`

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

काठमाडौँ । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ । यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ । विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवकयुवतीलाई तस्करहरूले विभिन्न देशमा पुयाएका छन् । छुट्टै कानुन नहुँदा मानव तस्करी खुलेआम भएको छ ।

मानव तस्करी हुन अन्तर्राष्ट्रिय सीमा नाघेसँगै आर्थिक लाभ लिएको हुनुपर्छ । यसमा जाने र लैजाने मान्छेबीच सुरुवातमा आपसी सहमति भएर प्रक्रिया अगाडि बढ्छ । यो कार्य वैधानिक हुँदैन । तैपनि जाने मान्छेको पनि केही मात्रामा सहमति हुन्छ । गाउँगाउँमा स्थानीय एजेन्टहरू परिवारका सदस्य, आफन्त र छिमेकीलाई विदेश पठाउन मानव तस्करका रूपमा सक्रिय हुन्छन् । ‘ वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्छ ।

तर श्रम स्वीकृतिबिना धेरै महिला अहिले पनि दलालको फन्दामा परेर खाडीलगायत मुलुकमा घरेलु कामदारका रूपमा बेचिइरहेका छन् । अहिले विश्वका सामाजिक अपराधमध्ये मानव बेचबिखन तथा तस्करी जल्दोबल्दो रूपमा मौलाएका छन् । यस्ता घटनाहरूलाई देश वा गन्तव्य देशमा गैरकानुनी मानिन्छ भने त्यो मानव तस्करी हो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण रूपमा सफल रह्यो : सल्लाहकार आचार्य

छन्दु (चीन)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालको भ्रमण दलका सदस्य आचार्यले चीनको छन्दुमा शुक्रबार यो भ्रमणले दुई देशका बीचमा आपसी विश्वास र सद्भाव वृद्धि भएको बताउनुभयो ।

यस भ्रमणका क्रममा जारी भएको संयुक्त प्रेस वक्तव्यका साथै त्यसको अघिल्लो दिन दुई देशबीच भएका विभिन्न १३ ओटा सम्झौता र समझदारी नेपालको विकासका लागि कोशेढुङ्गा सवित हुने उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो, “जुन विश्वास र आपसी समझदारीका साथ यो भ्रमण सम्पन्न भएको छ, यसले दुई देश बीचको सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको छ र यस भ्रमणका क्रममा भएका सहमति र समझदारीका विषयहरू नेपालको हित र विकासमा सहयोगसिद्ध हुने कुरा आगामी दिनले नै देखाउनेछ ।”सल्लाहकार आचार्यले प्रधानमन्त्रीको भ्रमणलाई चीनका राष्ट्रपतिले महत्त्व दिएर प्राथमिकतामा राख्नुभएको आफूले पाएको बताउनुुभयो । प्रधानमन्त्री दाहालसँग र नेपाली प्रतिनिधिमण्डलसँग राष्ट्रपति चिनफिङले गर्नुभएको कुराकानी र वार्ताका लागि दिनुभएको समयले पनि यो कुरालाई पुष्टि गर्ने आचार्यको भनाइ थियो ।त्यसपछि प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग पनि महत्त्वपूर्ण रूपमा द्विपक्षीय कुराकानी भएको बताउँदै आचार्यले सो द्विपक्षीय भेटवार्ता दुई देशको सम्बन्धमा थप विश्वास र समझदारीको विकास गर्न सहयोगी रहेको टिप्पणी गर्नुभयो ।यो भेटले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको आफूले महसुस गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध र समझदारी नयाँ उचाइमा पुगेको छ, बुझाइमा एकरूपता कायम भएको छ र आगामी दिनमा यसको परिणाम मुलुकको हितमा रामै्रसँग देखिनेछ ।”प्रधानमन्त्री दाहालसँगको द्विपक्षीय वार्तापछि भएका सम्झौताहरूका साथै भूकम्पपछि तथा कोभिडका समयमा बन्द भएका नाकाहरू खोल्ने सहमतिले दुई देशका सीमा क्षेत्रका नागरिकका मात्र नभएर देशकै व्यावसायिक रूपमा आयात निर्यातका समस्याहरू पनि समाधान भएर जाने उहाँको भनाइ छ ।प्रधानमन्त्रीले तिब्बतको भ्रमण गर्नु र त्यहाँका नेताहरूसँग आपसी भेटघाट गर्नुभयो । भ्रमणको अर्काे महत्त्वपूर्ण पक्ष रहेको उहाँको भनाइ थियो । नेपालसँगका प्रायः नाकाहरू तिब्बतसँग नै जोडिने र नेपाल तिब्बत व्यापार ऐतिहासिक रहेकाले प्रधानमन्त्री त्यहाँ पुग्नुभएको बताउँदै सल्लाहकार आचार्यले कैलाश मानसरोवर नै पुगेर त्यहाँ आउने हिन्दु तीर्थयात्री एवं अन्य पर्यटकको सम्भावनाका बारेमा पनि अध्ययन गर्नुभएको बताउनुभयो ।कैलाश मानसरोवर नेपाल तथा भारतका हिन्दू धर्मावलम्बीहरूका आस्थाको स्थल भएको र त्यहाँ आउनका लागि तिब्बतको बाटो प्रयोग गरेर आउँदा निकै घुमाउरो र समस्या भएकाले नेपालकै बाटो भएर त्यहाँ आउनसक्ने अवस्थाको अध्ययनका लागि प्रधानमन्त्री त्यहाँ पुगेको उहाँले बताउनुभयो ।त्यहाँ पुगेपछि प्रधानमन्त्री दाहालले कैलाश मानसरोवरको दर्शन एवं भ्रमणका लागि आउने पर्यटकहरूलाई हुम्लाको हिल्सा नाकाबाट यता आउनेगरी हुम्लाको सिमकोट हिल्सा सडक निर्माणलाई दु्रत बनाउने गरी छिट्टै काम अघि बढाइने मानसिकता प्रधानमन्त्री दाहालले बनाउनुभएको सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।उहाँले यो भ्रमणले नयाँ विश्वास कायम गरी सम्बन्धका नयाँ आयामहरू निर्माण गर्न सफल भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक सामाजिक विकासका साथै कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थप गर्ने हिसाबले पनि यो भ्रमण सफल भएको छ र यसले नेपालको हितमा आगामी दिनमा राम्रै परिणाम पनि दिनेछ ।” 

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

काठमाडौँ, १३ असोज : आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ ।

प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने गौतमले बताउनुभयो ।

कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिनुभयो ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

एसियाली खेलकुद : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, १२ असोज : चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।

चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा आज भएको क्वाटरफाइनल खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र सङ्गिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ४ दशमलव ८४२ सेकेण्डको समय लगाउँदै समूह सीमा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।

प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरिएको छ । यसअघि पहिलो चरणमा नेपाल आफ्नो समूहमा दोस्रो भएको थियो । तर दोस्रो हुने मध्येबाट पनि उत्कृष्ट बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

यस्तै आजै भएको क्वाटरफाइनलअन्तर्गत समूह ‘ए’बाट दक्षिण कोरिया र थाइल्याण्ड, समूह ‘बी’बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

धवलागिरि आरोहणका लागि २३ जनालाई अनुमति

म्याग्दी, १२ असोज : शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन् । संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

विभिन्न टे«किङ कम्पनीमार्फत चार वटा समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएका अरोहीहरूबाट रु २७ लाख ४३ हजार पाँच सय १५ रोयल्टी (सलामी दस्तुर) प्राप्त भएको छ ।

गत वसन्त याममा चार वटा समूहका १२ महिलासहित ३७ जनाले धवलागिरि हिमाल आरोहण गर्दा रु ८६ लाख २४ हजार तीन सय ३० शुल्क सङ्कलन भएको थियो । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगीहरू आधार शिविर पुग्न थालेको धवलागिरि–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । पर्यटन विभागले शुक्रबार जारी गरेको विवरणअनुसार चालु यामका लागि नेपालका २६ वटा हिमाल आरोहण गर्न ५१ वटा देशका चार सय ३६ जनाले अनुमति लिएका छन् ।

उनीहरूबाट रु चार करोड १० लाख १४ हजार सात सय ९७ रोयल्टी प्राप्त भएको छ । वसन्तयाममा नेपालका २८ वटा हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले रु ७६ करोड ५७ लाख ५८ हजार तीन शुल्क तिरेका विभागले जनाएको छ । शरदमा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय अमेरिकी डलर तिर्नुपर्छ ।

अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सय अमेरिकी डलरसम्म सलामी दस्तुर तिर्नुपर्छ । शरदयाममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २६ वटा समूहका तीन सय एक जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो ।

हिमचुली १४ जना, अमादब्लाम हिमाल १०, टुकुचे पिक र बरुण हिमाल आठ÷आठ, खयाङ छ, पुथा, कुम्बकर्ण, लिङटे«न, चोयु हिमाल आरोहण गर्न पाँच÷पाँच जनाले अनुमति लिएका छन् ।

छन्दुमा प्रधानमन्त्री दाहालको भेटवार्ता

छन्दु (चीन), १२ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । सिचुआन प्रान्तको छन्दु आइपुग्नुभएका प्रधानमन्त्री दाहालसँग यहाँ वाङले भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आजै छन्दु आउनुभएको हो ।

सो वार्ताका क्रममा प्रधानमन्त्री दाहालले छन्दु नेपालबाट नजिकको सहर भएकाले नेपाली व्यवसायीहरूको पनि केन्द्र रहेको भन्दै यहाँबाट नेपालले कृषि उत्पादन तथा कृषिजन्य उद्योगका क्षेत्रमा पनि आवश्यक मात्रामा लाभ लिन सक्दछ भन्नुभयो ।

प्रधानमन्त्री दाहालले आफूले यस पटक चीनका राष्ट्रपति सि चिनफिङका साथै प्रधानमन्त्रीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने अवसर पाएको र उहाँहरूले नेपाललाई दिएको महत्त्वबाट आफू प्रभावित रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले चीनले विज्ञान प्रविधि तथा भौतिक विकासदेखि लिएर धेरै क्षेत्रमा निकै नै महत्त्वपूर्ण प्रगति गरेकामा बधाई ज्ञापन गर्दै चीन नेपालको एक घनिष्ट मित्र रहेका नाताले सदैव नेपालको हित र विकास चाहने गरेको बताउनुभएको थियो ।

चीनले नेपाललाई अप्ठेरो अवस्थामा पनि सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै यस पटकको चीन भ्रमणले दुई देशबीचको मित्रतालाई थप सुमधुर बनाउन काम गरेको र द्विपक्षीय सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको प्रधानमन्त्री दाहालले सो द्विपक्षीय वार्तामा बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सो वार्ताका क्रममा सचिव वाङले चीन र नेपालसँगै रहेको र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि एउटै आवाजका साथमा एकसाथ रहेको बताउनुभएको थियो । उहाँले चीन नेपालको सधैँ उन्नति र प्रगतिको पक्षमा रहेको र नेपालका आर्थिक सामाजिकलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभएको थियो ।

उहाँले प्रधानमन्त्री दाहालको चीन भ्रमण सफल भएकामा बधाई दिँदै आगामी दिनमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्न तथा लगानी गर्न तयार रहेको बताउनुभयो ।

सो वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।

आजै साँझ प्रधानमन्त्री दाहालको सम्मानमा सचिव सियाओइले रात्रिभोजको पनि आयोजना गर्नुभएको थियो । यसैबीच प्रधानमन्त्री दाहालले छन्दुमा रहेको पान्डा अनुसन्धान तथा प्रजनन केन्द्रको अवलोकन गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल र उहाँको भ्रमण दलका सदस्यहरू शनिबार छन्दुबाटै काठमाडौँ फर्किनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ ।

उहाँको भ्रमण दलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्यहरू रहनुभएको छ ।

मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन

काठमाडौँ, १२ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के अनुगमन गर्नुुभएको छ । उहाँले त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिर्फल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गर्नुुभएको हो ।

मन्त्री भुसालले पशुपन्छीमा लाग्ने अन्य रोगको खोप उत्पादनसम्बन्धि वस्तुस्थिति, पशुपन्छीको रोग निदान गर्ने प्रयोगशालाको भौतिक पूर्वाधारको अवस्था, आवश्यक जनशक्तिको अवस्था, प्रयोगशालामा सञ्चालनमा नआएका मेसिनको अवस्थाबारे जानकारी लिनुुभयो ।

कार्यालय समयमै छड्के अनुगमनका क्रममा हालसम्म भएका कार्यप्रगतिको जानकारी लिँदै उहाँले लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका लागि तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशन दिनुुभयो ।

मन्त्री भुसालले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक सिड भाइरस भारतबाट ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिँदै भारतबाट सिड भाइरस ल्याएपछि प्रयोगशालाले लम्पी स्किन रोगको भ्याक्सिन तयार गर्ने बताउनुुभयो ।

कार्यालयका प्रमुख पशु चिकित्सक डा टङ्कप्रसाद प्रसाईंले लम्पी स्किन रोगको नियन्त्रणका लागि भ्याक्सिन अनिवार्य भएको र यसको खोप उत्पादन गर्ने गरी राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले काम गरिरहेको जानकारी गराउनुुभयो ।

उहाँले लम्पी स्किन रोगको नियन्त्रणका लागि कार्यालयले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक पूर्वाधार बनाइसकेको बताउनुुभयो । अपुग स्रोतसाधनको तत्काल पूर्ती गरी पशुपन्छीको क्षेत्रको कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुुभयो । देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, बिरामी पशुपन्छीको उपचारलगायतका क्षेत्रमा यी कार्यालयबाट काम हुँदै आएका छन् ।

बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम

काठमाडौँ, १२ असोज : पछिल्लो समय काठमाडौँ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ । कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् ।

डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि सबै वडाहरूमा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलको भनाइ छ ।

उहाँले भन्नुभयो, “असारको पहिलो सातादेखि नै बायो लार्भीसाइड पानी जमेको स्थानमा छर्केर नियन्त्रण गरिएको थियो, अहिले बिरामी देखिन थालेका छन् यसको जोखिम आगामी कात्तिक १५ गतेसम्म रहन सक्छ, त्यस बेलासम्म सबै सचेत रहन आवश्यक छ ।”

असोज पहिलो सातासम्म सबै वडामा सङ्क्रमित शून्यको अवस्थामा रहेका थिए । कामपाको तथ्याङ्कअनुसार अहिले कामपाको विभिन्न वडामा गरी ३५ जना सङ्क्रमित रहेका छन् । “समयमा नै पूर्वतयारी गरिएकाले विगत वर्षको तुलनामा यस वर्ष डेङ्गी सङ्क्रमितको सङ्ख्या भने कम रहेको छ”, प्रमुख पौडेलले भन्नुभयो । कामपाको सबै वडामा प्रत्येक हप्ताको बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी छ ।

प्रमुख पौडेलले लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्न नगरवासीलाई आग्रह गर्नुभएको छ । उहाँका अनुसार उक्त सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, वडास्तरमा गठन भएको द्रूत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ ।

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखापर्दछ ।

नेपालमा डेङ्गी सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो ।

मूल्य वृद्धि र कलोबजारी बजार नियन्त्रण गर्ने गरी अनुगमन थप प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का

काठमाडौँ, १२ असोज : प्रधानमन्त्रीको जिम्मेबारीसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मूल्य वृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ ।

बजारमा अस्वभाविक रूपमा मूल्य वृद्धि भएको जनगुनासो बढेको भन्दै उहाँले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिनुभएको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, निमित्त मुख्यसचिव, गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, वाणिज्य विभाग, खाद्य प्रविधि गुणस्तर तथा नापतौल विभागका अधिकारीहरू सहभागी हुनुभएको थियो ।

बैठकमा अहिलेसम्म बजार अनुगमनको समीक्षा हुनुका साथै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । बैठकमा उपप्रधानमन्त्री खड्काले खासगरी दैनिक उपभोग्य समानको अभाव हुन नदिन, कलोबजारी तथा अस्वाभाविक मूल्य वृद्धि रोक्ने गरी प्रभावकारी अनुगमन बढाउन आग्रह गर्नुभयो ।

चाडपर्वका बेला उपभोक्तालाई कालोबजारी र महँगीको चपेटामा पर्ने अवस्था सिर्जना हुन नदिन सबै जिल्लामा भइरहेको अनुगमनलाई थप प्रभावकारी बनाएर अनुगमन गरेर नागरिकले राहतको अनुभूत गर्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । अहिलेको बजार अनुगमन बढाउन र त्यसलाई थप प्रभावकारी बनाउन सङ्घीय सरकार थप सहयोग गर्न तयार रहेको भन्दै उहाँले बजार अनुगमनको काममा प्रदेश र स्थानीय सरकारलाई समन्वय गराएर जान पनि उहाँले अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले हरेक दिन के कति बजार अनुगमन भयो र दोषी देखिएकालाई के कारबाही भयो भनेर जनताले जानकारी पाउने गरी सूचना दिने प्रबन्ध मिलाउन पनि सम्बन्धित अधिकारीलाई आग्रह गर्नुभयो ।

करिब दुई लाख मान्छे भूमध्यसागर पार गरेर युरोप पुग्दा पच्चीस सय हराए

न्युयोर्क – चालु वर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भए पनि दुई हजार पाँच सय जनाले भने ज्यान गुमाए वा उनीहरू हराएका शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

“यो वर्ष एक लाख ८६ हजार मानिस भूमध्यसागर पार गरेर प्रवेश गर्दा दुई हजार पाँच सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएका निष्कर्षमा हामी पुगेका छौँ,” न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त ९युएनएचसीआर० का निर्देशक रुभेन मेनिकडिवेलाले सुरक्षा परिषद्लाई जानकारी दिनुभएको अल जजिराले खबर प्रसार गरेको छ । युरोप प्रवेश गरेकामध्ये करिब एक लाख ३० हजार इटाली पुगेका छन् । ग्रीस, स्पेन, साइप्रस, माल्टालगायत देशमा पनि आप्रवासी पुगेको उहाँले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष समुद्र पार गर्ने क्रममा मृत्यु हुने वा बेपत्ता हुनेको सङ्ख्या बढेको छ । जोखिमपूर्ण नाकाबाट यात्रा गर्दा धेरैले ज्यान गुमाएका सुरक्षा परिषद्लाई जानकारी गराइएको छ । अघिल्लो वर्ष एक हजार छ सय ८० जनाको भूमध्यसागर पार गरेर युरोप पस्ने क्रममा मृत्यु भएको थियो ।

एक लाख दुई हजार मानिसले ट्युनिसियाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेका थिएभने करिब ५० हजार लिबियाको बाटो भएर युरोपतर्फ लागेका थिए । यी दुवै देशबाट भूमध्यसागर पार गर्नु अति जोखिमपूर्ण मानिन्छ । युरोप प्रवेशको यो यात्रामा पाइला–पाइलामा आप्रवासी र शरणार्थीले चरम मानवअधिकार उल्लङ्घनको शिकार हुनुपर्ने तथा ज्यान नै जाने अवस्थाबाट गुज्रनुपर्ने कहालीलाग्दो परिस्थिति पार गर्नुपर्ने निर्देशक रुभेनले बताउनुभयो ।

‘गठबन्धन सरकारको विकल्प छैन’:अध्यक्ष ओली

मोरङ, १२ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको विकल्प नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रमुख जिम्मेवार पार्टी जिम्मेबार नभएसम्म अर्को सरकार निर्माण हुन नसक्ने टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले एमाले र नेपाली कांग्रेस मिलेर सरकार निर्माण गर्नेतर्फ अहिले केही नसोचेको बताउनुभयो । उहाँले वर्तमान गठबन्धन सरकारले देश र जनताको हितको केही कार्य नगरेको बताउनुभयो ।पूर्वप्रधानमन्त्री ओलीले कोशी प्रदेश सरकारको स्थायित्व आवश्यक रहेको चर्चा गर्दै मध्यावधि निर्वाचनतर्फ जानु बुद्धिमतापूर्ण नभएकाले यसतर्फ राजनीतिक दलहरूले गम्भीर मनन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भएमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ, १२ असोज : सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग आज सिंहदरबारमा भएको वार्तापश्चात सहमति भएको हो । सहमतिपछि आन्दोलन फिर्ता भएको छ ।

सहमतिबमोजिम प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा कार्यरत राहत शिक्षकलाई स्थायी परीक्षाका लागि उमेर हद नलाग्ने, शत प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्न र सेवा अवधि पनि शत प्रतिशत जोड्न संशोधन प्रस्ताव गर्ने उल्लेख छ । यसैगरी साविक उच्चमाविका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा र बाल विकासका शिक्षकलाई दरबन्दीका कायम गर्ने पनि सहमति भएको छ ।यही असोज ५ गते भएको महासङ्घसँगको सहमतिमा असन्तुष्ट भई समितिले लगातार सडक आन्दोलन गरेको थियो । सो दिनको सहमतिमा ७५ प्रतिशत राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा समावेश गराउने जनाइएको थियो भने विधेयकमा ५० प्रतिशत प्रस्ताव गरिएको छ ।

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय

काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।

ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० सकिँदासम्म रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर थियो । चालु आर्थिक वर्षको शुरुआती दुई महिनामा मात्रै रू १० अर्ब ५१ करोड बराबर ऋण थपिएको छ ।मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा कुल राष्ट्रिय ऋण दायित्व करिब ४३ प्रतिशत बराबर पुगेको छ । अहिले नेपालको जिडिपी आकार रू ५३ खर्ब ८१ अर्ब ३३ करोड बराबर रहेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने भन्दै सार्वजनिक ऋण बढेकामा आलोचना हुने गरेको छ ।त्यस्तै, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय एक बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार अहिले नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । यसरी, कुल सार्वजनिक ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा रू ७९ हजारभन्दा बढी ऋण पर्न आउने देखिएको हो ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको नेपाल सरकारको ऋणको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७९/८० मा मात्र रू दुई खर्ब ८६ अर्ब पाँच करोड ६० लाख बराबर ऋण थपिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो ।पछिल्लो एक दशकमा सार्वजनिक ऋण चार गुणाले बढेको देखिन्छ । आर्थिक वर्ष २०७०/७१ मा नेपालले तिर्न बाँकी ऋण रू पाँच खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो भने उक्त वर्ष जिडिपीमा सार्वजनिक ऋणको अनुपात २८ दशमलव ५१ प्रतिशत बराबर थियो ।त्यस्तै, पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजकि ऋण दोब्बरभन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालको सार्वजनिक ऋण रू छ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो । भूकम्प पछिको पुनःसंरचनाका लागि नेपालले ऋण मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४/७५ सम्ममा रू नौ खर्ब १७ अर्ब ३१ करोड पुग्यो । त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा रू १० खर्ब ४८ अर्ब १५ करोड, आर्थिक वर्ष २०७६/७७ मा रू १४ खर्ब ३३ अर्ब ४० करोड, आर्थिक वर्ष २०७७/७८ मा रू १७ खर्ब ३७ अर्ब ६३ करोड र आर्थिक वर्ष २०७८/७९ सम्ममा रू २० खर्ब १३ अर्ब २९ करोड बराबर पुगेको थियो ।सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को घाटा बजेट पूर्ति गर्नका लागि थप रू चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये रू दुई खर्ब ४० अर्ब आन्तरिक र रू दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण उठाउने सरकारको लक्ष्य छ । सरकारी राजस्व सङ्कलनको तुलनामा ठूलो आकारको बजेट ल्याउँदा सरकारले आन्तरिक र बाह्य ऋणलाई बजेट स्रोतका रुपमा देखाउने गरेको छ । 

बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक

गोरखा, १२ असोज- गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ ।

हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिनुभयो । “वडामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “बिक्री वितरणका लागि छुट भएको समयमा पनि बालबालिका र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई भने बिक्री गर्न नपाइने नियम लागू गरिएको छ ।”वडाध्यक्ष ढकालले वडा कार्यालयको बैठक नै बसेर निर्णय गरी वडाभित्र मदिरा बिक्री वितरणमा कडाई गरेको बताउनुभयो । वडा कार्यालयले लागू गरेको नियम कडाइका साथ कार्यान्वयन गरिने उहाँको भनाइ छ । निर्णयविपरीत कसैले मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण गरेको पाइए रु पाँच सय जरिवाना गरिनेछ ।पछिल्लो समयमा विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालयको त्यसको नियन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाएको हो । त्यस्तै वडाभित्र दर्ता नभई सञ्चालनमा रहेको व्यवसायीलाई अनिवार्य पसल दर्ता गरेर मात्र सञ्चालन गर्न पनि वडा कार्यालयले निर्देशन दिएको छ ।

‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि दस्तावेज : कावा अध्यक्ष सिंह

हाङझाउ (चीन), १२ असोज : एसियाली ओलम्पिक काउन्सिलका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि महत्वपूर्ण दस्तावेज हुने बताउनुभयो । यहाँस्थित ओलम्पिक स्पोर्टस् सेन्टरमा बिहीबार ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकका लेखक एवम खेल पत्रकार नविन अर्यालसितको भेटघाटमा उहाँले एसियाली खेलकुदको नालीबेली समेटिएको सो पुस्तक विश्व खेलकुदका लागि ‘माइलस्टोन’ हुने बताउनुभयो ।

पुस्तक नेपाली खेलकुदका लागि मात्र नभएर अन्तर्राष्ट्रिय खेलकुदका लागि समेत महत्वपूर्ण खुराक भएको उहाँको भनाइ थियो । ‘नेपाली खेलकुदको वृत्तान्त’मा आफ्नो ठूलो बुवा यजविन्दरको हस्ताक्षरसहित सन् १९५१ मा भारतमा आयोजना गरिएको पहिलो एसियाली खेलकुदको निम्तो देखेपछि कावा अध्यक्ष सिंहले आयोजक चीनका खेल पदाधिकारीसित सो बारे चर्चा गर्नुभएको थियो ।

चनिको हाङझाउस्थित ओलम्पिक स्पोर्टस् सेन्टरको संग्रहालयमा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको पहिलो एसियाली खेलकुदका धेरैजसो दस्तावेज नभएकाले ‘नेपाली खेलकुदको वृत्तान्त’ बहुमुल्य दस्तावेज बन्न सक्ने कावा अधयक्ष सिंहले बताउनुभयो । नेपाली भाषामा लेखिएको सो पुस्तक अनुवाद गराएर भए पनि पढ्ने उहाँले बताउनुभयो । कावा अधयक्ष सिंहले राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष शरदचन्द्र शाह र नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्म शमशेर राणासँग आफ्नो आत्मीय सम्बन्ध रहेको खेल पत्रकार अर्याललाई स्मरण गराउनुभयो ।

उक्त पुस्तकमा आफ्नो ठूलो बुवा र बुवाको फोटो देखेपछि उहाँ निकै उत्साहित देखिनुभएको थियो । कावा अध्यक्ष सिंहको परिवार सात दशककदेखि विश्व ओलम्पिक र एसियाली खेलकुदमा सक्रिय छ । नेपालमा सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्न उहाँको बुवा भलिन्दरको विशेष योगदान रहेको पत्रकार अर्यालको पुस्तकमा उल्लेख छ । कावा अध्यक्ष सिंहले ‘नेपाली खेलकुदको वृत्तान्त’ को प्रसंशा गर्दै आफ्ना ठूलो बुवा यजविन्दर सिंह र बुवा भलिन्दर सिंहले एसियाली खेलकुदमा पुर्याएको योगदान उक्त पुस्तकमा समेटेकामा लेखक अर्याललाई धन्यवाद दिनुभयो ।

कावा अध्यक्ष सिंहका साथमा एसियाली ओलम्पिक काउन्सिलका मानार्थ उपाध्यक्ष वेइ जिझोङ, एसियाली ओलम्पिक काउन्सिलका उपाध्यक्षद्वय सङ लुजेङ र सैयद आरिफ हसनलगायतको उपस्थिति थियो । उहाँहरुले पनि सो पुस्तक चासोका साथ हेर्नुभएको थियो । पत्रकार अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ गत असार २६ गते सार्वजनिक गरिएको थियो । ‘नेपाली खेलकुदको वृत्तान्त’ खेलकुदका बारेमा लेखिएको पहिलो नेपाली पुस्तक हो ।

वीरगञ्ज महानगरको सरसफाइ अभियान प्रभावित

वीरगञ्ज, १२ असोज-वीरगञ्ज महानगरपालिकाले सरसफाइ कर्मचारी हटाएपछि महानगरको सरसफाइ प्रभावित भएको छ । महानगरपालिकाले सरसफाइका दुई सय ५० जनासहित करिब छ सय जना कर्मचारीलाई गत २०८० भदौ २६ गतेदेखि एकै पटक सेवाबाट हटाएको थियो । सरसफाइ कर्मचारी हटाइएपछि महानगरले सुरु गरेको सरसफाइ विशेष अभियान प्रभावित भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो ।

सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आइरहेको छ । तर नियमित सरसफाइमा संलग्न कर्मचारीलाई कामबाट हटाएपछि सरसफाइको काम प्रभावित भएको प्रमुख मियाँको भनाइ छ ।

“हामीले मुख्य तथा सहायक गल्लीमा दैनिक तीन पटकसम्म नियमित सरसफाइ गर्नुको साथै जथाभावी फोहर फ्याक्नेलाई जरिवानासमेत गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यसका कारण सडक सफा भएर शहर सुन्दर बन्न थालेको छ, तर एकैपटक ठूलो सङ्ख्यामा सरसफाइका कर्मचारी नै कामबाट हटाइएपछि अहिले पछिल्लो समय सरसफाइको काम गर्नै सकिरहेका छैनौँ ।”
महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ । तर सरसफाइका कर्मचारी हटाइएपछि अब कसरी अघि बढ्नेमा आफूहरु अन्यौलमा रहेको सरसफाइ प्रमुख मियाँको भनाइ छ ।

“जथाभावी फोहर फ्याक्नेसँग हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छाँै, तै पनि अझै फोहर फ्याल्ने क्रम रोकिएको छैन”, सरसफाइ उहाँले भन्नुभयो, “जरिवाना गर्दा फोहर फ्याल्ने केही कम त भएको छ, तर अपेक्षाकृत रुपमा घटेको छैन् ।” त्यसैले अब फोहर फ्याल्नेलाई जरिवाना मात्रै होइन सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने हामीले तयारी गरेका छौँ । ”

उहाँका अनुसार गत २०७९ पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहर फ्याक्ने व्यक्ति र संस्था गरी पाँच सय ७५ जनाबाट महानगरले रु १९ लाख ७७ हजार जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । “घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याक्ने स्थानीयमा प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भन्नुभयो, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उहाँको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । “मेयर साहवको मुख्य चाहना नै सफा, सुन्दर वीरगञ्ज नगरवासीलाई दिने हो”, प्रमुख मियाँले भन्नुभयो, “त्यही योजनाअनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ गरिरहेका छौँ, तर सरसफाइ कर्मचारी हटाइएकाले समस्या भएको छ ।”

विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको हो । तर सरफाइका कर्मचारी हटाएपछि फेरि पुरानै अवस्थामा त फर्किने होइन ? भन्ने आशङ्का लाग्न थालेको वीरगञ्ज–६ का राजेश साहको भनाइछ ।

‘‘सरसफाइका कर्मचारी दैनिक सडक र नाला सफा गर्दा सडक चिटिक्क बनेको छ”, उहाँले भन्नुभयो, “तर केही दिनयता सरसफाइका कर्मचारी सफा गर्न नआउँदा फेरि सडकमा फोहर थुप्रिने र दुर्गन्ध बढ्न सक्नेछ ।” यसतर्फ महानगरपालिका समयमै गम्भीर हुनु आवश्यक छ, उहाँको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले विधिवत् नियुक्ति नभएको जनाउँदै व्यापक जनगुनासो आएपछि करार, ज्यालादारीका कर्मचारीलाई सेवाबाट हटाउनुपरेको जानकारी दिनुभयो । “कर्मचारी हटाइएपछि समस्या त भएको छ, तर तत्काल कर्मचारी भर्ना गर्नसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले कर्मचारी भर्ना गर्न प्रदेशसभाबाट कर्मचारी भर्नासम्बन्धी ऐन बनाएर आउनुपर्छ, तर प्रदेशसभाले ऐन बनाउन सकेको छैन, त्यसैले समस्या भएको हो ।” प्रदेशसभाबाट ऐन नबन्दासम्म कर्मचारी नियुक्त गर्न सकिँदैन, ऐन बनेर आएपछि मात्र कर्मचारी नियुक्ति प्रक्रिया सुरु गरिने उहाँको कथन छ ।

‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता

कास्की, १२ असोज-पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।

एकेडेमीका संरक्षकसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताउनुभयो । प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट मैदानमा मङ्सिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउने छन् ।एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात् गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।उहाँले भन्नुभयो, “अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधि, खेल प्रशिक्षण र प्रतिस्पर्धा आयोजना गर्ने गरेका छौँ । यसबाट स्वस्थ नागरिकसहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।”सङ्घीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर आयोजना गरिएको प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्वित भएको एकेडेमीको भनाइ छ । पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्वराष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताउनुभयो ।एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुुरु वर्ग र खेललाई माया गर्ने खेलप्रेमी आबद्ध रहेको बताइन्छ । ‘सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो ।

इन्द्रदहमा भक्तजनको घुइँचो

भादगाउँ, १२ असोज ः भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

इन्द्रजात्राको दिन राति खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पु¥याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा रहेको छ । सोहीअनुसार बिहीबार राति इन्द्रायणी देवीलाई इन्द्रदह पु¥याएको थियो । इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने आज भक्तजनको भीड लागेको हो ।

देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रुपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रुपमा समेत लिने गरेको छ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास रहेको छ । इन्द्रदहमा वासुकी नागको बसोबाससमेत रहेको विश्वास गरिन्छ । त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन छ ।

इन्द्रदह परिसरमा लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घा“टी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रही आएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

हेर्नुहोस् असोज १२ गते शुक्रवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ ।

बृष राशि – कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ ।

मीथुन राशि – सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कर्कट राशि – साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

सिंह राशि – अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

कन्या राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

तुला राशि – प्रतिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा साबधानिरहनु होला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला ।

बृश्चिक राशि – नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

धनु राशि – परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

मकर राशि – सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

कुम्भ राशि – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि – साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।

१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ (चीन), १२ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान १८ स्वर्ण, ३० रजत र ३१ कास्यका साथ ७९ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान ६ स्वर्ण, १० रजत र १५ कास्यसहित ३१ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी भारत ६ स्वर्ण, आठ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ । थाइल्याण्ड ६ स्वर्ण, तीन रजत र नौ कास्यसहित १८ पदकका साथ का साथ छैटौँ स्थानमा उक्लिएको छ । यस्तै हङकङ चाइना पाँच स्वर्ण, १२ रजत र १५ कास्य सहित कुल ३२ पदक प्राप्त गर्दै सातौँ स्थानमा रहेको छ ।

चाइनिज ताइपेई चार स्वर्ण, चार रजत र ६ कास्यसहित १४ पदकका साथ आठौँ, इरान तीन स्वर्ण, नौ रजत र १० कास्यसहित २२ पदक प्राप्त गर्दै नवौँ तथा दक्षिण कोरिया तीन स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १२ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३३ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब इ स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेटलगायत खेलबाट पदकको आश गरेको छ ।

असल विधायिका बन्ने अभ्यासमै छु – सचेतक थिङ

काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुहुन्छ ।

सांसदसँग : राससको संवादमा उहाँले भन्नुभयो, विकासमा केन्द्रित हुनु ‘माननीय’को रहर होइन, बाध्यता हो ।” विधायकको मुख्य जिम्मेवारी कानुन र विधि निर्माण मात्र केन्द्रित हुनुपर्ने भनिए पनि अन्यथा भयो भनी आरोप लगाउनु उचित नहुने उहाँको तर्कछ ।

सांसद थिङ भन्नुहुन्छ, “निर्वाचनका बेला विकास निर्माणका लागि प्रस्ताव गर्दै सशर्त भोट मागेपछि प्रणाली स्थापित नभएको मुलुकमा विकासमा सहभागी भइएन भने नेताप्रति हेर्ने दृष्टिकोणमा फरक आउँछ ।” सांसदको समस्या बुझ्न र राज्यमा प्रणाली बसाल्न राजनीतिक दल, सरकार र नागरिक समाजको पहल र प्रयत्न जरुरी रहेको बताउँदै नेपाली कांग्रेस संसदीय दलका सचेतक थिङ भन्नुहुन्छ, “जनताको काम एउटा पनि नहुँदा निरासा हुने परिस्थितिले विधायकलाई अप्ठेरो परेको अवस्था छ ।”

विसं २०४७ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएकी थिङ विसं २०५१ मा बहुमुखी क्याम्पस सिन्धुलीको स्ववियू कोषाध्यक्ष र विसं २०६४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभयो । पार्टीको बाह्रौँ, तेह्रौँ र चौधौँ महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित उहाँ विसं २०७४ मा कमलामाई नगरपालिकाको उपमेयरको प्रत्याशित हुँदै विसं २०७९मा प्रतिनिधिसभा सदस्य बन्न सफल हुनुभयो ।

पार्टी केन्द्रीय सदस्यसमेत रहनभएकी सांसद थिङ संसद्मा पुगेपछि संसार नै जितौँला भन्ने सोच नभए पनि एउटा असल विधायिका बनेर निस्कनुपर्छ भन्ने मान्यतामा दृढ हुनुहुन्छ । संसदमा गत दश महिनाको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “सदनमा पुगेपछि अचम्मै धेरै काम गरौँला भनेर सोचेको होइन, तर राम्रो कानुन बनाएर असल विधायिका बन्छु भन्ने सोचेकी थिए, हेर्दै जाऔँ बाँकी समय सकेसम्म राम्रै काम गरौँला भन्ने छ ।”

नेत्री थिङले लोकतान्त्रिक संसदीय अभ्यासमा एउटा पार्टी दलको बहुमत नभएको अवस्था सबैकोे सहारा लिन पर्ने र सबैबीच मनोभावना नमिलेसम्म संसद् अघि नबढने अवस्थाले प्राथमिकता र लक्षित विषय प्रभावित हुने गरेको दृष्टान्त सुनाउनुभयो ।

निर्वाचनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको चयनदेखि सरकार गठनसम्मको जिम्मेवारी पूरा गर्न केही समय खर्चनुपरेको घटना स्मरण गर्दै उहाँले भन्नुभयो, “विविध कारणले कानुन निर्माणमा अलि ढिलाइ भएको हो । कामै नगरेको भन्ने होइन ।”

असल संसदीय अभ्यासका लागि नीतिभन्दा नियति नै खराब देखिएको बताउँदै उहाँले दल विशेषका नियतिमा शङ्का गर्नुपर्ने अवस्था रहेको विचार प्रकट गर्नुभयो । सांसद थिङ भन्नुहुन्छ, “सरकारमा हुँदा एकदमै ठीक देखिएको विषय प्रतिपक्षमा हुँदा आफँैले ल्याएको र बोलेका विषय गलत हुने प्रवृत्ति छ, यसले समग्रमा नियम कानुनभन्दा नियतिमै खोट र शङ्का गर्नुपर्ने अवस्था देखिन्छ । यसमा प्रश्न उठेकाले तत्काल सुधारको खाँचो छ ।”

मुलुकको सर्वाेच्च संस्था सदनमा पुगेको जनप्रतिनिधिले संसदीय नियमावली, कानुन र संविधानको परिधिभित्र रही कस्ता शब्द चयन गर्ने, कस्तो प्रस्तुति दिने भन्ने विषयमा गहन अध्ययन र अभ्यासको आवश्यतामा उहाँले जोड दिनुभयो । सांसद थिङले भन्नुभयो, “सदनमा बोल्ने वाक स्वतन्त्रता छ, तर त्यो संविधानको अधिनमा रही मर्यादित शब्द प्रयोग हुनुपर्छ । त्यो ज्ञान जनप्रतिनिधिमा हुनुपर्छ । आवेगमा आएर दिइने अभिव्यक्तिलाई असल अभ्यास भन्न सकिन्न । रेकर्डबाट हटाउने गरी बोल्नु भनेको अमर्यादित नै हुन्छ ।”

एक प्रश्नको जवाफमा उहाँले मुलुक हाक्ने राजनीतिक नेतृत्वकै सन्तति उच्च माध्यमिक शिक्षा सकेपछि स्वदेशमा बस्ने मनस्थिति नदेखिएको घटना सुनाउनुभयो । उहाँले भन्नुभयो, “युवालाई जन्मभूमि नेपालमै बस्न, त्यो वातावरण बनाउन आवश्यक छ, शिक्षा क्षेत्रमा देखिएको माफिया प्रवृत्ति पनि दोषी छ, चिकित्सक र नर्स पर्याप्त खोल्न दिएको भए यस्तो स्थिति हुने थिएन । हालको शिक्षा नीतिमा व्यापक परिवर्तन गर्नुपर्छ ।”

जिल्ला वा निर्वाचन क्षेत्रको विकास निर्माणका लागि बजेट व्यवस्थापन र आयोजना समावेश गर्न मन्त्रालयको कोठा र चोटामा धाउनु सांसदको पनि बाध्यता भएको बताउँदै सचेतक थिङ भन्नुहुन्छ, “विधि र प्रणाली स्थापित नभएकाले त्यो अवस्था सिर्जना गरेको हो ।”

उहाँले सांसदले विकास निर्माणमा हाल हाल्न हुन्न भन्ने विषय नेपाली समाज र जनतामा चेतना आएर प्रणाली स्थापित भई नसकेकाले केही बेथिति देखिएको बताउनुभयो । नेत्री थिङले संसद् विकास कोषका लागि प्रस्तावित रकम असल नियतले प्रयोग भएको खण्डमा नतिजा राम्रो आउने भए पनि दुरुपयोगको इतिहास रहेकाले अदालतको आदेशलाई पनि मनन गर्न आवश्यक रहेको धारण व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सांसदलाई विकास निर्माणका लागि होइन, असल नियम र कानुन बनाउनका लागि जनताले पठाएका हुन्, सरकारले पनि जनप्रतिनिधिलाई त्यो विषयमा मात्र केन्द्रिकृत हुने व्यवस्था मिलाउनुपर्छ ।”

कम्युनिस्ट प्रधानमन्त्रीको ‘प्रचण्ड धार्मिक अवतार’

कठमाडौं । जेठमा दक्षिणी छिमेक भारत भ्रमणमा रहँदा गेरु वस्त्रसहित ‘प्रचण्ड धार्मिक अवतार’मा झुल्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तरी छिमेक चीन पुग्दा पनि धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिएका छन्।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बिहीबार तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको दर्शन भ्रमण गरेका हुन्। कैलाश पर्वत र मानसरोवरलाई हिन्दु धर्मावलम्बीहरूले ठुलो धाम मान्छन्।

विशेषगरी कैलाश पर्वतलाई भगवान् शिवको बासस्थान ठानेर हिन्दु धर्मावलम्बीहरू जीवनमा एकपटक पुग्न चाहन्छन्। प्रधानमन्त्री दाहाल विदेश भ्रमणमा रहँदा यसरी धार्मिक स्थलको भ्रमण, पूजाअर्चना र दर्शन गर्दा नेपालमा भने चर्को आलोचना हुने गर्छ।

भारत भ्रमणका बेला उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन गर्दा गेरु वस्त्रमा पूजाअर्चना गरेको विषय सर्वाधिक आलोचित बनेको थियो। यसरी आलोचना गर्नेमा अग्रमोर्चामा उनकै द्वन्द्वकालीन सहयोद्धा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई थिए।

भट्टराईले दाहालका धार्मिक गतिविधिका तस्बिर राखेर ‘नयाँ सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ भनेर व्यंग्य गरेका थिए।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रम कार्यालयको भ्रष्टाचारविरोधी अभियान असफल

काठमाडौं । साढे दुई वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका कर्मचारीलाई भ्रष्टाचार विरोधी बनाउन भन्दै एउटा विशेष अभियान ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले सो अभियान ल्याउनुभएको थियो ।

अभियानअन्तर्गत प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नुअघि हरेक कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाउनुपर्ने थियो । त्यसका लागि प्रधानमन्त्री कार्यालयले मुख्य प्रवेशद्वारामा नै एउटा बोर्डमा केही सन्देश लेखेर टाँस्यो ।

हरेक कर्मचारीले त्यो बोर्डमा टाँसेको कुरालाई पढेर मनन गर्दै भित्र पस्नुपर्ने नियम लगाइयो । बोर्डमा लेखिएको थियो – ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार गर्न दिन्नँ र म कहिल्यै पनि भ्रष्टाचार नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

केही समय प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए पनि मुलुकमा भ्रष्टाचारको पारोमा भने कमी आएन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारीहरू रंगेतहात पक्राउ गर्ने क्रममा पनि कमी नआएको प्रधानमन्त्री कार्यालयकै कर्मचारीहरूको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयका त्यतिखेरका एक सहसचिवले सुरूका केही समय सो अभियान प्रभावकारी भए पनि पछि तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले अभियान सफल बनाउने कार्यमा खासै ध्यान नदिएपछि अभियान असफल भएको बताए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

१९औँ एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित

हाङझाउ (चीन)-१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम इभेन्टस्मा नेपाल भारतसित पराजित भएको छ । नेपालको पुरुष टोली भारतसित ३–० ले पराजित भएको हो ।

बिहीबार सम्पन्न पहिलो खेलमा नेपालका अमृत थापामगर भारतका अभय सिंहसित २–११, ४–११ र १–११ अकले पराजित भए । अर्को खेलमा नेपालका अराहन्तकेशर सिंह भारतका महेश मान्गोनकरसित २–११, ३–११ र ३–११ अंकले पराजित भए ।

यस्तै अमिर ब्लोन भारतका हरिन्दरपाल सिंहसित अन्तिम खेलमा १–११ ,२–११ र ६–११ अंकले पराजित भए । समूह ‘ए’ मा रहेको नेपाल यसअघि कुवेत, पाकिस्तान, कतार र सिंगापुरसित ३–० को सोझो सेटमा पराजित भएको थियो ।

फेन्सिङ पराजित

१९औँ एसियाली खेलकुद अन्तर्गत आज सम्पन्न फेन्सिङ खेलमा नेपालको पुरुष र महिला टोली पराजित भएको छ । पुरुष साब्रे टोली कजाकिस्तानसित १ै५–४५ अकले पराजित भयो । यस्तै महिला फोइल टोली जापानसित १०–४५ अकले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

गल्फमा सन्तोषजनक प्रदर्शन

१९औँ एसियाली खेलकुदअन्तर्गत गल्फको व्यक्तिगत स्पर्धामा नेपालले आज सन्तोषजनक खेल प्रदर्शन गरेको छ । नेपालका शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी ३१औं स्थानमा रहे ।

यस्तै नेपालका सदभाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले पहिलो दिनको खेल सकाए । सदभाव ३८औँ तथा सुवास ४७औँ स्थानमा रहे । युवराज भुजेल ५८औँ स्थानमा छन् । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ ३६औँ स्थानमा छिन् । यस्तै कस्मिरा शाह ३८औँ स्थानमा छिन् ।
 

एनआरएनएका अध्यक्ष थापाद्वारा पुनःअध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उहाँले यहाँ पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । दशौँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तीनै जना उम्मेदवारले पालैपालो अध्यक्षकारूपमा काम गर्ने सहमति भएको थियो । उम्मेदवारी घोषणा गर्दै उहाँले एनआरएनए ग्लोबल फण्डको महत्त्वाकांक्षी कार्यक्रम घोषणा गर्नुभएको छ । “म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ”, अध्यक्ष थापाले भन्नुभयो, “जुन नेपाल र नेपालीको समृद्धिका लागि सारथि मात्र होइन, सङ्कट पर्दाको सञ्जीवनीसमेत हुनेछ ।”एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष सङ्घको सबैभन्दा ठूलो कोष हुने उहाँले बताउनुभयो । एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाकारूपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर एक कार्यकाल काम गर्न चाहेको उहाँको भनाइ थियो । अध्यक्ष थापाले भन्नुभयो, “मैले छ महिना कार्यकारी अध्यक्षकारूपमा काम गर्दा उल्लेखनीय काम गरेको छु, एक कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा सङ्घलाई जीवन्त र गतिशील ढङ्गले अघि बढाउने र विदेशमा बस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण बनाउने छु ।”आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको, गैरआवासीय नेपाली नागरिकताका लागि संसद् र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको, नवौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदक जितेको, सङ्घको काठमाडौँस्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्टदेखि घेरा पर्खालसम्म) अपाङ्गमैत्री बनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण सुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस सुरु गरिएको (तीन प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा), विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४सै घण्टा खुला रहने हटलाइन सेवा सुरु गरिएको, सङ्घको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको उहाँले जानकारी गराउनुभयो ।सङ्घको अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिँदै अध्यक्ष थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दाबी गर्नुभयो । उहाँले निर्वाचनलाई भड्किलो बनाउन नहुनेमा जोड दिँदै आफू महाधिवेशन प्रतिनिधिले मात्र नभई एनआरएनएका प्रत्येक पञ्जिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको कुरा दोहो¥याउनुभयो । “यो विदेशमा रहेका नेपालीको हकहित र समस्यामा सहयोग गर्ने तथा नेपाल र नेपालीको समृद्धिमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो”, अध्यक्ष थापाले भन्नुभयो, “यो न त कुनै राजनीतिक भ्रातृ सङ्गठन हो न त कुनै व्यापारिक या व्यावसायिक संस्था नै हो ।विदेशमा बस्ने नेपाली सबैको अवस्था एउटै नभएको उल्लेख गर्दै खाडीमा काम गर्ने श्रमिक दाजुभाइदेखि विद्यार्थी र सामाजिक तथा आर्थिक हैसियत बनाएका सबैको भावनाको प्रतिनिधित्व हुने नेतृत्वमा उहाँले जोड दिनुभयो । साथै विधान विपरीत प्यानल बनाएर निर्वाचनमा जाँदा सङ्घमा मनमुटाव बढेको उल्लेख गर्दै उहाँले ११औँ महाधिवेशनमा प्यानल पूर्णरूपमा निषेध गरिनुपर्नेमा जोड दिनुभयो । चरम गुटबन्दी, राजनीतिक चलखेल, विवाद र व्यापारीकरणले सङ्घको गरिमा घटेको र गलत सन्देश गएको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठी सक्षम, सबल गतिशील र संयोजनकारी नेतृत्व चयन गर्न एनआरएनएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभयो ।उहाँले सो अवसरमा २५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सङ्घको संरचनागत सुधारदेखि नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारसँग सहकार्यका विषय उल्लेख गर्नुभयो । स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन सञ्चार, कृषि ऊर्जालगायतका विभिन्न क्षेत्रमा उहाँको योजना र अवधारणा घोषणापत्रमा समेटिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाई वंशजकै नागरिकताको निरन्तरतादेखि श्रम स्वीकृति लिएर गएका श्रमिक सरकार सरकार (जिटुजी) बाट जाने नेपाली र विद्यार्थी अनुमतिमा गएका विद्यार्थीहरूलाई केही समस्या परेमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने र यसमा एनआरएनएले निरन्तर समन्वय गरिरहनुपर्ने बताउनुभयो ।

प्रभावकारी देखिएन बजार अनुगमन

काठमाडौं । बिहीबार उपत्यकामा सार्वजनिक बिदा । सबै सरकारी कार्यालय बन्द भए । सरकारको संयुक्त बजार अनुगमन टोली भने अन्य दिनजस्तै अनुगमनका लागि खटियो । बिदाको दिनमा १० वटा टोलीले उपत्यकाका विभिन्न स्थानमा पुगेर ३३ वटा व्यवसायी फर्मको अनुगमन गर्‍यो ।

बिहीबार अनुगमन गरेकामध्ये आठ वटालाई जरिबाना गरेर ९० हजार रुपियाँ राजस्व पनि सङ्कलन भयो । सरकारले गएको असोज १ गतेदेखि सार्वजनिक बिदाको दिनमा समेत १२र१३ वटा टोलीले नियमित रूपमा चाडपर्वलक्षित बजार अनुगमन गरिरहेको छ ।

यस्तो खालको अनुगमन नयाँ नभएर विगतकै निरन्तरता हो । त्यसैले पनि यसको उपलब्धि देखिँदैन । उपभोक्ता अधिकारकर्मीले सरकारको बजार अनुगमन खाली कर्मकाण्डी र बजेट सकाउने मात्रै भएको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारको संयुक्त बजार अनुगमनको उद्देश्य राम्रो भए पनि अहिलेको बजार अनुगमन बजेट सकाउनेबाहेक केही नभएको आरोप लगाए ।
सरकारका यति धेरै टोली बजारमा अनुगनमा जाँदा त बजार सुधारिनुपर्ने होइन ? प्रश्न गर्दै उनले भने, “बजार अनुगमन गरेर सुधार्ने बाटोमा त जानै चाहँदैन, कोही गइहाल्यो भने पनि त्यो कर्मचारी कारबाहीमा पर्छ अनि यस्ता अनुगमनको के आस गर्नु ? त्यसैले यो अनुगमन खाली बजेट सक्ने बहाना मात्रै हो ।”

अर्का उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले सरकारको पछिल्लो बजार अनुगमनले सानालाई तर्साएर ठुलालाई संरक्षण गर्ने कर्मकाण्डी मात्रै भएको आरोप लगाए ।सरकारी अनुगमनलाई प्रभावकारी बनाउने हो भने त मुहानमा अनुगमन गरेर त्यहीबाट कारबाही गर्ने हो भने तलका त आफैँ सुध्रिन्थे नि त्यो गर्न सरकार चाहँदैन, यस्ता कर्मकाण्डी अनुगमन के अर्थ रहन्छ ? उनले थपे

हुन पनि सरकारले दैनिक औसतमा ४५ वटा व्यावसायिक फर्मको अनुगमन गरिरहेको छ तर यसको उपलब्धि खासै देखिँदैन । सरकारी संयुक्त बजार अनुगमनको नेतृत्व गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा आमउपभोक्ताको अपेक्षा अनुसार नभए पनि विगतको तुलनामा सुधार भएको दाबी गरेको छ ।

विभागका महानिर्देशक तीर्थराज चिलवालले स्वयम् उपभोक्ता सचेत नभएसम्म अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बताए । सरकारले हाल गरिरहेको रहेको बजार अनुगमन कसैको दबाब र प्रभावमा पर्ने खालको अनुगमन नभएर गलत गर्ने जो कोही कानुनी कारबाहीमा पर्ने उनको दाबी रहेको छ ।

सरकारी अनुगमन ठुलोलाई नगरेको भन्नेमा सत्यता नभएको भन्दै उनले भने, “चिनीको गोदाममा अनुगमन गरेर ७० हजार केजी चिनी रहेको गोदाम सिल गरिएको छ, सरकार भन्दैमा त्यत्तिकै कारबाही गर्न पाइन्छ ? त्यसका लागि प्रमाण चाहिँदैन, प्रमाण जुटाउँदै छ, प्रमाणित भएमा कारबाही रोकिन्न ।”महानिर्देशक चिलवालले कानुनभन्दा कोही पनि माथि नहुने भएकाले कानुनविपरीत कारोबार गर्ने जोकोही कारबाहीको भागीदार हुने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले मुसलमान समुदायमा प्रचलित तीन तलाकलाई सम्बन्धविच्छेद मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानुनबमोजिमको सम्बन्धविच्छेदबाहेक अन्य प्रथाजनित व्यवस्थाका आधारमा गरिने सम्बन्धविच्छेदले महिलामाथि अन्याय हुने अदालतको आशयसहितको फैसलाको पूर्णपाठ आएको छ ।

इस्लाम समुदायका एक पुरुषले आफूले श्रीमतीलाई तलाक दिइसकेको ९सम्बन्धविच्छेद गरिसकेको० भन्दै गरेको अर्को विवाहलाई सर्वोच्च अदालतले कानुनविपरीत ठह¥याएको हो । सर्वोच्चले यस मुद्दामा पुरुषलाई बहुविवाहमा दोषी ठहर गरेको छ ।

न्यायाधीश टंकबहादुर मोक्तान र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले २६ चैत २०७९ मा गरेको फैसलाको पूर्णपाठमा भारतसहित अन्य छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिनुसार गरेको तलाकलाई कानुनले मान्यता नगरेको अवस्थामा नेपालमा पनि तलाक दिएको आधारमा दोस्रो विवाह गर्न छुट नहुने उल्लेख छ ।

सर्वोच्चको फैसलामा भनिएको छ, ‘इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्धविच्छेदको सम्बन्धमा प्रचलित नेपाल कानुनले मान्यता प्रदान नगरी सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन प्रचलनमा रहेकाले तथा स्वेच्छाचारी प्रकृतिका सम्बन्धविच्छेदजस्तै तीन तलाकलाई अन्य मुलुकहरूमा कसुरजन्य कार्य बनाइँदै गरेको अवस्थामा छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिनुसार गरेको तलाक वा सम्बन्धविच्छेदलाई कानुनले मान्यता नगरेको अवस्थामा दोस्रो विवाह गर्न छुट भएको भन्न मिल्ने देखिँदैन ।’

काठमाडौं महानगरपालिका–१६ मा बस्ने मनौवर हसनविरुद्ध उनकी पत्नी सविया तनविर हसनले दिएको जाहेरीको दुई तहका अदालतबाट फैसला भई आउनेक्रममा भएका त्रुटिहरू सच्याउँदै सर्वोच्च अदालतले कस्तो अवस्थामा सम्बन्धविच्छेद मान्ने र कस्तोलाई बहुविवाह मानिने भन्ने प्रस्ट व्याख्या गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

इजरायलमा कामदार पठाउन दोस्रो चरणको तयारी गर्दै सरकार

काठमाडौँ- नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ ।
इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार इजरायलमा सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा देखाएको छ ।

पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदारका रूपमा नेपाली लैजाने इजरायलले रुचि देखाएकाले अहिले सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउने तयारी थालिएको प्रवक्ता तथा सहसचिव घिमिरेले बताउनुभयो । यसैगरी पहिलो चरणमा इजरायलमा गएकाहरूको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रममन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा छनोट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा इजरायलबाट दोस्रो चरणमा पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदार माग गरिएको मन्त्रालयले जनाएको छ । इजरायल रोजगारीमा सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक जाने गरेका थिए । तर म्यानपावर कम्पनीले श्रमिकबाट चर्को रकम असुलेको खुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो ।

बन्द भएको झण्डै ११ वर्षपछि सरकारी संयन्त्रबाट नेपाली श्रमिक जाने प्रक्रिया थालिएको हो । यसका लागि नेपाल र इजरायलबीच विसं २०७७ असोज १४ गते इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि विसं २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भयो ।

यसपछि २०७८ सालमा पहिलो चरणमा एक हजार छ सय जनाको नाम सिफारिस गरी नेपालले इजरायललाई पठाएको थियो । उनीहरूमध्येबाट एक हजार एक सय ७५ जना चिठ्ठा प्रणालीमार्फत इजरायल रोजगारीको लागि छनोट भएका थिए । सरकारी प्रक्रियामार्फत इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जाने नेपाली श्रमिकको न्यूनतम तलब रु एक हजार पाँच सय ४३ डलर तोकिएको बताइएको छ ।

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै

मानसरोवर (चीन), १२ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लाग्नुभएको हो ।

उहाँ स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । उहाँ स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्नुहुने छ । छेन्दुमा रहँदा उहाँले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुुहुने कार्यक्रम रहेको छ ।त्यसपछि उहाँले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नु हुनेछ ।बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाँले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुभएको थियो ।प्रधानमन्त्री दाहाल र उहाँको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ ।उहाँको भ्रमण दलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहनुभएको छ ।–

बाजागाजासहित इन्द्रायणीलाई इन्द्र दह पुर्‍याई मेला सुरु, रातभरि दीपावली गरी मनाइने

भक्तपुर, ११ असोज : इन्द्रजात्राको तेस्रो दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात् सिद्धपोखरीमा इन्द्र देवतालाई विराजमान गराई पोखरीको वरिपरि दीपावली गरी भव्य मेला सुरु भएको छ ।

भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पुर्‍याई साँझबाट मेला सुरु भएको छ ।

भाद्र शुक्ल चतुर्थीको दिन साँझ दीपावली गरी मध्यरातिसम्म मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट इन्द्रदहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

भाद्र शुक्ल चतुर्थीको दिन साँझबाट सुरु हुने मेला पूर्णिमामा दिनभर मेला गरी साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि मेला सम्पन्न हुने परम्परा रहेको संस्कृति एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल संवत् २१८ मा शक्तिशाली युवराजको रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको उहाँको भनाइ छ ।

स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँकीदह’ पनि भनिन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनास्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनुभयो । राजतन्त्रको पराजय र जनताको विजयीको रूपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।

इन्द्र दहमा स्नान गरी समय् अर्थात् भोज चढाएर, भाज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय् अर्थात् छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रोलगायतका परिकार विशेषरूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमान गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह भित्र्याएपछि मेला सम्पन्न हुने परम्परा रहेको छ ।

नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनका लागि नारा र लोगो सार्वजनिक

महेन्द्रनगर (धनुषा), ११ असोज : नेकपा (एमाले) मधेस प्रदेश समितिको यही असोज २४ र २५ का लागि तय भएको अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लीलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले संयुक्तरूपमा नारा र लोगो सार्वजनिक गर्नुभएको हो ।

अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार’ तय गरिएको छ । लोगोमा हँसियाभित्र मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तीव्र विकासको आवश्यकता झल्काउने स्थल तथा क्षेत्रलाई राखिएको एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले यही असोज २४ र २५ गते जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने र अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने जानकारी दिनुभयो । भट्टराईले विगत छ वर्षमा सरकारले गरेका क्रियाकलापका आधारमा मधेस प्रदेशमा सुशासनको प्रत्याभूति, समृद्ध मधेसको निर्माण र मधेसको स्वाभिमानलाई माथि उठाउन एमाले सरकारको अपरिहार्यता महसुस गरी अधिवेशनको नारा तय भएको र यसैलाई विसं २०८४ को चुनावमा पनि प्रयोग गरिने बताउनुभयो ।

अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने र प्रतिनिधि छनोटका लागि प्रदेश कमिटी अध्यक्ष रामअवतार यादवको संयोजकत्वमा समिति बनाई प्रदेशका एक सय ३६ वटै पालिकामा निर्वाचन समितिसमेत गठन गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी, ११ असोज : गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै रातको १२ः०० बजेदेखि चालु अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रिपरिषद्को बैठकको निर्णय

विराटनगर, ११ असोज : कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन, २०८० सार्वजनिकीकरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाका लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै प्रदेश सामयिक कर असुलसम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने, सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई तोक्ने र २०८० असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झाँगर समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो ।

चितवनको केरामा पानामा टिआर–४ को उच्च जोखिम

चितवन, ११ असोज : जिल्लामा लगाइएको केरामा पानामा (टिआर–४) को उच्च जोखिम देखिएको छ । छिमेकी जिल्ला नवपुरको त्रिवेणीमा लगाइएको केरामा यो रोग देखिएसँगै यहाँ पनि उच्च जोखिम भएको हो ।

केरामा रोगको उच्च जोखिम भएपछि व्यवसायीलाई केरा आयात गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले व्यवसायी र कृषकबीचको अन्तक्र्रिया आयोजना गरी केरा र बिरुवा आयात गर्दा सावधानी अपनाउन अनुरोध गरेको हो ।

केरामा लाग्ने पानामा टिआर–४ नियमनका लागि सिफारिस गरिएको प्राविधिक आचारसंहिता पूर्णरूपमा पालना गरेमा यो रोग भित्रन नसक्ने भन्दै कार्यालयले किसान र व्यवसायीलाई नियमको पालना गर्न अनुरोध गरेको छ । जिल्लामा अहिलेसम्म नदेखिएको भए पनि यहाँ यसको सङ्क्रमण हुने जीनाइन जातका केरा लगाइएकाले सावधानी अपनाउन कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले छिमेकी जिल्लामा आइसकेका कारण यो जिल्ला पनि उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी ईन्द्रप्रसाद ढुङ्गानाले अहिलेसम्म जिल्लामा यो रोगको सङ्क्रमण नदेखिए पनि सावधानी अपनाउन अनुरोध गर्नुभयो । केराको बगानमा जैविक सुरक्षा प्रणाली अपनाउने, केरा आयात गर्दा क्रेटमा वा प्याकिङ गरेर मात्र आयात गर्न, बगैँचामा रहेको घाँस काटेर बगैँचा बाहिर लैजान नहुने, केरा फल ढुवानी गर्दा एकद्वार प्रणाली अपनाउने, केरा बगानबाट पानी बाहिर बगेर जान नदिने, नयाँ बगैँचा स्थापना गर्दा सावधानी अपनाउनुपर्ने, सङ्क्रमित क्षेत्रको नर्सरीबाट केराको बेर्ना बाहिर जान नदिनेजस्ता १८ वटा आचारसंहिता कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका केरा जोनका संयोजक विष्णुहरि पन्तले यो रोग केराको कोभिडभन्दा पनि डरलाग्दो हुने भन्दै उच्च सतर्कता अपनाउन सके रोकथाम गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला भित्रने केराहरू पात र डाँठबिना भित्र्याउनुपर्छ ।” माटो, केराको डाँठ र पातबाट सर्ने भएकाले केरा आयात गर्दा यी कुरामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले थप्नुभयो, “अब हामी चाँडै नै नाकामा जाँच सुरु गर्छौँ ।” केरा लिएर बाहिरी जिल्लाबाट आएका ढुवानीका साधनलाई १० प्रतिशत बिल्चिङ पाउडरले निसङ्क्रमण गर्न नाका–नाकामा काम सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

केरा उत्पादक सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले बाहिरबाट ल्याइने र जिल्लाभित्रबाटै ल्याइने केरालाई समेत प्याकिङ गरेर ल्याउन व्यवसायीलाई अनुरोध गर्नुभयो । व्यवसायीले समेत यस कुरालाई कडाइका साथ पालना गर्ने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख धनबहादुर थापाले भारतबाट गानो ल्याइएका बिरुवामा यो सङ्क्रमण देखिएको बताउनुभयो । चितवनमा अहिलेसम्म नदेखिए पनि उच्च सावधानी अपनाउन जरुरी रहेको उहाँको भनाइ थियो । जिल्लामा अन्य जिल्लाबाट गानो ल्याएर किसानले खेती नगरेका कारण अहिलेसम्म देखा नपरेको उहाँले बताउनुभो ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कँडेलले महामारी कतिखेर हुन्छ भन्दा पनि हुनै नदिनका लागि आफूहरू लागिपरेको बताउनुभयो । राज्यका निकायबाट यसलाई भित्रन नदिनका लागि कार्यालय लागिपरेको भन्दै व्यवसायी र किसानले समेत यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यका निकायसँग हामीले सल्लाह गरेका छौँ । सावधानी अपनाउनुपर्छ ।”

पानामा (टिआर–४) केरामा लाग्ने एक प्रकारको रोग हो । यो रोग नेपालमा पहिलोपटक टिकापुरमा देखिएको थियो । त्यसपछि अहिले त्रिवेणीमा देखिएको छ । यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने भएकाले किसान, व्यापारी तथा अन्य सरोकारवाला सचेत रहनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

‘पानामा’ (टिआर–४) ले खासगरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरैजसो केराका जातमा आक्रमण गर्ने गर्दछ । जिल्लामा जीनाइन जाताको केराखेती गरिँदै आइएको छ । यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने गर्दछ ।

जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएको छ । जसमध्ये चार सय हेक्टर क्षेत्रफलमा जीनाइन केरा लगाइएको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका अनुसार विसं २०७२/७३ बाट चितवनमा यो जाताको केराखेती गरिँदै आइएको छ । कार्यालयका अनुसार हाल चितवनमा सात सय १२ जना व्यावसायिक किसान रहेका छन् । हालसम्म जिल्लामा दुई लाख ८० हजार बोट जीनाइनका बिरुवा वितरण गरिसकिएको छ ।

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

काठमाडौँ, ११ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ ।

लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लङ्घन गरेकाले दुई कम्पनीका तीन हेलिकोप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको बताउनुभयो ।

“दुई कम्पनीका हेलिकोप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको हो”, प्रवक्ता भुलले भन्नुभयो ।

हेलिकोप्टर उडानका लागि ‘कन्ट्रोल एयरस्पेस’मा कम्तीमा पाँच हजार र ‘अनकन्ट्रोल एयरस्पेस’मा एक हजार पाँच सय भिजिबिलिटी चाहिन्छ । तीन हेलिकोप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झण्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउण्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्रधानसेनापति स्वदेश फिर्ता

काठमाडौँ, ११ असोज : प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गर्नुभयो ।

नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिने सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

असोज ८ देखि १० गतेसम्म इण्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न ‘शान्तिका लागि सँगै’ भन्ने विषयवस्तु प्रस्तुत उक्त सम्मेलनमा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीको सहभागिता थियो ।

नयाँ दिल्लीमा रहँदा प्रधानसेनापतिले अष्ट्रेलिया, बङ्गलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफसँग बेग्ला–बेग्लै भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण गर्नुभएको थियो । त्यस अवसरमा उहाँले उक्त कलेजमा सञ्चालन भइरहेको तालिममा सहभागी शिक्षार्थी र शिक्षकहरूसमक्ष राष्ट्र निर्माण र नेपालको परराष्ट्र नीतिमा सेनाको योगदान विषयमा प्रवचन दिनुभएको निर्देशनालयले जनाएको छ ।

हाल उक्त कलेजमा सञ्चालन भइरहेको एनडिसी तालिमा नेपालका तीन महासेनानी सहभागी हुनुहुन्छ । प्रधानसेनापतिले समेत विगतमा सोही कलेजबाट एनडिसी तालिम लिनुभएको थियो । प्रधानसेनापतिसँगै ४७औँ इण्डो प्यासिफिक आर्मी म्यानेजमेन्ट गोष्ठीमा सहभागी सैनिक अधिकृत र सेना सुवेदार मेजर पनि स्वदेश फर्कनुभयो ।

भ्रमणका क्रममा विभिन्न मित्रराष्ट्रहरूका समकक्षीलगायत पदाधिकारीहरूसँगको अन्तक्र्रियाबाट मानवीय सुरक्षालगायतका साझा चासोका विषयहरूमा अनुभवहरूको आदान–प्रदान गर्ने अवसर प्राप्त भएको सेनाले जनाएको छ । ती देशहरूसँगको नेपालको सम्बन्ध थप सुमधुर बनाउन मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

पार्टीका वैचारिक दृष्टिकोण जनताकाबीच लगिन्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ११ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीले अवलम्बन गरेका नीति तथा आदर्शलाई जनताकाबीच लैजाने ‘समाजवाद जागरण अभियान’ महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानमा पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचार–प्रसार गरिने बताउनुभयो ।

समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने बताउँदै उहाँले पार्टीका वैचारिक दृष्टिकोणलाई आधारभूत तहसम्म स्थापित गर्न यात्राले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सामाजिक न्याय, समानता, आत्मनिर्भर अर्थतन्त्रको विशेषता भएको वैज्ञानिक समाजवाद कार्यान्वयन गरी मुलुकमा समृद्धि कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

अभियानमा आधुनिक कृषि, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा सन्देश प्रवाह गरिने बताउँदै यस कार्यक्रमले युवालाई समाजवादी क्रान्तिका लागि जोड्ने बताउनुभयो ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अभियानमा तय गरिएका कार्यक्रमको जानकारी दिँदै उहाँले भन्नुभयो, “अभियानका नाममा हामी जनताको घरदैलोमा पुग्नेछौँ र जनताको दुःख, सुखमा साथ दिनेछौँ । सुशासन, विकास र रोजगारी हाम्रो मूल माग हो । अभियान यही असोज २९ सुर्खेतमा पुगेर सभा गरी सम्पन्न हुने छ ।–

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री

कैलाश मानसरोवर (चीन), ११ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ ।

प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकनका लागि त्यहाँ पुग्नुभएको थियो । सो भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले हिन्दू तीर्थयात्रीहरूको यस पवित्रस्थलको दर्शन एवं अवलोकनका लागि नेपालको बाटो भएर आउन सकिने गरी व्यवस्था मिलाइने बताउनुभयो ।

उहाँले नेपाली, भारतीय र अन्य देशका पर्यटक एवं तीर्थयात्रीले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिनुभयो ।

हिन्दू धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार कैलाश पर्वतलाई देवहरूका पनि देव, महादेव रहने स्थान एवं अन्य देवी–देवताहरूले पनि स्पर्श गर्नुभएको पवित्र भूमि मानिन्छ । त्यसैले कैलाश पर्वत र यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर क्षेत्र करिब दुई सय ५० किलोमिटर टाढा रहेको छ ।

उता नेपालतर्फबाट भने नेपालको हुम्ला सदरमुकाम सिमकोटबाट एक सय ६० किलोमिटरमात्रै टाढा रहेको छ । नेपालतर्फबाट सिमकोटको बाटो भएर कैलाश मानसरोवरको यात्रा गर्दा ट्रयाकमात्रै खोलिएको सडक रहेकाले यात्रा असहज हुने गरेको छ ।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ । मानसरोवर ताल पनि हिन्दूहरूका लागि पवित्र तीर्थस्थल हो । कैलाशपति महादेव तथा देवी–देवताहरूले मानसरोवर तालमा स्नान गर्ने गरेको वैदिक सनातन मान्यता पनि पाइन्छ । यस तालमा अहिले नुहाउन भने प्रतिबन्ध गरिएको छ ।

चीनको तिब्बततर्फबाट भन्दा नेपालको हुम्लातर्फबाट कैलाश मानसरोवरको यात्रा गर्न नेपाली र भारतीय पर्यटकहरूलाई सहज हुने देखिएको छ । खर्च, यात्रा गर्नुपर्ने दूरी तथा भिसालगायत थुप्रै दृष्टिकोणबाट हुम्लाको बाटो भएर यात्रा गर्दा सहज हुनेछ ।

यसबाट ठूलो जनसङ्ख्या भएको भारतका बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीहरूलाई पनि निकै सहज हुने र नेपालका लागि पर्यटकीय हिसाबले राम्रो हुनेछ ।

प्रधानमन्त्री दाहाल आजै ल्हासाबाट तिब्बत एयरलाइन्सको उडानमार्फत यहाँ आउनुभएको हो । उहाँ भोलि बिहान चीनको छन्दु जाँदै हुहुन्छ । उहाँका साथमा भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदाश बैरागी, मुख्यसचिव डा बैकुण्ठ आर्याललगायत सचिवहरू र भ्रमण दलका अन्य सदस्य हुनुहुन्छ ।

स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द

वालिङ (स्याङ्जा), ११ असोज : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेलले बताउनुभयो ।“विद्यालयमा अध्ययनरत करिब आधा विद्यार्थी तथा शिक्षकमा उच्च ज्वरो आउने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या देखिएपछि आज र भोलि विद्यालय बन्द गरेका हौँ”, उहाँले भन्नुभयो, “हिजो र आज विद्यार्थीमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि जिल्ला अस्पताल स्याङ्जामा गरिएको परीक्षणमा स्क्रब टाइफस भएको पुष्टि भएको हो ।”सामान्य विद्यार्थीको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको र उच्च ज्वरो आएका विद्यार्थीको जिल्ला अस्पताल स्याङ्जामा उपचारका लागि पठाइएको उहाँले बताउनुभयो । जिल्ला अस्पताल स्याङ्जामा बुधबार पठाइएका बिरामीमध्ये एक जनामा स्क्रब टाइफस पुष्टि भएको अर्जुनचौपारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरकुमार केसीले बताउनुभयो ।बिरामी विद्यार्थीको परीक्षण गर्दा एक जनामा स्क्रब टाइफस देखिएपछि आज फेरि स्वास्थ्य कार्यालय स्याङ्जाबाट आएको टिम उक्त विद्यालयमा पुगेको थियो । विद्यालयमा पुगेको टोलीले १२ जना विद्यार्थीको कीटबाट परीक्षण गरेको थियो जसमध्ये कुनै पनि विद्यार्थीमा स्क्रब टाइफसको लक्षण नदेखिएको उहाँले बताउनुभयो ।स्वास्थ्य कार्यालयबाट आएको टोली र अर्जुनचौपारी गाउँपालिकाबाट पुगेको स्वास्थ्यकर्मीको टोलीले विद्यालय तथा समुदाय वरपर सरसफाइ तथा स्वास्थ्य सचेतना गरेको थियो । स्क्रब टाइफसबाट कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी बढी प्रभावित भएका छन् । विद्यालय तथा आसपासका गाउँलेमा पनि ज्वरो आउनेजस्ता लक्षण देखिएको उहाँले बताउनुभयो ।रोग नियन्त्रणका लागि विद्यालय र समुदायस्तरमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख केसी बताउनुहुन्छ । धेरै सरुवा रोगमध्येको स्क्रब टाइफस एउटा रोग हो । यो मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ । स्क्रब टाइफस भएका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने, श्वासप्रश्वाससम्बन्धी समस्या देखिने, शरीरमा रातो डावर हुने लक्षण देखिने उहाँले बताउनुभयो ।