`

पार्टी कमिटी चुस्त बनाउन माओवादी नेताको ध्यानाकर्षण

Nepal One HD २७ माघ २०८० २०:५०
प्रमुख खबर

काठमाडौँ, २७ माघ : नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्यहरुले पार्टीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सानो आकारका कमिटी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा प्रस्तावित विधान मस्यौदामाथि धारणा राख्दै सदस्यहरुले केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाउन उपयुक्त हुने बताउनुभएको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा धारणा राख्ने अधिकांश सदस्यले विधानको प्रस्तावनामा समाजवाद उन्मुख विचारधाराको अवधारणा समेट्न र समाजवादी मूल्य–मान्यता स्थापित गर्न त्यही अनुसारको मापदण्ड बनाइनुपर्नेमा जोड दिनुभएको थियो । प्रस्तावित मस्यौदामाथि आज २९ जनाले धारणा राख्नुभएको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले प्रस्ताव गरेको विधानमाथि माओवादीको स्थायी समिति बैठकमा छलफल भएको हो ।


प्रतिक्रिया