`

सम्पत्ति शुद्धीकरण विधेयकमाथिको प्रतिवेदन संसद्मा पेश

काठमाडौँ, २५ असोज : प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले समितिले दफावार छलफल गरी तयार गरेको उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

गत वैशाख १५ गतेको बैठकमा प्रतिनिधिसभा नियमावली अनुरुप दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएपछि कानुन, न्याय तथा मानवअधिकार समितिमा पठाइएको थियो । उक्त विधेयक समितिमा प्राप्त भएपछि गत जेठ ८ गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक प्रस्तुत गर्नुभएको थियो ।

गत भदौ १९ गते समितिले ११ सदस्यीय उपसमित गठन गरी विधेयकबारे सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको थियो । उपसमितिको प्रतिवेदन समितिमा पेश भएर छलफल भई असोज २४ गतेको बैठकमा उपसमितिको प्रतिवेदन र उक्त विधेयकमाथि छलफल भई समितिबाट पारित भएको थियो ।

सभापति सुवेदीले विधेयक पारित भएपछि हालको १९ वटा ऐनमा संशोधन भई सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनमा कानुनी सुधार आउनुका साथै सम्पत्ति शुद्धीकरणका निम्नि नेपालको कानुन अन्तर्राष्ट्रियस्तरको हुने र यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।

साथै, उहाँले नेपालको आर्थिक तथा वित्तीय अवराध नियन्त्रण प्रणाली मजबुद भई पुँजी पलायन रोक्न र वित्तीय सशासन प्रवद्र्धनमा टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

विद्यालय शिक्षा विधेयक समितिमा पठाइयो

प्रतिनिधिसभाको आजको बैठकले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तुत गर्नुभएको ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २६ गते शुक्रबार दिउँसो २ बजे बस्नेछ ।

साथीलाई पेट्रोल छर्की आगो लगाएर भाग्ने पक्राउ, तीन घाइते

काठमाडौँ – आफूसँगै काम गर्ने साथीलाई पेट्रोल छर्की आगो लगाएर भाग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको सुवर्णपुर गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा काम गर्ने वर्ष २६ का शिवु भन्ने सुवास विक यही असोज १२ गते रातिको समयमा साथीलाई आगो लगाएर घाइते बनाई भागेकामा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

एकै ठाउँमा घर भई सोही ठाउँमा काम गर्ने वर्ष २४ का अरुण विश्वकर्मालाई पेट्रोल छर्की आगो लगाएर उनी भागेका थिए । आगो सल्किएपछि त्यहाँ रहेका अन्य दुईसमेत गरी तीन जना घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उनीहरूको अहिले कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आगो लगाउने विकलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
d

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको थालनी गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

भक्तपुर, २५ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधारको थालनी गरेको बताउनुभएको छ ।मध्यपुरथिमि नगरपालिका बोडेमा २००५ सालमा स्थापना भएको बोडे माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव एवं हिरक जयन्तीमा आज आयोजित समारोह उद्घाटनमा मन्त्री बस्नेतले स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले सुधारका काम सुरु गरिसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै सुधार गर्नुपर्ने विषय छन्, त्यस्ता विषयलाई सरकारले सुधार गर्न थालनी गरिसकेको छ, स्वास्थ्य क्षेत्रको सुधारको थालनी भइसकेको छ, अब कसैले पनि उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।”

उहाँले सबै नेपाली जनतामा स्वास्थ्यको पहुँच पुग्ने र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अब नआउने बताउँदै गरिब, असाहय, अपाङ्गलगायतका नागरिकको निःशुल्क उपचारको व्यवस्था हुने बताउनुभयो ।

मन्त्री बस्नेतले भक्तपुरका सरकारी अस्पतालदेखि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालसम्मलाई उच्च प्रविधियुक्त बनाउने र सहजरूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने गरी सेवा विस्तारलगायतका कार्यमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आफ्नोतर्फबाट यहाँको अस्पतालका लागि गर्नुपर्ने र हुने आवश्यक काम गर्ने बताउँदै त्यसका लागि योजना अगाडि बढाउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले शिक्षा र स्वास्थय क्षेत्रको बेथिति अन्त्य गर्दै सहजता प्रदान गर्न सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराएको, निःशुल्क स्वास्थ्य बीमालाई व्यवस्थापन गर्दै आएको, आगामी चार वर्षमा थिमिका सबै नागरिकमा निःशुल्क स्वास्थ्य बीमाको पहुँच पु¥याउने बताउँदै नेपाल कोरिया नर अस्पताल देशकै उत्कृष्ट अस्पताल बनाउन लागिरहेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले नगरवासीलाई सामान्य उपचारका लागि अन्यत्र जानु नपर्ने गरी आफ्नै अस्पतालबाट सेवा उपलब्ध गराएको बताउँदै अस्पताललाई उच्च प्रविधिमैत्री बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति गणेशमान चक्रधरले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । कार्यक्रममा स्थापनाकालमा यस विद्यालयमा अध्ययन गर्नुभएको र हाल आदर्श मावि लायकु थिमिका प्रधानाध्यापक बुद्धिकुमार घो र हरिहरमान थापा श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरिएको थियो ।

नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा

कोलम्बो (श्रीलङ्का), २५ असोज ः नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडाँैमा हुने भएको छ । आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको छ ।

यद्यपि यो बैठक गत वर्षको वैशाखमा श्रीलङ्काले आयोजना गर्नुपर्ने थियो । श्रीलङ्का सरकारको आसयको आधारमा नेपालले काठमाडौँमा बैठक आयोजना गर्न लागेको हो ।

बैठकमा नेपाल र श्रीलङ्काबीच रहिआएको बहुआयामिक सम्बन्धका विविध विषयमा छलफल हुने यहाँस्थित नेपाली राजदूत वासुदेव मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार कूटनीतिक एवं व्यापारिक, सांस्कृतिक, शैक्षिक सम्बन्ध कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा बैठकमा व्यापक छलफल हुनेछ ।

कोभिड–१९ महामारीपछि नेपालबाट श्रीलङ्का आउने र श्रीलङ्काबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको उल्लेख गर्दै राजदूतले मिश्रले नेपाली पर्यटकका लागि श्रीलङ्का मुख्य गन्तव्य हुनसक्ने बताउनुभयो । नेपाल र श्रीलङ्काबीचमा छोटो हवाई दूरी र खानपिन एवं रहनसहन मिल्ने भएकाले पनि श्रीलङ्का नेपालीका लागि उपयुक्त र श्रीलङ्कनका लागि पनि नेपाल उपयुक्त पर्यटकीय गन्तव्य हुने उहाँको भनाइ छ ।

द्विपक्षीय सम्बन्ध

नेपाल र श्रीलङ्काबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीचको सम्बन्ध सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहिआएको छ । आगामी वर्षदेखि नेपाल र श्रीलङ्काका बीचमा नयाँ अध्याय सुरु हुने राजदूत मिश्रको विश्वास छ । नेपाल र श्रीलङ्का सम्पर्क एवं सम्बन्ध विस्तारका लागि विश्वविद्यालयका भाइस चान्स्लर, प्राध्यापक र सरकारका उच्च पदस्थ अधिकारी र सरकारी एवं अन्य गैरसरकारी निकायका प्रमुखसँगको छलफल घनिभूत बनाएको राजदूत मित्रले जानकारी दिनुभयो ।

श्रीलङ्कामा ४२ देशका कूटनीतिक नियोग रहेका छन् भने अरु १२÷१५ वटा अन्तर्राष्ट्रिय संस्थाका कार्यालय रहेका छन् ।

नेपालले सन् १९७५ मा कोलम्बोमा महावाणिज्य दूतावास स्थापना गरेको थियो भने सन् १९९५ मा कोलम्बोमा नेपाली दूतावास स्थापना गरेको थियो । त्यसैगरी श्रीलङ्काको काठमाडौँमा सन् १९९३ देखि आवासीय दूतावास रहिआएको छ । सन् २०१७ मा नेपाल र श्रीलङ्काले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष मनाएका थिए ।

नेपाल र श्रीलङ्का दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य हुन् र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य पनि हुन् ।

उच्चस्तरीय भ्रमण

उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई उचाइमा पु¥याएको बताउँदै आगामी दिनमा पनि दुई देशबीचमा उच्चस्तरीय भ्रमणले निरन्तरता पाउने राजदूत मिश्रको बुझाइ छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चौथो बिमस्टेक शिखर सम्मेलनमा २०१८ मा नेपालको भ्रमण गर्नुभएको थियो ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ मेमा क्यान्डीमा आयोजित अन्तर्राष्ट्रिय वेसाक दिवसको समापन समारोहमा सहभागी हुन श्रीलङ्काको भ्रमण गर्नुभएको थियो भने त्यसैगरी १८औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले नोभेम्बर २०१४ मा नेपाल भ्रमण गर्नुभएको थियो ।

अब हुने विदेशमन्त्रीस्तरीय बैठकले सबै किसिमका ढोका खोल्ने विश्वास व्यक्त गर्दै राजदूत मिश्रले आगामी दिनमा कार्यकारीस्तरको भ्रमण हुने विश्वास व्यक्त गर्नुभयो ।

द्विपक्षीय व्यापारका सम्भावना

नेपालले श्रीलङ्कामा ऊन, कपडा निर्यात गर्दै आएको छ भने श्रीलङ्काबाट कफी, अनाज, विविध रासायनिक उत्पादन, तेल र चिकित्सा वा शल्य चिकित्सा उपकरण आदि रहेका छन् ।

आगामी दिनमा हुने विदेशमन्त्री स्तरीय बैठकमा व्यापार, वित्त, कृषि, उद्योग र पूर्वाधारको विकास, विज्ञान तथा प्रविधि, लगानी र आपसी हितका विषयमा विचार विमर्श हुनेछ ।

राजदूत मिश्रका अनुसार आगामी दिनमा नेपालबाट मौसमी फलफूल, तरकारी एवं मिनिरल वाटर श्रीलङ्का ल्याउन सकिनेछ भने श्रीलङ्काबाट नरिवल तेल, औषधीजन्य सामग्री नेपाल लैजान सकिन्छ ।

सन् १९७९ अप्रिलमा द्विपक्षीय व्यापार सम्झौतामा हस्ताक्षर भए पनि दुई देशबीचको व्यापारको मात्रा न्यून रहेको छ ।

नेपाल र श्रीलङ्का

दुई देशबीच तुलना गर्दा नेपालभन्दा आर्थिक हिसाबले श्रीलङ्का नेपालभन्दा माथि देखिन्छ । प्रतिव्यक्ति आय, अर्थतन्त्रको आकार पनि नेपालको भन्दा बृहत् रहेको राजदूत मित्रले बताउनुभयो । त्यसो त वैदेशिक ऋण पनि नेपालको भन्दा श्रीलङ्काको बढी रहेको छ । उहाँले भन्नुभयो, “ऋण धेरै भयो भन्दैमा त्यो देशको आर्थिक अवस्था नराम्रो छ भन्ने हुँदैन, ऋण त परिचालन गर्ने हो, जहाँबाट उत्पादनका लागि पैदा गर्ने उत्साह पैदा गर्छ ।”

नेपाल–श्रीलङ्काको साझा विन्दु पहिल्याउनका लागि धेरै प्रयास भइरहेका छन् । श्रीलङ्काको समाजसँग भिज्ने र त्यहाँ रहेका कूटनीतिक नियोगसँग सम्पर्ग बढाउन आफू लागि परेको उल्लेख गर्दै उहाँले आगामी वर्षदेखि नेपालका लागि प्रतिफल दिने विश्वास व्यक्त गर्नुभयो ।

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन – आयोग

खोटाङ, २५ असोज ः राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ ।

मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रकार घेटघाट कार्यक्रमको आयोजना गरेर मानव अधिकारसम्बन्धी भए÷गरेका जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी दिएको हो ।

मानव जीवनको पहिलो प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह खोटाङ जिल्लामा प्रभावकारी नभएको पाइएको आयोगका सदस्य मिहिर ठाकुरले जानकारी दिनुभयो । “अनुगमनका क्रममा मङ्गलबार जिल्ला अस्पताल खोटाङ पुगेका थियौँ । त्यहाँ पुग्दा जीवनजलसमेत भेटिएन”, उहाँले भन्नुभयो, “म आफैँलाई पनि पेटसम्बन्धी समस्या थियो । आकस्मिक कक्ष पुगेर जँचाउँदा जीवनजलसमेत नरहेको अस्पतालले प्रतिक्रिया दियो । म आफैँले जीवनजल नपाउँने अस्पतालमा सामान्य नागरिकले कसरी सेवा लिइरहेका होलान् भन्ने प्रश्न उब्जिएको छ !”

सदस्य ठाकुरले जिल्लामा शिक्षाको अवस्था पनि कमजोर देखिएको जानकारी दिनुभयो । “अनुगमनका लागि खोटाङ आउनेक्रममा बाटोमा भेटिएका तीनजना विद्यार्थीसँग हामीले कुरा ग¥र्यौँ । उनीहरु कक्षा–५, कक्षा–९ र कक्षा–११ मा अध्ययनरत विद्यार्थी थिए । उनीहरुलाई पालैपालो हाम्रो गाडीमा लेखिएका नारा पढ्न लगाएका थियौँ”, उहाँले भन्नुभयो, “अङ्ग्रेजीमा लेखिएका त्यो नारा कक्षा–९ र ११ का विद्यार्थीले पढ्नै जानेनन् । कक्षा–५ का विद्यार्थीले भने प्रस्ट उच्चाहरण गरे । ती तीन विद्यार्थीको उदाहरण हेर्दा खोटाङमा शिक्षाको गुणस्तर कस्तो छ भन्ने प्रस्ट हुन्छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

आयोगको कार्यालयले जिल्लामा देखिएको समस्याहरुको १८ बुँदा सार्वजनिक गरेको छ । कर्मचारीबाट काममा असहयोग, कार्यालय प्रमुख सरुवा छिटोछिटो हुने, रोजगारीको अभावले नागरिक र राज्यबीचको दूरीमा वृद्धि, निर्माण कम्पनीले कामदारको पारिश्रमिक नदिने गरेको, पुरुषको तुलनामा महिला बढी पीडामा रहेको, आत्महत्याका घटना वृद्धि, पादक पदार्थ सेवन, बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर रहेकोलगायतका समस्या देखिएको आयोगले जनाएको छ ।

आयोगले जिल्लाको भौगोलिक अवस्था तथा जनताको मागलाई सम्बोधन गर्न अधिकारमुखी पद्धति अवलम्बन गर्न, कृषिमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तुलाई निरुत्साहित गर्न, व्यवसायीले उपभोक्ताको हितलाई मध्यनजर गर्नुपर्ने, सार्वजनिक सेवा प्रदायक र सेवाग्राहीबीच सुमधुर सम्बन्ध हुनुपर्ने, सरकारी निकायबाट नियमित अनुगमन हुनुपर्ने, कर्मचारीको नियत सफा हुनुपर्ने, आर्थिक अनुशासन कायम गर्न सबै कार्यालयले त्रैमासिक कार्ययोजना बनाएर सन्तुलित खर्च र सन्तुलित विकासमा जोड दिनुपर्नेलगायतका सुझाव दिएको छ ।

आयोगले उपभोक्ता हित संरक्षणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय, जिल्ला अस्पताल खोटाङ, स्थानीय तह, यातायात व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, हाटबजारलगायतको अनुगमन गर्नुका साथै सरोकारवाला निकायसँग छलफल गरिएको शाखा कार्यालय दिक्तेलका प्रमुख उपसचिव गीताकुमारी दाहालले जानकारी दिनुभएको छ ।

पत्रकारले सो अवसरमा जिल्लामा आयोगले कारबाहीका लागि सिफारिस गरेको मुद्दामा राज्यले चासो नदिएको पाइएको बताएका थिए ।

चुनाव जित्नका लागि विकासको आश्वासन देखाउने चलन छ : सांसद ज्ञवाली

काठमाडौँ, २५ असोज-नेकपा ९एमाले० का सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ । ‘जनताले सांसद कानुन बनाउन जाने हुन चुनेर पठाउनुपर्छ’ भनेर सोच्ने नगरेको उहाँको अनुभव छ । “बुझ्नेलाई त थाहा छ नि, सांसदको कानुन बनाउने प्रमुख भूमिका हो भनेर, तर चुनाव जित्ने बेलामा जनतालाई थुप्रै आश्वासन दिएको हुन्छ”, उहाँले भन्नुभयो, “सांसदको पूर्ण ध्यान आफ्ना क्षेत्रको विकास निर्माणमा मात्र छ, कानुन बनाउनुपर्ने महत्वपूर्ण काम चाँहि ओझेलमा पर्ने गरेको छ ।” नेपालमा धेरै पहिलादेखि नै यही संस्कार नै बनेकाले पनि जनतालाई पनि विकासकै आशा हुने उहाँको अनुभव छ ।

“अझै पनि धेरै ग्रामीण बस्तीमा सांसद भन्ने वित्तिकै विकासकै आशा हुन्छ”, उहाँले थप्नुभयो, “स्वास्थ्य चौकी छैन, कति ठाउँमा छ, औषधि छैन, शिक्षाको अवाव छ, सडक, खानेपानीको धेरै समस्या छन्, त्यो जनप्रतिनिधिले नै पूरा गरोस् भन्ने आशा हुन्छ ।” सांसद ज्ञवालीलाई सबै कुरा एउटा सांसदले विकास गर्न सम्भव पनि नभएको अनुभव छ । सांसद विकास कोष पनि जनतालाई देखाउने कोष मात्रै भएको उहाँको बुझाइ छ । “योजना दिने तर पैसा नदिनेजस्ता धेरै समस्या हुने गरेको थियो, राज्यकोषको पैसाबाट हो, कोष किन चाहियो विकास गरे भइहाल्छ नि”, उहाँले भन्नुभयो, “तर अहिले सर्वोच्च अदालतले रोकेको छ, मलाई व्यक्तिगतरुपमा अदालतले रोक लगाएको ठीक लागेको छ, त्यो कोष जरुरी छैन ।”गुल्मीको रुरु गाउँपालिका–१ मा २०२६ सालमा जन्मिनुभएकी नेत्री ज्ञवालीले एमालेमा भूमिगत भएर बर्दिया र कैलाली पार्टीको काम गर्नुभयो । उहाँ गुल्मीमा जन्मनु भए पनि कर्मथलो फरक हुँदा २०४६ सालमा बहुदल आएपछि खुलेर बाहिर आउनुभएको हो । उहाँ बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बर्दियाबाट प्रतिनिधित्व गर्नुहुन्छ । समानुपातिकबाट पहिलोपटक प्रतिनिधिसभा सदस्य हुनुभएको हो ।विधायक ज्ञवालीलाई सांसदको काम कानुन निर्माण प्रक्रियामै ध्यान दिनुपर्ने हो हो भन्ने लागे पनि चुनाव जित्नका लागि जनताका सामु बाटो बनाउने, रोजगारी सिर्जना गर्ने, खानेपानी, शिक्षा स्वास्थ्य आदि पूरा गर्छु भनेर वचन दिएकाले जनताको पीर मर्कामा जानुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा त्यही खालको संस्कार छ, त्यसले गर्दा पनि जनता कानुन बनाउने भन्दा प्राथमिकतामा जनताको समस्या पहिला आउँछ ।”संसद् सुचारु भएको यतिका समय भइसक्दा पनि कानुन बनाउने काममा तीव्रता दिन नसकेको उहाँलाई सांसदको मात्र दोष हो भन्ने लाग्दैन । सरकारले सदनलाई ‘विजनेस’ नदिएर नै कानुन निर्माण प्रक्रियामा ढिलाइ भएको उहाँको ठहर छ । “एउटा मिटरब्याजीसम्बन्धी विधेयकबाहेक अरु बनेको छैन, वास्तवमा यो संसद् र सांसदको भूमिकामा गम्भीर प्रश्न उठ्ने सवाल छ”, उहाँले भन्नुभयो, “किन भने संविधान अनुकूल बनाउनुपर्ने कानुन नै धेरै छन ।”आमजनताको प्रतिनिधित्व गर्ने संसद् कानुन बनाउन ढिलाइ हुनुमा जवाफदेही सांसद पनि हुनुपर्नेमा उहाँ सहमत हुनुहुन्छ । यसमा सांसद र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने र बनाउनुपर्ने महत्वपूर्ण कानुन निर्माणमा सबैको ध्यान हुनुपर्ने उहाँको भनाइ छ । “कानुन बनाउनुपर्ने विषयका विधेयक सरकारले ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “सदनलाई सरकारले काम दिए कानुन बनाउने हो, तर बनाउनुपर्ने महत्वपूर्ण कानुनका विधेयक पनि आउन ढिलाइ भइरहेको छ ।” संंसद् सञ्चालन गर्ने प्रमुख भूमिका सरकारको भएको र प्रमुख प्रतिपक्षीलाई जायज मागमा सम्बोधन नभएपछि र विना आधार आरोप लगाएपछि संसद्मा अवरोध गर्नुपर्ने बाध्यता परी आउने उहाँको बुझाइ छ । सुशासनका लागि बोल्नका लागि संसद्को प्रमुख प्रतिपक्षको बोल्नैपर्ने आवश्यकता भएको उहाँको भनाइ छ ।कानुन बनाउने थलोमा उभिएका सांसद आबेगमा बोल्न हुँदैन भन्ने उहाँलाई लाग्छ । “सदनमा मयार्दामा रहेर बोल्नुपर्छ, जनताको प्रतिनिधि भएर इमान्दार, मर्यादित र अनुशासित हुनुपर्छ”, उहाँले भन्नुभयो, “संसद् भनेको जे मुखमा आयो, त्यही बोल्ने स्थान होइन, नेपालको सांसद भनेर विश्वभरिका नेपाली र अरु सबैले हेरिरहेका हुन्छन्, सभ्य हुनुपर्छ ।”उहाँलाई पहिला बोल्ने र पछि रेकर्डबाट हटाउनुपर्ने अवस्थाको सिर्जना गर्नु पनि ठीक होइन भन्ने लाग्छ । प्रमुख प्रतिपक्षी दलका नेकपा ९एमाले० का सांसदले त्यस्तो अश्लील, असभ्य, असोभनीय बोलेर रेकर्डबाट हटाउनुपर्ने अवस्था आएको उहाँलाई सम्झना छैन ।

चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला

चितवन, २५ असोज ः चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।


निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जुधेर गैँडा मरेको हो ।” चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश : स्थानीय तहका उजुरी धेरै

कर्णाली, २५ असोज ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन चार सय ७४ पृष्ठको छ । बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आयोगका सुर्खेत कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ बमोजिम प्रदेश प्रमुख परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

सो अवसरमा प्रदेश प्रमुख परियारले मुलुकको सुशासन र विकासका विरुद्ध हुने भ्रष्टाचारजन्य कार्य निवारण तथा न्यूनीकरण आयोगको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । “अख्तियारले सञ्चालन हुने गतिविधिसहित कार्यसम्पादनले प्रभावकारिता कायम गरोस्”, उहाँले भन्नुभयो, “गलत नियत राख्ने निरुत्साहित बनुन् जसबाट नागरिकलाई सुशासनको प्रत्याभूति दिलाओस् ।” उक्त कार्यक्रममा आयोगका सुर्खेत कार्यालय प्रमुख पोखरेलले आयोग सुर्खेत कार्यालयले आव २०७९÷८० मा गरेका कार्यसम्पादनबारे प्रदेश प्रमुखलाई प्रस्तुतिमार्फत अवगत गराउनुभयो ।

उहाँका अनुसार गत आवमा चिठीपत्र, इमेल, पत्रपत्रिका, टेलिफोन, फ्याक्सलगायत माध्यमबाट दुई हजार ९६ उजुरी परेकामा एक हजार एकसय ५२ फछ्र्योट भएको र बाँकी नौ सय ४४ बाँकी रहेका छन् । तीमध्ये पाँचसय ३५ उजुरी चालु आव २०८०÷८० मा सरिआएका सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् । सार्वजनिक खरिद प्रणालीमा सुधार आउनुपर्ने, प्रतिवेदनमार्फत उच्च पदस्थ कर्मचारीले सदाचारिता अपनाउनुपर्ने, उपभोक्ताबाट निर्माण हुने कार्यलाई व्यवस्थित गरिनुपर्ने, परामर्शदातालाई जिम्मेवार बनाउनुपर्नेसहितका सुझाव कार्यक्रमका सहभागीले राखेका थिए ।

आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै

काठमाडौँ, २५ असोज :आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । ¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज हाडजोर्नी र मांसपेशी दुख्ने समस्या हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेसनल ¥युम्याटोलोजी लिग (आइलार) को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा ¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज (हाडजोर्नी र मांसपेशी दुख्ने रोग) को समस्या हुने गरेको देखाएको छ । त्यसमध्ये १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड दुख्ने र घुँडा दुख्ने समस्या देखिएको अध्ययनले देखाएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख डा बुद्धि पौड्यालले बाथरोग विभिन्न रोगको सँगालो रहेकोले नियमित औषधि सेवन गरेर यसलाई नियन्त्रण गर्न सकिने बताउनुहुन्छ । “बाथरोग दीर्घरोग हो । यो औषधि खाएपछि निको हुँदैन । जीवनप्रयन्त रोग जान्छ तर नियमति औषधि खाएपछि नियन्त्रण गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसैले बाथरोगलाई नियन्त्रण गर्न सकिन्छ । तर सधैँ यो रोग देखिइरहन्छ ।”

उहाँले वंशाणुगत र वातावरणीय प्रवाहले बाथरोग लाग्ने बताउनुहुन्छ । धुँलो धुवाँ, चुरोट खाने, मदिरा सेवन, युरिक एसिड हुने खानेकुरा (माछा, मासु र बढी चिल्लो पदार्थ बढी खादा), पखाला लाग्दा, बढी तौल भएको, दाँतको समस्या, फोक्सोका रोगले गर्दा बाथरोग लाग्ने गर्दछ ।

बाथरोग हरेक उमेर समूहका लागि हुने गरेको उहाँ बताउनुहुन्छ । पाँचदेखि १५ बर्ष उमेरसमूहकालाई मुटुको बाथज्वरो बढी हुने गर्दछ ।

नेपालमा दुई वटा बाथरोग बढी देखिने गरेको छ । त्यसमध्ये हाडजोर्नी खिइने रोग र आम बाथरोग हुन् । तीमध्ये आमवाथ कडा खालको बाथरोग हो भने हाडजोर्नीवाला बूढेसकालमा बढी हुने गर्दछ ।

बाथरोग विशेषज्ञ डा पौड्यालले आमबाथ रोग बढी महिलालाई हुने गर्दछ । उहाँका अनुसार दुई तिहाइ महिला र एक तिहाइ पुरुषलाई आमबाथ रोग लाग्ने गरेको छ । उहाँले ४० वर्षभन्दा माथिका महिलालाई आमबाथ रोग सुरुमा हाडजोर्नी दुख्ने, सुन्निेन, बिहान उठ्दा शरीर कक्रक्क पर्ने, मुठ्ठी खोल्न र पार्न गा¥हो हुने समस्या हुने गरेको छ । त्यसपछि बाथरोग कडा हुन थालेपछि ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, तौल घट्ने गर्दछ । त्यसपछि बाथरोगले फोक्सो, आँखा, मुटुमा असर गर्दछ ।

बाथरोग विशेषज्ञ डा पौड्यालले समयमा औषधि खाएन भने कालान्तरमा हातखुट्टाका जोर्नी बाङ्गो हुने, काम गर्न नसक्नेजस्ता समस्या हुने गर्दछ । नेपालमा पनि नेसनल बाथरोग सेन्टरले सन् २०२१ मा पाँच हजार जनसङ्ख्यामा गरेको अध्ययनले २६ दशमलव ८ प्रतिशत मानिसमा वाथलगायत हाडजोर्नी तथा मांसपेशी दुख्ने समस्या देखाएको छ । सेन्टरले काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, काभ्रे, मकवानपुर, मुस्ताङमा बाथरोगसम्बन्धी अध्ययन गरेको थियो ।

सो सेन्टरले विगत १० वर्षदेखि काठमाडौँको रातोपुलगायत देशका आठ ठाउँ (ललितपुको पुल्चोक, भक्तपुरको टेखापुखु, मुस्ताङचोक पोखरा, झापाको शनिश्चरे रोड, बुटवलको सुख्खा नगर, दाङको तुलसीपुर र चितवनको भरतपुर) मा बाथरोग सेन्टर सञ्चालन गरेर बाथरोगको प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताउनुभयो ।

उहाँका अनुसार नेपालमा करिब ८० लाख बाथरोगका बिरामी रहेको अनुमान गरिएको छ । त्यसमध्ये १० प्रतिशत जनसङ्ख्या मात्र सही उपचारको पहँुचभित्र रहेका छन् ।

दिवसकै अवसरमा नेशनल बाथरोग सेन्टरले बाथरोगबारे जनतामा चेतना बढाउने, बाथरोगको समयमै पहिचान गर्ने र बाथरोगको जटिलतालाई रोकथाम गर्ने उद्देश्यले राजधानीका कोटेश्वर, मङ्गलबजार, जाउलाखेल, वसन्तपुर, स्वयम्भु, महाराजगञ्ज, बौद्ध र सिफलमा शरीरका विभिन्न भागमा लाग्ने बाथसम्बन्धी फोटो प्रदर्शनी र मोटरसाइकल ¥यालीको आयोजना गरेको छ । ती स्थानमा बिहान ९ देखि बेलुका ६ बजेसम्म फोटो प्रदर्शनी हुनेछ ।

हातका औँला दुख्ने वा सुन्निने, बिहान उठ्ने बेला हात, खुट्टा वा जिउ कक्रक्क पर्ने, खुट्टाको बुढी आँैला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने र सुन्निने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुन्निने बाथरोगका लक्षण हुन् ।

त्यसैगरी बाथरोग भएका मानिसलाई कुर्कुचा दुख्ने (प्रायः बिहान उठ्ने बेला), पाइताला पोल्ने (प्रायः रातिको समयमा) वा झम्झमाउने, पिडौँला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मासंपेशी कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने, चिसोमा काम गर्दा हात खुट्टा नीलो हुनेजस्ता लक्षण पनि देखिने गर्दछन् ।
 

ठूला अनियमितताका घटनामा समिति आँखा चिम्लिएर बस्दैन : सभापति खतिवडा

काठमाडौँ, २५ असोज -संसदीय राजनीतिक व्यवस्थामा संसदीय समितिहरुलाई ‘मिनी पार्लियामेन्ट’ अर्थात् सानो संसद् भनिन्छ । यसमध्ये पनि सबै सुरक्षा निकाय, निर्वाचन एवं अख्तियार, प्रशासनलगायतका धेरै र राज्यका संवेदनशील निकाय कार्यक्षेत्र रहेकाले राज्य व्यवस्था तथा सुशासन समितिलाई थप महत्वको समिति मानिन्छ । सो समितिका सभापति रामहरि खतिवडासँग देशको वर्तमान अवस्था र समितिले सुरु गर्न लागेका कामकारबाहीमा केन्द्रित रही राससले गरेको कुराकानीमा आधारित उहाँका विचार यहाँ प्रस्तुत गरिएको छ ः

हालैमात्र गठन भएको राज्य व्यवस्था तथा सुशासन समितिले अहिले त काम सुरु गरिहालेको भन्दा पनि बुझ्ने काम मात्र गरिरहेको छ । हामी भर्खर आएका छौँ र नियमावली बनाएर काम थाल्दैैछौँ । मुख्यगरी संसद्ले पेश गरेका केही नियम संशोधन एवं कानुन बनाउने कुरा छन् । जस्तो की भ्रष्टाचार निवारण, संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार, खाद्य व्यवस्थासम्बन्धी गरी चार विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा आएका छन् ।

यसका साथै निर्वाचन आयोगसम्बन्धी पनि छ । वर्तमान निर्वाचन प्रणाली मुलुकका लागि निकै महङ्गो भएको तथा अर्कातर्फ निर्वाचनमा प्रणालीमै पनि प्रश्न उठेको छ । समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै सरकार स्थिर बन्न नसक्ने देखिएको छ । यो प्रणालीको विकल्प खोज्ने या कसरी व्यवस्थित गर्ने भन्ने विषय पनि छलफलमा आएको छ ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कार्यक्षेत्र र विद्यमान अवस्थाको कुरा छ । कतिपय मानिस बेनामे उजुरीका कारण प्रताडित भएको देखिएको छ । अर्कातर्फ हजारौँ यस्ता बेनामे उजुरी थपिएका थपियै छन् । यस विषयमा पनि थप विचार गर्नुपर्ने महसुस हामीले गरेका छौँ । बेथिति बढेको देखिएको छ । स्थानीय तहकै कुरा गर्दा पनि अहिले भ्रष्टाचारका धेरै मुद्दा देखिएका छन् । अख्तियारको पछिल्लो रिपोर्टमा यो देखिएको छ ।

साथै लोकसेवा आयोग, मानवअधिकार आयोगका काम कारबाहीका बारेमा पनि हामीले अध्ययन गरिरहेका छौँ । नेपाल प्रहरीको नियमावली संशोधनको कुरा छ । त्यसैले सुरुमा हामीले अहिले बुझ्ने काम मात्र गरेका छौँ । त्यसैले अहिले हामीले यी सबै विषयमा बुझ्ने काम गरेका छौँ ।

अर्काे गम्भीर देखिएको नेपालको जेलको विषय पनि हो । जेलको व्यवस्थापन र अवधारणामा सोच्नुपर्ने अवस्था छ । कुनै पनि व्यक्तिलाई सुधार्नका लागि जेल पठाउने हो । तर नेपालका जेल सुधार गृहजस्ता छैनन् । जेलमा क्षमताभन्दा धेरै मानिस कोचेर राखिएको छ । अहिले नेपालमा करिब २९ हजार नौ सय बन्दी छन् तर हाम्रो देशभरका कारागारको क्षमता १४ हजारको हराहारीमा मात्र छ । कतै त २५ जनाको सिटमा ७५ जना राखिएको पनि देखिएको छ । यी विषयमा पनि हामीले आवश्यक छलफल गर्नुपर्ने छ ।

अर्कातर्फ जेलमा बसेर निस्किएका मानिसले आफूले गरेका गल्तीको महसुस गरी प्रायश्चित गर्नुपर्ने अर्थात् आचरण र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा उल्टै अर्काे अपराध गर्ने गरेको देखिएको छ । जेलमा राखिएका मानिसको व्यवहारमा परिर्वन ल्याउनै सकेनौँ भने हाम्रो जेल प्रणालीको अवधारणामा पनि नयाँ सोच राख्नुपर्ने हो कि भन्ने मलाई लागेको छ ? वर्षौँसम्म जेल राखेका मानिसका आचरणमा परिवर्तन ल्याउन र उनीहरुलाई बाँकी जीवनमा अर्काे अपराध या गल्ती नगरी अरुलाई पनि नगर्नका लागि प्रेरणा दिनेगरी व्यवहारमा परिवर्तन ल्याउन जेल प्रणालीमा सुधार ल्याउनुपर्ने मैले देखेको छु ।

वास्तवमा सुशासनको अनुभूति हुन सकेन भने जस्तोसुकै बलियो अथवा जसको नेतृत्वको सरकार भए पनि काम हुँदैन । नेता जोसुकै होस् त्यसको हिसाब जनताले राख्दैनन्, जनताले के पाए भन्ने हिसाब मात्र उनीहरुसँग हुन्छ । त्यसैले पनि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिसँग जनताको ठूलो आशा र अपेक्षा रहेको छ । देश विकासको पहिलो सर्त सुशासन हो । त्यसैले यो समितिले सरकारलाई निर्देशन दिने मात्र होइन कि सुशासनमा सघाउने र सुशासनका एजेण्डको कार्यान्वयन गराउने काम गर्दछ ।

जस्तो कि राज्यको सुरक्षा गर्ने तालिम लिएका सुरक्षाका मानिसहरु कुनै नेता या उच्च पदस्थहरुका घरमा बसेका सुनिएको छ । यो अत्यन्तै गलत प्रवृत्ति हो । सुरक्षाकर्मीलाई सही ठाउँमा प्रयोग गर्नुपर्छ, यसरी दुरुपयोग गर्नु हुँदैन । यसका लागि पनि हामीले गृह मन्त्रालयलाई पत्र लेखेका छौँ र मापदण्ड बनाएर काम गर्न भनेका छौँ । यदि सरकारले निर्माण गरेको मापदण्डभन्दा बाहिर गएर कहीँ कसैले यी सुरक्षाकर्मी खटाएको पाइएमा तुरुन्त फिर्ता गराई राज्यको उसको तोकिएको काममा लगाउन भनेका छौँ । हाम्रो प्रारम्भिक जानकारीमा दुई हजारभन्दा बढी सुरक्षार्कीलाई यसरी व्यक्तिगत काममा लगाउने गरिएको भन्ने हामीले पाएका छौँ, यस विषयमा पनि हामी छलफल गर्नेछौँ ।

देशमा सुशासन खस्किँदो छ । हरेक दिन सञ्चारमाध्यममा भ्रष्टाचार र अनियमितताका घटना मात्र आउँछन् । बेरुजुको हद त्यस्तै छ । कसका कारण बेरुजु बढिरहेको छ भन्ने स्पष्ट छ तर कारबाही हुदैन । नेताहरु सुशासनका कुरा चर्का गर्छन् तर मन्त्री भएपछि बदमास व्यक्ति खोजेर राजनीतिक नियुक्ति गर्न थाल्छन् ।

मानिसबीच आपसी सद्भावमा कमी आउँदै गएको महसुस हुन थालेको छ । हरेक जाति, धर्म र सम्प्रदाय या समूहका मानिस अहिले आफ्ना कुरामात्र माथि पार्न बडो तछाडमछाड गरिरहेको अवस्था म देख्दैछु । कहाँबाट हिंसा भड्किने हो भन्ने त्रास समाजमा देखिँदैछ । उता राजनीतिक दलहरु भने आफ्ना मात्र एजेण्डमा केन्द्रित देखिन्छन् । यस्तो अवस्थामा सबैभन्दा पहिला देश हो र त्यसपछि मात्र हामी जनता हौँ भन्ने भावना जागृत गराउनुछ । संसदीय राजनीतिक व्यवस्थामा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने भएकाले देशमा राष्ट्रियता र राष्ट्रिय एकताको भावना जगाउने कामको अगुवाइ दलहरुले नै गर्नुपर्छ ।

दसैँ आएको छ, महँगीका कारण मानिस बजार जान सकिरहेका छैनन् । दसैँमा घर जानका लागि नागरिकलाई टिकटको भरपर्दाे प्रबन्ध छैन । सरकार ‘इ गभर्नेन्स’ को कुरा गर्छ तर बसपार्कमा टिकट किन्न हजारौँ मानिसको भीड लागेको छ । यस्तो सूचना प्रविधिको जमानामा पनि जनतालाई अनलाइन टिकट बुकिङ गरेर त्यति पनि अनुभूति दिन सकिँदैन ? जमाना कहाँ पुगिसक्यो तर हामी भने अझै पनि टिकट किन्ने लाइनमा घन्टौँ बिताउन बाध्य छौँ । सुशासनको परिभाषा के हो ? जनतालाई कुनै पनि सेवा सुविधा सहज र सुलभ रुपमा दिनु सुशासन होइन ? कसले गर्ने यो काम ? कसको भर गर्ने जनता ?

समितिका नजरमा यस्ता कैयाँै काम आएका छन् । तर एकैपटक सबैतिर हात हाल्दा सबैतिर गज्याङगुजुङ होला भन्ने डरले हामीले विस्तारै काम थाल्दैछौँ र अहिले बुझ्ने र ब्रिफिङ लिने काम गरिरहेका छौँ । समितिको कार्यशैली कहिल्यै पनि कुनै पनि व्यक्तिगत लाभ या हानितिर जाँदैन । हामीले समितिमा रहेर जनताका काम गर्दा कुन पार्टी या आस्था भनेर देखाउने होइन । हो, हाम्रो पार्टी छ, आआफ्ना आस्था पनि छन् । ती हाम्रा आस्था संसद्मा देखाउँला । समितिमा सबै पार्टीका साथीहरु हुनुहुन्छ । दलको झल्को हामीले समितिमा दिँदैनौँ, दिनुहुँदैन । सरकारलाई राज्यको सुशासनको कामका लागि समितिले निर्देशन दिने हो । फेरि हाम्रो काम निर्देशन दिने या अप्ठेरो पार्ने मात्र पनि होइन, सरकारलाई सुशासनका लागि सहज वातावरण बनाउने र सघाउने पनि हो ।

विगतमा र अहिले पनि न संसद् र न समिति नै प्रभावकारी भए भन्ने आवाज मैले पनि सुन्ने गरेको हो । समितिले दिएका दिर्नेशन सरकारले यथोचितरुपमा कार्यान्वयन गरेन भन्ने पनि सुनेको हो, देखेको पनि हो । तर हामीले अब अगाडि बढाउने कामको अवस्था त्यस्तो हुँदैन । किन भने हामीले कुनै व्यक्ति, निकाय, नेता या पदाधिकारीलाई अप्ठेरो पार्ने या व्यक्तिगत लाभ र प्रतिशोध लिने गरी काम गर्ने होइन । देश र जनताका पक्षमा गर्ने हो । समितिले दिने निर्देशन पनि सुशासनकै लागि हो । फेरि हामीले कसैलाई कामका लागि कुनै आदेश या निर्देशन मात्र होइन कि त्यो कार्यसम्पादनका बाटो पनि सुझाउँछौँ । कुनै मन्त्री, सचिव या पदाधिकारीलाई के अप्ठेरो प¥यो भन्नेभन्दा पनि देश र जनतालाई कसरी सजिलो र सहज हुन्छ र त्यसलाई सरकारले कसरी सम्पादन गर्नसक्छ भन्नेमा नै बढी मात्रामा हाम्रो ध्यान जानेछ ।

अर्काे कुरा संसद् प्रभावकारी भएन भन्ने जनताको गुनासो पनि नाजायज होइन । बेला बेलामा संसद् अवरुद्ध हुने भएकाले पनि यस्तो देखिएको हो । यतिबेला पनि संसद् कहिले सुनकाण्ड, कहिले जलहरी त कहिले नक्कली भुटानी शरणार्थी मुद्दा आदिका कारण अवरुद्ध भएको छ । आयोग गठन गर्दा कतिपय व्यक्ति छनोटका कारण पनि केही ढिलाइ भयो होला । तर यी सबै विषय अब प्रक्रियमा गइसकेका छन् । आयोगले आफ्नो काम थालेको छ र यता प्रहरी पनि अनुसन्धानरत छ । त्यसैले अबका दिनमा नेपाललाई तस्करीको अखडा बनाउने काम कहीँ कतैबाट हुनेछैन र यस्ता कार्यमा पनि सुशासन समितिले निगरानी राख्नेछ । यस्ता विषयमा अनुसन्धानमा रहेका राज्यका निकायलाई समय समयमा आवश्यक नीति निर्देशन गरी समिति अघि बढ्नेछ ।

पछिल्लो समयमा अनियमितताका ठूल्ठूला घटना बाहिर आएका छन् । मैले माथि नै भनिसकेँ कि समाचार हुन् या सामाजिक सञ्जालमा पनि यस्ता घटना बाहिर आउने गरेका छन्, आइनै रहेका छन् । यस्तो अवस्थामा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको भूमिका के हुन्छ र मुलुकमा सुशासन कायम राख्नका लागि यो समितिले के गर्न सक्छ भन्ने अनगिन्ती जिज्ञासा अहिले उठेका छन् । मलाई कतिपय बैठकमा, भेटेर या फोन आदिबाट पनि यस्ता जिज्ञासा राखिएको छ । जनताको तहबाट अझ बढी चासो र चिन्ता व्यक्त भएको अवस्था मैले अनुभव गरेको छु । यी तमाम चिन्ता र चासोको म सम्मान गर्दछु । मुलुकमा बढ्दो अनियमितता र बेथितीको व्यवस्थापनमा सरकारको यथोचित ध्यान नपुग्दा जनतामा यो चासो बढ्नु स्वाभाविकै हो ।

यो अवस्थाका दोषीलाई सरकारले कारबाही गर्न नसकेको या कतिपय अवस्थामा आस्थाका आधारमा काम गरेको भन्ने पनि जनताको गुनासो छ र उनीहरुले यस्तो अवस्थामा यस समितिको भरोसा गरेका छन् । जनताका यस्ता गुनासा भोलि गएर निराशामा परिणत भएभने त्यसले देशलाई गर्ने क्षतिको अनुमान कसैले पनि गर्न सक्दैन । त्यसैले ‘मिनी संसद्’का रुपमा रहेका संसदीय समिति र त्यसमा पनि राज्य व्यवस्था समितिका तर्फबाट हामीले यी सबै काममा राज्यका तत् तत् निकाय र सरकार स्वयंलाई जिम्मेवार बनाउने काम गर्नेछौँ । म सबैलाई यो विश्वास दिलाउन चाहन्छु कि यस्ता ठूला अनियमिताका घटनामा राज्य व्यवस्था समिति आँखा चिम्लिएर बस्दैन । आवश्यक परामर्श, बहस, निर्देशन र तिनको कार्यान्वयन गराउने काममा नै लाग्छ ।

हामीले यी सबै संवेदनशील कामलाई पार्टीको आँखाबाट हेर्नेछैनौँ । अनियमितताका नाममा कुनै पनि पार्टी या नेता फस्नुपर्छ या बच्नुपर्छ भनेर पनि यो समिति कदापि लाग्नेछैन । समितिमा रहेका सबै माननीय सदस्यले पनि आफ्ना पार्टीका आँखाबाट हेर्नुहुने छैन भन्ने मेरो पूर्ण विश्वास छ । यो समिति सबैको साझा हो । समितिका काममा पार्टी, जाति, तेरो, मेरो केही हुनेछैन । मलाई विश्वास छ हामीले सबैको सल्लाह, सुझाव र समन्वयबाट राम्रो काम गरेर देखाउने अवस्था सिर्जना हुनेछ । समिति गठन भएको महिना दिनमात्र पुगेको छ । अहिल्यै, यो समितिप्रति देशका सबै पक्ष र जनताले भर गरेको देख्दा पनि हामीले सबैको सद्भावबाट धेरै काम गर्न सक्छौँ भन्ने आत्मविश्वासमा म छु ।
–––

सन् २०२३ मा जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण

फ्र्याङ्कफर्ट, जर्मनी – जर्मनी सरकारले उच्च मुद्रास्फीति, उच्च ऊर्जा मूल्य र विनिर्माण मन्दीसँग जुधिरहेका बेला यूरोपको शीर्ष अर्थतन्त्र यस वर्ष खुम्चिने अनुमान गर्दै बुधबार आफ्नो आर्थिक वृद्धिदरको पूर्वानुमानमा कटौती गरेको छ ।

अर्थतन्त्र मन्त्रालयले आफ्नो पछिल्लो प्रक्षेपणमा उत्पादन ०.४ प्रतिशतले खुम्चिने जनाएको छ । बर्लिनले अप्रिलमा सन् २०२३ मा ०.२ प्रतिशतको आर्थिक वृद्धिहुने प्रक्षेपण गरेको थियो भने यसबाट पनि थप ०.४ प्रतिशतको गिरावट आउने बताइएको छ ।

गत वर्ष रूसले युक्रेनमा गरेको आक्रमणले मुद्रास्फिति र विशेषगरी ऊर्जाको लागत बढेपछि जर्मनीको अर्थतन्त्रले गम्भीर सङ्कटको सामना गर्नुपरेको छ । ऊर्जाको अभाव झेलेको उत्पादन क्षेत्रमा आएको मन्दी, प्रमुख व्यापारिक साझेदार चीनको कमजोरी र उपभोक्ताको मूल्यमा आएको उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले युरो क्षेत्रमा आक्रामक ब्याजदर वृद्धिका कारण यो सङ्कट झनै जटिल बनेको छ ।

“कठिन भूराजनीतिक वातावरणमा हामी अपेक्षा गरेभन्दा निकै सुस्त गतिमा सङ्कटबाट बाहिर निस्किरहेका छौं,” अर्थमन्त्री रोबर्ट हेबेकले एक विज्ञप्तिमा भन्नुभएको छ । जर्मनीको अर्थतन्त्र यस वर्षको अन्त्यतिर मन्दीमा फसेको थियो र त्यसपछि दोस्रो त्रैमासिकमा शून्य वृद्धि दर हासिल गर्दै आफ्नो खुट्टामा फर्कन संघर्ष गरिरहेको छ ।

सरकारको यो भविष्यवाणी हालैका अन्य निराशाजनक अनुमानसँग मिल्दोजुल्दो छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने प्रमुख अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ ।

सरकारले सन् २०२५ मा १.५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ भने अर्को वर्ष १.३ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । मुद्रास्फीति यस वर्ष ६.१ प्रतिशत रहने अनुमान गरिएको छ भने अर्को वर्ष २.६ प्रतिशत र सन् २०२५ मा दुई प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

हेबेकले ‘आगामी वर्षका लागि, हामी फेरि वृद्धिको आशा गर्दछौं’ भन्दै यस बर्षको आर्थिक वृद्धिको परिणामप्रति निराशा व्यक्त गर्नुभयो । “दिगो आर्थिक पुनःउत्थानको लागि कार्यक्रम तयार गरिएको छ ः मुद्रास्फीतिमा गिरावट उच्च छ र यसको साथमा वास्तविक आय फेरि बढिरहेको छ ।

अप्रिलमा अन्तिम आधिकारिक पूर्वानुमान जर्मनीले अपेक्षा गरेभन्दा न्यून ऊर्जा सङ्कटको सामना गरेको र आर्थिक वृद्धिका लागि आशा बढ्दै गएको बेला आएको थियो, केही सूचकहरूले औद्योगिक पुन ःउत्थानलाई इङ्गित गरेका थिए ।

तर हालैका महिनाहरूमा बढ्दो अर्थव्यवस्थाले मन्दीमा फर्कन सक्ने अपेक्षाका साथ यो तस्वीर फेरि बिग्रिएको छ ।उर्जा सङ्कट अपेक्षा गरिएभन्दा कम देखिएको छ यद्यपि ऊर्जा मूल्यहरू अझै पनि युक्रेन युद्ध अघिको तुलनामा धेरै उच्च छन् । सेप्टेम्बरमा मुद्रास्फीति ४.५ प्रतिशतमा खुम्चिएको भए तापनि यो उच्च रहेको छ ।

बिग्रँदो आर्थिक अवस्थाले जर्मनी फेरि एकपटक ‘युरोपको बिरामी’ हो कि होइन भन्ने बारेमा बहसको नेतृत्व गरेको छ । सन् १९९० को दशकको उत्तरार्धमा जर्मनीले पुनःमिलनको महङ्गो परिणामसँग जुधिरहेको अवस्थासँग अहिलेको आर्थिक अवस्थालाई तुलना गरिएको छ । तर केही विश्लेषकहरूले भने चुनौतीका बावजुद श्रम बजार अझै मजबुत रहेको बताएका छन् ।

हमासका बन्धकलाई मुक्त गर्न मध्यस्थता गर्न कतारसँग जर्मनीको आग्रह

बर्लिन – प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको अकस्मात आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्तिहरूको रिहाईका लागि मध्यस्थता गर्न जर्मनीले कतारलाई आग्रह गरेको छ ।विदेशमन्त्री एनालेना बेयरबोकले सांसदहरूसँगको बैठकमा भन्नुभयो, “कतारलगायत यस क्षेत्रका विभिन्न देशहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्छ, किनकि उनीहरूसँग हामीसँग नभएका सम्पर्क उपायहरू छन् ।

कतारका अमीर शेख तमिम बिन हमाद अल थानी बिहीबार बर्लिनको चान्सलर ओलाफ स्कोल्जसँग वार्ताका लागि बर्लिन जानुभन्दा एक दिनअघि बेयरबोकको यो टिप्पणी आएको हो ।एक दशकभन्दा बढी समयदेखि हमासको राजनीतिक कार्यालय राख्न दिँदै आएको कतारले गाजालाई करोडौं डलरको आर्थिक सहायता उपलब्ध गराएको छ । यसअघि पनि कतारले इजरायल र लडाकू समूहबीच सम्झौता गर्न मध्यस्थता गरेको थियो ।

मङ्गलबार कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद बिन मोहम्मद अल अन्सारीले इजरायल र हमासबीच सम्भावित वन्दी आदानप्रदानका लागि वार्ता थाल्न हतार हुने बताउनुभएको थियो । जर्मनीका अर्थमन्त्री तथा उपकुलपति रोबर्ट हेबेकले बुधबार पत्रकारहरुसँग कुरा गर्दै खाडी मुलुक कतार हमास ‘हमासको वित्तपोषणकर्ता’ पनि भएको बताउनुभएको छ ।

“त्यसैले कतारसँग ‘जर्मनी र इजरायलसँग नभएको’ सम्पर्क सुत्र पनि हुनसक्छ,” हेबेकले भन्नुभयो ।उहाँले भन्नुभयो, “कतारले हमासमाथि आफ्नो प्रभाव जमाउनु महत्वपूर्ण हुनेछ ताकि यो फेरि नदोहोरियोस् वा यसको प्रायश्चित गर्न सकियोस् ।”

हेबेकले आफ्नो ग्यास आपूर्तिका लागि कतारमाथिको निर्भरताका कारण जर्मनीले सम्झौता गरेको भन्ने आरोपलाई अस्वीकार गर्नुभयो ।मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि रोकिएको रूसी ग्यास आपूर्ति प्रतिस्थापनका लागि जर्मनीले इमिरेट्सलाई प्रयोग गरेको छ ।

“कतार अहिले जर्मनीको सबैभन्दा ठूलो ऊर्जा आपूर्तिकर्ता होइन,” हेबेकले भन्नुभयो, “कतारसँग आपूर्ति सम्झौता छ तर यसलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हामीले गरेको सम्झौतासँग तुलना गर्न सकिँदैन ।”

वन्यजन्तुबाट अन्नबालीमा क्षति : किसानलाई राहत प्रदान गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज

रसुवा, २५ असोज- वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ । यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भू–भागमा गत महिना जङ्गली बँदेलले मकैबालीलाई नोक्सानी पु¥याएको थियो । स्थलगतरूपमा क्षतिको मूल्याङ्कन गराइ रातह प्रदान गरिने निकुञ्जले जनाएको छ ।

राहतको लागि रसुवाबाट ७०, नुवाकोटबाट ४० र सिन्धुपाल्चोकबाट २० आवेदन परेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।बँदेल, भालु, बाँदरजस्ता जनावरले मकै, कोदो, आलुलगायतका अन्नबाली नोक्सान पु¥याउने गरेको छ । राहत वितरणको लागि सरकारले तोकिदिएको मापदण्ड तथा क्षतिको प्रमाणका आधारमा मूल्य निर्धारण गर्दै किसानलाई बैंक खातामार्फत राहत प्रदान गरिने उहाँले बताउनु भयो । गत वर्ष अन्नबाली तथा चौपाय क्षतिको राहतस्वरूप रु १९ लाख ३४ हजार एक सय १७ भुक्तानी भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

पोखराको प्याराग्लाइडिङ पुन : पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी

कास्की, २५ असोज- पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावपानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ ।

अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ । सुरुआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो ।मान्द्रेढुङ्गाबाट उडान सञ्चालन गर्दा पर्यटक आकर्षित हुन सकेका थिएनन् भने प्याराग्लाइडिङ गर्नेको सङ्ख्यासमेत घटेको छ । नेपाल हवाई खेलकुद संस्था(ना)ले मान्द्रेढुङ्गाबाट हुँदै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको जनाएको छ ।नाको बुधबार पोखरामा आयोजना गरिएको २० औँ वार्षिक साधारणसभामा नागरिक उड्डयन प्राधिकरण(क्यान)का विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको नाका अध्यक्ष सुनिल भट्टराईले बताउनुभयो ।क्यानले लामो प्राविधक अध्ययनपछि तोरीपानीसम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको उहाँले बताउनुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो, “मान्द्रेढुङ्गा क्षेत्र विस्तार गरी बाहाकोटबाट उडानको निर्णय भइसकेको छ । उक्त क्षेत्रको एआइपी प्रकाशित भएसँगै पूर्ववत् स्थानबाट प्याराग्लाइडिङ सञ्चालन गर्छौं ।”पोखरामा दुई दशकअघिदेिख प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन् ।नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङमा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । पोखराको पहिचानलाई देश विदेशमा स्थापित गर्न प्याराग्लाइडिङले ठूलो योगदान गरेको उहाँको भनाइ छ ।“आगामी दिनमा यहाँ प्याराग्लाइडिङका गतिविधि अझ वृद्धि हुँदै जाहोस् । यसलाई सुरक्षित बनाउनेतर्फ ध्यान पुग्नुपर्दछ, विकासका लागि क्यानको तर्फबाट सहयोग गर्नेछौँ”, प्रमुख श्रेष्ठले भन्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङले पोखराको समृद्धिमा योगदान गरेकाले यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताउनुभयो । “प्याराग्लाइडिङको राम्रोसँग नियमन, अनुगमन र व्यवस्थापन गरी पोखराको ब्राण्डका रुपमा सधँै स्थापित गर्नु आवश्यक छ ।” उहाँले भन्नुभयो ।हवाई खेलकुदको माध्यउमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने गरी विसं २०५९ मा नेपाल हवाई खेलकुद संस्थाको स्थापना गरिएको थियो । सुरुआतमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ व्यावसायिक कम्पनी रहेका छन् ।त्यसैगरी कम्पनीअन्तर्गत तीन सय ९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील रहेको नाका निर्वतमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

बझाङमा मध्यरातमा पुन: भूकम्पको धक्का

मष्टा (बझाङ), २५ असोज ः बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो । उहाँका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको परकम्प गएका छन् ।

गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो । अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन् । सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको खप्तडछान्ना गाउँपालिका–५ का राजेश कार्कीले बताउनुभयो ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त,पटक पटक म्याद थप्दा पनि गति लिनसकेन

मध्यविन्दु (नवलपरासी), २५ असोज ः नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगतिले अपेक्षित गति लिन नसकेको हो ।गत २०७९ साउन मा आयोजनाको म्याद सकिएपछि एक वर्षको समय पाएको निर्माण कम्पनीले थपिएको म्याद सकिँदा आयोजनाको भौतिक प्रगति मात्रै १८ प्रतिशत थियो । थपिएको एक वर्षमा पनि आयोजनाले अपेक्षित गति लिन नसकेको टिप्पणी भइरहेको छ । म्याद थपिएको एक वर्ष समय सकिँदासम्म आयोजनाको प्रगति मात्रै ३८ प्रतिशत पुगेको थियो । थपिएको समयमा पनि काम नसकिएपछि २०८० भदौ ११ गतेबाट लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ ।गत भदौ ११ गते तेस्रो पटक म्याद थपिएको एक महिनाको समयमा तीन प्रतिशत काम सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताउनुभयो ।“पूर्वी खण्डमा कामदार प्राविधिक गरेर दैनिक पाँच सय ९५ जना ले अहिले काम गरिरहेका छन् भने १३ वटा स्काभेटर, सात ग्रेडर, ११ वटा लोडर, चार वटा क्रेन २८ टिपर, १० पानी बोक्ने ट्याङ्की तथा पाँच कङ्क्रिट बोक्ने गाडीले नियमित काम गरिरहेका छन”, उहाँले भन्नुभयो, “थप गरिएको समयमा काम सम्पन्न गर्ने गरी निर्माणलाई अगाडि बढाइएको छ ।”आयोजनाले सडक कालोपत्रे गर्नेकामलाई समेत निरन्तरता दिएको आयोजना व्यवस्थापक झाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म पूर्वी खण्डमा १६ किमी बाटो कालोपत्रे गरिएको छ । “नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखी भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो, “गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता दिइएको छ ।”पूर्वी खण्डमा भएका साना पुलको काम सकिनुका साथै १२ ठूला पुलमध्ये ११ को सब स्ट्रक्चरको काम सकिएको सडक आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर धीरज ढकाले बताउनुभयो । “पूर्वी खण्डमा ५० प्रतिशतको हाराहारीमा बिजुलीको पोल सार्ने काम सकिएको छ”, उहाँले भन्नुभयो, “बजार क्षेत्र तथा कार्यालय भएका क्षेत्रमा बिजुली सट डाउन गर्न समस्या हुने गरेकाले बिदाको दिन मात्रै बिजुलीको पोल सार्ने गर्नुपरेकाले काममा ढिलाइ भएको छ ।”चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किमी सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ ।सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार सुरु गरिएको हो । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते बुटवल नारायणगढ सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हेर्नुहोस् असोज २५ गते बिहिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

बृष राशि – पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ ।

मिथुन राशि – एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । मानसम्मानमा आचँ आउन सक्नेछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि – बोलिको प्रभाबको कारण मान्यजनको साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्नेछ ।

सिंह राशि – हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा भने समय उत्तम रहनेछ ।

कन्या राशि – साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

तुला राशि – धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ ।

बृश्चिक राशि – नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ ।

धनु राशि – कार्य क्षेत्रमा यत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

मकर राशि – कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन ।

कुम्भ राशि – अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । खानपानमा बिशेष ध्यान दिनु होला । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ । मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ ।

मीन राशि – सामान्य खर्च हुने योग रहेको छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन । मान्यजनहरुको साथसहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको सहयोग उत्तम रहनेछ ।

थारु क्लस्टरलाई सम्बोधन गर्ने कानुन नबन्दा रोकियो लोक सेवाका विज्ञापन

काठमाडौं । सहसचिव र उपसचिवको विज्ञापन वार्षिक कार्यतालिका अनुसार बुधबार प्रकाशन गर्नुपर्ने थियो। तर, लोक सेवा आयोगले सूचना निकालेर नै ‘विशेष कारण’ भन्दै प्रकाशन नगरेको जानकारी गरायो। आयोगले कारण नखुलाए पनि थारु क्लस्टरलाई सम्बोधन गर्ने कानुन नबन्दा लोक सेवा आयोगले विज्ञापन प्रकाशन रोकेको हो।

सर्वोच्च अदालतले थारुलाई छुट्टै क्लस्टर बनाउनुपर्ने आदेश दिएपछि यस्तो समस्या आएको छ। सो विषयलाई सम्बोधन गर्ने कानुन नबनेको कारण सहसचिव र उपसचिवको विज्ञापन वार्षिक कार्यतालिका अनुसार प्रकाशन भएन। कहिले हुन्छ अब टुंगो पनि छैन। पछिल्लो समय राजपत्रांकित प्रथम श्रेणी ९प्राविधिक र अप्राविधिक० तथा अधिकृत प्रथम, राजपत्रांकित द्वितीय श्रेणी ९प्राविधिक र अप्राविधिक० तथा अधिकृत द्वितीयका सबै विज्ञापन रोकिएका छन्।वार्षिक कार्यतालिका अनुसार खुला, बढुवा, आन्तरिक प्रतिस्पर्धा सबै किसिमका विज्ञापन भएनन्। २०८० असोज २३ को आयोगका निर्णयअनुसार २०८० असोज २४ मा प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणले प्रकाशन नभएको भन्दै सूचना नै जारी गरेको छ।‘आयोगको वार्षिक कार्यतालिका २०८०/८१ अनुसार मिति २०८० असोज २४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको व्यहोरा आयोगको मिति २०८० असोज २३ को निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ बुधबार जारी सूचनामा उल्लेख गरिएको छ।आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईंले विशेष कारणवस विज्ञापन प्रकाशन नभएको भन्दै आफूलाई विस्तृत जानकारी नदिएको बताइन्। उनले आयोगको इतिहासमा यसरी कार्यतालिका प्रकाशन नरोकिएको बताएकी छन्। ‘योभन्दा अगाडि यसरी वार्षिक कार्यतालिका रोकिएको थिएन। यो नै पहिलोपटक हो,’ उनले भनिन्।सर्वोच्च अदालतले थारुलाई छुट्टै क्लस्टर बनाउनुपर्ने आदेश र त्यो आदेशअनुसार संघीय निजामती सेवा ऐनका नआउनु लगायतका कारणले यो रोकिएको आयोग स्रोतले बताएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

निजी जग्गासँग संरक्षित क्षेत्र साट्न कार्यविधि

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले देशभर संरक्षित क्षेत्रभित्र जलविद्युत् गृह, होटेल, केबुलकार, रिसोर्टजस्ता भौतिक संरचना निर्माण गर्न सहज हुनेगरी कार्यविधि तयार पारेको छ । ‘संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८०’ मस्यौदामा आयोजना सञ्चालनका लागि संरक्षित क्षेत्र प्रयोग गरेबापत समान भौगोलिक अवस्था भएको ठाउँको जग्गा सट्टाभर्ना गर्न सक्ने प्रावधान राखिएको छ ।

निजी कम्पनीहरूले आयोजना सञ्चालनका लागि संरक्षित क्षेत्रको जग्गा चलाउन पाउने र त्यसबापत समान भौगोलिक क्षेत्रमा रहेको जग्गा सट्टाभर्ना गर्न सक्ने मस्यौदामा उल्लेख छ । विज्ञहरूले प्रस्तावित मस्यौदा पारित भए संरक्षित क्षेत्र निजी कम्पनीले हात पार्ने, सट्टाभर्नाका नाममा अनुत्पादक जग्गाको दायित्व सरकारमा आउन सक्ने र संरक्षित क्षेत्र जोखिममा पर्ने भन्दै चिन्ता प्रकट गरेका छन् । हाल देशभरि २० वटा संरक्षित क्षेत्र छन् । जसमध्ये १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा सिकार आरक्षण र ६ वटा संरक्षण क्षेत्र छन् ।मन्त्रालयले उक्त मस्यौदा वेबसाइटमा राखेको छ । मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले सबै पक्षबाट सुझाव माग्न मस्यौदा वेबसाइटमा राखिएको बताए । ‘मस्यौदा पढेर थुप्रै सुझाव आएका छन् । सुझाव निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा गठित कार्यदलसमक्ष पेस गर्नेछौं,’ उनले भने, ‘त्यसपछि कार्यदलले अन्तिम मस्यौदा तयार गर्नेछ ।’ अन्तिम मस्यौदा तयार भएपछि सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाइनेछ । सहमति प्राप्त भए मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि पास गरी कार्यान्वयनमा लगिने ढुंगानाले बताए ।यसअघि सरकारले २०६५ सालमा संरक्षण क्षेत्रभित्र भौतिक संरचना निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि बनाउको थियो । विद्यमान कार्यविधिमा संरक्षित क्षेत्रभित्र भौतिक संरचना बनाउन पूरा गर्नुपर्ने कानुनी प्रक्रिया कठिन र लामो छ । वनमन्त्री वीरेन्द्र महतोको चाहनामा नयाँ कार्यविधि बनाएर संरक्षित क्षेत्रभित्र भौतिक संरचना निर्माण प्रक्रिया खुकुलो पार्न लागिएको हो । मन्त्रालय स्रोतले भन्यो, ‘कार्यविधि पास भयो भने संरक्षित क्षेत्रभित्र निजी क्षेत्रलाई प्रवेश गर्न निकै सजिलो हुनेछ ।’नयाँ कार्यविधिमा प्रस्तावित प्रावधानले संरक्षित क्षेत्रभित्रको जैविक विविधतामा समेत असर पार्न सक्ने छ । कार्यविधिमा संरक्षित क्षेत्रभित्र भौतिक संरचना निर्माणका लागि त्यहाँका रुखबिरुवा हटाउने प्रक्रिया पनि सजिलो बनाइएको छ । यसबाट जैविक विविधतामाथि थप जोखिम निम्तिन सक्छ । यो समाचार नागरिक दैनिकमा छ ।

काठमाडौँ महानगरपालिका एक अर्ब १७ करोड राजस्व असुल गर्यो

काठमाडौँ, २४ असोज : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।

चालु आवका लागि कामपाले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा रु २४ करोड बढी राजस्व असुल भएको छ ।चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताउनुभयो । त्यसैगरी सम्पत्ति करबाट रु २५ करोड असुल भएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेको भनाइ छ ।गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करतादा बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्यरुपमा बढेका छन् । पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् ।

दुई महिनामा उनन्चालिस अर्बको चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात

काठमाडौं । दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास) को आयात १९ प्रतिशतले बढेर ३९ अर्ब १२ करोड रुपियाँ बराबरको चार लाख १९० किलोलिटर इन्धन आयात भएको हो ।

अघिल्लो वर्ष सो अवधिमा तीन लाख ८९ हजार ८२० किलोलिटर इन्धन आयात भएको थियो । बजारमा इन्धनको खपत बढेसँगै आयातमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा सबैभन्दा धेरै डिजेल एक लाख ७० हजार १११ किलोलिटर आयात भएको छ ।

यस्तै पेट्रोल एक लाख १३ हजार ३०४, हवाई इन्धन २६ हजार ८८४ किलोलिटर आयात भएको छ । यस्तै मटितेल एक हजार ६२० किलोलिटर र खाना पकाउने एलपी ग्यास ८८ हजार २७१ मेट्रिक टन आयात भएको छ । गत वर्षको तुलनामा डिजेल, पेट्रोलको आयात सामान्य बढे पनि हवाई इन्धन र ग्यासको आयात उच्च छ ।

गत वर्षको तुुलनामा हवाई इन्धन चार हजार किलोलिटर र ग्यास पाँच हजार मेट्रिक टन बढी आयात भएको छ । गत वर्षको तुलनामा आयात बढेसँगै इन्धनको खपतसमेत वृद्धि भएको छ ।

हाल मासिक बजारमा ५१ हजार १४६ किलोलिटर पेट्रोल, एक लाख दुई हजार २०७ किलोलिटर डिजेल, हवाई इन्धन १५ हजार ६४ किलोलिटर, मटितेल ८९९ किलोलिटर र ग्यास ४२ हजार १०५ मेट्रिक टन खपत हुने गरेको छ । दसैँमा बजारमा डिजेल खपत बढ्ने गरेको छ ।

उपत्यकाबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिर जाने भएकाले पनि डिजेलको खपत अन्य समयको तुलनामा बढी हुने गर्छ । दसैँ मान्न यात्रु उपत्यकाबाहिर जाने हुँदा सवारीसाधन धेरै सङ्ख्यामा चल्ने गर्छन् । जसको कारणले गर्दा पनि डिजेल खपत बढी हुने गर्छ ।

घटस्थापनाको दिनदेखि स्कुल, कलेज बिदा हुने हुँदा यात्रुहरू बाहिरिन सुरु हुन्छ । सप्तमीको दिनदेखि दसैँ बिदा हुँदा उपत्यकाबाट बाहिर जाने सार्वजनिक यातायातको चहलपहल बढी हुने गर्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरलाई विश्व सम्पदास्थल बनाउन आग्रह

गोरखा- प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिएको गोरखाको मनकामना मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा विकास गर्न स्थानीयवासीले आग्रह गरेका छन् । मनकामना मन्दिरको सरसफाइ कार्यक्रममा सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग स्थानीयवासीले मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्न माग गरेका हुन् । मनकामना मन्दिरको समग्र विकास, व्यवस्थापन र संरक्षणलगायतका विषयमा मन्त्री किरातीसँग स्थानीयवासीले चासो व्यक्त गरेका थिए ।

सो अवसरमा मन्त्री किरातीले मन्दिरको संरक्षण, रेखदेख र व्यवस्थापन स्थानीय सरकारले नै गर्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले मन्दिरसँगै यस क्षेत्रको विकासका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा -उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा नरोकिने बताउनुभएको छ । नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रस्तिष्ठान गोरखाको आयोजनामा सदरमुकाममा सुरु भएको बृहत् लोकदोहोरी महोत्सव ‘२०८०’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य नगरेसम्म समृद्ध नेपाल निर्माण गर्न सम्भव नहुने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा समृद्धिको प्रक्रिया अगाडि बढाउनका लागि सुशासन अनिवार्य सर्त रहेको उल्लेख गर्दै सुशासन कायम नभएसम्म देशले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । “देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अगाडि बढाउने अठोटका साथ हामीले काम गरिरहेका छाँै”, उहाँले भन्नुभयो, “तर जनताले जीवनमा परिवर्तन महसुस हुने गरी काम हुन सकेको छैन, त्यसका लागि सुशासन अनिवार्य सर्त हो ।”

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गरेर मात्र जनतालाई सहज ढङ्गले सेवाप्रवाह गर्नसक्ने गरी देशको सुशासन र समृद्धिको प्रक्रियालाई अगाडि बढाउन सकिने उल्लेख गर्नुभयो । उहाँले जनताले आफ्नो दैनिक जीवन नै फेरिएको अनुभूति गर्ने गरी काम गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

खेलकुदको विकासका लागि सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २४ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

हालै चीनको हाङझाउमा आयोजित १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ आयोजित कार्यक्रममा बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले आगामी दिनमा अझ धेरै पदक र उत्कृष्ट खेल प्रदर्शन गर्नेगरी परिश्रम गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले १९औँ एशियाली खेलकुदमा महिलाको प्रस्तुति रोचक भएको उल्लेख गर्दै आगामी दिनमा अझै ठूलो सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रतियोगिताअन्तर्गत महिला कराँतेमा नेपालले रजतपदक जितेको थियो । उहाँले आफू खेलाडीलाई हौसला दिन प्रतियोगितास्थलमा पुगेको स्मरण गर्दै पदक जितेका खेलाडीलाई उचित पुरस्कारको व्यवस्था गर्ने बताउनुभयो । क्रिकेटमा कीर्तिमान कायम गरेका खेलाडीहरुको सराहना गर्दै प्रधानमन्त्रीले पुरस्कारको व्यवस्था हुने बताउनुभयो ।

खेलाडीलाई प्रोत्साहन गर्नेसम्बन्धी नियमावली यसअघिको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको उल्लेख गर्दै आजको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई पुरस्कृत गर्नका लागि अर्थमन्त्रालयले निकासा दिने निर्णय भएको जानकारी दिनुभयो ।

“खेलाडीको प्रोत्साहनका लागि मैले पुरस्कार दिने घोषणा गरेको थिएँ, सरकारले नियमावली स्वीकृत गरिसकेको छ, आजको मन्त्रिपरिषद् बैठकमा खेलाडीलाई पुरस्कार दिनका लागि निकासाको निर्णय भयो र एक साताभित्र अर्थमन्त्रालयबाट रकम आउनेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्षलगायतको उपस्थिति थियो । नेपाली खेलाडीले महिला करातेमा रजत र महिला कबड्डीमा कास्यपदक जितेका थिए ।

इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने

काठमाडौँ, २४ असोज : सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ ।

बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार नेपाल वायुसेवा निगमको विमान आज राति इजरायलतर्फ प्रस्थान गर्नेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई उद्धार उडान इजरायलतर्फ पठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।

कैद माफी पाएका रिगललाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै महिलाहरूको प्रदर्शन

काठमाडौँ, २४ असोज : संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै महिलाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

महिला अधिकारकर्मीहरूले रिगललाई पुनः कारगार पठाउनुपर्ने माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । उनलाई कैद मिनाह दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत हुनुहुन्छ ।

महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको मर्म विपरित निर्णय गरेको भन्दै प्रदर्शनमा उत्रिन बाध्य भएको बताउनुभयो । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा अदालतबाट दोषी ठहर भइ जेल परेका थिए । रिगललाई सरकारले संविधान दिवसको अवसरमा यसै महिना कारागारबाट मुक्त गरेको थियो ।

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै

इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ ।नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानुहुने उहाँका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए ।

यसैगरी परराष्ट्र मन्त्रालयले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको उद्धार र स्वदेश फिर्ताका सम्बन्धमा हालसम्म भएका पहलकदमी तथा प्रगतिबारे जानकारी गराएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहने नेपालीका लागि नेपाल एयरलाइन्सको दुई सय ५० सिट क्षमताको वाइडबडी विमान आज राति इजरायलको तेल अविवतर्फ प्रस्थान गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इजरायलबाट नियमित व्यावसायिक उडान सञ्चालन भइरहेकाले नेपाल फर्कन इच्छुकलाई इजरायलस्थित नेपाली राजदूतावासले सहजीकरण गर्नेछ ।”

नेपाली राजदूतावासले सुरक्षित स्थानमा सर्न तथा नेपाल फर्कन चाहनेको विवरण अनलाइन रजिष्ट्रेसन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ । हालसम्म तीन सय ५० भन्दा बढी नेपालीले विवरण उपलब्ध गराएका छन् । विवरण दिएकामध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएका प्रवक्ता लम्सालले जानकारी दिनुभयो ।

इजरायलमा हाल दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । उनीहरु इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन । यसमध्ये कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी त्यहाँ गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए ।

हमासको आक्रमणबाट १० विद्यार्थीले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन् । उनीहरुको हाल उपचार भइरहेको छ । घाइतेको उपचारको प्रबन्ध गर्न इजरायल सरकारसँग अनुरोध भएबमोजिम उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

“अज्ञात अवस्थामा रहेका विपिन जोशीको इजरायल सरकारसँगको समन्वयमा उच्च प्राथमिकताका साथ खोजी भइरहेको छ”, प्रवक्ता लम्सालले भन्नुभयो । इजरायलमा करिब चार हजार पाँच सय नेपाली विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको तथ्याङ्क छ ।

शव ल्याउन केही ढिलाइ हुने

इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाको शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले नेपाली नागरिकको शव तत्काल ल्याउन ढिलाइ हुने भएको छ । शव परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले आज राति इजरायलतर्फ जाने विमानमा शव ल्याउने सम्भावना छैन ।

प्रवक्ता लम्सालले भन्नुभयो, “सबै शव इजरायली सरकारको संरक्षणमा सुरक्षितरुपमा राखिएका छन् । शव यथासक्य छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका छौँ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने तयारी छ ।”

इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षाको सम्बन्धमा परराष्ट्रमन्त्री साउदले मङ्गलबार इजरायलका समकक्षी एली कोहेनसँग सम्पर्क गरी घटनाका सम्बन्धमा दुःख प्रकट गर्नु भएको थियो । साथै उहाँले यस कठिन घडीमा इजरायल सरकार र इजरायली नागरिकप्रति नेपाल सरकार र नेपालीको साथ रहेको जानकारी गराउनुभएको थियो ।

मन्त्री साउदले राख्नुभएको नेपाली नागरिकको सुरक्षा, शव फिर्ता ल्याउने र घाइतेको उचित उपचारको सम्बन्धमा राख्नुभएको चासोका विषयमा इजरायली विदेशमन्त्रीले आफ्नो सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । घटना भएको दिनदेखि नै काठमाडौँस्थित इजरायली राजदूत र इजरायलस्थित नेपाली राजदूतसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालय र तेल अविवस्थित नेपाली राजदूतावासबाट इजरायल घटनाको पछिल्लो वस्तुस्थिति तथा नेपाली नागरिकको अवस्थाका सम्बन्धमा नियमितरूपमा प्रेस विज्ञप्ति मार्फत जानकारी दिने काम भइरहेको छ ।

“हामी निरन्तररुपमा विद्यार्थी र उनीहरुका परिवारजनसँग सम्पर्क तथा संवादमा छौँ”, प्रवक्ता लम्सालले भन्नुभयो ।

घटनापश्चात् प्राथमिकताका साथ इजरायल–गाजाको सीमावर्ती क्षेत्रको कृषि फार्ममा रहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ गरी ५५ विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ । यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ विद्यार्थीलाई पनि सुरक्षित स्थानमा सारिसकिएको मन्त्रालयले जनाएको छ ।

कर्मचारीलाई कार्यशैली सुधार गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, २४ असोज : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारीरुपमा काम गर्न निर्देशन दिनुभएको छ । साथै उहाँले सबै तहका कर्मचारीलाई आफ्नो कार्यशैली सुधार गर्न निर्देशन पनि दिनुभएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री बस्नेतले कुनै पनि निकायमा काम रोकिएको वा आमनागरिकले दुःख पाएको भन्ने गुनासो नआउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्ला दिनमा ऊर्जा उद्यमी तथा सरोकारवालाले विद्युत् विकास विभागको काम प्रभावकारी नभएको गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न, कमजोरी सुधार गर्न, संरचनागत वा कानुनी समस्या भए समाधानका निम्ति आफूसँग परामर्श गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

ऊर्जा मन्त्रीले प्रसारण लाइन निर्माणमा देखिएको बेथिती सुधार गर्ने स्पष्ट कार्ययोजना पेस गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । उहाँले पथलैया–वीरगञ्ज र ढल्केबर–इनरुवा खण्डको प्रसारण लाइन निर्माणका समस्या हिउँदअगावै समाधान गर्नुपर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले देशका अन्य स्थानमा पनि प्रसारण लाइनको क्षमता वृद्धि गर्न, सवस्टेशनको नियमित मर्मतसम्भार गर्न निर्देशन दिनुभयो । सिँचाइसँग सम्बन्धित समस्या समाधानका लागि सार्थक प्रयास तत्काल थाल्न निर्देशन दिँदै उहाँले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने गुरुत्तर दायित्वबाट विमुख नहुन सबैलाई आग्रह गर्नुभयो ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल, सहसचिवद्वय नवीनराज सिंह, सन्दीपकुमार देव, सिँचाइ विभागका महानिर्देशक, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीको सहभागिता थियो ।

गाजाको एक मात्र विद्युत गृह बन्द

गाजा सिटी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र – इजरायली बमबारी र घेराबन्दीमा रहेको गाजा पट्टीको एक मात्र विद्युत् गृहमा इन्धन सकिएपछि बुधबार सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणले जनाएको छ ।

“गाजा पट्टीको एक मात्र पावर प्लान्टले स्थानीय समयअनुसार दिउँसो २ बजेबाट सेवा दिन सकेको छैन,” प्राधिकरणका प्रमुख जलाल इस्माइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने हमासले शनिबार द्वन्द्व सुरु भएयता एक हजार २०० भन्दा बढी इजरायलीको हत्या गरिसकेको छ ।

स्थानीय समय अनुसार शनिबार बिहानै प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी समूह (हमास) ले एक्कासी इजरायली नियन्त्रणमा रहेको क्षेत्रमा जल, स्थल र आकाश तीन मार्गबाट प्रवेश गरी आक्रमण गरी निहत्था सयौँ व्यक्तिको हत्या गरेपछि इजरायलले पनि बदलामा हवाई आक्रमण गरेको हो ।

सुन तस्करी प्रकरण : महराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ २४ असोज : विद्युतीय चुरोट (भेप) मा हालेर सुन तस्करी गरेको आरोपमा चार जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताउनुभयो ।

उक्त कसुर गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता नेउपानेले बताउनुभयो । गुरुङ हाल फरार छन् । छिरिङ ६१ किलो सुन तस्करीकासमेत आरोपी हुन् । विसं २०७९ पुस १० गते युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाइ ल्याएको करिब नौ किलो सुन (रु आठ करोड ५५ लाख) तस्करी भएको थियो । गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उक्त प्रकरणमा सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।

नेकपा एमालेमा एक लाख ६१ हजार नयाँ सदस्य

काठमाडौँ, २४ असोज : नेकपा (एमाले) मा दशौँ राष्ट्रिय महाविधेशनयता एक लाख ६१ हजार नयाँ सङ्गठित सदस्य थपिएका छन् । नयाँ र नवीकरणसहित हाल एमालेमा सङ्गठित सदस्य पाँच लाख ५० हजार पुगेका छन् ।

पार्टीको प्रदेश कमिटीका अधिवेशन सुरु हुनुअघि एमाले केन्द्रीय कार्यालयमा अभिलेख भएको विवरणअनुसार सो परिमाणमा पार्टीका सङ्गठित सदस्य रहेको केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार अब प्रवास कमिटीमा रहेका सङ्गठित सदस्यको सङ्ख्या विवरण आउन बाँकी छ ।

“हामीले प्रदेश कमिटी अधिवेशनसम्म पार्टी सदस्यता नवीकरण गर्न भनेका थियौँ”, उहाँले भन्नुभयो, “प्रदेश कमिटी अधिवेशन सकिएपछि जिल्ला अधिवेशन सुरु हुन्छ । त्यतिबेला पनि पार्टी सदस्यता वितरण, नवीकरणको कार्य हुन्छ ।”

एमालेको दशौँ राष्ट्रिय महाविधेशनमा आठ लाख ५५ हजार सदस्य रहेका थिए । नवौँ महाधिवेशनताका पार्टीका सदस्य दुई लाख ५६ हजार सात सय ७२ थिए भने त्यसपछि सात लाखको हाराहारीमा सदस्य पुगेका थिए । सचिव ढुङ्गेलले दशौँ महाधिवेशनका समयमा पार्टी सङ्क्रमणकाल (एमाले र माओवादी केन्द्रसँगको एकता) मा रहेको र अभिलेखमा पार्टी सदस्यता दोहोरिएकाले त्यसबेला पार्टी सदस्यको सङ्ख्या बढी भएको बताउनुभयो । एमालेको दशौँ महाधिवेशन २०७८ मङ्सिर १० देखि १३ गतेसम्म चितवनको सौराहा भएको थियो ।
–––

ड्रागन फ्रुट खेतीमा सफल गौली

तनहुँ, २४ असोज : जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गर्नुभएकी कल्पना गौलीले पहिलो वर्षमै रू १० लाख आम्दानी गर्नुभएको छ । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी उहाँले नौ पटकसम्म दुई हजार किलोग्राम उत्पादन गर्नुभएको हो ।

यस वर्ष करिब रू दश लाख बराबरको ड्रागन बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । “अब बढीमा रू तीन लाखको बिक्री हुने अनुमान गरेको छु”, गौलीले भन्नुभयो, “बढीमा तीन पटक फल दियो भने पहिलो वर्षको कूल आम्दानी रू १२ देखि १३ लाखसम्म हुन्छ ।”

उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजार क्षेत्रमा खपत हुने गरेको उहाँले बताउनुभयो । वैशाखमा फूल खेल्न सुरु हुने र ६० दिनभित्र खानायोग्य हुने जनाउँदै गौलीले मङ्सिरसम्म फल्ने बताउनुभयो । दोस्रो वर्षमा पहिलो वर्षको तुलनामा दोब्बर उत्पादन हुने ड्रागन खेती गर्दै आएका व्यवसायीले जानकारी दिएका उहाँको भनाइ थियो ।

“कतिपय व्यवसायी फार्ममा आएर ड्रागन लैजानुहुन्छ । कुनै समयमा आफँैले गाडीमा राखेर बजारसम्म लगेर बिक्री गर्ने गरेको छु”, गौलीले भन्नुभयो । उत्पादित ड्रागन प्रतिकिलो रू पाँच सयदेखि रू छ सयसम्म बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको किसान गौलीले जानकारी दिनुभयो । “गतवर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थिएँ”, उहाँले भन्नुभयो, “यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ ।”

सुरुमा करिब रू असी लाख खर्च भएको भन्दै उहाँले त्यसमध्ये रू ४२ लाख पचास हजार खेतीमा लगानी गरिएको गौलीले बताउनुभयो । “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायतका बहुआयामिक किसिमले खेती गरेको छु”, उहाँले भन्नुभयो ।

फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिनुभयो । एउटा पोलमा करिब रू दश हजारका दरले खर्च भएको उहाँको भनाइ थियो । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै किसान गौलीले बिक्री गर्न नपाए पनि आफूहरुले चाख्न पाएको बताउनुभयो ।

ड्रागनका बिरुवा बिक्री

किसान गौलीले यसवर्ष रू तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गर्नुभएको छ । प्रति बिरुवा रू दुई सयदेखि रू पाँच सयसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेका छन् ।

विज्ञको अभाव

नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको किसान गौलीले गुनासो गर्नुभयो । चसो मौसमा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो ।

निमपत्ता, असुरो, तितेपाती, खिर्रो, बनमासा, सिमाली र गौमूत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको गौलीले सुनाउनुभयो । “सोह्र वर्ष शिक्षण पेसा र १५ वर्ष दमौली बजारमा बुटिक व्यवसाय गरेकी थिएँ । अहिले ड्रागन खेतीसँगै व्यास–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छु”, उहाँले भन्नुभयो । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री तथा कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

रुस–युक्रेन युद्धपछि जेलेन्स्कीको पहिलो नाटो भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सहयोगी राष्ट्रहरूलाई हतियार अपूर्ति बढाउन आग्रह गर्नुभएको छ । रुसले युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेपछि सैन्य गठबन्धन (नाटो) को मुख्यालयको आफ्नो पहिलो भ्रमणका क्रममा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । हमासले इजराइलमा गरेको आक्रमणबाट आफ्नो मुलुकको द्वन्द्वमा मुख्य सहयोगी अमेरिका विचलित हुने त्रासका बीच राष्ट्रपति जेलेन्स्कीले हवाई प्रतिरक्षा, लामो दूरीका मिसाइल र गोलाबारुद लागि आग्रह गर्नुभयो ।

“अर्को जाडोमा कसरी बाँच्ने भन्ने कुरा हाम्रा लागि ठूलो हो”, गठबन्धनका रक्षामन्त्रीहरूसँग भेट गर्नुअघि नाटो प्रमुख जेन्स स्टोलनबर्गसँग मिडियालाई सम्बोधन गर्दै जेलेन्स्कीले भन्नुभयो, “हामीले तयारी गरिरहेका छौँ, हामी तयार छौँ, अहिले हामीलाई गठबन्धनका नेताहरूबाट केही सहयोगको खाँचो छ, त्यसैले आज म यहाँ छु ।”

रुसबाट हुनसक्ने शीतकालीन हमलाबाट बचाउन युक्रेनको जवाफी हमलालाई बढाउन र हवाई प्रतिरक्षा उपलब्ध गराउने विषयमा ध्यान केन्द्रीत गर्दै किएभको अन्तर्राष्ट्रिय समर्थकहरू युक्रेनलाई हतियार उपलब्ध गराउने विषयमा विचार विमर्श गरिरहेका थिए । “हामी युक्रेनलाई सहयोग गर्न तपाईँँसँग उभिने छौँ किनकी यो समग्र नाटोका लागि महत्वपूर्ण छ”, स्टोलनबर्गले जेलेन्स्कीसँग भन्नुभयो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले इजराइलमा देखिएको सङ्कटले आफ्नो मातृभूमिमा चलिरहेको युद्धबाट ध्यान विचलित हुनसक्नेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले गत वर्ष रुसी आक्रमणपछि युक्रेनको पक्षमा देखाएजस्तै इजराइली जनताको पक्षमा एकजुट हुन र इजराइललाई ‘तिमी एक्लो छैनौ’ भन्ने देखाउन पश्चिमा राष्ट्रहरूलाई आग्रह गर्नुभयो ।

धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ – स्वास्थ्यमन्त्री बस्नेत

धुलिखेल (काभ्रेपलाञ्चोक) = स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था ९जिनेसोग०ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज शुभारम्भ गर्दै उहाँले अरनिको र बिपी राजमार्गको छेउमा रहेको यस अस्पतालका लागि विदेशी दातृ संस्थाबाट प्राप्त रकम नेपाल सकारले स्वीकार गरिसकेकोले आवश्यक व्यवस्थाका लागि सहजीकरण गरी अब छिट्टै सेवा सुरु गरिने बताउनुभएको हो ।

समुदायस्तरमा सञ्चालन भएको उक्त अस्पताल गुणस्तरीय हुनाका साथै गरिब, असाहाय र विपन्न नागरिकलाई सहज, सुलभ र राम्रो सेवा पु¥याएकामा मन्त्री बस्नेतले यसको प्रशंसा गर्नुभयो । राज्यको सानो सहयोगमा पनि आफ्नो बुद्धि र विवेकले सामुदायिक अस्पताल सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै उहाँले सामुदायिक अस्पताल सञ्चालन गर्न चाहनेले एक पटक धुलिखेल अस्पतालमा गएर हेर्नुपर्ने सरकारले पनि यहाँ भएको राम्रो कुरा अन्य अस्पतालमा पनि लागू गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

सो अवसरमा उहाँले धुलिखेल अस्पतालले यसअघि पनि महिलामा पिसाब चुहिने समस्याको राम्रो उपचार गर्न सफल भएको र अहिले पनि स्त्री तथा प्रसूति रोग विशेषज्ञबीच गरिएको सम्मेलनबाट थप तथा गुणस्तरीय सेवा प्रदान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा राकमण्ठ माकजू श्रेष्ठले सर्वसुलभरुपमा आम नागरिकको सेवाको लागि गुणस्तरीय सेवा प्रदान गर्नाका साथै समयुदायमा आधारित सेवाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो । उक्त अस्पतालका गाइनोलोजिष्ट प्रो डा सुमनराज ताम्राकारले यस सम्मेलनले स्त्री तथा प्रसूति रोगको सेवमा हुने उपचारमा नयाँ फड्को मार्नाका साथै नेपाली महिलालाई स्वस्थ बनाउने अभियानमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा निःसन्तान, रजोवृत्ति, पाठेघरमा जन्मजात विकृति, गर्भवती बेलामा स्वास्थ्य समस्या, प्रसवपछिको अधिक रक्तस्राव, स्त्री रोगसम्बन्धी ल्याप्रोेस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनावारीबारे छलफल भएको थियो। नेपालभित्रका विभिन्न अस्पतालमा स्त्री रोगसम्बन्धी विभागमा काम गर्ने चिकित्सकलगायत करिब एकसय जनाको सहभागिता रहेको सो सम्मेलनमा नेपाल र जर्मनका गरी करिब एकदर्जन विशेषज्ञले आ–आफ्ना प्रस्तुति दिएको बताइएको थियो । सम्मेलनपछि सहभागीले आ–आफ्नो कार्य क्षेत्रमा गई महिला स्वास्थ्यसेवाको गुणस्तर वृद्धिमा सघाउ पुग्ने अपेक्षा राखिएको संस्थाले जनाएको छ । यसअघि सन् २०१७ मा सो सम्मेलन भएको थियो ।

बालअधिकारको सुनिश्चितताका लागि तीनै तहका सरकारबीचको समन्वय आवश्यक : मन्त्री आचार्य

काठमाडौँ, २४ असोज : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालअधिकारको सुनिश्चितताका लागि तीन वटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आज राष्ट्रिय बालअधिकार परिषद्द्वारा आयोजित मूल समारोह समितिको कार्यक्रममा मन्त्री आचार्यले बालिकालाई शुभकामना दिँदै बाल अधिकारको सचेतनाको अभावका कारण गर्भमै लिङ्गको पहिचान गर्ने, बालबालिका हराउने र जोखिममा पर्ने, बालविवाहमा पर्ने जस्ता समस्याको सम्बोधनका लागि राज्यले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र राष्ट्रिय ऐन, नियम र नीतिको कार्यान्वयनका लागि तीन वटै तहका सरकारका निकाय र गैह्रसरकारी संस्थालाई आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव सुमनराज अर्यालले बालअधिकारको कार्यान्वयनका लागि सरकारी र गैह्रसरकारी निकायबीचको सहकार्य र समन्वयलाई प्रभावकारी बनाइने बताउनुभयो । सोही मन्त्रालयका सहसचिव इन्दु घिमिरेले कुरीतिविरुद्धको जनचेतना जगाउने कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय बालविकास कोष (युनिसेफ) का राष्ट्रिय प्रतिनिधि एलिस अकुङ्गाले बालिकाको अधिकारको संरक्षण, प्रबद्र्धन र वकालतका लागि आफूहरुको सहकार्य जारी रहने बताउनुभयो ।

परिषद्का उपाध्यक्ष बमबहादुर बाँनियाले बालबालिको अधिकारको सुनिश्चितताका लागि भएका नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीले उठाएका सवालमा जवाफ दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले गर्भमै लिङ्गको पहिचान गर्ने गलत अभ्यासलाई निरुत्साहन गर्दै सन् २०३० सम्ममा विभेदपूर्ण लिङ्ग विभेद् अन्त्यका लागि रणनीति बनाइएको जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव दुर्गा कँडेलले विद्यालय जाँदा आउँदा समाजमा र घरपरिवारमा किशोरीमा हुने हिंसा र दुव्र्यवहारको अन्त्यका लाग सञ्जाल गठन गरेर गुनासो सुनुवाइ संयन्त्रको सञ्चालन गरिएको जनाउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रतिभा गौतमले १४ वर्षसम्म बालबालिकालाई कुनै पनि काममा लगाउन नपाइने र १८ वर्षसम्म जोखिमपूर्ण काम तथा बालश्रममा लगाउन नपाइने भएकाले कानुनको कार्यान्वयनमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक देवी पाण्डे खत्रीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण व्यवस्थापनका क्रममा किशोरीमैत्री वातावरण सिर्जना गरिने जनाउनुभयो । बालअधिकारसम्बन्धी राष्ट्रिय सञ्जालका अध्यक्ष ऋतु भट्ट (राई) ले समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि बालिकामाथि राज्यले लगानी बढाउनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा सात प्रदेशका प्रतिनिधि किशोरीहरुले दाइजो प्रथा, बाल विवाह, बाल श्रम, छाउपढी, बेचबिखन र अनलाइन यौन दुव्र्यवहारको अन्त्य, निःशुल्क विद्यालय शिक्षाको सुनिश्चितता, न्यायमा पहुँच, बालिका मैत्री भौतिक पूर्वाधार निर्माण, बालबालिकाका क्षेत्रमा लगानी वृद्धि, बालिकामाथिको विभेद्को अन्त्य र सामाजिक सुरक्षाका सवालमा आवाज प्रस्तुत गर्दै सुझावमन्त्री आचार्यलाई हस्तान्तरण गरेका थिए । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यस वर्षको नारा ‘बाल अधिकारमा लगानी ः हाम्रो नेतृत्व र सहज जीवनयापन’ रहेको छ ।

आजदेखि पूर्वी नाकाको चेकजाँचमा खटिए ‘पारु’ र ‘पिङ्‌कु’

झापा, २४ असोज : पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार धरानबाट ल्याइएका जर्मन सेफर्ड जातका ती कुकुरमध्ये एउटाको नाम ‘पारु’ रहेको छ । ‘पारु’ले विष्फोटक पदार्थ पत्ता लगाउन सहयोग गर्ने उहाँको भनाइ छ । अर्को कुकुरको नाम ‘पिङ्कु’ रहेको छ । जसले सीमापारबाट यात्रुले शरीर र सवारी साधनमा लुकाएर ल्याएको लागुऔषध पत्ता लगाउन सहयोग गर्नेछ । 

ती कुकुर परिचालन गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई जना प्रहरी खटिएका छन् । भारतको पश्चिम बङ्गाल, सिक्किम, आसाम, मेघालय, अरुणाचल, नागाल्याण्डलगायतका प्रान्तमा आवतजावत गर्नका लागि काँकडभिट्टा मुख्य नाका हो । स्थलमार्गबाट भुटान, बङ्गलादेश र म्यान्मार जाने पर्यटकले समेत यही नाका प्रयोग गर्दछन् । प्रहरीले मेची पुल नजिक चेकजाँचमा दुवै कुकुर प्रयोग गरेपछि नाकाको सुरक्षा जाँच थप कसिलो र व्यवस्थित हुने अपेक्षा गरिएको प्रनाउ भारतीले बताउनुभयो । 

“चाडपर्वका बेला नाकामा भीड बढ्ने, यहीबेला लागुऔषध र पटाका लगायतका विष्फोटक पदार्थ लुकाइछिपाइ भित्र्याउने कार्य बढ्ने भएकाले चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरेका हौँ”, उहाँले भन्नुभयो, “लागुऔषध ओसारपसारको गतिविधि नियन्त्रणमा प्रहरीले ध्यान केन्द्रित गरे पनि भारतबाट ल्याउने कार्य रोकिएको छैन ।”

पूर्वी नाका काँकडभिट्टामा सुरक्षा जाँचलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने प्रहरीको योजना रहेको उहाँले बताउनुभयो । दुई महिना अघिदेखि काँकडभिट्टाको पुरानो भन्सार क्षेत्रमा सवारीसाधन, नम्बर प्लेट, यात्रुको अनुहार र गतिमानसमेत रेकर्ड गर्नसक्ने राडार गनसहितको सीसी क्यामरा जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त सीसी क्यामेराले राजमार्गमा ओहोरदोहोर गर्ने सवारी साधनको नम्बर प्लेटको तस्बिर खिच्ने र अभिलेख राख्ने कार्य गर्दछ । सवारी साधनको गतिमान समेत रेकर्ड गर्ने भएकाले सवारीसम्बन्धी अपराध अनुसन्धान गर्न र राजमार्गको चेकजाँच गर्न उक्त प्रविधिले मद्दत पु¥याइरहेको प्रनाउ भारतीेले बताउनुभयो ।

काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, २४ असोज : श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ सेटमा पराजित गरेको हो ।

अफगानिस्तानसितको आजको खेलमा नेपालले पहिलो सेट २५–१९ अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट १९–२५ तथा तेस्रो सेट २२–२५ अङ्कले गुमाएको थियो । नेपालले चौथो सेट २५–२१ अङ्कले तथा पाँचौँ एवं निर्णायक सेट १५–१० अङ्कले आफ्नो पक्षमा पारेको थियो ।

नेपाल हालसम्म खेलेका तीनमध्ये दुई खेलमा विजयी तथा एउटामा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसित ३–१ सेटले विजयी भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

जारी प्रतियोगितामा अफगानिस्तानको यो पहिलो हार हो । अफगानिस्तानले यसअघि पहिलो खेलमा उज्वेकिस्तानलाई ३–२ तथा दोस्रो खेलमा बङ्गलादेशलाई ३–० को सेटमा पराजित गरेको थियो ।

नेपालले अब शुक्रबार साउदी अरबसित खेल्नेछ । यही असोज २८ गतेसम्म सञ्चालन हुने उत्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब र उज्वेकिस्तान सहभागी छ्न ।

विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, २४ असोज : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो ।

प्रशिक्षक एनेसेले लाओसविरुद्धको खेल आफनो लागि अवसर भएको बताउँदै टिममा रहेका नयाँ र ऊर्जावान युवाको सहभागिताले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन् ।

विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले भोलि लाओससँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साझ ५ः३० बजे हुनेछ । होम एण्ड अवेका आधारमा हुने उक्त छनोट खेलमा नेपालले लाओससँग दोस्रो खेल यही असोज ३० गते उसकै मैदानमा खेल्नेछ । यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्धको खेलका लागि आफनो टोलीले राम्रो अभ्यास गरेको बताउनुभयो । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ छन् । मिडफिल्डरमा एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी छन् भने फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् ।

दक्ष प्राविधिक जनशक्ति उत्पादनमा केन्द्रित हुन राष्ट्रपतिको अनुरोध

धुलिखेल, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको आज उद्घाटन गर्दै राष्ट्रपतिले भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएको बताउनुभयो ।नेपालको लागि अनुसन्धान तथा नवीन प्रविधिको सुरुआत गर्नेे प्राज्ञिक प्रतिष्ठान स्थापना भएकामा खुसी व्यक्त गर्दै राष्ट्रपतिले काठमाडौँ विश्वविद्यालयअन्तर्गतको केन्द्रले राष्ट्रलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । जलवायु परिवर्तन, भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्न मानवमैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान आवश्यक भएको बताउनुभयो ।केन्द्रले नेपालको प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले केन्द्रमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्बन्धी विशिष्टीकृत खोज–अनुसन्धानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।विशिष्टीकृत एकाइहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति प्रकाशन गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि योगदान गर्न आह्वान गर्नुभयो ।केन्द्र कोरिया सरकारको सहयोगमा निर्माण गरिएको हो । केन्द्रका निम्ति अत्याधुनिक उपकरण पनि कोरियाले नै उपलव्ध गराएको हो । नेपालको प्राविधिक एवं शैक्षिक उन्नयनका निम्ति कोरिया सरकारले निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।त्यस अवसरमा राष्ट्रपतिले केन्द्रका विशिष्टीकृत कक्षको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङले नवनिर्मित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर गणतन्त्र कोरिया र नेपालबीचको मैत्रीको प्रतीकका रुपमा रहने विश्वास व्यक्त गर्नभयो । उहाँले कोरिया सरकारको सहयोगमा सञ्चालित परियोजनाले प्रविधिको क्षेत्रमा अनुसन्धान र विकास परियोजना सञ्चालन गर्न नेपाललाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।गणतन्त्र कोरिया नेपालको शान्ति, प्रगति र समृद्धिको यात्रामा सधैँसँगै रहेको बताउँदै कोरियाली राजदूतले नेपाललाई आफ्नो देशले उत्कृष्ट साझेदारको रूपमा लिएर उच्च प्राथमिकतामा राखेकोे बताउनुभयो ।काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले नवनिर्मित भवन रु ४० करोडमा बनेको तथा रु २२ करोडका उपकरण केन्द्रमा रहेका बताउनुभयो ।