`

कृषि तथा पशु मेला प्रदर्शनी : ४३ किसान पुरस्कृत

Nepal One HD १७ माघ २०८० ७:५८
समाचार

खोटाङ, १७ माघ : कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन हजार, दुई हजार पाँच सय र दुई हजार तथा बालीतर्फ प्रथम, द्वितीय र तृतीय हुने किसानलाई क्रमशः रु दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । प्रदर्शनीमा एक सय २० कृषि उपज राखिएको थियो । मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो ।पुरस्कृत तथा सम्मानित हुने किसानलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र नगर उपप्रमुख विशन राईले मङ्गलबार संयुक्तरूपमा नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । दिक्तेलस्थित हाटडाँडामा आयोजित सो प्रदर्शनी करिब पाँच सय जनाले अवलोकन गरेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभएको छ ।प्रदर्शनीमा फलफूल, तरकारी, दलहन तथा तेलहन, प्रशोधित कृषि उपज, राडीपाखी, छालाजुत्ता, ढाका कपडालगायत प्रदर्शनी कक्षमा राखिएको थियो । यही माघ१५ र १६ गते आयोजित कृषि तथा पशु मेला प्रदर्शनीमा विभिन्न विाद्यालयका विद्यार्थीले समेत अवलोकन गरेको जनाइएको छ । प्रदर्शनीमा नगरपालिकाभित्रका किसान समूह तथा किसानलाई मात्र सहभागिताका लागि अवसर दिइएको थियो । प्रदर्शनीले कृषि पेसाप्रति किसानको आकर्षण वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । दश स्थानीय तह रहेको जिल्लामा कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर निर्वाहमुखी कृषि प्रणालीलाई बिस्थापित गर्दै आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न सबै स्थानीय तहले नीति तथा कार्यक्रमसमेत बनाएर लागू गरेका छन् ।जिल्लाका सबै स्थानीय स्थानीय तहले कृषिमा अनुदानको व्यवस्था गरेपनि पहुँचका व्यक्तिले मात्र सेवा लिने गरेको गुनासोसमेत आउन थालेका छन् । यद्यपि जिल्लामा पछिल्लो समय व्यावसायिक कृषि पेसा अपनाउने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्किएका व्यक्ति सबैभन्दा बढी व्यावसायिक कृषि पेसामा लागेका छन् ।एकीकृत घुम्ती शिविर सञ्चालनदिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार चार सय २३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०÷०८१ को दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य जाँच सेवालागि सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ।शिविरमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले नौ सय २२ जनालाई र सामाजिक सुरक्षा भत्ता र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत पाँच सय एक जनाको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “पालिकाबासीको सहजताका लागि हामीले ‘हेल्लो डाक्टर’ कार्यक्रम लगायतका विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छौँ । ‘हेल्लो डाक्टर’ कार्यक्रमले २४ सै घण्टा सेवा दिइरहेको छ”, उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका वृद्धवृद्धा तथा असक्तलाई समेत गाउँमै सेवा उपलब्ध गराउने गरेका छौँ । यो कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजनामा छौँ ।”शिविरमा वडा नं १ याम्खाका ८५, वडा नं २ डाँडागाउँका ४५, वडा नं ३ छोरम्बुका एक सय १६, ४ बतासेकाएक सय १०, वडा नं ५ सप्तेश्वर छितापोखरीका ५३, वडा नं ६ छितापोखरीका ६८ र वडा नं ७ टेम्माका एक सय एक जनाको स्वास्थ्य जाँच गरिएको छ हेल्लो डाक्टर कार्यक्रमका संयोजक अहेब सुरेश प्रधानले जानकारी दिनुभएको छ ।यही माघ ७ गतेदेखि सञ्चालन भएको शिविरमा नेबुलाइजेसन (वाफ लगाउने), मधुमेह, उच्च रक्तचाप जाँच, अक्सिजनको मात्रा, नाडीको गति जाँचका साथै सामान्य औषधि वितरण गरिएको जनाइएको छ । गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।शिविरमार्फत नौ सय २२ जनालाई सातवटै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख यमनलाल श्रेष्ठले जानकारी दिनुभयो । वडा नं १ याम्खाका एक सय दुई,वडा नं २ डाँडागाउँका एक सय ६०, वडा नं ३ छोरम्बुका एक सय ३८, वडा नं ४ बतासेका एक सय ५४, वडा नं ५ सप्तेश्वर छितापोखरीका एक सय १०, वडा नं ६ छितापोखरीका ८९ र वडा नं ७ टेम्माका एक सय ६९ जनालाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षा भत्ताबापतको रु ८१ लाख ६५ हजार पाँच सय रकम वितरण गरिएको जनाइएको छ ।


प्रतिक्रिया