`

मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा म क्रियशील रहनेछु – कांग्रेस नेता भण्डारी

Nepal One HD २ फागुन २०८० ६:५०
राजनीति

पाटन (ललितपुर) – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताउनुभयो । उहाँले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँलाउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गर्नुभयो ।

विकाससँगै उपयोगिताबारे आमजनतामा जनचेतना फैलाउनुपर्ने भण्डारीको भनाइ थियो । “हामीले गरेको विकास जनतासम्म पुगेको छ । अब त्यसको उपयोगका बारेमा जनचेतना जगाउन आवश्यक छ । विकासको सही तरिकाले सदुपयोग नहुँदा यस्ता समस्या उत्पन्न भइरहेका छन्”, उहाँले भन्नुभयो ।

आगलागी, भूकम्प, बाढीपहिरोलगायत भवितव्यसम्बन्धी सुरक्षा सावधानीका विषय पाठ्यक्रममा नै समेटिनुपर्नेमा नेता भण्डारीले जोड दिनुभयो । सङ्घीय सरकारले जनलसम्बन्धी उपचार गर्ने गुणस्तरीय अस्पताल बनाउनुपर्ने भन्दै ललितपुर महानगरका प्रमुख, काठमाडौँका महानगरका प्रमुखलगायत मिलेर योजना अगाडि सानुपर्ने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले ३० देखि ४० प्रतिशतसम्मको जलनको मुलुकमा उपचार सम्भव नहुनु दुखद भएको बताउनुभयो । अहिले संसद्मा भवितव्यका पीडितलाई राज्यले उपचारको जिम्मेवारी लिनुपर्ने गरी कानुन निर्माण गर्न लागिपरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, स्व विप्लव अधिकारीका पिता ठाकुरनाथ अधिकारीलगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।


प्रतिक्रिया