`

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला, ३२ वटा जीपले सफारीका लागि अनुमति पाए

चितवन, १६ असोज-चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् ।निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको र क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी दिनुभयो ।

निकुञ्जभित्रको सडक मर्मतसँगै कसरा, मेघौली, अमलटारी, कुजौली र माडीबाट प्रवेश गर्ने जीपका लागि अनुमति दिइने उहाँले बताउनुभयो । गत साल कसराबाट १६, मेघोलीबाट नौ, अमलटारीबाट पाँच, कुजौलीबाट दुई र माडीबाट एउटा जीपले अनुमति पाएका थिए । वर्षात्सँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भटर्’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी बन्द गरिएको थियो ।

सूचना अधिकारी तिवारीले चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जीप सफारी हुने गरेको बताउनुभयो । यसका अतिरिक्त मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, निकुञ्जमा पैदलयात्रा, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि यहाँ हुने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ पर्यटकको रोजाइमा पर्दछन् ।

मेयरले राेपेकाे बिरुवा उखालेर फाल्दा महिला परिन् प्रहरीको फन्दामा

भरतपुर (चितवन), १६ असोज : भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छिन् । भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो ।

मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै , सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा

राँझा (बाँके), १६ असोज -केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।

मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भन्नुभयो, “कुनै समय गाउँ–गाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटना निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ । ” उहाँका अनुसार मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । अहिले नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले सहरकै शिक्षित महिला पनि जोखिममा छन्मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्ररुपमा बढिरहेको छ । विशेषगरी किशोरावस्थाका युवती टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् । पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल टिकटकबाट सम्बन्ध विस्तार गरी महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालले बताउनुभयो । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो । सामाजिक सञ्जाल टिकटकको माध्यमबाट चिनजान भई भारत जान लागेका छ जनालाई माइती नेपालका कर्मचारीले जमुनाहनाकामा रोकेर परिवारलाई बुझाए ।पछिल्लो छ महिनामा टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छाडेका १२ युवती बेचबिखनको जोखिममा परेको जनाउँदै परिवारले खोजतलासका लागि माइती नेपालको नेपालगन्जस्थित कार्यालयमा निवेदन दिएका छन् ।“सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखा पर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ”, बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भन्नुभयो, “सामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्ररूपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिलामात्रै होइन, शिक्षित र सहरिया महिला पनि जोखिममा छन् ।”राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उहाँको भनाइ छ । दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांश महिलाले फेसबुकभन्दा इमो बढी चलाउने गरेका छन् ।“फेसबुक र म्यासेन्जरभन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्”, उहाँले भन्नुभयो, “दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।”मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोलगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ ।छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रूपमा प्रयोग भएको बताउनुभयो ।मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँ शैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ । मानव दलालहरूले अपनाउने फरक–फरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले बताउनुभयो ।“वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटना छन्”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखापर्न थालेको छन् ।” उहाँका अनुसार आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरूलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ ।मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । बढ्दो बिलासिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज, प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।मानव बेचविखनविरुद्धको जिल्लास्तरीय समितिका संयोजक एवं बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले सङ्घसंस्था मुख्य नाकामा केन्द्रित हुँदा ग्रामीण नाकाबाट मानव बेचबिखनको जोखिम बढेको बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थालाई स्थानीय तह र ग्रामीण नाकासम्म गतिविधि र निगरानी बढाउन आग्रह गर्दै आएको उल्लेख गर्नुभयो ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको चार करोड ६१ लाख बचत फिर्ता भएन

म्याग्दी, १६ असोज-यहाँस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ ।ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

“सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा २०८० असार १७ गतेदेखि अनुसन्धान थालिएको थियो”, उहाँले भन्नुुभयो, “मुुद्दा दर्ता भएको ९० दिनभित्र अनुसन्धानको सबै प्रक्रिया पूरा गरेर सरकारी वकिलमार्फत जिल्ला अदालत म्याग्दीमा मुद्दा अघि बढेको छ ।”

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् । सहकारीले २०७९ बैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत सङ्कलन गरेको सहकारीले छ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्यूरोडमा करिब रु छ करोडमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।

सो सहकारीको बेनी शाखामा एक हजार चार सय ८४ जनाको रु छ करोड १० लाख बचत रहेकामा दुई सय ८२ जनाले मात्र उजुरी गरेका हुन् । निक्षेप फिर्ता नगरेको जनाउँदै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारी संस्थाविरुद्ध उजुरी पर्ने क्रम बढेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हेर्नुहोस् असोज १६ गते मंगलवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बह?को साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि- ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मिथुन राशि – सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनु?पको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अ?को छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि – पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीह? सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि – परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनह? सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि – कार्य सम्पादनमा भएका सामाय त्?टिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यह? सम्पादन गर्न उत्तम समय रहेकोछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि – कार्य सम्पादनमा अ?को दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अ?लाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि – ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यह?मा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यह? सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि- अपरीचीत ब्यक्तिह?को बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । शत्? सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्र्थीक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि – अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वह?को अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामह? दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि – भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्?टिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनह?को साथसहयोगमा जटिल कार्यह? सम्पादित रहनेछन । अ?को दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मीन राशि – मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।

एमाले अध्यक्ष ओली र एमसिसीका ग्लोबल सिइओ अलब्राइटबीच भेटवार्ता

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत (ग्लोबल सिइओ) एलिस अलब्राइटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा उहाँहरुबीच सोमबार एमसिसी कार्यान्वयनका विषयमा छलफल भएको एमाले परराष्ट्र मामिला विभागका प्रमुख डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले परियोजनाको सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राख्नुभयो ।

एलिस अलब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसिसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको नेता डा भट्टराईले जानकारी दिनुभयो ।

ढोरपाटन सिकार आरक्षमा आठ नाउर, चार झारल र आठ बँदेलको सिकार अनुमति

गलकोट (बागलुङ), १६ असोज- नेपालको एकमात्र सिकार आरक्ष  यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताउनुभयो । उहाँका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ ।

उहाँका अनुसार सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन सिकार आरक्षमा आउने तयारीमा जुटेका छन् । “यस सिकारयाममा आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न विभागले अनुमति दिइसकेको छ, अहिले विदेशी सिकारी आरक्षतर्फ आउने तयारीमा छन्”, उहाँले भन्नुभयो, “यस वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका सिकारीले सिकार खेल्न अनुमति पाइसकेका छन् ।”

यस वर्ष प्रतिस्पर्धामा अमेरिकाका मात्रै पाँच सिकारी आउने भएका हुन् । उनीहरूले बन्दोबस्तीका सामग्रीमार्फत असोज १७ गतेपछि ढोरपाटन सिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन् । सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन् ।

सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ‘ब्लक’मा पठाउनका लागि तयारी अवस्थामा राखिएको संरक्षण अधिकृत थापामगरले बताउनुभयो । विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गरेको हुन्छ ।

पहिलो याममा अमेरिकाका पाँच सिकारी, जर्मनी, रसिया र बुलरियाका एक–एक सिकारी सिकार खेल्नका लागि अनुमति पाएका हुन् । विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबीच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले रु १० देखि २० लाखसम्म तिर्ने गरेको पाइन्छ ।

सिकारका लागि आरक्ष क्षेत्रलाई सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयको भनाइ छ ।

विदेशी सिकारीसहितको समूहले १५ दिन जङ्गलमै समय बिताउँछन् । पन्ध्र दिनमा सिकार खेल्न नसके सिकारी खाली हात फर्कनुपर्ने आरक्षको नियम छ । विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ ।

साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, हेलिकोप्टर सबै बन्दोबस्तीका सामग्री तयार गर्दा एक जना सिकारीले करिब रु २० लाखसम्म खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

विसं २०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत स्थापना भएको छ ।
 

सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो ?

काठमाडौं । आवश्यक पूर्वाधार तयार नभई अस्वाभाविक लागतमा नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बहालवाला सचिव मधुकुमार मरासिनी, पूर्वसचिव सञ्जय शर्मा, नेपाल टेलिकमका हालका प्रबन्ध निर्देशक सुनील पौडललगायत नौ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायरसँगै सार्वजनिक पदधारण गरेका बहालवाला कर्मचारी स्वतः निलम्बनमा परेका छन् । छ वर्षअघि खरिद भएको प्रणाली अहिलेसम्म प्रयोगमा नआएको अभियोगपत्रमा उल्लेख छ ।

नीति तथा कार्यक्रममा समावेश नभएको, राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रले बजेट माग नगरेको, नियमित चरणमा कुनै कार्य पूरा नगरी फास्ट ट्र्याकमा काम गरेर राज्यकोषमा हानि पु¥याएको अभियोग पत्रमा उल्लेख छ ।

अख्तियारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणीता उपाध्याय, तत्कालीन उपनिर्देशकरकार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल, केन्द्रका उपनिर्देशक सफल श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं अर्थ मन्त्रालयका तत्कालीन बजेट महाशाखा प्रमुख मरासिनी, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा र कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध मुद्दा दायर भएको हो । आवश्यक कानुनी प्रक्रियासमेत पूरा नगरी भुक्तानी गरेको अभियोग पनि अख्तियारको छ ।

सार्वजनिक खरिद नियमावलीअनुसार खरिद योजना तयार नभएको, लागत अनुमान स्वीकृतिमा झुटो विवरण तयार भएको, अन्तर्राष्ट्रिय आशयपत्र माग गर्दा टिप्पणीमार्फत स्वीकृत गराइएको अभियोग पत्रमा उल्लेख छ ।

अख्तियारले सात जनालाई जनही २३ करोड २७ लाख ५८ हजार ७७ रुपियाँ बिगो कायम गरेको छ । सञ्जय शर्मा, प्रणीता उपाध्याय, सुनील पौडेल, रामबहादुर बुढा, रमेश पोखरेल, रामशरण गायक, मधुकुमार मरासिनीलाई उक्त बिगो कायम गरेको हो । यस्तै बिगो अनुसारकै जरिवानाको पनि माग गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

‘ओलीतन्त्र’ विरुद्ध उभिए एमाले कार्यकर्ता

काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।

चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने सम्भावना निकै न्यून बनेको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा अनेरास्ववियुबाहेक प्रायः सबै जनवर्गीय संगठनको नेतृत्व छनोट गर्दा पनि सर्वसम्मतको बाटो अपनाएर प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो ।

प्रदेश अधिवेशनमा पनि पार्टी अध्यक्ष ओलीले सकेसम्म प्रतिस्पर्धालाई भन्दा सर्वसम्मतको विधि अपनाउन निर्देशन दिएका थिए । तर लुम्बिनी प्रदेशमा त्यो विधि उल्लंघन भई आन्तरिक प्रतिस्पर्धा सुरु भयो । भदौ १५ देखि १८ सम्म भएको प्रदेश अधिवेशनमा प्रस्टसँग दुई जनाबीच प्रतिस्पर्धा भयो ।

पाल्पाका पूर्वसांसद एवं सोही प्रदेशका निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । पार्टीको मूल नेतृत्व ओली र महासचिव शंकर पोखरेलको साथ रिजाललाई भए पनि कँडेलले जित हात पारेका थिए ।

लुम्बिनीले त्यस किसिमको प्रतिस्पर्धालाई औपचारिक रूप दिएपछि वाग्मती प्रदेश, कोसी प्रदेश र कर्णाली प्रदेशमा पनि आन्तरिक प्रतिस्पर्धा भयो । वाग्मतीमा पार्टीको मूल नेतृत्वले चाहेको उम्मेदवारले जित्ने वातावरण तयार नहुँदासम्म निर्वाचन प्रक्रिया नै अघि बढाइएन ।

‘सकेसम्म पार्टीको मूल नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत बनाउन नसके निर्वाचन हुँदा पनि उनको पक्षमा माहोल नबन्दासम्म निर्वाचनको प्रक्रिया नै अघि नबढाउने अघोषित नीति लिन थालियो,’ एमालेका एक पदाधिकारीले भने । उनका अनुसार वाग्मतीमा पनि यही अवस्था आयो । यो समाचार नागरिक दैनिकमा छ ।

दमौलीका दुई मेडिकल सञ्चालकद्वय गरौजा र चौधरीलाई जनही एक लाख जरिवाना

दमौली (तनहुँ)- अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र दलबहादुर केसीको इजलासले पक्राउ परेका दुवै जनालाई जनही रु एक लाख जरिवानाको फैसला सुनाएको थियो ।व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले सञ्चालकद्वय गरौजा र चौधरीलाई गत बिहीबार पक्राउ गरी उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको थियो ।प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई इन्जेक्सनमार्फत उपचार गराएको र मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिव्योटिक्सको माध्यमबाट उपचार गराएको आरोप लगाइएकोे छ ।म्याग्देमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुतनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को उक्त कार्यक्रम वडा नं ४ बाट सुरु भएको हो । बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने लक्ष्यसहित सरकारले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त वडामा ३६ बेरोजगार सूचीमा सूचीकृत भएकामा १२ जनालाई छनोट गरी रोजगारीमा खटाइएको गाउँपालिकाका रोजगार शाखा प्रमुख पविन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।रोजगार कार्यक्रममा सहभागी हुनेलाई सोमबार एक कार्यक्रमका बीच सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रोजगार कार्यक्रममा सहभागी हुनेलाई सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाले सञ्चालन गर्ने योजनामा बेरोजगारलाई रोजगारीको व्यवस्था गरिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विकासे योजनामा बेरोजगार सूचीमा सूचीकृत भएकालाई पहिलो प्राथमिकता दिन्छौँ ।” गाउँपालिकाले आन्तरिक बजेटबाट सुरक्षा सामग्री खरिद गरेको हो । यसअगाडिका वर्षहरूमा सङ्घीय सरकारबाटै सामग्रीका लागि बजेट आउने गरेकामा तीन वर्षदेखि भने गाउँपालिकाले आन्तरिक स्रोतबाटै सामग्री खरिद गरी वितरण गरेको रोजगार संयोजक शाहीले बताउनुभयो ।गाउँपालिकाका सातवटा वडामा तीन सय १७ बेरोजगार सूचीकृत भएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा ६८ जनालाई न्यूनतम सय दिनको रोजगारी प्रदान गर्दैछ । उनीहरूलाई रोजगारवापत प्रतिदिन रु छ सय ६८ प्रदान गरिनेछ ।कार्यक्रमअन्तर्गत नाला निर्माण, चौतारा निर्माण, बाटोघाटोको अलवा साझेदारी कार्यक्रमअन्तर्गतका योजनामा खटाउने तयारी गरिएको छ । संयोजक शाहीले भन्नुभयो, “गाउँपालिकाले लागत साझेदारीमा सञ्चालन गर्ने योजनामा उहाँहरूलाई रोजगारी प्रदान गरिनेछ ।” वडा नं ४ बाट सुरु भएको रोजगार कार्यक्रम क्रमशः सबै वडामा सञ्चालन गरिने उहाँको भनाइ छ ।सोही कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा सडक मर्मत, नाला निर्माण, सडकपेटी, चौतारा, घरबास निर्माणलगायतका काम हुँदै आएका छन् । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रमअनुसार बेरोजगार सूचीमा सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भर्नुपर्छ ।

सोल्टी होटलमा पूर्वराजपरिवारको १९ अर्बको सम्पत्ति

काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनात्मक तथा व्यवस्थापकीय अध्ययन समितिले पाँच तारे होटल सोल्टीको सेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएपछि पुँजी बजारमा तरङ्ग आएको छ । जहाज नै खरिद गर्न पुग्ने गरी निगमको सेयर कति रहेछ भनेर तरङ्ग सिर्जना गरेको हो ।

सोल्टी होटल लिमिटेडको वित्तीय विवरणअनुसार दोस्रो ठूलो लगानीकर्ता रहेको नेपाल वायुसेवा निगमलाई जहाज खरिद गर्न पुग्ने गरी सेयर रहेको बताइएको छ । तर, सोल्टीमा सबैभन्दा धेरै सम्पत्ति चाहिँ पूर्वराजा ज्ञानेन्द्रको परिवारको रहेको छ ।कम्पनीको वित्तीय विवरणअनुसार पूर्वराजा ज्ञानेन्द्रको परिवारको नाममा सोल्टी होटलमा रहेको सेयर मूल्य करिब १९ अर्ब रुपियाँको रहेको छ । पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा शाह, सोल्टी इन्टरप्राइजेज प्रा। लिमिटेड प्रा।लि। र भतिजीहरू पूजा राज्यलक्ष्मी देवी शाही, शितास्मा राज्यलक्ष्मी देवी शाह र दिलासा राज्यलक्ष्मी देवी राणाको नाममा रहेको सेयरको कुल मूल्य १८ अर्ब ८२ करोड ७५ लाख ५ हजार ७४८ रुपियाँ बराबरको रहेको छ ।एता, सोल्टी होटलमा निगमको १ करोड ३३ लाख ३ हजार ६९९ कित्ता सेयर रहेको छ । जसको धितोपत्रको दोस्रो बजारको अन्तिम कारोबार मूल्यअनुसार ४ अर्ब ४५ करोड ३८ लाख २४ हजार २ सय ६९ रुपियाँ रहेछ । निगमको मात्रै साढे ४ अर्ब रुपियाँको सेयर रहेको र सो बेच्न सुझाव आएपछि धितोपत्रको दोस्रो बजार कम्पनीको मूल्य भने घट्न थालेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

कर्णाली- नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गर्नुभयो । अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गर्नुभयो । उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रत्याशी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गर्नुभयो ।

महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गर्नुभयो । उपसचिवमा नौ उम्मेदवारहरु चुनावमा भाग लिएका थिए । प्रदेश कमिटीको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।

खाना पकाउने ग्यासमा कर दक्षिण एसियाकै उच्च

काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले ग्यासमा विभिन्न सात वटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।

नेपाल आयल निगमका अनुसार हाल प्रतिसिलिन्डरमा ३०९ रुपियाँ कर रहेको छ । छिमेकी मुलुक भारत सरकारले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रकम दिएर उपभोक्तालाई सहुलियत रूपमा ग्यास वितरण गरिरहेका बेला नेपाल सरकारले भने चर्को कर लिएर उपभोक्तालाई ग्यास महँगो परिरहेको छ ।छिमेकी मुलुक भारतले ग्यासमा कर लगाएको छैन । अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यासमा अन्य कुनै पनि एसियाली मुलुकले उपभोक्ताबाट कर असुल गरेका छैनन् ।२०६८ सालमा निगम सुधार गर्न तत्कालीन संविधान सभा सदस्य भीम आचार्यको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासमा कर दस्तुर लगाउन नहुने सुझाव दिएको थियो तर सरकारले समितिले दिएको सुझाव पालन नगरी सर्वसाधारणबाट चर्को शुल्क लिएर महँगोमा ग्यास खरिद गर्न बाध्य परेको उपभोक्ताको भनाइ छ ।“अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यासमा कुनै पनि किसिमको कर लगाउन पाइँदैन,” राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले भने, “राज्यले नै विभिन्न शुल्कमा कर सङ्कलन गरेर उपभोक्तालाई ठगिरहेको छ ।” विभिन्न शीर्षकमा लगाइएको करले उपभोक्ताले महँगोमा ग्यास खरिद गर्नु परेको उहाँको भनाइ छ ।दक्षिण एसियाली मुलुकमै नभएको ग्यासमा कर सङ्कलन गर्ने प्रणाली सरकारले लागु गर्दा उपभोक्तालाई प्रत्यक्ष असर परेकाले तत्काल हटाइनुपर्ने उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ ।    बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ ।महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो ।

पछिल्लो राजनीतिक उपलब्धि अहिंसात्मक बाटोबाटै प्राप्त भएको हो : सभापति देउवा

काठमाडौँ, १५ असोज-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पछिल्लो पटक भएको राजनीतिक उपलब्धी महात्मा गान्धीको अहिंसात्मक बाटोबाटै प्रेरित भएर भएको उल्लेख गर्नुभएको छ ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले शुभकामना दिदै सो कुरा उल्लेख गर्नुभएको हो ।अस्वस्थताका कारण कार्यक्रममा अनुपस्थित उहाँले दिनुभएको लिखित शुभकामना मन्तव्यमा राजनीतिक परिवर्तनको उपलब्धिस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएर नयाँ संविधान जारी भएको उल्लेख छ । संविधानको सफल कार्यान्वयनका लागि अहिंसा र शान्तिको बाटो अनुशरण गर्दै मुलुकलाई शान्ति र समृद्धतर्फ लैजानु आजको प्रमुख आवश्यकता भएको सभापति देउवाको भनाइ छ ।गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रेरित कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको नाममा स्थापना भएको प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभापति देउवा भाइरल ज्वरो र रुघाखोकी लागेका कारण उपस्थित हुन नसक्नु भएको हो ।

मुलुकको विकासका लागि स्वदेशमै रोजगारी सिर्जना आवश्यक : अध्यक्ष नेपाल

राजविराज (सप्तरी) १५ असोज: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउनुभएको छ । सो पार्टीले सुरु गरेको मेची-महाकाली समाजवादी जागरण अभियानअन्तर्गत आज सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा उहाँले देशमा बेरोजगारी अन्त्य गरी युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

मधेसमा कलकारखाना खोलेर युवाशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सके मुलुकमा समृद्धि हासिल हुने उहाँको भनाइ छ । एकीकृत समाजवादी पार्टी जनताको अधिकारका लागि लड्दै आएको भन्दै अध्यक्ष नेपालले बेरोजगारीका कारण ऊर्जामान युवाशक्ति विदेश जान बाध्य भएको बताउनुभयो । देशभित्रै रोजगारी सिर्जना गर्न सके गरिबी अन्त्य हुने भएकाले त्यसतर्फ सरकारले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला, दलित, मधेसी, थारु, आदिवासी जनजाति र पिछडा वर्गको हितमा आफ्नो पार्टी सङ्र्घषरत रहेको समेत बताउनुभयो । भ्रष्टाचारको अन्त्य नभएसम्म मुलुकको विकास नहुने भन्दै उहाँले लोकतन्त्रको रक्षा गर्न सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुको विकल्प नभएकोमा जोड दिनुभयो ।

सिरहाको चोहर्वास्थित नवनिर्मित भवनबाट सर्पदंश उपचार सेवा सञ्चालन

सिरहा, १५ असोज ः-चोहर्वास्थित नेपाली सेना बहादुर श्री शेर गणको परिसरमा नवनिर्मित सुविधा सम्पन्न भवनबाट सामुदायिक सर्पदंश उपचार सेवा सञ्चालनमा आएको छ । सामुदायिक सर्पदंश उपचार केन्द व्यवस्थापन समितिको समन्वय तथा बहादुर श्री शेर गणको पहलकदमीमा जिल्लाका विभिन्न पालिका, कार्यालय तथा व्यक्तिहरुको सहयोगमा निर्मित १० शैय्याको सर्पदंश उपचार केन्द्रबाट आजदेखि सेवा सञ्चालनमा ल्याइएको हो ।

श्री मध्यपूर्वी पृतना, बर्दिवासका पृतनापति उपरथी प्रेमध्वज अधिकारीले आज एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाली सेनाले हाल प्रदान गरिरहेको उपचार सेवा भवन निर्माणपछि थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

उपरथी अधिकारीले सर्पले डसेमा समयमै उपचार नपाउँदा अहिले पनि सो क्षेत्रका नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने समस्यालाई मनन गर्दै नेपाली सेनाले सर्पदंशसम्बन्धी उपचार तथा सचेतानाका कार्यक्रम सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयो । 

गोलबजार नगरपालिकाका प्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतो, अर्नमा गाउँपालिका प्रमुख रामप्रसाद यादवलगायत स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुले सर्पदंश उपचार केन्द्र भवन निर्माणमा खेलेको भूमिकाका लागि धन्यवाद दिनुभयो । 

उहाँहरुले आगामी दिनमा पनि स्थानीयलाई लाभ हुने सामाजिक क्रियाकलापमा स्थानीय तहले निरन्तर नेपाली सेनासँग सहयोग र सहकार्य गर्ने बताउनुभयो । व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार साहले विसं २०७२ देखि भवन निर्माण सुरु भएकामा विसं २०७० को संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संसद् विकास कोषबाट करिब रु १० लाख, स्थानीय पालिका, प्रदेश सरकारलगायत निकायबाट सहयोग प्राप्त गरी करिब रु डेढ करोडको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई जना पक्राउ

वीरगञ्ज, १५ असोज: वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ निवासी १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिकलाई घण्टाघर क्षेत्रबाटै पक्राउ गरेको हो ।

सिसिटिभीमा कैद भएको दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।वीरगञ्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ती गत शुक्रबार राति तोडफोड तथा चोरी भएको थियो ।

भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सघाउँछौँ : महासचिव पोखरेल

कास्की, १५ असोज : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफ्नो पार्र्टी तयार रहेको बताउनुभएको छ । सो पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले एमालेकै दबाबमा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन भएको दाबी गर्नुभयो ।

देशमा छाएको आर्थिक मन्दीका कारण उद्योगी तथा व्यवसायी समस्यामा परेर निरुत्साहित हुने अवस्था आएको उहाँको भनाइ छ । उहाँले एमाले नेतृत्वमा सरकार छँदा उच्च अङ्कको आर्थिक वृद्धि भएको समेत बताउनुभयो । “अहिले जनताको जीवन असहज बनेको छ, व्यापार व्यवसाय ठप्प छन् । उद्योगी व्यवसायी सङ्कटमा परेका छन् । सरकारले त्यसतर्फ ध्यान दिएका छैन”, पोखरेलले भन्नुभयो ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्षमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “म यहीँबाट घोषणा गर्छु, यो पार्टीमा अझै १० वर्ष केपी शर्मा ओलीको नेतृत्वको विकल्प छैन । पार्टीमा अहिले एउटै केन्द्र छ । जसका कारण एमालेले सबै पालिकामा एकैपटक अधिवेशन गर्न सफल भयो, यो पार्टीमा एकीकृत र केन्द्रिकृत नेता हुँदाको परिणाम हो ।” उपमहासचिव गुरुङले नयाँ राजनीतिक दलसँग कुनै योजना, दर्शन र कार्यक्रम नरहेको जिकिर गर्नुभयो ।

एमालेका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले युवाशक्ति देश छाडेर गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टीका केन्द्रीय सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य एवं कास्कीका इन्चार्ज थममाया थापा, प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी लगायतले पार्टीलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

एमाले गण्डकीको अधिवेशन भोलिसम्म चल्नेछ । अधिवेशनको दोस्रो दिन बन्द सत्र तथा नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका नौ सय सात प्रतिनिधि सहभागी भएको एमाले गण्डकीका उपसचिव एवं प्रचारप्रसार उपसमिति संयोजक रश्मी आचार्यले जानकारी दिनुभयो ।

‘ज्येष्ठ नागरिकका अधिकार अझै कार्यान्वयनमा आउन सकेनन्’

भक्तपुर, १५ असोज ः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ज्येष्ठ नागरिकका हकहित र अधिकारको सवालमा संविधानले गरेको व्यवस्था अझै पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्नु विडम्बना भएको बताउनुभएको छ ।

आज मध्यपुरथिमिमा नेपाल ज्येष्ठ नागरिक सेवा सहकारी संस्था लिमिटेडले आयोजना गरेको ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा १५औँ ज्येष्ठ नागरिक सम्मान समारोह र १४औँ अगष्टाइन गुस मुर्रे पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपालको संविधान २०७२ ले ज्येष्ठ नागरिकको सवालमा राज्यबाट विशेष सामाजिक सुरक्षा, हकअधिकारको व्यवस्था गरेको छ, मौलिक हकमा पनि व्यवस्था छ, तर राज्यबाट कार्यान्वयनको अवस्था कमजोर छ, यसतर्फ सरकारले विशेष ध्यान दिनु अत्यावश्यक छ ।”ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता कम भएको भन्दै न्यूनतम रुपमा जीवन निर्वाह गर्न सक्ने अवस्थामा भत्ता दिने अवस्थामा राज्यलाई पु¥याउनुपर्ने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकले पारिवारिक माया, प्रेम, ममता, सद्भाव, संस्कृतिबाट टाढिनुपर्ने अवस्था आएको भन्दै उहाँले सक्नेले पनि आमाबुबालाई आश्रममा लगेर राखिदिने गर्न थालेकाले यसलाई रोक्नुपर्ने आँैल्याउनुभयो ।शिक्षा नीतिमा परिवर्तन गरी नैतिक शिक्षा र परिवारप्रति दायित्व बोध गर्ने शिक्षा समावेश गर्नुपर्नेमा जोड दिँदै पूर्वअध्यक्ष रेग्मीले राज्यबाट दिने सेवा, संवैधानिक हक, अधिकार सहज रुपमा ज्येष्ठ नागरिकले प्राप्त गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । सहकारीलाई कृषि उत्पादन र कृषि उद्यमसँग जोडेर लैजान सके देशको अर्थतन्त्र विकास हुने उहाँको भनाइ थियो ।कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो नगरपालिकाले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क बीमा गरिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले ६० वर्ष माथिका ज्येष्ठ नागरिक, एकल, दलित, अपाङ्गलाई निःशुल्क स्वास्थ्य बीमा गरेका छौँ, पाँच वर्षभित्र सम्पूर्ण नगरवासीको बीमा गरिदिने भएका छौँ, ज्येष्ठ नागरिकलाई दिवा सेवा सञ्चालनका लागि बोडेमा ज्येष्ठ नागरिक भवन निर्माण गरेका छौँ, सिद्धिकालीमा पनि यस्तै भवन बन्दैछ ।”उहाँले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतलमा डायलोसिस सेवा, सिटी स्क्यान सेवा सुरु गरेको, प्रसूति वार्डमा विशेष सेवा प्रदान गरिएको, निःशुल्क रगत वितरण सेवा सञ्चालन गरेको, ब्लड बैंक निर्माण गर्न लागेको बताउनुभयो । उहाँले नगरपालिकाले ज्येष्ठ नागरिकसँगै मूर्त तथा अमूर्त कला, संस्कृति र सम्पदाको संरक्षणमा योगदान पु¥याउँदै आएको बताउनुभयो ।‘सहकारी बा’ को नामबाट परिचित ज्येष्ठ नागरिक सेवा सहकारी संस्था लिका अध्यक्ष एव कार्यक्रमका सभापति कैलाशभक्त प्रधानाङले ज्येष्ठ नागरिक सहकारी बचत तथा ऋण प्रवाह गर्ने संस्था नभई नितान्त ज्येष्ठ नागरिकको सेवामा सञ्चालित संस्था भएकाले नगरपालिको सहयोग आवश्यक रहेको बताउनुभयो ।उहाँले जमा भएको रु ५६ लाखबाट संस्था सञ्चालन भइरहेको भन्दै नगरपालिकाले ज्येष्ठ नागरिकको आशा र भरोसालाई टुट्न दिन नहुने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकले सबै स्वास्थ्य उपचार सहज रुपमा नपाएको भन्दै त्यसको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।अगष्टाइन गुस मुर्रे पुरस्कार प्रदानकार्यक्रममा नेपालमा बचतको शुभारम्भ गर्नुहुने आइरल्याण्डका सहकारीकर्मी एवं वल्र्ड काउन्सिल अफ क्रेडिट युनियनका संस्थापक अगष्टाइन गुस मुर्रेको नाममा स्थापना भएको नगद पुरस्कार प्रदान गरिएको छ ।मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले रु ३० हजार एक नगद पुरस्कार प्रदान गरी दोसल्ला ओढाएर सम्मान पत्रका साथ ललितपुरस्थित स्कोप बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष किशोरभाई बज्राचार्यलाई सम्मान गर्नुभयो ।त्यस्तै जनता बचत तथा ऋण सहकारी संस्था लि भक्तपुर चित्रपुरका अध्यक्ष राजेशकुमार राजथला र सक्षम बचत तथा ऋण सहकारी संस्था लि काभ्रे बनेपाका अध्यक्ष रमेशकाजी श्रेष्ठलाई जनही रु १० हजार एकको नगद पुरस्कारसहित दोसाल्ला ओढाएर, सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।त्यस अवसरमा स्थानीय ८० ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर, नगद रकमसहित झोला, च्यावनप्राश, भिटामिन डि, जुस, फलफुल, मिठाइ, दुई÷दुई जोर मोजा र लौरो प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिगोविन्द प्रजापति, सचिव राजेन्द्र प्रजापतिलगायतले कार्यक्रमको महत्व र ज्येष्ठ नागरिकको आवश्यकताका बारेमा जानकारी गराउनुभएको थियो ।

पर्यटक आगमन सहज तुल्याउन होटल सङ्घको आग्रह

काठमाडौँ, १५ असोज ः होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान) ले पर्यटक आगमनलाई सहज तुल्याउन र आतिथ्य सेवालाई चुस्त तथा प्रभावकारी बनाउ पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले आज दुवै विभागका महानिर्देशकलाई अलग–अलग भेट गरी कोभिड–१९ महामारीपछि पर्यटन आगमन बढिरहेको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमणप्रतिको आकर्षण बढाउन, विमानस्थल र अध्यागमनको सेवालाई प्रभावकारी बनाउन अनुरोध गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङसँगको भेटमा कोभिडपछिको पर्यटन आगमनमा केही वृद्धि देखिएको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमणप्रतिको आकर्षण बढाउन र सीमानाकालगायत विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमसहितका विषयमा गहन छलफल भएको सङ्घले जनाएको छ ।

व्यवसायीले राखेका जिज्ञासा तथा सुझावलाई सकारात्मक लिँदै महानिर्देशक तामाङले संयुक्त पहल कदमीमार्फत अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी उक्त प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटघाट गरी मुलुकमा आतिथ्यता क्षेत्रमा बढ्दो लगानीलाई दृष्टिगत गर्दै अन्तर्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको नेपाल बसाइ सुखद, विश्वसनीय र सुरक्षित बनाउन माग गरेको छ ।

सङ्घबाट जिल्लामा अवस्थित होटल तथा रिसोर्टहरुका लागि तयार गरिएका न्यूनतम मापदण्डका साथै तारे होटलहरुको स्तर वर्गीकरण मापदण्ड २०७७ मा समेत केही संशोधन प्रस्तुत गरिएको थियो । महानिर्देशक बुढाले उक्त सुझावहरुलाई समयसापेक्ष बनाइने र निरन्तर संवाद तथा छलफलमार्फत व्यवसायीका माग सम्बोधन गर्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

सुशासन र विकासमा इमान्दारितापूर्वक काम भइरहेको छ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर, १५ असोजः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सुशासन र विकासका क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेको बताउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “सरकारले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको स्तरोन्नति, चिकित्सको दरबन्दी थपलगायतका काम गरेको छ ।”

मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको विश्वविद्यालय बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ–हेटौँडा जोड्ने मातातीर्थ, हुमाने भञ्ज्याङ र कुलेखानी फाखेल सडकको स्तरोन्नति र कालोपत्रको काम आगामी माघभित्रै पूरा गर्ने गरी काम भइरहेको बताउनुभयो ।

चिकित्सा शिक्षालाई गुणस्तरीय एवम् पारदर्शी ढङ्गबाट सबै विद्यार्थीको पहुँचमा पु¥याउने उद्देश्यले हेटौँडामा सुलभ मूल्यमा विद्यार्थीले चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षदेखि प्रदेशका १३ वटै जिल्लाका विभिन्न जातिका कृषकलाई अत्याधुनिक कृषिमा आकर्षित गर्ने सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “प्रदेशमा माछा, मासु, दूध, खाद्यान्न, च्याउ, तरकारी उत्पादन बढाइ सबै नागरिकहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य सरकारले लिएको र सोहीअनुसार काम भइरहेको छ ।”

आजको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार कहाँ छ भनी प्रश्न गर्नुभयो । उहाँले प्रदेश सरकार जनताको सरोकारसँग भन्दा पनि आफ्नो गठबन्धन टिकाउनेमा लागेको आरोप लगाउनुभयो ।प्रदेशसभाका अर्को बैठक असोज १६ गते अपराह्न २ बजे बस्ने गरी स्थगित भएको छ ।

संविधानले सबैलाई समेटेको छ : पूर्वराष्ट्रपति यादव

नवलपरासी, १५ असोजः पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताउनुभएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा विपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

एक सय १०आँै विपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि यहाँ आइपुग्नुभएका उहाँले सबैका हक र अधिकार स्थापित गरेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभयो । उहाँले विपीको राष्ट्रवादलाई सबैले अङ्गाल्नुपर्नेमा जोड दिनुभयो ।

नेपालका प्रथम राष्ट्रपति डा यादवले अहिले नेपालीहरु परजीवी बन्दै गएको बताउनुभयो । “हामीले पहिले भारतलगायत अन्य मुलुकमा कृषिजन्य उत्पादन निर्यात गथ्र्यौ, तर त्यही तिनै वस्तुमा भारतलगायतका देशमा परनिर्भर हुनुपरेको छ । यो दुःखद् अवस्था हो”, उहाँले भन्नुभयो ।

अहिले तराई क्षेत्रमा भइरहेको चुरे दोहनका विषयमा पूर्वराष्ट्रपति डा यादवले चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्न नसक्दा तराई मरुभूमि जस्तै बन्न थालेको उल्लेख गर्नुभयो । प्राकृतिक स्रोतहरुको चरम दोहनले भोलिका दिनमा मानव सङ्कट पर्ने बताउँदै उहाँले प्राकृतिक सम्पदाको दोहन रोक्नुपर्नेमा जोड दिनुभयो ।

‘ज्येष्ठ महिलामाथि हुने हिंसाको अन्त्य गर्न सम्पत्तिमा स्वामित्व अभिवृद्धि आवश्यक छ’

काठमाडौँ, १५ असोज ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकमाथि हुने अवहेलना, हिंसा र दुव्र्यवहारलाई अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित ‘ज्येष्ठ नागरिकमाथि हुने अवहेलना, दुव्र्यवहार र हिंसाविरुद्ध ज्येष्ठ महिला सुरक्षाको सवालमा अन्तरक्रिया’ कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकले आफ्ना परिवार¸ समुदाय र समाजबाट मात्र नभएर राष्ट्रबाट समेत अपेक्षा गर्ने भन्दै नेपालमा ज्येष्ठ नागरिकको सुरक्षा र सम्मानलाई बढाउँदै लैजाने प्रतिबद्धता गर्नुभयो ।

“औसत आयु वृद्धि हुँदा जीवनभर राम्रो स्वास्थ्य, दिगो र आशालाग्दो जीवनयापन, लामो समयसम्म सामाजिक संलग्नता तथा उत्पादकत्व हुनुको सट्टा रोग बिमार, असक्षमता, परनिर्भरता आदि कारणले समग्र ज्येष्ठ नागरिक र अझ बढी ज्येष्ठ महिलाहरु हिंसाको सिकार हुनु पो पर्ने हो कि भन्ने जोखिम सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकका सवाल सम्बोधन गर्न यथाशीघ्र ज्येष्ठ नागरिक मैत्री भौतिक संरचनाहरु निर्माण हुनुपर्छ, सामाजिक विकासतर्फ उपलब्ध साधन स्रोतलाई ज्येष्ठ नागरिकका सवालमा मूल प्रवाहीकरण गर्नु पर्दछ ।”

मन्त्री आचार्यले ज्येष्ठ महिलालाई सुरक्षित राख्न सम्पत्तिमा महिलाको स्वामित्व अभिवृद्धि, सचेतनामा वृद्धि र मौजुदा व्यवस्थामा सुधार गर्न आवश्यक रहेको समेत बताउनुभयो । उहाँले कानुनी व्यवस्थाहरु सङ्घीयताअनुरुप परिमार्जन र सुधार गर्नुपर्नेमा जोड दिनुभयो । “अब बन्ने १६औँ योजनामा क्षेत्रगत उद्देश्यहरु नीति, रणनीति र कार्यनीतिहरुलाई ज्येष्ठ नागरिक मैत्री बनाउनु पर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

एमसिसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न मन्त्री ज्वालाको आग्रह

काठमाडौँ, १५ असोज ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसिसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटका लागि पुग्नुभएका अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उहाँको प्रतिनिधिमण्डललाई मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभएको हो ।

“नेपाल सरकार र सार्वभौम संसद्ले एमसिसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन”, मन्त्री ज्वालाले भन्नुभयो, “परियोजनामा केही समस्या छन्, तर ठीक समयमा सुरु गरेर ठीक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरु आफैँ हल भएर जानेछन् ।”

प्रमुख कार्यकारी अधिकृत अलब्राइटले एमसिसी परियोजना सहज रुपमा कार्यान्वयनमा गएकाप्रति आफूलाई खुसी लागेको बताउनुभयो । “एमसिसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएको छु नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु”, उहाँले भन्नुभयो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन लगायतको उपस्थिति थियो ।

नौ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

काठमाडौँ, १५ असोज: नौ हजार नौ सय ९९ किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले लक्ष्यअनुसार किशोरीहरुले एचपिभी खोप लगाएको बताउनुभयो । अभियानको सुरुमा विभिन्न अवरोधका कारण खोप लगाउन नपाएपछि समय थप गरी लक्ष्यअनुसार सबै किशोरीले खोप लगाएको उहाँको भनाइ छ ।भदौ ३० गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्ने भनिए पनि लगातार सार्वजनिक बिदा परेपछि असोज १० गतेसम्म अभियान सञ्चालन गरिएको थियो ।सरकारले यही भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो । साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो ।अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप लगाइएको हो । खोपको दोस्रो मात्रा आगामी माघमा सञ्चालन गरिने शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो ।सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो । एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।

दरबन्दी तेरिज स्वीकृत गर्ने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर, १५ असोजः बागमती प्रदेश सरकारले विभिन्न २१ वटा निकायमा भएका अस्थायी दरबन्दीलाई स्थायी गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना तथा कार्य सञ्चालन आदेश २०७७ संशोधन गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गाानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकले चलचित्र विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । साथै हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्न बैठकले सहमति प्रदान गरेको उहाँले जानकारी दिनुभयो । यसअघि अध्यादेशबाट जारी भएको उक्त विधेयक पुनः विधेयकका रुपमा संसद् पठाउने सरकारको तयारी गरिएको हो ।

पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि अज्ञात व्यक्तिद्वाराआक्रमण

काठमाडौँ, १५ असोज- काठमाडौँको पिङ्लास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि अज्ञात व्यक्तिद्वारा धारिलो हतियारबाट आक्रमण भएको छ । काठमाडौँ महानगरपालिका–९ स्थित पिङ्लास्थानमा सञ्चालित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ अन्दाजी ३८ वर्षीय सवीर हुसेनलाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सवीर हुसेनलाई धारिलो हतियार प्रहार भएको भनेर उपचारमा संलग्न डाक्टरहरुले पनि भनेका छन्, घटनास्थलमा एक थान कटुवा पेस्तोल फेला परेको छ, आक्रमणकारीको खोजी भइरहेको छ ।” धारिलो हतियारबाट घाइते हुसेनको अहिले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।

पानीको बहाव घटेसँगै अरुण नदीमा फेरी पुनः सञ्चालनमा

टक्सार (भोजपुर), १५ असोज-भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा सञ्चालित फेरी पुनः सञ्चालन भएको छ । भोजपुर उत्तर षडानन्द नगरपालिका–६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका– ९ को सिमानामा पर्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी पुनः सञ्चालन भएको हो ।

अरुण नदीमा पानीको बहाव कम भएसँगै बन्द रहेको फेरी पुनः सुरु भएको षडानन्दका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नदीमा पानीको बहाव बढेका कारण सेवा बन्द भएको थियो, तर अहिले पानीको सतह कम भएकाले पुनः सञ्चालनमा आएको हो ।” फेरी बन्द भएपछि जिल्लाको उत्तरी क्षेत्रबाट तराईका जिल्लाहरुमा आवतजावत गर्न त्यस क्षेत्रका नागरिकलाई समस्या हुँदै आइरहेको थियो । गत जेठबाट अरुण नदीमा सञ्चालित फेरी बन्द भएको थियो ।फेरी बन्द भएका कारण तराईका जिल्लासम्म सहजरुपमा यातायातका साधन आवत जावतमा समस्या हुँदै आएको स्थानीय सौगात गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “दसँै लगायतका चाडपर्व नजिक रहेको अवस्थामा फेरी पुनः सञ्चालनमा आएको छ, यसले सहजता कायम गरेको छ ।”अरुण नदीको बहाव पूरै नघटुन्जेलका लागि अहिले हलुका सवारी साधनमात्र फेरीमार्फत आवतजावत गरिने षडानन्द नगरपालिकाले जनाएको छ । नदीमा पक्की पुल बन्न नसक्दा पानीको बहाव बढेपछि फेरी सेवासमेत बन्द हुने अवस्था छ ।

शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने

काठमाडौं, १५ असोज – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताउनुभएको छ ।शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारले पर्याप्त गृहकार्य नगरी विधेयक ल्याएका कारण सडकमा आन्दोलन हुन पुगेको र पछि सरकारसँग सहमति भएको स्थितिमा उठेका विषय र सहमतिका बुँदाहरु विधेयकमा समाविष्ट गराउने प्रक्रियामा लाग्न आग्रह गर्नुभयो ।

उहाँले सरोकारवालाबाट सुझाव लिई सांसदहरुले प्रक्रियाबमोजिम संशोधन नहालेमा समितिले मात्रै परिमार्जन गर्न नसक्ने स्पष्ट गर्नुभयो । उहाँका अनुसार उक्त विधेयक सैद्धान्तिक छलफलपछि अब बस्ने प्रतिनिधिसभाको बैठकबाट दफाबार छलफलका लागि समितिमा पठाइनेछ । शिक्षाको गुणस्तर र सार्वजनिक शिक्षाको श्रीवृद्धि कसरी हुन्छ भन्ने सोच विधेयकमा ल्याउन आवश्यक रहेकामा जोड दिँदै उहाँले कानुन र नीति तर्जुमाका सवालमा विज्ञ र सरोकारवालालाई बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षाको संरचनागत र पद्धतिका प्रबन्ध गर्दा स्तरीयता र विश्वका मुलुकको अनुभवलाई समेटेर कानुन बन्नुपर्ने बताउनुभयो ।उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले प्रस्तुत विधेयकमा शिक्षक र कर्मचारीका विषय बढी समावेश गरिएको तर शिक्षाको अबको गन्तव्य कस्तो हुने भन्ने स्पष्ट नभएको टिप्पणी गर्नुभयो ।नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबीच यही असोज ५ गते भएको सहमतिलाई विधेयकमा रुपान्तरण गराउन सांसदहरुलाई आग्रह गर्नुभयो ।शिक्षाविद् डा वासुदेव काफ्लेले विधेयक बारेको छलफल गर्दा आफ्ना स्वार्थका आधारमा नभई शिक्षाको आम स्वार्थका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । शिक्षाविद् डा बालचन्द्र लुइँटेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख शिक्षाको लक्ष्य विधेयकमा समावेश नभएको जिकिर गर्नुभयो ।शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षामा नीतिगत सुधारका लागि खोज, अध्ययन र अनुसन्धानात्मक समाचार सम्प्रेषण गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षासेवीलाई सम्मान र शिक्षा पत्रकारलाई पुरस्कार प्रदान गरिएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जमा टाइमकार्डको व्यवस्था लागू

जानकी (बाँके), १५ असोज ः पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जमा सोमबारदेखि ‘टाइमकार्ड’ लागू गरिएको छ । राजमार्गमा सवारी साधन दुर्घटनाका साथै सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने दर बढेपछि टाइमकार्ड लागू गरिएको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले बताउनुभयो । “निकुञ्ज क्षेत्रभित्र सवारी साधन दुर्घटना हुनाका साथै सवारी साधनबाट वन्यजन्तुको सुरक्षा उच्च जोखिममा परेको हुनाले टाइमकार्डको व्यवस्था गरिएको हो”, उहाँले भन्नुभयो । निकुञ्जका सूचना अधिकारी भुसालले बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो पोइन्ट (खैरी चेक पोष्ट) सम्म टाइमकार्ड लागू गरिएको बताउनुभयो ।

उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटर दूरीमा टाइमकार्डको व्यवस्था लागू गरिएको छ । सवारी साधनका चालकलाई उक्त दूरी पार गर्न २३ देखि २८ मिनेटको समय दिइएको छ । सूचना अधिकारी भुसालका अनुसार निकुञ्ज क्षेत्रमा सवारी साधन र वन्यजन्तु सवारी दुर्घटनाको उच्च जोखिममा परेको भन्दै निकुञ्ज आसपासमा रहेका स्थानीय, नागरिक समाज, व्यवसायीलगायत सम्बन्धित पक्षले टाइमकार्डको व्यवस्था लागू गर्न सुझाव दिएअनुसार नै टाइमकार्ड लागू गरिएको हो ।

निकुञ्ज क्षेत्रमा हुने सवारी साधन दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि ‘रिफ्लेक्टर ट्याङगल’ राख्ने, बिग्रेको सवारी साधन मर्मतका लागि एक घन्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारी साधनलाई निकुञ्जभन्दा बाहिर ल्याएर राख्ने तथा निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको छ ।

आजदेखि लागू हुने गरी गरिएको टाइमकार्डको व्यवस्थापनमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना, नेपाल प्रहरीलगायत सम्बन्धित पक्षधरहरुको उपस्थित रहेको थियो । विसं २०६७ मा बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्र समेटेर नेपालको दसौँ राष्ट्रिय निकुञ्जका रुपमा रहेको छ । उक्त निकुञ्ज बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग जोडिएको छ ।

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताउनुभएको हो ।

यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी कांग्रेसलाई समय घर्किंदै गइरहेको चेतावनी दिनुभयो । “युक्रेनलाई कुनै पनि कारणले हामी अमेरिकी सहयोगलाई अवरोध हुन दिन सक्दैनौँ”, शनिबार अबेर कांग्रेसले अल्पकालीन सहयोग प्याकेज पास गरेर सरकारी सेवाहरू बन्द हुनबाट जोगाएपछि रुजबेल्ट रुमबाट बाइडेनले भन्नुभयो ।

“हामीसँग समय छ, धेरै समय छैन र तत्कालका लागि अधिक भावना छ”, सहयोग बिलको समय मध्य नोभेम्बरम्मका लागि मात्र रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो । उहाँले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कांग्रेसलाई आग्रह गर्नुभयो ।

“सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्र्याट र रिपब्लिकनको ठूलो बहुमतले रुसबाट भएको क्रुर आक्रमणमा युक्रेनलाई सहयोग गर्न समर्थन गर्दछ”, राष्ट्रपति बाइडेनले कांग्रेसलाई भन्नुभयो, “खेल बन्द गरौँ र युक्रेनलाई सहयोग गरौँ ।”

तर अधिकांश विधायकहरूले युक्रेन सहायताका लागि कांग्रेसमा स्वीकृत हुँदै गर्दा युद्धको अवधि लम्बिँदै गएकाले अझ कठिन हुँदै गएको स्वीकार गरेका छन् । युक्रेनलाई सहायता दिनेसम्बन्धी प्रयासमा अहिले रिपब्लिकनहरूको अवरोधले गति पाइरहेको छ ।

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

न्युयोर्क – आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उहाँको व्यापारिक साम्राज्य खतरामा परेको छ ।

सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उहाँका दुई छोरा एरिक तथा डन जुनियरले ट्रम्प सङ्गठनको घर जग्गा र वित्तीय सम्पत्तिको मूल्य बढाएर जालसाजी गरेको न्यायाधीश आर्थर एनगोरनले पहिला नै फैसला गरिसक्नुभएको छ ।

न्युयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले २५ करोड अमेरिकी डलर जरिवाना र ट्रम्प तथा उहाँका छोराहरूलाई ट्रम्प साम्राज्यको व्यवस्थापनबाट हटाउन खोजिरहनुभएको छ ।

सोमबार बिहानको सुनुवाइमा आफू उपस्थित हुने ट्रम्पले आइतबार बेलुका बताउनुभएको थियो । “मेरो नाम र प्रतिष्ठाविरुद्ध लड्न भोलि बिहान म अदालत जाँदैछु”, आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा उहाँले लेख्नुभएको छ, “यो सम्पूर्ण मामिला नकली हो ।”

यो नागरिक मामिलाबाहेक आगामी महिनाहरूमा ट्रम्पले धेरै ठूला आपराधिक मामिलाको पनि सामना गर्नु पर्नेछ ।जो बाइडेनले जितेको सन् २०२० को राष्टपति निर्वाचनको नतिजालाई उल्ट्याउने प्रयास गरेको आरोपमा उहाँलाई आगामी मार्च ४ मा वासिङ्टनस्थित सङ्घीय न्यायाधीशसमक्ष उपस्थित गराउने कार्यक्रम छ ।

त्यसपछि उहाँ न्युयोर्क राज्य अदालतमा फिर्ता हुनुहुनेछ । अहिले आपराधिक गुप्त सम्पत्तिको आरोपमा र पछि फ्लोरिडा सङ्घीय अदालतमा हाजिर हुनुहुनेछ । उहाँमाथि राष्ट्रपति कार्यालय छोडेपछि वर्गीकृत दस्तावेजहरू गलत तरिकाले प्रयोग गरेको आरोप लगाइएको छ ।

अन्तिममा उहाँले जर्जिया राज्यमा लागेको आरोपहरूको पनि जवाफ दिनुपर्ने छ । जर्जियामा उहाँमाथि अवैधरूपमा सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा परिवर्तन गर्न प्रयास गरेको आरोप लगाइएको छ ।

सङ्घीय संसद् भवन निर्माण कछुवा गतिमा, तेस्रो पटक म्याद थप्ने तयारी

काठमाडौँ, १५ असोज : सम्झौताअनुसार समयमै काम भएको भए यतिबेला सङ्घीय संसदका काम कारबाही सिंहदरबारस्थित आफ्नै भवनबाट सञ्चालन हुन्थ्यो । कोरोना महामारीका कारणले निर्माणमा समस्या भएपछि दुई पटक म्याद थप्दा पनि निर्धारित समयमा पूरा हुन सकेको छैन ।

सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार सङ्घीय संसद भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । यसबीच कोरोना महामारीका कारण त्यो सम्भव भएन र पहिलो पटक छ महिना म्याद थप गरी निर्धारित समय २०८० वैशाख १४ गते पुर्‍याइयो । पहिलो पटक थप भएको म्यादभित्र पनि निर्माण सम्पन्न नभएपछि दोस्रो पटकका लागि अर्को छ महिना म्याद थप गरी २०८० साल असोज १६ गते पुर्‍याइयो ।

दुई पटक म्याद थप हुँदा पनि निर्माणाधीन संसद भवनको प्रगति उत्साहजनक छैन । निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरका अनुसार हाल भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत मात्रै छ । कम्पनीका तर्फबाट परियोजना व्यवस्थापक प्रमेन्द्रकृष्ण श्रेष्ठका शब्दमा भवन निर्माण सकिन अझै कम्तीमा छ महिनाको समय चाहिन्छ । त्यसैले निर्माण कम्पनी यतिबेला तेस्रो पटक म्याद थपका लागि आग्रह गर्दै आएको छ ।

संसद भवन निर्माण अपेक्षाकृत रुपमा हुन नसकेपछि प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आज संसद भवन निर्माणको स्थलगत अवलोकन गरेको छ । अवलोकनपछि समिति सभापति दीपकबहादुर सिंहले निर्माण कम्पनीलाई निर्देशन दिँदै भन्नुभयो, “भवन निर्माण कछुवा गतिमा भयो यसलाई चाँडो सम्पन्न गर्नुहोस् ।” उहाँले यो ढङ्गले समयमै निर्माण हुन नसक्ने भन्दै निश्चित अवधिमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता नआएसम्म म्याद थप्नुको कुनै औचित्य नभएको बताउनुभयो ।

सहरी विकास मन्त्री सीता गुरुङले पनि आजै निर्माणाधीन संसद भवनको अवलोकन गर्नुभयो । भवन अवलोकनका क्रममा मन्त्री गुरुङ, समितिका सभापति सिंह र सांसदहरुले निर्माण असाध्यै सुस्त गतिमा भएको भन्दै निर्माणको गति बढाउन निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । महँगो मूल्य तिरेर भाडाको भवनमा संसद् चलाउनुपर्ने बाध्यताले आर्थिक दायित्व बढेको भन्दै संसद् भवन निर्माण छिटो अगाडि बढाउनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

यद्यपि भवन निर्माणको जिम्मेवारी पाएको कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरले भने ‘साइट क्लियरेन्स’कै लागि करिब १८ महिना लागेकाले निर्माण समयमै सम्पन्न हुन नसकेको दाबी गरेको छ । “आयोजनामा हाल चार सय हाराहारीमा जनशक्ति परिचालन छन् । भवनका निर्माणका लागि उपकरणहरु भारत, युरोपलगायत मुलुकबाट आयात गर्नुपर्ने भएकाले पनि निर्माणमा ढिलाइ भएको हो”, कम्पनीका परियोजना व्यवस्थापक श्रेष्ठले भन्नुभयो ।

सहरी विकासमन्त्री गुरुङले पछिल्लो छ महिनामा संसद् भवन निर्माणले तीव्रता लिए पनि सन्तोषजनक नभएको बताउनुभयो । “म मन्त्रीको जिम्मेवारीमा आउनुभन्दा पहिलेको तुलनामा पछिल्लो छ महिनामा धेरै काम भएको छ तर जुन गतिमा अगाडि बढ्नुपर्ने थियो त्यो भने भएको छैन ।”

मन्त्री गुरुङले भवन निर्माणका विषयमा नीतिगत र प्राविधिक समस्याबारे सरोकारवालासँग पटक–पटक छलफल गर्न र निर्देशन दिइएको बताउनुभयो । “हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गरौँ भन्ने लक्ष्य हो”, उहाँले भन्नुभयो, “भवन निर्माण छिटो सक्न जनशक्ति बढाउन पनि निर्देशन दिइएको छ ।” उहाँले जुनसुकै समस्या भए पनि मन्त्रालयका तर्फबाट एक साताभित्रै समाधान गर्ने निर्णय लिइएको उल्लेख गर्नुभयो ।

“भवनको बाहिरी संरचना सकिएको छ । अबको छ महिनाभित्र छ वटा भवनको काम सक्छौँ, बाँकी भवनको काम त सकिसकेको छ । ‘फ्लोरिङ फिनिसिङ’ अझै काम बाँकी छ”, निर्माण कम्पनीका परियोजना व्यवस्थापक श्रेष्ठले भन्नुभयो ।

आयोजना निर्देशक मच्चाकाजी महर्जनले छ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको दाबी गर्नुभयो । आयोजनाको परामर्शदाता राजुमान मानन्धरले पनि निर्माणाधीन संसद् भवनमा छिटो पूरा गर्न दुई सिफ्टमै काम गर्ने योजना रहेको बताउनुभयो ।

एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । भवन निर्माणका लागि अनुमानित खर्च रु छ अर्ब ९२ करोड भए पनि रु पाँच अर्ब दुई करोडमा सम्झौता भएका छ । सरकारले चालु आर्थिक वर्षमा भवन निर्माविनियोजन रु तीन अर्ब २६ करोड बजेट बिनियोजन गरेको छ ।

संसद भवनभित्र मुख्य भवन आठवटा हुनेछन् । भवनभित्र तीन सय ५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसका चार अतिरिक्त अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः एक सय र तीन सय जना अट्ने क्षमताका र तीन सय ९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।

गत असार २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्नुभएको थियो । उहाँले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको भन्दै निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

त्यस्तै गत साउन १७ गते सभामुख देवराज घिमिरेले पनि निर्माणाधीन संसद् भवनको अवलोकन गर्नुभएको थियो । उहाँले पनि लक्ष्यअनुरुप निर्माणको काम सन्तोषजनक नभएको बताउनुभएको थियो ।

यसैबीच समितिले सङ्घीय संसद् भवन निर्माणको प्रगतिबारे जानकारी लिन सहरी विकासमन्त्री, आयोजना प्रमुख, आयोजनाको ठेकेदार कम्पनी र परामर्शदातृलाई समितिमा भवनको कागजातसहित बोलाउने निर्णय गरेको समितिका सभापति सिंहले बताउनुभयो ।

पूर्वाधार समितिको आजको बैठकमा सांसदहरुले पूर्वाधार निर्माण, खानेपानी, ऊर्जा व्यवस्थापनका सवालमाथि छलफल गर्दै तिनको काम प्रभावकारी बनाइनुपर्ने धारणा राख्नुभएको थियो । सांसदहरु प्रदीप पौडेल, ठाकुर गैरे, माधव सापकोटा, निशा डाँगी, डा चन्द्रकान्त राउत, बिना लामा, सुशीला श्रेष्ठ र लालवीर चौधरीले समितिको कामलाई प्रभावकारी बनाएर विषयगत उपसमितिलाई सक्रिय बनाइनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी समितिले दशैँ, तिहार, छठलगायतका पर्वमा लाखौँ सङ्ख्यामा नेपाली नागरिकहरु गन्तव्यमा पुग्न आवतजावत गर्नुपर्ने बाध्यता रहेकाले सडक यातायातलाई चुस्त र प्रभावकारी बनाउने सन्दर्भमा भौतिक पूर्वाधार मन्त्रीलाई समितिमा बोलाउने निर्णय पनि गरेको छ । समितिका कामलाई प्रभावकारी बनाउन तीनवटा विषयगत उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।

चितवन कारागारमा कैदीबन्दीको चाप बढेसँगै क्षमतामा वृद्धि

चितवन, १५ असोज ः जिल्ला कारागारमा कैदीबन्दीको चाप बढेसँगै क्षमतामा वृद्धि गरिएको छ । कार्यालयले दुई सय ८० जनाको क्षमता रहेको कैदीबन्दी गृहलाई क्षमता बढाएर पाँच सय पाँच पु¥याएको हो ।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार कारागार कार्यालयले विगत एक महिनाअघि कारागारको क्षमता वृद्धि गरेको हो । उहाँले भन्नुभयो, “कैदीबन्दी राख्न बनाइएको ‘घ’ ब्लक सञ्चालनमा आएको भए पनि यसको क्षमतालाई जोडिएको थिएन, अहिले औपचारिक रुपमा जोड्ने काम गरिएको छ ।”

‘क’ र ‘ख’ ब्लकमा हुँदै आएको क्षमतालाई नै यस कारागारको क्षमता भन्दै आइएकामा अहिले ‘घ’ ब्लकलाई समेत जोडेर क्षमता वृद्धि गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ब्लक सञ्चालनमा आएको लामो समय भए पनि अहिले आधिकारिक रुपमा क्षमता वृद्धि गरेको कारागार व्यवस्थापन विभागलाई जानकारी गराएका छौँ ।” कैदीबन्दीको चापअनुसार क्षमता वृद्धि गरिएको उहाँले जानकारी दिनुभयो ।

क्षमता वृद्धि भएसँगै २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ३० र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा चार सय ७५ पु¥याइएको छ । महिला गृहमा पाँचजनाको क्षमता थप गरिएको छ भने पुरुष गृहमा दुई सयदेखि दुई सय २५ जना अट्नसक्ने गरी थप गरिएको हो ।

कार्यालयका अनुसार नवलपरासीको बर्दघाट–सुस्ता पूर्वमा कारागार नहुँदा कैदीबन्दीको सङ्ख्या थपिँदै जाँदा क्षमता वृद्धि गर्नुपरेको हो । त्यहाँबाट महिनामा ३० जना हाराहारी कैदीबन्दी सजायका लागि यहाँ आउने गरेको आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले कारागार कार्यालय चितवनमा छ बालबालिकासहित सात सय ४८ कैदीबन्दी रहेका छन् । त्यसमध्ये ४४ महिला, छ सय ९८ पुरुष र छ बालबालिका कैदीबन्दी रहेका छन् । साथै नयाँ कारगारका लागि जग्गा खोजी भइरहेको छ ।

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

तुलसीपुर (दाङ), १५ असोज ः पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताउनुभयो । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुई जनालाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँः प्रा डा झा

काठमाडौँ, १५ असोज : प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको पर्खाइमा रहेका चीनस्थित एकजना नेपाली प्राध्यापक राजीवकुमार झाले बताउनुभएको छ ।

“प्रधानमन्त्री दाहालको हालैको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौता एवं समझदारीका साथै संयुक्त प्रेस वक्तव्यमा आएका साझा प्रतिबद्धता नेपालको हित र विकासका पक्षमा छन्, राम्रा छन् । तर विगतमा भएका यस्तै सम्झौताको पनि कार्यान्वयन हुन नसकिरहेकाले चीन यी सम्झौताको कार्यान्वयनको पर्खाइमा रहेको छ”, प्रा डा झाको टिप्पणी छ ।

यो भ्रमणका क्रममा भएको ‘क्रस बोर्डर रेलवे’ सम्झौता नेपालका लागि महत्वपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपाल चीन क्रस बोर्डर रेलवे निर्माण हुन सक्यो भने बेइजिङको समृद्धि काठमाडौँ पुग्न समय लाग्दैन । यहाँका पर्यटक हुन या सामान, चीनको जुनसुकै स्थानबाट पनि पाँचदेखि छ दिनमा नेपाल पुग्न सक्छ । हाम्रोजस्तो भूपरिवेष्टित देश हवाईमार्गमा मात्र जोडिएर हुँदैन, रेलमार्गमा जोडिन सक्यो भने नेपालका लागि सबैभन्दा ठूलो फाइदा यही हुनेछ । चिनियाँ नेपालमा रेलमार्ग पु¥याउन चाहन्छन्, तर त्यसको कूटनीतिक लबिङ गर्ने हामीले हो”, प्रा डा झाले भन्नुभयो ।

रेलमार्गले नेपाललाई जोड्ने विषयमा विगतदेखि नै दुई देशका बीचमा सहमति र सम्झौता भएको स्मरण गर्दै उहाँले यसबाट नेपालमा पर्यटकीय क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउनुभयो । नेपालले यदि चीनको समृद्धिबाट लाभ लिन चाहन्छ भने सबैभन्दा भरपर्दाे बाटो रेलमार्ग नै भएको उहाँको भनाइ छ । प्रा डा झा भन्नुहुन्छ, “अहिले चीनसँग हाम्रो व्यापार घाटा धेरै छ । हाम्रो निकासी नगण्य छ तर आयात बढी छ । यसलाई विस्थापित गरी चीनतर्फ सामान निर्यात गर्ने मार्ग पनि भोलि रेलमार्ग नै हुनेछ । हालैको सम्झौतामा चीनले कतिपय कृषिजन्यउपज एवं पशुपालनमा सहयोगको वाचा गरेको छ ।

त्यस्तै औद्योगिक पार्क निर्माण हुँदैछ । यी सम्झौताबमोजिम भोलि उत्पादन भएमा त्यसको निकासी चीनतर्फ नै हुने हो र यसका लागि आवश्यक भनेको पनि रेलमार्ग नै हो ।”

त्यसैगरी प्राध्यापक झाले प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा पछिल्लो पटक भएको अर्काे सम्झौतामा नेपालको परम्परागत एवं आयुर्वेदिक चिकित्सा पद्धतिको अनुसन्धान गरी त्यसको प्रवद्र्धन गर्ने छ । खासमा नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने औषधीय मूल्य भएका जडीबुटीको अनुसन्धान चीनले गर्ने र यस क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने बताएको छ । यस सम्झौताको उद्देश्य नेपालका कर्णालीलगायतका हिमाली क्षेत्रमा पाइने जडीबुटीको अनुसन्धान गरी औषधि निर्माण हो ।

अहिले पनि नेपालबाट जडीबुटी निकासी हुने गरेकै छ । तर पनि ती जडीबुटीको उचित मूल्य प्राप्त हुन सकेको छैन । चीनको साङ्सी प्रान्तस्थित सियानमा अवस्थित सियान युनिभर्सिटी अफ मेडिकल साइन्सेसमा दुई दशकभन्दा लामो समयदेखि प्राध्यापनरत प्रा डा झा भन्नुहुन्छ “यस्तो अवस्था छ कि नेपालबाट बहुमूल्य जडीबुटी गुन्द्रुकको भाउमा विदेश निकासी गरिन्छ । धेरै त चोरी निकासी या अवैधरुपमा पनि बाहिरिने गरेको छ । तिनै जडीबुटीबाट बनेका औषधिपछि नेपालले महँगो मूल्यमा किन्ने गर्दछ ।

नेपालको हिमाली एवं उच्च पहाडी क्षेत्रका जडीबुटीलाई चीनले निकै महत्व दिने गरेको उहाँको भनाइ छ । नेपालका यस्ता स्थानमा पाइने जडीबुटी सफा र स्वच्छ हुने भएकाले पनि चीनले यो परियोजनालाई अघि सारेको हो । यसबाट नेपालमा औषधीय मूल्य भएका जडीबुटी पत्ता लाग्ने मात्र नभएर सरकारले पनि यसको निकासीबाट उचित मूल्य पाउने छ । त्यस्तै यी जडीबुटी सङ्कलनका लागि यहाँका स्थानीयले पनि रोजगारी प्राप्त गर्नसक्ने अर्कोे फाइदा रहेको उहाँको भनाइ छ ।

त्यस्तै यस भ्रमणका क्रममा भएको अर्काे सहमति औद्योगिक पार्क निर्माण छ । यो पार्कबाट दुवै देशलाई फाइदा छ र अझ बढी नेपाललाई छ । जस्तो कि यस्तो पार्कमा दुई देशले आफ्ना खाँचोका कुरा उत्पादन गर्छन् र बढी भएको निकासी पैठारी गर्छन् । नेपालमा यस्तो पार्क स्थापना हुँदा त्यहाँ दक्ष जनशक्ति पनि उत्पादन हुने र चीनले आफ्ना खाँचोका वस्तुको उत्पादन गर्ने भएकाले नेपालले निर्यात व्यापारको मात्रा बढाउन सक्छ । अर्काे कुरा सो क्षेत्रमा दक्ष जनशक्ति पनि हुने भएकाले यसले देशभित्रै दक्ष जनशक्तिको उत्पादन पनि योगदान पुग्ने उहाँको भनाइ छ । प्रा डा झाले कम्बोडियामा पनि चीन सरकारले दुई वटा औद्योगिक पार्क निर्माण गरिदिएको उदाहरण पेश गर्र्दै भन्नुभयो “वास्तवमा यस्तो पार्क निर्माण भएपछि नै कम्बोडियाको अर्थतन्त्रमा बलियो भएको हो । मलाई लाग्छ यो सम्झौताको कार्यान्वयनमा जेड दियौँ भने यसले हामीलाई पनि त्यस्तै फाइदा गर्दछ ।”

चीन नेपाल सम्बन्धलाई विगत दुई दशकभन्दा लामो समयदेखि नजिकबाट नियालिरहेका प्राध्यापक झाले प्रधानमन्त्री दाहालको भ्रमणपछि रासससँगको कुराकानीमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने सहमति गर्नु अर्काे उपलब्धि हो भन्नुहुन्छ । “अबको विकास विज्ञान प्रविधिबाट मात्र सम्भव छ । विकास केलाइ भन्ने ? अहिले चीनका कैयौँ रेष्टुराँमा रोबोटले खाना पकाउने, ‘सर्भ’ गर्ने गर्न थालिसके । यस्तैखालका प्रविधिको विकासबाट चीनले श्रम गर्ने जनशक्ति पनि घटाउँदैछ । त्यसैले अब विकास भनेको बाटो, पानी, बिजुलीमात्र नभएर विज्ञान प्रविधि एवं सूचना प्रविधि हो । हामी पनि आइटीमा भर्खरै प्रवेश गर्दैछौँ । भोलिका दिनमा यो विश्वविद्यालयमा उत्पादन हुने प्राविधिक जनशक्तिले देशको मुहार फेर्न सक्नेछ । अब हामीलाई सूचना र विज्ञान प्रविधिमा केन्द्रित विश्वविद्यालयकै खाँचो छ”, उहाँ भन्नुहुन्छ ।

चिनियाँ पक्षले हामी नेपाललाई सहयोग गर्न तयार छन् । तर पनि आफ्नो सबै विकास अर्काे कुनै देशले गरिदेला भन्ने आशा नेपालले पनि गर्न नहुने उहाँको धारणा छ । चीनले नेपाललाई परियोजना दिने हो, ती परियोजनामार्फत हामीले उनीहरुको समृद्धि र विकासबाट लाभ लिने हो । त्यसैले देशको विकास गर्ने र चीनले अनुदान या सहयोगमा गरिदिएका परियोजना समयमै सम्पन्न गर्ने या कार्यान्वयनमा ल्याउने जिम्मेवारी नेपालको भएको उहाँको सुझाव छ ।

चिनियाँले सधैँ यसअघि गरेका सहमति तथा सम्झौतालाई पछि फर्केर हेर्ने गर्छन् भन्नुहुन्छ उहाँ । नेपालसँग मात्र नभएर आफ्नो कूटनीतिक सम्बन्ध रहेका या सहयोग उपलब्ध गराएका सबै देशसँग नै उनीहरुको यस्तै अपेक्षा हुने गर्दछ भन्नुहुन्छ प्रा डा झा । उहाँ भन्नुहुन्छ, “जस्तो कि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल गएका बेला गरिएका कतिपय सम्झौताका परियोजना पनि कार्यान्वयन तहमा आउन नसकेको भन्दै यस पटक गरेका सहमति र सम्झौता चाँडै कार्यान्वयनमा आउने वातावरण नेपाल सरकारले नै बनाउनुपर्ने हुन्छ । उनीहरु नेपालले छ वर्षअघि हस्ताक्षर गरेको विआरआइ परियोजनाको प्रगति हेर्न चाहेका छन् । यसपटक पनि संयुक्त प्रेस वक्तव्यमा परेकाले आगामी दिनमा योसँगै अन्य सहमति एवं सम्झौताको कार्यान्वयन पर्खिने उनीहरुको बानी छ”, प्रा डा झाको भनाइ छ ।

खाँचो हामीलाई छ र उनीहरु दिन तयार छन् भने कार्यान्वयनको इच्छाशक्ति पनि त हामीले नै देखाउनुप¥यो भन्नुहुन्छ उहाँ । प्रधानमन्त्री दाहालको पछिल्लो चीन भ्रमणका क्रममा पनि उनीहरु विगतका सबै सहमति र सम्झौताको स्मरण गरिएको र अबका दिनमा नयाँ समझदारीका साथ अघि बढ्न चाहेको आफूले बुझेको उहाँ बताउनुहुन्छ ।

प्रा डा झा भन्नुहुन्छ, “नेपाल चीनका परम्परागत नाका सबै खोल्ने सहमति गरेका दुई देशले विगत लामो समयदेखि सम्झौता गरेर पनि कार्यान्वयनमा आउन नसकेका सबै सम्झौता एवं समझदारीका पनि सबै नाका खोलेर कार्यान्वयनमा ल्याउन सकून् । नेपालको समृद्धि यसैमा छ ।”

गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थाले

म्याग्दी, १५ असोज- गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।

धौलागिरि गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरेको बताउनुभयो । “वैशाखमा उभौलीको पूजा गरेर लेकतिर लागेको गोठ पालुवा पलाउँदै गरेको घाँस खुवाउँदै जेठको अन्तिममा जलजलाको धनमाने खर्कमा पुगेका थियो”, उहाँले भन्नुभयो, “तीन महिना बुकीमा चराएर अहिले गाउँको मकै बारीमा उम्रिएको ल्योस (घाँस) खुवाउन ल्याएको हो ।”

दसैँमा गाउँ नजिकैको बारीमा रहने गोठ तिहारमा धान भित्र्याएपछि बेँसीको सोलवाङ फाँटमा झार्ने चलन रहेको मगरले बताउनुभयो । गोठ बेँसी झर्न थालेपछि गाउँघरमा चाडपर्व भित्रिएको महसुस गर्छन् ।

पोसिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन् । गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहलले रौनक छाएको छ । पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् ।

महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ । करिब तीन÷चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धौलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताउनुभयो ।

“पहिले हामी गोठमा जाँदा घरमा किनेर तेल खानुपर्दैनथ्यो । घ्यूले पुग्दथ्यो । मोही धेरै भएर खोलामा फाल्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले गोठ राख्ने ठाउँसम्म नै गाडी पुगेकाले खाने, बस्ने सामान बोक्नुपरेन । घ्यू र मोहीबाट छुर्पी बनाएर बिक्री गरेर आम्दानी हुन्छ ।”

एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन् । बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । ढोरपाटन नजिकैको जलजला र गुर्जाघाट क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकाको कृषकको लागि छुट्टाइएको छ ।

पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् । यसपालि बुकीमा लम्पी स्किन रोग फैलिएपछि धेरै गाईगोरु बिरामी भए र केही मरेका कृषकले बताएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बुकीको गोठमै पुगेर लम्पी स्किनबाट बिरामी परेका गाईगोरुको उपचार र खोप लगाइएको बताउनुभयो ।

गोरखाको लुदीखोलामा पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो

गोरखा, १५ असोज : हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो ।

खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको साहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्यजस्तै थियो । तर गएको वर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने वर्षौंदेखि कठिनाइ भोग्दै आएका त्यहाँका बासिन्दालाई अहिले सजिलो भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्वा बैंकको आर्थिक सहयोगमा लुदीखोलामा पक्की पुल निर्माण भएपछि ज्यान नै जोखिम मोलेर खोला ओहोरदोहोर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको हो ।“बर्खामा नदी र खोलामा यसै पनि पानी सतह बढी हुने भएकाले जोखिम हुने नै भयो, गोरखा –८, लक्ष्मीबजारका ६९ वर्षका हर्कबहादुर थापाले भन्नुभयो, “त्यसमाथि लुदीखोलामा त बर्खा लागेपछि वारपारसम्म भेल आउने भएकाले सानो आँटले खोला तर्न सकिँदैन थियो, अहिले पुल बनेपछि धेरै सजिलो भएको छ ।”पुल नहुँदा पैदलयात्रुलाई मात्र होइन मोटरसाइकललगायतका सवारी साधनसमेत बर्खाका बेलामा जोखिम मोलेर खोलाबाट वारपार गराउन पर्दाको कठिनाइ उस्तै थियो । मेलापात र अर्मपर्म गर्नका लागि मात्र नभएर नजिकको बजार गोरखा सदरमुकाममा पुगेर दैनिक उपभोग्य सामग्री खरिदका लागि ताक्लुङ र आसपासका बासिन्दालाई लुदीखोला वारपार नगरी सुखै थिएन ।“छोटो र मुख्य बाटो भएकाले पनि घन्टाँै लगाएर घुमेर सदरमुकाम पुग्नुभन्दा अधिकांश मानिस जोखिम मोलेरै खोला वारपार गर्ने गर्दथे ।” अर्का स्थानीयवासी रामचन्द्र ढकालले भन्नुभयो । “बर्खाका बेला घाँटीघाँटीसम्म आउने खोला तरेरै भए पनि काम टार्न प¥थ्यो”, उहाँले भन्नुभयो, “हामी कयौँ पटक लौरोले पानी नापेर पनि खोला वारपार गरियो ।” लुदीखोलामा अहिले २१ दशमलव ७० मिटर लम्बाइ र छ मिटर चौडाइको पक्की पुल निर्माण भए पनि यहाँका बासिन्दाले वर्षांैदेखि भोग्दै आएका समस्या हटेको छ ।पुल निर्माण भएसँगै गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणका लागिसमेत सजिलो भएको सहिद लखन गाउँपालिका–५ ताक्लुङकी सानुमाया परियारले बताउनुभयो । सहिद लखन गाउँपालिकाबाट लुदीखोला हुँदै मुख्य राजमार्ग पृथ्वी राजमार्गसँग जोडिएको सबैभन्दा छोटो बाटो भएकाले पनि लुदीखोलामा पक्की पुल बनेपछि त्यहाँका स्थानीयवासीलाई राजधानी काठमाडाँै, पोखरा, चितवनलगायतका सहर आवतआवतमा समेत छिटो र सजिलो भएको उहाँले बताउनुभयो ।झोलुङ्गे पुलसमेत नहुँदा यहाँका स्थानीयवासीले बर्खाका समयमा अत्यावश्यक काम खोला तर्नै नसक्ने अवस्थामा लामो दूरी हुँदै घमेर एकदिन नै लगाएर गोरखा सदरमुकाम पुग्नुपर्ने बाध्यतासमेत रहेको थियो । लुदीखोलामा कूल रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा पक्की पुल निर्माण गरिएको हो ।