`

बाख्रापालनबाट वार्षिक सात लाख आम्दानी गर्दै तनहुँका आले

दमौली, १४ असोज – तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहनुभएको छ ।उहाँले भन्नुभयो“ बाख्रापालन व्यवसायबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ । ” उहाँले यस वर्ष १५ बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गर्नुभएको हो । उहाँले भन्नुभयो, “बाख्रापालन व्यवसायबाट सन्तुष्ट छु, यही व्यवसायबाट घरपरिवार चल्दै आएको छ ।” उहाँले १५ रोपनी जग्गामा घाँसखेतीसमेत गर्नुभएको छ । बाख्रालाई घाँस आवश्यक पर्ने भएकाले मकै, कोदो रोप्ने बारीमा उन्नत जातका डाले तथा भुइँ घाँस लगाएको किसान आलेले बताउनुभयो ।

उहाँका अनुसार बडहर, राइखनियो, इपिलइपिल, मेन्दोला, कुटमेरो, भटामासे, किम्बु, निमारोलगायतका डाले तथा नेप्पियर सिओफोर, सिओ थ्री, सुपर नेपियर, मलाटो, मकैचरीलगायतका भुइँ घाँस लगाइएको छ । उहाँले पछिल्लो समय रु १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरी व्यवस्थितरूपमा बाख्रापालन व्यवसायलाई अगाडि बढाउनुभएको छ ।बाख्रा खोरमा गर्भवती बाख्रा, किशोरी बाख्रा, पाठापाठी, ब्याड बोका र सुत्केरी बाख्रा राख्ने छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । यसरी कोठामा बाख्रा राख्दा बाख्रा तुहिने समस्या नहुने र रोगबाट बचाउन सकिने उहाँको भनाइ छ । उहाँले उन्नत जातको बोयर बोकासमेत पाल्नुभएको छ । बाख्रालाई चाहिने सुष्म पोषकतत्व खनिज ढिक्का बनाएर नियमित खुवाउने गरेको उहाँले जानकारी दिनुभयो । नियमित खनिज ढिक्का खुवाउनाले बाख्रा फस्टाउनुका साथै खसीबोकाको तौलमा वृद्धि हुने उहाँको भनाइ छ ।किसान आलेले नौ महिनादेखि एक वर्षको अवधिमा ४५ केजीभन्दा बढी तौलका खसीबोका उत्पादन गरी बिक्री गर्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ब्याडका रूपमा बिक्री गर्ने बोका जिउँदो प्रतिकेजी रु एक हजारका दरले बिक्री हुँदै आएको छ । एउटै ब्याड बोका बिक्री गर्दा रु ४० हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । मासुका लागि जिउँदो तौलको प्रतिकेजी रु पाँच सय ५० का दरले खसीबोका बिक्री भएको छ ।

एमाले गण्डकी अधिवेशन सोमबारदेखि पोखरामा सुरु :नौ सय सात प्रतिनिधिले भाग लिँदै

गण्डकी, १४ असोज- नेकपा (एमाले)को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिनुभयो ।

अधिवेशनमा प्रदेशका ८५ वटै स्थानीय तहबाट नौ सय सात प्रतिनिधिले भाग लिने उहाँको भनाइ छ । “प्रतिनिधि छनोटलगायतको काम पूरा भइसकेको छ, केही व्यवस्थापकीय तयारीको काम बाँकी छ”, उहाँले भन्नुभयो, “सोमबार अधिवेशनको उद्घाटन समारोह र मङ्गलबार बन्दसत्र हुन्छ ।”

विभिन्न उपसमिति गठन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमाले गण्डकीले जनाएको छ । अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको दिन नजिकिएसँगै नेतृत्वका आकाङ्क्षीको नाम चर्चामा आउन थालेको छ । अहिलेसम्म कसैले पनि आधिकारिकरूपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

प्रदेश अध्यक्षको आकाङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दबाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेत पनि प्रदेश अधिवेशनको प्रतिनिधिमा चुनिनुभएको छ ।

केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वका लागि उम्मेदवारी दिनसक्ने चर्चा छ । अधिवेशनको सोमबार अमरसिंह चौरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बन्दसत्र मङ्गलबार पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दबाडीले बताउनुभयो ।

कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

बोर्डले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न क्यालेन्डर सार्वजनिक गरेको हो । सो क्यालेन्डर यो वर्षबाट लागू भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए ।

बोर्डका अध्यक्ष डा। शर्माले यो वर्षको कक्षा १० र १२ को परीक्षा कहिले हुने भन्ने विषयमा कौतूहतला हटाउन क्यालेन्डर सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार कक्षा १० को प्रश्नपत्र छपाइबाहेक सबै अधिकार प्रदेश सरकारलाई दिने गरी क्यालेन्डर तयार गरेको हो ।

बोर्डले चैत मसान्तसम्म प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने, जेठभित्र उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ । अध्यक्ष शर्माले कक्षा १० को वार्षिक परीक्षाको नतिजा असार दोस्रो साताभित्र गर्ने तालिका बनाएको जानकारी दिए ।

गत वर्षको एसईईको परीक्षाफल असार अन्तिम साता भएको थियो । ‘कक्षा १० को वार्षिक परीक्षाको नतिजा असार दोस्रो हप्तामा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छांै’ –अध्यक्ष शर्माले भने । पूरक परीक्षा साउन तेस्रो साता हुनेछ । परीक्षामा पुनर्योगको निवेदन परीक्षाफल प्रकाशित भएको १५ दिनभित्र र नतिजा पूरक परीक्षा सञ्चालन हुनुअघि रहेको छ । माघ मसान्तमा परीक्षा केन्द्र निर्धारण, सिम्बोल नम्बर कायम गर्ने रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, सबै विश्वविद्यालय र रापबोर्डका अध्यक्षसहितको बैठकको निर्णयअनुसार क्यालेन्डर तयार भएको हो । सो क्यालेन्डर उल्लेख भएअनुसार स्नातक तहको भर्ना प्रक्रिया शुरू गर्नुअघि कक्षा १२ को परीक्षाफल प्रकाशित हुनुपर्छ ।

सोही निर्णयको आधारमा वैशाख दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरी साउन मसान्तभित्र परीक्षाफल प्रकाशित गर्ने क्यालेन्डर तयार गरेको हो । क्यालेन्डरसम्बन्धी प्रतिवेदनमा स्नातक तहमा भर्ना हुनका लागि रापबोर्डबाट नतिजा हुने कक्षा १२ को नतिजा भर पर्नुपर्ने भएकाले कक्षा १२ को कार्यतालिका अनुसार सो कक्षाको परीक्षाफल साउन मसान्तलाई आधार मानेर तयार गरिएको उल्लेख छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

जनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछ : सांसद पराजुली

काठमाडौँ, १४ असोज- अवस्था सुधार, बेथिति अन्त्य र विकासको मुद्दालाई अघि बढाउने हुटहुटी बोकेर सदन प्रवेश गर्नुभएका ४४ वर्षीय सांसद गणेश पराजुली आफूले जनताका मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको बताउनुहुन्छ । विधायिकाको मुख्य भूमिका कानुन निर्माण गर्ने भए पनि जनताका गुनासा सुन्न देश दौडाहामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुली आफूबाट जनताका मुद्दामा कच्चा निर्णय हुन नहुनेमा सचेत हुनुहुन्छ ।

केही समयअघि पूर्वीपहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा र भोजपुरका नागरिकसँग साक्षात्कार गर्नुभएका उहाँले भन्नुभयो, “राजनीतिक दल र नेताबाट बाचाबाहेक खास अरु केही प्राप्त गर्न नसकेका आम जनतामा धेरै निराशा भएको पाएँ । कतिपय ठाउँमा त नेताहरू आउँछन्, जान्छन् भन्दै हामीलाई नै व्यङ्ग्य गरेको पाएँ ।”सांसद पराजुलीका अनुभवमा राजनीति, यसको नेतृत्व र राजनीतिक परिवेशप्रति आम नागरिकमा केही वितृष्णा बढेको छ । उहाँ भन्नुहुन्छ“ आम नागरिकको अनुहारमा राजनीतिक दल र नेताप्रतिको अविश्वास प्रष्टै देखिन थालेको छ ।” यसलाई कम गर्न सांसद पराजुली सदनमार्फत सशक्त खबरदारीका लागि सम्बन्धित क्षेत्रका सांसदसँगको संवादको तयारीमा समेत हुनुहुन्छ ।“यतिबेला हाम्रो जिम्मेवारी आम नागरिकको आवाज सुन्ने र उहाँहरूको दैनिकीलाई कसरी सहज बनाउने भन्नेतर्फ काम गर्ने हो । जुनसुकै पार्टीका सांसद भए पनि उहाँहरूसँग सहकार्य गरी काम गर्ने हाम्रो योजना हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार केही स्थानमा उहाँहरूले काम सुरु पनि गरिसक्नुभएको छ । “हाम्रो पार्टीले मात्रै यस्ता विषय उठाउँछ भन्ने सन्देश दिनुभन्दा पनि हामी सम्बन्धित क्षेत्रका सबै विधायिकासँग सकारात्मक छलफल गरेर समस्याको निराकरणका लागि बहुपक्षीय संवाद गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।नेता पराजुलीले आधारभूत सेवा सुविधाबाट बञ्चित ग्रामीण क्षेत्रका जनता स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूतिको आशामा रहेको बताउनुभयो । त्यही आडमा राजनीतिक नेताले आश्वासन बाँड्दै आएकाले जनता विधायिकाको भूमिकाबारे प्रष्ट हुन नसकेको उहाँको बुझाइ छ ।“आम नागरिकलाई विधायिकाको भूमिकाकाबारे बुझाइएकै रहेनछ”, सांसद पराजुलीले भन्नुभयो, “विधायिका को हो ? पालिका प्रमुख को हो ? मन्त्री को हो ? यी विषयमा चासो नराख्ने तर जसरी भए पनि आधारभूत आवश्यकता पूरा गर्दिनुपर्छ भन्ने सोच धेरैमा भएको पाएँ ।” त्यसो त सांसदले विधायिकाको भूमिकासँगै विकास निर्माणका काममा पनि सक्रिय हुनुपर्ने अवस्थाले आम नागरिकमा परेको छापलाई उहाँले स्वभाविकरूपमा लिनुभएको छ ।विसं २०५४ मा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेलगत्तै उच्च शिक्षाका लागि गृहजिल्ला खोटाङबाट काठमाडौँ आउनुभएका पराजुलीसँग तत्कालीन समयमा एउटामात्रै सङ्कल्प थियो, शिक्षक बन्ने र गाउँ फर्कने । तर काठमाडौँले पराजुलीलाई व्यवसायी बनायो । व्यवसायीबाट सांसद बन्नुभएका शिक्षकका रूपमा होइन, जनप्रतिनिधिका रूपमा गाउँ–गाउँ पुग्नुभएको छ ।उहाँ रेसाजन्य कच्चा पदार्थबाट तयारी सामग्री उत्पादन गर्ने र विश्वबजारमा निर्यात पेसामा आबद्ध हुनुहुन्थ्यो । विसं २०७९ देखि रास्वपाको संस्थापक केन्द्रीय सदस्यका रूपमा सक्रिय राजनीतिक यात्रा सुरु गर्नुभएका पराजुली काठमाडौँ जिल्ला क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो । उहाँलाई त्यसअघिसम्म कहिल्यै राजनीतिमा आफ्नो भूमिका आवश्यक महसुस भएको थिएन ।“पहिले राजनीतिमा व्यवसायी जोडिनु हुँुदैन भन्ने सोच थियो । जो–जसले जिम्मेवारी लिनुभएको छ उहाँहरूले नै गर्नुहुन्छ भन्ने विश्वास र अपेक्षा थियो”, रासससँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “ राजनीतिभित्रको विकृति, भ्रष्टाचारपछि अब नेताहरूलाई गाली गर्नेभन्दा पनि राजनीतिभित्रै पसेर यसको शुद्धीकरण गर्नुपर्छ भन्ने महसुस भयो ।”संसदीय अभ्यासबारे राससले राखेको जिज्ञासामा सांसद पराजुलीले आफूसँगै रास्वपाका अन्य सांसदका लागि संसदीय अभ्यास पहिलोपटक भएको जनाउँदै धेरै सिक्न बाँकी रहेको बताउनुभयो । यद्यपि विधायिकाको भूमिका प्रभावकारी बनाउने हुटहुटीका बाबजुद कानुन निर्माणमा देखिएको सुस्तगतिले आफूहरू चिन्तित रहेको उहाँको भनाइ छ ।“पछिल्लो आठ महिनामा हामीले धेरै अनुभव प्राप्त गर्यौँ तर त्यो पर्याप्त छैन, हामी अझै पनि सिक्ने, बुझ्ने र जान्ने प्रयासमै छौँ”, उहाँले भन्नुभयो, “पहिलो वर्षको दोस्रो अधिवेशन अन्त्य हुन लाग्दासम्म पनि विधेयकमा धेरै काम गर्न नसक्नु राम्रो अभ्यास होइन । यसले हामीलाई भित्रैदेखि पोलिरहेको छ ।”उहाँले कानुन निर्माणमा भइरहेको ढिलाइमा सदनसँगै सरकार जिम्मेवार रहेको बताउनुभयो । “सरकार र स्थापित राजनीतिक दल, जो बहुमत लिएर बसेका छन् उनीहरूले तदारुकता नदेखाएसम्म हाम्रो सुधारका चाहना र प्रयास सफल हुन नसक्ने रहेछ”, उहाँले भन्नुभयो ।सांसद पराजुलीले सदनमा अनुभव महत्त्वपूर्ण भए पनि स्थापित राजनीतिक दलले जनताको मुद्दा प्राथमिकतामा नराखेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो, “मुख्य राजनीतिक दलले आफ्नोे अस्तित्व बचाउने र आफ्ना पक्षका मान्छेलाई बचाउनेमै बढी ध्यान केन्द्रित गर्दा आम जनताका मुद्दा ओझेलमा परेका छन् ।”संसदीय अभ्यासमा आफू र आफ्नो पार्टीलाई प्राप्त जनविश्वासले आफूहमा आत्मविश्वास बढेको उहाँको अनुभव छ । “देश र विदेशमा रहेका नागरिकले रास्वपाका सांसदको भूमिका सक्रिय रहेको बताउनुहुन्छ । सदनको प्रत्यक्ष प्रसारणबाट हामीलाई अवलोकन गरिरहनुभएकाले रास्वपाका सांसदको प्रस्तुतिले आशावादी भएको भन्नुहुन्छ । उहाँहरूको प्रतिक्रियाले हाम्रो आत्मविश्वास बढाएको छ ।”मुलुकको अवस्था सुधारका लागि राजनीतिमा प्रवेश गरेको बताउनुहुने सांसद पराजुलीले फरक राजनीतिक दल र फरक विचारधारा भए पनि सुशासन, विकास, गरिबी निवारण, भ्रष्टाचार र बेथिति निवारणका लागि सबै पक्ष एकजुट हुनसके परिवर्तन सम्भव छ भन्नेमा पूर्णरूपमा विश्वस्त हुनुहुन्छ ।

‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’: धनराज गुरुङ

धुलिखेल (काभ्रे), १४ असोज : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताउनुभएको छ । विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले उच्च प्राथमिकता दिएको छ भन्नुभयो ।

भुम्लु गाउँपालिकामा धेरै वर्षदेखि भूमिहीन रहेको नागरिकलाई लालपुर्जा वितरण गर्ने र छिमेकी जिल्लासँगको सीमा विवादको समस्यालाई समाधान गर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उहाँले यसका लागि आवश्यक समन्वयको काम गर्ने बताउनुभएको छ

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले ग्रामीण क्षेत्रमा बसोबास गरेका नागरिकको मुटु परीक्षण गरी सेवा प्रदान गर्न सहयोग गरेकामा खुसी व्यक्त गर्दै आयोजकलाई सहकार्यमा निरन्तता दिन आग्रह गर्नुभयो । मुटुको उपचार पहुँचवालाले मात्रै गर्ने हो, गरिबले गर्न सक्दैन भन्ने चिन्तामा रहेको नागरिकलाई सहयोग गर्न र परीक्षण गरी स्वस्थ रहनुपर्छ भनेर शिविर आयोजना सही सन्देश दिन सफल भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले आयोजक संस्थाले भुम्लुलाई छनोट गरी सेवा दिनका लागि सहकार्य गरेकामा खुसी व्यक्त गर्नुभयो । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक गभर्नर चन्द्रकुमार केसीले गाउँका दूरदराजमा रहेको नागरिकमा सेवा पुर्याउनका लागि सेवा प्रदान गरेको बताउनुभयो ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रवि मल्लले परीक्षणको क्रममा जन्मजात मुटुमा समस्या देखिएका बालबालिकाका लागि गङ्गालाल हृदय रोग निवारण केन्द्रमा उपचार गर्ने व्यवस्था मिलाउने जानकारी दिनुभयो । भुम्लु गाउँपालिका र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रद्वारा संयुक्त आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा छ सय जनाभन्दा बढीले सेवा लिएका थिए । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पशुपतिनाथले सबैको कल्याण गरुँन, हेर्नुहोस् असोज १४ गते आइतवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ ।

बृष राशि – जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ ।स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि – प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

सिंह राशि – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि – खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि – भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि – सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

अझै रोकिएन सुन तस्करी, उच्च निगरानीमा उत्तरी नाका

काठमाडौं । २०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो। तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको उपयोग गर्न थाले।केरुङ नाकाबाट सुन भित्रिन थालेपछि कडाइ गरियो। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन थाल्यो।विमानस्थलमा पनि कडाइ हुन थालेपछि तस्करहरूले तातोपानी नाका उपयोग गर्न थाले।त्यो नाका बन्द भएपछि फेरि केरुङ नाकाबाटै सुन तस्करी भइरहेको छ।

गत पुस १० गते इलेक्ट्रिक सिगरेट ९भेप० मार्फत सुन ल्याउने चिनियाँ नागरिक दाओजिन वाङ र सहयोगी भागेर चीन पुगे। त्यसपछि उनीहरूले नयाँनयाँ रुटमार्फत सुन तस्करीलाई निरन्तरता दिइरहेको प्रहरीको भनाइ छ। अहिले पनि दाओजिनहरू चीनमै रहेको र विभिन्न माध्यमबाट नेपालतर्फ सुन तस्करी गरिरहेको प्रहरी स्रोतको दाबी छ।

विमानस्थलबाट बाहिरिएको सुनको अनुसन्धान नसकिँदै केरुङ नाकाबाट भएको २ किलो सुन तस्करीमा पनि उनीहरूकै हात रहेको निष्कर्षमा प्रहरी पुगेको छ। नियमित जाँच गर्ने क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याइएको दुई किलो सुन जिल्ला प्रहरी कार्यालय रसुवाले बरामद गरेको थियो। नियमित चेकिङमा शंका लागेर जाँच गर्दा टिमुरेबाट स्याफ्रुबेंसी गइरहेका २४ वर्षीया सुदीप शेर्पाका साथबाट सुन बरामद भएको थियो। उनले त्यो सुन टिमुरेकै फुर्साङ्बु शेर्पाले दिएको र आफूले काठमाडौं ल्याउन लागेको बताएका थिए।

सरकारको ध्यान विमानस्थलतिर गएका बेला तस्करहरूले केरुङ नाकालाई सुन तस्करीका लागि प्रयोग गरिरहेको अनुमान यी घटनाक्रमबाट गर्न सकिन्छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले सबै नाकालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेकै बेला केरुङबाट सुन बरामद भएको हो। यो समाचार नागरिक दैनिकमा छ ।

वास्तविक समयमा बिजुली बेच्न अनुमति

काठमाडौँ । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ ।

यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ) का आधारमा मात्र बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बेच्न पाउने भएको हो ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यस अन्तर्गत उत्पादन अनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउने छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ ।

यी आयोजना यसअघि ‘डे अहेड मार्केट’ का लागि सूचीकृत थिए। यस्तो अनुमति शनिबार सकिँदै थियो। अघिल्लो दिनको नवीकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् अघिल्लो दिन र वास्तविक बजार समय दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए ।

भारतको विद्युत् मन्त्रालयले १५ साउनमा विद्युत् आयातरनिर्यात (अन्तर्देशीय) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत् छिमेकी देशका अनुमति प्राप्त निकायलाई वास्तविक बजार समयमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

क्रिकेटर कुशलकी आमा भन्नुहुन्छ– ‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राख्यो निकै खुसी छु’

लुम्बिनी, १४ असोज : चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेर्नुभयो ।

प्रतियोगितामा सहभागी हुन चीन जाँदा बिदाइ गर्नुभएकी शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरिरहँदा नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई दुई सय ७३ रनको भारी अन्तरले पराजित गरेपछि उहाँमा कुनै खुसीको कुनै सीमा रहेन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशलले हरेक खेल खेल्दा आमा शर्मिलाले प्रायः छोराको खेल नहेर्ने भए पनि यसपटक भने पूरै खेल हेर्नुभयो । उहाँले छोरा कुशलको हरेक खेलमा आक्रामक प्रस्तुति हुने भएकाले कतै छिट्टै नै खेलबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ताले टिममा अन्य खेलाडीको प्रस्तुति हेरे पनि कुशलको खेल प्रायः नहेर्ने गरेको बताउनुहुन्छ । तर यसपटकको खेल भने सुरुदेखि नै हेरेको र कुशलले निकै उत्कृष्ट खेलेको देख्दा खुसी लागेको सुनाउनुभयो ।

बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी निवासी कुशलको परिवार हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका मातातीर्थमा बसोबास गर्दै आएको छ । “म छोराको खेल कहिलेकाहीँ मात्र हेर्छु, ऊ सधैँ आक्रामक खेल्छ त्यसैले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ”, उहाँले भन्नुभयो, “अस्तिको खेल त घरमा साग केलाउँदै सुरुदेखि नै पूरै हेरेँ निकै उत्कृष्ट प्रस्तुति पो देखायो त, अनि खुसीको कुनै सीमा नै रहेन ।”

कुशलका पिता रोमन्त वैदेशिक रोजगारीमा हुनुहुन्छ । मल्ल परिवारका एकमात्र सन्तान कुशल खेलकुदको क्षेत्रबाट देशकै नाम उँचो राख्ने गरी १९औँ एसियाली खेलकुदअन्तर्गतको टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याएकामा विदेशमा रहनुभएका बाबु रोमन्त झनै खुसी हुनुहुन्छ । उहाँ खुसी हुनुको कारण पनि आफैँ खेलाडी भएकाले पनि हो । कुशलका पिता रोमन्त पनि तेक्वान्दोका ब्याकबेल्ट प्राप्त खेलाडी हुनुहुन्छ ।

कुशलका क्रिकेट गुरु नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी तथा प्रशिक्षक शक्ति गौचन हुनुहुन्छ । जुन बेल कुशल होराइजन स्कुलमा अध्ययन गर्न आए त्यसबेलादेखि नै उनले क्रिकेटको योग्य प्रशिक्षक गौचनको साथ पाए । कुशलको क्रिकेटको विकासमा गौचनको महत्त्वपूर्ण योगदान रहेको शर्मिला बताउनुहुन्छ । “गौचन सरले घरमै कैयनपटक आएर हामीलाई समेत बाबुको क्रिकेटमा राम्रो सम्भावना छ, अगाडि बढ्न सक्छ भन्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा पुर्याउनमा गौचन सरले नै धेरै गर्नुभएको हो ।”

कुशललाई करिब १२ वर्षको उमेरदेखि नै प्रशिक्षित गर्दै आएका राष्ट्रिय प्रशिक्षक गौचनले सानै उमेरदेखि नै कुशलमा क्रिकेटप्रतिको लगाव र मेहनतले नै अहिले यो अवस्थामा आएको बताउनुभयो ।

क्रिकेट सिक्दै जाँदा उनीमा देखिएको ‘पावर हिटिङ’ र ‘लेफ्टहेन्डेड’कै कारण उसले खेललाई थप क्षमता प्रदर्शन गर्न सकेको बताउनुहुन्छ । “क्रिकेट खेल हो कहिले उतारचढाव भइरहन्छ, उसको खेलप्रतिको लगाव र निरन्तरताको परिणाम अहिले देखिन थालेको मान्न सकिन्छ”, उहाँले भन्नुभयो, “खेलमा थप मेहनत, लगानी गर्दै जाने हो भने अझै राम्रो परिणाम आउन सक्छ, उसको क्रिकेटको भविष्य राम्रो छ ।”

प्रतियोगितामा कुशलले जम्मा ३४ बलमा शतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान कायम गरेका हुन् । उमेरले भर्खर १९ वर्ष पुगेका उनी नेपाली क्रिकेटमा बायाँहाते आक्रामक ब्याटर हुन् । उनको ब्याटिङ गर्दा छक्का वा चौका हुने सम्भावना प्रशस्त बन्ने गर्छ ।

कुशल क्रिकेट खेलप्रति सानैदेखि रुचि राख्ने गर्दथे । सुरुमा प्रारम्भिक शिक्षा बुटवलको तत्कालीन वडा नं ५ स्थित इडन बोर्डिङ स्कुलबाट सुरु भएको हो । पछि माध्यमिक शिक्षासँगै उच्च माविसम्मको अध्ययन बुटवलकै न्यू होराइजन स्कुलमा भएको हो । “सानैमा खेलौनाको ब्याट र टिटीबल बोकेर खाली चौरमा साथीहरूसँग क्रिकेट भन्दै दौडन्थ्यो, पछि ठूलो भएपछि क्रिकेट बलमै चौरमा साथीहरूसँग खेल्दा छिमेकीका घरका झ्यालमा लागेर सिसा फुटेर कयौँपटक गाली खाएको अहिले पनि सम्झना आउँछ”, शर्मिलाले भन्नुभयो, “हामी परिवारबाट भने कहिल्यै खेल्न रोक लगाएनौँ बरु क्रिकेटसँगै पढाइ पनि सँगसँगै अगाडि बढाए हुन्थ्यो भन्ने लाग्थ्यो ।”

कुशलको कीर्तिमानी शतक

एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका कुशलले अहिले फेरि नयाँ कीर्तिमान बनाएका छन् । उनले सन् २०२० मा आइसिसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध डेब्यु खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । मल्लले १५ वर्ष तीन सय ४० दिनमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएको रेकर्ड दर्ज भएको छ ।

यसअघि नेपालका रोहितकुमार पौडेलले १६ वर्ष एक सय ४६ दिनमा युएइविरुद्ध अर्धशतकको कीर्तिमानलाई कुशलले पुनः रोहितको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका थिए । अहिले जारी एसियाली खेलकुदमा मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित एक सय ३७ रन अविजित बनाएर कीर्तिमान कायम गरे । उनले मात्र ३४ बलमा शतक प्रहार गरेका थिए ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ । क्रिकेट खेलको २७ वर्षे इतिहासमा नेपालले बनाएका विश्व कीर्तिमानको अहिले खुबै चर्चा भएको छ । १९औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटमा समूह ‘ए’मा रहेको नेपालले मङ्गोलियाविरुद्ध कीर्तिमानी प्रदर्शन गरेको थियो भने आइतबार अर्को मुलुक माल्दिभ्ससँग खेल्दैछ । समूह ‘बी’मा कम्बोडिया, जापान र हङ्कङ रहेका छन् ।

साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा

दोहा । गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा ९एक्जिट भिसा०को प्रक्रिया गरिएका मध्ये थप ७५ जनाको एक्जिट भिसा प्राप्त भएको छ । दूतावासले उनीहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ । दूतावासले एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको भए एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुने र एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु नपर्ने पनि जनाएको छ । दूतावासले भनेको छ, ‘एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुनेछ ।

यसबापत् एक हलाला पनि कहिी कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।’ एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र ९इकामा० नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । अवैधरूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् ।

सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनीरूपमा त्यहाँ कार्यरत सयौं नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको तथा जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

ठूला दलहरूकै कारण राजनीतिमा आएका हौँ : सभापति लामिछाने

घोराही (दाङ)-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताउनुभएको छ । दाङको घोराहीमा आयोजित कार्यक्रममा उहाँले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गरेर देखाउन चुनौती दिनुभयो ।

सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने गर्दै आएको टिप्पणी गर्नुभयो । जनताको पक्षमा काम गर्न भनेर गएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्र्टीलाई गाली गर्नमा मात्र समय खर्चिएको उहाँले पार्टीको चिन्ताभन्दा जनताको समस्याका बारेमा चिन्ता लिन सुझाव दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो सात सय २० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ ।फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौँ आएकी फिलिपिन्सकी अन्दाजी ३१ वर्षीया अनालङ अरोन्स रोविकनलाई पक्राउ गरिएकोे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकी निज महिलाले आफ्नो भित्री वस्त्रमा पाँच पोका प्लास्टिकसहित दुई केजी सात सय २० ग्राम सुन मिसिएको पाउडर लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डको कार्यालयबाट खटिएको सादा पोशाकको टोलीले सामानसहित पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला पठाएको थियो ।प्रहरीले हाल उक्त सुन र सुन ल्याउने निज फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताउनुभयो ।स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउजिल्ला प्रहरी परिसरअन्तर्गत रहेको प्रहरी बृत्त दरबारमार्गको टोलीले काठमाडौँ महानगरपालिका–२७ ज्याठा चोकबाट स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घर भई हाल ललितपुर सानेपा बस्ने ४० वर्षीय रुपेश गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार ज्याठा चोकमा दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा९१प ९९५८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्कीभित्र रहेको ब्यागमा नगद रु १० लाख फेला पारी स्कुटर चालक गुप्तालार्ई गए राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढ्यो खाना पकाउने ग्यासको मूल्य

काठमाडौँ-सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य शनिबार राति १२ः०० बजेपछि लागू हुनेछ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर रु एक सय ८२ दशमलव पाँच, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा रु एक सय ८४ र काठमाडौँ, पोखरा र दिपायलमा रु एक सय ८५ पुगेको छ ।

त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ दशमलव पाँच, दोस्रो वर्गमा रु एक सय ७८ र तेस्रो वर्गमा रु एक ७९ प्रतिलिटर कायम भएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु एक सय ४४ र अन्तर्राष्ट्रियको मूल्य एक दशमलव ०९५ अमेरिकी डलर कायम भएको छ ।

सरकार र चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ – सरकार र चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। शनिवार गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो। सहमितसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाको संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

‘समाजवादी जागरण यात्रा’को सम्पूर्ण तयारी पूरा

काँकडभिट्टा, १३ असोज : नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानअन्तर्गत मेचीबाट महाकालीसम्मका सबै प्रदेशका प्रमुख सहरमा करिब ४० सभा तथा सम्मेलन हुने बताउनुभयो । पार्टीका शीर्षनेता तथा कार्यकर्ताको सहभागितामा रहने अभियानको आइतबार पार्टीका अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुने छ ।

साना–ठूला कोणसभा, आमसभा, जनतासँग अन्तक्र्रिया गरिनेछ । कलाकारले सडक नाटक मञ्चन गर्ने उक्त अभियानका लागि मञ्च सजावट तथा अतिथि व्यवस्थापनलगायत सबै कार्य पूरा गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमकलाई प्रभावकारी बनाउन लागि स्वयंसेवक व्यवस्था गरिएको प्रमुख खतिवडाले बताउनुभयो । पार्टीका वैचारिक दृष्टिकोण जनताका बीच लैजान गरिने अभियानमा यस अवधिमा करिब रु ५० लाख खर्च हुने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले अभियानका बारेमा निर्माण गरिएको गीत सार्वजनिक गर्दै यात्रामा रुपान्तरणकारी एजेण्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने बताउनुभयो । उपमहासचिव डा विजय पौडेलले पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचार–प्रसार गरी अभियानमा जनताको सुझावलाई सङ्कलन गरिने जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवादी जागरण यात्रा मूल व्यवस्थापन समिति गठन भएको छ । सोह्र दिनसम्म चल्ने यात्राका क्रममा पार्टीका शीर्षनेता सहभागी हुने कार्यक्रम छ । पहिलो दिन १४ असोजमा काकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी वा पथरीमध्ये एक ठाउँ, विराटचोक मोरङमा सभा हुनेछ ।

यसैगरी १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछ । त्यस्तै १६ असोजमा राजविराज, छिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने कार्यक्रम रहेको छ । त्यस्तै १७ असोजमा जनकपुरमा पत्रकार सम्मेलन हुने र त्यसपछि सोही दिन जलेश्वर, ढल्केबर, बर्दिबास र लालबन्दीमा सभा हुनेछ । १८ असोजमा गरुडा, हर्नैया, कलैया र वीरगन्जमा सभा हुनेछ । त्यस्तै १९ असोजमा पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।

असोज २० मा कावासोती, बर्दघाट र परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै सैनामैना, चन्द्रौटा, भालुवाङ, लमहीमा २२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा आयोजना हुनेछ ।

अभियानअन्तर्गत २४ असोजमा नेपालगन्ज, खजुरा, मैनापोखरा र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने एकीकृत समाजवादीको कार्यतालिका छ । त्यस्तै २६ असोजमा लम्की, सुख्खड, अत्तरिया र धनगढी तथा २७ असोजमा पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा सभा हुनेछ भने २८ असोजमा छिन्चु र २९ गते सुर्खेतमा अभियानअन्तर्गतका सभा आयोजना हुने पार्टीले जनाएको छ ।

पर्वतमा बाढीले जीप बगाउँदा गाडीसहित तीन यात्रु बेपत्ता

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ ।

घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन् । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो ।

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले समस्याग्रस्त देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभालाई आज जनकपुरधाममा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भूकम्प, कोरोना महामारी र अन्तर्राष्ट्रियरूपमा भएको आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा परेको दबाब सुधारोन्मुख रहेकाले दृढ आत्मविश्वासका साथ लगानी बढाउन आग्रह गर्नुभयो ।

“भूकम्प, कोरोना महामारी, अन्तर्राष्ट्रियरूपमा भइरहेको आर्थिक र द्वन्द्वको असर नेपालले पनि भोग्यो । अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ । विप्रेषण प्रवाह, पर्यटकीय गतिविधिमा बढोत्तरी, बजेट अनुशासन कायम गरेर अगाडि बढ्ने सरकारको नीतिका कारण विस्तारै सुधार हुँदैछ”, अर्थमन्त्री डा महतले भन्नुभयो, “त्यसैले म विश्वासका साथ भन्छु नेपाली अर्थतन्त्र सुधारोन्मुख छ । आर्थिक क्रियाकलाप बढाउन सरकारको मौद्रिक नीति र बजेट अनुशासनले पनि काम गरिरहेको छ । त्यसबाट परिणाम आउन केही समय लागे पनि निराशाको अवस्थालाई आशामा बदल्न सरकार प्रयत्नशील छ । तपाईँ व्यापारी साथीहरू पनि आत्मविश्वासका साथ काम गर्नुस् ।”

उहाँले देशमा आर्थिक क्रियाकलापमा बढोत्तरी नहुँदा राजस्व सङ्कलनमा समेत असर परेकाले विकासका पूर्वाधारमा पर्याप्त लगानी गर्न कठिनाइ भइरहेको बताउनुभयो । “नेपालले सामाजिक सुरक्षामा गरेको प्रतिबद्धता, कर्मचारीको तलब तथा चालु खर्चजस्ता अन्य दायित्व पूरा गर्दै जाँदा पुँजीगत दायित्व वा विकासमा पर्याप्त लगानी गर्न सकिरहेको छैन । राजस्व वा आम्दानी बढ्न नसकेकाले यस्तो समस्या भएको हो । अब सबै पक्षले सकारात्मक पहल गरेमा यो अवस्थालाई सुधार्न सकिन्छ । त्यसका लागि म सबै सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँको भनाइ थियो ।

मधेस प्रदेशमा कृषि, पर्यटन र उद्योगको विकासमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले सुनकोसी मरिन कमला डाइभर्सनको काम द्रुतगतिमा अगाडि बढाएको र पूर्व–पश्चिम नहर प्रणालीको विकासका लागि उचित ध्यान दिने भन्दै अर्थमन्त्री डा महतले जलेश्वलाई अन्तर्राष्ट्रिय नाका बनाउन र जटहीलगायतका नाकाको स्तरोन्नति गर्न सरकारले पहल सुरु गरिसकेको पनि जानकारी दिनुभयो । प्रदेशको राजधानी जनकपुर क्षेत्रलाई औद्योगिक हबका रूपमा विकास गर्न पनि सरकारले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं नेकपा (एमाले) नेतृ जुलीकुमारी महतोले राज्यले उपेक्षा गरेका कारण मधेस प्रदेशमा विकासले गति लिन नसकेको भन्दै सरकारले अब यहाँका सम्भावनाको सदुपयोग गर्न ठोस नीति तथा योजना बनाउन सक्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं मधेस प्रदेशसभा सदस्य रामसरोज यादवले सङ्घीयताको मर्मअनुसार विकास निर्माणदेखि अन्य कानुनी जटलिता फुकाउन सङ्घीय सरकारले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

त्यसैगरी नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले जनकपुरको विकासका लागि गुठीको जग्गा व्यवस्थापन र मधेसको विकासका लागि कृषि सिँचाइलाई लक्षित गरी पूर्व–पश्चिम नहर प्रणालीको विकासमा सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, पूर्वप्रमुख बजरङ्गप्रसाद साह, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मलकुमार चौधरी, वर्तमान अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतले जनकपुरधाम र मधेसको विकासका पूर्वाधार विकासमा लगानी र लगानीको वातावरण निर्माण गर्न उद्योगीका समस्या समाधानमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँहरुले महोत्तरीको जलेश्वर भिठ्ठामोड नाकालाई अन्तर्राष्ट्रिय भन्सार नाकाका रूपमा विकास र धनुषाको जटही नाकाको स्तरोन्नति, बैंकबाट सहजरूपमा ऋण लिने अवस्था र सस्तो ब्याजदर, गुठीको जग्गा व्यवस्थापन र जनसङ्ख्याको आधारमा बजेटको न्यायोचित बाँडफाँटमा ध्यान दिन अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

एचएआइभी सङ्क्रमितको अधिकारका लागि कानुन पुनरावलोकन गर्न आवश्यक

कर्णाली, १३ असोज : सामाजिक विभेद एवं समस्याका रूपमा देखिएको एचआइभी सङ्क्रमितको मानवअधिकार संरक्षण गर्नका लागि विद्यमान कानुनहरूमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘एचआइभी मानवअधिकार र कानुन पुनरावलोकन’ सम्बन्धी छलफलमा विद्यमान कानुन पुनरावलोकनबिना नागरिक अधिकार प्राप्त हुन नसक्ने जनाइएको हो । उक्त कार्यक्रममा आयोगका कानुन महाशाखा प्रमुख झङ्करबहादुर रावलले ‘एचआइभी मानवअधिकार र कानुन पुनरावलोकन’बारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै महाशाखा प्रमुख रावलले समाजका सबैखाले विभेद र असमानताको अन्त्य गरी मानवअधिकारको सुनिश्चित र समानता प्रदान गर्न मौजुदा कानुनको पुनरावलोकन आवश्यक भएको बताउनुभयो । समाजमा एचआइभी सङ्क्रमितले भोग्दै आएको विभेद र अपहेलनाले बाँच्नै गाह्रो भएको अवस्थालाई राज्यले मनन गरी उनीहरूको अधिकार सुनिश्चित विद्यमान कानुनबाट नहुने उहाँको भनाइ थियो ।

समानता र सामाजिक न्यायसहितको राज्य निर्माणमा जोड दिनुपर्ने बताउनुभएको उहाँले तथ्याङ्कानुसार योजना नबन्नु, स्रोत, साधनको अभाव, निष्प्रभावी जनचेतना र बनेका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन नहुनु ठूलो समस्या रहेको बताउनुभयो ।

आयोगका सदस्य मनोज दबाडीले सकरात्मक विभेद कार्यान्वयन र नकरात्मक विभेदको अन्त्य हुनुपर्ने बताउनुभयो । सदस्य दबाडीले भन्नुभयो, “दान दातव्य दिनेजस्तो नभई सामाजिक न्यायमा आधारित कानुन निर्माण गर्नुपर्दछ । बन्द कोठाभित्र बनाएका कानुन जनमैत्री हुन सक्दैनन् ।” उहाँले पत्रकारलाई विचार निर्माण गरी सही कानुन निर्माणमा दबाब सिर्जना गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु काठमाडौँका निर्देशक डा सञ्जय ठाकुरले स्थानीय तहबाटै नागरिकले सेवा प्राप्त गर्न सकोस् भन्ने उद्देश्यका साथ मुलुक सङ्घीयता गएको बताउँदै एचआइभी सङ्क्रमणलाई सामाजिक कलङ्कजस्तो ठान्ने दृष्टिकोण समाजमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नकरात्मक दृष्टिकोणका कारण सङ्क्रमितहरू समाजमा खुल्न चाहँदैनन्, जसले गर्दा यो रोग भुसको आगोजस्तै फैलिने खतरा छ ।”

जति खुल्न सक्यो त्यति नै सामाजिक सद्भाव कायम हुने र विभेद हट्ने भन्दै वडा तहबाटै सङ्क्रमितहरूको अधिकार, सेवा र सुरक्षाका कार्यक्रम बनाउनुपर्नेमा डा ठाकुरले जोड दिनुभयो । एचआइभी सङ्क्रमितलाई समाजमा स्थापित गर्न व्यावसायिक तालिम दिनुका साथै आयआर्जनका कार्यक्रममा तीनै तहका सरकारले जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

परामर्शदाता रुपनारायण श्रेष्ठले प्रदेशस्तरमा एचआइभीसम्बन्धी नीति आउनुपर्ने धारणा राख्नुभयो । विसं २०६५ पछि यससम्बन्धीको नीतिमा संशोधन नभएको जनाउँदै उहाँले स्थानीय सरकारबाट बजेट तथा कार्यक्रम निरन्तर र भइरहेका कुरा व्यवस्था हुनसके धेरै प्रतिफल प्राप्त हुने बताउनुभयो ।

आयोगका कर्णाली प्रदेश प्रमुख लोकनाथ बाँस्तोलाले प्रभावित सङ्क्रमितले आफँैले सचेतना जगाउने भन्दा स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीले त्यसको अगुवाइ गर्नुपर्ने मत प्रकट गर्नुभयो । उक्त कार्यक्रममा सहभागी एक महिला सङ्क्रमितले रोगले भन्दा समाजको अपेहलनाले बाँच्न गाह्रो बनाएर अनभूति राख्नुभयो । उहाँले एचआइभी सङ्क्रमितलाई बाँच्नका लागि पोषणयुक्त खानाको आवश्यक भएको र यसमा सबै सरकारले सहयोग गर्न आग्रह गर्नुभयो ।

चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

लुम्बिनी, १३ असोज : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक चीनबाट अपेक्षाकृत लाभ लिन चुकेको बताउनुभएको छ । उहाँले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताउनुभयो ।

चीनको ७४औँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज लुम्बिनीले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा निरन्तरको राजनीतिक अस्थिरता, नेपाल–चीनबीच भएका सहमति कार्यान्वयन पक्ष कमजोर हुँदा र चीनको विश्वास जित्न नसक्दा सोचेअनुसार सहयोग र लगानी भित्र्याउन नसकिएको शेरचनले बताउनुभयो ।

नेपालले एक चीन नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक सङ्कटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरूको ध्यान जानुपर्ने शेरचनले सुझाव दिनुभयो ।

नेपाल–चीनमैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले चीनसँग सरकारी तह र जनस्तरमा पनि सम्बन्ध विस्तार गरी नेपालमा चिनियाँ लगानी भित्र्याउन र १५ करोड चिनियाँ बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न समाजले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको बताउनुभयो ।

अन्तक्र्रियामा लुम्बिनीस्थित चिनियाँ बिहारका भिक्षु, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य, प्रा डा कपिलदेव लामिछाने, डा ऋषिराम शर्मा, डा सागर न्यौपाने, उद्योगीहरू उज्ज्वल कसजू, एजाज आलम, टङ्क पोखरेल, प्राज्ञ बुँद रानालगायतले चीनको राष्ट्रिय दिवसमा एक साता लामो बिदा हुने भएकाले त्यस अवधिमा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन विशेष योजना र प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
–––

मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन

जाजरकोट, १३ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्नुभएको छ ।

भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरु अब भने कक्षाकोठामा बसेर पढ्न पाउने भएका छन् । भेरी नगरपालिका– ५ स्थित काफलचौरमा निर्माण भएको जाजरकोट बहुप्राविधिक शिक्षालय रु पाँच करोड १८ लाखमा निर्माण भएको हो । भवन रोयल कस्ट्रक्सन निर्माण कम्पनीले २०७८ पुस २६ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो ।

सो अवसरमा मन्त्री बस्नेतले विद्यार्थीहरुलाई सम्बोधन गर्दै मेहनतबाटै सफलता प्राप्त हुनेमा जोड दिनुभयो । उहाँले शिक्षालयमा नयाँ कार्यक्रमसमेत थप्ने तयारी भइरहेको बताउँदै शिक्षालयसम्म पुग्ने सडक निर्माणका लागि काम भइरहेको बताउनुभयो ।

सो अवसरमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, पूर्वशान्तिमन्त्री सत्यपहाडी, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको पनि सहभागिता थियो ।

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काठमाडौँ, १३ असोज : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा उहाँले राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वकिल कार्यालयबाट भएका निर्णयले सुशासन कायम गर्ने सिलसिलामा चुनौती खडा गरेको धारणा राख्नुभयो ।पूर्वउपप्रधानमन्त्री केसीले भन्नुभयो, “हाम्रा नीति निर्माणमै कमजोरी छ, कार्यान्वयन गर्ने पक्ष त झन कमजोर छ ।

पैसाको मोलमोलाइको अभियोगमा आयोगका पदाधिकारी नै संलग्न भएको घटना विगतमै बाहिरियो, मुद्दा चलाउन पर्नेलाई सरकारी वकिलले नीति निर्माताका नाममा छोड्यो ।” हामीले अवलम्बन गरेको प्रणाली, सत्ता, जिम्मेवार व्यक्ति र नीति निर्माताप्रति जनतामा असाध्यै ठूलो निराशा रहेको बताउँदै उहाँले जनताको यो निराशालाई गलत साबित गर्न सरकार, राजनीतिक दल र सांसदले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने खाँचो आँैल्याउनुभयो । कैयौँ घटनामा सरकारी वकिलले के गर्छ भनी जनताले नियालिरहेकामा जघन्य र ठूला घटनामा संलग्नका मुद्दा नचलाउने र फिर्ता लिने कुराले कानुनी राज्यमाथि नै प्रश्न उठेको उहाँको विश्लेषण छ । उहाँले भन्नुभयो, “देशलाई यो स्थितिमा पु¥याउन समाजको अगुवाइ गर्ने हामी राजनीति नेतृत्वले नै यो वातावरण तयार गरेका हौँ ।” संस्कृति, सम्पदा, भूगोल, चलन, प्राकृतिक स्रोत र साधनका हिसाबले हाम्रो मुलुक संसारकै समृद्ध रहे पनि हाम्रा गलत अभ्यासले जनतामा केही हुन्न भाव फैलिएको बताउँदै अध्यक्ष केसीले बालबच्चालाई अङ्ग्रेजी सिकाउने, त्यही खुवाउने र लाउने प्रवृत्तिले राष्ट्रियता कमजोर भएको विचार प्रकट गर्नुभयो ।

शैक्षिक परामर्शका नाममा विद्यार्थी र युवालाई आफ्नो व्यापार वृद्धि गर्न विदेश जान प्रेरित गर्ने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “यहाँ भविष्य छैन, विदेश जानुपर्छ, भाषागतरुपमा तयार हुनुपर्छ, खेतबारी बेचर खर्च बनाउनुपर्छ भन्ने प्रवृत्तिले समाज नै अधोगतितर्फ गइरहेको छ ।” सरकार चलाउने र नियम कानुन बनाउनेप्रति नै जनताको अविश्वास बढिरहेको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कहालीलाग्दो भीडले पुष्टि गरेको बताउँदै सांसद केसीले शिक्षण संस्थाले पनि देशभक्तिको भावना बढाउने शिक्षा दिलाउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । सिद्धान्तदेखि अत्यावश्यक सबै आयात गर्नु परिरहेको परिस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै नेता केसीले हाम्रो निर्यात भनेको राष्ट्र विकासका लागि आवश्यक युवा जनशक्तिमात्र हुन पुगेको भनी व्यङ्ग्य गर्नुभयो ।

उदारीकरणका नाममा मुलुकका राष्ट्रिय उद्योगधन्दा र कलकारखाना सबै सखाप भएको उल्लेख गर्दै वामपन्थी नेता केसीले भन्नुभयो, “हामीले दिएको शिक्षा र अपनाएको अभ्यासले मानसिक र भौतिकरुपमै बाहिर जानका लागि जनशक्ति तयार गर्ने मात्र काम भएको छ ।” पुर्खाले अहिलेको जस्तो बेथिति गरेको भए सांसददेखि प्रधानमन्त्रीसम्म हामी हुन्थेनौँ भन्दै उहाँले देश बनाउने, परिवर्तन गर्ने र बचाउने जिम्मेवारी हाम्रै काँधमा रहेकाले त्यसका लागि थप गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो, स्थानीयले प्रतिरोपनी १ लाख ७५ हजार पाउँने

दैलेख, १३ असोज : पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्र्ततको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए ।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत मुआब्जा वितरण प्रक्रिया अघि बढाएको थियो । भैरवी–१ रावतकोटका २७ घरलाई प्रतिरोपनी रु एक लाख ५० हजारका दरले मुआब्जा दिने प्रक्रिया अघि बढाएपछि स्थानीयले विरोध जनाएका थिए ।

सर्वदलीय बैठक र मुआब्जा पाउने नागरिकसँगको छलफलपछि विवाद सुल्झिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताउनुभयो । “सरकारले प्रतिरोपनी रु एक लाख ७५ हजार मुआब्जा दिने निर्णय गरेको थियो”, उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रका नागरिक र सर्वदलीय बैठकपछि रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको मुआब्जा वितरण विवाद सुल्झिएको छ ।”

पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङ्गका लागि नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७९ माघ २३ निर्णयका आधारमा गत असार ३ गते मुआब्जा निर्धारण समितिले भैरवी गाउँपालिका–१ रावतकोटका २७ स्थानीयले मुआब्जा पाउने निर्णय भएको थियो ।

यस्तै, पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङ्गको काम अघि बढाउन आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नतिको काम समेत अघि बढाएको छ । उपकरण कर्णाली राजमार्गबाट ल्याउन सकिने अवस्था नभएको भन्दै खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतबीच सडक स्तरोन्नतिको काम अघि बढाउने सहमति भएको थियो । तर सडक डिभिजन कार्यालय सुर्खेतले समयमै सडक स्तरोन्नति अघि नबढाउदा समस्या भएको खानी तथा भूगर्भ विभागले बताउँदै आएको छ ।

खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले ड्रिलिङ्गका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका घुम्तीहरु मिलाउने र सडक स्तरोन्नतिको काम अघि बढाउने सहमति भएको थियो ।

सडक स्तरोन्नतिका लागि अनुमानित लागत रु चार करोड ३६ लाखमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलले बताउनुभयो । सम्झौताअनुसार राजमार्ग स्तरोन्नतिको काम निर्माण कम्पनीले छ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भदौ अन्तिममा सम्झौता भएको पौडेलले बताउनुभयो ।

दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणको काम विसं २०७६ असोजदेखि सुरु गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि सम्पन्न गरिसकेको छ ।

सरकारले जग्गा अधिग्रहण जस्तै सडक स्तरोन्नतिलगायत गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेपछि चिनियाँ अन्वेषण टोली दैलेख आएर दोस्रो चरणमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङको काम थाल्ने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

यसअघि नेपालसँगको सम्झौता अनुसार चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक र जिओ केमिकल स्याम्पलिङ गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ ।

दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुंगेश्वरलगायतका क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो ।
—र्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिनुभएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो । प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिनुभएको थियो । तर नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहले जानकारी दिनुभयो । मतदान आजै सुरु हुनेछ । एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधीकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत

वीरगन्ज, १३ असोज- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताउनुभएको छ । वीरगन्जस्थित नारायणी अस्पतालले एक सय ३१औँ वर्षको अवसरमा आयोजित समारोहमा उहाँले उपचार गराएर सबै सम्पत्ति स्वाहा हुने तर निको नभएर आत्महत्या गरी मर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि अस्पतालहरूको स्तरोन्नतिसँगै चाहिने जनशक्ति र उपकरण व्यवस्थापन गर्न सरकार जुटेको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने कार्यलाई प्राथमिकता दिएको जिकिर गर्नुभयो ।

चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र अराजक गतिविधि रोक्न सरकार अब कडारूपमा प्रस्तुत हुने बताउनुभयो ।

“मुलुकको विभिन्न भागमा भएको चिकित्सकमाथिको दुव्र्यवहार र आक्रमणप्रति सरकार गम्भीर छ”, मन्त्री बस्नेतले भन्नुभयो, “चिकित्सकमाथि दुव्र्यवहार गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइसकिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।”

सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्ता निष्कर्ष नजिक पुगिसकेकाले छिट्टै समस्या समाधान हुने दाबी गर्दै चिकित्सकलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार तयार रहेकाले आन्दोलन रोकेर काममा फर्किन चिकित्सकसँग उहाँले आग्रह गर्नुभयो ।

वीरगन्जस्थित नारायणी अस्पतालमा छिट्टै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसका लागि सबै पक्षको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले ऐतिहासिक र राष्ट्रिय प्रतिष्ठासँग समेत जोडिएको नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या छिट्टै समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले भविष्यमा नारायणी अस्पताललाई शिक्षण अस्पतालको रूपमा समेत विकास गर्न सकिने गरी काम अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

नारायणी अस्पतालको नयाँ भवन निर्माणका क्रममा परेको मुद्दालाई छिट्टोभन्दा छिटो अदालतले टुङ्गो लगाएर तत्काल निर्माणकार्य अघि बढाइने उहाँको भनाइ थियो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेशलाई स्वस्थ्य प्रदेश बनाउने गरी प्रदेश सरकारले आवश्यक कार्य अघि बढाएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मधेस प्रदेशका सातवटा अस्पताललाई एक सय शय्याको अस्पतालमा स्तरोन्नति गरिएको बताउँदै उहाँले अस्पताल नभएका प्रदेशका चार स्थानमा ५० शय्याको प्रादेशिक अस्पताल निर्माण गरिएको जानकारी दिनुभयो ।

जनकपुरधामस्थित अस्पताललाई विशिष्ट श्रेणीको अस्पतालका रूपमा विकास गर्ने गरी भौतिक पूर्वाधारसँगै जनशिक्त र उपकरणको प्रबन्ध मिलाउने कार्य भइरहेको जानकारी मन्त्री सिंहले वीरगन्जस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई १० शय्याको अस्पतालका रूपमा विकास गर्ने गरी कार्य अघि बढाएको बताउनुभयो ।

वीरगन्ज महानगरपालिकाले वीरगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि तत्काल कार्य अघि बढाउन सङ्घीय सरकारसँग आग्रह गर्दै उहाँले त्यसका लागि महानगरपालिकाले भवन निर्माण गरिदने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगन्जले ४७ प्रतिशत राजस्व तिर्दै आए पनि त्यो अनुसारको विकासका लागि वीरगन्जलाई बजेट उपलब्ध नगराएको प्रति दुःख व्यक्त मन्त्री सिंहले वीरगन्जको स्वास्थ्य, सडक, खानेपानीलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले काठमाडौँको वीर अस्पतालसँगै वीरगन्जको नारायणी अस्पताल निर्माण भए पनि सरकारी उदासिनताका कारण नारायणी अस्पतालले जनशक्ति र उपकरण अभावसँगै सरसफाइको समस्या भोग्दै आएको उल्लेख गर्दै तत्काल नारायणी अस्पतालमा दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले नारायणी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न माग गर्दै अस्पतालको सेवामा सुधार ल्याउन आफ्नो संसदीय कोषबाट बजेट उपलबध गराउने घोषणा गर्नुभयो । सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रभु हजार पासवानले नारायणी अस्पतालको अपलत्र परेको पाँच सय शय्याको अस्पताल भवन निर्माणको काममा देखिएका बाधालाई फकाएर तत्काल निर्माणकार्य अघि बढाउन आग्रह गर्नुभयो ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले हाल तीन सय ५० शय्याको अस्पतालसँगै आइसीयू, डाइलायसिसलगायत सेवा सञ्चालन भइरहेको जानकारी दिनुभयो । नेपालका विभिन्न ठाउँसहित छिमेकी मुलुक भारतबाट समेत आउने दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीलाई ओपिडी सेवामार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै प्रमुख मेसु डा साहले भौतिक संरचनाको अभाव र दरबन्दीअनुसारको जनशक्ति नहुँदा उपचार गर्न समस्या भइरहेको बताउनुभयो ।

सो अवसरमा मधेस प्रदेशसभा सदस्य जनार्दनसिंह क्षेत्री, राजकुमार गुप्ता, नारायणी अस्पताल विकास समितिका सदस्य किरण शर्माले नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या तत्काल समाधान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्री बस्नेतले नारायणी अस्पतालको भौतिक पूर्वाधार निर्माणमा योगदान गरेवापत वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, सहरी विकास तथा भवन कार्यालय वीरगन्जका प्रमुख मदन राय, सिद्धार्थ बैंक लिमिटेड वीरगन्ज र राउण्ड टेबल वीरगन्जलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

यस्तै स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै वरिष्ठ चिकित्सक डा रामअवतार खेतान, डा गोपालप्रसाद गजुरेल र राधाकृष्ण ज्ञवालीलाई समेत मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

काठमाडौँ, १३ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किनुभएको छ । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज स्वदेश फर्कनुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष नीलकण्ठ काफ्लेलगायतका नेताहरूले स्वागत गर्नुभएको थियो । उहाँ यही असोज १० गते दोहा प्रस्थान गर्नुभएको थियो ।

चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह

चितवन, १३ असोज ः दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष किशोर वगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गर्नुभयो । अहिले दूधको बजारीकरणमा समस्या देखिन थालेको जनाउँदै उहाँले सबैको भान्छामा नेपाली दुग्धजन्य उत्पादन प्रयोग भएमा अहिलेको समस्या समाधान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले दूधको बजारीकरणमा समस्या देखिएको छ । यसलाई निराकरण गर्न आम नेपालीको भान्सामा नेपाली दुग्धजन्य उत्पादनको प्रयोग वढाउन जरुरी रहेको छ ।”

जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने भए पनि जिल्ला बाहिर एक लाख ३५ हजार लिटर दूध मात्रै जाने गरेको छ । बाहिरी जिल्ला जाने दूधसमेत कम्पनीहरुले उठाउन कठिन मान्दा समस्या बढ्दै जान थालेको उहाँले जानकारी दिनुभयो ।

सङ्घका उपाध्यक्ष रामेश्वर गौलीलले जिल्लाबाट बाहिर जाने दूध कम्पनीले उठाउन गाह्रो मान्ने गरेको जनाउँदै विगत तीन किस्तादेखिको दूधको पैसासमेत पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “डिडिसीले गत साउनयता किसानलाई पैसा दिन सकेको छैन । अधिकांश किसानले कम्तीमा तीन किस्ताको रकम पाउन बाँकी छ ।”

यही अवस्था रहेमा किसानले चाडपर्वको मुखमा आन्दोलन गर्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ । सङ्घमा अहिले एक सय १५ सहकारी आबद्ध रहेको जानकारी दिँदै उहाँले यी सहकारीबाट कम्पनीले दूध उठाउन नसक्ने जानकारी दिन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले दूधको पैसा नपाउने र दूध बजारमा पनि नजाने हो भने यसले ठूलो समस्याको रुप लिन्छ । यसैले सबैले चार्डपवमा घरघरमा दुग्धजन्य उत्पादनको प्रयोग बढाएर सहयोग गर्नुप¥यो ।”

सचिव कल्याण अधिकारीले सरकारले छिमेकी नाकाबाट आउने दूधको नियन्त्रणमा चासो नदिनुका कारण यहाँको दूधले बजार नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “राज्यका निकायले नेपाली दुग्धजन्य वस्तुको खपतमा ध्यान दिन जरुरी छ । अन्यथा किसान पलायन हुने अवस्था आउँछ ।” विद्यालयको दिवा खाजा, सुरक्षा निकायका कार्यालय अन्य सरकारी कार्यालयले दुग्धजन्य वस्तुको खपतमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल

छन्दु (चीन), १३ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताउनुभयो ।

भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सिसिपिआइटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो । उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मिलित भएका थिए ।

समिटमा नेपाल र चीनका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता हुनु र चीनसँग संयुक्त लगानीका लागि केही सम्झौता हुनुलाई अध्यक्ष ढकालले नेपालमा चिनियाँ लगानी भित्र्याउन गरिएको प्रयासका रूपमा लिनुभएको छ ।

उहाँले भन्नुभयो, “निकै लामो समयदेखि हामी नेपाल र चीनका उद्योगी व्यवसायीहरू एक ठाउँमा बसेर द्विपक्षीय व्यापार र लगानीका विषयमा कुराकानी गर्न पाएका थिएनौँ । यसपटक हामीले दुई देशका उद्योगी व्यवसायी एवं लगानीकर्ताको सम्मेलन नै गरेका छौँ र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि पहल गरेका छौँ ।”

समिटमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीमा आबद्ध एक सयभन्दा बढी उद्योगी व्यवसायीहरूको सहभागिता थियो । सम्मेलनमार्फत उनीहरूले नेपालमा लगानीको सम्भावना र अवस्थाका बारेमा जानकारी लिएका थिए ।

“हामीले सम्मेलनमार्फत चिनियाँ व्यवसायीलाई नेपालमा लगानीका सम्भावना देखाइदिएका छौँ । प्रधानमन्त्रीले पनि नेपालमा लगानीका लागि अपिल गर्नुभएको छ”, अध्यक्ष ढकालले भन्नुभयो, “प्रधानमन्त्रीले नेपालमा चिनियाँ लगानीको सुरक्षा र सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । नेपालमा लगानीका लागि चिनियाँ लगानीकर्ता पनि उत्सुक देखिएकाले यो भ्रमण आर्थिक दृष्टिले फलदायी रहेको महसुस मैले गरेको छु ।”

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्रीसहित विभिन्न मन्त्री र चीनका तर्फबाट वाणिज्य उपमन्त्री सहभागी हुनुभएको थियो । चिनियाँतर्फबाट आफ्ना धारणा राख्ने क्रममा सिसिपिआइटीका प्रतिनिधि र चिनियाँ मन्त्रीले नेपालमा लगानीका प्रशस्त सम्भावना आफूहरूले देखेको र नेपालमा उत्पादित वस्तुको बजार चीन नै हुनसक्ने बताउनुभएको थियो ।

सम्मेलनपछि व्यक्तिगत रूपमा पनि चिनियाँ उद्योगी व्यवसायीहरूले नेपालमा लगानीका लागि आउने विषयमा चासो व्यक्त गरेको बताउनुहुँदै अध्यक्ष ढकालले नेपालमा विदेशी लगानीको सुरक्षाको सुनिश्चितता गरिएको जानकारी गराउनुभएको थियो । उहाँले विदेशी लगानी भित्र्याउने प्रक्रिया सहजीकरणका लागि महासङ्घले पनि वैदेशिक लगानी सहजीकरण डेस्क स्थापना गरेको र यसमार्फत आवश्यक सहयोग एवं सहजीकरण गर्न सक्ने जानकारी गराएको बताउनुभयो ।

त्यसैगरी भूकम्प र कोरोना महामारीका कारण बन्द भएका दुई देशबीचका नाका लामो समयदेखि खुल्न नसक्दा यसले नेपालको अर्थतन्त्रमा प्रत्यक्षरूपमा असर गरिरहेकाले यस भ्रमणका क्रममा नाका खुलाउने विषयमा सहमति भएकाले पनि स्थानीय तहका सीमा क्षेत्रका व्यवसायीलाई मात्र नभएर देशकै उद्योगी व्यवसायीहरूलाई पनि यसबाट प्रत्यक्षरूपमा लाभ पुग्ने अध्यक्ष ढकालको भनाइ थियो ।

उहाँले भन्नुभयो, “चीनतर्फ हाम्रो निकासी धेरै नभए पनि नाकाहरू बन्द हुँदा दुवैतर्फ हुने ‘क्रस बोर्डर’ व्यापारमा असर परेको छ । यसबाट आयात निर्यात प्रभावित भएको छ । अब नाका खुल्ने भएपछि यसले दुवैतर्फ आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्नेछ । यसपटकको चीन भ्रमणको यो पनि एक उपलब्धि हो ।”

नेपालबाट चीनतर्फ सेवा तथा वस्तु निर्यात निकै कम रूपमा छ । तर नेपालले गर्ने कूल आयातमा १६ प्रतिशत हिस्सा चीनको छ । यस्तो अवस्थामा दुवै देशका प्रधानमन्त्रीबीच भएको नेपाललाई कृषिजन्य उत्पादनका लागि अनुदान दिइनुका साथै नेपालमा कृषि तथा पशुपालनमा चीनतर्फबाट हुने नयाँ सहयोगबाट पनि नेपालमा कृषिजन्य उद्योग स्थापना र सञ्चालनमा सहयोग पुग्ने अध्यक्ष ढकालको विश्वास छ ।

नेपालले चीनसँग अहिले ठूलो व्यापार घाटा बेहोरिरहेको अवस्थामा कृषिजन्य वस्तुहरूको उत्पादन गरी चीनमा निर्यात बढाई व्यापार घाटा कम गर्नका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा गर्ने विषयमा पनि सहमति भएकाले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने अध्यक्ष ढकालले बताउनुभयो ।

कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्त्वपूर्ण रहेको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योगधन्दा खोल्नका लागि सहयोग पुग्ने अध्यक्ष ढकालको विश्वास छ ।

नेपालमा कृषिजन्य उत्पादन निकै कम रहेको र त्यसमा पनि निर्यातयोग्य उत्पादन झनै कम रहेको अवस्थामा नेपालले लामो समयदेखि कतिपय उत्पादन निर्यातमा चीन सरकारले छुट दिनुपर्ने माग राख्दै आएकामा यस विषयमा पनि द्विपक्षीय छलफल भएकाले कार्यान्वयन हुनेमा अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

भ्रमणका क्रममा विद्युत् प्रसारण लाइन निर्माणको सहमतिले पनि नेपालको उद्योग व्यवसायका साथै यस क्षेत्रमा हुने लगानीमा सकारात्मक प्रभाव पार्ने ढकालले बताउनुभयो ।

त्यसैगरी नेपालतर्फको व्यापार व्यवसाय एवं दुवैतर्फका मानिसहरूको आवतजावतमा प्रत्यक्षरूपमा धेरै संलग्न हुने तिब्बत क्षेत्रको भ्रमण गरी आगामी दिनमा हुनसक्ने व्यापारिक सम्भावनाका बारेमा प्रधानमन्त्रीले गर्नुभएको अन्तरक्रिया र अध्ययन पनि भ्रमणको अर्काे महत्त्वपूर्ण पक्ष रहेको ढकालको भनाइ छ ।

भ्रमणका बीच कैलाश मानसरोवरको भ्रमण गरेर प्रधानमन्त्रीले नेपालकै बाटो भएर यसको भ्रमण एवं तीर्थाटनमा आउने सम्भावनाको खोजी गर्नु नेपालमा पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण काम भएको पनि उहाँले बताउनुभयो ।

प्रत्येक वर्ष दशौँ लाख हिन्दू धर्मावलम्बी एवं पर्यटक अहिले कैलाश मानसरोवरको दर्शनका लागि तिब्बतको बाटो भएर जाने गरेका छन् । नेपालका धार्मिक पर्यटकहरूले पनि यसैगरी तिब्बतको घुमाउरो बाटो भएर त्यहाँ पुग्नुपर्ने अवस्था छ । तर कैलाश मानसरोवरमा पुग्नका लागि नेपालको हुम्ला वा मुस्ताङको कोरला नाका हुँदै जाँदा छोटो बाटो पर्ने भएकाले यसका लागि सडक निर्माण गर्न सकियो भने यसले नेपालकै पर्यटन क्षेत्रको प्रवर्द्धन हुने अध्यक्ष ढकालको भनाइ छ ।

“नेपाल र भारतका हिन्दू र बौद्ध धर्म मान्नेहरू प्रत्येक वर्ष ठूलो सङ्ख्यामा कैलाश मानसरोवर जाने गरेका छन् । उनीहरू हाल निकै घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्”, अध्यक्ष ढकालले भन्नुभयो, “उनीहरूलाई नेपालकै तर्फबाट आउने व्यवस्था मिलाउन सकियो भने नेपालका लागि मात्र होइन कि करोडको सङ्ख्यामा बाहिरिने भारतीय पर्यटकलाई पनि सजिलो हुने मैले महसुस गरेको छु ।” नेपालबाट कैलाश आउने बाटो निर्माण हुन सके यसबाट बाटो पनि छोटो हुने र यात्रा सहज हुने भएकाले भारतीय पर्यटक बढ्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस्किल

जनकपुरधाम, १३ असोज-जिल्ला बाल सङ्गठन धनुषाको स्वामित्वमा रहेको जनकपुरधामस्थित श्री आधारभूत विद्यालय (बाल मन्दिर)बारे जानकारी नभएका सायद कोही होलान् । विसं २०३३ देखि सञ्चालित बाल मन्दिरले गरिब तथा असहाय बालबालिकाको पठनपाठन र लालनपालनको जिम्मेवारीसमेत सम्हाल्दै आएकाले पनि परिचित थियो । तर विसं २०७४ पछि भने यहाँ अन्य सार्वजनिक सामुदायिक विद्यालयमा जस्तै नियमित पठनपाठन मात्रै भइरहेको छ ।

कक्षा सातसम्म अध्ययन अध्यापन हुने बाल मन्दिरमा अहिले दुई सय ६४ विद्यार्थी छन् । त्यसैगरी प्राविमा तीन, निमाविमा एक, बाल विकासमा दुई, स्वयंसेवक दुई र कार्यालय सहयोगी एक जना गरी नौ शिक्षक कर्मचारी कार्यरत छन् । यसमध्ये प्राविका तीन स्थायी शिक्षकबाहेक छ जना करारमा काम गरिरहेका छन् । करारमा काम गर्ने छमध्ये सहयोगीसहित तीन (दुई स्वयंसेवकसहित) को तलब बाल मन्दिर आफँैले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ ।कुनै बेला जनकपुर क्षेत्रमा प्रसिद्ध यो बाल मन्दिर पछिल्लो समय भने समस्याले घेरिँदै छ । आर्थिक अभावले शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन गर्न नसक्दा विद्यार्थी घट्दो क्रममा छन् । आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्ने कर्मचारीलाई तलब खुवाउनै मुस्किल छ । रेखदेख, नियमन र व्यवस्थापनका लागि विसं २०७४ मा पुरानो समिति विघटन भएपछि अभिभावकत्व निर्वाह गर्ने कुनै समिति छैन । यसले गर्दा समस्यामाथि समस्या छन् । आर्थिक अभावले अतिरिक्त शैक्षिक गतिविधि सञ्चालन र कर्मचारीलाई तलब खुवाउन समस्या भोगिरहेको यस विद्यालयमा आन्दानीको आन्तरिक स्रोत नभएको पनि होइन, वार्षिक छ लाखभन्दा बढी त भाडा रकम मात्रै उठ्नुपर्नेछ । तर त्यसरी भाडा तिर्ने सहमतिसहित बाल मन्दिरकै संरचनामा उच्च तहको शिक्षा दिइरहेको एउटा निजी क्याम्पसले नियमितरुपमा भाडा नतिर्दा निकै समस्या भएको प्रधानाध्यापक श्यामप्रसाद साहले जानकारी दिनुभयो ।बाल मन्दिरकै संरचनामा विगत करिब २५ वर्षदेखि भाडामा सञ्चालित सो पब्लिक युथ क्याम्पसले भाडाबापतको करिब रु ३४ लाख बक्यौता तिर्न बाँकी हुँदा शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन र विगत छ÷सात महिनादेखि आन्तरिक स्रोततर्फका कर्मचारीलाई तलब खुवाउनसमेत नसकेको उहाँको गुनासो छ । यसले गर्दा गुणस्तरीय शिक्षण सिकाइ र अतिरिक्त क्रियाकलाप सञ्चालन हुन नसक्दा भएकै विद्यार्थी पनि घट्दो अवस्थामा रहेका र तलब खुवाउन नसक्दा शिक्षक पनि निराश रहेका उहाँले बताउनुभयो ।“कुनै बेला गरिब र असहायको सहरा बाल मन्दिर अहिले आफैँ अरुको सहारामा बाँच्नुपर्ने अवस्था आएको छ । न्यूनतम खर्चको व्यवस्थापन सरकारले गरिदिएको भए पनि अरु क्रियाकलाप सञ्चालनका लागि आर्थिक अभाव छ । भाडामा दिएको क्याम्पसले वर्षौंदेखिको दायित्व भुक्तानी गरेको छैन । यस विषयमा जिल्ला प्रशासन कार्यालय, समन्वय समितिलगायतलाई गुहार्दा पनि समस्या समाधान भएन । यसले गर्दा हामी निराश छाँै”, प्रधानाध्यापक साहले राससलाई भन्नुभयो ।जिल्ला बाल सङ्गठनका पूर्वअध्यक्ष रामरतन मिश्रले पवित्र सामाजिक कार्य गर्ने उद्देश्यसहित स्थापित बाल मन्दिरको संरचना प्रयोग गरेर भाडा नतिर्नु दुःखद् भएको बताउनुभयो । विसं २०७४ अघिसम्म आफू अध्यक्ष हुँदा पनि भाडा असुल गर्न समस्या हुने गरेको स्मरण गर्दै उहाँले अहिले ३४ लाखभन्दा बढी भुक्तानी नगरेको सुन्दा नरमाइलो लागेको बताउनुभयो । “म अध्यक्ष भएकै बेला तत्कालीन सरकारले समिति विघटन गरी देशैभरि बाल सङ्गठनमा नियुक्त ग¥यो । त्यसपछि त भाडा रकम भुक्तानीलगायतका समस्या समाधान भए होलान् ठानेको थिए तर समस्या झन बल्झिएको सुन्दा नरमाइलो लागेको छ”, पूर्वअध्यक्ष मिश्रले भन्नुभयो, “विघटन राजनीतिक कुरा भयो तर त्यसपछि बाल सङ्गठनलाई व्यवस्थित गर्नुपथ्र्यो, भएन । लामो इतिहास र सामाजिक महत्व बोकेको संस्थालाई व्यक्तिगत लाभका लागि प्रयोग गर्ने र त्यसलाई समस्यामा पार्ने काम कसैले गर्नुहुँदैन ।”त्यसैगरी जिल्ला समन्वय समिति धनुषाका संयोजक राजनन्दन मण्डलले बाल मन्दिरले भाडा असुलीका लागि सहजीकरण गरिदिन भनी जिल्ला प्रशासनलाई पठाएको पत्रको बोधार्थ प्राप्त भएपछि समन्वयको प्रयास गर्दा पनि निकास ननिस्किएको बताउनुभयो । उहाँले पब्लिक युथ क्याम्पस व्यवस्थापन पक्षलाई भुक्तानीका लागि समय तोकेर कबुल गर्दा पनि सोअनुसार नभएको बताउनुभयो । “यस विषयमा कुरा हुँदा पटक पटकको भाका सारेर भदौ १५ भित्र जसरी पनि बक्यौता भुक्तानी गर्ने र तत्काललाई शिक्षकको तलब खुवाउन पुग्ने पैसा दिन निर्देशन भएको थियो तर अहिलेसम्म त्यसको पालना भएन”, उहाँले भन्नुभयो, “अब प्रमुख जिल्ला अधिकारीसँग बसेर गम्भीररुपमा छलफल गरी समस्या समाधानको उपाय खोज्नुपर्ने निष्कर्षमा हामी पुगेका छौँ ।”पब्लिक युथ क्याम्पसमा स्नातकसम्मको पढाइ हुन्छ । जहाँ करिब पाँच सय विद्यार्थी छन् । बाल मन्दिरका १४ कोठा पूर्णकालीन रुपमा र पाँच कोठा बिहान छ बजेदेखि ९ः४५ बजेसम्म प्रयोग गर्ने गरी विसं २०७२ साउन १ गतेदेखि लागू हुने गरी अन्तिम पटक जिल्ला बाल संगठनका तत्कालीन अध्यक्ष रामनरेश मिश्र र क्याम्पस सञ्चालक शिवनारायण झाबीच सम्झौता भएको थियो । सम्झौतानुसार प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरी सुरुमा वार्षिक चार लाख ८० हजार भाडा तय भएकामा अहिले त्यो दर रु छ लाख ३८ हजार ८० पुगेको छ । पब्लिक युथ क्याम्पसले थप विजुली, पानी र टेलिफोनको समेत शुल्क तिर्ने सम्झौता छ । तर यो सबै गरी हालसम्म ३४ लाखभन्दा बढी रकम बक्यौता रहेको बाल मन्दिर व्यवस्थापन पक्षको छ ।युथ क्याम्पसका सञ्चालक शिवनारायण झा भने क्याम्पस सञ्चालनका लागि भौतिक संरचना निर्माण र अन्य व्यवस्थापकीय काममा समेत लगानी गरेकाले बाल मन्दिरले दाबी गरे जति बक्यौता रकम तिर्न बाँकी नरहेको दाबी गर्नुहुन्छ । उहाँका अनुसार संरचना निर्माण, कोभिड महामारीका बेला आठ महिनाको भाडा मिनाहा गर्ने निर्णय कार्यान्वयन र बीचबीचमा भुक्तानी गरेको रकमको हिसाब गर्दा धेरै बक्यौता छैन । “मेरो अरु व्यापार व्यवसायका सन्दर्भमा भएको कानुनी झमेलाका कारण अहिले प्रत्यक्षरुपमा क्याम्पस प्रशासन हेर्न पाइरहेको छैन । हाम्रो पक्षबाट केही कमजोरी पक्कै भएका छन् तर बाल मन्दिरले भने जति रकम तिर्न बाँकी छैन । अब दसैँअगाडि नै हिसाब किताब गरेर समस्या समाधान गर्ने मेरो प्रयास छ ।”बाल मन्दिरका प्रधानाध्यापक साह आफू जिम्मेवारीमा आउनुभन्दा पहिले अर्थात् आव २०७८÷०७९ सम्मको असुलउपर गर्नुपर्ने भाडाबापतको दायित्व रु २१ लाख ८९ हजार एक सय ४१, आव ०७९÷८० को रु छ लाख ३८ हजार ८० र रु छ लाखभन्दा बढी विद्युत् महसुल तिर्न बाँकी रहेको बताउनुहुन्छ । “भुक्तानीका विषयमा पटक पटक कुरा भएको छ । यो एकाएक आएको विषय होइन । उहाँहरुले पनि हामी दिन्छौँ भनेर भनेको वर्षौ भइसक्यो । कर्मचारीले तलबै खान नपाउने भएपछि अब विद्यालयको पठनपाठन नै प्रभावित हुने अवस्था आइसक्यो । त्यसैले यो समस्या तत्काल समाधान गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।विसं २०७४ मा बाल सङ्गठन जिल्ला समिति विघटन गरिएपछि व्यवस्थापकीय जिम्मेवारी बहन गर्ने ठोस संरचना छैन । यसका कारण विद्यालयमा बेलाबेला आउने समस्या समाधानमा कठिनाइ हुने गरेको छ । अधिकार सम्पन्न समिति नहुँला वर्षौंदेखि लाखाँै रकम बक्यौता र आर्थिक अभावमा स्वयंसेवक शिक्षकको तलब तथा न्यूनतम आवश्यकता पूर्ति गर्न नसक्दासमेत समस्या समाधानको ठोस पहल गर्न नसकिएको सरोकारवालाको बुझाइ छ ।

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी

काठमाडौँ- विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् । संसद् र सरकारप्रति नागरिकको टिप्पणी हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको टिप्पणी सांसद मेटमणि चौधरीले गर्नुभएको छ ।

‘सांसदसँग रासस’ संवादका क्रममा उहाँले राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “अहिले विभिन्न कारणले मुलुकको अर्थतन्त्र कमजोर हुँदै जाँदा व्यवस्थाप्रतिको नागरिकको भरोसा डगमगाएको हुनसक्छ । यसप्रति शीर्ष राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ । व्यवस्थाप्रति आकर्षण बढाउनुपर्छ । ” शीर्ष राजनीतिक नेतृत्व र प्रशासन संयन्त्र गम्भीर भएर व्यवस्थालाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।दाङ क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रतिनिधित्व गर्नुहुँदै उहाँ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । सांसद चौधरी मुख्य गरी विकास, समृद्धि र अर्थतन्त्रसँग जोडिएका विषयमा सदनमा आफ्ना कुरा स्पष्ट ढङ्गले राख्ने नेताका रुपमा परिचित हुनुहुन्छ । तर अहिले संसद् प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनजीविकाका कुरा त्यहाँ राख्न नसकेको अभाव खड्किने गरेको उहाँ बताउनुहुन्छ ।“बहन गर्नुपर्ने दायित्व र भूमिकाप्रति हामी सबै गैर–जिम्मेवार भयौँ । सरकारले संसद् चलाउन खोज्यो, प्रतिपक्षले अवरोध गर्छ । अवरोध भएपछि जनताको आवाज आउन पाउँदैन”, उहाँ भन्नुहुन्छ, “मुलुकलाई निकास दिने दिशामा र जनताका आवाज उठाउने विषयमा न सत्तापक्ष गम्भीर छ, न प्रतिपक्ष नै गम्भीर छ । सत्तापक्षले बल्लतल्ल बैठक आह्वान गर्छ, तर प्रतिपक्षले विरोध र अवरोध गर्छ ।”संसद्लाई प्रभावकारी बनाउन सरकारले प्रतिपक्षसँग निरन्तर सरसल्लाह गर्ने र प्रतिपक्षले पनि विरोध तथा अवरोधको माध्यमबाट नभई विधि र प्रक्रियाबाटै समस्याको समाधान खोज्नतर्फ केन्द्रित हुनुपर्ने उहाँ बताउनुहुन्छ । संसद्मा जनताका आवाज उठ्न नसक्नु र उठेका विषयपनि समाधान हुन नसक्नु गम्भीर विषय रहेको उहाँले बुझाइ छ ।पछिल्लो समय सांसदलाई विधायिकी भूमिकामा भन्दा विकास निर्माण र आयोजनाका काममा बढी केन्द्रित हुन थालेको भन्ने आरोप पनि लाग्ने गरेको छ । सांसद चौधरी पनि यसलाई आंशिकरुपमा स्वीकार्नुहुन्छ । विकास निर्माणसँग जोडिएका नागरिकका आकांक्षालाई छाडेर सांसदले विधायिकी भूमिका मात्रै निर्वाह गर्नसक्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।“हामी जनप्रतिनिधि भएका कारणले जनताका कुरालाई केन्द्रमा राख्ने हो । जनताले हामीलाई राम्रो कानुन बनाउने, विधान बनाउने कुराभन्दा पनि अहिले बाटो, नहर, स्कुल, राम्रो बनाइदिउन् भन्ने चाहेका छन्”, उहाँ भन्नुहुन्छ, “निर्वाचनका बेला हामीले प्रतिबद्धता जनाएका कुरा पनि यीनै हुन् । यसकारण एक विधायकका रुपमा निभाउनुपर्ने विधायिकी भूमिका केही कमजोर भएको मान्न सकिन्छ । यसलाई हामीले सच्याएर जानुपर्छ ।”सन्तुलित विकासको अवधारणा अझै लागू हुन नसकेको धारणा पनि सांसद चौधरीले राख्नुभयो । शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने र त्यसैअनुसार विकासका काम अघि बढ्ने हुँदा सीमित व्यक्ति मात्रै लाभ पाउने अवस्था रहेको उहाँको भनाइ छ । बजेटमा विनियोजन कुशलता नदेखिएकै कारण सन्तुलनका लागि संसदीय क्षेत्र विकास कार्यक्रमजस्ता विभिन्न खालका योजना र कार्यक्रम चाहिएको सांसद चौधरी बताउनुहुन्छ ।“हामी सन्तुलित विकासको कुरा गरिरहँदा प्रधानमन्त्री, अर्थमन्त्री र मुख्य नेताको क्षेत्रमा धेरै बजेट जाने, तर जसको पहुँच छैन त्यस्ता नेताको क्षेत्रमा बजेट नपर्ने अवस्था छ । बजेट शून्य हुने अवस्था छ”, सांसद चौधरी भन्नुहुन्छ, “संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले थोरै भएपनि विनियोजनमा सन्तुलनका लागि सहयोग पुग्छ ।”सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अहिलेको अवस्थामा यस्तो कार्यक्रममार्फत अघि बढ्ने परियोजनामा भने पुँजीगत खर्च पनि बढी हुने उहाँको भनाइ छ । सरकारको पुँजीगत खर्च बढाउनका लागि यो कार्यक्रम आवश्यक रहेको सांसद चौधरीले बताउनुभयो । त्यस्तै, यस्ता कार्यक्रमबाट हुने खर्च सांसदले आफू अनुकूल खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रका नागरिको विकास आवश्यकता पहिचान गरेर सोहिअनुसार योजना तथा कार्यक्रम तय गरिदिने मात्रै रहेको उहाँले स्पष्ट पार्नुभयो ।“विगतका अभ्यास हेर्दा यस्ता आयोजनामा ८० देखि ९० प्रतिशतसम्म बजेट खर्च भएको देखिन्छ । जबकि, अरु आयोजनामा मुस्किले ५० प्रतिशत पनि खर्च भएको देखिँदैन”, उहाँले भन्नुभयो, “अर्को भनेको यो बजेट सांसदले खर्च गर्ने होइन । सांसदले सिफारिस गर्ने हो । आफ्नो क्षेत्रको विकासका आवश्यकता सांसदलाई थाहा हुन्छ ।”यस्ता कार्यक्रमको अभ्यास अन्तर्राष्ट्रियरुपमा पनि प्रयोगमा रहेको उहाँको भनाइ छ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अहिले अदालतको आदेशका कारण रोकिएको अवस्थामा छ तर चाँडै नै यसले निकास पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । “कसैले निवेदन हालेपछि त्यसबारे बुझ्नका लागि अदालतले रोकेको होला । संसद्ले बजेट बनाउने तर अदालतले रोक्ने भन्ने हुँदैन”, सांसद चौधरीले भन्नुभयो, “कानुनी प्रक्रिया मिलेको छ वा छैन, कार्यान्वयन भएको छ वा छैन तथा त्यस्तो बजेटको गलत प्रयोग भएको छ कि जस्ता विषय अदालतले हेर्ने हो । यो विषयमा चाँडै नै फैसला आउला ।” अरु विभिन्न देशमा पनि सांसदले बजेटमा केहि स्वविवेक प्रयोग गर्न पाउने अभ्यास रहेको उहाँको भनाइ छ ।पछिल्ला समय सांसदबाटै संसदीय मर्यादा उल्लङ्घनका घटना पटक पटक दोहोरिन थालेका छन् । संसदीय अभ्यास र संसद्को सर्वोच्चताका लागि यस्ता यस्ता विषयमा पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ ।“मर्यादा उल्लङ्घनका घटना दोहोरिनु भनेको बोल्दाखेरी ध्यान नपुर्याउँदा यस्तो स्थिति आउँछ । कुनै शब्द, कुन वाक्य बोल्ने भन्नेकुरा सांसदको हातमा भरपर्छ । राम्रो तयारी गरेर, सोचेर, लेखेर बोल्दा यस्तो अवस्था दोहोरिँदैन थिए ।”, उहाँ भन्नुहुन्छ ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

छन्दु (चीन), १३ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहनुभएका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताउनुभयो ।

चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उहाँले दुई देशका बीच भएका समझदारी एवं सम्झौताहरू पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको उहाँको भनाइ थियो ।

“अगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको छ”, उहाँले भन्नुभयो, “दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई देशबीचका परम्परागत सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास छ ।”

भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको उहाँको भनाइ छ । अब नाका खोल्ने विषयको प्रक्रिया छिट्टै अगाडि बढ्ने विषय सुनिश्चित भएको पनि मन्त्री साउदको भनाइ छ ।

विसं २०७२ को भूकम्प र कोरोना महामारीका कारण बन्द भएका नाकाहरु पुनः सञ्चालन गर्ने र केही नाकाको स्तर वृद्धिसमेत गर्ने सहमतिले सीमा क्षेत्रका नागरिकका लागि पनि यो खुसीको विषय भएको उहाँको भनाइ छ ।

त्यसैगरी दुई देशका बीचमा त्यति ठूलो सीमा विवाद नभए पनि सीमालाई अद्यावधिक गर्नुपर्ने भएकाले सीमा क्षेत्रमा निरीक्षणका लागि दुवै देशको संयुक्त टोली बनाइ काम गर्ने सहमति भएको मन्त्री साउदले बताउनुभयो ।

चीनसँग नेपालको व्यापार घाटा कम गर्नका लागि कृषिजन्य वस्तुको उत्पादन र चीन निर्यात गर्न सकिने उहाँको भनाइ छ । यसका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा भित्र्याउने विषयमा पनि चीनसँग महत्वपूर्ण सहमति भएको उहाँको भनाइ छ ।

कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्वपूर्ण विषय भएको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योग धन्दाहरू खोल्नका लागि सहयोग पुग्नेमा मन्त्री साउदले विश्वास व्यक्त गर्नुभयो ।

“हामीकहाँ कृषिजन्य वस्तुको उत्पादन निकै कम छ र त्यसमा पनि निर्यातजन्य वस्तु उत्पादन अझै कम छ”, मन्त्री साउदले भन्नुभयो, “नेपालले लामो समयदेखि केही निर्यातजन्य उत्पादनमा चीन सरकारसँग छुटका लागि पहल गरिरहेको विषयमा पनि महत्वपूर्ण छलफल हुनुलाई भ्रमणको उपलब्धिका रूपमा लिएका छौँ ।”

मन्त्री साउदले भ्रमणमा चीनका राष्ट्रपति र प्रधानमन्त्रीले पनि नेपाललाई उच्च महत्व दिएर कुराकानी गर्नुभएको र नेपालले पनि आफ्नो हित र चासोका विषयमा आफ्ना विषयहरु उच्च तहमै स्पष्टसँग राखेको बताउनुभयो । उहाँले विभिन्न विषयमा दुई देशबीच गहनरुपमा छलफल भएको र यसबाट नयाँ समझदारी निर्माण भएको आफूले पाएको बताउनुभयो ।

यस भ्रमणका क्रममा चीन सरकारले नेपाललाई उच्च महत्व दिएको देखिएको बताउँदै मन्त्री साउदले भन्नुभयो, “प्रधानमन्त्रीलाई एक औपचारिक कार्यक्रममा नै गार्ड अफ अनर प्रदान गरिएको छ । संयुक्त वक्तव्य प्रकाशित भएको छ र यसमा दुई देशबीचका आपसी हितका महत्वपूर्ण विषयलाई समेटिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटका क्रममा पनि उच्च महत्वका साथ आफ्ना कुरा राख्ने र नयाँ समझदारी निर्माण गर्ने काम भएकाले यो भ्रमणलाई पूर्णरूपमा सफल मान्नुपर्दछ ।”

चीन र नेपालका बीचमा परम्परागतरूपमा नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै मन्त्री साउदले अहिलेको प्राथमिकता भनेको आर्थिक पक्ष रहेको बताउनुभयो । उहाँले नेपाल आर्थिकरूपमा बलियो बन्नका लागि चीनबाट कसरी लाभ लिने भन्ने विषय दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण र बलियो पक्ष हो भन्ने आफूलाई लाग्ने बताउनुभयो ।

भ्रमणका क्रममा गरिएको कैलाश मानसरोवरको भ्रमण सो ठाउँ हेर्नका लागि मात्र नभई नेपालको धार्मिक पर्यटन प्रवर्द्धनका लागि स्थलगत निरीक्षण भएको मन्त्री साउदको भनाइ छ । भारतसहित विश्वका लाखौँ हिन्दू पर्यटकलाई नेपाल हुँदै कैलाश मानसरोवरको भ्रमणको उचित वातावरण बनाउनका लागि सो ठाउँको स्थलगत अध्ययन अवलोकन गरिएको उहाँको भनाइ छ ।

यो क्षेत्रमा नेपालको बाटो भएर जान पाए धेरै सजिलो हुने विषय बारम्बार उठ्ने गरेका सन्दर्भमा नेपालका तर्फबाट कैलाश मानसरोवर जान पाउने गरी सडक निर्माणको प्रबन्धका लागि त्यहाँ गएको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री साउदले हुम्लाको सिमकोटका अतिरिक्त बझाङको उरई र दार्चुलाको तिङ्करको बाटो भएर पनि सो क्षेत्रमा पुग्न सकिने गरी अध्ययन भइरहेकाले सोही स्थानमा नै पुगेर अध्ययन गरेको बताउनुभयो ।

चीन नेपाललाई कृषि, प्रविधि एवं अन्य लगानीका क्षेत्रमा सहयोग गर्न चाहन्छ । चीन आर्थिक सम्पन्न मुलुक भएकाले नेपालको पनि आर्थिक विकासमा सहयोग गर्न चाहन्छौँ भनेर चीनले भनिरहेकाले यस्तो खालको समझदारीको वृद्धि गरी आवश्यक कूटनीतिक पहल अघि बढाउनका लागि पनि यो भ्रमण फलदायी रहेको भनाइ मन्त्री साउदले राख्नुभयो ।

चीन आउनुअघि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता जनाएर नेपालले विश्व समुदायलाई शान्ति स्थापना, अतिकम विकसित मुलुकका आवश्यकता तथा जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभाव र त्यसबाट नेपालले पाउनुपर्ने सुविधालगायतका विषयमा सम्बोधन गरेकाले महासभाको सहभागिता नेपालका लागि महत्वपूर्ण रहेको मन्त्री साउदले बताउनुभयो ।

अतिकम विकसित राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकलाई आफूले अध्यक्षता गरी सामूहिक चासोका बारेमा कुरा भएको पनि उहाँले जानकारी दिनुभयो ।

“नेपाल हाल अतिकम विकसित राष्ट्रहरूको नेताको हैसियतले यसपटक प्रधानमन्त्रीले राष्ट्रसङ्घीय महासभामा हामीजस्ता विकासशील देशका समस्याका साथै यस्ता देशहरूप्रति विकसित देशको दायित्वका साथै सङ्क्रमणकालीन न्यायका विषयमा पनि राष्ट्रसङ्घमार्फत विश्व समुदायलाई जानकारी गराउनुभएको छ”, उहाँले भन्नुभयोे ।

साथै आफूले पनि परराष्ट्रमन्त्रीको हैसियतले विभिन्न देशका विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपालको हित र चासोका विविध विषयमा कुरा उठाएको मन्त्री साउदले जानकारी दिनुभयो ।
 

गीति नाटक लिएर फिल्मको प्रचारमा ‘परदेशी’ टिम

गण्डकी, १३ असोज ः परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ ।

फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताउनुभयो । विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उहाँको भनाइ छ ।फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गराएको थियो । फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि फिल्म प्रवद्र्धनमा सक्रिय हुनुहुन्छ । सपूत अध्ययनका लागि विदेशिएको युवाको भूमिका फिल्ममा देखिँदै हुनुहुन्छ ।नारायणगढ, नेपालगञ्ज र बुटवलमा प्रचारात्मक कार्यक्रम भइसकेको निर्देशक रायमाझीले बताउनुभयो । पोखरापछि पूर्वी नेपालका विभिन्न सहरमा फिल्मको टिम पुग्ने जनाइएको छ । बडादसैँको छेकोमा प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ सपूत अभिनित पहिलो फिल्म हो ।गायन करिअरको शिखरमा रहेकै बेला सपूत ‘परदेशी २’बाट नायकका रुपमा उदाउँदै हुनुहुन्छ । अभिनेत्री अधिकारीको अभिनय यात्रामा भने यो ३३औँ फिल्म हो । पहिलोपल्ट ‘हिरो’ का रुपमा ठूलो पर्दामा आउँदा दङ्ग र उत्साहित रहेको सपूतले बताउनुभयो ।“नायकका रुपमा यो मेरो परीक्षा हो, सुरुमै ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेलमा अभिनय गर्न पाउनु आफैमा सुखद् कुरा हो”, उहाँले भन्नुभयो, “अहिले फिल्मको प्रचारका क्रममा दर्शकहरु भेटिरहेका छौँ, राम्रो प्रतिक्रिया आइरहेको छ ।”विद्यालय र कलेज केन्द्रित प्रवद्र्धनको कार्यक्रमले नयाँ पुस्तालाई फिल्मप्रति अभिरुचि जगाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नायिका केकी अधिकारीले मौलिक कथामा राम्रो फिल्म बनेको बताउनुभयो । आफ्नो फिल्म करिअरमा ‘परेदशी २’ले विशेष अर्थ राख्ने उहाँले उल्लेख गर्नुभयो ।“परदेशी २ नेपाली परिवेश र जनजीवनको कथा हो, फिल्म राम्रो बनेको छ, दर्शकको साथ पाउनेमा हामी ढुक्क छौँ”, उहाँले भन्नुभयो । शुक्रबार नायक सपूतको गृहजिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर शोसमेत राखिएको थियो । जिल्लावासीले बाजागाजासहित उहाँलगायत फिल्मका कलाकारलाई विशेष स्वागत गरेका थिए ।उहाँले ‘परदेशी २’ को प्रर्दशनपछि मात्र फिल्म निर्देशन र अभिनयमा विषयमा थप निर्णय लिने बताउनुभयो । सपूतले यसअघि आफ्नै कथा र निर्देशनमा फिल्म बनाउने सङ्केत गर्नुभएको थियो । उहाँका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’लगायत गीत चर्चित छन् ।गायकका रुपमा ख्याती आर्जन गर्नुभएका सपूतलाई फिल्म फाप्छ या फाप्दैन त्यो त हेर्न बाँकी नै छ । रायमाझीको निर्माण तथा निर्देशनमा यसअघि बनेको फिल्म ‘परदेशी’ व्यावसायिकरुपमा सफल भएको थियो । सोही फिल्मको सिक्वेलका रुपमा ‘परदेशी २’ निर्माण गरिएको हो ।फिल्ममा सपूत र अधिकारीसँगै वर्षा सिवाको टी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायत कलाकारको अभिनय रहेको छ । नारायण रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्मका नेपालसहित भारत र अमेरिकामा छायाँकन गरिएको जनाइएको छ ।

दुध किसानले तीन महिनादेखिको भुक्तानी पाएनन्, छ अर्ब बाँकी

काठमाडौँ । दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्। ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपियाँ भुक्तानी पाउन बाँकी छ तर डेरी उद्योगीले भने किसानबाट खरिद गरिएको दुध बिक्री नभएका कारण भुक्तानीमा समस्या भइरहेको बताएका छन्।

ऋण लिएर केही रकम भुक्तानी दिने गरिए पनि सबै रकम भुक्तानी गर्न सक्ने अवस्था नरहेको तर्क डेरी उद्योगीको छ। राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको रकम भुक्तानी गर्न डेरी उद्योगीलाई दैनिक ताकिता गरिरहेको छ। बोर्डले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) लाई पत्र पठाएर किसानको बक्यौता रकम समयमा भुक्तानी दिन आग्रह गरेको छ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले किसानले समयमा भुक्तानी नपाएका कारण मर्कामा परेको बताए। डेरी उद्योगीले रकम भुक्तानी नदिनुका साथै किसानसँग पर्याप्त दुध पनि खरिद गर्ने गरेका छैनन्। असारदेखि हालसम्म किसानलाई ५२ करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको र ६५ करोड रुपियाँभन्दा बढीको दुग्धजन्य पदार्थ भण्डारमा थन्किएको बताउँदै उनले दसैँतिहारमा हुने आम्दानीबाट भुक्तानी गर्ने सोच बनाइएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो जात्रालाई विश्वव्यापी ब्राण्डिङ गरेर लाखौँ पर्यटक भित्र्याउन सकिन्छ : मन्त्री किराती

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–५ दिगुली अर्थात दिगुटोलको दिगु भैरव मन्दिर अगाडि साँझदेखिनै मानिसको भीड बढिरहेको थियो । आश्विन शुल्क पूर्णिमा अर्थात येँया पुन्हिको दिन शुक्रबार रात्रिकालीन प्रहरमा मध्यपुरथिमिको लाय्कु दरबार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएपछि प्रत्यक्षरूपमा हेर्न हजारौँ मानिसको भीड राति ७ः३० बजेसम्म निकै बाक्लो देखिएको थियो ।

मध्यपुरथिमि नगरपालिकामा दिगु टोलमा तीन सय ५० वर्षभन्दा अगाडिदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा लोपोन्मुख अवस्थाबाट जोगाउँदै यस वर्ष मध्यपुरथिमि–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडेर मध्यपुरथिमिबाट पशुपतिसम्म पुगेर पुनः फर्किएर बालकुमारी मन्दिरसम्म आउने भएपछि प्रत्यक्ष हेर्न र थिमिदेखि पशुपतिसम्मको यात्रालाई साथ दिन हजारौँ स्थानीयवासीको भीड जम्मा भएको थियो ।

मध्यपुरथिमि–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दिगु भैरव मन्दिर अगाडि बनाएको स्टेजमा बसेर आज राति ७ः४५ बजे हजारौँ मानिसको अगाडि जिब्रो छेडाउनुभएको हो । हजारौँ सर्वसाधारणका अगाडि तीन वटा सियो भएको सुइरोले जिब्रो छेडाएर ४० किलोको महादीप बोकेर थिमिदेखि पशुपतिसम्मको यात्रा सुरु गर्नुभयो ।

जात्रास्थलमा प्रत्यक्षरूपमा जिब्रो छेडेको जात्रा हेरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यसअघि पत्रपत्रिका र टेलिभिजनतिर मात्रै हेरकोमा आज प्रत्यक्ष देख्ने मौका पाएको बताउनुभयो । उहाँले यो जात्रालाई विश्वव्यापी रूपमा ब्राण्डिङ गर्नसके लाखौँ पर्यटक ल्याउन सकिने बताउनुभयो ।

“यो जात्रालाई विश्वव्यापी ब्राण्डिङ गरेर लाखौँ पर्यटक भित्र्याउन पर्ने रहेछ, आउँदो वर्ष सबैसँग सल्लाह गरेर यसलाई अझै भव्य बनाउनु पर्छ”, मन्त्री किरातीले भन्नुभयो, “संस्कृतिलाई जोगाउन सकेन भने अमर नरहन सक्छ, त्यसैले नेपालमा संस्कृतिलाई पर्यटन उद्योगसँग जोडेर लैजानु पर्र्छ, नेपालको संस्कृतिमा पर्यटन मिसाउनु पर्छ, यसबाट व्यापकरूपमा पर्यटक भित्र्याउन सकिन्छ ।”

मन्त्री किरातीसमेत पैदलनै पशुपति मन्दिरसम्म पुगेर पशुपति मन्दिरभित्र चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेड्ने बालकरामको जिब्रोले तेल हालिदिने बताउनुभयो । कार्यक्रममा मन्त्री किराती, सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले प्रत्यक्षरूपमा जात्रास्थलमा रहेर जात्राको अवलोकन गर्नुभएको थियो ।

बालकरामले भने जिब्रो छेडेर दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, नीलवर्ण गणेश, मन्दिरमा दर्शन गरी सिद्धिकालीमाईको मन्दिर हुँदै सिद्धिकाली चोक, सानोठिमी, सिनामङ्गल, महादेव चोक, पेप्सीकोला चोक, एयरपोर्ट १० नं गेट (पूर्वी गेट), सान बैंकवेट चोक, गुहेश्वरी हुँदै पशुपतिनाथको मन्दिर प्रवेश गरी परिक्रमा गर्दै त्यही मार्ग हुँदै थिमि आएर बालकुमारी मन्दिरमा दर्शन गरी सियो झिकेर आजको जात्रा सम्पन्न गर्ने येयाँ पुनिहया मेंयः तवनेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

जिब्रो छेडाउनु अगाडि बालकरामले भन्नुभयोे, “यसपटक म इतिहास रच्ने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने निर्णय गरेको हुँ, यसअघि पहिलो पटक मैले विसं २०७५ मा जिब्रो छेडेर थिमि घुमेको थिएँ, यस वर्ष पशुपतिसम्मको यात्रा पूरा गर्ने आँट गरेको छु, माता बालकुमारीकोे शक्तिले त्यो यात्रा पूरा गर्नेछु ।”

मध्यपुरथिमि दिगुटोलदेखि पशुपतिनाथ मन्दिरसम्म जाँदा र आउँदा १७ किलो मिटरको यात्रा पूरा गर्ने उहाँले बताउनुभयो । जिब्रो छेडेर ४० किलो तौलको महादीप बोकेर मध्यपुरथिमिबाट गुहेश्वरी हुँदै पशुपति मन्दिरभित्र प्रवेश गरी दर्शन गर्दै पुनः मध्यपुरथिमिको बालकुमारी आएर सुइरो निकाल्ने गरी जात्रा सुरु भएको हो ।

मध्यपुरथिमिका स्थानीयवासीका साथै भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुरलगायत विभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको धुुइरो लागेको थियो । मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले तीन सय ५० वर्षभन्दा अगाडिदेखि जिब्रो छेडिँदै आएको यो जात्रालाई निरन्तरता दिन र यस वर्षको जात्रा सहजरूपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।

उहाँले जात्राका लागि आवश्यक सहयोग रकम उपलब्ध गराएको, जात्रास्थलमा भीड कम गर्न दुई ठाउँमा प्रोजेक्टर राखेर जात्राको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरेको र जात्रालाई विजवन्त राख्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने बताउँदै यस्ता जात्रा परम्परा जोगाउन सरकारको पनि साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक यो जात्रा विसं २०२६ देखि लोप भए पनि विसं २०५० देखि मध्यपुरथिमि चोडेटोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडाएर जात्रालाई पुनःजीवन दिएको बताउनुभयो । त्यसपछि विसं २०६३ देखि सञ्चालन हुन नसकेकोमा विसं २०७४ मा मध्यपुरथिमि–४, बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउनुभएको बताउनुभयो । जात्रामा हजारौँ को सहभागिता रहेको छ ।

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

काठमाडौँ, १३ असोज ः नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ ।

गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निवाचित हुनुभएको छ ।

एमाले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विजयीलाई बधाई दिनुभएको थियो । अधिवेशनमा कूल प्रतिनिधि एक हजार एक सय ७२ रहेकामा एक हजार एक सय ३१ ले मतदानमा भाग लिएका थिए ।

अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिनुभएको थियो । यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

स्नातकतर्फ सिट निर्धारण, कुन कलेजलाई कति ?

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । आयोगले देशभरिमा एमबिबिएस तहमा एक हजार ९२५ सिट निर्धारण गरेको छ भने बिडिएसतर्फ ५४५ सिट निर्धारण गरेको छ ।

आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झाले एमबिबिएसमा एक सय सिट पाउनेमा विराट मेडिकल कलेज, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, किस्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज रहेको जानकारी दिए ।

यसै गरी लुम्बिनी मेडिकल कलेज, महाराजगन्ज मेडिकल क्याम्पस, मणिपाल मेडिकल कलेज, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपालगन्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि एक सय सिट पाएका छन् । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएसमा ६५ सिट अध्यापन गर्ने अनुमति पाएको छ ।

देवदह मेडिकल कलेजले ६० सिट पाएको छ । यसै गरी जानकी मेडिकल कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० सिट निर्धारण गरिएको छ । डा. झाका अनुसार बिडिएसतर्फ पाँच कलेजलाई ५० सिट निर्धारण गरिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, पिपुल्स डेन्टल कलेज र युनिभर्सल मेडिकल कलेजलाई ५० सिट तोकिएको हो ।

बिधडिएसतर्फ चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजले ४० सिट तोकिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

हेर्नुहोस् असोज १३ गते शनिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ ।स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष राशि- अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

मिथुन राशि- आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

कर्कट राशि- अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

सिंह राशि – मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

कन्या राशि – हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

तुला राशि – तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

बृश्चिक राशि- स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

धनु राशि – मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

कुम्भ राशि – मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

मीन राशि – कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ ।

आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्छ – ओली

मोरङ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई बहुमतसहित सातै प्रदेशमा विजय गराउनुपर्ने बताउनुभएको छ । एमाले कोशी प्रदेशको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उहाँले पार्टीले लिएको ‘मिशन–८४’ अन्तर्गत प्रत्येक टोल, वडा, जिल्ला, प्रदेश र सङ्घमा ५१ प्रतिशत मतका साथ पार्टीलाई विजयी गराउन निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले जनताको समस्या बुझ्ने पार्टी एमाले मात्र भएको दावी गर्दै विगतमा एमाले ल्याएको ज्येष्ठ नागरिक वृद्ध भत्ता, महिलालाई प्रत्येक क्षेत्रमा ३३ प्रतिशत आरक्षण र महिला उद्यमीलाई चार प्रतिशत ब्याजमा दिएको ऋणले जनताले पार्टीलाई माया गरी विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को जनताको आकङ्क्षा एमालेले मात्र पूरा गर्ने बताउँदै पार्टीले लिएको एउटा बाटो, एउटा नीतिका आधारमा मुलुकको विकास हुने विचार राख्नुभयो । अध्यक्ष ओलीले पार्टीभित्र गरेका कामका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै सहमति वा निर्वाचनमा आधारमा जे भए पनि लोकतान्त्रिक विधि पार्टीको मुलमन्त्र रहेको विचार राख्नुभयो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ, पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फे र प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टीको नेतृत्वमा कुनै विवाद रहेको र लोकतन्त्र संरक्षण गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । दुई दिने अधिवेशनमा प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ ।

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

काठमाडौँ । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ । यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ । विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवकयुवतीलाई तस्करहरूले विभिन्न देशमा पुयाएका छन् । छुट्टै कानुन नहुँदा मानव तस्करी खुलेआम भएको छ ।

मानव तस्करी हुन अन्तर्राष्ट्रिय सीमा नाघेसँगै आर्थिक लाभ लिएको हुनुपर्छ । यसमा जाने र लैजाने मान्छेबीच सुरुवातमा आपसी सहमति भएर प्रक्रिया अगाडि बढ्छ । यो कार्य वैधानिक हुँदैन । तैपनि जाने मान्छेको पनि केही मात्रामा सहमति हुन्छ । गाउँगाउँमा स्थानीय एजेन्टहरू परिवारका सदस्य, आफन्त र छिमेकीलाई विदेश पठाउन मानव तस्करका रूपमा सक्रिय हुन्छन् । ‘ वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्छ ।

तर श्रम स्वीकृतिबिना धेरै महिला अहिले पनि दलालको फन्दामा परेर खाडीलगायत मुलुकमा घरेलु कामदारका रूपमा बेचिइरहेका छन् । अहिले विश्वका सामाजिक अपराधमध्ये मानव बेचबिखन तथा तस्करी जल्दोबल्दो रूपमा मौलाएका छन् । यस्ता घटनाहरूलाई देश वा गन्तव्य देशमा गैरकानुनी मानिन्छ भने त्यो मानव तस्करी हो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण रूपमा सफल रह्यो : सल्लाहकार आचार्य

छन्दु (चीन)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालको भ्रमण दलका सदस्य आचार्यले चीनको छन्दुमा शुक्रबार यो भ्रमणले दुई देशका बीचमा आपसी विश्वास र सद्भाव वृद्धि भएको बताउनुभयो ।

यस भ्रमणका क्रममा जारी भएको संयुक्त प्रेस वक्तव्यका साथै त्यसको अघिल्लो दिन दुई देशबीच भएका विभिन्न १३ ओटा सम्झौता र समझदारी नेपालको विकासका लागि कोशेढुङ्गा सवित हुने उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो, “जुन विश्वास र आपसी समझदारीका साथ यो भ्रमण सम्पन्न भएको छ, यसले दुई देश बीचको सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको छ र यस भ्रमणका क्रममा भएका सहमति र समझदारीका विषयहरू नेपालको हित र विकासमा सहयोगसिद्ध हुने कुरा आगामी दिनले नै देखाउनेछ ।”सल्लाहकार आचार्यले प्रधानमन्त्रीको भ्रमणलाई चीनका राष्ट्रपतिले महत्त्व दिएर प्राथमिकतामा राख्नुभएको आफूले पाएको बताउनुुभयो । प्रधानमन्त्री दाहालसँग र नेपाली प्रतिनिधिमण्डलसँग राष्ट्रपति चिनफिङले गर्नुभएको कुराकानी र वार्ताका लागि दिनुभएको समयले पनि यो कुरालाई पुष्टि गर्ने आचार्यको भनाइ थियो ।त्यसपछि प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग पनि महत्त्वपूर्ण रूपमा द्विपक्षीय कुराकानी भएको बताउँदै आचार्यले सो द्विपक्षीय भेटवार्ता दुई देशको सम्बन्धमा थप विश्वास र समझदारीको विकास गर्न सहयोगी रहेको टिप्पणी गर्नुभयो ।यो भेटले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको आफूले महसुस गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध र समझदारी नयाँ उचाइमा पुगेको छ, बुझाइमा एकरूपता कायम भएको छ र आगामी दिनमा यसको परिणाम मुलुकको हितमा रामै्रसँग देखिनेछ ।”प्रधानमन्त्री दाहालसँगको द्विपक्षीय वार्तापछि भएका सम्झौताहरूका साथै भूकम्पपछि तथा कोभिडका समयमा बन्द भएका नाकाहरू खोल्ने सहमतिले दुई देशका सीमा क्षेत्रका नागरिकका मात्र नभएर देशकै व्यावसायिक रूपमा आयात निर्यातका समस्याहरू पनि समाधान भएर जाने उहाँको भनाइ छ ।प्रधानमन्त्रीले तिब्बतको भ्रमण गर्नु र त्यहाँका नेताहरूसँग आपसी भेटघाट गर्नुभयो । भ्रमणको अर्काे महत्त्वपूर्ण पक्ष रहेको उहाँको भनाइ थियो । नेपालसँगका प्रायः नाकाहरू तिब्बतसँग नै जोडिने र नेपाल तिब्बत व्यापार ऐतिहासिक रहेकाले प्रधानमन्त्री त्यहाँ पुग्नुभएको बताउँदै सल्लाहकार आचार्यले कैलाश मानसरोवर नै पुगेर त्यहाँ आउने हिन्दु तीर्थयात्री एवं अन्य पर्यटकको सम्भावनाका बारेमा पनि अध्ययन गर्नुभएको बताउनुभयो ।कैलाश मानसरोवर नेपाल तथा भारतका हिन्दू धर्मावलम्बीहरूका आस्थाको स्थल भएको र त्यहाँ आउनका लागि तिब्बतको बाटो प्रयोग गरेर आउँदा निकै घुमाउरो र समस्या भएकाले नेपालकै बाटो भएर त्यहाँ आउनसक्ने अवस्थाको अध्ययनका लागि प्रधानमन्त्री त्यहाँ पुगेको उहाँले बताउनुभयो ।त्यहाँ पुगेपछि प्रधानमन्त्री दाहालले कैलाश मानसरोवरको दर्शन एवं भ्रमणका लागि आउने पर्यटकहरूलाई हुम्लाको हिल्सा नाकाबाट यता आउनेगरी हुम्लाको सिमकोट हिल्सा सडक निर्माणलाई दु्रत बनाउने गरी छिट्टै काम अघि बढाइने मानसिकता प्रधानमन्त्री दाहालले बनाउनुभएको सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।उहाँले यो भ्रमणले नयाँ विश्वास कायम गरी सम्बन्धका नयाँ आयामहरू निर्माण गर्न सफल भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक सामाजिक विकासका साथै कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थप गर्ने हिसाबले पनि यो भ्रमण सफल भएको छ र यसले नेपालको हितमा आगामी दिनमा राम्रै परिणाम पनि दिनेछ ।” 

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

काठमाडौँ, १३ असोज : आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ ।

प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने गौतमले बताउनुभयो ।

कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिनुभयो ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।