`

‘संविधानअनुसार सङ्घीयता कार्यान्वयन हुनुपर्छ’ – विमलेन्द्र निधि

राजविराज – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जारी भएको संविधानअनुसार सङ्घीयता कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा बुधबार नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले देशमा संविधान कार्यान्वयनमा आएको आठ वर्ष बित्न लाग्दा पनि सङ्घीयता अहिलेसम्म कार्यान्वयन नहुनुले समस्या निम्त्याएको बताउनुभयो ।

सङ्घीयता लागुभएको तर अहिलेसम्म प्रदेश सरकारसँग प्रहरी, प्रशासन र आफ्नो कर्मचारी नभएका कारण सरकार सञ्चालनमा समस्या आएको उहाँले बताउनुभयो ।

नेता निधिले सङ्घीयताको कार्यान्वयन आफू गृहमन्त्री हुँदादेखि सुरु भएको तर अहिलेसम्म कार्यान्वयन नभएकाप्रति चिन्ता व्यक्त गर्दै नेता तथा कार्यकर्तालाई त्यसका लागि जनदबाब सिर्जना गरेर जनताको विश्वास जित्दै कांग्रेसप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसको अस्तित्व जोगाउन आउँदो चुनावमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी चुनावमा एक्लै जानुपर्नेमा उहाँको जोड थियो ।

आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागकाका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

हाल कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

हेर्नुहोस् असोज १८ गते बिहिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृष राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ ।

कर्कट राशि – सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला ।

सिंह राशि – गैर बिश्वस्निय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्रयोगमा साबधान रहनु होला ।

कन्या राशि – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । सामान्य यात्राकारक दिन रहनेछ ।

तुला राशि – भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि मध्यम रहनेछ ।

बृश्चिक राशि – सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

कुम्भ राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ ।

मीन राशि – अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । बाणीमा मधुरता छाउनेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक जितिया पर्व सुरु

जलेश्वर (महोत्तरी), १८ असोज : सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ ।

नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट ९आँपको रसबाट तयार हुने खाद्य पदार्थ० र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।यस पर्वमा यहाँका व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा ‘माछ मरुवा ९कोदो०’ भनिन्छ । प्रत्येक महिलाले अनिवार्यरुपमा आज कोदो र माछा खाने गर्छन् भने प्रत्येक घरमा आजका दिन कोदोको रोटी र माछा पाक्छ ।त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ ।जलेश्वर नगरपालिका–८ पण्डित कालिकान्त झा सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको बताउनुहुन्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफँैले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरी एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन ।राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ । जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन । तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ ।

मलेसियामा किन हराउँछन् नेपाली ?

दोहा । पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयौं नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ ।क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ ।

यस्तै, त्यहाँ क्रियाशील संस्था जनउद्धार केन्द्र मलेसियाले एक सूचना जारी गर्दै धरान उपमहानगरपालिका–६ सुनसरीका मनोज खड्का गत २१ सेप्टेम्बरदेखि घरपरिवार र आफन्तसँग सम्पर्कविहीन रहेको भन्दै खोजी कार्यमा सहयोगका लागि अनुरोध गरेको छ ।केही दिनअघि सेलेंगर राज्यको पुचुङ एरियाको सडकमा रित्तो खुट्टा हिँडिरहेका र भिडियो हेर्दा उनी अलिकति मानसिक पीडामा रहेका जस्तो देखिएकाले उल्लिखित फोटो र भिडियोसँग मेल खाने व्यक्ति कहीँ कतै देखिएमा नियन्त्रणमा लिएर नेपाली दूतावास मलेसिया अथवा जनउद्धार केन्द्रलाई सम्पर्क गर्न भनिएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।यस्तै, चितवनका जयराम तामाङ पनि करिब १० वर्षअघि मलेसिया पुगेको र त्यहाँ पुगेको दुई वर्षसम्म घरपरिवारको सम्पर्कमा रहेकामा त्यसपछि कुनै पनि सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन उनको परिवारले अनुरोध गरेको छ ।मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायतका कारण नेपालीहरू जेल पर्ने गरेको र त्यस्ता नेपालीहरू परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन फोन आउने गरेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढथापाको भनाइ छ ।

दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौँ । दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् ।

पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ । यसबिचमा महँगो नभएको कुनै वस्तु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ ।नेपाल खुद्रा व्यापार सङ्घका अनुसार अघिल्लो वर्ष ८० रुपियाँमा पाइने जिरा मसिनो चामल अहिले बढेर प्रतिकेजीको ९५ देखि एक सय रुपियाँ पुगेको छ । रहर दाल प्रतिकेजी १८० रुपियाँबाट बढेर २७० रुपियाँ पुगेको छ । सो अवधिमा सेतो केराउ प्रतिकेजी १३० रुपियाँबाट बढेर १६० रुपियाँ, सानो केराउ प्रतिकेजी १७० रुपियाँबाट बढेर २२५ रुपियाँ पुगेको छ । हरियो केराउ बजारमा अहिले पाइनै छोडेको छ ।दैनिक भान्छामा प्रयोग हुने जिरा गेडा प्रतिकेजी पाँच सय रुपियाँ रहेकामा अहिले बढेर प्रतिकेजी एक हजार तीन सय रुपियाँ पुगेको छ भने मेथी, ज्वानोलगायतमा प्रतिकेजी एक सय रुपियाँसम्म बढेको खुद्रा व्यापार सङ्घले जनाएको छ । त्यस्तै चिनी प्रतिकेजी ९० रुपियाँबाट बढेर १५० रुपियाँ पुगेको छ ।कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले २० प्रतिशतभन्दा धेरै नाफा खाएर मालवस्तु बिक्रीवितरण गर्नुलाई कालो बजारी मानेको छ । त्यस्तो गर्ने व्यापारीलाई एक वर्षसम्म कैद र अढाई लाखसम्म जरिबानाको व्यवस्था गरेको छ ।सो ऐनमा भएको व्यवस्था अनुसार सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख ५० हजार रुपियाँसम्म जरिबाना वा दुवै हुन सक्ने छ । तर, व्यापारीले ११५ प्रतिशतसम्म नाफा खाएर उपभोक्ताको ढाड सेक्दा पनि नियामक सरकारी निकाय मूकदर्शक बनेका छन् ।

कोरोनाका बेला स्थगन गरिएको अन अराइभल भिसा पुनः जारी गर्न इन्डोनेसियासँग अनुरोध

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली पर्यटकलाई दिइँदै आएको ‘अन अराइभल भिसा’ सुविधा पुनः प्रदान गर्न इन्डोनेसिया सरकारलाई अनुरोध गरेको छ ।नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्तान्तोसँग बुधबार भएको भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका बेला स्थगन गरिएको अन अराइभल भिसा अब पुनः जारी गर्ने व्यवस्थाका निम्ति अनुरोध गर्नुभएको महासङ्घले एक विज्ञप्ति निकालेर बताएको छ ।

राजदूत हार्तान्तोले अध्यक्ष ढाकालले गर्नुभएको अनुरोधप्रति सकारात्मक जवाफ दिँदै त्यससम्बन्धमा आफ्नो देशको सरकारसँग छलफल गर्ने बताउनुभयो । नेपालको निर्यात प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । नेपालले गलैँचा, चियालगायत उत्पादन इन्डोनेसिया निर्यात गर्दै आएको छ ।

द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्छन् । असोज ४ गतेदेखि नै उनले केही समय कुरेरै भए पनि द्रुत बसबाटै यात्रा गर्दै आएका छन् । अरू बस चढ्दा सडक जाममा परिने र समयमै कार्यालयमा पुग्न नसकिने भएकाले आफू सम्भव भएसम्म द्रुत बसबाटै यात्रा गर्ने गरेको उनले बताए ।

सरकारले असोज ३ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट काठमाडौँको रत्नपार्कसम्म २५ वटा द्रुत बसमा सेवा सञ्चालन गर्दै आएको छ । द्रुत बसबाट यात्रा गर्दा १० देखि १५ मिनेट चाँडो हुने अनुभव उनको छ । द्रुत बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि ‘डेडिकेटेड लेन’ बाट बस गुड्ने भएकाले खासै रोकिँदैनन् ।उनले भने, “कार्यालय समयमा सबै बसलाई द्रुत बसकै रूपमा चलाउने अनुमति सरकारले दिने हो भने द्रुत बसै भनेर यात्रु सडकमा कुरेर बस्नुपर्ने अवस्था अन्त्य हुनेछ, समयमै गन्तव्यमा पुगिन्छ ।” अहिले द्रुत बसको सङ्ख्या सीमित भएकाले बस कुर्दाकुर्दै ढिलो हुने गरेको उनले गुनासो गरे ।सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ स्थानीय घर भई हाल मध्यपुर थिमिको निकोसेरामा बस्दै आएकी सीता तामाङले पनि द्रुत बसबाट यात्रा गर्दा समय बचत भए पनि बस कुर्दाकुर्दै समय बित्ने गरेको बताइन् । उनले भनिन्, “द्रुत बस सञ्चालनमा आएदेखि नै म सधैँजसो सम्भव भएसम्म द्रुत बसै चढ्छु तर सीमित बस मात्र भएकाले बस कुर्दाकुर्दै समय बित्ने भएकाले कहिलेकाहीँ त अन्य बस चढ्नु र द्रुत बस चढ्नुमा खासै फरक पर्दैन ।”अहिले सूर्यविनायकदेखि रत्नपार्कसम्मको १३ किलोमिटर दूरीको बाटोमा कार्यालय समयमा अन्य बस चढ्दा एक घण्टादेखि सवा घण्टासम्म लाग्ने गरेको उनले सुनाइन् । दु्रत बस चल्दा सार्वजनिक यातायातबाट आवतजावत गर्ने यात्रुका लागि समयको बचत भए पनि बसको सङ्ख्या थोरै भएकाले बस पाउनै कठिन भएको सबै यात्रुको गुनासो छ ।द्रुत बस सेवाबाट करिब ४० देखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पु¥याएपछि यात्रु द्रुत बसको सेवाप्रति विश्वस्त भएका छन् तर बसको सङ्ख्या थोरै भएकाले बस कुरिरहनुपरेको गुनासो अधिकांश यात्रुको छ ।सरकारले साबिकमा सोही रुटमा चल्दै आएका बसलाई ‘द्रुत बस सेवा’ भन्ने बोर्डमात्र राखेर बस सञ्चालन गर्दै आएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनरूले बसको सङ्ख्या थोरै भएको स्वीकार्दै विभागले यातायात व्यवसायीसँग समन्वय गरी द्रुत बसको सङ्ख्या थप गर्न लागेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

ललितपुरको ग्वार्काेमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक २१ घण्टासम्म काम

काठमाडौँ- निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्काेमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ । केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि बढाइएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

आगामी फागुन १२ गतेसम्म निर्माण सक्ने गरी अहिले राति पनि काम भइरहेको केन्द्रका इञ्जिनियर राकेश महर्जनले बताउनुभयो । “बिहान सबेरै काम सुरु गरेर रातिसम्म काम भइरहेको छ”, उहाँले भन्नुभयो, “कामदारले सिफ्टअनुसार कहिलेकाहीँ रातभर र कहिलेकाँही राति १२ बजेसम्म काम गरिरहेका छन् ।” आगामी पाँच महिनामा सडकको बीचको पुल निर्माण पूरा हुने र दायाँबायाँ पहुँच सडकको काम पनि समानान्तररुपमा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले काम गरेको गति हेर्दा निर्माण व्यवसायीले पनि काम समयमै सकाउने गरी काम भइरहेको देखिन्छ ।”

हाल निर्माणस्थलमा पाइल (जगमा राखिने कुरा)को काम भइरहेको छ । भदौमा उपकरण आएपछि यसको काम भइरहेको इञ्जिनियर महर्जनले जानकारी दिनुभयो । अहिलेसम्म आठ पाइल सकिएको छ । एउटा पाइल बनाउन कम्तीमा दुई दिन लाग्ने उहाँको भनाइ छ । एउटा साइडमा १२ र अर्काेमा १२ गरी जम्मा गरेर २४ पाइल चाहिनेमा अहिलेसम्म सात पाइलको काम सकिएको हो ।

‘फ्लाइ ओभर’को माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) लागि आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ । पाइलको समस्याका कारण दुई/तीन महिना काम रोकिए पनि अहिले निरन्तर भइरहेको उहाँले बताउनुभयो ।

अब पुल चढ्ने ‘र्‍याम्प वाल’ बनाउन बाँकी रहेको इञ्जिनियर महर्जनले बताउनुभयो । गाडी चढ्नका लागि आवश्यक आरइ वाल (पर्खालको प्रकार) चाहिने र त्यसका लागि ‘प्यानल’ तयारी अवस्थामा छ ।

निर्माणको समयमा बीचको लेन बन्द भए पनि अहिले ट्राफिक प्रहरीले छेउछेउका लेनबाट सवारीसाधन नियमित सञ्चालन गरेको छ । सवारीसाधन आवागमनमा सकेसम्म कम बाधा हुने गरी निर्माणको काम भइरहेको केन्द्रले जनाएको छ ।

काठमाडौँ उपत्यकाको चक्रपथको ट्राफिक चापलाई व्यवस्थापन गर्न सरकारले ‘फ्लाइ ओभर’ निर्माण अघि बढाएको हो । फ्लाइ ओभर निर्माणपछि सातदोबाटो-कोटेश्वर खण्ड, मङ्गलबजार-इमाडोल हुँदै लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित र व्यवस्थित आवागमन गर्न सुविधा हुने अपेक्षा गरिएको छ ।

‘फ्लाइ ओभर’मा बालकुमारीतर्फ तीन सय २० मिटर लम्बाइको र सातदोबाटोतर्फ एक सय ८५ मिटरको र्‍याम निर्माण गर्न लागिएको छ । विसं २०७८ फागुनमा आशीष समानान्तर रेलिगेर जेभीले रु १७ करोड छ लाखमा निर्माणको जिम्मा पाएको थियो ।

अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ ।

यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ । व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो ।

भन्सार विभागले कानुनले छुट दिएका व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु पनि अनुरोध गरेको छ ।

विगतमा विभिन्न मुलुकबाट स्वदेश फर्कंदा विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान नेपालको विमानस्थलसम्म पु¥याइदिनु र विमानस्थलमा आफ्नो मान्छेले लिन आउने भनेर दिएर पठाउने गर्दै आएका थिए ।

यसपालि मोटरसाइकलको बे्रक सुको आवरणमा एक क्विन्टल सुन भित्रिएपछि झस्किएको विमानस्थलसहित भन्सार कार्यालयले विभिन्न आवरणमा अवैध सामान भित्रिएला र सोझासिधा फस्ला भनेर अग्रिम रूपमा स्वदेश फर्किनेलाई चेतावनी दिएको हो ।

विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइलैन्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासबाट केही अपरिचित व्यक्तिले मेरो घरको सामान हो, मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउँछन् र लगेबापत केही पैसा दिन्छु भनेर प्रलोभनमा पारी ल्यापटप, मोबाइल, सुन, घडी आदि पठाउने गरेका छन् ।

कार्यालयका अनुसार यसरी त्यस्ता मालवस्तु ल्याउने व्यक्ति कानुनी कारबाहीमा पर्ने घटना बढ्दै गएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, १७ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसिसी) ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताउनुभएको छ ।

एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार काठमाडौँ आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियाका विशाल अर्थतन्त्र भएका मुलुकसँग जोड्ने र देशको आर्थिक वृद्वि तथा गरिबी घटाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्दछु ।”

एमसिसी परियोजना पूरा भएपछि नेपालको समग्र अर्थतन्त्र सुदृढ बन्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले यस परियोजनाले नेपालमा भरपर्दाे विद्युत् सेवा र सडक सञ्जालको निर्माण हुने विश्वास व्यक्त गर्दै विद्युत् प्रसारण लाइन बनेपछि बिजुली निर्यात सहज हुने र त्यसले देशको आर्थिक उन्नयनमा योगदान गर्ने बताउनुभयो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा सघाउने एमसिसी कार्यान्वयनबाट उन्नत सडक एवं भरपर्दाे विद्युत् आपूर्ति भई नेपाली जनता लाभान्वित हुने बताउनुभयो । उहाँले परियोजनामा नेपाल सरकारको समेत लगानी रहेकाले परियोजना कार्यान्वयनमा अवरोध गर्ननहुनेमा जोड दिँर्द सरकारका तर्फबाट परियोजना सम्पन्न गर्न हरसंवभ सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले नेपालको आर्थिक विकासको मेरुदण्डका रूपमा एमसिसी परियोजनाले योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपाल सरकारसँगको सहकार्यमा परियोजना विकास गरिएको स्पष्ट गर्नुभयो । परियोजनाका कार्यक्रम र लक्ष्यमा दुवै पक्षको समान स्वामित्व रहेको उहाँले स्पष्ट गर्नुभयो ।

परियोजनाको सफल कार्यान्वयनका निम्ति आफू प्रतिबद्ध साझेदारका रूपमा उभिएको उल्लेख गर्दै उहाँले नेपाल सरकारको नेतृत्व र यस कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार निकाय एमसिए–नेपालप्रति आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो ।

नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्सनले एमसिसी नेपाल कम्प्याक्ट नेपाली जनताको आर्थिक विकासमा सहयोग गर्ने महत्वपूर्ण अमेरिकी प्रयास भएको उल्लेख गर्दै नेपाल र अमेरिकाको ७६ वर्ष पुरानो सम्बन्धमा यो एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभयो ।

आफ्नो तीनदिने नेपाल भ्रमणका क्रममा एमसीसीका प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले कम्प्याक्ट कार्यान्वयनसँग सम्बद्ध नेपाल सरकारका उच्च राजनीतिक अधिकारी एवं विभिन्न सरोकारवालासँग भेट्नुका साथै जलवायु संरक्षणको महत्वमाथि जोड दिन वृक्षरोपण कार्यक्रममा समेत सहभागी हुनुभएको थियो । उहाँले नागरिक समाजका विभिन्न सदस्यहरू तथा युवा उद्यमीहरूसँग अन्तरक्रिया गर्नुका साथै जलविद्युत् उत्पादनमा संलग्न उद्यमीहरूसँग अनुभव आदानप्रदान गर्दै नेपालको आर्थिक विकासमा कम्प्याक्टले गर्ने योगदानमाथि प्रकाश पार्नुभएको थियो ।

नेपाल सरकार तथा एमसिसीबीच नेपालमा विद्युत् आपूर्तिको विश्वसनियतामा वृद्धि गर्ने विद्युत् प्रसारण आयोजना र यातायातको लागत घटाउने सडक मर्मत आयोजनाका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको थियो ।

अमेरिकी अनुदान कार्यक्रममार्फत नेपाल सरकार र एमसीसीले नेपाली जनताका लागि सडक सुधार गर्ने र स्वच्छ तथा सुपथ विद्युत्मा भरपर्दो पहुँच बढाउने गरी तर्जुमा गरिएका परियोजनामार्फत मुलुकको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउने अपेक्षा गरिएको छ ।

लामो बहसपछि संसद्ले गत वर्ष मात्र यस सम्झौतालाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । एमसिसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक आयोजनाको काम शुरु भएको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ ।

अर्थमन्त्री डा महत र एमसीसीका कम्प्याक्ट कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरोन अल्फोर्डले गत भदौ १३ गते पाँच वर्षे परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको घोषणा गर्दै त्यससम्बन्धी सहमतिपत्र आदानप्रदान गर्नुभएको थियो ।
 

भोलिदेखि मौसममा क्रमिकरूपमा सुधार हुँदै, लगातार झरी हुन्न

काठमाडौँ, १७ असोज : जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताउनुभयो ।

“तर पनि हिजो र आजको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब भोलिदेखि भारी वर्षा भने हुन्न”, उहाँले भन्नुभयो । उहाँले आज राति भने केही ठाउँमा भारी वर्षा हुनसक्ने बताउनुभयो ।विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आगामी २४ घण्टामा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।वर्षाका कारण त्यस क्षेत्रबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक

म्याग्दी, १७ असोज : चीनको स्वशासित क्षेत्र मुुस्ताङको सिमानामा रहेको कोरला नाकामा आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितमा जिल्ला सुुरक्षा समन्वय समितिको बैठक बसेको छ । प्रदेशस्तरीय सुरक्षाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थितमा प्रदेश तथा जिल्लास्तरीय सुरक्षा समन्वयको दुई चरणमा अलगअलग बैठक बसेको हो ।

समन्वय बैठकमा एक चीन नीतिप्रति प्रतिबद्ध भई सीमा सुरक्षा तथा सीमानाकामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सजगता अपनाउने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुुभयो ।प्रेस संयोजक सापकोटाका अनुुसार प्रधानमन्त्रीको चीन भ्रमणसँगै १४ वटा उत्तरी नाका पुनःसञ्चालन गर्ने मार्ग खुलिसकेकाले त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत बृहत् छलफल भएको छ ।बैठकमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, प्रदेश सांसद विकल शेरचन र प्रदेश सांसद नम्डु गुरुङ पनि उपस्थित हुुनुुभएको थियो । यसका अलवा मुख्यमन्त्रीको टोलीमा प्रदेश तथा जिल्ला सुरक्षा निकाय र प्रदेश तथा जिल्लास्थित सरोकारवाला कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो ।कागबेनीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी उपल्लो मुस्ताङ प्रस्थान गरेको मुख्यमन्त्री पाण्डेसहितको टोलीले आज कोरला नाकाको स्थलगत निरीक्षण गरेको छ । पाण्डेले कोरला नाकाको भ्रमण सकेपछि सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा पुगेर स्थानीयको समस्या र प्रदेश सरकारबाट सञ्चालित विकास निर्माणका योजनाका विषयमा गुुनासो सुुन्नुुभएको छ ।प्रदेशका कार्यक्रम र जनसरोकारका विषयमा जानकारी लिन मुख्यमन्त्रीसहित प्रमुख लक्ष्मी बस्नेत, नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा लगायतको टोली उपल्लो मुुस्ताङ पुुग्नुुभएको छ ।

दोलखा सुन तस्करी प्रकरण : काठमाडौँबाट थप एक जना चिनियाँ पक्राउ

काठमाडौँ, १७ असोज : दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले काठमाडौँको स्वयम्भूबाट आज थप एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सिचुवानका तासी दावा भनिने आगर लामा रहेको सिआइबी का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार दोलखा सुन तस्करीमा निजको संलग्नताको अनुसन्धानका लागि निजलाई आज स्वयम्भूबाट पक्राउ गरिएको हो ।पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको सिआइबीले जनाएको छ । यस अघि सीआइबीले काठमाडौँका विभिन्न स्थानबाट एक जना चिनियाँ नागरिकसहित तीन जना नेपालीलाई पक्राउ गरेको थियो ।यही असोज ११ पहिलोपटक दोलखाको सिङ्गटीमा ४ किलो सुन बरामद गरिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिङ्गटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १७ असोज : संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार युएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

ओहोदाको प्रमााणपत्र पेश गरेपछि युएईका राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति नाहयानको व्यक्तिगत सुख, सुस्वास्थयका साथै युएईका जनताको निरन्तर प्रगतिको कामना गर्नुभयो ।

सन् १९७७ मा नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत क्षेत्रीले नेपालीका निम्ति युएई आकर्षक गन्तव्य बनेको बताउनुभयो । उहाँले नेपालीलाई अवसर प्रदान गरेकामा युएई सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

युएईका राष्ट्राध्यक्षले राजदूत क्षेत्रीको कार्यकालको सफलताको कामना गर्ने राष्ट्रपति पौडेलेको सुख, सुवास्थ्यका साथै नेपाल र नेपालीको शान्ति एवं प्रगतिको कामना गर्नुभएको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

जनतामा सुशासनको प्रत्याभूति अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ

महोत्तरी, १७ असोज : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आमजनतामा सुशासनको प्रत्याभूति गराउनु सरकार र गृहप्रशासनको पहिलो दायित्व रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबासमा गृह मन्त्रालयले आयोजना गरेको समसामयिक सुरक्षासम्बन्धी मधेस प्रदेशस्तरीय अन्तक्रियामा गृह प्रशासन मातहतका अधिकारीलाई निर्देशन दिनुहुँदै आमसुरक्षा व्यवस्था खलबलिन नदिन चनाखो रहनुपर्ने उल्लेख गर्नुभयो ।

“पछिल्लो कालमा नेपाली समाजको विविधतामा एकता देखिने मौलिक पहिचानमा खलल पु¥याउने दुश्चेष्टा ठाउँठाउँमा देखिएका छन् । यसलाई प्रेम र सद्भावको डोरीमा नचुँडिने गरी गाँस्न जरुरी छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । मुलुकका विभिन्न भेग र मधेसमै पनि सामाजिक एकता, सद्भाव र सहिष्णुता तोड्ने मनसायले जालीझेलीहरुको प्रयत्न देखिएको र त्यसलाई नेपाली नेपालीबीचको एकताले निस्तेज बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

मुलुकका सामू भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सामाजिक एकताको जगमा राष्ट्रिय एकता र संविधानको रक्षा गर्दै यसलाई अझ उन्नत बनाउन पर्ने कार्यभार रहेको श्रेष्ठले बताउनुभयो । मुलुकमा राजनीतिक परिवर्तन भए पनि सामाजिक न्याय र आर्थिक समृद्धिको पाटोमा धेरै काम गर्न बाँकी रहेको हुँदा यस क्षेत्रका जनअपेक्षा पूरा गर्न सरकार दृढताका साथ अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।

“केही तत्व अहिले सामाजिक र धार्मिक सद्भाव बिथोल्दै त्यसभित्र खेल्न उद्यत देखिन्छन्”, श्रेष्ठले भन्नुभयो, “वर्तमान संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको यो प्रयत्न सम्पूर्ण लोकतान्त्रिक पक्षधर राजनीतिक दल र आमनागरिक समाजले एकताबद्ध भएर सामाजिक र धार्मिक सद्भाव अक्षुष्ण राख्नुपर्छ ।” सरकार यस दिशामा सचेततापूर्वक अघि बढेको उहाँको भनाइ छ ।

चाडबाडका बेला हुनसक्ने आपराधिक घटना, उपभोग्य सामानमा हुनसक्ने अस्वभाविक मूल्यवृद्धि, चोरी तथा जनधनको सुरक्षामा सबैको चासो मुखरित गर्न पनि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सबै किसिमका विभेदको अन्त्य, जोखिम न्यूनीकरण, प्रकोप पीडितको प्रभावकारी उद्धार एवं राहत, लागुऔषधको नियन्त्रण जस्ता प्राथमिकतामा परिणाममुखी काम गरिनुपर्ने सम्बद्ध अधिकारीहरुलाई सुझाव दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले मिटरब्याजी र पीडितबाट रकम असुल्ने गरिएको गुनासो सुनिएकोतर्फ सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराउनुभयो । अब जिल्ला प्रहरी कार्यालयमा महिला सेल भएजस्तै दलित सेलसमेत स्थापना गर्न निर्देशन दिइसकिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका मधेस प्रदेशका प्रमुखका धारणा उपप्रधानमन्त्री श्रेष्ठले सुन्नुभयो ।

सो अवसरमा मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेशका अन्य मन्त्रीहरु, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईसहितका उच्च अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका विशिष्ट अधिकारीको सहभागिता थियो ।

कोशी प्रदेशसभा दुई अध्यादेश पेस

विराटनगर, १७ असोज : कोशी प्रदेशको प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले ती अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको हो ।

प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलहरुकातर्फ नेकपा (एमाले) संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले मुलुकको आर्थिक अवस्था कमजोर हुँदा जनतामा नकारात्मक सोच बढ्ने भन्दै राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराउनुभयो । सामाजिक सद्भाव भड्किन नदिन विकास निर्माण र आर्थिक क्रियाकलाप बढ्नुपर्ने धारणा उहाँले कोशी प्रदेशमा सरकार गठन र विघटनको खेलले जनतामा निराशा बढेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा स्थिर सरकार निर्माणका लागि दलहरुबीच सहकार्य, सद्भाव र एकताको आवश्यकता औँल्याउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा नामकरणको विवाद यथावत रहेको अवस्थामा सरकार गठन र विघटनले झन समस्या थपेको बताउनुभयो । उहाँले प्रदेशको कहालीलाग्दो अवस्थाबाट पार लगाउन राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नरहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफू अनुकूल सरकार बनाउन सहमति र सहकार्य गर्ने र अरुको अस्तित्व स्वीकार नगर्ने परिपाटीले समस्या निम्तिएको बताउनुभयो ।नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशमा शान्ति स्थापना गर्नका लागि बहुपहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने धारणा राख्नुभयो ।

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गीता रेग्मी, गोविन्द गिरी, गोम्बु शेर्पा, जयप्रकाश चौधरी, इन्दिरादेवी खनाल, रमेशकुमार बस्नेत, राजन किराती, शोभा चोम्जोङ, सदानन्द मण्डल र सविना बजगाईंले प्रदेशको समसामयिक विषयमा बोल्नुभएको थियो ।

आजको बैठकले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, कोशी प्रदेशसभाका पूर्वसदस्य ताहिर मियाँ अन्सारीको असामयिक निधनप्रति गहिरो समवदेना प्रकट गर्दै सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।प्रदेशसभाको अर्को बैठक असोज २० गते दिउँसो १ बजे बस्नेछ । सोही दिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पनि लिनुहुने जनाइएकाे छ ।

एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा, एकको मृत्यु

कृष्णनगर (कपिलवस्तु), १७ असोज : कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।

सर्पदंशका कारण एक जनाको अवस्था गम्भीर छ । जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो ।

गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा तीन वर्षीया रीतिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना नेत्रबहादुर रानाले जानकारी दिनुभयो । भैरहवा मेडिकल कलेजमा इशिकाको उपचार भइरहेको छ ।

चौतर्फी विकासका लागि नेकपा (एस) को विकल्प छैन : अध्यक्ष नेपाल

जलेश्वर, १७ असोज : नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताउनुभएको छ ।

पार्टीको ‘समाजवादी जागरण अभियान’ अन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी बेइमानविरुद्ध तथा अन्याय–अत्याचारमा परेकाको साथमा रहेको बताउनुभयो ।

देशबाट अन्याय, अत्याचार र भ्रष्टाचार निर्मूल गर्न तथा न्याय, शान्ति, सुशासन र समृद्धि कायम गर्न नेकपा (एस)को साथमा लाग्न पूर्व प्रधानमन्त्री नेपालले अपिल गर्नुभयो । उहाँले देशमा सुशासन कायम गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

पार्टी उपाध्यक्ष एवं बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (एस)को मेची–महाकाली जागरण अभियानलाई सफल बनाउन सबैसँग आग्रह गर्नुभयो ।

अभियानले नेपाली जनताका हक, अधिकार स्थापित गर्न तथा जनतालाई आफ्ना अधिकारप्रति सचेत तुल्याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।–

‘सबै दलले कोशी प्रदेश सरकारलाई समर्थन गर्नुपर्छ’

मोरङ, १७ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलले समर्थन गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकाले त्यसतर्फ सबै राजनीतिक दलले त्यसान ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले देशमा साम्प्रदायिक सद्भाव कायम गर्नु सबै नेपालीेको दायित्व भएको बताउँदै नेपालको जातीय विविधता र एकता बिगार्नेबाट सचेत हुन आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा संसद्को दुई तिहाइ मतबाट मात्र हुनसक्ने बताउनुभयो । उहाँले गणतन्त्रका विरुद्धका अभिव्यक्ति नागरिक स्वतन्त्रताको उपयोगबाहेक केही नभएको टिप्पणी गर्नुभयो ।

ताप्लेजुङका किसानले घर भित्र्याउन थाले अलैँची

फुङ्लिङ, १७ असोज : ताप्लेजुङका किसानले अलैँची भित्र्याउन थालेका छन् । बेँसीदेखि लेकाली क्षेत्रका किसानले लगाएको अलैँची टिपाइ गरेर घर भित्र्याउन थालेका हुन् ।कालोसुनको उपनाम पाएको अलैँची ताप्लेजुङमा टिपाइ सुरु भएको छ । फक्ताङलुङ गाउँपालिका–६ का विर्ख लिम्बू लामो समयपछि अलैँचीको मूल्यमा सुधार आएसँगै उत्साहित हुनुहुन्छ । उहाँको अलैँची बगान घरदेखि निकै टाढा पर्छ, त्यसैले केही समयसम्मलाई पुग्ने रासनपानी लिएर अलैँची टिप्न घरबाट निस्कनु भएको हो ।

अलैँची बगानमा टिप्ने, छराउने र सुकाउने काम सकाएर मात्र लिम्बू घर फर्किने योजनाका साथ अलैँची बगानमा बस्नुभएको हो । उहाँले भन्नुभयो, “आजदेखि बेँसीमा भएको बगानमा अलैँची टिप्न सुरु गरेको छु । अहिले सबैको टिपाइ सुरु भएको छ खेताला पाइँदैन ।” अहिले सबै किसानलाई अलैँची टिप्न भ्याइनभ्यइ छ । खेताला पाउन निकै मुस्किल छ । त्यसैले लिम्बू दसैँ तिहार पनि अलैैँची बगानमै मनाउने सोचमा पुग्नुभएको उहाँले बताउनुभयो । गत वर्ष लिम्बूले १६ मन (४० केजीको एक मन) जम्मा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “अहिले अलैँचीको राम्रो बजार मूल्य आएको छ तर विगतको जस्तो फल छैन ।”सोही गाउँका सुरेश फेम्बूले पनि घर छोडेर अलैँची बगानमै बस्नु थालेको छ । उहाँ साँझ बिहान अलैँची बगानमै व्यस्त हुनुहुन्छ । फेम्बूलाई दुई वटा कुरामा चिन्ता छ । पहिलो पाकेको अलैँची समयमै टिप्न सकिएन भने विभिन्न जनवारले खाइन्छ । त्यसैले अलैँची टिप्नका व्यस्तता बढाएको छ भने, अर्को अहिले अलैँचीको बजार मूल्यमा घट्ने पो हो कि भन्ने चिन्ताले गर्दा समेत फेम्बूलाई बगानमै बसेर छिट्टै टिप्न सकाउने योजनामा लाग्नुभएको हो ।मेरिङदेन गाउँपालिका–५ नाल्बुका विमना लिम्बूले केही समय अगाडि आफ्नो परिवारको लागि मात्र खाना बनाउनुहुन्थ्यो तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाको लागि उहाँ बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाउनुभएका छन् । अलैँची टिप्ने खेतलालाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खानखान समय हुन्छ । आँखा देखुञ्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझ बिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई रु पाँच सयदेखि छ सय ५० ज्याला दिनुपर्दछ । लिम्बू बिहानदेखि बेलुकासम्म खेतालाको खाना खाजा बनाउनमा व्यस्तता बढेको हो ।उहाँले भन्नुभयो, “अहिले अलैँची टिपाइ सुरु भएको कात्तिक अन्तिमसम्म यस्तै व्यस्तता हुनेछ ।” सिरिजङ्गा गाउँपालिका–६ मा मांखेका हर्क माबो कसरी आफ्नो अलैँची बगान छिटोभन्दा छिटो टिप्न सकाउने भन्ने योजनामा हुनुहुन्छ । ढिलो टिपाइ भयो भने अहिलेको बजार मूल्य घट्ने हो कि भन्न चिन्ता लागिरहेको छ । त्यसैले झरी बाँदल नभनी बगानै अलैँची टिप्नमा व्यस्त हुनुहुन्छ ।यी त केही प्रतिनिधि पात्र हुन् । अहिले ताप्लेजुङका किसान घरमा भेटिन मुस्किल भएको छ । पल्लो डाँडा ओल्लो डाँडामा रहेको अलैँची बगानमा हो हल्ला, गीत गाउँदै अलैँची बगानमा अलैँची टिप्नदै गरेको भेट्न सकिन्छ । घर नजिकै बगान हुने साँझमा घर फर्किनुहुन्छ, भने घरदेखि धेरै टाडा बगान हुने साँझमा घर फर्किनुहुन्न । उतै बगानमा पाल टाङ्गेर बस्ने गर्दछन् । दिन भर टिपेको अलैँचीको ढुङ्गा बेलुका ढुङ्गाबाट दाना छोडाउनुपर्दछ ।अलैँची थन्क्याउने मौसम भएकाले अहिले किसान टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका छन् । कामको सिलसिलामा जिल्ला बाहिर रहेका तथा सहर पसेका किसान अलैँची पाक्न थालेपछि गाउँ फर्किएका छन् । हिजोआज गाउँमै रहेका र बाहिरबाट फर्किएका किसान अलैँची टिप्नमा व्यस्त बनेका हुन् ।किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ । यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखिमाथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ ।ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुनेगरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् । आज ताप्लेजुङमा प्रतिमन (४० केजी)को पाँच हजार चार सयदेखि रु ५५ हजारमा खरिद बिक्री भइरहेको अलैँची व्यावसायी दिनेश अधिकारीले बताउनुभयो । 

प्रधानसेनापति शर्मा आइतबार बेलायत जाँदै

काठमाडौँ, १७ असोज : प्रधानसेनापति प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा यही असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा बैठक आह्वान

काठमाडौँ, १८ असोज : मङ्गलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठक बोलाउनुभएको छ ।

बिहीबार बिहानका लागि प्रधानमन्त्री दाहालले बोलाउनुभएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

बैठकमा भूकम्पबाट भएको क्षति बेहोरेका प्रभावित परिवारका विषयमा विशेष सम्बोधन हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले बताउनुभयो ।

बैठक बस्नुपूर्व आज दिउँसो प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।
 

राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुरक्षा रणनीतिबारे छलफल

काठमाडौँ, १७ असोज : राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ ।

आज सिंहरदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको परिषद्को ३१औँ वैठकमा विभिन्न प्रदेशको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी छलफल भएको परिषद्ले जनाएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्यसचिव, प्रधानसेनापति र रक्षा सचिवको उपस्थितिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षासमेत भएको परिषद्ले जनाएको छ ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९, नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल

काठमाडौँ, १७ असोज : राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ ।

आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकारप्रति सचेत रहन, मर्यादितरुपमा सामाजिक सञ्जालको प्रयोग गर्न तथा नेपालगञ्जमा हिजो भएको घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “घाइतेको उपचारको व्यवस्था गर्न र संयमता अपनाउन आयोग सम्बन्धित सबै पक्षलाई अपिल गर्दछ ।” बाँकेको नेपालगञ्जमा हिजो भएको घटनामा पाँच सुरक्षाकर्मीसहित २२ जना घाइते भएको विषयमा आयोगको नेपालगञ्ज कार्यालयले स्थलगत अनुगमन गर्नुका साथै सरोकारवालाका लागि निकायसँग सम्पर्क गरी जानकारी लिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालगञ्जमा असोज १५ गते बसेको सर्वदलीय र सर्वपक्षी बैठकको निर्णयअनुसार असोज १६ गते बिहान सद्भाव र्‍याली निकालिएको थियो । तर सोही दिन दिउँसो नेपालगञ्ज उपमहानगरपालिकाभित्र अनिश्चितकालका कर्फ्यू जारी गरिएको थियो ।

भाषासम्बन्धी विधेयक समितिमा पठाउने बागमती प्रदेशसभाको निर्णय

मकवानपुर, १७ असोज : बागमती प्रदेशसभामा दर्ता भएको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरिएको छ ।

प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले उक्त विधेयक दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समिति पठाइयोस भनी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गर्नुभएको छ ।

आपसी सद्भाव कायम गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, १७ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुतामा खलल पुगेको भन्दै एक आपसमा सद्भाव र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गर्नुभएको हो ।

साथै अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता एकता अक्षुण्ण राख्न आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हाम्रो समाजको मुख्य विशेषताबीचको एकता र आपसी सहिष्णुता हो । एउटाको आस्थामाथि अर्काले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र आस्था नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएका छन् ।”

नानोक्रिस्टल कार्यका लागि तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

स्टकहोम – फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

पदार्थको व्यासमा रहेका केही परमाणुका इलेक्ट्रोनको आवागमनमा बाधा उत्पन्न गर्ने अत्यन्त साना कणहरूमा उनीहरूको कामका लागि सम्मानित गरिएको पुरस्कार प्रदान गर्ने रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ ।

क्वान्टम डट्सको खोज र संश्लेषणका लागि तीनै जना वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको बताइएको छ ।

संसदीय समिति बङ्गलादेश भ्रमणमा

काठमाडौँ, १७ असोज : कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय समितिले निर्वाह गरेका भूमिकाको सराहना गरेका थिए । ढाकास्थित नेपाली दूतावासका अनुसार मङ्गलबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा विचार आदानप्रदान गरेका थिए ।

नेपाली संसदीय प्रतिनिधिमण्डलले कृषिमन्त्री डा मुहम्मद अब्दुर रज्जाकसँग पनि छलफल गरेको छ । भेटका अवसरमा दुवै पक्षले कृषि क्षेत्रमा सहकार्य तथा प्रविधि हस्तान्तणका साथै खाद्य सुरक्षा सुनिश्चित गर्नेतर्फ द्विपक्षीय सहयोग बढाउनुपर्नेमा जोड दिएको छ । नेपाली प्रतिनिधिमण्डलले परराष्ट्र राज्यमन्त्री मोहम्मद शाहरिर आलमसँग पनि भेट गरेको छ ।

त्यस अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, दिगो विकास, खाद्य सुरक्षालगायत साझा चासोका विषयमा छलफल भएको थियो ।

इपिजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव

काठमाडौँ, १७ असोज : नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरुले सुझाव दिनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उहाँहरुले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्‍याइ आधिकारिकता दिनुपर्ने भनाइ राख्नुभयो ।

नेपाल-भारतबीचको सम्बन्ध, अवसर, समस्या र समाधानका विषयमा धारणा राख्दै उहाँहरुले दुई देशका प्राविधिक संयन्त्रले २६ वर्ष लगाएर तयार पारेको सीमा नक्सा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह(इपिजी)का सदस्य एवं पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्यायले विवादित क्षेत्रबाहेक सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्‍याइ आधिकारिता दिन संसद्मार्फत सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सीमा निर्धारणअनुसार दशगजाको अतिक्रमण हटाउन, सम्भव भएसम्म एकातर्फी तारबार गर्न, सीमा र नियमनका सन्दर्भमा सर्वाेच्च अदालतको संयुक्त इजलासको परमादेश कार्यान्वयन गर्न आवश्यक छ ।”

उहाँले नेपालमा रहेका भारतीयको अभिलेख स्थानीय तह र सम्बन्धित प्रहरी कार्यालयले राखी प्रत्येक छ महिनामा अद्यावधिक गर्न तथा श्रम कानुनको व्यवस्थाअनुसार श्रम स्वीकृतिलाई सङ्गठित र असङ्गठित दुवै क्षेत्रमा प्रभावकारीरुपमा लागू गर्नुपर्ने बताउनुभयो ।

उपाध्यायले सीमा नाका नियमन र व्यवस्थित नभएसम्म नेपालले लागुऔषध ओसारपसार, मानव बेचविखन, आपराधिक क्रियाकलापलगायत शान्ति सुरक्षासम्बन्धी चुनौतीको सामना गर्नुपर्ने अवस्था कायम रहेकाले सदनमा यस्ता विषय प्रभावकारीरुपमा उठाइनुपर्नेमा जोड दिनुभयो ।

नेपाल-भारतबीच आवतजावतका लागि २६ वटा नाका रहे पनि खुला सीमा रहेकाले जहाँबाट पनि सीमा पार गर्न सकिने विषयलाई दुवै पक्षले बुझ्न जरुरी रहेको उहाँहरुको भनाइ छ ।

नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बरालले दुई देशबीचको सीमा नियमनलाई एकीकृतरुपमा व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सन् १९८२ देखि २००७ सम्म २६ वर्ष लगाएर तयार गरिएको एक सय ८२ स्थानको सीमासम्बन्धी नक्सा कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

नियन्त्रण एकाइमा समस्या आएका कारण चन्द्र मिसन विफल

मस्को – रूसले गत अगष्टमा चन्द्रमामा रहेको आफ्नो ल्यान्डर ‘अनबोर्ड कन्ट्रोल युनिट’ को खराबीका कारण उक्त यान चन्द्रमामा खसेको बताएको छ ।

मङ्गलबार स्टेट स्पेस कर्पोरेसन रोस्कोस्मोसले नियन्त्रण एकाईले प्रोपल्सन प्रणाली (कुनै वस्तुको अनुवादात्मक गतिलाई परिमार्जन गर्न धक्का दिने वा तान्ने शक्ति) बन्द गर्न असफल भएको बताएको छ । यो यान गत अगस्टमा चन्द्रमामा खसेर विस्फोट भएको थियो ।

रोस्कोस्मोसका प्रमुख युरी बोरिसोभले एक अनुसन्धान आयोगले आफ्नो काम पूरा गरेको र सरकारलाई प्रतिवेदन दिन तयारी गरिरहेको बताउनुभएको छ ।

“लुना–२६ र लुना–२७ मिसनलाई जतिसक्दो छिटो आवश्यक पर्ने परिणाम प्राप्त गर्नका लागि अगाडि बढ्ने सम्भावनाबारे पनि विचार गरिरहेका छौं,” उहाँले भन्नुभयो ।

उहाँले चन्द्रमा अन्वेषण कार्यक्रमलाई अघि बढाउने दृढता व्यक्त गर्नुभयो । गत अगष्टमा रूसको लुना–२५ यान अनियोजित कक्षमा प्रवेश गरेपछि चन्द्रमामा खसेको थियो ।

चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ

जानकी (बाँके), १७ असोज : बाँके राष्ट्रिय निकुुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । राप्तिसोनारी–२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् । उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो चित्तलको मासु र भरुवा बन्दुकसहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले आज जानकारी दिनुभयो ।

उहाँका अनुसार जैसीलाई निकुञ्जभित्रको सुखार र खैरी खोलाको ‘फायर लाइन’बाट चित्तलको मासु भाग लगाउँदै गर्दा पक्राउ गरिएको हो । उनीसँगै रहेका मदनबहादुर खत्री भने फरार रहेका छन् । निकुञ्जभित्रको हिरासतमा जैसीमाथि थप अनुसन्धान भइरहेको उल्लेख गर्दै भुसालले बताउनुभयो, “वन्यजन्तु चोरी शिकारी आरोपमा टीकारामलाई चित्तलको मासु भाग लगाउँदै गर्दा हाम्रो गस्ती टोलीले पक्राउ गरेको हो । ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले हामी अनुसन्धानकै क्रममा छौँ ।”

फरार रहेका मदनबहादुर खत्रीको खोजी जारी रहेको उहाँले बताउनुभयो । “वन्यजन्तु चोरी शिकारी आरोपमा कसैलाई उम्कने छुट छैन । नेपालमै लुकेर बसे पनि अथवा नेपाल बाहिर जहाँसुकै गए पनि फरार रहेका मदनबहादुरको खोजी जारी नै भएको हुँदा उनलाई चाँडै नै पक्राउ गर्ने छौँ,” उहाँले भन्नुभयो ।

गत वर्षको स्थानीय निर्वाचनमा राप्रपा नेपालको तर्फबाट वडाध्यक्षमा निर्वाचनमा भाग लिएका मदनबहादुरको नाम पटकपटक वन्यजन्तु चोरी शिकारीको आरोपमा मुछिँदै आएको थियो । a

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने

काठमाडौँ, १७ असोज : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले विशेष ध्यान दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।”

निरन्तरको वर्षाका कारण सडक मर्मत प्रभावित भइरहेको जनाउँदै मन्त्री ज्वालाले दसँैलगायतका पर्वमा यात्रा गर्नेका लागि अग्रिम टिकट बुकिङदेखि विनासास्ती गन्तव्य पुग्ने र फर्कनका लागि सहज बनाउनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।

यस वर्षको दसैँको अवसरमा काठमाडौँ उपत्यकाबाट कम्तीमा १५ लाख यात्रु विभिन्न जिल्लामा जाने अनुमान गरिएको छ । सरकारले दसँैलगायतका चाडपर्वका लागि दैनिक उपभोग्य वस्तुलगायतमा हुनसक्ने कालोबजारी, मिसावट, कृत्रिम अभाव रोक्नका लागि प्रभावकारी संयन्त्र परिचालन गरिरहेको उहाँको भनाइ छ ।

बैठकमा समिति सदस्य ठाकुर गैरे, महेश बस्नेत, प्रतिमा गौतम, दिनेशकुमार यादव, माधव सापकोटालगायतले चाडबाडलाई लक्षित गरी यात्रुको यात्रा सहज बराउन प्रत्येक स्थानीय तहलाई सडक मर्मत र स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गर्नुभएको थियो । चाडपर्वलाई सुखद् बनाउन यात्रुको सुरक्षामा ध्यान दिन उहाँहरुले आग्रह गर्नुभयो ।

दसैँमा घर जाने सन्दर्भमा उपत्यकाबाट बाहिरिने नाकामा हुने सवारीको चाप व्यवस्थापन तथा यात्राका क्रममा होटलमा यात्रुको खानामा हुनसक्ने मूल्यवृद्धि नियन्त्रणका लागि पनि ध्यान दिन उहाँहरुको सुझाव दिनुभयो ।

जनताले नीति होइन विकासमात्रै सोध्छन् : सांसद तामाङ

काठमाडौँ, १७ असोज : जनताको सङ्घर्षको बलमा प्राप्त संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । तर संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणमा ढिलाइ हुँदा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायत राजनीतिक उपलब्धि संस्थागत हुन सकिरहेका छैनन् । संविधानको कार्यान्वयन र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकार र सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा दलीय स्वार्थ हाबी देखिएको छ ।

सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङ संविधानको कार्यान्वयन र शान्ति प्रक्रियाको बाँकी काम टुङ्गोमा पुर्याउनु वर्तमान सरकार र संसद्को प्राथमिकता हुनुपर्ने बताउनुहुन्छ । संविधान कार्यान्वयनसँग सम्बन्धित ऐन तत्काल बनाउनुपर्नेमा जोड दिँदै उहाँले संविधानको कार्यान्वनमा सम्पूर्ण मुलुकको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

“जनयुद्ध र जनआन्दोलनको उपजस्वरुप संविधानसभामार्फत हामीले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान प्राप्त गर्यौँ, संविधानले धेरै विषयमा मार्ग प्रशस्त गरेको छ । तर संविधान आफैँ लागू हुने होइन, अहिले सिङ्गो मुलुकको ध्यान संविधान कार्यान्वयनमा नै हुनुपर्छ”, सांसद तामाङले भन्नुभयो, “संविधानको कार्यान्वयनका लागि आवश्यक ऐन तत्काल निर्माण गर्नुपर्छ । ऐन, नियम, नीति, कार्यविधिलगायत संविधान कार्यान्वयनसँग सम्बन्धित अवयव निर्माण नगरी संविधानको धारा आफैँमा कार्यान्वयन हुँदैन ।”

सरकार र संसद्ले संविधान कार्यान्वयनलाई नै जोड दिनुपर्छ भन्दै उहाँले वर्तमान संविधानमाथि देखिएको खतराप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो । “संविधानलाई निष्प्रभावी बनाउने, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपतिक समावेशी व्यवस्थालगायत संविधानमार्फत प्राप्त राजनीतिक उपलब्धिलाई निस्तेज गर्ने सोच र चिन्तन हाबी हुन खोजिरहेको छ । त्यसका विरुद्धमा पनि सङ्घर्ष गर्न जरुरी छ”, सांसद तामाङले भन्नुभयो ।

शान्ति प्रक्रियाका बाँकी कामलाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिँदै उहाँले संसद्मा पेस भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई तत्काल निष्कर्षमा पुर्याइनुपर्ने बताउनुभयो । “शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नसक्दासम्म द्वन्द्वको खतरा रहिरहन्छ, त्यसकारण संविधानको रक्षा र कार्यान्वयन तथा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने काम अहिलेको संसद् र सरकारको प्राथमिकता हुनुपर्छ ।”

सांसद तामाङले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने सन्दर्भमा वर्तमान सरकारले थालेको अभियान मुलुक र जनताको पक्षमा रहेको उल्लेख गर्दै सरकारले थालेका अभियानमा सबैको साथ र सहयोग आश्यक रहेको बताउनुभयो । “वर्तमान सरकारमाथि आशङ्का गर्नुले वास्तविकतामाथि मेल खाँदैन, सरकारले आफ्नो काममा राम्रो गरिरहेको छ, त्यसलाई संसद्ले मात्रै होइन, अन्य राजनीतिक दलहरूले पनि साथ र सहयोग गर्नुपर्छ ।”

विधायकको मुख्य भूमिका कानुन निर्माण नै भए पनि मुलुकको अवस्था, जनताको आवश्यकतालगायत कारणबाट सांसद् आफ्नो जिम्मेवारीबाहेकका काममा पनि संलग्न हुनुपरेको सांसद तामाङले बताउनुभयो । सांसदको भूमिका नीति निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभभयो, “हामी भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणबाट जुन अवस्थामा गुज्रिरहेका छौँ, त्यस्तो मुलुकमा सांसदले बढी विकास निर्माणमा जोड दिए हुन्थ्यो भन्ने जनतामा परेको छ ।”

विकास निर्माणभन्दा पनि कानुन निर्माणमा आफ्नो भूमिका हुँदाहुँदै पनि सांसदले जनताका आकाङ्क्षालाई नजरअन्दाज गर्न नमिल्ने उहाँको भनाइ छ । “मत माग्ने बेलामा होस् वा अन्य समयमा जनतासँग भेट्दा तपाईँले कस्तो नीति बनाउनुहुन्छ ? अहिलेसम्म कुन–कुन ऐन पारित गराउनुभयो ? तपाईँको भूमिका कस्तो रह्यो ? भनेर कसैले पनि सोध्दैन”, सांसद तामाङले भन्नुभयो, “तपाईँले हाम्रो गाउँ–ठाउँमा के गर्नुभयो ? विकासका काम गर्ने कि नगर्ने भन्ने मात्रै आएको छ ।” राज्यसँग सीमित स्रोत, साधन र जनतासँग असीमित आकाङ्क्षाको कारण त्यस्तो अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

“जनताको चाहना र संविधानले व्यवस्था गरेको सांसदको भूमिकाका बारेमा अन्तरविरोध छ, यो विस्तारै मेट्दै जानुपर्छ”, सांसद तामाङले भन्नुभयो । समाजमा देखिएको अन्याय, अत्याचार, शोषण र विभेदका विरुद्धमा लड्नुपर्छ भनेर आफू राजनीतिमा क्रियाशील भएको उहाँको भनाइ छ । विसं २०३६ देखि विद्यार्थी आन्दोलनमा सहभागी हुनुभएका सांसद तामाङ २०३९ सालमा अनेरास्ववियुको नुवाकोट जिल्ला सचिव, २०४७ सालमा नेकपा चौथो महाधिवेशन सदस्य, २०५२ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव, २०५३ सालमा बागमती क्षेत्रीय ब्यूरो सदस्य, २०५८ सालमा नेकपा (माओवादी)को केन्द्रीय सदस्य, २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य, २०६६ सालमा युवा तथा खेलकुदमन्त्री तथा २०७४ साल र २०७९ सालमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।

नेपालको संविधानमा व्यवस्था भएअनुसार सांसदको जिम्मेवारी र क्षेत्राधिकार कानुन निर्माण नै भएको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरुको सहमतिबेगर कुनै एक जना सांसदले चाहेरमात्रै पनि गर्न सक्ने अवस्था नरहेको विडम्बना सुनाउनुभयो । “सबैजसो सांसद राजनीतिक दलबाट टिकट लिएर निर्वाचित भएका हौँ, दलको निर्देशनभन्दा बाहिर गएर काम गर्न सक्ने स्थिति छैन । संसद्मा प्रस्तुत भएको विधेयकमा राजनीतिक दलको सहमति भएन भने चाहेर पनि त्यो विधेयक पारित भइरहेको छैन”, सांसद तामाङले भन्नुभयो, “विधेयकमाथि छलफल गरेर ऐनको रूप दिनुपर्ने थियो, त्यो हुनसकेको छैन ।”

दलहरुबीच सहमति हुन नसक्दा संविधान कार्यान्वयन र शान्ति प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण विधेयक सदनबाट पारित हुन नसकेको यथार्थ प्रस्तुत गर्दै उहाँले दलहरूले तत्काल सहमति जुटाएर ती विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । “धेरै विधेयक तयारीका अवस्थामा छन्, राजनीतिक दलहरूबीचको सहमतिको अभावले संसद्मा दर्ता हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “केही विधेयक संसद्मा दर्ता भएर समितिमा जान सकिरहेको छैन, समितिमा गएर पनि राजनीतिक सहमतिको अभावमा टुङ्गोमा पुगिरहेको छैन ।”

समावेशिताको दृष्टिकोणबाट नेपालको संविधान विश्वकै उत्कृष्ट भित्र पर्ने दाबी गर्दै उहाँले संवैधानिक हिसाबबाट भन्दा पनि दलहरूबीचको सोचका कारण अपेक्षितरूपमा सफलता हासिल गर्न नसकिएको बताउनुभयो । “हामीले जनताको अपार साथसमर्थनबाट जनयुद्ध लड्यौँ, परिणामस्वरुप नयाँ संविधान प्राप्त भयो, संविधानले जनताको अधिकारलाई संस्थागत गरेको छ”, सांसद तामाङले भन्नुभयो, “तर हाम्रो संस्कार पुरानै छ, हामीले लोकतान्त्रिक संस्कार विकास गर्न सकेका छैनौँ ।”
–––

एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

काठमाडौँ, १७ असोज : उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ ।

चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेर अघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेशगरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।  

महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो । “पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौँ”, नेपाली महिला कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले चीनको हाङझाउबाट रासससित कुरा गर्दै भने– “महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको छ, जारी एसियाली खेलकुदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भयौँ ।” सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदकमा मात्र सीमित नरहने उनको भनाइ थियो । 

नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’ को विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाल र इरानसित पराजित भएको बङ्गलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो ।    यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’ मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । नेपालले अब समूह ‘ए’ को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ ।

मलेखुमा ट्रकको ठक्करबाट कक्षा ८ मा अध्ययनरत दुई स्कुले बालकको मृत्यु

मलेखु (धादिङ), १७ असोज : धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति

सिन्धुपाल्चोक, १७ असोज : लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।

पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् । वर्षा रोकिएपछि तत्काल मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताउनुभयो ।त्यस्तै बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, गृहमन्त्री श्रेष्ठले उद्घाटन गर्ने

काठमाडौँ, १७ असोज : नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुहुने उक्त सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्रा डा श्रीराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशबाट विज्ञको सहभागिता रहने छ । यही असोज १९ गतेसम्म चल्ने सो सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल हुने बताइएको छ ।

मुख्य गरी उक्त सम्मेलनले नीति निर्माणमा सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् प्रा डा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालका रहने छन् । नेपाल चट्याङको उच्च जोखिम मुलकुमा पर्छ । अनुसन्धान भएका मुलुकमध्ये चट्याङको चौथो जोखिम मुलुकमा रहेको प्रा डा शर्माले बताउनुभयो । औषतमा वार्षिक झण्डै एक सय जनाले चट्याङबाट ज्यान गुमाउने र तीन सयभन्दा बढी घाइते हुने गरेका छन् ।

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर (बझाङ), १७ असोज : बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

किन ढिलो बाहिरिन थाल्यो मनसुन ?

काठमाडौं । मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्हरू बताउँछन्।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सन् २००० यताका १३ वर्षमा मनसुन ढिला बाहिरिएको छ। पछिल्लो मनसुन भित्रिन समय पनि ढिलाइ भइरहेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अझै सातादिन जस्तो मनसुन सक्रिय रहने देखिन्छ।त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ। हाल भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको छ। पौडेलले भने, ‘चार÷पाँच दिन अझै केही बद्ली हुने र पानी पर्ने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ।’जलवायु परिवर्तनका कारण मौसम ढिला भित्रिने र ढिलै बाहिरिने क्रम दोहोरिन थालेको उनको भनाइ छ। ‘वायुमण्डल र समुद्रको सर्कुलेसनले वाष्पीकरण हुने तथा पानी पार्ने चक्रमा कहीँ न कहीँ थोरै मात्रामा असर छ,’ पौडेलले थपे ‘ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनको दीर्घकालीन असर हुनसक्छ। त्यसलाई ‘क्लाइमेट भेरीबेलिटी’ पनि भन्छौं।’मुलुकमा पानी पर्ने प्रणाली र प्रक्रियामा पनि परिवर्तन आएको छ। सुक्खा हुने वा अत्यन्त वर्षा हुने क्रम बढ्दै गएको छ। धेरै वर्षा हुने ठाउँमा कम वर्षा हुने र कम वर्षा हुने ठाउँमा धेरै वर्षा भएका घटना छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।चरम मौसमी अवस्थाहरू पनि देखिएका छन्। अत्यधिक जाडो र अत्यधिक गर्मी हुन थालेको छ। जल तथा मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईँ जलवायु परिवर्तनको कारण मनसुन बहिर्गमनमा ढिलाइ भएको हुनसक्ने बताउँछन्।पछिल्लो समय नेपालमा अक्टोबरको आधासम्म पनि पानी पर्ने क्रम बढेको छ। हुमागाईंले भने, ‘कुनै वर्ष ढिलोछिटो हुनु सामान्य प्रक्रिया हो। तर, सन् २००० यताका वर्षहरूमा धेरैजसो वर्ष मनसुन बाहिरिने समय पछाडि धकेलिँदै जानुले जलवायुको असर मान्न सकिन्छ।’