`

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भुभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जाने

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जानुहुने भएको छ । जर्मनीको एकीकरण तथा जर्मनी-नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहिबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताउनुभयो ।

राजदूत प्रिन्जले भूकम्पपछिको पुनःनिर्माण होस् या कोरोना महामारीको समयमा जर्मनीले नेपाललाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, पत्रकार, उद्योगपति, व्यापारी, कामको सिलसिलामा काठमाडौँमा रहेका जर्मनीका नागरिक, नेपाली समाजका प्रतिष्ठित व्यक्तिलगायतकाे उपस्थिति थियो ।

सहयात्रीमा नै शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखापरेको बताउनुभएको छ । द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारले ‘सङ्क्रमणकालीन न्याय प्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बुझ्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “शान्ति प्रक्रिया टुङ्ग्याउने विषयलाई पेचिलो बनाउने तथा प्रक्रियालाई टुङ्गोमा पु¥याउन सकस पैदा गर्ने कोसिस भइरहेको छ । शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।”

प्रधानमन्त्री दाहालले विभिन्न चुनौतिबीच आफुले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित भएका सबैका समस्या समाधन र उनीहरूका पिडा पक्ष विपक्ष नभनेर समाधानको प्रयास गरिराखेको उल्लेख गर्नुभयो । द्वन्द्व पीडित प्रहरीका परिवारलाई समेत आफुले भेटेको उहाँको भनाइ थियो ।

पछिल्लो पटक आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान आकर्षण हुने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने भन्दै महासभामा सम्बोधन गर्दा अन्तर्राष्ट्रियरूपमा नै तरङ्ग फैलिएको छ, महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको नभई बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।”

आफूले महासभामा नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गो लगाउँदा त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकाले सबैले नेपालको शान्ति प्रक्रिया टुङ्ग्गोमा पु¥याउन मद्दत गर्नुपर्ने धारणा राखेको प्रधानमन्त्री दाहालले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभामा आफूले महासचिव एन्टोनियो गुटेरेसलाई नेपालले जलवायु परिर्वतका कारण भोगेको समस्या र नेपालको शान्ति प्रक्रियाका साथै पीडितको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको उहाँले बताउनुभयो ।

महासचिव गुटेरेससँग नेपालको शान्ति प्रक्रिया र चुनौती बारेमा छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले उहाँको नेपाल भ्रमणले न्याय प्रक्रियाको टुङ्गो लगाउन, नेपालको शान्ति प्रक्रिया नजिकबाट हेर्न, नेपालले भोगिराखेको वातावरणीय समस्या तथा यसको प्रभावबारे बुझ्न मद्दत पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “शान्ति प्रक्रियालाई राजनीतिक तहमा यसअघि भएका सहमति अनुसार टुङ्गोमा पु¥याउन निरन्तर छलफल गरिराखेको छु । राजनीति दलसँग टिआरसी विधेकमा सहमति जुटाएर एकमत कायम गर्न शान्ति प्रक्रियामा सहभागी सबै दल र अरूलाई पनि समेटेर लैजाने प्रयास गरिरहेको छु ।” शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन माओवादी केन्द्र र सरकार जस्तो इमान्दार प्रतिपक्षी दल नभएको उहाँको भनाइ थियो ।

सुपथ मूल्य पसल छ, चिनी छैन

काठमाडौं । सरकारले बजारमा मूल्य वृद्धि, कृत्रिम अभावजस्ता अराजक बजारलाई चिर्ने उद्देश्यले स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडजस्ता संस्थामा अत्यावश्यक वस्तुका रूपमा मानिने चिनी अभाव देखिएको छ ।

बजारमा व्यापारीले कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाएका बेला सरकारी निकाय समन्वय गर्नुको साटो निरीह भई टुलुटुलु हेरेर बसेको पाइएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले मंगलबार दिउँसोबाट कम्पनीको कुनै पनि शाखामा चिनी नरहेको बताए ।

उनले उपत्यकामा सञ्चालित काठमाडौंका थापाथली, रामशाहपथ तथा ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायकमा रहेको पसलमा चिनी अभाव रहेको बताए । सुवेदीले तिहारपछि मात्रै संस्थाले बोलकबोल गरेर चिनी खरिद गरी बिक्री गर्ने जानकारी दिए ।

यसै गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पनि चिनीको अभाव देखिएको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारी ९७ रुपियाँमा २ किलोसम्म मात्र चिनी दिने गरिएको बताए ।

उनले जिल्ला प्रशासन कार्यालयले बेच्न दिएको चिनी सरकारी निकायलाई दिन राखिएको अन्य केही क्विन्टल चिनी सामान किन्न आउने ग्राहकलाई २ किलोका दरले दिन राखिएको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रथम राष्ट्रपति यादवद्वारा राष्ट्रपति पौडेलको ध्यानाकर्षण

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रथम राष्ट्रपति डा रामवरण यादवले गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी खुला गर्नेसम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी केही प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रपति पौडेललाई पूर्वराष्ट्रपति डा यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार भेटेर सो ध्यानाकर्षण गराउनुभएको हो । राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति डा यादवसहित विज्ञहरूले गर्नुभएको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्न भण्डार रहेको तराई मधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पनि पूर्व राष्ट्रपति डा यादवलगायत विज्ञलाई बताउनुभएको थियो । मन्त्रिपरिषद्को यही असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसद्मा पेस गर्ने निर्णय गरेको थियो । सो विधेयकमा हाल बन्द गरिएको गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी गर्नेबारेमा उल्लेख भएको पनि डा यादवले जानकारी गराउनुभएको थियो ।

प्रथम राष्ट्रपति डा यादवले सो विधेयक संसद्बाट जस्ताको त्यस्तै पारित भयो भने राष्ट्रको अस्तित्वमाथि नै खतरा आइपर्ने चिन्ता प्रकट गर्दै आफ्नो पनि राष्ट्रिय कर्तव्य भएकाले विज्ञहरूसहित राष्ट्रपतिसमक्ष आग्रह गर्न आउनुपरेको बताउनुभएको थियो ।

“राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति नामको यो परियोजना राष्ट्रपतिको नाममा जोडिएको र म पनि यसमा संलग्न भइसकेको हुनाले राज्यले यसलाई बेवास्ता गरिरहँदा त्यसमा राष्ट्रपतिको ध्यानाकर्षण गराउनु आफ्नो पनि कर्तव्य हो भनेर भेट्न आएको हुँ”, प्रथम राष्ट्रपति डा यादवले भन्नुभयो, “अन्नको भण्डार नष्ट भइरहेको छ, अब पनि चुरे दोहन नरोक्ने हो भने गम्भीर अवस्था सिर्जना हुनसक्छ ।”

सो अवसरमा प्रथम राष्ट्रपति डा यादवसँग चुरेविज्ञ डा विजयकुमार सिंह दनुवार, वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठ, जैविक विविधताविज्ञ डा रामप्रसाद चौधरी, वन तथा चुरेविज्ञ डा विनोद भट्ट, डा नागेन्द्र यादव, कृषिविज्ञ डा कृष्ण पौडेल सहभागी हुनुहुन्थ्यो ।

दसैँको छुट बजारमा यसरी मच्चाइन्छ लुट

काठमाडौँ । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ ।

सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भिड छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि भएकाले सबै वर्गका नागरिकको बजारमा भिड लाग्छ ।

लत्ताकपडा र जुत्ताचप्पल लगायतका सामान बिक्री गर्ने व्यापारी चाडपर्वमा सबै वर्गका व्यक्तिले आफ्ना परिवार वा छोराछोरीका लागि नयाँ कपडा र जुत्ता किन्ने चलन पहिलेदेखि नै भएकाले त्यस्ता वर्गलाई केही राहत पुगोस् भनेर छुटको व्यवस्था गरेको दाबी गर्छन् ।

असन चोकको कुर्र्ता, टप्स, सारी पसलमा काम गर्ने एक कर्मचारीले नाम नभन्ने सर्तमा भने, “दसैँअगाडि एक हजारमा बिक्री गर्दै आएको कुर्ता अहिले प्रतिपिस आठ सय रुपियाँ बढाई एक हजार आठ सय रुपियाँ पु¥याएर प्रतिपिस २० प्रतिशत छुट भनिएको छ । यो मात्रै होइन, सारी, टप्स र वान पिस पनि त्यस्तै छ ।”

“बालबालिकाका कपडामा त अझ पहिलेभन्दा दोब्बरभन्दा बढी मूल्य वृद्धि गरिएको छ । ती सामान ‘फिक्स’ मूल्य भनेर सेलमा राखिएको छ, उपभोक्ता भने सेल भनेपछि फ्री पाए जस्तै गरी भिड लागेर पानी पिउन पनि पाइँदैन,” उनले थपे ।

यस्तै कालीमाटी रोडमा जुत्ताचप्पल पसलमा काम गर्ने विनोद न्यौपानेले सकेसम्म सेल भनेर बिक्रीमा राखेको पसलमा सामान नकिन्न सल्लाह दिए । उनले भने, “सेल भनेका ठाउँमा धेरै ठुलो खेल हुन्छ । त्यसमा उपभोक्ता सचेत हुनु पर्छ कि गुणस्तरमा समस्या हुन्छ, मूल्यमा गडबड, त्यसैले सकेसम्म त्यस्तोमा सचेत हुनु पर्छ ।”

भृकुटीमण्डपमा राखिएको जुत्ताचप्पलको छुट मेलामा छोराछोरीसहित उत्साहित भएर जुत्ता किन्न आउनुभएकी लता अधिकारी जुत्तै नकिनी निराश भएर निस्किए । मेलामा छुटमा जुत्ता पाइन्छ भन्ने समाचार सुनेर आएकी उनले आक्रोशित हुँदै भने, “जुत्ता मेलामा के को छु्ट हुनु रु छुटका नाममा लुट रहेछ नि, न राम्रो छ न सस्तो । बजारमा सजिलै एक हजार दुई रुपियाँमा पाइने जुत्ता यहाँ दुई हजार पाँच सय रुपियाँ तोकेर २० प्रतिशत छुट भनेर झुक्याइएको छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

‘जनस्तरको सम्बन्धलाई ख्याल गर्दै नेपाल–भारतबीचको खुला सीमा व्यवस्थापन गर्न जरुरी’

जनकपुरधाम – नेपाल–भारतबीच सदियौँदेखि कायम जनस्तरको सम्बन्धको आधारमा खुला सीमा व्यवस्थापन गरिनुपर्नेमा सरोकारवालाले जोड्दिनुभएको छ ।नेपाल–भारत खुला सीमा संवाद समूह, जनकपुरले बिहिबारयहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सरोकारवालाले एउटै सांस्कृतिक सम्बन्ध भएका नागरिक दुई देशमा बाँडिएकाले खुला सीमा व्यवस्थापनको विषय राजनीतिक र कानुनी रुपमा मात्रै हेर्न नहुनेमा जोड्दिनुभएको हो ।

कार्यक्रममा जनमत पार्टीका महासचिव एवं मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले नयाँ परिवेशअनुसार नेपाल—भारतबीचको सीमा समस्यालाई गम्भीर र सूक्ष्म रुपले विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विगतको तुलनामा दुई देशको सांस्कृतिक एवं वैवाहिक सम्बन्धमा केही कमी आउन थालेको भन्दै मन्त्री सिंहले दुई देशको मैत्रीपूर्ण सम्बन्धमा टकराव नआउने गरी समस्या समाधानका उपाय खोज्न जरुरी रहेको बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेश सभा सदस्य रामसरोज यादवले राष्ट्रिय सुरक्षा र प्रतिष्ठाको विषयमा दुवै देश आ—आफ्नो रणनीति बनाउन सार्वभौम र स्वतन्त्र रहे पनि सीमाका विषयमा स्थानीय संवेदनालाई पनि ख्याल गर्नुपर्ने बताउनुभयो । नेपाल र भारतबीच सीता र श्रीरामकालीन समयभन्दा पहिलेदेखि नै सम्बन्ध रहेको र स—साना मतभेदले त्यो सम्बन्धलाई बिगार्ने गरी कसैले पनि क्रियाकलाप गर्न नहुने उहाँको भनाई थियो ।

नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले नेपालको राजनीतिक स्थिरताले नै सीमालगायत समस्या समाधान गर्न सहज हुने बताउनुभयो । नेपालको राजनीतिक स्थिरताका लागि भारतले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । त्यसैगरी नेकपा (माओवादी केन्द्र) का नेता एवं नेपाल सरकारका पूर्व कानुनमन्त्री अजयशंकर नायकले क्षेत्रीय सुरक्षासँग जोडिएको खुला सीमा समस्या दुई देशको उच्च तहमा वृहत छलफल गरी टुंगोमा पु¥याउनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय कार्यवहाक अध्यक्ष डा.विजय सिंहले नेपाल—भारतबीच जनस्तरमा रहेको सम्बन्धलाई राजनीतिक, प्रशासनिक र कानुनी ढंगले मात्रै परिभाषित गर्न खोज्दा समस्या हुने गरेको भन्दै यस विषयमा संवेदनशील बन्न सबैलाई आग्रह गर्नुभयो ।

त्यसैगरी भारतीय महावाणिज्य दूतावास वीरगञ्जका काउन्सिलर शैलेन्द्र कुमारले देशको सम्प्रभुता र राष्ट्रियतासँग जोडिएका सवालमा कुनै सम्झौता नभए पनि नागरिकसम्बन्धलाई भने दुवै देशले सम्मान गर्नसक्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीमाका विषय सधैं संवेदनशील हुने भन्दै कुनै समस्या देखिए दुई देशले संवादमार्फत सुल्झाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका संयोजक राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगर प्रमुख मनोजकुमार साह, नगराईन नगरपालिका प्रमुख विनय यादव, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठ, चेम्बर आफ कमर्श जयनगर भारतका महासचिव अनिल बडोरिया, नगर पञ्चायत जयनगरका अध्यक्ष कैलाश पासवान, संवाद समूहका अध्यक्ष राजीव झा, जनकपुर नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रले खुला सीमा समस्या र दुई देशबीचको सम्बन्धका बारेमा आ—आफ्नो धारणा राख्नुभयो । उहाँहरुले खुला सीमामा हुने गैरकानुनी कार्य रोक्न दुवैतर्फका सुरक्षा निकाय संवेदनशील हुनुपर्ने तर नागरिकलाई कुनै पनि बहानामा दुःख दिन नहुनेमा सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

हिमाल आरोहणमा क्लाइमालय ट्रेकको लापरबाही

काठमाडौं । हिमाल आरोहणका लागि अनुमति पाएको क्लाइमालय ट्रेकले आरोहीलाई गन्तव्यमा नपु-याई छाड्ने गरेको पाइएको छ । गत साता ८ हजारमाथिका अग्लो हिमालमध्ये सबैभन्दा कान्छो हिमाल चीनको सिसापाङमा हिमाल आरोहण गर्ने क्रममा तेन्जेन लामा शेर्पा र अमेरिकी आरोही जिना मारी रुजुसिडलोको निधन भएको थियो ।

हिमाल आरोहणको अनुमतिनुसार दुवै जनालाई क्लाइमालय ट्रेकले गन्तव्यसम्म पु-याउनुपर्ने थियो तर सो ट्रेकले बिचैमा सहमति तोडेर सेभेन समिट ट्रेकलाई जिम्मा लगाएको पाइएको छ । नेपालदेखि तिब्बतका लागि हिमाल आरोहणको अनुमति क्याइमालयले मात्रै पाउँदै आएको छ । तर, क्लाइमालयले टिकट भिषा र हिमाल आरोहण अनुमति लिने र बीचमा अर्को टिमलाई जिम्मा लगाउने काम गर्ने गरेको पाइएको हो ।

विश्वको छैटो अग्लो छोई हिमाल आरोहण गरेर फर्केपछि हिमाल आरोहीहरू तेन्जेन लामा शेर्पा र जिना मारी रुजुसिडलो बेस क्याम्पमा आइपुगे ।बेस क्याम्पमा आएपछि सेभेन समिटका छाङ दावा शेर्पाले जिना मारीसँग सिसापाङमा हिमाल आरोहणका लागि ३० हजार अमेरिकी डलरमा सम्झौता गरे । जबकि, सो आरोहणको जिम्मा क्लाइमालय ट्रेकले गर्नुपर्ने थियो ।

८ हजार मिटर अग्ला १४ वटा हिमशृंखलामध्ये सबैभन्दा कान्छो हिमालका रूपमा सिसापाङमा हिमाललाई चिनिन्छ । सिसापाङमा हिमाल ८ हजार २७ मिटर अग्लो रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

पानीमा लार्भा भेटिएको भन्दै पानी उद्योगलाई एक लाख जरिवाना

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवानासहित निर्देशन दिएको छ । बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै आज रु एक लाख जरिवाना गरिएको महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले जानकारी दिनुभयो ।

पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको उहाँको भनाइ छ । बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो । महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।

काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि रु एक लाख जरिवाना गरेको थियो ।

नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (इयू)का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गर्नुभएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । इयूलाई नेपालमा आर्थिक सहायता बढाउन मन्त्री महतले आग्रह गर्नुभयो ।

सन् २०१३ देखि इयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो ।

विसं २०७९ फागुनमा इयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि इयूको टोली नेपाल अनुगमनमा आएन ।

यस वर्ष गत साउन र भदौमा इयूको हवाई सुरक्षा समितिले नेपाली वायुसेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ । अघिल्लो वर्ष नोभेम्बरमा इयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायुसेवा कम्पनीको हवाई सुरक्षा चासोमै केन्द्रित भएको थियो ।

हरेक छ महिनामा हवाई सुरक्षा चासोसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने इयूको हवाई सुरक्षा समितिले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिसनको टोलीसँग आग्रह गर्नुभएको हो । सो भेटमा जुत्ता उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताउनुभयो ।

हेर्नुहोस् असोज २६ गते शुक्रवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – देश प्रदेशको यात्राको योग रहनेछ । मध्यान पश्चात भने जिवन साथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । भाग्योदयका निम्ती मित्रजनको साथ सहयोग आवश्यक रहनेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृष राशि – कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आँट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

मीथुन राशि – प्रतिश्पर्दा जन्य कार्यमा उत्तम स्थान प्राप्त रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिद्या प्राप्ति योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

कर्कट राशि – निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । मित्रजनहरुको अधिक निकटता उत्तम रहनेछैन । अपरान्ह पश्चात पारीवरिक साथ सहयोग प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

सिंह राशि – कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । अपरान्ह पश्चात निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

कन्या राशि – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बिद्या प्राप्ति योग रहेको रहेतापनि सन्तान सम्बन्धि समस्याले भने सताउने छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

तुला राशि – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – अरुको छिटो बिश्वास गर्नाले धोकाहुन सक्छ । नयाँ कार्यको थालनि नगनू होला । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

धनु राशि – सामान्य कार्यका निम्ती अधिक परीश्रम खर्चनु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्नेछ अपरान्ह पश्चात भने दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

मकर राशि – मित्रजनहरु सगँको यात्रा स्मरणीय साबित रहनेछ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र परीश्रमको कदर हुने वा मानसम्मान प्राप्त हुने समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नाले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ ।

कुम्भ राशि – स्वास्थमा रहेको समस्या क्रमिक रुपमा सुधार रहनेछ । बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको साथ सहयोग प्राप्तहुनाले कार्य सहज रहला । भाग्योदयका निम्ति खट्नुपर्ने समय रहेको छ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ ।

मिन राशि – ब्यपार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहनेछ । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ । मान्यजन संगको सम्बन्धमा खराबी आउन सक्नेछ । मित्र हरुको साथ सहयोग प्राप्त हुनेछ ।

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार छ सय ७१ बालबालिकाले लगाए खोप

कर्णाली, २६ असोज ः कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गर्नुभयो । सो अवसरमा उहाँले सिङ्गो प्रदेशलाई पूर्णखोप बनाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्र भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ । कर्णाली अब पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ ।

यहाँका दश जिल्लाका ३४ हजार छ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । उहाँले खोप लगाउन छुटेकालाई पनि खोजी गरी खोप लगाउन सुझाउने बताउनुभयो ।

कर्णालीको दैलेख विसं २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गङ्गाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो ।

इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

काठमाडौँ, २६ असोज : इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल जानुभएको थियो ।

उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।

“इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ । जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ ।”

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गर्नुभएका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिनुभयो । यस घटनामा परी चार जना नेपाली नागरिक घाइते हुनुभएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्कनुभएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहनुभएको मन्त्री साउदले जानकारी दिनुभयो । “आक्रमणमा परी सम्पर्कबिहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ”, उहाँले भन्नुभयो, “यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ ।”

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उहाँहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभयो । “कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ । त्यसैले उहाँहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्र्न म अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।

हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुट्नुभएका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उहाँको भनाइ छ ।

परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकको उद्धार गर्न साथ दिइ ऐक्यवद्धता जनाउनुहुने सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरु, इजरायल सरकार तथा नेपाल सरकार, इजरायलको नेपालस्थित राजदूतावास र नेपालको इजरायलस्थित राजदूतावास जस्ता निकायहरु र विमान चालकदलका सदस्यलाई पनि धन्यवाद दिनुभएको छ । आजै उद्धार गरी नेपाल ल्याइएका नागरिकहरुलाई विभिन्न गन्तव्यमा पुर्‍याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीन वटा बसहरु तयारी अवस्थामा राखिएको थियो ।

मन्त्री आचार्यद्वारा बाल सुधारगृह अनुगमन

दमौली (तनहुँ), २५ असोज: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढकालटारमा निर्माण भएको बाल सुधारगृहको आज अनुगमन गर्नुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा ढकालटारमा निर्माण सम्पन्न प्रदेशस्तरीय बाल सुधारगृह निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत भवन निर्माण गरिएको हो । भवन निर्माणको जिम्मा रु दुई करोड ७० लाख २३ हजार तीन सय २५ मा काठमाडौँस्थित फुल्जोर निर्माण कम्पनीले पाएको थियो । मन्त्री आचार्यले आजै आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिसँग पनि अन्तरक्रिया गर्नुभएको छ । सो अवसरमा उक्त भवन छिट्टै सञ्चालनमा ल्याउने सहमति भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा ढकालटारमा बाल सुधारगृह निर्माणका लागि बजेट बिनियोजन गरेको थियो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा बालगृह निर्माण गरिएको हो । ढकालटारमा विद्युत् प्राधिकरणको स्वामित्वको रहेको ५४ रोपनीमध्ये २८ रोपनी जग्गा बाल सुधारगृह सञ्चालनका लागि प्रयोग गरिनेछ ।

उपप्रधानमन्त्री खड्काद्वारा ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ उद्घाटन

कर्णाली, २५ असोज : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ उद्घाटन गर्नुभएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लागुऔषधविरुद्ध लालटिन अभियान’को उपप्रधामन्त्री खड्काले लालटिन बालेर उद्घाटन गर्नुभयो

उपप्रधानमन्त्री खड्काले समाजमा विकराल रोगको रूपमा फैलिँदै गएको लागुऔषध दुव्र्यसनी रोक्न थालिएको अभियानमा सबै सरोकारवालालाई एकजुट हुन अनुरोध गर्नुभयो ।

गत वैशाख १ गतेदेखि सुरु गरिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’ र यसअन्तर्गत शुभारम्भ गरिएका कार्यक्रमका समग्र अभियान देशकै लागि रोलमोडल बनेका छन्”, उहाँले भन्नुभयो, “यसको नियन्त्रण तथा रोकथामका लागि हामी सबैको साझा सङ्कल्प आवश्यक छ । कर्णाली प्रदेशको यो अभियानले मुलुककै नेतृत्व गरिरहेको छ ।”

अपराधीले गर्ने व्यवसायलाई पूर्णरूपमा निरुत्साहित गर्न ‘लागुऔषधविरुद्ध लालटिन अभियान’को सघन कार्यान्वयन आवश्यक रहेको भन्दै रक्षामन्त्री खड्काले यसमा सबै सरोकारवालाहरूको साथ सहयोग आवश्यक रहेको जनाउनुभयो । ‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत बिहीबार ‘पीडित सहायता कार्यक्रम’समेत शुभारम्भ गरिएको जनाउँदै उहाँले लागुऔषध नियन्त्रणमा तीनै तहका सरकारहरूको सहकार्य आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख नीलकण्ठ खनालले प्रदेश प्रहरीले थालेको अभियान यहाँका नागरिकहरूको सामाजिक सुरक्षा तथा समुचित भविष्य निर्माणका लागि भएको विचार व्यक्त गर्नुभयो । उहाँले लागुऔषधको सबैभन्दा ठूलो समस्या प्रदेश राजधानी वीरेन्द्रनगरमा भएकाले प्रहरीले थालेको अभियानमा नगरपालिका साथ दिने बताउनुभयो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीको शान्ति सुरक्षालाई ध्यानमा राखेर थालिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत १४ कार्यक्षेत्र छुट्याएर १८ कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । लागुऔषध अपराधमात्र नभई यो समाजको विकराल समस्या भएको भन्दै उहाँले नागरिकमैत्री प्रहरी व्यवहारलाई अनुभूति हुने गरी काम गर्न अभियान थालिएको बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, सुर्खेत जिल्लास्थित सबै पालिकाका प्रमुख÷अध्यक्ष, प्रदेश सरकारका निमित्त प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा, अधिकारवादी, युवा, विद्यार्थीलगायतको सहभागिता थियो ।

लक्की फिल्मी अवार्डमा ‘छक्का पञ्जा-४’को वर्चस्व

रत्ननगर (चितवन), २५ असोज : लक्की मिडिया हाउस चितवनले आयोजना गरेको लक्की फिल्मी अवार्ड २०८० मा चलचित्र छक्का पञ्जा-४ को वर्चस्व कायम गरेको छ । आज आयोजना गरिएको अवार्ड वितरणमा चलचित्र छक्का पञ्जा–४ ले उत्कृष्ट चलचित्र अवार्डसहित पाँचवटा विधामा अवार्ड हात परेको छ ।

चलचित्र छक्का पञ्जा-४ ले उत्कृष्ट चलचित्रको अवार्डसँगै उत्कृष्ट कथा लेखन विधामा दीपकराज गिरी, उत्कृष्ट गायक महिलातर्फ सहिमा श्रेष्ठ (दर्शन सलाम गीत), उत्कृष्ट गायक पुरुषतर्फ डेभिड शङ्कर (दर्शन सलाम गीत), उत्कृष्ट सङ्गीतकार विधामा दीपक शर्माले अवार्ड हात पार्नुभएको छ ।

त्यसैगरी चलचित्र प्रेम गीत-३ ले अन्तर्राष्ट्रिय प्रमोसन अवार्ड र यसै चलचित्रबाट उत्कृष्ट सिनेमाटोग्राफरमा पुरुषोत्तम प्रधान र राजेश श्रेष्ठले अवार्ड हात पार्नुभएको छ ।

लक्की फिल्मी अवार्डमा उत्कृष्ट अभिनेतामा चलचित्र महापुरुषबाट वरिष्ठ कलाकार हरिवंश आचार्य र उत्कृष्ट अभिनेत्रीमा चलचित्र झिङ्गे दाउबाट कलाकार केकी अधिकारीले अवार्ड प्राप्त गर्नुभएको छ । साथै, लोकप्रिय कलाकार पुरुषतर्फ आर्यन सिग्देल तथा महिलातर्फ कलाकार वर्षा राउतलाई अवार्ड प्रदान गरिएको छ ।

उत्कृष्ट सम्पादक विधामा चलचित्र प्रकाशबाट जीवन थापा, उत्कृष्ट निर्देशक विधामा चलचित्र प्रकाशबाट दिनेश रावतलाई अवार्ड प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट कम्पोजर अवार्डबाट सङ्गीतकार अर्जुन पोखरेल, स्पेश मुभी अवार्डबाट चलचित्र नालापानी र गायन विधातर्फ गायक तथा सङ्गीतकार आनन्द कार्कीलाई सम्मान गरिएको आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की (लक्की)ले जानकारी दिनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली चलचित्र क्षेत्रमा राज्यको लगानी कम भएको आफू जानकार रहेको भन्दै यस क्षेत्रको प्रोत्साहन र प्रवद्र्धनका लागि आफूले सक्दो कोसिस गर्ने बताउनुभयो । भरतपुरमा देशकै ठूलो अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माण भइरहेको भन्दै अबको एक वर्षभित्रमा सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली रङ्गमञ्चका वरिष्ठ कलाकार नीर शाहले सरकारलाई तिर्ने करको हिसाब गर्दा चलचित्र उद्योग ठूलो क्षेत्र भए पनि सरकारले यसको विकासमा खासै काम गर्न नसकेको गुनासो गर्नुभयो । “नेपाली चलचित्र उद्योगमा वार्षिक रु सात अर्ब बराबरको कारोबार हुन्छ”, उहाँले भन्नुभयो, “विभिन्न तरिकाबाट यो रकमको १५ देखि २० प्रतिशतसम्म हामीले कर तिर्ने गरेका छौँ, तर नेपाली चलचित्र क्षेत्रको विकास खासै हुनसकेको छैन ।” विशेषगरी ग्रामीण क्षेत्रका दर्शकको रुचिमा आधारित चलचित्र निर्माण गर्न सकेको खण्डमा नेपाली चलचित्र क्षेत्रको विकास हुने उहाँको भनाइ छ ।

ग्रामीण दर्शक केन्द्रित चलचित्र निर्माण गर्न चुकेका कारण नेपाली चलचित्रमात्रै हेर्ने दर्शकको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ । “नेपाली कलाकारलाई माया गर्ने दर्शकहरू ग्रामीण क्षेत्रमा बढी छन्”, उहाँले भन्नुभयो, “तर उनीहरूको पहुँच चलचित्र घरसम्म छैन । सबैको पहुँच चलचित्र घरसम्म पुर्याउन सरकारको भूमिका महत्वपूर्ण रहन्छ ।”

एक लाख बढी व्यक्ति नेपाली चलचित्र क्षेत्रमा विभिन्न माध्यमबाट आश्रित रहेको भन्दै शाहले प्रत्यक्षरूपमा ४० हजार व्यक्ति चलचित्रमा आश्रित रहेको बताउनुभयो ।

अवार्ड वितरण कार्यक्रममा चितवनलाई कर्मथलो बनाएर काम गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो । यस कार्यक्रमलाई नियमितरूपमा बर्सेनि सञ्चालन गर्दै अघि बढ्ने मिडिया हाउसका महाप्रबन्धक एवं कार्यक्रम संयोजक हरि कार्कीले जानकारी दिनुभयो ।

आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ कात्तिकमा हुने

काठमाडौँ, २५ असोज : सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आगामी कात्तिक १४ गते गर्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आगामी कात्तिकमा सुनुवाइ हुने तय भएको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले भन्नुभयो, “मुद्दा आजको पूर्ण इजलासमा हेर्न नमिल्ने भयो । अब अर्को इजलास तय गरेर पूर्ण इजलासमै सुनुवाइ गर्ने आदेश भएको छ ।”

यही असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्ने कारणसहितको सम्पूर्ण सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो । अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्न आदेश दिएको थियो ।

आज पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेन । संविधान दिवसका अवसरमा यही असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा रिगलको कैद मिनाहा भएको थियो । कैद मिनाहाको निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमा आज प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश भएको हो । –––

प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता

काठमाडौँ, २५ असोज : संयुक्त अधिराज्य बेलायतको भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पट्रिक सन्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका बारेमा छलफल भएको उक्त भेटमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कर्णेल पौल स्मिथको उपस्थिति रहेको थियो ।

यसैबीच प्रधानसेनापति शर्माले बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गर्नुभएको थियो । भ्रमणको दौरान उहाँलाई उक्त कलेजमा उच्च पदाधिकारीले स्वागत गर्नुका साथै कलेजमा सञ्चालन हुने तालिम गतिविधिबारे जानकारी गराइएको थियो ।

सोही अवसरमा प्रधान सेनापति लण्डनस्थित नेपाली राजदूतावासमा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनुभयो । नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानसेनापति तथा भ्रमणदलका सदस्यहरूलाई स्वागत गर्दै बेलायत र नेपालबीचको द्विपक्षीय राजनीतिक, आर्थिक, सामाजिक, सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको थियो । प्रधानसेनापति शर्मा यही असोज २१ गतेदेखि बेलायतको भ्रमणमा हुनुहुन्छ ।

कृषिबाट मात्रै देश समृद्ध हुनसक्छ : अध्यक्ष नेपाल

भजनी (कैलाली) असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई उद्यमसँग जोड्न सकेमात्रै देश समृद्ध हुने बताउनुभएको छ ।

पार्टीको मेची–महाकाली जागरण अभियानका क्रममा कैलालीको टीकापुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री नेपालले कृषि क्षेत्रलाई उद्यमसँग जोडेर देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको हो ।

“हाम्रो प्रमुख समस्या रोजगारी बनेको छ । रोजगारीकै कारण दैनिक हजारौँ दक्ष जनशक्ति देश बाहिर पलायन भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसलाई रोक्नका लागि सरकार गम्भीर बनोस् । कृषि क्षेत्रको विकासमा आगामी यात्रा तय गर्नुको विकल्प छैन ।”

राज्यको सम्पत्तिको दोहन गर्दै राज्यका निकायलाई प्रभावमा पारेर सुनौला अवसरलाई कार्यान्वयन गर्न नदिने तत्वका कारण देश खतरामा परेको अध्यक्ष नेपालको भनाइ थियो । उहाँले राजनीतिक वितृष्णा र युवामा देखिएको निराशाले देशको भविष्यलाई अन्योलमा पार्न सक्ने भन्दै त्यसलाई निरुत्साहित गर्नकै लागि पार्टीको जागरण अभियान सुरु भएको बताउनुभयो ।

वर्तमान व्यवस्थालाई मास्नका लागि केही विरोधी शक्ति सलबलाउन थालेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसको रक्षाका लागि सबैले एक ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभयो ।

पार्टीका महासचिव घनश्याम भुसालले संविधानको पूर्ण कार्यान्वयन नै समृद्धिको प्रमुख आधार हुने बताउनुभयो । बेरोजगारीका कारण देश खाली हुने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

महासचिव भुसालले भन्नुभयो, “हाम्रा हरेक नीति रोजगारीसँग जोडिन आवश्यक छ । रोजगारी भएपछि मात्रै देश समृद्ध बन्न सक्छ ।” रोजगारीका अवसर कृषि क्षेत्रबाट मात्रै सम्भव रहेको उहाँले बताउनुभयो ।

इजरायली आक्रमणपछि सिरियाका दुई मुख्य विमानस्थलमा सेवा अवरूद्ध

दमास्कस – इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थल बिहीबार बन्द भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी शहर अलेप्पोका विमानस्थलमा पटक–पटक उडान बन्द हुँदै आएको छ ।

सरकारी सञ्चारमाध्यमले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, “एकैसाथ गरिएको आक्रमणले दुई विमानस्थलको अवतरणका लागि छुट्ट्याइएको धावनमार्गमा क्षति पु¥याएको छ ।”गाजाको सीमा पार गरी शनिबार सयौं हमासका बन्दुकधारीले इजरायलमा प्रवेश गरी एक हजार २०० जनाको हत्या गरेपछि हमास र इजरायलबीच छैटौं दिन भीषण गोली हानाहान भएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलको भ्रमण गरेको र इरानी राष्ट्रपति इब्राहिम राइसीले आफ्ना सिरियाली समकक्षी बसर अल असदसँग टेलिफोन वार्ता गरी अरब र इस्लामी मुलुकहरूलाई इजरायलको सामना गर्न सहयोग गर्न आह्वान गरेको केही घण्टापछि नै यी घटनाहरू भएका हुन् ।

सिरियाली सरकारी सञ्चार माध्यमले उद्धृत गरेको सैन्य स्रोतले उक्त आक्रमणलाई गाजामा हमाससँगको द्वन्द्वबाट ध्यान मोड्न इजरायलले गरेको ‘प्रयास’ को संज्ञा दिएको छ ।

सिरियामा एक दशकभन्दा बढी समयदेखि चलेको युद्धका क्रममा इजरायलले आफ्नो उत्तरी छिमेकी मुलुकमाथि सयौं हवाई आक्रमण गरेको छ, जसमा मुख्यतः इरान समर्थित सेना र लेबनानी हिजबुल्लाहका लडाकूका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ ।

इजरायलले सिरियामा गरेको आक्रमणबारे विरलै टिप्पणी गर्ने गरेको छ, तर उसले असदको सरकारलाई समर्थन गर्ने आफ्नो कट्टर शत्रु इरानलाई त्यहाँ आफ्नो पदचिन्ह विस्तार गर्न नदिने बताउँदै आएको छ ।हमासलाई समर्थन गर्ने इरानले शनिबार इजरायलमाथि हमासले गरेको आक्रमणको प्रसंशा गरेको छ ।

जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव

हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार इजराइलको सुरक्षाका लागि जर्मनीको ऐतिहासिक दायित्वमाथि जोड दिनुभयो । जर्मनीको प्रतिरक्षा मन्त्रालयले इजराइलको अनुरोधमा पाँच वटा हेरोन टिपी युद्ध ड्रोनमध्ये दुई वटा प्रयोग गर्न सहमत भएको जनाएको छ । ती हतियार जर्मन सेनाले भाडामा लिएको थियो ।

ब्रसेल्समा रक्षामन्त्री बोरिस पिस्टोरियसले युद्धका लागि इजराइलले हतियार माग गरेको भन्दै उक्त आग्रहबारे अब छलफल गरिने बताउनुभएको छ ।

जर्मन संसद्लाई सम्बोधन गर्दै कुनै पनि सहयोगका लागि सूचित गर्न आफूले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई आग्रह गरेको बताउनुभयो । “अहिले जर्मनीका लागि एउटा मात्र ठाउँ छ र त्यो ठाउँ भनेको इजराइलको पक्षमा हो”, उहाँले सांसदहरूलाई भन्नुभयो, “हाम्रो आफ्नै इतिहास र दोस्रो विश्वयुद्धमा यहुदीविरुद्ध भएको नरसंहारबाट उत्पन्न भएको हाम्रो जिम्मेबारीले इजराइलको सुरक्षाका लागि उभिन हाम्रो दृढतालाई अविचलित बनाउँछ ।”

उहाँले हालैका दिनमा इजराइलको पक्षमा हजारौँ मानिसले प्रदर्शन गरेको उल्लेख गर्दै भन्नुभयो, “सप्ताहन्तमा जर्मनीमा अत्यन्तै लाजमर्दो तस्बिरहरू आए ।” शनिबार बर्लिनका सडकमा एउटा सानो समूहले पेस्ट्रीहरू बाँडे र हमास आक्रमणको खुसियाली प्रदर्शन गरेका थिए ।

चान्सलर स्कोल्जले जर्मनीमा हमासको समर्थन वा गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाउने गर्ने बताउनुभयो । हमासलाई युरोपेली युनियनले यसअघि नै आतङ्ककारी समूहको सूचीमा राखेको छ । उहाँले सप्ताहन्तमा पेस्ट्री बाँड्ने सामिदोउनजस्ता समूहमाथि प्रतिबन्ध लगाइने जानकारी दिनुभयो ।

आफू ‘पहिलेभन्दा बलियो’ रहेको पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको दावी

इस्लामावाद, पाकिस्तान – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले दुई महिनाअघि जेलमा बसेदेखि नै आफू पहिलेभन्दा बलियो र स्वस्थ रहेको बताउनुभएको छ ।खानलाई अगस्टमा भ्रष्टाचारको दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो भने निर्वाचन आयोगले उहाँलाई सन् २०२४ को जनवरीमा हुने चुनावमा भाग लिन प्रतिबन्ध लगाएको थियो ।

“आजका इमरान खान र अगस्ट ५ मा जेलमा रहेका इमरान खानबीच दिन र रातको भिन्नता छ,” जेल जीवन विताएपछि आफ्नो तर्फबाट रिहा हुने पहिलो वक्तव्यमा उहाँले भन्नुभयो । “आज म आध्यात्मिक, मानसिक र शारीरिक रूपमा, पहिलेभन्दा बढी बलियो र स्वस्थ छु,” पूर्व अन्तर्राष्ट्रिय क्रिकेट सुपरस्टारले थप्नुभयो । यो बयान खानको एक्स (ट्वीटर) मा पनि आएको छ ।

खानले जेलमा आफ्नो समय कुरान पढेर बिताएको बताउँदै जेलको अवस्थासँग राम्रोसँग घुलमिल भएको बताउनुभयो ।गत वर्ष पदबाट हटाइएदेखि खानलाई विभिन्न कानुनी मुद्दामा मुछिएको उहाँको भनाइ छ ।

उहाँलाई मे महिनामा केही समयका लागि हिरासतमा लिइएको थियो, जसले देशव्यापी विरोध प्रदर्शनलाई हिंसात्मक बनायो र राजनीतिमा हस्तक्षेप गरेको आरोपमा सेनाप्रति आक्रोश पोखिएको थियो । यसको जवाफमा संस्थापन पक्षले हजारौं समर्थकलाई घेराहालेर लगभग सम्पूर्ण केन्द्रीय नेतृत्वलाई भूमिगत बनाउन बाध्य बनायो । त्यसपछि धेरैले पार्टी परित्याग गरेका छन् ।

भ्रष्टाचारको अभियोगमा खानको जेल सजाय उल्टाइएको भए तापनि राज्यका कागजातहरू लीक गरेको आरोपमा उहाँलाई नयाँ गिरफ्तारीको कारण हिरासतमा राखिएको थियो, उहाँका वकिलहरूले उहाँलाई अर्को हप्ता औपचारिक रूपमा अभियोग लगाइने अपेक्षा गरेका थिए ।

यो भ्रष्टाचारभन्दा पनि गम्भीर विषय हो र यसले उहाँलाई १४ वर्षको जेल सजाय हुन सक्छ । सरकारी फेडरल इन्भेस्टिगेसन एजेन्सीको एक रिपोर्टका अनुसार खानले संस्थापन पक्षको समर्थनमा अमेरिकी षडयन्त्रअन्तर्गत आफूलाई पदच्युत गरिएको प्रमाणका रूपमा प्रस्तुत गरेको केबल नेटवर्कसँग सम्बन्धित छ ।

संयुक्त राज्य अमेरिका र पाकिस्तानी सेनाले उक्त दाबीको खण्डन गरेका छन् ।पाकिस्तानमा अहिले अन्तरिम सरकारको नेतृत्व भइरहेको छ र चुनाव केही महिना पछि धकेलिएको छ । खानका मुख्य प्रतिद्वन्द्वी तीन पटक प्रधानमन्त्री भइसकेका नवाज सरिफ लण्डनमा चार वर्षदेखिको स्वनिर्वासन अन्त्य गर्दै आगामी साता पाकिस्तान फर्कने कार्यक्रम रहेको छ ।

लोकप्रिय समर्थनको लहर, भ्रष्टाचार विरोधी घोषणापत्र र शक्तिशाली सैन्य प्रतिष्ठानको समर्थनमा जितेको सन् २०१८ को पछिल्लो आम निर्वाचनमा सरिफको दललाई खानको गठबन्धनले जितेको थियो । खानले बिहीबार जारी गरेको वक्तव्यमा आफ्ना समर्थकलाई भन्नुभएको छ, “हार नमान्नुहोस् ।” उहाँले भन्नुभयो, “यो अनिर्वाचित शिकारी समूह र तिनका सहजकर्ताविरुद्ध हरेक मञ्चमा आवाज उठाइरहनुहोस् र देशमा निष्पक्ष र पारदर्शी निर्वाचनको माग गरिरहनुहोस् ।”

विश्वकप क्रिकेट : अष्ट्रेलियासामु ३१२ रनको लक्ष्य

काठमाडौँ, २५ असोज : आइसिसी विश्वकप, २०२३ अन्तर्गत अहिले दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच खेल भइरहेको छ । दक्षिण अफ्रिकाले अष्ट्रेलियासामु जितका लागि तीन सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको लखनउमा जारी खेलमा टस हारेर दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गरेको हो । दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै तीन सय ११ रन बनायो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले । उनले एक सय छ बल खेल्ने क्रममा आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने ।

यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५, रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्दै एक चौका र एक छक्कासहित १७ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले दुई÷दुई तथा एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक÷एक विकेट लिए ।

अहिले अष्ट्रेलियाले तीन सय १२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।

लाप्चे र जुम खोलाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण हुने

काठमाडौँ, २५ असोज : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको माथिल्लो तटमा निर्माण हुने विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ ।

माथिल्लो तामाकोशीको आयोजनास्थल लामाबगरभन्दा माथिल्लो तटमा लाप्चे खोला, जुम खोला, अप्परलाप्चे र तामाकोशी लाप्चेलगायतका आयोजना पहिचान गरिएको छ । ती आयोजनामध्ये केही निर्माण सुरु हुने तयारीमा छन् भने केही आयोजना अध्ययनका क्रममा छन् ।

लामाबगरलाई हब बनाएर सबस्टेशन र प्रसारण लाइन निर्माणका विषयमा आज ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मुलुकको ऊर्जा क्षेत्रमा स्थापित गरेको सार्थक उदाहरणलाई मध्यनजर गरेर थप प्रक्रिया अगाडि बढाउन सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।

लाप्चे र जुम खोलमा पहिचान भएका आयोजनाका प्रवद्र्धकले छिट्टै परियोजना निर्माण सुरु गर्ने तयारी गरेका छन् । कुल एक सय ६० मेगावाट क्षमताको लाप्चे खोलामा दुगड समूहले लगानी गर्ने भएको छ । यस्तै अन्य आयोजना पनि छिट्टै निर्माणमा जाने भएकाले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाउन मन्त्री बस्नेतले आग्रह गर्नुभयो ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंह, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमलगायतको सहभागिता थियो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यासकेड परियोजनाको रूपमा झण्डै एक सय मेगावाट क्षमताको तामाकोशी पाँचाँै निर्माणको प्रक्रियामा अगाडि बढेको छ । यस्तै रोलवालिङ खोला जलविद्युत् आयोजना पनि निर्माणको प्रक्रियामा लैजाने तयारीमा छ ।

भक्तपुरमा स्कुटरले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

भक्तपुर, २५ असोज : भक्तपुर नगरपालिका–१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६९प ९१० नंको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ६८ वर्षीया भुलिमाया धुगुछुको मृत्यु भएको हो ।

प्रहरीले उक्त स्कुटर र स्कुटर चालक दोलखा तामाकोशी गाउँपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

विश्वकप फुटबल छनोट : लाओसको अग्रता

काठमाडौँ, २५ असोज : विश्वकप फुटबल छनोटअन्तर्गत अहिले नेपाल र लाओसबीच खेल भइरहेको छ । मध्यान्तर अघिको खेलमा लाओसले १–० गोलको अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रङ्गशलामा भइरहेको खेलको पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिन सफल भएको हो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।

दैनिक दुई सय लिटर दूध बेचेर मनग्य आम्दानी गर्दै नोमबहादुर

घोराही (दाङ), २५ असोज : घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसीले दैनिक दुई सय लिटर दूध बेच्नुहुन्छ । उहाँ बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आउनुभएको छ । उहाँले विसं २०७१ बाट सुरु गरेको पशुपालन व्यवसायले राम्रो आम्दानी दिएको बताउनुभयो । केसीकोे मालति बहुउद्देश्यीय पशु तथा कृषि फार्म छ ।

विसं २०७१ अघि दुईवटा भैँसीपालन गरेर पनि उहाँले साइकलबाट दूध बेचेको अनुभव सुनाउनुभयो । पैतालीस वर्षीय केसी तीन वर्ष घरको कमजोर आर्थिक अवस्था सुधार्ने विचारले मलेसिया रोजगारीका लागि जानुभयो । मेलेसियाबाट फेर्केपछि फेरि उहाँ रोजगारीकै लागि भारत पनि जानुभयो । त्यहाँ पनि उहाँले सोचे अनुसारको कमाउन सक्नुभएन । त्यसकारण उहाँसँग वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ ।

“विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन”, उहाँले भन्नुभयो, “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।” केसीले स्वदेशमै केही गर्नुपर्छ भनेर थालेको पशुपालन व्यवसायले आम्दानीसँगै तीन÷चार स्थानीय युवालाई रोजगारी दिनुभएको छ ।

आफनो फार्मबाट दैनिक ३० लिटर र बाँकी गाउँका अन्य किसानबाट दुध खरिद गरी बिक्री गर्नुहुन्छ । उहाँको फार्ममा १८ भैँसी र तिनका पाडापाडी छन् । उहाँले केही दूध डेरी पसल र होटलमा दिनुहुन्छ भने बाँकी घरघरमा पु¥याएर फुटकर बेच्नुहुन्छ ।

केसी आफ्नो घरबाट निस्केपछि बाटोका चोकचोकमा किसानबाट दूध सङ्कलन गर्दै अघि बढ्नुहुन्छ । “बिहान ३ बजे उठेर भैँसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, बिहान ९.३० बजेसम्म दूध बेचेर सक्छु”, उहाँले भन्नुभयो । उहाँलाइृ भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र आहारा तयार गर्ने काम गर्नुपर्छ । बिहान ५ बज्दा केसी दूध बोकेर हिँड्नुहुन्छ । घरका अन्य सदस्यले पनि सहयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

यही कामबाट आफूले मासिक रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले प्रतिलिटर रु एक सयमा दूध बेच्ने गर्नुभएको छ । केसीले आफनै जग्गामा मौसमअनुसार घाँस लगाउनुहुन्छ । उहाँले पराल र भूस पनि आफ्नै जग्गाबाट उत्पादन गर्नुहुन्छ । मोटरसाइकलमा दूधका क्यान बोकेर हिँड्दा ट्राफिक प्रहरीले समाउने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयोे, “धेरै पटक जरिवाना तिरेको छु, मोटरसाइकलमा यसरी बोक्ने होइन, गाडी किन्न भन्छन् ।” तत्काल गाडी किन्न नसक्ने हँुदा समस्या भएको उहाँले बताउनुभयो । किसानप्रति सम्मानको व्यवहार नभएका कारणले पनि युवा कृषिमा आकर्षित हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले हालसम्म कतैबाट अनुदान नपाएको बताउनुभयो । राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उहाँको धारणा छ । वास्तविक किसानले अझै पनि अनुदान पाउन नसक्ने समस्या कायम रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका केसी उदाहरण पात्र मात्रै हुनुहुन्छ ।

‘आर्थिक रुपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो’ – नारायणकाजी श्रेष्ठ

काठमाडौँ, २५ असोज : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ र नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ वितरण समारोहमा मन्त्री श्रेष्ठले देशलाई सामाजिक–आर्थिक विकासको गतिमा अघि बढाउनुपर्ने राष्ट्रिय कार्यभार रहेको बताउनुभयो ।

“मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा समृद्ध बनाउन राष्ट्रिय मुद्दामा सहमति कायम गरी सबै नेपालीलाई एकाकार बनाउनुपर्छ”, उपप्रधानमन्त्रीले भन्नुभयो, “सामाजिक, सांस्कृतिक र भौगोलिक पहिचानलाई बचाउँदै लैजानुपर्छ । हाम्रो पहिचान एकता र सहिष्णुताको मौलिक संस्कार बन्दै आएको छ । त्यसलाई कहीँकतैबाट पनि कमजोर बनाउने काम हुनुहुँदैन ।”

नेपालमा भ्रष्टाचार महारोगका रुपमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्रीले मुलुकमा सुशासन कायम गर्ने काममा सहयोग पु¥याउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । “नेजाले नेपालको विकट भेगमा कार्यरत सञ्चारकर्मी र सञ्चारमाध्यमलाई सहयोग र सङ्गठित गर्दै ग्रामीण पत्रकारितामा सहयोग पु¥याइरहेको छ, मुलुकको सामाजिक–आर्थिक विकासमा पत्रकारिता क्षेत्रले सहयोग गर्नुपर्छ, लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका छ”, उहाँले भन्नुभयो ।

सामजवादोन्मुख लोकतन्त्रलाई संस्थागत गर्न सरकार दृढताका साथ लागिपरेको बताउँदै उहाँले नेपाली पत्रकारिताले जनतालाई सुसूचित हुन सघाएको उल्लेख गर्नुभयो । आर्थिक सामाजिक विकासमा ठूलो सहयोग गरेको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रिनलाई संयुक्तरुपमा ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ प्रदान गर्नुभयो । पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२ रहेको छ । शाही ‘सन्धान अनलाइन’ र पाख्रिन ‘कान्तिपुर टेलिभिजन’मा आबद्ध हुनुहुन्छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालको पत्रकारिताको गुणात्मक विकासका लागि नेजाले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले अप्ठ्यारोमा परेका पत्रकारलाई नेजाले सहयोग गरेर साथीको भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्नुभयो ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भूगोलका हिसाबले दुर्गम भए पनि प्रविधिको विकासले सबै क्षेत्रलाई सहज बनाएकाले पत्रकारिता गर्न सजिलो भएको बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्तिले प्रविधि र समाजको जोखिम सामना गर्नुपर्ने अवस्था कायमै रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका सल्लाहकार निर्मला शर्माले पत्रकारितामा सत्यतथ्यको पुष्टि गर्ने विषय चुनौतीपूर्ण रहेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकार जुन देश वा भूगोलको भए पनि आफूले कार्यस्थलमा रहँदा सम्बन्धित देशको कानुन पालनालाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेजा अध्यक्ष सुरज भण्डारी, पूर्वअध्यक्ष गौतम दाहाल, महासचिव बाबुराम दाहाल, महासङ्घका महासचिव रोशन पुरीलगायतले नेजाले नेपालको ग्रामीण क्षेत्रको पत्रकारिताको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गर्नुभयो ।

मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान

काठमाडौँ, २५ असोज : यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ । तीन पटकसम्म बोलपत्र आह्वान गरिए पनि उपयुक्त आवेदन नपरेपछि पुनः आह्वान गर्न लागिएको विभागले जनाएको छ ।

तेस्रो पटकमा आवेदन परे पनि प्राविधिक रुपमा सफल नभएकाले पुनः बोलपत्र आह्वान गरिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बजेट विनियोजन भएकाले पुनः आह्वान हुनेछ ।

“विभागले आह्वान गर्दा उपयुक्त आवेदन नआएको र अमुख कम्पनी वा व्यक्तिका लागि मिल्ने गरी गर्ने नभएकाले पुनः बोलपत्र खुलाउन लागिएको हो”, पनेरुले भन्नुभयो, “हाम्रो मेसिन स्पेसिफिकेसन अनुसारको हुनुपर्छ । फेरी चौँथो पटक पनि परेन भने पुनः आह्वान गर्ने हो ।” हाल सञ्चालनमा रहेको प्रिन्टर जस्तै नयाँ प्रिन्टर खरिद गर्न लागिएको भन्दै उहाँले दुई प्रिन्टर फरक भएमा कार्डको गुणस्तरमा पनि फरक पर्ने भएकाले एकै किसिमको खरिदका लागि बोलपत्र आह्वान गरिएको बताउनुभयो ।

पनेरुले भन्नुभयो, “कार्डको गुणस्तर उस्तै बनाउन पनि समान किसिमको उपकरण आवश्यक हुन्छ ।” उहाँका अनुसार हाल विभागमा एउटा ‘मास प्रिन्टर’ सञ्चालनमा छ । उक्त प्रिन्टरको क्षमता दैनिक चार हजार पाँच सय छपाइ गर्ने रहेको छ ।बागमती प्रदेशले अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू गरेसँगै लाइसेन्स धेरै छाप्नुपर्ने भएपछि नयाँ प्रिन्टर खरिद प्रक्रिया अघि बढाइएको उहाँको भनाइ थियो ।

आव २०७३÷७४ मा बोलपत्रमार्फत सात लाख ५० हजार अनुमतिपत्र छाप्नका लागि चार थान छपाइ मेसिन खरिद गरिएको थियो । उक्त मेसिनको क्षमता प्रतिघण्टा ६० अनुमतिपत्र छाप्नसक्ने थियो । विभागले विसं २०७६ मा धेरै सङ्ख्यामा एकै पटक छाप्न सक्ने मास प्रिन्टर खरिद गरेको थियो । उक्त मेसिन अहिले विभागमा सञ्चालनमा छ ।

यातायात कार्यालय प्रदेश सरकारअन्तर्गत भए पनि चालक अनुमतिपत्र छपाइएको काम हालसम्म विभागले गरिरहेको छ । चालु आवमा भने केही प्रदेशले पनि छपाइ उपकरण खरिदको योजना बनाएका छन् । “देशभरमा एकरुपता कायम गर्न विभागमा भएको जस्तै अनुमतिपत्र छाप्ने प्रिन्टर खरिद गर्न सबै प्रदेश कार्यालयलाई भनेका छौँ”, विभागका प्रवक्ता पनेरुले भन्नुभयो ।

लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न राष्ट्रपतिको सुझाव

काठमाडौँ, २५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासनलाई स्वच्छ, मर्यादित, पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउन लोक सेवा आयोग सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा आयोगको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले योग्यता प्रणालीको संरक्षकका रूपमा रहेको आयोगको विश्वसनीयतामा अभिवृद्धिका लागि मेहनत गर्न सुझाव दिनुभयो ।

नेपालको संविधानले निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने गहन जिम्मेवारी आयोगलाई दिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा समेत पदपूर्तिका लागि लिखित परीक्षा स्वयं आयोगले नै गर्नेगरी कार्य क्षेत्रमा व्यापक विस्तार भएको बताउनुभयो ।

नेपाली जनताको आस्था र विश्वासको धरोहरका रूपमा रहेको संवैधानिक निकाय लोक सेवा आयोगले गरेको कार्य सराहनीय रहेको जनाउँदै उहाँले आगामी दिनमा समेत आफ्नो क्षमता अभिवृद्धि गरी अझ प्रभावकारीरूपमा कार्यसम्पादन योग्य, सक्षम र दक्ष जनशक्ति छनोट गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । कामकारबाहीलाई जनमुखी र पारदर्शी बनाउन तथा उम्मेदवारको सहभागितामा वृद्धि गर्न आयोगले गरेको कामबाट आफूलाई खुसी लागेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आयोगको छवि सधैँ स्वच्छ र निश्चल रहोस् भन्ने कामना गर्नुभयो ।

समारोहमा आयोगका अध्यक्ष माधव रेग्मीले संविधानले प्रदान गरेको भूमिकालाई निष्पक्षता, वस्तुनिष्ठता र विश्वसनीयता प्रवद्र्धन हुने गरी कामकारबाही अगाडि बढाइएको बताउनुभयो । योग्यता प्रणालीलाई राज्यका रहेक तहमा संस्थागत, प्रवद्र्धन एवं सम्वद्र्धन गर्ने कार्यमा आयोगले नेतृत्वदायी ढङ्गले समन्वयात्मक प्रयत्न जारी राखेको उहाँको भनाइ छ । अध्यक्ष रेग्मीले आयोगको गरिमालाई अझ सुदृढ बनाउने, परम्पारगत परीक्षा र परीक्षण विधिमा सुधार ल्याउने, विश्वनसनीयता बढाउने र गुणस्तरको खोजी गर्नेका ममा आयोग योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको बताउनुभयो ।

विचार : लगानी संवाद, आइसिटी स्टार्टअप तथा इनोभेसन

काठमाडौँ, २५ असोज : भेला हुनु, मेला आयोजना गर्नु, हाटबजार सञ्चालन हुनु, नयाँ नयाँ विषयमा सोधपुछ गरी जानकारी हाँसिल हुनु, नवप्रवर्तनका लागि प्रोत्साहन गरिनु यी सबै राम्रा काम हुन् । समय परिवर्तनसँगै यस्ता मेला वा संवादहरुमा नयाँ र सिर्जनशील विषयहरु पनि किन्न, सुन्न, जान्न पाइन्छ । स्थानीय तहहरुले आफ्नो बजेट आफै निर्माण गर्ने क्रम शुरु भएसँगै कतिपय स्थानीय तहले लगानी सम्मेलन गर्ने भनेर बजेटमै उल्लेख गरे ।

तिलोत्तमालगायत केही पालिकाले सम्मेलन पनि आयोजना गरे । केही वर्ष यता सूचना तथा सञ्चारसँग सम्बनिधत प्रणाली, आइसिटी प्रयोग गरी हुने सेवासँग जोडिएका प्रडक्टहरु जनसमक्ष पु¥याउने कम्पनी तथा संस्थाहरुको सङ्ख्या बढिरहेको छ भने सूचना तथा सञ्चार प्रविधिसँग कुनै न कुनै रुपमा आवद्ध भएर स्वरोजगारी तथा उद्यम सञ्चालन गर्ने युवाहरुको सङ्ख्या पनि बढ्दो क्रममा छ ।

निजी तवरबाट सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन क्रियाशील कम्प्युटर एसोसियसन नेपालले हरेक वर्ष क्यान इन्फोटेक मेला प्रारम्भ गरेकै २८ वर्ष भइसक्यो । आइसिटी अवार्डका आधारमा आइसिटी फाउण्डेसनले पनि सूचना प्रविधिसँग सम्बन्धित व्यवसायी, उद्यमी र स्टार्टअपहरुको वार्षिक भेला विगत आठ वर्षदेखि गर्दै आइरहेको छ । उद्योग वाणिज्य महास्ङघलगायतका निजी क्षेत्रका संस्थाहरुले पनि सूचना प्रविधिलाई महत्वका साथ अगाडि वढाएका छन् ।

द ब्रिटिस कलेज, सफ्टारिका कलेजले पनि यसै वर्ष इनोभेसन र दिगो विकास लक्ष्यलाई समेत जोडेर स्टार्टअप फेस्ट आयोजना गरेका थिए । विसं २०७९ असार ४ र ५ गते हुवावेलगायतका कम्पनीको प्रायोजनमा डिजिटल नेपाल कन्क्लेभ सञ्चालन भएको थियो । नेपालको डिजिटल इकोसिस्टम निर्माणका लागि अघि वढाउनुपर्ने विभिन्न विषयमा देशविदेशका विज्ञहरुको प्रस्तुति एवम् छलफल निष्कर्षहरु तयार गरिएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार सय ३४ स्थानीय तहलाई आधार मानेर सात प्रदेशका ५० सूचकका आधारमा गरेको सूचना प्रविधि सक्षमताको लेखाजोखा मूल्याङ्कनको नतिजाले दुई सय २९ वटा स्थानीय तहमात्र औसत अङ्क ल्याउन सफल देखिए । यसबाट स्थानीय तहले सूचना प्रविधि प्रयोग सम्बन्धमा आधारभूत तहमै काम गर्न बाँकी रहेको देखाउँदछ ।

सूचना प्रविधि र इकमर्श
सूचना प्रविधिमा आधारित उद्यम तथा स्वरोजगारसम्बन्धी सीप, आइडिया, व्यवसाय एवम् आर्जनको विषय संसारभर नै बिस्तारका क्रममा रहेको र अर्थतन्त्रमा उदीयमान क्षेत्रका रुपमा लिइएको छ । सूचना प्रविधिमा विकसित पछिल्ला उपकरण र प्रणालीहरुले सम्भव तुल्याएका सुविधाहरु सार्वजनिक क्षेत्र, निजी क्षेत्र र अन्य सबै सङ्गठित क्षेत्र र सर्वसाधरण व्यक्तिले समेत लिन सम्भव भएको छ । प्रयोगमा आइरहेका प्रणालीमा पनि समयक्रमसँगै सुधार वा परिवर्तन अपेक्षित हुन्छ । जति पछाडि उति कम लागत, बढी क्षमता र सानो आकार वा स्पेस लिने गरी सूचना प्रविधि विकसित भइरहेको छ । सूचना प्रविधि र सञ्चार आपसमा अन्तरसम्बन्धित समेत भएको हुँदा सूचना तथा सञ्चार प्रविधि अर्थात आइसिटी भनेर चिन्ने गरिन्छ ।

नवीन प्रविधिले गर्दा जुनसुकै बखत सरकार–नागरिक र बजार–ग्राहकबीच अन्तरक्रिया सम्भव हुँदै गएको छ । यस्तो अवस्थामा कुनै पनि सरकार वा कुनै पनि विकासको पात्रले सूचना प्रविधिबाट अनदेखा भएर अगाडि बढ्न असम्भव छ । के कति निजी क्षेत्रमैत्री हुने रु के कति युवा उद्यमीमैत्री हुने र सार्वजनिक, निजी र सामुदायिक क्षेत्रबीच आपसी अन्तरक्रिया बढाउँदै सूचना तथा सञ्चार प्रविधिलाई के कसरी उद्यम विकास, रोजगारी र आयसँग जोड्ने भन्ने विषय अहिलेको एक महत्वपूर्ण सरोकारको सबाल भएको छ । ईकमर्शलाई पनि प्रष्टरुपमा बिना झन्झट कानुनको दायरामा ल्याई औपचारिक बजारमा प्रवेश गराउनुपर्नेछ ।

सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा सरकारी क्षेत्र
वर्तमान संविधान र आवधिक योजनाले सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगतर्फ संकेत गरिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा अन्य कुराको अतिरिक्त डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लगिने, डिजिटल साक्षरता बढाइ नागरिक एपको प्रयोग र पहुँच बिस्तार गरिने उल्लेख छ । दूरसञ्चार पूर्वाधारअन्तर्गत ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको विषय परेको छ भने साइबर सुरक्षा र विद्युतीय तथ्याङ्कको सुरक्षाका विषयहरु पनि परेका छन् ।

साथै ईकमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने उल्लेख छ । चौथो पुस्ताको औद्योगिकरण अवधारणाको आन्तरिकीकरणका लागि प्रविधि सहयोग, सचेतना र तालिमका कार्यक्रम सञ्चालन गरिने विषय समेत बजेटमा परेको छ । यसअघिका वर्षहरुदेखि नै स्मार्टअपका लागि सक्रिय व्यवसायीलाई अनुदानको व्यवस्था गर्ने भनिएको र अनुदान वितरणका लागि कार्यविधिको तयारी भइरहेको प्रसङ्ग बेलावखत सुन्ने गरिएको छ । सार्वजनिक निकायमा विनियोजन भएको रकम खर्च गर्न निश्चित विधि अनुशरण गर्नुपर्ने हुँदा निजी क्षेत्र वा संस्थाले जस्तो सरल र छिटो ढङ्गले कार्यसम्पादन हुन गाह्रो छ । तथापि आइसिटी सेवा र बिजिनेस प्रोसेस आउटसोर्सिङ्गलाई रोजगारी तथा आमदानीको क्षेत्रका रुपमा चित्रित गर्दै आएको देखिन्छ ।

लगानी संवाद
गत वर्षमात्र पनि लेखक स्वयम् लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयमा कार्यरत रहँदा प्रदेशका पश्चिमतर्फका जिल्लालाई समेटेर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको हलमा लुम्बिनी लगानी संवाद सञ्चालन हुँदा ३० वटाभन्दा बढी साना तथा मझौला उद्यमी व्यवसायी तथा लगानीसम्बन्धी सरोकारवाला तथा विज्ञ सहभागी रहेको तथा उद्यमी व्यवसायीहरुलाई सरकारको तर्फबाट हुनुपर्ने साथ र सहयोगका साथै समग्र इकोसिस्टम निर्माणका लागि महत्वपूर्ण सुझाव प्राप्त भएका थिए । देशविदेशका ठूला कम्पनीको जमघट गर्ने, लगानीको घोषणा पनि गर्ने तर सम्झौता एवम् लगानी शून्यप्राय हुने तितो यथार्थका बीच स्थानीय स्तरमा क्रियाशील उद्यमी व्यवसायीकै मर्का सुनेर समाधानको पहल हुनु सबै प्रदेश तथा स्थानीय तहका लागि एउटा उपयोगी कार्यनीति हुन सक्ने लेखकको ठम्याइ रहेको छ ।

स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३
लिभिङ विथ आईसीटी र आइसिटी फाउन्डेसन नेपालले हरेक वर्ष आयोजना गर्ने आईसिटी अवार्डको प्रि–इभेन्ट क्याम्पियनका रुपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा यहि असोज १९ र २० गते स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गरेको थियो । सातै प्रदेशका स्टार्टअप, आइडिया र इन्नोभेसनमा काम गर्ने युवासँग प्रदेश प्रदेशमा अन्तरक्रिया तथा छलफल गरेर काठमाडौँमा दुई दिने कार्यक्रम गरिएको हो । उक्त स्टार्टअप एण्ड आइडिया फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप आईडिया र इन्नोभेसनको सहभागीता थियो । कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । सो प्रदर्शनीमा स्कूल कलेजका क्रियाकलापयुक्त स्टलहरु, प्रदेशगतरुपमा र राष्ट्रिय रुपमा सहभागीहरुको स्टल तथा इन्कुवेसनसहितको छनौटमा परेका तीन समूहका ४० जति स्टार्टअप उद्यम एवम् प्रडक्टहरु तथा समृद्धी आइडियाहरुको व्याख्या विश्लेषण र जिज्ञाशा समाधान गर्ने र सम्पर्क एवम् थप जानकारीका लागि ब्रोसर तथा कार्डहरुको वितरण समेत भएको थियो ।

आइसिटी फाउण्डेसन नामक संस्थाले नेपाली बजारमा डिजिटल विकास तथा सोको आन्तरीकिकरणमा सक्रिय भूमिका खेल्दै आएको छ । अवश्य पनि देशमै केही गर्ने हुटहुटी भएका युवाहरूलाई प्रोत्सान र प्रवर्द्धनको खाँचो छ । यस्तो अवस्थामा युवाहरूको प्रतिभालाई सबैमाझ देखाउने र उनीहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न स्टार्टअप फेस्टले महत्वपूर्ण प्लेटफर्मको काम गर्न सक्छ । यसपटकको स्टार्टअप एण्ड आइडिया फेस्टमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, विभिन्न सिस्टम, सफ्टवेयर तथा हार्डवेयर सोलुसनलगायतका स्टार्टअप इन्नोभेसन र आईडियाहरू राखिएको थियो ।

देशैभरका नयाँ नयाँ स्टार्टअप,ब आईडिया र इन्नोभेसन हेर्न अवलोकनकर्ताको उत्साहजनक सहभागीता थियो भन्ने विषय दुई दिनमात्र सञ्चालन भएको उक्त फेस्टमा १२ हजारभन्दा बढीले अवलोकन गरेको विवरणबाट पुष्टि हुनछ । मेलामा अवलोकन गर्न पुगेका व्यक्तिहरुले देशका युवाहरूको इन्नोभेसनलाई चासोका साथ नियाल्नुका साथ विभिन्न जिज्ञाशाहरु राखेबाट पनि यस खालको मेला समयसमयमा आयोजना हुनुपर्ने देखिन्छ । प्रतियोगितासहितको फेस्टले युवाहरूलाई देशमै केही गर्न प्रेरित गरिरहेको विश्वास गर्न सकिन्छ । देशमा पछिल्लो समयमा कस्ता कस्ता स्टार्टअप, आईडिया र इन्नोभेसन छन् त्यसको प्रतिबिम्ब फेस्टमा देखिएको छ ।

स्टार्टअप एण्ड आईडिया फेस्टमा राजनीतिक उच्चपदस्थ व्यक्तिहरु, सरकारी निकायका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, विभिन्न कम्पनीका संस्थापक, सीईओ, लगानीकर्तालगायत अवलोकनका लागि पुगेको जानकारी पाइयो । आईसीटी अवार्ड २०२३ को प्रि(इभेन्ट क्याम्पियनको रूपमा भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पलाई लिइएको रहेछ । कार्यक्रममा सहकार्य गरेको स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए । साथै यो कार्यक्रमका सिलसिलामा आइडिया पिचिङ, वुटक्याम्प, मेन्टरिङ, लगानी अवसरका लागि जानकारी लिने, डिजिटल साक्षरताका साथै पहिचान र पुरस्कारको आधारका रुपमा समेत लिइएको पाइयो । फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थीहरुका इन्नोभेसन र १४ प्रडक्टले समेत फेस्टमा आफ्ना आईडिया र प्रडक्टहरु प्रदर्शनीमा रहेका थिए ।

कार्यक्रममा अवलोकनकर्ताले आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १४ प्रडक्ट र १३ राइजिङ स्टार इन्नोभेसनमध्ये पाँच पाँच वटालाई भोट गर्न सकिने व्यवस्था समेत गरिएको थियो । कार्यक्रमको अन्तिम दिन सहभागी भएका सातै प्रदेशका स्टार्टअप, एक्जिबिटर, मेन्टर, आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टलाई सहभागिताको लागि सम्मानित समेत गरिएको थियो ।

मेलाभन्दा अगाडि नै दुई दिनसम्म सञ्चालन भएको वुटक्याम्पमा मार्केटिङ, ब्राण्डिङ, कम्पनी दर्ता, बजार अध्ययन, इक्विटी, कस्टुमर एक्विजेसन लगायत स्टार्टअप तथा आइडियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा विविध कुराहरू सिकाइएको सहभागिहरुबाट जानकारी पाइयो । किंग्स कलेजसँगको सहकार्यमा आयोजना गरिएको बुटक्याम्पमा स्टार्टअप कसरी सुरू गर्ने, के के कुरामा ध्यान दिने, बजार व्यवस्थापन कसरी गर्ने, लगानी कसरी ल्याउने, दर्ता कसरी गर्ने, आईडियालाई कसरी भ्यालिडेट गर्ने लगायत ज्ञान पाइएको सहभागीको भनाइ थियो । यसका साथै बुटक्याम्पमा सहभागी भएकाहरू उद्योगको भ्रमणमा समेत गएका थिए । उनीहरूलाई नेपालका उत्कृष्ट प्रविधि कम्पनीहरू क्लाउड फ्याक्ट्री, लगपोइन्ट, वेद, टेक क्राफ्ट जस्ता कम्पनीहरू भ्रमणमा पनि लगिएको रहेछ । उक्त भ्रमणबाट कम्पनी कसरी सञ्चालन हुन्छ रु के के कुरा आवश्यक पर्छन् रु कस्ता कस्ता चुनौतीहरू आउँछन् रु जस्ता विषयमा जानकारी दिइएको थियो । विशेष गरी स्टार्टअपलाई उद्योगसँग जोड्ने र त्यसको जानकारी दिने भ्रमणको उद्देश्य थियो ।

सातै प्रदेशका स्टार्टअपलाई प्रवर्द्धन गर्न यसपटक प्रत्येक प्रदेशका एक–एक स्टार्टअपलाई आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा प्रोभिसियल रिकग्निसन आईसिटी अवार्ड समेत प्रदान गरिने भएको छ । जसबाट प्रदेशमा स्टार्टअपलाई बढावा दिन, देशमै केही गर्न र गरे हुन्छ भन्ने विश्वास सिर्जना एवम् प्रोत्साहन समेत मिल्ने देखिन्छ । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा पाँच सयभन्दा बढीको नोमिनेसन प्राप्त भएकोमा उक्त पुरस्कारका लागि दोश्रो चरणको मूल्याङ्कनपछि छनौटमा परेका स्टार्ट अप, प्रडक्ट र इनोभेसनहरु समेत यो फेस्टमा सहभागी थिए ।

आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी होटल काठमाडौंमा आयोजना हुनुअघि स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि(इभेन्ट सञ्चालन हुने र कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रुपमा टेलिभिजन सिरिजहरु पनि प्रशारण गर्ने बुझिएको छ । यसरी सातै प्रदेशमा गएर देशका कुनाकाप्चामा रहेका स्टार्टअप र आईडियालाई प्रोत्साहन र प्रवर्द्धन गर्ने तथा देशको राजधानीमा फेस्टको आयोजना गर्ने लिभिङ विथ आइसिटीको काम सह्रानीय देखिन्छ ।

देशभित्रै युवाहरुलाई सिर्जनशील अवसर प्रदान गर्ने तथा बलियो तथा उत्थानशील स्टार्टअप पारिस्थितिकप्रणालीबाट दिगो विकासमा टेवा पुर्‍याउनका लागि सवै क्षेत्रवीच आपसी संवाद, साझा बुझाई र सहकार्य आवश्यक पर्ने देखिन्छ ।

स्टार्टअपका अवसरहरु सिर्जना गर्दै इन्कुवेसन, इकमर्शको प्रवर्द्धन तथा हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत दिगो विकासलाई संभव तुल्याउनका लागि पनि लगानीको अवसर तथा उद्यमशिलता विकाससँग रोजगारी संभव तुल्याउन यस्ता मेला र संवादहरु सहयोगी रहन्छन् । सकारात्मक अग्रसरताका यी र यस्ता विषयहरुलाई मिडिया कभरेज गरी निरन्तर सूचना प्रवाह समेत भइरहनुपर्दछ ।

आइक्यापको बैठक काठमाडौँमा हुँदै

काठमाडौँ, २५ असोज : एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को ४०औँ स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठक भोलिदेखि काठमाडौँमा सुरु हुँदै छ ।

नेकपा (एमाले) परराष्ट्र मामिला विभागका प्रमुख तथा आइक्यापका स्थायी कमिटी सदस्य डा राजन भट्टराई कार्यक्रममा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञहरूका बीचमा विभिन्न समसामयिक विषयमा प्रस्तुति तथा छलफल हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत विभिन्न मुलुकका २६ वटा राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० भन्दा बढीको सहभागिता रहने छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको छ ।

काठमाडौँको गोकर्ण रिसोर्टमा तीन दिनसम्म सञ्चालन हुने बैठकको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । एमाले विदेश मामिला प्रमुख डा भट्टराईका अनुसार बैठकमा सहभागी हुने प्रतिनिधि नेपाल आउने क्रम जारी छ ।

किसानले सहुलियतको बिजुली प्रयोग गर्ने व्यवस्था मिलाउन समितिको निर्देशन

काठमाडौँ, २५ असोज : प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि फसलको उत्पादन, प्रशोधन र भण्डारणमा कृषि मिटर (विद्युत्) को व्यवस्था गरी किसानले सहुलियतको बिजुली प्रयोग गर्ने व्यवस्था मिलाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकले सरकारबाट विद्युत् सहुलियत प्रदान गरिएका किसानले प्रयोग गर्ने विद्युत् महसुल छुट दिँदा घरमा जडान भएको मिटरमा मात्र छुट दिइएको तर किसानले सो सहुलियत कृषि उपजमा प्रयोग गर्न नसकेकाले त्यस्ता क्षेत्रमा विद्युत् प्रसारणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बैठकले कृषि तथा वन पैदावारमा आधारित उद्योगले पाउने सहुलियत तथा छुटबाट वञ्चित हुने भएकाले उक्त बुँदामा उल्लेखित विषयलाई अनुसूची ४ अन्तर्गत राख्ने आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

“औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको अनुसूचीमा विभिन्न उद्योगको वर्गीकरण गर्दा उक्त ऐनको अनुसूची ८ को बुँदा नं २७ मा खाद्यान्न कुटानी, पिसानी, पेलानी र प्याकेजिङ गर्ने कार्यलाई सेवामूलक उद्योगमा वर्गीकरण गरी सूचीकृत भएको हुँदा उक्त विषय अनुसूची–४ को कृषि तथा वन पैदावरमा आधारित उद्योगअन्तर्गत रहनुपर्ने देखिन्छ”, समितिको निर्णयमा भनिएको छ ।

बैठकले, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत स्वीकृत दरबन्दीमा कर्मचारी पदपूर्ति हुनसकेको बताएको छ । जसका कारण कार्यसम्पादनमा असर पुगेको भन्दै मन्त्रालयअन्तर्गत रहेका दरबन्दी सङ्ख्या र पदपूर्ति नभएका विवरण समितिमा पठाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

सम्पत्ति शुद्धीकरण विधेयकमाथिको प्रतिवेदन संसद्मा पेश

काठमाडौँ, २५ असोज : प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले समितिले दफावार छलफल गरी तयार गरेको उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

गत वैशाख १५ गतेको बैठकमा प्रतिनिधिसभा नियमावली अनुरुप दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएपछि कानुन, न्याय तथा मानवअधिकार समितिमा पठाइएको थियो । उक्त विधेयक समितिमा प्राप्त भएपछि गत जेठ ८ गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक प्रस्तुत गर्नुभएको थियो ।

गत भदौ १९ गते समितिले ११ सदस्यीय उपसमित गठन गरी विधेयकबारे सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको थियो । उपसमितिको प्रतिवेदन समितिमा पेश भएर छलफल भई असोज २४ गतेको बैठकमा उपसमितिको प्रतिवेदन र उक्त विधेयकमाथि छलफल भई समितिबाट पारित भएको थियो ।

सभापति सुवेदीले विधेयक पारित भएपछि हालको १९ वटा ऐनमा संशोधन भई सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनमा कानुनी सुधार आउनुका साथै सम्पत्ति शुद्धीकरणका निम्नि नेपालको कानुन अन्तर्राष्ट्रियस्तरको हुने र यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।

साथै, उहाँले नेपालको आर्थिक तथा वित्तीय अवराध नियन्त्रण प्रणाली मजबुद भई पुँजी पलायन रोक्न र वित्तीय सशासन प्रवद्र्धनमा टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

विद्यालय शिक्षा विधेयक समितिमा पठाइयो

प्रतिनिधिसभाको आजको बैठकले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तुत गर्नुभएको ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २६ गते शुक्रबार दिउँसो २ बजे बस्नेछ ।

साथीलाई पेट्रोल छर्की आगो लगाएर भाग्ने पक्राउ, तीन घाइते

काठमाडौँ – आफूसँगै काम गर्ने साथीलाई पेट्रोल छर्की आगो लगाएर भाग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको सुवर्णपुर गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा काम गर्ने वर्ष २६ का शिवु भन्ने सुवास विक यही असोज १२ गते रातिको समयमा साथीलाई आगो लगाएर घाइते बनाई भागेकामा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

एकै ठाउँमा घर भई सोही ठाउँमा काम गर्ने वर्ष २४ का अरुण विश्वकर्मालाई पेट्रोल छर्की आगो लगाएर उनी भागेका थिए । आगो सल्किएपछि त्यहाँ रहेका अन्य दुईसमेत गरी तीन जना घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उनीहरूको अहिले कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आगो लगाउने विकलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
d

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको थालनी गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

भक्तपुर, २५ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधारको थालनी गरेको बताउनुभएको छ ।मध्यपुरथिमि नगरपालिका बोडेमा २००५ सालमा स्थापना भएको बोडे माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव एवं हिरक जयन्तीमा आज आयोजित समारोह उद्घाटनमा मन्त्री बस्नेतले स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले सुधारका काम सुरु गरिसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै सुधार गर्नुपर्ने विषय छन्, त्यस्ता विषयलाई सरकारले सुधार गर्न थालनी गरिसकेको छ, स्वास्थ्य क्षेत्रको सुधारको थालनी भइसकेको छ, अब कसैले पनि उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।”

उहाँले सबै नेपाली जनतामा स्वास्थ्यको पहुँच पुग्ने र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अब नआउने बताउँदै गरिब, असाहय, अपाङ्गलगायतका नागरिकको निःशुल्क उपचारको व्यवस्था हुने बताउनुभयो ।

मन्त्री बस्नेतले भक्तपुरका सरकारी अस्पतालदेखि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालसम्मलाई उच्च प्रविधियुक्त बनाउने र सहजरूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने गरी सेवा विस्तारलगायतका कार्यमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आफ्नोतर्फबाट यहाँको अस्पतालका लागि गर्नुपर्ने र हुने आवश्यक काम गर्ने बताउँदै त्यसका लागि योजना अगाडि बढाउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले शिक्षा र स्वास्थय क्षेत्रको बेथिति अन्त्य गर्दै सहजता प्रदान गर्न सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराएको, निःशुल्क स्वास्थ्य बीमालाई व्यवस्थापन गर्दै आएको, आगामी चार वर्षमा थिमिका सबै नागरिकमा निःशुल्क स्वास्थ्य बीमाको पहुँच पु¥याउने बताउँदै नेपाल कोरिया नर अस्पताल देशकै उत्कृष्ट अस्पताल बनाउन लागिरहेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले नगरवासीलाई सामान्य उपचारका लागि अन्यत्र जानु नपर्ने गरी आफ्नै अस्पतालबाट सेवा उपलब्ध गराएको बताउँदै अस्पताललाई उच्च प्रविधिमैत्री बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति गणेशमान चक्रधरले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । कार्यक्रममा स्थापनाकालमा यस विद्यालयमा अध्ययन गर्नुभएको र हाल आदर्श मावि लायकु थिमिका प्रधानाध्यापक बुद्धिकुमार घो र हरिहरमान थापा श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरिएको थियो ।

नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा

कोलम्बो (श्रीलङ्का), २५ असोज ः नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडाँैमा हुने भएको छ । आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको छ ।

यद्यपि यो बैठक गत वर्षको वैशाखमा श्रीलङ्काले आयोजना गर्नुपर्ने थियो । श्रीलङ्का सरकारको आसयको आधारमा नेपालले काठमाडौँमा बैठक आयोजना गर्न लागेको हो ।

बैठकमा नेपाल र श्रीलङ्काबीच रहिआएको बहुआयामिक सम्बन्धका विविध विषयमा छलफल हुने यहाँस्थित नेपाली राजदूत वासुदेव मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार कूटनीतिक एवं व्यापारिक, सांस्कृतिक, शैक्षिक सम्बन्ध कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा बैठकमा व्यापक छलफल हुनेछ ।

कोभिड–१९ महामारीपछि नेपालबाट श्रीलङ्का आउने र श्रीलङ्काबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको उल्लेख गर्दै राजदूतले मिश्रले नेपाली पर्यटकका लागि श्रीलङ्का मुख्य गन्तव्य हुनसक्ने बताउनुभयो । नेपाल र श्रीलङ्काबीचमा छोटो हवाई दूरी र खानपिन एवं रहनसहन मिल्ने भएकाले पनि श्रीलङ्का नेपालीका लागि उपयुक्त र श्रीलङ्कनका लागि पनि नेपाल उपयुक्त पर्यटकीय गन्तव्य हुने उहाँको भनाइ छ ।

द्विपक्षीय सम्बन्ध

नेपाल र श्रीलङ्काबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीचको सम्बन्ध सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहिआएको छ । आगामी वर्षदेखि नेपाल र श्रीलङ्काका बीचमा नयाँ अध्याय सुरु हुने राजदूत मिश्रको विश्वास छ । नेपाल र श्रीलङ्का सम्पर्क एवं सम्बन्ध विस्तारका लागि विश्वविद्यालयका भाइस चान्स्लर, प्राध्यापक र सरकारका उच्च पदस्थ अधिकारी र सरकारी एवं अन्य गैरसरकारी निकायका प्रमुखसँगको छलफल घनिभूत बनाएको राजदूत मित्रले जानकारी दिनुभयो ।

श्रीलङ्कामा ४२ देशका कूटनीतिक नियोग रहेका छन् भने अरु १२÷१५ वटा अन्तर्राष्ट्रिय संस्थाका कार्यालय रहेका छन् ।

नेपालले सन् १९७५ मा कोलम्बोमा महावाणिज्य दूतावास स्थापना गरेको थियो भने सन् १९९५ मा कोलम्बोमा नेपाली दूतावास स्थापना गरेको थियो । त्यसैगरी श्रीलङ्काको काठमाडौँमा सन् १९९३ देखि आवासीय दूतावास रहिआएको छ । सन् २०१७ मा नेपाल र श्रीलङ्काले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष मनाएका थिए ।

नेपाल र श्रीलङ्का दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य हुन् र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य पनि हुन् ।

उच्चस्तरीय भ्रमण

उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई उचाइमा पु¥याएको बताउँदै आगामी दिनमा पनि दुई देशबीचमा उच्चस्तरीय भ्रमणले निरन्तरता पाउने राजदूत मिश्रको बुझाइ छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चौथो बिमस्टेक शिखर सम्मेलनमा २०१८ मा नेपालको भ्रमण गर्नुभएको थियो ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ मेमा क्यान्डीमा आयोजित अन्तर्राष्ट्रिय वेसाक दिवसको समापन समारोहमा सहभागी हुन श्रीलङ्काको भ्रमण गर्नुभएको थियो भने त्यसैगरी १८औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले नोभेम्बर २०१४ मा नेपाल भ्रमण गर्नुभएको थियो ।

अब हुने विदेशमन्त्रीस्तरीय बैठकले सबै किसिमका ढोका खोल्ने विश्वास व्यक्त गर्दै राजदूत मिश्रले आगामी दिनमा कार्यकारीस्तरको भ्रमण हुने विश्वास व्यक्त गर्नुभयो ।

द्विपक्षीय व्यापारका सम्भावना

नेपालले श्रीलङ्कामा ऊन, कपडा निर्यात गर्दै आएको छ भने श्रीलङ्काबाट कफी, अनाज, विविध रासायनिक उत्पादन, तेल र चिकित्सा वा शल्य चिकित्सा उपकरण आदि रहेका छन् ।

आगामी दिनमा हुने विदेशमन्त्री स्तरीय बैठकमा व्यापार, वित्त, कृषि, उद्योग र पूर्वाधारको विकास, विज्ञान तथा प्रविधि, लगानी र आपसी हितका विषयमा विचार विमर्श हुनेछ ।

राजदूत मिश्रका अनुसार आगामी दिनमा नेपालबाट मौसमी फलफूल, तरकारी एवं मिनिरल वाटर श्रीलङ्का ल्याउन सकिनेछ भने श्रीलङ्काबाट नरिवल तेल, औषधीजन्य सामग्री नेपाल लैजान सकिन्छ ।

सन् १९७९ अप्रिलमा द्विपक्षीय व्यापार सम्झौतामा हस्ताक्षर भए पनि दुई देशबीचको व्यापारको मात्रा न्यून रहेको छ ।

नेपाल र श्रीलङ्का

दुई देशबीच तुलना गर्दा नेपालभन्दा आर्थिक हिसाबले श्रीलङ्का नेपालभन्दा माथि देखिन्छ । प्रतिव्यक्ति आय, अर्थतन्त्रको आकार पनि नेपालको भन्दा बृहत् रहेको राजदूत मित्रले बताउनुभयो । त्यसो त वैदेशिक ऋण पनि नेपालको भन्दा श्रीलङ्काको बढी रहेको छ । उहाँले भन्नुभयो, “ऋण धेरै भयो भन्दैमा त्यो देशको आर्थिक अवस्था नराम्रो छ भन्ने हुँदैन, ऋण त परिचालन गर्ने हो, जहाँबाट उत्पादनका लागि पैदा गर्ने उत्साह पैदा गर्छ ।”

नेपाल–श्रीलङ्काको साझा विन्दु पहिल्याउनका लागि धेरै प्रयास भइरहेका छन् । श्रीलङ्काको समाजसँग भिज्ने र त्यहाँ रहेका कूटनीतिक नियोगसँग सम्पर्ग बढाउन आफू लागि परेको उल्लेख गर्दै उहाँले आगामी वर्षदेखि नेपालका लागि प्रतिफल दिने विश्वास व्यक्त गर्नुभयो ।

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन – आयोग

खोटाङ, २५ असोज ः राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ ।

मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रकार घेटघाट कार्यक्रमको आयोजना गरेर मानव अधिकारसम्बन्धी भए÷गरेका जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी दिएको हो ।

मानव जीवनको पहिलो प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह खोटाङ जिल्लामा प्रभावकारी नभएको पाइएको आयोगका सदस्य मिहिर ठाकुरले जानकारी दिनुभयो । “अनुगमनका क्रममा मङ्गलबार जिल्ला अस्पताल खोटाङ पुगेका थियौँ । त्यहाँ पुग्दा जीवनजलसमेत भेटिएन”, उहाँले भन्नुभयो, “म आफैँलाई पनि पेटसम्बन्धी समस्या थियो । आकस्मिक कक्ष पुगेर जँचाउँदा जीवनजलसमेत नरहेको अस्पतालले प्रतिक्रिया दियो । म आफैँले जीवनजल नपाउँने अस्पतालमा सामान्य नागरिकले कसरी सेवा लिइरहेका होलान् भन्ने प्रश्न उब्जिएको छ !”

सदस्य ठाकुरले जिल्लामा शिक्षाको अवस्था पनि कमजोर देखिएको जानकारी दिनुभयो । “अनुगमनका लागि खोटाङ आउनेक्रममा बाटोमा भेटिएका तीनजना विद्यार्थीसँग हामीले कुरा ग¥र्यौँ । उनीहरु कक्षा–५, कक्षा–९ र कक्षा–११ मा अध्ययनरत विद्यार्थी थिए । उनीहरुलाई पालैपालो हाम्रो गाडीमा लेखिएका नारा पढ्न लगाएका थियौँ”, उहाँले भन्नुभयो, “अङ्ग्रेजीमा लेखिएका त्यो नारा कक्षा–९ र ११ का विद्यार्थीले पढ्नै जानेनन् । कक्षा–५ का विद्यार्थीले भने प्रस्ट उच्चाहरण गरे । ती तीन विद्यार्थीको उदाहरण हेर्दा खोटाङमा शिक्षाको गुणस्तर कस्तो छ भन्ने प्रस्ट हुन्छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

आयोगको कार्यालयले जिल्लामा देखिएको समस्याहरुको १८ बुँदा सार्वजनिक गरेको छ । कर्मचारीबाट काममा असहयोग, कार्यालय प्रमुख सरुवा छिटोछिटो हुने, रोजगारीको अभावले नागरिक र राज्यबीचको दूरीमा वृद्धि, निर्माण कम्पनीले कामदारको पारिश्रमिक नदिने गरेको, पुरुषको तुलनामा महिला बढी पीडामा रहेको, आत्महत्याका घटना वृद्धि, पादक पदार्थ सेवन, बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर रहेकोलगायतका समस्या देखिएको आयोगले जनाएको छ ।

आयोगले जिल्लाको भौगोलिक अवस्था तथा जनताको मागलाई सम्बोधन गर्न अधिकारमुखी पद्धति अवलम्बन गर्न, कृषिमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तुलाई निरुत्साहित गर्न, व्यवसायीले उपभोक्ताको हितलाई मध्यनजर गर्नुपर्ने, सार्वजनिक सेवा प्रदायक र सेवाग्राहीबीच सुमधुर सम्बन्ध हुनुपर्ने, सरकारी निकायबाट नियमित अनुगमन हुनुपर्ने, कर्मचारीको नियत सफा हुनुपर्ने, आर्थिक अनुशासन कायम गर्न सबै कार्यालयले त्रैमासिक कार्ययोजना बनाएर सन्तुलित खर्च र सन्तुलित विकासमा जोड दिनुपर्नेलगायतका सुझाव दिएको छ ।

आयोगले उपभोक्ता हित संरक्षणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय, जिल्ला अस्पताल खोटाङ, स्थानीय तह, यातायात व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, हाटबजारलगायतको अनुगमन गर्नुका साथै सरोकारवाला निकायसँग छलफल गरिएको शाखा कार्यालय दिक्तेलका प्रमुख उपसचिव गीताकुमारी दाहालले जानकारी दिनुभएको छ ।

पत्रकारले सो अवसरमा जिल्लामा आयोगले कारबाहीका लागि सिफारिस गरेको मुद्दामा राज्यले चासो नदिएको पाइएको बताएका थिए ।

चुनाव जित्नका लागि विकासको आश्वासन देखाउने चलन छ : सांसद ज्ञवाली

काठमाडौँ, २५ असोज-नेकपा ९एमाले० का सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ । ‘जनताले सांसद कानुन बनाउन जाने हुन चुनेर पठाउनुपर्छ’ भनेर सोच्ने नगरेको उहाँको अनुभव छ । “बुझ्नेलाई त थाहा छ नि, सांसदको कानुन बनाउने प्रमुख भूमिका हो भनेर, तर चुनाव जित्ने बेलामा जनतालाई थुप्रै आश्वासन दिएको हुन्छ”, उहाँले भन्नुभयो, “सांसदको पूर्ण ध्यान आफ्ना क्षेत्रको विकास निर्माणमा मात्र छ, कानुन बनाउनुपर्ने महत्वपूर्ण काम चाँहि ओझेलमा पर्ने गरेको छ ।” नेपालमा धेरै पहिलादेखि नै यही संस्कार नै बनेकाले पनि जनतालाई पनि विकासकै आशा हुने उहाँको अनुभव छ ।

“अझै पनि धेरै ग्रामीण बस्तीमा सांसद भन्ने वित्तिकै विकासकै आशा हुन्छ”, उहाँले थप्नुभयो, “स्वास्थ्य चौकी छैन, कति ठाउँमा छ, औषधि छैन, शिक्षाको अवाव छ, सडक, खानेपानीको धेरै समस्या छन्, त्यो जनप्रतिनिधिले नै पूरा गरोस् भन्ने आशा हुन्छ ।” सांसद ज्ञवालीलाई सबै कुरा एउटा सांसदले विकास गर्न सम्भव पनि नभएको अनुभव छ । सांसद विकास कोष पनि जनतालाई देखाउने कोष मात्रै भएको उहाँको बुझाइ छ । “योजना दिने तर पैसा नदिनेजस्ता धेरै समस्या हुने गरेको थियो, राज्यकोषको पैसाबाट हो, कोष किन चाहियो विकास गरे भइहाल्छ नि”, उहाँले भन्नुभयो, “तर अहिले सर्वोच्च अदालतले रोकेको छ, मलाई व्यक्तिगतरुपमा अदालतले रोक लगाएको ठीक लागेको छ, त्यो कोष जरुरी छैन ।”गुल्मीको रुरु गाउँपालिका–१ मा २०२६ सालमा जन्मिनुभएकी नेत्री ज्ञवालीले एमालेमा भूमिगत भएर बर्दिया र कैलाली पार्टीको काम गर्नुभयो । उहाँ गुल्मीमा जन्मनु भए पनि कर्मथलो फरक हुँदा २०४६ सालमा बहुदल आएपछि खुलेर बाहिर आउनुभएको हो । उहाँ बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बर्दियाबाट प्रतिनिधित्व गर्नुहुन्छ । समानुपातिकबाट पहिलोपटक प्रतिनिधिसभा सदस्य हुनुभएको हो ।विधायक ज्ञवालीलाई सांसदको काम कानुन निर्माण प्रक्रियामै ध्यान दिनुपर्ने हो हो भन्ने लागे पनि चुनाव जित्नका लागि जनताका सामु बाटो बनाउने, रोजगारी सिर्जना गर्ने, खानेपानी, शिक्षा स्वास्थ्य आदि पूरा गर्छु भनेर वचन दिएकाले जनताको पीर मर्कामा जानुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा त्यही खालको संस्कार छ, त्यसले गर्दा पनि जनता कानुन बनाउने भन्दा प्राथमिकतामा जनताको समस्या पहिला आउँछ ।”संसद् सुचारु भएको यतिका समय भइसक्दा पनि कानुन बनाउने काममा तीव्रता दिन नसकेको उहाँलाई सांसदको मात्र दोष हो भन्ने लाग्दैन । सरकारले सदनलाई ‘विजनेस’ नदिएर नै कानुन निर्माण प्रक्रियामा ढिलाइ भएको उहाँको ठहर छ । “एउटा मिटरब्याजीसम्बन्धी विधेयकबाहेक अरु बनेको छैन, वास्तवमा यो संसद् र सांसदको भूमिकामा गम्भीर प्रश्न उठ्ने सवाल छ”, उहाँले भन्नुभयो, “किन भने संविधान अनुकूल बनाउनुपर्ने कानुन नै धेरै छन ।”आमजनताको प्रतिनिधित्व गर्ने संसद् कानुन बनाउन ढिलाइ हुनुमा जवाफदेही सांसद पनि हुनुपर्नेमा उहाँ सहमत हुनुहुन्छ । यसमा सांसद र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने र बनाउनुपर्ने महत्वपूर्ण कानुन निर्माणमा सबैको ध्यान हुनुपर्ने उहाँको भनाइ छ । “कानुन बनाउनुपर्ने विषयका विधेयक सरकारले ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “सदनलाई सरकारले काम दिए कानुन बनाउने हो, तर बनाउनुपर्ने महत्वपूर्ण कानुनका विधेयक पनि आउन ढिलाइ भइरहेको छ ।” संंसद् सञ्चालन गर्ने प्रमुख भूमिका सरकारको भएको र प्रमुख प्रतिपक्षीलाई जायज मागमा सम्बोधन नभएपछि र विना आधार आरोप लगाएपछि संसद्मा अवरोध गर्नुपर्ने बाध्यता परी आउने उहाँको बुझाइ छ । सुशासनका लागि बोल्नका लागि संसद्को प्रमुख प्रतिपक्षको बोल्नैपर्ने आवश्यकता भएको उहाँको भनाइ छ ।कानुन बनाउने थलोमा उभिएका सांसद आबेगमा बोल्न हुँदैन भन्ने उहाँलाई लाग्छ । “सदनमा मयार्दामा रहेर बोल्नुपर्छ, जनताको प्रतिनिधि भएर इमान्दार, मर्यादित र अनुशासित हुनुपर्छ”, उहाँले भन्नुभयो, “संसद् भनेको जे मुखमा आयो, त्यही बोल्ने स्थान होइन, नेपालको सांसद भनेर विश्वभरिका नेपाली र अरु सबैले हेरिरहेका हुन्छन्, सभ्य हुनुपर्छ ।”उहाँलाई पहिला बोल्ने र पछि रेकर्डबाट हटाउनुपर्ने अवस्थाको सिर्जना गर्नु पनि ठीक होइन भन्ने लाग्छ । प्रमुख प्रतिपक्षी दलका नेकपा ९एमाले० का सांसदले त्यस्तो अश्लील, असभ्य, असोभनीय बोलेर रेकर्डबाट हटाउनुपर्ने अवस्था आएको उहाँलाई सम्झना छैन ।

चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला

चितवन, २५ असोज ः चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।


निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जुधेर गैँडा मरेको हो ।” चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ ।