`

ट्राफिक प्रहरी र नाइमाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २९ पुसः नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका एक हजार ६५१ ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।

नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्याससम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको छ ।

ट्राफिक सप्ताह २०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ समुद्घाटन कार्यक्रमका अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक दानबहादुर कार्की र एशोसिएसनका बोर्ड सदस्य सौरभ ज्योतिबीच समझदारीपत्र आदानप्रदान भएको हो । समझदारीअनुसार एशोसिएसनका आफ्ना सदस्य कम्पनीको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी÷यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ ।

यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ । समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम आगामी माघ ४ गते आइतबारदेखि सुरु हुनेछ । तालिम १७ दिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ ।

तालिममा तनाव व्यवस्थापन÷ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारीसाधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्याण्ड–जेस्चर सीपलगायत विषय समेटिएका छन् ।

बागलुङमा एक लाख ९३ हजार मतदाता कायम

ढोरपाटन (बागलुङ), २९ पुसः बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।

गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म दर्ता भएको मतदाता नामावलीमा १६ देखि २८ वर्षसम्मका उमेर समूह बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर पाँच हजार २५३ मतदाता थपिएका छन् ।

मतदाता नामावली दर्ता गराउनेमा सबैभन्दा बढी युवापुस्ता छन् । जिल्ला बाहिरका १०० मतदाताले बागलुङबाट नामावली दर्ता गराएको प्रमुख रिजालले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयमै पुगेर एक हजार ४६४ जना र राष्ट्रिय परिचय प्रणालीतर्फबाट तीन हजार ९२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

बागलुङमा दुई निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं १ मा ४८ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९८ हजार ८४६ जना र क्षेत्र नं २ मा ५९ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९५ हजार ३३५ मतदाता रहेका छन् ।

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ, २९ पुसः प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।

आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो ।

आयोगका अनुसार, जनमत पार्टी, नेकपा(एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका तर्फबाट बन्द सूचीमा रहेका नाम फिर्ता लिइएको हो । जनता समाजवादी पार्टीको २१ जनाले नाम फिर्ता लिएका छन् भने जनमत पार्टीका तर्फबाट २० जनाले नाम फिर्ता लिएका छन् ।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएकाले बन्दसूची मिलाउनका लागि केहीको नाम फिर्ता लिएर नयाँ व्यवस्थापन गरिएको सो दलले जनाएको छ । अन्तिमसूची सार्वजनिक हुँदा केही सङ्ख्या थप हुनसक्ने आयोगले प्रष्ट पारेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । यही पुस १३ र १४ गते बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने व्यवस्था छ ।

ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ, २९ पुसः नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गर्न लागेको छ । सो प्रसारण लाइन काठमाडौँको तीनपिप्लेमा जोडिनेछ । तीनपिप्लेमा प्राधिकरणले सवस्टेशन निर्माण गरिरहेको छ । सो प्रसारण लाइन धादिङको धुनीबेँसी, नुवाकोटको ककनी र काठमाडौँको तारकेश्वरको तिनपिप्लेसम्म निर्माण हुने हुनेछ ।

सो प्रसारण लाइन र सवस्टेशन आयोजना कार्यान्वयन गर्दा आयोजना प्रभावित क्षेत्रको भौतिक तथा रासायनिक वातावरणीय, सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरणमा क–कस्तो प्रभाव पर्दछ भनी अध्ययन गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्रारम्भिक अध्ययन भइसकेको वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदाका आधारमा सरोकारवालाको आवश्यक सुझावका आधारमा थप समृद्ध बनाउन लागिएको हो ।

प्राधिकरणले आज धुनीबेँसी नगरपालिका–१ सिम्खडा गाउँमा सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम तय गरेको छ । सोमबार तारकेश्वर नगरपालिकाको कोट गाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ । सार्वजनिक सुनुवाइका क्रममा उठेका विषयवस्तुलाई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा समावेश गरिने प्राधिकरणको प्रष्टोक्ति छ ।

अविरल वर्षापछिको बाढीले रौतहटमा धान उत्पादन घट्यो

चन्द्रपुर (रौतहट): २९ पुसः गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो ।

गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कूल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष जिल्लामा एक लाख १६ हजार ७०८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ९५ हजार १३० मेट्रिकटन उत्पादन भएको छ ।

यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने प्रतिहेक्टर उत्पादन ३ दशमलव ०२ मेट्रिकटन रहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिनुभयो । गत वर्ष रौतहटमा ३५ हजार आठ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । प्रतिहेक्टर उत्पादन ३ दशमलव २६ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर धान उत्पादन ० दशमलव २४ प्रतिशतले घटेको छ । यस वर्ष कूल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको निमित्त प्रमुख कुर्मीले बताउनुभयो ।

समयमै वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष करिब चार हजार ३०० हेक्टर क्षेत्रफलमा कम धान रोपिएको कार्यालयले जनाएको छ । गत असोजमा आएको बाढीले १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पु¥याएको थियो । बकैया र बागमती नदीले तटबन्ध बगाएपछि बाढी खेतमा पस्दा धान बालीमा क्षति पु¥याएको हो । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधवनारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा क्षति पु¥याएको थियो ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ६४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १२ पैसा र बिक्रीदर नौ रुपैयाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५१ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ, २९ पुसः अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् ।

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् । पुसअगावै कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय गौरवको कोरला सडक खण्डअन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ । उहाँका अनुसार कोरला सडकअन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी–छुसाङ) ९ दशमलव ८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी–छुसाङ सडक कालोपत्र गर्न आयोजनाले रु २८ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले रु ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि यहाँको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ । भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । यहाँ एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ ।

यसैगरी, कोरलानाका जोड्ने राष्ट्रय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ ।

विसं २०७३÷७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सडक निर्माण सुरु गरिएको भए पनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पूरा हुन सकेको छैन । यद्यपि यहाँको सडकमा करिब पाँच किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । निर्माण कम्पनीले सक्रियता बढाएको भए पुसअगावै निर्माणको काम सकिने आयोजनाको विश्वास थियो ।

यसैगरी, कोरला सडकअन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो । अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौँ सङ्घीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका हुन् । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ र चालु वर्ष थपिएका १३ नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीले जानकारी दिनुभयो ।

सवइञ्जिनियर जोशीका अनुसार घरपझोङ–२ मार्फास्थित आलबारी जाने सडकमा कटिङको काम भइरहेको भए पनि कार्यालयद्वारा कार्यान्वयनमा रहेका अधिकांश योजना चिसोका कारण स्थगित गर्नुपरेको उहाँले बताउनुभयो । पुराना बहुवर्षीय योजना विभिन्न कारणले अवरुद्ध भएका र कतिपय निर्माणको चरणमा रहँदा चिसोले काम हुन सकेको छैन । नयाँ योजनामध्ये तीन बहुवर्षीय योजनाको प्रक्रियामा रहेको र कतिपय ठेक्का प्रक्रियामा छन् । ठेक्का सम्झौता भई सुरु भएका नयँ योजना पनि हिउँदयाम भएकाले पूर्वाधारको काम अघि बढाउन नसकिएको सवइञ्जिनियर जोशीको भनाइ छ ।

मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खानेपानी, जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), एकीकृत सेवा कार्यालयलगायत मुस्ताङका पाँच स्थानीय तह र विभिन्न सङ्घसंस्थाको भौतिक पूर्वाधार निर्माणलगायत काम चिसोले प्रभावित बनेको हो । विकास निर्माण कार्यअन्तर्गत यहाँका प्रत्येक स्थानीय तहमा ५० भन्दाबढी साना ठूला पूर्वाधार योजना कार्यान्वयनमा छन् । तर यी सबै योजना अत्यधिक चिसोका कारण ठप्प बनेका छन् ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले बर्सेनि हिउँदयामको मौसममा चिसो र सम्भावित हिमपातको जोखिमले विकास निर्माण काम चाहेर पनि गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । “हिउँदयाममा यहाँका नागरिक पूरै जाडो छल्न बँेसी झर्छन्, यहाँका चिसोमा काम गर्नलाई पनि चिसोले उस्तै समस्या हुन्छ,” अध्यक्ष गुरुङले भन्नुभयो, “चिसो घटेपछि वैशाख महिनामा विकास निर्माणको काम अघि बढाउन सकिन्छ, चिसोले यहाँका स्थानीय नागरिक स्वंय प्रभावित हुन्छन् ।”

चिसोका कारण यहाँको घरपझोङ, थासाङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित सबै विकास योजना ठप्प बनेको बताइएको छ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङका अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडिसकेका छन् । मुस्ताङमा चिसो अत्यधिक बढे पनि यहाँका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी सम्बन्धित कार्यस्थलमा रहेर शान्तिसुरक्षा प्रदानमा खटिएका छन् । माथिल्लो मुस्ताङ मानविहीन जस्तै अवस्थामा रहे पनि त्यहाँ कार्यरत दुर्गमका कर्मचारी नागरिकको रित्तो घर गाउँ कुरेर बसेका छन् ।

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती, २८ पुसः आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ ।

बामगती प्रदेश निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवारी दर्ता गराएका छ जना उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको हो ।

बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी छ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य क्लस्टरबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन् । ती उम्मेदवारहरुलाई सम्बन्धित दलकै चुनाव चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

एक सय १० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारअनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका ११० र स्थानीय तहतर्फ २३८ गरी ३४८ मतदाता छन् भने १० हजार ३५२ मतभार रहेको छ ।

बागमती प्रदेशमा नेपाली कांग्रेसको प्रदेशसभामा ३७ र स्थानीय तहतर्फ १०८ जना जनप्रतिनिधि छन् । सो सङ्ख्या अनुसार कांग्रेसको चार हजार १३ मतभार छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीसँग दुई हजार ७३८ मतभार छ ।

बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई हजार ५७१ मत मतभारसहित तेस्रो स्थानमा छन् । प्रदेशसभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ७०८ मतभार छभने नेपाल मजदुर किसन पार्टीको १९७ मतभार, हाम्रो नेपाली पार्टीको १०६ मतभार र स्वतन्त्रको १९ मतभार छ ।

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ, २८ पुसः महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।

विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागू हुनेगरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको उपचार गरेबापतको भुक्तानी उपलब्ध नगराएपछि सेवा सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

आन्तरिक स्रोतबाट अस्पतालले सबै किसिमका दैनिक खर्च व्यहोर्नुपर्ने हुँदा मासिक रु दुई करोड नोक्सान हुने भएपछि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको सूचना अधिकारी रोस्याराको भनाइ छ ।

“स्वास्थ्य बिमाबाट उपचारमा आउने बिरामी सङ्ख्या तथा चाप दिनहुँ वृद्धि हुँदै गएको छ । यसबाट मासिक रु पाँच करोड हाराहारीको खर्च हुनेमा बिमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृति गरी बाँकी अस्वीकृत गर्दै आएको छ । हालसम्म अस्पतालको बिमा दाबी रकम करिब रु ४० करोड भुक्तानी बाँकी छ” अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

अस्पतालमा आउने बिरामीको उपचार क्रममा बिमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको बताउँदै सूचना अधिकारी रोस्याराले अस्पताल प्रशासनले बारम्बार ‘अस्पतालको रकमलाई अन्तिम मानिदिनु’ भनी दुई वर्षदेखि गरेको आग्रहको कुनै सुनवाइ नभएको उल्लेख गर्नुभयो ।

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौँ, २८ पुसः जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी काठमाडौँको झोरबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कारागारबाट फरार सिन्धुलीको तीनपाटन गाउँपालिका–६ बस्ने ५० वर्षीय गुञ्जबहादुर श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय कायम भई २०७३ असार २९ देखि जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए ।

जेनजी आन्दोलनका क्रममा फरार रही काठमाडौँ उपत्यकामा लुकीछिपि बसेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ गरी उनलाई कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको हत्या गरेपछि हमासले आफ्नो नेतृत्व पुनर्निर्माणका लागि आन्तरिक निर्वाचन गर्ने तयारी गरिरहेको छ ।

नेतृत्व चयनबारे हमासका एक नेताले एएफपीसँग भने, “जमिनको परिस्थितिले अनुमति दिएका उपयुक्त समयमा नेतृत्वको निर्वाचन गर्न आन्तरिक तयारी भइरहेको छ ।नेतृत्वका लागि आन्तरिक निर्वाचन ‘सन् २०२६ को पहिलो केही महिनाभित्र’ हुने अपेक्षा गरिएको छ।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको युद्धको क्रममा समूहको अधिकांश शीर्ष नेतृत्व ध्वस्त भएको छ।युद्धले गाजा पट्टीलाई पनि तहसनहस पारेको छ, जसका कारण यहाँका २० लाखभन्दा बढी बासिन्दाहरू गम्भीर मानवीय अवस्थामा परेका छन् ।

नेतृत्व नवीकरण प्रक्रियामा नयाँ ५० सदस्यीय शूरा काउन्सिलको गठन पनि समावेश हुनेछ, जुन धार्मिक व्यक्तित्वहरूको प्रभुत्व रहेको परामर्शदाता निकाय हो।

यसका सदस्यहरू प्रत्येक चार वर्षमा हमासका तीन शाखाहरूः गाजा पट्टी, इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैङ्क र हमास आन्दोलनको बाह्य नेतृत्वद्वारा चयन गरिन्छ ।

नेतृत्वका लागि इजरायली जेलमा रहेका हमासका कैदीहरू पनि मतदान गर्न योग्य हुनेछन्।युद्धअघि आयोजित अघिल्लो चुनावको समयमा गाजा र वेस्ट बैङ्कका सदस्यहरू मस्जिदसहित विभिन्न स्थानहरूमा शूरा काउन्सिल छनौट गर्न भेला हुन्थे।त्यो परिषद प्रत्येक चार वर्षमा १८ सदस्यीय राजनीतिक ब्यूरो र हमासको समग्र नेताको रूपमा काम गर्ने यसका प्रमुखहरू चयन गर्न जिम्मेवार हुन्छ ।

यस प्रक्रियासँग नजिक रहेको हमासको अर्को स्रोतले भन्यो, “हाम्रा जनताले जुन परिस्थितिबाट गुज्रिरहेका छन् यस समयमा राजनीतिक ब्यूरो चुनाव अनिश्चित छ ।

इजरायलले सन् २०२४ जुलाईमा तेहरानमा हमासका पूर्व प्रमुख इस्माइल हनियेहको हत्या गरेपछि उक्त समूहले गाजाका तत्कालीन प्रमुख याह्या सिनवारलाई आफ्नो उत्तराधिकारीको रूपमा चयन गरेको थियो ।

इजरायलले सिनवारमाथि अक्टोबर ७ को आक्रमणको योजनाकार रहेको आरोप लगाएको छ । उहाँ हनियेहको हत्याको तीन महिनापछि गाजाको दक्षिणी शहर राफामा इजरायली सेनाको आक्रमणमा मारिनुभएको थियो ।

त्यसपछि हमासले इजरायलको निशानामा पर्ने जोखिमलाई मध्यनजर गर्दै चुनाव नभएसम्म एकल नेताको नियुक्ति स्थगित गर्यो र कतारमा रहेका पाँच सदस्यीय अन्तरिम नेतृत्व समितिको विकल्प रोजेको थियो ।

स्रोतका अनुसार अहिले दुई व्यक्तिहरू, खलील अल–हैया र खालिद मेशाल, राजनीतिक ब्यूरोको प्रमुखको रूपमा अगाडि देखा परेका छन् । अमेरिकास्थित गैरसरकारी संस्था काउन्टर–एक्सट्रीमिज्म प्रोजेक्ट (सिइपी) का अनुसार गाजाका बासिन्दा र युद्धविराम वार्तामा हमासका प्रमुख वार्ताकार ६५ वर्षीय हैयाले करिब सन् २००६ देखि वरिष्ठ भूमिकामा रहनुभएको छ ।

सन् २००४ देखि २०१७ सम्म पोलिटिकल ब्युरोको नेतृत्व गरेका मेशाल गाजामा कहिल्यै बस्नुभएको छैन । उहाँको जन्म सन् १९५६ मा वेस्ट बैङ्कमा भएको थियो ।

उहाँ कुवेतमा हमासमा सामेल हसनुभएको थियो र पछि जोर्डन, सिरिया र कतारमा बस्नुभएको थियो । सिइपीका अनुसार “उहाँले लामो समयदेखि हमासको राजनीतिक–सैन्य शाखाको विकासमा नेतृत्व गर्नुभएको छ ।उहाँ हाल आन्दोलनको विदेश विभागको प्रमुख हुनुहुन्छ ।

गाजास्थित हमासका एक सदस्यका अनुसार “हैया प्यालेस्टिनी प्राधिकरणमा प्रभुत्व जमाउने प्रतिद्वन्द्वी फताहसहित अन्य प्यालेस्टिनी समूहहरूसँग उहाँको सम्बन्ध र उहाँको क्षेत्रीय स्थितिका कारण बलियो दावेदार मानिनुहुन्छ । हैयालाई शुरा काउन्सिल र हमासको सैन्य शाखा, एजेदिन अल–कसम ब्रिगेड दुवैबाट समर्थन प्राप्त छ ।

अर्को स्रोतले बताएअनुसार अन्य सम्भावित उम्मेदवारहरूमा वेस्ट बैङ्क हमासका नेता जाहेर जबरिन र शुरा काउन्सिलका प्रमुख निजार अवादल्लाह पनि नेतृत्वका लागि दावेदार रहनेछन् ।

महासचिव पोखरेलको दाबी – आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा हुनेछ

काठमाडौँ, २८ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका पक्षमा हुने बताउनुभएको छ ।

बागमती प्रदेश सङ्गठन कमिटीले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने बताउनुभयो ।

उहाँले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घरघरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गर्नुभयो । “हामी धेरै गतिविधि गर्दैछौँ । मुख्य कुरा जनताको घरघरमा पुगेर संवाद गर्नु हो, तर त्यो हामीले अहिलेसम्म गर्न सकेका छैनौँ । त्यो हाम्रो कमजोरी हो”, उहाँले भन्नुभयो, “पहिले हामी हरेक व्यक्तिका घरघर पुगेर संवाद गथ्र्यौँ । उनीहरुलाई एमाले बनाउन मेहनत गथ्र्यौँ । तर पछिल्लो समय हामी उम्मेदवारका पछाडि मात्र देखिन थालेका छौँ ।”

महासचिव पोखरेलले उम्मेदवारको अगाडि पछाडि घुमेर चुनावी सफलता प्राप्त गर्न नसकिने बताउनुभयो । उहाँले चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग जोडिएको बताउनुभयो । “चुनावी अभियानमा चुक्यौँ भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्ने छ । त्यसैले चुनावी अभियानमा जुट्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशले सबै निर्वाचन क्षेत्र जित्ने गरी रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष नारायण सिलवालले कमिटीले निर्वाचन केन्द्रित अभियान सुरु गरेको जानकारी दिनुभयो ।

निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ बनाउन आयुक्त डा तुलाधरको आग्रह

नेपालगञ्ज, २८ पुसः निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ । आज जिल्ला सुरक्षा समिति, बाँकेको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिबाट हालसम्म भएका तयारी र क्रियाकलापबारे उहाँले जानकारी लिनुभएको थियो ।

सो अवसरमा आयुक्त तुलाधरले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगबाट गरिएका प्रयास, भएका निर्देशन र व्यवस्थापनको जानकारी दिँदै सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक कार्य गरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आग्रह गर्नुभएको हो ।

“अहिलेसम्म निर्वाचनका सन्दर्भमा जिल्ला सुरक्षा समितिले गरेका काम, नीतिगत व्यवस्था र सुरक्षा रणनीतिका विषयमा छलफल भयो”, बाँकेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रासससँग भन्नुभयो ।

सुरक्षा समितिको बैठकले जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णयसमेत गरेको प्रजिअ तामाङले जानकारी दिनुभयो ।

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौँ, २८ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका साथै समुन्नत नेपाल निर्माणका लागि डिजिटल रुपान्तरण अनिवार्य भएको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय एआई केन्द्र तथा एसियाली विकास बैंक (एडिबी)को संयुक्त आयोजनामा आज आयोजित नेपाल एआई संवाद शृङ्खलाको उद्घाटन गर्दै मन्त्री खरेलले नेपालले ‘डिजिटल हाइवे’ निर्माणलाई अगाडि बढाइरहेको सन्दर्भमा एआईसम्बन्धी बहस एआई नीति कार्यान्वयनका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आजको राष्ट्रिय एआई नीति संवाद केवल नीति निर्माणको विषय मात्र होइन, यो सम्भावनाको प्रतीक हो, जहाँ प्रविधि, शासन प्रणाली र नयाँ पुस्ताका आकांक्षाहरू एकापसमा भेटिन्छन् ।” उहाँले भ्रष्टाचार र सुशासनका लागि उठेको जेनजी आन्दोलन केवल विरोध प्रदर्शन मात्र नभई मूल्य र मान्यताहरुको स्पष्ट घोषणा भएको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले नेपालको एआई नीति जारी भएसँगै राष्ट्रिय एआई केन्द्र स्थापना गरेर डिजिटल रुपान्तरणको आधार तयार गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो त केवल सुरुआत मात्र हो, वास्तविक परीक्षा भनेको कार्यान्वयन हो । यसको उद्देश्य रोजगारी, नवप्रवद्र्धन र प्रत्येक नागरिकको जीवनमा असर पार्ने सेवामा रुपान्तरण गर्नु हो ।”

मन्त्री खरेलले एआई कुनै ढाँचाको अवधारणा नभई यसले विश्वभर अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, कृषि र शासन प्रणालीलाई पुनः आकार दिइरहेको बताउनुभयो । उहाँले नेपालका लागि एआई भूगोल, कमजोर पूर्वाधार र सीमित स्रोतका अवरोधहरुलाई छलाङ मारेर पार गर्ने अवसर भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले राष्ट्रिय एआई नीतिको कार्यान्वयन गरेर मुलुकलाई डिजिटल रुपान्तरणको दिशामा अगाडि बढाउन छलफल सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।

पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

करीव तीन महिना भन्दा बढी समय देखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार कोरिडोरको नाकाबंदीले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अरबौं रुपियाँको आर्थिक क्षति पुर्याएको व्यापारिक प्रतिनिधिहरूलाई उदृत गर्दैै डन समाचारले रिपोर्ट गरेको छ ।

उनीहरुका अनुसार सीमापार व्यापारको अवरोधले निर्यात, आपसी वाणिज्य, यातायात लगायत राज्यको राजस्वमा नराम्रो असर पारेको छ । जसले देशको समग्र अर्थतन्त्रमा विशेष गरी खैबर पख्तुनख्वालाई गम्भीर धक्का दिएको छ, जहाँ व्यापारीहरू अफगानिस्तानसँगको वाणिज्यमा धेरै निर्भर थिए ।

पाकिस्तान–अफगानिस्तान जोइन्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका वरिष्ठ उपाध्यक्ष जियाउल हक सरहदी र सरहद चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका सदस्य मञ्जुर इलाहीले संयुक्त प्रेस विज्ञप्ति मार्फत यस्तो टिप्पणी गरेको जनाइएको छ ।

अफगानिस्तानमा पाकिस्तानको निर्यातको ९० प्रतिशत भन्दा बढी खैबर पख्तुनख्वाका नाकाहरु मुख्यतया तोरखाम सिमा हुँदै हुने उनीहरूले बताएका छन् ।

व्यापारीहरुका अनुसार प्रान्तले सिमेन्ट, कपडा, औषधि, निर्माण सामग्री र कृषि उत्पादन जस्ता सामान रोकिए पछि २.५ अर्बको निर्यात घाटा बेहोरेको अनुमान गरिएको छ । यस बाहेक, खैबर पख्तुनख्वाले व्यापार गतिविधिमा कमी र भन्सार आयमा कमीका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा करिब २.५ अर्ब राजस्व गुमाएको छ ।

प्रान्तका निर्यातकहरूले हरेक दिन ४० लाख अमेरिकी डलर भन्दा बढीको नोक्सान भोगिरहेको उल्लेख गर्दै अरबौं रुपैयाँ मूल्यका सामानहरू फसेको र औषधि लगायतका सामाग्रीको समयावधि सकिएपछि अपूरणीय आर्थिक क्षति हुने सम्भावना रहेको डनले जनाएको छ ।

व्यापक आर्थिक प्रभावहरू औंल्याउँदै, व्यापारीहरूले निरन्तर सीमा बन्द हुँदा कारखाना बन्द र रोजगारी गुमाउने चेतावनी दिए । उनीहरूले खैबर पख्तुनख्वाको औद्योगिक क्षेत्रको ९० प्रतिशतसम्म आयात र निर्यातका लागि अफगान बजारमा निर्भर रहेको उल्लेख गर्दै जारी अवरोधले बेरोजगारी र बढ्दो आर्थिक कठिनाइको बीचमा क्षेत्रीय अस्थिरता बढाउने बताएका छन् ।

उनीहरूले अफगानिस्तानले इरान र मध्य एसियाली राज्यहरूमा व्यापार घुमाउँदै जाँदा खैबर पख्तुनख्वामा आधारित व्यापारीहरूका लागि बजारमा स्थायी नोक्सान निम्त्याउँदै गर्दा दीर्घकालीन प्रभावहरू कडा हुन सक्ने चेतावनी दिए ।
हालैको एक प्रतिवेदनलाई उद्धृत गर्दै उनीहरूले पाकिस्तान–अफगानिस्तान द्विपक्षीय व्यापार ५३ प्रतिशतले घटेर चालु आर्थिक वर्ष (२०२५–२६) को पहिलो अर्ध–वार्षिकमा ५९ करोड ४० लाख डलरमा झरेको जनाएका छन् जुन अघिल्लो वर्षको समान अवधिमा १.२६ अर्ब डलर थियो ।डनको रिपोर्टका अनुसार बन्दले यस क्षेत्रका व्यवसाय, राजस्व, रोजगारी र स्थिरतामा हानिकारक प्रभाव पारेको छ ।

हामी अझै त्यहाँ पुगेका छैनौँ’: युक्रेनबारे पुटिनसँग वार्ताको बहसबारे इयूको धारणा

फ्रान्स र इटालीका नेताहरूले युरोप युक्रेन युद्धको बारेमा रूसका भ्लादिमिर पुटिनसँग वार्ता गर्न सक्रिय हुने समय आएको बताएपछि युरोपेली सङ्घले सोमबार युक्रेनमा अझै अनुकूल अवस्था नभएको बताएको छ ।ईयूका प्रवक्ता पाउला पिन्होले भन्नुभयो, “कुनै बिन्दुमा राष्ट्रपति पुटिनसँग पनि वार्ता गर्नुपर्नेछ र यस बीचमा धेरै काम भइरहेको छ । दुर्भाग्यवस, हामी राष्ट्रपति पुटिनको कुनै सङ्केत देखिरहेका छैनौं।”

“हामी अझै त्यहाँ छैनौं, हामी वास्तवमै आशा गर्दछौँ कि तर कुनै बिन्दुमा केही त्यस्ता वार्ताहरू हुनेछन् जसले अन्ततः युक्रेनमा शान्तिको नेतृत्व गर्नेछ।”इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले शुक्रबार युरोपेली सङ्घले रुससँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने समय आएको बताउनुभएको छ।

गत डिसेम्बरमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले युरोपले आगामी हप्तामा क्रेमलिनसम्म पुग्नका लागि ‘फ्रेमवर्क’ खोज्नुपर्ने बताउनुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रुसको युद्ध अन्त्यका लागि युरोपले आफ्नो प्रभाव बढाउन खोजेका बेला युरोपेली सङ्घका दुई मध्यस्थ शक्तिहरूले यो आह्वान गरेका हुन् ।

ट्रम्पले पुटिनसँग पटक–पटक कुराकानी गर्दै आउनुभएको छ भने अमेरिकी वार्ताकारहरुले मस्कोका समकक्षीसँग कैयौँ चरणको वार्ता गरिसकेका छन् ।

युरोप र युक्रेनले अमेरिकासँग शान्तिका लागि नयाँ प्रस्ताव अघि सारिरहेका छन् जुन किएभलाई बढी स्वीकार्य छ।पुटिनसँग कुरा गर्न कुनै पनि दबाबले रूससँग व्यवहार गर्न गम्भीर रूपमा सतर्क समूहको पूर्वी सीमामा रहेका अधिक आक्रामक देशहरूको प्रतिरोधको सामना गर्नुपर्नेछ ।

खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द

चौतारा, २८ पुसः चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।

चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो । आइतबार राति न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिनुभयो । आगो फैलँदै गएपछि स्थानीय तथा पर्यटक आवतजावतसँगै मालबाहक सवारीसाधनको आवागमनसमेत बन्द गरिएको उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षक राईका अनुसार गत वर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको छ । आजदेखि नाका बन्द भएपछि सामान बोकेका कन्टेनर रोकिएर समस्या भएको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो ।

सुदूरपश्चिममा २० हजार ७२७ नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने

सुदूरपश्चिम, २८ पुसः आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २० हजार ७२७ नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने भएको छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गर्न लागिएको हो । परिचालन गरिनेमध्ये सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय, निर्वाचन सेलका प्रहरी निरीक्षक धर्म विष्टले भन्नुभयो, “निर्वाचन सुरक्षा योजनाअनुसार मतदानस्थलको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी खटिने छन्, हरेक मतदान केन्द्रमा तीन प्रहरी सङ्ख्या बराबर पाँच जनाका दरले निर्वाचन प्रहरी परिचालित हुँदैछन् ।”

यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेना पनि आ आफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेको कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।

प्रदेशका सबै नौ जिल्लामा ३०२ मतदानस्थललाई सामान्य, ३९५ मतदानस्थललाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशील निर्वाचनस्थल तोकेर सोहीअनुसारको सुरक्षा व्यवस्थापन मिलाउन लागिएको छ । निर्वाचनका लागि प्रदेशभर एक हजार १७८ मतदानस्थल र दुई हजार १८६ मतदान केन्द्र कायम गरिएको छ ।

प्रदेशको कैलाली जिल्लामा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, बझाङ, डोटी, बाजुरा, दार्चुला, बैतडी र डडेलधुरामा एक/एक गरी १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् ।

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : उद्योगमन्त्री सिन्हा

काठमाडौँ, २८ पुसः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताउनुभएको छ । नेपाल जर्मन चेम्बर अफ कमर्सको ३० औँ र ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपाल र जर्मनको व्यवसाय साझेदारीमा निरन्तरता दिँदै ‘पिपुल टु पिपुल कनेक्सन’मा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपालका लागि जर्मनका राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनबीचको व्यवसायमा सहकार्य गर्न उत्साहित रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआइ)का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले खुलेर स्वस्थ व्यवसाय गर्ने वातावरणको आवश्यकता औँल्याउनुभयो । कमर्सका अध्यक्ष सन्तोष कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । “हामीलाई युरिया मल न्यूनतम पनि सात लाख मेट्रिक टन चाहिन्छ ।

तर, हामीले तीन लाख मेट्रिक टन पनि ल्याउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले जर्मनबाट डिटेल प्रोजेक्ट रिपोर्ट बनाई नेपालमा मल कारखाना सञ्चालन गर्ने भनेर लगानी बोर्डमा जुन प्रस्तावना पेस भएको छ, यसलाई सबैले मिलेर लागू गराउनुपर्छ ।”

एन्फाको निर्वाचन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, २८ पुसः उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को निर्वाचन गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कृपासुर कार्कीको एक इजलासले आज एन्फाको निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्नु नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

“उम्मेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचन सम्बन्धीको अन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी विपक्षीको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ । एन्फाले आगामी माघ २८ गते निर्वाचन हुने तालिका सार्वजनिक गरेको थियो । अदालतले दुवै पक्षको छलफलका लागि आगामी माघ ६ गते पेशी तोकिएको छ ।

अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद्लाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा आगामी असार ४ गतेसम्म वर्तमान कार्यसमितिको कार्यकाल रहेकाले अग्रिम चुनाव नगर्न आदेश माग गरिएको थियो ।

अदालतले आधार, कारण र प्रमाण भए सवूद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीले आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनपत्रको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु भनेको छ ।

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौँ, २८ पुसः नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको छ ।

आज दुई पार्टीबीच दुई बँुदे सहमति गर्दै पार्टी एकता भएको हो । लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको मुद्दालाई नेकपाको आन्तरिक जनवादमा छलफल र बहसमार्फत टुङ्गो लगाउने सहमति भएको छ ।

सहमतिपत्रमा भानिएको छ, “नेपाली कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद वैज्ञानिक समाजवादलाई स्वीकार गर्दै लिम्बुवानको पहिचानको मुद्दालाई उठाइरहेको पार्टी लिम्बुवान क्रान्तिकारी पार्टीबीचमा दुई बुँदाहरूमा एकता गर्ने सहमति गरियो ।”

यसैगरी लिम्बुवान पार्टीका सबै तहका समितिलाई सम्मानका साथ उपयुक्त ढङ्गले समायोजन गर्ने पनि सहमति भएको छ ।

आगामी निर्वाचनमार्फत परिवर्तनका आधार तयार गनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, २८ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत परिवर्तनको आधार तयार गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २० औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न तयार हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री खरेलले भन्नुभयो, “मुलुकले परिवर्तन खोजेको छ, निर्वाचनबाट जुनसुकै पार्टी भए पनि राम्रो नेतृत्व ल्याउनुपर्छ, अब पुरानै प्रवृत्तिलाई नदोरिने अवस्था निर्माण गर्न आवश्यक छ ।”

उहाँले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताउनुभयो । मन्त्री खरेलले दल र नेताको दबाब तथा प्रभावमा परेर पदको लोभ गर्नुभन्दा स्वतन्त्र रूपमा राम्रो कर्म गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले इक्यानसँग आफू पत्रकार हुँदादेखि सहकार्य गरेको उल्लेख गर्दै आफू जुनसुकै पद र पेसामा भए पनि सहयोग रहने प्रतिबद्धतासमेत जनाउनुभयो । मन्त्री खरेलले इक्यानले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र आबद्ध व्यवसायीले देशको अर्थतन्त्रमा सहयोग गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा इक्यान अध्यक्ष शेषराज भट्टराईले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

पर्यटन बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर

गोदावरी (कैलाली), २८ पुसः नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गर्न धनगढी नगर विकास समिति र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा बोर्डको कार्यालय स्थापना गर्ने निर्णयअनुसार उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारीपत्रमा नगर विकास समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारीअनुसार नगर विकास समितिले प्रदेश कार्यालय सञ्चालनका लागि कम्तीमा तीन कोठा र शौचालयसहितको भवन उपलब्ध गराउनुका साथै भवनमा विद्युत्, खानेपानी र ढल व्यवस्थाको उपयुक्त व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको उपमहानगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।

पर्यटन बोर्डले कार्यालय सञ्चालनका लागि भवनको सरसफाइ, सौन्दर्यीकरण, फर्निचर तथा आवश्यक कार्यालय सामग्रीको व्यवस्थापन गर्नुपर्ने समझदारी पत्रमा उल्लेख छ । उपलब्ध भवनको मर्मतसम्भार, विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेटको शुल्क बेहोर्ने तथा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने दायित्व पनि बोर्डकै रहने उपमहानगर प्रमुख हमालको भनाइ छ ।

समझदारीपत्रको अवधि हस्ताक्षर भएको मितिदेखि पाँच वर्षको हुने र आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । कुनै कारणवश कार्यालय सार्नुपर्ने वा भवन खाली गराउनुपर्ने अवस्था आएमा कम्तीमा एक महिनाअघि कारणसहित लिखित सूचना दिनुपर्ने प्रावधान राखिएको छ ।

समझदारीपत्रमा उल्लिखित विषयमा कुनै संशोधन वा थप स्पष्टता आवश्यक परेमा दुवै पक्षको आपसी सहमतिमा गर्न सकिने जनाइएको छ । बोर्डको आर्थिक वर्ष २०८२÷८३ को बजेट विनियोजनअनुसार धनगढीमा प्रदेश कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको जनाइएको छ ।पर्यटन बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर
गोदावरी (कैलाली), २८ पुसः नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गर्न धनगढी नगर विकास समिति र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा बोर्डको कार्यालय स्थापना गर्ने निर्णयअनुसार उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारीपत्रमा नगर विकास समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारीअनुसार नगर विकास समितिले प्रदेश कार्यालय सञ्चालनका लागि कम्तीमा तीन कोठा र शौचालयसहितको भवन उपलब्ध गराउनुका साथै भवनमा विद्युत्, खानेपानी र ढल व्यवस्थाको उपयुक्त व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको उपमहानगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।

पर्यटन बोर्डले कार्यालय सञ्चालनका लागि भवनको सरसफाइ, सौन्दर्यीकरण, फर्निचर तथा आवश्यक कार्यालय सामग्रीको व्यवस्थापन गर्नुपर्ने समझदारी पत्रमा उल्लेख छ । उपलब्ध भवनको मर्मतसम्भार, विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेटको शुल्क बेहोर्ने तथा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने दायित्व पनि बोर्डकै रहने उपमहानगर प्रमुख हमालको भनाइ छ ।

समझदारीपत्रको अवधि हस्ताक्षर भएको मितिदेखि पाँच वर्षको हुने र आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । कुनै कारणवश कार्यालय सार्नुपर्ने वा भवन खाली गराउनुपर्ने अवस्था आएमा कम्तीमा एक महिनाअघि कारणसहित लिखित सूचना दिनुपर्ने प्रावधान राखिएको छ ।

समझदारीपत्रमा उल्लिखित विषयमा कुनै संशोधन वा थप स्पष्टता आवश्यक परेमा दुवै पक्षको आपसी सहमतिमा गर्न सकिने जनाइएको छ । बोर्डको आर्थिक वर्ष २०८२÷८३ को बजेट विनियोजनअनुसार धनगढीमा प्रदेश कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको जनाइएको छ ।

कांग्रेस विशेष महाधिवेशनः मङ्गलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ, २८ पुसः नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ ।

मङ्गलबार बिहान ९ः०० बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । “पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ”, संयोजक पोखरेलले भन्नुभयो ।

उहाँले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

चेम्बरको विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक गरेको छ । चेम्बरको अगुवाइमा नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड (नेपा), इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज, इभेन्ट एण्ड भेन्यू एशोसिएसन नेपाललगायतका संस्थाको सहकार्यमा उक्त पुस्तिका सार्वजनिक गरिएको हो ।

पुस्तिकामा भूकम्प, बाढी, पहिरो, भू–क्षयलगायत प्राकृतिक विपद्बाट हुने सम्भावित क्षति न्यूनिकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटिएको छ । पुस्तिक सार्वजनिक समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले सुरक्षित भविष्य निर्माणका लागि राज्य, निजी क्षेत्र र समुदाय सबैको सामूहिक जिम्मेवारी अपरिहार्य रहेको बताउनुभयो ।

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ – नेता कार्की

काठमाडौँ – नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताउनुभएको छ ।

सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा आज भएको पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसहितको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले पार्टी एकढिक्का राख्न संवाद जारी रहेको बताउनुभएको हो ।

छलफलमा पार्टीलाई एकजुट बनाएर देशलाई अहिलेको सङ्कटबाट मुक्त गरेर जनताको चाहनाअनुसार पार्टी अगाडि बढ्नुपर्नेमा सबैको जोड रहेको नेता कार्कीको भनाइ थियो ।

यसैगरी पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले हदैसम्म लचक भएर पार्टी विभाजनलाई रोक्न र पार्टी एकता कायम राख्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । त्यसका लागि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग संवाद भइरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २८ पुस : प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गर्नुभएको छ ।

आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाउनुभएकोमा बधाइ ज्ञापन गर्दै सफलताको शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायल बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकामा खुसी व्यक्त गर्नुभयो । त्यसैगरी दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पु-याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । साथै, हालै मात्र दुई मुलुकबीचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी ‘प्रोटोकल’हरु पारित भएकामा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा इजरायल सरकारलाई धन्यवाद दिँदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको जानकारी गराउनुभयो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा केही थप महत्वपूर्ण कार्यको थालनी गर्ने कुरामा जोड दिइएको थियो ।

आगामी माघ २ गते २८औँ भूकम्प सुरक्षा दिवस मनाउने सरकारको तयारी

काठमाडौँ – सरकारले आगामी माघ २ गते देशभर २८औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरेको छ । ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ यस दिवस देशव्यापी रूपमा मनाइने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक इ रविन्द्र बोहराले काठमाडौँ महानगरपालिकास्थित खुलामञ्चमा मूल समारोह आयोजना गरिने जानकारी दिनुभयो । उहाँकाअनुसार दिवसका दिन बसन्तपुरबाट सुरु हुने भूकम्प सुरक्षा ¥याली आकाशभैरव, इन्द्रचोक र असन हुँदै खुलामञ्च पुग्नेछ । ¥यालीपछि प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम आयोजना हुनेछ । सोही स्थानमा दुई दिने भूकम्प सुरक्षा प्रदर्शनी पनि सञ्चालन गरिनेछ । प्रदर्शनीमा विपद् जोखिम न्यूनीकरण क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूको सहभागिता रहने बताइएको छ ।

भूकम्प सुरक्षा दिवसकाअवसरमा देशभर प्रदेश, जिल्ला र स्थानीय तहमा गोष्ठी, अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम, ¥याली, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक तथा अडियो भिडियो सामग्रीमार्फत व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि सबै सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन जारी भइसकेको विभागले जनाएको छ ।

महानिर्देशक बोहराले भूकम्पका बेला जनधनको ठूलो क्षति कमजोर घर तथा संरचना भत्किँदा हुने भएकाले सुरक्षित भवन निर्माण नै सबैभन्दा प्रभावकारी पूर्वतयारी भएको बताउनुभयो । “यसका लागि राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ । नयाँ निर्माण तथा पुराना घरको प्रबलीकरण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनिवार्य लागू गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

विभागका अनुसार भवन संहिता कार्यान्वयन, प्राविधिक तालिम, अनुगमन तथा अनुसन्धानलाई तीव्र बनाइएको छ । काठमाडौँ उपत्यकाका सात स्थानीय तहमा ‘बिल्डिङ स्ट्रक्चर वर्कफ्लो’ पाइलट परीक्षण सफल भएपछि देशभर नक्सा पास प्रणालीलाई एकीकृत रूपमा लागू गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प तथा अन्य विपद्बाट प्रभावित परिवारलाई सुरक्षित आवासका लागि अनुदान र प्राविधिक सहयोग प्रदान गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । साथै, आपतकालीन सामग्री भण्डारण, खोज तथा उद्धार तयारी, पुनर्निर्माण तथा पुनस्थापनासम्बन्धी कार्यहरू पनि निरन्तर अघि बढाइँदै आएको विभागले जनाएको छ ।

सरकारले भूकम्प जोखिम न्यूनीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउँदै सुरक्षित निर्माण, पूर्वतयारी, प्रतिकार्य र पुनस्थापनालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित भूकम्प सुरक्षा दिवस मनाउन लागिएको जनाएको छ ।

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

काठमाडौँ, २८ पुसः नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रतता हननका १२१ घटना घटेको पाइएको छ ।प्रेस काउन्सिल नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरूको अभिलेखन गर्ने क्रममा सन् २०२५ जनवरी १ देखि सन् २०२५ डिसेम्बर ३१ सम्ममा उक्त सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना घटेको जनाएको हो ।

सबैभन्दा बढी धम्की दुर्व्यवहार का ५० घटना अभिलेख भएका छन् । यसैगरी आक्रमण कुटपिटका ३७, पेसागत असुरक्षाका १५, कब्जा/अवरोधका नौ, पक्राउ प्रयासका पाँच, शङ्कास्पद मृत्युका दुई, नीतिगत बन्देजका दुई र लैङ्गिक हिंसाका एक घटना अभिलेख भएका छन् ।

प्रदेशअनुसार अनुगमन गर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ६२, मधेस प्रदेशमा २७, सदरपश्चिममा आठ, कोशीमा सात, लुम्बिनी र गण्डकीमा ६/६ र कर्णालीमा पाँच घटना घटेका छन् ।

लैङ्गिक आधारमा एक वर्षभरिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार/सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको देखिएको काउन्सिलले जनाएको छ । यस अवधिमा प्रेस स्वतन्त्रता दुरूपयोगका १० वटा घटना घटेका छन् । यसमा बागमती प्रदेशमा पाँच, मधेस प्रदेशमा चार र कर्णालीमा एक घटना घटेको विज्ञप्तिमा उल्लेख छ ।

नसर्ने रोगको रोकथाम सरकारको प्राथमिकतामा छ – स्वास्थ्यमन्त्री डा गौतम

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले नसर्ने रोगको रोकथामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्व एसिया क्षेत्रको क्षेत्रीय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नसर्ने रोगको उपचार लागत बढ्दो अवस्थमा रहेकाले सरकारमाथि ठूलो आर्थिक भार पारिरहेको समेत बताउनुभयो ।

“सरकारले नसर्ने रोगको उपचारमा धेरै रकम खर्च गरिरहेको छ, त्यसमा धेरैजसो रकम रोकथामको सट्टा उपचारमै खर्च भइरहेको अवस्था छ”, मन्त्री डा गौतमले भन्नुभयो, “क्यान्सर र मुटु रोगजस्ता रोगहरूको उपचारमा वार्षिक अर्बौं रुपैयाँ खर्च गरिन्छ, अब उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।”

उहाँले नसर्ने रोगको रोकथामलाई सुदृढ गर्न दीर्घकालीन लागतलाई उल्लेखनीय रूपमा घटाउन र जनस्वास्थ्य परिणाम सुधार गर्न सकिने बताउनुभयो । सहरी क्षेत्रमा तुलनात्मक रूपमा छिटो उपचार सेवाहरू उपलब्ध भए पनि ग्रामीण र गरिब जनसङ्ख्याले उपचार सेवा नपाइरहेको उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्य समस्या नदेखिने महामारीका रूपमा देखापरेको बताउनुभयो । उहाँले जनचेतना, स्वस्थ जीवनशैली, खाद्य सुरक्षा, योग र ध्यानजस्ता रोकथामका उपायहरूलाई प्राथमिकतामा राखेर महानगरले स्वास्थ्य सेवा पु¥यारहेको बताउनुभयो ।

डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको नसर्ने रोग एलान्सका कार्यक्रम संयोजक डा मनिता प्याकुरेलले नसर्ने रोगको रोकथामका लागि सरकारले बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

नसर्ने रोग ‘एनसिडी’ एलायन्स जेनेभाका प्रतिनिधि लिन्डा सेंक मार्कोभाले नसर्ने रोगको रोकथाम गर्न राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भारत श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, इन्डिोनेसिया, थाइल्याण्ड, म्यान्मार, मलेसिया जेनेभालगायत ११ देशमा नसर्ने रोगसँग सम्बन्धित काम गर्ने जनस्वास्थ्यविद्को सहभागी रहेको छ ।

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेको अनुमान गरिएको छ ।

राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् ।

उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको रास्ट्रपतिको कार्यालयले जनाएको छ ।

विश्वका वैज्ञानिकका लागि खुला एआई डाटाबेस : औषधि नवप्रवर्तनमा ठूलो योगदान

चीनका अनुसन्धानकर्ताले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एक भर्चुअल औषधि छनोट प्लेटफर्म विकास गरेका छन्, जसले परम्परागत विधिको तुलनामा औषधि परीक्षणको गति करिब दस लाख गुणा बढाउनुका साथै पूर्वानुमानको शुद्धतामा उल्लेखनीय सुधार ल्याएको छिङहुवा विश्वविद्यालयले जनाएको छ ।

‘ड्रगक्लिप’ नाम दिइएको यस प्लेटफर्मको सहायताले अनुसन्धान टोलीले पहिलो पटक भर्चुअल औषधि छनोट परियोजना सम्पन्न गरेको छ । यसले नयाँ औषधि खोजका लागि नयाँ सम्भावनाहरू खोलेको छ । सम्बन्धित अध्ययन शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा अनलाइन प्रकाशित गरिएको हो ।

‘ड्रगक्लिप’ भनेको चीनका अनुसन्धानकर्ताले बनाएको कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एक आधुनिक कम्प्युटर प्लेटफर्म हो, जसले नयाँ औषधि छिटो र सजिलै खोज्न मद्दत गर्छ । यसले मानव शरीरमा रहेका प्रोटिन र औषधि बन्न सक्ने साना अणुहरूबीच कुन राम्रोसँग मिल्छ भन्ने कुरा कम्प्युटरमै परीक्षण गर्छ । पहिले यस्ता परीक्षण गर्न धेरै वर्ष लाग्थ्यो, तर ड्रगक्लिपको सहयोगले यो काम एक दिनमै गर्न सकिन्छ । यसले क्यान्सर, सङ्क्रामक रोग र दुर्लभ रोगका लागि नयाँ औषधि विकासलाई धेरै छिटो र प्रभावकारी बनाएको छ ।

यसले यस समयसीमालाई अत्यन्तै घटाउँदै, सयौँ वर्ष लाग्ने कामलाई एउटै कम्प्युटिङ नोडमा एक दिनभित्रै सम्भव बनाएको छ । कम्प्युटिङ नोड उच्च कार्यसम्पादन वितरण गरिएको गणना प्रणालीको आधारभूत एकाइ हो ।

यो डाटाबेस अब विश्वभरका वैज्ञानिक समुदायका लागि निःशुल्क उपलब्ध गराइएको छ, जसले आधारभूत अनुसन्धान र प्रारम्भिक औषधि विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउनेछ ।

आगामी दिनमा ‘ड्रगक्लिप’ टोलीले शैक्षिक संस्था र उद्योग साझेदारहरूसँग नजिकबाट सहकार्य गर्दै क्यान्सर, सङ्क्रामक रोग र दुर्लभ रोगजस्ता क्षेत्रमा नयाँ लक्ष्य र पहिलो किसिमका उपचार विधि छिटो विकास गर्ने योजना बनाएको छ ।

टोलीले प्लेटफर्मको कार्यसम्पादन अझै सुधार गर्ने, क्षमता विस्तार गर्ने र औषधि नवप्रवर्तनका लागि अझ बुद्धिमान, प्रभावकारी र पहुँचयोग्य विश्वव्यापी प्रणाली निर्माणमा योगदान पुर्‍याउने जनाएको छ ।

विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

काठमाडौँ, २८ पुसः नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम आज बिहानैदेखि सुरु भएको छ । आइतबारदेखि सुरु भएको उक्त महाधिवेशनमा आइतबार मात्र दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराउनुभएको थियो ।

आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)बाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराएका थिए ।

कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ता गराउनका लागि भिन्दाभिन्दै आठ स्टलको व्यवस्था गरेको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले आज बिहान ८ः३० बजेदेखि नै नाम दर्ता सुरु गरिएको जानकारी दिनुभयो । उहाँले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज नाम दर्तालाई निरन्तरता दिएको बताउनुभयो । उक्त नाम दर्ता बिहान ११ बजेसम्म सञ्चालन हुने संयोजक पाण्डेयले बताउनुभयो । कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र हुनेछ ।

बिहान ८ बजेदेखि बन्दसत्र गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारण बन्दसत्र कार्यक्रम केही समयलाई लम्बिएको आयोजकले जनाएको छ ।

हिलोको दलदलमा भासिएको चित्तलको उद्धार

झापा – यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ ।

स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय दमकको टोलीले चित्तललाई दलदले भासबाट बाहिर सुरक्षित रुपमा निकालेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उद्धारपछि चित्तललाई कनकाईस्थित जामुनखाडी सामुदायिक वन कार्यालयमा जिम्मा लगाइएको वन रक्षक वीरेन्द्र पौडेलले बताउनुभयो । उक्त सामुदायिक बनमा जंगली जनावरको संरक्षण गरिँदै आएको छ । जिल्लाका विभिन्न स्थानमा फेला पर्ने जंगली जनावरहरु संरक्षण र उपचारका लागि जामुनखाडी सामुदायिक वनमा सञ्चालित संरक्षण केन्द्रमा पु-याइने गरिएको छ ।

देशभरिका सबै देशभक्त नेपालीबीच एकता कायम गर्नुपर्छ – प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई कायम राख्न जनताको एकता आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभरिका सबै देशभक्त नेपालीबीच एकता कायम गर्नुपर्ने बताए ।

राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले वामपन्थी शक्तिबीच ध्रुवीकरण गर्ने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको बताए ।

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक, २८ पुसः धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

आयोजकका अनुसार पछिल्लो दुई वर्षमा गरिएको ‘एआई–मिट’ कार्यक्रमलाई परिस्कृत गर्दै ‘एआई कन्क्लेभ’ आयोजना गरिएको हो । एआई क्षेत्रमा सिकाइदेखि नवप्रवर्तनलाई एउटै प्लेटफर्ममा समेट्ने कार्यक्रमको उद्देश्य रहेको क्लबका अध्यक्ष अशिम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सम्मेलनको एआईलाई ‘रिसर्च’ वा ‘जेनरेटिभ टुल’मा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, शासन, उद्योग र समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउनेसमेत लक्ष्य रहेको छ ।

‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता तथा सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य जनाइएको छ । तीन चरणमा ‘एआई कन्भर्जेन्स २०२६’ सञ्चालन गरिने छ । पहिलो चरण ‘एआई क्यानभास’ अन्तर्गत एआई फाउन्डेसन, बुटक्याम्प, वेबिनारलगायतका आधारभूत सिकाइ कार्यक्रम समावेश गरिएका छन् । दोस्रो चरणमा ‘एआई कन्क्लेभ’ जनवरी १२, १३ र १४ मा केयू केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ ।

सम्मेलनअन्तर्गत सोमबार ‘नेसनल लेभल एआई समिट’, मङ्गलबार प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई–गेम्स, टेक–टक्स तथा एक्सपो सञ्चालन हुनेछभने बुधबार ‘एआई फर सोसाइटी’ शीर्षकमा प्यानल डिस्कसन, ई–गेम्सको फिनाले, एआईसम्बन्धी जनचेतनामूलक कार्यक्रम, एआई नीतिमा छलफल लगायतका कार्यक्रम हुने आयोजकले जनाएका छन् । तीनदिने ‘एआई कन्क्लेभ’ मा करिब पाँच हजार अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अनुमान छ ।

शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर, २८ पुसः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट रु २७ लाख ७६ हजार ६६० र वडा कार्यालयहरूबाट रु ४३ लाख ६५ हजार ३७४ राजस्व सङ्कलन भएको छ ।

नगरपालिकाले सम्पत्ति करबाट रु एक लाख ६० हजार ४७४, मालपोत करबाट रु १२ लाख ४१६, घरबहाल करबाट रु सात लाख ९४ हजार ६८०, बहाल बिटौरी करबाट रु एक लाख ८४ हजार ६२० र सवारीसाधन करबाट रु ५७ हजार ५०० सङ्कलन गरेको छ ।

त्यसैगरी, व्यवसाय करबाट रु ५९ लाख १२५, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबार करबाट रु ७५ हजार ३०० र अन्य करबाट रु २३ हजार ६२३ सङ्कलन भएको छ ।

सरकारी सम्पत्तिको बहाल तथा बिक्रीबाट रु दुई लाख ५५ हजार ८९५, सरकारी सम्पत्ति बिक्रीबाट रु ४४ हजार ५००, अन्य बिक्रीबाट रु एक हजार, विद्युत् सेवा शुल्कबाट रु ३००, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु चार हजार ६००, न्यायिक दस्तुरबाट रु ५०० र अन्य प्रशासनिक सेवा शुल्कबाट रु ९४ हजार १०० राजस्व प्राप्त भएको छ ।

त्यसैगरी, नक्सापास दस्तुरबाट रु ५९ हजार ७४२, सिफारिस दस्तुरबाट रु नौ लाख ६६०, व्यक्तिगत घटना दर्ताबाट रु एक लाख ४८ हजार ७००, नाता प्रमाणितबाट रु ५० हजार ४५० र अन्य दस्तुरबाट रु छ लाख ५४ हजार ४५८ सङ्कलन भएको छ ।

व्यवसाय दर्ता दस्तुरबाट रु ९५ हजार ९७५, विद्युत्सम्बन्धी दस्तुरबाट रु २५ हजार ३००, अन्य क्षेत्रको आयबाट रु एक लाख ३६ हजार २७५, न्यायिक दण्ड–जरिवाना तथा जफतबाट रु एक हजार ३९२ र प्रशासनिक दण्ड–जरिवाना तथा जफतबाट रु ४२ हजार १५१ राजस्व उठेको छ ।

यसैगरी, अन्य राजस्वबाट रु ६६ हजार ५७७, व्यवसाय करबाट रु १९ लाख ४७ हजार ४८२ र बेरुजु फछ्र्यौटबाट रु ५६ हजार ३२६ सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु तीन करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले रु तीन करोड १६ लाख आन्तरिक राजस्व सङ्कलन गरेको थियो ।

स्थानीय राजस्व परामर्श समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख कल्पना पन्तले आन्तरिक आय न्यून रहेकाले राजस्व वृद्धि गर्न करको दर घटाउने र दायरा विस्तार गर्ने नीति लिइएको बताउनुभयो । “पर्याप्त आन्तरिक राजस्व सङ्कलन हुन नसक्दा नगरको विकास प्रक्रियालाई तीव्रता दिन कठिनाइ भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यसैले करको दायरा विस्तारलाई प्राथमिकतामा राखेका छौँ ।”

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।समितिको बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल हुने मुख्य कार्यसूची रहेको छ । यसका साथै विविध विषयमा पनि छलफल हुने समितिले जनाएको छ ।समितिले बैठकमा समितिका माननीय सदस्यहरू तथा सम्बन्धित सबै सरोकारवालाहरूको उपस्थितिका लागि अनुरोध गरेको छ ।विधायन व्यवस्थापन समितिले संसदमा प्रस्तुत विधेयकहरूलाई थप परिमार्जन र प्रभावकारी बनाउन दफावार छलफल गर्दै आएको छ ।

तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

धुलिखेल, २८ पुसः काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ ।

बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने सडक खण्ड पर्छ ।

अहिले सो सडक खण्डअन्तर्गत रजबास–तीनखुट्टे खण्डअन्तर्गत महाभारत गाउँपालिकाको कोलटार आसपासमा पर्खाल, नाली निर्माण र सडक ढलानका लागि फलामे छड बिछ्याएर ढलान गर्ने क्रममा रहेको छभने तीनखुट्टे–देवीटार खण्डको खोलाघारी र घ्याब्रिङ, देवीटार–घर्तिछाप लभडाँडा खण्डअन्तर्गत घर्तिछाप गाउँमा कालोपत्र गर्ने र त्यसका लागि बेस हाल्ने काम भइरहेको छ ।

त्यस्तै लभडाँडा–छोटेसाहन खण्डअन्तर्गत गोकुले, धाप र अन्य खण्डमा सडक नाली र पर्खाल निर्माण एवं कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । सुरुमा जिल्ला सदरमुकामलाई पालिका केन्द्रसँग जोड्ने सडकमार्गका रूपमा अगाडि बढाएको यो योजनालाई डाँडापारि क्षेत्रका महाभारत र खानीखोलाका नागरिकलाई जिल्ला सदरमुकाम आवतजावत गर्ने उद्देश्यले अगाडि बढाइएको थियो ।

पछि बागमती प्रदेश राजधानी हेटौँडा आवतजावत गर्नका लागि कठिन हुने गरेको अवस्थालाई मध्येनजर गरेर त्यहाँका नागरिकको जीवनयापन र जिल्ला तथा प्रदेश राजधानीसँग सडक सञ्जालले जोड्नका लागि सो सडकलाई थप अगाडि बढाइएको छ । अहिले सो सडकलाई प्रदेश सरकारले प्रादेशिक मार्गका रूपमा लिएर कामलाई तीव्रता दिएको छ ।

पहिलोपटक ठेक्का आह्वान गरी काम थालिएको तीनखुट्टे–खोलाघारी–देवीटार ८ दशमलव ७ किलोमिटर सडक निर्माणका लागि जिम्मा पाएको श्रेष्ठ÷सक्षम जेभी सामाखुसीले २०७७ असारमा ठेक्का सम्झौता गरी २०७९ असारमा सम्पन्न गर्नेगरी काम थालिएको भए पनि निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा अलपत्र जस्तै अवस्थामा रहेको थियो । तर, अहिले पालिका र प्रदेश सरकारले निरन्तर दबाब दिएपछि पटकपटकको म्याद थप पश्चात् पछिल्लो समयमा कामलाई निरन्तर अगाडि बढाइरहेको छ ।

श्रेष्ठ÷साक्षम जेभीका परियोजना प्रबन्धक रोहन खत्रीले अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काम तीव्र गतिमा अगाडि बढिरहेको र आगामी वैशाखसम्ममा काम सम्पन्न गर्ने बताउनुभयो । अहिले कालोपत्र गर्ने कामदार ३० र ड्रेन वाल लगाउने जनशक्ति ३५ जना निरन्तर खटाएर काम भइरहेको र समयमा नै सबै काम सम्पन्न गर्नेगरी खटिरहेको उहाँले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय धुलिखेलका सुपरभाइजर निर्मल दर्जीले अघिल्लो वर्षहरूको तुलनामा अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो । समयमा नै काम सम्पन्न गर्नेगरी काम भइरहेको र गुणस्तरलाई ध्यान दिँदै काममा जोड दिएको उहाँको भनाइ छ ।

त्यस्तै रजबास–चारकिल्ल–तीनखुट्टे खण्डअन्तर्गत कोलटार आसपासमा भइरहेको कामले गति लिइरहेको छ । निर्माण कम्पनीका सम्र्पक प्रबन्धक सुजन गिरीले करिब ९५ प्रतिशत स्ट्रक्चरको काम सम्पन्न भइसकेको बताउनुभयो । १५ दशमलव ५ किलोमिटर सडकखण्डको काममा ११ किलोमिटर कालोपत्र र साढे चार किलोमिटर ढलानको काम भइरहेको छ । आगामी असारसम्ममा सम्पन्न गर्नुपर्ने कामका लागि करिब एक सय जना जनशक्ति खटाएर काम भइरहेको उहाँको भनाइ छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोकको पिन्थलीबाट रजबास हुँदै चारकिल्ला, तीनखुट्टे, खोलाघारी देवीटार, घर्तिछाप, गोकुले भएर खानीखोलाको तालढुङ्गा र मकवानपुर जिल्लाको भोर्लेनी झुरझुरे भएर मदन भण्डारी लोकमार्ग जोड्ने करिब ८० किलोमिटर सडकको काम तीव्र गतिमा भइरहेको बताउनुभयो । विभिन्न चरणमा ठेक्का भई नौ खण्डमा निर्माण कम्पनीहरूले ठेक्का सम्झौता गरेर निर्माण कार्य भइरहेको कामको करिब १८ किलोमिटरबाहेक अहिले अन्य खण्डमा भने काम निरन्तर भइरहेको उहाँले बताउनुभयो ।

बाँँकी खण्डहरू निरन्तर काम भइरहेको भए पनि काममा ढिलाइ भइरहेको तीनखुट्टे देवीटार खण्डको कामलाई निरन्तरका लागि दबाबबीच अहिले पछिल्लो समयमा छिटो गतिमा काम भइरहेको जनाएको छ । उहाँका अनुसार आगामी असारभित्रमा महाभारत गाउँपालिकाभित्रका ४४ किलोमिटर सडक निर्माण भइसक्ने विश्वास लिएको छ । त्यसका लागि पालिका र जिल्ला प्रशासन कार्यालयबाट समेत कामको अनुगमन भइरहेको तथा स्थानीय बासिन्दालाई पनि कामको गुणस्तर र निरन्तरता दिन सम्बन्धित पक्षलाई सहयोग गर्ने र घच्घच्याउने काममा लाग्न आग्रह गरेको उहाँले बताउनुभयो ।

सो क्षेत्रका नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक सञ्जाल र केन्द्रीय विद्युतीकरणलाई प्रमुख मानिएको छ । जुन कार्य सम्पन्न भएपछि यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको छ । जसमध्ये केन्द्रीय विद्युतीकरण भने सम्पन्न भइसकेको छ ।

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौँ, २८ पुसः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १०० र प्याज हरियो प्रतिकिलो रु ५० रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ८०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९० र मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घीउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घीउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घीउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ८० र पिँडालु प्रतिकिलो रु ९० कायम गरिएको छ ।

बकुला प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु २००, गाँठकोभी प्रतिकिलो रु ८०, कागती प्रतिकिलो रु १०० र सुन्तला (नेपाली) प्रतिकिलो रु १४५ तोकिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ९०, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ११०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ३२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४० निर्धारण गरिएको समितिले जनाएको छ ।