफल गर्छौँ ।” लगानी बोर्डको कार्यालयमार्फत अघि बढेका आयोजनाको समग्र स्थितिबारे पनि आज बसेको बैठकमा छलफल भएको लम्सालले बताउनुभयो ।

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा छुट मुआब्जाको रकम पाउनुपर्ने भन्दै स्थानीयले करिब डेढ महिनादेखि अवरोध गरिरहेका छन् ।

भौतिक प्रगति राम्रो देखिएको यो आयोजनामा स्थानीयको अवरोधपछि काम रोकिएको छ भने विकासकर्ता कम्पनी एजजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले काम रोकिएको अवधिको क्षतिपूर्ति पाउनुपर्ने बताइरहेको छ । यो भारतीय कम्पनी सतलज जलविद्युत् निगमको सहायक कम्पनी हो ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको छ्याङ्कुटी–दिदिङ–पुखुवा २४ किलोमिटर सडकखण्डमा स्थानीयको अवरोधपछि काम रोकिएको छ । प्रसारण लाइनको ‘राइट अफ् वे’ निर्धारण र त्यसको मुआब्जामा स्थानीयको असन्तुष्टि छ ।

करिब रु एक खर्ब ४४ अर्ब लागतमा निर्माण भइरहेको यो आयोजनाको हाल ६६ दशमलव तीन प्रतिशत भौतिक प्रगति रहेको छ । त्यस्तै प्रसारण लाइनतर्फ १५ दशमलव ४६ प्रतिशत काम सकिएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

बडादसैँको तेस्रो दिन विधिपूर्वक गरियो चन्द्रघण्टा देवीको पूजा आराधना

काठमाडौँ, ३० असोज : बडादसैँ अर्थात् नवरात्रको तेस्रो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको हो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

पत्रकारको न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू हुनुपर्ने माग गर्दै धर्ना

काठमाडौँ, ३० असोज – नेपाल पत्रकार महासङ्घले पत्रकारको न्यूनतम पारिश्रमिकको कार्यान्वयन गर्नुपर्ने माग गर्दै थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि एक घण्टा धर्ना दिएको छ ।

महासङ्घले कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापन पक्षले निष्काशन गरेका ८६ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायतका माग गर्दै एक घण्टा धर्ना दिएको हो ।

महासङ्घले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुप विरुद्ध अनिश्चितकालीन दबाब मूलक आन्दोलनको घोषणासमेत गरेको छ । घोषित कार्यक्रमअुनसार महासङ्घले यही असोज ३० गते दिउँसो ३ देखि ४ बजेसम्म थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपमा एक घण्टा धर्ना दिएको हो । कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई बहुसङ्ख्यक पत्रकारले अस्वीकार गरेका थिए ।

श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनको लागि दबाब सिर्जना गर्न महासङ्घले आन्दोलनको घोषणा गरेको हो ।धर्नापछि महासङ्घका महासचिव रोशन पुरीले माग पूरा नभए आन्दोलन जारी रहने बताउनुभयो ।

इजरायलबाट थप १९ जना नेपालीको उद्धार

काठमाडौँ, ३० असोज : आतङ्वादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिनुभयो । “उन्नाइस जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयले स्थानीय समयअनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ । मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिनुभयो ।

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरिएका नेपालीलाई भारतको गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उहाँहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि चीनसँग सहकार्य गर्न उपप्रधानमन्त्रीको जोड

बेइजिङ (चीन), ३० असोज : जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका क्रममा उहाँहरूबीच नेपाल र चीन सम्बन्ध, द्विपक्षीय सहकार्यका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध रहेको दोहो¥याउनुभएको थियो । “आन्तरिक तथा बाह्य राजनीतिक परिस्थितिमा फेरबदल भए पनि एक चीन नीतिप्रति नेपालको स्पष्ट र अटल अडान रहेको छ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले कानुन कार्यान्वयन, सीमा व्यवस्थापन तथा सुरक्षा अधिकारीको क्षमता अभिवृद्धिलगायत विषयमा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउने बारेमा छलफल गर्नुभएको थियो । उहाँले शान्ति सुरक्षा कायम गर्न तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमापार सुरक्षा सहकार्य बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री सियाओहङले विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक सहायता सामग्री निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल–चीन सीमा क्षेत्रका १४ वटा सीमा नाकालाई खुला भएकामा दुवै नेतृत्वले प्रशंसा गर्नुभएको थियो । उहाँहरूले सीमा नाका खुला हुँदा द्विपक्षीय व्यापार प्रवद्र्धन मात्रै हुने नभई दुई देशबीचको जनस्तरको सम्बन्धलाई पनि प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ र विपद् तथा जोखिम व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल तथा चीनका तर्फबाट सार्वजनिक सुरक्षामन्त्री सियाओहङसहित चिनियाँ उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।

संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैन : उप्रधानमन्त्री खड्का

भक्तपुर, ३० असोज : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “संविधान कार्यान्वयनका चुनौती अझै बाँकी रहेका छन्, त्यसप्रति सजग हुन आवश्यक छ, संविधानले दिएको मौलिक हक जोगाउने चुनौती थपिएको छ, यसमा कांग्रेस जिम्मेवार भएर लाग्नुपर्छ ।” विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताउँदै उहाँले संविधानको कार्यान्वयनमा चिन्ता र चुनौती थपिँदै गएको बताउनुभयो । दलहरूले संविधान सभामार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीलाई दिएको विश्वास पूरा गर्ने प्रक्रिया अगाडि बढिरहेको उहाँको भनाइ थियो ।

मन्त्री खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया पनि शेरबहादुर देउवाको नेतृत्वमा तयारी गरेर प्रतिनिधिसभामा प्रस्ताव लिएर गए पनि त्यो प्रस्ताव एमालेको कारणले असफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको काँधमा स्थानीय तहदेखि केन्द्रसम्मै मुलुकको नेतृत्व गर्ने र जनतामा छाएको निरासालाई आशा र विश्वासको वातावरणमा बदल्ने चुनौती आएको छ, जनप्रतिनिधिले परिवारवाद, नातावाद र स्वार्थभन्दा माथि उठेर काम गरे देखापरेका चुनौतीमाथि जीत हासिल गर्न सक्नुपर्छ, अरुलाई दोष दिएर मात्र हँुदैन पहिला आफू दोषमुक्त हुन सक्नुपर्छ ।”

कांग्रेसले आफ्नो हैसियतअनुसार प्रदेश र सङ्घमा हैसियत पाउन नसकेको टिप्पणी गर्दै उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “स्थानीय तहलाई हेर्दा कांग्रेसले आफ्नो हैसियत बनाएको छ, तर सङ्घ र प्रदेशमा आफ्नौ हैसियतअनुसार कांग्रेसले हैसियत पाउन सकेको छैन, नेपाली कांग्रेस सरकार कहाँ छ भनेर प्रश्न गरे भने जनतालाई दने जवाफ कहाँ छ ?” कांग्रेसप्रति जनताको गुनासो बढ्न नदिन प्रत्येक नेता र जनप्रतिनिधिको व्यवहार र बोलीबचनमा सुधार गर्दै जनताको घरदैलोमा गएर जनताको पीडामा मल्हम लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कांग्रेस बलियो भए देश बलियो हुन्छ भन्दै काँग्रेसलाई एक ढिक्का बनाएर बलियो बनाउन गाउँ तहदेखि नै लाग्नुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका पार्टी सभापति, प्रदेश समितिका पदाधिकारी, प्रदेश सांसद, प्रदेश प्रतिनिधि र प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको प्रशिक्षण विभागका सदस्य सचिव रामेश्वर ढकालले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा डा खिमलाल देबकोटा,डा बुद्धिमान श्रेष्ठ, प्रा कृष्ण खनाल, डा सुरेश आचार्यले प्रशिक्षण दिनुभएको उहाँले जानकारी दिनुभयो ।

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि हो – प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३० असोज ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उहाँले यो निकै ठूलो उपलब्धि हो भन्नुभयो ।

“नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको र नियमावली बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मलाई विश्वास छ, विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथी र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।”

गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उहाँले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरिएको बताउनुभयो । “धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ, यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ”, उहाँले भन्नुभयो, “यो एउटा ऐतिहासिक काम भएको छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो सङ्ख्या अरु बढ्ने हाम्रो विश्वास छ ।”

संसारभरि रहेका नेपाली नेपालका गैरआवासीय दूत भएको उल्लेख गर्दै उहाँले नेपालले गैरआवासीय नेपालीबाट धेरै अपेक्षा गरेको बताउनुभयो । सरकारले सङ्घको स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको जनाउँदै उहाँले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको बताउनुभयो ।

सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएको बताउनभयो । गैरआवासीय नेपालीको चाहनालाई सरकारले सम्बोधन गरेको उल्लेख गर्दै उहाँले सरकार र सम्पूर्ण राजनीतिक दलप्रति आभार प्रकट गर्नुभयो । “यो (नागरिकता) कागज होइन, अभिभारा पनि हो, यसबाट ठूलो अभिभारा थपिएको छ, विदेशमा बस्ने नेपालीले मातृभूमिको समृद्धिमा योगदान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मुलुक बाहिर रहेका नेपालीलाई नागरिकताले मातृभूमिसँग जोडेको बताउनुभयो । सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताउनुभयो । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने कानुनी प्रबन्ध गरेकामा सरकार र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिँदै उहाँले नेपाललाई समृद्ध बनाउन गैआवासीय नेपाली लागि रहेन विश्वास दिलाउनुभयो ।

दसैँमा घर जाने यात्रुलाई नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’

काठमाडौँ, ३० असोज ः दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेक्समार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताउनुभयो ।

हेल्थ डेक्समा काठमाडौँ महानगरपालिका वडा नं २६ को टोली खटाइएको छ । उहाँले दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताउनुभयो । यस्तै महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक नयाँ बसपार्कबाट ३० हजार यात्रु काठमाडौँबाट बाहिर गएको बताउनुभयो । उहाँले आगामी एक–दुई दिनमा उक्त सङ्ख्या बढ्नेसमेत उल्लेख गर्नुभयो । अहिले दैनिक काठमाडौँको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।

प्रधानमन्त्री दाहालद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

काठमाडौँ, ३० असोज : सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो । ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।

संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो ।

सतहत्तरवटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन् । आगामी कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उहाँले बताउनुभयो । गैरआवासीय नेपालीले लामो समयदेखि आफूहरूलाई नेपाली नागरिकता प्रदान गर्न माग गर्दै आएका थिए ।

रूसद्वारा जापानी माछा तथा समुद्री खाना आयातमा अस्थायी प्रतिबन्ध

मस्को – रूसले जापानबाट आयात हुने माछा र समुद्री खानामा अस्थायी प्रतिबन्धात्मक उपाय अपनाएको रूसको कृषि निगरानी संस्था रोसेल खोज्नाडजोरले सोमबार जानकारी गराएको छ ।

रोसेलखोज्नाडजोरका अनुसार अक्टोबर १६ देखि रूसले जापानबाट माछा र समुद्री खानाको आयातमा अस्थायी प्रतिबन्ध लगाउनेछ ।

यो निर्णय स्वास्थ्यको ‘सावधानीको उपाय’ को रूपमा लिइएको छ र मस्कोलाई जापानी माछा र समुद्री भोजन उत्पादनहरूको सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्धहरू कायम रहने बताइएको छ ।

फुकुशिमा आणविक दुर्घटना विश्वको अहिलेसम्मकै सबैभन्दा गम्भीर आणविक दुर्घटनामध्ये एक हो । सन् २०११ को मार्चमा आएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीको चपेटामा परेको फुकुशिमा आणविक ऊर्जा केन्द्रमा एक भाग क्षतिग्रस्त भएको थियो ।

जसका कारण ६० भन्दा बढी रेडियोधर्मी तत्वहरू भएको ठूलो मात्रामा दूषित पानी उत्पन्न भएपछि १.३ मिलियन टन भन्दा बढी आणविक–दूषित अपशिष्ट जल भण्डारण गरेको प्लान्टको अपरेटर टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले जनाएको छ । प्लान्टले १.३ मिलियन टन भन्दा बढी आणविक–दूषित फोहोर पानी भण्डारण गरेको थियो । जसलाई प्रशोधनपछि समुद्रमा फाल्न थालिएको छ र यसको सम्पूर्ण पानी समुद्रमा पठाउन ३० वर्ष भन्दा बढी लामो योजना जारी रहनेछ ।

घरेलु मछुवाहरू, छिमेकी देशहरू र विश्वव्यापी वातावरणीय विशेषज्ञहरूको विरोधको बावजुद, जापानले अगस्ट २४ मा समुद्रमा आफ्नो आणविक दूषित पानीको पहिलो चरणको रिलीज र अक्टोबर ५ मा दोस्रो चरणको रिलीज सुरु गरेपछि एशिया–प्रशान्त देशहरूबाट विरोध, विशाल ¥याली र आक्रोशलाई बढावा दिएको छ ।