`

ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक

काठमाडौँ, २१ असोज: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समग्र आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले ऊर्जा क्षेत्रको समग्र विकास र त्यसले आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई समेत सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो ।

बर्षायाममा बढी बिजुली उत्पादन हुने र हिउँदमा एक तिहाईमात्रै उत्पादन भई असन्तुलित रहेको अवस्थालाई ख्याल गरेर जलाशय र अर्धजलाशयुत्तः प्रकृतिका आयोजना निर्माणलाई जोड दिइएको उहाँको भनाइ छ ।

प्रस्तावित विधेयकमा ठूला विद्युत् आयोजना सङ्घीय सरकारले, २५ मेगावाटसम्मका आयोजना प्रदेश सरकार र पाँच मेगावाटसम्मका आयोजना स्थानीय सरकारले अगाडि बढाउने गरी प्रस्ताव गरिएको मन्त्री बस्नेतको भनाइ छ ।

ऊर्जा क्षेत्रलाई सकारात्मक प्रतिस्पर्धाका माध्यमबाट अगाडि बढाउने लक्ष्यका साथ विधेयकमा नयाँ व्यवस्था प्रस्ताव गरिएको उहाँले उल्लेख गर्नुभयो । विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारलाई समेत पहिलो पटक सम्बोधन गरिएको जानकारी दिँदै उहाँले कानुन र विकासबीचको सम्बन्धलाई एकीकृत गरेर लैजान खोजिएको बताउनुभयो ।

यस्तै, विद्युत् उत्पादनको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेपनि प्रसारण पूर्वाधार निर्माणमा रहेको समस्या समाधान गर्न प्रस्तुत विधेयकमा नयाँ प्रावधान प्रस्ताव गरिएको उहाँको भनाइ छ । उहाँले विकास र समृद्धिको आवश्यकतालाई मध्यनजर गरेर विधेयक प्रस्ताव गरिएको र यसमा सघन छलफल गरेर थप समृद्ध पार्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन

जुम्ला, २१ असोज : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल मौज्दात छ । यस वर्षको दसैँका लागि उक्त परिमाणको चामल पर्याप्त हुने बताइएको छ । हाल कम्पनीको गोदाममा दसैँका लागि एक हजार दुई सय, जुम्ला कारागारका लागि दुई सय ८० क्विन्टल छुट्याइएको छ ।

सम्बन्धित वडा कार्यालयको सिफारिसमा उक्त कार्यालयले चामल बिक्री गर्नेछ । जिल्लाको  वार्षिक कोटा पाँच हजार पाँच सय क्विन्टल रहेको छ भने हालसम्म एक हजार तीन सय २० क्विन्टल चामल भण्डारण गरिएको छ । उक्त कार्यालयका अनुसार थप चार हजार एक सय ८० क्विन्टल चामल प्राप्त हुन बाँकी छ ।

इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको अनुरोध

गोदावरी (कैलाली), २१ असोज : नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ । आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न आग्रह गर्नुभएको हो । उहाँले घाइते नेपालीप्रति सरकारले चासो नदिएको आरोप लगाउनुभयो ।

घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे सरकार गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । महासचिव पाखरेलले अब एमालेले एकल बहुमतको सरकार गठन गर्नेगरी अगाडि बढ्नुपर्छ भन्दै पार्टीले समृद्धिको आधार बनाई रहेकाबेला आफ्नै पार्टीको सरकारलाई ढाल्न लागेकाहरुबाट अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गर्नुभयो ।

एकीकृत समाजवादीद्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न

भैरहवा, २१ असोज ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो ।

पार्टीले अवलम्बन गरेको वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण स्थानीय तहसम्म स्थापित गर्ने अभियानले ध्येय राखेको छ । अभियानका यस क्रममा विभिन्न जिल्लामा २८ सभा र सम्मेलन सम्पन्न भएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्त, अर्नाह, भगवान्पुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दिबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, हेटौँडा, चितवनमा ठूला सभा सम्पन्न भएका छन् ।

अभियान अहिले लुम्बिनी प्रदेशमा पुगेको छ । पार्टीका शीर्षनेताहरूले सम्बोधन गर्नुभएको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तक्र्रिया, कोणसभा तथा ठूला आमसभासमेत गरिएका छन् ।

यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने अभियानले आज मणिग्राम र बुटवलमा सभा अयोजना हुँदैछन् । अभियानक्रममा आर्थिक, राजनीतिक, सामाजिक सुरक्षाका विषयमा जनतासँग सुझाव सङ्कलन गरिएको छन् । ती सुझावलाई समाजवादी नीति निर्माणमा समावेश गरिने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।

बागमती प्रदेशसभा बैठक बस्दै, छलफलका दुई विधेयक लागि पेस हुने

मनहरी (मकवानपुर), २१ असोज : बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो ।

बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् । बागमती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ । सरकारले प्रस्तुत गरेको सो विधेयललाई बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन् । सदस्यलाई पूर्वजानकारी नै नदिई सरकारले सिधै बैठकमा चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गर्र्दै आएको हो ।

धुलिखेल–खावा सडक विस्तार : १६ महिनामा १२ प्रतिशतमात्रै काम

काभ्रेपलाञ्चोक, २१ असोज : काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।

आउँदो चैत १९ गतेभित्र निर्माण सक्नुपर्ने उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । निर्माण सुरु भएको १६ महिना बितिसक्दा १२ प्रतिशतमात्रै काम भएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता गरेको थियो । कार्यालयका सिनियर डिभिजन नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडकखण्डको ठेक्का लिएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् । सम्झौताअनुसार समयावधिको ७२ प्रतिशत समय सकिएको छ । तर काम भने १० प्रतिशतमात्रै हुनु ठेकेदार कम्पनीको लापरवाही भएको सरोकारवालाले बताएका छन् ।डिभिजन कार्यालयले निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको लामिछानेले बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले कुनै पनि पत्रको जवाफ पठाउने गरेका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले पुनः पटक–पटक सार्वजनिक सूचना जारी गर्दै गैरजिम्मेवारीपन देखाएको जनाउँदै समयसीमा दिएर लिखित स्पष्टीकरण पेश गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको छ ।यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पनि पटक–पटक छलफल गरेको थियो । ती सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मतसम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि एक वर्षदेखि कामलाई तीव्रता दिइएको छैन । सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृतरूपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोपसमेत लगाउँदै आएका छन् ।घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे भएर यात्रुले सास्ती खेप्नुपरेको छ । अझ दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई निकै कठिन हुने गर्दछ । पुनःनिर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीका कारण १६ महिनाको अवधिमा एक सयभन्दा बढी दुर्घटनामा यात्रु घाइते भएका छन् । दसैँमा सवारी आवतजावतका लागि निकै कठिनाइ हुने छ । “समयमा काम नगरी यात्रुलाई सास्ती दिने ठेकेदारलाई हदैसम्मको कारबाही गर्नुपर्छ”, पाँचखाल नगरपालिका–४ का राजन कार्कीले भन्नुभयो । उहाँका अनुसार समयावधिको बाँकी छ महिनामा सडक निर्माणको काम सम्पन्न गर्न सक्दैनन् ।सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनायो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो ।निर्माण व्यवसायीले भने सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेका छन् । उक्त सडकखण्ड विस्तार गर्न आठ सय ४२ वटा रुख काट्नुपर्ने बताइएको छ । करिब एक सय विद्युत्का पोल सार्नुपर्ने देखिएको हो ।केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् ।

हुम्लामा कर्णाली नदी पार गर्ने क्रममा तुइनको डोरी चुडिँयो, एक जना बेपत्ता

सिमकोट (हुम्ला), २१ असोज- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ ।

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएको थिए । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए ।

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

धनुषा, २१ असोज ः यहाँस्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिनुभयो । उहाँले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताउनुभयो ।सञ्चालक रायले भन्नुभयो “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाँै । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।”

विधेयक सदनमा आएपछि मात्र सांसदले थाहा पाउने अवस्थालाई सच्याउनुपर्छ : सांसद चौधरी

काठमाडौँ, २० असोज- प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउनुहुन्छ । खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुभएका सांसद चौधरीले सांसदसँग राससको संवादमा खेलक्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने कुरा दोहोर्याउनुभयो ।

“खेलाडी रहेमा नै खेल रहन्छ, खेलको माध्यमबाट देशको नाम विश्वमा चिनाउँदै देशको गौरव बढाउन सक्छौँ”, डोरीतान खेलाडी चौधरीले भन्नुभयो, “तर खेलक्षेत्रप्रति सरकारले उपेक्षा गरेको छ ।”

सांसद चौधरीले घोषणा गरेको उधारो पुरस्कार तत्काल उपलब्ध गराउन सरकार गम्भीर हुन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर÷सहभागिता जनाएर फर्किएका खेलाडीलाई सरकारले रकम तोकेरै पुरस्कारको घोषणा गर्छ । दुःखको कुरा अहिलेसम्म पनि रु १७ लाखभन्दा धेरै रकम खेलाडीले पाएका छैनन् ।”

सन् २०१९ मा आयोजित १४औँ एसियाली डोरीतान प्रतियोगितामा सहभागिता जनाउनुभएका उहाँले साढे तीन वर्ष खेलाडीका रूपमा विभिन्न प्रतियोगितामा सहभागी हुनुभयो । उहाँले खेलाडीको व्यवस्थापन, उत्पादनमा र पारिश्रमिकमा समेत ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

खेलसँगै सामाजिक क्षेत्रका गतिविधिमा संलग्न हुने क्रममा राजनीतितर्फ झुकाव बढाउनुभएका सांसद चौधरी पछिल्लो समय नेपाली खेलाडी विदेशिने परिस्थितिप्रति चिन्तित हुनुहुुन्छ ।

सुनसरी जिल्ला इटहरी पचरुखी वडा नं ५ का स्थायी बासिन्दा चौधरीले विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार भई राजनीतिक जीवनको प्रारम्भ गर्नुभएको थियो । विसं २०७१ पछि नेपाल परिवार दलमा आबद्ध हुँदै परिवार दलको तेस्रो अधिवेशनबाट जिल्ला सचिवको जिम्मेवारीमा समेत रहनुभयो ।

विसं २०७९ मा परिवार दल परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध हुनुभयो । रास्वपा प्रवेशपछि इटहरी नगर सचिवको जिम्मेवारी र प्रदेश नं १ को भेलाबाट नगर सभापतिको जिम्मेवारीमा रहनुभयो । रास्वपाको समानुपातिक सांसद चौधरी विधायिकाको भूमिकामा अपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको स्वीकार्नुहुन्छ । समय–समयमा सदन अवरुद्ध हुने र सरकारले पर्याप्त व्यवसाय नदिने कारणले गर्दा कानुन निर्माणमा आफूहरूको भूमिका प्रभावकारी नदेखिएको उहाँको भनाइ छ ।

“धेरै विधेयकहरू अड्किएका छन्”, उहाँले भन्नुभयो, “कानुन निर्माणको तहमा हामी (रास्वपाका सांसद) सक्रिय छौँ । तर सरकारले नै बिजनेस दिन नसक्दा यतिका अवधिसम्म पनि हाम्रो भूमिका प्रभावकारी देखिएन ।” सांसद चौधरीले कानुन निर्माणको मस्यौदा बन्ने प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै भन्नुभयो, “सदनमा आएपछि मात्र सांसदले थाहा पाउने अवस्था छ, यसलाई सच्याउनुपर्छ ।”

सम्बन्धित मन्त्रालयले तयार गरेको मस्यौदा कानुन मन्त्रालय हुँदै अर्थ मन्त्रालय र त्यसपछि मन्त्रिपरिषद्को निर्णयपछि सदनमा आइपुग्छ । “सदनमा आइपुगेपछि मात्र विधायिकाको भूमिका हुन्छ । तर सदनले कानुन बनाउँछ भन्दै गर्दा प्रक्रियागत त्रुटि पनि छन्”, उहाँले भन्नुभयो,“ मस्यौदा निर्माणकै क्रममा सम्बन्धित सांसद, सरोकारवाला व्यक्ति, निकाय र विज्ञ राखेर बनाउनुपर्छ ।”

सांसदले कानुन निर्माणसँगै जनताका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने भूमिका उत्तिकै महत्त्वपूर्ण भएको उहाँको बुझाइ छ । उहाँले देशका विभिन्न ठाउँमा गएर जनगुनासो सुन्ने अभियान नै थालेको बताउनुभयो ।

“कैलालीको टीकापुरमा जनगुनासो सुन्न पुग्याँै । हाम्रो पार्टीप्रति जनताको अपेक्षा धेरै छ । पुराना दललाई हेर्ने दृष्टिकोण फरक छ, उहाँहरूसँगको अपेक्षा निराशामा परिणत भइसकेको छ”, उहाँले भन्नुभयो । उहाँले त्यस क्षेत्रका कृषकदेखि प्राकृतिक प्रकोपले विस्थापित भएका पीडितहरूको गुनासो सुनेर फर्किएपछि सदनमा यस विषयमा सरकारको ध्यानाकर्षणसमेत गराइसक्नुभएको छ ।

उहाँका अनुसार जनप्रतिनिधि निर्वाचित भएपछि अर्को चुनाव नआएसम्म जनताको दैलोमा नफर्किने प्रवृत्तिका कारण जनताका धेरै समस्यामा सरकारको ध्यानाआकर्षण हुनसकेको छैन ।

“कैलाली टीकापुरका कर्णाली बाढीपीडित सुकुम्बासी बस्तीको समस्या र त्यहाँको रोदन तथा गुनासो अझै ताजै कानमा गुन्जिरहेको छ”, सांसद चौधरीले भन्नुभयो, “चौध वर्षदेखि बसोबास गर्दै आइरहेको शिविर क्षेत्रमा चुनावताका नेताहरूले विभिन्न आश्वासन देखाउनुभयो । तर अहिले स्थानीय सरकारले बाटाघाटा, खानेपानी, बसाइँसराइ, बच्चाहरूको जन्मदर्ता समेतका सेवा–सुविधाबाट बञ्चित गराएको जनगुनासो आइरहेको छ ।”

उहाँले बाढीपीडित सुकुम्बासी बस्तीको समस्याका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको समेत ध्यानाकर्षण गराइसकेको बताउनुभयो ।
–––

पृथ्वी राजमार्गको वैकल्पिक सडक बुद्धसिंह मार्गः १० किमी खण्डमा कालोपत्र शुरू

दमौली (तनहुँ), २१ असोज : पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो । दमौलीबाट सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त खण्ड ‘आक्सफाल्ट प्रविधि’बाट सडक कालोपत्र गरिनेछ । पूर्वाधार विकास कार्यालयले मैनाचुली÷सफल जेभी काठमाडौँसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि करसहित रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौताअनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवे निर्माण गरिनेछ ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार उक्त खण्डको अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । सो अवसरमा मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पूर्वाधार विकास निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारीसहितको टोलीले हालसम्मको कामका बारेमा जानकारी लिएको थियो ।

सो मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिंमार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्ने जनाइएको छ । गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर यस वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन ।

घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिएको छैन । उक्त पुल निर्माणका लागि विसं २०७५ माघमा सम्झौता भएको थियो । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण हुनेछ ।

उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २५ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिने जनाइएको छ ।दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुई पाङ्ग्रे सवारीसाधन आवतजावत गरे पनि अन्य ठूला सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँ, २१ असोज ः तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ ।

जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार नेपालमा हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा मौसम रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा एक साताभित्र सरकार गठनको आह्वान

काठमाडौँ – कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्नुभएको हो ।

“कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ”, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारद्वारा आतङ्कवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध

काठमाडौँ – सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिवार साँझ जारी गरेको विज्ञप्तिअनुसार आतङ्कवादी आक्रमणमा नेपाली पनि परेका छन् ।

आक्रमणमा परेका नौ जना नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर छ । यससम्बन्धी थप विवरण अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ ।

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगन गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न सरकारले अनुरोध गरेको छ ।

इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि सरकारले उपलव्ध गराएको छ ।
टेलीफोनः+९७२(०)३५१६८०८५

राजदूत कान्ता रिजाल ९७२५४५८६४४२३
प्रथम सचिव अर्जुन घिमिरे +९७२५४५८६४४२३

इमेल [email protected]

हेर्नुहोस् असोज २१ गते आइतवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन ।सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ ।

बृष राशि – यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुने योग रहेको छ ।

मीथुन राशि – आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्छन । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ ।

कर्कट राशि – भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

सिंह राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।

कन्या राशि – स्वास्थमा गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला ।

तुला राशि – सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।

बृश्चिक राशि – सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ ।

धनु राशि – सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मकर राशि – दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

कुम्भ राशि – सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

मिन राशि – यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनिहुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । गरीरहेको कार्य क्षेत्रबाटँ आक्समिक धनलाभ हुने योग रहेको छ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ ।

टीकापुर गौशालामा गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन थालियो

टीकापुर (कैलाली), २१ असोज : कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो ।

टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आउनुभएको छ । तालिमपछि धुपबत्ती र दियो बनाउन धमाधम भइरहेको बताइएको छ । पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी रहेको सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । “गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो “यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ । यो धुपबत्ती बजारमा पाइने केमिकल मिसावट धुपभन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।”गौशालाले सुरुमा गाईको गोबरबाट ५५ घरमा ग्यास वितरण, गाईको गोबर मल बिक्री सुरु गरेको छ । दीपावलीलाई लक्षित गरेर धुपबत्ती र विभिन्न प्रकारका दियो बनाउन थालिएको छ । गौशालाले यससँगै नम्बरप्लेट, शुभलाभका चित्र, भगवान्का मूर्ति, प्रमाणपत्रलगायतका सामग्री निर्माण गर्ने योजना रहेको गौशालाका सचिव जोशीले बताउनुभयो । “गाईको गोबरबाट विभिन्न सामग्री बनाउन सकिनेरहेछ”, उहाँले भन्नुभयो, “यी विभिन्न सामग्री निर्माणका लागि मेसिन खरिद गर्ने तयारी गरेका छौँ । उच्च रक्तचापका बिरामीका लागि चाहिने सामग्री पनि बनाउने तयारी छ ।”गौशालाले श्रीमद्भागवत् महायज्ञ गर्ने, कथावाचकले गौशालामा उत्पादन भएका सामग्रीको बजारीकरणमा सघाउने सल्लाह भइरहेको उहाँको भनाइ छ ।सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले अहिले सात सय ३० गाई संरक्षण गरिरहेको छ । यसरी विभिन्न सामग्रीसमेत उत्पादन थालेपछि केही युवाले रोजगारी पाउने बताइएको छ । केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिनादेखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफँैले खर्च व्यर्होने गरेको छ ।–––

नागरिकबाट पार्टीको नेतृत्व चयन हुने व्यवस्था हुनुपर्छ : युवानेता पौडेल

रामपुर ९पाल्पा०- नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,“ पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्छ ।”

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई शनिबार सम्बोधन गर्नुहुँदै उहाँले आमनागरिकबाट नेतृत्व चयन गर्ने व्यवस्था लागू भयो भने पार्टीभित्र हुने गुटबन्दीको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुयो, “देशको महत्त्पूर्ण कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टी अहिले कांग्रेसको पहिचानभन्दा पनि कांग्रेसभित्र गुटको पहिचान रहेको छ । नेपाली समाजको पार्टी रहेको कांग्रेस प्रतिस्पर्धामा खुला ढङ्गले उत्रनुपर्छ । ”

कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जिल्लाका सबै वडा र पालिकामा भेला सम्पन्न गरिसकेको जानकारी गराउनुहँुदै पार्टीमा योगदान गरेका ज्येष्ठ सदस्यलाई सम्मान, पार्टी सुदृढीकरण, सामाजिक कार्य र हितका विभिन्न कार्यमा पार्टीले महत्त्वपूर्ण काम गरेको बताउनुभएको छ ।

यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी, उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने

काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले विषेशगरी राजमार्गमा हुनसक्ने लुटपाट रोक्न सादा पोशाकका प्रहरी परिचालन गर्न लागेको जानकारी दिँदै भने– ‘कुन राजमार्गमा कति संख्यामा सादा पोशाकका प्रहरी परिचालन गर्ने भन्ने विषयमा प्रदेश प्रहरी कार्यालयले निर्देशन दिनेछ । महत्वपूर्ण र संवेदनशील मानिएका राजमार्गमा चेक प्वाइन्ट राख्ने व्यवस्था गरेका छौं । कुनै पनि घटना घटेमा तत्काल घटनास्थलमा पुग्नेगरी प्रहरी परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौं ।’उनले चाडवाडमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताको आधारमा प्रहरी परिचालन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको बताए । आंकलन गर्दै पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन क्षेत्रमा सुख्खा पहिरो जानसक्ने सम्भावनालाई मध्यनगर गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ ।सम्भावित घटनालाई रोक्न सडक विभाग, ट्राफिक प्रहरी सडक आयोजना प्रमुख लगायतसँग छलफल गरी मुग्लिन सडकको २४ सै घण्टा सुरक्षा दिई यात्रुलाई सहज रूपमा आवत जावत गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।यसै गरी दशैं तिहारको विशेष सुरक्षा योजनाअन्तर्गत सबै राजमार्गमा प्रहरी गस्ती बढाइने भएको छ । प्रत्येक बसमा सादा र बढी खतरा रहेको यात्रुवाहक बसमा हतियारसहित प्रहरीले गस्ती गर्ने व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ । राजधानीबाट टिकट लिने यात्रुको लागि प्रहरीले विभिन्न स्थानमा करिब दुई दर्जन प्रहरी सहायता कक्ष स्थापना गरी सेवा दिन शुरू गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

देश बनाउन सबै राजनीतिक दलबीचको एकता हुनुपर्ने : कमल थापा

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देशलाई विकासको बाटोमा अघि बढाउन सबै राजनीतिक दलबीचको एकता हुनुपर्नेमा जोड दिनुभएको छ ।

राप्रपा ललितपुर जिल्ला कार्यसमितिद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक दलबीच एकता नहुँदा देशले विकासको गति लिन नसकेको बताउँदै भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यका निम्ति पनि दलीय एकता आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलका नेताहरूले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको निम्ति काम गर्नुपर्नेमा जोड दिनुभयो ।

वर्षाले चितवनका किसानले काटेर खेतमा सुकाएको धान थन्क्याउन पाएनन्

भरतपुर (चितवन),२१ असोज : केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् ।

धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । “अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन”, उहाँले भन्नुभयो, “अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ ।” उहाँका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ ।

केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उहाँले बताउनुभयो । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् ।

निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका सुनिल दवाडीले बताउनुभयो । “मैले दुई बिघामा धान लगाएको हो । त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ”, खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उहाँले भन्नुभयो, “धान रोप्न गरेको लगानी पनि खेर गयो ।” खेत रोप्न रु २५ हजार लागेको उहाँले बताउनुभयो । लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ ।

शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोप्नुभएको थियो । केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उहाँले बताउनुभयो । “मेरो खेत नै यति मात्रै । उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो”, उहाँले भन्नुभयो, “मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु ।” काट्न १० जना खेताला लागेको उहाँले बताउनुभयो ।

समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन् । “छ–सातवटा बालबालिका छन् । अरु कमाई छैन । यही खेती गरेर खाने हो”, शरणपुरकी शिला लामिछानेले भन्नुभयो, “वर्षभरिलाई खाने भनेर लगाएको धान डुबेर यस्तो गति भयो ।” चितवनमा २७ हजार हेक्टर हाराहारीमा धानखेती गरिँदै आइएको छ ।
 

बीमा गरेका बिरामीलाई औषधि दिन भरतपुर अस्पतालमा छुट्टै काउन्टर सञ्चालनमा

चितवन- स्वास्थ्य बीमा गरेका बिरामीलाई औषधि दिन भरतपुर अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । बीमा बोर्डले एक महिनाको मात्र औषधि दिन निर्देशन गरेपछि अस्पतालमा बढेको भीड नियन्त्रण गर्न र बिरामीलाई सहजता दिलाउन अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालमा बिरामीको थप चाप थेग्नै नसक्ने अवस्था आएकाले बीमाको औषधि दिन थप काउन्टर सुरु गरिएको बताउनुभयो । पौडेलले भन्नुभयो, “औषधि लिनुपर्ने बीमाका बिरामीले नियमित सेवन गर्नुपर्ने मधुमेह, उच्च रक्तचाप, दम थाइराइड, कोलेस्ट्रोल लगायतका औषधि डाक्टरबाट लेखाएर सहजै लिन सक्नुहुन्छ ।” सो काउन्टर बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने गरेको उहाँले जानकारी दिनुभयो ।

धेरै बिरामी बीमाबाट औषधि लिनकै लागि भीडभाडमा बस्नुपर्ने बाध्यता हट्दै जाने विश्वास पौडेलको छ । उहाँले भन्नुभयो, “नियमित औषधि लिनेले सामान्यतय एक–एक महिनामै चिकित्सकसँग जाँच गर्नुपर्ने हुँदैन, त्यसैले बिहान ७ बजे नै टिकट लिएर डाक्टरको सिफारिसमा औषधि लिएर जान सकिन्छ ।”

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार हरेक दिन ९० देखि एक सय ३५ बिरामीले छुट्टै काउन्टरबाट सेवा लिइरहेका छन् । अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् । हालसम्मको सबैभन्दा बढी बिरामी आएको दिन एकैदिन दुई हजार सात सय ४९ जनाले अस्पतालबाट सेवा लिएका थिए ।

तीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउँछन् भने ३० प्रतिशत बीमा बाहेकका आउने गर्दछन् । बीमाका बिरामीले अरु व्यक्तिको कार्ड लिएर सेवा लिने गरेको पाइएपछि निगरानी बढाइएको छ ।
 

यसवर्ष चाडपर्व लक्षित नयाँ नोट सटही घटस्थापना आसपासमा सुरु गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा सुकिलो नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ। यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जानकारी दिए।

कार्यकारी निर्देशक शाक्यका अनुसार सर्वसाधारणले रु. ५, रु. १०, रु. २०. रु. ५० र रु. १०० दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने छन्। करिब १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही हुने लक्ष्यस्वरूप तयारी भइरहेको उनले जानकारी दिए।‘सम्भवतः घटस्थापनाको भोलिपल्ट अर्थात् असोज २९ गतेबाट आम सर्वसाधारणलार्ई सुकिलो तथा नयाँ नोट सटही सुरु गर्ने तयारी छ। यसबारे आइतबार, सोमबारतिर अन्तिम टुंगो लाग्छ,’ उनले अन्नपूर्णलार्ई भने। गत वर्षको तुलनामा यसवर्ष सटही खुलाउनमा ढिलाइ हुने देखिएको छ। गत वर्ष भने असोज १० गते घटस्थापना आउनु ८–१० दिनअघिबाटै नयाँ नोट दिन सुरु गरिएको थियो। जबकि गत वर्ष सरकारी स्वामित्वका बैंकहरूले भदौ ३० देखि सर्वसाधारणलार्ई र अन्य केही निजी बैंकहरूले असोज २ गतेदेखि सर्वसाधारणमा सटही खुला गरेका थिए।नेपाल राष्ट्र बैंकले असोज १९ गतेदेखि रुपैयाँ २० दरको ९ लाख ९९ हजार ९ सय ९९ थान नयाँ नोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकले शुक्रबार सूचना प्रकाशन गर्दै सो नोट चलनचल्तीमा ल्याएकोबारे सर्वसाधारणका लागि जानकारी दिएको हो। केन्द्रीय बैंकले २० रुपैयाँ दरको नोट साबिककै आकार तथा रङमा प्रचलनमा ल्याएकोे छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने

काठमाडौँ । सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर २९ तारिखदेखि सुरु हुने विन्टर सेड्युलका टिकट बिक्री नगर्न निर्देशन दिएको थियो।

प्राधिकरणले कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभल्सलाई टिकट बिक्री नगर्न निर्देशन दिएको थियो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राधिकरण र कोरियाको नागरिक उड्डयन हेर्ने निकाय भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय (मोलिट) सँग भएको छलफलमा नेपालबाट पनि कोरिया उडान सुरु गर्न सहमतिसहित कोरियन एयरको उडान नरोकिने बताए।उनले भने, “प्राधिकरण र मोलिटसँग भएको छलफलपछि यही अक्टोबर १५ देखि १९ तारिखसम्म बङ्गलादेशको ढाकामा हुने एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन महानिर्देशकहरूको ५८ औँ सम्मेलनमा निगमको एसिसमेन्ट मिसन (अडिट) को मिति तोक्ने र लगत्तै काठमाडौँ–सियोल उडान सञ्चालन गर्नेबारे मोलिट सहमत भएको छ । हाललाई कोरियन एयरको उडान निरन्तर रहन्छ।”नेपालसँगको हवाई सेवा सम्झौता अनुसार नेपाली जहाजका लागि कोरियामा उडान अनुमति माग गर्दा कोरिया सरकार र त्यहाँको नागरिक उड्डयन हेर्ने निकायले विभिन्न कारण देखाएर उडान प्रक्रियामा ढिलाइ गरेपछि कोरियन एयरको नेपाल उडान रोक्ने चेतावनी दिएको तर दुई देशबिचको हवाई सम्झौतालाई असर गर्ने प्राधिकरणको मनसाय नरहेको समेत उनले बताए ।कोरियाले गर्ने निगमको एसिसमेन्ट मिसनमा उडान सुरक्षा र प्राविधिक सुरक्षामा देखिने कुनै कमजोरीबारे प्राधिकरण सुधारमा सहयोग पु¥याउने उनको भनाइ छ । उनले कोरियाले नेपाललाई उडान अनुमति दिनका लागि आफूले प्राधिकरण र निगमको अडिट गर्नुपर्ने सर्त अघि सारेपछि प्राधिकरणले सम्झौता अनुसार दोहोरो उडान गर्नुपर्ने र कोरियन एयरको एकलौटी प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा अघि सारेको बताए ।

चाडपर्वमार्फत सद्भाव फैलाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गर्नुभएको छ । एमाले सम्पर्क समन्वय कमिटीले आज दसैँ–तिहार नेपाल सम्वत, छठपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “हाम्रो मुलुक भौगोलिक विविधिता भएकाले चाडपर्बमार्फत सामाजिक सद्भाव फैलाउनुपर्छ ।”

अध्यक्ष ओलीले आफ्नो विचार अरुले अनुशरण गरेर लाभ लिन सकुन् भनेर सामाजिक सञ्जालमा केही लेख्नुपर्ने पर्ने बताउनुभयो । “फेसबुकमा स्टाटस लेख्छौँ भने अर्थपूर्ण लेख्नुपर्‍यो”, उहाँले भन्नुभयो, “स्टाटस लेख्दा गलत कुराको खण्डन र सही कुराको समर्थन र पक्षपोषण हुनुपर्दछ ।”सामाजिक सञ्जालमा समाजलाई हानी पु¥याउने अश्लिल, उत्ताउलो खालका कुरा नलेख्न अध्यक्ष ओलीले आग्रह गर्नुभयो । सबैको भलाइको निम्ति सचेतना फैलाउने तरिकाले सामाजिक सञ्जालमा लेख्नुपर्नेमा जोड दिँदै उहाँले समाजलाई ठीक ठाउँमा लैजानका लागि राजनीतिक आवश्यक रहेको बताउनुभयो ।अध्यक्ष ओलीले हाम्रा चाडपर्व सामाजिक मूल्य–मान्यतासँग जोडिएको भन्दै चाडअनुसार मानिसको परिस्थिति पनि मिल्ने बताउनुभयो । उहाँले अहिले नयाँ लुगा फेर्न र मिठो खानका लागि दसैँ पर्खने अवस्था कम मानिसमा रहेको बताउनुभयो । “पहिले मिठो खान र लगाउन दसैँ पर्खनुपर्दथ्यो । त्यस्तो अवस्थामा थियो हाम्रो देश । आज त्यस्तो अवस्था छैन”, उहाँले भन्नुभयो, “अझै पनि केही मानिसलाई मिठो खाना र नयाँ लुगा लगाउनका लागि दसैँ पर्खनुपर्ने अवस्था रहेको छ । त्यो चिन्ताको विषय हो ।”अध्यक्ष ओलीले ऋण बोकेर चाड नमाउन आग्रह गरे पनि अझै पनि केही मानिसलाई ऋण बोकेर दसैँ मनाउने गरेको बताउनुभयो । उहाँले दसैँलाई सत्यको दियो जगाउने चेतनाको प्रकाश पुर्‍याउने चाडपर्वका रूपमा मनाउन आग्रह गर्नुभयो ।

नेपालको विकासमा सहयोग गर्ने बेलायतको प्रतिबद्धता

काठमाडौँ, २० असोज : नेपाल–बेलायत मैत्रीसन्धि भएको शतवार्षिकीका अवसरमा शुक्रबार लण्डनस्थित नेपाली राजदूतावास र परराष्ट्र, राष्ट्रमण्डल एवं विकास कार्यालयद्वारा संयुक्त रुपमा इडनबरामा रहेको शाही वनस्पति उद्यानमा जलवायु परिवर्तन त्यसका असरमा केन्द्रित रहेर एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा भएको नेपाल–बेलायत मैत्रीसन्धिका विविध पक्षबारे चर्चा गर्दै जैविक विविधता संरक्षण तथा नेपालमा जलवायु परिवर्तनका प्रभाव घटाउने बारेमा इडनबरा शाही वनस्पति उद्यानसँग साझेदारी भइरहेको बताउनुभयो ।

विशेष गरी उद्यानसँग नेपालका संस्थाहरूले अनुसन्धान, क्षमता अभिवृद्धि, संरक्षण तथा विकासका क्षेत्रमा सहकार्य गरिरहेका बताउँदै राजदूत आचार्यले जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका दुष्प्रभाव घटाउन बेलायतले नेपाललाई निरन्तर सघाएकामा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले हिमनदी पग्लने तथा जलवायुजन्य विपत्तिको उच्च जोखिममा नेपाल रहेको बताउँदै विभिन्न परियोजनाअन्तर्गत उद्यानले गरेको सहयोगको सराहना गर्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र, राष्ट्रमण्डल एवं विकास कार्यालयका नायब निर्देशक सार्लोट कोल्सले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्ध पछिल्ला दिनमा भएका छलफल र आदानप्रदानले अझ सघन भएको बताउँदै नेपालको सामाजिक–आर्थिक विकासका निम्ति बेलायतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमममा जलवायु विज्ञ, नेपालका बेलयती मित्र, स्थानीय कूटनीतिक समुदाय, बेलायतमा बसोबास गर्दै आएका नेपाली तथा प्राज्ञिक प्रतिष्ठानका प्रतिनिधिको सहभागिता थियो ।

अमेरिका, भारत र ईयूलगायत विश्व समुदायद्वारा इजरायलमाथि हमासको आक्रमणको निन्दा, इरानद्वारा हमासको पक्षमा समर्थन

वासिङ्टन – संयुक्त राष्ट्रसङ्घले गाजापट्टी शनिबार भएको घटनाले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर तुर्कले भन्नुभयो, “म हिंसा तत्काल रोक्न आह्वान गर्दछु र थप रक्तपात हुन नदिन सबै पक्ष र यस क्षेत्रका प्रमुख देशहरुलाई तनाव कम गर्न अपिल गर्दछु ।”

उहाँले इजरायली नागरिकलाई बन्धक बनाइएको भन्ने खबरप्रति आफू निकै चिन्तित रहेको बताउनु भएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको आक्रमणपछि हमाससँग युद्ध भइरहेको बताएको छ ।

अमेरिकाले इजरायलविरुद्ध हमास ‘आतङ्ककारी समूह’का लडाकूले गरेको आक्रमणको ‘स्पष्ट शब्दमा’ निन्दा गरेको ह्वाइट हाउसले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हमासका आतङ्ककारीहरूले इजरायली नागरिकमाथि गरेको अकारण आक्रमणको संयुक्त राज्य अमेरिका कडा एवं स्पष्ट शब्दमा निन्दा गर्दछ ।”

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीसँग कुरा गर्दै यस अभियानको बारेमा इजरायली साझेदारहरूसँग घनिष्ठ सम्पर्कमा रहने बताउनुभएको छ ।

वाट्सनले भन्नुभयो, “हामी इजरायल सरकार र जनताको साथमा दृढतापूर्वक उभिएका छौं र यी आक्रमणमा ज्यान गुमाएका इजरायलीका आपन्तजनप्रति समवेदना प्रकट गर्दछौं ।”

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकूसमूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यवद्धताका साथ उभिएको बताउनुभउको छ । “इजरायलमा आतङ्कवादी हमलाको खबरले म स्तब्ध भएको छु,” मोदीले ट्वीटरमा लेख्नुभएको छ, “यस कठिन घडीमा हामी इजरायलको साथमा छौं ।”

त्यसैगरी ब्रसेल्सबाट प्राप्त समाचारमा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणपछि युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गर्नुभएको छ । उहाँले एक्स (ट्वीटर) मा लेख्नुभएको छ, “नागरिकहरूलाई उनीहरूको घर वा गाजामा बन्धक बनाइएका समाचारहरू डरलाग्दो छन् । यो अन्तर्राष्ट्रिय कानुनविपरीत छ । बन्धक बनाइएकाहरूलाई तुरुन्तै रिहा गर्नुपर्छ ।”

रूसी विदेश मन्त्रालयले ‘युद्ध’ लाई तत्काल रोक्न र बृहत् तथा स्थायी शान्तिको लागि आग्रह गरेको छ । आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका विश्व समुदायले पनि चासो व्यक्त गरिसकेका छन् । उनीहरूले प्यालेटिनी क्षेत्रमा भएको युद्ध अन्त्यको लागि कामना गरेका छन् भने स्थायी शान्ति कायम गर्न द्वन्द्वरत दुवै पक्षसँग आह्वान गरेका छन् ।

साउदी अरबको विदेश मन्त्रालयले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “साउदी अरबले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गर्दछ । प्यालेस्टाइनी जनतालाई उनीहरूको वैध अधिकारबाट निरन्तर बञ्चित गरिँदा विस्फोटक स्थितिको खतरा उत्पन्न भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

इरानद्वारा हमासद्वारा इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भन्नुभएको छ ।

“हामी यो अभियानलाई समर्थन गर्दछौं,’ याह्या रहिम सफावीले उद्धृत गर्दै आईएसएनए समाचार एजेन्सीले लेखेको छ । सफावीले प्यालेस्टाइन र जेरुसेलमको मुक्ति नभएसम्म प्यालेस्टाइनी लडाकूलाई समर्थन गरेको बताउनुभयो । शनिबार संसदको बैठकमा इरानी सांसदहरूले ‘डाउन विथ इजरायल’, ‘डाउन विथ अमेरिका’ र ‘वेलकम प्यालेस्टाइन’ जस्ता नारा लगाएका थिए ।

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई अमेरिका र चीन भ्रमणबारे ‘ब्रिफिङ’

काठमाडौँ, २० असोज : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई बताउनुभयो ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराउनुभएको थियो ।

त्यसअघि राष्ट्रपति पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेग्ला–बेग्लै भेटेर समसामयिक विषयमा छलफल गर्नुभएको सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

अवैधानिक निर्णयको वातावरण आउन नदिन सभामुख घिमिरेको आह्वान

काठमाडौँ, २० असोज : सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गर्नुभएको छ । नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम’मा उहाँले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्ने बताउनुभयो ।

पत्रकारले दूरदराजका जनतालाई पनि चेतनशील बनाउनुपर्ने र चाडबाड राम्रोसँग मनाउन विपन्न जनतालाई परेको कठिनाइ उजागर गर्नुपर्नेमा बताउँदै उहाँले भन्नुभयो, “पत्रकारले आफ्ना कलमबाट जनप्रतिनिधिलाई पनि सजग गराउनुपर्छ, राष्ट्रको आवश्यकता, गन्तव्य र संविधानको उद्देश्य के हो भन्नेबारे सुसूचित गर्न भूमिका निर्वाह गर्नुपर्छ ।”

सङ्घीय संसद्को तल्लो जनप्रतिनिधिमूलक अङ्ग प्रतिनिधिसभाका सभामुख घिमिरेले आमसञ्चारलाई प्रभावकारी बनाउनका लागि त्यस क्षेत्रमा योजना र बजेट दिन सरकारलाई सुझाव दिनुभयो । उहाँले नुवाकोट सुन्दर र राजधानी नजिक भइकन पनि सुविधा नपाएर पिछडिएको जनाउँदै नुवाकोट र रसुवाका गोसाइँकुण्डजस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रचारप्रसार गरी जिल्लालाई भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपले वैभवशाली, आकर्षक एवं सद्भावपूर्ण बनाउन जिल्लाका पत्रकारलाई आग्रह गर्नुभयो ।

सो अवसरमा सांसद अर्जुननरसिंह केसीले मुलुकमा आर्थिक, सामाजिक, धार्मिक द्वन्द्व हुन नदिन र मुलुकका सबै पर्व नेपालीको पर्व हो भन्ने भावना बढाएर राष्ट्रिय एकता मजबुत पार्नका लागि योगदान दिन पत्रकारलाई आग्रह गर्नुभयो । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने पूर्वमन्त्री केसीले नुवाकोटबाट राजधानी आई पत्रकारिता गर्ने पत्रकारहरूको संस्था समाजले स्थापना गर्ने अक्षय कोषका लागि आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा पूर्वसङ्घीय सांसद जगदीश्वरनरसिंह केसी, बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा प्रद्युम्न महत, राष्ट्रिय परीक्षा बोर्डका सहसचिव जङ्गबहादुर अर्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्की, नेपाल खानी तथा क्रसर उद्योग व्यवसायी महासङ्घका अध्यक्ष सीताराम न्यौपाने, राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विष्णु तारुके, आयोजक पत्रकार समाजका संयोजक रमेश जम्कटेल, सहसंयोजक नवराज घिमिरे, सदस्य प्रकाश पुडासैनी र पूर्वअध्यक्ष दिनेश आचार्यले मुलुकका सबै क्षेत्र सङ्कटमा परेकाले पत्रकारले सही सूचना दिएर राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नुवाकोट जिल्लाबाट राजधानीमा बसोबास गर्ने राजनीति, पत्रकारिता, साहित्य, संस्कृति, निजामती सेवा, उद्योग–व्यवसाय, रैथाने कृषि आदि सबै क्षेत्रका महानुभावको उपस्थिति थियो ।

अध्यक्ष नेपालबाट मुलुकको आर्थिक क्षेत्रका सङ्कट समाधान गर्न आग्रह

कावासोती (नवलपरासी), २० असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उहाँले अर्थतन्त्रमा देखापरेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले क्रान्तिकारी मुद्दा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र सम्मृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताउनुभयो । उहाँले औद्योगिक विकास र मिटर ब्याजपीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशील रहेको जानकारी दिनुभयो ।

यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्त, अर्नाह, भगवान्ण्पुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा सम्पन्न भएको छ । पार्टीले सुरु गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित भएका छन् ।

पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरिएको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजार नेता, कार्यकर्ता सो पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दाबी गर्नुभयो ।

कावासोतीपछि बर्दघाट र परासीमा पनि आज आमसभा गरिनेछ । पार्टीका शीर्ष नेताहरूबाट सम्बोधन गरिएका अभियानका क्रममा आमसभा, कोणसभा, अन्तक्र्रिया, कार्यकर्ता भेला तथा पत्रकार सम्मेलन गरिएका छन् ।

‘कैद मिनाहा दिने कानुनी व्यवस्था गलत’- विश्वप्रकाश शर्मा

झापा, २० असोज : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताउनुभएको छ ।

कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको बताउनुभयो ।

“सोझै नेताहरूले राष्ट्रपति प्रयोग गरेर कैदमा आममाफी दिनु गलत हो”, महामन्त्री शर्माले भन्नुभयो, “माफी नै दिनुपर्दा पीडित परिवारको सहमतिमा मात्र दिइने कानुनी व्यवस्था हुनुपर्छ ।” उहाँले पीडित परिवारको सहमतिबेगर कुनै पनि आममाफी दिन नहुने बताउनुभो ।

साउदी अरबजस्ता मुलुकमा मृत्युदण्ड घोषणा भइसकेका अभियुक्तलाई समेत आममाफी दिने चलन रहेको चर्चा गर्दै महामन्त्री शर्माले भन्नुभयो, “त्यहाँ मृत्युदण्डको फैसला भइसकेका व्यक्तिलाई पनि ‘ब्लड मनी’ का आधारमा सजायबाट माफी दिने चलन नभएको होइन । तर, त्यो ‘ब्लड मनी’ स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा राजकीय सत्ताले होइन, पीडित परिवारले निर्णय गर्छ ।”

भ्रष्टाचारविरुद्धको फाइल खोलेर गठबन्धन सरकारले राम्रो कार्य गरेको बताउँदै महामन्त्री शर्माले सरकारले राम्रो काम गर्दा समर्थन र नराम्रो काम गरे विरोध जनाउने नीति लिएको स्पष्ट पार्नुभयो । उहाँले शिक्षा विधेयकमा सरकारले कमजोरी गरेको हुँदा अब नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिको हुबहु पालना गर्दै संशोधनसहित विधेयक सदनमा ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वी नेपालमा हिंसा र अशान्तिको गन्ध आउन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले कांग्रेस सरकारमा हुँदा मुलुकमा शान्ति स्थापना हुने र सरकारको नेतृत्वमा नहुँदा हिंसाका घटना बढ्ने गरेको जिकिर गर्नुभयो ।

वास्तु शास्त्र अध्ययनका लागि दुई विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ, २० असोज : वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता भएको छ । दुवै देशका विद्वान्लाई सहभागी गराएर नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको वास्तुसम्बन्धी छ हप्ते गोष्ठी समापनका अवसरमा आज विश्वविद्यालयबीच सम्झौता भएको हो ।

नेपाल संस्कृत विश्वविद्यालयका तर्फबाट वास्तु इन्जिनियरिङका डीन वीरेन्द्र खड्का र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाका डीन जोन लिपम्यानले हस्ताक्षर गर्नुभयो । पछिल्लो समय नेपालमा वास्तुको अध्ययन, अध्यापनमा कमी आएका बेला त्यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुवै देशका विद्वानलाई सहभागी गराएर छ हप्ते कार्यक्रम आयोजना गरिएको हो ।

शान्ति र समृद्धिका लागि वास्तुसम्बन्धी ज्ञान र प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै पूर्वीय दर्शनको वास्तुसम्बन्धी ज्ञान पश्चिमा देशमा पुगेपछि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको र यसको उत्पत्तिस्थल नेपालमा पुनरुत्थान गर्न लागिएको छ । यसअघि चारवटा प्रशिक्षणात्मक वास्तुसम्बन्धी गोष्ठी नेदरल्याण्डमा सम्पन्न गरिएको थियो । नेपालमा यस किसिमको पहिलो कार्यक्रम गरिएको पनि फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा एसिया, युरोप, उत्तर तथा दक्षिण अमेरिका र अष्ट्रेलिया महादेशका १४ देशका २४ जना आकिेटक इन्जिनियरको सहभागिता रहेको थियो ।

वास्तुका नियम पालना गर्नुपर्नेमा जोड

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाली संस्कृतिसँग जोडिएकाले सूर्यको तापसँग सम्बन्धित वास्तुको नियम पालना गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले वास्तुका क्षेत्रमा पूर्वीय र पश्चिमी देशका अनुभवलाई मिलान गर्न विभिन्न १४ देशका वास्तु इन्जिनियरलाई बोलाएर कार्यक्रम गरी नेपालकै गौरव वृद्धि गरेको बताउनुभयो ।

ठूला भवनलगायत निर्माण गर्दा वास्तुका नियम पालना गरे सफलता पाइने उल्लेख गर्दै मन्त्री साउदले जलवायु परिवर्तनबाट आएका समस्या समाधानका लागि पनि वैदिक नियम पालनाले सहयोग गर्ने विचार राख्नुभयो ।

सांसद डा स्वर्णिम वाग्लेले वेदलाई आधार मानेर विकास भएको वास्तु शास्त्रका आधारमा भवन एवं संरचना निर्माण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुने गरेको बताउनुभयो । यस क्षेत्रमा लागेका पूर्व र पश्चिमा देशका विज्ञको छ हप्ते कार्यक्रमले यस क्षेत्रलाई आधुनिकरूपमा अघि बढाउन सहयोग गर्ने उहाँको विश्वास थियो ।

आयोजक संस्था फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले वैदिक ज्ञानका विषयमा विश्वका मुख्य छ सय विश्वविद्यालयमा वैज्ञानिक अनुसन्धान सही सावित गरेकाले नेपाललाई वैदिक बनाउन आफू राजनीति र सहकारी क्षेत्र छाडेर लागेको बताउनुभयो । वास्तुका विषयमा पनि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएका विषयलाई जनसमक्ष लैजान नेपालमा छ हप्ते तालिम आयोजना गरिएको उहाँले जानकारी गराउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले विश्वविद्यालयले स्थापनाकालदेखि नै प्राचीन विषयका साथै आधुनिक विषयलाई पनि लैजाने उद्देश्यअनुसार नै वास्तु इन्जिनियरिङको कक्षा सुरु गरिएको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारी, संस्कृतिविद् डा चिन्तामणि योगी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, महर्षि अभियानका दक्षिण एसिया निर्देशक डा किङ्स्ली बु्रक्सलगायतले महर्षि अभियानका १२ क्षेत्रले वैदिक ज्ञानका आधारमा काम गर्ने गरेको बताउनुभएको थियो ।

एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

काठमाडौँ, २० असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो ।

महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

यसअघि आजै सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् ।

योसँगै नेपालले जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

चितवनको राप्ती नदीले बगाएर एकको मृत्यु, एक बेपत्ता

चितवन, २० असोज : पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमायाँ श्रीमल रहेकी छन् । पण्डितका अनुसार उनीहरु आज बिहान निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।मृतकको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताउनुभयो । भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरुलाई नदीले बगाएको थियो ।

कागखोलामा आएको बाढीले क्षतिग्रस्त बारागुङमुक्तिक्षेत्र पुनःनिर्माणको पर्खाइमा

गण्डकी, २० असोज : गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बारागुङमुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ स्थित कागवेनी यतिखेर पुनःनिर्माणको पर्खाइमा छ । बाढीका कारण मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचना पुुगेको क्षतिले यहाँको जनजीवन अझै तहसनहस छ । बाढीका कारण खानेपानी, सिँचाइलगायतका अत्यावश्यकीय पूर्वाधारमा भएको क्षतिका कारण दैनिकी सञ्चालनमा नै समस्या भइरहेको बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष दिकी गुरुङले जानकारी दिनुुभयो ।

“बाढीले पुु¥याएको क्षतिका कारण कागबेनी यतिखेर विभिन्न समस्या झेलिरहेको छ”, उहाँले भन्नुुभयो, “क्षतिग्रस्त संरचनाको पुुुनःनिर्माणका लागि स्थानीयवासी भने आआफ्ना तवरबाट जुटिसकेका छन् ।”

सोह्रश्राद्धको समय पारेर ठूलो सङ्ख्यामा कागबेनीमा पुुगेका तीर्थयात्रीहरू यस स्थानमा बाढीले पुु¥याएको क्षतिका कारण समस्यामा परेका छन् । बाढीले तीर्थालुलाई आश्रय दिँदै आएका धर्मशालासहित पाँच÷छ वटा होटेल भत्काएको थियो । कृषि पेसामा आबद्ध स्थानीयवासी सिँचाइ कुुलो भत्कँदा समस्यामा परेका छन् भने बस्ने घर, नदीबाट आवतजावत गर्ने पुलका साथै कृषि उपज फलाउने बारी बगरमा परिणत बन्दा ठूलो समस्या भोग्नुपरेको स्थानीयको दुःखेसो छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुुसार बाढीले कागबेनीमा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुु¥याएको छ । बाढीले घर तथा होटेलका साथै विभिन्न सङ्घसंस्थाका कार्यालयमा क्षति पुु¥याएको थियो । बाढीका कारण सिँचाइ कुलो, स्याउका बगैँचा एवम् ठूलै सङ्ख्याका गोठमा क्षति पुु¥याएको कागवेनीमा विगत लामो समयदेखि निर्माण कार्यमा काम गर्दै आएका पदम लामगादेले जानकारी दिनुुभयो ।

बाढी दिउँसो ५ बजेतिर आएका कारण कुनै मानवीय क्षति भने नभएको बताउँदै उहाँले रातको समयमा आएको भए हुनसक्ने क्षति कल्पनासमेत गर्न नसकिने बताउनुुभयो । “दिउँसो बाढी आएको खबर मुक्तिनाथ माथिका बस्तीका स्थानीयले खबर गरेपछि थाहा भएको हो”, उहाँले भन्नुुभयो, “सूचना आउनासाथ गरिएको सजगताले मानवीय क्षति नभएको हो ।”

बाढीले कागबेनीवासी कृषकको करोड मूल्यभन्दा बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूलका बोट क्षति पुु¥याएको थियो । स्याउ बगैँचाका साथै कृषियोग्य जमिन र झण्डै सात हेक्टर जमिनमा सिँचाइ गर्दै आइएको कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको छ ।

बाढीले कृषकको गोठ र पशुचौपायामा क्षति पुु¥याएको थियो । यहाँका २३ गोठ, ३२ लुलु गाई, दुई वटा खसी र एउटा घोडा बगाउँदा करिब ५० लाख रुपैयाँ बढीको क्षति पुु¥याएको तथ्याङ्क छ । गाउँपालिकाले तयार गरेको तथ्याङ्कले नगद, सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख २५ क्षति पुुगेको छ । त्यस्तै सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख बराबरको क्षति भएको छ । यहाँका रु पचास ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ र २२ वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक क्षति भएको गाउँपालिकाले जनाएको छ ।

कागवेनी पुनःनिर्माणको पर्खाइमा रहेको उल्लेख गर्दै गाउँपालिकाका उपाध्यक्ष गुरुङले स्थानीय समिति अत्यावश्यकीय पूर्वाधारको पुनःनिर्माणका लागि जुटिसकेको बताउनुुभयो । सरकारी तवरबाट निरीक्षण हुने र आश्वासन आउने गरे पनि पुनःनिर्माण कार्य भने अझै नथालिएको उहाँको भनाइ छ ।

कागवेनीमा आएको बाढीले आसपासका अन्य हिमाली बस्तीका लागि खतराको सङ्केत दिएको जनमुक्ति युवा क्लब, ठिनीका उपाध्यक्ष निरज थकालीले बताउनुुभयो । असामान्यरुपमा आएको बाढीले कागवेनीमा ठूलो क्षति पुु¥याएको बताउँदै उहाँले यसलाई जलवायु परिवर्तनको असरका रुपमा लिइएको बताउनुुभयो ।

पछिल्ला समयमा कृषिजन्य उत्पादनमा समेत जलवायुु परिवर्तनको असर देखिएको बताउँदै उहाँले यस वर्ष मुस्ताङमा स्याउको उत्पादन घटेको जानकारी दिनुुभयो । बढ्दो तापक्रमकै कारण मुस्ताङमा विभिन्न रोगका सङ्क्रमण पनि बढ्न थालेको उल्लेख गर्दै उहाँले पछिल्ला समयमा बढ्दै गएको डेङ्गुको सङ्क्रमण यसको ज्वलन्त उदाहरण भएको बताउनुुभयो । विगतमा पहाडी भेगमा पशुबस्तुमा हुने रोग तथा सङ्क्रमण हिमाली भेगमा नहुने गरेकामा अहिले भने लम्पी स्किन जस्ता रोगले सताउन थालेको उहाँले जानकारी दिनुुभयो ।

“पानी नपर्ने हिमाली बस्तीमा पानी पर्न थालेपछि माटाले छाइएका घर चुहिन थालेका छन्”, उहाँले भन्नुुभयो, “जस्ताले छाउन नसक्ने आर्थिकरुपमा विपन्न समुदायका लागि यो गम्भीर चुनौती बनेको छ ।”

कागवेनीमा भएको क्षति र यसको पुनःनिर्माण सम्बन्धमा सरकारी तवरबाट राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिकसहितको टालीले स्थलगत निरिक्षण गरेको बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रशासकीय अधिकृत होमबहादुर थापा मगरले जानकारी दिनुुभयो । प्राधिकरणले यस सम्बन्धमा प्रतिवेदन तयार गर्ने र त्यसपछि पुनःनिर्माणका काम बढ्ने उहाँले बताउनुुभयो । कागवेनीको क्षतिका सम्बन्धमा नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)को टोलीले पनि अध्ययन गरेको उहाँले बताउनुुभयो ।

पुनःनिर्माणका लागि यहाँको भौगोलिक अवस्थिति, नदी प्रणालीको विगतको अवस्था आदि सम्बन्धमा अध्ययन गर्नुुपर्ने आवश्यकतालाई समेत दृष्टिगत गर्दै काम अघि बढाउने गरी कुरा भइरहेको बताउँदै उहाँले अध्ययन प्रतिवेदन प्राप्त भएपछि पुनःनिर्माण कार्य अघि बढ्ने बताउनुुभयो । गत भदौ १५ गते बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको गाउँसभाको अधिवेशनले रकमान्तर गरेर कागवेनी वस्ती पुनःनिर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको उहाँले जानकारी दिनुुभयो ।

पपुवा न्युगिनीमा ७ र अफगानिस्तानमा गयो ६.३ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ । सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

यसैबीच अफगानिस्तानको पश्चिमी भूभागमा पनि शनिबार बिहान छ दशमलव तीन ६.३ म्याग्निच्युडको भूकम्प गएको युएसजीएसले जनाएको छ । त्यसपछि हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पका पाँच दशमलव पाँच, चार दशमलव सात र छ दशमलव दुई म्याग्निच्युडका तीनवटा पराकम्प गएका थिए ।युएसजीएसले यसअघि छ दशमलव दुई म्याग्निच्युडको भूकम्प गएको जनाएको थियो । अफगानिस्तानको उक्त क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्र हो । हिन्दकुश पर्वतमाला, युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको सङ्गममा अवस्थित भएकाले अफगानिस्तान उच्च भूकम्पीय जोखिममा रहेको भूगर्भविदहरूले बताउँदै आएका छन् ।

भारतले गगनयान मिसनका लागि मानवरहित परीक्षण उडान सुरु गर्ने

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको जनाएको छ ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा इसरोले गरेको पोस्टमा भनिएको छ, “मिसन गगनयान : इसरोले गगनयानका लागि मानवरहित परीक्षण उडान सुरु गर्नेछ, फ्लाइट टेस्ट भेहिकल एबोर्ट मिसन–१ (टिभी–डि वान) तयारी भइरहेको छ जसले क्रु इस्केप सिस्टमको प्रदर्शन गर्दछ ।” 

इसरोका अनुसार यो परीक्षण उडानले बाँकी योग्यता परीक्षण र मानवरहित मिसनका लागि आधार तयार गर्नेछ जसबाट भारतीय अन्तरिक्षयात्रीहरूसँगै पहिलो गगनयान मिसन सुरु हुनेछ ।  

गगनयान मिसनको पहिलो परीक्षण उडानका लागि फर्स्ट क्रस मोडुल सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै इसरोले टेस्ट भेहिकल (टिभी–डि वान) को पहिलो उडानको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ । 

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन क्रमिक रुपमम घट्दै

पर्सा, २० असोज : राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व सङ्कलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व सङ्कलन गरेको जनाएको छ ।

चालु आवको साउनका लागि भन्सार विभागले रू १५ अर्ब ६२ करोड ३७ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा रू तीन अर्ब ७५ करोड ३२ लाख कम राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौका लागि विभागले रू १९ अर्ब ३८ करोड राजस्व सङ्कलनको लक्ष्य दिएकामा रू १२ अर्ब ७१ करोड मात्र सङ्कलन भएको छ ।

भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट सङ्कलन हुने राजस्व घट्दै गएको ढकालले बताउनुभयो । उहाँले मुख्य २० वस्तुबाट सङ्कलन हुने राजस्व गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा ५३ प्रतिशत कम सङ्कलन भएको छ भने भदौमा गत आवको सोही महिनाको तुलनामा ६२ प्रतिशत कम भएको बताउनुभयो ।

वीरगञ्ज भन्सार कार्यालयलाई इन्धन र वाहनको आयातबाटबाट मात्र ४० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन हुने गरेको भन्दै ढकालले दुवै वस्तुको आयात घट्दै गएकाले रावस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिनुभयोे । उहाँले वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनबाट सङ्कलित हुने राजस्व गत आवको तुलनामा ११ प्रतिशत र वाहनबाट सङ्कलन हुने राजस्वमा १० प्रतिशतले कमी आएको बताउनुभयो ।

कञ्चनपुर प्रहरीद्वारा २१ लाखको अवैध सामान बरामद

महेन्द्रनगर, २० असोज : प्रहरीले कञ्चनपुरमा रु २१ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकिछिपी ल्याउने अवैध सामान नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ ।

भारतसित सीमाना जोडिएको कञ्चनपुरमा ठूला व्यापारी नै भन्सार छलेर लाखौँको सामान ल्याउने गरेको पाएपछि पछिल्लो समय कञ्चनपुर प्रहरीले दिनहुँ छापा मार्न थालेको छ । दुई दिनयता जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–६ र १८ मा गोदाममा छापा मारेर भन्सार छलेर ल्याएको रु २१ लाख बराबरको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार गड्डाचौकी नाका हुँदै भारतबाट भन्सार छलेर ल्याएको सामान बरामद गरिएको हो । व्यापारी भुवन भाटको घरमा छापा मार्दा रु दश लाखको खाद्य तथा किराना सामान बरामद गरिएको उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक कमल थापाले भन्सार छलेर अवैध रुपमा सामान ल्याउने ठूला व्यापारीमाथि निगरानी बढाइएको बताउनुभयो । सोही क्रममा प्रहरीले शुक्रबार महेन्द्रनगरका व्यापारी सुशील गुप्ताको गोदाममा छापा मारेको थियो । प्रहरीले गोदामबाट रु ११ लाख बराबरको सामान बरामद गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।
गड्डाचौकी भन्सार कार्यालयमा पाँच वर्षअघि स्थापना गरिएको उपकरण थन्क्याइएको छ । उक्त उपकरण सञ्चालनका लागि भन्सार कार्यालयले हालसम्म चासो देखाएको छैन् ।

चेक अनादरसम्बन्धी व्यवस्था समेटेर बैङ्किङ कसुर तथा सजाय विधेयक संसद्मा दर्ता

काठमाडौँ, २० असोज : बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले गत मङ्गलबार उक्त विधेयक दर्ता गराउनुभएको हो । बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो विधेयक ल्याइएको जनाइएको छ ।

चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनुपर्ने व्यहोराको सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनबाट समेत बैङ्किङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्नुपर्ने सुझावका आधारमा सरकारले यो विधेयक तयार पारेको हो । गत साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले यो विधेयकको मस्यौदा स्वीकृत गरेको थियो ।

कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ । “कसैले पनि आफ्नो बैंक खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त छैन भन्ने जानाजान कसैलाई चेक जारी गरी दिन वा बैंकसँग त्यस्तो चेकको भुक्तानी माग गर्नु हुँदैन”, विधेयकमा भनिएको छ । चेकको भुक्तानी गर्न आवश्यक पर्ने रकम खातामा मौज्दात नदेखिएमा त्यस्तो चेक बैंक तथा वित्तीय संस्थाले धारकलाई नै फिर्ता दिनुपर्नेछ ।

यही चेक साट्न चाहने व्यक्तिले त्यस्तो चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा तीस दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई सो को अभिलेख राख्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । त्यसरी सूचना दिएको जानकारी खुलाई बैंकले चेक फिर्ता गर्नुपर्नेछ । तीस दिनसम्ममा पनि खातामा पैसा उपलब्ध नभएमा चेक अनादर भएको प्रमाणित गर्नेसम्बन्धी प्रक्रिया अघि बढ्नेछ ।

“तीस दिनको म्याद समाप्त भएपछि चेक बोक्ने व्यक्तिले रकम भुक्तानी माग्दा पनि खातामा आवश्यक रकम नदेखिएमा बैंकले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको प्रमाणति गरी चेक फिर्ता दिनुपर्नेछ”, विधेयकको मस्यौदामा भनिएको छ । चेक अनादरसम्बन्धी बैङ्किङ कसुरको जरिवानामा पनि संशोधन गर्न लागिएको छ ।

बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ मा चेक अनादर भएमा बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैदको व्यवस्था रहेको छ । तर विधेयकले चेक अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरिदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना गर्ने र चेक काटिएको रकमका आधारमा कैद सजाय तोक्नेगरी मस्यौदा तयार पारिएको छ ।

विधेयकमा रू पाँच लाखसम्म बिगो भए एक महिनासम्म कैद, रू पाँच देखि १० लाखसम्म बिगो भए तीन महिनासम्म कैद, रू १० लाखदेखि ५० लाखसम्म बिगो भए छ महिनासम्म कैद र रू ५० लाखभन्दा बढी जतिसुकै बिगो भएमा दुई वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । त्यस्तै, चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था ल्याउन लागिएको छ ।

राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप भएमात्रै लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, २० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुङ्गानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकारः अपेक्षा र अवस्था’ को आज लोकार्पण गर्नुहुँदै उहाँले सरकार र राज्यमाथि जनताको प्रत्यक्ष निगरानी जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभवसहितको सैद्धान्तिक र व्यावहारिक कृति हो । यस्तो महत्वपूर्ण कृतिका लागि लेखकलाई बधाइ व्यक्त गर्दछु ।” “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार हो । यतिबेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा छौँ ।

यस सन्दर्भमा हामी सबैले गम्भीररूपमा चिन्तन गर्न जरूरी छ”, प्रधानमन्त्रीले भन्नुभयो– “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने बेला बेलामा प्रयत्न हुने गरेको छ, यस्तो बेला स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी छ ।”

राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावकारी हुन्ज्छ राज्यलाई त्यति नै लोकतान्त्रिक बनाउने उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले एकथरी व्यक्ति ऐन बनाउने र यो परिवर्तनको परिणाम सकारात्मकरुपमा जनतालाई दिने काममा लागे पनि केही भने कुनै काम नहोस् भन्ने मानसिकतामा रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेका ऐन, कानुन लागू राम्रोसँग नगरिदिने र यो व्यवस्था नै ठीक छैन भनेर फेरि पुरानै सामन्ती निरंकुशतातिर फर्काउन चाहने कसरत विभिन्न कोणबाट देखापरेको उल्लेख गर्नुभयो । “यस्तो बेलामा स्थानीय सरकारको महत्व के हो ? त्यसको आवश्यकता किन हो ? भन्नेबारे स्थानीय जनप्रतिनिधि जसले आफैँले अनुभव गरे उनीहरुले जनतालाई अझै प्रशिक्षित गर्नुपर्ने आवश्यकता पहिलेभन्दा बढेको छ ।

हाम्रो अवस्था पनि फेरियो र दैनिक जीवनमा सकारात्मक परिवर्तन भएको छ भन्ने अनुभूत नभएसम्म यसलाई सिद्धान्तले मात्र पुष्टि गरेर हुन्न”, प्रधानमन्त्री दाहालले भन्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले स्थानीय सरकारको काम कारबाहीका बारेमा बुझ्न पुस्तक सहयोगी हुने बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले जनताको घर आँगनको सरकारका रुपमा रहेको स्थानीय निकायलाई के कसरी सबल र सक्षब नाउन सकिन्छ भन्नेबारेमा सरोकार भएका सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताउनुभयो । स्थानीय सरकारले के कसरी काम गर्न सक्छ र जनताका लागि त्यो केकति महत्वपूर्ण हुन्छ भन्ने विषयलाई समेटेर, आफ्नो अनुभवसमेत त्यसमा उल्लेख गरिएको ढुङ्गानाको उक्त पुस्तक खोजी प्रकाशनले प्रकाशन गरेको हो ।