`

१९औँ एसियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

नेपाल सम्मिलित समूह सी मा मङ्गोलिया, दक्षिण कोरिया र भियतनाम रहेका छन् । दक्षिण कोरिया उक्त समूको शीर्ष स्थामा तथा नेपाल दोस्रो स्थानमा रह्यो । पब्जी स्पर्धामा नेपालको ५२ मिनेट २० दशमलव २८ सेकेन्ड तथा दक्षिण कोरियाको ४७ मिनेट २८ दशमलव ४६ सेकेन्डको समय रहेको थियो। योसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पब्जीमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपालले दोस्रो चरणमा शुक्रबार प्रतिस्पर्धा गर्नेछ। दोस्रो चरणबाट उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्ने छन्। यसअघि समूह ‘ए’ बाट हङकङ, समूह ‘बी’ बाट चाइनिज ताइपेई तथा समूह ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी

कटारी (उदयपुर), ११ असोज – उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट प्रालिले चार महिनापछि चुनढुङ्गा ढुवानी गर्ने भएको छ । कटारी नगरपालिकाको ४, ५, र ७ नं वडाका सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिपर सञ्चालन गर्न दिएका थिएनन् ।

लामो समयको अवरोधपछि कटारी नगरपालिकामा बसेको दुई पक्षीय छलफलपश्चात टिपर सञ्चालनको तयारी गरिएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । “वन समूह र स्थानीयसँग विभिन्न स्थानमा बसेर वार्ता गरी सञ्चालन गर्ने तयारी भएको छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “दुई पक्षका साथै सरोकारवालाको भेलाले माग क्रमशः पूरा गर्दै खानी सञ्चालन गर्न दिने तयारी हुँदै छ ।”सरोकारवालाको छलफलबाट उद्योगले प्रभावित स्थानीयलाई गर्दै आएको विभिन्न सहयोग नगरपालिकाबाट एकद्वार प्रणालीबाट सञ्चालन गर्ने तयारी भएको छ ।

“प्रत्येक समूहका पदाधिकारी र व्यक्तिसँग डिल गरेर सञ्चालन गर्दा प्रभावकारी बनेन”, उद्योगका खानी विभाग प्रमुख राजन झाले भन्नुभयो, “हामी प्रभावितका माग पूरा गर्दै जान्छौँ तर नगरपालिका र वडा सरकारसँग समन्वय गरी एकद्वार प्रणालीमा काम गर्छौँ ।”सामुदायिक वनले वन क्षेत्रको सडकबाट उद्योगले ढुवानी गर्दा भएको क्षति डिभिजन वन कार्यालय कटारीको समन्वयमा अध्ययन गरी क्षतिपूर्ति दिनुपर्ने, यसअघि भएको सडक ढलान, खानेपानी, स्वास्थ्यसँग सम्बन्धित शिविर यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका छन् ।

“प्रभावित वडावासीसँगै छलफल गरेर प्राथमिकताका आधारमा काम गर्ने तयारी भएको छ”, कटारी–८ का वडाध्यक्ष नवीन्द्र तामाङ भन्नुहुन्छ, “प्रभावितको माग सम्बोधन गरी उद्योग सञ्चालनमा आउनुपर्छ ।”आर्थिक मन्दीका बीचमा लामो समय खानी बन्द भएपछि उद्योग घाटामा गएको बताउँदै खानी विभाग प्रमुख झाले सरकारको प्राथमिकतामा सञ्चालनमा रहेको उद्योग नचल्दा राज्यले समेत घाटा व्यहोर्नुपरेको बताउनुभयो । नियमित सञ्चालन हुने वातावरण नगरपालिकाबाट तयार गरिदिए आफूहरू प्रभावित क्षेत्रको माग नगरपालिकाकै समन्वयमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उद्योग सञ्चालका लागि स्थानीयवासी स्थानीयस्तरमै छलफल गर्न तयार भएका छन् । स्थानीय वडा र टोल साथै वन समूह नगरपालिकाको समन्वयमा छलफलमा बसी खानी सञ्चालन गर्न दिन तयार भएका हुन् ।

मुलुकको विकास गर्न शासक इमान्दार हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ, ११ असोज : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमान्दार हुनुपर्नेमा बताउनुभएको छ । हिमालय मातृभूमि फाउन्डेसनद्वारा आज आयोजित ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान–२०८०’ कार्यक्रममा उहाँले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि शासक इमानदार हुनुपर्ने बताउनुभयो ।

“वर्तमान सरकारको शासनशैली जनतालाई मन परेको छैन, किनभने इमान्दारिता छैन”, उहाँले भन्नुभयो, “सुशासन, विकास र समृद्धिका लागि शासन इमानदार हुनैपर्छ ।” धेरै बिग्रेको सुधार हुनका लागि समय लाग्ने भएकाले आशावादी हुन आग्रह गर्दै उहाँले भन्नुभयो, “यही देशको माटोको विकास गर्नुपर्छ, अरूको देशमा जानु भनेको हराउनु हो ।”

उहाँले देशमा भ्रष्टाचारले जरो गाँडेको उल्लेख त्यसको अन्त्यका लागि दबाब समूह जरुरी भएको बताउनुभयो । प्याव्सन कार्यसमिति अध्यक्ष डिके ढुङ्गानाले मुलुकको विकासका लागि राजनीतिक स्थायित्व र सुशासन जरुरी भएको आवश्यकता औँल्याउँदै त्यसका लागि सबैको इमानदारपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाज विकासक्रममा मुलुकको विकासका लागि स्थापना भएको प्रजातन्त्रको अभ्यास गर्नुपर्नेमा जोड दिँदै गलत कामलाई सच्याउँदै राम्रो कामको गर्न सुझाव दिनुभयो । एनप्याव्सनका सहअध्यक्ष सुवास न्यौपानेले सुशासन, विकास र समृद्धिका लागि सबैमा चिन्ता र चिन्तन हुनुपर्ने धारणा राख्नुभयो । पूर्वराजदूत महेश दाहालले देश भनेको जनता र जनताको भावना भएको उल्लेख गर्दै देश समृद्ध बनाउन धेरैभन्दा धेरै उद्योगधन्दा खोल्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक विश्लेषक मुमाराम खनालले शिक्षाको क्षेत्रमा काम गर्ने व्यक्तिहरूले खोल्नुभएको संस्था भएको हुँदा शिक्षाको सुधारमा लाग्न राजनीति नगर्न सुझाव दिनुभयो । पूर्वसचिव शारदाप्रसाद त्रितालले सुशासन कायम गर्न सरकारले नै ध्यान दिनुपर्ने भए पनि सरकार बनाउने र टिकाउनेमा मात्रै ध्यान दिनु दुःखद् भएको अनुभव सुनाउनुभयो । अध्यक्ष टीकाराम पुरीले देशलाई माया गर्ने देशभक्त नेपाली मिलेर सुशासन, विकास र समृद्धिका लागि स्थापना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाले गर्ने कामका बारेमा अवधारणापत्र सार्वजनिक गरेको थियोे ।

१९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो

हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको बराबरी खेलेका हुन् ।

नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औँ मिनेटमा गोल गरेकी हुन् । सावित्रा भण्डारीले दिएको पासमा उनले गोल गरिन् । मध्यान्तर अघिको खेलमा बङ्लादेशले एक गोल गर्दै अग्रता लिएको थियो । उसका लागि खेलको ४४औँ मिनेटमा सविना खातुनले गोल गरिन् । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलेका थिए ।

नेपाल र बङ्लादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भएका थिए । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो । यस्तै बङ्लादेश पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसित ६–१ गोलअन्तरले पराजित भएको थियो ।

रेडपान्डा जोगाउन कुकुर–बिरालोलाई रेबिजविरुद्धको खोप

फुङ्लिङ, ११ असोज : विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुर नियन्त्रण गर्नका लागि खोप, भिटामिन र बन्ध्याकरण अभियान प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ ।

रेडपाण्डा बासस्थान नजिकै रहेको बस्तीमा रहेका कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप, भिटामिन र बन्ध्याकरण अभियान थालिएको हिमाली संरक्षण मञ्चले जनाएको छ । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ ।

रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरू रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान विगतदेखि नै गर्दै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताउनुभयो ।

रेडपान्डाको संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत छ वर्षअघिदेखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले बताउनुभयो ।

बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपान्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ । कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ भई मोटाउने र भद्दा हुने भएपछि सिकार गर्न नरुचाउने हुँदा रेडपान्डा संरक्षणमा सहयोग पुग्नेछ । रेडपान्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालोसमेतलाई रेबिजविरुद्धको खोप लगाउनका साथै भिटामिन खुवाउन थालिएको राईले बताउनुभयो ।

राईका अनुसार गत सातामात्र पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु २० र ३ तिरिङ्गेमा ६८, सिरिजङ्गा गाउँपालिका–३ सिकैँचागाउँमा एक सय ११ कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । फुङ्लिङ नगरपालिका–९ बुङकुलुङ गाउँमा ५१, वडा नं १० फुरुम्बो एक सय १३ र वडा नं ११ फावाखोलामा ७१ वटा कुकुरलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ ।

गत साता सम्पन्न भएको अभियानमा मात्र चार सय १४ वटा कुकुर ३७ वटा बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको छ । उक्त क्षेत्रमा केही बिरालोलाई पनि रेबिजविरुद्ध खोप लगाएको र भिटामिन खुवाएको मञ्चले जनाएको छ । राईका अनुसार रेबिजविरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक कुकुर छन् । गत वर्ष चार सय १४ वटा कुकुर, १९ वटा बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको थियो । हिमाली मञ्चले सङ्कलन गरेको तथ्याङ्कानुसार ताप्लेजुङमा करिब एक सय ३४ रेडपान्डा रहेको अनुमान छ ।

जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन : प्रवक्ता यादव

काठमाडौँ, ११ असोज : जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई तीव्रता दिएको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताउनुभयो ।

पार्टीको आगामी रणनीतिबारे आज सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै प्रवक्ता यादवले पार्टी बन्दै गरेको अवस्थामा आगामी निर्वाचनलाई लक्षित गरेर वडा तहदेखि नै सङ्गठन निर्माणमा केन्द्रित हुने बताउनुभयो । उहाँले आफूहरू सत्ता गठबन्धनमा रहेको तर, अब आउने निर्वाचनमा कुनै पनि चुनावी गठबन्धन नगरी पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट पार्नुभयो ।

पार्टी अध्यक्ष चन्द्रकान्त (सिके) राउत सरकारमा नजाने नीति हो भन्ने जिज्ञासामा प्रवक्ता यदावले आगामी निर्वाचनमा केन्द्रित भएर सङ्गठन निर्माणमा बढी खट्नुपर्ने भएकाले उहाँ मन्त्री बन्न हतारो नगर्ने उल्लेख गर्नुभयो ।

“हाम्रो पार्टीको मिसन भनेको मधेस प्रदेशमा आफ्नै दुईतिहाइको बहुमतको सरकार बनाउने र लुम्बिनी प्रदेशमा सरकार बनाउने हो”, उहाँले भन्नुभयो, “कोशी प्रदेशमा निर्णय गर्ने ठाउँमा पार्टीलाई उभ्याउने तथा सङ्घमा पनि बढीभन्दा बढी सिट जितेर सरकारमा ठूलो सहभागितासहित काम गर्ने नीति र योजनाअनुरुप नै अध्यक्षजी अहिले सरकारमा गएर मन्त्री बन्न इच्छुक हुनुहुन्छ ।”

अहिले संसद्मा कुनै पनि पार्टीको बहुमत नरहेकाले संसद् सञ्चालन र सरकारलाई स्थायित्व प्रदान गर्न पार्टीले सहकार्य गर्नुपर्ने आवश्यकता भएकाले आफूहरू सरकारमा सहभागी भएको प्रवक्ता यादवको भनाइ थियो ।

सूचनाको हकलाई तल्लो तहसम्म पु-याउन राष्ट्रिय सम्मेलन

काठमाडौँ, ११ असोज ः सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पु¥याउन आज यहाँ एक दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा कार्यक्र आयोजना गरिएको महासङ्घले जनाएको छ । देशभर स्ूचनाको हकको महत्व र आवश्यकता महसुस गराई आमजनताले समेत सूचना माग्ने वातावरण बनाउन अभियानकर्ता, पत्रकार, नागरिक समाज, कानुन व्यवसायी, महिला, युवा, विद्यार्थी र काठमाडौँ उपत्यकाभित्र रहेका सरकारी कार्यालयका सूचना अधिकारीको समेत सम्मेलनमा सहभागीता रहेको छ ।

नेपालको संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन २०६४, नियमावली २०६५, कार्यविधि एवं निर्देशिकासमेत बनिसक्दा पनि तीनै तहको सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा प्राथमिकतामा नराखेका जनाइएको छ । संविधान प्रदत्त मौलिक हकलाई नागरिकस्तरबाट व्यापकरुपमा व्यावहारिक प्रयोग गर्न सार्वजनिक निकायबाट सहजै सूचना लिने दिने वातावरण बनोस् भनेर महासङ्घले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

सम्मेलनमा सूचनाको हकको क्षेत्रमा क्रियाशील सातै प्रदेश र ७७ वटै जिल्लाका चार सय अभियानकर्मीको सहभागीता रहेको छ । सम्मेलनको पहिलो दिन तीन फरक फरक विषयमा प्यानल छलफल हुने छ । पहिलो सत्रमा सूचनाको हकको प्रवद्र्धनमा नागरिक संस्था र सञ्चार क्षेत्रको भूमिका र चुनौती विषय रहेको छ । दोस्रो छलफलमा गरिब महिला, अल्पसङ्ख्यक युवाको सूचनामा पहुँच र तेस्रो विषय नेपालमा सूचनाको स्वत ः प्रकाशनको अभ्यास र चुनौतीको रहेको छ ।

दोस्रो दिन शुक्रबार महासङ्घले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । महासङ्घ काठमाडौँ उपत्यका प्रदेश समितिका अध्यक्ष ताराबहादुर भण्डारीले राजनीतिक दलका सूचना अधिकारीको पनि कार्यक्रममा सहभाागिता रहने जानकारी दिनुभयो ।

सूचनाको हक नागरिकलाई अधिकार सम्पन्न बनाएको कानुन भएकाले यसको कार्यान्वयनका लागि नागरिक संस्थाका रुपमा सक्रियता लिएको महासङ्घले जनाएको छ ।

विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो : एमाले सांसद शर्मा (अन्तवार्ता)

काठमाडौँ, ११ असोज : नेकपा ९एमाले० को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उहाँको ठम्याइ छ ।

दैलेखको नारायण नगरपालिका–२ मा २०३९ मङ्सिर २८ मा जन्मनुभएकी शर्माले कक्षा ७ मा पढ्दादेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियू० को प्रारम्भिक कमिटीबाट राजनीतिक सुरु गर्नुभएको हो ।

उहाँले दैलेखमा अनेरास्ववियूको कोषाध्यक्ष हुँदै नेपालगञ्जको बाँकेमा २०६० सालमा क्याम्पस पढ्ने क्रममा अनेरास्ववियूको जिल्ला उपाध्यक्ष र अध्यक्ष भएर काम गर्नुभयो । उहाँले २०६२÷०६३ सालको आन्दोलनमा अनेरास्ववियूको नेतृत्व गर्नुभएको थियो ।

यसपछि, अनेरास्ववियूको तीन पटक केन्द्रीय सदस्य, महिला विभाग प्रमुख भएर जिम्मेवारी उहाँले पूरा गर्नुभएको थियो । उहाँले अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ० केन्द्रीय युवा कमिटीको प्रमुख भएर काम गर्नुभयो । बाँकेको पार्टी जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य हुँदै एमालेको दशौँबाट पार्टी केन्द्रीय कमिटी सदस्य र हाल बाँके निर्वाचन क्षेत्र २ को प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ मुस्लिम, मधेसी समुदायको बाहुल्यता रहेको बाँके उपमहानगरपालिका वडा १ मा बस्नुुहुन्छ ।

राससँग सांसद शर्माले कुरा गर्दै भन्नुभयो, “प्रतिनिधिसभा सदस्यको मूल जिम्मेवारी कानुन बनाउने र जनतालाई त्यसका माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने हो तर नेपालमा आफूले निर्वाचन क्षेत्रबाट जितेको ठाउँमा विकास निर्माणका काममा बढी ध्यान दिने नेपालको अभ्यास छ, यो गलत अभ्यास हो ।” उहाँले आफ्नो निर्वाचन क्षेत्रमा जाने महत्वपूर्ण कानुन बनाउने विधेयकको छलफलमा उपस्थित नहुनेजस्तो समस्या देखिएको उहाँको ठम्याइ छ । जुन मुख्य जिम्मेवारीबाट ओझेलमा परिने गलत अभ्यास उहाँको बुझाइ छ ।

सांसद शर्मा तीन वटा विषयगत समिति शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा क्रियाशील हुनुहुन्छ । संसद्मा शिक्षासम्बन्धी विधेयक संसद्मा दर्ता प्रसङ्गमा कुरा गर्दै थप्नुभयो, “स्वास्थ्यका कानुन बनाउनुपर्ने, चिकित्सा आयोगसम्बन्धी कानुन बनाउनुपर्ने छ, दैनिक डाक्टर कुटिएको अवस्था छ, त्यसले गर्दा विधायक कानुन बनाउने कुरालाई नै पहिलो प्राथमिकता दिनुपर्छ ।”

सांसदले गत पुस ७ गते विधायकको रुपमा सपथ लिएर काममा लागेको भए पनि योबीचमा आकस्मिक रुपमा एउटा मिटरब्याजीसम्बन्धी मात्रै कानुन निर्माण भएको छ । तर अरु महत्वपूर्ण कानुन पनि संसद्बाट निर्माण हुन सकेको छैन । यस विषयमा विधायक मात्र दोषी नभएको सांसद शर्माको धारणा छ । “सरकारले संसद्मा कानुन बनाउनका लागि विजनेस नै दिएको छैन, कानुन नबन्नमा सांसद र संसद् दोषी छैन”, उहाँले भन्नुभयो, “यतिका लामो समयसम्म समितिका सभापति नै आएनन्, बल्ल विषयगत समितिले सभापति पाएको छ, अब कानुन बनाउने कुरामा ध्यान दिनु जरुरी छ ।” संसदले राष्ट्रपति र उपराष्ट्रपति, सभामुखको चुनाव गराउन मात्र सफल भएको तर महत्वपूर्ण कानुन बनाउनुपर्ने कुरामा सरकारले नै ध्यान नदिएको उहाँको आरोप छ ।

संंसद् जनताको आवाजको थलो पनि भएको हुँदा संसद्ले सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण काम हो भन्ने सांसद शर्माको ठहर छ । “सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ, जनताको आवाज बोलेको शून्य सयम, विशेष समयमा उठाएको समस्याको विषयमा सरकारले ध्यान दिन जरुरी हुन्छ”, सांसद शर्माले जोड्नुभयो, “सांसदले प्रश्न उठाइरहने तर सरकारले ध्यान नदिनेजस्तो देखिएको छ, त्यस्तो हुनुहँुदैन, संसद् ताली पडकाउने स्थान मात्र होइन, जनताको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने स्थान हो ।” उहाँलाई शून्य र विशेष समयमा सरकारले उठाएको प्रश्नमा सरकार गम्भीर नभएको भन्ने लाग्छ । मूल कामभन्दा पनि बेलाबेलामा संसद् अवरुद्ध भइरहने गर्दा पनि कानुन बनाउनेजस्तो काममा ढिलाइ भइरहेको विषयमा सांसद शर्माले थप्नुभयो, “राष्ट्र, राष्ट्रियता र सीमाको संरक्षण गर्नु, त्यो देश र नागरिककै हितका लागि कहिलेकाहीँ सुनुवाइ भएन भने संसद् अवरुद्ध पनि गर्नुपर्ने हुन्छ, प्रतिपक्षको धर्म नै हो ।”

सांसद भएपछि आफ्नो मर्यादाको ख्याल राख्नुपर्ने कुरामा उहाँको जोड छ । “सांसद भनेको जनताको विशेष प्रतिनिधि हो, बोल्ने शब्द मर्यादित र शालिन हुनुपर्छ, पोशाक पनि मर्यादित लगाउनुपर्छ”, उहाँले थप्नुभयो, “अनुशासनको पालना गर्नुपर्छ, पद र संसद्को गरिमा जोगाउनुपर्छ, यदि कमीकमजोरी भएको छ भने सच्याउनुपर्छ ।”

संसद् विकास कोषबाट रकम लिने विषय उचित नभएको सांसद शर्माको धारणा छ । “नेपालको अभ्यासमा सांसद विकास कोषबाट पैसा लिएर धारा, कुलो, बाटो, भवन बनाउने अनि, मैले विकास गरे नि भन्ने चलन छ, यस्ले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा हुन सक्दैन, विधिको शासन कायम गर्न कानुन बनाउने कुरालाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ ।”

उहाँलाई कानुन बनाएरै राज्यको संरचनालाई बलियो बनाउनुपर्ने र बनाएका कानुनको पनि कार्यान्वयन भए वा नभएको विषयमा ध्यान दिन जरुरी हुन्छ भन्ने लाग्छ । राष्ट्रको हितका लागि गरिएका राष्ट्रिय गौरवका आयोजना निर्माण, नेपालमा उद्योगधन्दा खोल्ने, स्वदेशमा रोजगारीको वातावरण बनाउने विषयमा भने सांसदमा छलफल गर्न उचित हुने र मुख्यरुपमा कानुन बनाउनुपर्ने कुरामा नै विधायकको भूमिका खेल्नुपर्ने उहाँको बुझाइ छ ।

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर, ११ असोज : भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।

गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो ।

अरुण डाँडालाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यहाँका विकास भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यसले गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

“हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो अरुण डाँडालाई बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा यसको विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्न लागि परेका छौँ ।”

अरुण डाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि सडक विस्तारसँगै पैदलमार्ग तथा विश्रामस्थल निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । यहाँबाट विभिन्न हिमशृङ्खलाको सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै पूजाआजा गर्नका लागि पर्यटक आउने उहाँको भनाइ छ ।

“अरुण डाँडाको छुटै धार्मिक महत्व छ”, उहाँले भन्नुभयो, “यो स्थान घुम्न आउने मानिसको लागि आनन्ददायक छ । मानिस आफ्नो भाकल पूरा गर्नको लागि पूजाआजा तथा दर्शनको लागि पनि आउने गरेका छन् ।”

अरुण डाँडाको विकासको लागि योजनाबद्ध रुपमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । यो ठाउँको थप प्रचारप्रसारको लागि विभिन्न समयमा गाउँपालिकाले मेला महोत्सवसमेत लगाउँदै आएको उहाँको भनाइ छ । “अरुण डाँडाको विकाससँगै यसको प्रचार÷प्रसारमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “हामीले यहाँको आवश्यक विकासका लागि काम गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भइरहेको छ । यसलाई देश विदेशमा चिनाउन विभिन्न समयमा मेला महोत्सव पनि सञ्चालन गरिरहेका छौँ ।”

पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको समेत विस्तार भइरहेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो । मानिस प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि पनि अरुण डाँडा क्षेत्रमा आउने गरेको स्थानीयवासी लालबहादुर तामाङले बताउनुभयो । सदरमुकामबाट नजिकको दूरीमा पर्ने भएको अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उहाँको भनाइ छ । त्यस्तै भोजपुर–लेगुवा मध्य पहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता रहेको उहाँको भनाइ छ ।

“गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेपछि पर्यटकको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “यो ठाउँमा बिदाको समयमा पर्यटक धेरै आउँछन् । यो स्थान धेरै पर्यटकको रोजाइमा पर्ने स्थल बनेको छ ।” वडा नं १ श्यामशिलामा पर्ने यो स्थानमा पर्यटकलाई लक्षित गरेर किवी खेतीकोसमेत विस्तार भइरहेको उहाँको भनाइ छ । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा लिइने गरिन्छ ।

इन्द्रजात्राका कारण आज काठमाडौंका यी स्थानमा सवारी आवागमन प्रभावित हुने

काठमाडौं – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

यस्तै आज इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको छ ।त्यसैले आज वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरले सूचना जारीप् गर्दै आग्रह गरेको छ।

आज बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेहुँदा ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरले जनाएको छ ।

ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण

काठमाडौँ, ११ असोज ः ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।

ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो । नयाँबसापार्क भित्र बुधबार भएको प्रशिक्षणमा चाडपर्वमा यात्रुलाई सुरक्षित गन्तव्यस्थलसम्म कसरी सहजै लैजान सकिन्छ भन्नेबारेमा प्रशिक्षण प्रदान गरिएको ट्राफिक वृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो ।

यस्तै, चाडपर्वमा बढी भाडा लिँदा गरिने कारबाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा हुने दुर्घटनालगायतको बारेमा समेत अवगत गराइएको थियो । मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँबसपार्कबाट दैनिक छ सय सवारी साधन देशका ६५ भन्दा बढी जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार – प्रधानमन्त्री दाहाल

काठमाडौँ, ११ असोज ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताउनुभएको छ ।

इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको बताउनुभएको छ ।

“देशको यही विविधतालाई आत्मसात् गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात् गरेको छ । यो हामी सबैका लागि गौरवको कुरा हो”, उहाँले शुभकामनामा भन्नुभएको छ ।

नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये इन्द्रजात्रा सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ । मुख्यतः काठमाडौँ उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक सांस्कृतिक पर्व हो । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारले समुदायले यसजात्रा लिङ्गो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्मसहित धुमधामपूर्वक मनाउने गरेका छन्

प्रधानमन्त्री दाहालले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेवार समुदायलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।

थारु समुदायद्वारा ‘जितिया’ पर्वमा बिदा दिन माग

भरतपुर, ११ असोज- चितवनका थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरिएका छन् । थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा (पितृऔँशी), फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो ।

थारु समुदायका महिलाको मुख्य चाड जितिया हो । यस वर्ष यही असोज २० गते जितिया पर्व मनाइँदै छ । यसपटक जितिया शनिबार परेकाले स्वतः बिदा हुनेछ । तर अरु बेला यो चाड मनाउन स्थानीय सरकारले समेत बिदा दिने गरेका छैन । अझ विद्यालयमा सोही बेला परीक्षासमेत हुने गरेको छ । यसले गर्दा युवापुस्ताले आफ्नो चाडपर्व ढुक्कले मनाउन नपाएको थारु समुदायको गुनासो छ ।

यही अवस्थालाई मध्यनजर गर्दै थारु कल्याणकारिणी सभाले घोषणापत्र मार्फत नै बिदा दिन माग गरेको सभा चितवनका सभापति ललित चौधरीले जानकारी दिनुभयो । यस्तै सभाले घोषणपत्रमार्फत आगामी प्रदेशको निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि रैथाने थारुलाई मेयर, उपमेयर, वडाध्यक्षलगायत महत्वपूर्ण पदमा उम्मेदवार बनाउन चितवनका राजनीतिक दलसमक्ष मागसमेत गरेको छ ।

घोषणापत्रमा स्थानीय तहहरुमा थारु विकास कार्यक्रम लागू गरी थारु समुदायको आर्थिक, शैक्षिक, भाषिक, सांस्कृतिक, सामाजिक उत्थानका लागि सम्मानजनक बजेटको व्यवस्था मिलाउन, सङ्घीय र प्रदेशको कामकाजी भाषाअन्तर्गत बागमती प्रदेशको हकमा चितवनमा बोलिने थारु भाषाको उपस्थिति १ प्रतिशत भन्दा धेरै भएकाले प्रदेश र स्थानीय निकायमा कामकाजीको भाषाका लागि बहुभाषिक व्यवस्थाअनुरुप चितवनको थारु भाषा कामकाजको भाषाको रुपमा कायम गर्न आग्रह समेत गरिइएको छ ।

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडौँ, ११ असोज ः विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।

यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गर्नुभएको थियो ।

यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो ।

नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्र्दभमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउनुहुन्छ । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९÷८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट विरामी भएका थिए ।

यस्तै आव २०७५÷ ७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७÷७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो । गत आवमा दुई लाख ५० हजार, ‘एआरभी’ भायल खोप खपत भएको थियो । महाशाखाका अनुसार आव ०७०÷७१ मा नेपालमा रेबिजका कारण १० जनाको मृत्यु भएको थियो ।

आव ०७१÷७२ मा १३ जना, आव ०७२÷७३ मा छ जना, आव ०७३÷७४ मा आठ, आव ०७४÷७५ मा ३२ जना र आव ०७५÷७६ मा १८ जनाको रेबिजका कारण मृत्यु भएको थियो । तर पछिल्ला वर्षहरुको तथ्याङ्कमा रिपोर्ट भएका जनावरको टोकाइका घटनाको सङ्ख्यामा उतारचढाव आए पनि रेबिजको मृत्युको सङ्ख्या गत वर्षको तुलनात्मक रुपमा बढ्दै गएको महाशाखाका अधिकारी बताउँनुहुन्छ ।

रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ ।

रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठले भन्नुभयो, “टोक्नासाथ रेबिजविरुद्धको खोप लगाएमा यो रोगबाट बच्न सकिन्छ । अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ, र धेरैजसो अवस्थामा मृत्यु हुन्छ ।” रेबिजबारे भ्रमलाई चिर्न यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको उहाँले बताउनुभयो । “कुनै पनि उमेर समूहका कुनै पनि प्रकारका कुकुरले टोक्दा यो रोग सर्न सक्छ । घरमा खोप लगाएको छ भनेर हुँदैन । घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्छ”, उहाँले भन्नुभयो, “तुरुन्त रेबिजविरुद्धको भ्याक्सीन लगाउनुपर्छ । पाँच वर्षमुनिका बालबालिकालाई रेबिज लाग्दैन भन्ने भ्रम छ । सबै उमेर समूहका लागि यसविरुद्धको खोप अत्यावश्यक हुन्छ ।”

जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उहाँको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ ।

खानेपानी तथा सरसफाइ सम्मेलन : काठमाडौँ घोषणापत्र जारी

काठमाडौँ, ११ असोज ः सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (बास) सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।

खानेपानी मन्त्रालयको आयोजनामा मङ्गलबारदेखि सुरु सम्मेलनले जनस्वास्थ्य, वातावरणीय दिगोपना र सामाजिक विकास प्रवद्र्धनमा बासको महत्वपूर्ण योगदान रहने निष्कर्षसहित जारी २० बुँदे घोषणापत्रमा समन्वय, सहयोग र क्षेत्रगत साझेदारीलाई फराकिलो बनाउने उल्लेख गरिएको छ ।

सम्मेलनपछि बुधबार जारी घोषणापत्रमा नेपालको संविधान, राष्ट्रिय बास नीति २०२३, खानेपानी तथा सरसफाइ ऐन २०२२ लाई मध्यनजर गर्दै तेस्रो खानेपानी सरसफाइ सम्मेलन २०२३ ले सिफारिस गरेका विषयलाई देशको क्षेत्रगत विकास, योजना र अद्यावधिक योजनामा सामेल गर्न अनुरोध गर्ने उल्लेख छ ।

यस्तै राजनीतिक प्रतिबद्धतालाई उत्प्रेरित गर्दै दिगो विकास लक्ष्य पूरा गर्न विश्वव्यापी, समतामूलक, दिगो खानेपानी तथा सरसफाइका सेवा प्राप्त गर्नका लागि सरोकारवालाबीच समन्वयका संयन्त्रको विस्तार गर्ने तथा विश्वसनीय र सुधारिएको सेवा प्रदानका लागि सेवा प्रदायकलाई दक्ष बनाउन उपयुक्त अन्तरसरकारी समन्वय संयन्त्रका साथै वास प्रणाली सुदृढीकरणका लागि स्थापित संस्थागत र सुशासनलाई व्यवस्थित गर्ने घोषणापत्रमा समेटिएको छ ।

सम्मेलनले सरसफाइ सेवाका सम्बन्धमा सरसफाइ मूल्य शृङ्खलामा पानी र सरसफाइ सेवाको म्यापिङ, सहजीकरण, इजाजतपत्र, नियमन र मानकीकरणका लागि कार्यक्रम गर्ने, खानेपानी तथा सरसफाइ ऐनले सबै तहमा अनिवार्यरूपमा बास सेवाको नियमनका लागि स्थापित संस्थालाई परिचालन गर्ने र नियामक संस्थाको उपयुक्त क्षमता निर्माण पनि निष्कर्ष निकालेको छ ।

सुरक्षितरूपमा व्यवस्थित खाने पानी आपूर्ति सेवामा पहुँचको सुनिश्चिता गर्ने, खानेपानीको गुणस्तर अनुगमन र निगरानीमा स्थानीय सरकार र अन्य सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्ने, राष्ट्रिय खानेपानी गुणस्तरको मापदण्डअनुरूप सेवा सुनिश्चित गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

राष्ट्रिय सरसफाइ र स्वच्छता अभियान कार्यान्वयन गर्न नगरपालिकाव्यापी समावेशी सरसफाइ दृष्टिकोण अपनाउने र घरेलु फोहर पानीलाई जम्मा गर्ने, ढुवानी, प्रशोधन र सुरक्षितरूपमा विसर्जन गर्ने कार्यलाई तीव्रता दिने; पुनःप्रयोगको अर्थतन्त्रका सिद्धान्तलाई ध्यानमा राख्दै मल, मूत्र र ठोस फोहरलाई सुरक्षितरूपमा व्यवस्थापन गर्न पहल गर्ने सम्मेलनको निष्कर्ष छ ।

यस्तै अन्तरक्षेत्रीय संवाद, समन्वय, सहयोगमा शिक्षा र पहलका लागि सूचना रणनीतिक योजना तयार गर्ने, प्रणालीगत सेवा प्रदेश र स्थानीय सरकारका सेवा प्रवाहमा सुधार गर्न र नियमन बढाउन मद्दत गर्न सङ्घीयस्तरको संरचना निर्माण गर्ने, विश्वव्यापी, समतामूलक, समावेशी र दिगो सेवा प्रवाहका लागि तीन तहका सरकारको क्षमता विकास गुरुयोजना तयार गरी परिचालन गर्ने निष्कर्ष निकालिएको छ ।

तीन तहका सरकारबाट सबै स्थानीय तहमा हात धुने कार्यक्रम कार्यान्वयनका लागि आधारभूत योजना निर्माण गर्ने, सरसफाइ अभियानलाई प्रभावकारी बनाउन अन्य क्षेत्रीय योजनासँग जोडेर काम गर्ने, कुशल, सहयोगी र समावेशी बास योजनालाई प्रभावकारी बनाउन अनुसन्धान र सिकाइका लागि शिक्षा र अनुसन्धान संस्थासँग समन्वय गर्ने, निजी क्षेत्रको विशेषज्ञता र लगानीको लाभ उठाउँदै पूर्वाधार र सेवामा रूपान्तरणकारी प्रविधिको प्रयोगसहित सेवा प्रवाहमा वृद्धि गर्न सार्वजनिक निजी साझेदारीका लागि सक्षम वातावरण सिर्जना गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

यस्तै घोषणापत्रमा दिगो विकासका लक्ष्य प्राप्त गर्न र लगानी सुरक्षित गर्न बलियो आर्थिक खाका र बास वित्तीय रणनीति तयार गरेर परिचालन गर्ने एवं समावेशी, हरित, लचिलो र समावेशी विकासँग बास लगानीलाई पङ्क्तिबद्ध गर्ने, तीनै तहका सरकार र क्षेत्रका सरोकारवालालाई समर्थन गनर्, जलवायु लचिला बास सेवा वितरण ढाँचा र मापदण्ड विकास गर्ने तथा जलवायु र प्रकोप प्रतिरोधी बास योजना र कार्यक्रम अघि बढाउने उल्लेख छ ।

घोषणापमा बास क्षेत्रमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा जोड दिँदै अग्रपङ्क्तिका सरसफाइ कामदारका लागि व्यावसायिक स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नेलगायत समतामूलक पहुँच, अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, तीन तहका सरकारबीच अन्तरक्षेत्रीय सहकार्यमा सुधार गर्दै सरसफाइ सङ्घसङ्गठनसँग समन्वय गर्ने, जसका लागि उपयुक्त आमसञ्चारमाध्यमको प्रयोगमार्फत समन्वय र सुसूचित गर्न पहल गर्ने तथा समुदाय र सार्वजनिक संस्था दुवैमा बास सेवाको कार्यान्वयन र वितरणका लागि अन्तरक्षेत्रीय सहयोगलाई बढावा दिने उल्लेख छ ।

साथै एकीकृत जलस्रोत व्यवस्थापनमार्फत जलस्रोतको संरक्षण, जमिनमुनिको पानीको पुनर्भरण, वासक्षेत्र र तिनका जलाधारमा पूर्वचेतावनी प्रणालीको विकास गर्ने कार्यक्रम कार्यान्वयनमा जोड दिने घोषणापत्रमा समावेश गरिएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

हाल कोशी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै

काठमाडौं । घाटामा रहेको कम्पनीलाई नाफा देखाएर सोनापुर सिमेन्टले अर्को सातादेखि सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गर्ने तयारी गरेको छ ।आर्थिक वर्ष २०७५/७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६/७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर नाफामा देखाइएको छ ।

गलत तथ्य पेस गरेर आर्थिक वर्ष २०७६/७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा नाफामा देखाइएको छ । कम्पनीले तीन वर्षको ८० करोड रुपैयाँ ब्याजलाई पुँजीकरण गरेर नाफामा गएको देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

धितोपत्र नियमावलीअनुसार आईपीओ निष्कासन गर्न लगातार ३ आर्थिक वर्षदेखि नाफामा रहेको र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएर एक आर्थिक वर्षको कारोबार अवधि पूरा गरेको हुनुपर्ने व्यवस्था छ ।

लगातार ३ आर्थिक वर्षदेखि कम्पनी नाफामा रहेको देखाउनका निम्ति कम्पनीले ब्याजलाई पुँजीकरण गरेको हो । तर, कम्पनीको वास्तविकता भने नोक्सानमा रहेको छ । कम्पनीको वित्तीय विवरणमा नाफामा रहेको देखाइए पनि पछिल्लो तीनवर्षदेखि कम्पनीका लगानीकर्ताले भने नाफा बुझ्न पाएका छैनन् ।कम्पनीले गलत तथ्य पेस गरेर सर्वसाधारणलबाट रकम संकलन गर्ने प्रयास कम्पनीको रहेको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

काठमाडौं महानगरपालिकाले दशैंलक्षित खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा राजधानीवासीलाई स्वस्थ मासु खुवाउने उद्देश्यले राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

कामपाले विगत वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र अनुगमन गर्ने गरेकोमा यो वर्ष घटस्थापनाको केही दिनअघिबाटै अनुमगन सुरू गर्न लागेको हो ।


कामपा कृृषि तथा पशुपन्छी विभागको नेतृत्वमा पशु चिकित्सक, कामपा प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपाया परीक्षण गर्ने भएको छ । विभाग प्रमुख डा. अवधेश झाले केन्द्र र प्रदेशको समन्वयमा परीक्षण गर्ने जानकारी दिँदै भन्नुभयो– ‘हाम्रो कार्यक्षेत्रभित्र पर्ने बिक्री केन्द्रमा सघन अनुगमन गर्नेछौं । दशैंमा राजधानीवासीलाई स्वस्थ पशु चौपायाको मासु उपलब्ध गराउन बिक्री केन्द्रमै खसीबोकाको अनुगमन गर्न लागेका हौं ।’

उहाँले स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने जानकारी दिँदै सिङमा हरियो रङ भएको खसीबोका मात्र खरिद गर्न आग्रह गर्नुभयो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

हेर्नुहोस् असोज ११ गते बिहिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

बृष राशि – सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

मिथुन राशि – कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

कर्कट राशि – बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

सिंह राशि – ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ ।

कन्या राशि – खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ ।

बृश्चिक राशि – सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ ।

धनु राशि – आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला ।

मकर राशि – खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

कुम्भ राशि – मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

मीन राशि – अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

एमालेमा ओलीको निर्देशनको अवज्ञा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् ।

अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीले खोजेका छन् ।

तर, ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रेका थिए । लुम्बिनीमा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका थिए । र, सोहीनुसार जुट्न निर्देशन दिए पनि प्रतिनिधिहरूले त्यसलाई अस्वीकार गर्दै प्रतिस्पर्धामा जुटेका थिए ।

शक्ति संघर्षको प्रतिस्पर्धामा रहेका पौडेल र पोखरेलले आफूनिकट नेतालाई ल्याउनका लागि आन्तरिक रूपमा प्यानल बनाएर प्रतिस्पर्धामा जुटेका थिए । लुम्बिनीमा अध्यक्ष ओलीले सचिव एवं प्रदेश इन्चार्ज पद्मा अर्याललाई सुझाव दिइसकेको र मिलेर जानुहोस् भन्ने सन्देश प्रवाहित गरेका थिए । ओलीको सो सन्देशचाहिँ खासमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच बनेको गुटमा आधारित चुनावी प्रतिस्पर्धा हुने भएकाले त्यसलाई रोक्नका लागि थियो ।

लुम्बिनीको गुटगत प्रभाव बाग्मतीमा समेत देखिएको छ । सोमबार काठमाडौंमा उद्घाटन भई बिहीबार मतदानबाटै प्रदेशको नेतृत्व चयन गरिँदै छ । लुम्बिनीबाट सुरु भएको गुटगत प्रभाव बाग्मतीमा मात्रै नभई कर्णालीसम्म पुगेको छ । र, अन्य प्रदेशमा हुने प्रदेश अधिवेशनमा समेत स्पष्ट रूपमा पौडेल र पोखरेलका बिचमा शक्ति संघर्ष देखिनेछ ।

बाग्मतीमा प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए । लुम्बिनीजस्तै बाग्मतीमा पनि उनले सर्वसम्मत गर्न नसके स्वच्छ, प्यानल नबनाई प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने निर्देशन दिए । तर, घोषित रूपमा प्यानल नबने पनि बाग्मतीमा पनि पौडेल र पोखरेल गुट बनेको छ । पौडेल र पोखरेलले आफूनिकटका नेतालाई विजयी बनाउन लागिपरेका छन् ।

एमाले अध्यक्ष ओलीको उत्तराधिकारीका रूपमा हेरिएका नेताहरू हुन्, उपाध्यक्ष पौडेल र महासचिव पोखरेल । एमालेभित्र दोस्रो तहका नेताहरू उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच वर्चस्वका लागि आन्तरिक रूपमा कडा प्रतिस्पर्धा हुने गरेको एमाले प्रदेश अधिवेशनले प्रस्ट पारिसकेको छ ।

बाग्मती प्रदेशको अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका कृष्ण दाहाललाई उपाध्यक्ष पौडेलको समर्थन रहेको छ । पौडेलका साथै एमाले नेता गोकुल बाँस्कोटाको समेत दाहाललाई नै समर्थन रहेको छ । यस्तै, अध्यक्षका अर्का प्रतिस्पर्धी कैलाश ढुंगेललाई महासचिव पोखरेलको समर्थन रहेको छ । ढुंगेललाई एमाले अध्यक्ष ओलीको समेत समर्थन रहेको छ । खुल्ला रूपमा प्यानल नबने पनि आन्तरिक रूपमा पौडेल र पोखरेलले लबिइङ गरिरहेका छन् ।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच लुम्बिनी र बाग्मतीमा बनेको गुटले अध्यक्ष ओलीको निर्देशनलाई लत्याएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

वन मन्त्रालयमा विकृति मौलाउँदो, कर्मचारी व्यवस्थापनमा त्रुटि नै त्रुटि

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नेतृत्व केही निश्चित व्यापारिक घराना तथा निजी क्षेत्र र स्वार्थ समूहको रुचिअनुसार सञ्चालन हुँदा वन क्षेत्रमा सुधार प्रक्रिया अवरुद्ध भएको छ । मुलुकमा रहेको समग्र वनको व्यवस्थापनमार्फत् काठदाउरामा देशलाई आत्मनिर्भर बनाउनुपर्ने मुख्य प्राथमिकतालाई छोडेर केही निजी क्षेत्रलाई खुसी पार्ने योजनाका साथ मन्त्रालयका मन्त्रीलगायतका अधिकारीहरू अगाडि बढ्न थालेपछि वन तथा वातावरण क्षेत्रको सुधार प्रक्रियामा समस्या देखिएको हो ।वन मन्त्रालयले कर्मचारी व्यवस्थापनमा समेत हेलचक्र्याइँ गर्दै आइरहेको छ । मन्त्रालयका सचिव डा. दीपक खरालले कर्मचारीको उचित व्यवस्थापनमा खासै ध्यान दिन सकेका छैनन् ।

कतिपय संवेदनशील र महत्वपूर्ण निकायमा उपसचिव दरबन्दी रहेको ठाउमा सेटिङका आधारमा अधिकृतलाई नै जिम्मेवारी दिइँदै आइएको छ । वन मन्त्रालय मातहत दर्जनौं उपसचिवहरू हुँदाहँुदै उपसचिव दरबन्दी रहेको ठाउँमा अधिकृतलाई निमित्त दिइँदै आइएको पाइएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार अत्यन्तै संवेदनशील मानिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षदेखि रमेश यादवलाई निमित्त जिम्मेवारी दिइँदै आइएको छ ।उपसचिव दरबन्दी रहने सो ठाउँमा अधिकृतका रूपमा रहेका यादवले एक वर्षदेखि निमित्त चलाउँदै आइरहेका हुन् । जबकि, मन्त्रालय मातहत दर्जनौं उपसचिवहरू रहेका छन् । उपसचिवले गर्ने काम र भूमिका अधिकृतले निर्वाह गर्न नसक्ने भएकाले कोशी टप्पु वन्यजन्तुमा प्रभावकारी रूपमा काम हुन नसकेको वन मन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।एक वर्षअघि त्यहाँको प्रमुख रहेका उपसचिव रामचन्द्र खतिवडालाई तानिएपछि मन्त्रालयले सेटिङका आधारमा अर्का उपसचिव नपठाएको वन मन्त्रालयल स्रोतले जानकारी दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

उपराष्ट्रपति यादवद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

काठमाडौँ, ११ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

कुमारी इन्द्रजात्रा पर्व, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, दीर्घायु, समृद्धि र सु–स्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ , “हाम्रा चाडपर्व, उत्सव, महोत्सव आदिले मुलुकमा शान्ति र प्रगति एवं पारिवारिक सुख, दीर्घायु तथा सु–स्वास्थ्यको कामना गर्नु मूल मर्म, ध्येय र सकारात्मक सन्देश बोकेका छन् ।”

विविधतामा एकताको सन्देश सञ्चार गर्ने धार्मिक जात्रा र पर्व भूगोल, क्षेत्र र समुदायअनुसार मनाउने चलन, परम्परा, विधि–विधान र अनुष्ठान फरक–फरक भए पनि सबैको सारतत्व एवं उद्देश्य समाज र देशमा धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मित्रवत्, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नुपर्ने उहाँको भनाइ छ ।

कुमारी इन्द्रजात्रा नामले प्रसिद्ध यो पर्वमा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजा–अर्चना गर्ने परम्परा र संस्कृति परापूर्वकालदेखि रहिआएको छ ।

इन्द्रजात्राका अवसरमा ठड्याउने लिङ्गो (ध्वजा) र विश्वमै अनौठो चलन जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो । नेवाः समुदायले येँयाः भनेर पनि मनाउने इन्द्रजात्रा काठमाडौँ उपत्यकालगायत नेपालको विभिन्न भूभागमा धुमधामका साथ मनाउने प्रचलन छ ।

यसमा कुमारी, भैरव र गणेशको रथयात्रा पनि गर्ने परम्परा छ । यस पर्वमा विभिन्न मौलिक नाच र देवी–देवताको प्रदर्शन गर्नुले सांस्कृतिक र धार्मिक परम्परालाई जीवन्त बनाउन सहयोग पुग्दछ ।

काठमाडौँ उपत्यकाका रैथाने समुदाय/जातजातिले आ–आफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा इन्द्रजात्रा मनाउनुले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न मद्दत गर्दछ । तराई–मधेसतिर हरेक वर्षको भाद्रपद शुक्ल पक्ष चतुर्थीको दिन देवी लक्ष्मी र भगवान् विष्णुको विधि–विधानअनुसार पूजा–अर्चना गर्दै अनन्त चतुर्दशी (अनवत) बनाउने परम्परा छ ।

यसै दिन विष्णुको पूजा–उपासनापछि उहाँलाई रक्षा सूत्र बाँधेपछि श्रद्धालुले पनि पाखुरामा विशेष खालको अनन्त डोरो (धागो) बाँध्ने प्रचलन छ । यसले सुख, शान्ति, गृहक्लेशको अन्त्य, धन–धान्यमा वृद्धि र शुभलाभ हुने धार्मिक मान्यता रहिआएको छ ।

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिनुभएको छ ।

कुमारी इन्द्रजात्रा पर्व, २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले कुमारी इन्द्रजात्रा पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको उल्लेख गर्नुभएको छ ।“पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ”, उहाँले भन्नुभएको छ । मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपति पौडेलको अपेक्षा छ ।“अन्तमा, हाम्रो मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु”, उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत र मानसरोवर जाँदै

ल्हासा (चीन), ११ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा आउनुभएको थियो ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नुहुनेछ र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उहाँका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि हुनुहुन्छ ।बुधबार ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहनुभएको थियो । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ ।

हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न गृहको निर्देशन

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गराइने भएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी मन्त्रालय र उपत्यकाअन्तर्गतका विभाग कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्यरूपमा कम्तीमा १५ मिनेट योगाभ्यास/ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन भनेको छ ।साथै, अन्य कर्मचारीलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोहीअनुरूप योग/ध्यान गर्ने व्यवस्था र वातावरण बनाउनुहुनसमेत मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्रीको सचिवालयका उपसचिव भीमकान्त शर्माले आज एक सूचना जारी गरी उक्त जानकारी दिनुभएको हो ।अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीको सहभागितामा एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य तहका कर्मचारीका लागिसमेत निकट भविष्यमै प्रशिक्षण प्रदान गरिने योजना रहेको मन्त्रालयले जनाएको छ ।यसअघि गृहमन्त्री श्रेष्ठले सबै कार्यालय र प्रहरी युनिटमा योगाभ्यास सुरु गर्ने बताइसक्नुभएको थियो । उहाँले सरकारी कार्यालयको काम प्रभावकारी बनाउन पनि नियमित योगाभ्यास जरुरी रहेको बताउँदै आउनुभएको छ ।

अभियन्ता ‘ई’ लाई प्रमुख शाहको जवाफ : फुटपाथमा व्यापार गर्नु गैरकानुनी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फुटपाथमा व्यापार व्यवसाय गर्नु गैरकानुनी रहेको बताउनुभएको छ । विगत नौ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ‘ई’ लाई सम्बोधन गर्दै उहाँले फुटपाथ, बाटोमा व्यापार गर्नु कानुनविपरीत रहेको स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “यस विषयले भावुक बनाए पनि यसरी व्यापार गर्नु गैरकानुनी छ ।”

प्रमुख शाहले प्रष्ट पार्दै भन्नुभएको छ, “बिहान र बेलुकी दुई/दुई घण्टा समय छुट्याउने विकल्पमा पनि सहमत हुन सकिँदैन, एक हजार व्यक्तिको लागि ५० लाख जनाको हिँड्ने अधिकार हनन गर्न सकिँदैन ।” सरकारको सरकारी जग्गा दिने वा नदिने अधिकार महानगरसँग नभएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “तपाईंको माग पूरा गर्ने अधिकार कामपासँग छैन ।”प्रमुख शाहले कामपाको जग्गा र नेपाल सरकारको जग्गाको स्वामित्व फरक फरक हुन्छ दिने र नदिने अधिकार फरकफरक निकायमा हुने उल्लेख गर्नुभएको छ । कामपाको केन्द्रीय कार्यालय र वडा कार्यालय पनि भाडामा रहेको उहाँले अवगत गराउनुभयो ।“मैले चुनावी एजेन्डा बिर्सिएको छैन र बिर्सिन्न पनि । गरिबको सधैँको लागि बोल्दिने काठमाडौँ महानगर छ । घोषणापत्रको कुन पेजको कुन बुँदामा लेखेको छु भन्ने पनि थाहा छ । त्यो बुँदा कुनै अमुक व्यक्ति वा समूहको व्यवस्थापनका लागि मात्र थिएन, त्यो गरिबी निर्मूल गर्ने एउटा चरणको रुपमा थियो”, उहाँले सामाजिक सञ्जालमार्फत अधियान्ता ‘ई’लाई जवाफ दिनुभयो ।भारत र चीनबाट ल्याइएका सामान फुटपाथमा बेच्न दिएर गरिबी निवारण नहुने उल्लेख गर्दै प्रमुख शाहले सडकमा व्यावसाय गर्न दिएर प्रणालीमा आबद्ध भएर सोही व्यवसाय गरिरहेकालाई धराशायी बनाउने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “नियम बनाउने ठाउँमा भएका राजनीतिक दलले समयमा नै सही नियम बनाएका छैनन् । हाम्रो आग्रह छ, हजारौँ काठमाडौँवासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ती मानिसप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्योभन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ ।”फुटपाथ व्यवसायीको वैकल्पिक व्यवस्थापनको माग गर्न विगत नौ दिनदेखि उभिरहेका अभियन्ता ‘इर्’ लाई विभिन्न राजनीतिक दलले पनि समर्थन जनाएका छन् । 

असोज २१ बाट सञ्चालनमा आउने सहुलियत पसलमा केमा कति छुट ?

काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनसम्बन्धी कार्ययोजना तयार गरी सहुलियत पसल सञ्चालन गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँ, तिहार, छठ पर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिए ।सहुलियत पसलमा राखिने सामानमा उपभोक्तालाई दुई रुपियाँदेखि ५० रुपियाँसम्म छुट दिइएको उहाँले जानकारी दिनुभयो । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको उनले जानकारी दिए।पर्वमा उपभोक्ताको हितलाई ध्यानमा राखी उपभोग्य अत्यावश्यक खाद्यवस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थानमार्फत वितरण हुने दैनिक उपभोग्य सामानमा सहुलियत मूल्यमा वितरण गरिने छ ।मन्त्रालयका अनुसार खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजीरप्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ । यस्तै कर्णालीको सिमीरगेडागुडी, फापरको दाना, चिनो कागुनो र उवा प्रतिकेजीमा १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै साल्ट्र टे«ड्रिङ कर्पोरेसनबाट वितरण हुने नुन प्रतिकेजीमा दुई रुपियाँ, तेल र चिउरा प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ ।चिनीमा भने छुटको व्यवस्था गरिएको छैन । यस्तै दुग्ध विकास संस्थानले वितरण गर्ने घिउ प्रतिकेजीमा २० रुपियाँ, पनिर दुई सय ग्राममा २० रुपियाँ र पनिर पाँच सय ग्राममा ५० रुपियाँ छुटको व्यवस्था गरिएको छ । कर्पोरेसनले बजार मूल्यभन्दा सस्तो ९७ रुपियाँ प्रतिकेजीमा चिनी बिक्री गरेकाले छुट नदिएको मन्त्रालयले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

एमालेको एकल बहुमतको सरकारका लागि ‘मिसन–८४’मा लाग्न कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

कर्णाली- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको एकल बहुमतको सरकार बनाउन ‘मिसन–८४’ मा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महान् अभिभारा पूरा गर्ने सङ्कल्प बोकेर एमालेले मिसन–८४’ लाई अर्थपूर्ण बनाउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “वडा तहबाटै एमालेलाई ५१ प्रतिशत बनाउन अहिलेदेखि लाग्नुस् । बलियो राष्ट्रिय शक्ति बनाउन सङ्कल्प गर्नुस् ।”देशकै दुर्गम भए पनि प्राकृतिक र सांस्कृतिक हिसाबले सम्पन्न कर्णालीको मानवीय संशाधन, शिक्षा, स्वास्थ्य, रोपवे, पूर्वाधारलगायतका विकास आवश्यक भएको तर अहिले सरकारले गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । फुटेको पार्टी नाम एकीकृत समाजवादी अरे भन्ने व्यङ्ग्य गर्दै उहाँले माघमा हुने भनिएको एकीकृत समाजवादीको महाधिवेशनलाई रित्याइदिन कार्यकर्ता पङ्क्तिलाई अपिल गर्नुभयो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सार्वभौमिकता र स्वाधीनताको रक्षा अनि सहकारी र सहकार्यको माध्यमबाट उत्पादनको अगुवाइ एमालेले गर्ने बताउनुभयो । नयाँ निर्माण भएका पार्टीलाई लोकतन्त्रको टुप्पोमा पलाएको एैजेरुको सङ्ज्ञा दिँदै अध्यक्ष ओलीले भन्नुभयो, “टुप्पोमा पलाएकाको जरा नै हुँदैन तर हामीलाई पुरानो पार्टी भनेर भनेर हेपिरहेका छन् । त्याग, तपस्या र बलिदानबाट निर्माण भएको पार्टी भएको शक्ति र अनुभवबारे बुझेकै छैनन् ।”कर्णाली प्रदेशको अधिवेशनबाट जनतालाई सही सन्देश दिन सहमति गर्न सुझाउनुभएका उहाँले गुटउपगुटको झमेलामा नफस्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले प्रदेश अधिवेशनमा व्यवधान आए साविककै कमिटी निरन्तर हुने चेतावनीसमेत अधिवेशनमा भाग लिनुभएका सहभागीलाई दिनुभयो ।पार्टी महासचिव शङ्कर पोखरेलले नेपाली भाषा र संस्कृतिको उद्गम थलोको कर्णालीको विकास र समृद्धिको सफल नेतृत्व एमालेले गर्ने बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेलाई जनताको रोजाइ पार्टीका रुपमा सुदृढ गरिने उहाँको भनाइ थियो ।महासचिव पोखरेलले भन्नुभयो, “राजनीतिक अस्थिरता र सामाजिक अराजकता आजको ठूलो चुनौती बनेको छ । देशमा आर्थिक सङ्कट बढ्दै गएको छ । सरकारलाई यस्ता सङ्कटबारे कुनै चासो छैन । सत्ता जोगाउनमै सरकार तल्लीन देखिन्छ । त्यसैले राष्ट्रमा उत्पन्न समस्या समाधान गर्न एमाले बलियो शक्तिका रुपमा अगाडि आउनुपर्छ ।”उहाँले सरकार प्राथमिकता नभएको स्पष्टोक्ति दिँदै अदालत अदालतजस्तो, संसद् संसद्जस्तो र सरकार सरकारजस्तो नभएको टिप्पणी गर्नुभयो । आज उद्घाटन भएको अधिवेशन भोलि बन्द सत्रमा परिणत हुने जनाउँदै प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले उक्त बन्द सत्रले पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने बताउनुभयो ।अधिवेशनमा छ सय चार जना प्रतिनिधिले भाग लिएका छन् । जसमा एक सय १२ सुर्खेत, ७५ जाजरकोट, ७४ दैलेख, ६५ कालीकोट, ४८ हुम्ला, ४८ जुम्ला, ४८ सल्यान, ३९ डोल्पा, ३३ मुगु र २३ रुकुम पश्चिमबाट गरी पाँच सय ५४ जना प्रतिनिधि रहेका छन् । विभिन्न २२ वटा मोर्चा तथा सङ्गठनका ५० जनाको प्रतिनिधित्व उहाँले जनाउनुभयो ।उक्त अधिवेशनमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुषको सहभागिता रहेको छ । त्यस्तै, ७३ जना पुरुष र ३८ जना महिला गरी एक सय ११ जना दलितको प्रतिनिधित्व हुने एमाले प्रदेश कमिटीले जनाएको छ ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइँदै इन्द्रजात्रा

काठमाडौँ, ११ असोज : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।अनन्त चतुर्दशीभाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ । 

कैद मिनाहा सम्बन्धमा रास्वपाले सरकारसँग जवाफ माग्ने

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट छ सय ७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालाजुमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो ।

बैठकले कैद माफी मिनाहासम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान र कानुनको संरक्षण र पालना गर्ने विषयमा ध्यानकर्षण पत्र बुझाउने निर्णय गरेको छ । “विशेष अवस्थामा कैद माफी दिन सकिने प्रावधानको गलत प्रयोग गर्दै सरकारले संविधान दिवसका दिन थुप्रै कैदीको कैद मिनाहाका लागि सिफारिस गरेको तथा कानुनका बर्खिपाल हुने गरी जघन्य अपराधमा मुछिएका व्यक्तिलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको विषयमा बैठकले भत्र्सना गरेको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा भीमबहादुर खवाससमेतका चार सय ९७, हर्कबहादुर लिम्बुसमेतका एक सय ७० र ज्येष्ठ नागरिक समदिन मियाँसमेतका तीन गरी कूल छ सय ७० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्नुभएको थियो । गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले ती कैदीको कैद कट्टा गरी सजाय माफी गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले कारागारमा बस्दा आचरण सुध्रिएका, ५० प्रतिशत कैद भुक्तान गरेका र निश्चित उमेर कटेका कैदीको कैद मिनाहा गर्ने व्यवस्था छ । बैठकले सरकारले प्रारम्भमा भ्रष्टाचारको नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा सकारात्मक सुरुआतको सङ्केत गरेपनि पछिल्ला गतिविधिले संशय पैदा गरेको निष्कर्ष निकालेको छ ।

“ललिता निवास, नक्कली भूटानी शरणार्थी र सुन काण्डको अनुसन्धान र अभियोजनप्रति जनस्तरमा प्रश्न उठ्न थालेको छ, घटनामा संलग्नप्रति सरकारले नरम नीति लिएको विषयले त्यसको पुष्टि गरेको छ”, प्रवक्ता ढकालले भन्नुभयो । रास्वपाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन तस्करी भएको घटनाको छानबिन गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच यही असोज ५ गते उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएकामा सरकारले समिति गठन नगरेर सहमति उल्लङ्घन गरेको ठहर गरेको छ ।

“भदौ ६ गतेको सहमतिअनुसार समिति गठन गरी कार्यादेश तोक्नुपर्नेमा सत्ता र प्रमुख प्रतिपक्ष नै आरोप प्रत्यारोपमा उत्रिदा सो सहमति कार्यान्वयन नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ”, उहाँले भन्नुभयो, “बैठकले सो सहमतिअनुसार अगाडि बढ्न दलहरुलाई आग्रह गर्दै तत्काल उच्चस्तरीय समिति गठन गरी कार्यादेश तोक्न माग गरेको छ ।” पछिल्ला दिनमा उपचारका क्रममा लापरबाही भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको निन्दा गर्दै बैठकले चिकित्सकमाथि आक्रमण गर्ने कानुनअनुसार तत्काल कारबाही गर्न पनि माग गरेको छ ।

सरकारले सदनमा पेश गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति असहमति रहेको जनाउँदै बैठकले उक्त अहसमतिलाई संसदीय प्रक्रियामा दर्ता गराउने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । बैठकले मुलुकका विभिन्न स्थानमा धार्मिक, जातीय तथा साम्प्रदायिक सुसम्बन्ध खलल पु¥याउन स्वार्थ समूह सक्रिय रहेको निष्कर्ष निकाल्दै सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र अल्पसङ्ख्यकको पहिचानको सम्मान गर्न सबैमा अपिल गरेको छ ।

रास्वपाले जुनसुकै धर्मावलम्बी तथा समुदायलाई लक्षित गरी जुनसकै आवरणमा सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । नेपालीका ठूला चाडपर्व नजिकिएको समयमा बजार थप अनियन्त्रित भएको ठहर गर्दै बैठकले कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गर्न र देशभरका उपभोक्तालाई राहत दिन सहुलियतपूर्ण बजार सञ्चालन गर्न सरकारसँग माग गरेको छ । बैठकले पार्टीका तर्फबाट निर्वाचित भएको सबै सांसदलाई आआफ्नो निर्वाचन क्षेत्रका मतदातासँग सार्वजनिक सुनुवाई कार्यक्रम गर्न निर्देशन दिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणले दुई सय कालिज सखाप

गल्याङ (स्याङ्जा) – स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले सञ्चालन गरेकोे ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’मा चितुवा पसेर कालिज सखाप पारेको छ ।

आज बिहान फार्ममा दानापानी दिन जाँदा कालिज मृतावस्थामा भेटिएका थिए । करिब दुई सय २० को हाराहारीमा कालिज रहेकामा एक सय ९० वटालाई चितुवाले मारेको सञ्चालक न्यौपानेले बताउनुभयो । “म र मेरी श्रीमती मिनाक्षी दाना खुवाउन फार्ममा पसेका थियौँ, अचानक कालिज मरेका र घाइते कालिज छट्पटाएको देख्दा अताल्लियौँ”, उहाँले भन्नुभयो, “श्रीमतीले झाडीमा चितुवाको पछाडिको भाग देखेपछि ज्यान बचाउन हामी बाहिर भाग्यौँ ।”

सित्मामा डेढ वर्ष पहिलेदेखि कालिजपालन गरिँदै आएको थियो । बेच्न र फुल पार्न ठिक्क परेका करिब साढे चार लाख बराबरको कालिज चितुवाले मारिदिएको न्यौपानेको भनाइ छ । चितुवाले धेरैजसो कालिजलाई नङ्ग्रा गाढेर मारेको पाइएको छ ।

डिभिजन वन कार्यालय स्याङ्जा, नेपाल प्रहरी र स्थानीयले दिउँसो १ बजेसम्म होहल्ला गर्ने, माटो छर्किने र पासो थापेर चितुवालाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । चितुवा फार्म नाइलको जाली च्यातिएको भेटिएपछि चितुवा भागेको आशङ्का गरिएको छ ।

न्यौपानले फार्ममा हालसम्म रु १७ लाख लगानी गरिसक्नुभएको छ । फार्म चार रोपनी जमिनमा फैलिएको छ । कालिज प्रतिवटा दुई हजार पाँच सय र अण्डा रु ५० देखि एक सयसम्ममा बिक्री हुँदै आएको थियो । स्याङ्जा, गुल्मी र पर्वतबाट कालिज किन्न यहाँ ग्राहक आउने गरेका थिए ।

वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताउनुभएका न्यौपानेले कालिजपालनतर्फ लाग्नुभएको थियो । जिल्लाको कालीगण्डकी, गल्याङ, वालिङ, पुतलीबजारलगायत स्थानमा कृषकले कालिजपालन गरेका छन् । कालिजको मासुमा प्रचुर प्रोटिनको मात्रा, बोसो नहुने, जुनसुकै दीर्घरोगीले खान मिल्ने, सुत्केरीका लागि अत्यधिक पोषणयुक्त, स्वादिष्ट र नौलोे भएकाले माग धेरै छ ।

सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने

काठमाडौँ, १० असोज : विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताउनुभएको हो ।

विश्व पर्यटन दिवसका अवसरमा ‘साथसाथै’ ले आयोजना गरेको पर्यटनसम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्यटनमन्त्री किरातीले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्छौँ तर, यसका लागि कस्तो नीति बनाएका छौँ भन्ने कुरातिर ध्यान दिन सकेका छैनौँ । त्यसकारण हामीले पर्यटन आकर्षण गर्नका लागि विभिन्न योजना बनाइरहेका छौँ । जसअन्तर्गत सगरमाथाको आठ हजार मिटरमाथिको उचाइबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली अन्तिम चरणमा छ । अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागू हुन्छ ।”

पर्यटनमन्त्री किरातीले नेपालको ऐन कानून र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरूले चुनौती सिर्जना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार जादुको छडी त होइन, तर, हामीले नेपालको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउनुपर्छ । लयबद्धरूपमा काम गर्दै जाने हो, उसमा सोच र सही दृष्टिकोण छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।”

सरकार बदलिरहने प्रवृत्तिले गर्दा दीर्घकालीन योजनाका काम नहुँदा समस्या भएको उहाँले बताउनुभयो । उहाँले अहिले ढिलो भए पनि आत्तिहाल्नुपर्ने स्थिति भने नभएको बताउनुभयो ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन्दर मुलुकलाई पर्यटन प्रवर्द्धकका रूपमा लिन सक्यौँ भने ठूलो योेगदान गर्न सकिने बतानुभयो । उहाँले छिमेकी मुलुक भारत र चीनबाट मात्रै पर्यटक ल्याउन सकिए पर्यटन विकासलाई सार्थक बनाउन सकिने धारणा राख्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले ‘मुलुकको समृद्धिका लागि पर्यटन ः हिमाल, पर्यटन, जलवायु परिवर्तन र महिला’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हिमालमा जोखिम बढेकाले समयमै पूर्वतयारी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले जोखिमको अवस्थामा रहेका हिमतालको पानी निकास गरेर जलविद्युत् उत्पादन गरी जोखिम कम गर्न सकिने बताउनुभयो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का पर्यटन विशेषज्ञ डा अनुकुमारी लामाले ‘हिन्दूकुश हिमालय क्षेत्रमा पर्यटन ः यस क्षेत्रको समृद्धिका लागि विशिष्ट अवसर’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन क्षेत्रबाट समृद्धि लागि रणनीतिक योजनाहरू आवश्यक भएको बताउनुभयो ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी असर पर्यटन व्यवसायमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर पर्यटन क्षेत्रमा निकै पूर्वाधार निर्माण गर्नुछ भने अर्काेतिर भएका पूर्वाधार जोगाउने चुनौती छ । साथै अबका पूर्वाधार जलवायु परिवर्तनमैत्री बनाउनु छ ।”

सिरहाको औरहीमा नीलगाई मृत भेटियो

सिरहा, १० असोज : सिरहाको औरही–३ मा दुर्लभ मानिएको नीलगाई मृतावस्थामा भेटिएको छ । जिल्ला वन कार्यालय सिरहास्थित लहानका प्रमुख सुजितकुमार झाका अनुसार मङ्गलबार बिहान धानखेतमा वयस्क नीलगाई मृतावस्थामा भेटिएको हो ।

मृत नीलगाईको अवस्था हेर्दा रोगको कारण थलिएर मरेको प्रारभिक अनुसन्धानमा देखिएको प्रमुख झाले बताउनुभयो । “स्थानीयवासीको भनाइअनुसार तीन÷चार दिनदेखि गाई झोक्रिएर हिँडेको थियो भन्ने सुन्नमा आयो”, प्रमुख झाले भन्नुभयो, “समयमै कसैले वन कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा खबर गरेको भए उपचार गरेर बचाउने प्रयास गरिने थियो ।”

धानबारीमा मृत नीलगाई भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय सिरहाले वन कार्यालयलाई खबर गरेको थियो । प्रमुख झाका अनुसार के कति कारणले नीलगाई मृत फेला परेको हो भन्ने विषयमा थप अनुसन्धानमा जारी रहेको छ ।

नीलगाईलाई नेपालमा संरक्षित वन्यजन्तुको रूपमा लिइन्छ । संरक्षित वन्यजन्तु चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही हुनेछ । कसुर प्रमाणित भए छ महिनादेखि १५ वर्षसम्म कैद र रु १० हजारदेखि १० लाखसम्म जरिवाना हुने वन्यजन्तु संरक्षण ऐन, २०२९ मा व्यवस्था गरिएको छ ।

अब नेपालमा पहिरोको पूर्वसूचना सहजरुपमा थाहा पाउन सकिने

काठमाडौँ, १० असोज : नेपालमा पहिरोको पूर्वसूचना सहजरुपमा थाहा पाउन सकिने भएको छ ।खानी तथा भूगर्भ विभागले जर्मनस्थित जियोटेक्निकल इन्जिनियरिङमा बृहत् अनुभव भएको जिइओएस संस्थासँग सहकार्य गरेसँगै अब नेपालमा पहिरोको पूर्वसूचना थाहा पाउन सहज हुने भएको हो ।

उक्त पूर्वसूचना थाहा पाउनेसम्बन्धी आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र जर्मनी संस्था जिइओएस संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि विभिन्न समयमा हुने विपद्का घटनाले ठूलो जनधनको क्षति हुने गरेको बताउनुभयो ।

“सम्झौताले नेपालको भू–प्राविधिक आपतकालीन तयारी, प्रारम्भिक जोखिम पूर्वानुमान, आपतकालीन प्रतिक्रिया र जोखिम आँकलनका सन्दर्भमा उल्लेखनीय परिणाम ल्याउने र सहकार्य एउटा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ”, उहाँले भन्नुभयो ।

उहाँले भौगर्भिक अवस्थालाई परिवर्तन गर्न नसकिने भएकाले उचित व्यवस्थापन गर्नु नै आजको आवश्यकता र चुनौती भएको बताउनुभयो । उहाँले गत पाँच वर्षमा पहिरोबाट सात सय ११ जनाको ज्यान गएको र एक सय ३४ जना हराएको भन्दै यसलाई न्यूनीकरणमा पहिरो पूर्वसूचना प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नयाँ प्रविधिले पहिरो पूर्वसूचना प्रणालीबारे सहजै थाहा हुने भएकाले पहिरोबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पहिरो नियन्त्रणका लागि तीनै सरकार सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

जर्मनी संस्था जिइओएसका प्रमुख डा रेन कान्टले नेपालमा पहिरोको जोखिम क्षेत्रको अध्ययन गरी पूर्वसूचना प्रणालीमा लैजानका लागि आफ्नो संस्था खानी विभागसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त परियोजनाका लागि जिइओएसले झण्डै २० लाख युरोसमेत छुट्याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा अनिल पोखरेलले पहिराका कारण नेपालमा वार्षिक हजारौँ नागरिकले अकालमा ज्यान गुमाउनुपरेको भन्दै पूर्वसूचना प्रणालीले पहिरोबाट हुने क्षतिलाई कम गर्ने बताउनुभयो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जलवायु परिवर्तन र अत्यधिक वर्षाका कारण नेपालमा पहिराको जोखिम अत्यधिक रहेको भन्दै पहिरोबाट हुने क्षति कम गर्न सूचना प्रणालीले सहयोग पुग्ने बताउनुभयो ।विभागका उपमहानिर्देशकद्वय जयराज घिमिरे र दिनेश नेपाली, नेपालका लागि जर्मनी राजदूतावासका प्रतिनिधि डा स्टेफन रसिकलगायतले सम्झौतालाई कार्यान्वयनमा लैजानेगरी काम गर्नुपर्ने बताउनुभएको थियो ।

तीन वर्षसम्म सञ्चालन हुने उक्त परियोजनाले नेपालको पहिरो जोखिम क्षेत्रको अध्ययन गरेर सफ्टवेयरमार्फत पहिरो जानसक्ने जोखिम ठाउँमा पूर्वसूचना दिने विभागका सिनियर डिभिजनल जियोलोजिष्ट डा सुजिता शाक्यले जानकारी दिनुभयो । उक्त कार्यक्रम सञ्चालन गर्नका लागि त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीकोसमेत प्रयोग गरिनेछ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय भूगर्भ विभाग, त्रिचन्द्र क्याम्पस भूगर्भ विभाग, काठमाडौँ विश्वविद्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिआइजेड, इसिमोडलगायत संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने

काठमाडौँ १० असोज : नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित दुई सय २० केभी क्षमताको नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि गरेको छ ।

कूल २२०/१३२ केभी सवस्टेसनमा जम्मा एक सय एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा थप दुई सय एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सवस्टेसनको क्षमता अभिवृद्धि भई तीन सय एमभिए पुगेको छ । सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सवस्टेसनको क्षमता वृद्धि गरिएको हो ।

कूल एक सय ३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट दुई सय २० केभीमा बढाएर खिम्ती–ढल्केबर दुई सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ । एक सय ३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सवस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो ।

तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक सय ३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सवस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । यसले गर्दा मुख्यरूपमा लिखु नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाको विद्युत् पूर्णरूपमा प्रवाह हुन सकिरहेको थिएन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सवस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताउनुभयो ।

नयाँ खिम्तीको सवस्टेसनको क्षमताले नधानेपछि लिखु करिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाको विद्युत् अल्पकालीन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै सबै समस्या समाधान भएका छन्, पूर्वाधार अभावमा विद्युत् प्रवाह हुन नसक्ने अवस्थाको अन्त्य भएको छ, नयाँ आयोजना आउँदा पनि समस्या पर्दैन, अब भारतर्फ विद्युत् निर्यातको परिमाणसमेत बढ्ने छ ।”

तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई नयाँ खिम्ती सवस्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीयरूपमा आपूर्तिको पनि व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताउनुभयो । उहाँले सवस्टेसनबाट विद्युत् दिन थालेपछि उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय आपूर्ति पाएको उल्लेख गर्नुभयो ।

स्थानीयरूपमा आपूर्ति गरी बाँकी रहेको विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबरतर्फ र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघु सवस्टेसनतर्फ प्रवाह गरिएको छ । दुई सय २० केभीको नयाँ खिम्ती सवस्टेसन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरेको थियो । उक्त आयोजनाले एक सय एमभिएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सवस्टेसन गत असारदेखि सञ्चालित छ ।

नयाँ खिम्तीमा १३२/३३ केभीको सवस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो । सवस्टेसनको लागत करिब रु ८० करोड रहेको छ ।

साफ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

काठमाडौँ, १० असोज : साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो ।

टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए ।

त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे । दिनेश सिंह सौवम र रिक्की हओबमको प्रहार विफल भएको थियो ।यसअघि खेलको निर्धारित समयसम्मको खेल १–१ गोलको बराबरी सकिएपछि खेल टाइब्रेकरबाट पुगेको हो ।

खेलमा पहिलो अग्रता भने भारतले लियो । खेलको २६औँ मिनेटमा भारतका खेलाडी गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट गोल गरे ।त्यसपछि खेलको ७४ मिनेटमा नेपालका समीर तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । उनले दीपक थापा मगरको असिस्टमा हेड गोल गरेका हुन् ।

यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ । जितसँगै भारतले फाइनल खेलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ । फाइनल खेल यही शनिबार हुनेछ ।

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन

काठमाडौँ, १० असोज : नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ ।नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा उक्त फोहर सङकलन गरेको हो । विश्व पर्यटन दिवसको अवसरमा ‘साथसाथै’ आज आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनमा हिमाल सरसफाइ अभियानबारे प्रस्तुतीकरण गर्दै नेपाल सेनाको हिमाल सरसफाइ अभियानका निर्देशकसमेत रहनुभएका सहायक रथी सुन्दरकुमार पाण्डेले सगरमाथासहितका १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सन् २०१९ देखि सुरु भएको हिमाल सफाइ अभियानअन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको छ । सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहर सङ्कलन गरिएको छ ।”

‘भावी पुस्ताका लागि हिमाल सफा राखौँ’ भन्ने मूल नारासहित सुरु भएको हिमाल सफाइ अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्नेले गरेको सहयोगको प्रशंसा गनुभयो ।

उहाँले भन्नुभयो, “केही सकारात्मक प्रयास भएको छ । यद्यपि सामूहिक सहकार्य र सरकार तथा सरोकारवालाबीचको समन्वय भएको अवस्थामा हिमाल सफाइ सम्भव छ । यसका लागि हामीले स्थानीय तहलाई पनि जिम्मेवार बनाउन आवश्यकय छ ।”

सहायक रथी पाण्डेले हिमाल सफाइको अवधारणा कुनै एक ठाउँ सफा बनाउने मात्र नभई मानव सभ्यतासँग जोडिएको कुरा भएकाले यो वार्षिकरूपमा चलिरहेको बताउनुभयो । उहाँले थप्नुभयो, “जोखिम र उच्च हिमाली क्षेत्रमा सामान्य तयारीले गर्दा सम्भव नहुने भएपछि नेपाली सेनाले हिमाल सफाइ अभियानको जिम्मेवारी लिएर काम गरिरहेको छ । विसं २०७६ मा तयारी भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन । सन् २०२१, २०२२, २०२३ मा हिमाल बचाउ नारासहित नेपाल सरकारले रु आठ लाख ३० हजार बजेट विनियोजन गरेको छ ।”

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा ल्हासास्थित पोटाला दरबार र जोखाङ मन्दिर अवलोकन

ल्हासा (चीन) , १० असोज : चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँस्थित ऐतिहासिक पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन भ्रमण गर्नुभयो ।

समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई संयुक्त राष्ट्रसङ्घीय सैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को)ले सन् १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको थियो ।

पोताला दरबार एतिहासिक एवं तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुन्द्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो । पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरूले दरबारका बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोखाङ मन्दिरको पनि अवलोकन भ्रमण गर्नुभयो । जोखाङ मन्दिरलाई पनि युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ ।

यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए । यो मन्दिर बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र स्थलका रुपमा रहेको छ । यस मन्दिरमा राखिएको शाक्यमुनि बुद्धको मूर्तीलाई भक्तजनले विशेष महत्त्वका साथ सम्मान गर्छन् । मन्दिरको भ्रमणका गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्याहाँका अधिकारीहरूले मन्दिरका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले गर्नुभएको दुवै ठाउँको भ्रमणका क्रममा चीन भ्रमण दलमा संलग्न भ्रमण दलका सदस्यहरू पनि सहभागी रहेको थियो ।

तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

ल्हासा (चीन), १० असोज : चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ सियाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएकाले सियाङको नेतृत्वमा भएका नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो । उहाँले नेपाल र चीनबीचका द्विपक्षीय हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताउनुभयो ।भेटवार्तामा सचिव सियाङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन आफू अझ सक्रिय रहने बताउनुभयो । भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहनुभएका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीको सम्मानमा सचिव सियाङले आजै यहाँ रात्रिभोजको आयोजना गर्नुभएको थियो ।

दैनिक आयात गर्न सकिने सुनको कोटा २० किलो कायम

काठमाडौँ, १० असोज : दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० किलोवाट १० किलोमा झारेको थियो । सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए ।