`

‘मधेसी जनताको अधिकार प्राप्तिको सङ्घर्ष जारी छ’- राजेन्द्र महतो

राजविराज (सप्तरी) – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।

लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा बिहिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले गजेन्द्र बाबुले पहिचान र अधिकारको लागि देखेको सपना साकार हुन बाँकी रहेको बताउनुभयो । उहाँले मधेस विद्रोहबाट प्राप्त अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेता महतोले सङ्घीय शासन प्रणाली कार्यान्वयन भएको सात वर्षको अवधिमा जनअपेक्षाअनुसार काम नभएको गुनासो गर्नुभयो ।

विविधताबीचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पु-याउनुपर्छ – नेता राजवंशी

काठमाडौँ – नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको मुलुक हो । हामी अहिले दसँै, तिहार र छठलगायतका चार्डपर्वको मनाउने तयारीमा छौ ।

विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव हाम्रो परिचय र सम्पत्ति हो । वर्गीय, जातीय, क्षेत्रीय भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अत्य गर्ने राज्यले सङ्कल्प लिएको छ ।

शान्तिकामी नेपाली हुनुका नाताले विविधतायुक्त समाजमा रहेका धर्म, संस्कृति, सामाजिक चालचलन, परम्परा, मूल्यमान्यता र रीतिरिवाजको सम्मान गर्दै प्रत्येक जाति–समुदायको चाडपर्वमा सरिक हुने र शुभकामना अदान प्रदान गरी सामाजिक सद्भाव कायम राख्नु सबैको कर्तव्य हो ।

यसैबीच, सांसदसँग रासस संवादमा नेकपा(एमाले) नेता अमृतलाल राजवंशीले आउँदै गरेको बडादसँै, दीपावली र छठपर्वको उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै सामाजिक विविधताका कारण एकअर्का समुदायको संस्कार र संस्कृतिको उच्च सम्मान गर्ने यस्तो अनुपम परम्परा नै हाम्रो राष्ट्रिय गौरव भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुनसुकै जाति, धर्म, वर्ग र समुदायका चाडपर्वमा सहभागी हुने, शुभकामना आदानप्रदान गरी आपसमा सद्भाव कायम गर्ने हाम्रो अनमोल पहिचान छ, यो मूल्यमान्यता, संस्कार र संस्कृति हाम्रा अमूल्य निधि हुन्, एकाकार भएर यसलाई जोगाउनुपर्छ, संसारभर पु¥याउनुपर्छ ।”

नेपाली समाजमा मनाइने सबै चाडबाड–पर्व र संस्कृतिप्रति एक–अर्काले सद्भाव राखी सहभागी हुने तथा सामाजिक सञ्जालद्वारा शुभकामना आदानप्रदान गरी सद्भाव कायम राख्ने गरिएको बताउँदै सांसद राजवंशीले भन्नुभयो, “हाम्रो यो अनुपम मौलिक पहिचान र संस्कृतिसहितको हार्दिकतालाई अझ उचाइ प्रदान गर्नुपर्छ ।”

अर्नामणि बहुमुखी क्याम्पसको संस्थापक सदस्य तथा विसं २०३६ देखि राजनीतिमा प्रवेश गर्नुभएका राजवंशी सडक र पुल मात्र नभई संविधान निर्माणसम्म सक्रिय रहनुभयो । उहाँसग यसअघि विसं २०६४ देखि विसं २०७२ सम्म संविधानसभा सदस्य तथा विस २०७४ सम्म प्रतिनिधिसभा सदस्यका रुपमा काम गरेको अनुभव छ ।

झापा विर्तामोड स्थायी घर भएका सांसद राजवंशी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य हुनुहुन्छ भने यसअघि उहाँले कृषि समिति र सार्वजनिक लेखा समिति सदस्य भई काम गर्नुभयो ।

उहाँले प्रतिनिधिसभाको निर्वाचन भएपछि ११ महिनाको संसदीय अभ्यासमा आफू र जनताले अपेक्षाअनुरुप कानुन निर्माण गर्न नसके पनि विधेयक सदनमा ल्याउने, छलफल गरी समृद्ध तुल्याउने, समितिमा पठाउने सन्दर्भदेखि पारित गर्नेसम्मका तितामिठा मिश्रित अनुभव हासिल गरेको प्रतिक्रिया दिनुभयो ।

सांसदको मुख्य काम कानुन तर्जुमा भए पनि जनताको अपेक्षाअनुरुप विकास निर्माणमा संलग्न हुनु पनि त्यतिकै जिम्मेवारी हुने उहाँले प्रतिक्रिया दिनुभयो । सांसद राजवंशीले भन्नुभयो, “जनप्रतिनिधि हुनुका नाताले आफूसँग मतदातले हाम्रा बाटो र पुल किन बनेनन्, पोखरी र सिँचाइमा बजेट परेन, कृषिका लागि मल खाद्य पाइएन, शिक्षाको विकासमा राज्यले ध्यान पु¥याएन भनी निरन्तर र स्वभाविक ढङ्गबाट आवाज उठाउने गरेका छन् ।”

विकास निर्माण जनप्रतिनिधिमार्फत नै हुनुपर्छ भन्ने समाजमा दृढ विश्वास र बुझाइरहेको बताउँदै सांसद राजवंशीले जनहितमा लागेकाले गाउँ, टोल र समाजमा एकाकार भएर काम गर्ने सिलसिलामा मतदातासँग नङ र मासुको जस्तै सम्बन्ध कायम गरी उठाइएका माग र मुद्दा ५० प्रतिसतसम्म सम्बोधन गर्दैआएको बताउनुभयो ।

जनताले सांसदसँग विकास निर्माणका विषय उठाउनुलाई स्वभाविक भन्दै उहाँले देशमा घाटा बजेटको स्थितिलाई जनताले बुझेकाले मुलुकको आर्थिक स्थितिमा सुधार आएपछि आगामी दिनमा बाँकी योजनालाई क्रमैसँग सम्बोधन गरिने आश्वासन दिने गरेको जानकारी दिनुभयो ।

जनताको अगुवाइ गरिरहेका नाताले प्रत्येक जनप्रतिनिधिले आफ्नो बोली–व्यवहार, प्रस्तुति र अनुशासनको पाटोमा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै नेता राजवंशीले असल प्रतिनिधिका रुपमा समयअनुसार विचार राख्नुपर्नेमा जोड दिनुभयो ।

राज्यको पहिलो प्राथमिकता नै सुशासन र भ्रष्टाचार न्यूनीकरण रहेको तथा प्रत्येक सरकारले त्यही नारा घन्काए ता पनि भ्रष्टाचार बढिरहेको रहेको बताउँदै नेता राजवंशीले राजनीतिक अस्थिरता, धेरै खाले संरचना, झन्झटिलो सरकारी प्रक्रिया र हालको निर्वाचन प्रणालीले त्यसमा मलजल पु¥याइरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारमा गएको दलले जबसम्म स्थायित्व पाउँदैन, तबसम्म सुशासन र भ्रष्टाचारको विषय कार्यान्वयन हुन कठिन र जटिल छ, समाजमा देखिएका छाडातन्त्र अन्त्य गर्न चुनौती छ, त्यसका लागि राजनीति प्रतिबद्धता र दृढ सङ्कल्प हुनुपर्छ ।”

सबै वर्ग र समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व रहने सुनिश्चिता गरी प्रतिनिधिसभामा हाल रहेको सदस्य सङ्ख्या घटाएर प्रत्यक्ष निर्वाचन प्रणाली मात्र अवलम्बन गर्न आवश्यक रहेको विचार प्रकट गर्दै सांसद राजवंशीले सबैको सहभागिता हुने र दल विशेषको बहुमत आई राजनीतिक स्थिरता प्राप्त हुने भएकाले यसमा सबैको एकैखाले बुझाइको खाँचो आँैल्याउनुभयो ।

उहाँले भन्नुभयो, “यसमा नेताको इच्छाशक्ति र इमान्दारिता चाहिन्छ, यो मुलुक अल्पसङ्ख्यक जाति र समुदायको हो । भौगोलिक विविधता छ, सबै क्षेत्रको समावेशी र समानुपातिक प्रतिनिधित्व सवै दलमा गर्न सकियो भने प्रत्यक्ष निर्वाचनले राम्रै परिणाम दिन्छ, अनि सरकार र प्रणाली दुवै दीगो हुन्छ ।”

मुलुकमा निष्ठा, इमान्दारी र मर्यादाको राजनीतिक स्थापित नभएसम्म सही नेता र राजनीतिक निकास प्राप्त गर्न कठिन हुने तर्क गर्दै उहाँले पछिल्लो समय राजनीति सेवा नभई व्यवसाय र व्यापार बन्न पुगेकाले समाजको मूल्य र मान्यता, अनुशासन, नैतिकतामा चोट पुगेको प्रतिक्रिया दिनुभयो ।

डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ

ढोरपाटन (बागलुङ) – केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो । वर्षौंदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो ।

दसैँ सुरु भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे । तर अहिले ती डाँडा र चौतारा सुनसान हुन्छन् । अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छोडेको छ । कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन् । गाउँमा पिङका लागि लुठो बाट्ने सीप भएका पनि भेटिँदैनन् । दसैँको मौलिकतासँग जोडिएको लिङ्गे पिङ बिना दसैँको रौनक कम हुने गरेको स्थानीयको भनाइ छ ।

बडिगाड गाउँपालिका–४ का ६७ वर्षीय रिनबहादुर थापाले युवापुस्ताले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि लिङ्गे पिङ बनाउनेप्रति चासो घटेको बताउनुभयो । वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहँदै आए पनि आजभोली गाउँमा पिङ हाल्न छोडिएको थापाले बताउनुभयो । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको क्षेत्रीले बताउनुहुन्छ । पिङसँगै अन्य कला, संस्कृति र परम्परा हराउँदै गएको उहाँको भनाइ छ । थापाले दसैँ आउनुभन्दा एक साता पहिलेनै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताउनुभयो ।

“हाम्ले पिङ हालेर खेल्ने, रमाइलो गर्ने ती डाँडा र चौतारा अहिले सुनसान छन्, हामीहरु बुढो भइयो, बाब्बो (बाबियो) को लुठो बाट्न त जानेको छु तर बाँस काटेर ल्याएर पिङ बनाउन सक्दैन, हाम्रा बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, पिङ नखेलेपछि धर्ती छोड्ने कुरै भएन”, उहाँले भन्नुभयो, “समय र जमाना फेरिएसँगै मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो, पाँच÷छ वर्ष पहिलासम्म त जताततै देख्न पाइन्थ्यो, अहिले कतै बनाउँदैनन् ।”

गलकोटन नगरपालिका–३ का ७१ वर्षीय पदमबहादुर केसीले पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मीयता बनाउने काम गर्ने बताउनुभयो । दसैँका बेला गाउँमा वर्षौंदेखि छुटेका आफन्तको भेट हुने, सुख, दुःख र बेदनाका कुरा गर्ने अवसर पिङले जुराउने उहाँको भनाइ छ । पिङ बनाउँदा बाबियो गाँसेर बलियो लुठो बनाए जसरी सम्बन्ध पनि त्यसरीनै बलियो बन्ने मान्यता रहेको केसी बताउनुहुन्छ । आफ्नो पालामा तन्नेरीले पिङ हालेपछि तरुनीले धजा बन्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गरेको सुनाउनुभयो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास रहेको भन्दै पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको उहाँको भनाइ छ ।

“दसैँ आयो, तर पिङ बिनाको दसैँ त त्यति रमाइलो लाग्दैन, पहिले एउटै गाउँमा पाँच÷छ वटा पिङ बनाउँथे, अहिले एउटा पनि बनाउँदैनन्”, उहाँले भन्नुभयो ।

केसीले पछिल्लो समय निर्माण भएका सडकले पहिले पिङ हाल्ने चौतारा र डाँडा भत्काएर कुरुप बनाएको बताउनुभयो । अहिले सहज बजारमा बनेका आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको उहाँको भनाइ छ ।

बाली टापुमा खडेरीजन्य आपतकाल घोषणा

जकार्ता – इन्डोनेसियाको प्रख्यात रिसोर्ट टापु बाली प्रान्तको क्षेत्रीय सरकारले बिहीबार खडेरीका कारण आपतकालीन सतर्कता घोषणा गरेको छ । जारी खडेरी प्रकोपको वृद्धिपछि १४ दिनसम्मका लागि यो घोषणा लागू हुने छ। बाली प्रान्तका कार्यवाहक गभर्नर साङ मेड महेन्द्रले आजदेखि १४ दिन अगाडि विपद् आपतकालीन पूर्वतयारीको स्थिति कायम गर्ने निर्णय गरेको उल्लेख गर्नु भएको छ ।

बालीमा जुलाईदेखि अक्टोबरसम्मको विषम मौसमी अवस्थाका कारण प्रान्तको राजधानी डेनपसारलगायत १० वटा क्षेत्रका १ सय १३ गाउँमा शुद्ध खानेपानीको अभाव भएको र जङ्गलमा आगलागी भएकाले स्थिति प्रतिकूल रहेको महेन्द्रले बताउनु भएको छ ।

खडेरी परेका क्षेत्रमा सहयोग उपलब्ध गराउने र मौसमलाई अनुकूल पार्न आवश्यक उपकरण तयार गर्नेलगायतका कार्य अगाडि बढाएको र बलिरहेको आगो निभाउने प्रयास गरेको उहाँले उल्लेख गर्नु भएको छ ।

इजरायली आक्रमणमा नेतृत्वमा रहेका महिलाको मृत्यु भएको हमासको दाबी

गाजा सिटी, प्यालेस्टिनी क्षेत्र – हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ ।उत्तरी गाजाको जाबालियामा बुधबार साँझ ६४ वर्षीया जमिला अल श्यान्टीको हत्या भएको हमासले जनाएको छ ।

उनी सन् २०२१ मा भएको आन्तरिक मतदानपछि २० जना सदस्य रहेको हमास आन्दोलनको राजनीतिक ब्युरोमा निर्वाचित हुने पहिलो महिला थिइन् । अर्की महिला फतिमा शुराब पनि सोही समयमा महिला आयोगको अध्यक्षको रूपमा स्वतः नियुक्तिको माध्यमबाट राजनीतिक शीर्ष नेतृत्वसँग सामेल भएकी थिइन् ।

इस्लामी समूहको महिला प्रतिनिधित्वको लागि स्पष्ट खुलापनलाई सङ्केत गर्ने भन्दै नेतृत्वमा उनीहरूको समावेशलाई त्यतिबेला अन्तर्राष्ट्रिय समुदायका लागि सकारात्मक सन्देश भएको भनी व्याख्या गरिएको थियो ।

सन् २००६ मा प्यालेस्टिनी संसद्मा निर्वाचित भएकी श्यान्टीको प्यालेस्टिनी राजनीतिमा लामो इतिहास छ ।सन् २००७ मा हमासले गाजाबाट प्यालेस्टिनी संसद्लाई हटाएर सत्ता कब्जा गरेयता चेम्बरको बैठक बस्न सकेको छैन ।

गाजामा गत अक्टोबर ७ तारिखदेखि इजरायली आक्रमणमा मारिएका हमासका कैयौँ सदस्यमध्ये श्यान्टीको पनि एक हुन् ।युद्धका क्रममा इजरायलमा मारिएका एक हजार ४०० भन्दा बढी मानिसमध्ये अधिकांश हमासको चपेटामा परेका सीमावर्ती समुदायका नागरिक थिए ।

गाजामा इजरायली आक्रमणका कारण करिब तीन हजार ५०० व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित क्षेत्रका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

गाजा पट्टी इन्धन आपूर्तिमा अवरोध नगर्न इजरायलसँग डब्ल्यूएचओको आग्रह

जेनेभा – विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इजरायललाई गाजा पट्टीमा इन्धन लैजान अनुमति दिन आग्रह गर्नुभएको छ । इजरायलको सहमतिपछि पानी, खाना र औषधिको पहिलो आपूर्ति आक्रमणबाट प्रभावित क्षेत्रमा बिहीबार गरिएको छ ।

“इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि प्रवेशमा रोक नलगाउने इजरायलको घोषणालाई हामी स्वागत गर्दछौं । अस्पतालका जेनेरेटर, एम्बुलेन्स र डिसेलिनेसन प्लान्टका लागि पनि इन्धन आवश्यक छ र हामी इजरायललाई गाजाप्रवेशका लागि अनुमति दिइएको जीवनरक्षक आपूर्तिमा इन्धन थप्न आग्रह गर्दछौं,” टेड्रोसले पत्रकार सम्मेलनमा भन्नुभयो ।

इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बुधबार जानकारी गराएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ ।

“अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन,” प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ ।

वक्तव्यमा भनिएको छ, “गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ ।”

दूषित मासु खाँदा प्राणघातक रोग लाग्न सक्छ – पशु चिकित्सक

काठमाडौं । दूषित मासु खाँदा झाडापखाला, इकोलाई, क्षयरोग, रेबिज, पीपीआर, बु्रसेला, एन्थ्रास, जुका पर्ने, आउ रगतमासी, चर्मरोग, वान्ता आउने, पातलो दिशा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्ने सक्ने भन्दै चेकजाँच गरिएका चौपायाको मासु खान आग्रह गरेकोछ ।

चेकजाँच नगरी चौपायाको बिक्री गर्दा मानिसमा प्राणघातक रोग सर्न सक्ने सम्भावना रहेको जनाउँदै हाइजेनिक मासु खुवाउन उपत्यका भित्रने पशु चौपायाको स्वास्थ्य परीक्षण गरेको हो । केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक खितबहादुर श्रेष्ठले उपत्यकावासीलाई ताजा मासु खुवाउने रणनीतिसहित पशु चौपायाको स्वास्थ्य परीक्षण गरिएको बताए ।

उनले भने– ‘हामीले मासु खाँदा लाग्न सक्ने प्राणघातक रोगबाट नागरिकलाई जोगाउन अनिवार्य स्वास्थ्य परीक्षण शुरु गरेका हौं ।’ उहाँले परीक्षण नगरेको चौपायको मासु खाँदा डरलाग्दो रोगको संक्रमण बढ्न सक्ने भएपछि राजधानीका बिक्री स्थलमा खसी, बोका, बाख्रा, च्याङ्ग्राको चेकजाँच शुरु गरेको जानकारी दिनुभयो । पशुसेवा विभागले उपत्यकाका ११ स्थानमा पशु चौपायाको स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

उनका अनुसार बिक्री केन्द्रबाट करिब २५ हजारको संख्यामा पशुचौपायाको स्वास्थ्य परीक्षण गरिसकेको छ । विभागको नेतृत्वमा खटिएका दुई चिकित्सकसहित ५ जना प्राविधिक टोलीले कलंकीबाट मात्र दैकिक २ हजारको संख्यामा चौपायाको स्वास्थ्य परीक्षण गरेको छ । विभागले घटस्थापनादेखि पशुचौपायाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

टोलीले शुरुमा चौपायाको ज्वरो परीक्षण गर्ने, त्यसपछि आँखा पाकेको, झाडा पखाला, रेबिज वा अन्य कुनै पनि प्राणघातक रोग लागे वा नलागेको परीक्षण गर्ने र त्यसपछि रोगी देखिएका चौपायाको सिङमा रातो र निरोगीको सिङमा हरियो रङ लगाउने गरेको छ ।

पशु चिकित्सक श्रेष्ठले हालसम्म परीक्षण गरिएका मध्ये कुनै पनि चौपायामा गम्भीर रोग नलागेको जानकारी दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा २ हजार खसीबोका र १ हजारको संख्यामा च्याङ्ग्रा बिक्री शुरु गरेको छ । पशु स्वास्थ्य बिभागले अष्टमीको दिन अर्थात् कात्तिक ५ गते बिहान ७ देखि ११ र दिउँसो ३ देखि साढे ५ बजेसम्म स्वास्थ्य परीक्षण गर्नेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रदेशबाट ‘पुनर्जीवित’ एमाले गुटबन्दी

काठमाडौं । नेकपा एमालेमा शिथिल भएको गुटबन्दीले प्रदेश अधिवेशनपछि पुनर्जीवन पाएको छ। १०औं महाधिवेशनपछि एमालेमा गुटगत अभ्यास भएको थिएन। तर प्रदेश अधिवेशनमा पार्टी उपाध्यक्ष, महासचिव, उपमहासचिव, पोलिटब्युरो सदस्यहरूले नै गुटबन्दीलाई सघाउ पुग्ने गतिविधि गरे।

प्रदेश अधिवेशनमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोलिटब्युरो सदस्यहरू यमलाल कँडेल, गोकुल बाँस्कोटा, महेश बस्नेत, लीलानाथ श्रेष्ठसम्मले आ–आफ्नो तहमा गुटबन्दी गरेको देखियो।

त्यति मात्र होइन, केन्द्रीय सदस्यहरूले पनि प्रदेश अधिवेशनका क्रममा तलैसम्म गुट, उपगुट बनाए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न दिएको निर्देशनलाई अवज्ञा गरेर नेताहरूले पालिका तहसम्म आआफ्नो वर्चस्व कायम गर्न गुटबन्दी गरेका हुन्। ओलीले पार्टीभित्र प्रतिस्पर्धा गर्दा गुट निर्माण हुने र त्यसले राम्रो सन्देश नजाने भन्दै सर्वसम्मत नेतृत्व चयन गर्न अधिकतम दबाब दिएको भए पनि लोकतान्त्रिक अभ्यासका नाममा गुटबन्दी भयो।

एमाले प्रचार विभाग प्रमुख एवं पोलिटब्युरो सदस्य राजेन्द्र गौतमका अनुसार नेतृत्वदायी कमिटीमा पुग्न प्रतिस्पर्धा वा सहमति गर्दा गुट बन्ने÷बनाउने भन्ने कुरा हुँदैन। अधिवेशनका क्रममा भएको प्रतिस्पर्धालाई गुटबन्दी भनेर गलत प्रचारबाजी गरिएको उनको दाबी छ।

लुम्बिनी प्रदेश अधिवेशनलाई सर्वसम्मत बनाउन अध्यक्ष ओलीले निकै कोसिस गरे पनि अन्ततः निर्वाचन भयो। मधेस प्रदेश र उपत्यका प्रदेशमा नेतृत्वदेखि सदस्यसम्म सर्वसम्मत भए। सुदूरपश्चिम प्रदेशको नेतृत्वबाहेक केही सदस्यका लागि निर्वाचन भयो। वाग्मती, कोसी, गण्डकी र कर्णाली प्रदेशमा नेतृत्वमा सहमति हुन सकेन।

अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलका नाममा प्रतिस्पर्धा भयो। यसले एमालेको भावी नेतृत्वका लागि अहिलेदेखि गुटगत अभ्यास भएको चर्चा राजनीतिक वृत्तमा छ। पार्टीको १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न खोज्दा प्रतिस्पर्धालाई खुम्च्याउन खोजेको आरोप ओलीमाथि लागेको थियो।

ओलीले प्रदेश अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि उनकै नाममा नेताहरूले गुटबन्दी गरेको आरोप छ। यो समाचार नागरिक दैनिकमा छ ।

पहुँचवालालाई सधैँ सिंहदरबार

काठमाडौँ । सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ जसो सिंहदबार आसपासका कार्यालयमा नै घुम्ने गरेका छन् । पुहँचविहीन कर्मचारी भने दुर्गम जिल्लामा नै बसेर सेवा प्रवाह गर्न बाध्य छन् ।निजामती सेवा नियमावालीमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ तर पहुँचवाला कर्मचारीलाई भने उक्त नियम लागु हुने गरेको छैन ।

पहुँचवाला कर्मचारी भने १० देखि १७ वर्षसम्म पनि सरुवा नभई एउटै कार्यालयमा जरोकिलो गाढेर बसेको राष्ट्रिय किताबखाना ९निजामती० ले जनाएको छ । १० वर्षभन्दा बढी एउटै कार्यालमा बस्ने कर्मचारीमा प्रशासन, लेखा, इन्जिनियरिङ, कृषि, वन, योजना तथा तथ्याङ्क, विविध, न्याय सेवा, शिक्षा, स्वास्थ्यलगायतका सेवाका कर्मचारी छन् ।

किताबखानाका अनुसार केन्द्रीय तथ्याङ्क विभाग, महालेखा परीक्षकको कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला हुलाक कार्यालय खोटाङ, भूमि सुधार कार्यालय बर्दिया, सर्वोच्च अदालत, सहरी विकास तथा भवन निर्माण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कृषि तथा सहकारी मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, जिल्ला अदालत सुर्खेतलगायतका तीन दर्जनभन्दा बढी कार्यालयमा १० वर्षभन्दा बढी समय सरुवा नभई बस्ने कर्मचारी पाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले कर्मचारीलाई दुई वर्षपछि सरुवा गर्न मिल्ने कानुनी व्यवस्था भए पनि सेवा प्रवाह चित्तबुझ्दो भएको र उनीहरूले दिने सेवाबाट कर्मचारी उत्साहित छन् भने सरुवा गरिरहन नपर्ने दाबी गरे । उनले भने, “कतिपय कार्यालयमा सबन्धित कर्मचारीलाई सरुवा गर्ने अन्य कार्यालय नै हुँदैन र उक्त कार्यालयमा सरुवा भइजाने कर्मचारी पनि नहुँदा लामो समयसम्म एउटै कार्यालयमा एकै जना कर्मचारी बसेर सेवा गर्नु परेको हो ।”

उनका अनुसार कतिपय कार्यालयमा कर्मचारी सरुवा भएर आउन र जानका लागि दबाब प¥यो भने मात्र दुई वर्षपछि कर्मचारीलाई सरुवा गर्ने हो तर दबाब भएन भने जति समय पनि बस्न मिल्छ । मन्त्रालयले तीन महिनाअघि सरुवा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनमा कर्मचारीको सरुवाको तत्कालीन र दीर्घकालीन सुधारबारे उल्लेख गरेको थियो ।

अविछिन्न रूपमा तीन वर्ष वा त्योभन्दा बढी अवधि काठमाडौँ उपत्यकाभित्रका निकायमा कार्यरत कर्मचारीका लागि ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्ने, राजपत्र अनङ्कित कर्मचारीको हकमा सुरु नियुक्ति भएको पदमा दुई वर्षसम्म सम्बन्धित प्रदेश क्षेत्रभित्र मात्र सरुवा हुने गरी व्यवस्थापन गर्ने गरी प्रतिवेदनमा उल्लेख गरिए पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने

काठमाडौँ । दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

कात्तिक १ गतेदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । अब दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीले तोकिएको सर्तसहित स्वतन्त्ररूपमा बाहिरै बसेर जीवनयापन गर्न पाउने छन् ।

२०७५ भदौ १ गतेदेखि नयाँ ऐन लागु भए पनि त्यसको पाँच वर्षपछि प्यारोलको व्यवस्था कार्यान्वयनमा आएको हो । अब न्यायाधीशले मुद्दा फैसलाकै क्रममा यस्तो सुविधा पाउने वा नपाउने पनि खुलाउनुपर्ने छ ।

परम्परागत दण्ड प्रणालीको सट्टा सुधारात्मक प्रणाली अवलम्बन गर्दै प्यारोललगायतको सुविधा कानुनमा नै अघिसारिएको थियो । नयाँ संहिता लागु हुँदाका क्रममा प्रावेशन तथा प्यारोल, खुला कारागार, रात्रिकालीन कारागार, कैदीलाई सामुदायिक काममा लगाउनेलगायतका नयाँ अवधारणा समेटिएका थिए ।

सङ्घमा महान्यायाधिवक्ता र प्रदेशमा मुख्य न्यायाधिवक्ताको अध्यक्षतमा गठन हुने प्रावेशन तथा प्यारोल बोर्डको सिफारिसमा यस्तो सुविधा जिल्ला अदालतको आदेशबाट हुने छ । व्यवहार र आचारण हेरेर नै बोर्डले सुविधा सिफारिस गर्नुपर्ने छ ।

दुई तिहाइभन्दा बढी अवधि कैद भुक्तान गरिसकेका व्यक्तिले बोर्डको प्रतिवेदनका आधारमा यो सुविधा पाउँछन् । यस्तो सुविधा दिने वा नदिने अधिकार जिल्ला अदालतलाई हुने छ ।

सुविधा पाउने व्यक्तिले तोकिएकोमध्ये निश्चित कैद अवधि कारागारबाहिर रहेर पूरा गर्न पाउने छन् तर सर्तरहित भने हुने छैन । तोकिएका सर्त पालना नभएमा कारागारमै फिर्ता बोलाइने छ तर कानुनले तोकेका केही निश्चित कसुरमा भने यस्तो सुविधा पाइने छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

ज्येष्ठ नागरिकले वडाध्यक्षको पारिश्रमिक पाउँदा…..

महेन्द्रनगर (कञ्चनपुर) – बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१ को वडा कार्यालयमा ज्येष्ठ नागरिक भरिभराउ थिए । सत्तरी वर्षदेखि शतक पुगेका वृद्धवृद्धा कुनै सामाजिक या अन्य कुनै भत्ता बुझ्न भने पक्कै होइनन् । उहाँहरूसँगै वडाले बनाएको मापदण्डअनुसार पूर्ण अपाङ्गता भएका २० जना स्थानीयसमेत वडा कार्यालयमा जम्मा भएका थिए । यसरी वडा कार्यालयमा जम्मा हुनुको कारण थियो, वडाध्यक्ष आसेफ कुवँर (भुन्टू)को मनकारी निर्णय ।

विसं २०७४ मा वडाध्यक्षमा पहिलोपटक निर्वाचनमा होमिनुअघि नै आफूले वडाबाट पाउने पारिश्रमिकलगायत अन्य सुविधा वडामै खर्चिने घोषणा गर्नुभएका कुवँरले निर्वाचन दोस्रोपटक जितेयता ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको दैनिक खर्चका लागि पारिश्रमिक रकम वितरण गर्दै आउनुभएको छ ।

यसका लागि वडाका एक सय ४१ ज्येष्ठ नागरिक र २० जना पूर्ण अपाङ्गता भएका व्यक्ति आज वडा कार्यालयमा जम्मा भएका हुन् । वडाध्यक्ष कुँवरले ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई प्रतिव्यक्ति रु एक हजार पाँच सयका दरले सहयोग वितरण गर्नुभएको छ । आफूले वार्षिकरूपमा पाएको रु दुई लाख ४१ हजार पाँच सय नगद रकम वडामा वितरण गरेको उहाँले जानकारी दिनुभयो । “निर्वाचनअघि घोषणा गरेयता विगत छ वर्षदेखि निरन्तर पारिश्रमिक बस्तीमै वितरण गर्दै आएको छु”, वडाध्यक्ष कुँवरले भन्नुभयो, “यो एउटा सानो कामले वडाका ज्येष्ठ नागरिकमा खुसीयाली नै पाएका छौँ ।”

त्यसैगरी वडाध्यक्षले वितरण गरेको रकम लिँदै वडाका एक सय वर्षीय गम्भीरसिंह चैसिरले खुसी व्यक्त गर्नुभयो । “रकम कति दिए ठूलो कुरो नहुन सक्छ”, चैसिरले भन्नुभयो, “हामी पनि हाम्रो वडाध्यक्ष जत्तिको मनकारी जनप्रतिनिधि पाएकामा गर्व गर्छौँ ।” उहाँले वडाभरिका ज्येष्ठ नागरिक वडाध्यक्षको कामप्रति सन्तुष्ट रहेको बताउनुभयो । वडामा रकम वितरण गरिरहँदा ज्येष्ठ नागरिकले खुसीका आँशुमात्रै झारेनन् । वडाध्यक्ष कुँवरलाई फूलमालाले स्वागत गर्दै आशीर्वाद पनि दिइरहनुभयो । अठासी स्थानीय तह रहेको सुदूरपश्चिममा पहिलोपटक आफूले पाएको पारिश्रमिक वडाकै नागरिकलाई वितरण गर्दै आएका कुवँरले अहिले मासिक रु २२ हजार पारिश्रमिक पाउने गरेको बताउनुभयो ।

“सुरुमा रकम वितरण गर्दा मासिक पारिश्रमिक रु १७ हजार हाराहारी थियो”, उहाँले भन्नुभयो, “छ वर्षपछि आइपुग्दा रु २२ हजार पुगेको छ ।” उहाँले ज्येष्ठ नागरिकको साथ र सहयोगले नै आफू दोस्रोपटक वडामा भारी मतान्तरले विजयी भएको बताउनुभयो । “वडाको सम्रग विकास र बजेट ल्याउने विषयमा पनि केन्द्रसम्म पहल गर्दै आएको छु”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिले जनताको सेवा गर्ने हो, सुविधा लिने होइन ।” उहाँले दोसो कार्यकालसम्म आइपुग्दा वडामा रु १२ लाखभन्दा बढी रकम वितरण गरिसकेको बताउनुभयो ।

“रकम लिन छुटेकालाई घरमै गएर पनि वितरण गर्छु”, उहाँले भन्नुभयो, “वडाध्यक्ष रहँदासम्म पारिश्रमिक लिन्न ।” दसैँको मुखमा वडाध्यक्षबाट नयाँ नोट पाएपछि हर्षित देखिनुभएका वडाका ९८ वर्षीया पार्वतीदेवी पाण्डेयले वडाध्यक्ष कुँवरले गरेको असल काम अरु जनप्रतिनिधिले पनि सिक्नुपर्ने बताउनुभयो । “हरेक वर्ष वडाध्यक्ष बाबुले दिएको रकमले सामान्य फलफूल खर्च भएपनि चलेको छ”, उहाँले भन्नुभयो, “सामान्य औषधिमुलो पनि यहाँबाट चल्दा खुसी नहुने को होला र ?”

घटस्थापनादेखि नै कलाकर्मीलाई पनि दसैँको चटारो

काठमाडौँ – घटस्थापनादेखि नै कलाकर्मीलाई पनि दसैँको चटारो छ । किनमेलसँगै काम टुङ्ग्याएर दसैँ मनाउने योजनामा अधिकांश कलाकर्मी रहेका छन् । काम र कार्यक्रममा व्यस्त हुने कलाकर्मीले दसैँलाई भेटघाटको अवसरका रूपमा लिएका छन् ।

अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले दसैँलाई भेटघाटका रूपमा सदुपयोग गर्नुहुन्छ । उहाँ यसपटक चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ को प्रदर्शनका कारण काठमाडौँमै दसैँ मनाउँदै हुनुहुन्छ । तर अघिल्ला वर्षहरूमा उहाँ स्याङ्जा पुग्ने गर्नुहुन्थ्यो । “मेरो लागि दसैँ साथीभाइसँगै आफन्तसँग भेट्ने चाड हो । बाल्यकालमा दक्षिणा र खानपानको लोभ हुन्थ्यो । अहिले भेट्ने र कुराकानी गर्ने लोभ हुन्छ”, अभिनेता लामिछानेले भन्नुभयो ।

अभिनेत्री केकी अधिकारी यसपटक चलचित्र ‘परदेशी २’ को प्रचार–प्रसारमै हुनुहुन्छ । उहाँ मोफसल भ्रमणमा रहेता पनि दसैँ काठमाडौँमा मनाउने तयारीमा हुनुहुन्छ । यद्यपि टीकाबाहेकका समयमा मिल्दासम्म दर्शकसँग चलचित्र भवनमा भेटघाट गर्ने उहाँको योजना छ । “मैले कलेज जीवनदेखि नै काम गरेकाले दसैँ भेटघाट र परिवारसँग बस्ने चाड भएका कारण मेरा लागि खास छ । केही वर्ष कोरोना र विविध कारणले परिवारलाई धेरै समय दिएकी थिएँ । यसपटक चलचित्रका परिवार र दर्शकसँग दसैँमा बढी हुनेछु । साथै ठूलासँग टीका लगाउने त छ नै”, अभिनेत्री अधिकारीले भन्नुभयो ।

अभिनेता विपीन कार्की यसपटक सुनसरीमा घर गएर दसैँ मनाउने तयारीमा हुनुहुन्छ । उहाँको पात्र ‘भष्मे डन’ लाई लिएर तयार गरिएको ‘पशुपति प्रसाद २ ः भष्मे डन’ कै प्रचार–प्रसारमा व्यस्त भएपनि उहाँले घर पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मिडियाकर्मीसँग भेटघाट भइरहेको छ । म टीका अगाडि नै घर पुगेर एकसाता बिताउने योजना छ । किनकि पूर्णिमालगत्तै नयाँ चलचित्र महाजात्राको छायाँङ्कनमा व्यस्त हुनेछु ।”

उहाँको दसैँसँग धेरै सम्झना जोडिएको छ । दसैँमा टीका लगाउने र दक्षिणालाई चलचित्र हेर्नमा प्रयोग गर्ने बाल्यकालको स्मरण उहाँको छ । “सानो छँदा दसैँकै आसपासमा खुट्टामा घुँडा तल अलिकति काटिएको थियो । दसैँमा मामाघर जाने र दक्षिण पाउने जोशमा साइकल चढेर पुगेँ । घर आएपछि खुट्टा सुनिएर हस्पिटल नै पुग्नुपरेको थियो । दसैँ मेरो लागि बाल्यकालदेखि नै खास छ”, अभिनेता कार्कीले भन्नुभयो ।

हाँस्यकलाकार शिवशङ्कर रिजाल कार्यक्रमको दौडधुपलाई विश्राम दिएर दसैँ मनाउने तयारीमा हुनुहुन्छ । नेपाल सांस्कृतिक महासङ्घको महामन्त्री भएकाले पनि जिल्ला अधिवेशनको दौडधुपबाट दसैँमा विश्राम मिल्ने उहाँले बताउनुभयो । “मेरो दसैँ आमा र मामाको हातबाट टीका लगाएर हुने गरेको छ । म सम्भव भएसम्म आफूले मान्नुपर्ने अग्रजकहाँ पुगेर आशीर्वाद लिने गरेको छु । दसैँकै बेलामा पुख्र्यौली घर सर्लाही पनि पुग्नेछु”, हाँस्यकलाकार रिजालले भन्नुभयो ।

कलाकार पनि अन्यझैँ दसैँलाई आफन्त र साथीभाइसँग भेटघाट गरेर मनाउने तयारीमा छन् । दसैँ नहुने केही कलाकर्मीले घुमघामको योजना बनाएका छन् ।

वार्ताबाट विवादको समाधान गर्न नेपालको आग्रह

काठमाडौँ – सरकारले गाजाको एक अस्पतालमा बुधबार निर्दोष नागरिकको ह-त्या भएकामा स्तब्ध भएको जनाउँदै त्यसको निन्दा गरेको छ । साथै वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयले बिहिबार एक विज्ञप्ति निकालेर अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

विज्ञप्तिमा सर्वसाधारणविरुद्ध भएको आक्रमणप्रति नेपाल सरकार गम्भीर रूपमा चिन्तित भएको तथा जस्तोसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षाका लागि सम्बद्ध पक्षलाई आह्वान गरिएको छ । “ हामी शान्तिमा विश्वास गर्छौं, वार्ताबाट विवादको शान्तिपूर्ण समाधान गर्न आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा लामा

मनहरी, (मकवानपुर) – बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाउनुभएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको हो । मूख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको हो ।

लामालाई २०८० कात्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नेपाल नआएसम्मको लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । मुख्यमन्त्री जम्कट्टेल एक साताका लागि दुबई जान लाग्नुभएको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताउनुभयो ।

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिनुहुने भएको छ । उहाँले असोज ७ गते मङ्गलबार अपराह्न २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधरणलाई टीका–प्रसाद प्रदान गर्नुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार विजयादशमीको दिन राष्ट्रपति निवासमा राष्ट्रपति पौडेलको हातबाट टीका लगाउन चाहने ‘सम्माननीयहरू, माननीय उपप्रधानमन्त्री एवं मन्त्रीज्युहरू, व्यवस्थापिका–संसद्का माननीय सदस्य, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख एवं २ः०० देखि ३ः०० बजेसम्म टीका–प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३ः०० देखि ५ः०० बजेसम्म टीका–प्रसाद गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा १ नं प्रवेशद्वारबाट आउन भनिएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, ३ कात्तिक – दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ ।

कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।

छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्परा अनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा घटस्थापनाको बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ । नवरात्र शक्ति प्राप्तिका लागि विशेष रुपमा साधनाको समय हो ।

हेर्नुहोस् कार्तिक ३ गते शुक्रवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – पारीवारिक सम्बन्धमा सुधार आ उनेछ । भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । बिश्वासिला ब्यत्तीहरुबाट धोका हुन सक्ने योग रहेकोछ ।

बृष राशि – दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । गरीरहेकोकार्यमा सामान्य तनाव उत्पन्न हुनाले शारीरिक आलस्यताले सताउनेछ । समय त्यति राम्रो रहेकोछैन ।

मीथुन राशि – जिवन सार्थीको सहयोगमा ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । ब्यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ । पारीवारिक समस्याले भने सताउन सक्नेछ । मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

कर्कट राशि – खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिद्वन्धीहरुका कारण गरीरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा समय ब्यतित रहनेछ ।

सिंह राशि – मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ ।

कन्या राशि – ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासमा मन जानेछ । खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ ।

तुला राशि – कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम बृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । नजिकका मित्रजनहरुबाट धोका मिल्ने सम्भाबना रहेकोछ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । खानपानका क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । संचीत रकम समेत खर्चको योग रहेकोछ ।

धनु राशि – खानपानका प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । स्वास्थमा देखिएका समस्या बिस्तारै समाधान हुनेछन । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।

मकर राशि – सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयोचर्चा गर्नेहरुको सङख्यामा बृद्धिहुनेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहेकोछ । नयाँलगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा बृद्धिहुनेछ ।

मिन राशि – मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ । सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । समयमा सहि निर्णय गर्न सकिने छ । बिलासिताका साधनको प्रयोमा समय ब्यतित रहनेछ ।

कात्तिक ११ गते कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान

काठमाडौँ, २ कात्तिक : नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

विसं २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रम आयोजना गर्न लाग्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चियापान कार्यक्रमलाई बिपीको निधनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिँदै आउनुभएको थियो । सुशील कोइरालाको निधनपछि देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आउनुभएको छ ।

पार्टीले यस वर्ष पनि विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वको अवसरमा कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन अपरान्ह १ः००—५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन बिपी नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको सङ्घ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता हुने पनि पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धनगढीमा प्रदेश लगानी सम्मेलन हुने

सुदूरपश्चिम, २ कात्तिक : सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आगामी फागुन २३ गते धनगढीमा प्रदेश लगानी सम्मेलन हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानीकर्तालाई प्रदेशमा भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । यसको तयारीका लागि मुख्यमन्त्रीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । यस्तै कार्यसम्पादन समिति,सल्लाहकार समिति गठन भई आवश्यक तयारीसमेत सुरु भइसकेको जनाइएको छ ।

लगानी सम्मेलनबाट प्रदेशको विकासको आधार खडा गर्ने विश्वास गरिएको छ । सुदूरपश्चिम प्रदेश लगानीका लागि ठूलो सम्भावना भएको क्षेत्र भए पनि अहिलेसम्म कृषि,पर्यटन,जलस्रोतलगायतका कुनैपनि क्षेत्रमा ठूलो लगानी भित्रिन सकेको छैन ।

प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा विकास र समृद्धिको सन्दर्भमा केन्द्र सरकारको सुदूरपश्चिमलाई हेर्ने पुरानो दृष्टिकोणमा परिवर्तन आउन नसकेको र राजनीतिक अस्थिरताजस्ता कारण प्रदेशमा लगानी भित्रिन नसकेको बताउनुहुन्छ । “लगानी सम्मेलन गर्ने विषय सकारात्मक छ”, उहाँले भन्नुभयो, “यसकालागि लगानीको लागि मोडालिटी, आवश्यकता,सम्भावनाजस्ता विषय पहिल्याएर गर्न सकिए त्यसबाट प्रतिफल पाउन सकिन्छ ।”

इजरायल र हमासबीचको द्वन्द्व अन्त्यका लागि जोर्डनी राजाको आग्रह

अम्मान, जोर्डन – जोर्डनका राजाले इजरायल र हमासबीचको द्वन्द्व अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आग्रह गर्नुभएको छ ।

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजा पट्टीमा जारी युद्ध खतरनाक चरणमा प्रवेश गरेको र यसले मध्यपूर्व र समग्र विश्वलाई विपत्तितर्फ धकेल्न सक्ने बताउँदै अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयासलाई तीव्रता दिनुपर्नेमा जोड दिँनुभएको हो ।

स्पेनका कार्यवाहक प्रधानमन्त्री पेड्रो सान्चेजसँग बुधबार भएको टेलिफोन वार्तामा राजाले सर्वसाधारणलाई निरन्तर निशाना बनाउने कार्यको निन्दा समेत गर्नुभएको छ ।

जोर्डनी राजाले अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई गाजामा आफ्नो मानवीय कर्तव्य पूरा गर्न सक्षम बनाउन र प्यालेस्टिनी क्षेत्रमा चिकित्सा र राहत सहायता प्रवेश गर्न अनुमति दिन पनि आह्वान गर्नुभएको छ ।

बुधबार पनि जापानी प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा राजाले गाजामा सर्वसाधारणको सुरक्षा र अन्तर्राष्ट्रिय मानवीय सहायता परिचालन गर्न आग्रह गर्नुभएको थियो ।

चाडपर्वले नेपालीलाई एकतामा बाँध्छ : प्रदेश प्रमुख खापुङ

मोरङ,२ कात्तिक : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालीले मनाउने चाड पर्वले सबैलाई एकतामा बाँध्ने गरेको बताउनुभएको छ।

मोरङ व्यापार सङ्घद्वारा आज यहाँ बडादसैँ, तिहार,नेपाल संवत् र छठपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले हिमाल, पहाड र तराईमा बसोवास गर्ने सम्पूर्ण नेपालीबीच सामाजिक सद्भाव कायम गर्न चाडपर्वले महत्त्वपूर्ण योगदान पुर्याएको धारणा राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले सबै जातजातिले एकअर्काको भाषा, संस्कृतिप्रति सम्मान गर्नुपर्नेमा जोड दिँदै यसबाट मुलुकमा शान्ति, विकास र समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

शुभकामना कार्यक्रममा सङ्घका अध्यक्ष नवीन रिजाल, पूर्वमन्त्री अमनलाल मोदी, प्रदेशसभा सदस्य अमृत अर्याललगायतले ऐतिहासिककालदेखि नेपालीले मनाउने चाडपर्वले एकापसमा सामाजिक सद्भाव कायम राखेको विचार राख्नुभयो ।

शैक्षिक सुधारको मूल आधार बाल शिक्षाः मुख्यमन्त्री शर्मा

कर्णाली, २ कात्तिक : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शैक्षिक सुधारको आधार बाल शिक्षा भएको बताउनुभएको छ ।

शिक्षा पत्रकार समूहद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठ्ठी’ रुपान्तरण तथा कर्णालीका विद्यालयमा शिक्षाको अवस्था प्रादेशिक बहसमा बोल्दै उहाँले शिक्षाको मूल आधार बालशिक्षा भएको बताउनुभएको हो । मुख्यमन्त्री शर्माले भन्नुभयो, “जग बलियो नभई घर बलियो हुँदैन । शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रमा राखेपनि आपसी सहकार्यविना अपेक्षित नतिजा आउन सक्दैन ।”

शैक्षिक सुधारको मूल आधार स्थानीय तह भएकाले बजेट र जनशक्ति दुवै बलियो बनाउनुपर्ने भन्दै उहाँले कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि १० जिल्लामा १० नमूना विद्यालय बनाउने गरी आवश्यक कार्य अघि बढाउन लागेको बताउनुभयो । यसका लागि कार्यविधि निर्माण भइरहेको छ”, मुख्यमन्त्री शर्माले भन्नुभयो, “शिक्षण सिकाइ केन्द्र निर्माण गरी अनलाइन र भौतिकरूपमा विद्यार्थी पढाउने शिक्षक र अभिभावकबीचको अन्तक्र्रिया तथा स्थानीय तहलाई पाठ्यक्रम निर्माणमा प्रदेश सरकारले सहयोग गर्नेछ ।”

कर्णाली प्रदेशको ठूलो भूगोल तर न्यून बजेटका कारण शिक्षालगायतका क्षेत्रमा उल्लेख्य प्रगति हासिल हुन नसकेपनि आगामी पाँच वर्षभित्र अहिले देखिएको शैक्षिक सूचकहरू परिवर्तन हुनेगरी शिक्षामा सुधार आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा कर्णालीका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीले लेखेका चिठ्ठी तथा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले प्रकाशन गरेको ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठ्ठी पुस्तक’ मुख्यमन्त्री शर्मालाई हस्तान्तरण गरिएको थियो ।

भारतले ७ देशमा १० लाख टन चामल निर्यात गर्दै

नयाँ दिल्ली – भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर-बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ ।
वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार जारी गरेको सूचना अनुसार राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल) मार्फत सो परिमाणको चामल निकासी गर्न अनुमति दिइएको हो ।

‘गैर-बासमती सेतो चामलको निर्यात नेपाल, क्यामरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्सलाई निर्यात गर्न अनुमति दिइएको छ,’ लिमिटेडद्वारा जारी सूचनामा भनिएको छ।
नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन र सेलेसलाई ८ सय टन चामल पठाइएको हो ।

भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ

गण्डकी, २ कात्तिक : मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् ।

“चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरकाका दुई हजार दुई सय ३० पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्”, संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले भन्नुभयो, “मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीयको सङ्ख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शन भ्रमणका लागि आउँछन् ।”

उहाँले कोभिड–१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन विस्तारै लयमा फर्किरहेको बताउनुभयो । अघिल्ला वर्षको तुलनामा मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल भने केही घटेको पाइएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गर्नुभयो । “मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको तथ्याङ्क त राख्ने गरिएको छैन, तैपनि यो वर्ष मुस्ताङमा नेपालीहरूको आवागमन कमै देखिन्छ”, उहाँले भन्नुभयो ।

गत वर्षको तुलनामा आन्तरिक पर्यटक मुस्ताङमा धेरै कम भित्रिएको जोमसोमस्थित होटल सिर्जना होटल एण्ड थकाली भान्छाघरका सञ्चालक मनगुना थकालीले बताउनुभयो । “दसैँको वरिपरि आन्तरिक पर्यटकको चाप बढ्थ्यो, होटल पाहुनाले भरिभराउ हुन्थे, अहिले मुख्य याममै होटलका कोठा खाली छन्”, उहाँले भन्नुभयो, “आर्थिक मन्दीको असर मुस्ताङको पर्यटनमा पनि देखिएको छ, दसैँपछि आन्तरिक पर्यटक बढ्ने आशा छ ।”

मुस्ताङ जोड्ने सडक कमसल हुँदा पनि पर्यटकको आवागमन सहज हुन नसकेको थकालीले बताउनुभयो । “वर्षायामको तुलनामा अहिले सडक केही सुधार त भएको छ, तर स्तरीय सडक नहुँदा मुस्ताङ आउने पर्यटकले ठाउँ–ठाउँमा सास्ती खेप्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

मुख्य याममै पर्यटक कम आएपछि मुस्ताङ र आसपासका होटल तथा पर्यटन व्यवसायी चिन्तित छन् । म्याग्दी हुँदै सडकमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रबिन कडरियाले बताउनुभयो । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ ।

“समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुकबाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको देखिन्छ”, प्रमुख डा कडरियाले भन्नुभयो, “मुस्ताङ घुम्ने विदेशी पर्यटकमध्येमा अधिकांश भारतीय धार्मिक पर्यटक छन् ।” मुस्ताङस्थित मुक्तिनाथ क्षेत्र विश्वभरका हिन्दूमाझ पवित्र धार्मिकस्थल मानिन्छ ।

मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारका लागि तिब्बत गएको हुँदा त्यस क्षेत्र बौद्धहरूको पनि तीर्थस्थलका रूपमा चिनिन्छ । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास छ । मनोकाङ्क्षा पूरा हुने र पितृहरूको उद्धार हुने आशामा बर्सेनि हजारौँ तीर्थयात्री मुक्तिनाथ क्षेत्र पुग्छन् ।

नवरात्रको पाँचौँ दिन : विधिपूर्वक गरियो स्कन्दमाताको पूजा आराधना

काठमाडौँ, २ कात्तिक : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । यस दिन स्कन्दमाताको षोडशोपचारले पूजा आराधना गर्ने वैदिक सनातनी नियम छ ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरुका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनिमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन् ।

पार्वतीले ऋषिलाई ऊँटको योनिमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनि प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो’ ‘भोक लागेका बेला जङ्गलका काँडाहरु चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु, मलाई यस योनिमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन् ।

ऋषिको कुराबाट पार्वती प्रभावित हुँदै भनिछन् ‘ऋषिजी तपाइँ ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्व नबुझी मैले दिएको श्रापबाट मलाई ठूलो पश्चात्ताप छ, अब म तपाइँलाई पुत्रका रुपमा प्राप्त गर्न चाहन्छु’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।

छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । यस्तो महत्व भएकी देवीको आज विधिपूर्वक पूजा, आराधना गरिएको हो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको हो ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो ।

दशैंमा घरमै यसरी बनाउनुहोस् सुकुटी

बफ/चिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन् । दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन् । सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ ।

आवश्यक सामग्री
बफ तथा चिकेनको मासु
आवश्यकताअनुसार तेल
पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन अदुवाको पेस्ट

मासुलाई बेसारले मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने । तातो भाँडामा तेल राखेर प्याज हालेर खैरो हुनेगरी भुट्ने । त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन । गरम मसला पालैपालो हालेर चलाउने । यो मिश्रण डढ्न दिन हँुदैन । त्यसैले आगो सानो पार्ने । त्यसपछि काटेर राखेको सुकुटीलाई हालेर राम्ररी चलाउने । स्वाद मन पराउनेले टमाटर काटेर राख्न पनि सकिन्छ । मासुलाई केहीबेर छोपेपछि त्यसमा मिट मसला थोरै राखेर काटेको हरियो धनियो राखेपछि सुकुटी खानका लागि तयार हुन्छ ।

एक दशकमा श्रीलङ्काको सहरी जनसङ्ख्या २६.३७ प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काको सहरी जनसङ्ख्या एक दशकमा २६.३७ प्रतिशतले वृद्धि भई ४४.५७ प्रतिशत पुगेको छ । श्रीलङ्काको राष्ट्रिय भौतिक योजना विभागको एक सर्वेक्षणलाई उद्धृत गर्दै श्रीलङ्काको सहरी जनसङ्ख्या ४४.५७ प्रतिशत पुगेको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

सरकारी स्वामित्वको डेली न्यूजका अनुसार श्रीलङ्कामा शहरीकरणसम्बन्धी अन्तिम सर्वेक्षण सन् २०१२ मा गरिएको थियो र त्यतिबेला सहरीकरण १८.२ प्रतिशत थियो ।

पछिल्लो सर्वेक्षणअनुसार कोलम्बो सबैभन्दा बढी सहरी जनसङ्ख्या ९६.७४ प्रतिशत रहेको जिल्ला हो । सर्वेक्षणले गाम्पाहा जिल्लामा शहरीकरणको प्रतिशत ७६.७६ प्रतिशत र जाफना जिल्लामा ६७.२८ प्रतिशत रहेको देखाएको छ ।

सर्वेक्षण अनुसार शहरी जनसङ्ख्याको सबैभन्दा कम प्रतिशत मुल्लाइतिवु जिल्लामा २.८४ प्रतिशत रहेको छ । यो सर्वेक्षण प्रतिवेदन राष्ट्रपति र सबै जिल्ला समितिबाट स्वीकृत भएपछि मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने र अनुमोदन भएपछि मात्रै यसले आधिकारिकता पाउनेछ ।

पुटिनद्वारा चीनसँगको ‘अभूतपूर्व’ ऊर्जा सम्बन्धको प्रशंसा

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार मस्को र बेइजिङबीचको ‘अभूतपूर्व’ ऊर्जा सहकार्यको प्रशंसा गर्नुभएको छ भने क्रेमलिनले युरोपेली बजारमा भएको नोक्सानीको क्षतिपूर्तिका लागि आफ्नो एसियाली साझेदारीलाई मजबुत बनाउने प्रयास गरिरहेको छ ।

युक्रेनको आक्रमणलाई लिएर रूसमाथि पश्चिमा मुलुकले ठूलो प्रतिबन्ध लगाएको छ भने युरोपले मस्कोसँगको आफ्नो ऊर्जा सम्बन्ध अन्त्य गर्ने प्रयास गरिरहेको छ ।

पुटिनले बिहीबार दुई दिने चीन भ्रमण पूरा गर्नुभएको छ, जुन पूर्व सोभियत सङ्घबाहिर यस बर्ष भएको पहिलो भ्रमण हो ।

“रूसी सङ्घ र चिनियाँ जनगणतन्त्रबीचको समग्र साझेदारी र रणनीतिक सहयोगको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको छ र गतिशील रूपमा विकास भइरहेको छ,” बेइजिङमा आयोजित रूसी–चिनियाँ ऊर्जा मञ्चलाई सम्बोधन गर्दै पुटिनले भन्नुभयो ।

“यस सम्बन्धको एक प्रमुख क्षेत्र ऊर्जा सहयोग हो, जुन बढ्दो रूपमा सक्रिय भइरहेको छ,” उहाँले भन्नुभयो ।

रूसी तेल कम्पनी रोसनेफ्टका प्रमुख इगोर सेचिनले रूसले छिमेकी मुलुक चीनमा गर्ने निर्यातको ७५ प्रतिशतभन्दा बढी ऊर्जासँग जोडिएको बताए ।

“यो वर्ष, चीनमा रूसी ग्याँस निर्यात एक ऐतिहासिक अधिकतम पुग्नेछ अर्थात् यो बर्ष – ३० अर्ब क्यूबिक मिटरभन्दा बढी ग्याँस वितरण गरिनेछ,” पुटिनका निकट सहयोगी रहेका सेचिनलले भन्नुभयो ।

सेचिनले सन् २०२३ मा साउदी अरबलाई उछिनेर रूस चीनको मुख्य तेल आपूर्तिकर्ता भएको बताउनुभयो ।

विशेषगरी जी–७, युरोपेली सङ्घ र अस्ट्रेलियाले रूसको निर्यातमा मूल्य सीमा तोकेका तेलमा पश्चिमा मुलुकले कडा प्रतिबन्ध लगाएका छन्, मस्कोले महिनौंदेखि एसियामा डेलिभरी लाई पुनर्निर्देशित गर्ने प्रयास गर्दै आएको छ ।

मस्कोले अर्को वर्ष रूसबाट चीनसम्म ‘साइबेरिया २ को पावर’ पाइपलाइन निर्माण सुरु गर्ने आशा गरेको छ, जुन बेइजिङमा अधिक प्राकृतिक ग्याँस पु¥याउने एक विशाल परियोजना हो ।

चाडपर्वको अवसरमा हुने सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान

झापा, २ कात्तिक : चाडपर्वको अवसरमा हुने सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा चालकलाई जिम्मेवार बनाउन र उनीहरूको आत्मविश्वासलाई बढाउन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आज सम्मान गरेको हो ।

बडादसैँ, दीपावली तथा छठपर्वलाई लक्षित गरेर सङ्गठनले थालेको ‘सुरक्षित यात्राका सारथी’ नारासहितको कार्यक्रममा काँकडभिट्टाबाट महेन्द्रनगर, नेपालगन्ज, चरिकोट र पोखराजस्ता लामा रूटमा सवारी कुदाएर हालसम्म कुनै दुर्घटना तथा ट्राफिक कारबाहीमा नपरेका चालकलाई अबिर, मालाले सम्मान गरिएको छ ।

सम्मानित हुने चालकमा श्यामबहादुर गुरुङ, हरेराम खड्का, गोविन्द ढकाल, सचिन महत, रविन रिजाल, दीपक गौतम, जगत् पौडेल र ढुवानी मजदुर विर्खबहादुर गिरी रहेका छन् ।

दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आठजना चालकलाई सम्मान गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । उहाँले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकले देखाएको इमान्दारिताले समाजमा अरु मान्छेलाई पनि सहयोगी बन्न प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द बुढाथोकीले सवारीमा यात्रुमैत्री व्यवहार गर्न सवारी चालक, सहचालक र परिचालकलाई आग्रह गर्नुभयो ।

विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्ने नेपाल र चिनियाँ अधिकारीबीच छलफल

बेइजिङ, २ कात्तिक ः विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयमा सहकार्य गर्न नेपाल र चिनियाँ अधिकारीबीच छलफल भएको छ । चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनको आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायका अधिकारीबीचको छलफलमा जोखिमका पूर्वानुमान गर्ने, खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कुराकानी भएको थियो ।

नेपाल र चिनियाँ अधिकारीबीच जोखिमको अनुगमन, भू–उपग्रहमार्फत तस्वीर खिचेर बाढी पहिरो, डढेलोजस्तो प्रकोपको पूर्वसूचना प्रणाली सञ्चालनमा ल्याउने तथा आपत्कालीन स्थितिमा खटिनुपर्ने खोज तथा उद्धार टोलीलाई क्षमता अभिवृद्धि गर्ने, नेपाल सरकारको गृह मन्त्रालय, प्राधिकरणलगायत सरोकारवाला निकायका कर्मचारीको क्षमता अभिवृद्धि गर्नेबारेमा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

सो क्रममा बेल्ट एण्ड रोड इनिसियटिभ (बिएरआई)का कामसँगै जोखिम न्यूनीकरण र आपत्कालीन व्यवस्थापनका लागि एशियाली क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको उहाँको भनाइ थियो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाल भ्रमण गर्नुभएका बेला दुई देशबीच सोसम्बन्धी समझदारी भएको थियो ।

छलफलमा नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेललगायत तथा चीनका तर्फबाट त्यहाँको आपत्कालीन व्यवस्थापन मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।

नेपाली प्रतिनिधिमण्डलले २०७२ सालको भूकम्प पछाडि चीन सरकारले तत्काल राहत तथा उद्धार एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरेको थियो । सो अवसरमा नेपाली प्रतिनिधिमण्डलले बहुप्रकोपको जोखिम आँकलन गर्ने तथा आपत्कालीन अवस्थामा निर्देशन दिने ‘कमाण्ड सेन्टर’ अवलोकन गरेको थियो ।

दसैँमा मौसम सफा रहने

काठमाडौँ, २ असोज : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताउनुभयो । “दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उहाँले भन्नुभयो ।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताउनुभयो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

अछामका डम्बर साउदले पाए ७२ वर्षको उमेरमा नागरिकता

अछाम, २ कात्तिक : अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गर्नुभयो ।

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहनुभएकाले साउदले नागरिकता लिन पाउनुभएको थिएन । बुढेसकालमा नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको महसुस भएको साउदले सुनाउनुभयो । आफूले नागरिकता नबनाएका कारण छोराछोरी पनि नागरिकताबिहीन भएको उहाँको भनाइ छ । “ढिलै भएपनि मैले नागरिकता पाएँ, अब छोराछोरीलाई नागरिकता दिलाउँछु”, उहाँले भन्नुभयो ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अछामले कागजपत्र पूरा भएको खण्डमा आधा घण्टामै सेवा दिने अभ्यास सुरु गरेको छ । जसले गर्दा पछिल्लो समय भिडभाड पनि कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।

सोलार जडान भएपछि चेपाङ परिवारमा खुसी

मनहरी (मकवानपुर), २ कात्तिक : दसैँको बेलामा मकवानपुर, राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा खुसी छाएको छ । दशकौँदेखि टुकी बत्तीको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो । टुकीको साथका पढ्ने लेख्नेका साथै घर भान्छा तयार गर्ने गरेको बताउँदै सेतीमायाले भन्नुभयो,“अब घरभरि झिलीमिलीबत्ती बल्नेछ ।”

डोको लिएर सोलार लिन पुग्नुभएका घिराङ निवासी सूर्यबहादुर प्रजा घरमा सोलार जोड्ने भएपछि आफू ज्यादै खुसी भएको बताउनुभयो । चाडपर्वको मुखमै घर उज्यालो हुने भएकाले आफूमात्र नभई परिवार सबैमा खुसी छाएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजितरु चार लाख रकमबाट सोलार खरिद गरेर बुधबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो । वडा नं ७ को घिराङ, तामराङ, आइवेनी क्षेत्रका २७ घरधुरीलाई एक–एक सोलार सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङको वडा नं ७ र ९मा अझै बिजुली बत्ती नपुगेको अध्यक्ष उहाँले जानकारी गराउनुभयो । चितवनको राप्ती नगरपालिकासँग जोडिएको घिराङ र लामराङ विकट क्षेत्र पर्दछ र सोहीअनुरुप पालिकाले सोलार वितरण गरिएको अध्यक्ष मल्लले सुनाउनुभयो ।

उपभोक्ताको दुई हजार र पालिकाको १४ हजार गरी १६ हजार मूल्य लागतमा सोलार सेट प्रदान गरिएको हो । पाँचवटा बत्ती, मोबाइल चार्जिङ र रेडियो बज्न सक्ने क्षमताको सोलार सेट प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । सोलार उपभोक्ताको घरमापालिकाले नै फिटिङ गरिदिएको हो ।

“सोही क्षेत्र विकट रहेकाले बिजुली विस्तार नभएको अवस्था छ, हामीले ठेक्का लगाइसकेका छौँ चैतभित्रमा बिजुली विस्तार हुनेछ”, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले भन्नुभयो । अन्य वडामा बिजुली विस्तार भएपनि वडा ७ र ९ मा अझै बिजुली पुग्न सकेको छैन । गाउँपालिकाको स्वास्थ्य र शिक्षामा सुधार रहोस् भनी सोलारको उज्यालोमा बालबालिका पढ्न सहज रहने उहाँले बताउनुभयो ।

वडामा सोलार जडानले गाउँनै झिलिमिली हुने वडाध्यक्ष रामबहादुर प्रजाले बताउनुभयो । “वडावासी मट्टितेलको टुकी बालेर जीवन बिताइरहेका थिए, सोलारले उनीहरूमा खुसी छाएको छ”, वडाध्यक्ष प्रजाले बताउनुभयो । टुकीमा पढ्दा स्वास्थ्यमा समस्या आउनुका साथै खर्चपनि वृद्धि हुने गर्दथ्यो अब भने सोलारबाट उज्यालोमा पढ्न र घरायसी काम गर्न सहजता रहने वडाध्यक्ष प्रजाले बताउनुभयो ।

दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगले सेवा प्रवाह गर्ने

काठमाडौँ, २ कात्तिक : दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म खुला रहने भएको छ ।

आमनागरिकको मानवअधिकार संरक्षणलाई दष्टिगत गरी राखी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले उक्त अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने बताएको छ ।

राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै, परराष्ट्रमन्त्री अमेरिका जाँदै

काठमाडौँ, २ कात्तिकः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।मन्त्रिपरिषद्को आजको बैठकले महासचिव गुटेरेसको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण कार्यक्रम पनि स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्ले राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । सरकारले तल्लो अरुण जलविद्युत् परियोजना छ सय ६९ मेगावाट क्षमताका लागि आवश्यक एक सय सात दशमलव ९७ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ । भारतीय कम्पनी सतलज विद्युत् निगमले सो आयोजना बनाउन लागेको छ । मन्त्री शर्माका अनुसार अन्तर्राष्ट्रियस्तरको बालबालिका, विकास र शान्तिसम्बन्धी सम्मेलन आयोजना गर्न लुम्बिनी प्रदेश सरकारलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।

बङ्गलादेशको ढाकामा यही कात्तिक ११ देखि १३ गतेसम्म हुने निर्वाचनसम्बन्धी सेमिनारमा सहभागी हुन निर्वाचन आयुक्त सगुनशम्शेर जबराको भ्रमण स्वीकृत गरिएको छ । नेपाल र इजिप्टबीच युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको छभने वन पैदावार विकास समितिलाई रु आठ करोड ८५ लाख बराबरको ऋण सहायता दिने निर्णय भएको छ ।

यही कात्तिक २१ गतेदेखि मङ्सिर ६ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४२औँ महासभामा भाग लिन शिक्षा तथा विज्ञान प्रविधिमन्त्री अशोककुमार राई र सचिव सुरेश अधिकारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ । यही असोज २७ गते सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न गत असार १२ गते गठित छानबिन समितिलाई नै कार्यादेश प्रदान गरिएको छ ।

यसैगरी कतार सरकारसँग एक समझदारीपत्रमा हस्ताक्षर गर्न सञ्चार मन्त्रालयलाई अख्तियारी दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सचिव देवकुमारी गुरागाईँलाई यही कात्तिक २९ देखि मङ्सिर १ सम्म थाइल्याण्डको बैंककमा हुने सम्मेलनमा भाग लिन अनुमति प्रदान गरिएको छ भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्यमा मनोनयन गरिएको छ ।

सरकारले दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका सांस्कृतिक पर्वहरूको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा मङ्गलमय शुभकामना व्यक्त गरेको छ । गत असोज २४ गतेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षका लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । उक्त बैठकले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति प्रदान गरेको छ ।

यसैगरी थाइल्याण्डमा आयोजना हुने एसिया प्रशान्त क्षेत्रको इनर्जी फोरममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ । रेल्वे सेवा सञ्चालन र मर्मतसम्भारका लागि तालिमप्राप्त जनशक्ति, आवश्यक उपकरण एवं मालसामान सरकार–सरकार तहमा नै सम्झौता गरी खरिद गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । रेल, मेट्रोरेल, मोनोरेल विकास आयोजनाका लागि विभिन्न सेवा, समूह, उपसमूहका अधिकृतस्तरका १४ अस्थायी दरबन्दी स्वीकृत प्रदान गरेको छ ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट र बक्सिङ प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी सहभागी मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । आगामी मङ्सिर १९ र २० मा संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानामा हुने युएन पिस किपिङ मिनिस्ट्रियल बैठकमा सहभागी हुन उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको छ ।

सिन्धुली जिल्लाकी सुनकोसी गाउँपालिकालाई १५ शय्याको प्राथमिक अस्पताल निर्माणका लागि सोही गाउँपालिकाको वडा नं ३ को सात दशमलव दुई रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ । यसैगरी राष्ट्रिय आवास कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा रामकृष्ण निरौलालाई नियुक्त गरिएको छ । नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा अर्जुनजङ्ग थापालाई बढुवा गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, कानुन समूहतर्फका छजना राजपाङ्कित प्रथम श्रेणीका अधिकृतको सरुवा गरेको छ ।

बिआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुने

काठमाडौँ, २ कात्तिक : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सार्नुभएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको बताउनुभएको छ ।

बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाका लािग बिआरआई महत्वपूर्ण हुने बताउनुभएको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय विदेश विभाग सचिव शङ्कर खतिवडाले राससलाई जानकारी दिनुभयो ।

बिआरआईले विश्वभरका जनतालाई एकापसमा व्यापार गर्न, आपसी मूल्य, मान्यताबाट सिक्न र पारस्परिक सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको नेता खनालले बताउनुभयो । उहाँले भन्नुभयो–चीनले अगाडि सारेको बिआरआईले विश्वभर रहेका मानिसको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ । बिआरआईका माध्यमबाट नेपालले आर्थिक विकासमा गति लिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह

जानकी (बाँके), २ कात्तिक : मालपोत र नापीको सेवा प्रवाह बाँकेको कोहलपुरबाट समेत हुन थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयलको आज सेवा प्रवाह शुभारम्भ गर्नुभएको हो ।

सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिक आफ्नो काम काज गराउनका लागि अब नेपालगञ्ज धाउनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिकले आजबाट मालपोत र नापीको काम गराउन कागजपत्र बोकेर नेपालगञ्ज जान पर्दैन ।”

उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य ढकालले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहजरुपले सेवा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताको कामसँग प्रत्यक्ष जोडिने मालपोत र नापी कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी रहेको उल्लेख गर्दै चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिनुभयो ।

कोहलपुरबाट सेवा प्रवाह गर्नका लागि गत असोज २६ गतेदेखि नै नेपालगञ्जबाट हुने कामकाज रोकिएको थियो । नापी र मालपोत कार्यालय कोहलपुरको कार्य क्षेत्रमा पर्ने सबै वडाको कामकाज आजदेखि कोहलपुरबाट नै हुने मालपोत कार्यालय कोहलपुरका प्रमुख निरबहादुर दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोहलपुर कार्यक्षेत्र रहेका साविकका गाविसको कामकाज पाँच दिन रोकेर आवश्यक कागजात सबै नेपालगञ्जबाट कोहलपुर ल्याइसकेका छौँ । अब नापी र मालपोतसम्बन्धी कामका लागि कोहलपुर कार्य क्षेत्रभित्रका नागरिक नेपालगञ्ज जानुपर्दैन ।”

मालपोत कार्यालय कोहलपुरका लागि विभिन्न तहका ३३ कर्मचारीको दरबन्दीसमेत स्वीकृत भइसकेको छ । यस्तै नापी विभागले नापी कार्यालय कोहलपुरका लागि १६ स्थायी र चार करार गरी २० कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । स्वीकृत दरबन्दीअनुसार एक सहायक लेखापाल र एक सहायक प्रशासन चौथो तहका कर्मचारी रहेका छन् । अन्य चार कार्यालय सहयोगी भने करारमा राख्नका लागि दरबन्दी स्वीकृत भएको कार्यालयले जनाएको छ ।

नापी र मालपोत कार्यालय कोहलपुरबाट सेवा प्रवाह हुने भएपछि तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी काम कोहलपुरबाटै हुनेछ । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी कामका लागि नेपालगञ्ज जानुपर्ने अन्त्य भएको छ । दुवै कार्यालयले कोहलपुरमा आवश्यक पर्ने कागजात नेपालगन्ज कार्यालयबाट लगिसकेको छ ।

सरकारले गरेको सहमतिको जिम्मेवारी सांसदलाई दिन मिल्दैन : सांसद भट्टराई

काठमाडौँ, २ कात्तिक : त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन । तर विशेष परिस्थितिले उहाँलाई सङ्घीय संसद्मा उपस्थिति गरायो ।

विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पति एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीको ४९ वर्षको उमेरमा दुःखद् निधन भएपछि २०७६ सालमा सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) ले भट्टराईलाई उम्मेदवार बनायो । त्यसबेला प्रतिस्पर्धीसँग करिब आठ हजार मतान्तरले विजयी भट्टराई पुनः सोही क्षेत्रबाट गत वर्षको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो ।

गत कार्यकालको बाँकी अवधि र यस कार्यकालको हालसम्मका अवधिमा एक सांसदका हैसियतले कानुन निर्माण र जनताका सवाललाई सरकारसमक्ष पु¥याउन भट्टराईले सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । सांसदको मुख्य काम कानुन बनाउने नै हो भन्ने बोध भएकाले होला पछिल्लो निर्वाचनयता संसदीय गतिविधि जति प्रभावकारी, चुस्त र व्यवस्थित हुनुपर्ने थियो त्यति नभएको उहाँको बुझाइ छ ।

“कानुन निर्माणका सवालमा प्रभावकारी काम भएका छैनन् तर संसद्मा विशेष र शून्य समयको पर्याप्त उपयोग गरिएको छ ।” रासससँग कुरा गर्दै एमाले केन्द्रीय सदस्य भट्टराईले भन्नुभयो, “संसद्को प्रभावकारी सञ्चालनका लागि सरकारको भूमिका मुख्य हुन्छ । उसले नै सदनलाई विजनेस दिने हो । नेतृत्वदायी अङ्ग कार्यपालिका नै हो तर सरकार बनाउने वा टिकाउने खेलमा लाग्दा संसद्का कार्यसूची प्रभावित हुने रहेछन् ।”

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिका बैठक नियमित भएर संसदीय गतिविधिमा सहजता आएको उल्लेख गर्दै उहाँले संवैधानिक परिषद्का बैठक पनि नियमित भएमा राजनीतिक दलहरु र खासगरी सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीचको समन्वयमा कठिनाइ नहुने विचार व्यक्त गर्नुभयो । प्रमुख प्रतिपक्षले पनि आफ्ना मुद्दाको सुनुवाइका लागि लामो समय सांसदले अवरोध गरिदिँदा संसद्मा जनताका आवाज प्रस्तुत हुन बाधा हुने गरेको आरोप छ नि ? भन्ने प्रश्नमा सांसद भट्टराईको प्रतिप्रश्न छ, “प्रतिपक्षले उठाएका विषयलाई सरकारबाट कसरी सम्बोधन भयो भन्ने पनि हेरिनु पर्दैन र ? प्रमुख प्रतिपक्षमाथि सहिष्णु व्यवहार भयो कि भएन ? त्यसका आधारमा पनि सदनको प्रभावकारिता हुने होइन र ?”

कस्तो राजनीतिक संस्कार बनाउने र कस्ता विषयमा कसरी सामञ्जस्यता खोज्ने भन्ने सवालमा सरकारको नेतृत्वकर्ताले नै भूमिका खेल्नुपर्नेमा जोड दिँदै सांसद भट्टराईले राज्य सञ्चालनमा कस्ता समस्या आउँछन् वा आउँदैछन् भन्ने कुरालाई ध्यानमा राखेर समस्या आइनसक्दै अलि अगाडि नै परामर्श गर्ने गरेमा समस्या नपर्ने बताउनुभयो ।

सांसद कानुन निर्माणको भूमिका बिर्सिएर आफ्ना क्षेत्रमा बजेट र कार्यक्रम पार्न तथा कर्मचारीका सरुवा बढुवासमेतका विषय बोकेर मन्त्रालयमा धाउने गरेको सवालमा उहाँको भनाइ छ, “नेपालमा सांसदका पहिल्यैदेखिका अभ्यास र जनताका बुझाइ विकास निर्माण तथा नियमित समस्याबारे सांसदबाट सुनुवाइ होस् भन्ने छ । जनताका मुद्दा लिएर मन्त्रालयमा धाउने अभ्यास एकाएक हट्दैन । संविधानमा व्याख्या भएपछि कार्यपालिका र व्यवस्थापिकाको फरक फरक भूमिकाबारे जनतालाई बुझाउन सक्नुपर्छ ।”

सांसद भट्टराईले आफूले निर्वाचनकै समयमा आफू निर्वाचित भएर जनताका समस्याबारे संसद् बोल्ने, नीति बनाउने र विधि बनाउने वाचा गरेको स्मरण गर्दै सांसदको यो भूमिकाबारे आम संस्कृति बन्न सकेमा जनस्तरमा सोचाइ बदलिने विश्लेषण गर्नुभयो ।

“पहिला पहिला हामी निर्वाचनमा जाँदा पनि जनताका विकास र निर्माणका मुद्दा उठाउने गथ्र्यौं । अबका निर्वाचनमा जाँदा कानुनको कार्यान्वयन तथा भएका अप्ठ्यारालाई कसरी फुकाउने र नयाँ कानुन बनाउन कस्तो भूमिका खेल्ने भन्नेबारेमा सबै उम्मेदवारले आफ्ना सङ्कल्प जनतालाई सुनाउनुर्छ । अनि त्यही आधारमा हाम्रो मूल्याङ्कन हुनेछ”, सांसद भट्टराईले भन्नुभयो ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य भट्टराईले विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा सरकारले विधेयक दर्ता गरिसकेपछि नेपाल शिक्षक महासङ्घसँग गरिएका सहमतिबारे आफूहरुलाई बुझाउनुपर्ने तर्क राख्नुभयो । संविधानको मर्म तथा मान्यताका आधारमा अबको शिक्षाको सुधार र रुपान्तरणको बहसलाई अघि बढाउन यो विधेयक सार्थक हुनुपर्नेमा दृढ भट्टराई समितिले मस्यौदामा आएका र संशोधनमा थपिएका बुँदामा केन्द्रित रहेर छलफल गर्ने स्पष्ट गर्नुभयो ।

“सरकारले गरेको सहमतिको जिम्मेवारी सरकारले नै लिनुपर्छ, त्यसको जिम्मेवारी सांसदलाई दिन मिल्दैन”, सांसद भट्टराईले भन्नुभयो ।

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

ढोरपाटन (बागलुङ), २ कात्तिक : एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ ।

रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन् । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमिरोले घर पोत्न छोडिसके । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका हुन् । घर पोत्न थालेपछि गाउँमा दसैँको रौनक नै बेग्लै हुन्यो । तर अहिले त्यो रौनक निकै कम भएको पाइन्छ ।

पहिलेको तुलनामा अहिले दसैँको रौनक पनि हराउँदै गएको छ । रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको छ । गाउँमा ढुङ्गा, माटो, काठ र घरले बनेका घर विस्तारै हराउँदै छन् । अचेल माटो, काठ र ढुङ्गाको सट्टा फलामका रड, जस्तापाता र सिमेन्ट प्रयोग हुने गर्छन् । यसले ग्रामीण क्षेत्रको मौलिकता हराउँदै गएको छ ।

एक दशक अघिसम्म बागलुङका कमै मात्र गाउँ मोटरबाटोले जोडिएका थिए । अहिले सडक नपुगेको गाउँ छैन । गाउँमा सडक पुगेपछि स्थानीयले कङ्क्रिटका आधुनिक घर बनाउन थालेका छन् । इनामेल, चुनालगायतले घरमा रङ प्रयोग गर्ने गरेको पाइन्छ ।

हरेक दिन गाउँमा मौलिक घर विस्थापित हुन थालेपछि बूढापाका चिन्तित बनेका छन् । जिल्लाका पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको घर विस्थापित गरिरहेका छन् । बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ । स्थानीयले गाउँकै स्रोत साधान प्रयोग गरेर मौलिकतालाई जोगाउनु पर्ने गलकोट नगरपालिका–९ का ७३ वर्षीय जितबहादुर खत्रीले बताउनुभयो । देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्था आएको भन्दै सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । पहिले–पहिले गाउँका घर बलियो बनाउनका लागि हरेक दिन गाईको गोबर र रातोमाटोले लिप्ने गरे पनि अहिले त्यो चलन हराएको बताउनुहुन्छ ।

“आजभोलिको दसैँ पहिलेको जस्तो रमाइलो नै हुँदैन, हाम्रो पालामा नवदुर्गा सुरु भएपछि गाउँमा निकै चहलपहल हुन्थ्यो, रातोमाटो र कमेरोले घर लिप्ने गरिन्थ्यो, घरलाई झकिझकाउ बनाउन, टाढा–टाढा पुगेर रातोमाटो, कमेरो ल्याइन्थ्यो, बर्खाले बिगारेको बाटाघाटा झारा गरेर मर्मत गर्ने गरिन्थ्यो, तर अहिले त्यो चलन पूरै हरायो”, खत्रीले भन्नुभयो, “आजकाल त बजारबाट रङ किनेर ल्याएर घरमा लगाउने गर्छन्, अहिलेको रङभन्दा उतिबेलाको माटो र गोबरले लिप्दा घर बलियो हुन्थ्यो, मान्छेले आफ्नो परम्परा बिर्सिए, अरुको संस्कार सिके ।”

बागलुङको निसीखोला गाउँपालिकाकी तिलकुमारी सुनार रातोमाटो र कमेरो बिक्री हुन छोडेको बताउनुहुन्छ । वर्षौंदेखि माटो र कमेरो बेचेर जीविकोपार्जन गरेको उल्लेख गर्दै उहाँले गाउँ–गाउँमा पक्की घर बन्न थालेपछि माटो बिक्री गर्न मुस्किल भएको बताउनुभयो । पहिले दसैँको १५ दिन अगाडिदेखि आफूलाई स्थानीयको घरघरमा माटो र कमेरो पु¥याउन भ्याइनभ्याइ हुने गरेको स्मरण गर्दै अहिले एक डोको मोटो बेच्न पनि गाह्रो पर्ने सुनाउनुभयो । माटो बेचेर मासिक रु १० हजार कमाएको सुनाउने सुनारले अहिले अर्मपर्म गरेर दैनिकी चलाउनुपरेको बताउनुहुन्छ ।

“घर माटोले पोत्ने चलन हरायो, गाउँका कच्ची घरमा पनि बजारबाट रातो रङ लिएर लगाउन थालेका छन्, पहिले मैले एकै दिनमा १७÷१८ घरमा माटो पु¥याउने गर्थे, अहिले दुई÷तीन घरबाट पनि माग आउँदैन, अहिलेत सबैका घरमा सिमेन्ट लगाएका छन्, टिन (जस्तापाता)ले छाएका छन्”, सुनारले भन्नुभयो, “दसैँ आएको छ, माटो कसैले किन्दैनन्, कहिँबाट पैसा पनि आउँदैन, पहिले त पैसा हुनेले पैसा, नहुँनेले धान, मकै, मिठो दिन्थे, परिवार पाल्न सजिलो थियो, अहिले त अरु काम गर्नुपर्छ ।”

स्थानीय मीनकुमारी पौडेलले पहिले दसैँ तिहारको बेला धेरै महिला माटो बिक्री गर्न घरघरमा पुग्ने गरेको सुनाउँदै अहिले कोही पनि नहिँड्ने बताउनुभयो । दसैँका बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेकामा सो हराउँदै गएको बताउनुभयो । घरको झ्याल ढोकामा काफलको बोक्रा पकाएर लगाउने गरेको स्मरण गर्दै अहिले इनामेलले रङ्ग्याउने गरेको बताउनुभयो ।

नयाँ पुस्ताले सबै सजिलो र राम्रो खोज्न थाल्दा पुराना परम्परा हराउँदै गएको पौडेलको भनाइ छ । पहिले विद्यालयका भवन पनि माटो र काठेले बनेको हुँदा दसैँका बेला माटो र कमिरोको माग निकै हुने गरेकोमा अहिले सबै भवनहरु पक्की बनेकाले त्यसको आवश्यक नपर्ने उहाँ बताउनुहुन्छ ।

पौडेलले भन्नुभयो, “घरभन्दा परको हाम्रो बारीमा सेतो कमेरो पाइन्थ्यो, दसैँका बेला त्यहाँ ठूलो भीड हुन्थ्यो, एक बोरा कमेरो ल्याउन मान्छेले घण्टौँ कुर्नुपथ्र्यो, तर अहिले त्यो ठाउँ पुरौँ झारपातले पुरिएको छ, धेरै वर्ष भयो, यहाँ कोही पनि कमेरो ल्याउन आएका छैनन्, त्यस बेला त स्कुलमा पनि कमेरो लगाउने चलन थियो, विद्यार्थी लाइन लगाएर आउँथे, रमाइलो पनि हुन्थ्यो । तर अहिले विद्यालय पनि सिमेन्टबाट बनेका छन्, त्यही भएर माटो कमेरो चाहिँदैन ।”