`

आजदेखि पूर्वी नाकाको चेकजाँचमा खटिए ‘पारु’ र ‘पिङ्‌कु’

झापा, २४ असोज : पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार धरानबाट ल्याइएका जर्मन सेफर्ड जातका ती कुकुरमध्ये एउटाको नाम ‘पारु’ रहेको छ । ‘पारु’ले विष्फोटक पदार्थ पत्ता लगाउन सहयोग गर्ने उहाँको भनाइ छ । अर्को कुकुरको नाम ‘पिङ्कु’ रहेको छ । जसले सीमापारबाट यात्रुले शरीर र सवारी साधनमा लुकाएर ल्याएको लागुऔषध पत्ता लगाउन सहयोग गर्नेछ । 

ती कुकुर परिचालन गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई जना प्रहरी खटिएका छन् । भारतको पश्चिम बङ्गाल, सिक्किम, आसाम, मेघालय, अरुणाचल, नागाल्याण्डलगायतका प्रान्तमा आवतजावत गर्नका लागि काँकडभिट्टा मुख्य नाका हो । स्थलमार्गबाट भुटान, बङ्गलादेश र म्यान्मार जाने पर्यटकले समेत यही नाका प्रयोग गर्दछन् । प्रहरीले मेची पुल नजिक चेकजाँचमा दुवै कुकुर प्रयोग गरेपछि नाकाको सुरक्षा जाँच थप कसिलो र व्यवस्थित हुने अपेक्षा गरिएको प्रनाउ भारतीले बताउनुभयो । 

“चाडपर्वका बेला नाकामा भीड बढ्ने, यहीबेला लागुऔषध र पटाका लगायतका विष्फोटक पदार्थ लुकाइछिपाइ भित्र्याउने कार्य बढ्ने भएकाले चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरेका हौँ”, उहाँले भन्नुभयो, “लागुऔषध ओसारपसारको गतिविधि नियन्त्रणमा प्रहरीले ध्यान केन्द्रित गरे पनि भारतबाट ल्याउने कार्य रोकिएको छैन ।”

पूर्वी नाका काँकडभिट्टामा सुरक्षा जाँचलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने प्रहरीको योजना रहेको उहाँले बताउनुभयो । दुई महिना अघिदेखि काँकडभिट्टाको पुरानो भन्सार क्षेत्रमा सवारीसाधन, नम्बर प्लेट, यात्रुको अनुहार र गतिमानसमेत रेकर्ड गर्नसक्ने राडार गनसहितको सीसी क्यामरा जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त सीसी क्यामेराले राजमार्गमा ओहोरदोहोर गर्ने सवारी साधनको नम्बर प्लेटको तस्बिर खिच्ने र अभिलेख राख्ने कार्य गर्दछ । सवारी साधनको गतिमान समेत रेकर्ड गर्ने भएकाले सवारीसम्बन्धी अपराध अनुसन्धान गर्न र राजमार्गको चेकजाँच गर्न उक्त प्रविधिले मद्दत पु¥याइरहेको प्रनाउ भारतीेले बताउनुभयो ।

काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, २४ असोज : श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ सेटमा पराजित गरेको हो ।

अफगानिस्तानसितको आजको खेलमा नेपालले पहिलो सेट २५–१९ अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट १९–२५ तथा तेस्रो सेट २२–२५ अङ्कले गुमाएको थियो । नेपालले चौथो सेट २५–२१ अङ्कले तथा पाँचौँ एवं निर्णायक सेट १५–१० अङ्कले आफ्नो पक्षमा पारेको थियो ।

नेपाल हालसम्म खेलेका तीनमध्ये दुई खेलमा विजयी तथा एउटामा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसित ३–१ सेटले विजयी भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

जारी प्रतियोगितामा अफगानिस्तानको यो पहिलो हार हो । अफगानिस्तानले यसअघि पहिलो खेलमा उज्वेकिस्तानलाई ३–२ तथा दोस्रो खेलमा बङ्गलादेशलाई ३–० को सेटमा पराजित गरेको थियो ।

नेपालले अब शुक्रबार साउदी अरबसित खेल्नेछ । यही असोज २८ गतेसम्म सञ्चालन हुने उत्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब र उज्वेकिस्तान सहभागी छ्न ।

विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, २४ असोज : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो ।

प्रशिक्षक एनेसेले लाओसविरुद्धको खेल आफनो लागि अवसर भएको बताउँदै टिममा रहेका नयाँ र ऊर्जावान युवाको सहभागिताले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन् ।

विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले भोलि लाओससँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साझ ५ः३० बजे हुनेछ । होम एण्ड अवेका आधारमा हुने उक्त छनोट खेलमा नेपालले लाओससँग दोस्रो खेल यही असोज ३० गते उसकै मैदानमा खेल्नेछ । यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्धको खेलका लागि आफनो टोलीले राम्रो अभ्यास गरेको बताउनुभयो । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ छन् । मिडफिल्डरमा एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी छन् भने फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् ।

दक्ष प्राविधिक जनशक्ति उत्पादनमा केन्द्रित हुन राष्ट्रपतिको अनुरोध

धुलिखेल, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको आज उद्घाटन गर्दै राष्ट्रपतिले भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएको बताउनुभयो ।नेपालको लागि अनुसन्धान तथा नवीन प्रविधिको सुरुआत गर्नेे प्राज्ञिक प्रतिष्ठान स्थापना भएकामा खुसी व्यक्त गर्दै राष्ट्रपतिले काठमाडौँ विश्वविद्यालयअन्तर्गतको केन्द्रले राष्ट्रलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । जलवायु परिवर्तन, भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्न मानवमैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान आवश्यक भएको बताउनुभयो ।केन्द्रले नेपालको प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले केन्द्रमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्बन्धी विशिष्टीकृत खोज–अनुसन्धानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।विशिष्टीकृत एकाइहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति प्रकाशन गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि योगदान गर्न आह्वान गर्नुभयो ।केन्द्र कोरिया सरकारको सहयोगमा निर्माण गरिएको हो । केन्द्रका निम्ति अत्याधुनिक उपकरण पनि कोरियाले नै उपलव्ध गराएको हो । नेपालको प्राविधिक एवं शैक्षिक उन्नयनका निम्ति कोरिया सरकारले निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।त्यस अवसरमा राष्ट्रपतिले केन्द्रका विशिष्टीकृत कक्षको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङले नवनिर्मित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर गणतन्त्र कोरिया र नेपालबीचको मैत्रीको प्रतीकका रुपमा रहने विश्वास व्यक्त गर्नभयो । उहाँले कोरिया सरकारको सहयोगमा सञ्चालित परियोजनाले प्रविधिको क्षेत्रमा अनुसन्धान र विकास परियोजना सञ्चालन गर्न नेपाललाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।गणतन्त्र कोरिया नेपालको शान्ति, प्रगति र समृद्धिको यात्रामा सधैँसँगै रहेको बताउँदै कोरियाली राजदूतले नेपाललाई आफ्नो देशले उत्कृष्ट साझेदारको रूपमा लिएर उच्च प्राथमिकतामा राखेकोे बताउनुभयो ।काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले नवनिर्मित भवन रु ४० करोडमा बनेको तथा रु २२ करोडका उपकरण केन्द्रमा रहेका बताउनुभयो ।

सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो

काठमाडौँ, २४ असोज : सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेर व्यक्तिगत बचतको सीमा तोक्ने गरी राखिएको व्यवस्था हटाइएको छ ।

सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकले विधेयक माथि छलफल गर्दै उक्त दफा हटाउने निर्णय गरेको सभापति विमला सुवेदीले जानकारी दिनुभयो । त्यस्तै, सीमा नाकाभन्दा तीन किलोमिटर दूरीभित्र बनेका क्यासिनो तीन वर्षभित्रमा पाँच किलोमिटर दूरी बाहिर सारिसक्नुपर्ने तथा नयाँ बन्ने क्यासिनोका लागि सीमावर्ती क्षेत्रभन्दा पाँच किलोमिटर बाहिर मात्र बन्नसक्ने गरी इजाजत दिने व्यवस्था विधेयकमा राखिएको उहाँले बताउनुभयो ।

समितिद्वारा गठित उपसमितिले दिएको प्रतिवेदन माथि आजको बैठकमा छलफल भएको थियो । ठूलो पुँजी भएका बचत तथा ऋण सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन गर्नेगरी विधेयकमा राखिएको व्यवस्थालाई पनि कानुन समितिले केही संशोधन गरेको छ ।

विधेयकको मस्यौदामा ‘रू २५ करोडभन्दा बढी शेयर पुँजी भएका वा वार्षिक रू ५० करोडभन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सहकारी सम्बन्धी प्रचलित कानुनकोसमेत अधिकार प्रयोग गरी नियमन, निरीक्षण तथा सुपरीवेक्षणको काम नेपाल राष्ट्र बैंकले गर्नेछ’ भनी व्यवस्था गरिएको थियो । त्यसलाई संशोधन गरेर ‘रू ५० करोडभन्दा बढी शेयर पुँजी भएको वा सो बराबरको वार्षिक कारोबार गर्ने सहकारी संस्थाको वित्तीय सुशासन तथा जोखिमका आधारमा विभागको अनुरोधमा नेपाल राष्ट्र बैंकले नियमन गर्नसक्ने’ राख्नुपर्ने सुझाव समितिले दिएको छ ।

‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ गत माघमा प्रतिनिधिसभामा दर्ता भएको थियो । गत निर्वाचन पछिको संसद् अधिवेशनमा दर्ता भएको यो पहिलो विधेयक हो । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत विभिन्न २० कानुन संशोधन गर्न लागिएको छ ।

उक्त विधेयकमार्फत निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७० मा संशोधन गर्न लागिएको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४, पारस्पारिक कानुनी सहायता ऐन २०७०, सङ्गठित अपराध निवारण ऐन २०७०, विद्युत् नियमन आयोग ऐन २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र बीमा ऐन २०७९ मा संशोधन गर्न लागिएको छ । मुलुकी अपराधसंहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा पनि विधेयकमार्फत संशोधन हुँदैछ ।

इजरायलमा भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको चासो

काठमाडौँ, २४ असोज : राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको आक्रमणका कारण स्वदेश आउन चाहने नागरिकलाई फर्काउनका आग्रह गरेको छ । नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न आयोगले अनुरोध गरेको छ ।

“इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता नेपालीको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं उहाँहरुका परिवारलाई राहतको व्यवस्था गर्न आग्रह गर्दछौँ”, आयोगका प्रवक्ता डा टीकाराम भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।इजरायलमा हमलाका कारण त्यहाँको शान्तिसुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी १० नेपालीको दुःखद् निधन भएको, केही घाइते भएको र केही असुरक्षित अवस्थामा रहेको जानकारी आयोगलाई प्राप्त भएको विज्ञप्तिमा भनिएको छ । यस विषयमा सरकारबाट गरिएका हालसम्म भइरहेका प्रयासको सराहना गर्दै सो विषयमा सरकारकाबाट भएको कार्यको यथार्थ जानकारी आयोगलाई उपलब्ध गराइदिन आयोगले आज सरकारलाई पत्राचारसमेत गरेको छ ।विश्वको जुनसुकै मुलुकमा र जुनसुकै अवस्थामा रहेका भए पनि नेपाली नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्नु सरकारको दायित्व भएको आयोगले उल्लेख गरेको छ ।

नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ता गर्न सरकारले पहल थालिसकेको छ : उपमहासचिव पुन

काठमाडौँ, २४ असोज : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले इजरायलमा रहेका नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ताका लागि सरकारले पहल थालिसकेको बताउनुभएको छ ।

पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को केन्द्रीय बैठकमा उपमहासचिव पुनले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बङ्करभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको उल्लेख गर्दै देशमा सरकार भएको अनुभूति दिलाएको उल्लेख गर्नुभयो । सरकारले इराकसँग समन्वय गरी स्वदेश फर्कन इच्छुक नेपाली लिन आज चार्टर्ड जहाज पठाउन लागेको उहाँले बताउनुभयो ।

देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सद्भाव भड्काएर राजनीतिक स्वार्थसिद्ध गर्ने प्रयास भएकामा उपमहासचिव पुनले आपत्ती व्यक्त गर्नुभयो । सुनसरीको धरान, सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा भएका सामाजिक सद्भाव विरोधी घटनामा प्रतिगामी र व्यवस्था विरोधी तत्वको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको उहाँले दाबी गर्नुभयो ।

गणतन्त्र, सङ्घीयता र धार्मिक सद्भावका पक्षमा रहेका जनताले एकताको भावनामार्फत प्रतिगामी षड्यन्त्र विफल पारेको उपमहासचिव पुनले बताउनुभयो ।

‘सुशासन कायम गर्न सबैको भूमिका अपरिहार्य’- मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा सुशानसन कायम गर्न सरकारका सबै निकायका साथै जनसाधारणको अहम् भूमिका रहेको बताउनुभएको छ ।राज्यव्यवस्था तथा सुशासन समितिमा भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा मन्त्री शर्माले भ्रष्टाचार न्यूनीकरण गर्न कानुन कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने भन्ने आजको प्रमुख मुद्दा भएको विचार प्रकट गर्नुभयो ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा दिइएका र प्राप्त हुने सुझावलाई समेटेर विधेयकलाई समृद्ध तुल्याउँदै कानुनको सही कार्यान्वयन एवं पालनालाई बाध्यकारी बनाउनेतर्फ सबैको चासो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “कुन पार्टीको सरकार छ भन्ने कुराले नीति निर्धारण गर्दैन, आयोगमा को छ भन्ने विषयले पनि अर्थ राख्दैन, मूल विषय भनेको संस्थालाई कस्तो बनाउने र सरकारलाई कसरी जनउत्तरदायी बनाउने भन्ने नै हो ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्थानीय तहको राजनीतिक नेतृत्व सदनमा प्रतिनिधित्व गर्ने अधिकांश दलका रहेकाले त्यहाँ हुने अनियमिता रोक्न उहाँहरुले प्रभावकारी कदम चाल्नुपर्ने जोड दिनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले भन्नुभयो, “भ्रष्टाचार र अनियमितका विषयमा स्थानीय तहलाई औँला उठाइरहँदा त्यहाँ कसको नेतृत्व छ भन्ने पक्षलाई मनन गर्न आवश्यक छ, विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावकारी देखिए पनि पछिल्ला समय प्रभावकारी नहुँदा सन्नाटा छाएको छ ।”

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नीतिगत निर्णयका नाममा मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रवृत्तिलाई सच्च्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक निकायमा बस्ने व्यक्तिमा कतिपय विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराएपछि म बच्छु भन्ने धारणा विकास भएको छ, यस्ता प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुन भएन, मुख्य सचिवले त्यस्ता प्रस्ताव फिर्ता गरिदिनुपर्छ ।”

नीतिगत भ्रष्टाचार रोक्न र मन्त्रालयले कसरी कार्यसम्पादन गर्छ भन्ने विषयमा आधारभूत जानकारी दिन सङ्घीय संसद्का सांसदलाई कम्तीमा एक साताको तालिम प्रशिक्षण आवश्यक रहेको बताउँदै प्रमुख राईले निर्णय प्रक्रियासम्बन्धी ज्ञान दिएर पोख्त बनाउन सकिएमा नीतिगत भ्रष्टाचार रोक्न केही हदसम्म सहज हुने तर्क गर्नुभयो ।

कानुनले दिएको अधिकार प्रयोग नगर्नेलाई पनि ‘टाइम कार्ड’का आधारमा कारबाहीको दायरामा ल्याउने कानुन आवश्यक रहेको बताउँदै प्रमुख राईले आयोगले पनि भ्रष्टाचार मुद्दामा अनुसन्धान र अभियोजनको पाटोलाई पनि परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कानुनका आधारमा प्रमाण फेला नपरेसम्म अनुसन्धान जारी रहने बताउँदै प्रमुख आयुक्तले सूचना प्राप्ति र प्रमाणको खोजीका आधारमा तथ्य र प्रमाण सङ्कलन गरी मुद्दा दायर गरिने जानकारी दिनुभयो ।

उच्च ब्याजदरले धेरै ऋण भएका देशलाई समस्यामा पार्नसक्छ : विश्व बैङ्क

माराकेश, मोरक्को – विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिले कर्जा व्यवस्थापनका लागि सङ्घर्षरत देशहरूलाई समस्यामा पार्न सक्ने चेतावनी दिएका छन् ।विगत केही महिनाहरूमा अमेरिकी फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक र विश्वव्यापीरूपमा राष्ट्रिय बैङ्कहरूले पनि उच्च मुद्रास्फीतिलाई कम गर्नको लागि दरहरू बढाउँदै यो वृद्धि सामान्य अपेक्षाभन्दा धेरै समयसम्म लम्बिन सक्ने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोभिड–१९, युक्रेनमा जारी युद्ध र जीवनयापनको लागतको सङ्कटका बाबजुद पनि विश्व अर्थतन्त्र लचिलो रहेको बताएको छ ।

“यी सबै झट्काका बावजुद हामीले कुनै पनि ठूला अर्थतन्त्रहरू वास्तवमै समस्यामा परेको देखेका छैनौं । विश्व बैङ्कका प्रमुख अर्थशास्त्री इन्द्रमित गिलले भन्नुभयो, “यो एउटा राम्रो समाचार हुनसक्छ कि ब्याजदर वृद्धि अभियान सम्भवतः यहीँ समाप्त हुन्छ ।”

मोरक्कोको माराकेशमा आयोजित आईएमएफ–विश्व बैंकको वार्षिक बैठकका क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिले समस्या के छ भने तपाईले उल्लेख गर्नुभएको उच्च ब्याजदर र यसका कारण देखिएको आर्थिक वृद्धिदर निकै सुस्त भइरहेको छ ।”

गिलले सन् १९७० को दशकमा उच्च ब्याजदरको अर्को लामो अवधिमा करिब २४ वटा अर्थतन्त्र सङ्कटग्रस्त स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले यो कडा चक्रलाई पनि लामो समय लाग्ने अपेक्षा गर्नुपर्छ । उहाँले भन्नुभयो, “हामीले केही देशहरूले समस्या झेल्ने अनुमान गरेका छौँ ।”

विश्व बैंकका अध्यक्ष अजय बङ्गाले मुद्रास्फिति घट्न थालेकोमा कुनै शङ्का नरहेको तर यो दर अझै उच्च रहने बताउनु भएको छ । बङ्गाले भन्नुभयो, “यो लगानीका लागि र वर्षौंदेखि कम ब्याज दरको वातावरणमा अभ्यस्त भएका मानिसहरूका लागि पनि धेरै तरिकामा जटिल घटना हुन सक्छ ।”

शिक्षक महासङ्घसँगका सहमतिका बुँदा शिक्षा विधेयकको संशोधनमा समावेश

काठमाडौँ, २४ असोज : प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन् ।

यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घन्टाको समय (आज दिउँसो ४ सम्म) समय दिइएको थियो । संशोधनमा यही असोज ५ गते नेपाल शिक्षक महासङ्घ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने गरी प्रमुख दलका सचेतकहरुको समन्वयमा संशोधन प्रस्तुत गरिएको छ । सांसदले संयुक्त र एकलरुपमा एक सय ५० संशोधन दर्ता गराएका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आजसम्म संशोधनका लागि समय दिइएकाले यकिन विवरण प्राप्त नभए पनि प्रक्रियागतरुपमा आएका संशोधनलाई एकीकृत गरी प्रस्तुत गरिने जानकारी राससलाई दिनुभयो ।

सरकारले संसद्मा विधेयक दर्ता गरेपछि महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन गरेसँगै भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सांसदले उठाएका प्रश्नको जवाफसहित महासङ्घसँगका सहमतिका बुँदा असोज २१ गतेको बैठकमा प्रस्तुत गरिसक्नुभएको छ ।

विधेयकमाथि असोज १९ गतेको बैठकमा सैद्धान्तिक छलफलमा सांसदले भाग लिएका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेगरी कार्यसूचीमा समावेश गरिएको छ ।

झापामा दलदलमा आधा डुबेको अवस्थामा मृत फेला

झापा, २४ असोज : भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।

डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेकोे बताउनुभयो ।

उहाँका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उहाँले बताउनुभयो । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ ।

आज अन्तर्राष्ट्रिय बालिका दिवस

काठमाडौँ, २४ असोज : अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ ।

दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ । सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण (गल्र्स टेकओभर) मा सहजीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तक्र्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाउनुभयो ।

काभ्रेमा आठ सय ४९ सहकारी ‘अज्ञातअवस्थामा ’ : प्रतिवेदन

काभ्रेपलाञ्चोक, २४ असोज : काभे्रपलाञ्चोकमा आठ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी सङ्घले जनाएको छ ।

बनेपा नगरपालिका बनेपामा सञ्चालित सहकारीको अनुगमन प्रतिवेदन बुझाउने क्रममा सङ्घका अध्यक्ष दिलीप शर्मा जङ्गमले काभ्रेमा क्रियाशील सहकारीमा छ लाख ७९ हजार आठ सय १८ सेयर सदस्य रहेको तथ्याङ्क फेला परेको बताउनुभयो । उहाँले उक्त प्रतिवेदन मङ्गलबार नगरप्रमुख शान्तिरत्न शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो । यसबाट जिल्लाको जनसङ्ख्या तीन लाख ६४ हजार ३९ भन्दा करिब तीन लाख १५ हजारले सेयर सदस्य बढी देखिएको अध्यक्ष जङ्गमले बताउनुभयो । उहाँका अनुसार क्रियाशील सहकारीमा पाँच हजार सात सय ८२ जना सञ्चालक छन् भने दुई हजार छ सय ५५ कर्मचारी कार्यरत रहेका छन् ।

यस्तै सञ्चालमा आएका सहकारीमा रु पाँच अर्ब पाँच करोडको सेयरपुँजी रहेको छ भने रु ३६ अर्बको बचत कारोबार रहेको अनुगमनले देखाएको सङ्घले जनायो । उक्त कारोबारबाट सरकारका विभिन्न निकायमा वार्षिक रु २४ करोड ९१ लाख राजस्व बुझाइएको अध्ययनले देखाएको छ । पछिल्ला केही वर्षदेखि सहकारीमा देखिएको विकृति, विसङ्गति सुधार गर्न तथा सहकारीमा पारदर्शिता कायम गर्न अनुगमन गरिएको जङ्गमले बताउनुभयो ।

प्रतिवेदनमा सबैभन्दा बढी जिल्लाको प्रमुख सहर बनेपामा रहेका दुई सय २० सहकारीमध्ये एक सय २३ क्रियाशील रहेको उल्लेख गरिएको छ । ती सहकारीमा तीन लाख १८ हजार सात सय ३८ सेयर सदस्य छन् । बनेपाको जनसङ्ख्या ६७ हजारमात्रै देखिन्छ । कुल सहकारी तथा सेयर सदस्यमध्ये बनेपामा मात्रै आधा रहेको पाइएको जनाइएको छ । बनेपामा रु दुई अर्ब सेयरपुँजी र १९ अर्ब बचत कारोबार रहेको प्रतिवेदनमा उल्लेख छ ।

दैनिकजसो सहकारी भाग्ने र सहकारीमा बचत गरिरहेका सेयर सदस्यको बचत रकम फिर्ता गर्न नसकेको गुनासो दर्ता हुन थालेपछि बनेपा नगरले जिल्ला सहकारी सङ्घमार्फत नगरभित्रका सहकारीको वास्तविक अवस्थाका बारेमा जानकारी लिन गरेको अनुगमनमा दर्ता भएकामध्ये ७७ वटा सहकारी संस्था बितेको चार महिनाको अवधिमा बेपत्ता भएको पाइएको सङ्घले जनायो ।

प्रतिवेदनमा केही सहकारीले कारोबार सुधार गर्न नसकेको बताएका छन् भने केही सहकारीमा २० वर्षसम्म एउटै अध्यक्ष, परिवारका सदस्य सञ्चालक र कर्मचारी, विनियम फरक–फरक, विनियममा केरमेट, विनियमबिना सञ्चालन भएकोजस्ता समस्या देखिएको उल्लेख गरिएको छ । यस्तै कार्यक्षेत्रभन्दा बाहिर सदस्य र कारोबार गरेकोजस्ता समस्या पनि सहकारीमा देखिएकाले तत्काल नगरपालिकाले त्यस्ता सहकारीलाई नियमन गर्न विज्ञहरूको समूहले प्रतिवेदनमार्फत सुझाव दिएको हो । हाल बनेपाका केही सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएका छन् ।

डिभिजन सहकारी कार्यालयका अनुसार बनेपामा १४ वटा सहकारी एकीकरण भएका छन् भने १९ वटा सहकारी प्रदेशअन्र्तगतका छन् । चौसठ्ठीवटा सहकारीका कुनै कार्यालय र बोर्डसमेत नभएको र छवटा सहकारीले नियामक निकायमा प्रतिवेदन नबुझाएका जनाइएको छ । बनेपाको तीन सहकारीले नगरको अनुगमन टोलीलाई अनुगमन गर्न नदिएको सङ्घका अध्यक्ष जङ्गमले गुनासो गर्नुभयो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले हालको अवस्थामा सहकारीलाई नियमन गर्ने निकाय सक्रिय रहनुपर्ने आवश्यकता औँल्याउँदै बचतकर्ताको रकम जोखिममा पारेर भागेका सहकारीका सञ्चालकलाई नियमतः कारबाही गरी बचत फिर्ता गर्नुपर्ने बताउनुभयो । बनेपा नगरप्रमुख शाक्यले नगरपालिकाभित्र भएका सबै सहकारीको वास्तविक तथ्याङ्कसहितको अवस्था प्राप्त भएकाले तत्काल यसको नियमन तथा सुधारका लागि योजना बनाउने बताउनुभयो ।

नगर उपप्रमुख विमला सापकोटाले नगरले सुरु गरेको सहकारीहरूको वास्तविक अवस्था अध्ययन गरी बचतकर्ताको बचत सुरक्षित बनाउन तथा ऋण तिर्ने वातावरण बनाउन समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार अनधिकृतरूपमा सञ्चालित केही सहकारीको सम्पत्ति नगरमार्फत रोक्का गरिएको छ ।

सभामुखद्वारा इजरायलमा आक्रमणमा परी मृत्यु भएका नेपालीको शव तत्काल स्वदेश ल्याउने व्यवस्था मिलाउन आग्रह

काठमाडौँ – सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ ।

सभामुख घिमिरे आज जारी गर्नुभएको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दुःख प्रकट गर्दै उक्त आग्रह गर्नुभएको हो ।

शोक वक्तव्यमा भनिएको छ, “सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्कन चाहनेलाई सोहीबमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि आग्रह गर्दछु ।”

सभामुख घिमिरेले विद्रोही आक्रमणमा घाइते भई स्थानीय अस्पतालमा उपचाररत नेपालीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीनको खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै जीवन गुमाउनेहरूको परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त महानिरीक्षक अमेरिका प्रस्थान

काठमाडौँ, २४ असोज ः सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ ।अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीसमेत त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नुभएको छ ।

यस्तै निमित्त प्रहरी महानिरीक्ष, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन मङ्गलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । उक्त टोलीमा उहाँका साथमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहनुभएको छ ।

सम्मेलनमा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरूप मानव बेचबिखनका पीडितको सशक्तीकरण र विश्वास अभिवृद्धिलगायत विविध विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुभएको छ ।

यसअघि यही असोज २० गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतसहित चार सदस्यीय टोली संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको थियो । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन उहाँहरू जानुभएको हो ।
 

सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ : सांसद तिवारी

काठमाडौँ – “मुलुकमा अहिले उठिरहेका प्रमुख एवं समसामयिक मुद्दालाई सदनमा निरन्तर प्रवेश गराउन कोसिस गरेका छौँ, तर हामीलाई समय दिइन्न, पाइनुपर्ने समय पनि घटाइन्छ, प्रश्नको जवाफ आउन्न, अहिले सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ ।”

सांसदसँग रासस संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ लक्ष्मी तिवारीले सदनका नाममा राज्यको ढुकुटीबाट दैनिक रु १० लाख खर्च भए पनि त्यहाँ हुने सबै गतिविधि बजेट सक्न गरिएको नाटक मञ्चनजस्तो भान भएको प्रतिक्रिया दिनुभयो ।

चालु संसद् अभ्यासबारे उहाँ भन्नुहुन्छ, “नियत ठीक भए हामीले बोल्नै पर्दैन, उठाइएका विषयको सुनुवाइ छैन, एक दिन बैठक हुन्छ, पाँच दिन खाली ! यो बीचमा जिल्ला पुग्न पनि गाह्रो छ । यहाँ बसौ विजनेस दिइन्नँ, सदन चल्दैन ।”

भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्दै सुशासन प्रवर्द्धनलाई मुख्य मुद्दा बनाएर छोटो राजनीति अभ्यासबाट सदनमा प्रवेश गरेको रास्वपालाई सरकारका काम र अहिले सदनमा भइरहेको अभ्यास चित्त नबुझेको सांसद तिवारीको भनाइ छ ।

सामाजिक अभियन्तासमेत रहनुभएकी १५ वर्षदेखि व्यक्तिगत तथा सङ्घसंस्थामा आबद्ध भई सामाजिक विकास, सचेतना, मानवअधिकार तथा महिला अधिकार र विविध मुद्दामा पैरवी गर्दै आउनुभएको छ । आमाको नामबाट नागरिकता दिलाउने व्यवस्थाका लागि लामो समय सङ्घर्ष गर्नुभएकी उहाँ यतिबेला भने त्यही कानुन बनाउने प्रमुख थलो सदनमा हुनुुहुन्छ ।

मुलुकमा भएका संविधान र कानुनको पहिले कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै नेतृ तिवारी भन्नुहुन्छ, “विद्यमान कानुन कार्यान्वयनमा जाँदा कुन जाति, भाषा, धर्म, व्यक्ति र समुदायलाई अप्ठेरो पर्यो, त्यसका आधारमा नयाँ कानुन बनाएर जान सकिन्छ, तर पहिले भइरहेका कानुन त कार्यान्वयन गरौँ ।”

संसद्मा प्रवेश पाएको विधेयक संसदीय समितिमा गहन छलफल गरी सदनमा लैजानुपर्नेमा स्वाभाविक प्रक्रियाका चरण नै उल्लङ्घन भएको आरोप लगाउँदै नेतृ तिवारीले नयाँ कानुन बनाउँदासमेत आवश्यक छलफल र बहस हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

सदनमा रास्वपाका सांसदहरूले राष्ट्र, राष्ट्रियता र जनहितका मुद्दालाई प्रखररूपमा उठाइरहेको दाबी गर्दै उहाँले आफूहरूले जनताका आवाज उठाएकाले त्यसलाई सम्बोधन गर्नु राज्यको प्राथमिक दायित्व भएको धारणा राख्नुभयो । पहिलोपटक सदनमा पुगेकाले अभ्यासका क्रममा आफूहरूबाट पनि कतिपय कमी–कमजोरी हुनसक्ने उल्लेख गर्दै सांसद तिवारीले प्रारम्भिक दिनको तुलनामा अहिलेसम्म आइपुग्दा अनुभवले धेरै निखारपन आएको विचार प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी चाहन्छाँै, जनता र देशको सर्वाेत्तम हित होस्, त्यसका लागि प्राप्त हुने सबैको सहयोग, सुझाव र असल अभ्यासलाई ग्रहण गर्छाँै, निरन्तर आवाज उठाउँछौँ ।” भ्रष्टाचार र सुशासनका मुख्य एजेण्डा कार्यान्वयन गराउन पार्टी अडिग रही आवाज बुलन्द गरिहेको बताउँदै सांसद तिवारीले नागरिक पनि राज्यबाट प्राप्त हुने सेवा–सुविधा लिने प्रक्रियाबारे जानकार हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले एउटा जनप्रतिनिधिका रूपमा आफूले निरन्तररूपमा सामाजिक मुद्दा, मानवअधिकार, महिला अधिकार तथा न्यायका लागि आवाज उठाइरहने बताउनुभयो । संविधानले महिलाको हक तथा अधिकारका लागि सकारात्मक व्यवस्था गरे पनि कार्यान्वयन चरणमा अझै समस्या रहेको बताउँदै नेतृ तिवारीले महिलालाई बोल्न दिइए पनि अवसरबाट बञ्चित गरिँदै आएको घटना सुनाउनुभयो ।

महिला, बालकालिका, ज्येष्ठ नागरिक र युवासमेत आधारभूत र असल शिक्षाको अभावमा जीवन नै बर्बाद हुने गलत बाटोमा संलग्न भइरहेका उदाहरण प्रस्तुत गर्दै नेतृ तिवारीले सामाजिक अभियानका माध्यमबाट पनि त्यसमा सुधार ल्याउन सकिने अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “देशले अवलम्बन गरेको हालको शिक्षा नीति ठीक छैन, मुलुकमै बसेर राष्ट्रसेवा गर्नेभन्दा विदेश पलायनका लागि युवा विद्यार्थीलाई प्रेरित गरिरहेको छ, यसमा व्यापक सुधारको खाँचो छ ।” जनताले विकल्पसहितको परिवर्तन खोजेकाले पुराना दलकै कारण युवाले राजनीतिमा प्रवेश पाएका प्रसङ्ग उल्लेख गर्दै उहाँले साँच्चिकै देश निर्माणको अभियानमा जुट्ने हो भने युग सुहाउँदो कानुन निर्माणका साथ पुरानाका अनुभव र नयाँपुस्ताको गतिलाई पक्रनुपर्ने बताउनुभयो ।

वालिङ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

वालिङ (स्याङ्जा), २४ असोज ः स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ । सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो ।

“सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदै जाँदा विद्यालयमा बालबालिका तथा अभिभावकको आकर्षण घट्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा सरकारले गरेको लगानीअनुसारको नतिजा प्राप्ति गर्नमा सहयोग पुर्याउने उद्देश्यसहित खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्ने तयारीमा छौँ ।”

नगरभित्र १६ माध्यमिक तह र ५६ आधारभूत तह गरी ७२ वटा सामुदायिक विद्यालय रहेका छन् । बहत्तर सामुदायिक विद्यालयमध्ये पहिलो चरणमा माध्यमिक तहतर्फका आठवटा विद्यालय र आधारभूत तहतर्फका आठ गरी कुल १६ विद्यालयमा शैक्षिक योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गरिने भएको हो ।

“पहिलो चरणमा १६ वटा विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्छौँ”, उहाँले भन्नुभयो, “खुला प्रतिस्पर्धाबाट नियुक्ति हुँदा विद्यालयको शैक्षिक गुणस्तरका लागि प्रभावकारी भूमिका खेल्न सक्ने विश्वासमा छौँ ।” नगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएकाले जनप्रतिनिधि तथा सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन प्रेरित गरिने उहाँले बताउनुभयो ।

प्रअ नियुक्ति हुनका लागि शिक्षकले माध्यमिक तहमा कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको वा १० वर्ष स्थायी सेवा र स्नातक उत्तीर्ण गरेकालाई प्रधानाध्यापक नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको शिक्षा अधिकृत दुर्गा न्यौपानेले बताउनुभयो । आधारभूत तहमा प्रअ हुनका लागि शिक्षा विषयमा कम्तीमा स्नातक गरेको हुनुपर्नेछ ।

चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

मलेखु (धादिङ), २४ असोज : चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् ।राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित तीनवटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकाय एक भएर अघि बढ्ने मङ्गलबार संयुक्त निर्णय गरेका छन् ।

राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा ‘स्पिड लाइन’सहित ट्राफिक सङ्केत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजना तथा निर्माण व्यवसायीलाई निर्देश गर्नुभयो ।जिल्लाभित्रका अन्य सडकमा समेत सहज ढङ्गले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मतसम्भारलाई तीव्रता दिई अवरुद्ध रहेका सडक तत्काल सुधार गराउन एवं सञ्चालनमा रहेका सडकको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय÷आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।चाडपर्वको समयमा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो आउन नदिने गरी आवश्यक सङ्ख्यामा सवारीको व्यवस्था गर्न सम्बन्धित व्यवसायी पनि सहमत भएका छन् । चाडपर्वका समयमा मानिसको आवतजावत बढेसँगै सवारी चापसमेत वृद्धि हुने र सवारी दुर्घटना बढ्न सक्ने हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारीको नियमित प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमितरूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।राजमार्गको यात्रा सुरक्षित बनाउन र सड़क दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यक्रमसहित नियमित जाँचलाई तीव्र बनाइरहेको छ । चालक सहचालकले मादक पदार्थ सेवन गरेर सवारी हाँकेको भेटिए अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा असुलेको फेला परे ठगी गरेको कसुरमा मुद्दा चलाइने धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

जुम्लामा भित्र्याउने बेलाको मार्सीधानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण

जुम्ला, २४ असोज- जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताउनुभयो ।

उहाँको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो । त्यही उत्पादनले वर्षभरि पुग्थ्यो । खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । तातोपानीको वडा नं ४, ५ र ६ मा मार्सीधान उत्पादन हुने फाँटमा बढी ब्लाष्ट रोगले धैरे क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिनुभयो ।

अगामी कात्तिक महिनाको पहिलो सातादेखि धान भित्र्याउने जुम्ली किसान एक्कासी धानमा सङ्क्रमण भएको नेक ब्लाष्ट (घाँटी मरुवा) रोगले तातोपानीको अनुमानित करिब ८० हेक्टर धान बालीमा क्षति गरेको उहाँले बताउनुभयो । सबैभन्दा धेरै तातोपानी–५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसान बढी सो रोगबाट मारमा परेको स्थानीयवासी पूर्णप्रसाद चौलागाईँको भनाइ छ ।

कार्यापालिकाको बैठकबाट पालिकाभित्रका किसानलाई उचित राहत प्रदान गरिने उपाध्यक्ष रेवती रावलले बताउनुभयो । चन्दननाथ नगरपालिकाको–९ मा पनि उक्त रोगले धान बालीमा असर गरेको किसान बताउँछन् ।

जिल्लामा अहिले तीन हजार हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समयमा स्वदेश तथा विदेशबाट जुम्ली मार्सी धानको चामल अत्यधिकरूपमा माग हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालन गरेको अग्र्यानिक पसलका सञ्चालक बताउँछन् ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।साथै कोशी र मधेश प्रदेशका एक -दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ

एमाले मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

जनकपुरधाम, २४ असोज : नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो ।

उहाँले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिनुभयो । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।

हेर्नुहोस् असोज २४ गते बुधवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

बृष राशि – अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीथुन राशि – सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि – मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

तुला राशि – प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि – मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि – पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि – बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मीन राशि – ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु ,संरचना भत्काउन थालियो

बेनी, २४ असोज : म्याग्दी सदरमुकाम बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु भएको छ । बेनी नगरपालिकाले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको हो ।

पटक–पटकको अनुरोध र सार्वजनिक सूचनालाई अटेर गरेपछि नगरपालिकाले बेनीको अस्पतालचोकबाट सडक मापदण्डलाई कार्यान्वयनमा ल्याउनका लागि अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ । सडक मिचेर बनाइएका र अव्यवस्थितरूपमा बनाइएका पेटी, सिँढी भत्काउने र सडकलाई पराकिलो बनाउन काम अघि बढेको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

नगरपालिकाले डोजर लगाएरै अतिक्रमित संरचना भत्काउन थालेको छ । अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन जनप्रतिनिधिले समन्वय गर्ने गरी डोजर र नगर प्रहरीलाई परिचालन गरिएको उहाँले बताउनुभयो ।

बेनी बजारलाई अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत नगरपालिकाका प्रमुख सुरत केसीको शिक्षामार्ग र महारानीथानमा आफ्नै लगानीसमेत रहेको माउण्ट एभरेष्ट आवासीय माविले मिचेको सडक र घरको अव्यवस्थित पेटी भत्काएर अभियान सुरु गरिएको थियो ।

नगरपालिकाले वडाका जनप्रतिनिधिसहितको टोली खटाएर करिब पाँच महिना अगाडि घरमा मोटरसाइकल लैजान सडक छेउछाउका घरधनीलाई अव्यवस्थितरूपमा बनाइएका सडकपेटी आफैँ हटाउन भनी सार्वजनिकरूपमा ‘रेडमार्क’ लगाए पनि घरधनीले अटेर गरेपछि नगरपालिका आफैँले बाध्य भएर डोजर चलाएर अव्यवस्थित सडकपेटी हटाउन सुरु गरेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा साँघुरो सडक र त्यही सडक मिचेर पेटी तथा अस्थायी संरचना, पाली बनाएपछि हिँडडुल गर्न अप्ठेरो भएको थियो । सडकपेटीका कारण पैदलयात्रीलाई निकै सास्ती भएको थियो । नगरपालिकाले बजारभित्र अस्थायी र सार्वजनिक संरचनामा व्यवसाय सञ्चालन गरिरहेकालाई समेत धमाधम हटाउन थालेको छ ।

नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थितरूपमा रहेका बिजुली, केबल र इन्टरनेटका पोल तथा तारसमेत व्यवस्थित गरिसकेको छ । बेनीको वीरेन्द्रचोक, कालीपुल बसपार्क, हस्पिटलचोक, हाँडेभिर क्षेत्र तथा बेनी बजारभित्र पनि धेरै ठाउँमा मापदण्डविपरीतका संरचना छन् । नगरपालिकाले यो आर्थिक वर्षभित्र सबै संरचना हटाउने अभियानअन्तर्गत वीरेन्द्रचोकमा रहेको १५ सटर पसल तथा ट्याङ्की, बसपार्क, कालिपुल, पिपलचोकमा व्यापारिक प्रयोजनको संरचना हटाइसकेको छ ।

इजरायलमा मृत्यु भएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने

जनकपुरधाम, २४ असोजः मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्नुहुँदै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको सङ्ज्ञा दिनुभयो ।

विज्ञप्तिमा भनिएको छ “त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु । ”

स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा-सेवा प्रभावित, सरकार मौन

काठमाडौं । एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा रहँदासमेत सरकारले बेवास्ता गर्दै आएको छ । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका कर्मचारीको माग सम्बोधन नहुँदा स्थानीय तहको सेवा प्रभावित भएको छ ।

संघीयता विज्ञ खिमलाल देवकोटाले सरकारले आन्दोलनरत् कर्मचारीलाई बार्तामा बोलाई समाधान खोज्नुपर्ने बताए । उनले स्थानीय तहको माग उचित वा अनुचित जे भए पनि बार्ता गर्नुपर्ने र प्रहरी लगाएर दवाउनु नहुनेमा जोड दिए । उनले भने– ‘संविधान विरोधी छ भने पनि वार्ता गरी ठिक र बेठिक छुट्याउनु पर्छ ।’

उनले काठमाडौंको मुटुमै ट्राफिक व्यवस्थामा प्रत्यक्ष असर हुने गरी आन्दोलन हुँदा पनि सरकार मूकदर्शक भएर बस्नु नहुने धारणा व्यक्त गरे । यस्तै, संघीयमा मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले विभिन्न चरणमा छलफल भएर संघीय निजामती विधेयक मन्त्रिपरिषद्बाट पारित भई सांसदमा छलफलको क्रममा रहेकोले विधेयकमा भएको व्यवस्थाका विषयमा केही गर्न नसकिने बताए । उनले मन्त्रालयले आन्दोलनरत् कर्मचारीहरूलाई वार्ताका लागि बोलाएको र धेरै मागहरू निजामती विधेयकमा समेटिएको समेत दाबी पनि गरे ।

यसै गरी पूर्व सचिव कृष्णहरि बाँस्कोटाले सरकारले ७ वर्षसम्म निजामती ऐन ल्याउन नसकेकोले केही वर्षका लागि एकीकृत ऐन ल्याएर सबै कर्मचारीलाई समान व्यवहार गर्नुपर्ने बताए । संघीय लोकसेवा र प्रदेश लोकसेवा एकै प्रकृतिको भएको हुनाले समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै उनले भने– ‘अहिलेसम्म पनि पुरानो कानुनले नै चलेको हुनाले फेरि पनि एकीकृत कानुन ल्याउँदा कुनै फरक पर्दैन ।’यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् ।नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भनिरहेका बेला आफूहरू भने इजरायल–इजिप्टको बोर्डरमा अलपत्र अवस्थामा रहेको सुरज भण्डारीले जानकारी दिए ।

‘अहिले हामी करिब ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डर काडेस बर्नियामा छौं,’ सुरजले भने, ‘यो मरुभूमि नै हो ९रामत नेगेभ०, इजिप्ट र इजरायलको सम्बन्धमा मैले पहिला नै भनिसकेको छु, अब सुरक्षित र असुरक्षितको कुरा आफै बुझ्नुहोस् ।’यस ठाउँमा कुनै पनि बंकर नरहेको र आर्मीहरू त्यहाँभन्दा गाजा र लेबनानसहित मुख्यमुख्य सहरमा केन्द्रित रहेकाले आफूहरू यहाँ असुरक्षित रहेको भन्दै तत्काल उद्धार गर्न उनीहरूले माग गरेका छन् ।‘हामीले हामी रहेको ठाउँमा रहेका इजरायली व्यक्तिसँग यहाँ आक्रमण हुँदा के गर्ने भनेर प्रश्न सोधेका थियौं,’ उनले इजरायलीको भनाइ उद्धृत गर्दै भने, ‘तिमीहरू अहिले अलुमिनियमको कोठामा छौं, यहाँ बंकर छैन, जमिनबाट आक्रमण भयो भने हामी ३०÷४० जना जति यहाँको सुरक्षाका लागि बसेका छौं, आफ्नो देश हो हाम्रो यो, हामी ज्यानको प्रवाह नगरी लड्नेछौं, ज्यान जाओस् हामी उनीहरूसँग लड्छौं ।’सुरजले उनीहरूको भनाइ उद्धृत गर्दै भने, ‘अब आकाशको कुरा, तिमीहरू बसेको कोठाले हवाई आक्रमण रोक्दैन, यो अलुमिनियमको कोठा हो, त्यस्तो हुँदा सबै सँगै नबस्नुहोला, जति जना छौ बाहिर (ओपन स्पेस) मरुभूमिमा भाग्नुहोला, त्यस्तो हुँदा बाँच्ने सम्भावना रहन्छ, अब आफूमाथि तोप गोला पनि नपर्ने भनेको आफ्नो भाग्यको कुरा हो, भाग्यमा कहिलेसम्म लेखेको छ, त्यही हुने हो, सकेसम्म सँगै नबस्नु, बाहिर चारैतिर फिँजिएर मरभूमिमा भाग्नुहोला ।’नेपाल सरकार र दूतावाससँगको कुराकानीबाट प्रस्ट के देखिन्छ भने यहाँ रहेका २ सयभन्दा बढी विद्यार्थीबाट केही २०–२५ जनालाई उद्धार गरेको जस्तो गर्ने, बाँकी रहेका विद्यार्थीलाई केही समयपछि लग्ने आश्वासनमा यहीँ छाड्न लागेको उनीहरूको बुझाइ रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

दसैँ मनाउन थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ

काठमाडौँ । दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।”

अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दसैँका टिकट लिनेसमेत रहेको उनले बताए । दसैँका बेला राजधानीबाट बाहिरिने उडान भरिभराउ भए पनि राजधानी फर्किने उडानको टिकट लिनेको सङ्ख्या भने न्यून रहेको उनले बताए । अहिले राजधानी फर्किनेले टिकट सस्तो दरमा पाइरहेको समेत उनको भनाइ छ ।

त्यस्तै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दसैँ लक्षित यती एयरका ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । दसैँपछि राजधानी फर्कने यात्रुले अहिले नै अग्रिम टिकट काट्न थालेकाले दसैँपछि समेत राजधानी फर्कन अहिलेकै अवस्था रहने उनले बताए ।

उनले भने, “अहिले एकतर्फी उडानको भाडा महँगो भए जस्तै दसैँपछि पनि केही दिन त्यस्तै हुने हो । टिकटको मूल्य सरकारले तोकेको उच्चतम र न्यूनतम बिन्दुभित्रै रहने भएकाले आठ वर्षदेखि हवाई कम्पनीले बढाएका छैनन् ।”

अहिले अन्तर्राष्ट्रियतर्फ मात्रै ४० हाराहारीमा उडान थप गरिएकाले बढ्दो एयर ट्राफिकका कारण जहाजको उडान समय खर्चसमेत बढ्न गएको उनको भनाइ छ । हाल भैरहवा, पोखरा, जनकपुर, विराटनगर, धनगढीलगायतका गन्तव्यका उडानमा बढी चाप रहेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

जसपा अध्यक्ष यादव स्वदेश फिर्ता

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा भएको एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को अधिवेशनमा सहभागी
भई मंगलबार फिर्ता हुनुभएको छ ।

सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले अमेरिकाको न्यूयोर्क र भर्जिनियामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्नुभएको थियो । यही असोज १२ गते अध्यक्ष यादव अमेरिका प्रस्थान गर्नुभएको थियो ।

अध्यक्ष यादवलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यसमितिका अध्यक्ष पर्शुराम बस्नेत, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

काठमाडौं । विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गर्न लागेको हो ।

केही नेपाल ऐन संशोधन विधेयकलाई संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले परिमार्जनसहित पारित गरेपछि यो ऐन सदनबाट पारित हुन सहज हुने भएसँगै लाइसेन्स अनिवार्य हुने भएको हो ।

संशोधित ऐनमा लाइसेन्स नलिई घरजग्गा कारोबार गरेमा काराबाही हुने उल्लेख गरिएको छ । संशोधित ऐनमा लाइसेन्सको अवधि ५ वर्षको हुने र कारोबार गर्न चाहनेले दिएको निवेदनका आधारमा लाइसेन्स दिने उल्लेख गरिएको छ ।

अहिलेसम्म सरकारले घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स लिनुपर्ने प्रावधान राखेको थिएन । नयाँ व्यवस्थानुसार लाइसेन्स नलिई कारोबार गर्नेले २५ लाख रुपैयाँ जरिमाना तिर्नुपर्नेछ । यसका साथै ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था पनि ऐनमा उल्लेख गरिएको छ । यसअघि १० लाख रुपैयाँसम्म जरिमानाको प्रस्ताव गरिएकामा संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिसम्म आइपुग्दा २५ लाख गरिएको हो ।

यसअघि घरजग्गा व्यवसाय र कारोबारका लागि कुनै अनुमतिपत्रको व्यवस्था नभएकामा मालपोत ऐन, २०३४ संशोधनमार्फत अनुमतिपत्रको व्यवस्थालाई अनिवार्य गर्न लागिएपछि खुलम खुला रूपमा कारोबार गरिरहेका घरजग्गा दलालहरू तर्सिएका छन् । यो ऐन सदनबाट पारित भएपछि घरजग्गा दलालहरूले लाइसेन्स लिनुपर्नेछ वा लाइसेन्स प्राप्त कम्पनीमार्फत मात्र कारोबार गर्नुपर्नेछ ।

यस व्यवस्थासँगै घरजग्गा कारोबार व्यवस्थित हुने अपेक्षा गरिएको छ । यसले गर्दा घरजग्गा कारोबारबाट राजस्व बढ्ने अपेक्षा पनि गरिएको छ । सरकारले पेस गरेको सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने केही नेपाल ऐन संशोधन विधेयकलाई संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमितिले विधेयकको प्रतिवेदन मूल समितिमा पेस गरेसँगै यसको चर्चा उठ्न थालेको हो ।

घरजग्गा कारोबार लाइसेन्स नलिईकन गरेको पाइएमा सरकारवादी भई मुद्दा लड्ने विधेयकमा उल्लेख गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग मंगलबार टेलिफोन वार्ता गर्नुभएको छ । त्यस क्रममा उहाँले आतङ्कवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले नेपाल सरकार र जनताका तर्फबाट आफ्ना इजरायली समकक्षीप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्दै आतङ्कवादका हरेक रुप र प्रकटीकरणका विरुद्ध नेपाल दृढताका साथ उभिएको बताउनुभयो । साथै उहाँले उक्त आक्रमणको निन्दा गर्नुभयो ।परराष्ट्रमन्त्री साउदले ज्यान गुमाएका नेपालीको शव नेपाल पठाउन आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गर्नाका साथै घाइते भएका चार जनाको उपचार तथा सम्पर्कविहीन भएका एक नेपालीको अवस्था पत्ता लगाइदिन विदेशमन्त्री कोहेनसमक्ष विशेष अनुरोध गर्नुभयो । इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपालीलाई आवास, भोजन एवं सुरक्षाको प्रबन्ध गर्न पनि उहाँले कोहेनसँग आग्रह गर्नुभयो ।आफ्नो मन्त्रालयले तेलअबिबस्थित नेपाली राजदूतावाससँगका समन्वयमा इजरायलमा रहेका नेपालीको विवरण सङ्कलन गरिरहेको तथा घर फर्कन चाहनेहरूको पूर्ण विवरण तयार भएपछि सहजीकरणका लागि पुनः इजरायल सरकारसँग आग्रह गर्ने जानकारी मन्त्री साउदले आफ्ना समकक्षी कोहेनलाई दिनुभएको थियो ।प्रत्युत्तरमा इजरायलका विदेशमन्त्रीले नेपाल सरकार, नेपाली जनता र मृतकका परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै आतङ्कवादीका कारण आफ्नो देश कठिन अवस्थामा रहेको जानकारी मन्त्री साउदलाई दिनुभएको मन्त्रालयले बताएको छ ।मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल पठाउन, इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न तथा स्वदेश फर्कन चाहने नेपालीलाई इजरायल सरकारले उच्च प्राथमिकताका साथ सहयोग गर्ने बताउनुभएको उक्त मन्त्रालयले जनाएको छ ।

भारतको सिक्किममा बेपत्ता नेपालीको खोजी गर्न अपिल

मङ्गलबारे (इलाम)- भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजिका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरुको खोजीका लागि अपिल गरिएको जानकारी दिनुभयो । असोज १७ गते टिस्टा नदीमा बाढी आएपछि सो क्षेत्रमा काम गर्न गएका इलामका पाँच जना सम्पर्कविहीन छन् ।

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतल हालसम्म सम्पर्कविहीन छन् । बाढी गएको स्थानमा टेलिफोन र विद्युत् अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको भारतीय निकायले जानकारी गराएको प्रजिअ पोखरेलले बताउनुभयो ।

आन्दोलन रोकेर वार्तामा आउन स्थानीय तहका कर्मचारीलाई सरकारको आग्रह

काठमाडौँ, २३ असोज : सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो ।

कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् ।

झापामा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने भन्दै घुस लिने तीन कर्मचारी पक्राउ

झापा, २३ असोज : झापामा भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउपरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीनैजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार आयोगबाट काजमा खटिएका भूमि आयोगका कर्मचारी मोहन नेपाल, विवेक पोखरेल र कमल खनाललाई पक्राउ गरिएको हो । हल्दिबारी–१ का गणेशप्रसाद पौडेलको भोगचलनमा रहेको १२ कठ्ठा ऐलानी जग्गाको मोठ कायम गरिदिने भन्दै घुसवापत रु ४० हजार रकम लिएको आरोपमा तीनैलाई प्रहरीले पक्राउ गरेको हो ।प्रजिअ पोखरेलका अनुसार जग्गाको नापी गर्दा लाग्ने राजस्व रकम बैंकमा बुझाउन लगाएपछि आयोगका ती कर्मचारीले रु ४० हजार नगद नै लिएका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले रकमसहित पक्राउ गरेको हो । पीडित पौडेलले घुस लिएका कर्मचारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ । प्रहरीले पक्राउ परेका सबै कर्मचारीको बयान लिएर अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ, २३ असोज : इजरायलमा अध्ययन गरी फर्केका नेपालीहरूको सङ्गठन सलोम क्लब नेपालले गत शनिबार इजरायलमा आतङ्ककारी सङ्गठन हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनामा बौद्धनाथ स्तुपमा दीप प्रज्वलन गरेको छ ।

क्लबका कार्यवाहक अध्यक्ष कपिलदेव रेग्मीलगायत क्लबका पदाधिकारी, साधारण सदस्य तथा इजरायलका मित्रहरूको सहभागितामा भएको उक्त कार्यक्रममा सयौँले एक मिनेट मौन धारण गरेका थिए ।उक्त आक्रमणमा ज्यान गुमाएका नेपालीका साथै इजरायलीलगायत सबैको आत्माको चिरशान्तिको कामना गरिएको थियो । नेपालका शैक्षिक प्रतिष्ठानमा स्वयंसेवा गर्न आएका इजरायली विद्यार्थीको पनि कार्यक्रममा सहभागिता थियो ।यसैबीच, क्लबले एक विज्ञप्ति निकालेर आतङ्कवादी हमलाको निन्दा गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

बागमती मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

मकवानपुर, २३ असोज : बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम, सिमान्तकृत चेपाङ, वनकरिया माझी र बोटे समुदाय एकीकृत बस्ती तथा आवास कार्यक्रम कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने उक्त कार्यक्रमका लागि मन्त्रिपरिषद् बैठकले कार्यविधिलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।बैठकले बागमती प्रदेशको वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । बैठकले आज राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो । बैठकले प्रदेशसभाको १२औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले अधिवेशन अन्त्य गर्नुहुने बताइएको छ ।

समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको छ, अध्यक्ष नेपाल

देउखुरी (दाङ), २३ असोज : नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गर्नुभएको छ । एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले अघि सारेका नीति र कार्यक्रमका बारेमा जनताले बुझ्दै गएकाले पार्टीमा जनताको भरोसा बढ्दै गएको दाबी गर्नुभयो । जनताका कुरा सुन्न र उनीहरुको भरोसालाई अझ बलियो बनाउन कोशे ढुङ्गा सावित हुने पनि उहाँको विश्वास थियो । “अभियानले जनताका कुरा सुन्ने र पार्टीलाई जनतासँग जोड्न भूमिका खेल्नेछ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशाका बारेमा जनतालाई बुझाउँदै समाजवादी पार्टी निर्माणको अभियानमा जोडिन सबैलाई आग्रहसमेत गर्नुभयो । अब नेपालमा समाजवादी कम्युनिष्ट भन्दा अरुको विकल्प नभएको भन्दै पार्टीलाई जिल्ला–जिल्ला, नगर–गाउँ–गाउँसम्म पु¥याउने अभियानको लक्ष्य रहेको बताउनुभयो ।

यसैगरी, उहाँले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्न मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको पनि बताउनुभयो । सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले जनतासँग नजोडिएर देशको विकास गर्न नसकिने बताउनुभयो ।

कार्यक्रममा नेकपा समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको विकासका लागि कृषि क्षेत्रको विकास हुन आवश्यक रहेको बताउनुभयो । कृषि क्षेत्रको विकास बिना देशको विकास सम्भव नहुने र युवा जनशक्ति विदेशीने क्रम नरोकिने बताउनुभयो । उहाँले देशमा कृषि क्रान्ति गर्न र युवालाई देश रोक्ने वातावरण निर्माण गर्न किसानलाई सहकारीका माध्यमबाट संगठित गर्दै कृषिको विकासमा लगाउन आवश्यक रहेको बताउनुभयो ।

राज्यले किसानलाई मल, बीउ, प्राविधिक जनशक्तिसँगै उत्पादन भएको अन्य तथा तरकारी स्टोरका लागि कोल्डस्टोर देशका ठाउँ–ठाउँमा निर्माण गरेर सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । नेता खनालले संविधानले नेपाली जनतालाई हक दिए पनि अझै धेरै विभेद कायम रहेको भन्दै हिजोको सामन्ती वर्गको शोषण अन्त्य भए पनि अहिले पूँजीपति वर्गले गरिव वर्गलाई शोषण गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न नसक्दासम्म देशको आर्थिक समृति नहुने बताउनुभयो । देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको भन्दै महासचिव खनालले किसानले उत्पादन गरेको हरेक वस्तुको बिक्रीको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताउनुभयो । कृषिको विकास गर्न सके आगामी पाँच वर्षमा कम्तीमा पनि जनताले परिवर्तनको अनुभूति गर्न सक्ने दाबी गर्दै महासचिव भुसालले देशमा कृषिको राम्रो सम्भावना रहेको हुँदा यसमा राज्यले विशेष नजर पुग्नु जरुरी रहेको औँल्याउनुभयो ।

समाजवादी पार्टीका उपमहासचिव एवं भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले एकीकृत समाजवादी पार्टीबाट जनताले ठूलो आशा गरेको र सोहीअनुसार काममा खटिएको बताउनुभयो । देशको विकाससँगै सुशासन कायम र भ्रष्टाचार अन्त्यलगायत कुरामा समाजवादी प्रतिबद्ध रहेको तथा देश र जनताको हितविपरित कुनै पनि गतिविधि नगर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पार्टी सचेतक मेटमणि चौधरीले देश र जनतालाई प्राथमिकतामा राखेर विकास र निर्माणको काम गर्ने सच्चा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मात्रै भएको दाबी गर्नुभयो । एकीकृत समाजवादी पार्टीकै कारण अहिले सरकारले सफलता प्राप्त गर्नेदेखि सुशासन कायम, भष्टाचारको अन्त्यलगायत सकारात्मक कामहरु गरिरहेको बताउनुभयो ।

अवाञ्छित गतिविधि रोक्न एक सय बाइस ठाउँमा प्रहरी कक्ष

काठमाडौँ, २३ असोज : चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ । भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष राखिएको स्थापना गरिएको छभने भारततर्फ ३० स्थानमा स्वास्थ्य कक्ष र चीनतर्फ ३ स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले राससलाई जानकारी दिनुभयो ।

प्रवक्ता खड्काका अनुसार दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपत्मा परेका नागरिकको उद्धारमा सहयोग पु¥याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्व लक्षित सहायता कक्ष सुनसरीको पकलीस्थित बराह बाहिनी मुख्यालयअन्तर्गत २५, सप्तरीको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी ५३, गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत दुई, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत दुई, विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीअन्तर्गत १९, महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत एउटा र वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।

महोत्तरी, रुपन्देही, सुनसरी, सप्तरी, कैलालीलगायत भारतसँगको सीमानाकामा स्वास्थ्य सहायता कक्ष पनि स्थापना भएका छन् । सहायता कक्ष र स्वास्थ्य सेवा कक्ष अन्य स्थानमा पनि स्थापना गर्न आवश्यक देखिए तदनुरुप हुने प्रवक्ता खड्काले बताउनुभयो । चाडपर्वको बेला सीमानाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाटजस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न सहायता कक्ष स्थापना गरिएका हुन् ।

सीमानाकाबाट आवतजावत गर्ने क्रममा कुनै पनि नागरिकमा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

‘स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा दातृ निकायको सहयोग आवश्यक’ – मुख्यमन्त्री पाण्डे

गण्डकी, २३ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा दातृ निकायको सहयोग आवश्यक भएको बताउनुुभएको छ ।

नेपालका लागि जापानी राजदूत किकुता युताकासँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पाण्डेले प्रदेशको स्रोतसाधनले मात्रै सबै काम गर्न सम्भव नभएको तथा भौगौलिक विकटताका कारण पनि पूर्वाधार निर्माण खर्चिलो भएको बताउनुुभयो । विभिन्न देश र दातृ निकायको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गति सँगसँगै लैजानुपने उल्लेख गर्दै उहाँले नेपालमा जापान सरकारले गरेका सहयोगको स्मरण गर्नुभयो ।

नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माण, विद्यालय निर्माणलगायत काममा जापान सरकारले महत्वपूर्ण सहयोग गरेको बताउनुुभयो । जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै उहाँले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेकामा जोड दिनुुभयो । विपद्को सामना गर्दै अघि बढेको जापानबाट नेपालले विपद् पूर्वतयारी र त्यसपछिको पुनःनिर्माण सिक्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भूकम्प, बाढीपहिरो जस्ता विपद्को क्षेत्रमा सहकार्यको अपेक्षा रहेको धारणा राख्नुुभयो ।

त्यस अवसरमा राजदूत युताकाले जापान सरकार र यस अन्तर्गतका दातृनिकायले नेपालमा निरन्तर गर्दै आएको सहयोग आगामी दिनमा पनि जारी रहने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारसँग सहकार्य हुने मुख्यमन्त्री पाण्डेलाई विश्वास दिलाउनुभयो । जापान सरकारले नेपालसँग दिगो सम्बन्ध राख्न चाहेको उहाँको भनाइ थियो ।

भेटघाटमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, प्रदेश सचिव बद्रीनाथ अधिकारी, निजी सचिव राजेन्द्र क्षेत्रीलगायतको उपस्थिति थियो ।

विश्वकप क्रिकेट : श्रीलङ्काद्वारा पाकिस्तानसामु ३४५ रनको लक्ष्य

काठमाडौँ, २३ असोज : भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत अहिले श्रीलङ्का र पाकिस्तानबीच खेल भइरहेको छ । श्रीलङ्काले पाकिस्तानसामु जितका लागि तीन सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । श्रीलङ्काका लागि कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले । मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए । उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए । उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे । उनले यस क्रममा सात चौका र एक छक्का हाने । धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए ।

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक एक विकट लिए । जारी विश्वकपमा श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।पाकिस्तानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

अर्थमन्त्री डा महत र आएएफसी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ, २३ असोज : विश्व बैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेशमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डाे पुलितीबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनएको छ । निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाको विकास गर्न र वित्तीय उपकरणहरू विविधिकरण गर्दै सार्वजनिक–निजी साझेदारी ढाँचामा परियोजना विकास गर्न आइएफसीले प्राविधिक सहयोग गर्ने विषयमा पनि उहाँहरूबीच छलफल थियो ।

अर्थमन्त्री डा महतले निजी पूँजी आकर्षित गर्न सूचना तथा सञ्चार, कृषि व्यवसाय, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने प्रशस्त अवसर रहेका जनाउँदै स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी गराउँदै कर्जा सूचना व्यवस्थापनसम्बन्धी कानुन निर्माणमा आएएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

आइएफसीका उपाध्यक्ष पुलितीले लगानीको वातावरण बनाउन नेपाल सरकारले गरेका प्रयासको सराहना गर्दै नेपालको सामाजिक–आर्थिक विकासका निम्ति सक्दो सहायोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।