`

आइतबारदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ, २० असोज : सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् ।

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

ती कम्पनीका काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ । राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ । 

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल रहनेछन् । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेका प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिनुभयो । 

    कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो,  र सबै प्रकारका तेलमा प्रतिकिलो÷प्रतिलिटर रु सात तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो रु १० छुट पाउनेछन् । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ । 

खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ । कम्पनीले भोलि थापाथालीस्थित बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई रु दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । 

यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडाँै उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले रु एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङले चिनी प्रतिकिलो रु ९७ मा बिक्री गर्नेछ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता : परराष्ट्रमन्त्री साउद

काठमाडौँ, २० असोज : परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता रहेको बताउनुभएको छ । चावहिल स्थित जिपी कोईराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उहाँले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यक्ता रहेको बताउनुभयो ।

हाल धेरै सामुदायिक क्याम्पस भए पनि जिपी कोइराला कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट बनेकामा मन्त्री साउदले क्याम्पस परिवार तथा विद्यार्थीलाई बधाई दिनुभयो । कलेजको स्थापना गर्नुमात्र ठूलो कुरा नभएर गुणस्तरीय शिक्षा प्रदान गर्नु महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

मन्त्री साउदले आफू विद्यार्थी राजनीतिबाट आएकाले पनि देशको शैक्षिक स्थिति र विद्यार्थीका धेरै कुरा बुझेको बताउँदै राम्रो नतिजाका लागि विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका उत्तिकै महत्वपूर्ण हुने जनाउनुभयो । गुणस्तरीय शिक्षा भएन भने जीवनमा सुख पाउन नसकिने भन्दै उहाँले सबै कलेज तथा विद्यालयले समाज र देशलाई योगदान पु¥याउने खालको प्रभावकारी शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

बागमती प्रदेशसभा सदस्य मीना पराजुलीले कलेजले विद्यार्थीको आवश्यक्ताअनुसार पढाउनुपर्ने भन्दै विद्यार्थीको आवश्यक्ता हेरेर पढ्न सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । आजको आधुनिक युगमा प्रविधिमैत्री शिक्षा प्रदान र्ग सके थप प्रभावकारी र उपलब्धिमूलक हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय २०७९ मा सामुदायिक क्याम्पसहरु मध्येबाट विएसएसडब्लुतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल दिया थापा मगरलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न साङ्गीतिक कोसेली प्रस्तुत गरिएको थियो ।

बागमती प्रदेशलाई आत्मनिर्भर बनाउने नीति : मुख्यमन्त्री जम्कट्टेल

मनहरी (मकवानपुर), २० असोज – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा उद्योग कालकारखाना स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिएको बताउनुभएको छ । आज हेटौँडामा आयोजित उद्योग परिसङ्घ बागमती प्रदेशको साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिएर अगाडि बढेको बताउनुभयो ।

उद्योगीका क्षेत्रमा छलफल गरेर अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको क्षेत्राकारभित्रका कार्यमा लगानी गरेको दाबी गर्नुभयो । सरकारले कृषि क्षेत्रमा जोड दिने भन्दै विगतमा कृषि क्षेत्र व्यक्ति केन्द्रित भएकाले त्यसको अन्त्य गरेर व्यसायीकरण गर्दै अगाडि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

उद्योग कालकारखाना प्रदेश सरकारको मातहतमा नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले नयाँ योजनासहित प्रदेश सरकारले डाक्टर र नर्स पढाइ खुलारुपमा गर्ने नीति निर्माण गर्न लागेको बताउनुभयो । “सिटीइभिटीमा १३ हजार विद्यार्थी उत्तीर्ण भए पनि एक हजार तीन सयले मात्र पढ्न सिट पाएका छन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले डाक्टर र नर्स पढाइ खुलारुपमा गर्ने योजना बनाइरहेको छ ।”

सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने

काठमाडौँ, २० असोज : काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ । कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा शिवराज अधिकारीका अनुसार नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई सहयोग गरेर नागरिकलाई सहज सार्वजनिक शौचालयको पहुँच पुर्‍याउने तयारी रहेको छ । उहाँले भन्नुभयो, “यसका लागि ३२ वटै वडाले इच्छा भएको संस्थाको विवरण सङ्कलन गरेर केन्द्रमा पेस गर्न भनिएको छ ।”

कामपाले विगत छ वर्षदेखि नागरिकलाई सहज रुपमा सार्वजनिक शौचालय प्रयोग गर्न सक्ने वातारण बनाउने भने पनि हालसम्म सबैतिर सार्वजनिक शौचालयको पहुँच नपुगेको डा अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भएकालाई नियमित गर्ने, सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडालाई नै जिम्मा दिइएको छ ।”हाल कामपाको क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालयको सूची रहे पनि अधिकांशमा सरसफाइ र पानीकोसमेत व्यवस्था नहुँदा प्रयोग गर्न मिल्ने अवस्थामा नरहेका अधिकारीको भनाइ थियो । उहाँका अनुसार यसलाई रुपान्तरण गरेर सफा, दुर्गन्धरहित, व्यवस्थित, उज्यालो, हात धुने साबुन, पानीको व्यवस्था भएको शौचालय उपलब्ध गराउने उद्देश्यले कामपाले इच्छुक संस्थालाई सहयोग गर्ने योजना बनाएको हो ।“विसं २०७९ को प्रारम्भमा व्यक्तिगत तथा संस्थागत रुपमा चलेका एक सय २० शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएको छ”, अधिकारीले भन्नुभयो, “तिनीहरु कसरी चलेका छन् सक्रिय र नियमित रुपमा सञ्चालन गर्न के गर्नुपर्छ भन्ने विषय अघि बढाइएको छ ।” उहाँका अनुसार सहरी क्षेत्रमा हरेक पाँच सय मिटर दूरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउनुपर्ने नीति रहे पनि कामपाको हकमा त्यो कार्यान्वयन भएको छैन ।वडाबाट सञ्चालन भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तीय संस्था र कार्यालयबीच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाइको तत्कालको योजना रहेको इकाइका प्रमुख डा अधिकारीले जानकारी दिनुभयो ।“सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले नक्सा बनाएको छ । यसलाई आधार मानेर वडा र एकाइले नयाँ ठाउँमा शौचालय निर्माण गर्नेछन् । यसमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी उपयोग गरिने छ”, उहाँले भन्नुभयो ।

कांग्रेस एकढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्छ : नेता कोइराला

काठमाडौँ, २० असोज : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखा सहिदलखन–काठमाडौँ सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले कांग्रेस एकढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

“हामीले जनताका लागि सकारात्मक काम गर्दै गाउँमा आफ्ना साथीलाई पनि सम्झाउन सक्यौँ भने कसैले कांग्रेसलाई हराउन सक्दैन, हामी एकढिक्का हुन जरुरी छ”, उहाँले भन्नुभयो । नेता डा कोइरालाले अहिले देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकारले समय, परिस्थिति अनुसार जनताका पक्षमा काम गर्न आवश्यक रहेको बताउनुभयोे । वर्तमान परिस्थितिलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले कांग्रेसलाई अगाडि बढाउनका लागि सबै एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईं, कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, पूर्वसांसद प्रकाशचन्द्र दवाडीलगायतले गोरखामा कांग्रेसलाई बलियो बनाएर लैजानुपर्ने बताउनुभएको थियो । —

लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्रीको गुनासो

काठमाडौँ, २० असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उहाँले मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम हुन् भनी समीक्षा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिलेको सङ्कट दक्षिणपन्थी वा वामवन्थीका कारण उब्जेको हो भन्ने विषय गम्भीर छ, माक्र्सवादलाई धर्मशास्त्र र सूत्रका रूपमा होइन, वैज्ञानिक र वैचारिक सुधारको बाटोका रूपमा बुझ्नुपर्छ ।”

आफ्नो नेतृत्वमा भएको जनयुद्धलाई अझै पनि केहीले गल्ती र हिंसात्मक रहेको भनी टिप्पणी गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका वाहकलाई कतिपयले दोषारोपण र कमजोर पार्ने प्रयास भइरहेकोतर्फ पार्टीपङ्क्तिलाई सजग गराउनुभयो ।

दर्शन, राजनीतिक र सामाजिक क्रान्तिका विषयमा चर्चा गर्न सजिलो नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले क्रान्तिको परिणाम भनेको शक्तिशाली प्रतिक्रान्तिद्वारा ठीक बाटो पक्रेर अघि बढ्नुभएको बताउनुभयो । क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउँदै उहाँले एकपटक क्रान्ति गरेपछि त्यो सधैँका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र निरन्तर क्रान्ति सम्भव रहेको उल्लेख गर्नुभयो ।

पार्टी र सरकारले गरेका राम्रा कामको मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले क्रान्तिकारीमाथि प्रहार गर्दा दक्षिणपन्थीको शिर उठ्ने अवस्थाले पार्टीको हित नगर्ने बताउनुभयो । पार्टीले अगाडि बढाएका आर्थिक विकासका मुद्दामा सहयोग र समर्थन गर्न आग्रह गर्दैै उहाँले माक्र्सवादको प्रयोगद्वारा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा सरकार दृढताका साथ अगाडि बढिरहेको बताउनुभयो ।

लेखक कार्कीले भन्नुभयो, “माक्र्स–लेनिनले गरेको व्याख्या र विश्लेषण हो, शान्ति र अहिंसाको बाटो हिँडेपछि सादगी र सरल जीवन बिताउन सहज हुन्छ, त्यो पाटोलाई हामीले जोगाइरहनुपर्छ ।”

टिप्पणीकार झलक सुवेदीले मुलुकमा अहिले भइरहेका क्रियाकलाप, राज्य व्यवस्था र देशले अङ्गीकार गरेको बाटोको विकल्प के हुनसक्छ भनी पुस्तकमा प्रस्तुत गर्न खोजिएको बताउनुभयो । बुकहिल प्रकाशनले बजारमा ल्याएको ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ पुस्तकमा शान्ति प्रक्रियादेखि नेकपा विभाजनसम्मका अवधिमा भएका घटना समेटिएका छन् ।

पुस्तकका ३३ लेखका माध्यमबाट लेखक कार्कीले दुनियाँलाई बुझ्ने माक्र्सवाद, निष्ठा र प्रतिबद्धता विषयवस्तुको उठान गर्दै पुँजीवादको विकल्प समाजवाद नै हो भन्ने पुष्टि गर्ने प्रयास गर्नुभएको छ ।उक्त कृति अध्यक्ष दाहालका साथै द्वन्द्व कालमा जीवन गुमाएका र बेपत्ता भएका व्यक्तिका सन्ततिले सामूहिकरूपमा विमोचन गर्नुभएको थियो ।

प्रधानसेनापति शर्मा आइतबार बेलायत भ्रमणमा जाँदै

काठमाडौँ, २० असोज : प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जान लाग्नुभएको छ । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उहाँ बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लाग्नुभएको हो ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्टको भ्रमण गर्नुहुनेछ । ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्नुहुनेछ ।

प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ । बेलायत नेपालको पुरानो मित्रराष्ट्र हो । आजभन्दा ठिक एक सय वर्षअघि अर्थात् सन् १९२३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर जबरा र बेलायत सरकार (तत्कालीन ब्रिटिस–इण्डीया) बीच भएको सन्धीले नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र बराबरीको मान्यता भएको समकक्षी मुलुकको मान्यता दिएको थियो । नेपाली सेना र बेलायती सेनाबीच पुरानो र न्यानो मित्रवत् सम्वन्ध रहिआएको छ ।

बेलायती सेनामा नेपालीलाई गोर्खाली सेनाकारुपमा समावेश गर्दै आएको छ । त्यो सङ्ख्या अहिले पनि करिब चार हजारको हाराहारीमा छ । बेलायती सेनामा गोर्खा समावेश कार्यलाई दुईपक्षीय सम्बन्धको अनुपम र बेग्लै आयमकारुपमा हेरिने गरिएको छ । बेलायत सरकारले गोर्खाली सैनिकले पु¥याएको योगदानको उच्च कदर गर्दै त्यहाँको रक्षा मन्त्रालय भवन परिसरमा गोर्खाली सैनिकको सालिक स्थापित गरेको छ । नेपाली सेनाका कैयौँ अधिकृत बेलायतमा तथा त्यहाँका सेनाका अधिकृत पनि तालिम प्रशिक्षणका लागि नेपाल आउने अभ्यास छ ।

बेलायतमा पाँच दर्जनभन्दा बढी विभिन्न शैक्षिक कार्यक्रम, तालिम, अभ्यास, सेमिनारलगायत उच्चस्तरीय भ्रमणमा नेपाली सेना सहभागी हँुदै आएको छ । नेपाली सेनाका अधिकृत हाल एनडिसी, डिएचइटी, स्टाफ कलेज, एयर ट्रान्सपोर्ट म्यानेजमेन्ट, आरएमएस, पिसीविसी, एक्सर साइज क्याम्ब्रीयन पट्रोलमा आठसहित अधिकृतसहित १६ जना तालिम प्रशिक्षणलगायतमा सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, हालसम्म बेलायती सेना शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र हाइअल्टिच्यूट एण्ड माउन्टेन वेयलफेयरमा तालिममा सहभागी हुँदै आएको छ । बेलायतको वेल्सको ब्रेकनमा सन् २०१९ ‘एक्सरसाइज क्याम्ब्रियन गस्तीमा नेपाली सेनाले स्वर्ण जित्न सफल भएको थियो । उक्त गस्तीमा सैनिक नेतृत्व, समूह कार्य, शारीरिक तन्दुरुस्ती र लक्ष्य हासिल हासिलका आधारमा मूल्याङ्क गरिन्छ ।

आर्थिक सङ्कट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

कावासोती (नवलपरासी) – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकार आग्रह गर्नुभएको छ ।

समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उहाँले मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराउनुभयो।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफूहरु क्रान्तिकारी एजेन्डा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र सम्मृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताउनुभयो । उहाँले औद्योगिक विकास र मिटर ब्याज पीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशीलता रहेको दाबी गर्नुभयो ।

यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा जागरण अभियान सम्पन्न गरिएको छ ।

पार्टीले सुरू गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित भएका छन् । पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरिएको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजार नेता कार्यकर्ता सो पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । कावासोतीपछि आज बर्दघाट र परासीमा पनि आमसभा गरिने छ ।

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ : अर्थमन्त्री डा महत

दमौली, २० असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले यहाँ पूर्वाधार निर्माणमा सरकारको सहयोग बताउनुभयो ।

सो अवसरमा अर्थमन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन गर्नुभएको थियो । पहिरो नियन्त्रणका लागि सरकारले बजेट सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री महतसमक्ष आग्रह गर्नुभयो । देवघाट विश्वभरका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थल बन्दै गइरहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा घोषणा गर्न थापाले महतको ध्यानाकर्षण गराउनुभयो ।

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर (बागमती) – मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले राससलाई जानकारी दिनुभयो ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

स्वास्थ्य बीमामा जोडिएका बिरामी प्रत्येक महिना अस्पताल धाउन पर्दा हैरानी

काठमाडौँ, २० असोज : प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो झेल्नुपरेको छ ।यसअघि स्वास्थ्य कार्यक्रममा सहभागि बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अस्पतालबाट तीन महिनाका लागि औषधि उपलब्ध गराइँदै आएको थियो ।

पछिल्लो समय दुर्गम भेगबाट आएका बिरामीसमेतलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराइने नयाँ प्रावधानबाट कैयौँ बिरामीले हैरानी खेप्न परेको छ । स्वास्थ्य परीक्षणभन्दा पनि औषधि लिनकै लागि दूरदराजबाट प्रत्येक महिना अस्पताल धाउन पर्ने स्थितिले बिरामीलाई मर्का मात्रै परेको होइन, एउटै बिरामीलाई पटक–पटक जाँच गर्नु पर्दा अस्पतालमा बिरामीको चाप पनि ह्वात्तै बढ्न गएको छ ।कतिपय अस्पतालले चिकित्सकले परीक्षण गरेकै दिन मात्र औषधि लिनुपर्ने र अन्यथा नपाइने बाध्यात्मक परिस्थितिले पनि बिरामीलाई असजिलो बनाएको हो । एक पटक जाँच गरेपछि एक महिनालाई मात्र औषधि दिइने व्यवस्थाले दूरदराजका बिरामीको त घर र अस्पताल ओहरदोहरमै सम्पूर्ण समय बित्ने गरेको मात्र नभई आवतजावत खर्चले समेत ढाड सेक्ने गरेको छ ।एक महिने प्रावधानले स्वाथ्य बीमा कार्यक्रमबाट थप औषधि नमिल्ने भएपछि बिरामीले बाध्य भएर औषधि आफैँ किनेर जोहो गर्नुपरेको ओपन हर्ट सर्जरी गर्नुर्भका दोलखा चरिकोटका मुटुका बिरामी एक शेर्पा गुनासो गर्नुहुन्छ ।सरकारले स्वास्थ्य सेवातर्फ सामाजिक सुरक्षाको नाममा गरिरहेको खर्चलाई स्वास्थ्य बीमामार्फत दिगो बनाई स्वास्थ्य क्षेत्रमा गर्ने लगानी कम गर्ने ध्येयका साथ स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको हो ।मुलुकभर हाल २२ लाख १६ हजार छ सय ५९ परिवारका ७१ लाख ८१ हजार तीन सय २५ जना स्वास्थ्य बीमा आबद्ध छन् । त्यस बीमामा आबद्ध घरपरिवारको सङ्ख्या चालु आर्थिक वर्षमा ३१ दशमलव ४ प्रतिशतबाट बढाई ५० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।कूल बीमितमध्ये ७० प्रतिशतले मात्र वार्षिकरुपमा स्वास्थ्य बीमा नवीकरण गरेको एक तथ्याङ्कले देखाएको छ । हाल करिब ३२ लाख ३१ हजार पाँच सय ९६ ले सेवा उपभोग गरेको अवस्था छ । जुन बीमितमध्ये ४५ प्रतिशत हो । देशभर चार सय ४० स्वास्थ्य सेवा प्रदायक संस्थाबाट यो सेवा प्रवाह भइरहेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ चिकित्सक डा प्रकाश बुढाथोकी उच्च रक्तचाप, मधुमेह, मुटु र मिर्गौलासम्बन्धी बिरामीको साधारणतया एक–एक महिनामा स्वास्थ्य परीक्षण गरी औषधि दिनुपर्ने भएकाले वैज्ञानिक आधारमा एक महिनाका लागि मात्र औषधिको व्यवस्था गरिएको प्रतिक्रिया दिनुभयो ।उहाँले भन्नुभयो, “कुनै कारणले एक महिनामै औषधि र औषधिको मात्र घटाउन र बढाउनु पर्ने परिस्थितिले लामो समयका लागि लगेका औषधि खेर जाने भएकाले त्यसलाई रोक्न हाल एक महिनाको व्यवस्था गरिएको हो ।” स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्ला अस्पताल र स्वास्थ्य संस्थाबाट पनि औषधि प्राप्त गर्न सकिने भएकाले हालको व्यवस्थालाई अन्यथा भन्न नमिल्ने तर्क गर्दै डा बुढाथोकीले औषधिको अभाव, मौज्दात कम, टेण्डर समस्याका कारण नभई बिरामीको स्वास्थ्यको पाटोलाई ध्यानमा राखेर सुझबुझका एक महिने व्यवस्था गरिएको दाबी गर्नुभयो ।स्वास्थ्य बीमा बोर्डका सदस्य चन्द्र थापा भन्नुहुन्छ, “पहिले तीन महिनाका लागि औषधि दिने गरिएकामा कतिपय बिरामीले बीमाबाट औषधि लिएर निजी औषधि पसलमा लगेर बिक्री गरेको भन्ने सूचनाका आधारमा त्यो दुरुपयोग रोक्न एक महिनाका लागि मात्रै उपलब्ध गराउने नीति लिइएको हो ।”नेपाल सरकारले हाल सर्वसाधारण तथा लक्षित वर्गलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरेको छ । मिर्गौला, मुटुरोग, क्यान्सर, स्पाइनल इन्जुरी तथा टाउकाको चोटपटक, अल्जाइमाइर, सिकलसेल, एनिमिया तथा पार्किसनजस्ता आठ प्रकारका गम्भीर रोगको उपचारमा विशेष सुविधा उपलब्ध गराइरहेको छ । ती समस्या भोग्न परेका बिरामीलाई रु एक लाखसम्मको अनुदान दिँदै आएको छ । पचहत्तर वर्षमाथिका नागरिक र १५ वर्षमुनिका बालबालिकालाई निःशुल्करुपमा मुटुको भल्भ फेर्ने र उपचारको व्यवस्था छ ।सरकारले करिब ९८ प्रकारका औषधि विभिन्न स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध हँुदैआएको छ । स्वास्थ्य बीमाप्रति छोटो अवधिमै नागरिकको आकर्षण बढ्दो अवस्थामा रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिनुभयो ।मुलुकमा कुनै पनि नागरिक स्वास्थ्योपचार गर्नका लागि पैसाका अभावमा वञ्चित हुन नपरोस् भन्ने हेतुले ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम लोकल्याणकारी प्राथमिकताको अवधारणा रहेको दाबी गरिएको छ ।जनतालाई अझै थप सुसूचित गर्दै नागरिकलाई यसमा आबद्ध गर्ने जिम्मेवारीअनुरुप संस्थाले काम गरिरहेको स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेश कार्यालय संयोजक जीवलाल खरेल बताउनुभयो ।यो कार्यक्रम हाल सबै जिल्लामा लागू छ । काठमाडौँ उपत्यका काठमाडौँ, ललितपुर, बूढानीलकण्ठ र टोखा नगरपालिकाबाहेक मुलुकका सात सय ४९ वटा स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम लागू रहेको उहाँले बताउनुभयो ।सेवा प्रदायक अस्पतालले टेण्डर प्रक्रियाबाट औषधि खरिद पर्ने, धेरै बिरामीलाई एकै पटक धेरै औषधि दिँदा स्टक नरहने र कतिपय बिरामीलाई पनि एक महिना परीक्षण गर्नपर्ने चिकित्सको सल्लाहअनुरुप औषधि उपलब्ध गराउने हालको नीति अवलम्बन गरिएको संयोजक खरेल बताउनुहुन्छ । सेवा प्रदायकबाट सहजरुपमा सुविधा र अस्पतालको पहुँच भएका जिल्लामा स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण राम्रो रहेको उहाँको भनाइ छ । अस्पताल नजिक नरहेका दुर्गम जिल्लामा भने बीमा कार्यक्रमबारे नागरिकलाई बुझाउन र सेवा प्रवाहमा चुनौती देखिएको छ ।बागमती प्रदेशको चितवन र भक्तपुर जिल्ला स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी र आकर्षण भएका जिल्लाको सूचीमा छन् भने सिन्धुपाल्चोक र धादिङमा आकर्षक कम देखिएको छ ।समाजका अन्य क्षेत्रजस्तै स्वास्थ्य बीमामा पनि सेवाप्रवाह र सेवाग्राहीको पहुँच पहिलो प्राथमिकतामा पर्दैआएको छ । बागमती प्रदेशकै पनि एक सय १९ मध्ये ५५ स्थानीय तहमा अझै स्वास्थ्य बीमाको पहिलो सेवाप्रदायक अस्पताल छैन । त्यस परिस्थितिले ठूलो सङ्ख्या स्वास्थ्य बीमाबाट बाहिर रहेको पुष्टि गरेको छ । जिल्ला अस्पतालको नजिकको सेरोफेरोमा स्वास्थ्य बीमाको आकर्षण राम्रो छ भने जहाँ छैन त्यहाँ कमछ ।स्वास्थ्य बीमामार्फत रु तीन हजार पाँच सय तिरेर रु ९६ हजार पाँच सय बराबरको थप सुविधा लिन सकिने भए पनि घर पायक अस्पताल नभएको, स्वास्थ्य संस्थामा झेल्ने नसक्ने गरी बिरामीको भीडभाड र लामो लाइन रहने तथा चिकित्सकले गरेको सिफारिसका सबै औषधि नपाइने गुनासो नागरिकबाट सुनिँदैआएको छ ।बागमती प्रदेशमा १६ लाख नागरिक बीमामा समेटिएका छन् भने चितवनमा ६० प्रतिशतभन्दा माथि सर्वसाधारण यस कार्यक्रममा समेटिएको बीमा बार्डको दाबी छ । स्वास्थ्य बीमा सबै नागरिकका लागि अनिवार्य नभई ऐच्छिक भएकाले यसको महत्व र आकर्षणबारे नागरिकलाई जनचेतना वृद्धि गर्न पर्ने आवश्यक देखिएको छ ।विद्यालय र विश्वविद्यालयका शैक्षिक पाठ्यक्रममा स्वास्थ्य बीमा कार्यक्रम समावेशका साथै नागरिकलाई यसप्रति जनचेतना जागृत तुल्याउने, सेवाप्रदायक अस्पताल सुधार र स्तरोन्नति गर्ने तथा सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराएको खण्डमा कार्यक्रमको लोकप्रियता बढ्ने जानकारहरु बताउँछन् ।मुलुकमा स्वास्थ्य बीमा कार्यक्रमप्रति सेवाग्राहीको आकर्षण बढाउन सके नेपाललाई सन् २०३० सम्म पूर्णरुपमा स्वस्थ बनाउने लक्ष्य पूरा हुने सरकारको विश्वास छ

स्वस्थ आलोचना र प्रश्न गर्न पाउनु संसदीय व्यवस्थाको सुन्दर पक्ष हो : सांसद न्यौपाने

काठमाडौँ, २० असोज : विसं २०६४ र २०७० मा संविधानसभा सदस्य रहनुभएकी ईश्वरीदेवी न्यौपाने अहिले प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । सांसद न्यौपानेलाई संसदीय सर्वोच्चता र मर्यादा कायम राख्दै पक्ष–विपक्षमा हुने आलोचना र गरिने प्रश्न लोकतन्त्रको सुन्दर पक्ष लाग्छ । संसद् अवरोध गरेर विरोध जनाउने शैली भने उहाँलाई कहिल्यै चित्त बुझेन । यो खराब परम्परा तोडिनुपर्ने उहाँको मत छ ।

“संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच चल्ने आरोप–प्रत्यारोपलाई लोकतन्त्रको सुन्दर पक्ष मान्नुपर्छ । गल्ती भएको ठाउँमा सच्याउन लगाउने वा त्यो भएन भन्न पाइन्छ”, सांसदसँग रासस संवादका क्रममा उहाँ भन्नुहुन्छ, “कुनै सांसदले आवाज उठाउनु भनेको सरकार सच्चिने अवसर पनि हो । यसकारण पनि संसद्मा आवाज उठाउन जरुरी छ ।”नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसद्मा कुरा उठाउँदा संसद् बाहिर पनि दबाब खेप्नुपरेको अनुभव उहाँले सुनाउनुभयो । “नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दुई पूर्वगृहमन्त्रीका सन्दर्भमा निर्दोष फस्न नहुने र दोषी बच्न नहुनेबारे संसद्मा बोलेको विषयमा अर्को एकजना सांसदले मलाई किन यसो बोलेको भनेर संसद् बाहिर भन्नुभयो”, उहाँ भन्नुहुन्छ, “जायज प्रश्न गर्न पाउनुपर्छ । गलत गरेको विषयमा बोल्नका लागि नै संसद् हो ।”कुनै प्रश्न गर्दा र आफ्ना कुरा राख्दा संसदीय मर्यादालाई भने ख्याल गर्नुपर्ने न्यौपानेको बुझाइ छ । कसैको मानमर्दन गर्ने वा आक्षेप लगाउने नभई जायज प्रश्न गर्नका लागि संसद्मा कुनै रोकतोकको गुञ्जायस देखिन नहुने उहाँले बताउनुभयो । संसदीय सर्वोच्चताको प्रतिकूल हुने खालका कार्यशैलीले विद्यमान व्यवस्थालाई कमजोर बनाउने उहाँको धारणा छ ।“संसदीय मर्यादाभित्र बसेर आफ्ना कुरा राख्ने एउटा पक्ष हो । तर राम्रो प्रश्न उठाउँदा पनि त्यसलाई रेकर्डबाट हटाउनुपर्ने भनेर विरोध भएका उदाहरण छन्”, उहाँ भन्नुहुन्छ, “यो वा त्यो बहानामा संसद् बन्धक बनाउने र अहिलेको व्यवस्थामाथि ‘कु’ गर्ने षड्यन्त्रबारे हामी सबै सचेत हुनुपर्छ ।”के एक जिम्मेवार सांसदका रुपमा आफूले गरेका काम र संसद्को प्रभावकारिताप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ त ? राससको प्रश्नमा सांसद न्यौपानेले भन्नुभयो, “सन्तुष्ट छैन ।” उहाँका शब्दमा गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनपछि चुनिएर संसद् छिरेको करिब एक वर्ष हुन लाग्यो । यसबीचमा निर्माण भएका कानुनको सङ्ख्या हेर्दा मात्रै पनि संसद्को प्रभावकारितामाथि प्रश्न उठाउने प्रशस्त ठाउँ छ । संसद्ले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको वर्तमान स्थितिको भागीदार हर एक सांसद रहेको न्यौपाने स्वीकार्नुहुन्छ ।“एउटा सांसदको हिसाबले यसमा म आफूलाई पनि जिम्मेवार ठान्दछु । एउटा औँला अरुतर्फ देखाउँदै गर्दा बाँकी औँला आफैँतिर फर्केका हुन्छन् भन्ने बुझ्नु जरुरी छ”, उहाँ भन्नुहुन्छ, “जे जिम्मेवारी बोकेर आएका छौँ, त्यो पूरा गर्नु पहिलो दायित्व हो । संसद् अवरुद्ध हुनुहुँदैन भनेर हामीले पटक–पटक कुरा उठाएका छौँ ।”संसद् जनताका कुरा राख्ने ठाउँ हो । चित्त बुझेका र नबुझेका सबै कुरा संसद्मै आउनुपर्छ । राजनीतिक दलहरुले प्रतिपक्षमा रहँदा सधैँ विरोध र सत्तापक्षमा रहँदा सधैँ प्रतिरक्षाको शैली देखाउन नहुने सांसद न्यौपाने बताउनुहुन्छ ।“राम्रो काम भएको छ भने त त्यसलाई समर्थन गर्नुपर्छ । सत्ता पक्षले गरेका कामलाई प्रतिपक्षले विरोध गर्नैपर्छ भन्ने मानसिकता गलत हो । विरोध गर्न पाउनुपर्छ, तर संसद् नै बन्द गरेर विरोध गर्नु राम्रो होइन”, उहाँ भन्नुहुन्छ, “नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा सरकारले ल्याएको नीति तथा कार्यक्रममा मौन समर्थन गरेको उदाहरण पनि छन् ।”विधायकको मुख्य भूमिका कानुन निर्माण हो । नेपालमा लामो समयको संसदीय अभ्यास बितिसक्दा पनि विधायक कानुन निर्माणमा कर्मकाण्डी हुने र विकास निर्माणका काम गर्दा ठेकेदार शैलीमा योजना बोकेर बस्ने प्रवृत्ति रहेको भन्दै आलोचना हुने गरेको छ । विधायिकी भूमिका निभाउनेभन्दा पनि सांसदले योजना बोकेर हिँड्नुपर्ने अवस्थालाई पुरानै प्रवृत्तिको निरन्तरता र तोकिएको संरचनाको असफलताको उपजका रुपमा न्यौपाने लिनुहुन्छ ।“जनताका अपेक्षा पूरा गर्नका लागि प्रणाली छ । तर त्यो प्रणालीअनुसार काम गर्न नसकेकाले सांसद प्रत्यक्ष रुपमा त्यसमा सहभागी हुनुपरेको हो”, उहाँ भन्नुहुन्छ, “स–साना काम पनि सांसदले गरिदिउन् भन्ने अपेक्षा जनताले राख्छन् । धेरै अधिकार स्थानीय तहमै गएको भए पनि सांसदसँगै अपेक्षा हुन्छ । अर्को भनेको निर्वाचनका बेला पनि धेरै आशा देखाइएको हुन्छ । नागरिकका सबै अपेक्षा पूरा हुन नसके पनि केही अपेक्षा त पूरा गर्नैपर्यो ।”बाटो, धारा, नहरजस्ता ससाना विकास पूर्वाधार पनि सांसदले बनाइदिउन् भन्ने बुझाइ नागरिक तहको रहेको उहाँ बताउनुहुन्छ । सङ्घीयता कार्यान्वयनपछि सानो रकमका आयोजना स्थानीय तहबाटै कार्यान्वयन हुन्छन् । प्रकृतिअनुसार विकास योजना स्थानीय तह हुँदै प्रदेश र केन्द्रसम्म माग भई आउँछन् । कतिपय योजना स्थानीय तह र प्रदेश आफैँले पनि अघि बढाइरहेका हुन्छन् । तर सानो रकमका आयोजनामा पनि केन्द्र सरकारबाट बजेट जाने प्रवृत्ति रोकिन सकेको छैन ।“रु पाँच लाखसम्मका साना योजनाका लागि पनि सङ्घबाट बजेट छुट्याइएको छ । सङ्घले साना आयोजनामा बजेट हाल्ने होइन । यो हाम्रो प्रणालीमा देखिएको समस्या हो”, उहाँ भन्नुहुन्छ ।चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि त्यसको पक्ष र विपक्षमा संसद् विभाजित भयो । अदालतको आदेशपछि यो कार्यक्रम अघि बढ्न सकेको छैन । तर नागरिकका विकास आकांक्षा पूर्ति गर्नका लागि समावेशी विकासको अवधारणा कार्यान्वयनका लागि यो आवश्यक रहेको सांसद न्यौपानेको बुझाइ छ ।“जनताले सांसदसँग अपेक्षा गरेका हुन्छन् । सांसदले पनि चुनावका बेला वचन दिएका हुन्छन् । घोषणापत्र मात्र हेरेर त भोट हाल्दैनन् । त्यो अपेक्षा पूरा गर्नका लागि पनि यो कार्यक्रम आवश्यक देखेर सरकारले ल्याएको हो”, उहाँ भन्नुहुन्छ, “सांसदले चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न प्रदेशलाई गुहार्ने वा मन्त्रालयलमा धाउने भन्ने मूल प्रश्न हो ।”नागरिकका विकास आकांक्षा पूर्ति गर्नका लागि यो आवश्यक भए पनि दुरुपयोग हुन सक्नेबारे पनि सचेत रहनुपर्ने उहाँ बताउनुहुन्छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएपछि सांसदकै मनोबल घट्ने र हतोत्साही हुने गरी आएका प्रतिक्रियाको सामना गर्नुपरेको न्यौपानेको भनाइ छ ।“यो कार्यक्रमका योजनामा पनि बोलपत्र प्रक्रिया हुन्छ । लेखापरीक्षणलगायतका काम प्रणालीले नै गर्छ । जे कुरामा पनि आलोचना र नकारात्मकता बढी छ”, उहाँ भन्नुहुन्छ, “राम्रो कामको प्रचारप्रसार हुँदैन । सामाजिक सञ्जालमा नकारात्मकता मात्रै धेरै हावी भएको देखिन्छ । हामी सबै सच्चिन जरुरी छ ।”नेपाल महिला सङ्घको केन्द्रीय समिति उपाध्यक्ष हुँदै नेपाली कांग्रेसको केन्द्रीय समितिमा तीन पटक निर्वाचित हुनुभएकी न्यौपानेलाई पहिलो संविधानसभामा महिलामाथि हुने प्रहारको अहिले पनि सम्झना हुन्छ ।“संविधानसभामा महिलामाथि भएका टिप्पणी अहिले पनि मनमा बिझाउँछन् । कतिपय विद्वान् भनिएका र राम्रो शैक्षिक योग्यता भएका सांसदभन्दा गाउँघरमा घाँस काटेर, मेलापात गरेर आएका सांसदले संसद्मा दर्बिलो उपस्थिति देखाउनुभएको छ”, उहाँ भन्नुहुन्छ ।

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

झापा, २० असोज : एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा हुनुहुन्थ्यो । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै हुनुहुन्थ्यो ।हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको बुबा र आमा बस्नुहुन्छ । नजिकै जलथल जङ्गल छ । जहाँ अनुजाका बुबासहित गाउँलेहरु गाईभैँसी र बाख्रा चराउन जान्छन् । अधुरो हुलाकी राजमार्गबाट पाँच सय मिटर दक्षिण जङ्गलकै छेउमा खेतीपातीबाटै अनुजाको परिवारले जीवन धान्दै आएको छ ।

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक काँस्य पदक जितेको छ । मेनुका राजवंशीको नेतृत्वमा रहेको नेपाली कबड्डी टोलीमा अग्लो कदकी २५ वर्षीया अनुजा सशक्त खेलाडी हुन् । गत सोमबार बङ्गलादेशलाई पराजित गरेपछि नेपाली टोलीले मुलुकलाई एसियाली खेलकुदकै पहिलो पदक पक्का गरेको थियो । एसियाली खेलकुदको कबड्डी प्रतिस्पर्धामा नेपाली टोली पहिलोपटक सहभागी भएको हो । प्रतियोगितामा पदक दिलाउन अनुजाले प्रदर्शन गरेको खेल कौशलको चौतर्फी प्रशंसा भइरहेको छ ।

सानो घर, थोरै खेतीपाती र भैँसीपालनको परिवेशले अनुजा सङ्घर्ष गरेरै खेल जगत्मा गाउँबाट उदाएकी प्रतिभा हुन् भन्ने स्पष्ट झल्किन्छ । किसान परिवारमा जन्मिएकी अनुजा चार पाँच वर्षको हुँदा नै बुबा धनमान वैदेशिक रोजगारीमा जानुभयो । आमा र हजुरआमा (बोजु)को ममतामा हुर्किएकी अनुजा सानैदेखि कबड्डी खेलप्रति आकर्षित थिइन् । अनुजाकी दिदी रोशनी वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रसमा गएकी छन् भने भाइ पनि विदेश जाने तयारीमा छन् ।

शुक्रबार दिउँसो हामी घर आएको खबर पाएपछि अनुजाका बुबा धनमान जङ्गलको चरनमै भैँसी छाडेर घर फर्किनुभयो । काठे बेराको भुइँतले घरका साँघुरा कोठामा खचाखच माल सामानसँगै अनुजाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाएका प्रमाणपत्र र जितेका पदक असरल्ल थिए । कोही पोखरा र काठमाडौँमा पाएका प्रमाणपत्र थिए भने कोही राजस्थान र मलेसियामा जितेका पदक थिए । अनुजाले पाएका पदक कोठाका भित्तामा टाँगिएका र कोही बाँसका कञ्चीमा बेरेर राखिएका थिए ।

“कबड्डी भनेपछि हुरुक्कै हुन्थी, भातै खान बिर्सिन्थी”, आमा तिलसरीले अनुजाको बाल्यकाल सम्झिँदै भन्नुभयो, “स्कुल गयो कबड्डी खेल्यो, घर आयो कबड्डी खेल्यो अनि बेलुका भयो छिमेकीका घरमा गएर पनि टिभीमा कबड्डी गेम नै हेरेको छ । अति भएपछि पढाइ बिग्रन्छ कि भन्ने चिन्ता थपियो । पढ्नमा मन लगा छोरी, यसरी खेलामा लागेर भविष्य बिग्रिन्छ भनेर कति सम्झायौँ । तर, उसले मानिन । कबड्डी खेल्न छाडिन ।”

कबड्डी खेलेर देशको नाम संसारभर चिनाउने सङ्कल्प लिएर खेल क्षेत्रमा सानैदेखि समर्पित अनुजालाई कबड्डीमा डोहो¥याउने प्रशिक्षक झापाकै रतिया राजवंशी हुनुहुन्छ । हाल भद्रपुर वडा नं ६ का वडाध्यक्ष रहनुभएका राजवंशी अखिल नेपाल कबड्डी सङ्घका कोशी प्रदेश अध्यक्ष र कबड्डीका पूर्वराष्ट्रिय प्रशिक्षक हुनुहुन्छ ।

“दश वर्षअघि गाउँका स्कुलतिर खेलाडी हुन लायक विद्यार्थीको खोजीमा निस्किएको थिएँ”, आफूले प्रशिक्षित गराएकी अनुजाले एसियाली खेलमा पदक जित्दा खुसी लागेको बताउँदै कबड्डी सङ्घका तत्कालीन प्रशिक्षक राजवंशी भन्नुहुन्छ, “जब म हल्दिबारीको पञ्चायत माविमा पुगेँ । अग्लो र बलिष्ठ कदकी छात्रालाई बोलाएर तिमीले अब कबड्डीको तालिम लिनुपर्छ भनेँ । तिनै छात्रा नै अहिलेकी अनुजा हुन् । मैले उनी भविष्यमा राष्ट्रकी होनहार प्रतिभा बन्ने छिन् भन्ने त्यतिबेलै कल्पना गरेको थिएँ । मेरो त्यो अनुमान अहिले साँचो ठहरियो ।”

अनुजाले घरदेखि टाढा रहेको पञ्चायत मावि र लक्ष्मी माविबाट माध्यमिक तहको शिक्षा हासिल गरेकी थिइन् । उसबेला गाउँका अरु केटीहरु टाइसुटमा ठाँटिएर बोर्डिङ स्कुल पढ्थे । घरको आर्थिक अवस्था बलियो नहुँदा उनले पैदल धाएरै सरकारी विद्यालयमा पढ्न् ि। पढ्न र खेल्नबाहेक उनले गाईवस्तु पनि चराउनुपथ्र्यो, घाँस पनि काट्नु पथ्र्यो ।

“स्कुल धाउँथिन्, तर उनको मन र मस्तिष्क कबड्डी खेलतिरै एकोहोरिएको थियो”, अनुजाको पठनपाठनबारे पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बन भन्नुहुन्छ, “उनको पढाइको स्तर सामान्य भए पनि कबड्डीमा रुचि भने अचम्मकै थियो । चारपाँच जना बलिया मान्छेलाई फाँड्न सक्ने उनको तागत थियो । कबड्डीका प्रशिक्षक राजवंशीले विद्यालयमै आएर उनलाई खेलाडी छनोट गर्नुभएको थियो । विद्यालयमै अरुसँगै नियमित तालिम पनि दिनुभएको थियो ।”

आफ्नो विद्यालयमा पढेकी छात्राले अन्तर्राष्ट्रिय खेलकुदमा मुलुकको स्वभिमान उँचो बनाउँदै पदक जितेकोमा विद्यालयमा खुसीको माहोल छाएको उहाँले बताउनुभयो । “मैले पनि बङ्गलादेशसँगको खेल हेरेको थिएँ, साह्रै खुसी लाग्यो”, उहाँले भन्नुभयो ।

प्रअ बनका अनुसार अनुजाले स्कुलबाटै कबड्डी सिकेकी हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डीमै उनले पटक–पटक गोल्डमेडल जितेकी थिइन् । जिल्ला, प्रदेश हुँदै उनी राष्ट्रिय टोलीमा सामेल हुन पुगिन् । अहिले उनी नेपाली सेनाको विभागीय टिम आर्मी क्लबमा आबद्ध छन् ।

एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि अनुजाले घरकी बोजु ७२ वर्षीया मनमाया राईलाई फोनबाट आर्शिवाद मागेकी रहिछन् । जितेर आउनु भनेर आफूले आर्शिवाद दिएको मनमायाले बताउनुभयो । कबड्डीमा पदक जितेको खबर सुन्दा साह्रै खुसी लागेको बताउने मनमायाले अनुजा डेढ वर्षदेखि घर आउन नभ्याएकोमा भने बेखुसी व्यक्त गर्नुभयो ।

खेलमा बढी रुचि भएकी अनुजा सानो छँदा कबड्डीको प्रतिस्पर्धा हेर्न छिमेकीका घर गएर टिभी हेर्ने गर्थिन् । धेरै गाउँ हिँड्न थाली भनेर उनकै लागि भनेर आमा तिलसरीले आफ्नै घरमा टिभी किनेर ल्याउनुपरेको सुनाउनुभयो । “सबै गाउँलेले पनि खेलमा लागेर छोरी बिग्रिने भई भनेर डर देखाउँथे, हामी पनि कबड्डी खेलेर हातखुट्टा भाँचियो भने कसले पाल्छ नानी भनेर सम्झाउँथ्यौँ”, आमा तिलसरीले अनुजाको खेल अभिरुचिबारे सुनाउँदै भन्नुभयो, “खेल खेलेरै नाम कमाउँछु भन्थी । उनको सपना आज पूरा भएको छ । हामीले खेलबाट पनि संसारभरि चिनिन सकिने रहेछ भनेर बुझेका रहेनछौँ ।”

नेपाली कबड्डी टोलीले चीनमा पदक जितेपछि अनुजाको खेलको फुटेज र अन्तर्वार्ता सञ्चारमाध्यममा छाएका थिए । पदक जितेको खबर पहिलोपल्ट अनुजाको भाइले बुबा धनमानलाई सुनाएका थिए भने गाउँलेले मोबाइलमा युट्युबमार्फत अनुजाको अन्तर्वार्ता देखाएका थिए । पछि टेलिभिजन र रेडियोमा पनि अनुजाको नाम सुन्दा गौरव लागेको धनमानले बताउनुभयो ।

“म रोजगारीका लागि विदेश गइहाले, उसलाई सानो छँदा आमा र बोजुले नै रेखदेख गरेँ”, अनुजाको खेल सफलताबारे बुबा धनमान भन्नुहुन्छ, “एसियाली खेलकुदमा पदक दिलाएर हाम्री छोरी अब सम्पूर्ण नेपालीकै प्यारी छोरी भएकी छिन् । यसमा हामी ज्यादै खुसी छौँ ।”

काम गर्ने जाँगर र लगानी गर्ने रकम भए विदेश गइरहनु पर्दैन : अध्यक्ष ढकाल

लुम्बिनी-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरणका बनाउन लागि उद्योगी, व्यवसायी र आम नागरिकको आत्मविश्वास बढाउनुपर्ने बताउनुभएको छ । बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य सङ्घको ७०औँ वार्षिक साधारणसभामा अध्यक्ष ढकालले युवा जमात विदेश पलायन भए पनि उद्यमीहरुका लागि नेपालका हरेक क्षेत्रमा संभावना रहेका बताउनुभयो । “काम गर्ने जाँगर र लगानी गर्ने रकम भए विदेश गइरहनु पर्दैन”, उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले उद्योगीहरुले भोग्नु परेका समस्या समाधानबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताउनुभयो । उहाँले पर्यटक आगमन बढ्दै गएको, बैंकहरु लगानी गर्न इच्छुक भएकाले अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीन वटै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रका समस्या समाधान गर्न सकिने भन्दै आशावादी हुन आह्वान गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी एशोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले युवा शक्ति विदेश पलायन हुँदा देशमा श्रमिक अभाव बढेको बताउनुभयो । महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बैङ्कको ऋण तिर्न उद्योगी–व्यवसायीलाई कठिनाइ भएको बताउँदै सहुलियतका लागि आग्रह गर्नुभयो ।

महासङ्घका पूर्वउपाध्यक्ष किशोर प्रधानले जनप्रतिनिधि र सरकारका विभिन्न निकायका गलत निर्णयका कारण निजी क्षेत्र सङ्कटमा परेको आरोप लगउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, महासङ्घका केन्द्रीय सदस्य राजेश अग्रवाल, चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्क पोखरेल, सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, महासचिव विमलराज भट्टराईले मोतिपुर औद्योगिक क्षेत्र चाँडो स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

चाडबाड नजिकिएसँगै बेसी झर्न थाले भेडीगोठ

ढोरपाटन (बागलुङ), २० असोज -गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् । लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसी तिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न सुरु गरेका हुन् । बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेसी गर्ने गर्छन् ।

पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परानै हो । एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ । यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् ।बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्य–मुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जान्छन् । यहाँबाट भेडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन् ।गत बैशाखमा परेको बेमौसमी हिमपातले भेडा मर्दा यसवर्ष ठूलो नोक्सानी बेहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताउनुभयो । चैतको अन्तिम साता लेकमा भेडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको वर्षा र हिमपातले आफ्ना १७ वटा भेडा मरेको बताउनुभयो ।चिसोले भेडाहरु मर्दा एक सातामै रु साढे तीन लाखको नोक्सानी भएको र यसवर्ष थोरै मात्र भेडा बिक्री गर्ने योजना रहेको उहाँको भनाइ छ ।“चाडपर्व नजिकिएको र लेकमा चिसो बढ्दै गएकाले गोठ बेसी झारेका हौँ, अरुले पनि झार्दै छन्, अबको एक सातासम्म सबै भेडीगोठ तल झरिसक्छन्”, उहाँले भन्नुभयो, “भेडाले धेरै चिसो खटाउन सक्दैनन्, वैशाखमा हिउँले धेरै मरे, फेरि पनि मर्लान् भन्ने डरले अल्ली छिटो झारेको हुँ ।”भेडापालक बलबहादुर घर्ती मगरले यसवर्ष भेडा बेसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताउनुभयो । असोज ११ मा बेसी झर्न सुरु गरे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उहाँको भनाइ छ । करिब चार हजार सात सय मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उहाँले बताउनुभयो । अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब एक सय भेडा रहेको घर्ती मगरको भनाइ छ ।स्थानीय कुलबहादुर विकले पछिल्लो समय भेडापालन गर्नेको सङ्ख्या कम हुँदै गएको बताउनुभयो । आफूहरुले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यसतर्फ चसो नदिँदा भेडागोठालेको सङ्ख्या घट्दै गएको बताउनुभयो । ६७ वर्षीय विकले पहिले आफूले आठ सयसम्म भेडापालेको अनुभव सुनाउँदै अहिले एक सय पचासको हाराहारीमा मात्रै भेडा पालेको बताउनुभयो । दुई छोरा र एउटी छोरी भए पनि उनीहरुले भेडापालनमा चासो नदिएको उहाँको भनाइ छ ।

फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि नेपालबाट बङ्गलादेशमा धागो निर्यातमा समस्या

काठमाडौँ । बङ्गलादेशमा धागो निर्यातका लागि नाका खुला भएको लामो समय बित्दा पनि निकासी हुनु सकेको छैन । नेपालबाट धागो निर्यात गर्न गत फागुनमा बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि अझै निर्यात हुन सकेको छैन । लामो समयदेखि बन्द रहेको सो नाका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खुला भएको थियो ।

उद्योगी व्यवसायीले भने अझै धागो निर्यात गर्न सकेका छैनन् । नाका बन्द हुँदा धागो निर्यात नभएपछि व्यवसायीले नेपालबाट नजिक पर्ने बङ्गलाबन्ध–फूलबारी नाका खुलाउन माग गरेका थिए । नाका खुला भएको झन्डै एक वर्ष पुग्न लाग्दा पनि धागो निर्यात हुनु सकेको छैन ।

नेपाल धागो उत्पादक सङ्घका सचिव उत्तम गौतमले प्रक्रियागत झन्झटका कारण धागो निर्यात गर्न नसकिएको जानकारी दिए । निर्यातका लागि बङ्गलादेशका व्यापारीसँग छलफल भइरहेको जानकारी उनले दिए । व्यापार विज्ञ रवि सैँजूले बङ्गलादेशमा धागो निर्यात गर्न नाका खुला भए पनि व्यवसायीले अझै निर्यात गर्न नसकेको जानकारी दिए । “तत्काल पाँच अर्ब रुपैयाँको निर्यात गर्न सकिन्छ ।

बजार मिलाउन सके वार्षिक १५ अर्ब रुपियाँ बराबरको निर्यात गर्न सकिन्छ,” उनले भने । धागो निर्यात गर्न गुणस्तर कायम र भुुक्तानी प्रणालीमा समस्या रहेको उनको भनाइ छ । सङ्घका अनुसार नेपालमा वार्षिक ५० हजार टन धागो उत्पादन हुन्छ । यसमा १५ हजार टन धागो आन्तरिक खपत र बाँकी सबै निर्यात हुने गर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नेपाल–म्यान्मा परामर्श संयन्त्र बैठक आगामी महिना म्यान्मामा हुने

काठमाडौँ- नेपाल र म्यान्माबीचको विद्यमान दाँैत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउने उदेश्यले दुवै देशका परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मामा हुने भएको छ । नेपाल–म्यान्मा उद्योग वाणिज्य सङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि म्यान्माका राजदूत सेङ उले उक्त जानकारी दिँदै व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवद्र्धनमा आफू क्रियाशील रहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र म्यान्माको कुनै विमानस्थलबाट सिधा उडानका लागि आवश्यक व्यवस्था गर्न राजदूत सेङसमक्ष अनुरोध गर्दै द्विपक्षीय व्यापार, लगानी र पर्यटन विकासका लागि सहकार्य गर्न आह्वान गर्नुभयो ।
बौद्धमार्गी म्यान्माका नागरिक गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न इच्छुक रहेकाले म्यान्मा–नेपाल सिधा उडान आवश्यक भएको अध्यक्ष अग्रवालले बताउनुभयो ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

काठमाडौँ, २० असोज : राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी जितियाजस्ता मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवद्र्धनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा जितियाजस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको बताउँदै राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा यस्ता मौलिक चाडपर्वका माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उल्लेख गर्नुभएको छ ।

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।

“प्रकृति पूजामा आधारित यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु”, सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।
जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुख–शान्तिका लागि भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै उत्साहका साथ मनाइने पर्व हो । यस पर्वमा थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् ।

यसै अवसरमा दिनुभएको सन्दशेमा उपराष्ट्रपति यादवले तराई–मधेसका आदिवासी, रैथाने समुदाय÷जातजातिले आआफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा मनाउनाले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गरेको बताउनुभएको छ । उहाँले जितियाजस्ता पर्वले नेपालीबीचको एकतालाई बढावा दिने सन्देशमा उल्लेख गर्नुभएको छ ।

साथै उपराष्ट्रपतिले समाजमा सामाजिक एवं धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, सद्भाव कायम गर्नु यस्ता पवित्र पर्वका उद्देश्य हुन् भन्नुभएको छ ।

यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देशमा जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्दै समानता, समृद्वि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । सामाजिक सम्बन्धको सन्तुलन, आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

तराई–मधेसका थारुलगायत समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउने यस मौलिक पर्वको आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । “बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजको पहिचानलाई आत्मसात् गरी सामाजिक–सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्नु अपरिहार्य आवश्यकता भएको छ”, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ।

यसै अवसरमा सभामुख देवराज घिमिरे समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्न जितियालगायत सांस्कृतिक पर्वले ठूलो योगदान गर्ने बताउनुभएको छ । जितिया पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव कायम गर्ने विश्वास सभामुखले व्यक्त गर्नुभएको छ ।

दशैँका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि

काठमाडौँ, २० असोज : दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिदेशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो ।

व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।

जितिया पर्व आज सकिँदै

धनुषा, २० असोज : हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।

महिलाहरु व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना (खैर), मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् । उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । शुक्रबार बिहान ४ बजेवाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने जनकपुरधामकी व्रतालु महिला गीता देवी झाले बताउनुभयो ।

थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ती जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने कथा सुन्ने गरिन्छ ।

शनिबार विहानै पुनः केराको पातमा दही च्यूउरा, फलफूल चढाएपछि घिरौलाको पातबाट शुरू भएको जितिया केराको पातमा गएर सम्पन गरिने चलन रहँदै आएको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी व्रतालु अनिता यादवको भनाइ छ ।

एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य

काठमाडौँ । घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्ने गरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली जारी गरेको छ । खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीवितरण हुँदा एसिड आक्रमणलगायतका घटना बढेपछि सरकारले नयाँ कानुन बनाएको थियो । २०७९ असार ३१ गते राजपत्रमा प्रकाशित ऐन अनुसार बिहीबार नियमावली प्रकाशित भएको हो ।

ऐन पारित भएको १४ महिनापछि नियमावली जारी भएको हो । खरिद–बिक्रीको मौजुदा व्यवस्थालाई व्यवस्थित र कसिलो बनाउने सरकारले रणनीति लिएको छ । बिक्रीको नियमनलाई नियमावलीले जोड दिएको छ । एक लिटरको खरिदलाई पनि प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति अनिवार्य बनाइएको छ ।

बिक्रेताले दैनिक बिक्रीको परिमाणको जानकारी सरकारले तोकेको विद्युतीय प्रणालीमा पेस गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई प्रत्येक छ महिनामा उत्पादन, निकासी, पैठारी र मौज्दातको विवरण इजाजत लिएका फर्मले पेस गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भिजिट भिसाको आवरणमा कामका लागि जानेको सङ्ख्या बढ्दै

काठमाडौँ । भ्रमण भिसा तथा नक्कली श्रम स्वीकृति बनाई कामका लागि विभिन्न देश जान लागेका महिला र पुरुषलाई जोखिममा पर्न नदिन मानव बेचबिखन अनुसन्धान ब्युरोले फर्काउने गरेको छ । ब्युरोले असोज १८ गतेसम्म ६ हजार ६ सय ४७ जनालाई यसरी विमानस्थलबाट फर्काएको छ ।

नेपाल सरकारले भिजिट भिसामा घरेलु कामका लागि विदेश जान रोक लगाएको छ । तर पनि भिजिट भिसाको आवरणमा कामका लागि विदेश जानेको सङ्ख्या बढ्दै गएको ब्युरोका एसपी कृष्ण पंगेनीले बताए । उनका अनुसार वैदेशिक रोजगारीका नाममा विभिन्न गिरोहले बेचबिखन गर्ने उद्देश्यले नक्कली भिजिट भिसामा दुबईलगायतका देश पठाउने गरेका छन् । उनले भने, ‘वैदेशिक रोजगारीमा भिजिट भिसामा जानु हुँदैन । यसरी जाँदा समस्यामा परिन्छ । यसरी जाँदा धेरै मानिस बेचबिखनमा पनि परेका छन ।’ भिजिट भिसामा विदेश गएर काम गर्दा धेरैले दुःख पाएको पंगेनीले बताए ।

मानव तस्करले मिलेमतोमा भिजिट भिसाको आवरणमा दिनहुँजसो नेपाली युवालाई दुबई, कतार, साउदी अरेबिया, कुबेतलगायत मुलुकमा पठाइरहेका छन् । भिजिट भिसामा खाडी मुलुक पुगेका नेपाली कामका लागि लुकेर बस्ने गरेको पंगेनीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

हेर्नुहोस् असोज २० गते शनिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृष राशि – निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मिथुन राशि – अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि – टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि – मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि – प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि – सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

‘देशभित्र केही गर्नेलाई ‘स्टार्टअप’ले सहयोग गर्छ’

काठमाडौँ, १९ असोज : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले विदेशजाने क्रम चलिरहेको बेला नेपालमा केही गर्छु भन्नेहरूका लागि ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२३’ थप सहयोगी हुने बताउनुभएको छ । आईसीटी फाउन्डेसनले काठमाडौँमा आज आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२३’को उद्घाटन कार्यक्रममा उहाँले लगानीकर्ता र नवप्रवर्तन क्षेत्रमा केही गर्न चाहनेका लागि यो मेला महत्त्वपूर्ण हुने बताउनुभयो ।

“स्टार्टअप योजनाको सदैव प्रगती होस् । स्वदेशमै केही गरौँ भन्नेलाई ऊर्जा र उत्साह थप्न स्टलको अवलोकनपछि आफ्नो प्रतिक्रियासमेत दिनुहोला”, उहाँले भन्नुभयो । सबै प्रदशर्नी कक्ष अवलोकन गरेर राम्रो नवप्रवर्तनको योजनालाई ‘आईसीटी अवार्ड’का लागि भोट गर्न पूर्वमन्त्री गणेश साहले अनुरोध गर्नुभयो । “सबैले आफ्नो क्षमता देखाउने ठाउँ पाउनुभएको छ । स्टार्टअप सुरु गरेर बिचमै नछोड्नुहोला”, उहाँले भन्नुभयो, “स्टार्टअपको सहयोगको लागि सरकार, बैंक वित्तीय क्षेत्र सबैले आफ्नो ठाउँबाट सहजीकरण गरिदिनुहोला ।”

आईसीटी फाउन्डेसन नेपालका प्रबन्ध निर्देशक राजन लम्सालले स्वदेशमै केही गरौँ भन्ने भावना भएका युवालाई लक्षित गरी प्रोत्साहनको लागि आइसीटी अवार्डको आयोजना गरिएको बताउनुभयो । सन् २०१६ बाट सुरु भएको उक्त अवार्ड कार्यक्रम हाल आठौँ संकरणमा पुगेको छ । सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीले यो अवार्डको लागि आफ्नो मनोनयन दर्ता गर्न सक्ने छन् । डिसेम्बर २२ मा अन्तिम नतिजा हुने उक्त अवार्डमा २० कम्पनीको सहभागिता रहेको छ । कार्यक्रममा ८० वटा प्रदर्शनी कक्ष राखिएको उक्त मेला शनिवारसम्म चल्नेछ ।

सुन तस्करीको अभियोग लागेकालाई थुनामा राख्न आदेश

काठमाडौँ, १९ असोज : जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले आज उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रू पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

सुन तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियोे भने सरकारी वकिलको कार्यालयले निजहरूविरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियोे ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदैछन् : अर्थमन्त्री महत

चितवन, १९ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गर्नुभयो ।

अर्थमन्त्री डा महतले भन्नुभयो “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन् । मुलुकमा रहेको आर्थिक सङ्कट धेरै समय रहँदैन ।” आर्थिक सङ्कटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको छ ।”

नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा महतले अघिल्लो सरकारको जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या आएको र यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिले जथाभावी खर्च नगर्ने, व्यवसायीले मनलाग्दी तरिकाले लगानी नगर्ने र सरकारले प्राथमिकताको आधारमा लगानी गर्ने हो भने अहिलेको सङ्कट टर्छ ।”

अर्थमन्त्री डा महतले सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजितरूपमा गलत प्रचार गरिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गतल प्रचारका कारण अर्थतन्त्रको विषयमा निरासा छाएको छ, यही कारणले देश जटिलतातर्फ धकेलिएको हो ।” उहाँले पूँजी चलायमान नहुँदा पनि समस्या सृजना भएको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, किरण पौडेल, जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, खैरहनी नगरपालिकाका प्रमुख शशी खनिया, राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, संविधानसभा सदस्य सावित्रीदेवी चौधरीलगायतले पार्टी सही तवरले अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति किरणभूषण सिंह ओलीले राजनीतिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी थापा भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । क्षेत्रीय पार्टी कार्यालयको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने संविधानसभा सदस्य सावित्री चौधरी र स्वर्गीय उदयनाथ अधिकारीसहित पार्टीको संस्थागत विकासमा योगदान दिनुभएका नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राप्ती नगरपालिका–१२ मा रहेको गणेश माविका पाँच सय जना विद्यार्थीका लागि विद्यालय झोला तथा तीन जना अपाङ्गत भएकालाई ह्वीलचियर प्रदान गरिएको थियो । यसैबीच संविधानसभा सदस्य सावित्रीदेवी चौधरीले प्रदान गर्नुभएको जग्गामा भवन निर्माण गर्न लागिएको क्षेत्रीय पार्टी कार्यालयको भवनको अर्थमन्त्री महतले शिलन्यास गर्नुभएको थियो ।

सरकार परिवर्तनको सम्भावना छैन : अध्यक्ष नेपाल

चितवन, १९ असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावमा नरहेको बताउनुभएको छ । समाजवादी जागरण अभियानअन्तर्गत आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ ।” जनतामा निरासा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्ने उहाँको भनाइ थियो ।

जनताको आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले सकारात्मक सोच राखेर जनताको निरासालाई चिर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेकै नेतृत्वबाट देश बनाउन सकिन्छ भन्ने आँट र साहस राखेर अघि बढ्नुपर्छ ।” समृद्धिका लागि सोच र दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले जनताको आवश्यकताको विषयलाई सशक्तरूपमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि नेकपा (एस) अघि आएको बताउँदै अध्यक्ष नेपालले जनताको आशा र भरोसा टुट्न नदिने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष प्रमेश हमालले वर्गीय समाजवादलाई बलियो बनाउनका लागि समाजवादी चिन्तन अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादी क्रान्ति ल्याउनका लागि समाजवादी चिन्तन आवश्यक छ ।”

महासचिव घनश्याम भुसालले देशमा मुख्य सङ्कट भनेको गरिबी र रोजगारीको रहेको बताउँदै यस्ता सङ्कट समाधान गर्न सबैको सहयोग आवश्यक हुने उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा (एस)का नेता झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायतको सहभागिता थियो । नेकपा समाजवादीले आज राप्ती नगरपालिकाको भण्डारा बजारमा अभियानै क्रममा कोणसभासमेत सम्पन्न गरेको छ ।–––

काठमाडौँ महानगरपालिकाले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने

काठमाडौँ, १९ असोज : काठमाडौँ महानगरपालिकाले आगामी २३ गतेदेखि दसैँ लक्षित खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो ।

कामपाले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने तयारी गरेको छ । अनुगमन समितिको संयोजकसमेत रहनुभएको सुनिता डङ्गोललको संयोजकत्वमा कामपा कृृषि तथा पशुपन्छी विभाग, पशु चिकित्सक, कामपा प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपायाको परीक्षण गर्ने कामपा कृषि विभाग प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।

डा झाका अनुसार खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने तयारी रहेको छ । परीक्षणपछि उपभोक्तालाई खरिद गर्न सहज हुने भन्दै उहाँले सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गर्नुभयो ।

उक्त समयमा कामपाले चौपाया बिक्री स्थान, मासु पसल र बधशालालगायतका स्थानमा समेत अनुगमन गर्ने जनाएको छ । प्रत्येक स्थानमा पशु चिकित्सक, सहायकसहित अन्य पाँच जना टोलीले परीक्षण गर्ने तयारी गरेको छ । दसैँका लागि मात्र कामपाले जिल्ला पशुसेवा कार्यालय वा भेटनरी जनस्वाथ्य कार्यालय वा स्वतन्त्र भेटनरी चिकित्सकको सहयोगमा चौपायाको स्वाथ्य र मासु निरीक्षण गर्ने गरेको छ । चालु आर्थिक वर्षमा कामपाले स्वास्थ्य क्षेत्रका लागि रु ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइराख्नका लागि रु तीन करोड ५० लाख रहेका छ ।

बजारलाई थप व्यवस्थित गर्न कामपाले गत साउनभित्र अनुगमनका सूचक तयार गरी भदौ १ देखि नियमित अनुगमन गर्दै आएको छ । चाडबाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमीरूपमा गरिएको अनुगमनको कामले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले कामपाले चाडबाड सुरु हुनु केही महिनाअघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।

बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्नेछ ।

नेपाल र रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १९ असोज : नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गर्नुभएको हो ।

रोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रुपमा परिचित छ । नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम समझदारी भएको हो । दोहोरो करार, आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीपलगायत विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न दुवै मुलुकबीच सहमति भएको छ । दुवै मुलुकका आप्रवासी कामदारले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने तथा दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले राससलाई जानकारी दिनुभयो ।

हस्ताक्षर समारोहमा श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र रोमानियास्थित नेपालका अवैतनिक वाणिज्यदूत नवराज पोखरेल तथा रोमानिया सरकारका श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च अधिकारीको सहभागिता रहेको प्रवक्ता घिमिरेले बताउनुभयो ।

त्यसअघि भएको द्विपक्षीय वार्तामा श्रममन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषय, द्विपक्षीय श्रम समझादारीको आवश्यकता र प्रभावका बारेमा नेपालको अवधारणा प्रस्तुत गर्नुभएको थियो । रोमानियाका श्रम मन्त्री सिमोनाले नेपाली कामदारको हकहित सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्वता व्यक्त गर्दै आफ्नो देशमा उलेख्य सङ्ख्यामा नेपाली कामदार माग रहेको र पारदर्शीरुपमा कामदार छनोट गरिने तथा छोटो अवधिमा कामदार ल्याउने प्रक्रियामा समन्वय र सहकार्य गर्न आफू आतुर रहेको बताउनुभएको थियो ।

रोमानियाले नेपालमा चाँडै आफ्नो राजदूतावास स्थापना गर्न चाहेको जानकारी दिएको थियो । त्यसबाट आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न सहज हुनेछ । रोमानियामा नेपाली श्रमिकका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नका साथै महिला श्रमिकसमेतलाई लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्नेबारेमा कुराकानी भएको थियो ।

रोमानियामा ठूलो सङ्ख्यामा आप्रवासी कामदारको माग रहेको, त्यहाँ १५ हजार पाँच सय ९० नेपाली कामदार कार्यरत छन् । नेपालीको कार्य स्वभाव, इमान्दारी र लगनशीलतालाई दृष्टिगत गरी त्यहाँका रोजगारदाताले कृषि, निर्माण एवं सेवा क्षेत्रमा अवसर प्रदान गर्दै आएका छन् ।

विद्यालय शिक्षा विधेयकमाथिको छलफल : सरोकारवालासँग परामर्श गरेर संशोधन गर्न जोड

काठमाडौँ, १९ असोज : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले शिक्षा क्षेत्रको अपेक्षा र अवस्था नहेरी विद्यालय शिक्षासम्बन्धी विधेयक आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले मुलुकको शैक्षिक समस्या समाधानका लागि विधेयक संशोधन अपरिहार्य रहेको बताउनुभयो ।

“कक्षा १ मा एक सय जना विद्यार्थी भर्ना हुन्छन्, १२ कक्षा पुग्दै गर्दा ३० जना विद्यार्थी बाँकी हुन्छन्, अर्थात् विद्यार्थी टिक्दैनन्”, सांसद थापाले भन्नुभयो, “पचास जनाभन्दा कम विद्यार्थी भएको विद्यालय छ हजारभन्दा बढी छ । तर विद्यार्थी र शिक्षकको सङ्ख्या सम्पूर्णरूपमा पुगेको छ सय पनि पुग्दैन । अपेक्षा र अवस्था दुवै नहेरी यो विधेयक खण्डखण्डरूपमा आएको छ ।”

नेकपा(माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले विधेयकमा आवश्यक परिमार्जनका लागि पर्याप्त समय रहेको बताउनुभयो । “सङ्घीयतामा जाँदा यो विधेयकमा कतिपय कुरा पुगेका छैनन्, हामीले पनि महसुस गरेका छौँ । त्यसलाई सरोकारवालासँग छलफलमार्फत परिमार्जन गरेर समृद्ध गरेर जानेछौँ”, उहाँले भन्नुभयो, “शिक्षा राज्यको दायित्व हो, राज्य एक्लै हुदैन यस सम्बन्धित अभिभावक, शिक्षकलगायतलाई सँगसँगै लैजान पर्याप्त ठाउँ छ ।”

पूर्वमन्त्री एवं सांसद अमनलाल मोदीले विधेयकले परीक्षा बोर्डका आन्दोलनरत कर्मचारी, अपाङ्गता भएका व्यक्ति, वर्गीय शिक्षाको अन्त्य गर्दै शिक्षामा समान पहुँचका लागि जोड दिनुभयो । उहाँले भन्नुभयो, “शिक्षालाई राजनीतिबाट कसरी मुक्त गर्ने, भविष्यमा देखिने समस्या कसरी समाधान गर्ने र समग्र शिक्षा क्षेत्र कस्तो बनाउने ? भन्ने कुरा विधेयकमा निर्भर हुन्छ ।”

सांसद अमृतलाल राजवंशीले झण्डै पाँच दशकपछि सदनमा विधेयक प्रवेश पाएकामा खुशी व्यक्त गर्दै आन्दोलनरत शिक्षकसँगको सहमतिलाई कसरी समावेश गर्ने भन्ने विषयमा छलफल हुनुपर्ने बताउनुभयो । उहाँले संसदीय समितिमा उक्त विधेयकबारे हुने छलफलमा सरोकारवालासँगै स्थानीय तहलाई पनि समावेश गराउनुपर्ने बताउनुभयो ।

सांसद उर्मिला माझीले सबै प्रकारका शिक्षकहरूको समस्या सम्बोधनका लागि सरकारसँग भएको सम्झौताअनुसार कार्यान्वयन हुनुपर्ने बताउनुभयो । सांसद सुशीला श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्धि गरिनुपर्ने र शिक्षा रोजगारउन्मुख बनाउनुपर्ने बताउनुभयो । सांसद गीता बस्नेतले गरिबीको रेखामुनि रहेका शिक्षाबाट बञ्चित बालबालिकालाई सम्बोधन हुनेगरी विधेयक निर्माण गर्नुपर्ने बताउनुभयो ।

सांसद बुद्धिमान तामाङ्ले दलीय हिसाबले सङ्गठन खोल्न नहुने राय व्यक्त गर्नुभयो । उहाँले विधेयकमा सरोकारवालासँग गहन छलफल आवश्यक भएको भन्दै बताउनुभयो । सांसद महेन्द्रबहादुर शाहीले सबै तहका शिक्षालाई निःशुल्क, समान पहुँच र देश निर्माणका लागि आवश्यक जनशक्ति उत्पादन कसरी गर्ने सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद छिरिङ ल्यामु लामा तामाङले समग्र शिक्षा क्षेत्रको विकासका लागि शिक्षकमैत्री वातावरण बनाउनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयको पाठ्यक्रम एकै किसिमको हुुनपर्ने बताउनुभयो । सांसद इश्वरबहादुर रिजालले संविधानले शिक्षालाई मौलिक हकका रुपमा राखे पनि उक्त विधेयकले सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले विधेयक पुनःलेखनको माग गर्नुभयो ।

सांसद जीवन परियार, कान्तिका सेजुवाल र रामकुमार राईलगायतले सरोकारवालासँगको छलफलबिना विधेयक ल्याउँदा समस्या भएको बताउनुभयो ।

विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

काठमाडौँ, १९ असोज : प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ । उक्त छलफलमा ६० भन्दाबढी सांसद्ले भाग लिनुभएको थियो ।

सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज २१ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

चैनपुर (बझाङ), १९ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मङ्गलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि आज बझाङको सदरमुकाम चैनपुर पुग्नुभएका उहाँले पीडित परिवारको आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सदस्य सङ्ख्याका आधारमा प्रभावित परिवारलाई रु १५ देखि २० हजार उपलब्ध गराउने जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “राहतमा पाल, कम्मल, औषधिलगायत तत्काल अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकार क्रियाशील छ ।”

भूकम्प पीडितलाई तत्काल राहत तथा अस्थायी टहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सङ्घीय, प्रदेश र स्थानीय सरकार सबै प्रभावित जनताको साथमा छ, सरकार जनतासँगै छ ।”

प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी क्षति पुगेका संरचनाको प्रबलीकरण वा पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै उहाँले भूकम्पपछि आएको पहिरोमा परी ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका–११ स्थित ओखलकी ४० वर्षीया गुनमति धाँमीका परिवारलाई तत्काल दुई लाख राहत दिने बताउनुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोग गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसअघि गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा गरिएको पुनःनिर्माण जस्तै स्थानीय सामग्री प्रयोग गरी काम अघि बढाइनेछ । सरकारी, विद्यालय तथा स्वास्थ्य संस्थाको पुननिर्माण गरिनेछ । सबै संरचना भूकम्प प्रतिरोधी हुनेछन् ।” सो क्रममा उहाँले विश्व खाद्य कार्यक्रमले सहयोग गरेको पोषणयुक्त बिस्कुट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।

‘सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो’ – माधव नेपाल

मकवानपुर, १९ असोज : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा सुशासन कायम गर्नु आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

पार्टीको मेची–काली अभियानअन्तर्गत आज हेटौँडामा आयोजित जनसभामा अध्यक्ष नेपालले नागरिकका समस्या समाधान गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्रमुख कार्ययोजनाका रूपमा पार्टीले अघि बढाएको बताउनुभयो । उहाँले नागरिकमाझ आफ्ना नीति तथा ‘एजेण्डा’ स्थापित गर्दै देश विकासका निम्ति सबैसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले नागरिकका समस्या समाधानको प्रयास पार्टीले सधैँ गर्ने बताउँदै कृषि र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । सरकारले गरेका कामबारे जानकारी गराउन र पार्टीलाई आम नागरिकहरुसँग जोड्न उहाँले कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले समाजवादी जागरण अभियानलाई वडा तहमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । विद्रोहबाट जन्मिएको एकीकृृत समाजवादी पार्टीले आफ्नो औचित्य पुष्टिका लागि नागरिक केन्द्रित गर्नुपर्छ भन्नुभयो ।

उपराष्ट्रपतिसँग जर्मनी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १९ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेट गर्नुभएको छ । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल–जर्मनीबीचको कूटनीतिक सम्बन्धमा विषयमा छलफल भएको थियो ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र जर्मनीबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले यस सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो ।

“उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा सम्वाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–जर्मनी सम्बन्धका आधार स्तम्भ हुन्,” उहाँले भन्नुभयो, “जर्मनी नेपालको प्रमुख विकास साझेदार हो । नेपालले सामाजिक आर्थिक विकासका सवालमा जर्मन सरकारबाट सन् १९६१ देखि सहायता प्राप्त हुँदै आएको छ ।”

उपराष्ट्रपति यादवले कोभिड–१९ सङ्क्रमणको समयमा सहयोग प्रदान गरेकोमा जर्मन सरकारप्रति आभार व्यक्त गर्नुभयो । “युरोपेली सङ्घमा जर्मनीको अत्यन्तै प्रभावशाली भूमिका रहेको छ । हामी नेपाल र युरोपेली सङ्घ बीचको बढ्दो सहकार्यको स्वागत गर्दछौँ”, उहाँले भन्नुभयो, “दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न हामी प्रतिबद्ध छौँ । नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी आशावादी छौँ ।”

जलवायु परिवर्तनको क्षेत्रमा जर्मनीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा म आशावादी छु ।”

सो अवसरमा राजदूत प्रिन्जले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि जर्मनीले निरन्तर सहयोग गर्दै र ऊर्जा, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले ८० नेपालीलाई व्यावसायिक प्रशिक्षणका लागि जर्मनी लगेको जानकारी दिँदै उहाँले यो क्रम आगामी दिनमा पनि जारी राख्दै यो सङ्ख्या पाँच सयसम्म पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

कैद माफीबारे प्रधानमन्त्री कार्यालयसँग जानकारी माग

काठमाडौँ, १९ असोजःराष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा दिइएको माफीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जानकारी माग गरेको छ ।

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) एवं मानव अधिकारको मान्यताअनुरुप कैद माफी मिनाहा नगरेको जनाउँदै प्रधानमन्त्री कार्यालयसँग त्यसबारे आयोगले जानकारी माग गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।आयोगका अध्यक्ष तपबहादुर मगरले प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखेको पत्रमा पीडितको न्याय पाउने अधिकारको सुनिश्चित गर्न र दण्डहीनतालई प्रश्रय नदिन सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गरिएको छ । साथै आयोगले गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट आममाफी पाएका व्यक्तिको विवरण उपलब्ध गराउन उक्त निकायलाई निर्देशन दिन अनुरोध गरेको छ ।सरकारले पछिल्लो पटक संविधान दिवसको दिन २०८० असोज ३ गते नेपालगञ्जका चेतनमानन्धरको हत्यामा संलग्न ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएको सन्दर्भसमेत उल्लेख गर्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेको हो ।

गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १९ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोइराला विरुद्ध रु ९० लाख ३९ हजार छ सय २० बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ ।

सिनियर अहेब कोइराला सरकारी सेवामा २०५४ कात्तिक ५ गतेदेखि २०७८ मङ्सिर १ गतेसम्मको कोइरालाले आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको छ । सो अवधिमा कोइरालाले रु दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई बराबरको आय आर्जन गरेको पाइएको छ । सोही अवधिमा सिनियर अहेब कोइरालाले रु तीन करोड ८८ लाख २१ हजार चार सय २२ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ ।

कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिन रूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ ।

स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफथ गरी बिगो बमोजिम कारवाहीको माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिनुभयो । आयोगले अहेब कोइराला र श्रीमती गीता विरुद्ध बिगो बमोजिम कारबाहीको माग दावी गरेको छ ।

एमालेले मात्र समृद्धिको यात्रा पूरा गर्न सक्छ : महासचिव पोखरेल

काठमाडौँ, १९ असोज : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले महासचिव पोखरेलले वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न नसकेको बताउनुभएको छ ।

उहाँले यो सरकारले मुलुकका हरेक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गर्न नसकेको आरोप लगाउँदै सरकारका कारण नै मुलुकको अर्थतन्त्र सङ्कटतर्फ धकेलिएको बताउनुभयो । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले हालैका दिनमा देशमा मूल्यवृद्धि आकासिएको भए पनि सरकारले महँगी नियन्त्रणमा कुनै प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो ।

महासविच पोखरेलले मुलुकमा आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुने तर्क गर्नुभयो । उहाँले विगतमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धि र विकासका लागि निर्वाह गरेको भूमिका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भए पनि नेकपाको विभाजन र एमालेविरोधी गठनबन्धनका कारण उक्त यात्रा गन्तव्यमा पुग्न नसकेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले एमालेका सबै कमिटी र सङ्गठनले आगामी २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाई समृद्धि र विकासको यात्रालाई पूरा गर्ने बाटोमा लाग्न आह्वान गर्नुभयो । यस अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।

गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिलाको उपचारको क्रममा मृत्यु

काठमाडौँ, १९ असोज : काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो ।

यही असोज १० गते काठमाडौँ महानगरपालिका–४ पञ्चकन्यास्थित आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

मृतक चौधरी नौ दिन अघि उहाँका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिनुभएको थियो । उहाँको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ । लक्ष्मण चौधरी पूर्वआइजिपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)समेत रहनुभएको छ । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।

चितवनको माडीमा जङ्गली हात्तीको आतङ्क

चितवन, १९ असोज – चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्थानीयलाई दुःख दिएका हुन् ।

विगत तीन दिनदेखि हात्तीको आतङ्कले स्थानीय रातभरि जाग्राम बस्नुपरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताउनुभयो । दुई ट्रयाक्टर, एउटा जिपलगायत साधनको सहायताले हात्ती लखेट्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । सापकोटाले भन्नुभयो, “बिगत एक सातादेखि माडी क्षेत्रमा जङ्गली हात्तीको आतङ्क छ । यसलाई नियन्त्रणमा लिन सकिएको छैन ।”

असोज १४ गते हात्तीले एक जनालाई आक्रमण गरेको र उनको उपचार भइरहेको उहाँले बताउनुभयो । धान पसाउने समयमा हात्तीको आतङ्कले माडीवासी त्रसित छन् । हात्ती नियन्त्रणका लागि निकुञ्जले सेनाका अधिकृतको नेतृत्वमा टोली नै खटाएको छ । टोली पठाए पनि स्थान परिवर्तन गर्दै निस्कने गर्दा धानबालीमा क्षति पुर्याएको सापकोटाले बताउनुभयो । अयोध्यापुरी र गर्दीमा हात्तीको आतङ्क बढी छ । निकुञ्ज नजिक जोडिएको क्षेत्रमा जङ्गली हात्तीले दुःख दिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार माडी क्षेत्रमा जङ्गली हात्तीले स्थानीयलाई समस्या बनाएको हो । उहाँले भन्नुभयो, “सम्साँझै हात्ती बस्तीमा पस्ने गरेको छ । यसले स्थानीय त्रसित बनेका छन् ।” निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका उपभोक्ता र स्थानीयले हात्ती धपाउने काम गरिरहेका छन् ।

शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछ : सांसद सापकोटा

काठमाडौँ, १९ असोज : “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।”
जनमत पार्टीकी नेतृ गोमालाभ सापकोटाले सांसदसँग रासस संवादमा भन्नुभयो, “सदनमा आएपछि कानुन निर्माणसँगै आफूले प्रतिनिधित्व गरेको ठाउँको विकास निर्माण गराँै भन्ने थियो, त्यो नसक्ने परिस्थिति देखियो ।”

निर्वाचन क्षेत्र विकासका लागि बजेट माग्दा सरकारले आर्थिक सङ्कट र राजस्व असुली कमजोर देखाउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मन्त्री र प्रधानमन्त्रीका जिल्लामा भने त्यो लागू भएन । शक्तिशाली नेताले भनेको मात्रै लागू हुँदोरहेछ ।”

प्रदेश र स्थानीय तहको विकास निर्माणको आ–आफ्नै शैली र क्षेत्र रहेको उल्लेख गर्दै सांसद सापकोटाले सङ्घीय सांसदले पनि मतदाताका अपेक्षा पूरा गर्नु प्राथमिक दायित्व भएको विचार प्रकट गर्नुभयो ।

“कानुन निर्माण पनि गर्नुपर्छ, तर जनताले जिताएर पठाइसकेपछि उनीहरूको पनि विकास निर्माणमा आशा र अपेक्षा हुन्छ, त्यसलाई जनप्रतिनिधिले सम्बोधन गर्न कोसिस गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

छोटो राजनीति यात्रामै सङ्घीय संसद्मा पुग्ने जनप्रतिनिधि बन्न सफल सांसद सापकोटा कानुन तर्जुमा र विकास निर्माणबीच तादम्यता मिलाएर जाँदा देश र जनताको हित नै हुने तर्क गर्नुहुन्छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ स्थायी ठेगाना भई विसं २०७६ देखि राजनीतिमा प्रवेश गर्नुभएकी उहाँसँग जनमत पार्टी महोत्तरीको जिल्ला अध्यक्ष भएर काम गरेको अनुभव छ ।

सामाजिक एवं जनचेतनामूलक कार्यक्रममा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएकी सांसद सापकोटाले राजनीतिमा आउनुअघि १० वर्ष शिक्षिका भएर काम गर्नुभएको थियो । सांसदको मूल दायित्व कानुन बनाउने सन्दर्भमा गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँ सदनमा आएपछि विकासको पाटोबाट पनि जनताप्रति सांसदको केही कर्तव्य रहने बताउनुहुन्छ ।

राजनीतिक सिद्धान्त, दृष्टिकोण र अभ्यास तथा सांसदप्रति समाजको बुझाइबीच ठूलो भिन्नता रहेको उल्लेख गर्दै उहाँले ठूला दलले भागबण्डा एवं आवश्यक चासो नदिएकाले मूल विषय कानुन निर्माण ओझेलमा परेको प्रतिक्रिया दिनुभयो । सदनमा प्रतिपक्षी दलले कतिपय अवस्थामा स–साना विषय उठाएर जनभावनाविपरीत सदन अवरोध गरेको घटना सुनाउँदै सांसद सापकोटाले संसद् अवरुद्ध हुँदा पर्ने प्रभाव र बाधा अड्चनको मूल्याङ्कन जरुरी रहेको धारणा राख्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले कतिपय जनप्रतिनिधिले संविधान र प्रतिनिधिसभा नियमावलीभन्दा बाहिर गएर सदनमा दिने अभिव्यक्ति र प्रस्तुतिले बोलेका विषय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने गरेको बताउनुभयो ।

सांसद सापकोटाले भन्नुभयो, “नियमावलीको परिधिभित्र रही निर्वाचन क्षेत्र, जिल्ला, देश र दुनियाँको कुरा सदनमा उठाउन पाइन्छ, कुनै रोकटोक हुन्न । तर बोल्दा नियमावलीको उल्लङ्घन गरिनुहुन्न ।”

परिवार पाल्न रोजगारीका लागि कुनै पनि नेपाली विदेश जान पर्ने बाध्यात्मक अवस्था नआओस्, देशमै काम दिन सकियोस्, त्यसका लागि काम गरौँ भन्ने उद्देश्य लिएर सदनमा आएको उल्लेख गर्दै उहाँले जनतासँग पनि त्यही भनी मत मागेको घटना सुनाउनुभयो ।

डा चन्द्रकान्त (सीके) राउत अध्यक्ष रहनुभएको जनमत पार्टीबाट प्रतिनिधिसभामा चार महिला र दुई पुरुष सांसदको प्रतिनिधित्व छ । सो दल प्रतिनिधिसभामा आठौँ ठूलो राजनीतिक पार्टी हो । सांसद सापकोटाले भन्नुभयो, “भ्रष्टाचार निर्मूल पार्ने पार्टीको धारणा छ, हामीले सदनमा बारम्बार यही मुद्दा उठाउँदै आएका छौँ । तर ठूला भनिएका दलले त्यसलाई बेवास्ता गरिरहेको देखिन्छ ।”

मुलुकको विकास निर्माणमा संलग्न हुनुपर्ने युवाशक्तिलाई स्वदेशमै स्थापित गर्न चाल्नुपर्ने कदमबारे पार्टीले सरकारलाई सुझाव दिँदै आएको सांसद सापकोटाले बताउनुभयो । जनताले आगामी दिनमा यस्ता समस्या र पीडा भोग्न नपरोस् भनी जनचेतामूलक अभियान एवं जनजागरण कार्यक्रम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
–––