`

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन तत्पर छ : प्रधानमन्त्री

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ सूचीकृत गर्दै चुनौतीपूर्ण परिस्थितिको सामाना गर्ने सङ्कल्पसहित अर्थतन्त्रलाई लयमा फर्काउन तथा देशमा नयाँ रक्तसञ्चार गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सिजन मिडिया प्रालिको १५औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकारकोतर्फबाट मैले पटकपटक भन्दै आएको छु, खेलकुद, साहित्य र कलाको क्षेत्र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयाम हुन्, यिनीहरुका माध्यमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न सकिन्छ ।”

प्रधानमन्त्री दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता प्रवद्र्धन गर्ने क्षेत्रका रुपमा विकास गरेको उल्लेख गर्दै अहिले पनि सो क्षेत्रको विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । सांस्कृतिक क्षेत्र मानिसलाई भावनात्मकरुपले सांस्कृतिकरुपले राष्ट्रलाई एकताबद्धरुपमा उत्प्रेरित गर्ने क्षेत्र भएको उहाँको भनाइ छ ।

सिजन मिडियाले व्यावसायिक, शैक्षिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान तथा अवार्ड वितरण गर्दै आएको जानकारी पाउँदा प्रधानमन्त्री दाहालले खुसी व्यक्त गर्नुभयो । “यस्ता कार्यक्रमले सामाजिक जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिलाई उत्प्रेरित प्रदान गर्ने र देशभित्र व्यावसायिक वातावरण निर्माण गर्न, देशको पर्यटन प्रवद्र्धन गर्न तथा सामाजिक हितका पक्षमा अग्रसर हुन महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

कार्यक्रममा डा भगवान कोइराला, कलाकार निर शाह, क्याप्टेन विजय लामालगायत देशका समाजसेवी, व्यवसायी, कलाकार, उद्यमी र सञ्चारकर्मीलाई ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ प्रदान गरिएको थियो ।
 

वित्तीय सुशासनमा माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध : अर्थमन्त्री महत

काठमाडौँ-अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शितामा नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगको भेटवार्तामा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

भेटवार्तामा विस्तारित कर्जा सुविधा (इसिएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो । अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुरा नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो हुनुपर्ने र नेपालको केही आवश्यकता बुझिदिन पनि आग्रह गर्नुभएको थियो ।“वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौँ तर सबै कुरा भनेजस्तो हुँदैन, हाम्रो आफ्नै संरचना पनि छन्”, छलफलमा अर्थमन्त्री डा महतले भन्नुभयो, “बुझाइमा समस्या छ, के काम गर्ने भन्ने कुरामा स्पष्ट छौँ ।” जवाफमा उपनिर्देशक बो लीले भन्नुभयो, “सुधारको कुरा गर्नुहुन्छ भने हामी सकारात्मक छौँ, हामीले सुधार गर भन्ने नै हो ।”छलफलपछि इसिएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता (एसएलए) आइएमएफ बोर्डबाट पारित गर्ने सहमति बनेको छ । आइएमएफ निर्देशक र अर्थमन्त्री डा महतबीचको छलफल सकारात्मक भएको मन्त्री महतको सचिवालयले जनाएको छ ।थप सहयोग कहाँ के गर्न सकिन्छ भन्ने कुरा छलफल चलाउने र उपयुक्त निष्कर्ष निकाल्नेबारेमा पनि छलफल भएको थियो । छलफलमा अर्थसचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

आजदेखि सोह्रश्राद्ध अर्थात् पितृपक्ष विधिवत् समापन गरिँदै

काठमाडौँ, २७ असोज : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ ।

आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।कारणबश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणबस अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ ।यो समयमा पनि कारणबस सोह्रश्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिनुभयो ।त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

हेर्नुहोस् असोज २७ गते शनिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ ।

बृष राशि – सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि – यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि – कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि – मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

लोकतन्त्रलाई कमजोर पार्न कांग्रेसमाथि हमला भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा, २६ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न पछिल्लो समय नेपाली कांग्रेसमाथि हमला भइरहेको बताउनुभएको छ । कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई आज गोरखा सदरमुकाममा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर पार्न सकिन्छ भनेर कांग्रेसलाई कमजोर बनाउने खेल भइरहेको बताउनुभयो ।

“अहिलेको राजनीतिक परिवर्तन उल्ट्याउन सबैभन्दा पुरानो राजनीतिक दल भएका हिसाबले कांग्रेसमाथि हमला गर्नुपर्छ भनेर हामीलाई यदाकदा कमजोर पार्ने खेल भइरहेको छ”, उहाँले भन्नुभयो, “कांग्रेसलाई कमजोर बनाएर देशले हासिल गरेको उपलब्धि उल्ट्याउन खोजिएको छ ।”मुख्यमन्त्री पाण्डेले संविधान, समावेशिता, समानुपातिक पद्धति, धर्म निरपेक्षतालगायत धेरै विषय कोही कसैलाई मन नपरेको भन्दै तिनै शक्तिबाट देशमा प्राप्त उपलब्धिलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताउनुभयो । “प्राप्त उपलब्धि उल्ट्याउन कांग्रेसलाई कमजोर बनाउने तत्व अहिले सल्बलाएका छन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “ठूलो राजनीतिक त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देश विकासमा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्छ ।”उहाँले निर्वाचन, महाधिवेशनलगायतका क्रममा टिकट बाँडफाँटका विषयलाई लिएर सङ्गठन कमजोर पार्ने काम पार्टीभित्रबाट कसैले गर्न नहुनेमा समेत जोड दिनुभयो । “अधिवेशन, महाधिवेशन, निर्वाचनको टिकटका विषयलाई लिएर सङ्गठन कमजोर बनाउने होइन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सङ्गठन सुदृढ बनाएर आगामी निर्वाचनमा कसरी जित्ने ? त्योअनुसार अघि बढ्ने हो ।”मुख्यमन्त्री पाण्डेले कांग्रेसको नेतृत्वमा रहेका स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले गरेका राम्रा कामलाई जनताकामाझमा लैजान नसकिएको भन्दै सरकारले गरेका राम्रो काम जनताको बीचमा लैजान सबैलाई आग्रहसमेत गर्नुभयो ।

सञ्चारमन्त्री शर्माद्वारा पशु सेवा केन्द्रको भवन शिलान्यास

तुलसीपुर (दाङ), २६ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ देउखुरीस्थित राप्ती गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास गर्नुभएको छ ।

लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरीस्थित उक्त पालिकामा रु दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको आज उहाँले शिलान्यास गर्नुभएको हो । रिड परियोजनाअन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गर्नुहुँदै मन्त्री शर्माले देउखुरी क्षेत्रलाई कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी भइरहेको बताउनुभयो ।उहाँले सङ्घको कृषि र सिँचाइ मन्त्रालयको समन्वयमा धान उत्पादनका लागि विशेष कार्यक्रम आउन लागेकोसमेत जानकारी दिनुभयो । “देउखुरी क्षेत्रमा दुई बाली धानखेती हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि यहाँ कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी थालिएको छ ।” राप्ती गाउँपालिकाको प्राङ्गणमा उक्त भवन निर्माण हुन लागेको हो । मन्त्री शर्माले सोही भवनलाई समयमै पूरा गर्नसमेत निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

काठमाडौँ-विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ । जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनुभयो । आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो । लिङ्गो उठाउने साइत भने शनिबार गुरुजुले निकाल्ने पनि उहाँले बताउनुभयो ।

विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनःसुरु गर्न रञ्जितकार समुदायका युवा लागेको पनि गुठियार रञ्जितकारले सुनाउनुभयो । जात्राका लागि लिङ्गोको रुख काट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका निकायबाट आदेश पूरा गरेर आज रातिसम्म लिङ्गो टेकु पु¥याइने भएको छ । आश्विन शुक्ल चौँथीका दिन लिङ्गो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा लिङ्गो ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ । उहाँलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ । गुठीका थकाली आठ दशक पार गरिसकेका वृद्ध भएकाले युवाको नेतृत्वमा साढे चार दशकपछि यो जात्रालाई पुनःस्थापना गर्न लागिएको जनाइएको छ ।
 

पोखराको मुख्य बजार महेन्द्रपुलमा अत्यधुनिक सार्वजनिक शौचालय निर्माण

लेखनाथ (कास्की) २६ असोज : पोखराको मुख्य बजार महेन्द्रपुलमा अत्यधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र पोखरा महानगरपालिकाको साझेदारीमा रु ९५ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । उक्त शौचालयको आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष रविना थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

पोखरा–९ महेन्द्रपुलको सार्वजनिक जग्गामा रहेका जीर्ण भवनहरु विस्थापित गरी आठ आना क्षेत्रफलमा निर्माण गरिएको अपाङ्गमैत्री शौचालयमा चमेना गृह, बगैँचा र शौचालयभित्र स्तनपान कक्षसहित सेनेटरी प्याड पनि उपलब्ध हुने छ । महिला–पुरुष उक्त सार्वजनिक शौचालय केही दिनभित्र नै सञ्चालनमा ल्याइने छ ।अत्याधुनिक सार्वजनिक शौचालय निर्माणसँगै पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई अप्ठ्यारो परिस्थितिमा दिसापिसा गर्नका लागि सहजता मिल्ने विश्वास स्थानीय एवं समाजसेवी नरेन्द्र लालचनले बताउनुभयो । गैरआवासीय नेपाली सङ्घको रु ६० लाख र पोखरा महानगरपालिकाको रु ३५ लाख गरी ९५ लाखमा निर्माण बगैँचासहितको अत्याधुनिक शौचालयको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त शौचालय पोखराकै नमूना बनेको बताउनुभयो ।शौचालय परिसरमा चमेनागृहसहित स्तनपान कक्ष र सेनेटरी प्याडको पनि व्यवस्था गरिएको नगरप्रमुख आचार्यको भनाइ छ । शौचालय निर्माणसँगै यसको उचित सदुपयोग र संरक्षण गर्ने दायित्व प्रयोगकर्ता सबैको भएको उहाँले बताउनुभयो ।“शौचालयमा जम्मा हुने दिसापिसावबाट बायो ग्यास निकालेर चमेनागृहमा प्रयोग गरिने योजना महानगरले अगाडि सारेको छ”, प्रमुख आचार्यले भन्नुभयो, “चमेनागृह आसपासमा चौतारी निर्माण गरिने छ भने अधिकांश ठाउँ खुल्ला रहने छ ।”एनआरएनएका अध्यक्ष एवं मेगा प्रोजेक्ट संयोजक रविना थापाले शौचालय निर्माणले पोखराको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घले पोखरा महानगरपालिकाको साझेदारीमा अन्य योजना निर्माण गर्ने तयारीमा रहेको अध्यक्ष थापाको भनाइ छ ।पोखरा महानगरपालिकाभित्र हाल १५ स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय सञ्चालन छन् ।

आईएमएफ र विश्व बैंकद्वारा गरिबी र जलवायु परिवर्तनका लागि थप कोष माग


अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकका प्रमुखहरूले गरिबी र जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई सहयोग पु¥याउन विश्वव्यापी ऋणदाताहरूको आर्थिक सहायता बढाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

सन् १९७३ पछि अफ्रिकी भूमिमा पहिलो पटक आईएमएफ र विश्व बैंकको वार्षिक बैठक मोरक्कोको माराकेशमा विश्वका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूबीच भएको साताव्यापी वार्तामा उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

विश्व बैंकका अध्यक्ष अजय बङ्गाले गत जुनमा पदभार ग्रहण गरेयता गरेको पहिलो औपचारिक सम्बोधनमा भन्नुभयो, “गरिबीविरुद्धको लडाइँमा हामीले घट्दो प्रगतिको सामना गरिरहेका छौं ।”

उहाँले भन्नुभयो, “हामीले अस्तित्वको जलवायु सङ्कट, खाद्य असुरक्षा, कमजोरी, महामारीपछि पुन ः उत्थानको सामना गरिरहेका छौं र हामी सबैले द्वन्द्वको प्रभाव महसुस गरिरहेका छौं ।”

बङ्गाले थप्नुभयो, “विश्वले ‘अन्तरसम्बन्धित चुनौतीहरू र भूराजनीतिक जटिलताको पूर्ण आँधीबेहरीको सामना गरिरहेको छ जसले असमानतालाई अझ बढाउँछ ।”

भारतीय मूलका अमेरिकी नागरिकले विकसित र विकासोन्मुख राष्ट्रबीच ‘बढ्दो अविश्वास’ बारे चेतावनी दिएका छन् ।

“ग्लोबल साउथको निराशा बुझ्न सकिन्छ । धेरै तरिकाले उनीहरूले अरूको समृद्धिका लागि मूल्य चुकाइरहेका छन्,” उहाँले सम्मेलनको पूर्ण सत्रमा भन्नुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बङ्गालाई डेभिड माल्पासको उत्तराधिकारीको रूपमा मनोनीत गरेदेखि नै उहाँले विद्यमान बैङ्किङ नीतिमा परिवर्तनको लागि जोड दिनुभएको छ । माल्पासले जलवायु परिवर्तनको बारेमा राष्ट्रपति बाइडेनकोे अडानको बारेमा प्रश्न उठाएपछि बढेको तिक्ततासँगै आफ्नो पाँच वर्षे कार्यकालबाट राजीनामा दिनुभएको थियो ।

“आज विश्व बैंकका लागि नयाँ दृष्टिकोण र मिसन आएको छ र त्यो जीउन योग्य यस ग्रहमा गरिबीमुक्त विश्व निर्माण गर्न हो,” बङ्गाले भन्नुभयो, “तर समय सारको हो ।”

ब्यालेन्स सिट परिवर्तन र सदस्यहरूको योगदानको माध्यमबाट विश्व बैंकका प्रमुखले आगामी दशकमा आफ्नो ऋण क्षमतामा १५० अर्ब डलरभन्दा बढी थप्न सक्ने बताउनुभएको छ । तर गरिब राष्ट्रलाई शून्य र कम ब्याजमा ऋण उपलब्ध गराउने अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) लाई बढावा दिन बङ्गाले सदस्यहरूलाई आह्वान गर्नुभएको छ ।

“हामी यो धेरै महत्वपूर्ण छुटसम्बन्धी संसाधनको सीमाहरू धकेल्दैछौं र रचनात्मक वित्तीय ईन्जिनियरिङको कुनै पनि मात्राले हामीलाई थप कोषको आवश्यकता छ भन्ने तथ्यको लागि क्षतिपूर्ति गर्दैन,” उहाँले भन्नुभयो ।

मास्टरकार्डका पूर्व प्रमुख कार्यकारी अधिकृतले भन्नुभयो, “यसले हामी सबैलाई आईडीएको अर्को पुनःपूर्तिलाई अहिलेसम्मकै सबैभन्दा ठूलो बनाउन प्रेरित गर्नुपर्छ ।”

आर्थिक वर्ष २०२२/०२५ का लागि सन् २०२१ मा ९३ अर्ब अमेरिकी डलरको वित्तीय प्याकेज स्वीकृत गरिएको थियो । दाताहरू प्रत्येक तीन वर्षमा आईडीए स्रोतहरू भर्न भेला हुन्छन् ।

सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्र सुस्त भइरहेको र न्यून आय भएका आधाभन्दा बढी मुलुक ऋण सङ्कटको उच्च जोखिममा रहेको बताउनुभएको छ ।

जर्जिएभाले आईएमएफलाई आफ्नो कोटाका स्रोतहरू बढाएर ‘तत्काल’ बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।

आईएमएफले आफ्ना गरिब सदस्य राष्ट्रलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने क्षमतालाई पनि बढावा दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

भारतमा मजदुरी गर्नेहरु भन्छन्, ‘दसैँमा घर गए गुजारा कसरी गर्नु ?’


नैनीताल (भारत), २६ असोज : कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिनुभयो । उहाँ नैनीतालमा यसरी बोक्न थालेको १८ वर्ष भयो । विक साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्नुहुन्छ । यसबाहेकको बाँकी समय भारी बोक्नुहुन्छ ।

“भारी बोकेरै घरको खर्च धानेको छु, यो नगरे घरमा सबै ठप्प हुन्छ”, ४७ वर्षीय विकले भन्नुभयो । उहाँ केही दिनअघि मात्रै कालिकोट गएर नैनीताल काममा फर्किनु भएको हो । “घरमा छोरो बिरामी भएको खबर आयो, उपचारका लागि खर्च लगेर गए, अब घर ढिलै जान्छु, दसैँमा गइन्न ।”

नैनीतालमा मजदुरी गरेर विकले मासिक रु ३० हजारसम्म कमाउनुहुन्छ । “स्वदेशमै काम पाएको भए विदेश आउन मन थिएन, काम पाइहाले पनि उचित ज्याला पाइँदैन”, उहाँले भन्नुभयो–““यहाँ दुखः गरे अनुसारको पारिश्रमिक पाइन्छ ।”

नैनीताललाई सुन्दर बनाउन धेरै नेपाली मजदुरको मेहेनत छ । नैनीतालको तल्ली र मल्ली ताल क्षेत्रमा सयौँ नेपाली मजदुर दिनरात भारी बोक्दै गरेको अवस्थामा भेटिन्छन् । कोही होटल त कतिपय स्थानीय साहुमहाजनको घरमा काम गरेर जीविका चलाउँदै आएका छन् । पछिल्लो समय सडक पेटीमा पसल सञ्चालन गर्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैँको मुखमा समेत मजदुरी गर्नेको सङ्ख्या उत्तिक्कै छ ।

“दसैँमा घर परिवारसित बसेर पर्व मनाउने इच्छा कसको हुन्न र ?” कैलालीको घोडाघोडी नगरपालिका–२ का १८ वर्षीय रमेश रावतले भन्नुभयो, “दसैँमा घर गए बाँकी समय गुजारा कसरी गर्नु ?” नैनीतालकै कमाइले घर परिवारको खर्च चलाएको उहाँको भनाइ छ ।

राजनीतिक परिवर्तन भएपनि स्वदेशमै रोजगारीका सम्भावना नदेखिनु दुःखद् भएको रावतको भनाइ छ । उहाँ कक्षा १२ कक्षाको परीक्षा दिएर मजदुरी गर्न नैनीताल आउनुभएको हो । रावतका बुबा पनि यतै मजदुरी गर्नुहुन्छ । बुबाको साथले उहाँलाई मदजुरी गर्न सहज भएको छ । “घरको परिस्थितिका कारण बुवासित यहाँ आए, धेरैभन्दा धेरै भारी बोकेर खर्चको जोहो गर्नु हाम्रो नियति नै बनिसक्यो”, रावतले भन्नुभयो ।

दसैँ तिहारमा कतिपय नेपाली घर जाँदा सो समयमा भारी बोक्ने काम बढी पाइने आशामा रावत बाबु–छोरा यसपाली नैनीतालमा बसेका छन् । यहाँ नेपाली मजदुर घरघरमा गएर तरकारी बेच्ने तथा होटलमा भाँडावर्तन सफा गर्ने काममा बढीजसो खटिने गरेका छन् । चारैतिर पहाड अनी बीचमा आकर्षक नैनीताल अवस्थित छ । कोरोना महामारीमा सुनसान बनेको नैनीतालमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । योसँगै नेपालीले पनि काम गर्ने अवसर पाएका छन् ।

नैनीताल, खुर्पा ताल, भीम ताललगायत क्षेत्रमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत छन् । नैनीताल क्षेत्रमा सिमेन्ट, छड, तरकारी, ग्यास सिलिण्डरलगायत अन्य घरायसी सामान ढुवानी गर्नमा उनीहरु दिनरात व्यस्त देखिन्छन् । दुरी तथा तौलका हिसाबले उनीहरुलाई पारिश्रमिक दिइन्छ ।

“नेपाली नागरिक इमान्दार भएर लामो समयदेखि काम गर्दैआएका छन्”, नैनीतालका एक होटल व्यवसायीले भन्नुभयो, “होटलमा तरकारी बोक्नेदेखि घर घरमा ग्यास पु¥याउने काममा नेपालीको ठूलो साथ र सहयोग छ ।”

बझाङ्गको तलकोटका नवराज विष्ट दसैँका लागि घरमा सरसामान पठाए पनि आफू भने नजाने मनस्थितीमा हुनुहुन्छ । उहाँले भारी बोक्न थालेको झण्डै डेढ दशक भयो । होटलमा तरकारीको भारी बिसाउँदै गरेका विष्टले भन्नुभयो– “यहाँको कमाइले घरखर्च चलाउन सहज भएको छ ।”

परिवारको पालनपोषण नैनीतालको भारी बोकाइले चल्दै आएकाले चाडपर्वको खासै महत्व नहुने उहाँ बताउनुहुन्छ । “ताकत हुँदासम्म भारी बोक्ने हो, त्यसपछि घर जानु त छँदै छ”, विष्टले भन्नुभयो ।

कालिकोटको खानीत्रिवेणीका ५६ वर्षीय शेरबहादुर विकले भने नैनीतालमा भारी बोकेर कमाएको पैसाले छोरा जीवनलाई काठमाडौँमा लोकसेवाको तयारी गराउँदै हुनुहुन्छ । “छोरा पढाउन लाखौँ ऋण काढेको छु, दसैँ सम्झेर घर जाने अवस्था छैन, घर गए सब चौपट हुन्छ”, उहाँले भन्नुभयो–“छोरो जागिरे होला र बुढेकासलमा घरमा सुखका साथ बस्न पाइला भन्ने आशामा भारी बोक्दै छु ।”

मुख्यतया सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक यहाँ रोजगारीका लागि आउने गरेका छन् । उनीहरुका लागि नैनीताल रोजगारीको प्रमुख गन्तव्य हो । बाजे, बुबादेखि नातीसम्मको पुस्ता यहाँ एकसाथ भारी बोक्ने गरेको पाइन्छ । यहाँ मजदुरी गर्ने अधिकांश नेपालीले आफ्नो कमाइ छोरा छोरीको पढाइमा खर्चिदै आएका छन् ।

टोखा नगरपालिकाद्वारा पानी उद्योगमा सिल


काठमाडौँ, २६ असोज : टोखा नगरपालिकाले गुणस्तरहीन पानी बिक्री वितरण गरेको भन्दै एक उद्योगलाई सिल गरेको छ । नगरपालिकाबाट आज खटिएको अनुगमन टोलीले टोखा नगरपालिका–३ ढलमलटोलमा सञ्चालित एक्वा अविरल पानी उत्पादन गर्ने सिलवाल गुप्र इण्ड्रष्टिज प्रालिलाई सिल गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले स्थानीय तहमा दर्ता नभई विगत १६ वर्षदेखि सञ्चालनमा रहेको र गुणस्तरीय पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योगमा सिल गरिएको जानकारी दिनुभयो ।

यस्तै, नगरपालिकाको बजार अनुगमनका क्रममा वडामा दर्ता नभई सञ्चालित गोँगबु तरकारी बजारलाई रु १० हजार, म्याद नाघेको वस्तु बिक्री वितरण गर्ने सागर प्लास्टिक सप्लायर्सलाई रु पाँच हजार, दर्ता नगरी सञ्चालित गुड्डु किराना एण्ड मसला सेन्टर गोँगबुलाई रु दुई हजार जरिवाना गरेको छ ।

यसैगरी, टोखा नगरपालिका वडा नं ११ बानियाँटारमा सञ्चालित क्वालिटी फ्रेस चिकेन सप्लायर्सलाई सिल गरेको छ । नगरपालिकाले चाडपर्वको समयमा टोखावासीको जनस्वास्थ्यलाई ध्यानमा दिएर अनुगमनलाई तीव्रता दिएको हो ।

अनुगमनका क्रममा नगरप्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख मुरारी तामाङ, वडा नं ११ का वडाध्यक्ष घनश्याम खड्का, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योगका प्रतिनिधिलगायत टोखाका कर्मचारीको सहभागिता थियो ।

काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा ११ वडा रहेका छन् । नगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई निरन्तरता दिने नगरपालिकाकी पशुसेवा शाखाकी प्रमुख डा सुस्मिता गौतमले जानकारी दिनुभयो ।

युट्युवबाट सिकेर च्याउ खेती, वार्षिक आठ लाख आम्दानी


गोरखा, २६ असोज : गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक रू आठ लाख आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ ।

“पहिला त आफैँले खानका लागि भनेर सुरु गरेका थियौँ । त्यसैलाई बढाएर अहिले व्यावसायिकरूपमा खेती गरिरहेका छौँ”, सानुमायाले भन्नुभयो, “अहिले यही पेसाबाट पूरै परिवारको पालनपोषण र शिक्षादीक्षासमेत सजिलै चलेको छ ।” उत्पादन गरेका च्याउ बजारमा सहज बिक्री हुने गरेको उहाँको भनाइ छ । राम्रो उत्पादन भएको वर्ष च्याउ खेतीबाटै वार्षिक रू सात–आठ लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

बजारमा राम्रो मूल्यमा बिक्री हुने सिताके च्याउको व्यावसायिक खेतीबाट परिवारका २२ जनाको जीविकोपार्जन भइरहेको सानुमालेले बताउनुभयो । “विसं २०७२ माघदेखि च्याउ खेती गर्न सुरु गरेका हौँ । अहिले करिब साढे सात वर्ष हुनै लाग्यो”, उहाँले भन्नुभयो, “सिताके च्याउ खेतीबाट सिजनका बेला दैनिक रू पाँच हजारसम्म आम्दानी हुने गरेको छ । राम्रो उम्रेको बेला एकैदिनमा १०–१२ किलोसम्म उत्पादन हुन्छ ।”

सानुमायाले बजारमा माग बढी भएकाले पु¥याउन नसकिएको बताउनुभयो । अहिले बजारमा प्रतिकिलो रू पाँच सयसम्म सिताके च्याउ बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

उत्पादन भएका च्याउ बजारभन्दा पनि वरपर र छरछिमेकलाई बिक्री गर्दैैमा सकिने भएकाले मुख्य बजारमा पुर्याउन अझै नपाएको कृषक थापामगरको भनाइ छ । “विशेषगरी मङ्सिरदेखि चैतसम्म राम्रो उत्पादन हुने गर्छ”, उहाँले भन्नुभयो, “वर्षभरिमा चार महिना राम्रो कमाइ हुन्छ ।” थापामगरको परिवारले दुईवटा प्लास्टिकको घर निर्माण गरेर खेती गर्दै आउनुभएको छ ।

मुटुरोगीलाई फाइदा पुग्ने भन्ने सुनेपछि सुरुमा आफैँले किनेर खाने गरेको र विस्तारै परिवारका लागि सुरु गरिएको खेती अहिले व्यावसायिक बनेको थापामगरले बताउनुभयो । “पकाएर खाँदा अरु च्याउभन्दा स्वादिलो र मीठो भएपछि आफैँले खेती गर्ने सोच बनायौँ”, उहाँले भन्नुभयो, थोरै लगानीमा सुरु गरिएकामा अहिले राम्रो आम्दानी दिएको छ ।”

“राम्रोसँग तालिम पनि अहिलेसम्म लिन पाएका छैनौँ”, थापामगरले भन्नुभयो, “श्रीमान्ले युट्युब हेर्नुहुन्छ । त्यही हेरेर खेती गर्न सिक्छौँ र त्यसैका आधारमा काम गछौँ ।” सुरुमा काठको मुढामा प्वाल पारेर बीउ रोपेपछि करिब छ महिनापछि त्यसले उत्पादन दिन सुरु गर्ने उहाँको भनाइ छ । एकपटक रोपेको बीउले निरन्तर पाँच वर्षसम्म उत्पादन दिने उहाँले बताउनुभयो ।

‘साइबर सुरक्षा सरकारको प्राथमिकता’

प्यूठान, २६ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्यूठानमा आज आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतनासम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले त्यसलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ‘साइबर स्पेस’लाई सुरक्षित बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै नीतिकै आधारमा साइबर सुरक्षा ऐनको विधेयक मस्यौदा गर्न सुरु गरिएको जानकारी दिनुभयो । सूचना प्रविधिको क्षेत्र क्षणक्षणमा परिवर्तन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्ने कानुन निर्माणलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र पनि स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।

साइबर अपराध नियन्त्रण गर्न साइबर सचेतनामा जोड दिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले यसलाई बृहत् सामाजिक अभियानकै रुपमा गाउँगाउँमा लैजानुपर्ने बताउनुभयो । साइबर अपराधको निशानामा सबैभन्दा बढी किशोरकिशोरी परेकाले साइबर सचेतना अभियान पनि कक्षा ११ र १२ का विद्यार्थीमा केन्द्रित गर्नुपर्ने मन्त्री शर्माले बताउनुभयो ।

सूचना प्रविधि आयार्जनको महत्वपूर्ण आधारका रुपमा स्थापित हुँदै गएको औल्याउँदै उहाँले गत वर्ष मात्रै सूचना प्रविधिको सेवा निर्यात गरेर ६८ अर्ब वैदेशिक मुद्रा भित्रिएको घटनाले सरकारलाई यससम्बन्धी नीति कार्यक्रम बनाउन उत्साहित गरेको स्पष्ट गर्नुभयो ।

सूचना प्रविधिलाई समृद्धिको आधार बनाउन नेपाल सरकारले यससम्बन्धी व्यावसायिक तालिममा जोड दिएको उल्लेख गर्दै मन्त्री शर्माले कक्षा १२ उत्तीर्ण युवालाई लक्षित गरी अल्पकालीन तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको जानकारी दिनुभयो । सूचना प्रविधि सिमानाविहीन हुने भएकाले यसले भूपरिवेष्टित मान्यता पनि तोडेको र देशभित्रै बसेर वैदेशिक मुद्रा आर्जन गर्न सकिने भएकाले नेपालका लागि यसको ठूलो सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको दक्ष जनशक्ति विकास हुँदै गयो भने नेपाललाई युवा होइन, सेवा निर्यात गर्ने देशका रुपमा स्थापित गर्न सकिने छ ।”

नेपालमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील कम्पनी र कार्यरत जनशक्तिको सरकारी तवरबाट अध्ययन नभएकाले यसमा सहयोग पुग्ने गरी डिजिटल च्याम्पियन र सूचना प्रविधिसम्बन्धी प्रदर्शनी पनि आयोजना गर्न थालिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा भीमसेन गिरीको अध्यक्षतामा भएको सम्मेलनमा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपाल टेलिभिजनका चिन्तामणि बराल, राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष डा शैलेन्द्र गिरी र नेपाल टेलिकमका इन्जिनियर आशिष ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

संस्कार, संस्कृतिको संरक्षण र समृद्धिका लागि होमस्टेको महत्वपूर्ण भूमिका छः मन्त्री महतो


चितवन, २६ असोजः वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले नेपालको कला संस्कृतिको सिको विश्वका देशले गर्न थालेको बताउनुभएको छ । माडीमा आजदेखि सुरु भएको घरबास (होमस्टे) महासङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले नेपालको संस्कृति संरक्षण र समृद्धिका लागि होमस्टेले ठूलो सहयोग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “होमस्टेले कला संस्कृति, सभ्यता, परम्परा र संस्कारलाई जीवित राख्न मद्दत गरेको छ ।” नेपालमा मात्रै नभई विश्वमा नै प्रचारप्रसारमा ल्याउन सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “हाम्रो परम्परा र संस्कृतिको अध्ययन गर्न विदेशीसमेत आउने गरेका छन् ।” संस्कृति र सभ्यताले धनी देश भएर पनि अतिथि सत्कार ग्रहण गर्न नसकेको उहाँले बताउनुभयो ।

होमस्टेले आर्थिक गतिविधिमा समेत टेवा पु¥याउने गरेको उहाँको भनाइ थियो । यस्ता होमस्टेलाई फराकिलोरुपमा अघि बढाउनु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संस्कृति र संस्कार गहनाका रुपमा रहेको छ । यसलाई बचाइ राख्नुपर्छ ।” विश्वका कतिपय देश धनी भएर पनि संस्कृति र सभ्यताको कमीका कारण पछि परेको भन्दै उहाँले संस्कार र संस्कृतिको संरक्षणमा राज्यले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, होमस्टे महासङ्घ बागमती प्रदेशका सल्लाहकार श्री प्रसाद दवाडी, महासङ्घका अध्यक्ष प्रेमशङ्कर मर्दनिया, महासचिव कृष्ण चौधरीलगायतले होमस्टे सिटीका रुपमा माडीलाई विकास गर्न आवश्यक रहेको बताउनुभयो । होमस्टेले कला, संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने उहाँहरुको भनाइ थियो ।

महाधिवेशनमा हिमाल, पहाड र तराई–मधेसका एक हजार पाँच सय गाउँबाट सात हजार होमस्टेका करिब पाँच सय प्रतिनिधि र एक सय पर्यवेक्षक सहभागी भएका छन् । नेपालको ६८ जिल्लामा होमस्टे रहेका छन् । महाधिवेशनको बन्दसत्र माडी नगरपालिका वडा नं ९ मा रहेको दुरा सामुदायिक होमस्टेमा हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेजनाइएको छ ।

यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला

काठमाडौँ, २६ असोज ः सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो ।रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।

सोही बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको छ ।दसैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाडौँबाट दसैँँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन् ।

चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छ : प्रधानमन्त्री

काठमाडौँ, २६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मेची महाकाली उद्धार अभियानमा सरिक आश्रमका अभियन्ताहरुलाई विदाई गर्नुहुँदै प्रधानमन्त्री दाहालले यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताउनुभयो ।

राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभइ समाजसेवा झन बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उल्लेख गर्दै उहाँले आश्रमको महत्व थाहा पाएसँगै सरकारका तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आउँदो दिनमा राज्यकोतर्फबाट पनि अझै धेरै जिम्मेवारी लिनुपर्छ भन्ने मैले ठानेको छु, नेपालमा मानवसेवा र सामाजिक सेवाका निम्ति संकल्पका साथ लाग्ने व्यक्तिको कमी छैन भन्ने कुरा आश्रमले स्थापित गरेको छ, बधाई दिन चाहन्छु ।” उहाँले मेची महाकाली यात्रा पूर्ण सफलताको शुभकामना पनि दिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अत्यन्तै कठिन अवस्थामा रहेका दाजुभाई दिदीबहीनी आमाबुबा र बालबालिकालाई आश्रमले संरक्षण गरिरहेकोमा प्रशंसा गर्नुभयो ।

मुलुकभित्र जति पनि सकारात्मक काम भइरहेका छन् ती सबैलाई जोडेर सामाजिक, आर्थिक रुपान्तरणसहित उन्नतशील राष्ट्र बनाउने अभियानमा सरकारले जोड दिइरहेको उहाँको भनाइ थियो । यस अभियान सफल बनाउनका लागि सरकार आवश्यक सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडीले) आश्रमले गरेको पुण्य कामको शब्दमा बयान गर्न नसकिने बताउनुभयो । सो क्रममा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले देशका १९ जिल्लाका २४ शाखामा हाल एक हजार छ सय सहयोगापेक्षी आश्रित रहेको जानकारी दिनुभयो ।

आज प्रधानमन्त्री कार्यालयबाट बिदाइ भएका मेची महाकाली उद्धार अभियानमा सहभागी ३८ जना अभियन्ताले भोलि मेची पुलबाट उद्धार थाल्ने उहाँले जानकारी दिनुभयो ।

कूल ३८ दिनसम्ममा तीन सयभन्दा बढी सडक आश्रित मानवलाई उद्धार गर्ने योजना छ । यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको छ । आश्रमले विसं २०८२ सम्म देशलाई नै सडक मानव मुक्त बनाउने सङ्कल्प लिएको छ ।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि भोलिसम्म समय थप


विराटनगर, २६ असोज : कोशी प्रदेशकोमुख्यमन्त्री नियुक्तिका लागि शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।

मुख्यमन्त्री पदका लागि बिहीबार नेपाली कांग्रेसका तर्फबाट निर्वाचितप्रदेशसभा सदस्य केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ४७÷४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गर्नुभएको थियो ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री पदका लागि असोज २० गते गर्नुभएको आह्वानमा दुई सदस्यले दाबी पेश गर्दा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर दोहोरिएपछि शनिबार परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन आज विज्ञप्तिमार्फत आह्वान गर्नुभएको हो ।

अप्ठ्यारो समयमा कांग्रेसले निकास दिन्छ : उपप्रधानमन्त्री खड्का

जाजरकोट, २६ असोज : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अप्ठ्यारो समयमा कांग्रेसले निकास दिँदैआएको बताउनुभएको छ । यसका लागि इतिहास साँची रहेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले देश आर्थिकरुपमा समस्यामा रहेको बताउनुभयो । विश्वको अन्य मुलुकमा द्वन्द्व हुँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने गरेको उहाँको भनाइ थियो । धर्म, जातजाति तथा विभिन्न बहानामा संविधानमाथि हमला हुन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।ऋण लिएर विकास निर्माणका काम गर्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले सबै पक्ष सकारात्मक रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेतृत्व ठिक भए मात्र कांग्रेस बन्ने भन्दै उहाँले यसका लागि नेता तथा जनप्रतिनिधि सच्चिनुपर्ने बताउनुभयो । समयअनुसार पार्टी रुपान्तरण भएर अगाडि बढ्नुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल

काठमाडौँ, २६ असोज : उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर बजार अनुगमन गरिरहेको छ ।

यही असोज १ देखि २५ गतेसम्म विभागले काठमाडौँ उपत्यकाभित्रका दैनिक उपभोग्य खाद्यान्न, माछामासु, औषधि तथा तरकारीजन्य छ सय ७९ व्यावसायिक फर्मको अनुगमन गरी एक सय ७७ फर्मलाई विभिन्न कसुरमा कारबाही गरेको छ । विभागले गैरव्यावसायिक क्रियाकलाप गर्ने ती फर्ममाथि कारबाही गरी रु ५४ लाख ६७ हजार जरिवाना तिराएको छ ।यस्तै एक सय ८५ फर्मसँग थप कागजात माग तथा दुई सय ९३ फर्मलाई व्यावसायिक सुधारका लागि निर्देशन दिएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिनुभयो । विभागले अनुगमनका क्रममा कुलेश्वरबाट जफत गरेको ७० हजार मेट्रिकन चिनी साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियत दरमा बिक्री गरिरहेको छ । उक्त चिनी साल्ट ट्रेडिङले प्रतिकिलो एक सय एक रुपैयाँ ५० पैसामा खरिद गरी सुपथ मूल्य पसलमार्फत प्रतिकिलो रु ९७ मा बिक्री गरेको हो ।बजारमा देखिएको चिनीको अभावलाई न्यूनीकरण गरी आपूर्ति प्रणाली सहज गर्न स्वदेशी उद्योगले अन्य औद्योगिक प्रयोजनका लागि अग्रीम बिक्री सम्झौता गरिसकेको एक हजार मेट्रिक टन चिनी उपभोक्ताको सहज पहुँच पुग्ने गरी बजारमा पठाउने तयारी गरिएको विभागका महानिर्देशक चिलुवालले जानकारी दिनुभयो । चिनी सञ्चय गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यवसायीको गोदामस्थल पहिचान गरी कारबाही गर्ने तथा सञ्चय गरेको चिनीलाई सहज र वास्तविक मूल्यमा बजारमा आपूर्ति गराउन निरन्तर लागि परेको विभागले जनाएको छ ।जीराको अस्वाभाविक मूल्यवृद्धि भइरहेका सन्दर्भमा विभागले सूक्ष्म अनुगमन गरिरहेको महानिर्देशक चिलुवालको भनाइ छ । “बजारमा सहज आपूर्ति र अस्वाभाविक नाफाखोरी गर्ने प्रवृति नियन्त्रणका लागि विशेष निगरानी, सूक्ष्म सूचना विश्लेषण र सरोकार भएका अन्य निकायबाट समेत आयात, सञ्चय तथा बिक्री वितरणसम्बन्धी विवरण विभागको निगरानी टोलीबाट अध्ययन भइरहेको छ”, उहाँले भन्नुभयो ।चोभारस्थित एक गोदामस्थलबाट २५ हजार किलो जीरा सञ्चय भएको पाइएको र उक्त जीरा तुरुन्त बजारमा प्रवाह गर्नेगरी काम अगाडि बढाइएको विभागले जनाएको छ । विभागबाट खटिएको अनुगमन टोलीले जीरा, चिनी, पिउने पानीलगायत काठमाडौँ उपत्यकाका नौ वटा खाद्यजन्य वस्तु सञ्चय गर्ने व्यवसायीको गोदाम र व्यापारिकस्थल सिलबन्दी गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।नियमित रुपमा बजार अनुगमन मार्फत स्वच्छ र प्रतिस्पर्धी बजार कायम गरी उपभोक्ताको हित संरक्षण कार्यमा विभाग क्रियाशील रहेको महानिर्देशक चिलुवालको भनाइ छ । बजारमा देखिने गैरव्यावसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित व्यापारिक क्रियाकलाप, बिलबिजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्री वितरणलगायतक्रियाकलापलाई न्यूनीकरण गर्न तथा स्वच्छ बजार कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्न विभाग निरन्तर रुपमा क्रियाशील रहेको छ ।विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, औषधि व्यवस्था, आन्तरिक राजस्व, नेपाल गुणस्तर तथा नापतौल, पशुसेवा र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको सहभागितामा संयुक्त बजार अनुगमन भइरहेको छ ।

शान्ति सेनामा कङ्गोमा तैनाथ राईको निधन

काठमाडौँ, २६ असोज : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।

खोटाङको फक्टाङ्ग गाउँपालिका–८ घर भएका प्युठ राई ट्याक्टिकल अपरेशन बेस जिनामा कार्यरत रहँदा बिरामी हुनुभएको थियो । उहाँको बुनियास्थित अस्पतालमा उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको निर्देशनालयले जनाएको छ ।

कांग्रेसलाई एकताबद्ध बनाएर लैजान जरुरीः नेताहरु

काठमाडौँ, २६ असोज : नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर मुलुक सामु देखापरेका सबैखाले चुनौतीको सामना गर्ने सामथ्र्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।वडा दसैँ, शुभ–दीपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ६ काठमाडौँको आयोजना तथा नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठको संयोजनमा भएको ‘एकता आजको आवश्यकता–राजनीतिक उपलब्धि र चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै नेताहरुले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने राष्ट्रिय दायित्व पनि कांग्रेसको भएको बताउनुभएको हो ।

साथै, उहाँहरुले प्रजातान्त्रिक पार्टी कांग्रेसभित्रको आन्तरिक प्रजातन्त्रलाई सुदृढ बनाएर पार्टीलाई गाउँदेखि सहरसम्म एकताको सन्देश प्रवाह गर्न पनि नेतृत्वगणलाई आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले मुलुकको राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर सिङ्गो पार्टीलाई एकताबद्ध बनाई जनताको परिवर्तनको चाहना अनुरुप विकास र समृद्धिको दिशामा सक्रिय भूमिका निर्वाह गर्न पार्टी पंक्ति प्रतिबद्धताका साथअघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।

प्रजातान्त्रिक मूल्य र मान्यताको बीजारोपण मात्रै होइन सो प्राप्तिका लागि सङ्घर्ष गरेको तथा नेपालको राष्ट्रिय राजनीतिमा अग्रणी भूमिका निर्वाह गरेको कांग्रेसलाई भावनात्मक एकताबद्ध भएर जनआकांक्षाअनुरुप काम गर्र्नुपर्ने धारणा उहाँले राख्नुभयो ।“नेपालको राजनीतिक परिवर्तनमा लामो त्याग र सङ्घर्ष गरेको कांग्रेसलाई मुलुकमा अहिले देखिएका सबैखाले चुनौतीलाई सामना गर्दै पार्टीलाई एकताबद्ध गरेर आर्थिक समृद्धिको यात्रामा सक्रिय हुनुपर्ने आवश्यकता छ, कांग्रेसको लक्ष्य अझै सफल भएको छैन, त्यसका निम्ति संविधानमा व्यवस्था भएको जनहितका कामलाई व्यावहारिक रुपमा अघि बढाउन जरुरी छ”, नेता सिंहले भन्नुभयो ।

पार्टीका अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताउनुहुँदै सबै राजनीतिक दललाई एकताको सूत्रमा बाँधेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्ने दायित्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“सामाजिक सद्भाव कायम गर्दै राष्ट्रलाई एकताबद्ध बनाउने जिम्मेवारी कांग्रेसमा रहेको छ, त्यसका लागि पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर लैजानुपर्छ ।” नेता सिटौलाले संविधानको पूर्ण कार्यान्वयन, अर्थतन्त्रको सबलीकरणका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय, प्रदेश रस्थानीय सरकारको अहिले नै मूल्याङ्कन गर्ने अवस्था नरहेको तर संविधानले सङ्कल्पगरेको जनताको अधिकारको लागि सचेत गराउनु अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

कांग्रेसका अर्का पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले मुलुकको राजनीतिमा महत्वपूर्ण योगदान गरेको पार्टीलाई एकताबद्ध गर्दै राजनीतिक उपलब्धि संस्थागत गर्न थप जिम्मेवार भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । “हामी एकजुट भयौँ भने कसैले पनि चलाउन सक्दैन”, उहाँले भन्नुभयो,“कांग्रेसभित्र भएका कमजोरीलाई सुधार गरी मुलुकसामु देखापरेका राजनीतिक, आर्थिक, सामाजिक चुनौतीको सामना गर्न पार्टीले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति एवं कांग्रेस नेतृ डा आरजु राणाले पार्टीलाई एकताबद्ध गर्दै सिद्धान्त र विचारलाई जनतासमक्ष लैजान सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा सुशासन प्रवर्द्धन, कृषिको आधुनिकीकरण गर्दै रोजगारी सिर्जना गर्नेतर्फ पार्टीले पहलकदमी गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले कांग्रेस एकजुट भएर राजनीतिक उपलब्धि संस्थागत गर्न र मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढ्न पार्टी थप जिम्मेवार र सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता भीमसेनदास प्रधान, कांग्रेस काठमाडौँ सभापति सबुजकृष्ण बानियाँलगायतले देशभर पार्टीलाई एकताको सन्देश प्रवाह गर्न कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा पार्टीका केन्द्रीय सदस्य, सांसद एवं विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल

काठमाडौँ, २६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनःस्थापनमा मात्र नभइ मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा पेसागत मूल्यमान्यताअनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा पत्रकारसँगको भेटघाटमा उहाँले पत्रकारिता जगत लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “सत्य अन्वेषण र सत्य सम्प्रेषण गर्नु सञ्चारमाध्यमको मुख्य चुनौती हो । अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पु¥याउन सक्नेतर्फ सचेत हुन आग्रह गर्दछु ।”

उहाँले पत्रकारिता जगतले यस्तो अवस्थामा सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउने विश्वास व्यक्त गर्नुभयो ।

काभा च्याम्पियनसीप भलिबल : नेपाल साउदी अरेबियासँग पराजित

काठमाडौँ, २६ असोज : श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ ।

कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा आज पाँच सेट चलेको खेलमा नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित भएको हो । खेलको पहिलो सेट २२–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । त्यस्तै खेलको तेस्रो सेट २३–२५ ले गुमाएको नेपाललले चौथो सेट २७–२५ ले जित्यो ।

त्यसपछिको निर्णायक पाँचौँ सेट नेपालले १६–१४ ले गुमाएपछि नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित हुन पुग्यो । प्रतियोतिामा यससँगै चार खेल खेलेको नेपालको यो दोस्रो हार हो । नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

त्यस्तै नेपालले यसअघि बङ्गालादेशलाई ३–१ र अफगानिस्तानलाई ३–२ को सेटमा पराजित भएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा भोलि उज्वेकिस्तान खेल्नेछ ।

मानवअधिकार आयोगको काम कारबाही प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, २६ असोज : प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय मानवअधिकार आयोगको काम कारबाही प्रभावकारी बनाउन पर्याप्त साधन, स्रोतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको बैठकमा समिति सभापति विमला सुवेदीले संविधान र कानुनले राष्ट्रिय मानवअधिकार आयोगलाई दिएको जिम्मेवारी एवं आयोगको काम–कारबाहीलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको बताउनुभयो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई परिमार्जन गर्न आफूले सहयोग गर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार आयोगले जातीय भेदभावविरुद्ध राज्यका तीनवटै तहका सरकारलाई जिम्मेवार बनाउने प्रयास गरेको बताउनुभयो । आयोगका सदस्य डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले राष्ट्रिय मानवअधिकार संस्थाको ग्लोबल सङ्ठन (गानहारी)मा ‘ए स्ट्याटस’ प्राप्त गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । आयोग स्थापनाकालदेखि ‘ए स्ट्याटस’ रहेको उल्लेख गर्दै उहाँले त्यसैलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

आयोगका सदस्य लिली थापाले लैङ्गिक तथा अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित गर्नका लागि समितिले लैङ्गिक नीतिमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । आयोगका (कामु) सचिव मुरारीप्रसाद खरेलले आयोगले मानवअधिकारका विषयलाई मात्रै नहेरी वातावरणीय न्याय र डिजिटल अधिकार र सुरक्षालगायतका विषामा पनि वकालत गरेको बताउनुभयो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले मानवअधिकार आयोगले आफ्नो गल्तीको ढाकछेप गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले निर्मला पन्तजस्ता विषयमा आयोगले केही चासो नदिएकामा दुःख व्यक्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले राष्ट्रिय मानवअधिकार आयोगले गलत रिपोर्ट पेस गरेर जबर्जस्ती ‘ए स्ट्याटस’मा आयोगलाई राख्न खोजेको आरोप लागाउनुभयो । नेपाली कांग्रेसका सांसद जीवन परियारले दलित समुदायको विषयलाई मानवअधिकार आयोगले प्राथमिकता नदिएको बताउनुभयो ।

विद्युत् विधेयक दफाबार छलफलका लागि समितिमा

काठमाडौँ, २६ असोज ः प्रतिनिधिसभाको आजको बैठकले ‘विद्युत् विधेयक, २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकको विशेष समयमा सांसदहरुले शान्तिसुरक्षा र सुशासन कायम गर्न माग गर्दै चाडपर्व नजिकिएसँगै बजारमा महँगी र कालोबजारी बढेकाले यसलाई नियमन गर्न माग गर्नुभयो । उहाँहरुले इजरायलमा अलपत्र रहेका थप नेपालीहरुलाई उद्धार, खोजी तथा स्वदेश फिर्ताका प्रक्रियामा निरन्तर चासो दिन पनि आग्रह गर्नुभयो । विजयादशमी अगाडिको अन्तिम बैठक भएकाले सांसदहरुले नेपालीहरुमा शुभकामना सन्देश पनि व्यक्त गर्नुभएको थियो ।

उक्त समयमा सांसदहरु पदम गिरी, हितराज पाण्डे, सञ्जयकुमार गौतम, वासुदेव घिमिरे, अशोककुमार चौधरी, रोशन कर्की, प्रदीप यादव, राजेन्द्र पाण्डे, सर्वेन्द्रनाथ शुक्ला, प्रभु साह, उर्मिला माझी, मैना कार्की, तारा लामा तामाङ, अमृतलाल राजवंशी, सन्तोष चालिसे र लालवीर चौधरीले भाग लिनुभएको थियो ।

बैठकले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थितिका सूचना दिने मनोरमा शेरचन, दयालबहादुर शाहीको सूचनालाई स्वीकृत गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले दसैँ, तिहार र छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।प्रतिनिधिसभाको अर्काे बैठक आगामी कात्तिक १२ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष नेपाल

लम्की, (कैलाली) २६ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ । समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभामा अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको बताउनुभएको हो ।

उहाँले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “देशमा केही शक्तिहरू पुनः राजतन्त्रको पक्षमा देखिएका छन्, त्यस्ता प्रयत्नलाई हामीले असफल पार्नुपर्छ ।”

उहाँले नेपाली जनताको बीचमा लामो समयदेखि रहेको प्रेम, आपसी सद्भाव बिगार्न प्रतिगामी तत्व लागिरहेको समेत आरोप लगाउनुभयो । “संविधान जारी भएको आठ वर्षमात्रै भयो । केही कमी–कमजोरी छन्, यसको अर्थ संविधान गलत छ भन्ने होइन”, अध्यक्ष नेपालले भन्नुभयोे, “संविधान, गणतन्त्र, सङ्घीयतामाथि आक्रमण भइरहेको छ, यस्ता कुरामा सरकार सचेत रहोस्”, संसारको कुनै पनि व्यवस्था आफैँमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिस्कारको क्रम निरन्तर रहने उहाँको भनाइ छ ।

धरान, सर्लाही, नेपालगञ्जलगायतका ठाउँमा भइरहेका साम्प्रदायिक घटनाले देशको सामाजिक सद्भावलाई भड्काउने कोसिस भइरहेको बताउँदै त्यसतर्फ प्रधानमन्त्री गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । अहिले नागरिकमा समेत नैराश्यता, बेरोजगार, महँगी बढिरहेको बताउँदै देशमा दलालीकरण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । जागरण अभियानबाट पार्टीलाई गतिशील बनाउने काम भइरहेको बताउँदै अध्यक्ष नेपालले २०८४ को चुनावमा पार्टी एक्लै चुनाव लड्नेसमेत बताउनुभयो ।

पार्टीका महासचिव घनश्याम भुसालले केही राजनीतिक दलका नेताहरूको अकर्मण्यताका कारण देशको अवस्था दिनप्रतिदिन भयावह हँुदै गएको बताउनुभयो । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगनाथ खतिवडाले पूर्व मेचीदेखि आज सुदूरपश्चिमको महेन्द्रनगरसम्म पुग्दा अभियान उत्साहपूर्वकरूपमा भएको बताउनुभयो । सो अवसरमा सुदुरपश्चिम प्रदेशका उपाध्ययक्ष तथा केन्द्रीय सदस्य शेरबहादुर कुँवरले देशलाई समाजवादतर्फ उन्मुख बनाउन आजको आवश्यकता भएको बताउनुभयो ।

कांग्रेसले जनतामा देखिएको निराशा चिर्नसक्नुपर्छ : महामन्त्री थापा

गोरखा, २६ असोज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गदै उहाँले भन्नुभयो, “पार्टीका नेता तथा कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला होइन । यो देशको हितका विषयमा सोच्ने हो, चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठूलो कुरा होइन ।” उहाँले चुनाव एउटा सामान्य प्रक्रिया भएको बताउनुभयो ।

उहाँले अहिले नागरिकमा ठूलो निराशा देखिएकाले त्यसलाई चिर्ने काम कांग्रेसबाट हुनुपर्ने बताउनुभयो ।उहाँले कांग्रेसलाई रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै अब आउने कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्नेसमेत बताउनुुभयो ।

भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार

राँझा (बाँके) – नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् ।
नेपालगञ्ज–८ का छोटु केवटलाई अहिले मूर्र्ति बनाउन भ्याइनभ्याइ छ । नगरभवन सामुन्नेमा अस्थायी टहरा निर्माण गरेर उहाँले एक महिनादेखि मूर्तिको काम गर्दै आउनुभएको छ । घटस्थापनाको दिनसम्म माग आएका सबै मूर्र्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उहाँले बताउनुभयो ।

“तीस पैतीस जति मूर्र्ति तयारी अवस्थामा छन् अरु त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याइ छ”, कलाकार केवटले भन्नुभयो, “आजभोलि मूर्र्ति किन्न भारत जानुपर्दैन नेपालगञ्जमै ठाउँठाउँमा बन्ने गरेका छन् ।”

उहाँका अनुसार, सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्र्ति बनाउने गरिन्छ । तर मूर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैँको समयमा केही मूर्र्ति बनाउन अर्डर आउँछ भने केही आफैँ बनाएर बिक्री गर्ने गरिएको छ ।

बाँकेको जानकी गाउँपालिका–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिनरात उहाँ माटोबाट भगवान््का विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ । नेपालगञ्ज–कोहलपुर सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवान््को आकृति भरिभराउ छन् । सानै उमेरदेखि मूर्र्ति बनाउने काम गर्दै आउनुभएका उहाँको यो पुख्र्यौली पेसा हो ।

बाँकेको जानकी गाउँपालिकाबाहेक सदरमुकाम नेपालगञ्जमा पनि तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवान््को मूर्र्ति बनाएर बिक्री वितरण हुने गरेको छ । दसैँ नजिकिँदै जाँदा मूर्र्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्र्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा–दसैँको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवान्को मूृर्तिमा पूजा गर्ने चलन छ ।

“पहिला घरमा सानो–सानो मूर्र्ति बनाउँथ्यौँ पछि ठूलो बनाउन लागेँ । दुर्गा मातालगायत सबै प्रकारको मूर्र्ति बनाउने गरेको छु”, हरिजनले भन्नुभयो, “नवरात्रको बेला सिजन हो । पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ । मेहनत धेरै छ ।”

उहाँका अनुसार रु २० देखि २५ हजारको एउटा मूर्र्ति बिक्री गर्दा रु चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ । हरिजनले आफूजस्तै अन्य छ जनालाई रोजगारीसमेत दिनुभएको छ । उनीहरुले रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–८ रानी तलाउ नजिकै मूर्र्ति बनाउँदै आएका सन्दीपकुमार वंशकारले डेढ महिनाअघिदेखि माटोबाट तयार पारिएका देवीदेवताको आकृतिमा यतिबेला रङरोगन गर्न भ्याइनभ्याइ भएको बताउनुभयो ।

उहाँका अनुसार, यतिबेला कालीगढ मूर्तिरुमा देवदेवीका बाहन र उनीहरुले प्रयोग गर्ने अस्त्रको रङरोगनमा व्यस्त छन् । दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, राँगा, सर्प र देवीदेवताका मूर्र्ति तयार भएका छन ।

दुर्गा भगवती, बाघ, भैँसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिकेलगायतका मूर्ति बानउनका लागी एक महिना अगाडि बुक गर्ने गरेको वंशकारले जानकारी दिनुभयो । मूर्र्तिको लागि चाहिने औजार र सजावटका सामग्री भारती बजार रुपैडिहाबाट खरिद गरी ल्याउने गरिएको छ । बाँकेको सदरमुकाम नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्र्तिको माग बढ्दै गएको पाइएको छ ।

बाँकेमा माटोबाट मूर्र्ति बनाउने मूर्र्तिकार सङ्गठित हुन सकेका छैनन् । यसका कारण मूर्र्तिको दर मूल्यमा पनि एकरुपता छैन । “सबैले आ–आफ्नै तरिकाले मूर्र्ति बिक्री गर्ने गरेका छौंँ, चिने जानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ”, नेपालगञ्ज–७ फुल्टेक्राका मूर्तिकार मुकेश गुप्ताले भन्नुभयो, “धेरैजसो रेगुलर ग्राहक छन् तर चिनेको आधारमा एकजनालाई छुट गर्दा धेरैजनासँग घाटा खानुपरेको छ ।”

हस्तकलाको क्षेत्रमा लागेका व्यक्तिलाई सरकारी निकायले चासो नदिएकोमा मूर्र्तिकारको गुनासो छ । “आफैँ सीप सिकेरै यहाँसम्म आएका छौँ”, उहाँले भन्नुभयो, “आवश्यक सीप र नयाँ प्रविधिका बारेमा जानकारी गराउने हो भने अझै राम्रो गर्न सक्ने छौँ ।”

कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरेहित फुर्सदिला

म्याग्दी, २६ असोज ः यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुुने मुुस्ताङको बारागुुङ मुुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुरेहित श्याम रिजाल यसपालि फुर्सदिला हुुनुहुुन्छ ।

“पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुुको पातलो उपस्थिति छ”, उहाँले भन्नुुभयो, “भक्तजन कम हुुँदा हामीहरुलाई पनि कामको चाप छैन ।”

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

कागबेनीमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्न आउने भक्तजनको सङ्ख्यामा यसपालि कमी आएको मुुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुुवेदीले बताउनुुभयो ।

“ यसपालि यहाँ आउने नेपाली भक्तजन र तीर्थयात्री अहिलेसम्मकै कम छन्”, उहाँले भन्नुुभयो, “औसी तिथिमा अन्य दिनमा भन्दा भक्तजन बढी आउलान तर समग्रमा कमी भएको छ ।”

सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट सुरु भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँसीका दिनसम्म चल्ने गर्दछ ।

सोह्र श्राद्धको सुुरुमै बेनी–जोमसोम सडकमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा गलत सन्देश प्रवाह हुुुनु, बाढीले कागबेनीमा भौतिक संरचनामा क्षति पुु¥याउनुु र आर्थिक क्षेत्रमा देखिएको समस्याको असर भक्तजन आगमनमा परेको स्थानीयवासीको भनाइ छ ।

सोह्र श्राद्धमा भक्तजन र तीर्थयात्रीले भरिभराउ हुुने होटल र धर्मशाला यसपालि सुुनसान रहेका जोमसोमका होटल व्यवसायी बमप्रसाद गौचनले बताउनुुभयो । “पहिले तीर्थयात्री धेरै आउँदा होटलमा बास नपाएर डाइनिङ हलमा सुत्ने गर्दथे”, उहाँले भन्नुुभयो, “यसपालि भएका कोठा पनि रित्ता भए ।”

भक्तजन आगमनमा भएको कमीले म्याग्दी र मुुस्ताङको होटल, यातायात व्यवसायीदेखि पूजा सामग्री बिक्री गर्नेलाई समेत असर गरेको छ । गत साउनको २८ गते कागखोलामा आएको बाढीले कागबेनीको बस्ती र भौतिक संरचनामा क्षति पुुगेको थियो ।

बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहनुुभएका कागबेनी बस्ती पुुनःस्थापना तथा संरक्षण समितिका संयोजक धारा गुुरुङले डोजरले बाढी पन्छाएर अस्थायी श्राद्धस्थल बनाएको जानकारी दिनुुभयो । “अस्थायीरुपमा श्राद्ध गर्ने ठाउँ बनाएका छौँ, पिण्डदान गर्न कुुनै समस्या छैन”, उहाँले भन्नुुभयो, “हिजोआज बेनी–जोमसोम सडकको अवस्था पनि सहज छ । मुुस्ताङ भ्रमणमा कुुनै समस्या छैन ।”

मुुक्तिनाथका होटल व्यवसायी रोशन थकालीले सोह्र श्राद्धमा भक्तजन कम भए पनि घटस्थापनापछि स्कुुल कलेज र कार्यालय बिदा भई मुुस्ताङ घुम्न आउने स्वदेशी पर्यटक बढ्ने अपेक्षा गरेको बताउनुुभयो ।

हालै गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सरस्वती अर्याल र कृषि सहकारी तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले मुुस्ताङ भ्रमण गर्नुभएको थियो ।

पर्यटन प्रवद्र्धनका लागि घरपझोङ गाउँपालिकाले गत हप्ता जोमसोममा कृषि पर्यटन महोत्सवसमेत आयोजना गरेको थियो । वर्षा रोकिएको, आकाश खुुलेको र चिसो सुुरु हुुन लागेको शरदयाम भ्रमण र घुमघामका लागि उपयुुक्त मानिन्छ ।

सांसदको जिम्मेवारी बारेमा जनताले बुझेनन्, हामीले पनि बुझाउन सकेनौँ – नेत्री माझी

काठमाडौँ, २६ असोज : “सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ‘माननीय’को प्रमुख जिम्मेवारी कानुन निर्माण कि विकास भन्ने पाटो न जनताले बुझ्न सके, न हामीले बुझाउन सकियो ।”

नेकपा (माओवादी केन्द्र) की नेत्री उर्मिला माझी दायित्व र जिम्मेवारीका हिसाबले कानुन निर्माण नै मुख्य जिम्मेवारी भए पनि चुनावमा वाचा गरेर आएकाले विकास निर्माणको पक्ष कर्तव्यभित्रको बाध्यात्मक रहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सांसद भइसकेपछि निर्वाचन क्षेत्रका समस्या र आवाजलाई सम्बोधन गर्ने विषयमा गैरजिम्मेवार बन्ने छुट हामीलाई छैन । दुवै विषलाई सँगै लैजानुपर्छ । मुख्य भूमिका भने आफैँले निक्र्याैल गर्नुपर्छ भन्ने लाग्छ ।” विधेयकमाथिको छलफलमा भाग लिने तथा जनताका समसामयिक विषय उठानदेखि ध्यानाकर्षसम्मका कर्तव्य र जिम्मेवारीलाई सँगसँगै अघि बढाइएको बताउँदै सांसद माझीले गएको करिब एक वर्षको अवधि भने विविध कारणले अनुभव हासिल गर्ने क्रममै बितेको स्वीकार्नुभयो ।

सांसदसँग रासस सम्वादमा उहाँले भन्नुभयो, “विधेयक पारितको सङ्ख्यालाई लिएर बाहिरबाट सरसर्ती हेर्दा सांसदको भूमिका पुगेन, काम भएन भन्ने गुनासो छ, तर लामो समयदेखि रोकिएको नागरिकता र अर्थजस्ता महत्वपूर्ण विधेयक पारित भएको विषयलाई बिर्सन भएन ।”
विधेयक जुनरुपले फटाफट पारित गरेर अघि बढ्नुपर्ने हो त्यो हुन नसकेको पक्षलाई स्वीकार गर्दै नेत्री माझीले त्यसमा पनि सत्तापक्ष र प्रतिपक्षको मनोभावना एवं दल विशेषको सांसद सङ्ख्याले निर्धारण गर्दैआएको विचार प्रकट गर्नुभयो ।

विसं २०५६ देखि अखिल क्रान्तिकारीमा आबद्ध उहाँसग माओवादी सशस्त्र द्वन्द्वमा पूर्णकालीन सदस्यका रुपमा एरिया इञ्चार्ज भइ काम गरेको अनुभव छ । विसं २०६० मा जीवनसाथीको सहादातपछि विसं २०६४ मा अन्तरजातीय विवाह गर्नुभएकी सांसद माझी पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै विसं २०७९ मा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०५८ देखि हालसम्म माझी मुक्ति मोर्चाको महासचिव रहनुभएकी उहाँ हाल पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ ।

जनताका जिम्मेवारी लिएर पहिलो दिन सदनभित्र प्रवेशका बखत लिइएको आशा र अपेक्षामा हालसम्मको अभ्यासको वातावरणले ऊर्जा प्रदान गर्न नसकेको बताउँदै सांसद माझी जनता इसुमा सत्ता र प्रतिपक्ष नभनी एक ढिक्का भएर काम गर्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ ।

सदन र संसदीय समितिका बैठक सांसदको उपस्थित सङ्ख्या नपुगेर स्थगन हुनुलाई जिम्मेवार बोध नभएको घटनाकारुपमा लिन सकिने बताउँदै उहाँले सङ्ख्याको अभावमा विधेयक अघि बढ्न नसक्ने अवस्था सदनमा कहिल्यै आउन दिन हुन्न भन्नुभयो ।

अनुभवी र पुरानाका दाँजोमा नवप्रवेशी सांसद संयमित र अनुशासित भई प्रस्तुत हुने गरेको अनुभव सुनाउँदै नेत्री माझी सदन हुने आरोप–प्रत्यारोपका घटनाले जनतालाई आशा नभर्ने हुँदा नेतृत्वले त्यस्ता कमीकमजोरीलाई सच्याएर लैजानुपर्ने सुझाव दिनुहुन्छ ।

एक प्रसङ्गमा उहाँले भन्नुभयो, “सरकारको मुख्य एजेण्डा नै सुशासन कायम र भ्रष्टाचार न्यूनीकरण छ, सुशासनका लागि चालिएका कदम राम्रा छन् । संसदीय प्रणालीमा सदनमा सङ्ख्याको विषय महत्वपूर्ण हुन्छ । जनहितका एजेण्डामा पनि अल्पमत र बहुमतको प्रश्न गरिन्छ, त्यो नहुन पर्ने हो ।”

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने तथा जनतालाई सेवा सुविधा सहज र सुलभ ढङ्गबाट उपलब्ध गराउने विषयमा सत्ता पक्ष, प्रतिपक्ष र सांसदबीच एउटै आवाज हुनपर्नेमा जोड दिँदै उहाँ भन्नुहुन्छ, “सबै पक्ष र निकाय जिम्मेवार ढङ्गले जानुपर्छ अन्यथा एजेण्डा ओझेलमा पर्छ ।”

एक अर्काे प्रसङगमा उहाँले जिम्मेवारी र पदीय दायित्वका आधारमा सांसद ठूलो पदजस्तो देखिए पनि कार्यकारी अधिकार नहुँदा उठाएका विषय सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

स्वदेशै रोजगारी सिर्जना गरी युवा र विद्यार्थीलाई रोक्न प्रत्येक सरकार असफल भएका दृष्टान्त प्रस्तुत गर्दै सांसद माझीले दीर्घकालीन नीति बनाएर समयमै कार्यान्वयन नगर्ने हो भने यसले उग्ररुप लिने र चुनौती खडा गर्नेतर्फ समयमै सचेत हुनुपर्छ भन्नुभयो ।

साथीभाइसँगको सङ्गत, सामाजिक दबाब र आर्थिक सङ्कटका कारणले स्वदेशमा भविष्य नदेख्न मनोविज्ञान विकास भइरहेको उल्लेख गर्दै उहाँले युवापुस्ता स्वदेशमा नअडिदा हुनसक्ने खतरालाई रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

युवालाई स्वदेशमै भविष्य देख्ने भूमिका राज्यले तयार गर्नु पर्नेमा जोड दिँदै उहाँले रोजगारी सिर्जना गर्नेतर्फ राज्यलाई उत्प्रेरित सबैको दायित्व र जिम्मेवारी भएको बताउनुभयो । सांसद माझीले भन्नुभयो, “पुर्खाको ठूलो बलिदानीले जोगाएको देश बनाउने जिम्मेवारी राज्य र युवा दुवैको हो । त्यो पाटोबाट सबैले सोचौँ भन्ने आग्रह गर्न चाहन्छु ।”

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौ‌ । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकआज अपरान्ह २ बजे संसद् भवन बानेश्नरमा बस्नेछ । आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने संसद् सचिवालयले जनाएको छ ।

यस्तै सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ ।

आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युराेपियन युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा रहेको छ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसा, दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्री दर ९ रूपैयाँ ९९ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६४ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१२ रुपैयाँ र बिक्री दर ८५.५१ रुपैयाँ रहेको छ।

क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा, साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ रहेको छ।

नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक, उडान गर्ने भनेको सात वर्ष बितिसक्दा पनि आलटाल

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भनेको सात वर्ष बितिसक्दा पनि आलटाल हुँदै आएको छ । नागरिक उड्डयन प्राधिकरणलाई दक्षिण कोरियाको सिभिल एभिएसन अथोरिटीले सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्न पटकपटक ताकेता गरे पनि बेवास्ता गर्दा आलटाल भएको हो ।

‘उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट ९मोलिट० अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ तर यहाँको नागरिक उड्डयन प्राधिकरणले समय नदिँदा सात वर्षदेखि नै आलटाल हुँदै आएको हो,’ स्रोतले भन्यो ।

समयमै सेफ्टी अडिट भएको भए दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको स्रोतको दाबी छ ।यो समाचार नागरिक दैनिकमा छ ।

पछिल्लोपटक कोरियाको सिभिल एभिएसनले नागरिक उड्डयन प्राधिकरणलाई अक्टोबर १६ देखि २० मा नेपाल आउने र सेफ्टी अडिट गर्ने प्रस्ताव गरेको थियो । त्यसलाई प्राधिकरणले घुमाउरो भाषामा अस्वीकार गरेका छ ।

बाँकेमा आगलागी हुँदा सात पसलमा क्षति

नेपालगञ्ज, २६ असोज ः बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ ।

विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भन्नुभयो, “सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदैछ ।”

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताउनभयो । आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो

१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा

झापा, २६ असोज ः कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ ।

चार वर्षअघि रु ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ ।

झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिघा जमिनमा २२ हजार छ सय सोलार प्यानल जडान गरिने उहाँले जानकारी दिनुभयो । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ ।

“यो नेपालकै ठूलो परियोजना हो, अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ”, निर्देशक भट्टराईले भन्नुभयो, “अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो । चाँडै सक्छौँ ।” सो परियोजना निर्माणका लागि माछापुछ«े बैंकले रु ३५ करोड र सिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा रु २० करोड शेयरदाताबाट लगानी गरिएको उहाँको भनाइ छ । उहाँले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताउनुभयो ।

विर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताउनुभयो उहाँले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उहाँले बताउनुभयो । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उहाँको भनाइ छ । झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उहाँको भनाइ छ । उहाँले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट रु ७.३० का दरले विक्री गर्ने गरी सम्झौता भइसकेको जानकारी दिनुभयो

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भुभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जाने

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जानुहुने भएको छ । जर्मनीको एकीकरण तथा जर्मनी-नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहिबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताउनुभयो ।

राजदूत प्रिन्जले भूकम्पपछिको पुनःनिर्माण होस् या कोरोना महामारीको समयमा जर्मनीले नेपाललाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, पत्रकार, उद्योगपति, व्यापारी, कामको सिलसिलामा काठमाडौँमा रहेका जर्मनीका नागरिक, नेपाली समाजका प्रतिष्ठित व्यक्तिलगायतकाे उपस्थिति थियो ।

सहयात्रीमा नै शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखापरेको बताउनुभएको छ । द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारले ‘सङ्क्रमणकालीन न्याय प्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बुझ्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “शान्ति प्रक्रिया टुङ्ग्याउने विषयलाई पेचिलो बनाउने तथा प्रक्रियालाई टुङ्गोमा पु¥याउन सकस पैदा गर्ने कोसिस भइरहेको छ । शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।”

प्रधानमन्त्री दाहालले विभिन्न चुनौतिबीच आफुले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित भएका सबैका समस्या समाधन र उनीहरूका पिडा पक्ष विपक्ष नभनेर समाधानको प्रयास गरिराखेको उल्लेख गर्नुभयो । द्वन्द्व पीडित प्रहरीका परिवारलाई समेत आफुले भेटेको उहाँको भनाइ थियो ।

पछिल्लो पटक आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान आकर्षण हुने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने भन्दै महासभामा सम्बोधन गर्दा अन्तर्राष्ट्रियरूपमा नै तरङ्ग फैलिएको छ, महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको नभई बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।”

आफूले महासभामा नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गो लगाउँदा त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकाले सबैले नेपालको शान्ति प्रक्रिया टुङ्ग्गोमा पु¥याउन मद्दत गर्नुपर्ने धारणा राखेको प्रधानमन्त्री दाहालले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभामा आफूले महासचिव एन्टोनियो गुटेरेसलाई नेपालले जलवायु परिर्वतका कारण भोगेको समस्या र नेपालको शान्ति प्रक्रियाका साथै पीडितको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको उहाँले बताउनुभयो ।

महासचिव गुटेरेससँग नेपालको शान्ति प्रक्रिया र चुनौती बारेमा छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले उहाँको नेपाल भ्रमणले न्याय प्रक्रियाको टुङ्गो लगाउन, नेपालको शान्ति प्रक्रिया नजिकबाट हेर्न, नेपालले भोगिराखेको वातावरणीय समस्या तथा यसको प्रभावबारे बुझ्न मद्दत पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “शान्ति प्रक्रियालाई राजनीतिक तहमा यसअघि भएका सहमति अनुसार टुङ्गोमा पु¥याउन निरन्तर छलफल गरिराखेको छु । राजनीति दलसँग टिआरसी विधेकमा सहमति जुटाएर एकमत कायम गर्न शान्ति प्रक्रियामा सहभागी सबै दल र अरूलाई पनि समेटेर लैजाने प्रयास गरिरहेको छु ।” शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन माओवादी केन्द्र र सरकार जस्तो इमान्दार प्रतिपक्षी दल नभएको उहाँको भनाइ थियो ।

सुपथ मूल्य पसल छ, चिनी छैन

काठमाडौं । सरकारले बजारमा मूल्य वृद्धि, कृत्रिम अभावजस्ता अराजक बजारलाई चिर्ने उद्देश्यले स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडजस्ता संस्थामा अत्यावश्यक वस्तुका रूपमा मानिने चिनी अभाव देखिएको छ ।

बजारमा व्यापारीले कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाएका बेला सरकारी निकाय समन्वय गर्नुको साटो निरीह भई टुलुटुलु हेरेर बसेको पाइएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले मंगलबार दिउँसोबाट कम्पनीको कुनै पनि शाखामा चिनी नरहेको बताए ।

उनले उपत्यकामा सञ्चालित काठमाडौंका थापाथली, रामशाहपथ तथा ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायकमा रहेको पसलमा चिनी अभाव रहेको बताए । सुवेदीले तिहारपछि मात्रै संस्थाले बोलकबोल गरेर चिनी खरिद गरी बिक्री गर्ने जानकारी दिए ।

यसै गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पनि चिनीको अभाव देखिएको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारी ९७ रुपियाँमा २ किलोसम्म मात्र चिनी दिने गरिएको बताए ।

उनले जिल्ला प्रशासन कार्यालयले बेच्न दिएको चिनी सरकारी निकायलाई दिन राखिएको अन्य केही क्विन्टल चिनी सामान किन्न आउने ग्राहकलाई २ किलोका दरले दिन राखिएको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रथम राष्ट्रपति यादवद्वारा राष्ट्रपति पौडेलको ध्यानाकर्षण

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रथम राष्ट्रपति डा रामवरण यादवले गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी खुला गर्नेसम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी केही प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रपति पौडेललाई पूर्वराष्ट्रपति डा यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार भेटेर सो ध्यानाकर्षण गराउनुभएको हो । राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति डा यादवसहित विज्ञहरूले गर्नुभएको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्न भण्डार रहेको तराई मधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पनि पूर्व राष्ट्रपति डा यादवलगायत विज्ञलाई बताउनुभएको थियो । मन्त्रिपरिषद्को यही असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसद्मा पेस गर्ने निर्णय गरेको थियो । सो विधेयकमा हाल बन्द गरिएको गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी गर्नेबारेमा उल्लेख भएको पनि डा यादवले जानकारी गराउनुभएको थियो ।

प्रथम राष्ट्रपति डा यादवले सो विधेयक संसद्बाट जस्ताको त्यस्तै पारित भयो भने राष्ट्रको अस्तित्वमाथि नै खतरा आइपर्ने चिन्ता प्रकट गर्दै आफ्नो पनि राष्ट्रिय कर्तव्य भएकाले विज्ञहरूसहित राष्ट्रपतिसमक्ष आग्रह गर्न आउनुपरेको बताउनुभएको थियो ।

“राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति नामको यो परियोजना राष्ट्रपतिको नाममा जोडिएको र म पनि यसमा संलग्न भइसकेको हुनाले राज्यले यसलाई बेवास्ता गरिरहँदा त्यसमा राष्ट्रपतिको ध्यानाकर्षण गराउनु आफ्नो पनि कर्तव्य हो भनेर भेट्न आएको हुँ”, प्रथम राष्ट्रपति डा यादवले भन्नुभयो, “अन्नको भण्डार नष्ट भइरहेको छ, अब पनि चुरे दोहन नरोक्ने हो भने गम्भीर अवस्था सिर्जना हुनसक्छ ।”

सो अवसरमा प्रथम राष्ट्रपति डा यादवसँग चुरेविज्ञ डा विजयकुमार सिंह दनुवार, वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठ, जैविक विविधताविज्ञ डा रामप्रसाद चौधरी, वन तथा चुरेविज्ञ डा विनोद भट्ट, डा नागेन्द्र यादव, कृषिविज्ञ डा कृष्ण पौडेल सहभागी हुनुहुन्थ्यो ।