उपराष्ट्रपति यादवद्वारा नारायणी अस्पतालमा निर्माण गरिएको पोष्ट नेटिभ क्यर वार्डको उद्घाटन
पर्सा, २८ माघ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वीरगञ्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएको हुँदा यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको सहयोग प्रशंसायोग्य भएको बताउनुभएको छ । नारायणी अस्पतालमा निर्माण गरिएको ‘पोस्ट नेटल केयर वार्ड’को आज यहाँ उद्घाटन गर्दै उपराष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिलाई सबैले एकजुट भएर हटाउनुपर्नेमा जोड दिनुभयो ।
मधेशमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर रहेकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर तिनवटै तहका सरकारले सुधारका लागि ठोस काम गर्नुपर्ने उहाँले बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले केन्द्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालको स्तरोन्नतिका लागि सरकार क्रियाशील रहेको बताउँदै आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पु¥याउन सङ्घ, प्रदेश र स्थानीय तहले एकापसमा समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नारायणी अस्पतालको आकस्मिक कक्षमा रु ४५ लाखको लागतमा निर्माण गरिएको २० श्ययाको ‘पोस्ट नाटल केयर वार्ड’मा नवजात शिशु र सुत्केरी आमाको उपचारसँगै रेखदेख गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साहले बताउनुभयो ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताको सभापतित्वमा भएको उक्त कार्यक्रममा सांसद प्रदीप यादव, अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, श्याम पटेललगायत सहभागी हुनुहुन्थ्योे ।
