धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित पाँच विद्यालयलाई नमुना विद्यालय बनाउँन सम्झौता
कैलाली, २४ माघ : धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सम्झौता गरिएको छ । नमुना विद्यालय निर्माण र गुणस्तर शिक्षा सुधारका लागि ‘टिच फर नेपाल’ नामक संस्था र धनगढी उपमहानगरपालिकाबीच सम्झौता भएको हो ।
विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । उपमहानगरपालिकाभित्रका ठेकराज माध्यामिक विद्यालय, सिद्धनाथ माध्यामिक विद्यालय, चन्द्रोदय माध्यामिक विद्यालय, बेहडाबाबा माध्यामिक विद्यालय र भवानी माध्यामिक विद्यालयमा उक्त कार्यक्रम लागु गरिने नगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।
त्यसैबीच, धनगढी उपमहानगरपालिकाले उपमहानगरका हरेक वडामा महिनाको एकपटक निःशुल्क ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले “विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक” सञ्चालन गर्दै आएको हो ।
धनगढी उपमहानगरपालिका– ४ स्थित आधारभूत स्वास्थ्य क्लिनिकमा फिजिसियन, स्त्री तथा प्रसूति र आँखासम्बन्धी बिरामीले सेवा लिएका छन् । जसमा नयाँ र पुरानो गरी जम्मा एक सय १६ जनाले सेवा लिएको बताइएको छ ।
