`

इन्जिनियरहरुको सक्रियताले योजनावद्ध र समावेशी शहरीकरण सम्भव हुने : प्रकाशमान सिंह

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले इन्जिनियरहरुको सक्रियताले योजनावद्ध र समावेशी शहरीकरण सम्भव हुने बताएका छन् । शनिबार नेपाल इन्जिनियर्स एसोसिएसनको ६३ औं इन्जिनियर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समावेशी शहरीकरण सम्भव रहेको भन्दै पूर्वधार निमार्णमा इन्जिनियरहरुको अमूल्य योगदान रहेको बताएका हुन् ।

उनले भने, ‘योजनावद्ध र समावेशी शहरीकरण सम्भव छ भने त्यो इन्जिनियरहरुको सक्रिय सहभागिताविना कल्पना गर्न सकिदैन । सडक, खानेपानी, आवास, सार्वजानिक भवन निमार्ण लगायतका पूर्वधार निमार्णमा इन्जिनियरहरुको योगदान अनुपम छ ।’
मन्त्री सिंहले इन्जिनियरहरु शहरी विकास व्यवस्थापनको लागि आधारशीला भएको भन्दै यस्ता इन्जिनियरहरुको खाँचो रहेको पनि बताए ।

उनले भने, ‘ इन्जिनियरहरु नव पवर्तन सुरक्षित आवास वातावरणीय संन्तुलन तथा दिगो शहरी विकास व्यवस्थापनको लागि आधारशीला हुन् । विषेशगरी आजको शहरीकरणको तिव्र गतिमा हामीलाई इमान्दार जिम्मेवार र प्रविधिसँग चल्न सक्ने सक्षम इन्जिनियरहरुको खाँचो छ ।

यसैगरी उक्त कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्ष सडक निमार्णमा लक्ष्य राखेको भन्दा बढि उपलब्धि प्राप्त गरेको बताएका छन् ।

यस वर्ष नयाँ कामहरुको सुरुवात गर्ने भन्दै उनले भने, ‘नयाँ नयाँ कुराको सरुवात गर्दैछौ । नागढुङ्गा टनेल सुरु गर्दैछौ । टनेल युगमा हामी प्रवेश गरिसकेका छौ । यसका कयौ कुराहरु पुरा गरेर हामी अगाडि बढ्दै छौ । थुप्रै सुरुवात भएका सडकहरुलाई अगाडि बढाउदै छौ । यस वर्ष हामी सडकमा लक्ष्य राखेको भन्दा बढि केही थोरै भएपनि बढि लक्ष्य प्राप्त गरेका छौ ।’

उनले देशका सबै जिल्ला सडकसञ्जालबाट जोडिएको भन्दै हुम्लाको सिमकोटमा छिट्टै पुल निमार्ण गरिने बताए ।
‘हामीले यसै वर्ष २०८१÷८२ मा सडकसञ्जालबाट ७७ वटा जिल्ला जोडेका छौ । हुम्लाको सिमकोटमा जव अस्थायी वेलिब्रिज बनायौ त्यहा पुल निमार्ण गछौ त्यो उपलब्धि हामीले प्राप्त गर्यौ,’ उनले भने ।

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौँ, ३ साउन: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गर्नुभएको थियो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान संशोधन प्रतिवेदनमा ६८ जना पोलिटब्यूरो सदस्यले आफ्नो राय राख्नु भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । विधानमा पार्टीभित्र सङ्गठित सदस्यता र पार्टी सदस्यता गरी दुई व्यवस्था राख्ने, ७० वर्षे उमेर हद र दुई कार्यकाल नेतृत्वमा रहने व्यवस्थालाई खारेज गर्ने प्रावधान राखिएको उहाँले जानकारी दिनुभयो । यस्तै, जिल्ला कमिटी कार्यकारी कमिटीकै रूपमा लैजाने विधानमा सहमति भएको छ ।

पूर्वराष्टपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा पनि बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । “पूर्वराष्ट्रपति भण्डारीको विषयमा बैठकमा छलफल भए पनि अहिले नै हामी ठोस् निष्कर्षमा पुगेका छैनौँ”,उहाँले भन्नुभयो, “अधिकांश साथीहरूको भनाइ राजकीय उच्च तहमा पुगेका र संविधानको संरक्षक भइसकेका व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर विषय हो भन्नुभएको छ । यसमा पार्टीले आवश्यक परामर्श गरेर उचित समयमा निष्कर्ष दिनेछ ।”

पूर्वराष्ट्रपति भण्डारीका विषयमा केन्द्रीय कमिटी बैठकमा पनि छलफल गरिने उहाँले जानकारी दिनुभयो । “पूर्वराष्ट्रपति भण्डारीप्रति पार्टीले आग्रह र पूर्वाग्रह राख्नुपर्ने कुनै कारण छैन । उहाँलाई जुन सर्वोच्च पदमा पार्टीले पठायो, यसबारे गम्भीर र सकारात्मक रूपमा छलफल भयो”, प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, “अब यस विषयमा आगामी बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्नेछ ।”

आज पारित गरिएको विधान संशोधन प्रस्ताव यही साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राख्ने तय भएको छ ।

‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हुन्’ :रक्षामन्त्री राई

काठमाडौँ:रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र जनचेतना जगाउने कवि तथा साहित्यकारहरू राष्ट्रका मेरुदण्ड भएका बताउनुभएको छ ।आज यहाँ आयोजित कवि उमेश राईले लेख्नुभएको कवि उमेश अकिञ्चनकृत कविता कृति, सायद किनारा लोकार्पण समारोहमा उहाँले कविताका मध्यमद्वारा समाजमा सकारात्मक चेतना फैलाउने कविहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।

मन्त्री राईले भन्नुभयो,“कविहरूले समाज परिवर्तनमा उल्लेख्य योगदान गर्नुभएको छ । समाजलाई शान्त बनाउने, सकारात्मक चेतना फैलाउनुका साथै कविताले देश र समाज चिनाउने गरेको छ । यसैले कवि एवं साहित्यकार समाजका ऐना पनि हुन् । उहाँहरूको योगदानको सम्मान गर्न आवश्यक छ ।”

कविता, कथा वा अन्य कुनै पनि साहित्यिक विधा मनोरञ्जनको साधन मात्र नभई चेतना र सन्देशको संयोजन गर्ने माध्यम भएको भन्दै उहाँले यस्ता सिर्जना र सर्जकलाई संस्थागत प्रोत्साहन आवश्यक रहेकामा जोड दिनुभयो ।

कवि श्रवण मुकारुङले लोकार्पित कृतिमा रहेका कवितामा जीवन, समाज, प्रेम र सङ्घर्षका गहिरा पक्ष समेटिएका बताउनुभयो । कवि विमला तुम्खेवालगायतले राईका कृति र कृतित्वबारे चर्चा गर्नुभयो ।

ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने एमाले नेता पोखरेलको ठोकुवा

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी २०८४ सम्म कायम रहने दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो गठबन्धनको अहिले विकल्प छैन ्। ०८४ सम्म नै यो गठबन्धन ढुक्कसँग जान्छ । तलमाथि हुने कुनै सम्भावना छैन ।’

उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गरे । उनले भने,‘उहाँ शेखर कोइरालाले आफ्नो दलभित्र त्यो हैसियत राख्नुहुन्न । अर्को वैकिल्पक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ । त्यस्तो सम्भावना देख्दिनँ ।’

उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुनेसमेत ठोकुवा गरे । उनले भने,‘हाम्रो पार्टीभित्र विद्रोह हुँदैन । विद्या भण्डारीले विद्रोह गर्न सक्नुहुन्न । उहाँको चरित्र त्यस्तो छैन । अहिले केपी ओलीको नेतृत्व हुँदाहुँदै विद्रोह गर्ने अवस्था छैन ् ।’

नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे । उनले भने,‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ । उहाँले पनि भन्नभुएको छ ।’ उनले अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने ठोकुवा गरे ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने विषयले अहिले सिंगो मुलुक नै तरंगित भएको उल्लेख गरे । तर, एमाले केन्द्रीय कमिटी बैठकपछि यस विषयमा एउटा निश्कर्षमा पुग्ने उनले जानकारी दिए ।
भारत र चीनले ठूलो आर्थिक फड्को मारेको दृष्टान्त पेश गर्दै उनले नेपालले समृद्धिको यात्रामा फड्को मार्न नसकेकोमा भने चिन्ता व्यक्त गरे ।

उनले आफूहरुले संविधान बनाउँदा नै धेरै मेहनत गरेको र दुनियाँको कुनैपनि संविधानभन्दा कम नरहेको जिकिर गरे । उनले भने,‘अब संविधान संशोधन समय आएको छ । दुनियाँको कुनै पनि संविधानभन्दा कम नहुनेगरि संविधान लेख्यौं । तर, कार्यान्वयनको चरणमा हेर्दा हामी सन्तुष्ट हुने अवस्था छैन । प्रतिनिधिसभामा पनि संख्या घटाउने हो । मन्त्रालय घटाउने हो । प्रतिनिधिसभा पूर्णतयः प्रत्यक्ष हुनुपर्छ । तर, त्यसमा सबैको महिला, दलितलगायतको टिकट सुनिश्चित् हुनुपर्छ । राष्ट्रियसभालाई पूर्ण समानुापतिक बनाउनुपर्छ ।’

उनले मन्त्रीहरु घुस र भ्रष्टाचारमा मुछिएको विषयमा राजीनामा दिएरमात्रै नहुने भन्दै अभियोजन गरेर दण्डित गरिनुपर्ने आवाज उठाए ।

सिरियामा अल्पसङ्ख्यक हुनु ‘निकै खतरनाक’ भएको इजरायलको भनाइ

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शराले घातक साम्प्रदायिक द्वन्द्वपछि अल्पसङ्ख्यक समुदायको सुरक्षाका लागि गरेको नयाँ प्रतिबद्धतालाई इजरायलले शनिबार अस्वीकार गरेको छ ।

सिरियाको स्वेइदा उक्त द्वन्द्वका कारण एक सातामा करिब ९४० जनाको मृत्यु भएको थियो विदेशमन्त्री गिदोन सारले एक्समा लेख्नुभएको छ, “अल–शाराको सिरियामा कुर्द, ड्रुज, अलावी वा क्रिश्चियनजस्ता अल्पसङ्ख्यकको सदस्य हुनु निकै खतरनाक छ ।”

उहाँले भन्नुभयो, “विगत ६ महिनामा यो कुरा पटक–पटक प्रमाणित भएको छ ।”

सिरियाको ड्रुज समुदाय बसोबास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबीच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ ।

यो सङ्कटले कार्यवाहक राष्ट्रपति अहमद अल–शराआ को नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।

इजरायलले बुधबार राजधानी दमास्कसमा हवाई आक्रमण गर्दै सिरियाली सेनाको मुख्यालय नै लक्षित गरेको थियो । अमेरिकाका सिरिया मामिलाका विशेष दूत टम बेराकले शनिबार बिहानै जानकारी दिँदै भन्नुभयो, “शराआ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच अमेरिकाको पहलमा युद्धविरामको सहमति भएको छ ।” उक्त सम्झौतामा टर्कीए र जोर्डनको समर्थन रहेको पनि उहाँले बताउनुभयो ।

बेराकले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभयो,“ड्रुज, बेदुइन र सुन्नी समुदायलाई हतियार बिसाएर शान्तिपूर्ण र एकीकृत सिरियाली पहिचान निर्माण गर्न आह्वान गर्दछौं ।”

विदेशमन्त्री सारले सिरियामा रहेका अल्पसङ्ख्यक समुदायको सुरक्षा र अधिकार सुनिश्चित गर्नु र अल्पसङ्ख्यक नागरिकको परिवारमा सिरियाको नयाँ स्वीकार्यतालाई उनीहरूको संरक्षणमा सुनिश्चित गर्नु अन्तर्राष्ट्रिय समुदायको कर्तव्य भएको बताउनुभएको छ ।

सिरियाली गृह मन्त्रालयले इजरायली सैन्य हस्तक्षेप रोक्नका लागि अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गत शनिबारदेखि ड्रुज हार्टल्याण्डमा तैनाथ हुन थालेको हो ।

इजरायलले यसै साताको सुरुमा स्वेइदा र राजधानी दमास्कस दुवैमा रक्षा मन्त्रालयका सेनामाथि बम बारी गरेको थियो र दक्षिणी प्रान्तमा द्रुजका नागरिकहरूमाथि संक्षिप्त तैनाथीका क्रममा उनीहरूमाथि मृत्युदण्ड र अन्य दुव्र्यवहारको आरोप लगाएपछि उनीहरूलाई फिर्ता लिन बाध्य पारेको थियो।

आफ्नै ठूलो ड्रुज समुदाय रहेको इजरायलले अल्पसङ्ख्यकहरूको रक्षा गरिरहेको बताएको छ ।

केही कूटनीतिज्ञ र विश्लेषकका अनुसार यसको लक्ष्य सिरियामा सेनालाई कमजोर बनाउनु हो । सिरियाली सेना ड्रुज समुदायको ऐतिहासिक शत्रु हो । सिरियाली सेना डिसेम्बरमा शराआको सुन्नी इस्लामवादीहरूले इरानी सहयोगी बशर अल असदलाई अपदस्थ गरेपछि कमजोर बिन्दुमा देखिएको छ ।

–एक हप्तामा ९४० भन्दा बढीको मृत्यु –

सिरियाको ड्रुज अल्पसङ्ख्यक समुदायको बाहुल्य रहेको स्वेइदा प्रान्तमा गत सातादेखि जारी हिंसामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ९४० पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेमा ३२६ ड्रुज लडाकु र २६२ ड्रुज नागरिक रहेका छन्, जसमध्ये १८२ जनालाई रक्षा र गृह मन्त्रालयका कर्मचारीले मृत्युदण्ड दिएका छन् ।

यसमा ३१२ जना सरकारी सुरक्षाकर्मी र २१ जना सुन्नी बेडुइनको पनि मृत्यु भएको थियो जसमध्ये तीन जना सर्वसाधारण थिए र उनीहरूलाई ड्रुज लडाकुहरूले मृत्युदण्ड दिएका थिए । इजरायली आक्रमणमा परी अन्य १५ जना सरकारी सैनिकको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

विविध विधाका कृतिलाई अनेसास पुरस्कार

काठमाडौँ, ३ साउनः अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले विविध विधामा प्रकाशित कृतिलाई पुरस्कृत गरेको छ । भर्चुअलमाध्यमबाट आज भएको अनेसासको वार्षिक साधारणसभा एवं २१२औँ भानु जयन्ती समारोहमा अनेसासले विभिन्न विधाका ती कृतिलाई पुरस्कृत गरिएको हो ।

सबैभन्दा ठुलो अमेरिकी डलर दुई हजार १०० राशीको अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको ‘सन्त्रासको साठी दिन’ लाई प्रदान गरिएको छ । यस्तै, अनेसास राष्ट्रकवि सर्वाेत्कृष्ट काव्य पुरस्कार कृसु क्षेत्रीको ‘पसिनाको क्यानभास’, अनेसास सर्वाेत्कृष्ट निबन्ध पुरस्कार मोमिला जोशीको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’, अनेसास सर्वाेत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथा सङ्ग्रह ‘पाश्र्व ध्वनि’, अनेसास सर्वोत्कृट समालोचना दर्शन तथा संस्कृती पुरस्कार डा दुर्गाबहादुर घर्तीको ‘सास्कृतिक अध्ययन’, र सर्वाेत्कृष्ट उपन्यास पुरस्कार अखण्ड भण्डारीको ‘बोरा’ लाई प्रदान गरिएको छ ।

यसैगरी अनेसास सर्वाेत्कृष्ट लोकसाहित्य पुरस्कार शशिराम कार्कीको ‘रुकुमका लोककथा’, अनेसास सर्वाेत्कृष्ट गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीति सङ्ग्रह ‘धर्तीको ध्वनि’, अनेसास सर्वाेत्कृष्ट बाल साहित्य पुरस्कार विमला ढुङ्गाना निरौलाको ‘यात्रामा देश’, अनेसास सर्वोत्कृष्ट डायस्पोरा काव्य पुरस्कार जगन्नाथ पौडेलको कविता सङ्ग्रह ‘बग्दा बग्दै’ र अनेसास सर्वाेत्कृष्ट डायस्पोरा वाङ्ममय पुरस्कार तुलसी आचार्यको उपन्यास ‘स्वप्न भूमि’ लाई प्रदान गरिएको छ ।

यी पुरस्कारको राशी अमेरिकी डलर पाँच सयदेखि १५०० सम्म रहेको छ ।

पुरस्कार छनोट समितिका सदस्य सन्ध्या पहाडीले विश्वभरबाट छनोट गरिएका दुई सयभन्दा बढी कृतिमध्ये पहिलो र दोस्रो चरणमा गरी उल्लेखित ११ कृतिलाई पुरस्कृत गर्न समितिले सिफारिस गरेको बताउनुभयो । सोही सिफारिसअनुसार अनेसासको कार्यसमितिले पुरस्कार प्रदान गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

अनेसासले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसै क्रममा विगत लामो समयदेखि स्वदेश तथा विदेशबाट नेपाली भाषामा प्रकाशित कृतिहरू संकलन गरी हरेक दुई वर्षमा पुरस्कृत गरिँदै आएको अनेसासले जनाएको छ ।

‘खानेपानीसम्बन्धी समस्या समाधान गर्दै नागरिकको जीवनस्तर सुधार्न केन्द्रित छौँ’ – खानेपानीमन्त्री यादव

इटहरी (सुनसरी), ३ साउनः खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीसम्बन्धी समस्या समाधन गर्दै नागरिकको जीवनस्तर सुधार्न वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

आज यहाँस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन गर्दै उहाँले झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरुन् भन्ने सरकारको स्पष्ट उद्देश्य बताउँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पु¥याउने रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख लक्ष्य हो ।”

मन्त्री यादवले देशका सबै समुदायलाई समान सेवा पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताउनुभयो । खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने, सेवाउन्मुख सामाजिक मन्त्रालय भएकाले नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पु¥याउने उद्देश्यले योजनाबद्ध काम भइरहेका उहाँले जानकारी गराउनुभयो ।

“हाम्रो सक्रियता र स्पष्ट परिकल्पना अनुरूप खानेपानी विभागको वित्तीय प्रगतिले ९० प्रतिशत उपलब्धि हासिल गरेको छ । यो हाम्रो कार्यसम्पादन क्षमताको दिगो सुधारको स्पष्ट प्रमाण हो”, मन्त्री यादवले भन्नुभयो ।

आज उद्घाटन गरिएको खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका–१, २, ३, र ५ का चार हजार ३१ परिवारका करिब २२ हजार ७८७ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरीका प्रमुख महेसी महतोले जानकारी दिनुभयो । उहाँका अनुसार यो आयोजनाले स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चिततामार्फत नागरिकको स्वास्थ्य र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्य राखेको छ ।

कार्यक्रममा पूर्वसङ्घीय सांसद नवदिता चौधरी, नगरप्रमुख शङ्करलाल चौधरी, झुम्का खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरी, नगर उपप्रमुख तारा थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, खानेपानी तथा ढल व्यवस्थान विभागका उपमहानिर्देशक राजेन्द्र सापकोटा, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरत बम, उपनिर्देशक महेश न्यौपाने, खानेपानी तथा ढल निकास विराटनगरका प्रमुख सुरतलाल चौधरीलगायत सरोकारवालाको सहभागिता थियो ।

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

काठमाडौँ, ३ साउन : नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी कार्यकर्ता गुटमा विभाजन हुँँदा पार्टी कमजोर भएको छ । पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबैजना सक्रिय हुने समय आएको छ ।”
नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव राजेश खड्काले केन्द्रदेखि वडासम्म फैलिएको गुटको अन्त्य नभएसम्म एकजुट भएर जनताको लागि काम गर्न गाह्रो हुने बताउनुभयो ।

जिल्ला सहसचिव कृष्णमुरारी न्यौपाने, क्षेत्रीय सभापति भेषबहादुर कार्की र प्रदेश सभापति प्रदीप कार्कीले राजनीतिक व्यवस्था परिवर्तनसँगै जनताको अवस्था परिवर्तनको लागि कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो

बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

काठमाडौँ, ३ साउनः स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्चसतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान भएकाले इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारी स्वरुप सतर्कता अपनाउन आग्रह गरेको हो ।

“इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौताअनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ,”, इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभागले यही साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ ।”

पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वीनेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । साउन ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौँ उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुने र
साउन ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च हुने विज्ञप्तिमा भनिएको छ ।

“यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देहीलगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

साथै पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना भएको र महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि साउन ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ ।

मौसमसम्बन्धी पूर्वसूचनाहरु लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ ।

गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जन भन्दा बढी जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति पु¥याएको घटनाका साथै विगतका वर्षहरुमा पनि बाढी पहिरोले जलविद्युत् आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीहरुले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौसम्म विद्युत् उत्पादन बन्द गर्नुपरेको घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घना दोहोरिन नदिन इप्पानले आग्रह गरेको छ ।

तरकारी र खसीबोका बिक्रीबाट महाशिलामा भित्रियो तीन करोड ५० लाख

पर्वत ३ साउनः पर्वतको महाशिला गाउँपालिका किसानले तरकारी र खसीबोका बिक्री गरेर मात्रै रु साढे तीन करोड भित्र्याउन सफल भएको छ । गाउँपालिकाले कृषि तथा पशु पशुजन्य उत्पादन वृद्धि गरी नागरिकको आयस्तरमा अभिवृद्धि गर्नका लागि विभिन्न प्र्रोत्साहन मुलक कार्यक्रम सुरु गरेसँगै गत आर्थिक वर्षमा झण्डै रु साढे तीन करोड भित्रिएको हो ।

महाशिलाका छ वटै वडामा व्यावसायिक तरकारी खेती तथा बाख्रापालन गरिँदै आएको छ । पालिकाका सबै वडामा सडकको सहज पहुँच पुगेसँगै उत्पादित वस्तुको सजिलै निर्यात गर्न सकिने भएकाले एकै वर्षमा ठूलो परिमाणमा आम्दानी गर्न सफल भएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिनुभयो ।

अध्यक्ष भुसालका अनुसार गत आर्थिक वर्षमा महाशिलाबाट रु एक करोड ५० लाखको तरकारी र रु दुई करोडको खसीबोका निर्यात भएको छ । गाउँमा उत्पादित अर्गानिक र स्वस्थ्य कर हुने भन्दै ग्राहकको पहिलो रोजाइ बनेको हाल पोखराको बिरौटामा बस्दै आएका महाशिला गाउँपालिका–५ का पूर्वअध्यक्ष जीवन विक्रम उच्चैले बताउनुभयो ।

महाशिलाका अध्यक्ष भुसालका अनुसार कृषकलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउनका लागि पालिकाले तरकारीमा प्रतिकिलो रु पाँच र मासुमा रु २५ अनुदान दिँदै आएको छ ।

कृषकको गोठको भकारो सुधार र बाख्राको खोर

महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दा, स्कुस, लौका, काक्रो, टमाटर, भिण्डी, सिमी, बोडी, फर्सिलगायतका तरकारी जन्यवस्तु उत्पादन हुने गरेको छ । महाशिला गाउँपालिकासँगको सहकार्यमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालले तरकारी मूल्य श्रृङ्खलामार्फत ग्रामीण महिला उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउने परियोजना सञ्चालन गरेको छ ।

उक्त परियोजनाबाट महाशिला गाउँपालिकाका ८७५ कृषक लाभान्वित भएको अध्यक्ष भुसालको भनाइ छ । महाशिलामा एक हजार १५० रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरिएको छ् । यहाँबाट गत आर्थिक वर्षमा करिब ३० टन फर्सी, १० टन तरुल बिक्रीसमेत गरिएको थियो । महाशिलाले कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न कृषि एम्बुलेन्स र सहकारी÷कृषि समूहमार्फत उत्पादित वस्तुहरूको बजारीकरणको व्यवस्थापन गर्ने भएको छ । तरकारीखेतीमा लागेका यहाँका हरेक कृषकले न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको कार्यक्रममा पालिकाले स्थानीय तहमा उत्पादित कृषि उपजको एकीकृत बजारको स्थापना गर्ने योजना ल्याएको छ । खसी, बोकाको मासु निर्यात गर्ने दीगो आधारको सिर्जना गर्नुका साथै व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातको गाईपालनमा अनुदान दिने गरी बजेट व्यवस्थापन गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।

‘टोल टोलमा नर्सरीः घर घरमा करेसाबारी’ कार्यक्रम सञ्चालन गर्दैैै कम्तीमा एउटा वडालाई फूलको वडाको रुपमा विकास गर्ने गरी पुष्पखेती कार्यक्रम सञ्चालन गरिने र वडा नं. २ भोक्सिङ्गमा उत्पादन हुने आलुलाई ब्राण्डिङ गरिने भएको छ । पालिकाले पूर्णरुपमा कृषिमा आश्रित परिवार र व्यवसायले लिने कृषि ऋणमा लाग्ने ब्याजमा निश्चित अनुदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने र कृषि उद्यम गर्ने कृषकलाई सहुलियत ऋण प्रदान गर्ने योजना बनाएको छ ।

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

काठमाडौँ, ३ साउनः बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको विसं २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा रु तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्तीवापत रु १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरूङ फरार रहेकी थिइन् । निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो ।

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकवर्षमा पाँच जनाको मृत्यु

बेलबारी (मोरङ), ३ साउनः मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो । उहाँ जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका-८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा पर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो । बिहीबार बिहान बेलबारी-१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको बताउँदै उहाँको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गर्नुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्युु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । सुन्दरहरैचा नगरपालिका क्षेत्रका तीन, बेलबारी नगरपालिका र लेटाङ नगरपालिका क्षेत्रका एक/एक जनाको मृत्यु भएको कार्यालयका वन अधिकृत विमल केसीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक चुँडालका अनुसार गत फागुन २५ गते लेटाङ नगरपालिका-९ जाँतेका ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । वन फडानी, आगलागीलगायत कारणले जङ्गली हात्ती सुरक्षा तथा आहारको खोजीमा बस्ती पस्न थालेकाले आक्रमणका घट्ना बढ्न थालेका उहाँको भनाइ छ ।

गत पुस ५ गते सुन्दरहरैचा-१० की गङ्गामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा-५ की चन्द्रकुमारी लिम्बू र गत माघ ५ गते सुन्दरहरैचाका हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको वन अधिकृत केसीले बताउनुभयो ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ । उक्त अवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ । तीमध्ये प्राकृतिक कारणले चार, चोरीतस्करीबाट दुई, गोली हानेर एक, बेवारिसे एक र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

दुई वर्षदेखि मोरङको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताउनुभयो । “हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाउने, बालीनाली खाइदिएर किसानलाई सास्ती दिने गरेका छन्”, उहाँले भन्नुभयो ।

जङ्गल आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउनुका साथै अनावश्यक कामबाहेक रातिको समयमा घरबाट ननिस्कन र घर बाहिर उज्यालो बनाइराख्न डिभिजन वन कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकेजी रु ४८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडी प्रतिकिलो रु ३० र मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (जाजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १४०, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु २५, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु १९०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ३२०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १४०, आँप (दशहरी) प्रतिकिलो रु १४०, हरियो तरबुजा प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ४५, नास्पाती (लोकल) प्रतिकिलो रु ४०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ४० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु १३०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

“ऐनअनुसार नियमावली बनाउने कामलाई तीव्रता दिएका छौँ ।” – कानुनमन्त्री चौरसिया

काठमाडौँ, ३ साउन : कानुन, न्याय तथा संसदीय मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनअनुसार नियमावलीको चाँडै तयार गर्ने भएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस भइसकेका छन् तर ऐनअनुसार नियमावली बन्न नसक्दा काम अघि बढ्न सकेको थिएन ।

“सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारले निरन्तर काम गरिरहेको छ”, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले भन्नुभयो, “ऐनअनुसार नियमावली बनाउने कामलाई तीव्रता दिएका छौँ ।”

बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०८१ कार्यान्वयनमा आइसकेको छ । दुवै आयोगमा पदाधिकारी आएर काम समेत सुरू गरिसकेका छन् । ऐनमा भएका संशोधनबमोजिम बनाउनुपर्ने नियमावलीहरूको मस्यौदा तयार भइरहेका मन्त्री चौरसियाको भनाइ छ ।

कानुन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०८१, विधायन ऐन, २०८१ र जिल्ला अदालत (तेस्रो संशोधन) नियमावली, २०८१ तर्जुमा भई जारी गरिसकेको छ ।

मन्त्रालयले विभिन्न मन्त्रालयका १९ वटा विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति, १७ वटा विधेयकको मस्यौदामा तर्जुमा सहमति, १३ वटा ऐनमा संशोधन गर्न तर्जुमा सहमति प्रदान गरेको छ ।

त्यस्तै, छ वटा अध्यादेशमा तर्जुमा सहमति, १३ वटा नयाँ नियमावलीमा तर्जुमा सहमति, २३ वटा नियमावलीमा संशोधन गर्न तर्जुमा सहमति प्रदान गरेको छ । त्यसैगरी १० वटा गठन आदेश, पाँच वटा निर्देशिका, चार वटा कार्यविधि, चार वटा मापदण्ड र दुई वटा विनियमावली (नयाँ संशोधन)मा तर्जुमा सहमति प्रदान गरिएको छ ।

कानुन तर्जुमालाई थप वस्तुनिष्ठ र प्रभावकारी बनाउन नेपालको कानुन तर्जुमा प्रवृत्ति विश्लेषणसम्बन्धी अध्ययन गरी त्यसको प्रतिवेदन तयार पारेको छ । “कानुन मन्त्रालयले कानुन तर्जुमा गर्ने क्रममा अन्तरराष्ट्रिय सन्धि/सम्झौताको राय प्रदान गर्ने गरेको छ”, कानुनमन्त्री चौरसियाले भन्नुभयो, “कानुनी राय परामर्श प्रदान, स्थानीय तहका न्यायिक समितिको न्याय सम्पादनसम्बन्धी क्षमता अभिवृद्धि, गाउँसभा र नगरसभाका पदाधिकारी एवं कर्मचारीको कानुन तर्जुमासम्बन्धी क्षमता अभिवृद्धि र आमनागरिकमा कानुनी सचेतना अभिवृद्धि गर्ने काम भएको छ ।”

यस मन्त्रालयबाट तर्जुमा गरिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० संसद्बाट पारित भई प्रमाणीकरणको चरणमा रहेको छ । नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा दफावार छलफलका क्रममा रहेको छ ।

मन्त्रालयले तर्जुमा भएको मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, मुलुकी देवानी (पहिलो संशोधन) संहिता, २०८२, मुलुकी देवानी कार्यविधि (पहिलो संशोधन) संहिता, २०८२ विधेयक मन्त्रिपरिषद्समक्ष पेस भएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, निःशुल्क कानुनी सहायतासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल कानुन व्याख्यासम्बन्धी ऐन, २०१० लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी समेत मन्त्रालयले गरिरहेको छ ।

कानुन मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरिने २५९ वटा सूचना सम्पादन गरी प्रकाशनका लागि मुद्रण विभाग पठाइएको छ । द्विपक्षीय, बहुपक्षीय सम्झौता, दातृ संस्थासँग सम्पन्न गरिने सम्झौताको १०२ वटा मस्यौदामा राय प्रदान गरेको तथा १२ वटा अन्तरराष्ट्रिय सम्झौतामा कानुनी राय प्रदान गरिएको छ भने अन्तरराष्ट्रिय कानुनबमोजिम नेपालले पूरा गर्नुपर्ने दायित्वसम्बन्धी देहायका चार वटा विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ ।

“असमर्थ पक्षलाई कानुनी सहायता उपलब्ध गराउन ७४ वटा जिल्लामा कानुनी सहायता अधिकारी नियुक्त गरेका छौँ”, मन्त्री चौरसियाले भन्नुभयो, “बाँकी रहेका तीन वटा जिल्लामा समेत कानुनी सहायता अधिकारी नियुक्ति गर्ने तयारी रहेका छाँै ।”

पारस्परिक कानुनी सहायतातर्फ विभिन्न अनुसन्धान गर्ने निकायबाट विदेशी राज्यसमक्ष पारस्पारिक कानुनी सहायता पठाइदिनका लागि प्राप्त दुई वटा विषयको अनुरोधका सम्बन्धमा सोअनुसार काम सम्पन्न भएको तथा नौ वटामा कारबाही चलिरहेको छ ।

पारस्परिक कानुनी सहायता र सपुर्दगी सम्बन्धमा विभिन्न राष्ट्रसँग द्विपक्षीय सन्धि गर्ने कार्य सम्बन्धमा मिति २०८१ माघ २४ को निर्णयानुसार विभिन्न विदेशी राज्यहरू समक्ष प्रस्ताव गर्नका लागि मस्यौदा तयार भई सो मस्यौदा राय र सुझावका लागि परराष्ट्र, अर्थ तथा गृह मन्त्रालय पठाइएको उक्त मन्त्रालयका प्रवक्ता कोमलबहादुर खत्रीले जानकारी दिनुभयो ।

न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरूको क्षमता अभिवृद्धिसँग सम्बन्धित १८ वटा तालिम कार्यक्रम सम्पन्न गरिएको र स्थानीय तहको कानुन निर्माणलाई प्रभावकारी बनाउन गाउँसभा, नगरसभामा कानुन तर्जुमासम्बन्धी २३ वटा अभिमुखीकरण तालिम गरेको मन्त्रालयले जनाएको छ ।

आमनागरिकलाई कानुनी सचेतना अभिवृद्धि गर्न रेडियो नेपालबाट हरेक महिनाको पहिलो, तेस्रो र पाँचाँै बुधबार बिहान ‘कानुनका कुरा’ नामक २२ वटा कार्यक्रम प्रसारण गरी कानुनविद्हरूद्वारा कानुनी सचेतना प्रदान गरिएको छ ।

आमसर्वसाधारणसम्म कानुनको सहज पहुँच पु¥याउन दक्षिण कोरियाको कानुन निर्माण मन्त्रालयको सहयोगमा कानुन सूचना प्रणालीको विकास गर्न पाइलट प्रोजेक्ट स्वीकृत भई यस वर्षदेखि काम सुरू हुने भएको छ ।

सर्वोच्च अदालतबाट आर्थिक वर्ष २०७९/८०–२०८१/८२० कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित आदेशबमोजिम बनाउनुपर्ने कानुनको पहिचानसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता खत्रीले भन्नुभयो, “विधायन ऐन, २०८१ को दफा ३ बमोजिम यस वर्ष नेपाल सरकारको तर्फबाट १२१ वटा विधेयकहरू तर्जुमा गर्ने गरी प्राथमिकताक्रम निर्धारण गरी वार्षिक कार्यतालिकासहित सङ्घीय संसद्मा पेस गरिसकिएको छ ।”

आव २०८१/८२ मा मन्त्रालयको कूल बजेटको पुँजीगततर्फ ८४ दशमलव ९५ प्रतिशत र चालुतर्फ ८० दशमलव ८९ प्रतिशत वित्तीय प्रगति भएको समेत मन्त्रालयले जनाएको छ ।

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्ने भएको छ ।हिजो (शुक्रबार) बाट जारी बैठक आज पनि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ । हिजोको बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन महाधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको थियो ।

साथै, बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएका थिए भने अन्य सदस्यहरुले पनि आफ्ना धारणा राखेका थिए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।

टेबलटेनिस लिगको मुख्य प्रायोजकमा स्ट्याग ग्लोबलको निरन्तरता

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मिति २०८२ भाद्र ०१ देखि ०६ गतेसम्म “स्टयाग गोल्बल च्याम्पियन्स लिग – सिजन थ्री” हुने भएको छ ।

यस प्रतियोगिताको तेस्रो संस्करणमा पनि स्टयाग गोल्बल प्रा.लि., इंडियाले मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरको रुपमा निरन्तरता दिने भएको छ । स्ट्याग गोल्बल प्रा.लि.का अध्यक्ष विवेक कोहली र स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नबित श्रेष्ठ बीच सम्झौता पनि भएको छ ।
प्रतियोगितालाई आवश्यकता पर्ने टेबल टेनिस टेबल, रेफ्री कुसीर्, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किट, आदि पन्ध्र लाख बराबरको सम्पूर्ण सामग्रीहरु प्रदान गर्नेछ ।

छ दिन सम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा देश भरका विभिन्न क्लबहरुले सहभागिता जनाउने छन् भने सहभागी क्लबले एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गराउन पाउने छन् ।

प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैंया रहेको छ । यस प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. तीन लाख रुपैयाँ सहित रनिङ्ग ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् भने द्वितीय हुने टिमले नगद रु. एक लाख पचास हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् र तृतीय हुने (दुवै सेमी–फाइनलिष्ट) टिमले नगद रु. पचहत्तर हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेे छन् ।

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

काठमाडौं । दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली आज (शनिबार) भारतको हरियाणा जादैँ छन् । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ ।

खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानिय ५ क्लबसंग अभ्यास खेल पनि खेल्ने छ ।

एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेश्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुने छन् । विश्वकपको दोश्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको बताउदै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए ।प्रशिक्षक भट्ट र कप्तान मानमतिले ८ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको बताउदै पदक जित्नेमा आशावादी रहेको बताए ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

अदानचुली (हुम्ला), ३ साउन : सरकारले न्यूनतम प्रारीश्रमिक निर्धारण गरीरहँदा हुम्लाका नागीरकहरू न्यून ज्यालामा काम गर्न बाध्य भएका छन् । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले यही आर्थिक वर्षदेखि कार्यान्वयन गर्नेगरी मासिक दैनिक, प्रतिघण्टा तथा आंशिक समयमा काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरी रहँदा यहाँका नागरिक त्यसको दोब्बरभन्दा कम ज्यालामा मजदुरी गर्न बाध्य छन् ।

श्रम ऐन २०७४ को दफा १०६ को उपदफा १ मा श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले प्रत्येक दुई वर्षमा दफा १०७ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा न्यूनतम पारिश्रमिक निर्धारण गर्ने व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार यही साउन १ गतेदेखि चियाबगानबाहेकका श्रमिकको मासिक पारिश्रमिक रु १९ हजार ५५०, दैनिक रु ७५४, प्रतिघण्टा रु १०१ र आंशिक समयमा काम गर्ने कामदारको हकमा प्रतिघण्टा रु १०७ निर्धारण गरेको छ । तर यहाँका श्रमिकहरूले प्रतिदिन रु २०० देखि ५०० सम्म मात्र पाउने गरेका छन् । यता ज्यालादारीमा राखिएका कर्मचारीले मासिक रु छ/सात हजारदेखि १८ हजारसम्म मात्र पाउने गरेको बताएका छन् । कुनै पनि वकास निर्माणका कामहरूमा हरेक श्रमिकलाई उपभोक्ता समितिले घाटा लागेको भन्दै अधिकतम रु ५०० र न्यूनतम रु २०० सम्म दिने गरेको श्रमिकको भनाइ छ ।

यहाँका अधिकांश योजनाको भुक्तानी भइसके पनि योजनाको श्रमिकले पाउने रकम वितरण गर्नमा उपभोक्ता समितिले ढिलाइ गरिरहेका छन् । योजनाको घाटा फाइदा जेसुकै भए पनि गाउँमा जसले अगाडि पारिश्रमिक वितरण गर्‍यो उसैले दरभाउ लागू हुने गरेको छ । त्यसैले सबै योजनाको भुक्तानी भई रकम निकासासमेत गरिरहेको अवस्थामा श्रमिकले भने ज्याला पाउन नसकेको अदानुली–३ का नवराज कार्कीले गुनासो गर्नुभयो ।

अधिकांश योजना घुस वा कमिसनकै भरमा ल्याउने भएकाले पनि श्रमिकको ज्याला न्यून भएको उहाँको अनुमान छ । कसैले पनि घुस दिएर ल्याएको हुँ भन्न नसक्ने तर घरभित्रका कोही न कोही वा आफ्नो जग्गाजमिनको नाममा योजनाको नाम राखेर सङ्घ र प्रदेशबाटै योजना ल्याउने प्रवृत्तिका कारण यस्तो भएको हुनसक्ने यहाँका श्रमिकको भनाइ छ ।

सरकारले तोकेअनुसारको ज्याला मात्र होइन यहाँका श्रमिकले समयमै ज्याला नपाएपछि आफ्नो घरपरिवारका लागि खरिद गर्नुपर्ने दैनिक उपभोग्य वस्तु पनि खरिद गर्न समस्या पर्ने गरेका यहाँका श्रमिक बताउँछन् ।

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

काठमाडौं । केल्मी नेपाल इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित एक विशेष समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रवन्ध निर्देशक उत्तम न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

केल्मी, विश्वप्रसिद्ध स्पोट्र्सवेयर ब्रान्ड हो भने अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरूलाई पुरस्कृत गर्दै पनि आएको छ । नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ भने खेलाडीहरुको पहिलो रोजाइमा रहने गरेको छ ।

केल्मीको मुख्यालयमा आयोजित २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटमा विश्वभरका प्रतिनिधीहरु उपस्थित भएका थिए । पुरस्कार ग्रहण पछि प्रवन्ध निर्देशक उत्तम न्यौपानेले भने ‘ यो पुरस्कारले हामीलाई थप प्रेरणा प्रदान गरेको छ । हामी केल्मीसँगको आफ्नो साझेदारीलाई अझ सुदृढ गर्दै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोट्र्सवेयर उपलब्ध गराउन प्रतिबद्ध छौं । हाम्रा ग्राहकहरू, साझेदारहरू र खेलप्रेमीहरूको निरन्तर समर्थनले हामीलाई यो उचाइमा पु¥याएको छ । हामी आगामी दिनहरूमा पनि उत्कृष्टताको यो यात्रालाई निरन्तरता दिनेनै छौं ।

नेपालमा केल्मीको बजारलाई अझ विस्तार गर्न, नयाँ र नवीन उत्पादनहरू ल्याउन तथा नेपाली खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन योजना बनाइरहेको पनि न्यौपानेले बताए

झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटनाः ९५ जनाको मृत्यु

भद्रपुर (झापा), ३ साउनः जिल्लामा आर्थिक वर्ष २०८१/ ८२ (साउन–असार)मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षको अवधिमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपयाँ राजस्व संकलन भएको छ । यस्तै मादक पदार्थ सेवन (मापसे) अन्तर्गत तीन हजार १७४ जना कारवाहीमा परेका छन्, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

जिल्लाभर ट्राफिक सचेतनामूलक कार्यक्रम अन्र्तगत विद्यालय तहका आठ हजार ४६१ विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ भने एक हजार २५० जनालाई मापसे सचेतना प्रशिक्षण प्रदान गरिएको ट्राप्रनि पौडेलले बताउनुभयो । यसैबीच, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै जिल्लामा ट्राफिक भ्वाइलेशन रिकार्ड प्रणाली (टिभिआरयस) र अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले सवारी नियमनका लागि ७० थान रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रीथालाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोगमा ल्याएको छ ।

ट्राफिक सुधार अभियानमा विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रसमेतको सहकार्य गरिएको ट्राप्रनि पौडेलले बताउनुभयो । कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटो÷सिटी चालक, तथा समाजका अन्य पक्षलाई लक्षित गरी गरिएको कार्यक्रमले सडक सुरक्षामा साझा प्रयासको सन्देश दिएको उहाँको भनाइ छ ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

मध्यविन्दु (नवलपरासी), ३ साउनः यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयको राजस्व सङ्कलन अघिल्लो आव कै हाराहारीमा भएको यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख सुरेश जैसवालले बताउनुभयो ।

“गत आवमा सवारी साधन कर सङ्कलन बापत २२ करोड ८७ लाख ९६ हजार ७४८ रुपैयाँ, सवारी चालक अनुमति पत्र एवं सवारी दर्ता किताब बापत ५०० करोड १५ लाख १६ हजार ५५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा ३१ लाख ६६ हजार ५०० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्क बापत ११ लाख दुई हजार ३५० रुपैयाँ राजस्व सङ्कलन भएको छ”, उहाँले भन्नुभयो ।

गत आर्थिक वर्ष यातायात व्यवस्था कार्यालय(नवलपरासी बर्दघाट सुस्तापूर्व)मा विभिन्न प्रकृतिका एक हजार ४१४ वटा सवारी जाँच पास गरिएको छ । त्यसैगरी यस कार्यालयबाट आव २०८१–८२ मा सवारी चालक अनुमति पत्रका लागि नौ हजार ९७५ जनाले लिखित परीक्षामा सहभागी भएको प्रमुख जैसवालले जनकारी दिनुभयो ।

“गत आवमा सवारी चालक अनुमतिको ट्रायल परीक्षामा २० हजार २६० जनाले दिएका छन्”,उहाँले भन्नुभयो,“यहीँ अवधिमा तीन हजार ५४ वटा सवारी चालक अनुमति पत्र नवीकरण गरिएको छ ।”

यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताउनु भयो । यो अभियान अन्तर्गत बिल बुक नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमति पत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो । अभियानको सकारात्मक प्रभावको रूपमा चैत महिनामा मात्र चार करोड ८० लाख २५ हजार ६२५ रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेक नारायण तिवारीले बताउनुभयो । कर तीर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको तिवारीले जनकारी दिनुभयो ।

“सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ” उहाँले भन्नुभयो, “कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।”त आर्थिक वर्ष २०८०÷८१ मा यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले ३० करोड ३५ लाख ५३ हजार ९५३ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि स्थानीय आक्राकोसित

भोजपुर, ३ साउनः टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् । कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् ।

यहाँ कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बीच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । सडक निर्माणमा गुणस्तरहीन काम भएपछि कारवाहीको माग गरिएको उहाँको भनाइ छ । यहाँ गत असार महिनामा सडक कालोपत्र गरिएको वडाध्यक्ष नेपालले जानकारी दिनुभयो ।

“सडक कालोपत्र भएको महिना दिन नपुग्दै उप्किएको छ”वडाध्यक्ष नेपालले भन्नुभयो,“सडक निर्माणको काममा अत्यान्तै लापरवाही भएको अवस्था छ । कालोपत्र सडकको बीचमा घाँस उम्रिएको छ । सडक निर्माणमा गुणस्तरहिन काम भएको प्रष्ट देख्न सकिन्छ ।”

सडक डिभिजन कार्यालय तुम्लिङटार अन्तर्गत आर एन आर आर कम्पनीले असार महिनामा यहाँको शुन्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको वडाध्यक्ष नेपालले बताउनुभयो ।

टेम्केमैयुङका चार वटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडकमा सुरुवाती चरणमै गुणस्तरहिन काम भएपछि स्थानीय आक्राकोसित बनेको उहाँको भनाइ छ ।

कालोपत्र गरिएको सडक छोटो समयमा ठाउँठाउँमा भत्किएको टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले बताउनुभयो । गैर जिम्मेवारढङ्गले सडक कालोपत्र गर्ने निकायलाई राज्यले कारवाहीको दायरामा ल्याउनु पर्ने उहाँको भनाइ छ ।

“यो सडक निर्माणमा अत्यान्तै गुणस्तरहिन काम भएको अवस्था छ”वडाध्यक्ष खड्काले भन्नुभयो, “कालोपत्र सडक भत्किएको छ । अरु त के कालोपत्र गरिएको सडकमा झार उम्रिएको छ । हामीले गुणस्तरहिन काम गर्नेलाई कारवाहीको माग गरेका छौँ ।”

सडक कालोपत्रको क्रममा नालीसमेत व्यवस्थित नगरिएको स्थानीयबासी शरण राईले बताउनुभयो । सडक कालोपत्र सुरु हुँदा उत्साहित बनेको अवस्थामा अहिले स्थानीय निरास बनेको उहाँको भनाइ छ ।

“सडक निर्माणको अवस्था बेहाल छ”उहाँले भन्नुभयो, “कालोपत्र गरिएको सडक भत्किएको अवस्था छ । दुई वटा जिल्लालाई जोड्ने सडक कालोपत्रशको यो अवस्था देख्दा हामी दुखित छौँ । राज्यले यो कामको छानबिन गर्न आवश्यक छ ।”
ठेकेदार कम्पनीले निर्माणस्थलमा योजना बोर्डसमेत नराख्दा योजनाको बजेटलगायतको विषयमा स्थानीय बेखबर रहेको उहाँको भनाइ छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, ३ साउनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २५ पैसा र बिक्रीदर चार रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६६ रुपैयाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ २४ पैसा र विक्रीदर ३५८ रुपैयाँ ८० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल

काठमाडौँ, ३ साउनः राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन गरेको छ । शुक्रबारको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उहाँले पदभार ग्रहण गर्नुभएको छ ।

ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्नुभएको अनुभव छ । पछिल्लो समय राष्ट्र बैङ्कको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गर्नुभएका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार हुनुहुन्छ ।

नवनियुक्त ढकाललाई बैङ्क सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, बैङ्कका व्यवस्थापन समितिका पदाधिकारी, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

विसं २०२२ स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले अहिले तीन सय नौ वटा शाखा कार्यालयमार्फत ७७ वटै जिल्लामा करिव ४७ लाखभन्दा बढि सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । बैङ्क आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित रहेको छ ।

आजको मौसम पूर्वानुमान : कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ३ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ।

सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने तथा हावाहुरीले समेत आंशिक असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

चीनको आर्थिक विकासमा आन्तरिक बजारको योगदान बढ्दै

चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओका अनुसार, सन् २०२१ देखि पछिल्ला चार वर्षमा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिमा आन्तरिक खर्चले औसत वार्षिक रूपमा करिब ६० प्रतिशत योगदान पु¥याएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाङले बताएअनुसार अहिले चीनको आर्थिक वृद्धिमा जनताको खर्च मुख्य आधार बन्न पुगेको छ र यसको प्रभाव अझ बलियो बन्दै गएको छ ।

उहाँका अनुसार, चीनमा घरेलु माग विस्तार हुँदै गएको छ । जनताको जीवनस्तरमा सुधार, रोजगारीका अवसरमा वृद्धि, सेवा क्षेत्रमा विकास, ग्रामीण बजारको मजबुती र प्रविधिको बढ्दो प्रयोगका कारण खर्च गर्ने क्षमता बढेको देखिएको छ । वाणिज्य मन्त्रालयले जानकारी दिएको अनुसार, सरकारले जनताका लागि खर्च गर्न सहज वातावरण बनाउन नीति परिवर्तन, बजार पहुँच सरल बनाउने र उत्पादन तथा सेवा क्षेत्रमा लगानी बढाउने उपायहरू लागू गरेको छ ।

चीन सरकारले पछिल्लो केही वर्षदेखि देशभित्रको बजारलाई मजबुत बनाउने रणनीति अपनाउँदै आएको छ। यसैअनुसार, आर्थिक रुपान्तरणको केन्द्रमा अब देशभित्रको खर्चलाई राखिएको छ । अघिल्ला वर्षहरूमा लगानी र निर्यातमा भर पर्ने चिनियाँ अर्थतन्त्र अहिले देशभित्रको खपत र सेवा क्षेत्रमा आधारित बन्दै गएको छ ।

मन्त्री वाङका अनुसार, दीर्घकालीन रूपमा आर्थिक विकास कायम राख्न जनताको खर्चले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसले उत्पादन, रोजगारी र कर प्रणालीमा समेत सकारात्मक असर पार्ने विश्वास व्यक्त गरिएको छ ।

‘सङ्घीयता कार्यान्वयनका विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्छ : महामन्त्री थापा

पाटन (ललितपुर), २ साउनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्मम भएर समीक्षा गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री थापाले सङ्घीयता कार्यान्वयनका उपलब्धि र कमीकमजोरीका विषयमा सबै गम्भीर भएर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय सरकारले प्रभावकारी काम गर्न नक्दा प्रदेश सरकारहरू सङ्घको प्रतिलिपि जस्तो मात्रै भएका भन्दै यसलाई सुधार गर्नुपर्ने बताउनुभयो ।

“प्रदेश सरकारले नयाँ र सृजनात्मक कार्यमा जोड दिनुपर्छ । सङ्घ र प्रदेशको संसद्लाई अहिलेको भन्दा बढी समावेशी बनाउनुपर्छ, निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्छ । यो बहसमा कांग्रेसले नेतृत्व गर्नुपर्छ । हाम्रो काम जिम्मेवारी लिने हो, यसका लागि आदिवासी जनजाति महासङ्घको महत्त्वपूर्ण भूमिका हुन्छ”, उहाँले भन्नुभयो ।

नेपाल जस्तो विविधतायुक्त देशमा समुदाय, समूहको अधिकारका विषयमा अन्तरिम संविधान बनेको र त्यसको मर्म अनुसार विसं २०७२ को संविधान बनेको भन्दै महामन्त्री थापाले संविधानले सबैको अपनत्वको कल्पना गरेकाले यसका लागि सबैको पहलकदमी आवश्यक रहेको धारणा राख्नुभयो ।

“काँग्रेसले खुट्टा कमाउने हो भने आदिवासी जनजातिका मुद्दा सङ्कटमा पर्छन्, अब इतिहासको मात्रै कुरा गरेर पनि हुँदैन, इतिहासको चर्चा गर्दै प्रेरणा लिएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले जलवायु परिवर्तनको असरबाट आदिवासी जनजाति समुदाय सबैभन्दा बढी पीडित भएका भन्दै नेपालको जलवायु परिवर्तनको असरका विषयमा जनजाति समुदायले आफ्नो मुद्दा बनाएर उठाउनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले समयमा महाधिवेशन सम्पन्न गरेर पार्टी नेतृत्वलाई भरोसा दिँदै अरु भातृसंस्थाको व्यवस्थापनका सन्दर्भमा मार्गसहित विश्वास दिलाएको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले समग्र मुलुक, नेपाल र नेपालीका लागि सङ्घर्ष गरेको आदिवासी जनजाति समुदायले आफ्नै अधिकारका लागि लड्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानसभाबाट बनाइएको संविधानसँग हरेक जातजातिको जीवन जोडिएको बताउँदै मुलुक र संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र नेपाललाई स्थिरताको दिशामा लैजानुपर्ने धारणा राख्नुभयो ।

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’ :मन्त्री भण्डारी

काठमाडौँ, २ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर (एनएस)’को प्रमाणपत्र अनिवार्य बनाइनुपर्ने बताउनुभएको छ ।

आज नेपाल गुणस्तर परिषद्को ११५औँ बैठकमा मन्त्री भण्डारीले नेपालबाहेक अन्य देशले आफ्नो मुलुकमा वस्तु आयात गर्दा आफ्नो देशको नियमअनुसार गुणस्तर अनिवार्य गरी बाह्य वस्तुको आयातमा कडाइ गर्ने गरेकाले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर’को प्रमाणपत्र अनिवार्य गर्नुपर्ने उल्लेख गर्नुभयो ।

“नेपालले पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै नेपाली बजारमा आउने वस्तुहरूमा ‘नेपाल गुणस्तर (एनएस)’ अनिवार्य लागू हुनेगरी अविलम्ब कार्यप्रारम्भ गर्नुपर्ने भएको छ”, उहाँले भन्नुभयो, “नेपालमा दैनिक उपभोग्यदेखि औद्योगिक प्रयोजनका सामान विदेशबाट आयात भइरहेका छन् । तीमध्ये कतिपय वस्तु गुणस्तरहीन हुँदा त्यसको प्रत्यक्ष असर आमउपभोक्ताको स्वास्थ्यमा पर्नुका साथै सुरक्षा र आर्थिक हानि देखिएको छ । त्यसैले अब नेपाल आउने वस्तुमा अनिवार्य रूपमा नेपाल गुणस्तर लागू गरिनु अत्यावश्यक छ ।”

न्यून गुणस्तरका वस्तु नेपाल भित्रिनु उपभोक्तामाथि अन्याय हुने बताउँदै मन्त्री भण्डारीले यस्तो कार्यले दीर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने उल्लेख गर्नुभयो । नेपाल गुणस्तर परिषद्अन्तर्गत उपभोक्ताको हितका लागि प्रभावकारी नीति निर्माण तथा गुणस्तर अनुगमन प्रणाली बलियो बनाउने विषयमा मन्त्रालयले प्राथमिकता दिइरहेको उहाँले जानकार दिनुभयो ।

नेपालमा उत्पादन हुने वस्तुमा कसरी ‘नेपाल गुणस्तर चिह्न’ प्रदान गर्ने, गुणस्तर मापनका मापदण्ड सुधार गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने तथा गुणस्तरहीन वस्तुको आयातमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको थियो ।

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौँ, २ साउन : संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा वैज्ञानिक र न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग गरेको छ ।

केन्द्रले यहाँ आज पत्रकार सम्मेलन गरी वैज्ञानिक आधारमा जीवनयापन योग्य न्यूनतम पारिश्रमिक ३० हजार ४४३ लागू गर्न माग गरेको हो । केन्द्रका अध्यक्ष जगतबहादुर सिम्खडाले आफ्नो तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रदेश सरकारमा न्यूनतम पारिश्रमिक सन्दर्भमा औपचारिक रुपमा माग पेस गरेको उल्लेख गर्दै नेपाल सरकार, रोजगारदाता तथा संयुक्त टे«ड युनियन केन्द्रबीच १९ हजार ५५० को न्यूनतम पारिश्रमिक निर्धारण गरिएको भन्ने समाचारप्रति खण्डन गर्नुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रको कुनै पनि निर्णय सर्वसम्मतिमा मात्र गर्न सकिने स्पष्ट व्यवस्था विधानमा छ, केन्द्रको ‘प्रेसिडियम’ वैठकले केन्द्रको अन्तिम सहमति बिना कुनैपनि रकममा हस्ताक्षर नगर्ने निर्णयको उल्लङ्घन गरिएको छ ।”

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा केन्द्रका तर्फबाट प्रतिनिधित्व गर्ने तीन सदस्यमध्ये एक सदस्यले स्पष्ट असहमति जनाइसकेको अवस्थामा बाँकी दुई सदस्यको हस्ताक्षरका आधारमा गरिएको निर्णय संस्था, प्रक्रिया र श्रमिकको भावना विपरीत रहेको उहाँको भनाइ छ ।

बामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् ।शुक्रबार नेता वामदेव गौतम नेकपा एसमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई निरन्तर दिने बताएका हुन् ।

उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ । त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरुलाई वा कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ ।’

उनले पार्टी बलियो भए मात्र सबैले मान्ने धारणा राख्दै आफ्नो शक्ति बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने बताए ।‘एकता भयो कि भएन भनेर सँधै गीत गाएर बस्ने पनि होइन, कुरेर बस्ने पनि होइन । आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । आफ्नो पार्टी बलियो भयो भने त्यसको कुरा सबैले सुन्छन । कमजोरको कुरा कसैले सुन्दैन । त्यसैले आफ्नो शक्ति बलियो बनाउने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने ।