`

बाहुनडाँगीबाट मुख्यमन्त्री कार्कीको हात्तीमैत्री पदयात्रा

Nepal One HD १० फागुन २०८० ७:२९
समाचार

विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौँडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरु गर्नुभएको छ ।‘जीव, जनावर, जङ्गल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने नाराकासाथ नेपाल–भारत सीमास्थित मेची खोलाको नेपालतर्फ हात्ती प्रवेश गर्ने नाकाबाट उहाँले पदयात्रा सुरु गर्नुभएको हो ।

हात्तीको परम्परागत जैविकमार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै हात्तीमैत्री पर्या–पर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो । उहाँका अनुसार बाहुनडाँगीबाट सुरु भएको यात्रा यही फागुन १६ गते उदयपुरको बेलसोतमा पुगेर सम्पन्न हुनेछ ।

मुख्यमन्त्री कार्कीले हात्ती र मानवबीचको द्वन्द्व घटाउन र समस्या पहिचान गरी हात्ती संरक्षणका लागि पदयात्रा सुरु गरिएको बताउनुभयो । “मानव र हात्ती दुवैलाई दुःख नहुने गरी समस्या समाधान खोज्न हामी गाउँबस्तीमा आफँै आएका हौँ । छलफल गरेर योजना बनाएर सोही अनुसार बजेट बनाउने छौँ”, उहाँले भन्नुभयो, “यो जीव, जङ्गल, जनावर, मानिस सबैको संरक्षण गर्ने अभियान हो ।”

प्रदेश सरकार हात्तीका कारण जनताले दुःख पाएका स्थानमा पुगेर कसरी मानव र हात्तीबीचको द्वन्द्व दीर्घकालीन रुपमा समाधान गर्न सकिन्छ भनेर स्थलगत अनुगमन गरिरहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । “सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा पुगेर जनताका समस्या सुन्दै अघि बढ्ने, हात्ती संरक्षणको योजना बनाउनेलगायत योजना लिएर अभियानमा लागेका छौँ”, उहाँले भन्नुभयो ।

सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आमनागरिकको सहभागिता छ । मुख्यमन्त्री कार्कीले जैविकमार्गका सात स्थानमा रात्रिकालीन विश्राम गर्नुहुनेछ ।

एसियन हात्ती बर्सेनि भारतको आसामबाट मेचीनदी पार गरी झापाको बाहुनडाँगीका विभिन्न चार स्थानबाट नेपाल प्रवेश गर्दछन् । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभरका हात्ती आवतजावत गर्ने क्षेत्रमा मुख्यमन्त्री कार्कीले पदयात्रा गर्नुहुने तय भएको प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यसक्रममा मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल दुई सय ४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ । चार जिल्लाका विभिन्न २३ स्थानीय तहमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्ने, समस्याबारे प्रत्यक्ष जानकारी लिने मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो ।


प्रतिक्रिया