`

इयु र अमेरिकासँग युक्रेनको सहायतामाथि थप प्रयास गर्न स्कोल्जको आग्रह

Nepal One HD २५ माघ २०८० १८:२१
विश्व

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफल गर्न वासिङ्टन भ्रमण गर्नुअघि जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार युरोपेली सङ्घ (इयु) र अमेरिकासँग युद्धग्रस्त युक्रेनलाई सहायता आपूर्तिको प्रयासलाई तीव्र पार्न आग्रह गर्नुभएको छ ।

“हामीले मिलेर थप प्रयास गर्ने मार्ग खोज्नुपर्छ”, बर्लिनमा स्कोल्जले भन्नुभयो । उहाँले मस्कोविरुद्ध युद्धमा युरोप र अमेरिकाले किएभसँग गरेको प्रतिबद्धता ‘अझै पर्याप्त नभएको’ बताउनुभयो । स्कोल्जको प्रमुख सहयोगी अमेरिकाको भ्रमण यस्तो समयमा भएको छ जतिबेला बाइडेनद्वारा किएभका लागि प्रस्तावित ६० अर्ब डलरको सहायता प्याकेज रिपब्लिकन अराजकताका कारण सिनेटमा रोकिएको छ ।

इयुका नेताहरूले हङ्गेरीका नेता भिक्टर ओर्बनको महिनौँको विरोधलाई पराजित गर्दै गत साता युक्रेनका लागि ५० अर्ब युरो (५४ अर्ब डलर) को सहायतामा सहमति गरेका थिए । जर्मन नेता स्कोल्जले यसबाट वासिङ्टनमा प्याकेजलाई अगाडि बढाउने बाइडेनको प्रयासहरूमा सहयोग पुग्नसक्ने आशा व्यक्त गर्नुभएको छ ।

“जर्मनीले अत्यन्त ठूलो योगदान दिएको छ तर यो आफ्नै बलमा पर्याप्त हुनेछैन”, स्कोल्जले बिहीबार आफ्नो टिप्पणीमा भन्नुभयो, “अबको क्षण भनेको संयुक्तरूपमा युक्रेनलाई उसको रक्षा गर्ने अवसर दिनु प्रमुख आवश्यकता हो ।”

“एकै समयमा हामीले रुसी राष्ट्रपतिलाई उहाँ हाम्रो समर्थन कम हुने कुरामा भरोसा गर्न सक्नुहुन्न भनेर धेरै स्पष्ट सङ्केत पठाउनुपर्छ तर यो लामो समयसम्म चल्नेछ र यो धेरै ठूलो हुनेछ”, उहाँले भन्नुभयो । चान्सलर स्कोल्ज बिहीबार वासिङ्टनका लागि प्रस्थान गर्नुहुनेछ र शुक्रबार अमेरिकी राष्ट्रपति बाइडेनसँग छलफल गर्नुहुनेछ ।


प्रतिक्रिया