`

पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख

काठमाडौं । मुलुकमा वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार रहे पनि सरकारले क्षमताको एक तिहाइ कम पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। सरकारले सन् २०२३ मा १० लाख मात्र पर्यटक भित्राउने लक्ष्य राखेकाले होटल व्यवसायीहरू उत्साहित हुन नसकेको बताइरहेका छन्।

‘हामी ३५ लाख पर्यटकलाई सेवा दिन तयार छौं तर सरकार १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भन्दै रमाएर बसेको छ।’ होटल एसोसियसन नेपाल ९हान० का अध्यक्ष विनायक शाहले भने, ‘मुलुकमा पर्यटकलाई सेवा दिन सक्ने क्षमता बढेर कहाँ पुगिसक्यो सरकार भने कोभिड महामारीअघिको पूर्वाधारमा आधारित भई तय गरिएको लक्ष्य बोकेर बसेको छ।’ उनले थपे, ‘यसरी हाम्रो व्यवसाय कसरी चल्छरु’

अध्यक्ष शाहले यो महिना यति पर्यटक आए, कोभिडअघिको जति पुग्न लाग्यो भनेर खुसी भएर बस्ने समय नभएको बताए। उनले अहिले होटल व्यवसायीहरूले वार्षिक ३५ लाख पर्यटकलाई उनीहरूले भनेजस्तै उत्कृष्ट सेवा, सुविधा दिन सक्ने क्षमता वृद्धि गरिसक्दा पनि सरकारले पर्यटनक्षेत्रको आधारभूत अध्ययन गरी त्यसअनुरूपको नीति तथा कार्ययोजना बनाउन नसकेको आरोप लगाए। यसको मतलब महामारीको समयमा सबै विकासका काम, कार्यक्रमहरू ठप्प हुँदा पनि पर्यटनसँग सम्बन्धित पूर्वाधारहरू धमाधम निमार्ण भइरहेका थिए भन्ने हो। छिमेकी मुलुक भारत र चीनबाट अरू मुलुकमा जाने पर्यटकको दुई प्रतिशत मात्र नेपाल भित्र्याउन सकेको भए पर्यटन व्यवसाय धरापमा पर्ने थिएन, अध्यक्ष शाहको तर्क छ। सरकारले कोभिडपछि पर्यटन क्षेत्रको अध्ययन नगरी नीति, योजना तथा कार्यक्रमहरू घोषणा गर्ने हतार गर्दा पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उनले बताए।

सरकारले सन् २०२३ देखि २०३३ सम्म पर्यटन दशक घोषणा गरेको छ। त्यसको नौ महिनाभन्दा बढी बितिसक्दा पनि ठोस कार्यक्रम सार्वजनिक नगरेको हुँदा पर्यटन क्षेत्रमा अपेक्षित सुधार नआएको व्यवसायीहरूको बुझाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।

विदेशबाट मतदाता बन्न विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० मा यस्तो व्यवस्था गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यविधिको मस्यौदामाथि सुझावका लागि खुला गरिएको जानकारी दिँदै कात्तिक मसान्तभित्र आएका सुझावमाथि छलफल गरेर अन्तिम रूप दिने बताउनुभयो । मस्यौदामा रहेको व्यवस्था परिमार्जन वा सुधार्न नेपाली नागरिक, गैरआवासीय नेपाली सङ्घ तथा अन्य सरोकारवालालाई आग्रह गरिएको छ ।

मस्यौदाको अनुसूची १ मा स्वघोषणाको व्यवस्था गरिएको छ । जसबमोजिम नामावली दर्ता गर्ने क्रममा आफू नेपाली नागरिक रहेको र नेपालको नागरिकता त्याग गरेको तथा रद्द नभएको स्वघोषणा गर्नुपर्ने छ । विदेशमा रहेका नेपाली नागरिकले मतदानको अधिकार पाउनुपर्ने मागलाई सम्बोधन गर्न आयोगले पहलकदमी लिँदै कार्यविधि बनाएर नामावली दर्ता गर्ने तयारी गरेको छ । प्रवक्ता पौडेलले भन्नुभयो, “पहिलो चरणमा विदेशस्थित कूटनीतिक नियोगको सहयोग र समन्वयमा नामावली दर्ता गर्ने काम हुने छ ।”

कार्यविधिले गरेको प्रस्तावबमोजिम मतदाता नामावली दर्ता गर्ने प्रयोजनका लागि कूटनीतिक नियोगको कार्यालयमा दर्ता स्थल राखिने छ । नियोगले नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोक्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने छ । नियोगमा कार्यरत कर्मचारीमध्ये अधिकृत स्तरको कर्मचारीलाई नाम दर्ता अधिकारी र सहायक स्तरको कर्मचारीलाई दर्ता कर्मचारी तोक्नुपर्ने छ । नियोगले नियुक्त गर्ने कर्मचारीलाई आयोगले प्रशिक्षण दिने छ ।

नाम दर्ता गर्न आवश्यक दर्ता सामग्री भने आयोगले नै व्यवस्था गर्ने छ । अन्य व्यवस्थापकीय कार्य भने परराष्ट्र मन्त्रालयले गर्ने छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र त्यस्तो विषयमा आवश्यक निर्देशन दिन, समन्वय तथा अनुगमन गर्न आयोगका सचिवको संयोजकत्वमा छ सदस्यीय समितिको व्यवस्था गरिएको छ । सो समितिले नामावली दर्ता सहजीकरण गर्नुका साथै नीतिगत निर्णय गर्नुपरेमा आयोगसमक्ष सिफारिस गर्ने छ ।

प्रवक्ता पौडेलका अनुसार कार्यविधि स्वीकृत भएपछि आयोगले बढी चाप हुने राष्ट्रलाई पहिलो प्राथमिकतामा नामावली दर्ता गर्ने छ । आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, मतदाता नामावली दर्ता तथा अद्यावधिक र निर्वाचन शिक्षा कार्यविधिमाथि सुझाव तथा टिप्पणीका लागि परराष्ट्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको थियो । प्रवक्ता पौडेलका अनुसार तीन वटै मन्त्रालयबाट सुझाव र सहमतिसहितको कार्यविधि आइसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

आज विश्व हात धुने दिवस,साबुनपानीले मिचीमिची हात धुने बानीले रोगबाट पनि बच्न सकिने

काठमाडौँ, २८ असोज : आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।

चिकित्सकहरुका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ ।जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस)जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो । साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने बताइएको छ ।

साउदीमा आवासीय अनुमतिपत्र नपाउँदा नेपाली कामदार समस्यामा

दोहा । साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने गरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन् ।

२२ महिनाअघि साउदी पुगेका नवीन नेपालीलाई पनि कम्पनीले अकामा नबनाइ दिएपछि नेपाली दूतावास रियादका अवैधानिक प्रतिनिधि तथा एनआरएन आईसीसी सदस्य विशालकुमार श्रेष्ठको सहयोगमा एक साताअघि उनी नेपाल फर्किएका थिए ।

सन २०२० मा साउदी पुगेका उनलाई कम्पनीले ६ महिनाको अकामा बनाइदिएको थियो । अकमा सकिएपछि कम्पनीले नवीकरण नगरेपछि उनी गैरकानुनी हैसियतले सोही कम्पनीमा १६ महिनादेखि काम गरिरहेका थिए ।

उनी गत १ सेप्टेम्बरमा दूतावास रियादबाट बहिर्गमन भिषाको सिफारिस लिएर ११ सेप्टेम्बरका दिन दूतावासका अवैधानिक प्रतिनिधि श्रेष्ठको सम्पर्कमा पुगेका थिए र सोही दिन बुरैदास्थित श्रमिक अदालतमा बहिर्गमन भिषाका लागि निवेदनको र एक्जिट भिषा प्राप्त गरी नेपाल फर्काउन सफल भएको गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमले जनाएको छ ।

अहिले कम्पनीहरुले अकमा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपाली दाजुभाइलाई बाहिर हिडडुल गर्न समस्या भएको जनाइएको छ ।

आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन बन्चित हुनु पर्ने, प्रहरीले पक्राउ गरी जरिवाना गराउने लगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेको एनआरएनए क्षेत्रीय समन्वय समिसित अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले बताए ।

साथै, यस्ता घटनाहरुलाई कम गर्न दूतावास रियादले साउदी अरबमा कार्यरत रहेका नेपाली दाजुभाइलाई कम्पनीने आफूले पाउने सुविधाबाट बञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो खोजी आफ्नो अधिकार लिन अनुरोध गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

स्थानीयको विभिन्न माग र अवरोधका कारण केही समय बन्द रहेको सुरुङ मार्ग निर्माण पुनः सुरु

काठमाडौं । स्थानीयको विभिन्न माग र अवरोधका कारण केही समय बन्द रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ । सुरुङ मार्गको पूर्वी पोर्टल क्षेत्रका स्थानीयहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच सहमतिपछि निर्माण कार्य पुनः सुरु भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणका क्रममा सुरुङ मार्गको पूर्वी पोर्टको ८३ मिटरमाथि खाडल पर्दा क्षति भएको नौ वटा घरलाई अस्थायी स्थान्तरण गर्ने सहमति भएको बताउँदै सहमतिसँगै शनिबारदेखि सुरुङको काम पुनः सुरु भएको जानकारी दिए । उनका अनुसार पीडित पक्ष, त्यस क्षेत्रका सङ्घीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको रोहबरमा निर्णय भएपछि आयोजनाको काम सुरु भएको हो ।

सो सुरुङ मार्ग आयोजना क्षेत्रका आमनागरिकको समस्यालाई यथाशीघ्र सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भएको निर्देशन बमोजिमसमेत स्थानीयसँग सहमति भएको मन्त्री ज्वालाले स्पष्ट पारे ।

उनले भने, “सुरुङ मार्ग निर्माणका क्रममा उत्पन्न भएका समस्याहरूलाई समाधान गर्न सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा समिति गठन गरिएको छ । सुरुङमार्ग निर्माण स्थलमा कसरी खाडल प¥यो ? त्यहाँका अरू कति निजी घरहरूमा केकस्ता क्षति पुगेका छन्, त्यसका कारण पत्ता लगाउन र पीडितहरूलाई स्थानान्तरणको व्यवस्था गर्न समिति गठन गरिएको छ ।”

त्यसै गरी आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णयसमेत भएको मन्त्री ज्वालाले बताए । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग समन्वय गरेर तत्काल समस्या सामधान गर्ने निर्णय भएको मन्त्री ज्वालाले बताए ।

मन्त्रीले ज्वालाले काम सुरु भएपछि अबको एक महिनाभित्र सुरुङमार्गको मुख्य टनेल छिचोल्ने गरी कामलाई तीव्रता दिन आयोजना प्रमुुखलाई निर्देशन पनि दिए । मुख्य टनेल अब करिब सय मिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कोशीको झट्काले सत्ता गठबन्धनमा संशय

काठामडौं । कोशी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ । कोशीको यो झट्काले माओवादी केन्द्रको नेतृत्वमा बनेको संघीय गठबन्धन सरकार १० महिना पुग्दानपुग्दै परिवर्तन हुने स्थिति देखापरेको हो । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला पक्षका केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिन नयाँ सहमति गर्नुपरेको छ ।

कोशीमा भएको राजनीतिक धु्रवीकरणको बाछिटाले संघीय सरकार प्रभावित हुने देखिएपछि दाहालले सत्ताको प्रमुख घटक कांग्रेसका दुई नेताहरू शेरबहादुर देउवा र कोइरालासँग यही गठबन्धन र सरकारलाई निरन्तरता दिने सहमति गर्नुपरेको हो ।

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रको समेत समर्थन रहेको जनाउँदै दाहालले प्रधानमन्त्री पद जोगाउन कांग्रेसका दुई नेतालाई बोलाएर यस्तो सहमति गरेका हुन् ।

गठबन्धन दलको बुधबारको बैठकले कोशी को मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । तर कांग्रेस नेता कोइरालाले गठबन्धन दलको निर्णय अस्वीकार गर्दै कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न लगाए । कोइरालाको चाहनाअनुसार नै कार्की मुख्यमन्त्री बनेपछि त्यसले कोशी प्रदेशको राजनीतिक समीकरण मात्र होइन, संघीय सरकारको समीकरणमा पनि धक्का पुग्ने आकलन हुन थालेको छ ।

‘कोशीमा नेपाली कांग्रेसले आफ्ना सांसदलाई एक बनाउन नसकेपछि संघीय सरकारको आयु पनि कम हुन्छ भन्ने महसुस हामीलाई भयो’, माओवादीका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार यसले संघीय सरकार दाहालको नेतृत्वमा लामो समय रहँदैन भन्ने संकेत गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का

काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल एमालेको मुख्य सहयोगमा मुख्यमन्त्री बनेका कांग्रेस नेता केदार कार्कीलाई गठबन्धन दलका शीर्ष नेताहरूले नै विश्वासको मतका साथ सहयोग गरेर जाने निर्णय लिएसँगै एमालेको रणनीति फिक्का भएको हो ।

गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसभित्र उद्धव थापाको विकल्पमा माओवादीलाई मुख्यमन्त्री दिने निर्णयसँगै कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइराला समूहले कोशी प्रदेशमा एमालेसँगको सहकार्य रोजेर कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएका थिए ।

कार्की मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच सहमति भएको छ । नेताहरूले सहमति पत्रमा उल्लेख गरेका छन्– ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं । यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’

सत्ता गठबन्धनका तीन नेताहरूले कोशीमा मुख्यमन्त्री नियुक्तिको विषयले गठबन्धन कमजोर नहुने स्पष्ट पारेका छन् । एमालेले सत्ता गठबन्धनमा फुटको विजारोपण कोशीबाट गरेको चर्चा चलिरहँदा प्रचण्ड, देउवा र शेखर कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेपछि एमालेको रणनीतिमा फिक्कापन देखिएको कतिपय नेताहरूले बताउने गरेका छन् ।

तीन नेताको सहमतिलगत्तै शनिबार प्रधानमन्त्री ‘प्रचण्ड’ले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोशीका मुख्यमन्त्री गठबन्धनकै मुख्यमन्त्री भएको बताए । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

उपराष्ट्रपति यादवद्वारा विश्व हात धुने दिवसको शुभकामना

कामठाडौँ, २८ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विश्व हात धुने दिवस’, २०२३ को अवसरमा सम्पूर्ण नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन् २००८ यता विश्वभर हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाइन्छ ।

उहाँले शुभकामना सन्देशमार्फत साबुनपानीले हात धुँदा पखाला र निमोनियाको जोखिम कम हुनुका साथै गम्भीर रोग र अनाहकमा मुत्यु हुनबाट पनि जोगाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ । साबुनपानीले हात धुँदा इन्फ्लुएन्जा र कोभिड–१९ लगायत अन्य सङ्क्रमण र भाइरसको विस्तारलाई पनि रोक्ने उहाँले बताउनुभयो ।

यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो । जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो ।

साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउँदछ । खाना पकाउनुअघि र पछि, खाना खानुअघि र पछि, शौचालय गएपछि, नाक–मुख–आँखा छोएपछि, खोक्दा वा हाछयुँ गर्दा हातले छोपेपछि हात धुने स्वस्थ बानी सबैले बसाल्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले अधिकांश अवस्थामा सङ्क्रमण मानिसको हातकै माध्यमबाट हुने गरेको उल्लेख गर्दै एक व्यक्तिबाट अर्कोमा विषाणु सर्ने प्रमुख माध्यम पनि हात नै भएकाले विद्यालय, कार्यालय, सार्वजनिकस्थल, यातायात, चर्पीआदिको प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात सफा गर्नुपर्ने बताउनुभएको छ । यो दिवसलाई साबुनपानीले हातधुने बानी बसाल्ने प्रण र सङ्कल्प लिने दिवसका रूपमा सबैले लिनुपर्ने उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सम्पन्न भए, मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सिङ्गो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकासदेखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भोटको राजनीतिका कारण विकास निर्माणलाई असर गर्न नहुनेमा जोड दिनुभयो । विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।उहाँले कर्णालीको विकासमा देखिएका समस्या र समाधानका उपाय खोजीमा देखिएका कमी-कमजोरी सच्याएर काम गरे अबको १०–१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने बताउनुभयो । वर्तमान परिप्रेक्ष्यमा विकास निर्माणमा असर पार्ने गरी कसैले राजनीति गरे त्यो राजनीति नभई जनतामाथिको बेइमानी हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।उहाँले प्रादेशिक औद्योगिकग्रामको काम पनि चाँडै सुरुआत हुने जानकारी दिनुभयो । उपप्रधानमन्त्री खड्काले हालको सुर्खेत विमानस्थलले भविष्यको जनघनत्वको चाप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठूलो विमानस्थलका लागि अहिलेदेखि नै पहल गर्नुपर्ने आवश्कता औँल्याउनुभयो ।

ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ई–स्पोर्टमा राज्यले लगानी गनुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्र्थी सङ्घ काठमाडौँ शाखाले शनिवार यहाँ आयोजना गरेको ई–स्पोर्टस (पब्जी मोबाइल) प्रतियोगिताको समापन खेलका अवसरमा महामन्त्री थापाले विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसलाई राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“यो युग विज्ञान र प्रविधिको युग हो, युवाको रोजाइमा रहेको विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय ई–स्पोर्टसप्रति नयाँ पुस्ताको सहभागिता बढेकाले नेविसङ्घ काठमाडौँले यसलाई अगाडि बढाएकोमा धन्यवाद दिनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नेविसङ्घले युवाबीचमा लोकप्रिय पब्जी प्रतियोगिता आयोजना गरेर सराहनीय काम गरेको बताउनुभयो । उहाँले पब्जी खेलको महत्व विस्तारै समाजले बुझ्दै गएको उल्लेख गर्नुभयो ।

कूल १६ टिम रहेको उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश ः रु एक लाख ४० हजार, रु ९० हजार र रु५० हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको नेविसङ्घ काठमाडौँका अध्यक्ष मनिष डङ्गोलले जानकारी दिनुभयो ।

आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौँ, २८ असोज : आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।नौ दिन नौ दुर्गाको पूजानवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।वडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । आगामी कात्तिक ४ गते बिहान ९ बजेर ३५ मिनेटमा फुलपातीको साइत रहेको समितिले जनाएको छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमानवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ ।कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ ।विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ । 

हेर्नुहोस् असोज २८ गते आइतवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मनसुन बाहिरन अझै केही दिन लाग्ने

काठमाडौँ – बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन शनिवारदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भवना रहेकाले तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइ सक्न मौसमविद् प्रतिमा मानन्धरको भनाइ छ ।

उहाँका अनुसार पूर्वबाट मनसुन बाहिरन अझै केही दिन लाग्ने भएकाले बुधबार पछिबाट मात्रै मौसममा सुधार हुने बताउनुभयो । नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ । सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भए पनि आज अक्टोबर १४ तारिख भइसक्दा मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन । पानी नपरेका कारण वायुमा प्रदूषण र कणहरु बसेकाले दिउँसोपख आकाश खुले पनि बिहान÷बेलुका धुम्म हुने मौसमविद् गोविन्द झाको भनाइ छ ।

निकुञ्ज विस्थापितको पुनःस्थापनाका लागि गठबन्धन सरकारले काम गर्छ : अध्यक्ष नेपाल

कञ्चनपुर, २७ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारलाई पुनःस्थापना गर्ने काम वर्तमान गठबन्धन सरकारले अगाडि बढाउने बताउनुभएको छ ।

आज मेची-महाकाली जागरण अभियानका क्रममा विस्थापित परिवार बस्दै आएको ढक्का शिविरमा आयोजित छलफलमा उहाँले लामो समयदेखि बल्झिएको समस्या समाधान गर्नका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।

“हाम्रो पार्टी पनि गठबन्धन सरकारमा छ”, उहाँले भन्नुभयो, “अभियान कार्यक्रम सकेर काठमाडाँै फर्केपछि यसबारे प्रधानमन्त्रीसमक्ष समस्या समाधान हुने गरी कुरा राख्छु ।” वर्तमान गठबन्धन सरकारले निकुञ्ज विस्थापित परिवारलाई न्याय हुने गरी पुनःस्थापना गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले दुई दर्जनभन्दा बढी आयोग बने पनि समस्या समाधान हुन नसकेको गुनासो गर्नुभयो । “देशमा सङ्कटकाल घोषणा भएका बेला विस्थापनमा पारिएको हो”, उहाँले भन्नुभयो, “द्वन्द्वपीडित घोषणा गरी क्षतिपूर्तिसहित न्यायिक ढङ्गले विस्थापनमा परिएका दुई हजार चार सयभन्दा बढी परिवारलाई पुनःस्थापन गरिनुपर्छ ।” उहाँले बिस्तापितलाई घर, जग्गा र रोजगारी दिनुपर्ने माग पूर्वप्रधानमन्त्री नेपालसमक्ष राख्नुभयो ।

अभियानका क्रममा झलारी बजारमा आयोजित कोणसभामा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य रामकुमार भटराईले रोजगारीसहित समाजवाद उन्मुख देशको परिकल्पना पार्टीले गरेकाले युवाहरूलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गरिनुपर्ने बताउनुभयो ।

“कृषि प्रधान देश भन्छौँ”, उहाँले भन्नुभयो, “अर्बौँको चामल, तरकारीलगायत बाह्य देशबाट आयात गर्दै आएका छौँ ।” कृषिजन्य वस्तु बाह्य क्षेत्रबाट निर्यात गर्ने काम रोक्नका लागि स्वदेशमै कृषि उत्पादन बढाउन सरकारले स्पष्ट रोजगारसहितका योजना ल्याउनुपर्ने उहाँले जोड दिनुभयो । भ्रष्टाचारका कारण देश पछाडि परेको भन्दै उहाँले यसलाई उन्मूलन गर्नका लागि नियमनकारी निकायले कठोररूपमा अगाडि बढ्नपर्ने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य उषा पौडेलले निर्मला हत्या प्रकरणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउनुपर्नेमा जोड दिनुभयो । पार्टीका जिल्ला इन्चार्ज लालबहादुर खड्काले जिल्लामा निकुञ्ज विस्थापित, मुक्त कमैया, मुक्त हलिया पुनःस्थापना, नदी कटान ठूलो समस्याको रूपमा रहेको उहाँको भनाइ थियो ।अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको काम भइरहेको उल्लेख गर्नुहँुदै उहाँले जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउँदा लाग्ने राजस्व निकै बढी भएकाले त्यसलाई घटाउनुपर्नेमा जोड दिनुभयो ।

भारत र श्रीलङ्काबीच ४० वर्षपछि डुङ्गा सेवा पुनः सञ्चालन

नयाँदिल्ली – भारत र श्रीलङ्काले ४० वर्षपछि डुङ्गा सेवा शनिबारदेखि पुनः सञ्चालन गरेका छन् ।भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलङ्काको उत्तरी प्रान्तको जाफना नजिकै कान्केसानथुराईबीच यो सेवा सुरु गरिएको हो ।

भारतका बन्दरगाह, पानीजहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नागापट्टिनम बन्दरगाहमा सेवा सञ्चालन खुला भएको सङ्केतस्वरूप डुङ्गालाई हरियो झण्डा देखाएर डुङ्गामा आएका यात्रीलाई स्वागत गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रीलङ्काका राष्ट्रपति, सरकार र त्यहाँका जनतालाई नौका सेवाको सफल शुभारम्भका लागि धन्यवाद दिनुभएको थियो । उहाँले भारतको रामेश्वरम र श्रीलङ्काको तलैमन्नारबीच नौका सेवा पुनः सञ्चालन गर्ने दिशामा काम गर्नेबारे पनि चर्चा गर्नुभयो ।

सिपिङ कर्पोरेसन अफ इन्डियाले सञ्चालन गरेको उच्च गतिको डुङ्गाको क्षमता १५० यात्रु रहेको छ । नागपट्टिनम र कान्केसानथुराईबीचको करिब ६० नटिकल माइल (११० किलोमिटर) को दूरी समुद्रको अवस्थाअनुसार करिब ३.५ घण्टामा पूरा हुने अधिकारीहरूले बताएका छन् ।

पचास यात्रु लिएर श्रीलङ्काका लागि छुटेको ‘चेरियापानी’ जहाज साँझपख श्रीलङ्काबाट यात्रु लिएर भारत फर्कने छ ।

बाँझो जग्गाको उपयोग गरी उत्पादन बढाउन गौरवका योजना जरुरी : मन्त्री भुसाल

जनकपुरधाम, २७ असोज : कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले सिँचाइसम्बन्धी पूर्वाधार, मलको व्यवस्थापनमा ध्यान दिन नसक्दा मुलुक कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्न नसकेको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले कृषिजन्य उत्पादन बढाउन बाँझो जग्गाको उपयोग गरी आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले कृषि क्षेत्रलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउन आवश्यकता रहेको औँल्याउनुभयो । “अन्य क्षेत्रतिर ठूला–ठूला गौरवका आयोजना छन् तर कृषिको आधुनिकीकरणका लागि आवश्यक पूर्वाधार निर्माण र अत्यावश्यक कुराको विकासका लागि ध्यान दिन सकिएको छैन । अब त्यसैका लागि प्रयत्न गर्न जरुरी छ । वर्तमान सरकार कृषिमा दीर्घकालीन महत्वका योजना निर्माण गर्ने गरी अगाडि बढेको छ”, भुसालले भन्नुभयो ।

उहाँले सरकारले वितरण गर्ने कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन आफू सचेत रहेको पनि बताउनुभयो । वास्तविक किसानसमक्ष अनुदान पुग्न नसकेको विषयमा कुनै सत्यता नभएको तर प्रमाण भेटिए त्यसमा संलग्न कर्मचारी एवं बिचौलियालाई कारबाही गर्न आफू तयार रहेको उहाँको भनाइ छ ।

मनाङ एयरका पाइलट सेढाईँलाई थप उपचारका लागि भारत लगिने

काठमाडौँ २७ असोज : आज भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पाइलट प्रकाश सेढाईँलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ ।

सेढाईँको उपचार भइरहेको ह्याम्स अस्पतालले आज साँझ विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको हो । अस्पतालका अनुसार आज राति विमानमार्फत थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

आज बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईँलाई उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो । उहाँको उपचार इमर्जेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डा सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेखे छ ।

“उहाँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उहाँको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ”, विज्ञप्तिमा भनिएको छ ।हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा दुर्घटना भएको थियो ।

योगाभ्यासले काम कारबाहीलाई परिणाममुखी बनाउन सहयोग गर्छ – उपप्रधानमन्त्री श्रेष्ठ

काठमडौँ, २७ असोज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव जीवनलाई तनावमुक्त बनाई दैनिक काम कारबाहीलाई परिणाममुखी बनाउन योग र ध्यानले विशेष सहयोग पु¥याउने बताउनुभएको छ ।

गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आज आयोजित एक दिवसीय ‘स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला’ उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले जीवनलाई गतिशील बनाउनका लागि सबैले योगाभ्यास गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत, गृह मन्त्रालयका सहसचिव तथा गृहमन्त्रालय मातहत पदाधिकारी र कर्मचारीको सहभागिता थियो । गृहमन्त्री श्रेष्ठको निर्देशनमा हाल काठमाडौँ उपत्यकाभित्रका गृह मन्त्रालय मातहतका कार्यालयमा दैनिक योगाभ्यास सुरु गरिएको छ ।

पितृपक्ष आजबाट समाप्त

काठमाडौँ, १३ असोज : यही असोज १३ गतेदेखि आरम्भ भएको पितृपक्ष आजबाट समाप्त भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यसबीचको समयलाई सोह्रश्राद्ध अर्थात् पितृपक्ष भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूला काम गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन छ । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छाड्न नहुने धार्मिक मान्यता छ ।

कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ । यो समयमा पनि कारणवश सोह्रश्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो ।

पितृ पक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

‘सबैले देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक’ – महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ, २७ असोज : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैले देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक रहेको बताउनुभएको छ ।

बडादसैँ, दीपावली र छठपर्वको उपलक्ष्यमा नेकपा (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित शुभकामना आदान–प्रदानका अवसरमा उहाँले भन्नुभयो, “विकासका हिसाबले देश धेरै बनाउन बाँकी छ, देश लोकतान्त्रिक गणतन्त्रको बाटोबाटै बनाउने हो । आलोचना गर्दै साथ लिँदै हिँड्ने हो, यो देश बन्छ, बनाउन सकिन्छ । देश केही बनेको छैन भन्ने होइन, देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक छ ।”

उहाँले नेपाल सतिको श्राप परेको नभइ भगवान् गौतमबुद्धको आशीर्वाद परेको देश भएकाले विकास पथमा लैजान सकिने थ्रुप्रै सम्भावना रहेको बताउनुभयो । विगतमा देशमा भएका राम्रा र नराम्रा दुवै पक्षको साझा जिम्मेवारी नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतले लिनुपर्नेमा जोड दिँदै उहाँले पुरानाको दिन गए भन्दै गर्दा धर्मशास्त्र र धर्ती पुरानै हुन् भन्ने पक्षलाई ख्याल गरी आफ्नो उपस्थितिमा नयाँ ऊर्जा र नयाँ संस्कृति देखाउन सक्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

मुलुकको राजनीति बदल्ने अठोट र सङ्कल्प गरेमा सबैभन्दा ठूलो योगदान झापालीले गर्न सक्ने बताउँदै उहाँले खेलकुददेखि जेलसम्ममा झापालीको बलियो उपस्थिति रहेकाले चतुर्याइँ मात्रै होइन, वैचारिक, संयमता र परिपक्वता प्रस्तुत गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली नागरिक महत्वपूर्ण पर्व दसैँ पर्खिरहेका बेला विदेशी भूमिमा ज्यान गुमाएका आफन्तको लास कुरिरहेको अवस्था रहेको घटना सुनाउँदै महामन्त्री शर्माले भन्नुभयो, “नेपाली कुनै पनि द्वन्द्वमा नपरुन्, धरानको जस्तो परिघटना नभइदिओस्, मलङ्गवा नदोहोरियोस्, नेपालगन्जले सदभावको सहरको पहिचान कायम राखोस् ।”

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले मुलुक परिवर्तनका बाहक वामपन्थी र लोकतन्त्रवादी शक्ति परिवर्तन हुन नसकेकाले सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि स्थापित गरेर अघि बढ्न अनेकखाले चुनौती खडा भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तनपछि दुवै शक्ति कक्रक्क अवस्थामा छन्, रुपान्तरणमा कठिनाइ भइरहेको देखिन्छ । अब सबैलाई मान्य हुने काम गर्नेतर्फ हाम्रा कदम अघि बढ्नुपर्छ ।”

नेकपा (माले)का महासचिव सिपी मैनालीले परिवर्तन, रुपान्तरण र सुशासनका नारा जति घन्किए पनि झन्–झन् ठूलो भ्रष्टाचार र महँगीको मारमा नेपाली जनता परेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “क्षमता भएका र देशलाई काम लाग्ने युवा विदेश जान बाध्य छन्, मुलुकमा कस्तो परिवर्तन गरौँला भन्ने सोच राखेर आन्दोलन गरिएको थियो, अहिले हामीकहाँ बजारियौँ । यस्तो दिन आउला भनेर लडेको हो र ?”

मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण : नवनियुक्त मुख्यमन्त्री कार्की

मोरङ, २७ असोज : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशसभा सदस्यहरूकाे सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधार (५) अनुसार निर्माण भएको यो सरकारप्रति नेपाली कांग्रेसले सकारात्मकरूपमा लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधान, ऐनअनुसार मुख्यमन्त्रीलाई प्राप्त अधिकारअनुसार जनताको हितका लागि काम गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले शपथग्रहणपछि मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो ।

थापाद्वारा राजीनामा
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ । नेता थापाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकार निर्माणमा विकसित भएको घटनाक्रमका कारण नैतिकरूपमा दलका नेताका रूपमा बस्न उपयुक्त नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिनुभयो ।

नेता थापाले प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिँदै आगामी दिनमा पार्टीको निरन्तर साथ रहने बताउनुभयो । प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले गठबन्धनलाई कुनै असर नपुग्ने र प्रदेशमा गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उहाँको भनाइ थियो ।यसअघि आजै बसेको प्रदेश कांग्रेसको संसदीय दलको बैठक बसेको थियो । बैठकमा २९ जना प्रदेशसभा सदस्यमध्ये १९ जना उपस्थित हुनुहुन्थ्यो ।

देशको समृद्धिका लागि सबैदल एकजुट हुनुपर्ने – शङ्कर भण्डारी

दमौली (तनहुँ), २७ असोज : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस व्यास नगर समितिले बडादसैँका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अहिलेको मुख्य कार्यभार देशको विकास र समृद्धि भएकाले यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

नेता भण्डारीले अन्य कुरामा राजनीतिक दलबीच मतभेद भए पनि विकास र समृद्धिका पक्षमा सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै दलबीच एकता अहिलेको आवश्यकता हो । अहिलेसम्म जेजे भयो यसको जिम्मा सबै दलले लिनुपर्छ र एक भएर नागरिकका पक्षमा काम गर्नुपर्छ ।”

नेता भण्डारीले देशमा धर्म र संस्कृतिमाथि प्रहार हुन थालेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । धर्म संस्कृति मासिए देश खतरामा पर्ने बताउँदै धर्म र संस्कृतिको रक्षाका लागि सबै नेपालीबीच एकताको खाँचो रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेकपा (एमाले) व्यास नगर कमिटीका अध्यक्ष तुल्सीराम पाण्डे, नेकपा (माओवादी) केन्द्रका संयोजक रामचन्द्र सापकोटा, नेकपा (एकीकृत समाजवादी) का संयोजक मङ्गलप्रसाद श्रेष्ठले विकास निर्माणमा सबै दलबीच एकता आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

दसैँ नजिकिएसँगै हवाई यात्रुलाई टिकट पाउन समस्या

हुम्ला, २७ असोज : वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो ।

सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आउनुभएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताउनुभयो । उहाँले ११ दिनदेखि नेपालगञ्ज जाने टिकट पाउन नसकेको गुनासो गर्नुभयो । दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि टिकट सकिएको जवाफमात्र पाउने गरेको उहाँको भनाइ थियो ।

यहाँबाट नेपालगञ्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । सीता, तारा र नेपाल एयरलाइन्सले हप्तामा एकदेखि चार उडान मात्र भर्ने गरेका छन् ।

राष्ट्रपति रनिङशिल्ड बालमन्दिर माविलाई

हुम्लाको सिमकोटमा भएको गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बालमन्दिर माविले स्वर्णपदकसहित विजेता भएको छ । बालमन्दिरले १३ स्वर्ण, आठ रजत र २३ कास्यपदक जित्दै कूल ९३ अङ्क प्राप्त गरी प्रथम भएको हो ।

मानसरोवर माविले १० स्वर्णसहित ९७ अङ्कका साथ द्वितीय भएको छ भने कैलाश माविले एक स्वर्णसहित प्रतियोगितामा तृतीय भएको छ ।

आयोजक कर्णाली माविका प्रधानाध्यापक रामराज शाहीले भलिबलमा छात्रातर्फ मानसरोवर मावि प्रथम भएको छ भने बालमन्दिर मावि द्वितीय र रामदेव मावि तृतीय भएको जानकारी दिनुभयो । उहाँका अनुसार भलिबलतर्फ छात्रको प्रतियोगितामा बालमन्दिर मावि पहिलो, कर्णाली मावि द्वितीया र मानसरोवर मावि तृतीय भएका छन् ।

गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र उपाध्यक्ष सुशीला रोकाया भामले विजेता छात्रछात्रालाई पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । पाँच दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सिमकोटका सात माविको सहभागिता थियो ।

बिपीका विचार नमान्दा पार्टी कमजोर भएको नेता कोइरालाको गुनासो

काठमाडौँ, २७ असोज : नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण काङ्ग्रेस अरु पार्टीभन्दा बलियो रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस र नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले पछिल्लो समय काङ्ग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताउनुभयो ।

“बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अङ्गालेमा काङ्ग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन,” नेता कोइरालाले भन्नुभयो । उहाँले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काङ्ग्रेसका नेता दीलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान काङ्ग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि काङ्ग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला र लक्ष्मी खतिवडाले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्ति लागेको भन्दै सचेत भएर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । काङ्ग्रेस लमजुङका सभापति डा टकराज गुरुङ र पूर्व सभापति भेषबहादुर पौडेलले लमजुङमा पार्टीलाई विजय बनाउन काठमाडौँमा बसोबास गर्ने कार्यकर्ताको ठूलो भूमिका रहेको बताउनुभयो ।

संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व सहायकमन्त्री डा रामचन्द्र अधिकारी, काङ्ग्रेस गण्डकी प्रदेशका सङ्गठन विभाग प्रमुख हरि बराल, नेविसङ्घका पूर्व कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष डिवी पराजुलीलगायतले लमजुङमा अग्रजले गरेको त्यागलाई आत्मासाथ गर्दै काङ्ग्रेसको सङ्गठन विस्तारमा जुट्नुपर्ने बताउनुभएको थियो ।

नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, सचिव रमेश अधिकारीलगायतले पार्टीभित्र युवा पुस्तालाई अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

प्रसारण लाइन निर्माणमा सर्लाहीका स्थानीयको अवरोध

काठमाडौँ, २७ असोज : सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीय बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने)मा अवरोध गरेका छन् ।

करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा पाउनुपर्ने, उक्त जग्गालाई बैङ्क तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्नेलगायत माग राखी यही असोज १९ गतेदेखि स्थानीयवासीले लाइनको तार फेर्न दिएका छैनन् ।

नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौँडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब एक सय ३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको हो । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ सहजै प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि सजिलो हुने र देशभित्र खपत गरी जोगिएकोे विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ ।

ढल्केबर सबस्टेसनबाट सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनसम्मको करिब ४० किलोमिटर लाइनमध्ये एउटा सर्किटको करिब ३६ किलोमिटर तार फेरिएको छ । लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब चार किलोमिटर क्षेत्रमा भने काम ठप्प भएको छ । अवरोधका कारण एउटा सर्किट बन्द हुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौंडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित भएको छ ।

तार बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राससलाई बताउनुभयो । “नयाँ प्रसारण लाइन निर्माणमा जताततै अवरोध छ, अब ४०÷४१ वर्षअघि बनेर चालू अवस्थामा रहेको लाइनमासमेत तार फेर्न खोज्दा क्षतिपूर्तिको माग गर्दै अवरोध हुन थालेको छ, यस्तो अवस्थामा काम गर्न कठिन भएको छ । यद्यपि, अवरोध हटाउन हाम्रो तर्फबाट सक्दो प्रयास भइरहेको छ तर त्यो सफल भएको छैन”, कार्यकारी निर्देशक घिसिङले गुनासो गर्नुभयो ।

तत्काल तार फेर्न नसकिए ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ प्रवाह गर्न नसकिने हुँदा आगामी हिउँदमा वीरगञ्जलगायत क्षेत्रमा बाध्यकारी विद्युत्भार कटौती गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यस्तो संवेदनशील लाइनको काममा अवरोध नगरिदिन कार्यकारी निर्देशक घिसिङले सम्बद्ध पक्षसँग आग्रह गर्नुभएको छ ।

आयोजना प्रमुख राजेन्द्र कोइरालाले अवरोधका विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, लालबन्दी नगरपालिका प्रमुख, प्रहरी प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, स्थानीय बासिन्दासँग पटक–पटक छलफल भए पनि समस्या समाधान हुन नसकेको बताउनुभयो । स्थानीयले आफ्ना माग पूरा नभएसम्म उनीहरुलाई जग्गामा टेक्नै नदिने चेतावनी दिएकाले समस्या बल्झिएको उहाँले दुःखेसो गर्नुभयो ।

एक सय ३२ केभी प्रसारण लाइनको मध्यविन्दुबाट दायाँबायाँ नौ÷नौ मिटर मार्गधिकार तोकिएको छ । बैङ्क तथा वित्तीय संस्थाले उक्त मापदण्डभन्दा विपरीत ५० मिटरसम्म पर्ने जग्गाको धितो नलिने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

सिजनमै हेलिकोप्टर दुर्घटनाले निराशमा पर्यटन व्यवसायी, मनाङ एयर निलम्बनमा

काठमाडौँ, २७ असोज : मनसुन सकिएर पर्यटकीय सिजनको सुरुआतमा आज भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकोप्टर दुर्घटनाले व्यवसायीलाई निराशा बनाएको छ ।

व्यवसायीहरु असोज-मङ्सिरमा पदयात्रा र आरोहणका लागि पर्यटक बढ्ने भएकाले यसअवधिलाई ‘पिक सिजन’का रुपमा लिन्छन् । “सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले यात्रुको सङ्ख्या पक्कै पनि कम हुन्छ”, सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले भन्नुभयो, “विशेषगरी यस समयमा हेलिकोप्टरको प्रयोग उद्धार उडानका लागि हुन्छ, यो घटनाले व्यवसायमा पक्कै पनि असर पर्छ ।”

उहाँका अनुसार हेलिकोप्टरको वर्षभरी हुने कूल आम्दानीको ३० प्रतिशत यही सिजनमा हुन्छ । “वैशाख–जेठमा ३० प्रतिशत र यस सिजनमा ३० प्रतिशत बिजनेश हुन्छ”, उहाँले भन्नुभयो, “बाँकी बिजनेश अफ सिजनमा हुन्छ ।” यस सिजनमा सगरमाथा क्षेत्रमा पदयात्रा र पर्वतारोहण गर्ने पर्यटकले हेलिकोप्टर बढी प्रयोग गर्ने उहाँको भनाइ छ ।

सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले मुलुकको हवाई क्षेत्रमा नकारात्मक असर परेको हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलको भनाइ छ । उहाँले भन्नुभयो, “मुख्य पर्यटकीय सिजन सुरु भएकाले यतिबेला हेलिकोप्टर पाउनै मुस्किल छ । मौसम सफा भएकाले हेलिकोप्टरको ‘मुभमेन्ट’ बढी भइरहेको समयमा भएको हेलिकोप्टर दुर्घटनाले नकारात्मक सन्देश गएको छ ।”

यतिखेर लुक्लाबाट हिमाली क्षेत्रमा जाने यात्रुको मुख्य साधन नै हेलिकोप्टर बनेको छ । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लुलगायत क्षेत्रमा हेलिकोप्टरको प्रयोग भइरहेको छ । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक एवं हेली एभरेष्टका उपाध्यक्ष मिङ्मा शेर्पा पनि सिजनमा हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताउनुहुन्छ ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा आज बिहान ७ः२४ बजे दुर्घटनामा परेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार दुर्घटनामा घाइते हेलिकोप्टर पाइलट प्रकाशकुमार सेढाईँको हाल काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । दुर्गम क्षेत्रमा सामान ढुवानी गर्न तथा हिमाली क्षेत्रमा पर्यटक ओसारपसारमा समेत हेलिकोप्टरको प्रयोग बढ्दो छ ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार नेपालमा हाल निजी क्षेत्रका १२ वटा हेलिकोप्टर कम्पनीका ३० वटा हेलिकोप्टर व्यावसायिक उडानमा छन् । पर्यटकीय गतिविधि बढेको तथा पर्वतारोहणका लागि आरोहीको सङ्ख्या बढिरहेकाले हेलिकोप्टरको विजनेस राम्रो हुन्छ ।दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वको सङ्घारमा हेलिकोप्टर दुर्घटनाले एकखालको त्रासदी पैदा भएको व्यवसायीको भनाइ छ ।

तीन महिनामा दुई हेलिकोप्टर दुर्घटना

पछिल्लो तीन महिनामा मनाङ एयरका दुई हेलिकोप्टर दुर्घटनाग्रस्त भएका छन् । संयोग नै ती दुवै दुर्घटना सोलुखुम्बुमा भएका छन् । गत असार २६ गते मनाङ एयरको कलसाइन ९एन–एमभी (एएस–५०) कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित हेलिकोप्टरमा सवार छ जनाको मृत्यु भएको थियो ।

सोलुखुम्बुको सुर्केबाट बिहान काठमाडौँका लागि उडान भरेको उक्त हेलिकोप्टर दिउँसो जिल्लाकै लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

छ महिनामा तीन हेलिकोप्टर दुर्घटना

विसं २०८० को छ महिनामा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेका छन् । गत असार २६ गते भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको तीन महिनामै सोही कम्पनीको अर्को हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

यस्तै गत वैशाख २० गते सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभा दुर्घटना भएको थियो । अरुण तेस्रो आयोजनाको सामान ढुवानीका क्रममा भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । त्यसअघि सन् २०१८ र २०१९ मा सोही कम्पनीको समान एक हेलिकोप्टर दुर्घटनामा परेको थियो । मनाङ एयरको छ वर्षमा चार हेलिकोप्टर दुर्घटना भएका छन् ।

प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट २०२३ का अनुसार नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ९० जनाभन्दा बढीको मृत्यु भएको छ । आजको दुर्घटनासहित नेपालमा हेलिकोप्टरतर्फ मात्रै ४० वटा दुर्घटना भएका छन् ।

मनाङ एयर निलम्बनमा

पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । “मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकोप्टर दुर्घटना भएका छन् । अब उक्त कम्पनीसँग हेलिकोप्टर पनि छैनन्”, प्रवक्ता भुलले भन्नुभयो, “प्राधिकरणले मनाङ एयरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुनेछ ।”

प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकोप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ ।

प्यालेस्टिनी नागरिकहरूले गाजा छाड्न थाले– इजराइली सेना

इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताउनुभएको छ । उहाँका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् ।

“हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले सुनिरहेको देखेका छौँ, उनीहरूले चलाखीपूर्वक काम गरिरहेका छन्, खतरनाक क्षेत्रबाट बाहिर निस्किरहेका छन् र उनीहरूको परिवारका लागि यो सही हो भन्ने बुझेका छन्”, उहाँले भन्नुभयो ।

शुक्रबार इजराइली सेनाले गाजा सहरबाट बाहिर निस्कन सर्वसाधारणलाई आह्वान गरेको थियो । आईडीएफले युद्धमा सर्वसाधारण प्रभावित नहोउन् भन्ने चाहना व्यक्त गरेको थियो । आईडीएफले हमास र उसका सैन्य पूर्वाधारहरूमा हमला गर्न गइरहेको बताएको थियो ।

“हामीले हाम्रो मनसायलाई पहिले नै बतायौँ किनकी यसमा कुनै सैन्य तर्क थिएन तर यद्धबाट सर्वसाधारण प्रभावित हुनु नपरोस् भन्ने हामी चाहन्छौँ”, उहाँले भन्नुभयो, “हामीले युद्धमा सर्वसाधारणलाई त्यहाँ समावेश गरेका छैनौँ र तिनीहरू हाम्रा शत्रु होइनन्, हामी कुनै पनि सर्वसाधारणलाई मार्ने वा घाइते बनाउने प्रयास गरिरहेका छैनौँ, हामी हमास र उसका सैन्य पूर्वाधारहरूसँग लडिरहेका छौँ, जहाँ हामीले गाजा पट्टी र गाजा पट्टीका उत्तरी भागलाई लक्षित गरेका थियौँ ।”

लेफ्टिनेन्ट कर्णेल कनरिकसले उत्तरी गाजाबाट प्यालेस्टिनीहरूलाई बाहिर जानबाट रोक्न हमासले प्रयास गरिरहेको बताउनुभयो । “अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन्देश र चेकपोइन्टका माध्यमबाट हमासले प्यालेस्टिनी नागरिकहरूलाई उक्त क्षेत्र खाली गर्नबाट रोक्ने प्रयास गरिरहेको छ, मलाई लाग्छ यो शङ्कास्पद छ ।” उहाँले आफ्नै सुरक्षाका लागि प्यालेस्टिनीहरूले चाँडोभन्दा चाँडो उक्त क्षेत्र खाली गर्ने आशा व्यक्त गर्नुभयो ।

समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्ने अध्यक्ष ओलीको अठोट

काठमाडौँ, २७ असोज : नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताउनुभएको छ ।एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औँ स्थायी कमिटी तथा एसिया–युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठकमा अध्यक्ष ओलीले राजनीतिको आदर्श र राजनीतिक दलहरु साँघुरो समूह–सोचबाट निर्देशित हुँदा मानवता प्रताडित हुने भएकाले त्यस साँघुरोपनाबाट बाहिर निस्कनुपर्ने बताउनुभएको हो ।

“असहिष्णुताले अन्याय जन्माउँछ । सम्पूर्ण मानवलाई नै अन्याय, द्वन्द्व र कठोरतातर्फ उद्वेलित गराउँछ । त्यसैले हामी राजनीतिक स्थायित्व हासिल गर्दै समृद्धिको याात्रामा अघि बढ्नुको विकल्प छैन”, अध्यक्ष ओलीले भन्नुभयो, “प्रकृति र वातावरण संरक्षण गर्दै साझा र दिगो उन्नति हासिल गर्न सबै राजनीतिक दललाई आग्रह गर्दछु ।”

अध्यक्षले ओलीले हरेक नागरिकका लागि समान अवसर, न्यायमा पहुँच सुनिश्चित गर्ने सपनालाई कार्यरुप प्रदान गर्न राजनीतिक दलहरु मुख्य साधन हुने भएकाले राजनीतिक दलको भूमिकालाई कमजोर ठान्न नहुने विचार व्यक्त गर्नुभयो ।भोलि सम्पन्न हुने उक्त बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच समसामयिक विषयमा छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष एवं आइक्यापका स्थायी कमिटी सदस्य राजन भट्टराईले राससलाई बताउनुभयो ।

बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्याण्डस्लगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० जनाभन्दा बढीको सहभागिता छ ।

बिपीका विचार नमान्दा पार्टी कमजोर भएको नेता कोइरालाको गुनासो

काठमाडौँ, २७ असोज : नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण काङ्ग्रेस अरु पार्टीभन्दा बलियो रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस र नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले पछिल्लो समय काङ्ग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताउनुभयो ।

“बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अङ्गालेमा काङ्ग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन,” नेता कोइरालाले भन्नुभयो । उहाँले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा काङ्ग्रेसका नेता दीलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति  र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान काङ्ग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि काङ्ग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला र लक्ष्मी खतिवडाले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्ति लागेको भन्दै सचेत भएर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । काङ्ग्रेस लमजुङका सभापति डा टकराज गुरुङ र पूर्व सभापति भेषबहादुर पौडेलले लमजुङमा पार्टीलाई विजय बनाउन काठमाडौँमा बसोबास गर्ने कार्यकर्ताको ठूलो भूमिका रहेको बताउनुभयो ।

  संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व सहायकमन्त्री डा रामचन्द्र अधिकारी, काङ्ग्रेस गण्डकी प्रदेशका सङ्गठन विभाग प्रमुख हरि बराल, नेविसङ्घका पूर्व कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष डिवी पराजुलीलगायतले लमजुङमा अग्रजले गरेको त्यागलाई आत्मासाथ गर्दै काङ्ग्रेसको सङ्गठन विस्तारमा जुट्नुपर्ने बताउनुभएको थियो ।

  नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, सचिव रमेश अधिकारीलगायतले पार्टीभित्र युवा पुस्तालाई अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । 

इजरायलमा मृत्यु भएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन

वासिङ्टन डिसी, २७असोज : हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ ।

शुक्रबार आयोजित सो कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायकहरू डा ह्यारी भण्डारी, कार्ल ज्याक्सन, निक एलनसहित, यहाँस्थित स्थानीय नेपाली र अमेरिकी नागरिकको पनि सहभागिता रहेको थियो ।

सो सभामा उहाँहरुले हमासले इजरायलमाथि आक्रमण गरेर निर्दोष तथा निहत्था मानिसको हत्या गर्नु, बन्धक बनाउनु मानवता विरोधी जघन्य अपराध भएको टिप्पणी गर्दै यस्ता कार्यको जति धेरै निन्दा गरे पनि कम हुने बताउनुभयो ।

त्यस अवसरमा ड्रिस्ट्रिक्ट¬ ८ का नेपालीमूलका विधायक डा ह्यारी भण्डारीले हमासले इजरायलमाथि आक्रमण गरेर मानवताविरुद्धको गम्भीर अपराध गरेको भन्दै यस्ता जघन्य अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

इजरायलमा भएको सो हिंसात्मक हमलाबाट अहिलेसम्म झण्डै तीन हजार मानिसको ज्यान गएको र त्यसमा नेपालका १० र अमेरिकाका २२ निर्दोष मानिस परेको जानकारी दिँदै डेलिगेट डा भण्डारीले उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बाल्टीमोर काउन्टीका काउन्सिलम्यान इजी पातोकाले ७० वर्षअघि भएको यहुदी नरसंहार होलोकास्टको पनि स्मरण गर्नुभएको थियो ।

मेरिल्याण्डका विधायक कार्ल ज्याक्सनले हमासको आतङ्ककारी हमलाको भत्र्सना गर्दै इजरायलका पक्षमा ऐक्यबद्धता प्रकट गर्नुभयो । विधायक निक एलनले पनि हमासको आतङ्कवादी क्रियाकलापको भत्र्सना गर्दै इजरायलका पक्षमा ऐक्यबद्धता प्रकट गर्नुभयो । उहाँले दीप प्रज्वलन र शोकसभा मानवता र शान्तिका पक्षमा रहेको बताउनुभयो ।

स्थानीय नेपाली समुदायको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम समाजका अध्यक्ष दमनविक्रम शाहले गौतम बुद्धको शान्तिको सन्देश अरू सान्दर्भिक भएको बताउँदै नेपाल र नेपाली कहिल्यै पनि हत्या, आतङ्कका पक्षमा नरहेको र नरहने बताउनुभयो ।

गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा

दाङ, २७ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गणतान्त्रिक शासन व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको दोहो¥याउनुभएको छ ।दाङको तुलसीपुर–१९ मा नेकपा (माओवादी केन्द्र)ले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पहिले पहिले ठूलाबडा भनिनेहरुले जे गरे पनि छुट हुने तर सामान्य मानिसलाई मात्र कानुन लाग्ने अवस्था रहेको भए पनि अहिले त्यो अवस्थाको अन्त्य भएको बताउनुभयो ।

अहिले त्यस्तो व्यवस्थाको अन्त्य भएर देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब गल्ती गर्ने कोही पनि कानुनभन्दा माथि हुँदैन, सानाठूला सबैलाई गल्तीअनुसारको कारबाही हुन्छ, यो वास्तविकतालाई वर्तमान सरकारले काम गरेर स्थापित गरिसकेको छ, सरकारको कामबाट यो पुष्टि भएको छ ।”

“कुनै पनि व्यक्तिले गल्ती गर्ने तर त्यसको दोष भने वर्तमान राजनीतिक व्यवस्थालाई लगाउने गरिएको छ यो प्रवृत्ति अत्यन्त गलत हो”, मन्त्री शर्माले भन्नुभयो, “व्यक्तिले गल्ती गर्न सक्छ तर त्यसको दोष व्यवस्थाले लिन सक्दैन, लिनु पनि हुँदैन ।”

उहाँले हिजो पदमा रहँदा गल्ती गरेका अहिले कानुनी कारबाहीको दायरामा आइसकेका दृष्टान्त पेस आज पदमा रहँदा गल्ती गरे पनि जो कोहीले पनि भोलि त्यसको कारबाही भोग्नुपर्ने उहाँको तर्क थियो । कानुनी राज्यको यो वास्तविकता वर्तमान सरकारले स्थापित गरेको सबैका सामु छर्लङ्ग नै देखिएको उहाँले बताउनुभयो ।

वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि दृढ र प्रतिबद्ध रहेको भन्दै मन्त्री शर्माले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि सरकार र जनताबीच तालमेल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले सेवा प्रभाव र सुशासनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

मन्त्री शर्माले आर्थिक समस्याका कारण धेरै ठाउँमा नयाँ विकास योजना राख्न नसकिएको जानकारी दिँदै भएका विकास योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले विकास योजनाको प्राथमिकता निर्धारण गर्नुपर्ने, कम्तीमा एक वडामा सङ्घबाट एउटा र प्रदेशबाट दुई वटा नघट्ने गरी योजना बनाउनुर्नेमा पनि जोड दिनुभयो ।

मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने दुईजना कारागार चलान

कास्की, २७ असोज : तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही रु एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।

प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत अदालत पेश हुँदा कास्की जिल्ला अदालतबाट उनीहरुलाई कारबाहीको फैसला गरिएको हो । कारागार चलान हुनेमा पोखरा महानगरपालिका–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैगरी घटनामा संलग्न पोखरा–४ का सुजित मुल्मी, पोखरा–५ का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा–९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा–२० का मनिष थापा र पोखरा–११ प्रदीप गुरुङ जनही रु एक लाख धरौटी राखी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उहाँका अनुसार अझै पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ ।

यही असोज ८ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको अस्पतालमा उपचारका क्रममा निधन भएपछि पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई मृतकका आफन्तले कुटपिट गरेका थिए । बिरामीको मृत्युपछि उपचारमा डाक्टरको लापर्बाहीको कारण बिरामीको मृत्यु भएको र मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए ।

अस्पताल तोडफोड गरेपछि कास्की प्रहरीले नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पोखराको मणिपालका अस्पतालको घटनालाई लिएर कास्कीसहित देशभरका चिकित्सकले आकस्मिकबाहेकको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए । सरकारले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरी कानुनी कारबाहीको प्रतिबद्धता जनाएपछि चिकित्सक काममा फर्किएका थिए ।
 

पर्यटक आकर्षित गर्ने माध्यम बन्यो मुस्ताङको कला संस्कृति

म्याग्दी, २७ असोज : मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुुन् । मुुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ ठिनीस्थित थकाली सामुुदायिक होमस्टे (घरबास) का सञ्चालक जुुमा थकालीले बताउनुुभयो ।

“पृथक भूूगोल, मुक्तिनाथ, दामोदरकुुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहाँसिक दरबार मात्र नभएर बस्तीअनुुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ”, उहाँले भन्नुुभयो, “भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुुङ, तिजी र फागुुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न तथा बसाई लम्बाउन सहयोग मिलेको छ ।”ठिनी नजिकै रहेको घरपझोङ गाउँपालिका–५ हुुसरकाङ डाँडास्थित कुुछप तेरङ्गा गुम्बामा शुुक्रबार सकिएको लामा नाच (धेक्याप) अवलोकन गर्न स्थानीयवासीका साथै स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थिति थियो । कुुछप तेरङ्गा गुुम्बा संरक्षण समितिका अध्यक्ष कुुलबहादुुर थकालीले लामा नाच अवलोकन गर्न स्थानीयवासीकै हाराहारीमा स्वदेशी, विदेशी पर्यटक र तीर्थयात्री आएका बताउनुुभयो । “पहिले पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुुन्थे”, उहाँले भन्नुुभयो, “केही वर्षयता परम्परागत नाच प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।”सडक यातायातको सुविधा, प्रचारप्रसार आदी कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको थकालीको भनाइ छ । मुुस्ताङको प्रमुख गुम्बामा वर्षमा एक पटक लामा नाच हुुने गर्छ । कुछप तेरङ्गा गुुम्बामा लामा नाच प्रदर्शनीका लागि यही असोज २३ गतेदेखि पूजाआजा सुुरु भएको थियो । लामाहरुले उवाको पिठो, घ्यूलगायत सामग्रीको प्रयोग गरेर बनाएको पूजा सामग्रीलाई धार्मिक विधिअनुुसार गुम्बामा भित्र्याएर सुुरु भएको उक्त नाचको विधि ती सामग्री सेलाएपछि सकिएको गुुम्बाका लामा सुुवास थकालीले बताउनुुभयो ।“पद्यसम्भको पाला आठौँ शताब्दीदेखि लामा नाच देखाउने चलन छ । देवताका विभिन्नरुपलाई लामा नाचमा प्रस्तुुत गरिन्छ”, उहाँले भन्नुुभया,े “लामा नाच अवलोकन गरेमा पुुण्य प्राप्त हुुनुका साथै ग्रह दशा हट्ने र जीवनमा सफलता मिल्छ । तेह्र सय वर्षदेखिको लामा नाचलाई बचाएर राखेका छौँ ।”सो अवसरमा बौद्ध धर्मगुुरु पद्यसम्भको जीवनसँग सम्बन्धित सन्देशमूलक १३ प्रकारका नाच प्रदर्शन गरिएको थियो । हसन, टोपी बज्राचार्य, हयग्रीब, गुुरु पद्यम सम्भव, क्रोधी गुुरु र सिंहमुुखी, पञ्चदेवी, महाकाल, क्षेत्रपाल, महाराजा, जरायो, च्याहान दाता, दुुष्ट राजा र एक डाकुु शिर्षकको नाच प्रदर्शन गरिएको हो ।लामा नाच अवलोकन गर्न आएका भारतको तामिलनाडुका रञ्जित झाले मुुस्ताङ भ्रमणका क्रममा प्रकृति र धार्मिकसँगै फरक संस्कृतिको बारेमा जानकारी लिन पाएकामा खुुसी व्यक्त गर्नुुभयो । अमेरिकी पर्यटक रेमिनले धेरै वर्ष पुुरानो संस्कृति अझै जीवित देख्दा दङ्ग परेको बताउनुुभयो ।यसपालिको लामा नाच सञ्चालन गर्न बेलायतमा रहेका ठिनीवासीले आर्थिक सहयोग गरेका थिए । प्रवासीको सहयोगमा ठिनीदेखि गुुम्बासम्म निःशुल्क बस, भक्तजनलाई भोजन र खाजाको व्यवस्थापन गरिएको थियो । बौद्ध धर्ममा माइला छोरा लामा बस्ने चलन छ । ठिनीमा हाल २२ जनाभन्दा बढी लामा छन् । ठिनीका लामाका साथै छिमेकी गाउँका पनि लामा नृत्यका लागि गुुम्बामा आएका छन् । कुुछप तेरङ्गा गुुम्बाको धार्मिक र पर्यटकीय सम्भावना छ । पर्यटकीय गन्तव्यको रुपमा विकास भएको ढुुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङलगायतका भूूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

रूसी खाद्यान्न निर्यात उच्च रहने पुटिनको दाबी

युक्रेनमा रूसको आक्रमणपछि पश्चिमी मुलुकहरूले रूसमाथि लगाएको प्रतिबन्धका बावजुद रूसले अर्को वर्ष पनि ठूलो परिमाणमा खाद्यान्न निर्यात जारी राख्ने रूसी नेता भ्लादिमिर पुटिनले बताउनु भएको छ ।

पुटिनले भन्नुभयो,“गत वर्ष ऐतिहासिक रूपमा १५ करोड ८० लाख टन खाद्यान्नको निर्यात भएको थियो। यो वर्ष पनि १३ करोड टनभन्दा बढी खाद्यान्न निर्यात हुनेछ ।”

उहाँले भन्नुभयो, “रूसले गहुँ निर्यातमा विश्वमा पहिलो स्थान कायम राख्ने सम्भावना छ । हाम्रो खाद्यान्न निर्यात पनि गत वर्षको जस्तै ५–६ करोड टनभन्दा कम हुने छैन ।”

पुटिन सोभियत सङ्घपछिका केही राज्यहरूलाई भेला गर्ने संस्था ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस)’ को बैठकमा भाग लिइरहेका थिए ।

पुटिनले भन्नुभयो, “सीआईएसमा हाम्रा मित्र र सहकर्मीहरूलाई जति रूसी अनाज आवश्यकता छ, सबै पूरा हुनेछ ।”

सेप्टेम्बरको सुरुमा रूसी नेताले आफ्नो देश छ वटा अफ्रिकी मुलुकलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने सम्झौताको नजिक पुगेको बताउनुभएको थियो ।

यसका साथै मस्कोले पश्चिमले विश्वव्यापी भुक्तानी प्रणाली र बीमामा पहुँच सीमित गरेर आफ्नो अन्न र मल निर्यातमा अप्रत्यक्ष प्रतिबन्ध लगाएको गुनासो गर्दै आएको छ ।यी अवरोधहरूले उसलाई ‘ब्ल्याक सी’ मार्फत सुरक्षित अनाज निर्यात सुनिश्चित गर्न डिजाइन गरिएको सम्झौताबाट पछि हट्न बाध्य बनाएको थियो ।

लोकप्रिय गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको ‘आमा तिम्रो तस्विर दैलैमा’ बजारमा, हेर्नुहोस् भिडियो

काठमाडौं । चर्चित गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको आमा तिम्रो तस्विर दैलैमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ । गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा , रमा थपलिया र बाल कलाकार इभान चैसीयारको मर्म श्पर्शी अभिनय देख्न सकिन्छ ।

भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले हरेक दुख सुखमा सम्झनाका तरेलीमा डुब्दै आमासँग बिताएका ति क्षणहरुलाइ भावनात्मक तरिकाले देखाइएको छ । आमाको अल्पायुमानै निधन भएपछि छोराले गरेका प्रगतिलाई आमाले देख्न नपाएको कुरालाई मार्मिक तरिकाले उठाइएको छ । जसको निर्देशन हेमन्त कान्छाले गरेका हुन् । भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् भने छायांकन किरण चौसीयारले गरेका हुन् ।

सार्वजनिक गीतका सर्जकका ६ वटा कृती यसअघि नै बजारमा आइसकेका छन् । बजारमा आइसकेका सृजनाहरु यर्थाथपरक र बास्तविकतामा आधारित छन् । हेर्नुहोस् सार्वजनिक गीत Revansh Music बाट बजारमा आएको हो ।

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी

जनकपुरधाम – नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस (धनुषा) को एकल उम्मेदवारी परेको छ ।

त्यसैगरी लेखा आयोगको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । जीतेन्द्र पासवान (महोत्तरी), लक्ष्मीनारायण यादव (धनुषा) र परमेश्वर रजक (महोत्तरी) को उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत खड्काले बताउनुभयो । लेखा समिति सचिवमा भने सिरहाका दीपेन्द्र महतोको एकल उम्मेदवारी परेको छ ।

दुई सय ४२ सदस्यीय प्रदेश समितिका लागि आठ जिल्लाबाट तीन सय ९८ जनाको उम्मेदवारी परेको छ । “अहिले पाँच सदस्यीय पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । सदस्यमा धेरै जनाको उम्मेदवारी परेको छ । “सहमति नभए निर्वाचन समितिले आवश्यक प्रक्रिया अवलम्बन गर्छ”, प्रमुख निर्वाचन अधिकृत खड्काले भन्नुभयो ।

एमाले केन्द्रीय सचिव रघुवीर महासेठले पनि धेरै उम्मेदवारी परेका जिल्ला र पदका विषयमा सम्बन्धित पक्ष एवं जिल्लागत रुपमा छलफल गरी सहमतिको प्रयास जारी रहेको जानकारी दिनुभयो ।

संसद्को गरिमा जोगाउन सांसद तत्पर रहनुपर्छ : सांसद बस्नेत

काठमाडौँ, २७ असोज : मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक निकायमा पुगेका सांसद जनताका आवाज सम्बोधन गर्न तथा कानुनी शासनको पालनातर्फ उन्मुख हुुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत बताउनुहुन्छ । संसद्को गरिमा जोगाउन सांसद सधैँ तत्पर रहनुपर्ने उहाँको भनाइ छ ।

सांसदसँग रासस संवादमा सांसद बस्नेतले गरिमामय संसद्मा आइसकेपछि देश र जनताका पक्षमा सबै सांसद एकजुट हुनुको अर्को विकल्प नरहेको जिकिर गर्नुभयो । सांसद बस्नेतले भन्नुभयो– “पार्टीअनुसार सांसदका विचार फरक फरक होलान् । चुनावका बेला झण्डा फरक फहराए होलान् । तर गरिमामय संसद्मा गइसकेपछि नितान्त राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्नुपर्छ । कानुन निर्माण गर्ने ठाउँमा सांसद बाझिरहनु राम्रो हुदैँन । यसमा सबै सांसद सजग हुनुपर्छ ।”

जनताका अपेक्षा अनुरुप संसदीय अभ्यास नभएको सांसद बस्नेतको ठहर छ । “संसद्मा जुन आशा राखेर हामी प्रवेश गरेका थियौँ । सोअनुरुप पाइएको छैन । हामीले उठाएका जनताका आवाजलाई सरकारले सुनेको छैन । फरक विचारको प्रतिनिधित्व हुन सकेको छैन । कुनै समय त सरकार छ कि छैन? भन्ने लाग्छ”, सांसद बस्नेतले भन्नुभयो । संसदीय अभ्यासलाई सफल बनाउन सानादेखि ठूला दलको उत्तिकै महत्व रहने हुनाले सबै सांसद राजनीतिक स्वार्थबाट बाहिर निस्केर मुलुकको समृद्धितर्फ एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

पञ्चायतकालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएकी सांसद बस्नेत भेरी अञ्चल महिला संगठनको सचिव हुनुभयो । विसं २०५४ र २०७४ मा गरी दुईपटक उहाँ गुलरिया नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध रहँदै आउनुभएकी सांसद बस्नेतले सदनमा पेश हुने विधेयकमाथि बृहत् छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

“सदनमा पेश हुने विधेयक सरकारको मात्र होइन । देशको विधेयक हो । जनतालाई सडकमा ल्याउने वातावरण सिर्जना गर्नुहुँदैन । देश र जनताको हित अनुकूल कानुन ल्याउन बृहत् छलफलको अभ्यास हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले आफ्नो पार्टी भ्रष्टचारविरुद्ध, विधिको शासनको कार्यान्वयनमा आधारित रहेको तर कतिपय विषय सदनमा बोल्न नपाएको गुनासो गर्नुभयो । मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरी एकता कायम गर्न, समाजिक सद्भावको संरक्षण र प्रवद्र्धन गर्न सबै ऐक्यबद्ध हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले केही दिनयता देशमा फैलिएको अराजकतालाई निर्मूल पार्न सबै मिल्नुको अर्को विकल्प नरहेको उल्लेख गर्नुभयो ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएकी सांसद बस्नेतले जनताले राम्रो कानुन बनाउन, हिजोका त्रुटिलाई सच्याउन, सबै वर्ग, समुदाय लक्षित कानुन बन्ने अपेक्षा गरेका छन् तर सोहीअनुरुप हुन नसकेको जिकिर गर्नुभयो । सांसद बस्नेत सरकारप्रति सन्तुष्ट रहने अवस्था नरहेको बताउनुहुन्छ ।

“कानुनतः विधिको शासन कार्यान्वयन भएको देखिँदैन । हत्या हिंसा, घाइते, लुटपाटका घटना भइरहेका छन् । धर्म संस्कृतिका नाममा अराजकता फैलिएको छ । मुलुकमा शान्ति, सुशासन कायम गर्न सरकार चुकेको छ”, सांसद बस्नेतले भन्नुभयो ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमबारे निर्णय हुन बाँकी

काठमाडौँ । विश्वविद्यालयहरूले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी गराउन विद्यार्थीलाई अब इजरायल पठाउने वा नपठाउने भन्नेमा अझै निर्णय गरि सकेका छैनन् । पुनः पठाउने मनस्थितिमा उनीहरू नभए पनि औपचारिक निर्णय गर्न भने बाँकी नै छ ।

इजरायलमाथि हमास विद्रोही समूह हमासले गत शनिबार आक्रमण गर्दा १० जना ने पाली विद्यार्थीले ज्यान गुमाए भने अहिले सम्म एक जना बेपत्ता छन् । यस वर्ष एकै पटक २६५ जना विद्यार्थीलाई सो कार्यक्रममा पठाइएको थियो । कृषि तथा वन विश्वविद्यालयका रजिस्ट्रार प्राडा शार दा थपलियाले आगामी दिनमा लर्न एन्ड अर्न’ कार्यक्रममा पठाउन नहुने बताए । “इजरायल गएका विद्यार्थी भर्खर फर्किएका छन् । अब उनीहरूलाई नपठाउने भने र औपचारिक रूपमा कुनै निर्णय गरेका छैनौँ,” उनले भने , “अब विद्यार्थीलाई इजरायल पठाउन हुँदैन ।”

गत वर्ष पहिलो पटक नमुनाका रूपमा तीन जना नेपाली विद्यार्थीलाई इजरायल पठाइएको थियो । त्रिभुवन विश्वविद्यालयबाट एक जना र कृषि तथा वन विश्वविद्यालयबाट दुई जना विद्यार्थी सहभागी थिए । कृषिमा स्नातक अध्ययनरत विद्यार्थीलाई सिक्न र कमाउन फलदायी हुने भएपछि यस वर्ष एकै पटक २६५ जनालाई त्यहाँ पठाइएको थियो ।कृषिमा स्नातक अध्ययनरत विद्यार्थीलाई यो कार्यक्रम अन्तर्गत ११ महिनाका लागि पठाइएको थियो । अब ती विद्यार्थीको प्रयोगात्मक परीक्षा के गर्ने भन्ने विषयमा विश्वविद्यालयले छिट्टै निर्णय गर्ने भएको छ । कृषि तथा वन विश्वविद्यालयबाट यो वर्ष ११३ जना इजरायल गएका थिए ।

यस्तै सुदूर पश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा अमरराज जो शीले पहिलो पटक ४९ जना विद्यार्थी इजरायल गएको मा ३५ जना मात्रै फर्किएको बताए । उनले विपत्को अवस्था भएकाले अहिले आगामी दिन इजरायलको यो कार्यक्रममा पठाउने वा नपठाउने भन्ने सम्बन्धमा सोच्न नसकिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

काठमाडौँ । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो ।

सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौँ ल्याइपुर्‍याएको हो ।

बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार गर्नका लागि परराष्ट्रमन्त्री एनपी साउद तेलअभिभ पुगेका थिए । विमानस्थलमा आइपुगेपछि उद्धार भएर आएका र आफन्तले सरकारको खुलेर प्रशंसा गरे । आजको राजधानी दैनिकमा समाचार छ ।

बढ्न थाल्यो सुनको मूल्य

काठमाडौँ । पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो । गत १६ असोजमा मूल्य घटेर प्रतितोला एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर एक लाख १० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लामो समयदेखि बढ्दै गएको सुुनको मूल्य अमेरिकी फिडर बैङ्कले ब्याजदर बढाएपछि असोज दोस्रो सातादेखि मूल्य घट्न थालेको थियो । महासङ्घका अनुसार पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्धको प्रभावले यो साता सुनको मूल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मूल्य पनि बढ्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।

यो साता विश्व बजारमा सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चर्किएको द्वन्द्वको प्रभावका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुन थालेकाले सुनको माग बढ्न गई मूल्य वृद्धिमा चाप परेको व्यवसायीको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।