`

चीनको सिशापाङ हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तेञ्जेन शेर्पा बेपत्ता

काठमाडौँ, २२ असोज : चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता हुनुभएको छ । विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिशापाङ हिमालमा गत शनिबार गएको हिमपहिरोमा उहाँसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यही असोज २० गते गएको हिमपहिरोमा परी दुवैको अवस्था हालसम्म अज्ञात रहेको जनाएको छ । “उक्त हिमपहिरोमा परी कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामा र कामिरीता शेर्पा गम्भीररुपमा घाइते भएका जानकारी प्राप्त भएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हराइरहेकाको खोज तथा उद्धारका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको र केहीलाई उद्धार गरी उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त एवं विश्व रेकर्ड राख्न सफल आरोही र शेर्पाको मृत्यु भएको तथा अज्ञात अवस्थाको खबरले मन्त्रालय र सिङ्गो पर्वतारोहण क्षेत्र स्तब्ध भएको ज्ञिप्तीमा उल्लेख गरिएको छ ।

नेपाल पर्वतारोहण सङ्घ र नेपाली पर्वतारोहण सञ्चालक कम्पनीका अनुसार असोज २० गते बिहान करिब ११ बजे आरोही गाइड मिमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटुको हिमपहिरोका कारण बेपत्ता भएकामा सोही दिन दुवै जनाको मृत शरीर भेटिएको मन्त्रालयले जनाएको छ ।

आन्तरिक खपतपछि बचत भएको विद्युत्मात्र निर्यात गर्ने: मन्त्री बस्नेत

काठमाडौँ, २२ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपतपछि बचत भएको विद्युत्मात्र निर्यात गर्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले बचत भएको विद्युत्को व्यापार कसरी हुनुपर्छ भनेर मार्गचित्र र कार्ययोजना तयार गरेका अवगत गराउनुभयो । साथै उहाँले कार्ययोजनामा लगानी, उत्पादन, वितरण र व्यवस्थापनका प्रावधान समेटिएको बताउनुभयो ।

उक्त विधेयक ऊर्जाको विकासका साथै मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण हुने बताउँदै ऊर्जामन्त्रीले विधेयकमा ऊर्जा विकासका साथै विद्युत् उत्पादन, पूर्वाधार क्षमतालगायत विषय समेटिएका स्पष्ट गर्नुभयो । उहाँले विद्युत् क्षेत्रमा आवश्यक सुधारका लागि कानुन बनाउनु परेको बताउनुभयो ।

वर्षा र सुक्खा याममा हुने विद्युत् उत्पादन र आपूर्तिको असन्तुलन घटाउन जलाशययुक्त आयोजनालाई प्रोत्साहन र आन्तरिक खपतको रणनीति बनाउन मन्त्रालयले काम गरिरहेको मन्त्री बस्नेतले बताउनुभयो । साथै उहाँले नवीकरणीय ऊर्जाका लागि बेग्लै विधेयक मस्यौदा तयार गरिएको जानकारी दिनुभयो ।

बैठकले ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज २५ गते दिउँसो १ बजे बस्नेछ ।

‘विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च’

काठमाडौँ, २२ असोजः विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो । लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका तीन सय ८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको हो ।

प्रतिवेदनअनुसार विप्रेषणका रुपमा भित्रिएको रकममध्ये दैनिक उपभोगमा मात्र ५८ दशमलव ७८ प्रतिशत खर्च हुने गरेको देखिइएको छ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २२ दशमलव ४८ प्रतिशत, ऋण तिर्न १० दशमलव ७ प्रतिशत र मनोरञ्जन तथा अन्य क्षेत्रमा आठ दशमलव ६७ प्रतिशत खर्च गर्ने गरेको अध्ययनमा उल्लेख छ ।

अध्ययनमा समेटिएका परिवारमध्ये ९६ दशमलव ६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको पाइएको छ । त्यस्तै, ९६ दशमलव ०८ प्रतिशत परिवारको चाडपर्व, मनोरञ्जन, सामाजिक खर्च समेत बढेको पाइएको छ ।

विदेशबाट पठाएको पैसा विभिन्न क्षेत्रमा लगानी भएको स्थिति समीक्षा गर्दा अनुत्पादक क्षेत्रमै बढी लगानी भएको देखिएको छ । व्यापार व्यवसायमा लगानी गर्ने ६८ दलमलव २१ प्रतिशत, घरघडेरीमा लगानी गर्ने ६५ दशमलव ८० प्रतिशत र गरगहना खरिद गर्ने ६३ दशमलव १९ प्रतिशत रहेको राष्ट्र बैङ्कको अध्ययनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएकाहरुको लैङ्गिक हिसाबले विश्लेषण गर्दा पुरुष ९४ प्रतिशत तथा महिला ६ प्रतिशत रहेका छन् । वैवाहिक अवस्थाको आधारमा विवाहित ८५ दशमलव ९० प्रतिशत र अविवाहित १४ दशमलव १० प्रतिशत छन् ।

वैदेशिक रोजगार विभागकाअनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपालबाट श्रम स्वीकृति लिनेको सङ्ख्या सात लाख ७१ हजार तीन सय २७ पुगेको छ । लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३६ हजार नौ सय ८४ रहेको छ । यो सङ्ख्या नेपालबाट श्रम स्वीकृति लिने कूल सङ्ख्याको १७ दशमलव ७६ प्रतिशत बराबर हो ।

अध्ययनअनुसार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरुमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)मा २४ दशमलव २८ प्रतिशत छ भने सबैभन्दा कम ओमन तथा बहराइनमा एक दशमलव ८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन् ।

अध्ययनमा समेटिएका परिवारहरुमध्ये वैदेशिक रोजगारीअन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६ दशमलव ८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३ दशमलव १८ प्रतिशत छन् । आर्थिक अवस्था सुधार्न वैदेशिक रोजगारीमा जानुपर्ने प्रमुख कारण भएको ४१ दशमलव ८० प्रतिशतले बताएका छन् ।

अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्नमध्ये सीपमूलक तालिम नलिई जाने ७६ प्रतिशत छन्भने तालिम लिएर जाने २४ प्रतिशतछ न् । 

वैदेशिक रोजगारीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने ४२ दशमलव ३० प्रतिशत, पाँचदेखि १० लाखसम्म ३९ दशमलव ६९ प्रतिशत र १० लाखभन्दा माथि आयआर्जन गर्ने १८ दशमलव एक प्रतिशत रहेको अध्ययनमा जनाइएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार विगत दश वर्षको विप्रेषण आप्रवाह वार्षिक औसत ११ दशमलव १३ प्रतिशत छ । आर्थिक वर्ष २०७०÷७१ मा रु पाँच खर्ब ४३ अर्ब २९ करोड विप्रेषण रकम नेपाल भित्रिएको थियो । आर्थिक २०७९÷८० सम्म आइपुग्दा रु १२ खर्ब २० अर्ब ५५ करोड पुगेको देखिन्छ ।

इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय

काठमाडौँ, २२ असोज : सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले यही असोज २० गते दक्षिण इजरायलको किबुच अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको अतिवादी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद निधन भएकामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।बैठकले उक्त अकल्पनीय घटनामा दिवङ्गत नेपालीहरुप्रति सम्मान व्यक्त गर्दै यही असोज २३ गते मङ्गलबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री शर्माले बताउनुभयो ।त्यसैगरी, मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयले इजरायलस्थित राजदूतावाससँग समन्वय गरी शव यथाशीघ्र नेपाल ल्याउने निर्णय गरेको छ ।इजरायललस्थित नेपाली राजदूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा बेपत्ता भएकाको खोजी गर्ने तथा घाइतेहरुको उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।मन्त्रिपरिषद् बैठकले इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण ‘अनलाइन’ सङ्कलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न तथा स्वदेश फर्कन चाहनेलाई आफ्नो विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ ।सरकारले इजरायलमा रहेका नेपालीको उद्धार र स्वदेश फिर्तीमा सहयोग गर्न स्थानीय भाषामा पोख्त व्यक्तिबाट बढीमा तीन महिना सेवा लिन स्वीकृति दिने निर्णय गरेको छ ।इजरायललस्थित नेपाली राजदूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार, समन्वय र सहजीकरण गर्ने, नेपाल फर्कन चाहनेलाई अस्थायी ‘ट्रान्जिट होम’ स्थापना गरी व्यवस्थापन गर्न उक्त दूतावासलाई स्वीकृति दिने निर्णयगरिएको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।सरकारले इजरायलमा रहेका नेपालीहरुकाको उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकी र अन्य मित्रराष्ट्रहरुसमेतको सहयोग लिने पनि निर्णय गरेको छ ।उक्त घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात र समाजमा पर्ने असर समेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्री सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न बैठकले अनुरोध गरेको छ ।

चाडवाडमा काठमाडौँमा उपत्यकामा तालिम प्राप्त कुकुर र ड्रोनको माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने

काठमाडौँ २२ असोज : चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

“वडादसैँ, तिहार, नेपाल सम्वत र छठका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा अभियान थाल्दै छन्”, उहाँले भन्नुभयो ।

यस्तै बैंक, वित्तीय संस्था तथा नगद र गरगहनाको कारोबार हुने स्थानमा सादा पोशाकमा सुरक्षाकर्मी खटाइने तथा यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो । उक्त कार्यका लागि पाँच हजार आठ सय ३३ प्रहरी तथा एक हजार आठ सय ट्राफिक प्रहरी परिचालिन गरिने उहाँले बताउनुभयो ।

सभामुखसँग आयोगका पदाधिकारीको भेट

काठमाडौँ, २२ असोज : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितको टोलीले भेट गरेको छ । उक्त भेटका अवसरमा सभामुख घिमिरेले नेपालको मानवअधिकार आयोगको स्तर ‘ए’ श्रेणीमा नै कायम राख्ने सम्बन्धमा संसद्ले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज आयोगका अध्यक्ष मगरसहितको टोलीसँगको भेटमा सभामुख घिमिरेले उक्त विषयमा सरकारसँग समन्वय गर्ने र आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारसँग समन्वय गरी सङ्क्रमणकालीन न्याय एवं आयोगको ऐन सम्बन्धी संशोधन विधेयकमा आयोगका सुझावलाई समावेश गरेर अगाडि बढ्ने बताउनुभयो । आयोगका अध्यक्ष मगरले नेपालको स्तर ‘ए’ श्रेणी कायम गर्ने र मानवअधिकार आयोग ऐन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक हाल संसद्को मानवअधिकार समितिमा विचाराधीन रहेको अवस्थामा आयोगले दिएका सुझावका सम्बन्धमा उहाँले अवगत गराउनुभएको थियो ।

आयोगका सदस्य डा सूर्य ढुङ्गेलले एशिया प्रशान्त मञ्च र राष्ट्रिय मानवअधिकार संंस्थाहरुको विश्वव्यापी सञ्जालसँग आयोगले गरेका छलफल तथा पहलबारे जानकारी गराउनुभयो । भेटमा आयोगका सदस्य मनोज दुवाडी, कामु सचिव मुरारीप्रसाद खरेल र मानव अधिकार अधिकृत खिमानन्द बस्यालसमेत सहभागी हुनुहुन्थ्यो ।

नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड

काठमाडौँ, २२ असोज ः सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

परिवारका चार सदस्यलाई लिएर दार्चुला जान लाग्नुभएका दीपक रावल बिहान ३ बजे ललितपुरबाट टिकट काट्नका लागि नयाँ बसपार्क आइपुग्नुभयो । आगामी कात्तिक २ गते दार्चुला जानका लागि नयाँबसपार्क आइपुग्नुभएका रावलले बिहान ८ः३० बजेसम्म टिकट पाउनुभएको छैन । “दार्चुला जाने बस थोरै भएकाले टिकट पाउन समस्या भएको छ, दसैँको समयमा त बस थप्नुपरो नि”, उहाँ भन्नुहुन्छ । काठमाडौँबाट दार्चुलाको भाडादर रु रु चार हजार छ सय छ ।

यस्तै, काठमाडौँबाट धनगढीका लागि टिकट लिन नयाँबसपार्क आउनुभएका देवराज ओझा पनि टिकट काट्ने पर्खाइमा हुनुहुन्छ । काठमाडौँको नयाँ बानेश्वरस्थित युनिभर्सल कलेजमा सुपरभाइजरका रुपमा कार्यरत ओझालाई काठमाडौँदेखि धनगढीसम्म पाँच जनाको टिकट चाहिएको छ । उहाँ बिहान ५ बजेदेखि नै लाइनमा हुनुहुन्छ ।

सरकारले अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइदिएको भए घरमै बसेर टिकट काट्न पाइन्थ्यो, नयाँबसपार्कमा भीडभाड हुँदैनथ्यो, अनलाइनमार्फत टिकट काट्न सकिन्छ भन्छन् तर सधैँ दसैँ लागेपछि नयाँबसपार्क धाउनुपर्छ”, उहाँ भन्नुहुन्छ ।

धनगढीकै कपिल ओझा काठमाडौँदेखि धनगढीको हवाई भाडा ज्यादै महँगो भएकाले बसको टिकट काट्न आएको बताउनुहुन्छ । “बस व्यवसायी र वायुसेवा कम्पनीले दसैँको समयमा यात्रुलाई अफर दिनुको साटो झन टिकट बढाउने गरेका छन्, यो राम्रो कुरा होइन”, उहाँ भन्नुहुन्छ । काठमाडौँदेखि धनगढीको बस भाडा रु दुई हजार सात सय रहेको छ ।

यस्तै, काठमाडौँदेखि अर्घाखाँचीको सन्धीखर्क जानका लागि कक्षा १२ मा अध्ययनरत छात्र विवेक श्रेष्ठ पनि बिहानै नयाँ बसपार्क आउनुभएको छ । १ गतेदेखि ४ गतेसम्मको जुन दिनको टिकट पाए पनि काट्ने मनस्थितिका साथ बसपार्क आउनुभएका श्रेष्ठ लिभरपुल कलेजमा अध्ययरत गर्नुहुन्छ ।

यस्तै, पूर्वको ताप्लेजुङ जानका लागि दीपकुमार लिम्बू बिहानै टिकट काट्न नयाँ बसपार्क आउनुभएको छ । उहाँले एक घण्टा लाइन बसेर सहजै टिकट लिनुभयो । काठमाडौँदेखि देशको पश्चिम क्षेत्रभन्दा पूर्व क्षेत्रमा जाने यात्रुले तुलनात्मक रुपमा सहजरुपमा टिकट पाएका छन् । पूर्व क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनलाई पूर्व यातायात व्यवस्थापन प्रालिमार्फत टिकट लिने व्यवस्था मिलाइएको छ । पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक सुनिल कुँवर पूर्व जाने यात्रुको सहायताका लागि एउटै व्यवस्थापन निर्माण गरी यात्रुलाई सेवा प्रदान गरिएको बताउनुहुन्छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुहुन्छ । “राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजान सार्वजनिक सवारी साधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उहाँ भन्नुहुन्छ । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ । हरेक वर्ष दसैँ मनाउनका लागि सङ्घीय राजधानी काठमाडौँबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्नेगरी तयारी भइरहेको बताउनुहुन्छ । “अहिलेको अवस्थामा सात स्थानमा राखिसकेका छौँ, १३ स्थानमा राख्छौँ, आवश्यक परे अन्य स्थानमा समेत थप गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ । उहाँ यात्रु सहायता कक्षमार्फत यात्रुको समस्या सम्बोधन गरिने बताउनुहुन्छ ।

यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ । जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्ल दसैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको बताउनुहुन्छ । “अहिले २४ टिकट बुकिङ काउण्टर थप गरेका छौँ, आवश्यक परेको खण्डमा काउण्टर बढाउन सकिन्छ”, उहाँ भन्नुहुन्छ ।

सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ । काठमाडौँ महानगरपालिका–२६ गोँगबु विष्णुमती खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६८ भन्दा बढी जिल्लामा दैनिक एक हजार हाराहारीमा सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दैैै आएका छन् ।

पाल्पामा पहिरोमा जेसिबी पुरिँदा चालकको मृत्यु

लुम्बिनी, २२ असोज ः पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्थमन्त्री डा महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

काठमाडौँ, २२ असोज ः अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गर्नुभएको छ ।

बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ । यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ ।

सोही अवसरमा अर्थमन्त्री डा महतले अन्तर्राष्ट्रिय वित्त निगम ९आइएफसी० का एसिया प्यासिफिक हेर्नुहुने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्नुहुने जनाइएको छ ।

त्यसैगरी सोही अवसरमा युएस एडसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँचसम्बन्धी जोखिम तत्वको विषयमा छलफल, विल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवं चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल हुने छ । अर्थमन्त्री डा महतले दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्नुहुने छ ।

त्यसैगरी अर्थमन्त्री डा महतले स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्नुहुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० का प्रतिनिधिसँग संयुक्तरूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवं प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री डा महतले वार्ता गर्नेुहुनेछ ।

त्यसैगरी विश्व बैंकको कोष समूहसँग भावी वित्तीय द्वारका विषयमा वार्ता हुने, अन्तर्राष्ट्रिय विकास सङ्घ ९आइडिए० का उपाध्यक्षसँग द्विपक्षीय वार्ता हुने र बहुपक्षीय लगानी सुरक्षण एजेन्सी ९एमआइजिए०का उपाध्यक्षसँग द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको जनाइएको छ ।

अर्थमन्त्री डा महतका साथमा अर्थसचिव डा कृष्णहरि पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी हुनुहुन्छ । बैठकमा विश्वभरका एक सय ८९ देशका अर्थ तथा विकास मन्त्री, केन्द्रीय बैंकर, निजी क्षेत्रका अधिकारी, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकको सहभागिता रहनेछ ।

घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

गोरखा, २२ असोज ः दसैँको मुखमा घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि बारपाक सुलिकोट गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् । गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राही खुसी भएका हुन् । “पहिले त वृद्धा भत्ता लिनका लागि बैंकसम्म धाएर पुग्नुपथ्र्यो”, ज्येष्ठ नागरिक राममाया गुरुङले भन्नुभयो, “अहिले घरै नजिकको टोलटोलमा आएर बाँड्न थालेपछि सजिलो भएको छ ।”

उहाँले भत्ता बुझ्नका लागि बैंकसम्म जान र आउन आफूहरुले धेरै हैरानी खेपेको बताउनुभयो । “बैंकमा गएर लाइन बस्नुपर्दा पनि साह्रै नै गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “गाडी भाडा खर्च उस्तै हुने, झण्झट पनि त्यस्तै हुन्थ्यो, आजभोलि त बैंकका मान्छे नै टोलटोलमा आएर बाँड्छ कति सजिलो भएको छ कति ।”गाउँपालिकाले चाडबाड मनाउनका लागि सजिलो होस् भन्ने उद्देश्यसहित चालु आवको पहिलो चौमासिकअन्तर्गतका सामजिका सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति, एक महिलालगायतका लाभग्राहीलाई वडावडामा पुगेर भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।बैंक तथा गाउँपालिकाका कर्मचारीसहितको टोलीले आइतबार गाउँपालिकाको वडा नम्बर ४ स्थित रन्चोक, सिम्बु र बर्दी डाँडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको उहाँले बताउनुभयो । आइतबारदेखि सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरणको काम यहीँ असोज २६ गतेसम्म चल्ने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले वडाभित्र पाएक पर्ने स्थानमा केन्द्र बनाएर सामाजिक सुरक्षा भत्ता वितरणको गर्न सुरु गरेको अध्यक्ष भट्टले बताउनुभयो । सामाजिक सुरक्षा भत्ताका लागि असाहय तथा ज्येष्ठ नागरिक बैंकसम्म पुग्न हैरानी खेप्नु परेको भन्दै गाउँपालिकाले बैंकसंग समन्वय गरी वडा र टोलटोलमा पुगेर सामजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । 

कानुन निर्माणमै पनि सदनमा तेरो र मेरो जस्तो देखिन्छ– सांसद श्रेष्ठ

काठमाडौँ, २२ असोज :“पछिल्लो समय मुलुकलाई अहिलेको अवस्थाबाट होइन, भ्रष्टाचारलाई न्यून गर्दै सुशासनलाई बलियो तुल्याउने पाटोबाट सशक्तरुपमा अघि बढ्नुपर्छ भन्ने दृष्टिकोणबाट ऐन÷कानुन निर्माणकै समयमा विशेष ख्याल पु¥याउन जोड दिइरहेका छौँ ।”

सांसदसँग ः रासस संवादमा नेपाली कांग्रेसकी नेत्री एवं सांसद अन्जनी श्रेष्ठले सदनमा नयाँपुस्ताका सांसदको सङ्ख्या निकै ठूलो रहेकाले कानुन निर्माणमै पक्कै पनि सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणका पक्षमा खरो बहस र पैरबी हुने प्रतिक्रिया दिनुभयो ।उहाँले भन्नुभयो, “विद्यार्थी र युवा पुस्ताको ठूलो सङ्ख्या विदेश पलायन, भ्रष्टाचार, कालोबजारी, विचौलिया र महँगीजस्ता मुद्दा प्रखररुपमा छन् । कानुन निर्माण गरी यसलाई रोक्न संसद्, सांसद, राजनीतिक नेतृत्व र सरकारी संयन्त्र देशप्रति जिम्मेवार र प्रभावकारी हुनुपर्छ ।”सांसद श्रेष्ठ भन्नुहुन्छ, “संसद्मा रहेका र आएका विधेयकलाई टुङ्गोमा पु¥याउन र जनताले सोचेअनुरुप संसद् अघि बढाउन सकिएको छैन, जनहितमा आएका विधेयक हुन वा अरु कुनै विषयमा राजनीतिक दल मिलेर जानुपर्नेमा अझै तेरो र मेरोजस्तो देखिएको छ ।”जनतासँग प्रत्यक्ष जोडिएकाभन्दा राजनीतिक स्वार्थका विषयले सदनमा प्राथमिकता पाउने गरेको उल्लेख गर्दै उहाँले संसद्मा प्रवेश पाएका जनसरोकारका विषयलाई एउटा विधि र प्रणाली स्थापित गरी अघि बढाइनुपर्नेमा जोड दिनुभयो । नेपाल विद्यार्थी सङ्घबाट विसं २०३६ मा राजनीतिमा प्रवेश गर्नुभएकी नेत्री श्रेष्ठ स्वतन्त्र विद्यार्थी युनियन पद्म कन्या कलेजको सहसचिव, सभापति, तरुण दल चितवनको जिल्ला सदस्य, नेपाल महिला सङ्घको एकाइ सभापति हँुदै पार्टी राजनीति सक्रिय हुनु पुग्नुभयो । उहाँ यसअघि विसं २०७० मा पनि संविधानसभा एवं प्रतिनिधिसभा सदस्य हुनुुहुन्थ्यो ।निर्वाचनका बेला मतदातासँग भोट माग्ने सन्दर्भमा उठाइएका विकास निर्माणका विषयमा जनाइएको प्रतिबद्धता र भोलि त्यही ठाउँमा चुवाव लड्नुपर्ने अवस्थाले सांसदले त्यो प्रतिबद्धता पूरा गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।नेत्रीृ श्रेष्ठले भन्नुभयो, “एउटा विधायक हुनुको नाताले मूल दायित्व ऐन÷कानुन निर्माणमै हाम्रो ध्यान फोकस गर्दै विकास निर्माणलगायत जनताका दैनिक समस्यालाई पनि क्रमशः सम्बोधन गर्दै लैजानुपर्छ, जनता र नेताबीचको सेवा, सुविधा र बुझाइको खाडलाई साँघुरो तुल्याउनुपर्छ ।”मुलुकमा भर्खर लोकतन्त्रको अभ्यास भएकाले सदनमा जानेर वा नजाने आवेगमा बोल्ने, बोलेका विषय फिर्ता लिने तथा दिइएका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पर्ने अवस्था आएको हुनसक्ने बताउँदै उहाँले कुनै दल वा नेताप्रति लक्षित गरी बोल्नासाथ अर्काे पक्षले आपत्ति जनाइहाल्ने प्रवृत्ति ठीक नभएको प्रतिक्रिया दिनुभयो ।कतिपय नेता र सांसदका अभिव्यक्ति र प्रस्तुति शैली हेर्दा आमसभा हो कि सदन भनी अलमलमा पर्ने गरेको बताउँदै गर्दै सांसद श्रेष्ठले पछिल्ला बैठकमा भने त्यो शुद्धीकरण हुँदै गएको उल्लेख गर्नुभयो । पछिल्लो समय सुशासन कमजोर भएको तथा भ्रष्टाचार बढेको विषय नै अहिले समाजमा छलफलको मुख्य एजेण्डा हुने गरेको बताउँदै नेत्री श्रेष्ठले छिमेकी देश विकास र समृद्धिका हिसाब निकै अघिकाले यहाँ पनि अब सबै नेता र कर्मचारीले मनोवृत्ति बदल्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।मेरो देश हो, समस्या हाम्रो हो भन्ने भावना नभएसम्म परिवर्तनको गुञ्जायस नभएको बताउँदै उहाँले विद्यार्थी र युवालाई अवसर दिन नसकेका कारण होनहार जनशक्ति विदेश पलायन हुन बाध्य भएको प्रतिक्रिया दिनुभयो । सांसद श्रेष्ठले भन्नुभयो, “स्वदेशमा ठूलो लगानी गरेर बालबालिकालाई पढाए पनि त्यसअनुरुपको रोजगारी दिन नसकेका कारण विदेश पलायनको सङ्ख्या निकै बढ्न पुग्यो । अब कानुन निर्माणकै समयमा रोजगारी र युवालाई स्वदेशमै रोक्ने पाटोमा गहन चिन्तन मनन गर्न आवश्यक छ ।”पार्टी नेता होस् वा कार्यकर्ता तथा अरु पहुँचवाला व्यक्तिले कानुनको बर्खिलाव गर्दा सजय भोग्न नपर्ने घटनाले कानुन सर्वसाधारणका लागि मात्रै हो त भन्ने प्रश्नको जिज्ञासामा उहाँले भन्नुभयो, “जसले यो प्रवृत्ति बदल्नुपर्छ भन्छ त्यो त्यहाँ पुगेको छैन, जो गर्न र देख्न पर्ने पक्ष हो, उसले देख्दै–देख्दैन ।”विगतमा समाज यति खुला नभएका कारण धेरै विषय बाहिर नआएका घटना स्मरण गराउँदै उहाँले अहिले खुला समाज र ठूलो सङ्ख्यामा मिडिया भएकाले घटना हुँदासाथ क्षणभरमै सार्वजनिक भई गलत विषयविरुद्ध दबाब सिर्जना गर्न सहज भएको टिप्पणी गर्नुभयो ।नेत्री श्रेष्ठले मुलुकभित्रै उद्योग कारखाना खोल्ने, युवालाई रोजगारी दिलाउने, शिक्षामा राष्ट्र प्रेम र देशभक्तिको भावना स्थापित गराउने तथा देशभित्र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्ने कानुन निर्माणमा आफूहरु केन्द्रित रहेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत र सम्पदाका हिसाबले हामीलाई विश्वमै सुन्दर देशमा जन्म लिने शौभाग्य मिलेको छ, मुलुकको विकासका लागि यहाँ भएको साधनस्रोत, सम्पत्ति र अवसरलाई अधिकतम सदुपयोग गर्न सबै विद्यार्थी र युवापुस्तालाई आग्रह गर्न चाहन्छु ।”

इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त

काठमाडौँ, २२ असोज : पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषय अध्ययन गर्न गएका विद्यार्थी आतङ्ककारीको हिंसात्मक आक्रमणमा परी दुःखद् मृत्यु भएको समाचारले आफू स्तब्ध भएको भन्दै निधन भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

सो घटनामा डोटीका राजन फुलारा र पदम थापासहित अधिकांश सुदूरपश्चिमका गरी १० जनाको निधन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । साथै एकजना सम्पर्कविहीन हुनुका साथै अरु चार जना घाइते भई उपचाररात रहेका छन् ।

सांसद आलेले मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिका साथै इजरायलमा सम्पर्कविहीन रहेकाको खोजी गर्न, त्यहाँ रहेका थप विद्यार्थी एवं सबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गर्न र नेपाल फर्किन चाहनेलाई सुरक्षितरुपमा स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकारसमक्ष आग्रह गर्नुभएको छ । दक्षिणी इजरायलको किबुज भन्ने स्थानमा गत शनिबार त्यहाँको आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी नेपाली विद्यार्थीसहित सयौँ इजरायलीको ज्यान गएको छ ।

लहान बजारको अतिक्रमित सडक पेटी खाली गराइँदै

सिरहा, २२ असोज- सिरहाको लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन सुरु गरेको छ । यसअघि नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो ।

पैदलयात्रुको आवागमनमा अवरोध हुने गरी व्यापारीले सडक पेटी तथा फुटपाथ प्रयोग गरिएपछि नगरपालिकाले ट्राफिक प्रहरीको समेत समन्वयमा फुटपाथ ‘क्लियर’ बनाउने अभियान थालनी गरेको हो । ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान÷बोर्ड÷मोटरसाइकल राख्ने गर्नाले सवारी तथा सर्वसाधारणको आवागमनमा कठिनाइ हुने गरेको थियो ।नगरपालिकाका उपप्रमुख रामचलितर महतोले बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउनको लागि सडक पेटीको अतिक्रमण हटाउन सुरु गरेको जानकारी दिनुभयो । “सडक पेटीलाई अतिक्रमण गरी व्यापारीले पसल सञ्चालन गर्नुका साथै भौतिक संरचनासमेत निर्माण गर्दा बजार क्षेत्रको सुन्दरतामा ह्रास आयो”, उहाँले भन्नुभयो, “बजार क्षेत्रको सडकमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठेरो हुने गरेको गुनासो आएपछि अतिक्रमण गरिएको सडक पेटीलाई खाली गराउन सुरु गरिएको हो ।”जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख डम्बरबहादुर पुरीले सडक तथा सडक पेटीमा व्यापारीको अनाधिकृत संरचना हटाएपछि सवारी आवतजावतमा थप सहजता र सुरक्षित हुने जानकारी दिनुभयो ।

बाख्राको दूधबाट उत्पादित चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै

तनहुँ, २२ असोज-राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ ।

पाँच वर्ष पहिले अमेरिकाबाट आउनुभएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनिले बाख्रा फार्ममै तीन महिना बसेर दूधबाट चिज बनाउने प्रविधि हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत वुद्धिराम आचार्यले सोही प्रविधि सिकेर आफूहरुले दूधबाट चिज बनाउन सुरुआत गरेको जानकारी दिनुभयो । चिज बनाउने तालिममा कार्यक्रमका कर्मचारी निरबहादुर राना र स्याङ्जाका बाख्रा पालक कृषक दिलबहादुर गुरुङ समेत सहभागी हुनुभएको कार्यक्रमले जनाएको छ ।“तत्कालीन समयमा बाख्राको दूधबाट चिज बनाउने बारेमा हामीलाई कुनै पनि जानकारी थिएन”, कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत आचार्यले भन्नुभयो, “चिज बनाउने तालिम पाएपछि अहिले यहाँ उत्पादित बाख्राको चिज पोखरा र केही मात्रामा बन्दीपुरमा समेत खपत हुने गरेको छ ।”कार्यक्रमको फार्ममा हाल सानेन जातका ५५ बाख्रा छन् । सानेन दूध दिने प्रजातिको बाख्रा हो । फार्ममा एउटा बाख्राले लैनो अवस्थामा करिब चार लिटरसम्म दूध दिने र हाल दैनिक करिब ४२ लिटर बाख्राको दूध सङ्कलन हुने गरेको उहाँले बताउनुभयो । एक किलोग्राम चिज उत्पादन गर्न करिब आठ लिटर दूध आवश्यक पर्ने र आफूहरुले मासिक करिब एक सय ५० किलोग्राम चिज उत्पादन गरी बिक्री गर्दै आएको अधिकृत आचार्यले जानकारी दिनुभयो । बाख्राको चिजको मूल्य बजारमा करिब तीन हजार किलोग्राम भए पनि यहाँ भने प्रतिकिलोग्रामको रु एक हजारमात्र लिने गरिएको छ ।पोखरामा आउने विदेशी पर्यटकले बाख्राको चिजको माग गरेपछि आफूले बाख्राको चिज किन्ने गरेको पोखराका व्यवसायी रवि दुवाले बताउनुभयो । आफूले मोबाइलबाट चिज अर्डर गर्ने र खरिद रकम भने अनलाईन बैंकिङमार्फत कार्यक्रमको खातामा जम्मा गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।“अहिले पोखरामा आउने अधिकांश विदेशी पर्यटकको रोजाइमा बाख्राकै चिज पर्ने गरेको छ”, व्यवसायी दुवाले बताउनुभयो, “बन्दीपुरको चिजलाई पर्यटकले समेत निकै मन पराएका छन् ।” राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटारबाट दुई वर्ष पहिले उत्पादित बाख्राको चिजको परीक्षण गर्दा गुणस्तरीय देखिएपछि आफूहरुले पनि सबैको पहुँचमा पुगोस् भनेर बाख्राको चिज बिक्री खुला गरेको कार्यक्रमका संयोजक राजु कँडेलले बताउनुभयो ।“बाख्राको चिजको माग अहिले काठमाडौँबाट समेत हुने गरेको छ तर पु¥याउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “हामीले चिज उत्पादनसँगै विभिन्न प्रजातिका बाख्राको नश्ल सुधारमा अनुसन्धान गर्दै आइरहेका छौँ ।” बाख्राको दूध र चिज क्यान्सर प्रतिरोधात्मक भएको भन्दै अधिकांशले चिजको बारेमा चासो राख्ने गरेकोसमेत संयोजक कंडेलले बताउनुभयो ।कार्यक्रममा हाल बोर र सानेनलगायतका बाख्राको बारेमा अनुसन्धान भइरहेको छ । विसं २०७१ मा कृषि खाद्य सुरक्षा आयोजनामार्फत अष्ट्रेलियाबाट ५० वोर बाख्राको माउ र सात वटा बोका ल्याएपछि बाख्राको नश्ल सुधारमा अनुसन्धान सुरु गरिएको कार्यक्रमले जनाएको छ । कार्यक्रमले अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको बाठोसमेत उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा हाल अनुसन्धानको लागि बोर, सानेन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब पाँच सय बाख्रा छन् । 

दशैँका लागि टिकटको अग्रिम बुकिङ आजदेखि खुल्ला

काठमाडौँ – दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको थियो ।

व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेपछि व्यवसायी खुसी

काठमाडौँ, २२ असोज- शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ ।विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली खाना र ढिँडोको परिकार पस्कँदै आएको ठमेलस्थित रेष्टुरेन्ट सञ्चालक भगवान थापा पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको आवागमन बढ्न थालेको बताउनुहुन्छ ।“अघिल्ला महिनाहरुमा रेष्टुरेन्टमा दैनिक मुस्किलले १० देखि १५ जना स्वदेशी तथा विदेशी पाहुना खाना खान आउनुहुन्थ्यो, यो महिना दैनिक ४५ देखि ५० जनासम्म आउने गर्नुभएको छ, रेष्टुराँमा आएकामध्ये अधिकांश विदेशी पाहुना हुनुहुन्छ”, थापा भन्नुहुन्छ ।ठमेलमा डेढ दशकदेखि पुस्तक पसल सञ्चालन गर्दै आउनुभएका किरणदेव घिमिरे पनि पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ । “पछिल्लो समय ठमेलका पसलमा विदेशी पर्यटकहरु देखिन थालेका छन्”, उहाँ भन्नुहुन्छ । अन्तर्राष्ट्रियस्तरमै पहिचान बनाएको ठमेलका विग्रेका सडक मर्मत नहुँदा भने पर्यटकले सास्ती खेप्नुपरेको उहाँ बताउनुहुन्छ ।लामो समयदेखि ठमेलमा कपडा व्यापार गर्दै आउनुभएका सीताराम रेग्मी ठमेलमा पर्यटकीय चहलपहल बढे पनि व्यापार भने नबढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “गत वर्षका तुलनामा यस वर्ष ठमेलमा कपडा व्यापार घटेको छ ।” पर्यटकको गतिविधि बढेसँगै ठमेलका होटलमा समेत विदेशी पाहुना भरिन थालेका छन् । ठमेलस्थित चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुँयाल शरद ऋतुका लागि एक महिना अगाडिदेखि नै होटेलका कोठा बुकिङ हुन थालेको बताउनुहुन्छ । विसं २०७६ सालबाट सञ्चालित उक्त होटलमा ९२ कोठा रहेका छन् ।ठमेलस्थित काठमाडौँ एक होटलका सञ्चालक सहदेव धमला पछिल्लो समय छोटो समयका लागि पर्यटक ठमेल घुम्न आउँदा ठमेलभित्रका व्यवसायीको सोचेजस्तो व्यापार हुन नसकेको बताउनुहुन्छ । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहनुभएका धमला विदेशी पर्यटकलाई ठमेलमा कसरी लामो समय राख्न सकिन्छ भन्नेबारे परिषद्ले विभिन्न निकायसँग छलफल चलाइरहेको बताउनुहुन्छ ।ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा भने ठमेलका गल्लीमा विदेशी पर्यटक बढ्न थालेकोे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सहजता र सुरक्षाका लागि परिषद् लागेको छ ।”रातको समयमा ठमेलभित्र हुने भीडभाड र शान्ति सुरक्षालाई मध्यनजर गरि परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी, महानगर प्रहरीसँग सहकार्य गरेर सुरक्षा योजनासमेत बनाइरहेको उहाँको भनाइ छ । परिषद्ले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारलाई व्यवस्थापन गर्नेदेखि सिसि क्यामरा जडान र खाल्डो परेका सडक पुर्नका लागि सरोकारवाला निकायसँग सहकार्य समेत गरिरहेको छ ।नेपाल पर्यटन बोर्डका अनुसार हवाई मार्ग हुँदै सन् २०२३ को नौ महिनामा छ लाख ९२ हजार तीन सय ७२ विदेशी पर्यटक नेपाल आएका छन् । जसमध्ये सेप्टेम्बर महिनामा मात्र ९१ हजार १२ पर्यटक नेपाल आएका छन् । सेप्टेम्बर महिनामा नेपालमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार छ सय ९४ जना भारतीय पर्यटक नेपाल आएका छन् । यस्तै, चिनियाँ पर्यटक आठ हजार एक सय ७४, अमेरिकी पर्यटक सात हजार तीन सय ६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।यसैगरी, बङ्गलादेशबाट तीन हजार सात सय १६, बेलायतबाट तीन हजार छ सय ४०, श्रीलङ्काबाट तीन हजार ११ जना, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ जना पर्यटक नेपाल आएका छन् ।नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० डा धनञ्जय रेग्मी नेपालको पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकको ठूलो भूमिका रहेको बताउनुहुन्छ । “नेपाल पर्यटन बोर्डले पछिल्लो समय भारत र चीनका पर्यटकलाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको छ”, उहाँ भन्नुहुन्छ ।विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई गृह मन्त्रालयले सहजरुपमा भित्रिने वातावरण निर्माण गरे नेपालमा भारतीय पर्यटकको सङ्ख्या अझै बढ्ने उहाँको भनाइ छ । नेपाल भित्रिने भारतीयलाई नाकामा गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने डा रेग्मी बताउनुहुन्छ ।नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१, सन् २०२० मा दुई लाख ३० हजार, सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ र सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल भित्रिएका थिए।

भरतपुर महानगरपालिकाले कवाडी सामान निकासीमा कर लगाएपछि विरोधमा व्यवसायी

भरतपुर, २२ असोज-भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन् ।देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो उनीहरूको छ । व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए ।

सङ्घका अध्यक्ष शङ्करबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधानविपरीत कर उठाउन लागेको जनाउँदै त्यसले व्यवसाय पलायन हुने अवस्था आउने बताउनुभयो । उहाँले भन्नुभयो, “कर उठानका लागि महानगरपालिकाले बोलपत्र आह्वानको सूचना निकालेको छ, त्यस प्रक्रियामा हाम्रो असहमति रहेको छ ।” उहाँले महानगरपालिको बोलपत्रको प्रक्रिया रोकेर स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न अनुरोध गर्नुभयो । उहाँले आफूहरु सिधै महानगरपालिकालाई कर तिर्न तयार रहेको जानकारी दिनुभयो ।

अध्यक्ष खत्रीले व्यवसायीसँग महानगरपालिकाले समन्वय नगरेको र छलफलसमेत गर्न नमानेको गुनासो गर्नुभयो । व्यवसायीले गत बिहीबार उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए । तर उपप्रमुख अधिकारीले व्यवसायीका कुरा नसुनेको सचिव पुरन मल्ल ठकुरीले बताउनुभयो । उहाँले यही अवस्थामा व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको बताउनुभयो । उहाँले कवाडीजन्य वस्तु निकासी गर्दा ठाउँठाउँमा कर लिने गरिएका कारण हैरानी व्यहोर्नुपरेको गुनासो गर्नुभयो ।
संविधानले कुनै पनि वस्तुको स्वरुप परिवर्तन नभएसम्म एउटै खालको कर दोहोराएर लिन नपाइने व्यवस्था रहेको सङ्घले जनाएको छ । भरतपुर महानगरपालिकामा करिब ७५ व्यवसायीले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुको व्यवसाय गर्दै आएका छन् । महानगरभित्र करिब एक हजार पाँच सय जना यो व्यवसायमा प्रत्यक्ष जोडिएका छन् । घर–घर पुगेर साइकलमा कवाडी सामान सङ्कलन गर्नेको सङ्ख्या चितवन जिल्लाभरमा करिब चार हजार पाँच सय छ । उनीहरूले सङ्कलन गरेका फलाम, तामा, पित्तल, बोतल, सिसा, प्लास्टिक, कागज, पुराना जुत्ता, चप्पललगायतका सामान पुनःउपयोगका लागि उद्योगमा पठाइन्छ । धेरैजसो समान भारत पठाइने गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा भरतपुर महानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार महानगरपालिकाको क्षेत्राधिकारभित्र उत्पादन हुने कवाडीजन्य वस्तुमा कर लगाउन खोजिएको हो ।

कवाडी सामानमा प्रतिगोटा तथा प्रतिकेजी निश्चित कर लगाउने गरी ठेक्का आह्वान गरिएपछि व्यवसायीले विरोध गरेका हुन् । भरतपुर महानगरपालिका गत भदौ २४ गते कर सङ्कलनका लागि दुई वर्षको ठेक्का आह्वान गरेको छ ।
 

सुन तस्करी प्रकरणमा महरालाई उन्मुक्ति

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरालाई उन्मुक्ति दिएको छ ।सरकारी वकिल कार्यालयमा आइतबार सो घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले पूर्व सभामुख महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी किरण बज्राचार्यका अनुसार सीआईबीले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकाल्दै महराका छोरा राहुल महरा, लोकेन्द्रकुमार पौडेल र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित ४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको छ ।भेप प्रकरणमा प्रतिवादी कायम गर्न सिफारिस गरिएका एक जना फरार छन् । चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ ।प्रतिवेदनमा ८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय दिइएको छ । सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

दसैं-तिहारमा ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने

काठमाडौं । दसैं र तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले चाडवाड लक्षित सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा व्यवस्था गरेको जानकारी दिए । उनका अनुसार उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, वागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालन हुनेछन् ।प्रहरीले ३ सय ५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा सीमा सुरक्षा चेकपोस्ट, ग्रामीण क्षेत्रमा १५ सुरक्षा चेकपोस्ट खडा गर्ने भएको छ । प्रहरी प्रवक्ता कडायतले अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्र वर्गीकरण गरी प्रहरी परिचालन गरिने जानकारी दिए । उनले भने, ‘उपत्यकाको सुरक्षाको लागि आवश्यकताका आधारमा सुरक्षा अवस्था निगरानी गर्न ड्रोन प्रयोग गर्नेछौं ।’विशेषगरी सुख्खा पहिरो खस्ने पृथ्वी राजमार्ग खण्डको मुग्लिङ–नारायणगढ खण्डमा २४ सै घण्टा सुरक्षाकर्मीसहित सडक विभागसँग समन्वय गरी आवश्यकताअनुसार स्काभेटर, डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको प्रहरीको भनाइ छ ।चाडवाडमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताका आधारमा प्रहरी परिचालन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ भने राजधानीबाट टिकट लिने यात्रुका लागि प्रहरीले विभिन्न स्थानमा करिब दुई दर्जन प्रहरी सहायता कक्ष स्थापना गरी त्यहाँबाट सेवा दिन शुरू गरेको छ ।प्रहरीले टिकटमा कालो बजारी गर्ने, दोस्रो व्यक्तिले टिकट बिक्री गरेर यात्रु ठग्नेलगायतका कामलाई निरुत्साहित गर्न बसपार्क र अन्य स्थानमा विशेष गस्ती शुरू गरेको जनाएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

हुलाक टिकट अब नेपालमै छापिने,हुलाक सेवा विभाग र जनक शिक्षा सामग्री केन्द्रबिच सहमति

काठमाडौँ । हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ ।

विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको बताउँदै भने “सुरक्षासाथ नेपालमै छाप्न सक्ने प्रकाशनगृहको खोजी हुँदा जनक शिक्षा उपयुक्त देखियो । मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन् । निजी छापाखानाले सुरक्षाका साथ छाप्न सक्ने देखिएन । सरकारी निकाय पनि भएकाले जनक शिक्षालाई यसको जिम्मेवारी दिने सहमति गर्‍यौँ । स्वदेशी संस्थालाई प्रवर्धन गर्नु पर्छ । यतिका लागि विदेश जानुपर्ने आवश्यकता छैन ।”टिकटको प्रचलन थाल्दा नेपालमै टिकट छापिने गरेको विभागका पदाधिकारीहरू बताउँछन् । प्रविधि परिवर्तन हुँदै गएपछि छपाइका लागि विदेश पठाउन थालियो । टेन्डर प्रक्रिया अनुसार छाप्दा भारत, इन्डोनेसिया, बेलायतलगायतका मुलुकमा छपाइ हुन्थ्यो । यसरी छाप्दा विभागका पदाधिकारी हरेक वर्ष दुई तीन पटक ती मुलुकमा निरीक्षणमा जाने गरेका थिए । उनले भने, “स्वदेशमै हुलाक टिकट छाप्न थालियो भने निरीक्षणका लागि विदेश जानु पनि परेन । त्यसो हुँदा राज्यको रकम बचत पनि हुने छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

२७६ जना स्वास्थ्यकर्मी हटाइएपछि वीर अस्पतालको सेवा प्रभावित

काठमाडौँ । वीर अस्पताल प्रशासनले आइतबारदेखि कोभिड–१९ महामारीका समयमा करार सेवामा राखिएका नर्सलगायत २७६ जना स्वास्थ्यकर्मी हटाएपछि अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा प्र्रभावित भएको छ ।

आइतबार तय गरिएका शल्यक्रिया भएनन्। वीर अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड महामारीका बेला राखिएका कर्मचारीलाई तलब भत्ताका लागि बजेट अभाव रहेकाले करार अवधि नथप्न निर्देशन दिएपछि बाध्य भएर हटाएको जानकारी दिएको छ ।वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निष्कासन गरेसँगै सम्पूर्ण सेवा प्रभावित बन्न पुगेको जानकारी दिए  । “उनीहरूलाई हटाउने चाहना होइन तर मन्त्रालयले तलब खुवाउने रकम नभएको र देश आर्थिक मन्दीमा भएकाले हटाउनु परेको हो,” उनले भने ।उनले अर्थ र स्वास्थ्य मन्त्रालयले चाहेमा उनीहरूको पदावधि थप्न सकिने बताउनुभयो । ३९६ शय्या सञ्चालन हुँदै आएको वीरमा हाल नौ सय शय्या सञ्चालन भइरहेको छ । वीरमा अझै पनि जनशक्ति अभाव छ ।डा। पौडेलका अनुसार वीर अस्पतालमा स्वास्थ्यकर्मी हटाइँदा न्युरोलोजी, युरोलोजी, ग्यास्ट्रो सर्जरी, डाइलासिस र प्रत्यारोपण सेवा पूर्ण रूपमा बन्द भएका छन्। न्युरो विभागमा कार्यरत १२ जना नर्समध्ये छ जना आइतबारबाट हट्दा न्युरो सेवा पूर्णतया बन्द हुन पुगेको छ । आइसियूका २३ शय्यामा बिरामी राख्न नसकिने भएको छ । नर्सिङ जनशक्ति हटेसँगै युरोलोजी शल्यक्रिया पूर्णतः बन्द हुन पुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

चितवनबाट इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह

चितवन- चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । आफ्नो विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको जानकारी दिँदै विश्वविद्यालयले उनीहरुलाई स्थानान्तरण गर्न अनुरोध गरेको छ ।

विश्वविद्यालयले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित इजरायली राजदूतावास एवं इजरायलस्थित नेपाली राजदूतावासँग विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । कृषि विश्वविद्यालय रजिष्टारको कार्यालय, रामपुरले आज विज्ञप्ति जारी गर्दै यहाँबाट सन् २०२२ र सन् २०२३ मा गएका सम्पूर्ण विद्यार्थीलाई हाललाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक सहयोगका सम्बन्धमा पहल भइरहेको जनाएको छ । विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै विश्वविद्यालयले सुरक्षाका उपाय अपनाउन र सजक रहन उनीहरुलाई अनुरोध गरेको छ ।

कृषि कार्य अध्ययन कार्यक्रममार्फत यहाँबाट सन् २०२३ मा एक सय १३ र सन् २०२२ मा ६ विद्यार्थी भएका विश्वविद्यालयले जनाएको छ । “हालसम्म हामीलाई प्राप्त सूचनाअनुसार विश्वविद्यालयका सबै विद्यार्थी इजरायलमा सकुसल छन्”, विज्ञप्तिमा उल्लेख छ । इजरायलमा भएको आतङ्ककारी हमलाप्रति विश्वविद्यालयले खेद प्रकट गरेको छ ।

विश्वकप क्रिकेट : भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

काठमाडौँ-आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो ।

भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनायो । भारतले दुई सय रनको विजय लक्ष्य ४१ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । भारतका लागि केएल राहुलले अविजित ९७ रन बनाए । उनले ११५ बल खेल्ने क्रममा दुई छक्का र आठ चौका हाने । यस्तै विराट कोहलीले ११६ बलमा ६ चौकाको मद्दतमा ८५ रन बनाए । हार्दिक पण्ड्याले अविजित ११ रन बनाए । भारतले सुरुआतमै तीन विकेट गुमाएको थियो । भारतीय कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस अय्यर रन नबनाइकन आउट भएका थिए ।बलिङतर्फ अष्ट्रेलियाका जोश हाजेल्वुडले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ७१ बलमा पाँच चौका प्रहार गरे । यस्तै डेविड वार्नरले ५२ बलमा छ चौकासहित ४१, कप्तान प्याट कमिन्सले २४ बलमा एक चौका र एक छक्कासहित १५ तथा मिचेल स्टार्कले ३५ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए ।बलिङतर्फ भारतका रवीन्द्र जडेजाले तीन, कुलदीप यादव र जस्प्रित बुमराहले दुई/दुई तथा हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले एक÷एक विकेट लिए । 

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं – इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । १७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको इजराइलका लागि नेपाली राजदूतवासले जनाएको छ । यस्तै चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मृत्यु हुनेहरुमा नारायणप्रसाद न्यौपाने घोडाघोडी–०४ कैलाली, गणेशकुमार नेपाली जयपृथ्वी–०६ बझाङ, आशिष चौधरी बौनिया–०३ कैलाली, दिपेशराज विष्ट लेकम–०५ दार्चुला, आनन्द साह सपही–०६ धनुषा, राजेशकुमार स्वर्णकार मधुवन–०१ सुनसरी, राजन फुलरा पाचनली–०३ डोटी, पदम थापा लमिखल–०८ डोटी, प्रवेश भण्डारी शारदा–०३ सल्यान, लोकेन्द्रसिंह धामी मालिकार्जुन–०४ दार्चुला रहेका छन् ।

सर्वसम्मत नेतृत्व चयन हुनपर्नेमा अध्यक्ष ओलीको जोड

सुदूरपश्चिम, २१ असोज : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिनसक्नुपर्ने बताउनु भएको छ । नेकपा एमालेको आज धनगढीमा शुरु भएको पहिलो प्रदेश अधिवेशनको उद्घाटन गर्दै उहाँले प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीका प्रतिनिधिलाई निर्देश गर्नुभयो ।

नेतृत्वले गर्ने मूल्याङ्कन नमानेर आफ्नो आफै मूल्याङकन गर्ने प्रवृत्ति अनुपयुक्त भएको तर्क गर्दै अध्यक्ष ओलीले भन्नुभयो,“कुनै पूर्वाग्रह नराखी प्रदेशको नेतृत्व चयनमा खटिन पार्टीका नेतालाई आग्रह गर्छु ।” पार्टीकाविरुद्ध चौतर्फी हमला भइरहेकाले त्यसलाई पराजित गर्न दृढताका साथ नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सभ्य, सालिन र शान्तिपूर्ण समाज निर्माणका लागि योगदान गर्न आह्वान गर्नुभयो ।

महासचिव शङ्कर पोखरेलले एमालेलाई पहिलो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्दै ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ पार्टीका सबै सदस्य लाग्नुपर्ने बताउनु भयो ।

पार्टीका सचिवद्वय लेखराज भट्ट र छविलाल विश्वकर्मा,संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पार्टी शुद्धीकरण एवं सुदृढीकरणमा आम कार्यकता एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

विद्युत् विधेयक :सैद्धान्तिक छलफल समाप्त

काठमाडौँ, २१ असोज : प्रतिनिधिसभामा विद्युत् विधेयक, २०८० का सैद्धान्तिक पक्षमाथिको छलफल सकिएको छ । छलफलमा सहभागी सांसदहरुले ऊर्जा क्षेत्रको समग्र विकासका लागि प्रस्तुत विधेयकका सबै पक्षको समीक्षा गरी त्यसका कमजोरी सुधार गर्न आवश्यक भएको बताए ।

मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डका रुपमा ऊर्जा क्षेत्रलाई लिइएपनि विधेयकले त्यसलाई पूर्ण रुपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनीहरूले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको सामूहकि प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको विकास सहज हुने बताए । उनीहरुले आगामी ३० वर्षसम्म अर्को कानुन तर्जमा गर्ननपर्ने गरी विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

बिजुलीको आन्तरिक खपत बढाउन औद्योगिक वातावरण बनाउनुपर्ने उल्लेख गर्दै सांसदहरुले बिजुलीको विषयमा राम्रै बहस भएपनि पानीको उपयोगका बारेमा विधेयकले मौन रहेको टिप्पणी गरे । जलाशययुक्त ठूला आयोजना निर्माण गर्दा त्यहाँ जम्मा हुने पानीको उपयोगलाई विधेयकमा प्रष्ट पार्न जरुरी रहेको उनीहरुको भनाइ थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुमा दिपकबहादुर सिंह, सुनिता बराल, जावेदा खातुन, श्यामकुमार घिमिरे, हेमराज राई, दुर्गा राई , तुजुलाल चौधरीलगायत सहभागी हुनुहुन्थ्यो । विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अर्को बैठकमा दिने कार्यक्रम छ ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार अपराह्न ३ः ३० बजे बस्नेछ ।

विश्वकप क्रिकेट : भारतसामु दुई सय रनको लक्ष्य

काठमाडौँ, २१ असोज ः आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत अहिले भारत र अष्ट्रेलियाबीच खेल भइरहेको छ । अष्ट्रेलियाले भारतसामु जितका लागि दुई सय रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गरेर ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनायो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ७१ बलमा पाँच चौका प्रहार गरे । यस्तै डेविड वार्नरले ५२ बलमा छ चौकासहित ४१, कप्तान प्याट कमिन्सले २४ बलमा एक चौका र एक छक्कासहित १५ तथा मिचेल स्टार्कले ३५ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए ।बलिङतर्फ भारतका रवीन्द्र जडेजाले तीन, कुलदीप यादव र जस्प्रित बुमराहले दुई÷दुई तथा हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले एक÷एक विकेट लिए ।अहिले भारतले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्म भारतले १३ ओभरमा तीन विकेटको क्षतिमा ३८ रन बनाएको छ । भारतीय कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस अय्यर रन नबनाइकन आउट भएका छन् ।

विद्युत् विधेयक–२०८० : राष्ट्रिय हितलाई केन्द्रमा राख्न सांसदहरुको माग

काठमाडौँ, २१ असोज : मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले प्रस्तुत गरेको विद्युत् विधेयक–२०८० का केही प्रावधान राम्रा भए पनि अधिकांश विषय अस्पष्ट रहेका टिप्पणी सांसदहरुले गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले विधेयकलाई थप परिस्कृत गर्नुपर्ने सुझाव दिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपालको आर्थिक विकासका लागि सर्वाधिक महत्वको कानुन निर्माणको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै त्यसलाई गम्भीर भएर अगाडि बढाउनुपर्ने बताउनुभयो । सार्वजनिक, सरकारी एवं निजी क्षेत्रलाई सँगसँगै लिएर जानेगरी विधयेक अगाडि बढाउनुपर्ने, निजी क्षेत्रको लगानीको सुरक्षालाई विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।नेकपा (एमाले)का सांसद गोकर्ण विष्टले विधेयकमा केही विरोधाभाष रहेको भन्दै थप छलफल जरुरी भएको बताउनुभयो । उहाँले विद्युत् आयोजनाको अनुमतिसम्बन्धी व्यवस्थालाई थप प्रष्ट पार्नुपर्ने, अन्तरदेशीय विद्युत् व्यापारका सम्बन्धमा राष्ट्रिय प्रसारण लाइनमार्फत हुनुपर्ने व्यवस्था हुनुपर्ने माग गर्नुभयो । नेपालका लगानीकर्ता ठूला आयोजना निर्माण गर्ने अवस्थामा पुगेकाले राष्ट्रिय हितलाई दृष्टिगत गरी स्वदेशी लगानीलाई पर्वद्र्धन गर्नुपर्ने उहाँको अभिमत थियो ।सोही पार्टीका सांसद रघुजी पन्तले प्राकृतिक स्रोतको बाँडफाँटसम्बन्धी विषयलाई विधेयकले सम्बोधन गर्न नसकेको र विगतमा पनि ठूलाठूला परियोजना सम्झौताका माध्यमबाट दिइएको बताउनुभयो । उहाँले विधेयकमा बिजुलीको विषय उल्लेख गरिएको भए पनि पानीको सुरक्षाका विषयमा ध्यान नपुगेको आरोप लगाउनुभयो । जलाशययुक्त आयोजना निर्माणपछि प्राप्त हुने पानीको सदुपयोग र त्यसबाट प्राप्त हुने लाभका बारेमा समेत स्पष्ट हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माणको ढाँचाका बारेमा विधेयकले नबोलेको भन्दै त्यसलाई स्पष्ट पार्नुपर्ने बताउनुभयो ।सोही दलका सांसद गोकुल बाँस्कोटाले ऊर्जा क्षेत्रको विकासका लागि नेपाली उत्पादकलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो । ऊर्जा क्षेत्र आर्थिक समृद्धिको आधार भएकाले लगानीको सुरक्षाबारे विधेयकमा प्रष्ट व्यवस्था गर्न माग गर्नुभयो ।नेपाली लगानीकर्तालाई पनि विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सांसद बाँस्कोटाले रु दुई सय बराबरको महसुल तिर्नका लागि रु एक हजार बराबरको खर्च गर्नुपर्ने बाध्यताको अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गर्नुभयो ।नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालको समृद्धि र आर्थिक प्रगतिका लागि विधेयकले खाका कोरेको बताउँदै मुआब्जा वितरण, प्रसारण लाइन निर्माणका झन्झट सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जलविद्युत् आयोजनामा सबैतिर मुआब्जाको समस्या रहेको उल्लेख गर्दै उहाँले दूधकोशी, बूढीगण्डकी आयोजना त्यसबाट प्रभावित भएको वास्तविकता सुनाउनुभयो ।सांसद गणेश पराजुलीले दूधकोशी आयोजनाको निर्माणका लागि भन्दै लामो समयदेखि स्थानीयवासीको जग्गा रोक्का राखिएकाले उनीहरु समस्यामा परेकाले तत्काल सो समस्या समाधान गर्न माग गर्नुभयो । नेपालमा विद्युत् उत्पादन सुरु भएको एक सय १० वर्षभन्दा बढी समय बितेको भए पनि हालसम्म तीन हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन हुनुका कारण के हो ? प्रश्न गर्नुभयो । ऊर्जा क्षेत्रमा काम गर्नका लागि विदेशबाट प्राविधिक ल्याउनुपर्ने बाध्यताको अन्त्यका लागि नेपाली विद्यार्थीलाई यस क्षेत्रमा अध्ययन गर्ने प्रबन्ध हुनुपर्ने माग उहाँले गर्नुभयो ।सांसद महेश बर्तौलाले सांसदले नै बनाउनुपर्ने कतिपय व्यवस्थालाई सरकार आफँैले गर्ने गरी विधेयकमा प्रावधान राखिएकामा गुनासो गर्नुभयो । बिजुली उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले बिजुलीको उत्पादन, बजारीकरण र आन्तरिक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।सांसद मनिष झाले नेपालका जलविद्युत् आयोजना तोकिएको समयमा पूरा नहुने अवस्थाको अन्त्यका लागि विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।सांसद माधव सापकोटाले विधेयकमा राखिएका कतिपय प्रावधान सकारात्मक रहेका भन्दै ऊर्जा दक्षता, ऊर्जा सुरक्षाका विषयमा विधेयकले थप प्रष्ट पार्नुपर्ने बताउनुभयो ।सांसद शिशिर खनालले स्थानीय सरकारलाई पाँच र प्रदेश सरकारलाई २५ मेगावाट बराबरको आयोजना दिने प्रावधानबारे प्रष्ट पार्न अनुरोध गर्नुभयो ।सांसद स्वर्णिम वाग्लेले सर्वसाधारणको शेयर स्वामित्वलगायत विषयलाई विधेयकले प्रष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।सांसद हितराज पाण्डेले अर्धजलाशयुक्त र जलाशयुक्त आयोजनालाई विधेयकले महत्वका साथ जोड दिएको तथा आयोजना प्रभावितलाई सम्बोधन गरेकामा सरकारलाई धन्यवाद दिनुभयो ।सांसद वसन्त नेम्वाङ, अब्दुल खान, रामप्रकाश चौधरी, शिशिर खनाल, राजेन्द्र बजगाईं, दामोदर पौडेल, प्रदीप पौडेल, किरणकुमार साह, राजु थापाले विधेयकको सैद्धान्तिक पक्षमा आआफ्नो धारणा राख्नुभयो ।यसैबीच, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको जलविद्युत् क्षेत्रमा पछिल्लो पाँच वर्षमा प्रगति भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज विद्युत् विधेयक–२०८० को सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सरकार र निजी क्षेत्रको उदाहरणीय सहकार्यमा छोटो समयमा जलविद्युत् क्षेत्रमा फड्को मार्न सम्भव भएको बताउनुभयो ।पूर्वऊर्जामन्त्री पुनले प्रस्तावित विधेयकले जलविद्युत्मा ‘पोलिसी डिपार्चर’ गर्ने भन्दै त्यसको प्रशंसा गर्नुभयो । “पछिल्लो पाँच वर्षमा हामीले जलविद्युत् क्षेत्रमा प्रगति गरेका छौँ । पाँच वर्ष अगाडि एक हजार हाराहारीमा रहेको कूल जडित क्षमता अहिले तीन हजार पुगेको छ”, उहाँले भन्नुभयो, “पाँच दोब्बर होइन तीनगुणा भएको छ । आगामी पाँच वर्षमा १० हजार मेगावाट पुग्नेछ ।”नेता पुनले सार्वजनिक, निजी साझेदारी अवधारणा जलविद्युत् क्षेत्रमा सफल भएको, जलविद्युत्मा निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने बताउँदै प्रस्तुत विधेयकले त्यसका लागि बाटो खोलेको बताउनुभयो । विगतमा विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापार सबै सरकारले गर्ने गरेको भए पनि हाल सबै चरणमा निजी क्षेत्रलाई सहभागी गराउने नीति अङ्गीकार गरिनु सकारात्मक भएको विचार व्यक्त गर्नुभयो ।नेपालका प्राकृतिक स्रोतमध्ये सबैभन्दा धेरै उपलब्ध जलस्रोत भएकाले त्यसको बहुपक्षीय र बहुउद्देश्यीय उपयोगमा जोड दिइनुपर्ने बताउँदै पूर्वमन्त्री पुनले प्रस्तावित विधेयकले भरपर्दो ऊर्जा आपूर्ति र प्राकृतिक स्रोतको उपयोगका साथै संरक्षणको नीति एकैसाथ अघि सारेकामा त्यसको सराहना गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असरका कारण जलविद्युत्का संरचनामा क्षति पुग्नसक्ने विषयलाई ध्यान दिँदै विधेयकले बाँधसहित विद्युत्का संरचनाको सुुुरक्षा समेटिएको स्पष्ट गर्नुभयो । 

आममाफी योजनाको विरोधमा बार्सिलोनामा प्रदर्शन

मेड्रिड – बामपन्थी सरकारका लागि राजनीतिक समर्थनको बदलामा क्याटालान पृथकतावादीहरूलाई आममाफी दिने योजनाको विरोध गर्न दक्षिणपन्थी अधिकारीहरू स्पेनको बार्सिलोनामा आइतबार एक बृहत् प्रदर्शनमा सहभागी भएका छन् ।

स्पेनबाट पृथक हुने क्षेत्रको विरोध गर्ने एक नागरिक समूह सोसिटाट सिभिल क्याटालाना (एससीसी) को आह्वानमा भएको प्रदर्शनमा हजारौँ जनता ‘आममाफी हुँदैन’ भन्दै स्पेनी र क्याटालानको झण्डा बोकेर भेला भएका थिए ।

प्रधानमन्त्रीका रूपमा आफ्नो भूमिका पुनः सुरु गर्न सक्नेगरी सन् २०१७ मा स्वतन्त्रता माग गरेकामा कानूनी कारवाहीको सामना गरिरहेका क्याटालान पृथकतावादीहरूलाई उनीहरूको समर्थनको बदलामा आममाफीको प्रस्ताव गर्ने कार्यवाहक प्रधानमन्त्री पेड्रो सान्चेजको योजनाको विरोधमा प्रदर्शनको आह्वान गरिएको हो ।

उक्त प्रस्तावप्रति स्पेनमा दक्षिणपन्थी र उग्र दक्षिणपन्थीहरूका साथै सान्चेजको सोसियलिस्ट पार्टीभित्रका केहीले चर्को प्रतिक्रिया दिएका छन् । उनीहरूले सत्तामा रहिरहन आममाफीलाई मोलमोलाइको विषय बनाउन नसकिने बताएका छन् ।

“राजनीतिक फाइदाको बदलामा आममाफीको प्रस्ताव असंवैधानिक विकृति हो”, विपक्षीहरूको सामूहिक विरोध प्रदर्शनले कार्यवाहक प्रधानमन्त्री सान्चेजको योजनालाई अवरोध गर्ने अपेक्षा गर्दै एससीसीकी नेत्री एल्डा माटाले भन्नुभो ।

बार्सिलोनाको गार्डिआ अर्बाना प्रहरीले प्रदर्शनमा ५० हजारभन्दा बढी सहभागी भएको जनाएको छ । तर आयोजकहरूले तीन लाख मानिस प्रदर्शनमा जम्मा भएको बताएका छन् ।

विपक्षी नेता अल्बर्टो ननेज फिजुसहित दक्षिणपन्थी दलका शीर्ष नेताहरू प्रदर्शनमा भेला भएका थिए । फिजुको पपुलर पार्टीलाई जुलाईमा भएको निर्वाचन जितेको भए पनि उग्र दक्षिणपन्थी पार्टी भोक्सको समर्थनका बावजुद सरकार गठन गर्न पर्याप्त समर्थन प्राप्त थिएन । भोक्स पार्टीका नेता सान्टियागो अबास्कल पनि प्रदर्शनमा सहभागी हुनुहुन्थ्यो ।

“यो मेलमिलाप गर्ने माफी होइन, यो योजना प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्ने कदम हो”, प्रदर्शनलाई सम्बोधन गर्दै फिजुले भन्नुभयो, “कानून उल्लङ्घन गर्ने राजनीतिज्ञको कदम अस्वीकार्य छ, यो शक्तिको दुरुपयोग हो ।”

जिप दुर्घटनामा परी घाइते भएका यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट (हुम्ला), २१ असोज : हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटनामा परी घाइते भएका यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भिर घाइते तीन जनालाई उद्धार गरी केहीबेर अघि बाँकेको नेपालगञ्ज लगिएको छ ।

सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बा२१च ७३५३ नं को जिप मानसरोवर मावि नजिक दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका थिए । दुर्घटनामा गम्भिर घाइते भएका सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय, देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुर्वबहादुर शाहीलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

देश र जनताको सेवामा समर्पित हुन गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ २१ असोज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री श्रेष्ठले देशमा शान्तिसुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन एवं संवेदनशील जिम्मेवारी निर्वाहका निम्ति बदलिँदो परिस्थितिअनुरुप आफूलाई ढाल्नुपर्ने बताउनुभयो ।

प्रविधि एवं आर्थिक समस्यासँगै बढिहेको सुरक्षा चुनौतीलाई परास्त गर्न उपलव्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै देश र जनताका निम्ति योगदान गर्नुपर्नेमा गृहमन्त्रीले जोड दिनुभयो ।

प्रहरी कर्मचारीको क्षमता वृद्धिलाई आफूले प्राथमिकतामा राखेको बताउँदै गृहमन्त्रीले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा परिचान हुने विशेष दस्ताका रुपमा विकास गर्न चाहेको जानकारी दिनुभयो । प्रतिकूल परिस्थितिमा देश र जनताको सेवामा हरहमेसा समर्पित हुन दीक्षित प्रहरी निरीक्षकहरुलाई उहाँले निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरकारबाट प्राप्त निर्देशन अक्षरसः पालना गर्दै सङ्गठनलाई अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले तालिम प्राप्त जनशक्तिलाई सङ्गठनको उद्देश्य प्राप्तिमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

४९ जना सशस्त्र प्रहरी निरीक्षक दीक्षित

आज राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरीका ४९ जना निरीक्षक दीक्षित भएका छन् । विभिन्न तीन चरणमा भएको तालिममा पाँच जना महिलासहित ४९ जनाको सहभागिता थियो । तालिम ५६ सातासम्म सञ्चालन भएको थियो । आज तालिम पूरा गरेका सबैजना आजैदेखि कार्य क्षेत्रमा खटिएका छन् ।

तालिमका उत्कृष्ट स्थान हासिल गरेका प्रहरी निरीक्षकहरु ज्ञानचन्द्र पराजुली, पुष्करबहादुर बम, एजन खड्का र रोशन घिमिरेलाई सम्मान पनि गरिएको थियो ।

‘बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील छ’ – मन्त्री आचार्य

काठमाडौँ, २१ असोज : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

हाल विराटनगर, वीरगञ्ज, मकवानपुर, डोटी, भक्तपुर, पोखरा, नेपालगञ्ज र भैरहवामा सञ्चालित बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका रहेकाले त्यसको व्यवस्थापनमा सरकार क्रियाशील रहेको मन्त्री आचार्यले बताउनुभएको हो । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उहाँले बाँकेको नौवस्तामा सुधारगृह व्यवस्थापनको काम भइरहेको बताउनुभयो ।

सुधारगृहका बालबालिकाका लागि कक्षा १० सम्म अध्यापन स्वीकृति प्राप्त भएको, बालसुधार गृहमा मनोसामाजिक विमर्श व्यवस्थाका लागि केन्द्रीय बाल न्याय समितिबाट बजेटको व्यवस्था गरिएको, बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार मुद्दा दर्ता भएको मितिले एक सय २० दिनभित्र किनारा लगाउनुपर्ने व्यवस्था कार्यान्वयनको प्रयास भइरहेको मन्त्री आचार्यले जानकारी दिनुभयो । बाल सुधारगृहमा बालबालिकाको सङ्ख्या क्षमताभन्दा बढी रहेको उहाँले उल्लेख गर्नुभयो ।

मङ्गलादेवी सिंह र साहना प्रधानको नाममा स्थापित ‘मङ्गला–साहना पुनःस्थापना केन्द्र’बारे सोधिएको प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नाममा रहेको आठ रोपनी १० आना जग्गाको प्रमाण पुर्जा प्राप्त भएको जानकारी दिनुभयो । सो जग्गामा आर्थिक वर्ष २०७८÷७९ मा सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी तारबारसमेत लगाइएको उहाँले बताउनुभयो । सो जग्गामा भवन निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)सित सम्झौता भइसकेको मन्त्री आचार्यले जानकारी दिनुभयो ।

भारतको कर्नाटकमा आगलागी हुँदा १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेकोसमेत प्रहरीले जानकारी गराएको छ ।

पसल मालिक तथा जग्गा मालिकलाई अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ । “प्रारम्भिक अनुसन्धानमा घटनापछि प्रहरी हिरासतमा रहेका पसल मालिकको लापरबाहीका कारण उक्त दुःखद् दुर्घटना भएको देखिन्छ”, मुख्यमन्त्री सिद्धारमैहाले पत्रकार सम्मेलनमा बताउनुभयो ।

उहाँले दुर्घटनास्थलको भ्रमणपछि सञ्चारकर्मीसँग भन्नुभयो, “वास्तवमा के भएको थियो हामीलाई थाहा छैन, तथापि, हामीलाई पसलमा आवश्यक कुनै सुरक्षा मापदण्ड अपनाइएको थिएन भन्ने जानकारी मिलेको छ । पसलको हालसालै अनुमतिपत्र नवीकरण गरिएको छ । पसलमा आगो निभाउने यन्त्र फेला परेको छैन । यो पसल मालिकको पूर्ण लापरबाही हो ।”

घटनाको अनुसन्धान गर्न सीआईडीलाई आग्रह गरिएको पनि उहाँले जानकारी गराउनुभयो । मृतकमध्ये केहीको सनाखत हुन बाँकी रहेको पनि उहाँले बताउनुभयो । “घटनामा १४ जनाको मृत्यु भएको छ र ती सबै तमिलनाडूका हुन्, तीमध्ये अधिकांश विद्यार्थी छन् । उनीहरू आफ्नो शिक्षाका लागि पैसा कमाउन यहाँ काम गरिरहेका थिए्,” मुख्यमन्त्री सिद्धारमैहाले भन्नुभयो ।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले पनि आइतबार घटनास्थलको निरीक्षण गर्नुभएको छ । मृतकका आफन्तजनलाई राहतस्वरूप जनही पाँच लाख भारतीय रुपैयाँ दिने राज्य सरकारले यसपहिले नै घोषणा गरेको छ ।

‘वर्न सर्भाइभर्स्’ सम्मेलनमा डा भण्डारीले सुनाउनुभयो अनुभव

काठमाडौँ, २१ असोज : केही महिनाअघि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीले जलनसम्बन्धी अनुभव र अठोट अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनु भएको छ ।

अमेरिकाको वासिङ्टन डिसीमा शनिबार सुरु भएको ‘वर्न सर्भाइभर्स्’ सम्मेलनमा उहाँले जलनबाट शरीरमा चोट लागेर कमजोर भएपनि आत्मबलमा कुनै असर नगरेको बताउनुभएको उहाँको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सांसद भण्डारीले आगोले कुनै व्यक्तिको शरीरसँगै भावना पनि जलाएको र परिवारका सदस्यहरूको शक्ति कमजोर बनाएको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “मेरो जस्तो विकासशील देशमा त यसले आर्थिक रूपमा पनि जलाउँदो रहेछ ।”

नेता भण्डारीले शारीरिक, मानसिक र पारिवारिक रुपमा जलेपनि आफूले भने पुनर्जीवन पाएकाले अबको जीवन आगोको चोटबाट बच्न सचेतना जगाउन र जलेकाहरुको उपचारमा सघाउन केन्द्रित गर्ने अठोट पनि विश्व समुदाय सामू व्यक्त गर्नुभयो ।

उहाँले यसप्रकारका घटना न्यूनिकरणका लागि यस क्षेत्रमा योगदान गर्न सके मात्रै आफ्नो पुनर्जन्मको सार्थकता रहने बताउनुभयो । अन्तर्राष्ट्रिय समुदायबीचमा आफ्नो अनुभव र जलनसम्बन्धी नेपालको अवस्थाबारे जानकारी गराउन र अन्तर्राष्ट्रिय अभ्यास, अनुभव र सहयोग नेपाल भित्र्याउन आफू उत्सुकताका साथ सम्मेलनमा सहभागी भएको उहाँको भनाइ थियो ।

सम्मेलन आयोजक संस्था ‘फिनिक्स सोसाइटी फर बर्न सर्भाइभर्स’बाट जलेका बिरामीको आवश्यकता र चुनौती बुझेर उनीहरूका लागि थप चिकित्सा अनुसन्धानका मुद्दालाई सम्बोधन गर्न सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो । त्यसैगरी विश्वव्यापीरुपमा जलनको सचेतना, उपचार, हेरचाह र अनुसन्धानलाई प्राथमिकता दिन सम्बन्धित देशका सरकारलाई दबाब दिनुपर्ने, विश्वव्यापीरूपमा जलेर बाँचेकाहरुका लागि अभिभावकत्व प्रदान गर्नुपर्ने, पीडितका परिवारलाई भरपर्दो सहयोग प्रदान गर्नुपर्नेतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनु भएको थियो ।

सम्मेलनमा नेता भण्डारीसँगै उहाँकी धर्मपत्नी डा लक्ष्मी पाण्डेय, जलन विषेशज्ञ प्रा डा शङ्करमान राई, फिजियो थेरापी विज्ञ मोहन डङ्गोल सहभागी हुनुहुन्छ । कांग्रेस नेता भण्डारीको काठमाडौँको बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते राति आगलागी हुँदा जलेर घाइते हुनुभएको थियो । उहाँलाई सुरुमा कीर्तिपुरको वर्न सेन्टर र त्यसपछि थप उपचार भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा गराइएको थियो ।

आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारी

काठमाडौँ, २१ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारीका लागि सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको आप्तकालीन जनस्वास्थ्यको पूर्व तयारीका सम्बन्धमा क्षमता विकास अभिवृद्धि गोष्ठीमा उहाँले आपत्कालीन जनस्वास्थ्य तथा प्राकृतिक विपत्तिका घटनामा सबै सरोकारवाला निकायहरुबीच एकीकृत शक्तिलाई बलियो बनाएर लैजानुपर्ने खाँचो औँल्याउनुभयो ।

“हाम्रो भौगोलिक विकटताका कारण कुनैपनि आपत् परेका बेला सहज रुपमा सम्बन्धित ठाउँमा पुग्नका लागि सडक र हवाई मार्गको सहज पहुँच तथा सामथ्र्य नभएकाले यो क्षेत्रमा वृहत् रुपमा अध्ययन गरेर कार्ययोजनाका साथ अघि बढ्नुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो ।

विपद्को पूर्व तयारीका कार्यक्रमहरु योजनामा मात्रै सीमित हुने गरेका भन्दै मन्त्री बस्नेतले व्यवहारिक कार्यान्वयनका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । “पूर्व तयारीको कार्ययोजना बन्छ तर, व्यवहारमा लागू हुदैन । अर्कोतर्फ भौगोलिक अवस्था, स्रोत र साधनको कमिका कारण पनि प्रभावकारी बन्न सकेको छैन”, उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी र विकास साझेदार निकायले प्रभावकारी रुपमा समन्वय गरी समझादारीका साथ काम गरेको भन्दै आगामी दिनमा पनि सकारात्मक उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीले गरेको काम उदाहरणीय रहेको भन्दै उहाँले विपद् व्यवस्थापनमा स्रोतसाधन, गुणस्तरीय प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरेर काम अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।

भूकम्प, कोभिड, विपद्जन्य घटनालगायतमा आफू सामाजिक अभियानको रुपमा सक्रिय भएको स्मरण गर्दै स्वास्थ्यमन्त्री बस्नेतले विपद्लाई परिवर्तनको अवसरका रुपमा लिएर सरकार, सरोकारवाला निकाय र विकास साझेदार संस्थाको समन्वय तथा सहकार्यलाई फराकिलो बनाइनुपर्नेमा जोड दिनुभयो ।

जनस्वास्थ्य, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा भएको दुई दिने गोष्ठीमा महामारी, सङ्क्रमणजन्य रोग नियन्त्रण, आपत्कालीन जनस्वास्थ्यको प्रभावकारिता तथा अन्तर निकायबीचको समन्वय र सहकार्यबारे आगामी रणनीति तयार गरिने जनाइएको छ ।

दुई अर्ब १५ करोड खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाडौँ महानगर

काठमाडौँ, २१ असोज : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्नेभएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ ।

हाल महानगर क्षेत्रभित्र करिब एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ ।

महानगरका अनुसार हाल वडा नं २६ लैनचौरबाट वडा नं १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ रु चार करोड ५५ लाखमा काम भइरहेको छ । वडा नं २६ लैनचौरबाट वडा नं २ को लाजिम्पाट, वडा नं ३ को महाराजगञ्जहुँदै चक्रपथसम्मको खण्डका लागि रु १० करोडमा सम्झौता भइसकेको छ ।

साथै वडा नं २८ को प्रदर्शनीमार्गमा काम सुरु भइसकेको छ । यसको लागत रु तीन करोड ७८ लाख रहेको छ । वडा नं ११ को त्रिपुरेश्वरदेखि वडा नं २२ सुन्धारा, वडा नं २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमलहुँदै वडा नं २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग रु १८ करोडमा सम्झौता भइसकेको छ निर्देशक राईले जानकारी दिनुभयो ।

महानगरको वडा नं ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि रु छ करोड ३५ लाखमा सम्झौता भएको छ । वडा नं ३२ को तीनकुनेदेखि वडा नं ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गाहुँदै वडा नं ८ को गौशालासम्मका लागि रु छ करोड ६९ लाखमा सम्झौता भएको छ । त्यसैगरी वडा नं १० नयाँबानेश्वरदेखि वडा नं ९ पुरानो बानेश्वरसम्मका लागि रु तीन करोड २३ लाख बजेट बिनियोजन गरिएको छ ।

वडा नंं २८ को बागबजारदेखि वडा नं २९ चारखाल, वडा नं ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नं ९ को पुरानो बानेश्वर, वडा नं ३१ को भीमसेनगोलाहुँदै वडा नं ९ को सिनामङ्गल सडक खण्डका लागि रु १० करोड बजेट छुट्याइएको छ ।

साथै वडा नंं १३ को कालीमाटीदेखि सोल्टीमोडहुँदै वडा नं १४ को कलङ्कीसम्म, वडा नं ८ को गौशालादेखि वडा नं ७ को चावहिलसम्म, वडा नं ८ गौशालादेखि वडा नं ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड खर्च हुने अनुमान गरिएको छ ।अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम सुरु भइसकेको विभागले जानकारी दिएको छ । चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार बजेट विनियोजन गरेको छ ।

सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षामन्त्री राईको आग्रह

काठमाडौँ, २१ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरोकारवालासँग भएका सहमति र मागलाई ध्यानमा राखेर विद्यालय शिक्षा विधेयक, २०८० पारित गराउन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री राईले सदनमा विधेयक दर्ता भइसकेपछि नेपाल शिक्षक महासङ्घलगायत पक्षहरुले गरेका आन्दोलनपछि भएका सहमतिबारे जानकारी गराउनुभयो ।

सो विधेयकमाथि शुक्रबारको बैठकमा सैद्धान्तिक छलफलमा भएको थियो । विधेयक सदनमा प्रस्तुत भइसकेको अवस्थामा फिर्ता लिएर पुनः ल्याउनुभन्दा भएका सहमतिलाई सार्वभौम सदनले विचार गर्ने अपेक्षाका साथ महासङ्घसँग सहमति गरिएको जनाउँदै विधेयकमा भएका व्यवस्था संविधानसम्मत भएको बताउनुभयो ।

उहाँले विधेयकमा निजी विद्यालयले चाहेमा गुठीमा जान सक्ने र नयाँ निजी विद्यालय खोल्दा गुठीमा जानुपर्ने प्रबन्ध गरिएको बताउनुभयो । उहाँले माध्यमिक तहको विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिँदा सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारका संवैधानिक अनुसूचीलाई पनि ख्याल गरिएको बताउनुभयो । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने खालका उपयुक्त र जायज कुराप्रति सरकार सदैव सकारात्मक रहेको र सांसद्हरुबाट संशोधनका क्रममा त्यसअनुसार सम्बोधन हुने अपेक्षा रहेको बताउनुभयो ।

उहाँले पारित हुने विधेयकका आधारमा गुणस्तरीय शिक्षाका लागि परिवर्तित पाठ्यक्रम लागू गर्न आवश्यक रहेको औल्याउँदै समसामयिक विश्वको मानव ज्ञानको उचाइलाई नेपालका पाठ्यक्रममा प्रकट हुनुपर्ने जनाउनुभयो । मन्त्री राईले राष्ट्रिय परीक्षा बोर्ड र शिक्षक सेवा आयोगलाई स्वायत्त बनाउन विधेयकले व्यवस्था गरेको उल्लेख गर्दै प्रदेशको मातहत रहने गरी जिल्लास्थित शिक्षा कार्यालय कायम गर्दा संविधानविपरीत नहुने जिकिर गर्नुभयो । उक्त कार्यालय पुरानो जिल्ला शिक्षा कार्यालय नभएको स्पष्ट गर्दै उहाँले माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे थप छलफल गर्न सकिने धारणा राख्नुभयो ।

“सुयोग्य, कर्मठ र दक्ष शिक्षक आवश्यक छ भन्नेमा मेरो सहमति छ । शिक्षकलाई निजामती सरहको सुविधा चाहिन्छ भन्नेमा सरकार स्पष्ट छ”, मन्त्री राईले भन्नुभयो, “शिक्षक महासङ्घले उठाएका माग र भएका सहमति हामीले सम्मानित सदनमा राखिदिन्छौँ भनेर उहाँहरुलाई भनेका छौँ । यसमा सदनले आफ्नो प्रक्रिया र अधिकारबमोजिम विचार गरोस् ।”

उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । मन्त्री राईले विधेयक ल्याउनु अगाडि नेपाल शिक्षक महासङ्घ, विद्यालय कर्मचारी, निजी विद्यालय सञ्चालन सबैसँग छलफल गरिएको तर त्यो छलफल पर्याप्त नभएको परिणामले देखाएको स्वीकार गर्नुभयो ।

सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न सकेन : उपाध्यक्ष शाक्य

काठमाडौँ, २१ असोज : नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न नसकेको जिकिर गर्नुभएको छ । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र नेपाल हस्तकला महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘प्राकृतिक रेशामा प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उहाँले सरकारको प्राथमिकतामा कहिल्यै पनि उद्योग क्षेत्र पर्न नपरेको दाबी गर्नुभयो ।

“सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको भए नेपालमा रहेका धेरै उद्योग डुब्ने थिएनन्, अहिले पनि उद्योग क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन”, उहाँले भन्नुभयो ।

उहाँले आफू उद्योगमन्त्री भएकाले बेला उद्योग नीति परिमार्जन गरेको स्मरण गर्दै उद्योग क्षेत्रको विकासबिना मुलुकको विकास सम्भव नभएको बताउनुभयो । उहाँले नेपालमा प्राकृतिक रेशाजन्य पदार्थ थुप्रै भए पनि तिनीहरुलाई भरपुर प्रयोग गर्न नसकेको उल्लेख गर्नुभयो ।

विज्ञ व्यक्ति, अनुसन्धानकर्ता र नेपाल हस्तकला महासङ्घ मिलेर प्राकृतिक रेशाजन्य पदार्थको अध्ययन, अनुसन्धान, उत्पादन र बजारीकरणमा लाग्नुपर्ने उहाँको भनाइ थियो । उहाँले उद्योगको विकासका लागि प्रविधिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

हस्तकला महासङ्घ उद्योगी व्यवसायीकोे अभिभावक संस्था बनेर अगाडि बढ्नुपर्ने उपाध्यक्ष शाक्यको भनाइ थियो । उहाँले राजनीतिक उतारचढावका कारण मुलुकको अर्थतन्त्र र उद्योग क्षेत्रमा समस्या आएको बताउनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वका अन्य मुलुकमा नभएका प्राकृतिक रेशाजन्य पदार्थ नेपालमा भएकाले यसलाई भरपुर उपयोग गर्नुपर्ने बताउनुभयो ।

“मुलुक समृद्ध बन्नका लागि हामीसँग भएका वस्तुलाई उत्पादन गरेर विदेशी बजारसम्म लैजानुपर्छ”, उहाँले भन्नुभयो । कार्यकारी निर्देशक राणाले नेपालमा भएका हस्तकला उद्योगले महिलाको सहभागितालाई समेत बढाउँदै लगेको बताउनुभयो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा विदेशी मुद्राआर्जन गर्ने महत्वपूर्ण माध्यम हस्तकला भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष शनम शाक्य, उद्योग उपाध्यक्ष दिव्यतारा तुलाधर, उपाध्यक्ष दीपेन्द्र शाक्यलगायतले नेपालमा उत्पादित परम्परागत हस्तकलालाई नयाँ प्रविधिसँग जोड्न सकेमात्र हस्तकला क्षेत्रको हुने बताउनुभएको थियो । कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक डा राजेन्द्र सिंहले प्राकृतिक रेशाको आयत तथा निर्यातको अवस्था, इञ्जिनियर प्रकाश झाले प्राकृतिक रेशाको हालको अवस्था, समस्या र प्रविधिको भूमिका र वरिष्ठ उद्यमी श्यामबन्दन श्रेष्ठले प्राकृतिक रेशाका विभिन्न वस्तु र उत्पादन डिजाइनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सशस्त्र प्रहरीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ, २१ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा आज सिनं १५का सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले आगामी दिनमा सूचना प्रविधिको विकासले दिएको अथाह सम्भावनाका साथै निम्त्याएका बहुआयमिक चुनौतीको सामना र सम्बोधन गर्न सङ्गठनले थप प्रभावकारी योजना निर्माण गरी क्षमता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “एउटा बलियो र सार्वभौम राज्यका लागि भूगोल, जनता, राज्यको अग्रगामी चरित्र, जनउत्तरदायी राज्ययन्त्र, स्वाधीन अर्थतन्त्र, बलियो सरकारलगायतका आधारभूत पक्ष आवश्यकता पर्छ, बलियो सुरक्षा अङ्ग र प्रभावकारी सुरक्षाबिना देशमा विकास र समृद्धिको वातावरण एवं मनोविज्ञान निर्माण गर्न सम्भव हुँदैन, त्यसैले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुनुपर्दछ ।”

उहाँले सशस्त्र प्रहरी बलले सम्पादन गर्ने काम र जिम्मेवारीलाई थप विशिष्टिकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, साधनस्रोतको उपलब्धता, सुदृढ सङ्गठन प्रणाली र व्यवस्थापन महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।प्रधानमन्त्री दाहालले सङ्गठनलाई आधुनिक र व्यावसायिक सुरक्षा निकायका रूपमा थप विकसित तुल्याई जनशक्ति, साधनस्रोत, भौतिक पूर्वाधार र अन्य सुधारका क्षेत्रमा ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसका निम्ति नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण हुने विश्वास दिलाउनुभयो ।

उहाँले सङ्गठनलाई राज्यले दिएको विशिष्ट, महत्वपूर्ण र विशेष कार्य प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सङ्गठनले जनशक्तिको नेतृत्व क्षमतामा विशेष ध्यान दिन आवश्यक भएको पनि बताउनुभयो ।

सशस्त्र प्रहरीलाई नियमित कार्यसम्पादनका साथै विकसित नयाँ चुनौतीतर्फ ध्यान केन्द्रित हुन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले बदलिएको परिवेश, जनसङ्ख्या विकासको चरित्र, सहरीकरण, विश्वव्यापीकरण, भूराजनीतिक सम्बन्ध र नविनतम् सूचना प्रविधिको गुणात्मक विकासले सुरक्षा क्षेत्रमा समेत नयाँ सोच, नीति, कार्ययोजना र कार्यशैलीको माग गर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी प्रतिष्ठानले अहिलेदेखि नै विशेष अध्ययन र चासो लिएर सम्भावित चुनौतीको पूर्वानुमान गरी सोहीअनुरूपको रणनीति तय गर्नुका साथै प्रशिक्षार्थीलाई प्रशिक्षित र परिचालित गर्न गम्भीर ध्यान दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरीले राज्यले सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिक निष्ठा, अनुशासन र इमान्दारिताका साथ सम्पन्न गर्दै आइरहेको सशस्त्र प्रहरी बलले राष्ट्रका आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण, राजस्व गस्ती एवं भन्सार सुरक्षाका साथै राष्ट्रिय सुरक्षाका मूलभूत पक्षमा गहन भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।प्रधानमन्त्री दाहालले राष्ट्रको सार्वभौमिकताको रक्षाका निम्ति प्रतिकूल मौसम, भौगोलिक विकटता तथा साधनस्रोतको सीमितताका बाबजुद सशस्त्र प्रहरीले गरेको कार्यसम्पादनका लागि सशस्त्र प्रहरीलाई धन्यवाद पनि दिनुभयो ।