`

आज विश्व मुस्कान दिवस, कसरी मुस्कुराइरहने ?

काठमाडौँ, १९ असोज : आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।

“सुन्दर र आकर्षक देखिन कसलाई मन हँुदैन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, “उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।”

मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । उहाँका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ ।

“मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी”, मनोविद् बिजुक्छेले भन्नुभयो, “मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो ।”

मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ । मुस्कानले आत्मविश्वास बढाउँछ ।

कसरी मुस्कुराइरहने ?

कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने मनोविद् बिजुक्छे बताउनुहुन्छ । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उहाँको सुझाव छ ।

“खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति हुनुहुन्छ । हाँसो उठ्दैन भने पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्छ”, मनोविद् बिजुक्छेले भन्नुभयो, “मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्ग्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ । त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ ।” उहाँका अनुसार यसरी मुखको मांशपेशीलाई तन्काएर भए पनि मुस्काउने वा हाँस्ने अभ्यासले बानीको विकास गर्छ ।

भूमि आयोगद्वारा छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

पाटन (ललितपुर), १९ असोज : राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो । समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका साथै गोदावरी–३, ७ र १२ का भूमिहीनलाई निस्सा वितरण गरिसकेको छ ।

निस्सा वितरण गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेको बताउनुभयो । “लोकतन्त्र र मानवतामा कोहीको भूमि हुने, कोहीको नहुने भन्ने हुँदैन । कसैको घटी, कसैको बढी होला । तर सबै नेपालीको भूमिमाथि अधिकार हुनुपर्छ”, उहाँले भन्नुभयो ।पहिलोपटक विपी कोइराला नेतृत्वको निर्वाचित सरकारले भूमिसुधार लागू गरेको उल्लेख गर्नुहुँदै नेता राणाले तीन–चारपटक भूमि सुधार नीति अगाडि बडेको तर्क गर्नुभयो ।गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताउनुभयो । भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरेले आयोगले सक्रियताका साथ काम गरिरहेको उल्लेख गर्दै पहिले सुकुम्बासी पहिचान गर्ने र प्रमाणित भएपछि स्थानीय तहले उपलब्ध गराएको स्थानमा जग्गाधनी पुर्जा वितरण गरिने बताउनुभयो । निस्सा वितरण कार्यक्रममा नगरउपप्रमुख मुना अधिकारी, वडाध्यक्ष आत्मराम थापालगायतको उपस्थिति थियो ।

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौँ, १९ असोज – चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो ।

नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज चाइपेईसित प्रतिस्पर्धा गर्दै छ ।

यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

‘चलचित्रमार्फत आम मानिसको कथा देखाउने गरेको छु’: निश्चल बस्नेत

काठमाडौँ-: नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैलीलगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लूट’ मार्फत निर्देशनमा उदाउनुभएको थियो– निश्चल बस्नेत । निर्देशकसँगै अभिनेता, गायकलगायतका विविध विधामा आफ्नो कौशलता देखाउनुभएका बस्नेतले नयाँ चलचित्र ‘दिमाग खराब’ तयार गर्नुभएको छ । कुनै समय पर्दा पछाडी रहेर काम गर्ने निर्देशक भए पनि पर्दा अगाडिका अभिनेताभन्दा बढी लोकप्रियता हासिल गर्नुभएका बस्नेतले निकै कम चलचित्र निर्देशन गर्नुभएको छ ।

आफूमा दर्शकले गर्ने विश्वासले पनि विषयवस्तु चयनमा समय लाग्ने गरेको उहाँले बताउनुभयो । “म आम मानिसकै कथा भन्न रुचाउँछु । त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो”, निर्देशक बस्नेतले भन्नुभयो, “मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । यसपटक पनि त्यहीँ प्रयास छ ।”

उहाँले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताउनुभयो । “देशको परिस्थितिले एउटा सरल जीवन चाहने आम मानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ । यद्यपि हो राजनीतिक नभई सामाजिक विषयमा तयार गरिएको चलचित्र हो”, निर्देशक बस्नेतले भन्नुभयो ।

चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक बस्नेतको श्रीमतीसमेत रहनुभएकी अभिनेत्री खड्काले चलचित्रमा काम गरेसँगै एउटा प्रश्नको अन्त्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई जहिले निर्देशक बस्नेत (श्रीमान्)को चलचित्रमा कहिले काम गर्ने ? उहाँले लिनु हुँदैन ? भनेर सोधिने प्रश्नको अन्त्य भएको छ । यसपटक आफ्नै श्रीमान् निर्देशक हुँदा केही भिन्न महसुस गरेता पनि मैले निर्देशकले भनेअनुरुप नै काम गरेकी छु, यो एउटा कलाकारको दायित्व पनि हो ।” अभिनेत्री खड्काले चलचित्रले उठान गरेको विषयले मनोरञ्जनका साथै सन्देश पनि दिने बताउनुभयो ।

अभिनेता लामिछानेले आम मानिस भएर पर्दामा देखिन रूचि रहेको बताउनुभयो । “मैले चाहेको जस्तो पात्र पाएको छु । मैले पनि अभिनेत्री खड्काजस्तै लेखक र निर्देशकलाई साइड लगाएर पूर्णरूपमा अभिनेता भएर निर्देशककै अनुसार आफ्नो पात्रलाई तयार गरेको हुँ । यो एउटा साधारण व्यक्तिको जीवनशैलीसँग जोडिएको चलचित्र हो ।”

कात्तिक २४ मा प्रदर्शन तय गरिएको चलचित्रमा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के वाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पाश्र्व सङ्गीत सिर्जना गर्नुभएको छ ।

एसियाली खेलकुद : नेपाल र भारत महिला कबड्डीको सेमिफाइनलमा भिड्दै

काठमाडौँ, १८ असोज-चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीतर्फ नेपाल र भारत अहिले समिफाइनलमा भिड्दै छन् ।नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको छ । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले आजै समूह ‘ए’ को उपविजेता चाइनिज चाइपेईसित प्रतिस्पर्धा गर्ने छ ।यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका छन् । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका छन् ।

हेर्नुहोस् असोज १९ गते शुक्रवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृष राशि – मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

मिथुन राशि – प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

कर्कट राशि – सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

सिंह राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

कन्या राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

तुला राशि – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृश्चिक राशि – निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

धनु राशि – अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मकर राशि – टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

कुम्भ राशि – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

मीन राशि – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प

काठमाडौँ, १९ असोज : सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउनुहुन्छ । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उहाँले भन्नुभयो ।पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

एमसीसीमा तीन नेताको दह्रो काँध खोज्दै अमेरिका

काठमाडौं । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइटले यही हप्ता नेपालको भ्रमण गरिन्। भ्रमणको दौरानमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग कार्यान्वयनबारे छलफल गरिन्।

उनका अनुसार तीनै शीर्ष नेताले कार्यान्वयनमा ठूलो सहयोग गर्ने पूर्ण आश्वासन दिएका छन्। ओली र देउवा एमसीसी पूर्ण कार्यान्वयनमा पक्षमा छन्। तर, सरकारको बागडोर सम्हालेका दाहालप्रति भने अमेरिका अझै विश्वस्त देखिँदैन। किनकि, एमसीसीका सबालमा दाहाल आफैंले बेलाबेलामा सार्वजनिक रूपमा प्रश्न उठाउने गरेका छन्।त्यसमाथि उनको पार्टी नेकपा (माओवादी केन्द्र) मा एमसीसीप्रति त्यति सकारात्मक माहोल छैन। माओवादी उच्च नेता र कार्यकर्ताले यसलाई हिन्द महासागर रणनीतिको अंगको रूपमा लिन्छन् र एमसीसीको विरोध गरिरहेका छन्।माओवादी पार्टीबाटै छुट्टिएर गएका विभिन्न साना वामपन्थी दलहरूले अहिले पनि एमसीसीको विरोधमा स–साना कार्यक्रमहरू गरिरहेका छन्। त्यसैगरी माधवकुमार नेपालले नेतृत्व गरेको सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) भित्र पनि एमसीसीका सम्बन्धमा असन्तुष्टिहरू कायम छन्।यो समाचार अन्नपूर्ण पोस्टमा छ ।त्यसैगरी उनीहरूको सबाल एमसीसी पास गर्दा संसद्बाट पारित भएको व्याख्यात्मक टिप्पणीप्रति अमेरिकी धारणा माग गरिरहेका छन्। एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अलब्राइटले भने त्यसलाई आफूहरूले पूर्ण रूपमा स्वीकार गरेको बताएकी छन्।

९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने काठमाडौं महानगरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ ।

कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार तयार भइसकेको छ । कामपा वडानम्बर १ को सत्यसाई केन्द्र नक्साल, ७ को मैजुवहाल, ८ को जयवागेश्वरी, ९ को गौशाला, १४ को गणेश मन्दिरसँगै कुलेश्वर, १९ को कंकेश्वरी, २६ को लैनचौरस्थित वडा कार्यालय र ३० को ज्ञानेश्वरबाट सेवा दिएको छ ।

ती केन्द्रको सेवा थप गरी सर्वसाधारणलाई समेत उपचार सेवा दिने भएको छ । ती केन्द्रलाई केही दिनपछि उद्घाटन गर्ने कार्यक्रम रहेको सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । कामपा जनस्वास्थ्य विभागका निर्देशक रामप्रसाद पौडेलले महानगरवासीलाई निःशुल्क सेवा दिन स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिए ।

केन्द्रहरू सञ्चालन भएपछि निजी अस्पतालमा बिरामीको चाप घट्ने अपेक्षा कामपाको छ । विभागीय निर्देशक पौडेलले कार्यालय आधुनिक स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्न लागिएको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले अस्पतालसरह सुविधा दिने गरी सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । उनले भने– ‘केन्द्रलाई चिकित्सकले बिरामी परीक्षण गरेपछि थप जटिल रोग भएमा रिफर गर्नेसम्मको अधिकार हुनेछ ।’

मिथिलामा आज जितिया पर्वको निराहार व्रत बस्दै

महोत्तरी, १९ असोज : सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् । बितेको मध्यरातअघि ‘ओगटन’ (दर) खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् ।

असोज कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत विधि कठोर मानिन्छ । एक अहोरात्रको यो पर्व सामान्यतया सप्तमी एक घडी बाँकी छँदै सुरु भएर नवमी एक घडी बिताएर समापन गरिन्छ । तर यसपालि अष्टमी आज बिहान साढे नौ बजेअघि (९.२७) सुरु हुने भए पनि पारम्परिक चलनअनुसार बितेको मध्यरातसँगै व्रत सुरु गरेका हुन् ।सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु हुनासाथै व्रतका लागि आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुटेका मिथिलानीले यसपालिको यो पर्वको व्रत शनिबार बिहान साढे नौ बजेतिर नवमी लागेपछि एक घडी कटाएर समापन गर्नेछन् । व्रत सुरु गर्नअघि बर्तालुले दही, चिउरा र अमोट (जमाएर राखिएको पाकेको आँपको रस) खाएर ‘ओगटन’ विधि गरेका थिए ।मधेसको प्राचीन मिथिला क्षेत्रमा सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी पितृपक्ष प्रारम्भसँगै सुरु हुन्छ । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुन्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । व्रत अवधिभरि एउटा सानो त्यान्द्रो झार पनि नटेकियोस् र क्षति नपुगोस् भन्ने सचेतता यो पर्वमा अपनाइन्छ । त्यसैले यो पर्वलाई ‘खरजितिया’ पनि भनिन्छ । आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने बर्तालु आमा बताउँछन् ।सन्तानको कल्याण र सौर्यवृद्धिको कामनासहित बर्तालु मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा छ । यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै बर्तालुले दिवङ्गत आफन्त महिलालाई तर्पण दिने गर्दछन् ।पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गरिन्छ । बर्तालुुले दिवङ्गत सासू, जेठानी, बूढीसासू, नन्द—आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ । त्यही नै व्रतका आराध्यदेव जितवाहनको कथा सुन्ने परम्परा छ ।व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाका आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको बूढापाका बताउँछन् ।राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुुरु भएको मानिन्छ । यस क्षेत्र (मिथिला)का सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा सजिलोका लागि मधेसका कैयन स्थानीय तहले बर्तालुका लागि बिदाको घोषणा गरेका छन् । 

एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी

गण्डकी, १९ असोज- नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।

शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गर्नुभयो । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो ।यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी हुनुभयो भने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गर्नुभयो । सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिनुभयो ।उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उहाँका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गर्नुभयो । उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गर्नुभयो ।बिहीबार भएको मतदानमा कुल नौ सय सात प्रतिनिधिमध्ये आठ सय ९६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत थापामगरले जानकारी दिनुभयो । अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’बाट एक सय ६५ उम्मेदवार निर्वाचित भएका छन् ।

दुई युरोपेली देश जर्मनी र रोमानियासँग श्रम समझदारीको तयारी

काठमाडौँ । युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने गरी सरकारी टोली रोमानियातर्फ प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको नेतृत्वमा श्रमसचिव केवलप्रसाद भण्डारीसहित पाँच सदस्यीय टोली बुधबार रोमानिया प्रस्थान गरेको हो । श्रममन्त्री भण्डारी नेतृत्वको टोलीले असोज १९ गते शुक्रबार रोमानियासँग श्रम समझदारी ९एमओयु० गर्ने छ भने असोज २३ गते मङ्गलबार जर्मनीसँग श्रम समझदारी (एमओयु) गरिने छ ।

श्रममन्त्री भण्डारी र रोमानियाका समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच श्रम समझदारीमा हस्ताक्षर हुने छ । जर्मनीसँग भने त्यहाँ श्रम हेर्ने विभागका प्रतिनिधि र नेपालका तर्फबाट श्रम मन्त्रालयका प्रतिनिधिबिच श्रम समझदारी हुने श्रम मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले नेपाल सरकारले रोमानिया र जर्मनीसँग दुईपक्षीय श्रम समझदारी गरेसँगै नेपाली श्रमिक पठाउने बाटो खुल्ने जानकारी दिए । जर्मनी र रोमानियासँग श्रम समझदारीका लागि धेरै पहिलादेखि नै प्रयास हुँदै आएको र अहिले बल्ल सम्भव भएको उनको भनाइ छ ।

उनका अनुसार ती देशसँग श्रम समझदारी सम्पन्न भएपछि त्यसको कार्यान्वयनको ढाँचा दुई देशका प्रतिनिधि रहने गरी समिति बनाइने छ र सो समितिले त्यसको सबै विषय टुङ्गो लगाउने छ । हाल रोमानियामा व्यक्तिगत रूपमा गएर नेपाली श्रमिक काम गर्दै आएका छन् ।

नेपालीको आकर्षक श्रम गन्तव्य देश रोमानिया र जर्मनीमा जान नेपालीले लाखौँ रुपियाँ तिरेर ठगिने समस्या धेरै भएकाले यो समझदारीपछि बिस्तारै अन्त्य हुने विश्वास श्रम मन्त्रालयका सहसचिव पोखरेलले जानकारी दिए । सम्झौतामा विभिन्न प्रक्रियाबाट ती देशमा पुगेका नेपाली नागरिकलाई वैध बनाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकतामा राखिएको उनले जानकारी दिए।

ती देशसँग श्रम समझदारी भएपछि कस्ता श्रमिक, कुन क्षेत्र, जाँदा लाग्ने लागत, त्यहाँ जाने नेपालीले प्राप्त गर्ने सेवा सुविधालगायतका सबै विषय समझदारी कार्यान्वयन गर्न बन्ने समितिले टुङ्गो लगाउने छ । ती देशबिच भएको श्रम समझदारी पाँच वर्षको हुने छ । दुई देशको सहमति अनुसार छिट्टै कार्यान्वयनमा जाने छ ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

यसअघि नै नेपाल सरकारले रोमानिया र जर्मनीबिच श्रम समझदारी गर्न श्रममन्त्री शरत्सिंह भण्डारीलाई स्वीकृति दिने निर्णय गरेको थियो । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले यी दुई देशसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र यससम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको जानकारी दिइयो ।

नमोबुद्धका सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गरिँदै

धुलिखेल – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रक्रिया अघि बढाएको छ । नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाको अध्यक्षता र सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलहरूसमेतको सहभागितामा बिहीबार बसेको व्यवस्थापन सहजीकरण समितिको बैठकले व्यवस्थापनको प्रक्रियाअघि बढाएको हो । बैठकमा नगरप्रमुख लामाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई प्रचलित कानुन र नियमअनुसार जग्गा उपलब्ध गराउने कार्य प्रशंसनीय भएको भन्दै यसले सरकारलाई फाइदा पुग्ने धारणा राख्नुभयो ।

नगर उपप्रमुख रत्नबहादुर लामाले गहिरो अध्ययन गरेर मात्रै यसबारे निर्णय लिनुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष मिण्डु लामाले जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित बसोबासीसँग कागजपत्र नभएको भन्दै निश्चित मापदण्ड बनाएर निर्णय गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक पुष्कर न्यौपानेले राज्यले सही नियतले व्यवस्थापन गर्न खोजे पनि भूमाफिया सक्रिय हुनु सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठले अझै पनि निवेदन दिन धेरै छुटेको भन्दै पुनःअवसर दिनुपर्ने बताउनुभयो ।वडा नं ७ का अध्यक्ष धर्मसिंह लामा र वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङले व्यावहारिक पक्षलाई हेरेर अव्यवस्थित बसोबासीलाई जग्गा दिन निश्चित मापदण्ड बनाएर मात्रै प्रक्रिया बयाउनुपर्र्ने बताउनुभयो ।

नगरपालिकाभित्र १४ परिवार भूमिहीन दलित, ७० परिवार सुकुम्वासी र नौ सय ७८ अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ । अझै छुट भएको हुन सक्ने भन्दै समितिले पुनःसूचना प्रकाशनको लागि आयोगलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।यसअघि नगरपालिकाले सबै वडामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिसकेकोमा ३५ दिनको म्याद दिएर सङ्कलित आवेदन रुजु भइरहेको नगरपालिकाले जनाएको छ ।

कर्णाली मासुमा आत्मनिर्भर, वार्षिक एक करोड ४० लाख बढीको खसीबोका निर्यात

भेरीगङ्गा (सुर्खेत)-कर्णाली प्रदेशबाट वार्षिक रु एक करोड ४० लाख बराबरको खसीबोका र च्याग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्याङ्कअनुसार वार्षिक रु एक करोड ४० लाख बढीको खसीबोका निर्यात हुने गरेको हो । सरकारको तथ्याङ्कअनुसार कर्णालीबाट दैनिक ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ ।

कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार दैनिक ११ लाख ७० हजारको खसीबोका प्रदेशबाट बाहिर निर्यात हुने गरेको कर्णाली प्रदेश पशुपन्क्षी निर्देशनालयका प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । “कर्णाली मासुमा आत्मनिर्भर छ, पछिल्लो समय उत्पादन पनि बढेको छ,” उहाँले भन्नुभयो, “यहाँबाट दैनिक रु ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ, चाडपर्वमा अझै धेरैको खसीबोका र च्याग्रा निर्यात हुन्छ । यो हिसाबले वार्षिक रु एक करोड ४० लाख ४० हजार बराबारको निर्यात भइरहेको छ ।”प्रदेशका १० जिल्लामध्ये सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिममा खसी बोका र माथिल्लो कर्णालीका पाँच जिल्लामा भेडा च्याग्राको उत्पादन धेरै हुने गरेको प्रमुख पङ्गेनीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका पाँच जिल्ला दूधमा आत्मनिर्भर रहेको छ । तर अण्डा भने बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।“अहिले कर्णाली प्रदेश सरकारले दूधमा अनुदान दिइरहेको छ, यसले गर्दा दूध उत्पादन पनि बढेको छ,” उहाँले भन्नुभयो, “अहिले पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम दूधमा आत्मनिर्भर छन्, यी जिल्लाबाट दैनिक तीन ट्याङ्कर दूध बाँके, बुटवलसम्म पुग्ने गरेको छ ।”माथिल्लो कर्णालीका जिल्लामा भने दूध उत्पादन कम हुने गरेको भन्दै त्यस क्षेत्रमा उन्नत जातका पशुपालन गर्न प्रेरित प्रदेश सरकारले गरिरहेको उहाँको भनाइ छ । केही वर्षभित्र कर्णालीका सबै जिल्ला दूधमा पनि आत्मनिर्भर हुने प्रमुख पङ्गेनीले बताउनुभयो । प्रदेश सरकारले पशुपालन व्यवसायतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । एमाले पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित कार्यक्रममा उहाँले विविधतामा एकता खोजेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै समानतामा आधारित एकता र त्यो एकतामा आधारित राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

“विविधतामा एकता खोज्नुपर्दछ । हामीसँग सांस्कृतिक भाषिक भौगोलिक विविधतालाई द्वन्द्वको विषय बनाउने होइन”, उहाँले भन्नुभयो । हिमाल, पहाड, तराइ, मधेस कुनै पनि क्षेत्रलाई छाड्न नसकिने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “हामीसँग मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी, रामजानकी मन्दिरहरू छन् । विभिन्न ऐतिहासिक ताल तलैया छन् । यी हाम्रा समृद्धि र गौरवका प्रतीक हुन् ।” एमालेले नेता तथा कार्यकर्तालाई इमान, न्याय, सत्यमा अडेर काम गर्ने सिकाउने उहाँको भनाइ छ ।

डोल्पामा आयोडिनयुक्त नुन अभाव

जाजरकोट, १८ असोज : डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो ।हाल सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोका मात्र दिने गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकामस्थित डिपोमा चार सय ९० क्वीन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताउनुभयो । उहाँको अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो । जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति मुस्किलले पाँच पोका दिने गरेको प्रमुख धामीले बताउनुभयो ।

सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपो रित्ता भएका छन् । उपल्लो डोल्पाको तिन्जे डिपोमा पाँच वर्षदेखि एक पोका नुन ढुवानी भएको छैन । चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपछि त्यहाँ नाका बन्द भएपछि पाँच वर्षदेखि नुन ढुवानी हुन नसकेको धामीले बताउनुभयो ।

गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकामस्थित डिपोमा नुन लिन पुग्दा समस्य भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी राजिमान बुढाले बताउनुभयो । बुढाले भन्नुभयो, “नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या एकातिर छ भने अर्को तीर सदरमुकाम दुनैस्थित साल्ट ट्रेडिङले प्रति परिवार दुई पोकाका दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको दुई पोका नुन खरिद गर्न दुईदेखि तीन हजार रुपैयाँसम्म खर्च हुने हुने गर्छ ।”

यसरी हेर्दा एक केजी नुनको मूल्य एक हजार रुपैयाँ बराबर पर्ने गर्छ । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो । यी पाँच वटै बिक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो ।

नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डिपो कार्यालय डोल्पाका प्रमुख धामीले बताउनुभयो । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाको नुनको लागि ठेक्का आह्वान भई नुन ढुवानी प्रक्रियामा गएको र दसैँ तिहारपछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले जानकारी दिनुभयो ।

यता त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाभर नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल बिक्री केन्द्रबाट ५० क्वीन्टल नुन ल्याउन लागेको बताउनुभयो । नगरपालिकामा नुन ल्याएसँगै नगरवासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले जानकारी दिनुभयो ।

लिकु, सर्मी, तिज्नेलगायतका डिपोमा एक पोका नुन नभएको कार्यालय प्रमुख धामीले बताउनुभयो । सदरमुकामदेखि बाहिरका डिपोमा कर्मचारी नभएको अवस्थामा रहेको छ । ठेकेदार आफैले नुन लिएर बिक्री गर्ने काम हुँदै आएको छ ।

शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो

काठमाडौँ, १८ असोज : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको रु १२ करोडको सीमा बढाएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो । यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट रु १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा रु १५ करोड र संस्थाको हकमा रु २० करोड बनाइएको छ ।

“कुनै एक वा सबै इजाजत प्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिक प्रवृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कूल रु १५ करोड कायम गरिएको छ”, राष्ट्र बैंकले आज जारी गरेको संशोधित निर्देशिकामा भनिएको छ, “धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।”

त्यस्तै निर्देशिकामार्फत वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काउन्टर साइक्लिकल बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने भएको छ ।

‘ पार्टी केन्द्रदेखि टोलसम्म एक भएर अघि बढ्न आवश्यक’

मङ्गलबारे (इलाम), १८ असोज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले नेपाली कांग्रेस पार्टी केन्द्रदेखि टोलसम्म एक भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस इलामले आयोजना गरेको अन्तक्र्रियामा उहाँले सबै नेता तथा कार्यकर्ता मिलेमात्र कांग्रेस सबल हुने धारणा व्यक्त गर्नुभयो ।

एउटै पार्टीभित्र पनि अलग विचारधारा हुनु सामान्य भएको भन्दै उहाँले आम निर्वाचनमा एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका नेता विचारको विविधता पचाउन सक्ने खालको हुन आवश्यक रहेको भन्दै डा रिजालले फरक विचारले पनि नेता जन्माउने उहाँको तर्क छ ।

कांग्रेसलाई मत दिएर विजयी भएका जनप्रतिनिधिले जनताको काम छिटो–छरितो ढङ्गले गर्न सके जनताले पुनः सोही पार्टी रोज्ने उहाँको भनाइ छ । पार्टीलाई समृद्ध बनाउन जितेर गएका जनप्रतिनिधिको काम पनि सही हुन आवश्यक रहेको तर्क गर्दै उहाँले वडादेखि नै जितेर गएका जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस देशको ठूलो पार्टी भएको र पनि कांग्रेस सरकारमा भए/नभएको महसुस हुनेगरी काम गर्न सुझाव जिल्लाका नेता तथा कार्यकर्ताको छ । कार्यक्रममा कांग्रेस इलामका पूर्वजिल्ला सभापति हिमालय कर्माचार्यले सही र गलत के हो भनेर छुट्याउन आम जनता सक्षम भइसकेकाले माथिल्लो तहमा भएका नेता तथा सरकारमा भएकाहरूले राम्रो काम गर्न आवश्यक रहेको बताउनुभयो ।

जिल्ला सभापति डम्बर खड्काले सबै पक्षसँग मिलेर अघि बढ्न आफू तयार रहेको भन्दै पार्टीलाई समृद्ध बनाउन सबै कार्यकर्तासमेत जागरुक बन्न आवश्यक रहेको बताउनुभयो । आएका सुझावलाई केन्द्रले पनि गम्भीरताका साथ लिनुपर्नेमा पार्टी सचिव निरोज खड्गीको सुझाव छ ।

प्रधानसेनापति ट्रफी सुरु

काठमाडौँ, १८ असोज : यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगिता भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आजदेखि सुरु भएको छ । उक्त मैदानमा आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच स्पर्धा हुनेछ ।

त्यस अवसरमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने प्रयास भइरहेको बताउनुभयो । उहाँले हरेक वर्ष सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय सहासिक ‘रन फर फन’ प्रतियोगिताको तयारी भइरहेको जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा सहभागी पृतना तथा बाहिनीका टिमले मार्चपाष्टका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए । सो अवसरमा प्रतियोगिताको मस्कट बाघ पनि प्रदर्शन गरिएको थियो ।

समारोहमा नेपाल र नेपाली सेनाको नाम विश्वसामु परिचित गराउने ओलम्पियन जमदार जीतबहादुर केसी (अवकाश प्राप्त) लाई कदरपत्र प्रदान गरियो ।

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुनेछ । नेपाली सेनाले प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने अभिप्रायका साथ २०६५ सालदेखि प्रधानसेनापति ट्रफी सुरु गरेको हो ।
–––

विधानसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत

काठमाडौँ, १८ असोज : राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकलाई निर्णायार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले स्वीकृत भएको सुनाउनुभएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँले विधायनहरूको स्पष्ट अभिलेख राख्न र कानुन निर्माणमा एकरूपता कायम गर्ने उद्देश्यले विधेयक ल्याएको जानकारी दिनुभयो ।राष्ट्रियसभाको अर्को बैठक यही असोज २३ गते मङ्गलबार ११ः०१ बजे बस्नेछ ।

आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ, १८ असोज : विश्व बैंकले आगामी वर्षमा नेपालको आर्थिक वृद्धिदर विस्तार हुने अनुमान गरेको छ । आज काठमाडौँमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको हो । यस वर्ष भने नेपालको कुल गार्हस्थ्य वृद्धिदर एक दशमलव नौ प्रतिशत रहने विश्व बैंकले जनाएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्दै विश्व बैंकले दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट प्रतिवेदन सार्वजनिक गरेको हो ।

आयात प्रतिबन्ध हटाइनु, पर्यटनमा फर्कँदो उत्साह र मौद्रिक नीतिमा क्रमशः गरिएको खुकुलोपनलगायत कारण नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२५ मा नेपालको अर्थतन्त्र पाँच प्रतिशतले विस्तार हुने अनुमान छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोसले आगामी वर्षहरूमा नेपालमा आर्थिक वृद्धिदर बढ्दै जाने बताउनुभयो । उहाँले नेपालमा उच्च आर्थिक सम्भावना रहेको उल्लेख गर्दै नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेकामा खुसीसमेत व्यक्त गर्नुभयो ।

विश्व बैंकको दक्षिण एसियाली क्षेत्र हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्के ला ओनसोर्जले दक्षिण एसियाली विकास अपडेट सार्वजनिक गर्दै दक्षिण एसियामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, जलवायु परिवर्तन, चीनमा देखिएको मन्दी, प्राकृतिक प्रकोपका कारण मानिस प्रभावित हुनु, आयात र निर्यातमा गरिएको प्रतिबन्ध, नयाँ विदेशी मुद्रामा लगाइएको प्रतिबन्धजस्ता कारण अर्थतन्त्रमा चुनौती थपिएको बताउनुभयो । विश्वबजारको उत्पादन र सेवाले समेत असर पारिरहेको उहाँको भनाइ छ ।

त्यसैगरी दक्षिण एसियाका अधिकांश देशमा निजी लगानीको कमजोर अवस्था रहेको भन्दै उहाँले वित्तीय चुनौती बढ्दै गएको बताउनुभयो । उच्च ऋण न्यून आय भएका मुलुकको समस्या रहेको भन्दै उहाँले वित्तीय नीतिहरू धेरै बाध्यकारी हुन नसकेकोसमेत बताउनुभयो ।

विश्व बैंकका अर्थशास्त्री नयनकृष्ण जोशीले नेपाल अपडेटबारे प्रस्तुतीकरण दिँदै नेपालले ऊर्जा क्षेत्रमा राम्रो प्रगति गरिरहेको बताउनुभयो ।

नेपालले भारतमा विद्युत् निर्यात गरिरहेको र बङ्गलादेशमा समेत निर्यातको तयारी भइरहँदा यसले अर्थतन्त्र विकासमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ । जोशीका अनुसार थोक र खुद्रा व्यापारमा आएको सुस्तता कारण सन् २०२३ मा सेवा क्षेत्रको वृद्धिलाई गतिलाई सुस्त बनाएको छ । त्यसै सन् २०२३ मा औसत उपभोक्ता मूल्य सात वर्षयताकै उच्च बिन्दुमा पुगेको भन्दै उहाँले कम आयात र उच्च रेमिट्यान्सका कारण चालु खाता घाटा छ वर्षयताकै न्यूनस्तरमा रहेको समेत उल्लेख गर्नुभयो ।

समयमा वर्षा नहुँदा कृषि उत्पादनमा प्रभाव पार्न सक्ने, भारतले चामललगायत खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मूल्यवृद्धि बढ्न सक्नेसमेत उहाँले बताउनुभयो । यसले पुनः चालु खाता घाटा बढ्न सक्ने उहाँको भनाइ छ ।

सोही कार्यक्रमको छलफलसत्रमा राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडलले नेपाली विद्यालय शिक्षाको उत्पादकत्वसँग समन्वय गर्न नसकेको बताउनुभयो । सोही कारण नेपालको शिक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने उहाँको तर्क छ । “यो शिक्षा प्रणाली पुनःसरचना गर्ने उपयुक्त समय हो, प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “हामीले युरोप र दक्षिणपूर्वी मुलुकका लागि मात्र जनशक्ति तयार पारिरहेका छौँ ।”

सो छलफलमा भाग लिनुहुँदै लक्ष्मी सनराइज बैंककी प्रमुख बिजनेस अफिसर आरती राज्यलक्ष्मी राणाले आयात वृद्धि नहुनु र रेमिट्यान्स बढ्नु अर्थतन्त्रका लागि सकारात्मक भएको बताउनुभयो । जलविद्युत् क्षेत्रमा नेपाललको प्रगति राम्रो भएको भन्दै उहाँले नेपालले भारतमा चालु वर्षमा मात्र रु पाँच अर्ब ४३ करोडभन्दा बढीको बिजुली बेचेको प्रसङ्ग निकाल्नुभयो ।

नेपालले गत वर्ष करिब रु ११ अर्ब १६ करोडको बिजुली भारतलाई बेचेको थियो । भारतसँग नेपालको बिजुली व्यापारको घाटा रु आठ अर्ब हाराहारी रहेको छ । सन् २०२६ सम्म नेपाल विद्युत्मा आत्मनिर्भर हुने लक्ष्य छ ।

नेपालका लागि स्वीटजरल्याण्ड दूतावासकी कार्यक्रम व्यवस्थापक दोरोथी लोड्सचेरले नेपालको आर्थिक विकासका लागि प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । नेपालले आफ्नो बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । शिक्षित युवाहरूलाई स्वदेशमै राख्न सक्ने वातावरण बनाउन पनि उहाँले सुझाव दिनुभयो ।

अर्थशास्त्री तथा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा पोषराज पाण्डेले बजेटमार्फत सरकारले उत्पादनलाई बढुवा दिनुका साथै डिजिटल अर्थतन्त्रलाई सहजीकरण गरेको बताउनुभयो । भूपरिवेष्टित मुलुक भएका कारण सामान आयात र निर्यात महँगो पर्ने गरेको उहाँको भनाइ छ । नेपाल स्तरोन्नतिको चरणमा रहेको बेला दातृ निकायबाट बढी सहयोगको अपेक्षा गर्नेसमेत उहाँले बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा भोला थापाले नेपालले हरित ऊर्जामा ध्यान दिनुपर्ने बताउनुभयो । काठमाडौँ विश्वविद्यालयले सरकार र विकास साझेदारहरूसँगको सहकार्यमा हाइड्रोजनको अध्ययन गरिरहेको जानकारी दिनुहुँदै उहाँले ग्रिन हाइड्रोजन उत्पादन गरेर निर्यात गर्न सकिनेसमेत बताउनुभयो ।

नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने

काठमाडौँ, १८ असोज : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चारवटा संस्थाबीच आज समझदारीपत्र (एमओयु) हस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अष्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै प्रकारका दबाब र प्रभावका बीच सिड्नीसहितका गन्तव्यमा उडान विस्तार गरिने उल्लेख गर्नुभयो ।“निगमले सिड्नीको उडानका लागि धेरै काम गरिसकेका छौँ, तर केही सिन्डिकेटधारी समूह निगमको जहाज सिड्नी जान नदिन प्रयास गरिरहेका छन्, विभिन्न दबाबलाई चिर्दै हामी लक्ष्यमा पुग्न सफल हुनेछौँ”, उहाँले भन्नुभयो ।अध्यक्ष अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान सङ्ख्या बढाएर लैजाने प्रयासमा रहेको बताउनुभयो । उक्त प्रयोजनका निम्ति पनि जहाज खरिद गर्ने र जहाज लिजमा लिएर भए पनि सेवालाई प्रभावकारी बनाउने योजन रहेको उहाँले उल्लेख गर्नुभयो ।नेपालमा विदेशी पर्यटक भित्र्याउन निगमको भूमिका रहेको भन्दै अध्यक्ष अधिकारीले निगमको सेवालाई थप प्रभावकारी बनाउन सरकारले पनि निगमको व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने खाँओ औँल्याउनुभयो ।राष्ट्रिय दायित्वलाई ध्यानमा दिएर दुर्गम भेगमा उडान गर्ने तीनवटा ट्वीनअटर जहाज खरिद प्रक्रियामा रहेको र यसले छिट्टै सार्थकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । निगमका वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहालले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजनामा रहेको बताउनुभयो ।निगम र निजी क्षेत्रका चार संस्थाबीच निगमको सहकार्यनिगमले व्यावसायिक साझेदारिता बढाउने उद्देश्यले निजी क्षेत्रका विभिन्न चारवटा संस्थासँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र ती संस्थाका अध्यक्षले सहकार्यसम्बन्धी समझदारीपत्रमा छुट्टाछुट्टै हस्ताक्षर गर्नुभएको हो ।निगमले नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यावसायिक पहल संस्था, नेपाल युवा उद्यमी परिसङ्घ, नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशसँग समझदारीपत्रमा हस्ताक्षर भएको हो ।सम्झौतामा उक्त संस्थामा आबद्ध पदाधिकारी, कर्मचारी र तिनका परिवारले यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने, ती संस्थाले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवर्द्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने व्यवस्था भएको छ ।सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय ध्वजाबाहकको सेवालाई आधुनिकीकरण गर्दै गन्तव्य विस्तार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय व्यावसायिक पहलका तर्फबाट कुशकुमार जोशीले देशको गौरव र पहिचान नेपाल वायुसेवा निगमको शाखलाई बलियो बनाएर व्यावसायिक सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभयो ।नेपाल युवा उद्यमी परिसङ्घका अध्यक्ष कुशलसुन्दर श्रेष्ठ र परिसङ्घ कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले निगमको व्यावसायिक प्रवर्द्धनमा युवा उद्यमीले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । निगमका अध्यक्ष अधिकारीले निजी क्षेत्रको साझेदारिताले निगमको व्यवसाय प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।–––

प्रधानमन्त्रीसँग भाषा आयोगका पदाधिकारीको भेट

काठमाडौँ, १८ असोज : भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँहरूले सरकारी कामकाजको भाषासम्बन्धी पहिले भएका सिफारिसहरूमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गर्नुभएको थियो ।

सो क्रममा आयोगभित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो ।आजै नेपाल ट्रष्टका पदाधिकारीले ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोगबारे प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो ।निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायतको प्रतिनिधिमण्डलले आजै प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ । भुक्तानीसम्बन्धी आफूहरूको मागमा कुनै सुनुवाइ नभएको भन्दै उहाँहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूको मागप्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताउनुभएको थियो ।

राष्ट्रपति पौडेलसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमााणपत्र प्रस्तुत

काठमाडौँ, १८ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्वीटजरल्याण्ड र युरोपेली सङ्घका आवासीय तथा स्वीडेन अधिराज्य, हङ्गेरी र चेक गणतन्त्रका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

पालका लागि स्वीटरल्याण्ड र युरोपेली सङ्घका आवासीय राजदूतद्वय क्रमशः डानिली मिउली मोन्टिलोनी र लरेञ्जो भरोनिक, स्वीडेन अधिराज्यका गैरआवासीय राजदूत जन थेसलेफ, हङ्गेरीका इस्टभान साबो र चेक गणतन्त्रका एलिस्का जिगोभाले राष्ट्रपतिसमक्ष ओहोदापत्र प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा २० शय्याको डेङ्गु सङ्क्रमित वार्ड सञ्चालनमा

दमौली (तनहुँ), १८ असोज- तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा २० शय्याको डेङ्गु सङ्क्रमित वार्ड सञ्चालनमा आएको छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि अस्पतालले छुट्टै डेङ्गु वार्ड सञ्चालन गरेको हो ।अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले शुक्लागण्डकी क्षेत्रमा पनि पछिल्ला दिनमा डेङ्गुबाट सङ्क्रमितको स¬ङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो । अस्पतालमा हालसम्म सात सय जनाको परीक्षण गर्दा एक सय १७ जनामा डेङ्गु सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

यसअगाडि १० शय्याको वार्ड सञ्चालनमा रहेकामा त्यसलाई विस्तार गरी २० शय्या पुर्‍याइएको छ । पचास शय्या क्षमताको सो अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तारका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पुगेर अड्किएको जानकारी दिनुभयो ।यसैबीच नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ क्षेत्रीय समितिले अस्पताललाई डेङ्गु किट प्रदान गरेको छ । सो किटले दुई सय पाँच जनाको परीक्षण गर्न सकिनेछ ।प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीको पहलमा उक्त किट अस्पताललाई प्रदान गरिएको छ । नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति चुडाणि खनालले अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।सो अवसरमा क्षेत्रीय सभापति खनालले व्यास नगरपालिकामा डेङ्गुका बिरामी बढ्दै गएको सन्दर्भमा यस क्षेत्रमा पनि महामारी हुनसक्ने भन्दै पार्टीको पहलमा सहयोग गरिएको जानकारी दिनुभयो ।जिल्लामा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुगिसकेको छ । जिल्लाका १० वटै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या दैनिक बढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।असोज सुरु भएसँगै विशेषगरी जिल्लाको व्यास नगरपालिका डेङ्गुको ‘हटस्पट’ बनेको छ । दमौली अस्पतालमा परीक्षणको ६५ प्रतिशतमा डेङ्गु सङ्क्रमण पुष्टि हुने गरेको छ ।“डेङ्गु सङ्क्रमण हुने क्रम बढ्दो छ, डेङ्गु नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमसँगै खोज र नष्ट गर अभियान पनि चलिरहेको छ”, अधिकारीले भन्नुभयो । डेङ्गु नियन्त्रणका लागि दैनिक सचेतनाका कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । अधिकारीले भन्नुभयो, “खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ, जनचेतनामूलक कार्यक्रम टोल–टोल र विद्यालयसम्म पनि सञ्चालन भइरहेको छ ।”जिल्लामा अन्य स्थानीय तहमध्ये व्यास नगरपालिकामा बढी सङ्क्रमण फैलिएको छ । कुल सङ्क्रमितमध्ये ८८ प्रतिशत सङ्क्रमित व्यास नगरपालिकाभित्र छन् । त्यसमा पनि बजारका वडा नं १, २, ३ र ४ मा बढी सङ्क्रमित छन् ।एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । 

नेपालको विकास प्रयासमा सघाउने बेलायती राजदूतको प्रतिबद्धता

काठमाडौँ, १८ असोज : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले राससलाई जानकारी दिनुभयो ।

रक्षामन्त्री खड्काले दुई देशबीच सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत फेनको कार्यकालमा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने सबैभन्दा पुरानो मित्र बेलायतले नेपालको आर्थिक– सामाजिक विकासमा गरेको योगदानको सराहना गर्दै उहाँले पारस्परिक सहयोगका क्षेत्र आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई बेलायती सैनिकसरह निवृत्तिभरणलगायत सुविधा उपलब्ध गराउने सम्बन्धमा बेलायत सरकारबाट आवश्यक सहयोग हुनेमा आफू ढुक्क रहेको मन्त्री खड्काले बताउनुभएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उहाँहरूबीच जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान–प्रदानलगायतका विषयमा पनि छलफल भएको थियो ।दुई सय वर्ष पुरानो बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत फेनले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्तिसेनामा खटिएका नेपाली सेनाले गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्न बेलायत प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेद्वारा सात करोड ५९ लाखमा निर्माण भएको गाउँपालिका भवन उद्घाटन

म्याग्दी, १८ असोज : मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन निर्माण भएको छ । जोमसोममा रु सात करोड ५९ लाखमा निर्माण भएको भवनको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुुभयो ।

गाउँपालिका भवनसँगै निर्माण भएको आपत्कालीन कार्यसञ्चालन केन्द्र र कृषि तथा पर्यटन महोत्सवको पनि उहाँले आजै उद्घाटन गर्नुुभयो । सो कार्यक्रममा मुुख्यमन्त्री पाण्डेले मुस्ताङ, मनाङ, उत्तरी गोरखाजस्ता गण्डकी प्रदेशभित्रका हिमाली क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको बताउनुुभयो ।

“प्रदेशका अन्य जिल्लाजस्तै विकासको गतिमा हिमाली जिल्लालाई पनि सँगसँगै लैजाने गरी सरकारले बजेट विनियोजन गरेको, कार्यक्रममा प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुुभयो, “मुस्ताङको विकासका लागि धार्मिक पर्यटनलाई प्राथमिकता दिएका छौँ ।”

मुक्तिनाथ, कागबेनीको प्रवर्द्धन र विकास जरुरी रहेको उहाँले बताउनुुभयो । “धार्मिक पर्यटन, साहसिक खेलको विकासले पनि मुस्ताङमा पर्यटन प्रवर्द्र्धन हुनसक्छ, यस वर्षको बजेटमा प्रदेश सरकारले यस विषयलाई प्राथमिकता दिएको छ”, उहाँले भन्नुुभयो, “गण्डकी प्रदेश सरकारले मुस्ताङ जिल्लाका लागि यस वर्ष रु ८० करोड विकास बजेट विनियोजन गरेको छ । आगामी वर्ष यो बजेट रु एक अर्ब बनाउँछौँ ।”

मुस्ताङसम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले अहिलेको भन्दा ४८ किलोमिटर छोटो दूरीको बिरेठाँटी, म्याग्दी, घोरेपानी हुँदै तातोपानी जोड्ने सडकका लागि रु १० करोडमा बहुवर्षीय ठेक्का लगाएर चालु वर्षदेखि नै निर्माण सुरु गर्ने बताउनुुभयो ।

कालीगण्डकी नदीको बहाव बस्तीको सतहभन्दा माथि आउँदा जोखिम बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले सर्वोच्च अदालतले शालिग्राम जोगाउन कालीगण्डकी उत्खनन गर्न नहुने अन्तरिम आदेश गरेकाले जोखिम दिनदिनै बढेको बताउनुुभयो ।

“शालिग्रामको आफ्नै महत्व छ, तर मानिसको ज्यानभन्दा शालिग्राम ठूलो हुन सक्दैन”, उहाँले भन्नुुभयो, “बस्ती जोगाउन तत्काल उत्खनन गर्नुपर्ने आवश्यकता छ, कानुनी अड्चनका कारण देखिएको समस्या हल गर्ने दिशामा प्रदेश सरकार लागिरहेको छ ।”

मुस्ताङ कृषिको क्षेत्रमा पनि सम्भावना बोकेको जिल्ला भएको बताउँदै मुख्यमन्त्री पाण्डेले व्यावसायिक स्याउखेतीका लागि प्रदेश सरकारले अनुदान दिने भएकाले सामुदायिक खेतीतर्फ लाग्न स्थानीयलाई अनुरोध गर्नुुभयो । स्थानीयस्तरमा रोजगारी दिलाउन प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिने कृषिका कार्यक्रमलाई प्राथमिकता दिएको उहाँले बताउनुुभयो ।

नेपालको फरक–फरक धर्म, संस्कृति र परम्पारलाई जातीय, धार्मिक, सांस्कृतिक अनेकौँ नाममा सामाजिक सद्भाव खलबल्याउने प्रयत्न अहिले भइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यसतर्फ भने सबै सचेत हुनुपर्ने बताउनुुभयो ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डेसहित प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो । कृषि तथा पर्यटन मेलामा मुस्ताङ जिल्लामा उत्पादित कृषि उत्पादनको प्रदर्शनी र बिक्री कक्ष सञ्चालन गरिएको थियो ।

भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति यादव

काठमाडौँ, १८ असोज : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । गायिका लोचन भट्टराईको सङ्गीत तथा स्वरमा रहेको ‘भानुभक्त रामायणको गीति सङ्ग्रह’को आज यहाँ विमोचन गर्दै उहाँले रामायणको श्रवणबाट व्यक्तिलाई आफ्नो कर्तव्यको निष्ठापूर्वक निर्वाह गर्न उत्प्रेरित गर्ने बताउनुभयो ।

“रामायण, महाभारत तथा पुराणले भाषा, साहित्य र संस्कृतिको विकासमा मात्र योगदान गर्दैन, यसले व्यक्तिमा धार्मिकता, अध्यात्मिकता, सामाजिकता, नैतिकता, कर्मशिलता तथा सादा जीवन उच्च विचारको विकासमा पनि टेवा पुर्याउँदछ”, उहाँले भन्नुभयो, “अझ राम नामबाट शान्ति र शक्ति प्राप्त हुने जनविश्वास हिन्दू समाजमा परापूर्वकालदेखि रही आएकै छ । त्यसैले रामायणको अझ बढी महत्व छ ।”

उपराष्ट्रपति यादवले राम कथा साहित्यमा वाल्मीकीय रामायणपछि अध्यात्म रामायणको स्थान रहेको उल्लेख गर्दै नेपाली साहित्यमा भने अध्यात्म रामायणले नै प्रमुख स्थान ओगटेको बताउनुभयो । “भानुभक्तले रामायणमा केही मौलिकता थप्दै सामान्य नेपाली जन–जीवनमा भिज्न सक्ने गरी सरल भाषा शैलीमा प्रस्तुत गर्नुभएको छ”, उहाँले भन्नुभयो, “संस्कृतबाट अनुवाद गरिए पनि यो ग्रन्थ पाठ गर्दा मौलिक ग्रन्थ पढे जस्तो अनुभव हुने गर्दछ ।

मूल रामायणको घटना तथा विषयको अनुवादमा भानुभक्तले प्रयोग गर्नु भएको भाषाको सरलता, लालित्य तथा माधुर्यताका कारण यो नेपालीभाषी माझ अत्यन्तै लोकप्रिय भएको हो ।” उहाँले काव्यमा हुनुपर्ने तीन गुण (लालित्य, सरलता र विचारको मौलिकता) भानुभक्तको प्रसिद्ध रामायणलगायत अरू फुटकर कवितामा समेत पाइएको उल्लेख गर्दै भन्नुभयो, “भानुभक्तकृत नेपाली रामायण व्यासकृत अध्यात्म रामायणको स्वतन्त्र तथा छोटकरी लेखन हो । यसमा नेपाली भाषामा लेखिएका चार चरणका हजारभन्दा बढी श्लोक छन् ।”

उपराष्ट्रपति यादवले भानुभक्त रामायणको पाठ गर्दा नेपालीपनको अभास जो कोहिले पनि सजिलै गर्न सक्ने बताउनुभयो । “ठाउँ–ठाउँमा यसको नेपाली शैली रुचिकर त छदै छन् अझ अब यो गीति सङ्ग्रहमा आएपछि धेरैका लागि यो झनै रुचिकर बन्ने विश्वास पनि लिएको छु”, उहाँले भन्नुभयो, “भानुभक्त रामायणको रसिलो र सजिलो श्लोक पढ्दा मक्ख पर्ने पाठक अब छन्दबद्ध तथा लयबद्ध गीति सङ्ग्रह श्रवण गर्न पाउँदा झनै हर्षित हुने छन् ।”

नेपालीको ह्रदय–ह्रदयमा भक्तिरस भर्न सफल भानुभक्तको कृतिलाई सङ्गीत र सुरिलो स्वरको माध्यमबाट स्रोतासम्म पु¥याउनु एउटा सत्कर्म पनि भएको उहाँको भनाइ छ । “गायिका तथा सङ्गीतकार भट्टराईद्वारा सङ्गीत तथा स्वराङ्कन गरिएको गीति सङ्ग्रहको यो संस्करण छन्दबद्ध, कर्णप्रिय, मौलिक र श्रवणयोग्य भएकाले भानुभक्त रामायण थप नेपाली माझ पुग्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ । यसले सदाचारमा प्रवृत्त हुने तथा दुराचारबाट टाढा रहने प्रेरणा प्राप्त हुन्छ ।”

राष्ट्रियसभामा विधायनसम्बन्धी विधेयक , २०८०’प्रस्तुत


काठमाडौँ, १८ असोज : राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘विधायनसम्बन्धी विधेयक, २०८०’ पेस गर्नुभएको छ ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।राष्ट्रियसभाको अर्को बैठक आजै १६ मिनेटपछि बस्ने गरी स्थगन भएको छ ।

१९औँ एसियाली खेलकुद: क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलमा

काठमाडौँ, १८ असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् ।दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ ।

पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकामा उनी १४औँ स्थानमा रहे । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए । यसैगरी दोस्रो हिट्समा नेपालका गुरुङ¬सहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकामा उनी सातौँ भएर छनोटमा परेका हुन् ।

दोस्रो हिट्सका खेलमा सबै खेलाडी सेमिफाइनल चरणका निम्ति छनोट भएका छन् । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । छनोट भएका १६ जनामध्ये १० जनाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

बागमती प्रदेशसभा बैठक यही असोज २१ गते बस्ने

मकवानपुर, १८ असोज : बागमती प्रदेशसभाको बैठक यही असोज २१ गते दिनको ३ः०० बजे बस्ने गरी बोलाइएको छ ।उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले राससलाई जानकारी दिनुभयो ।

बागमती प्रदेशसभा बैठक यसअघि असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ ।

कोरोला नाकासम्मको पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी, १८ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खुलाउन सरकारको तयारी गरिरहेको जनाउँदै त्यहाँसम्म पुग्नका लागि सडकलगायतका आवश्यक पूर्वाधार निर्माण चाँडो सक्नुुपर्नेमा जोड दिनुुभएको छ ।

मुस्ताङस्थित कोरोला नाकाको २४ नं सिमास्तम्भको स्थलगत निरीक्षण गर्दै उहाँले भन्नुभयो, “तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ ।” नाका खोल्ने योजना भइरहँदा तिब्बततर्फ सबै तयारी भइसकेका अवस्थामा मुस्ताङतर्फ कुनैपनि संरचना नहुँदा समस्या आउनसक्ने उहाँले बताउनुुभयो ।

सुरक्षा जाँच, भन्सार सञ्चालन आदिका लागि हाम्रो तर्फबाट पनि सडकलगायतका आवश्यक भौतिक पूूर्वाधार निर्माण जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले हाल रहेको भन्सार र सुरक्षा जाँच नाकाभन्दा पिल्लर भन्दा नौ किलोमिटर तल रहेको उल्लेख गर्दै उहाँले नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आवतजावत गर्न सक्ने बनाउनेतर्फ सरकारको ध्यान गएको बताउनुुभयो ।

“कोरोला नाकासम्मको सडक पनि सङ्घ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको छ”, उहाँले भन्नुुभयो ।

निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको जनाउँदै उहाँले छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाव सिर्जना गर्ने बताउनुुभयो । नाका सञ्चालन सम्बन्धमा सङ्घ सरकार, प्रधानमन्त्री एवम् सम्बन्धित निकायसँग छलफल भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुुभयो ।

सीमा नाका निरीक्षणसँगै गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशिलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतमा छलफल भएको थियो । 

उक्त निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचनलगायतको सहभागिता थियो । मुख्यमन्त्री सहितको टोलीले सिमावर्ती क्षेत्रको गाउँमा पुगी छलफलसमेत गरेको थियो । प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था, चालु वर्षमा बिनियोजित रकम, स्थानीयका समस्या र यसबारे प्रदेश सरकारले गर्न सक्ने सहयोग एवम् भूमिकालगायतका विषयमा छलफल गरिएको थियो ।

सरीसृप शास्त्रलाई कानुन निर्माणमा जोड्दै सांसद डा राई

काठमाडौँ, १८ असोज : सरल र बौद्धिक सांसद डा कालुराम राईलाई एक हातले लौरो र अर्कोले श्रीमतीको हात समातेर सिंहदरबार तथा नयाँ बानेश्वरतिर लुखुरलुखुर हिँडडुल गरिरहेको देख्न सक्छौँ । करिब १२ वर्षअघि दुवै आँखाका दृष्टि गुमाउनुभएका बयोवृद्ध सांसद ‘केआर खुम्बु’लाई एक्लै हिँड्न कठिन हुन्छ । जन्मजात दृष्टिविहीन भएका भए बरु त्यहीअनुसारको तालिम र अभ्यस्तता हुन्थ्यो होला, यस उमेरमा आँखा नदेख्ने हुनाले उहाँलाई जहाँ हिँड्दा पनि श्रीमती शुभलक्ष्मी गुरुङको साथ अपरिहार्य भएको छ । त्यही सहाराले राईलाई नयाँ बानेश्वरको संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र), सिंहदरबारको सङ्घीय संसद् सचिवालय, कार्यक्रम हुने स्थान र भक्तपुरको नेपाल–कोरियामैत्री अस्पताल नजिकको निवास आउजाउ गराएको छ । उहाँसँग बूढेसकालको लौरो त छँदैछ, पहिरन कोट र टोपी पनि छुट्दैन । त्यसले उहाँलाई पहिचान पनि दिएको छ । उहाँहरू लामो दूरीको यात्राका लागि सार्वजनिक यातायात प्रयोग गर्नुहुन्छ भने छोटो दूरीको यात्रा पैदलै पार गर्नुहुन्छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा (एमाले) का सांसद राईको विज्ञता हर्पेटोलोजी (सरीसृप शास्त्र) हो । नेपालका उभयचर तथा सरीसृप (भ्यागुता, छेपारा र सर्प वर्ग) बारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त डा राईलाई अहिले मुलुक र जनताका यावत् विषय र विधिशास्त्रबारे नबुझी भएको छैन । प्राप्त विधेयक, नीति तथा कार्यक्रम र सामग्रीलाई ‘ननभिजुअल डेस्कटप एक्सेस (एनभिडिए) सफ्टवेयर’का सहयोगमा अध्ययन गरेर आफ्नो सूचना र ज्ञानको दायरालाई सांसद राईले विस्तार गरिरहनुभएको छ । पार्टीका प्रमुख सचेतक, सचेतक र सचिवालयका कर्मचारीले पनि सांसदलाई स्रोत, सामग्रीको उपलब्धता दिलाउनका साथै उचित पथप्रदर्शन गरिरहेका हुन्छन् ।

“पहिलोपटक सांसद भएर आएपछि केही महिना त यहाँको चालचलन र नियम बुझ्नै समय लाग्यो । अब भने लय समातिसकेको छु”, सांसद राईले भन्नुभयो, “सत्ता पक्ष र प्रतिपक्षका सवाल बोध भएको छ । अब संसदीय परिपाटीमा सांसदको भूमिका कसरी खेल्नुपर्ने रहेछ भन्ने राम्रै हेक्का भएको छ र त्यसअनुसार आफूलाई प्रस्तुत गर्न थालेको छु ।”

खोटाङको जन्तेुढुङ्गा गाउँपालिका–४, चुमलुङमा जन्मनुभएका डा राई प्रतिनिधिभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका ज्येष्ठ सदस्य रही उक्त हैसियतमा सभापतिको निर्वाचन नहुञ्जेल कार्यवाहक सभापति भई बैठक सञ्चालन गर्न पनि पुग्नुभयो । सो भूमिकाले पनि उहाँको विज्ञता, सरलता र बौद्धिकता सांसद, पत्रकार र सरोकार भएकाले बोध गर्ने थप अवसर पाए । अध्यापनका क्रममा धरान क्यापस, वीरगञ्जको ठाकुरराम बहुमुखी र मेची क्याम्पसमा विद्यार्थीसँग घुलमिल हुनुभएका प्रा राईको अवकाशपछिको जीवन प्रत्यक्ष राजनीतिमा जोडिएको छ ।

संसद्को चालु बजेट अधिवेशनदेखि बजेटमाथिको सघन छलफल तथा जनताको चासो र जल्दोबल्दो समस्या उठानमा जोडिनुभएका डा राईले आफू समावेशी कोटाबाट प्रतिनिधित्व गर्ने भएकाले अपाङ्गता भएका व्यक्तिका यातायातका समस्या, सार्वजनिक भवनमा हिँडडुल गर्दाका कठिनाइ, उनीहरूका शैक्षिक सामग्रीको प्रबन्धजस्ता विषय बढी उठाउनुभएको छ ।

“अपाङ्गता भएका व्यक्तिको प्रतिभाको कदर गरियोस् । त्यसका लागि राज्यबाट पुरस्कार राखियोस् । उनीहरूको क्षमतानुसार रोजगारी दिइयोस् । जीविकोपार्जनका लागि उचित व्यवस्था गरियोस् । उनीहरूको आत्मबल र मनोबल बढाउने काम गरियोस् भन्ने कुरा पटक पटक राखेको छु”, आफ्ना संसदीय अनुभव सुनाउँदै उहाँले भन्नुभयो । ती कति सम्बोधन भएका छन् त भन्ने प्रश्नमा सांसद राईको जवाफ छ, “अहिलेसम्म मैले ती सवाल सम्बोधन भएका छन् भन्ने सुनेको छैन ।” यसका अतिरिक्त उहाँले आफूले जानेका वन तथा वातावरण र शिक्षासम्बन्धी सवालका साथै जनताका चासोका साझा विषय पनि उठाउनुभएको छ ।

सरीसृप (उभयचर) शास्त्रलाई कसरी विधि निर्माणमा अन्तर सम्बन्धित बनाउने भन्ने पनि उहाँको चासो छ । सरीसृपको संरक्षणका लागि सिमसार क्षेत्र चाहिन्छ । भ्यागुता (पाहा) पानीदेखि बाहिर बस्ने भए पनि सन्तान उत्पादनका लागि जल क्षेत्रमा जानैपर्छ । कछुवा पानीमा बस्छन् र सन्तान उत्पादनका लागि जमिनमा आई खाल्डो खनेर फुल पार्छन् ।

अहिले जलवायु परिवर्तनको प्रतिकूल असरको स्थितिमा पाहा र कछुवा संरक्षणका लागि सिमसार क्षेत्र जोगाउने अभियान चलाइएमा हरित क्षेत्र र वनबाटिका संरक्षित भई जल, जमिन र जङ्गलको पनि संरक्षण हुने उहाँको भनाइ छ । यी क्षेत्रको संरक्षणले वातावरण स्वच्छ भई त्यस वरिपरिका मानव समुदाय दीर्घजीवी हुने सांसद राईको विश्लेषण छ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार सांसदको भूमिका विधि निर्माण नै हो । नेपालमा पनि पछिल्ला समय क्रमशः यसको अभ्यास हुन थालेको अनुभूति डा राईलाई भएको छ । सांसद पूर्वाधार विकास कोषबाट योजना छनोटमा सांसदको कार्यकारी भूमिका नहुनाले पनि त्यही कुराको सङ्केत दिएको उहाँको बुझाइ छ ।

हाल चर्चामा रहेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षक, कर्मचारी र विद्यार्थीका सवालदेखि अपाङ्गता भएका शिक्षक र विद्यार्थीका सवाललाई कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भमा सांसद राई घोत्लिन थाल्नुभएको छ । विसं २०२८ को शिक्षा ऐनलाई विस्थापन गर्ने विधेयकमा शिक्षक–कर्मचारीका आन्दोलनपछि सरकारसँग भएका सहमतिका बुँदा कसरी सम्बोधन गर्न सकिन्छ, संविधानतः माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको कार्यक्षेत्रमा परे पनि ती विषयको अगुवाइका लागि सबै तह सक्षम छन् त भन्ने प्रश्नको उत्तर विषयगत समितिमा हुने छलफल र विधेयकमाथिको छलफलबाट खोज्नुपर्ने सांसद डा राईको विचार छ ।

विद्यमान शासकीय पद्धतिमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको समन्वय कमजोर भएको डा राईको धारणा छ । “आफ्नो स्वार्थपूर्तिका लागि एकले अर्काका अधिकारमाथि हस्तक्षेप गर्ने र स्वार्थ लाद्ने काम भएको छ । यसले गर्दा सन्तुलन बिग्रिएको छ । हरेक अङ्गले आफ्नो अधिकार र दायित्व मनन गरेर देश र जनताका खातिर काम गर्ने हो भने यस्ता समस्या आउँदैनन् ।”
 

साउदी उडेको जहाज बीचबाटोबाटै काठमाडौँ फर्कियो

काठमाडौँ, १८ असोज : काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ ।

गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौँ–दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौँ फर्काइएको हो । पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौँ फर्काएका थिए ।जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा सङ्केत गर्ने उपकरणलाई टिकास भनिन्छ । “टिकास जहाज भित्रको सिस्टम हो, यसलाई ‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ भनिन्छ, जसले कुनै जहाज नजिक आएको खण्डमा सम्भावित जोखिमबाट जोगाउन आवश्यक निर्देशन दिन्छ”, महाप्रबन्धक तिवारीले भन्नुभयो । उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ ।

एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा कायमै

काठमाडौँ, १८ असोज – १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन् ।

हालसम्म चीन एक सय ७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय १९ पदक प्राप्त गर्दै शीर्षस्थानमा कायमै रहेको छ । यस्तै जापान ३७ स्वर्ण, ५१ रजत र ५९ कास्यका साथ एक सय ४७ पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ । दक्षिण कोरिया ३३ स्वर्ण, ४५ रजत, ७० कास्यसहित एक सय ४८ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । भारत १८ स्वर्ण, ३१ रजत र ३२ कास्यसहित ८१ पदकका साथ चौथो स्थानमा छ । उज्वेकिस्तान १६ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५४ पदकका साथ पाँचौँ स्थानमा छ ।

यसैगरी चाइनिज ताइपेई १३ स्वर्ण, १४ रजत र २१ कास्यसहित ४८ पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, १२ रजत र २४ कास्यसहित ४६ पदकका साथ सातौँ, बहराइन १० स्वर्ण, एक रजत र पाँच कास्यसहित १६ पदकका साथ आठौँ, दक्षिण कोरिया नौ स्वर्ण, १२ रजत र आठ कास्यसहित २९ पदकका साथ नवौँ तथा हङ्कङ चाइना सात स्वर्ण, १५ रजत र २८ कास्यसहित कुल ५० पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

नेपाल पदकविहीनबाट जोगियो

१९औँ एसियाली खेलकुदमा नेपाल पदकविहीनबाट जोगिएको छ । महिला कबड्डीतर्फ नेपालले पदक पक्का गरेको हो ।

चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ ।

मुस्ताङ जाने र फर्कने पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

गण्डकी, १८ असोज : सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुुपरेको छ ।

सोह्र श्राद्धलाई लक्षित गरी मङ्गलबार नवलपुरबाट हिँड्नुुभएका सरोज ढकाल र उहाँको परिबार बेलुका गलेश्वर आएर बस्नुुभयो । बुधबार बिहानै मुस्ताङका लागि हिँड्नुुभएका उहाँहरू त्यहाँबाट करिब दुुई तीन किलोमिटरको दूरीमा पुुग्दा सडकमाथिबाट खसेको पहिरोले अघि बढ्नसक्ने अवस्था रहेन । ढकाल परिवार त्यहाँबाट सुरक्षित भई बस्नका लागि पुनः गलेश्वर नै फर्कियो ।

दिउँसो ३ः३० बजे पहिरो पन्छाएपछि मात्रै उहाँहरू मुस्ताङतर्फ अघि बढ्नुुभयो । ढकाल परिवार जस्तै यस सडकखण्डमा यात्रा गर्ने जो कोही पनि यो समस्या दिनानुदिन भोग्दै आएका छन् । बुधबार बैसरीदेखि रुप्सेलगायत चार पाँच ठाउँमा पहिरो गएको थियो । त्यसो त मङ्गलबार पनि झण्डै दिनभर जस्तै उक्त क्षेत्रका पहिरोका कारण पर्यटकले सास्ती भोग्नुुपरेको थियो ।

बैसरीको पहिरोको कष्टले पर्यटकलाई सास्ती भएको बताउनुुहुुुने ‘पुन होटेल’ बैसरीका सञ्चालक जसमाया पुन यहाँको पहिरोको जोखिम आफूूहरूका लागि दैनिकी जस्तै बनेको बताउनुुहुन्छ । वर्षातमा यहाँ जाने गरेका पहिरोले बेनीसम्म आउन जान पनि निकै समस्या हुने गरेको बताउँदै पुनले हिउँद लागिसके पनि समस्या ज्युुँकोत्युुँ रहेको दुुःखेसो सुनाउनुुभयो । 

“दिनदिनै जाने गरेको पहिराले बाटो अवरुद्ध हुँदा पर्यटकले निकै कष्ट पाउने गरेका छन्”, उहाँले भन्नुुभयो, “वर्षौंदेखिको समस्या समाधान नहुुँदा स्थानीयले भोग्ने गरेका दुःख त कति छन् कति ।”

उक्त खण्डमा निर्माण कार्यलाई बढाए पनि कछुवाको गतिमा हुँदा समस्या पर्ने गरेको स्थानीयको दुःखेसो छ । विसं २०७२ जेठ ९ गते राति बैसरीमा आएको पहिरो उक्त स्थान र आसपासका क्षेत्रमा लगातार रुपमा पहिरोको समस्या पर्ने गरेको छ । उक्त समयमा बस्तीमाथिबाट पहाडको ढिस्कै खसेर कालीगण्डकी नदी १६ घण्टासम्म थुनिएको अवस्थालाई यहाँका स्थानीय कल्पनासमेत गर्न सक्दैनन् ।

बेनी जोमसोम आवतजावत गर्ने यात्रुका लागि चौतारीजस्तै बनेको यो ठाउँ बेगखोला, बैसरी भगवती, राम्चे, पिप्लेलगायत आसपासका स्थानका मानिसको किनमेल गर्ने स्थानीय बजारसमेत थियो ।

बैसरीको त्यो प्राचीन मौलिकता पहिरोसँगै हराएको अर्का स्थानीय सोमबहादुर पुनले बताउनुुभयो । केही दिनअघि मात्र बैसरीमा पहिरो खस्दा एक चालकले ज्यान गुमाएको उहाँले जानकारी दिनुुभयो । “मुस्ताङ जाने पर्यटक बर्सेनि बढ्दै गएका अवस्थामा बैसरीको पहिरो दीर्घकालीन समस्याका रुपमा चुनौती बनेको छ”, उहाँले भन्नुुभयो, “निर्माणाधीन सडकलाई चाँडो सम्पन्न गर्ने गरी संवेदनशील ठाउँलाई प्राथमिकताका साथ काम गर्नु आवश्यक छ ।”

मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई व्यवस्थित गर्ने कुुरालाई उच्च प्राथमिकतामा राख्नुुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताउनुुभयो ।

पर्यटकीयरुपमा मुस्ताङको धेरै सम्भावना रहेको उल्लेख गर्दै उहाँले यहाँको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय निरन्तर लागिरहेको बताउनुुभयो । “राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा पनि मुस्ताङको प्रवद्र्धनलाई प्राथमिकतामा साथ उठाउने गरिएको छ”, उहाँले भन्नुुभयो ।

हिन्दू र बौद्ध धर्मको साझा तीर्थस्थल मुक्तिनाथ स्वदेशीका साथै विदेशी पर्यटकको आकर्षक गन्तव्य हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटकको आकर्षण अझै बढेको छ । पछिल्ला वर्षमा भारतीय दर्शनार्थी बर्सेनि ठूलो सङ्ख्यामा आउने गरेको मुक्तिनाथ मन्दिरका पूूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुुभयो ।
उपल्लो मुस्ताङस्थित माटाको सहरका रुपमा परिचित लोमन्थाङ, नेपाल चीनबीचको कोरोला नाकाका साथै दामोदर कुण्ड आदिले यहाँको महिमा र गरिमा अझै बढाएको छ ।

आज विश्व शिक्षक दिवस मनाइँदै

काठमाडौँ, १८ असोज : संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ ।
यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ ।

नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।

हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता डा रिजाल

ताप्लेजुङ, १८ असोज : नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताउनुभएको छ । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

कांग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (क) को क्षेत्रीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै देशका हरेक ऐतिहासिक परिवर्तनमा पार्टीको निर्णायक भूमिका रहेको र यसलाई कायम गर्दै जाने बताउनुभयो । मुलुकका हरेक कठिन परिस्थितिको सामना गर्न नेपाली कांग्रेस अग्रसर रहँदै आएको उल्लेख गर्दै उहाँले आगामी समयमा समेत मुलुक परिवर्तनमा कांग्रेसको भूमिका निर्णायक र महत्वपूर्ण हुनेमा विस्वास व्यक्त गर्नुभयो ।

राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई समृद्धितर्फ अघि बढाउन पार्टीको महत्वलाई जोड दिनुभएका नेता डा रिजालले विभिन्न विषयलाई लिएर कतिपय नेता कार्यकर्तामा देखिएका असन्तुष्टि र समस्यालाई छलफल र संवादमार्फत नै अन्त्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउभएको छ ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहनुभएका ताप्लेजुङ प्रदेश क्षेत्र (ख) का सभापति खगेनसिं हाङ्गाम, प्रदेश सदस्य इन्द्र केदेम, पार्टीका जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

काठमाडौँ उपत्यकामा हुने कालोबजारी, अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर

काठमाडौँ – काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रावाह गर्न सर्कुलर जारी गरेको कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उहाँले सबै युटिनलाई सुरक्षा योजनाका साथै उपत्यकालाई शान्ति सुरक्षा र भयरहितरुपमा चाडपर्व मनाउने वातावरण निर्माणमा प्रहरीको मुख्य भूमिका रहने भएकाले विशेष निगरानी बढाउनसमेत निर्देशन पनि दिनुभएको छ ।

कार्यालयले उपत्यकाको मातहतका युनिटलाई जारी गरेको सर्कुलरमा चाडपर्वका बेला हुनसक्ने कालोबजारी, अवाञ्चित गतिविधि, चोरी, तस्करी नियन्त्रण, ठगी लुटपाट, अवैध गतिविधि, गाडीको तीव्र गति, यातायातको टिकटमा महँगो शुल्क लिने तथा ठग्नेजस्ता गतिविधि नियन्त्रणमा लाग्न भनेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कार्यालयबाट आवश्यक निर्देशन गइसकेको र प्रहरीले आआफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पारिसकेको बताउनुभयो । उहाँका अनुसार उपत्यकाका लागि जनशक्ति थप गरी आवश्यक कार्य अघि बढाइसकिएको र केही जनशक्ति थप हुने क्रममा रहेका छन् ।

उपत्यकाको तीनै जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका सुरक्षा युनिटका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर छुट्टै सुरक्षा योजना तयार गरी लागू गर्न पनि उपत्यका प्रहरीले निर्देशन दिएको छ । उपत्यकामा साविक सुरक्षा फौजमाथि गणमा रहेका सुरक्षाकर्मीसमेत थप गरेर चाडपर्वका बेला सुरक्षा निगरानी बढाउन थालिएको छ ।