`

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

ढोरपाटन (बागलुङ), २ कात्तिक : एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ ।

रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन् । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमिरोले घर पोत्न छोडिसके । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका हुन् । घर पोत्न थालेपछि गाउँमा दसैँको रौनक नै बेग्लै हुन्यो । तर अहिले त्यो रौनक निकै कम भएको पाइन्छ ।

पहिलेको तुलनामा अहिले दसैँको रौनक पनि हराउँदै गएको छ । रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको छ । गाउँमा ढुङ्गा, माटो, काठ र घरले बनेका घर विस्तारै हराउँदै छन् । अचेल माटो, काठ र ढुङ्गाको सट्टा फलामका रड, जस्तापाता र सिमेन्ट प्रयोग हुने गर्छन् । यसले ग्रामीण क्षेत्रको मौलिकता हराउँदै गएको छ ।

एक दशक अघिसम्म बागलुङका कमै मात्र गाउँ मोटरबाटोले जोडिएका थिए । अहिले सडक नपुगेको गाउँ छैन । गाउँमा सडक पुगेपछि स्थानीयले कङ्क्रिटका आधुनिक घर बनाउन थालेका छन् । इनामेल, चुनालगायतले घरमा रङ प्रयोग गर्ने गरेको पाइन्छ ।

हरेक दिन गाउँमा मौलिक घर विस्थापित हुन थालेपछि बूढापाका चिन्तित बनेका छन् । जिल्लाका पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको घर विस्थापित गरिरहेका छन् । बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ । स्थानीयले गाउँकै स्रोत साधान प्रयोग गरेर मौलिकतालाई जोगाउनु पर्ने गलकोट नगरपालिका–९ का ७३ वर्षीय जितबहादुर खत्रीले बताउनुभयो । देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्था आएको भन्दै सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । पहिले–पहिले गाउँका घर बलियो बनाउनका लागि हरेक दिन गाईको गोबर र रातोमाटोले लिप्ने गरे पनि अहिले त्यो चलन हराएको बताउनुहुन्छ ।

“आजभोलिको दसैँ पहिलेको जस्तो रमाइलो नै हुँदैन, हाम्रो पालामा नवदुर्गा सुरु भएपछि गाउँमा निकै चहलपहल हुन्थ्यो, रातोमाटो र कमेरोले घर लिप्ने गरिन्थ्यो, घरलाई झकिझकाउ बनाउन, टाढा–टाढा पुगेर रातोमाटो, कमेरो ल्याइन्थ्यो, बर्खाले बिगारेको बाटाघाटा झारा गरेर मर्मत गर्ने गरिन्थ्यो, तर अहिले त्यो चलन पूरै हरायो”, खत्रीले भन्नुभयो, “आजकाल त बजारबाट रङ किनेर ल्याएर घरमा लगाउने गर्छन्, अहिलेको रङभन्दा उतिबेलाको माटो र गोबरले लिप्दा घर बलियो हुन्थ्यो, मान्छेले आफ्नो परम्परा बिर्सिए, अरुको संस्कार सिके ।”

बागलुङको निसीखोला गाउँपालिकाकी तिलकुमारी सुनार रातोमाटो र कमेरो बिक्री हुन छोडेको बताउनुहुन्छ । वर्षौंदेखि माटो र कमेरो बेचेर जीविकोपार्जन गरेको उल्लेख गर्दै उहाँले गाउँ–गाउँमा पक्की घर बन्न थालेपछि माटो बिक्री गर्न मुस्किल भएको बताउनुभयो । पहिले दसैँको १५ दिन अगाडिदेखि आफूलाई स्थानीयको घरघरमा माटो र कमेरो पु¥याउन भ्याइनभ्याइ हुने गरेको स्मरण गर्दै अहिले एक डोको मोटो बेच्न पनि गाह्रो पर्ने सुनाउनुभयो । माटो बेचेर मासिक रु १० हजार कमाएको सुनाउने सुनारले अहिले अर्मपर्म गरेर दैनिकी चलाउनुपरेको बताउनुहुन्छ ।

“घर माटोले पोत्ने चलन हरायो, गाउँका कच्ची घरमा पनि बजारबाट रातो रङ लिएर लगाउन थालेका छन्, पहिले मैले एकै दिनमा १७÷१८ घरमा माटो पु¥याउने गर्थे, अहिले दुई÷तीन घरबाट पनि माग आउँदैन, अहिलेत सबैका घरमा सिमेन्ट लगाएका छन्, टिन (जस्तापाता)ले छाएका छन्”, सुनारले भन्नुभयो, “दसैँ आएको छ, माटो कसैले किन्दैनन्, कहिँबाट पैसा पनि आउँदैन, पहिले त पैसा हुनेले पैसा, नहुँनेले धान, मकै, मिठो दिन्थे, परिवार पाल्न सजिलो थियो, अहिले त अरु काम गर्नुपर्छ ।”

स्थानीय मीनकुमारी पौडेलले पहिले दसैँ तिहारको बेला धेरै महिला माटो बिक्री गर्न घरघरमा पुग्ने गरेको सुनाउँदै अहिले कोही पनि नहिँड्ने बताउनुभयो । दसैँका बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेकामा सो हराउँदै गएको बताउनुभयो । घरको झ्याल ढोकामा काफलको बोक्रा पकाएर लगाउने गरेको स्मरण गर्दै अहिले इनामेलले रङ्ग्याउने गरेको बताउनुभयो ।

नयाँ पुस्ताले सबै सजिलो र राम्रो खोज्न थाल्दा पुराना परम्परा हराउँदै गएको पौडेलको भनाइ छ । पहिले विद्यालयका भवन पनि माटो र काठेले बनेको हुँदा दसैँका बेला माटो र कमिरोको माग निकै हुने गरेकोमा अहिले सबै भवनहरु पक्की बनेकाले त्यसको आवश्यक नपर्ने उहाँ बताउनुहुन्छ ।

पौडेलले भन्नुभयो, “घरभन्दा परको हाम्रो बारीमा सेतो कमेरो पाइन्थ्यो, दसैँका बेला त्यहाँ ठूलो भीड हुन्थ्यो, एक बोरा कमेरो ल्याउन मान्छेले घण्टौँ कुर्नुपथ्र्यो, तर अहिले त्यो ठाउँ पुरौँ झारपातले पुरिएको छ, धेरै वर्ष भयो, यहाँ कोही पनि कमेरो ल्याउन आएका छैनन्, त्यस बेला त स्कुलमा पनि कमेरो लगाउने चलन थियो, विद्यार्थी लाइन लगाएर आउँथे, रमाइलो पनि हुन्थ्यो । तर अहिले विद्यालय पनि सिमेन्टबाट बनेका छन्, त्यही भएर माटो कमेरो चाहिँदैन ।”

पेरिस सम्झौताका दायित्व र वित्तीय प्रतिबद्धता पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई उपप्रधानमन्त्री श्रेष्ठको आह्वान

बेइजिङ (चीन)-उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङमा आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को उद्घाटन समारोहमा सहभागी हुनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले ‘प्रकृतिसँग सद्भावका लागि हरित सिल्क रोड’ भन्ने नाराका साथ आयोजित साझा विकासका लागि हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चलाई सम्बोधन गर्नुभयो । त्यस अवरसमा उहाँले हरित विकासप्रतिको नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै लचिलो र दिगो आर्थिक वृद्धिको लागि हरित विकास अपरिहार्य भएको बताउनुभयो ।नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका हिमाली देशको अवस्था तथा त्यसले पारेको प्रभावबारे चर्चा गर्दै मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका असमान असरहरू झेल्नुपरेको बताउनुभयो । उहाँले पेरिस सम्झौताअन्तर्गत उनीहरूका दायित्व र वित्तीय प्रतिबद्धता पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो ।सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य नेपालले निर्धारण गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले वातावरणमैत्री रणनीतिमा जोड दिँदै नेपालजस्ता भूपरिवेष्टितका देशका निम्ति सम्पर्क सञ्जाल विस्तारको अधिक महत्व रहेको बताउनुभयो । उहाँले सडक, रेलमार्ग, हवाई मार्ग, बन्दरगाह र व्यवस्थित ग्रिडमार्फत हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तारका माध्यमबाट चीनसँगको सम्बन्धलाई बलियो बनाउन नेपालले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “हामी एकअर्कासँग अन्तरसम्बन्धित र एकअर्कामा निर्भर रहेका छौँ, मानव र प्रकृतिका आवश्यकतालाई परिपूर्ति गर्न सहयकार्य गर्नुपर्छ ।” प्राकृतिक प्रकोपका कारण सिर्जित महामारी तथा विनाशकारी प्रकोपले मानव दिएको दुःख दिएको यथार्थलाई अहिलेको पुस्ताले नजिकबाट नियालेको उल्लेख गर्दै उहाँले प्रकोप न्यूनीकरण गर्न अहिले नै सोच्नुपर्ने बताउनुभयो ।उपप्रधानमन्त्री श्रेष्ठले अनुकूलन क्षमताको दृष्टिकोणबाट जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता हिमाली मुलुकले जलवायु परिवर्तनको मार खेप्दै आएको बताउनुभयो । “न्यून आय भएका मुलुकले जलवायु परिवर्तका कारण सिर्जित वातावरणीय क्षतिको लागत बहन गर्न सक्दैनन् । जलवायु परिवर्तनका असरप्रति गरिब मुलुकहरू कम जिम्मेवार छन् । जलवायु न्यायले यसको विश्वव्यापी भार बाँडफाँटलाई ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।आर्थिक समृद्धि र प्रकृतिको संरक्षणलाई सँगसँगै लैजानुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री श्रेष्ठले पर्यावरणमैत्री विकास रणनीति अपनाउनुपर्ने बताउनुभयो । उहाँले मानव समुदायको उपभोगको ढाँचालाई पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । विश्व समुदायले सबै गतिविधिलाई हरित विकासतर्फ केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो ।नेपाल र चीन असल छिमेकी र घनिष्ट मित्र रहेको स्पष्ट पार्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न दुई देशबीच रहँदै आएको निकट साझेदारी उच्चस्तरको रहेको बताउनुभयो । नेपाल सन् २०२६ मा अल्पविकसितबाट विकाशील राष्ट्रमा स्तरोन्नति हुने तयारीमा रहेको उल्लेख गर्दै उहाँले दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्मेलनले दिगो विकास र समृद्धि सुनिश्चित गर्न प्रकृतिसँग मिलेर विकासका आयामलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।”उपप्रधानमन्त्री श्रेष्ठले सम्पर्क सञ्जाल र उत्पादन क्षमता अभिवृद्धि तथा दिगो आधारमा आर्थिक विकासलाई गति दिनका लागि बेल्ट एण्ड रोड सहकार्यलाई महत्व दिइएको बताउनुभयो ।साझा विकासको अनुभूतिमार्फत प्रकृतिसँगको घनिष्ठतालाई प्रवद्र्धन गर्दै हरित सिल्क रोडका उद्देश्य प्राप्त गर्न यस फोरमले उचित निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो कार्यक्रममा आमन्त्रण गरेकामा चीन सरकारप्रति आफू र नेपाल सरकारका तर्फबाट कृतज्ञता व्यक्त गर्नुभएको थियो ।समारोहमा एक सय ५० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलगायत ३० वटा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।उपप्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईको सहभागिता थियो ।

भारतीय सहयोगमा हुम्लामा दुई विद्यालय निर्माण

काठमाडौँ- भारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् ।‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका रु पाँच करोड ५२ लाख तीन हजार अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय भवन र चङ्खेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि विज्ञान प्रयोगशाला र पुस्तकालय भवन निर्माण भएको हो ।

भवनको नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेको थियो । दुवै विद्यालय भवन आजै औपचारिक रुपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
 

इजिप्टको बाटो गाजामा जाने सहायतालाई नरोकिने : इजरायल

जेरूसेलम – इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ ।

“अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन,” प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ ।वक्तव्यमा भनिएको छ, “गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ ।”

अमेरिकी राष्ट्रपति बाइडेनले सेप्टेम्बर ११ पछि अमेरिकाले गल्ती गरेको सन्दर्भ प्रस्तुत गर्दै इजरायललाई अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणपछि क्रोधमा नआउन सुझाब दिनुभएको हो । राष्ट्रपति बाइडनले तेल अभिभको भ्रमणका क्रममा भन्नुभयो, “म यो आग्रह गर्छु जब तपाईं त्यो क्रोध महसुस गर्नुहुन्छ, यसले तपाइलाई हानि नगरोस् ।

सेप्टेम्बर (९/११) घटनापछि संयुक्त राज्य अमेरिकामा हामी निकै आक्रोशमा आएका थियौं । जब हामीले न्याय माग्यौं र न्याय पायौं, हामीले गल्ती पनि गर्यौं ।” उहाँले अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायललाई दिँदै आएको समर्थन थप सशक्त पार्ने प्रस्ताव गर्दै प्यालेस्टिनी राज्य निर्माण गर्ने लक्ष्यमा आफ्नो प्रतिबद्धता पनि दोहो¥याउनु भएको छ ।

बाइडेनले भन्नुभयो, “हामीले जतिसुकै कठिन काम गरे पनि हामीले शान्तिको बाटो पछ्याउनुपर्छ, ताकि इजरायल र प्यालेस्टिनी जनता दुवै सुरक्षित, सम्मान र शान्तिका साथ बाँच्न सकून् ।”“मेरो लागि यसको अर्थ दुई राष्ट्र बीचको समाधान हो,” इजरायलको ऐक्यबद्धता भ्रमणको समापन गर्दै उहाँले भन्नुभयो ।

दशैंमा मिठो मटन ग्रेभी कसरी बनाउने ?

दसैंमा विभिन्न किसिमका परिकार घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृति झल्कने छन् । तिहारमा सेलरोटी, माघे संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, श्रावण १५ खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ ।

यसैगरी दसैंमा विभिन्न परिकार पकाए पनि मासुलाई मुख्य मानिन्छ । दसैंमा मासुको खपथ अत्यधिक हुने गर्छ । हरेक भान्सामा मासुका परिकारहरु पाकेकै हन्छ । हरेक घरमा आ–आफ्नै स्वादअनुसार मासुको परिकार पाक्ने गर्छ । दसैंमा धेरै खाइने मासुको परिकार र पकाउने विधि यस प्रकार छन् ।

आवश्यक सामग्री
खसीको मासु
तेल
पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन अदुवाको पेस्ट

बनाउने तरिका
मासु बनाउनुअघि राम्रोसँग पखालेर पानी ओभाउन दिने । पकाउने भाडामा तेल तातिसकेपछि पाँच फुरन हाल्ने र प्याज हालेर भुट्ने । सुख्खा मासु बनाउने हो भने प्याजलाई खैरौ हुने गरी चलाउने तर ग्रेभी बनाउँदा प्याज हल्का खैरो हँुदा नै मासु हालेर चलाउँने । केही समयपछि मासुमा बेसार, नुन, गरम मसलासँगै लसुन अदुवाको पेष्ट हालेर पालैपालो चलाउने र छोपिदिने ।

केही समयपछि फेरी मासुमा मिट मसला र धुलो खुर्सानी हालेर चलाउने र टमाटर पनि राख्ने । त्यसपछि केही मात्रामा पानी राखेर छोपिदिने । मासु पकाउँदा मनतातो पानीको प्रयोगले स्वाद राम्रो हुन्छ । अन्त्यमा काटेको हरियो धनियाँ राख्दा यसले स्वाद बढाउँछ र खानको लागि ग्रेभी तयार हुन्छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

सरकारलाई तीन महिनामा ४६ अर्ब घाटा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारलाई ४५ अर्ब रुपियाँभन्दा बढी बजेट घाटा भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक १ गतेसम्म २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपियाँ खर्च गरेको सरकारले सोही अवधिमा २ खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपियाँ मात्रै आम्दानी गरेको छ । जसबाट सरकारलाई ४५ अर्ब ९४ करोड १ लाख रुपियाँ घाटा भएको हो ।

तीन महिनाको अवधिमा सरकारले कुल बजेट खर्च लक्ष्यको १६ दशमलव शून्य २ प्रतिशत मात्रै गरेको छ । त्यस्तै लक्ष्यको १५ दशमलव ९३ प्रतिशत आम्दानी गरेको छ । चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपियाँ खर्च हुने भन्दै बजेट विनियोजन गरेको थियो ।

उक्त अवधिमा सरकारको चालू खर्च २ खर्ब १३ अर्ब ३९ करोड ४ लाख अर्थात् १८ दशमलव ६९ प्रतिशत, पुँजीगत खर्च १७ अर्ब ८३ करोड ३१ लाख अर्थात् ५ दशमलव ९ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ४९ अर्ब ३४ करोड ९० लाख अर्थात् १६ दशमलव शून्य ५ प्रतिशत खर्च भएको छ ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा राजस्ववापत २ खर्ब १९ अर्ब ११ करोड ५१ लाख अर्थात् १५ दशमलव ४ प्रतिशत आम्दानी गरेको छ । त्यस्तै अनुदान ६ करोड १८ लाख र अन्य आम्दानी १५ अर्ब ४५ करोड ५५ लाख रुपियाँ आम्दानी गरेको छ ।

सरकारले राजस्वबाट १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख, वैदेशिक ऋण तथा अनुदानबाट ४ खर्ब ९९ अर्ब ४ करोड ३० रुपियाँ प्राप्त गर्ने लक्ष्य लिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

यसपटक पनि सांसदले पाएनन् दसैं भत्ता

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो । २०७७ सालमा कोरोना महामारीका बेला संसद् सचिवालयका पदाधिकारी र सांसदलाई दसैं भत्ता दिएपछि व्यापक विरोध भएको थियो ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद् सचिवालयले दसैं भत्ता दिने गरेको थियो । २०७७ पछि सरकारले सांसद र संसद् सचिवालयका पदाधिकारीलाई दसैं भत्ता दिने विषयमा कुनै निर्णय नगरेकाले सांसद् र संसद् सचिवालयका पदाधिकारीले दसैं भत्ता नपाएको सचिवालयले जनाएको छ ।

यस पटकको दसैंमा पनि भत्ता नदिने कार्यलाई संसद् सचिवालयले निरन्तरता दिएको छ । संसद् सचिवालयका एक अधिकारीका अनुसार सरकारले भत्ता दिने निर्णय नगरेपछि संसद् सचिवालयले नदिएको बताए ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ मा संसद् सचिवालयका पदाधिकारी, सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ता दिने व्यवस्था छैन । मन्त्रिपरिषद्बाट निर्णय गरी दसैं भत्ता दिइएको विषयलाई महालेखाले बेरुजुमा राखेको थियो ।

मुलुकमा नीतिगत भ्रष्टाचार भएको भन्दै महालेखाले बेरुजुमा राख्दै आए पनि त्यसको सुनुवाइ गरिएको थिएन । तर २०७७ सालमा सामाजिक सञ्जालबाट सांसदलाई दसैं भत्ता उपलब्ध गराउने कुराको कडा विरोध भएपछि सरकार पछि हटेको हो । मन्त्रिपरिषद्को निर्णयबाट सांसदले २०७४ र २०७५ सालमा पनि दसैं भत्ता बुझेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने संस्कृति हरायो

दसैँमा चङ्गा उडाउने संस्कृति हरायोरामपुर (पाल्पा), २ कात्तिक : दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।

विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम बढाउने गरेको लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ ।

“चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चङ्गा बनाएर कसले माथि पु¥याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो, अहिले त चङ्गा उडाउने गरेको देखिनै छोडयो”, उहाँले भन्नुभयो ।

खुला आकाशमा चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो । नयाँ पुस्तामाझ दसैँमा चङ¬्गा उडाउने संस्कृतिबारे जानकारी नै छैन । पुरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना–साना बालबालिकालाई दसैँका बेला चङ्गा बनाएर देखाउन थालिएको छ ।

खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो । मनोरञ्जन मात्रै नभई परिवारमा खुसुी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताउनुहुन्छ । हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन । यस्ता पुराना संस्कृति लोप हुन पुगेका छन् ।

दसैँमा महँगीको मार

कलङ्कीस्थित एक फर्निचरमा कार्यरत रामप्यारी गुरुङलाई दसैँ आएपछि अर्को तनाव थपिन्छ। फर्निचर उद्योगमा काम गरेर गुरुङले कमाएको मासिक १७ हजार रुपियाँले आफू र तीन साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा र कोठा भाडालगायतको खर्च पु¥याउनै सकस छ ।

नजिकिँदो दसैँले उनलाई झनै सकस बनाएको छ । त्यसो त गएको साउनदेखि गुरुङले यसअघि पाउँदै आएको १५ हजार तलबमा दुई हजार बढेर मासिक १७ हजार रुपियाँ पुगेको छ । “तलब दुई हजार बढेर के गर्नु ?” उनी भन्छन्, “महँगी तीन वर्षको बिचमा तीन गुुना बढेको छ । थोरै कमाइले कसरी छोराछोरीको माग पूरा गर्नु र खै ।”

गुरुङको यो भोगाइले न्यून आय भएका नागरिकको अहिलेको जटिल अवस्था स्पष्ट देखाएको छ। चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि गुरुङ जस्ता थोरै कमाइ हुनेको दिनचर्या झनै कठिन भएको छ । न्यून आय भएका किसान तथा दैनिक मजदुरी गर्ने श्रमिकका लागि चाडपर्व सधैँ ठुलो सङ्कट लिएर आउने गर्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

बझाङ केन्द्र विन्दु बनाएर गयो भूकम्प

बाजुरा, २ कात्तिक : सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

दाङ-लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका विकास समिति खारेज गरेको छ । लुम्बिनी प्रदेशको आज बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने निर्णय गरेको हो ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि, २०८० पनि स्वीकृत गरेको छ ।

त्यस्तै आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्नासम्बन्धी कार्यविधि २०८०, चालीस वर्षभन्दा माथिका लागि नसर्ने (मधुमेह, उच्च रक्तचाप र मिर्गौला) रोग स्क्रिनिङ कार्यक्रम सञ्चालन कार्यविधि २०८०, ज्येष्ठ तथा अतिअशक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि २०८०, स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

‘सहमतिको सरकार निर्माण गरिनेछ’ : मुख्यमन्त्री केदार कार्की

मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले छिट्टै सहमतिको सरकार निर्माण गर्ने बताउनुभएको छ । प्रदेशसभामा विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले तिहार अगाडि सरकारलाई पूर्णता दिने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा चुनौती र समस्या धेरै रहेकाले सबै राजनीतिक दलको सहकार्य र सहयोगले सरकार सञ्चालन गर्ने बताउनुभयो । उहाँले वर्तमान अवस्थामा कोशी प्रदेशमा रहेको मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा रहेका दलहरूले आफूलाई विश्वास गरेर मत दिएकाले यसप्रति सरकार जिम्मेवार हुने बताउनुभयो । उहाँले जनतालाई सङ्घीयताको सही कार्यान्वयन गरी विश्वास जागृत गराउने कार्यमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चुरे विनाश रोक्नुपर्छ : प्रथम राष्ट्रपति डा यादव

राजविराज (सप्तरी)- गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले तराई मधेसलाई समृद्ध बनाउन चुरे विनाश रोकनुपर्ने बताउनुभएको छ ।सप्तरीको राजविराजमा आज कर्मवीर योद्धा खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोहमा उहाँले तराई मधेस मरुभूमि हुनबाट जोगाउन चुरे जङ्गल विनाशलाई रोक्नु आवश्यक रहेको बताउनुभएको हो ।

नेपालको तराई मधेसमा धेरै अन्न फल्ने भएकाले यहाँ नदि नाला र सिँचाइ सुविधा पुगेमा समृद्ध नेपाल बन्न सक्ने बताउँदै उहाँले जलवायु परिर्वतन र वातावरण अनुकुलताका कारण अहिले तराईमा पानीको सतह घट्दै गएको बताउनुभयो ।

दैनिक चुरे विनाशले गर्दा ठाउँ–ठाउँमा पानीको अभाव देखिएका कारण चुरे जोगाउन सबै नागरिक सचेत बन्नुपर्नेमा डा यादवको जोड थियो । “चार दशकअघिसम्म अन्न धान, चामल निर्यात गर्ने अवस्थामा हामी थियौँ, गरिब समुदायका मानिसले पनि पर्याप्त माछा खान पाउँथे, सागसब्जीको अभाव थिएन”, उहाँले भन्नुभयो ।

संविधानसभाबाट नयाँ संविधान बन्नु, समानुपातिक समावेशिताको ग्यारेन्टी हुनु ठूलो उपलब्धि रहे पनि त्यसअनुसारको सुधार आउन अझै बाँकी नै रहेको डा यादवलले बताउनुभयो ।

तराई–मधेसमा व्याप्त दाइजो प्रथा, आवश्यकभन्दा अनावश्यक कुरामा बढी खर्च गर्ने प्रवृत्ति अझै कायम रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा डा यादवले अभिनन्दित व्यक्तित्व खुशीलाल मण्डल र आफू प्रजातन्त्रका लागि सँगसँगै काम गरेको स्मरण गर्नुभयो ।

पूर्वनिर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले अभिनन्दित मण्डलमा विश्लेषण गर्ने अद्भूत क्षमता रहेको बताउनुभयो । मण्डल लोकतन्त्रप्रति समर्पित योद्धा हुनुभएकाले उहाँको सम्मान सार्थक रहेकामा कार्यक्रमका वक्ताको एकमत थियोे ।
 

नेपाल वायुसेवा निगमले तिर्यो जहाज खरिदबापतको ऋण

काठमाडौँ  – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ ।निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी र दुई वाइडबडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबढी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी रु ५३ करोड नौ लाख ५५ हजार दुई सय एकासी रकम भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको हो ।

यसअघि निगमले २०७९ असारदेखि २०८० असार सम्मको अवधिमा रु तीन अर्ब ७७ करोड ३८ लाख २१ हजार एक सय २५ रकम भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार निगमको आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको र नगद प्रवाहमा सुधार भएपश्चात् प्रमुख इन्जिन मर्मत खचर्, नियमित तथा आकस्मिकरुपमा हुने जहाज मर्मतसम्भार खर्चसमेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना बक्यौता रकमसमेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरीएको छ ।निगमले दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजनासमेत अन्तिम चरणमा रहेको जनाएको छ । ती जहाजमार्फत नेपालका दुर्गम क्षेत्रमा सेवा विस्तार गरिनुका साथै पर्यटन प्रवद्र्धनको साथै निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने विश्वास लिइएको छ ।निगमले अन्तर्राष्ट्रिय उडानका आफ्ना सबै जहाज सञ्चालनमा आएको जनाएको छ । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड रहेका ती जहाज सबै सञ्चालनमा आएको निगमले जनाएको छ । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि समान दुई थान वाइडबडी र न्यारोबडी गरी कूल चार वटा जहाज छन् । असोज २९ गतेदेखि नै निगमका सबै जहाज नियमित उडानमा रहेकाले चाडपर्वका अवसरमा यात्रुलाई गन्तव्यमा पुग्न सहज हुने निगमले उल्लेख गरेको छ ।

विश्वकप क्रिकेटमा न्यूजील्यान्डको चौथो जीत

काठमाडौँ – न्यूजील्यान्डले आइसिसी विश्वकप २०२३ अन्तर्गत बुधबार भएको खेलमा अफगानिस्तानलाई एक सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।यसजितसँग न्यूजील्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । न्यूजील्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेट पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई ९९ तथा बङ्गलादेशलाई ८ विकेटले हराएको थियो ।

जीतका लागि दुई सय ८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ६२ बलमा एक चौकासहित सर्वाधिक ३६ रन बनाए । त्यस्तै आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए ।

न्यूजील्यान्डका मिचेल सान्टनार र लोकी फर्गुसनले समान तीन÷तीन विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए । त्यस्तै म्याट हेनरीले १ विकेट झारे । त्यसअघि भारतको चेन्नइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रनको योगफल बनायो । न्यूजील्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।

त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाए । विल योगले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रविन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नवीन उल हकले समान दुई÷दुई विकेट लिए । त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक÷एक विकेट झारे ।

हेर्नुहोस् कार्तिक २ गते बिहिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मीथुन राशि – अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला ।

कर्कट राशि – मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

सिंह राशि – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

कन्या राशि – कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

तुला राशि – मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि – बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि – नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि – कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशि – मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला ।

दुर्गा पक्षको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ, २ कात्तिक : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन बिहीबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरुका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनिमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन् ।

पार्वतीले ऋषिलाई ऊँटको योनिमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनि प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो’ ‘भोक लागेका बेला जङ्गलका काँडाहरु चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु, मलाई यस योनिमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन् । ऋषिको कुराबाट पार्वती प्रभावित हुँदै भनिछन् ‘ऋषिजी तपाइँ ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्व नबुझी मैले दिएको श्रापबाट मलाइ ठूलो पश्चात्ताप छ, अब म तपाइँलाई पुत्रका रुपमा प्राप्त गर्न चाहन्छु’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । आश्विन शुक्ल प्रतिपदादेखि नै काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको लाम लाग्न थालेको छ ।

‘गाजाको अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४७१ जनाको मृत्यु ’

गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४७१ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको गाजास्थित हमासनियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

“ब्याप्टिस्ट अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ४७१ पुगेको छ, र २८ जनाको अवस्था गम्भीर छ, साथै, ३१४ जना घाइते भएका छन्,“ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन् ।

आक्रमणले अरब विश्वमा आक्रोश फैलाएको छ । इजरायल र प्यालेस्टाइनी लडाकूसमूहले मङ्गलबार उक्त केन्द्रमा भएको आक्रमणका लागि एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।

द्वन्द्वग्रस्त इजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

बेदकोट (कञ्चनपुर) – द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।

स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा–८ की श्रीता गुरुङले बताउनुभयो । उहाँ १४ वर्षदेखि इजरायलमा बसोबास गर्दै आउनु भएको थियो । “अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन । सानो सानो भइरहेको हुन्थ्यो”, उहाँले भन्नुभयो, “घटनापछि डर लाग्यो । सुरक्षित महसुस गर्न सकिएन । त्यसैले स्वदेश फर्किएँ । यहाँ आएपछि निकै खुसी लागेको छ ।”

इजरायलबाट उद्धार गरिएका गुरुङसहित सात जना पश्चिम सीमा नाका गड्डाचौकीबाट स्वदेश फिर्ता भएका छन् । सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ मध्ये सात जना आज बिहान गड्डाचौकी नाका भएर महेन्द्रनगर पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार इजरायलबाट भारत हुँदै गड्डाचौकी पुगेका उनीहरुलाई गन्तव्यसम्म पुर्‍याउन यातायातको व्यवस्थापन गरिएको छ । “१८ जनामध्ये कोही विमानमार्फत घर गएका छन् । कोहीले भारतमै परिवारका सदस्यसँग भेटेका छन्”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “सात जना गाडीमार्फत महेन्द्रनगर पुगेका छन् । उहाँहरुलाई घरसम्म पुर्‍याउने तयारी गर्दैछौँ ।” भारत सरकारले आफ्ना नागरिकसँगै १८ नेपालीलाई पनि विमानमार्फत दिल्ली ल्याइदिएको उहाँले बताउनुभयो ।

काठमाडौँका नागरिकलाई विमानमार्फत पठाउने तयारी भइरहेको थापाले जानकारी दिनुभयो । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । इजरायल र प्यालेस्टाइनको युद्धपछि फसेका दुई सय ५४ नेपालीलाई पहिलो चरणमा सरकारले नेपाल वायुसेवा निगमको जहाजमार्फत ल्याइसकेको छ ।

कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग

२भेरीगङ्गा (सुर्खेत), १ कात्तिक : कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार प्रदेशमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो ।

प्रदेशका दश जिल्लामध्ये सल्यान, रुकुम पश्चिम, सुर्खेत खाद्यान्नमा आत्मनिर्भर रहेका छन् भने सात जिल्लामा खाद्यान्न आयात गर्नुपरेको छ । दैलेख, जाजरकोट, हुम्ला, कालीकोट, जुम्ला, मुगु र डोल्पाको उत्पादनले वर्षभर खान पुग्दैन । तथापि दैलेख र जुम्ला भने खाद्यान्न कम आयात गर्ने जिल्लाका रुपमा रहेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले खाद्यान्नमा सबै जिल्लालाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम प्रदेश सरकारले सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले आम नागरिकलाई खाद्य सुरक्षाको पहुँचमा ल्याउनका लागि जैविक प्रदेशको अवधारणा लिइएको भन्दै यो कार्यक्रमलाई सफल बनाउन सबै निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

विश्व खाद्य कार्यक्रम इपिआई र एफएओले कर्णालीका पहाडी तथा हिमाली जिल्लामा सन् २०१९ मा गरेको पाँचौँ पटकको सर्वेक्षणअनुसार समग्रमा प्रदेशका २८ प्रतिशत घरधुरीहरुले आवश्यक पर्ने पर्याप्त खाद्यवस्तु उपभोग नगरेको पाइएको छ । त्यसमध्ये आठ प्रतिशत घरधुरीले अति न्यून मात्रामा खाद्यवस्तु उपभोग गरेका छन् । यस तथ्यलाई भोकमरीका रुपमा विश्लेषण गरिएको छ ।

नयाँ चुनौतीको उदयसँगै नागरिकको संवेदनशीलता बढेको छ – उपप्रधानमन्त्री खड्का

काठमाडौँ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ चुनौतीको उदयसँगै विश्वव्यापीरूपमा नागरिकको संवेदनशीलता बढेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घ दिवसका अवसर नेपाली सेनाले आज यहाँ आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनःविचार गर्न आवश्यक देखिएको धारणा व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ दिवस, २०२३ को अवसरमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने नाराका साथ आयोजित समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्को बडापत्रको आदर्श र विश्व शान्तिको उद्देश्यप्रति नेपालको प्रतिबद्धताबारे स्मरण गराउनुभयो ।

“संयुक्त राष्ट्रसङ्को बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैँ विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध छ ।” निःशस्त्रीकरण तथा विश्वशान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा हाम्रा प्रतिबद्धता अभिव्यक्त भएको उल्लेख गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाका लागि शान्ति सेनाले निरन्तर खटेर योगदान गरिरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले राष्ट्रसङ्घले विश्वको शान्ति, प्रगति र समृद्धिका लागि अथक प्रयास गर्दै आएको कुरा नेपालले सदैव स्वीकार गरेको बताउनुभयो । “संयुक्त राष्ट्रसङ्घअन्तर्गत रही विश्व शान्ति स्थापना गर्ने कार्यमा नेपाल सहभागी भएको ६५ वर्ष पूरा भएको छ । हामी माथिको यो विश्वासका लागि हामी राष्ट्रसङ्घलाई धन्यवाद दिन चाहन्छौँ”, उहाँले भननुभयो ।

हाल नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा सेना पठाउने मुलुकमध्ये शीर्ष दोस्रो स्थानमा छ । उपप्रधानमन्त्री खड्काले राष्ट्रसङ्घको आह्वानमा शान्ति कार्यमा दस हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता रहिआएको उल्लेख गर्नुभयो । राष्ट्रसङ्घका महासचिवको लङ्ैगिक समानता रणनीतिअनुरूप नेपालले तोकिएका मापदण्ड पूरा गरी सक्षम महिलालाई शान्ति सेनामा पठाउन हरसम्भव प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

पहिलो त्रैमासमा राजस्व सङ्कलन १५ र बजेट खर्च १६ प्रतिशत

काठमाडौँ, १ कात्तिक : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आवका लागि सरकारले रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा रू दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६ दशमलव दुई प्रतिशत बराबर हो ।

यो अवधिमा सरकारले चालुतर्फ १८ दशमलव ६९, पुँजीगततर्फ पाँच दशमलव नौ र वित्तीय व्यवस्थातर्फ १६ दशमलव ०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा रू दुई खर्ब १३ अर्ब ३९ करोड बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रू तीन खर्ब दुई अर्ब सात करोड बराबरको वार्षिक बजेट रहेकामा हालसम्म रू १७ अर्ब ८३ करोड ३१ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट छुट्याइएकामा पहिलो त्रैमास अवधिमा रू ४९ अर्ब ३४ लाख ९० हजार बराबर खर्च भएको छ ।

हालसम्मको सरकारी राजस्व सङ्कलन हेर्दा रू दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख बराबर रहेको छ । जुन वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत बराबर हो । सरकारले चालु आवका लागि रू १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

पहिलो त्रैमासमा सङ्कलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५ दशमलव २८ प्रतिशत अर्थात् रू एक खर्ब ९९ अर्ब ४६ करोड २१ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६ ददशमलव ७९ प्रतिशत अर्थात् रू १९ अर्ब ६५ करोड ३० लाख बराबर रहेको छ । चालु आवका लागि रू ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको शून्य दशमलव १२ प्रतिशत अर्थात् रू ६ करोड १८ लाख बराबर अनुदान लिएको छ ।

वातावरणमैत्री विकासको आवश्यकता : वनमन्त्री महतो

जोमसोम (मुस्ताङ), १ कात्तिक : वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर र क्षति न्यूनीकरण गर्न वातावरणमैत्री विकासको आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आज जोमसोममा आयोजना गरेको ‘सरोकारवालासँग जलवायु संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अव्यवस्थित विकास निर्माणका कारण विपत्ति सिर्जना भएको बताउनुभयो ।

“अवैज्ञानिक किसिमको निर्माणले प्रकृतिमा असर गरेको छ”, उहाँले भन्नुुभयो, “भोलि के हुन्छ भन्ने अनुुमान र विश्लेषण नगरी विकासका काम गर्ने प्रवृति रोक्नलाई अनुुरोध गर्दछु ।” उहाँले मानवीय लापरबाही र गतिविधिका कारण वातावरणमा परेको असर तथा क्षति न्यूनीकरण गर्न विकाससँगै संरक्षणको काम पनि गर्नुु आवश्यक देखिएको बताउनुुभयो ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै भएको चीन भ्रमणका क्रममा मुुस्ताङको कोरलालगायत नेपालको सिमानामा रहेका १४ व्यापारिक नाका सञ्चालन र जडीबुुटीको निकासी गर्ने सम्बन्धमा समझदारी भएको मन्त्री महतोले बताउनुुभयो ।

“चीनसँग भएको समझदारीले नेपालको हिमाली क्षेत्रको जडीबुटीको बजारीकरणमा सहयोग पुग्नेछ”, उहाँले भन्नुुभयो “जडीबुटी खेतीको विस्तार र प्रवद्र्धनका लागि वन मन्त्रालयले जोड दिएको छ ।”

विश्व समुदायले नेपालको वातावरण संरक्षणको क्षेत्रमा उपलब्ध गराएको रु ५० करोड अनुुदान मुुस्ताङमा जलवायुु परिवर्तनको असर र क्षति न्यूनीकरण तथा अनुुकूलनका योजनाका लागि परिचालन गरिने मन्त्री महतोले बताउनुुभयो ।

मुुस्ताङ, मनाङ, सिन्धुुपाल्चोकलगायत जिल्लामा पछिल्लो केही वर्षयता जलवायुु परिवर्तनका कारण भएको क्षतिको विषयलाई २८औँ विश्व जलवायुु सम्मेलनमा अन्तराष्ट्रियकरण गरिने उहाँले बताउनुुभयो ।

“हाम्रा हिमाल हिउँविहीन हुुने, हिमताल फुट्ने जोखिम हुुने, हिमाल कालापत्थरमा परिणत भएको मुुद्दालाई अन्तर्राष्ट्रियकरण गर्छौं”, उहाँले भन्नुुभयो, “जलवायुु परिवर्तनको क्षति र असर न्यूनीकरणका लागि तीनै तहका सरकारले अनुुकूलनका योजना बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।”

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले जलवायुु परिवर्तनका कारण जनजीवनमा परेको असरका बारेमा स्थलगत निरिक्षण र नागरिकको गुुनासो सुुनेर अन्तराष्ट्रिय जलवायुु सम्मेलनमा उठाउनका लागि प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा संवाद कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुुभयो ।

छलफलमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयहरुले तापक्रम वृद्धि र जलवायुु परिवर्तनका कारण परेको असर तथा समस्याका बारेमा जानकारी गराउनुुभएको थियो । गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचन, जिल्ला समन्वय समिति मुुस्ताङका प्रमुखु माया गुुरुङ, वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुुरुङ, नेकपा (एमाले) मुुस्ताङका अध्यक्ष आशबहादुुुर थकाली, स्थानीय चन्द्रबहादुुर थकालीले तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण मुुस्ताङको सबै क्षेत्र प्रभावित भएको बताउनुुभयो ।

मानिस, पशुुपक्षी र बोटबिरुवामा नयाँ रोग देखिएको, हिउँ पर्ने याममा हिउँ नपर्ने, बेमौसमी वर्षा हुुने, माटोले बनेका घरहरु भत्किन थालेका, कालीगण्डकी र सहायक नदीहरुमा बाढीको सतह बढेर आउन थालेको, अत्यधिक वर्षा हुुन थालेको, तल्लो क्षेत्रमा स्याउ खेती हुुन छाडेको जस्ता असर देखिएको उहाँहरुले बताउनुुभएको थियो ।

गाजाको अस्पतालमा भएको आक्रमणको एमालेबाट निन्दा

काठमाडौँ, १ कात्तिक : नेकपा (एमाले) ले गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी उपचार गराइरहेका बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएका घटनाको निन्दा गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गरी रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनाका साथै बालबालिकासहित सयौँ हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जुनसुकै समस्याको समाधान शान्ति वार्ताद्वारा गरिनुपर्छ, निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ ।”

अध्यक्ष ओलीले घटनामा उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायक निकायलाई आवागमनका लागि अनुमति दिनुपर्छ भन्ने मान्यता आफ्नो पार्टीको रहेको पनि स्पष्ट गर्नुभएको छ ।

अफगानिस्तानलाई २ सय ८९ रनको चुनौती

काठमाडौँ, १ कात्तिक : भारतमा जारी आइसिसी विश्वकप २०२३ अन्तर्गत आज भएको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई जितको लागि दुई सय ८९ रनको लक्ष्य दिएको छ ।

भारतको चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८८ रनको योगफल बनायो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिएका हुन् ।

त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाएका हुन् । विल योगले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रवीन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नविन उल हकले समान दुई दुई विकेट लिए । त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक एक विकेट झारे ।

१२ लाख राजस्व सङ्कलन, २८ हजारलाई सचेतना

कर्णाली, १ कात्तिक : ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ को अवधिमा रु १२ लाख राजस्व सङ्कलन गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका दशवटै जिल्लाका ट्राफिक कार्यालयले गरेको ट्राफिक जाँचको क्रममा कारबाहीमा परेका एक हजार आठ सय सवारी साधनबाट रु १२ लाख २९ हजार पाँच सय र मादक पदार्थ सेवनतर्फ रु ५० हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

“सप्ताहको अवधिमा प्रदेशभरमा २८ हजार एक सय ७९ जनालाई ट्राफिक सेचतना गराइएको छ”, प्रवक्ता भट्टराईले भन्नुभयो, “विभिन्न विद्यालय, क्याम्पस गरी चार सय ७० विद्यार्थीलाई पनि ट्राफिक नियमका बारेमा सचेत बनाएका छौँ ।”

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सात हजार सात सय ९६, सल्यानले पाँच हजार छ सय २२, दैलेखले तीन हजार आठ सय, कालीकोटले तीन हजार ६२, रुकुमपश्चिमले दुई हजार नौ सय ७०, जुम्लाले दुई हजार ११, जाजरकोटले एक हजार चार सय ५९, मुगुले छ सय ९२, डोल्पाले चार सय ३५ र हुम्लाले तीन सय ३२ जनालाई ट्राफिक सचेतना गराएको उहाँले बताउनुभयो ।

असोज २४ गतेदेखि सञ्चालन भएको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ को उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्नुभएको थियो । ‘६८औँ प्रहरी दिवस–२०८०’ को अवसर नेपाल प्रहरीको ब्याण्ड प्रदर्शनपश्चात् उक्त सप्ताहको समापन मङ्गलबार साँझ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले गनुभएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सङ्घीयता कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार

मनहरी, १ कात्तिक : बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।

हेटौँडामा मन्त्री श्रेष्ठले आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुँदै प्रदेश सरकार सङ्घीयतालाई कार्यान्वयन गर्दै प्रदेश निजामती ऐन पारित गरी कर्मचारी व्यवस्थापन र परिचालनमा जुटेको बताउनुभयो ।

ऐन कार्यान्वयन गरेर दुई जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको मन्त्री श्रेष्ठले सुनाउनुभयो । प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न संसद्बाटै ऐन पारित गरी कार्यान्वयनमा ल्याइएको समेत उहाँले बताउनुभयो । गठबन्धन सरकारले गरेको प्रतिबद्धता अनुरुप भदौ मसान्तसम्म प्रहरी समायोजन गर्नुपर्नेमा तिहारअघि उक्त प्रतिबद्धताअनुरुप काम हुने विश्वाससमेत लिइएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय एकता कमजोर बनाउनेप्रति सजग हुनुपर्ने

काठमाडौँ, १ कात्तिक : नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकामा आपत्ति जनाउँदैप्रति त्यसो हुन नदिन सबै सजग हुनुपर्ने बताउनुभएको छ ।

एमालेको जनसङ्गठन नेपाल राष्ट्रिय भूतपूर्व प्रहरी तथा सैनिक सङ्गठनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मुलुकका असहिष्णुता र अराजकता बढेर राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकाले आम नेपालीले त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो, “महान् पुर्खाका सन्तान नेपालीले जिम्मेवारीबोधसहित सबै नेपाली सुरक्षाकर्मीसरह अनुशासित हुनुपर्छ । हामी विभेद र असमानतालाई अन्त्य गरेर सामाजिक सद्भावसहितको एकता चाहन्छौँ,यसका आधारमा हामी समृद्धिको बाटोमा अघि बढ्न खोजेका छौँ । यो यात्रालाई बिथोल्न खोज्नेबाट सतर्क हुनुपर्छ ।”उहाँले जागीरबाट भूतपूर्व भए पनि कठिनाइ र समस्याका बीच राष्ट्रिय कर्तव्यबाट कोही पनि विमुख हुन नसक्ने जनाउँदै पूर्व सुरक्षाकर्मी देशको एक पहरेदार हुन् भन्नुभयो ।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाललगायतको उपस्थिति थियो । सङ्गठनका अध्यक्ष विनोद पाण्डेले राष्ट्रको सेवा गरेर अवकाश लिएका पूर्वसुरक्षाकर्मीले मुलुकको समृद्धि चाहेको स्पष्ट गर्नुभयो ।

थपिँदै डायलाइसिस मेसिन, मिर्गौला पीडितलाई राहत

ढोरपाटन (बागलुङ), १ कात्तिकः धौलागिरि अस्पताल बागलुङलाई थप पाँच डायलाइसिस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले अस्पताललाई मेसिन उपलब्ध गराएको हो । मिर्गाैलाको रोगबाट पीडित बिरामीलाई सहज रुपमा डायलाइसिस सेवा दिनका लागि मन्त्रालयलाई माग गरेपछि उपलब्ध गराएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले धौलागिरि अस्पतालसँगै बागलुङ नगर अस्पताललाई पनि मन्त्रालयलले आवश्यक औषधी तथा उपकरण गराउने बताउनुभयो । पछिल्लो समय धौलागिरि अस्पतालमा सेवासुविधा सहज रुपमा प्रदान हुन थालेपछि बिरामीको चाप पनि उत्तिकै बढेको हुँदा सेवालाई थप प्रभावकारी बनाउनका लागि आवश्यक उपकरण माग गरिएको प्रमुख श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, “बागलुङका धेरै बिरामीहरु पहिले पोखरा काठमाडौँ पुगेर उपचारका लागि लाखौँ खर्च गर्नुपर्ने बाध्यता थियो, तर अहिले त्यो बाध्यता हटेको छ, सेवा लिनेको सङ्ख्या बढेपछि उपकरण बढी आवश्यक पर्ने देखियो, मन्त्रालयमा पुगेर मन्त्रीसँग माग गरेपछि उहाँले पाँच थान डायलाइसिस मेसिन र अन्य उपकरण उपलब्ध गराउनु भएको छ, उहाँ पनि केही दिनमा बागलुङ आएर यहाँको अवस्था बुझ्नु हुने छ ।”

धौलागिरि अस्पताल बागलुङ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानले हाल ४० जना मिर्गौला पीडित बिरामीले नियमित सेवा लिइरहेको बताउनुभयो । दैनिक तीन चरणमा डायलाइसिस सेवा दिने गरेको भन्दै थप पाँचवटा मेसिन सञ्चालनमा आएपछि बिरामीले घण्टौँ कुर्नुपर्ने अवस्थाको अन्त्य हुने डा प्रधानले बताउनुहुन्छ । अस्पतालमा हाल पाँचवटा डायलाइसिस मेसिन सञ्चालनमा रहेको बताउनुहुन्छ ।

“अहिले हामीसँग पाँचवटा मेसिन सञ्चालित छन्, ती मेसिनबाट बिरामीले दैनिक सेवा लिई राख्नुभएको छ, तर उहाँहरुले अस्पताल आउँदा बित्तिकै सेवा पाई राख्नुभएको छैन, केही बेर (वेटिङ) गर्नुपर्ने अवस्था छ,” मेडिकल सुपरिटेन्डेन्ट प्रधानले भन्नुभयो, “अब त्यो अवस्था आउने छैन, सेवा थप प्रभावकारी हुने छभने बिरामीले तुरुन्तै सेवा पाउनुहुने छ, बिरामीको गुनासो पनि आउने छैन, हामीहरुले पनि सक्दो चाँडो सेवा दिएर उहाँहरुलाई खुसी बनाउने प्रयास गर्ने छौँ ।

धौलागिरि अस्पतालमा २०७६ सालदेखि निरन्तर डायलाइसिस सेवा प्रवाह हुँदै आएको डा प्रधानले बताउनुभयो । पछिल्लो समय अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या पहिलेको तुलनामा करिब दोब्बर भएको अस्पतालले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ दिवस : नेपाल विश्व शान्तिप्रति समर्पित

काठमाडौँ, १ कात्तिक : संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रसङ्घको वडापत्र कार्यान्वयनमा आएको दिन अक्टोबर २४ मा मनाइँदै आएको दिवस यस वर्ष नेपाली पात्रोअनुसार दसैँका दिन परेकाले आज मनाइएको हो ।

नेपाली सेनाले आज शान्ति र्‍यालीको आयोजना गरेको थियो । जङ्गी अड्डाको खेल मैदानबाट सुरु भएको पाँच किलोमिटर दूरीमा सञ्चालित उक्त र्‍यालीमा सेनाका बहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अधिकृत, विभिन्न युएन मिसनका पूर्वफोर्स कमाण्डर, विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी, सञ्चारकर्मीलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

दोस्रो भागको विशेष कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको टोलीद्वारा मार्चपाष्ट, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै सैनिक ब्याण्डको प्रस्तुतीकरण समावेश गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको पहिचान र विश्व शान्तिको कार्यप्रति समर्पित रहेको र संयुक्त राष्ट्रसङ्घको महासचिवको लैङ्गिक समानताको रणनीतिलाई अङ्गीकार गर्दै दक्ष महिला शान्तिकर्मी तैनाथ गरिरहेको बताउनुभयो । उहाँले बदलिँदो शान्ति चुनौतीसँगै साधारण जनताको सुरक्षा संवेदनशीलता वृद्धि भएकाले नवीन तवरले शान्ति कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घले माग गरेको अवस्थामा नेपाल सरकार दश हजार तालिमप्राप्त शान्ति सैनिक पठाउन तयार रहेको जानकारी गराउँदै उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त राष्ट्रसङ्घ दिवसको अवसरमा आयोजित कार्यक्रमले नेपालको परराष्ट्र नीतिको प्राथमिकता विश्व शान्ति पनि रहेको र यसमा नेपालले उल्लेखनीय योगदान पु¥याएको कुरालाई दर्साउने बताउनुभयो । नेपाली शान्ति सैनिकले परराष्ट्र नीतिलाई सहयोग पु¥याउने कार्यका साथै द्वन्द्वग्रस्त समुदायलाई द्वन्द्वको चपेटाबाट बाहिर निस्किन मद्दत गरी नेपालको छविसमेत उच्च राख्न सहयोग पु¥याएको बताउँदै उहाँले यस्ता कार्यको सराहना गर्दै आफ्नोतर्फबाट दक्ष शान्ति सैनिक खटाउन पूर्णरूपमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हन्ना सिंगर–हम्दीले पाँच जना सैनिक पर्यवेक्षकबाट सुरु भएको नेपालको शान्ति स्थापना यात्रामा हाल छ हजारभन्दा बढी शान्ति सैनिक खटिनुले नेपाल र संयुक्त राष्ट्रसङ्घको भरपर्दाे सदस्य राष्ट्र भएको कुरा बताउँदै दिवसको उपलक्ष्यमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रधान सेनापति शर्माले बदलिँदो परिस्थितिबीच शान्ति सैनिकलाई समेत खतरा बढ्दै गएकोले शान्ति सैनिक आधुनिक उपकरण र उच्च पेसागत दक्षताले सुसज्जित हुनुपर्ने बताउनुभयो । सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश हजार शान्ति सैनिक पठाउन गरेको प्रतिबद्धताको तयारी नेपाली सेनाले पूर्णरूपमा गरिरहेको बताउँदै उहाँले फौजको दक्षता वृद्धि गरी सशक्त कार्य गर्ने क्षमता वृद्धि गर्न योजना गरी कार्यान्वयन भइरहेको बताउनुभयो । त्यसका लागि शान्ति सैनिकको गतिशीलता र क्षमता अभिवृद्धि गर्न प्रयास भइरहेको र उक्त कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको योगदानलाई समेत प्रधान सेनापति शर्माले सराहना गर्नुभयो ।

सरकारका सचिव, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा सशस्त्र प्रहरी बल, नेपालका प्रमुख तथा पदाधिकारी, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायत नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो ।

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको कार्यान्वयन गर्नुपर्ने

काठमाडौँ, १ कात्तिक : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको मर्यादित र सम्मानजनक जीवनका लागि व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा समाज कल्याण परिषद् र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजनामा ‘शताब्दी व्यक्तित्व’ सम्मान तथा ‘शताब्दी व्यक्तित्व पुस्तक’ विमोचन कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

“नेपालमा ज्येष्ठ नागरिकको सम्मान र माया गर्ने प्रकृया विस्तारै विकास हँुदै गएको छ, “सभामुख घिमिरेले भन्नुभयो, “कमाउन सक्दा प्यारो, खट्न नसक्दा परिवारबाट नै अपहेलित हुने केही अवस्था भए पनि राजनीतिक परिवर्तन हँुदै जाँदा सम्मान र सहयोग गर्ने परिपाटीको विकास हँुदै गएको छ ।”

कोष स्थापना हुने बित्तिकै ज्येष्ठ नागरिकका लागि महत्वपूर्ण काम गर्दै आएको र शताब्दी व्यक्तित्वलाई सम्मान गर्ने काम प्रभावकारी भएको उहाँले बताउनुभयो । कार्यक्रममा सभामुख घिमिरेले शताब्दी व्यक्तित्व मानव अधिकारवादी डा गौरीशङ्कर लाल दास, टङ्कबहादुर थापा, दोस्रो विश्व युद्ध लडेका चन्द्रबहादुर सुनुवार, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा र सानुमान शाक्यलाई सम्मान गर्नुभएको थियोे ।

पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेलले सहज बुढ्यौली जीवनमा विगतमा भए÷गरेका कुराको स्मरण गराउने र मर्यादित जीवनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।सांसद कर्ण थापाले ज्येष्ठ नागरिकलाई कानुनी, आर्थिक, सामाजिकरूपले संरक्षण गरी प्रत्येक ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सीप र अनुभव लिनुपर्ने बताउनुभयो ।

शताब्दी पुरुष गौरीशङ्कर लाल दासले संविधानमा ज्येष्ठ नागरिकलाई विशेष व्यवस्था गरिने भनिएपनि कानुन प्रभावकारी कार्यान्वयन हुन नसक्दा ज्येष्ठ नागरिकले पाउने सुविधा पाउन नसकेको अनुभव सुनाउनुभयो ।

वरिष्ठ कलाकार तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्वअध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चित गर्नका लागि सरकारले बनाएको कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । नागरिकता अभावका कारणले केही ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउनबाट बञ्चित भएको उहाँले जानकारी गराउनुभयो ।

एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई सबैले माया, सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कोषका सभापति वसन्तराज कार्कीले सय वर्ष पुगेका व्यक्तिलाई ‘विशिष्ट नागरिक’ घोषणा गरी विशेष सेवा दिन माग गर्नुभयो ।

कार्यक्रममा ‘शताब्दी व्यक्तित्व’ नामक कृतिको सभामुख घिमिरेले सार्वजनिक गर्नुभएको थियोे । पुस्तकमा ६१ जना शताब्दी व्यक्तित्वका बारेमा लेखिएको छ ।

दुर्गा पक्षको चौथो दिन गरियो कुष्माण्डा देवीको पूजा आराधना

काठमाडौँ, १ कात्तिक : नवरात्रको चौँथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौँथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । आज पनि काठमाडौँ उपत्यका र काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, सुन्दरीमाई, बज योगिनीलगायत शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने

भक्तपुर, १ कात्तिक : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताउनुभएको छ ।नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधान असफल बनाउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

पार्टीले समाजवादी जागरण रोजगारी, सुशासन, समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएको बताउँदै नेता नेपालले भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुने बताउनुभयो ।

“संविधानलाई असफल बनाउन खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने र पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने तत्वप्रति सबै होसियार हुनुपर्छ ।” सत्ता गठबन्धन पाँच वर्षका लागि बनेकाले गठबन्धन भत्काउँछौँ भन्ने सपना कसैले नदेखे हुन्छ भन्दै अध्यक्ष नेपालले देशलाई प्रतिगमनमा लैजान खोज्ने तत्वले अहिले पनि गठबन्धनन भत्काउन खोजिरहेको बताउनुभयो ।

पछिल्ला समय नयाँ आएका दलले पुराना दल र तिनका नेता कुनै काम लाग्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै उहाँले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका कृषिमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, श्रम तथा यातायातमन्त्री लक्ष्मण लम्साल, सङ्घीय सांसद तथा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, एकीकृत समाजवादीका नेता गुरुप्रसाद बुर्लाकोटीलगायतले देशका लागि सत्ता गठबन्धन अपरिहार्य रहेको चर्चा गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १ कात्तिक : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिक्यूले शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँहरूबीच आज भएको भेटवार्तामा निर्वाचन आयोग र युरोपियन युनियनबीच विगत दुई दशकयता भएका कार्यगत सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको आयोगले जनाएको छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन प्रक्रियाको समग्र सुधारका निम्ति आयोगले तयार गरेको कार्ययोजनाबारे बताउनुभएको थियो । सो अवसरमा व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको राजदूत भेरोनिक्यूले स्पष्ट पार्नुभएको थियो ।

एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा

काठमाडौँ, १ कात्तिक : मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले गत असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारण लाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो । जसमा चरण (लट–१) को लप्सीफेदी–रातामाटे–न्यु हेटौँडा, दोस्रो चरण (लट–२) को रातामाटे–न्यु दमौली, र तेस्रो तरण (लट–३) को न्यु बुटवल–नेपाल/भारत सीमा क्षेत्रसम्मको प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको छ ।

सुरुआती लागत अनुमानभन्दा बढी रकमको ठेक्का प्रस्ताव भएपछि यो ठेक्का प्रक्रिया रद्द भएको एमसिए–नेपालको भनाइ छ । कुल तीन सय १५ किलोमिटरको चार सय केभी विद्युत् प्रसारण लाइनका लागि अब पुनर्ठेक्का (रि–टेन्टर) प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा अन्योल देखिएको छ ।

रद्द भएका ठेक्का सम्झौता अब कुन प्रक्रियाबाट तथा कानुनी आधारमा कहिलेसम्म अगाडि बढ्छन् ? भन्ने राससको प्रश्नमा एमसिए–नेपालले अब अर्को ठेक्का प्रक्रिया कसरी अगाडि बढाउने भन्नेबारे योजना तयार भइरहेको जवाफ दिएको छ । “बजारबाट प्रतिक्रिया प्राप्त गरिसकेपछि एमसिए–नेपालले यो खरिद कार्य सफलतापूर्वक सम्पन्न गर्न आगामी कदम निर्धारण गर्न एमसिएसँग सहकार्य गरेको थियो । एमसिए–नेपालले प्राविधिक विज्ञहरू, एमसिसी तथा नेपाल सरकारसँगको समन्वयमा भविष्यमा सफल खरिद कार्यलाई सहजतापूर्वक अगाडि बढाउनका लागि योजना तयार गर्दैछ”, उसले जवाफमा भनेको छ, “निर्धारित बजेटबाटै समयमै एमसिए–नेपाल र एमसिसीको वातावरणीय तथा सामाजिक मापदण्डअनुसार प्रसारण लाइन निर्माण हुने सुनिश्चित गर्न एमसिए–नेपाल प्रतिबद्ध छ ।”

तोकिएको समय र लागतभित्र आयोजनाको काम सक्ने एमसिए–नेपालको दाबी रहे पनि ठेक्का प्रक्रियामै थप उल्झन देखिएको छ । एमसिए–नेपालले अहिले रद्द गरेका ठेक्का गत वर्ष मङ्सिर दोस्रो साता (२०२२ नोभेम्बर २८) आह्वान गरेको थियो ।

यो ठेक्का आह्वान गरेदेखि मूल्याङ्कन र त्यसपछि रद्द हुँदासम्मको अवस्थासम्म पुग्दा करिब ११ महिना समय लागेको देखिन्छ । अर्को ठेक्का प्रक्रिया सक्न कति समय लाग्छ भन्नेमा एमसिए–नेपाल अझै स्पष्ट भइसकेको छैन । यद्यपि, तोकिएको पाँच वर्षभित्रमा आयोजनाका काम सकिसक्ने उसको दाबी छ ।

अर्थ मन्त्रालय र एमसिसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट अनुमोदन भएको थियो । छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्री इनटु फोर्स– इआइएफ)को चरणमा गइसकेको छ । अर्थात् गत भदौ १३ गतेदेखि एसिसीअन्तर्गतका परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भइरहेको छ । अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्नै करिब छ वर्ष समय लागेको थियो । अहिले इआइएफ घोषणापछि ठेक्का प्रक्रिया लम्बाउँदा समयमै आयोजना सकिने र एमसिसी कम्याक्टको शर्तबमोजिम अमेरिकाले नेपाललाई उपलब्ध गराउनेमा शङ्का गर्ने ठाउँ देखिएको छ ।

एमसिए–नेपालले एमसिसी कार्यक्रम खरिद मार्गनिर्देशिका (पिपीजी) अनुसार यो ठेक्का प्रक्रिया रद्द गरेको जनाएको छ । “विद्युत् प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रमा उल्लेख गरिएको लागत वर्तमान बजेटभन्दा निकै बढी भएको र बोलपत्र दातासँगको छलफलबाट पनि उक्त अन्तर सम्बोधन हुन नसकिने निष्कर्षमा प्राविधिक विज्ञ पुगेको तथा एमसिएसँगको परामर्शपछि एमसिए–नेपाल ठेक्का रद्दको निर्णयमा पुगेको हो”, उसले भनेको छ, “एमसिए कार्यक्रम खरिद मार्गनिर्देशिकाको दफा पी १.ए.२.७५ र ७७ अनुसार ती बोलपत्र अस्वीकृत गरिएको छ ।” खरिद प्रक्रियालाई समयमै निरन्तरता दिने कार्यलाई सहजीकरण गर्न एमसिए–नेपालले बोलपत्रदातालाई उहाँहरूका बोलपत्र अस्वीकृत भएको जानकारी गराइसकेको छ । साथै यथाशीघ्र प्रतिस्पर्धात्मक खरिद प्रक्रियाको दोस्रो चरण अगाडि बढाउनका लागि तयारी थालिएको पनि उसले जनाएको छ ।

त्यसो त, परियोजना लागू गर्न पूरा हुनुपर्ने भनी एमसिए कम्याक्टमा तोकिएका शर्तमध्ये एउटा शर्त अझै अपूर्ण छ । प्रसारण लाइन र सडक विस्तार आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरण तथा प्राप्ति, वन क्षेत्रभित्रको जग्गा प्रयोग अधिकार सुनिश्चितता र परियोजना बन्ने क्षेत्रसम्मको पहुँचको पूर्वशर्त पूरा हुनसकेको छैन । तर, शर्तका यी विषय पूरा हुने आधार देखिएको भन्दै एमसिए–नेपालले इआइएफ तोकेको थियो ।

एमसिए–नेपालअन्तर्गत हुने खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अंशसमेत बढेको छ । सुरुआती सम्झौतामा एमसिसी परियोजनाका लागि कूल ६३ करोड अमेरिकी डलर बराबर लागत अनुमान गरिएको थियो । जसमध्ये ५० करोड अमेरिकी डलर एमसिसी अनुदान र १३ करोड अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने कम्प्याक्टमा उल्लेख छ । तर गत जेठमा भएको एक ‘पूरक सम्झौता’पछि नेपाल सरकारले बेहोर्ने दायित्व छ करोड ७० लाख अमेरिकी डलर थप भई १९ करोड ७० लाख अमेरिकी डलर पुग्ने देखिएको छ । समग्र परियोजनामा हुने खर्चको अनुमानसमेत ६३ करोड अमेरिकी डलरबाट बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ । एमसिए–नेपालअन्तर्गत हुने कूल खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अनुपात यसअघि २० दशमलव ६३ प्रतिशत रहेकोमा अब बढेर २८ दशमलव २६ प्रतिशत पुगेको छ । परियोजनामा नेपालले बेहोर्नुपर्ने गरी पछिल्लो पटक थपिएको दायित्व करिब रु नौ अर्ब बराबर हो ।

एमसिएअन्तर्गतका आयोजनामा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बराबरको बजेट विनियोजन गरिएको छ । जसमध्ये विद्युत् प्रसारण आयोजनातर्फ रु आठ अर्ब ७७ करोड ६३ लाख ६६ हजार, सडक मर्मत आयोजनातर्फ रु एक अर्ब ५० करोड ७६ लाख ५३ हजार, अनुगमन तथा मूल्याङ्कनतर्फ २१ लाख ९३ हजार, कार्यक्रम प्रशासनतर्फ रु ५५ करोड ५४ लाख ८८ हजार बराबर विनियोजन गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

विराटनगर, १ कात्तिक : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज भएको मतदानमा उहाँले दुई तिहाईभन्दा बढी मत पाउनु भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मत विभाजनको आधारमा मुख्यमन्त्री कार्की पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत परेको थियो ।

मुख्यमन्त्री कार्कीका पक्षधर नेपाली कांग्रेस आठ जनासहित २९, नेकपा (एमाले)का ३९ जना, नेकपा (माओवादी केन्द्र)का १३ जना, नेकपा (एकीकृत समाजवादी)का चार जना र जसपाका एक सहित ८६ जनाले विश्वासको मत दिएको उपसभामुख सिर्जना दनुवारले घोषणा गर्नुभयो ।विश्वासको मतको प्रस्ताव पेश गर्दा छलफलमा भाग लिँदै एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार निर्माण गर्दा संविधानको सबै धारा प्रयोग भइ अहिलेको अवस्थामा आएको बताउनुभयो । मिलेर काम गर्न तथा सङ्घीयतालाई बलियो बनाउन अहिलेको विकल्प नै उत्तम भएको बताउँदै उहाँले सहमति, सहकार्य र एकताको संस्कृतिलाई बचाउन नै आफ्नो पार्टीले विश्वासको मत दिने स्पष्ट पार्नुभयो ।कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापा, एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, माओवादी केन्द्र संसदीय दलकातर्फबाट दुर्गा चापागार्इँ राजनीतिक स्थिरता र विकासका लागि यो सरकारलाई विश्वासको मत दिने बताउनुभएको थियो ।राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो पार्टी विश्वासको मतको विपक्षमा रहने बताउनुभयो । उहाँले सरकारको राम्रा कामका समर्थन र नराम्रो कामको आलोचनासहित जनतामाझमा जाने प्रतिक्रिया दिनुभयो ।छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले सुशासन र समृद्धिलाई सँगसँगै लैजान विश्वासको मतको कदर गर्ने बताउनुभयो । उहाँले प्रदेशलाई विकासमा नमुना बनाउन विश्वासको मतलाई विश्वासघात नगर्ने विश्वास दिलाउनुभयो ।अर्को सूचना जारी नभएसम्म प्रदेश सभाको बैठक स्थगन भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो । 

सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा

काठमाडौँ, १ कात्तिक : नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा सवारीसाधन (बस) मार्फत चार सय २१ जनाले हालसम्म सेवा पाएका छन् । यस्तै सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रलगायत लामो दूरीका गन्तव्यमा हवाई उडानमार्फत छ सय पाँच जना गरी हालसम्म एक हजार २६ जना सकलदर्जा एवं आश्रित परिवारले सेवा पाएका जानकारी दिइएको छ । उक्त सुविधा सेनाले यही कात्तिक २ गतेसम्म उपलब्ध गराउने छ ।

सशस्त्र प्रहरीले भने निःशुल्करूपमा सुरु गरेको सेवा आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार सशस्त्र प्रहरी बल नेपालले बडादसैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई लक्षित गरी निःशुल्क दुई बस सञ्चालन गरेको छ ।

चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौँ, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो । यसअघि सशस्त्र प्रहरीले बडादसैँका अवसरमा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

राजतन्त्र र गणतन्त्रको संसदीय अभ्यास एउटै हुन सक्दैनन्, यसलाई सुधार्नु पर्छ : सांसद राई

काठमाडौँ, १ कात्तिक : मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ । दशवर्षे जनयुद्ध, जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि डेढ दशक नाघिसकेको छ । गणतन्त्र स्थापनापछि तीनवटा निर्वाचन सम्पन्न भइसकेका छन् । तर हाम्रो संसदीय अभ्यास र सोच अझै पनि राजतन्त्रकालीन अवस्थाको रहेको भन्दै सदनमा बारम्बार आवाज उठ्ने गरेको छ ।

सदनमा सांसदहरूले संसदीय अभ्यासलाई अहिलेको व्यवस्थाअनुकूल चलाइनुपर्छ भनेर आवाज उठाइरहँदा विकृति संसदीय अभ्यासले ‘परम्परा’का नाममा निरन्तरता पाइरहेको देखिन्छ । नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राई पुरानो अभ्यासलाई यथास्थितिमा अगाडि बढ्दा प्रभावकारी काम गर्न नसकिने दाबी गर्नुहुन्छ ।

राजतन्त्रकालीन संसदीय अभ्यास र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संसदीय अभ्यास एकै हुन नसक्ने उहाँको भनाइ छ । “हाम्रो संसदीय अभ्यासमा सुधार गर्दै जानुपर्छ । कमीकमजोरी सुधारेर अगाडि बढ्नुपर्छ”, सांसद राई भन्नुहुन्छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउन, सङ्घीयता कार्यान्वयन तथा गणतन्त्रलाई संस्थागत गर्न सबैको ध्यान जानुपर्छ । नराम्रा संसदीय अभ्यासलाई सुधार्दै अगाडि बढ्नुपर्छ ।”

संसद् अवरुद्ध गर्नु नपर्ने विषयलाई लिएर पनि सदन अवरुद्ध भइरहेको उल्लेख गर्दै उहाँले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्नुपर्ने तथा गलत कामको खबरदारी गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । “सरकारले राम्रो काम गरिरहेको छ, तर दलीय स्वार्थका कारणले संसद् अवरुद्ध भइरहेको छ । प्रतिपक्षले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्नुपर्छ”, सांसद राईले भन्नुभयो, “प्रतिपक्ष जो पनि हुनसक्छ । आज एउटा पार्टी सत्तामा छ । भोलि अर्को पार्टी सत्तामा हुनसक्छ । प्रतिपक्षी रचनात्मक र सिर्जनात्मक हुनुपर्छ, राम्रा काममा समर्थन र गलत कामको खबरदारी गर्नुपर्छ ।”

सदनमा धारणा राख्ने क्रममा कतिपय अवस्थामा असीमित समय दिँदा समयको दुरुपयोग भइरहेकोतर्फ उहाँले बारम्बार आवाज उठाउँदै आउनुभएको छ । पूर्वप्रधानमन्त्री भइसकेका सांसदलाई सदनमा असीमित समय दिइएको विषयमा सांसदहरूले बारम्बार सभामुखको ध्यानाकर्षण गराइरहनुभएको देखिन्छ ।

सांसद राई कानुन निर्माणसँगै जनताको आशा र अपेक्षा पूरा गर्न ध्यान दिनुपर्ने भएकाले सांसदको दोहोरो भूमिका रहेको बताउनुहुन्छ । सङ्घीय सांसद भएको हुनाले निश्चयरूपमा आफूहरूको भूमिका कानुन निर्माणमै केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

“सांसद जनतासँग प्रत्यक्ष जोडिने भएको हुनाले जनताको समस्या तथा आशा, अपेक्षा पनि पूरा गर्नुपर्ने हुन्छ । सांसदहरू दोहोरो भूमिकामै रहन आवश्यक हुन्छ”, उहाँ भन्नुहुन्छ, “सदनमा दर्ता भएका विधेयक संशोधन गर्दै त्यसलाई उत्कृष्ट बनाउन भूमिका खेल्नुपर्ने हुन्छ । जनतासँग प्रत्यक्ष जोडिएर विकास निर्माणमा पनि ध्यान दिनुपर्ने हुन्छ, जनतासँग नजोडिएको अवस्थामा जनता असन्तुष्ट हुने भएकाले दुवै काममा सांसद सक्रिय हुनुपर्छ ।”

सङ्घीयता कार्यान्वयनमा बाधा सिर्जना गर्ने प्रवृत्ति देखिएको सांसद राईको ठम्याइ छ । “संसद्मा प्रतिनिधित्व गर्ने दलहरूमा पनि सङ्घीयतालाई लिएर फरक बुझाइ छ । सङ्घीयता कार्यान्वयन नहोस् भन्ने दलको पनि सदनमा उपस्थिति छ”, उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन गर्ने ठाउँमा हामीलाई जटिलता छ । तर मुलुक कुनै पनि हालतमा पछाडि फर्कँदैन । पछाडि फर्केर गन्तव्यमा पुगिँदैन । पूर्णरूपमा सङ्घीयता कार्यान्वयन हुन्छ ।”

नेकपा (माओवादी केन्द्र) की सांसद राई शान्ति प्रक्रियाका बाँकी कामलाई जतिसक्दो छिटो निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुहुन्छ । शान्ति सम्झौता भएको लामो समय भइसक्दा पनि निष्कर्षमा पुग्न नसक्नु विगतका सरकारको कमजोरी भएको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन काम गरिरहेको बताउनुभयो ।

विसं २०१९ कात्तिक २७ गते भोजपुरको टेम्केमैयुङमा जन्मनुभएकी सांसद राई २०३५ सालदेखि राजनीतिमा आबद्ध हुनुभएको थियो । उहाँ चौथो महाधिवेशनको विद्यार्थी सङ्गठन छैटौँमा २०३५ सालदेखि संलग्न, २०३८ सालमा चौथो महाधिवेशन पार्टी सदस्यता प्राप्त, २०४२ सालपछि मसाल, एकता केन्द्र हुँदै माओवादी सेल कमिटीदेखि राजनीतिक समितिसम्म आबद्ध हुनुभयो । उहाँ हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ ।

“शान्ति सम्झौता सम्पन्न भएको डेढ दशक नाघिसकेको छ, तर शान्ति प्रक्रियाका केही काम अझै बाँकी छन् । सङ्क्रमणकालीन न्यायको विषय अगाडिका सरकारले नै टुङ्ग्याउनुपर्ने थियो । वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सबै राजनीतिक दलसँग छलफल गरिरहेको छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रक्रियामा छ । सरकार र संसद्ले शान्ति प्रक्रियाका कामलाई तत्काल निष्कर्षमा पुर्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुगेमात्रै मुलुक स्थिर शान्तिको बाटोमा अगाडि बढ्ने सांसद राईको भनाइ छ । “एउटा पार्टी, अर्को पार्टी भन्नेभन्दा पनि समग्र मुलुकलाई दिगो शान्तिको बाटोमा अगाडि बढाउनका लागि शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन सरकार र सांसदको पहिलो जिम्मेवारी हुनुपर्छ । अलिहेको संसद्को पहिलो काम नै शान्ति प्रक्रियामा टुङ्गोमा पुर्याउने हुनपर्छ”, उहाँले भन्नुभयो, “आफ्नो अनुकूलताअनुसार शान्ति प्रक्रियालाई बिथोल्ने, बल्झाउने काम भयो भने मुलुकले समृद्धि हासिल गर्न ढिला हुन्छ । सरकार र संसद्ले यस विषयलाई गम्भीररूपमा ध्यान दिनुपर्छ, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनुको बिकल्प छैन ।”

सांसद राईले दसैँ, तिहार, नेपाल संवत्, छठ, उधौली, ल्होसारलगायत राष्ट्रिय पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नु गर्नुभयो । “देश र जनताको पक्षमा राम्रा काम गर्न राष्ट्रिय पर्वले प्रेरणा देओस्, मुलुक दीर्घकालीन शान्तिको बाटोमा अगाडि बढोस्”, उहाँले भन्नुभयो ।

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने कालिया खोलाको पुल अधुरै

राजविराज (सप्तरी), १ कात्तिक : हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ । निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन भएपछि पुल कहिले बन्ने टुङ्गो छैन ।

‘लामा बागमती निर्माण सेवा’ले २०७१ सालमा पुल निर्माण सुरु गरेको हो । सदरमुकाम राजविराज जोड्ने सो पुल निर्माण समयमा सम्पन्न नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको छ । निर्माण सेवाले हालसम्म रु दुई करोड १३ लाख भुक्तानी पाइसकेको छ ।पुल निर्माण सम्पन्न गर्न बाँकी रहेको काम ठेकेदारले अलपत्र छाड्दा आवतजावत गर्न सर्वसाधारणलाई समस्या भएको छ । निर्माण कम्पनीको ढिलाइ र आयोजना कार्यान्वयन एकाइको बेवास्ताले गर्दा उक्त पुलको समयमै निर्माण सम्पन्न हुन नसकेको हो । उक्त पुलको हालसम्म ८१ दशमलव २३ प्रतिशत काम सम्पन्न भएको छ । यहाँ समयमा पुल निर्माण सम्पन्न नभएका कारण वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने गरेकाले आवतजावतमा अवरोध हुने गरेको तिरहुत गाउँपालिका–२ का विजय यादवले बताउनुभयो ।उहाँ भन्नुहुन्छ, “समान्य वर्षा भएपछि कालिया खोलाबाट चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी पूर्णरुपमा बन्द हुने गरेको छ ।”राजविराजबाट जिल्लाको पूर्व जोड्ने तिरहुत गाउँपालिका, कन्चरुप नगरपालिका, सप्तकोशी नगरपालिका र उदयपुर जिल्लासम्मका छोटो दूरी प्रयोग गर्ने उक्त बाटोमा पुल निर्माण अवरोधका कारण समस्या भएको छ । पुल निर्माणमा ढिलाइ गरेपछि हुलाकी सडक निर्माणको जिम्मा लिएको बज्रगुरु निर्माण सेवाले ठेक्का लिएको करिब दुई किलोमिटर सडक कालोपत्रको काम पनि हुन सकेको छैन ।