`

डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै चन्द्रबहादुर

भोजपुर, १५ असोज- भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताउनुभयो । एकदिनमा आठदेखि दश ओटासम्म डोका तयार गर्ने उहाँको भनाइ छ । डोका बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।

“चालीस वर्षअघिबाट डोका बुन्ने काम गर्दै आएको छु”, उहाँले भन्नुभयो, “एक दिनमा आठदेखि दश वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । डोकाबाट नै मेरो चिनारी बनेको छ ।” डोका स्थानीय बजारमा प्रतिगोटा रु तीन सय ५० देखि चार सयसम्ममा बिक्री हुने तामाङले बताउनुभयो । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सात÷आठ लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

“डोका बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु सात÷आठ लाख आम्दानी गर्न कठिन हुन्न । अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ ।”

आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उहाँको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उहाँको भनाइ छ । डोकाको लागि विभिन्न ठाउँबाट माग हुने उहाँले बताउनुभयो ।

“मैले बुनेको डोकाको लागि जिल्लाका विभिन्न ठाउँबाट माग हुन्छ”, उहाँले भन्नुभयो, “गाईबस्तुपालनसँगै खेतीपाती पनि गर्छु । कहिलेकहीँ त मागअनुसारको डोका पु¥याउन समस्या हुन्छ ।” आफूले बुनेको डोकालाई भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएको उहाँको भनाइ छ । बजारसम्म पुग्नको लागि घरबाट पाँचदेिख छ घण्टासम्म लाग्ने उहाँले बताउनुभयो ।

“डोकाको माग धेरै ठाउँबाट आउँछ”, उहाँले भन्नुभयो, “यसको मुख्य बिक्री गर्ने ठाउँ भनेको भोजपुर बजार नै हो । बजारमा लगेर बिक्री गर्छु । मैले बुनेको डोका किन्न गाउँ÷गाउँबाट मानिस आउँछन् ।”

सामुदायिक वनले कडीकडाइ गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताउनुभयो । मालिङ्गो काट्नको लागि वर्षमा एक पटक मात्र खुला हुने गरेको उहाँको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगानेलगायतबाट डोका बुन्दै आएको तामाङको भनाइ छ ।

“नयाँ पुस्ताले यो काम गर्न चाहँदैनन्”, उहाँले भन्नुभयो, “डोका बुन्नको लागि पनि धेरै दुःख हुन्छ । हामीलाई कच्चा पदार्थ जुटाउन समस्या छ । सहजरुपमा पाउने अवस्था छैन ।” प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेको तामाङले बताउनुभयो । यस्ता खालका परम्परागत पेसालाई स्थानीय सरकारले संरक्षणसँगै विकासमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
“पछिल्लो समय विभिन्न खालका सीपमूलक पेसा लोप हुने अवस्था छ”, उहाँले भन्नुभयो, “मैले गरेको काम मेरो छोरा नातिले गर्न चाहँदैनन् । यस्ता खालका परम्परागत पेसालाई जोगाउन आवश्यक छ । यसमा सरकारले पहल गर्नुपर्छ ।”

आफ्नो गाउँघरमा बूढापाकाले मात्र यस्ता चोयाका सामग्री बनाउने गरेको तामाङले बताउनुभयो । यस्ता खालका परम्परागत कामलाई व्यावसायिकीकरण गर्नसके अझ सहज हुने उहाँको भनाइ छ ।

साहित्यिक चौतारीको लुम्बिनी प्रदेश शाखाद्वारा कार्यसमिती विस्तार

नारायण भुसाल/बुटवल – साहित्यिक चौतारी नेपालको लुम्बिनी प्रदेश शाखाले आफ्नो कार्यसमिती विस्तार गरेको छ।नेपाली साहित्यको दीर्घकालीन उत्थान​को लागी स​क्रिय​ रहदै आइरहेको यस संस्थाको लुम्बिनी प्रदेश शाखाले शनिवार एक कार्यक्रम गर्दै आफ्नो कार्यसमिती विस्तार गरेको हो।

चौतारी नेपालका केन्द्रीय कोषाध्यक्ष कमला भन्डारी ढकालले विस्तारित समितिलाई पूर्णता दिँदै समितिको आधिकारिक घोषणा गरेकी थिइन् । विस्तारित समितिको अध्यक्षमा डीआर न्यौपाने ‘सूर्य’, उपाध्यक्षमा सुनिता प्रतिबिम्ब, सचिवमा रमा जैसी, सह-सचिवमा सुरज गिरी, कोषाध्यक्षमा विक्रम वलि ‘नेपाली बाबु’ र सह-कोषाध्यक्षमा बिमल खरेल रहेका छन् । यस्तै समितिको सदस्यहरूमा नारायण भुसाल, रिता खराल, मिरा ज्ञवाली, अतिक्षा भुसाल, दिपक अपरिवर्तन, कृष्ण पाण्डेय, तारस घिमिरे ,जिज्ञासु पौडेल तिलक र आभाष बेसाहारा रहेका छन् ।

कार्यक्रम लुम्बिनी शाखा समितिका नवनिर्वाचित अध्यक्ष न्यौपानेको सभापतित्वमा शुरु भएको थियो । कार्यक्रममा साहित्यकार एवम् केन्द्रीय महासचिव रामप्रसाद सुवेदीको प्रमुख आतिथ्य, सुविख्यात कविर साहित्यकार कमला भन्डारी ढकाल विशिष्ट अतिथिको रुपमा रहेका थिए । यस्तै अतिथिको रुपमा केन्द्रीय सदस्य साहित्यकार गोमविक्रम र संस्थाका सल्लाहकार कवि, अध्येता, अन्वेषक रामचन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाकी नव सदस्य रिता खरालको स्वागत मन्तव्य, सचिव रमा जैसीको कुशल उदघोषण र उपाध्यक्ष सुनिता प्रतिबिम्बको खादा व्याज वितरण रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले संयुक्त रुपमा समिति सदस्यहरूलाई सदस्यता वितरण गर्दै लामो स​म​य​देखि सुस्ताएको लुम्बिनी शाखा अबदेखि नयाँ जोस, जाँगर र उत्साहका साथ निरन्तर अघि बढ्ने आशा व्यक्त गर्दै साहित्यिक चौतारीले कविता, ग​ज​ल, मुक्त​क हाइकु लगायत साहित्यका अधिक विधामा स​न्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्य​क्र​म​ह​रू ग​रेको स्म​र​ण ग​र्दै विस्तारित समितीले लुम्बिनीको साहित्यिक अवस्थालाई अझ धेरै सकृय बनाइ उल्लेख्य काम गरेर आफ्नो कार्यकाललाई उत्कृष्ट पार्दै देश विदेशमा भएका ३९ शाखा मध्येबाट उत्कृष्ट शाखा बन्न पनि सुझाव दिएका थिए ।

यस्तै उक्त कार्यक्रममा उपस्थित करिब दुइ दर्जन स्रष्टाहरूले आफ्नो रचना वाचन गरेका थिए। यस्तै कार्यक्रममा सभापति न्यौपानेले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै यस्तो काम गर्छु भन्दा पनि कामबाटै जवाफ दिने बताए ।

उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैन – उद्योगी

लुम्बिनी, १५ असोज – रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् ।

उद्योगीले आफूहरुको माग र उपभोग पनि नगरेको विद्युत् लाइनको सेवाबापतको महसुल असुल गर्न गरिएको ताकेताप्रति गुनासो गरेका हुन् । उद्योगीहरुको साझा व्यावसायिक संस्था रुपन्देही उद्योग सङ्घले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूहरुले माग नै नगरेको विद्युतु लाइनका बारेमा कुनै जानकारी नदिई २०७२ सालदेखिको बक्यौता भन्दै एक्कासि २०७६ मा बिल आउँदा अचम्म परेको बताए ।

भलबारीका उद्योगी चन्द्रमान श्रेष्ठले ट्रङ्कलाइन उपभोग गरेको भए टिओडी मिटर दिएको हुनुपर्ने र लकसिटमा खपत भएको परिमाण उल्लेख हुनुपर्नेमा त्यो दुवै नभएकाले उद्योगीले उपभोग नै नगरेको लाइनको महसुल तिर्न नसकिने बताउनुभयो ।

उहाँले २०७६ मा आफ्नो उद्योगको नामा रु ४७ लाख बक्यौता देखाइएकोमा अहिले जरिवाना जोडेर रु ६३ लाख पु¥याइएको जनाउँदै उहाँले प्रयोगै नगरेको विद्युत्को महसुल नतिर्ने जानकारी दिनुभयो । रुपन्देही उद्योग सङ्घका निवर्तमान अध्यक्ष बाबुराम बोहराले उपभोग नै नगरेको विद्युत्को महसुल उद्योगीले तिरेनन् भनेर प्राधिकरण र सरकारले दुष्प्रचार गरेको बताउनुभयो ।

“उद्योगीले देखाएका प्रमाण हेर्दा ट्रङ्कलाइन प्रयोग गरेको देखिन्न तर प्राधिकरणले जबर्जस्ती तिराउन खोज्दा उद्योगीको मनोवल गिरेको छ”, उहाँले भन्नुभयो, “बिलको महसुल समयमै भुक्तानी गर्दै आएका उद्योगीमाथि प्राधिकरणले चार वर्षपछि २०७६ फागुनमा सो अवधिको बिल दरमा ६६ दशमलव ६७ प्रतिशत वृद्धि गरी थप महसुल भुक्तानी लिन खोज्नु न्यायसम्मत छैन ।”

समस्या समाधानका लागि विगतमा सङ्घबाट पहल भई मन्त्रिपरिषद्ले २०७७ साउन १९ मा विद्युत् नियमन आयोगलाई विवादको निरुपणका लागि निर्देशन दिइसकेको र आयोगबाट सोमाथि हालसम्म निर्णय विचाराधीन रहेको सङ्घका अध्यक्ष माधव पौडेलले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणको भैरहवा वितरण केन्द्र, नयाँमिल वितरण केन्द्र र बुटवल वितरण केन्द्रले गत भदौ १७ मा बक्यौता विद्युत् महसुल बुझाउन ताकेता गरेर पत्र जारी गरेको र सो पत्रमा बक्यौता रकम तथा सोउपरको जरिवाना २०८० भदौ मसान्तभित्र (एक महिना म्याद थप सूचना जारी भई असोज मसान्तसम्म) नबुझाएमा नियमानुसार कारबाही हुने बताएपछि उद्योगी आन्दोलित भएको अध्यक्ष पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

विद्युत् महसुल विनियमावली २०७३ को विनियम ५ (५) बमोजिम, दैनिक २० घण्टा वा सोभन्दा बढी विद्युत् उपभोग गर्न पाउने गरी निवेदन दिई स्वीकृति भएको उद्योगले मात्र ट्रङ्क लाइन सरहको महसुल बुझाउनु पर्ने व्यवस्था भएको तर रुपन्देहीका उद्योगले त्यस खालको माग, स्वीकृति र खपत नगरेको उहाँले बताउनुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हेर्नुहोस् असोज १५ गते सोमवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।

बृष राशि – सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ ।

मीथुन राशि – पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ ।

कर्कट राशि – मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।

सिंह राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ ।

कन्या राशि – मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ ।

तुला राशि – मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।

बृश्चिक राशि – यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।

धनु राशि – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।

मकर राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि – बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।

सांसदको दायित्व गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन लगाउने हो– नेत्री अग्रहरी

काठमाडौँ, १५ असोज- नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताउनुभएको छ ।सांसदसँग रासस संवादमा उहाँले कतिपय सांसद कानुन निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएको घटनाले आफूलाई अचम्मित तुल्याएको प्रतिक्रिया दिनुभयो । सांसद अग्रहरीले भन्नुभयो, “जनताका प्रतिनिधिका रुपमा सङ्घीय सांसद भएर आएका छौँ, हाम्रो एउटा मात्र दायित्व देशमा गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन सक्दो प्रयासको भूमिका हुनुपर्छ ।”

उहाँसग विभिन्न सङ्घ संस्थामा आबद्ध रही सेवा गरेको तथा २०४७ देखि राजनीतिमा आबद्ध भई राष्ट्रिय महिला मञ्चको अध्यक्ष भएर काम गरेको अनुभव छ । विसं २०७४ निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र २ बाट उहाँ निर्वाचित हुनुभयो । गजेन्द्र नारायणको नेतृत्व रहेको नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य, केन्द्रीय सदस्य, सह–महामन्त्री र उपाध्यक्षसम्म भएर काम गरेको अनुभव उहाँसँग छ ।

विकास निर्माणको प्रमुख जिम्मेवारी रहेको स्थानीय तह र प्रदेशको अधिकारलाई बेवास्ता गर्दै विकास निर्माणमा धाउने प्रवृत्तिले हाँसोको अनुभूति भएको सुनाउँदै उहाँले क्षेत्राधिकारभित्र नपरेको विषयमा भ्याइनभ्याइ लाग्ने काम सुहाउँदो विषय नभएको बताउनुभयो ।सदनमा पुगेपछि जनता र राष्ट्रको उन्नतिका हिसाबले कायपलट गर्छाैं भन्ने सोच लिएको भए तापनि मुलुकको सर्वाेच्च निकाय संसद्मा हुने प्रस्तुति, दोषारोपण गर्ने, होच्याउने र मानमर्दन गर्ने प्रवृत्ति मौलाएकामा आफूलाई चित्त नबुझेको धारणा राख्नुभयो ।

निर्वाचन भएको १० महिना बितिसक्दासमेत एउटाबाहेक विधेयक अघि बढ्न सकेको बताउँदै नेत्री अग्रहरीले सदनलाई विजनेश दिने र विधेयक ल्याउने मुख्य जिम्मेवारी सरकारकै रहेको हुँदा कानुन बनाउने मामिलामा सरकारले आवश्यक चासो नदिएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्र र जनताको चासो एकातिर छ, सरकारको नीति तथा कार्यक्रम अर्काेतर्फ छ, विधेयक पनि दल विशेषको स्वार्थबाट आउँछ, त्यसले सहमति जुटाउने अप्ठेरो हुन्छ ।”सांसदको बोली, व्यवहार र प्रस्तुतिप्रति जनतामा धेरै गुनासो रहेको बताउँदै उहाँले मुलुकको सर्वाेच्च निकायमा बस्ने सांसदले कम्तीमा संस्थाको गरिमालाई बुझेर मात्र आफ्नो अभिव्यक्ति सुझाव दिनुभयो ।

नेत्री अग्रहरीले भन्नुभयो, “सदनको गरिमा नबुझिकन जुन किसिमले जथाभावी बोल्नुहुन्छ, बोलेको विषय फिर्ता लिने र रेकर्डबाट हटाउनुपर्ने अवस्था जनप्रतिनिधिका लागि सुहाउँदो होइन, यो देशका लागि दुर्भाग्य हो, यस्तो प्रवृत्ति देखेर जनता चिन्तित र निराश छन् ।”

संसद्मा प्रतिपक्षले बोलेको कुरा सरकार र सत्तापक्षले हलुका ढङ्गबाट लिने गरेको बताउँदै उहाँले बोल्नका लागि बोल्ने धेरै तथा जिम्मेवारपूर्वक काम गर्ने तथा जनता र राष्ट्रको पक्षमा चिन्तन मनन गर्ने थोरै भएकाले सुशासनको पाटो कमजोर र भ्रष्टाचार मौलाएको अवस्था छ भन्नुभयो ।

भुटानी शरणार्थी, विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिएको प्रकरण तथा ललिता निवास जग्गासँग संलग्न नेतृत्वलाई संरक्षण गरिएको आरोप लगाउँदै सांसद अग्रहरीले जनताले निर्वाचनमार्फत खोजेको सुशासन, विकास र समृद्धिका मुद्दा भने राज्यकै कारण ओझेलमा परेको प्रतिक्रिया दिनुभयो ।

सांसद विकास कोषका सन्दर्भमा अदालतबाट भएको फैसलाको पूर्ण समर्थन रहेको जनाउँदै उहाँले सघीय सांसदको मुख्य जिम्मेवारी भनेको मात्र राष्ट्रको कानुन बनाउनमै केन्द्रित रहनुपर्छ भन्नुभयो ।

सांसद अग्रहरीले भन्नुभयो, “कानुन निर्माणको काम छोडेर अन्यत्र धाउने, जिल्लामा पनि मतदातालाई अलमल्याउने ढङ्गबाट चलखेल गर्ने कार्य गलत छ । सांसदको जिम्मेवारीभित्रको विषय नभएकाले उनीहरुलाई त्यो कोषमार्फत योजना छनोट गर्न दिनुहुन्न ।”उहाँले लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने दल र व्यक्ति भएको नाताले संविधान, नीति, प्रणाली र व्यवस्था ठीक भए पनि यसलाई नेतृत्व दिने र कार्यान्वयन गर्ने पक्षको नियत भने ठीक नदेखिएको विचार प्रकट गर्नुभयो ।

सांसद अग्रहरीले भन्नुभयो, “हाम्रो देशमा नीति, नियम र ऐन ठीक छ, कार्यान्वयन पक्षको नियत भने आजसम्म ठीक देखिरहेको छैन । व्यवस्थामाथि औँला उठाउन सकिन्न व्यक्तिको कार्यशैलीप्रति आँैला ठड्याउन सकिन्छ ।”उहाँले जनतालाई निराश नहुन आग्रह गर्दै भन्नुभयो, “धैर्यता कायम राख्नुस्, सोचेअनुरुप नभए पनि नेपालको भविष्य उज्वल छ, हामी तपाईहरुलाई हाम्रो सदासर्वदा साथ र सहयोग रहन्छ ।”

विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर

ढोरपाटन (बागलुङ), १५ असोज : गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । उहाँ पनि एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किनुभएको हो । उहाँले भन्नुहुन्छ “जीवनको ऊर्जाशील समय विदेशमा बित्यो । अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ । ” बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ । साउदीमा साहुको भेडा चराउने काम गर्नुभएका उहाँ अहिले आफैँ मालिक बन्नुभएको छ ।

अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि विदेशिनुभएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देख्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रसस्त आयआर्जनको स्रोत यही छ । ” चार वर्षदेखि बाख्रापालनमा लाग्नुभएका केसीले गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउनुहुन्छ । विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उहाँको भनाइ छ ।

“पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ”, उहाँ भन्नुहुन्छ, “विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो ।”

उहाँले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गर्नुभएको छ । स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ व बाख्रा छन् । खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब रु १५ लाख लगानी उहाँले गर्नुभएको छ । अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उहाँले बताउनुभयो । एउटा बोकाको रु २० देखि ३० हजारसम्म बिक्री हुने उहाँको भनाइ छ ।

उहाँले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गर्नुभएको छ । खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या भएको उहाँ बताउनुहुन्छ । कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ ।उहाँले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभँेडा खेती सुरु गर्नुभएको छ । वडा कार्यालय र गाउँपालिका कार्यालयले रु ५०÷५० हजार अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसी बताउनुहुन्छ । अहिले बाख्राको सङ्ख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ । करिब दुई सय बाख्रा पाल्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्न पाइएको छ, सञ्चो बिसञ्चो हुँदा तातोपानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोहीअनुसारको वातावरण तयार गरि दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु ।”

 इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू फर्किए

 

काठमाडौँ- यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फर्केका छन् । यस वर्ष यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको थियो ।  असोज १० गते काठमाडौँ आइपुगेका पाहुनाहरू जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन्  । आमन्त्रित विदेशी अतिथि (१६ वटा भगिनी सम्बन्ध र नौवटा अन्तरराष्ट्रिय सङ्घसंस्था) मध्ये यस वर्ष तीनवटा देश (चीन, अमेरिका र दक्षिण कोरिया) का पाँचवटा नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए । यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चारवटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए । उनी सबै स्वदेश फर्किसकेका छन् । त्यसैगरी काठमाडौँ महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन् । इन्द्रजात्राको अवसरमा चित्रकला प्रदर्शनीकाठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको बारेमा थप जानकारी गराउने उद्देश्यसहित यही असोज १३ देखि २३ गतेसम्म कला प्रदर्शनी सुरु गरेको छ ।नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा ११ दिनसम्म सञ्चालन हुने प्रदर्शनीअन्तर्गत असोज १२ गते विशेष प्रदर्शनी गरेर जात्रामा आएका पाहुनाहरूलाई अवलोकन गराइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । छोटो अवधिका लागि आएका अतिथिलाई काठमाडौँका सबै ठाउँमा घुम्न लैजान कठिन भएकाले, उपत्यकाको प्रकृति र संस्कृतिका विषयमा कलाकारले कोरेका तस्बिर प्रदर्शनी गरिएको उहाँले जानकारी दिनुभयो ।परिषद्मा ४५ जना कलाकारका ६१ वटा चित्र प्रदर्शनमा राखिएका छन् । जीवनका अनुभूतिहरू, प्रकृति र सम्पदाको गरिमा, भैरव र शिवका अभिव्यक्तिहरू रङको प्रयोगबाट गरिएको जीवन्त प्रस्तुति प्रदर्शनको मुख्य विशेषता रहेका छन् । ऐतिहासिक इन्द्रजात्रा यही असोज ९ गते वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवत्रूपमा सुरुआत भएको थियो । त्यसैगरी १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा चलाइएको थियो । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम गरी जात्रा यस वर्षका लागि सकिने छ ।  जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ । भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ । 

वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव

काठमाडौं । नेपाल वायुसेवा निगमलाई उकास्नका लागि सरकारले पुँजी थपी आवश्यक मात्रामा जहाज थप्नुपर्ने आवश्यकता वोध गरिएको छ । निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले विभिन्न आठवटा क्षेत्रमा अध्ययन गरी सो आवश्यकता वोध गरिएको हो ।

नेपाल सरकारको पूर्ण स्वामित्व रहेका वाणिज्य बैंकहरुलाइ विगतमा थप पुँजी लगानी गरी दिएजस्तै निगमलाई प्रतिस्पर्धीहरुबीच प्रतिस्पर्धी लाभ अवस्थामा पु¥याउन सरकारले पुँजी थपि दिनुपर्ने सुझाव समितिको दिएको छ ।

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको समितिको अध्ययन अनुसार निगमको संचित कुल ऋण रु ४८ अर्ब ३ करोड छ। निगमले कुल ऋणको करिव १० प्रतिशत भन्दा बढीको दरले ब्याज खेपिरहेको छ । यो ऋणभारलाई घटाउन निगमले व्यापार बृद्धि गरी ऋणभार घटाउने र सहुलियत ब्याजदरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

समितिले बजार माग अनुसारको सीट आपूर्ति गर्न निगमले स्टोल, ट्रैक र अन्तर्राष्ट्रिय रुटमा चल्ने जहाजहरू थप्नुपर्ने आवश्यकता अध्ययनले औंल्याएको छ । सरकारले पुँजी थपिदिनेका अलावा निगमको नाममा रहेको सोल्टी होटलको शेयर विक्रि गरेर भए पनि जहाज थप्नुपर्ने सुझाव समितिको रहेको छ ।

सोल्टी होटल लिमिटेडमा रहेको निगमको १ करोड ३ लाख ३३ हजार ६ सय ९९ कित्ता शेयर बेचेर आर्थिक स्रोतको जोहो गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त शेयरको बजार मूल्य प्रतिवेदन तयार गर्दासम्ममा प्रति कित्ता रु।४४३ रहेको छ ।

जसको कूल बजार मूल्य रु ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ हुन आउँछ । सोल्टी होटल लिमिटेडको उक्त शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिने सम्भावनालाई समितिले औंल्याएको हो । अहिले शेयरको मुल्य घटेसँगै सोल्टीको शेयरमुल्य पनि घटिसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

आयल निगमको स्वचालित मुल्य प्रणालीमा फेरि ब्रेक

काठमाडौं । खाना पकाउने ग्याससहित सबै इन्धनको मूल्य बढाएपछि चौतर्फी आलोचना खेपेको नेपाल आयल निगमले मूल्यवृद्धि फिर्ता गरेको छ । मूल्यवृद्धि फिर्ता लिने निर्णयले आम उपभोक्तालाई राहत भएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएको भन्दै निगमले स्वचालित मूल्य प्रणाली अनुसार भाउ बढाएको थियो । चाडपर्वको मुखमा मूल्यवृद्धिको उपहार दिएको भन्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा निगमले बढेको मूल्यलाई स्थगित गर्दै पुरानो मूल्यलाई नै कायम गरेको हो ।

निगमले खाना पकाउने ग्यास सिलिन्डरमा दुई सय १५ रूपैयाँ मूल्य बढाएको थियो । ग्यासको मूल्य २१ सय १० रूपैयाँ पुगेको थियो । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रूपैयाँ, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन प्रतिलिटर आठ रूपैयाँ बढाएको थियो ।

काठमाडौं उपत्यकामा डिजेल र मट्टितेल लिटरको एक सय ७९ रूपैयाँ, पेट्रोल एक सय ८५ रूपैयाँ पुगेको थियो । मूल्य बढाउने निर्णयबाट पछि हटेपछि अब उपभोक्ताले साविककै मूल्य अनुसार ग्यास सिलिन्डर १८ सय ९५ रूपैयाँ, पेट्रोल लिटरको एक सय ८३ र डिजेल एक सय ७६ रूपैयाँमा प्रयोग गर्न पाउने छन् ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलको ४ रूपैयाँ ८२ पैसा, हवाई इन्धन ६ रुपैयाँ ५४ पैसा र खाना पकाउने ग्यास सिलिन्डरको एक सय ७३ रूपैयाँ ४५ पैसा बढेर आएको थियो। मूल्य बढेर आए पनि अहिले उपभोक्तालाई राहत दिन साविकको मूल्य कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय मूल्यका आधारमा मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने भन्दै निगमले गत साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागु गरेको थियो । शनिबार मूल्य बढाएको निगमले सरकारको हस्तक्षेपपछि आइतबारदेखि स्वचालित मूल्य प्रणालीलाई नेक लगाएको हो । यो समाचार नागरिक दैनिकमा छ ।

जनताको कुरा प्रत्यक्ष सुन्न र समाधान गर्न जागरण अभियान : अध्यक्ष नेपाल

झापा-नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पु¥याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु गरिएको बताउनुभएको छ ।

पूर्वी नाका काँकरभिट्टाबाट आईतबारबाट सुरु गरिएको एकीकृत समाजवादी जागरण अभियान २०८० मेची–महाकाली यात्राको उद्घाटन गर्दै उहाँले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य ध्येयले जागरण अभियान सुरु गरिएको बताउनुभयो ।

जनताको चाहना र भावनालाई सम्बोधन गरी विशाल हृदयका साथ सबैलाई साथमा लिएर एकताबद्ध बनाएर अगाडि बढ्ने पक्ष उहाँको भनाइ थियो । अध्यक्ष नेपालले भन्नुभयो, “समाजवादी जागरण अभियानमार्फत देशभक्तिको झन्डा फहाराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाका निम्ति लड्ने र संविधानलाई बलियो बनाउनका लागि जनतामा जागरण पैदा गर्नेछौँ ।”

देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीहरूमा हुर्किरहेकाले यसको अन्त्य गर्न आवश्यक रहेको उहाँको धारणा थियो । उहाँले राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अनेकौँ व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएका कारण पार्टीले अभियान सुरु गरेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक क्षेत्र दिशाहीन हुँँदै जाँदा व्यापार घाटा बढ्नाका साथै महँगी बढेर देशमा आर्थिक सङ्कट चरम रूपमा पुग्दासमेत सरकारले नियन्त्रण गर्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले वर्तमान अवस्थामा राष्ट्रियता नै ठूलो सङ्कटमा गुज्रिएको, विदेशी हस्तक्षेप बढेको, देशको सिमानाको संरक्षण गर्न नसक्ने अवस्थामा सरकार पुगेको बताउनुभयो । वरिष्ठ नेता खनालले पार्टी र जनतालाई बलियो बनाउने विश्वासका साथ अभियान सञ्चालन गरिएको बताउनुभयो ।

पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कट चुलिँदै गएको अवस्थामा पार्टीले आयोजना गरेको अभियानले नयाँ दिशानिर्देश गर्न सक्ने बताउनुभयो । उहाँले अभियान एक/दुई दिनको मात्र नभएर युवालाई यही मुलुकमा रोजगारी सिर्जना नभएसम्म जारी रहने बताउनुभयो । उहाँले यात्राकै कारण मुलुकमा कुनै पनि सदस्यलाई भविष्यमा भ्रष्ट र गैरजिम्मेवार हुनबाट रोक्ने समेत विश्वास व्यक्त गर्नुभयो ।

महासचिव भुसालले पहिलो चरणमा मेचीबाट सुरु गरिएको अभियान सुर्खेत पुगेर यही असोज २९ गते सकिने जानकारी दिनुभयो । एक हजार दुई सय किलोमिटरको यात्रामा प्रत्यक्षरूपमा जनताको समस्या बुझ्ने र सम्वादको माध्यमबाट युवालाई कार्यक्रम बनाएर रोजगारीतर्फ लैजाने उहाँको भनाइ छ ।

कार्यक्रम सुरु हुनुअघि विभिन्न जातजातिका झाँकीसहित निकालिएको ¥यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष, सचिव, केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्यको सहभागिता रहेको थियो ।

शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ ।

महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले सहमति दिएको छ । राहत दरबन्दीमा रहेका ४१ हजार ३ सय ४४ शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्दा र कर्मचारी सञ्चय कोषको हुन आउने दायित्व करिब १५ अर्ब १५ करोड रहने छ ।त्यसमा २१ हजार २ सय १५ प्रावि शिक्षक, ९ हजार ४ सय ३४ निमावि, ६ हजार ७ सय ५१ जना मावि र ३ हजार ९ सय ४४ जना उमावि शिक्षक छन् । त्यसै गरी कुल दरबन्दीको प्रत्येक एक दशकमा करिब ४० प्रतिशत शिक्षक बढुवा गर्दा बजेट वृद्धि गर्नुपर्ने अवस्था आउने छ ।मन्त्रालयले उक्त शीर्षकमा करिब १ अर्ब १२ करोड रुपियाँ थप भार पर्ने अनुमान गरिएको छ । जनआन्दोलन घाइने तथा द्वन्द्वपीडित शिक्षकहरूको उपदान तथा निवृत्तिभरण शीर्षकमा ३० करोड खर्च हुने अनुमान छ । सो प्रकृतिका करिब ५ सय शिक्षक कार्यरत छन् ।उनीहरूलाई जनही ६ लाखको दरले बजेट विनियोजन गर्नुपर्ने छ । शिक्षा मन्त्रालयका योजना महाशाखाका प्रमुख डा। हरि लम्सालले विधेयक कार्यान्वयन गर्न र महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब बजेट लाग्ने बताउनुभयो ।उहाँका अनुसार सम्झौता कार्यान्वयन गर्दा बजेट बढेको हो । तथ्यांकअनुसार २७ हजार ८ सय ९० विद्यालय कार्यालय सहयोगीको प्रथमस्तरको तलब उपलब्ध गराउन करिब ८ अर्ब ९५ करोड रुपियाँ अनुमान गरिएको छ । ७ हजार १ सय ७८ विद्यालय कर्मचारी कार्यरत छन् ।उनीहरूलाई खरिदार स्तरको विद्यालय सहायकमा परिणत गरी तलब व्यवस्था गर्न लागेको हो । महासंघसँग भएको सम्झौतामा सबैलाई स्थायी कर्मचारीका रूपमा नियुक्ति दिइने उल्लेख छ । ३० हजार ४ सय ८८ बालविकास केन्द्रका सहजकर्ताको न्यूनतम पारिश्रमिक प्रावि शिक्षकसरह उपलब्ध गराउने सम्झौता भएको छ ।उक्त सम्झौताअनुसार बालविकास केन्द्रका सहजकर्ताका लागि १३ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । हाल देशभरका बालविकास सहजकर्ताको तलब करिब १० देखि १४ हजार रुपियाँ मात्र छ । त्यस्तै, ३ सय ३८ जना ५ वर्ष पूरा गरेका मावि तह प्रथम श्रेणीको शिक्षकलाई विशिष्ट श्रेणीमा बढुवा गर्न थप बजेट व्यवस्था गर्नुपर्छ । उक्त शीर्षकमा ८ करोड ८३ लाख रुपियाँ थप भार पर्ने भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

बजार अनुगमनमा ९८ प्रतिशत व्यावसायिक फर्ममा भेटियो कैफियत

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । विभागले २०८० साउनदेखि २०८१ असोज १२ गतेसम्म उपत्यकामा अनुगमन गरेका एक हजार १४६ व्यावसायिक फर्मको अनुुगमन गरेकामा २६ वटा बाहेक सबैमा कुनै न कुनै कैफियत भेटिएको हो
विभागका अनुसार यस अवधिमा अनुगमन गरेकामध्ये ३४७ व्यावसायिक फर्मलाई न्यूनतम पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिबाना गरी ९२ लाख २५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ भने उपभोग्य म्याद सकिएका सामान बिक्री गरेका ३४ वटा व्यवसायी फर्मबाट एक करोड एक लाख ९० हजार रुपियाँ बराबरको सामान नष्ट गरेको विभागका निर्देशक एवं सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए ।

विभागका अनुसार यस अवधिमा अनुगमन गरिएका व्यावसायिक फर्ममध्ये ३३२ वटा व्यावसायिक फर्मलाई आवश्यक सुुधारका लागि निर्देशन दिइएको छ, जसमा ७५ प्रतिशत व्यावसायिक फर्मलाई व्यवसाय दर्ता नवीकरणको निर्देशनसहित स्पष्टीकरण तथा बयानका लागि आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा एक हजार १४६ वटा व्यावसायिक फर्मको अनुुगमन भएकामा २६ वटा व्यावसायिक फर्म सामान्य अवस्थामा रहेका छन् ।

विभागका निर्देशक पोखरेलले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासु पसल, औषधी, मिठाई पसल तथा होटललगायत क्षेत्रमा अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्री वितरण भइरहेको, न्यून गुणस्तर, लेबल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएको जानकारी दिए । अहिले विभागले दैनिक औसत ३५ व्यावसायिक फर्ममा अनुगमन गरिरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

अर्थतन्त्र सुधार गर्न सरकार कुनै कसर बाँकी राख्दैन : अर्थमन्त्री महत

बारा- अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ मा ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सञ्जीवनी वाटिकाका नवनिर्मित भवनको उद्घाटन तथा ज्येष्ठ नागरिकहरूको सम्मान कार्यक्रममा उहाँले देशमा उत्पन्न हरेक आर्थिक सङ्कटलाई हल गर्ने गरी काम अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

नाकाहरूलाई व्यवस्थित गर्न बन्द उद्योगहरूलाई सञ्चालनमा ल्याउने, उद्योग व्यापारलाई वृद्धि गर्न, उत्पादन बढाउन, राजस्व चुहावटलाई रोक्न, शेयर बजारलगायतका कामहरू सरकारले तदारुकताका साथ अगाडि बढाइरहेको भन्दै अर्थमन्त्री महतले देशको अर्थतन्त्र लयमा आएको बताउनुभयो । 

अहिले केही व्यक्ति विशेषले नेपालमा अर्थतन्त्र खस्केको भन्ने भ्रामक प्रचारबाजी गरी विदेशीहरूलाई नेपालमा लगानी गर्न नदिनेसम्मको भ्रम छर्ने गरेको भन्दै उहाँले उनीहरूले भनेजस्तो नेपालको अर्थतन्त्र कमजोर नरहेको र पहिलाभन्दा अहिले धेरै सुधार भएको बताउनुभयो । कोभिडको बेलाको कुरा गरेर अहिले भ्रम छर्नु गलत रहेको भन्दै त्यस्ता अफवाहको पछाडि नलाग्न सबैलाई मन्त्री महतले आग्रहसमेत गर्नुभयो । 

फरक प्रसङ्गमा मन्त्री महतले बारामा द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो निर्माणका लागि सरकार लागिरहेको बताउनुभयो । सरकारले सुक्खा बन्दरगाहमा परेको जग्गाको मुआब्जा चाँडै दिने भन्दै उहाँले त्यसका लागि अब भन्सार बन्द गरेर आन्दोलन गर्ने दिनको अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो । 

तामागढी, सिम्रौनगढ सडकखण्डमा परेको जग्गाको मुअब्जा पनि सरकारले चाँडै वितरण गर्ने मन्त्री महतले जानकारी दिनुभयो । जिल्लामा नागरिकहरूलाई भारततर्फ जान र भारतबाट नेपाल आउनका लागि भोग्नुपर्ने समस्याको समाधानका लागि चाँडै नै आवश्यकता हेरी जिल्लामा भन्सारको व्यवस्था गर्ने मन्त्री महतले स्पष्ट गर्नुभयो ।  

देशबाट पलायन हुने युवाहरूलाई देशमा नै रोजगारीको सृजना गर्ने बताउँदै मन्त्री महतले नेपालमा आर्थिक रूपान्तरणको ठूलो सम्भवना रहेको जानकारी दिनुभयो । व्यापार, उद्योग दर्ता गर्नका लागि सरकारले शुल्क नलिने पनि मन्त्री महतले उल्लेख गर्नुभयो । 

स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे

अन्नपूर्ण (कास्की), १५ असोज- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताउनुभएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले सामूहिक रुपमा काम गर्नुपर्दछ भन्नुभयो । गण्डकी प्रदेशमा गत साता लमजुङ र पोखराको मनिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको घटना अप्रिय भएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । “पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता बढ्दै गएको छ । अस्पताल तोडफोड गर्न अनि चिकित्सकमाथि हातपात गर्न पाइँदैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “चिकित्सकबाट कमजोरी नै हुन्न भन्ने छैन्, कमजोरी हुनसक्छ । चिकित्सकले सबैलाई बचाउन सक्दथे भने सबै चिकित्सक बाँच्थे होला नि ।”

स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पेसामा लाग्ने सबैको सुरक्षाको जिम्मा सरकारको हो । त्यो हामी लिन्छौँ ।” प्रदेशको स्वास्थ्य क्षेत्रमा समस्या रहेको औंल्याउँदै समाधानको पाटो खोज्नु सबैको सामूहिक दायित्व रहेकामा जोड उहाँले जोड दिनुभयो ।आफ्नो पालामा तीन सय ६५ श्यया सङ्ख्यालाई बढाएर सात सय ३५ बनाएरै छाड्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाउनुभयो । क्यान्सर पीडितका लागि भरतपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर सहुलियत उपचारको प्रक्रियाअघि बढेको उहाँले बताउनुभयो ।सोही कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले सरकार र निजी अस्पतालबीच समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले जो पीडित छ पहिला उसैको उपचार निःशुल्क गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गाडी चढेर सुट लगाएर आउनेलाई गरिबको छुट नदिई एकपटक आफू गरिब निमुखा भएर हेरेर गरिबले पाउने सेवा सुविधा दिनुपर्दछ ।”सोमबारसम्म चल्ने समीक्षामा प्रदेशको ११ वटै जिल्लाको स्वास्थ्य प्रमुख पोखरा आएका छन् । उनीहरूले आफ्नो प्रतिवेदन पेस गरी त्यसमा छलफल गरिने आयोजकले जानकारी दिएको छ ।

जनताको कुरा सुन्न र समाधान गर्न जागरण अभियान : अध्यक्ष नेपाल

झापा, १४ असोज : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पु¥याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु गरिएको बताउनुभएको छ ।

पूर्वी नाका काँकरभिट्टाबाट आजदेखि सुरु गरिएको एकीकृत समाजवादी जागरण अभियान २०८० मेची–महाकाली यात्राको उद्घाटन गर्दै उहाँले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य ध्येयले जागरण अभियान सुरु गरिएको बताउनुभयो ।

जनताको चाहना र भावनालाई सम्बोधन गरी विशाल हृदयका साथ सबैलाई साथमा लिएर एकताबद्ध बनाएर अगाडि बढ्ने पक्ष उहाँको भनाइ थियो । अध्यक्ष नेपालले भन्नुभयो, “समाजवादी जागरण अभियानमार्फत देशभक्तिको झन्डा फहाराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाका निम्ति लड्ने र संविधानलाई बलियो बनाउनका लागि जनतामा जागरण पैदा गर्नेछौँ ।”

देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीहरूमा हुर्किरहेकाले यसको अन्त्य गर्न आवश्यक रहेको उहाँको धारणा थियो । उहाँले राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अनेकौँ व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएका कारण पार्टीले अभियान सुरु गरेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक क्षेत्र दिशाहीन हुँँदै जाँदा व्यापार घाटा बढ्नाका साथै महँगी बढेर देशमा आर्थिक सङ्कट चरम रूपमा पुग्दासमेत सरकारले नियन्त्रण गर्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले वर्तमान अवस्थामा राष्ट्रियता नै ठूलो सङ्कटमा गुज्रिएको, विदेशी हस्तक्षेप बढेको, देशको सिमानाको संरक्षण गर्न नसक्ने अवस्थामा सरकार पुगेको बताउनुभयो । वरिष्ठ नेता खनालले पार्टी र जनतालाई बलियो बनाउने विश्वासका साथ अभियान सञ्चालन गरिएको बताउनुभयो ।

पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कट चुलिँदै गएको अवस्थामा पार्टीले आयोजना गरेको अभियानले नयाँ दिशानिर्देश गर्न सक्ने बताउनुभयो । उहाँले अभियान एक/दुई दिनको मात्र नभएर युवालाई यही मुलुकमा रोजगारी सिर्जना नभएसम्म जारी रहने बताउनुभयो । उहाँले यात्राकै कारण मुलुकमा कुनै पनि सदस्यलाई भविष्यमा भ्रष्ट र गैरजिम्मेवार हुनबाट रोक्ने समेत विश्वास व्यक्त गर्नुभयो ।

महासचिव भुसालले पहिलो चरणमा मेचीबाट सुरु गरिएको अभियान सुर्खेत पुगेर यही असोज २९ गते सकिने जानकारी दिनुभयो । एक हजार दुई सय किलोमिटरको यात्रामा प्रत्यक्षरूपमा जनताको समस्या बुझ्ने र सम्वादको माध्यमबाट युवालाई कार्यक्रम बनाएर रोजगारीतर्फ लैजाने उहाँको भनाइ छ ।

कार्यक्रम सुरु हुनुअघि विभिन्न जातजातिका झाँकीसहित निकालिएको ¥यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष, सचिव, केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्यको सहभागिता रहेको थियो ।

‘सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्सना पोख्ने प्लेटफर्म बनाइयो’

काठमाडौँ, १४ असोज : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि त्यसको चरम दुरूपयोगले समाजलाई गाँजेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो । लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी सबै ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भर्त्सना पोख्ने प्लेटफर्ममा विकास हुँदै गएकामा पुनले चिन्ता व्यक्त गर्नुभयो । उहाँले कतिपय अवस्थामा मूलधारका सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशाली देखिने गरेको भन्दै फिल्टर नगरिएका मिथ्या र सूचनाका कारण व्यक्ति, राज्य र समूहहरूप्रति भ्रम पैदा हुने गरेको बताउनुभयो ।

“कतिपय अवस्थामा मूलधारका सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशालीजस्तो हुने गरेको छ । व्यक्तिव्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्महरू छन्”, काठमाडौँको वनस्थलीमा आज हाम्रो एकता खेलकुद क्लबद्वारा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रविधिले समाजलाई पत्रिका, रेडियो, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट मोबाइल भए पुग्ने अवस्थामा ल्याएको छ । तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्नसक्ने समाज हाम्रो बनेको छैन ।”

सामाजिक सञ्जालमा भेटिएका सबै सूचना सत्य ठान्ने प्रवृत्तिले समाजलाई असहिष्णुतातिर धकेलेको तथा व्यक्ति, समाज र राज्यका बारेमा एकाङ्गी धारणाको विकास हुने अवस्था सृजना हुन थालेको उहाँको निष्कर्ष छ ।

आलोचना गरेकै कारण नागरिकहरूलाई प्रविधिको उपयोगबाट रोक्ने नभई राजनीतिक दल र सरकारले एकाङ्गी बन्नबाट जोगाउन सक्नुपर्ने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले निकै ठूलो राजनीतिक सङ्घर्षको बलमा प्राप्त गणतन्त्र र सङ्घीयता संस्थागत गर्दै युवाहरूलाई देशभित्रै भविष्य देखाउन परिवर्तन संस्थागत गर्ने प्रयासमा आफ्नो दल र आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केन्द्रित रहेको बताउनुभयो ।

जो कोही मुछिने अवस्था आए पनि सुशासनका लागि थालेको भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने नेता पुनले स्पष्ट पार्नुभयो । “माओवादी केन्द्रको मुख्य एजेन्डाका कारणले सबै राजनीतिक दलले स्वीकार गरेर आजको परिवर्तन सम्भव भयो । यसलाई परिमार्जन, सुदृढ र संस्थागत गर्ने जिम्मा पनि माओवादी केन्द्रकै रहेको छ । प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धिका साथै सामाजिक न्यायको कामलाई अगाडि बढाएको छ । सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध चलाएको अभियान जो कोहीतिर सुई सोझिए पनि रोकिँदैन”, उहाँले भन्नुभयो ।

आफ्नो दलसँग असहमत दल, व्यवसायी वा समूहप्रति पूर्वाग्रहपूर्ण व्यवहार गर्न नहुनेमा पार्टी र सरकार स्पष्ट रहेको पुनले बताउनुभयो । सरकार र पार्टीका तर्फबाट भए गरेका काम कारबाहीका बारेमा जानकारी गराउन माओवादी तीनमहिने अभियान लिएर गाउँगाउँ गएको उहाँले उल्लेख गर्नुभयो । उहाँले जनताबाट आफ्ना कमजोरी पत्ता लगाउने र विगतका कमजोरी सच्याएर पार्टीलाई नयाँ बनाउने अभियानमा आफूहरू रहेको बताउनुभयो ।

लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौँ, १४ असोज : लक्की मिडिया हाउसको आयोजनामा यही असोज २५ गते ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ प्रदान गरिने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ पत्रकार सम्मेलन गरी जनाएको हो ।

मोफसलमा रहेर पनि नेपाली सिनेजगत्को संरक्षण र जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ मोफसलबाट पहिलो पटक अवार्ड आयोजना गर्न लागिएको हो । अवार्डका लागि आयोजकले आज उत्कृष्ट पाँचमा मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ । जसमध्ये उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।

काठमाडौँबाट आज मनोनयनमा पर्न सफल १० विधाको सार्वजनिक गरिएको हो । उक्त १० विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डको आयोजना यही असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीहरूको साथमा भव्य रुपमा कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

अवार्डको निर्णायक मण्डलमा वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहनुभएको छ भने सदस्यहरूमा वरिष्ठ रङ्ग पत्रकार एवं गीतकार शान्तिप्रिय एवं वरिष्ठ रङ्ग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर रहनुभएको छ । विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सरकारी साक्षीका रुपमा गलत बयान दिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा गलत बयान दिएको अभियोगमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरि लामाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिवादी योगेन्द्र ढुङ्गेल विरुद्धको मुद्दामा सरकारी साक्षीको रुपमा रहेका लामाले गलत वकपत्र गरेको पाइएपछि आयोगले रु एक लाख ५० हजार बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । त्यस्तै आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँका नायबसुब्बा प्रमोद पाण्डे प्रतिवादी रहेको एक भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि गलत बयान दिएको पाइएपछि आयोगले दैलेख नमौमुले गाउँपालिकाका देवबहादुर थापा विरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

विशेष अदालतमा रहेको मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका थापाले गलत बयान दिएको आयोगको आरोप छ । आरोपीलाई कैद र रु ३० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
–––

पेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवाना

काठमाडौँ १४ असोज : पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई रु दुई लाख जरिवाना गरेको छ । कामपाले आज गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाही स्वरुप रु दुई लाख जरिवाना गरिएको कामपा कृषि तथा पशुपन्छी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।

प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो । उक्त जरिनावा रकम आगामी एक साताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ । तोकिएको समय सीमाभित्र जरिवाना रकम नबुझाए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले स्पष्ट पारेको छ ।अनुगमन टोलीले उक्त कम्पनीलाई बजारमा लगिएका सामग्री फिर्ता लैजाने व्यवस्था गर्न, ब्याकिङपछि रसायनिक, भौतिक दुवैतर्फ गुणस्तर कायम गर्न, एकपटक बजार लगिएका सामग्री पुनःउत्पादन भए पुनःपरीक्षण गरी निर्देशन दिएको छ ।चालु आर्थिक वर्षमा कामपाले स्वास्थ्य क्षेत्रका लागि रु ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइ राख्नका लागि रु तीन करोड ५० लाख रहेका छ ।बजारलाई थप व्यवस्थित गर्न कामपाले गत साउन महिनाभित्र अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतमा वर्षहरूमा कामपाले चाडवाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमी रूपमा गरिएको अनुगमनको कामले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले कामपाले चाडवाड सुरु हुनु केही महिना अघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ ।

आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

काठमाडौँ, १४ असोज : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी प्रतिस्पर्धी बनाउन निगम सुधार सुझावका लागि गठित समितिले सुझाएको छ ।नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको एक सय ९० पृष्ठको प्रतिवेदनमा निगममा थप पूँजी लगानी गरी प्रतिस्पर्धी बनाउन सुझाव दिएको हो ।

“आवश्यक परेका बेला अन्तर्राष्ट्रिय विमान कम्पनीलाई विशेष परिस्थितिमा सम्बन्धित सरकारले पूँजी उपलब्ध गराएको दृष्टान्त पनि छ । यसैलाई मध्यनजर गरी नेपाल सरकारको पूर्ण स्वामित्व भएको निगममा थप पूँजी लगानी गरी निगमलाई प्रतिस्पर्धीबीच प्रतिस्पर्धी लाभ व्यवस्थामा पु¥याउनुपर्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

विसं २०१५ मा रु ३८ लाख लगानीबाट सुरु भएको निगमको आर्थिक वर्ष २०७८÷०७९ सम्म आइपुग्दा रु चार अर्ब ९० करोड ऋणात्मक पूँजी रहेको छ ।

निगमको सञ्चित कूल ऋण ४८ अर्ब तीन करोड छ । निगमले कूल ऋणको करिब १० प्रतिशतभन्दा बढीको दरले ब्याज खेपिरहेको छ । यो ऋणभारलाई घटाउन निगमले व्यापार वृद्धि गरी सहुलियत ब्याजदरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ ।

नेपाल सरकारको स्वामित्व भएको वाणिज्य बैंकमा नेपाल सरकारले थप पूँजी लगानी गरेपछि ती बैंकको समग्र स्थितिमा सुधार भएको दृष्टान्त रहेकाले निगमलाई पनि सोही मोडलमा लगानी गर्नुपर्ने सुझाइएको छ । पूर्वगभर्नर क्षेत्री संयोजक रहेको पाँच सदस्यीय समितिमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टीकाराम राई र सहारा न्यौपाने सदस्य रहनुभएको थियो ।

निगमको वर्तमान अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भनी मन्त्रिस्तरीय निर्णयबाट पूर्वगभर्नर क्षेत्री संयोजक रहेको ‘नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ गठन गरिएको थियो ।

समितिलाई विभिन्न आठ वटा क्षेत्रमा अध्ययन गरी सुधारका लागि सिफारिस पेश गर्न कार्यादेश प्रदान गरिएको थियो । तीमध्ये दुई प्रमुख व्यवस्थापन र संरचनागत सुधार, व्यवस्थापन सुधारअन्तर्गत मुख्यरूपमा पूँजी, ऋण अनुदान अवस्था, सञ्चालनमा रहेको विमान, भूमिस्थ सेवा, ऋण उठाउने, बजार व्यवस्थापन, मानव संसाधन आदिबारे प्रतिवेदनमा संलग्न भएको छ । संरचनागत सुधारमा मुख्यरूपमा निगमको विभाजन, कार्यकारी प्रमुखको नियुक्ति, थप विभाग, नियामक निकायसँगको सम्बन्ध र ऐनमा संशोधन आदि प्रतिवेदनका हिस्सा रहेका छन् ।

बजार मागअनुसार सीट आपूर्ति गर्न निगमले स्टोल, ट्रक र अन्तर्राष्ट्रिय रुटमा चल्ने जहाज थप्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ । भूमिस्थ सेवा सञ्चालन गर्न निगमलाई नै दिनुपर्ने पनि उल्लेख गरिएको छ । त्यसैगरी निगमको प्रमुख कार्यकारी नियुक्ति राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक भएको समितिले निर्धारण गरेको छनौट विधिअनुसार खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने, त्यसका लागि ऐन संशोधन गरी उक्त प्रावधान राख्नुपर्ने प्रतिवेदने सुझाएको छ । आधुनिक व्यवस्थापन विधि प्रयोगमा ल्याउन व्यवस्थापन करारको पद्धत्ति अँगाल्न पनि प्रतिवेदनमा भनिएको छ ।अर्को विकल्पमा निगमलाई कम्पनीको मोडलमा लगी रणनीतिक साझेदारसहित कम्पनी सञ्चालन गर्नसमेत समितिले सुझाएको छ ।

लिबियाबाट इटालीका लागि १० वर्षपछि पहिलो व्यावसायिक उडान सुरू

करिब १० वर्षको अन्तरालपछि लिबिया र इटालीबीच सिधा उडान पुनः सुरू भएको छ । रोमका लागि उडेको एक विमानले लिबियाको राजधानी त्रिपोलीमा शनिबार उडान भरेको हो ।सन् २०१४ को डिसेम्बरमा, युरोपेली आयोगले सुरक्षाको कारण देखाउँदै लिबियाका सबै एयरलाइन्सलाई युरोपेली हवाई क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाएको थियो ।

लिबियास्थित मेडस्की एयरवेजले त्रिपोलीको मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलबाट रोमको लियोनार्डो दा भिन्ची–फियुमिसिनो अन्तर्राष्ट्रिय विमानस्थलका लागि १० बर्षपछि पहिलो उडान भरेको हो ।

मेडस्की एयरवेजले आफ्नो फेसबुकमार्फत् सार्वजनिक जानकारीमा शनिबार र बुधबार त्रिपोली र रोमबीच दुईतर्फी उडान गर्ने घोषणा गरेको छ ।

यसैबीच, लिबियाको यातायात मन्त्रालयले दुई देशका नागरिक उड्डयन प्राधिकरणले नागरिक उड्डयन सहयोग र हवाई यातायातसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ ।त्रिपोलीमा भएको यस सम्झौताले दुई देशका वायुसेवा कम्पनीलाई चार्टर र नियमित उडान सञ्चालन गर्न सहजीकरण र प्रोत्साहन गर्ने मन्त्रालयले जनाएको छ ।

ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, १४ असोज : राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही गर्न, ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभवलाई अन्तरपुस्तान्तरण गरी सम्मान गर्न सबैलाई अपिल गरेको छ । सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे ‘विश्वव्यापी घोषणा गरिएका वाचाहरू पूरा गरौँ’ भन्ने नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विश्वभर आज मनाइँदैछ ।

सोही अवसरमा आयोगले ज्येष्ठ नागरिकलाई प्राप्त हुने सबै प्रकारका सेवा उपलब्ध गराउन, सेवा प्रवाहमा प्राथमिकता दिन, ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति ध्यान दिन आग्रह गरेको हो ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनको उचित कार्यान्वयनका लागि कार्य गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संस्थाहरू तथा सरोकारवाला सबैलाई अपिल गरिएको छ ।“ललाइफकाई सम्पत्ति आफ्नो नाममा बनाउनु तथा उचित लालनपालन र स्याहारसुसार नगरी वृद्धाश्रमसम्म लैजाने गरेका घटनाहरू दिनप्रतिदिन बढ्दो क्रममा रहनु चिन्ताजनक छ”, विज्ञप्तिमा भनिएको छ, “सरकारले प्रदान गर्दै आइरहेका सामाजिक सुरक्षाभत्ता, स्वास्थ्य बीमा, स्वास्थ्य उपचारमा छुट सुविधा, यातायातमा छुट सुविधा, आरक्षण सिटको व्यवस्था, सेवाको प्राथमिकतामा कार्यान्वयन अभावजस्ता कुराले ज्येष्ठ नागरिकको अधिकारमा थप चुनौती खडा भएको छ ।”आयोगले नेपालमा परिवारका सदस्य वैदेशिक रोजगारीमा जाँदा ज्येष्ठ नागरिक एक्लो हुँदै जानु, एकल परिवार र प्रविधिको कारण अन्तरपुस्ताबीचको निकटता टाढा हुँदै जानु, ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटनाहरू बढ्दै जानु, घरपरिवार, समाज र राज्यबाट नै ज्येष्ठ नागरिकहरूप्रतिको सम्मान र संरक्षण नहुनु जरुरी भएको जनाएको छ ।औसत आयुमा देखिएको यस प्रकारको सुधारले यो सङ्ख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान गरिएको छ । “ज्येष्ठ नागरिकको औसत आयु बढ्नु सकारात्मक छ तर ज्येष्ठ नागरिकहरूका समस्या भने दिनप्रतिदिन विश्वव्यापी रूपमा थपिँदै जानु भने चुनौती बनेको छ”, विज्ञप्तिमा भनिएको छ ।संयुक्त राष्ट्रसङ्घले ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले सन् १९९१ देखि हरेक वर्ष अक्टोब र १ का दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो । नेपालको जनगणना, २०७८ अनुसार नेपालमा ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या २९ लाख ७७ हजार तीन सय १८ रहेको छ ।

बागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्यानाकर्षण

मकवानपुर, १४ असोज : बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा शून्य समयमा प्रदेशका विभिन्न सदस्यहरूले जनतासँग जोडिएका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उक्त शून्य समयमा बोल्नुहुने सत्तापक्ष तथा प्रतिपक्षका सदस्यहरूले चाडपर्वका अवसरको मौका छोपेर इन्धन, ग्यास र बजारमा खाद्यान्न मूल्य अति नै मूल्यवृद्धि भएकामा सङ्घीय सरकारसँग सहकार्य गरेर मूल्य घटाउन गर्नुपर्नेमा जोड दिनुभो ।

प्रदेशका विभिन्न जिल्लामा रहेका विपन्न नागरिकको दैनिकी कष्टकर भएको भन्दै उहाँहरूले प्रदेश सरकारले पनि सङ्घीय सरकारसँग समन्वय गरेर उनीहरूका माग सम्बोधन गर्नुभयो ।

संविधानमा कैदीबन्दीहरूले आफ्नो सजाय भुक्तान गरेको ६० प्रतिशत पूरा भएको अवस्थामा मात्रै राष्ट्रिय पर्वमा माफी दिने प्रचलन भएको भए पनि सरकारले आफ्नो गठबन्धनको सरकार टिकाउन दलका नेता र कार्यकर्ताहरूलाई विशेष छुट दिई रिहा गरेको आरोप लगाउँदै प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

हेटौँडा उपमहानगरपालिका–७ स्थित फारलाइनमा केही वर्षअघि अपाङ्गमैत्री आश्रमका लागि बनाइएको भवन सम्बन्धित पक्षले प्रयोग गर्नुको सट्टा प्रदेश शिक्षा निर्देशनालयको कार्यालय सञ्चालन गर्न दिइएकामा चिन्ता व्यक्त गर्दै उहाँहरूले सो भवन अब अपाङ्गभएकालाई फिर्ता गर्न माग गर्नुभयो ।

उक्त शून्य समयमा प्रदेशसभाका सदस्यहरू उद्धव थापा, आशा लामा, एकलाल श्रेष्ठ, केशवप्रसाद पोखरेल, गीता काफ्ले, भारती पाठक, मधुकुमार श्रेष्ठ, रामकुमार पहाडी, लक्ष्मी घिमिरे, सकुन्तला श्रेष्ठ, सृजना सैँजू, गिरबहादुर तामाङ, सुरेन्द्रराज गोरसाईं र ओमकुमार श्रेष्ठले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक भोलि असोज १५ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको सभामुख भुवनकुमार पाठकले बताउनुभयो ।
 

काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा

काठमाडौँ, १४ असोज : सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौँ महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भइ हाल सिनामङगल बस्ने ३४ सरोज गौतम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

आज दिउँसो करिब १ बजे ओपिडीमा डा खड्कामाथि हात पात भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

काठमाडौँ १४ असोज : तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । वैकल्पिक मार्गबाट आएको आठ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ ।

प्रहरीले दोलखामा गएको हप्ता सात किलो सुन बरामद गरेको छ । दुई पटक गरेर ल्याइएको सुन एकपटक तीन किलो र एकपटक चार किलो बरामद भएको थियो । त्यसमा संलग्न केहीलाई पनि पक्राउ गरिएको छ ।

यस्तै शुक्रबार रसुवाबाट एक किलो सुनसहित दुई जनालाई सिआइबीले नै पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताउनुभयो ।

यी घटना हेर्दा विमानस्थलमा सुरक्षा व्यवस्था कडा भएको चाल पाएपछि उनीहरूले वैकल्पिक मार्ग प्रयोग गरेको निष्कर्षमा अन्य सीमा नाकामा निगरानी बढाइएको उहाँले बताउनुभयो । यसअघि सुन तस्करीका घटना विमानस्थलबाटै भएको पाइएको थियो । त्यसमा पनि भन्सारका कर्मचारी कै मिलेमतोसमेत पाइएको छ ।

अघिल्लो वर्ष विद्युतीय चुरोट (भेप) मा हालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुन तस्करी भएको थियो । गत साउन २ गते विमानस्थल हुँदै झण्डै ६१ किलो सुन तस्करी भयो । यी दुवै घटनाको मुद्दा अहिले अदालतमा विचाराधीन छ । यस्तै सिआइबीले ती घटनाका विषमया पुरक अनुसन्धान जारी राखेको छ ।

विमानस्थल हुँदै ल्याएको सुन र यी विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । पटकपटक विमानस्थल हुँदै सुन तस्करी भएका घटना बाहिरिरहेका बेला पछिल्ला केही घटनाक्रमले भने तस्करले विमानस्थलभन्दा वैकल्पिक मार्ग प्रयोग गरेर सुन तस्करी गरिरहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत नै बताउँछन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य ती घटनाको आपसी सम्बन्ध छ की छैन भनेर अनुसन्धान जारी रहेको बताउनुहुन्छ ।

राष्ट्रपति पौडेलबाट गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ, १४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी जिज्ञप्तिमा जनाइएको छ ।

डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

काठमाडौँ, १४ असोज : सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।

यही अक्टोबर ३१ (कात्तिक १४) मा हुने निर्वाचनमा बङ्गलादेशका उम्मेदवारसँग नेपालले प्रतिस्पर्धा गर्ने डा आचार्यले आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदाता मुलुकलाई नेपालको पक्षमा मतदान गर्न ‘अनुरोधपत्र’ सम्प्रेषणका निम्ति आग्रह गर्दै आफूलाई देशको प्रतिनिधित्व गर्ने प्रतिस्पर्धामा चयन गरेकामा प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

डा आचार्यले परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र मन्त्रालय, जेनेभा र न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगहरूले आवश्यक कूटनीतिक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउँदै बीस वर्षपछि नेपाललाई प्राप्त यो अवसरबाट चुक्न नहुनेमा जोड दिनुभयो ।

दक्षिणपूर्वी एसिया निर्देशक पदमा भारत, मालदिभ्स, इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, म्यान्मा, नेपाल, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, श्रीलङ्का, टिमोर लित्से र भूटानले मतदान गर्नेछन् ।

बागमती प्रदेशसभाको बैठक : सरकारी कामकाजको भाषाको विधेयक प्रस्तुत

मकवानपुर, १४ असोज : बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक छलफलका लागि टेबुल गर्नुभयो ।

उक्त बैठकमा विशेष समय माग गरी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेशसभामा केही दिनअघि बसेको बैठकमा विशेष र शून्य समयमा सदस्यहरूले उठाउनुभएको राष्ट्रिय सरोकारसँग सम्बन्धित प्रश्नहरूको आज उत्तर दिनुहुँदै प्रदेश सरकारले आफ्नो सीमित स्रोतसाधनलाई सदुपयोग गरी सरकारको कार्य सम्पादनलाई इमान्दारीपूर्वक कार्यान्वय गर्दै आइरहेको बताउनुभयो । उहाँले सरकारले यसै चालु आर्थिक वर्षभित्र कुनै पनि नयाँ सवारीसाधनको खरिद नगरिएको र सरकारलाई आर्थिक भार पर्ने खालको कुनै अनावश्यक कार्य नगरिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री लामाले देशमा यदाकदा चिकित्सकहरूमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति सरकारले गम्भीरतापूर्वक ग्रहण गरेको र ती अभियुक्तहरूलाई कारबाही गर्न सङ्घीय सरकारले कदम चालेको र त्यसका लागि प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहकार्य गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि प्रोत्साहन र सुरक्षा प्रदान गर्ने प्रदेश सरकारको नीति रहेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा लेखिएको समाचारको आधारलाई सत्य हो वा होइन भन्ने अनुसन्धान गर्ने सरकारी निकायहरू रहेको उल्लेख गर्नुहुँदै आफ्नो पार्टीका तर्फबाट मन्त्री नियुक्त हुनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामा कुनै सुन काण्डमा संलग्न नरहेको र दोषी पाएमा कानूनबमोजिम सजाय भोग्नुपर्नेतर्फ संसद्मा स्पष्ट पार्नुभयो ।

मन्त्री लामाले बडा दसँैको उपलक्ष्यमा बजारमा रहेका सबै पसलमा मूल्यसूची राख्नुपर्ने र सर्वसाधारणहरूलाई लत्ताकपडा, खाद्यान्न, मसला, तेललगायत तरकारीहरू सुपथ मूल्यमा उपलब्ध गराउन स्थानीय प्रशासनमार्फत सबै जिल्लामा व्यवस्थापन मिलाउन सरकारले निर्देशन दिइसकेको बताउनुभयो ।

सरकारले सबै दलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार एवं विपन्न नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको आफ्नो क्षमताअनुसार स्रोतसाधन परिचालन गर्नेतर्फ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

सोही बैठकमा जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामाले केही दिनअघि विभिन्न पत्रिकामा आएको समाचारलाई आधार बनाई आफू सुन कारोबारमा संलग्न रहेको भनी आएको चर्चा–परिचर्चा सत्य नभएको स्पष्ट पार्दै आफूले प्रेस विज्ञप्तिमार्फत सबै सत्यतथ्य सार्वजनिक गरिसकेको पनि जानकारी दिनुभयो । उहाँले आफूलाई लागेको आरोपमाथि सम्बन्धित निकायको अनुसन्धान गर्ने निकायहरूबनाट आफूलाई सोधपुछ अथवा कुनै पक्राउ पुर्जी जारी नभएको पनि उल्लेख गर्दै आफूमाथि लागेको आरोपको सत्यतथ्य प्रमाणित गरी अघि बढाउन नेपाल प्रेस काउन्सिलमा आफूले उजुरी दर्ता गरेको पनि बताउनुभयो ।

मन्त्री लामाले आफू राजनीतिक दलको इमान्दार कार्यकर्ता भएको र आफुले गर्दै आएको समाजसेवा र राजनीतिप्रति वितृष्णा उत्पन्न गर्नका निमित्त केही सञ्चारगृहहरू आफूमाथि प्रयोग भएकामा दुःख व्यक्त गर्नुभयो । प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको दोस्रो बैठक ३ः३० बजेका लागि आह्वान गर्नुहुँदै उक्त बैठक स्थगित गर्नुभएको थियो ।

प्रदेश सभाको आज बस्ने बैठकको कार्यसूचीअनुसार, बिहान ११ बजे बस्ने भनिएको बैठक नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्ने भनिएको कारणले समयमा सुरु हुन नसकी १ः४० को समयमा बैठक सञ्चालन भएको थियो ।

मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने

काठमाडौँ, १४ असोज : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाउनुभयो ।

“आयाल निगम पेट्रोलियम पदार्थ आफै आयात गर्छ, आफै व्यापार गर्छ र नियमन पनि आफै गर्छ”, उहाँले भन्नुभयो, “कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैँ घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?”

नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्न जरूरी: मन्त्री किराती

काठमाडौँ, १४ असोज: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)को ४५औँ साधारणसभामा मन्त्री किराँतीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताउनुभयो । “जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका छौँ, अफसिजनमा पनि पर्यटक ल्याउन सक्ननुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको धारणा राख्नुभयो । “नेपालले छिमेकी मुलुक भारत र चीनबाट बाहिरिने पर्यटकको कूल सङ्ख्याबाट शून्य दशमलव पाँच प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने नेपाल पर्यटनको हव बन्नेछ”, उहाँले भन्नुभयो ।

पर्यटनमन्त्री किरातीले संसारको अग्लो हिमाल सगरमाथादेखि विभिन्न हिमशृङ्खला र पहाड पर्यटकका लागि पदयात्राको माध्यम बन्ने भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्न सकेमात्र पनि यहाँको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानमा सरकार लाग्ने बताउनुभयो ।

“सरोकारवाला पर्यटन व्यवसायीसँग छलफल र सहकार्य गरेर पर्यटन क्षेत्रका समस्या समाधानमा लाग्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले पर्यटन क्षेत्रसम्बन्धित ऐन पुरानो रहेको भन्दै यसलाई समयसापेक्ष हिसाबले संशोधन गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकास र विस्तारमा टानले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रकाबीच सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले कानुनको समस्या र महालेखा परीक्षक कार्यालयको अवरोधका कारण पर्यटन क्षेत्रको विकासमा काम गर्न बोर्डलाई समस्या परेको बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि निर्णय र काम गर्ने निकाय एउटै भए काम गर्न सहज हुने उल्लेख गर्नुभयो । एशोसियशनका अध्यक्ष निलहरि बाँस्तोलाले पर्वतीय पर्यटनको विकासमा ४५ वर्षको इतिास बोकेको टानले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा पर्वतीय पर्यटन प्रवर्द्धनमा काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको भन्दै यसलाई जोगाउनका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । टानका पूर्वअध्यक्ष रमेश धमला, खुमबहादुर सुवेदीले पर्यटन क्षेत्रको मुद्दालाई समाधान गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

राससकर्मी रेग्मीसहित पत्रकार सम्मानित टानको ४५ औँ वार्षिक साधारणसभाका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का समचारदाता अच्युत रेग्मीसहित तीन पत्रकारलाई सम्मान गरिएको छ । नेपालको पर्वतीय पर्यटनको विकास र विस्तारमा सञ्चारमाध्याममार्फत महत्वपूर्ण भूमिका खेलेको भन्दै आज राससकर्मी रेग्मीसहित सेतोपाटी अनलाइनका पत्रकार सविना कार्की र एपी वान टेलिभिजनका पत्रकार सुवास थापालाई सम्मान गरिएको हो । सोही अवसरमा टानले गत वर्ष सबैभन्दा बढी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड वितरण गर्ने उत्कृष्ट पाँच कम्पनीलाई समेत सम्मान गरेको थियो ।

तीन महिनामा भत्किएको कालोपत्र दबाब बढेपछि पुनःमर्मत हुँदै

टक्सार (भोजपुर), १४ असोज : बनेको तीन महिनामै भत्किएको कालोपत्र सडक दबाबपछि पुनःमर्मत हुने भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, आयोजनाका प्रतिनिधि, निर्माण व्यवसायी, जनप्रतिनिधिसहित सरोकारवाला निकायको बैठकले भत्किएको सडक पुनःनिर्माण गर्ने निर्णय गरेको हो ।

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडकखण्डको साढे चार किलो मिटर सडक बनेको तीन महिनामा नै भत्किएपछि पुनःनिर्माणका लागि निर्माण कम्पनीलाई दबाब बढेको थियो । सो सडक रौताहा–रामसागर विल्डर्स जेभीले निर्माण गरेको हो । 

जिल्ला समन्वय समितिका प्रमुख राईले भन्नुभयो, “सडकको अनुगमन गर्दा तोकिएको मापदण्डअनुसार सडक बनेको नदेखिएकाले निर्माण कम्पनीले पुनःनिर्माण गर्नुपर्ने थियो तर निर्माणमा संलग्न कम्पनी र आयोजनाका प्रतिनिधिसहितको बैठकबाट समस्या समाधान गर्ने निर्णय भएको छ, भत्किएको सडक मर्मत गर्ने कुरा भएको छ अब त्यसका लागि हामी सबैको दबाब जरुरी छ ।” 

विगतदेखि नै मापदण्डअनुसार सडक निर्माण नभएको आवाज उठाउँदै आएकाले बनिसकेर भत्किएको सडक दसैँ–तिहारको आसपाससम्म बनाइसक्ने निर्णय भएको भोजपुर नगरपालिका–५, बोखिमका वडा सदस्य नीरप्रसाद फुयालले जानकारी दिनुभयो । 

बैठकमा समन्वय प्रमुख राई, प्रजिअ हरिप्रसाद घिमिरे, वडाध्यक्ष फविन्द्र प्रधान, वडा सदस्य फुयाल, कामु आयोजना व्यवस्थापक वीरबहादुर रावत, निर्माण कम्पनीका दिव्य पौडेल, गणेश पौडेल, इञ्जिनीयर ओमकान्त ढकाल, राजन श्रेष्ठका साथै स्थानीयवासीहरूको सहभागिता रहेको थियो । 

सडकको विषयमा धैरै गुनासो आएपछि समन्वय प्रमुखसहित सडकको अनुगमन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले मापदण्डअनुसार निर्माण कार्य नभएको पाइएपछि सम्बन्धित निकायमा सो विषयमा बुझ्ने काम गरिएको बताउनुभयो । उहाँका अनुसार भत्किएको सडकका भाग पुनःनिर्माण गर्ने सहमति भएको छ ।

जनताको करबाट सञ्चालन हुने योजनाको बेथिति रोक्न सबै सरोकारवाला निकायले खबरदारी गरिरहन आवश्यक रहको वडाध्यक्ष प्रधानले बताउनुभयो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गतरु १० करोड ५० लाखमा सो सडकको निर्माण कार्य भएको थियो । 

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत – राष्ट्रपति पौडेल

काठमाडौँ, १४ असोज ः राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहनुभएका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्नुपर्ने बताउनुभएको छ ।

तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्नसके आर्थिक समृद्धि तथा सामाजिक सदासयता कायम गर्न ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

देशका युवाशक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घर–घरमा ज्येष्ठ नागरिकमात्र बाँकी रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, हित र कल्याणका लागि अब राज्यस्तरबाटै सोच्ने बेला भइसकेको छ भन्नुभयो । ।

उहाँले ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी बाजेबज्यैदेखि नातिनातिनासम्म सगोल परिवारमा रहने पूर्वीय दर्शनमा आधारित आदर्श परिवारको महत्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको कामना समेत गर्नुभएको छ ।

मन्त्री जोशीद्वारा ज्येष्ठ नागरिक सङ्घ चितवनलाई आर्थिक सहयोग

चितवन, १४ असोज : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्ना आमाबुवाको स्मृतिमा ज्येष्ठ नागरिक सङ्घ चितवनलाई रु एक लाख एक हजार एक सय ११ सहयोग गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिबार उहाँले उक्त रकम हस्तान्तरण गर्दैे सबैले ज्येष्ठ नागरिकको सम्मान गर्न सिक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको पुस्ताले पुराना पुस्ताको सम्मान गर्न सकेको छैन ।

यो संस्कार सिकाउन जरुरी छ ।” ज्येष्ठ नागरिक सङ्घ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, महिला आयोगकी पूर्वअध्यक्ष भगवती घिमिरे, वडाध्यक्ष परमेश्वर खनाललगायतले बोल्नुभएको थियो ।

भक्तपुरको मुपात्र जात्रा आजबाट सुरु

भादगाउँ (भक्तपुर), १४ असोज : इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आजबाट सुरु हुने भएको छ । विभिन्न धार्मिकग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा यहाँ तीन दिन मनाइन्छ ।

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीनजनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङ लगाई शृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रममा गराउने चलन छ । नगर परिक्रमा गर्दा भक्तपर नगरको टोल–टोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्दछ ।

जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ । इतिहासकारका अनुसार याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आज तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रममा गराई सँला गणेशजात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।

जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुुरु गरिन्छ । याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे (देवगृह)मा पुर्याइन्छ ।

जात्राको तेस्रो दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवतरूपमा बलिसहितको सरकारी पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोल तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछन् । त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ । बालिसकेपछि याँमतासँगै त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विषेश)बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रोमाथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकालिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।

इन्द्रजात्रासम्बन्धी लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यहरूको बगैँचामा प्रवेश गरे । दैत्यहरूले पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरूसँग लडाइँ गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यहरूले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरूले जयन्तलाई बाँधेको डोरी काटेर क्षमायाचना गर्छन् । सो क्रममा दैत्यहरूलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएबमोजिम ग्रन्थको कथामा आधारित गरी यो जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।

जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सो अनुसार मुपात्र बन्ने व्यक्तिलाई अछूतको व्यवहार गरिन्छ । त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ ।

पोखरामा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र सुरु

कास्की, १४ असोज : पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ ।पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ । सङ्घीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो । अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ । अमेरिकी प्रविधि अस्फाल्ट बलियो, महँगो र टिकाउ मानिन्छ ।

अस्फाल्ट पिच गर्दा चार सेमी मोटाइको पिच हुनुपर्दछ । स्थान हेरिकन चारदेखि १० सेमीसम्मको मोटाइएको पक्की हुने सडक डिभिजन कार्यालय पोखराका ओभरसियर रमेशराज पौडेलले बताउनुभयो । उहाँका अनुसार डेढ किमी सडक अस्फाल्ट गर्नका लागि रु पाँच करोडमा ठेक्का सम्झौता भएको छ ।सडक अस्फाल्ट गर्ने कामको जिम्मेवारी विवेक एण्ड कुवेर निर्माण सेवाले पाएको छ । बर्खाले काममा अवरोध नभएको खण्डमा १० दिनमा सबै काम सम्पन्न हुने बताइन्छ ।“अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ । यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ”, उहाँले भन्नुभयो । अस्फाल्ट गरिएको सडक पाँचदेखि सात वर्षसम्म टिकाउ हुने बताइन्छ ।सडक डिभिजन कार्यालयले पोखराको विरौटाबाट पृथ्वीचोक र छोरेपाटनबाट विरौटासम्म पनि अस्फाल्टका लागि ठेक्का लगाए पनि बजेट अभावमा काम अघि बढेको छैन ।पोखराका अन्य केही सडक पनि यसअघि अस्फाल्ट कालोपत्र गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइड, न्यूरोड, चिप्लेढुङ्गालगायतमा अस्फाल्ट कालोपत्र गरेका छन् । पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको सडक पनि अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको छ ।सडक डिभिजन कार्यालयअन्तर्गत पोखरा बजार क्षेत्रको २७ किमी सडक जिम्मामा रहेको छ । यससँगै पृथ्वीराजमार्ग, सिद्धार्थराजमार्ग र पोखरा बाग्लुङ राजमार्गसमेत सडकको जिम्मामा छ ।–––

महसुल नबुझाउने ग्राहक कालोसूचीमा

वीरगन्ज, १४ असोज : लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार आठ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएकोे हो । कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ । टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताउनुभयो । कालोसूचीमा रहेका ग्राहकबाट रु सात करोड ६५ लाख ५६ हजार सात सय ६३ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ ।

लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा–बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९÷८० मा विद्युत् चुहावट शून्य दशमलव पाँच प्रतिशतले बढेको छ ।

गत आव २०७८÷७९ मा विद्युत् चुहावट चार दशमलव ९८ प्रतिशत रहेकामा आव २०७९÷८० मा पाँच दशमवल ०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९÷८० मा विद्युत् महसुल नबुझाउने दुई हजार चार सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार नौ सय छ ग्राहकबाट रु ११ करोड ४० लाख ७२ हजार छ सय १५ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जका इन्जिनीयर निर्मला फौजदारले बताउनुभयो ।

त्यस्तै सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत रु १२ लाख २४ हजार सात सय २४ राजस्व सङ्कलन भएको इन्जिनीयर फौजदारले जानकारी दिनुभयो । आव २०७९÷८० मा दुई हजार चार सय ४२ नयाँ ग्राहक थपिएको छ । यो सँगै वीरगन्ज क्षेत्रमा ग्राहकको सङ्ख्या ५४ हजार दुई सय तीन पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ ।

व्यावसायिक उत्पादन गरिएको भिण्डीले बजार नपाएपछि किसान समस्यामा

रामपुर (पाल्पा), १४ असोज : व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिकरूपमा खेती गरेका थिए ।

पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा करिब १२ रोपनी जग्गा भाडामा लिएर स्थानीय गङ्गाप्रसाद बस्याल, राधिका बस्याल र सिर्जना आचार्यले सामूहिकरूपमा भिण्डीखेती गर्नुभएको थियो । अहिले उत्पादित भिण्डीले बजार नपाएकोे गङ्गाप्रसादले बताउनुभयो ।

“रामपुरको बजारलाई मध्यनजर गर्दै व्यावसायिक रामतोरियाँ खेती सामूहिकरूपमा सुरु गरियो, उत्पादन असाध्यै राम्रो छ, तर बिक्रीका लागि बजार छैन, बजार अभावमा टिपेर त्यसै फाल्नुपरेको छ”, उहाँले भन्नुभयो ।

हाल दैनिक न्यूनतम ५० किलोदेखि बढीमा एक सय ५० किलोसम्म भिण्डी उत्पादन भइरहेको उहाँले बताउनुभयो । स्थानीय बजारमा बिक्री नभएपछि स्याङ्जाको वालिङ बजारमा सस्तो मूल्यमा ढुवानी खर्चेर पठाउन बाध्य भएको आचार्य बताउनुभयो ।

“दिनहुँ भिन्डी उत्पादन भइरहेको छ, स्थानीय बजारका व्यापारीले यहाँको उत्पादन खरिद गर्दैनन्, सस्तो मूल्यमा बाहिर पठाउँदा लागत पनि उठाउन धौधौ परेको छ”, उहाँले भन्नुभयो, “बजारीकरणको राम्रो प्रबन्ध नहुँदा हामी किसानलाई मार खेप्नु परिरहेको छ ।”

गत जेठदेखि उत्पादन दिन थालेको भिन्डी हालसम्म ७५ क्विन्टलभन्दा बढी उत्पादन भइसकेको छ । यस क्षेत्रमा उत्पादन भएको भिण्डीको बजार मूल्य सरदरमा न्यूनतम प्रतिकिलो रु ४० देखि बढीमा रु एक सयसम्म रहेको छ । उत्पादन भएको भिण्डीमध्ये सात क्विन्टल भिण्डी रामपुर बजारमा खपत नभएको किसान बताउँछन् । बोटमा अझै पनि उत्पादन दिइरहेको छ ।

दैनिक भिण्डी टिपेर बाहिरका बजार खोज्दै पठाउनुपर्दा किसानलाई खेती गरेर लागत उठाउन समस्या परिरहेको छ । अहिलेसम्म भिण्डी बिक्रीबाट करिब रु तीन लाखसम्मको आम्दानी भएको राधिकाले बताउनुभएको छ । बजार अभावमा दुई क्विन्टलभन्दा बढी भिण्डी घरमै कुहाएर फाल्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।

अहिले भिण्डीको मूल्य बजारमा प्रतिकिलो रु ५० देखि ५५ रहेको किसान बताउँछन् । किसानले लागतअनुसारको मूल्य पनि पाउँदैनन् भने भनेको समयमा बजार सहज नहुँदा उत्पादन बेला–बेलामा त्यसै खेर फाल्नु परिरहेको छ । भिण्डीबाट राम्रो उत्पादन लिन सकिने सम्भावना छ । बजारीकरणको झन्झटले किसानले भरसक यसको व्यावसायिक खेती गर्न मन पराउँदैनन् । टिपेर धेरै दिनसम्म राख्न नमिल्ने भएकाले यसका लागि फल टिप्नेबित्तिकै बजार चाहिन्छ ।

रामपुरको बजारमा बुटवल, तराईलगायतका बाहिरका बजारबाट कृषि उपज भित्रिने गरेकाले व्यापारीले स्थानीय उत्पादनलाई महत्व दिँदैनन् । विषादी प्रयोग गरिएका सस्ता कृषि उपज खरिद गरी बिक्री गर्ने आदत परेका व्यापारीले स्थानीय उत्पादन भरसक खरिद गर्न खोज्दैनन् । कालीगण्डकीबेँसीको मुख्य केन्द्रका रूपमा रहेको पाल्पाको रामपुर सहरीकरणका रूपमा विकास भइरहेको छ । यहाँ जनघनत्व बढ्दै गए पनि बाहिरबाट ठूलो परिमाणमा उपभोग्य सामग्री आयात भइराखेको छ । बाहिरी उत्पादनका वस्तुसँग स्थानीय वस्तुले प्रतिस्पर्धा गर्न नसक्दा बजार समस्या निम्तिएको छ ।
–––

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौँ, १४ असोज ः आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानवअधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।

बाख्रापालनबाट वार्षिक सात लाख आम्दानी गर्दै तनहुँका आले

दमौली, १४ असोज – तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहनुभएको छ ।उहाँले भन्नुभयो“ बाख्रापालन व्यवसायबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ । ” उहाँले यस वर्ष १५ बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गर्नुभएको हो । उहाँले भन्नुभयो, “बाख्रापालन व्यवसायबाट सन्तुष्ट छु, यही व्यवसायबाट घरपरिवार चल्दै आएको छ ।” उहाँले १५ रोपनी जग्गामा घाँसखेतीसमेत गर्नुभएको छ । बाख्रालाई घाँस आवश्यक पर्ने भएकाले मकै, कोदो रोप्ने बारीमा उन्नत जातका डाले तथा भुइँ घाँस लगाएको किसान आलेले बताउनुभयो ।

उहाँका अनुसार बडहर, राइखनियो, इपिलइपिल, मेन्दोला, कुटमेरो, भटामासे, किम्बु, निमारोलगायतका डाले तथा नेप्पियर सिओफोर, सिओ थ्री, सुपर नेपियर, मलाटो, मकैचरीलगायतका भुइँ घाँस लगाइएको छ । उहाँले पछिल्लो समय रु १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरी व्यवस्थितरूपमा बाख्रापालन व्यवसायलाई अगाडि बढाउनुभएको छ ।बाख्रा खोरमा गर्भवती बाख्रा, किशोरी बाख्रा, पाठापाठी, ब्याड बोका र सुत्केरी बाख्रा राख्ने छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । यसरी कोठामा बाख्रा राख्दा बाख्रा तुहिने समस्या नहुने र रोगबाट बचाउन सकिने उहाँको भनाइ छ । उहाँले उन्नत जातको बोयर बोकासमेत पाल्नुभएको छ । बाख्रालाई चाहिने सुष्म पोषकतत्व खनिज ढिक्का बनाएर नियमित खुवाउने गरेको उहाँले जानकारी दिनुभयो । नियमित खनिज ढिक्का खुवाउनाले बाख्रा फस्टाउनुका साथै खसीबोकाको तौलमा वृद्धि हुने उहाँको भनाइ छ ।किसान आलेले नौ महिनादेखि एक वर्षको अवधिमा ४५ केजीभन्दा बढी तौलका खसीबोका उत्पादन गरी बिक्री गर्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ब्याडका रूपमा बिक्री गर्ने बोका जिउँदो प्रतिकेजी रु एक हजारका दरले बिक्री हुँदै आएको छ । एउटै ब्याड बोका बिक्री गर्दा रु ४० हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । मासुका लागि जिउँदो तौलको प्रतिकेजी रु पाँच सय ५० का दरले खसीबोका बिक्री भएको छ ।